Friday, December 30, 2011

Rural Development Basis Of National Development - Article - 24



ग्रामिण विकास राष्ट्रिय विकासको आधार


नेपालमा दुत्ततर गतिमा आर्थिक विकास हुनका लागि शहरहरु गाउँहरुमा निर्भर हुनु पर्ने हो, अन्य मुलुकहरुमा जस्तो, तर भएको छ बिपरित। नेपालमा गाउँहरु शहरमा निर्भर रहेको स्थिति छ। र यो निर्भरताको इतिहास पनि निकै पुरानो छ। अझै अचम्म त के कुरामा छ भने गाउँहरुलाई शहरहरु प्रति झनै निर्भर तुल्याउने काम भएको छ, त्यो निर्भरता लाई कम गर्न योजनावद्ध रुपमा ठोस प्रयास गर्नुको साटो।  रोजगारीका लागि होस वा ब्यापारका लागि, गाउँहरुले शहरको मुख ताक्नु पर्ने स्थिति छ। नेपालका गाउँहरु विस्तारै शहरतिर अति निर्भर हुँदै छन। र परिणाम स्वरुप गाउँका बासिन्दाहरु शहर पस्ने क्रम तिब्र रुपमा बढी रहेको छ  र यो कार्यले गर्दा शहरहरु जनसंख्याको चाप धान्न सक्ने क्षमता विस्तारै गुमाउँदै छन। शहरका बासिन्दाहरुले पानी, बिजुली, सडक, पार्क, सरसफाई, सार्वजनिक सभा गृह आदिसँग सम्बन्धित अनेक किसिमका समस्याहरुको सामाना गर्नु परि रहेको छ, वा भनौं त्यस किसिमका सुबिधाहरु प्राप्त गर्न ज्यादै कठिन हुँदै गइ रहेको छ।  शहर केन्द्रित बसोबासले गर्दा एकतिर जनसंख्या वितरण असन्तुलित हुँदै गइ रहेको छ, बसोबास अव्यवस्थित, अनियन्त्रित हुन पुगेको छ भने अर्को तिर गाउँहरुमा उपलब्ध स्रोत तथा साधनहरुको प्रयोगकर्ताहरुमा व्यापक कमी आएर आयको राम्रो स्रोत बन्न सक्ने गाउँहरु झन झन गरिबीमा भास्सिदै छन, साधन र स्रोत हुँदा हुँदा पनि। जबकी गाउँहरु साधन स्रोतहरुले भरिपूर्ण हुन्छन शहरहरुको तुलनामा। शहरहरुमा त केवल उद्योग र व्यापारहरु बढी फष्टाएका हुन्छन। 
गाउँहरु किन शहरमूखि हुँदै गए, यो प्रश्नको उत्तर खोजिनु अति आवश्यक छ। राणा कालदेखि  पंचायतकालसम्म गाउँहरुलई आर्थिक रुपमा सक्षम पार्ने प्रयास गरिएन किनभने गाउँहरु आर्थिक रुपमा सक्षम भए तिनलाई नियन्त्रण गर्न सकिंदैन र निरंकुश व्यवस्थालाई निरन्तरता दिन कठिन हुन्छ भन्ने भय शासकहरुलाई थियो। २०४७ र २०६३ सालको राजनैतिक परिवर्तनले पनि गाउँहरुको आर्थिक विकासलाई प्राथमिकतामा राखेन। राजनैतिक दल र नेताहरुले त उल्टो गाउँहरुमा ब्याप्त गरिबीको उपयोग गरे, गाउँहरुको आर्थिक विकास गर्नुको साटो। गाउँहरुमा ब्याप्त गरिबीलाई राजनैतिक मुद्दा बनाए, तर त्यसको उपयोग चुनावमा मात्र गरे, केवल आफू र आफ्नो दललाई विजयी तुल्याउन। २०४६ साल पछिको कुरा गर्ने हो भने, चुनाव जितेको एउटा नेताले पनि ‘मेरो गाउँ तथा चुनाव क्षेत्रको आर्थिक एवं सामाजिक विकास गर्न  म मेरो गाउँमा नै बस्छु, सत्ताको खेल खेल्न काठमाडौं जांदिन’ भनेको बिरलै सुनियो। सत्ता केन्द्रित राजनीतिबाट टाढा रहेर आफ्नो क्षेत्रको आर्थिक विकासमा समर्पित हुन्छ भन्ने नेताहरुको अनिकाल नै पर्यो २०४६ सालको राजनैतिक परिवर्तन पछि पनि। जबकी जन प्रतिनिधिहरु निर्वाचित हुने हो त्यस क्षेत्रको सर्वाङ्गिण विकासका लगि। ४६ साल पछि कति ओटा निर्वाचन भए तर जनताले नेताहरुलाई उनीहरुको सम्बन्धित क्षेत्रको आर्थिक विकासका लागि जिम्मेवार बनाउन सकेनन। बरु उल्टो नेताहरुको कुरामा लागेर जनताहरु बिभाजित भएर बसे, आर्थिक विकासका कुराहरुमा एक जुट भएर लाग्नुको साटो।
अब आउने चुनावमा जनताले प्रतिनिधिहरुको छनौट उनीहरुले ल्याएका आर्थिक विकासका एजेन्डाहरुको आधारमा गर्नु पर्दछ, प्रतिनिधिहरु कुन राजनैतिक दलका हुन भन्ने कुरालाई बिर्सेर। चुनावमा उठ्ने प्रतिनिधिहरुको आर्थिक कार्यक्रमहरु, योजनाहरु, दीर्घ कालिन लक्षहरुको अध्ययन गरेर मात्र कुन त्यक्तिलाई भोट हाल्ने भन्ने कुराको निर्क्यौल गर्नु पर्दछ, अब, ग्रामिण जनताले यदि गाउँको आर्थिक विकासलाई तिब्रता दिने हो भने, गाउँहरुलाई शहरमूखी बनाउनुको साटो शहरहरुलई गाउँमूखी बनाउने हो भने। गाउँहरुमा पर्याप्त रोजगारी सृजना गरि ग्रामिण जनशक्तिलाई शहर पलाएन हुन देखि रोकेर उनीहरुको महत्वपूर्ण श्रम र सिपको उपयोग गाउँमा नै  गर्ने हो भने। यसै गरी ग्रामीण जनताले आफ्ना प्रतिनिधिहरुलाई गाउँमा नै वा आफ्नो चुनाव क्षेत्रमा नै बस्नु पर्ने बाध्यत्मक स्थितिको सृजना पनि गर्नु पर्दछ। काठमाडौ धाउने क्रमलाई रोक्नु पर्दछ।  
विकसित मुलुकहरुको आर्थिक विकासको ढाँचालाई हेर्ने हो भने प्राय हरेक गाउँलाई साधन सम्मपन्न तुल्याईको हुन्छ। सडक, खाने पानी, बिजुली, हुलाक, बैंक, प्रहरी चौकी, प्रशासनिक इकाई, व्यापारिक केन्द्र, विद्यालय, अदालत जस्ता सेवा प्रदायकहरुको स्थापना लगभग प्रत्येक गाउँ मै गरिएको हुन्छ। विभिन्न किसिमका आधारभूत सेवाहरु पाप्त गर्न ग्रामिण जनताले टाढा टाढासम्म जानु पर्दैन र प्रशासनिक ढिला सुस्तिको समना पनि गर्नु पर्दैन। यसरी आधारभूत आवश्यकताका वस्तुहरु ग्रामिण क्षेत्रमा नै उपलब्ध हुने भएकोले ग्रामिण जनता राम्रो आय आर्जन गरेर गाउँमै बस्न सक्ने स्थितिमा हुन्छन। अर्थात ग्रामिण क्षेत्रले पनि रोजगारी एवं आर्थिक विकासको औसर त्यहाँका बासिन्दाहरुलाइ जुटाएको हुन्छ। गाउँहरुले पनि जनतालाई आकर्षित गरेको हुन्छन् गाउँ मै बसोबास गर्नका लागि। त्यसकारण मानिसहरु शहर मात्र होइन गाउँमा  बस्न पनि उत्तिकै रूचाउ छन। नेपालमा भने स्थिति विपरित छ। नेपालमा सके सम्म व्यक्तिहरु गाउँबाट शहरतिर पस्न खोज्छन, उन्नति प्रगतिका लागि।
गाउँको विकासका लागि आवश्यक तत्व गाउँकै बासिन्दाहरुको क्रियाशिलता, बौद्धिकता, समन्वय र साझा प्रयास हो, यथार्थमा भन्ने हो भने। सरकार वा केन्द्र एक माध्यमा मात्र हो, आर्थिक विकासका लागि। नेपालमा ग्रामिण क्षेत्रको समुचित आर्थिक विकास नहनुको मुख्य कारण पनि गाउँहरुले आफ्नो विकासका लागि आफैले ठोस प्रयास गर्नुको साटो केन्द्र वा काठमाडौको मुख ताक्नु वा काठमडौंमा निर्माण हुने योजनाहरुमा भर पर्नु हो। तर अब त्यो युगको समाप्ति गर्नु पर्छ। ग्रामिण क्षेत्रका जनता आफ्नो क्षेत्रको आर्थिक विकासका लागि एक जुटु हुनु परेको छ, राजनैतिक मत मतान्तरलाई थांति राखेर। ग्रामिण क्षेत्रका जनताले आफ्नो क्षेत्रको विकास गर्न स्थानीय स्रोत तथा साधनहरुको पहिचान गर्ने, तिनको अति लाभ हुने किसिमबाट उपयोग गर्न सकिने उपायहरुको खोजि गर्ने, सम्पूर्ण गाउँ र गाउँका जनताको हितमा तिनको उपयोग गर्ने, त्यस्ता स्रोत तथा साधनहरुको रक्षा गर्ने जस्ता कार्यहरु गर्न आवश्यक छ। हरेक एउटा गाउँलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न आवश्यक छ। अहिलेको यो उन्नत संचारले युक्त अति आधुनिक युगमा त्यस्तो एउटा गाउँ भेटिन गार्हो हुन्छ जो सँग कुनै न कुनै आर्थिक स्रोत न होस। प्रत्येक गाउँसँग कुनै न कुनै स्रोत र साधन अवश्य पनि हुन्छ केवल तिनको पहिचान र लाभदायी किसिमले उपयोग गर्न सक्नु पर्दछ, स्थानिय बासिन्दाहरुले।
अन्य मुलुकहरुको भू बनौट र जलवायुलाई दृष्टिगत गर्दा जल वायु, भूमि र सम्पूर्ण वातावरण नै कृषि लगाएत बसोबासको हिसाबले नेपाल उत्तम रहेको प्रष्ट हुन आउँछ। नेपालको जल वायु र भू बनौट दुबै बसोबास एवं कृषिका लागि अति अनुकूल रहेको विश्वास गरिन्छ। भू बनौट, जल वायु, साधन स्रोत आदिले नेपाल यति सम्पन्न भएता पनि यो राष्ट्रको आर्थिक विकास तिब्र गतिमा किन हुन सकिरहेको छैन? किन होला त्यस्तो भएको? उत्तर एउटै छ र त्यो के हो भने कुनै पनि क्षेत्रको विकास गर्नका लागि त्यहाँका स्थनीयहरुले ठोस प्रयास गर्नुको साटो स्थानीय विकासका लागि केवल केन्द्रलाई जिम्मेवार बनाएर केन्द्रमा भर पर्नु पर्ने वहु संख्यक नेपाली जनताको पर्मपरागत सोँचाई। मुलुकमा ब्याप्त राजनैतिक अस्थिरता त दोस्रो कारक तत्व हो।


विश्वराज अधिकारी


http://www.prateekdaily.com/2011/12/blog-post_2723.html
Published in Prateekdaily.com on Friday, December 30, 2011

Thursday, December 29, 2011

Credit Management - Poverty and Economics - 17


साख व्यवस्थापन

साख व्यवस्थापन (Credit management) ले पनि गरिबीसँग सरोकार राख्दछ। गरिबी कम पार्नमा साख व्यवस्थापनको  भूमिका महत्वपूर्ण रहेको पाइएको छ। साख व्यवस्थापन अन्तर्गत क्रय शक्ति (Purchasing power) पनि पर्ने हुनाले यहाँ क्रय शक्तिको बारेमा चर्चा गर्न खोजिएको छ।
क्रय शक्ति र साख दुई अलग अलग विषय वस्तुहरु हुन। तर यी दुई विषयहरुको बीचमा घनिष्ट सम्बन्ध छ। क्रय शक्तिले व्यक्तिमा रहेको क्रय क्षमता दर्शाउँछ।  आफ्नो आर्थिक आम्दानी वा तरलताको आधारमा व्यक्तिले कुन किसिमले कतिसम्म खर्च गर्न सक्छ भन्ने कुरा व्यक्तिको क्रय शक्तिमा भर पर्दछ। आफ्नो क्रय शक्ति अनुसार नै व्यक्तिले जिवन निर्वाह गर्नका लागि आवस्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरु बजारबाट खरिद गर्दछ। क्रय शक्ति जति बढी भयो त्यति नै व्यक्तिले उपभोगका लागि बढी वस्तु तथा सेवाहरुको माग गर्दछ।
यसै गरी व्यक्तिले कारोबारी जिन्दगीमा आफ्नो आर्थिक छवि बजारमा कस्तो बनाएको छ भन्ने कुरा उसले आर्जन गरेको साखबाट देखिन्छ। व्यक्तिले आर्जन गरेको साखले गर्दा उसलाई बजारबाट ऋण लिन सजिलो हुन्छ। आफूसँग तत्काल पैसा नभए पनि कस कसलाई कति कति भुक्तानी गर्नु पर्नेछ तिनलाई त्यसै अनुसार भुक्तानी गर्न उसलाई सजिलो हुन्छ। यसै गरी अनेक कसिमका उपभोग्य सामाग्रीहरु उधारोमा खरिद गरेर आफ्नो तरलता अनुसार एक महिना भित्र, एक वर्षभित्र वा आफूलाई अनुकूल पर्ने लामो सयम भित्र तिनको भुक्तानी गर्न सक्छ। यसरी व्यक्तिको बजारमा साख जति राम्रो भयो त्यति नै उसलाई ऋण प्राप्त गर्न तथा उधारोमा सामानहरु खरिद गर्न सजिलो हुन्छ।
नेपालमा कुनै पनि व्यक्तिले कस्तो साख आर्जन गरेको छ भन्ने कुराको निगरानी गर्ने न त कुनै संस्था छ न त व्यवस्थित रुपले कुनै व्यक्तिको साखको मूल्यांकन गर्न कार्य नै गरिन्छ। कुनै व्यक्तिले कति कति को को ( विभिन्न संस्थाहरु) संग कुन कुन मितिमा ऋण लियो र उक्त ऋणको भुक्तानी कसरी गर्यो। यसै गरी कुनै व्यक्तिले कहाँ कहाँ (पसलहरु) बाट उधारोमा सामानहरु खरिद गर्यो र तिनको भुक्तानी कसरी गर्यो। ऋण वा उधारो भुक्तानी गर्ने क्रममा सम्पूर्ण रकम भुक्तानी गर्यो वा केही रकम भुक्तान नै गरेन। गरिएको भुक्तानी पनि नियमित वा अनियमित थियो। यस्ता कुराहरुको अभिलेख राख्ने र तिनको मूल्याकंन गर्ने कार्य साख व्यवस्थापन अन्तर्गत गरिन्छ। अमेरिका क्यानाडा, बेलायत र साथै अन्य थुपै विकसित मुलुकहरुमा व्यक्तिको साखको निगरानी तथा मूल्याकंन गर्ने संस्थाहरुको स्थापना गरिएको हुन्छ र ती संस्थाहरुको निगरानी र मूल्याकंनको आधारा कुनै पनि व्यक्तिलाई ऋण लिन, उधारोमा सामन खरिद गर्न सजिलो हुन्छ। व्यक्तिको साखको मूल्याकंन तथा अनुगमन गर्ने संस्थालाई क्रेडिट ब्युरो भन्ने गरिन्छ। यस्तो संस्थाले गरेको अनुगमन तथा मूल्यांकनको आधारमा नै कुनै पनि व्यक्तिले कति सम्म ऋण पाउन सक्ने वा कति हदसम्मको उधारो पत्र (Credit card) पाउन सक्ने भन्ने कुराको निर्धारण हुन्छ। कुनै व्यक्तिले केवल आफ्नो आर्थिक क्षमता अनुसार मात्र ऋण लिएको छ र ऋणको भुक्तानी पनि तोकिएको समयमा सन्तोषजनक किसिमले गरेको छ। यसै गरी विभिन्न संस्था वा पसलहरुबाट उधारोमा सामानहरु खरिद गरेको छ र तिनको भुक्तानी पनि तोकिएको समयमा सन्तोषजनक किसिमले गरेको छ भने उक्त व्यक्तिको साख इतिहास (Credit history ) राम्रो, विश्वसनीय वा प्रभावकारी हुँदै जान्छ। तर यसको विपरित यदि व्यक्तिले आफ्नो आर्थिक क्षमता अनुसार ऋण लिएको छैन, आम्दानी भन्दा बढी ऋण लिएको छ। उधारोमा सामान खरिद गर्दा आफ्नो आर्थिक क्षमता भन्दा बढीको सामान खरिद गरेको छ। ऋण र उधारोको भुक्तानी समयमा गरेको छैन भने उसको साखको इतिहास राम्रो हुँदैन। र साख राम्रो न भएमा ऋण लिन वा उधारोमा सामान खरिद गर्न व्यक्तिले अनेक समस्याहरुको सामना गर्नु पर्ने हुन आउँछ। त्यस कारण व्यक्तिले जहिले पनि आफ्नो साख राम्रो बनाउने प्रयत्न गर्दछ किनभने उसलाई थाहा हुन्छ उसको साख खराब भएमा ऋण लिन, उधारोमा सामान खरिद गर्न उसलाई गार्हो हुन्छ भन्ने कुरा। उधारो पत्रको राम्रो प्रचलन रहेको मुलुकहरुमा वहुसंख्यक व्यक्तिहरुले लत्ता कपडा, घर घरायसी सामान, यातायात सेवा, खाद्यान्न लगायत कम्प्युटर, वासिङ्ग मेसिन, फ्रिज अदि र कारसम्म पनि उधारो पत्रले नै खरिद गर्छन। सामानहरु खरिद गर्दा व्यक्तिहरुले नगदको प्रयोग ज्यादै कम मात्रामा गर्छन। यसरी उधारो पत्रले एकातिर सामान खरिदलाई सजिलो पारिदिन्छ भने अर्कोतिर व्यक्तिले आफूसँग तत्काल पैसा नभए पनि आफूलाई आवश्यक पर्ने सामान जुन सुकै बेला पनि खरिद गर्न सक्छ र त्यसरी उधारोमा खरिद गरेको सामानको मूल्य उधारो पत्रले तत्काल भुक्तानी गरिदिएको हुनाले उसले किन्ना साथ भुक्तानी गर्नु पर्ने चिंता लिइ रहनु पर्दैन।
व्यक्तिसँग तत्काल पैसा नभए पनि उधारो पत्रले व्यक्तिमा क्रय शक्ति सृजना गरिदिन्छ जसले गर्दा व्यक्तिले सजिलैसंग आफूलाई आवश्य परेका सामानहरु उधारो पत्रद्वारा खरिद गर्न सक्छ। र यसबाट दुईबटा फाइदा हुन्छ। पहिलो त, व्यक्तिले खल्तिमा पैसा नभएता पनि उसले भोकै बस्नु (यदि होटलमा खाने गरेको छ र होटलले उधारोमा सामान दिंदैन) पर्ने स्थिति आउँदैन। दोस्रो, ग्राहकको खल्तिमा पैसा तत्काल नभएता पनि बिक्रेता (होटल) ले सजिलै ग्राहकलाई सामान बिक्री गर्न सक्छ किनभने बिक्रेताले  आफ्नो सामानको मूल्य तत्काल उधारो पत्रको माध्यमाबाट ग्राहकबाट प्राप्त गर्दछ। यसरी, तत्काल ग्राहकसँग पैसा नभएता पनि र बिक्रेताले उधारोमा बिक्री गर्न नखोजेता पनि उधारो पत्रले खरिद र विक्री दुवै कार्य सम्भव गराई दिन्छ। र अर्को शब्दमा भन्ने हो भने विना भुक्तानी बजारमा माग र आपूर्ति हुने सहज स्थिति उधारो पत्रले सृजना गरिदिन्छ। यसरी उधारो पत्रले तत्काल पैसा नहुनेहरुमा पनि क्रय शक्ति सृजना गरिदिन्छ।
कुनै पनि मुलुकमा, धनीहरुको सीमित संख्यालाई छाडेर वहुसंख्यक जनताको आर्थिक स्थिति हेर्ने हो भने उनीहरुको आर्थिक स्थिति बलियो नरहेको सहजै देख्न सकिन्छ। अर्थात उनीहरुको हातमा जुन बेला पनि नगद हुन सक्तैन। तर एक निश्चित समयपछि भने उनीहरुको हातमा आम्दानी प्राप्त हुन आउँछ। कामदार वा कर्मचारी हो भने तोकिएको समय पछि ज्याला वा तलबको रुपमा आम्दानी प्राप्त हुन आउँछ भने कृषक हो भने तोकिएको समय पछि वा फसल काटे पछि आम्दानी प्राप्त हुन आउँछ। तर तोकिएको समय पछि आम्दानी आउनु भन्दा पहिले भने उनीहरुको हात खाली हुन्छ। अर्थात यो समयमा उनीहरुसँग पैसा हुँदैन र क्रय शक्ति क्षिण रहेको हुन्छ। यसरी क्रय शक्ति क्षिण रहेको बेला उनीहरुले आवश्य परेका सामानहरु खरिद गर्न विभिन्न समस्याहरुको सामान गर्न पर्दछ, एक निश्चित समयपछि उनीहरुसँग आम्दानी हुने स्थिति हुँदा हँदै पनि। उधारो पत्रले यो स्थितिको अन्त्य गरिदिन्छ। उधारो पत्रले गर्दा व्यक्तिले आफूसँग तत्काल पैसा नभएता पनि आवश्य सामाग्रीहरु खरिद गरेर पछि जब आम्दानी प्राप्त हुन्छ क्रेडिट कार्ड कम्पनीलाई भुक्तान गर्न सक्छ। यसरी, उधारो पत्रले व्यक्तिसँग तत्काल पैसा नभएता पनि उसमा क्रय शक्ति सृजना गरिदिन्छ र उसलाई अभावको स्थितिमा भोकै बस्नु पर्ने दयनीय अवस्थाबाट उन्मुक्ति दिन्छ।  
उधारो पत्र भनेको के हो र यो कसरी जारी हुन्छ?

विश्वराज अधिकारी

Wednesday, December 28, 2011

I Will Never Go To The City - Story - 22



अब कहिले शहर जान्न


‘अँ हँ, म त कहिले अब शहरतिर जान्न, बरु यै गाउँमा जिवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर। कति आनन्द आउँछ यो बाटो हिँडेर शहर पस्नेहरु र शहरबाट गाउँ झर्नेहरुको कुरा सुन्न, यो चिया पसलमा बसेर उनीहरुले चिया खाँदै गफ गर्दा। यहाँ कति रमाईलो  छ कति। बिना सित्ति मुगलिन झरेर दुखमा मात्र पाएँ। मलाई त अब शहरको मान्छे देख्यो कि डर लाग्छ। तिनीहरुले ठग्लान कि भनि म त पिरोलिन थाल्छु, शहरका मान्छेहरु मेरो अगाडि पर्यो कि। अँ हँ, म त एक दुइ तिन, अब कहिले शहरतिर झर्दिन’ म सुन्तलीको कुरा  कतै न अलमलिएर सुन्दै थिएँ। सुन्तलीको कुरा सुन्दा मेरो चिया सेलाएको मैले पत्ते पाइन।
शहरको मान्छे देख्यो कि डर लाग्छ, अब म शहर कहिले पस्दिन भन्ने सुन्तलीको भनाइले, उनको त्यो भनाइमा गहिरो अर्थ रहेको संकेत गर्यो। र त्यसैले पनि अझै प्रष्टसँग बुझ्न मन लाग्यो, त्यसको अर्थ वा भनौ उनको शहरप्रतिको त्यस्तो अनुभूति। एक किसिमले भन्ने हो भने म ब्यग्र नै भए, सुन्तलीको वर्तमान र विगत दुबै थाहा पाउन। मेरो मुखबाट निस्क्यो- के गरे नि त्यस्तो शहरका मान्छेहरुले, हँ सुन्तली? सबैले उनलाई सुन्तली भनेको हुनाले मैले पनि सुन्तली भने। उनको वास्तविक नाम के थियो मैले थाहा पाउने प्रयास गरिन पनि।
सुन्तलीले उम्लिंदै गरेको दुध-पानीमा चिया पत्ति हालिन। छेउका ग्राहकहरुलाई भनिन पनि ‘एकै छिन है दाइहरु, चिया पाक्नै थाल्यो, धेरै बेर लाग्दैन। एकै छिन उम्ल्योस, है यो चिया।’
सुन्तलीको चिया झै मेरो मनमा पनि धेरै प्रश्नहरु उम्लिरहेका थिए। र ती प्रश्नहरु पोखिन खोज्दै थिए, सुन्तली माथि। मैले फेरि प्रश्न गरे- के गरे त्यस्तो शहरको मान्छेले हँ सुन्तली, हामीले पनि सुन्न पाए हुन्थ्यो।
सुन्तली एकै छिन घोरिइन। उम्लिंदै गरेको चिया चलाउँदै भनिन ‘के कुरा गर्नु त्यस्तो, त्यहाँको? छि, घिन लाग्दो कुरा। त्यस्तो पनि मान्छे हुन्छ कहिं कतै मुलुक संसारमा, भन्नुस त, सर?’ हाम्रो पूर्व कुराकानीको क्रममा म कुनै अफिसको कर्मचारी हो र पहाडको कुनै गाउँमा रहेको कुनै अफिसको निरिक्षण गर्न त्यतातिर लागेको भन्ने कुरा सुन्तलीलाई थाहा भइ सकेको थियो। त्यसै कारण उनले मलाई सर भनेको हुनु पर्छ।
सुन्तलीको कुरा सुने पछि मैले हाँस्दै भने- हेर, बैनी, मलाई दाई भने हुन्छ। सर भन्नु पर्देन। अँ बरु तिम्रो त्यो कुरा सुनाउन।
मेरो कुरा सुने पछि सुन्तलीले मेरो मुहारतिर अप्रत्यासित किसिमले हेरिन। तर निमेषभर मै भन्न आरम्भ गरिन ‘त्यस्तो पनि मान्छे हुन्छ दाइ?’ यो एउटा वाक्य बोले पछि चुप लागिन। एकै छिनको मौनता पछि फेरि भनिन् ‘म मुग्लिनको एउटा होटलमा काम गर्थ्ये। ऊ, त्यो होटलमा महिनामा दसौं पन्द्रौ चोटि आउँथ्यो। त्यही खाना खानथ्यो र कहिले ट्रकमा तर धेरै जसो होटलमा नै सुत्थ्यो। ट्रक चलाउथ्यो। कहिले बीरगंज त कहिले बिराटनगरबाट, कहिले भने भैरहवाबाट पनि सामान ल्याउँथ्यो काठमाडौ पुर्याउनका लगि। जहिले पनि सोधे भने उसले भन्थ्यो -सामान मात्रै साउको हो, ट्रक त मेरो नै हो। तर मैले उसको ट्रक देखेर, धनी होला भनेर उसको पछि लागेको भने थिन, है। मलाई त उसको मिठो कुराले पो रक्सीले झै लठ्याएको थियो। रक्सीको नसमा रहेको मान्छेले जता पनि आनन्द नै आनन्द देखे झै म पनि उसको कुरा सुनेर हराउँथे कल्पनाको संसारमा। पुग्थ्ये कता कता। जता पनि उसको माया पोखिएको देख्थ्ये। मन भरि आनन्द नै आनन्द हुन्थ्यो’।
ग्राहकहरु सबै हिंडि सकेका थिए। हामी दुई मात्र भएको स्थितिले सुन्तलीलाई खुलेर कुरा गर्न झनै सजिलो पारेको थियो। सुन्तलीले फेरिन भनिन् ‘ऊ सुतेको कोठामा गएर म राति निकै बेरसम्म कुरा गर्थ्ये। कहिले काहिँ त रातभरि नै पनि। तर त्यस्तो अरु कुनै मान्छेसँग कहिले पनि गरिन। उसँग मात्र त्यस्तो……… भएको थियो। कुरा गर्दा जहिले पनि उसले भन्थ्यो- हेर सुन्तली यो त्रिसुली नदी जहिलेसम्म रहन्छ यो लोकमा, हाम्रो माया पनि त्यसरी नै रहि रहने छ, यो दुनियामा। हाम्रो माया यो त्रिशुली नदीको पानी जस्तै सँगलो र पबित्र छ। मेरो माया यो त्रिशुली नदीको दुई किनार हो अनि त्रिशुली नदीको पानी चाहिँ तिम्रो माया। जसरी नदीका दुइ किनारहरु र पानी जहिले पनि साथै हिंडछन्  त्यसरी नै हामी हिँड्ने छौ। यो जुनीमा मात्र होइन, अर्को जुनीमा, अर्को जुनी त के सात जुनीमा। हामी साथ रहने छौ। हाम्रो साथ जुन र आकास जस्तो हुनेछ। जहिले पनि मिलेर बस्ने। कसैले छुटाउन सक्ने छैन हामीलाई। बुझेउ सुन्तली।’
यति भनेर सुन्तली एक छिन चुप लागिन। सफा गरेका गिलासहरुलाई मिलाइर राखिन पनि। तर उनको मौनता भने निकै बेर कायम रह्यो। मनको मौनतालाई तोड्द मैले प्रश्न गरे- अनि त्यस पछि के भयो त सुन्तली?
मतिर हेरेर भन्नुको साटो उनले चुल्होतिर हेरेर भनिन् ‘म दङ्ग परेको थिए। होटलको साउको कचकच सुन्दा सुन्दा दिक्क लागेको थियो, त्यसबाट छुटकारा पाइने भयो, मनमा त्यस्तो पनि लागेको थियो। त्यति मात्र हो, अब घरजम गरेर नै बस्न पाइयो। एउटा भरपर्दो मान्छे भेटियो जिवन बिताउनका लागि। अशल साथी पाइयो दुख सुख साट्ने, भन्ने टुङ्गोमा पुगेकी थिएँ म।’  
यति भनेर सुन्तली केही क्षण चुप लागिन। म भने उनको विगत जान्न ब्यग्र थिएँ। मेरो मुहारको ब्यग्रता बुझ्दै उनले भनिन् ‘मलाई अति नै माया गर्थ्यो, उसले। जहिले पनि काठमाडौंबाट फर्किँदा केही न केही ल्याउँथ्यो, मेरो लागि। साडी, जुत्ता त कति दियो कति, उसले। त्यति मात्र हो एक जोडि टप पनि दिएको थियो कानमा लाउने। अनि टप दिँदा हाँस्दै भनेको थियो - सुन्तली तिलहरी र पोते चाहिँ अहिले होइन त्यै बेलामा दिन्छु, जुन बेलामा केटाहरुले दिने गर्छन, केटीलाई। त्यै बेलामा, बाजा बजाउने बेलामा, दिउँला है। उसको त्यो कुरा सुनेर म आकाशमाथि पुगेकी थिएँ, मन भित्रको खुसी मेरो पखेटा बनेर, पुर्यायो त्यसले मलाई आकाशमाथि…………….।’
सुन्तलीको पछिल्लो कुरा सुनेर म अलि थप आश्चर्यमा परे। मेरो थप आश्चर्य थियो सुन्तलीका साहित्यिक कुरा। सुन्तलीका साहित्यिक कुरा सुनेर म दङ्ग परेको थिएँ। उनको त्यो पछिल्लो भनाईलाई बिचमै रोक्दै मैले प्रश्न गरे- पढे लखेको जस्तो लाग्छेउ नि तिमी त, कुरा गराईले, हँ सुन्तली।
सुन्तलीले तत्काल जबाफ दिन ‘यस यल सी पास गरे नि, गाउँ कै स्कूलबाट।’
मैले तत्काल नै प्रसंग परिवर्तन गर्ने उद्देश्यले भने ‘अँ त्यस पछि के भयो त, हँ, सुन्तली? सुन्तलीले भनिन् ‘ऊ, मैले काम गर्ने होटलमा आउने र राति त्यहाँ बस्ने क्रम लामो समय सम्म चलिरह्यो। एक वर्ष भन्दा पनि बढीसम्म। अनि हाम्रो भेटघाट र कुराकानीको क्रम पनि त्यसरी नै बाक्लो हुँदै गयो। पछि त कस्तो पनि हुन थाल्यो भने ऊ होटलमा बास बस्न न आएको दिनमा, उसलाई नभेटेको दिनमा, मैले केही ज्यादै नै वहु मूल्य कुरा हराएर खोज्नु पर्ने जस्तो। त्यति मात्र हो, ऊ नभएमा म त बाँच्न नै नसक्ने स्थितिमा पुगे। त्यस्तो सम्म स्थितिमा पुर्यायो उसको त्यो पापी मायाले मलाई।’
सुन्तलीले आँखाको आँशु पुछ्दै फेरि भनिन् ‘एक चोटि ऊ काठमाडौ गएको एक महिना भन्दा बढी हुँदा पनि फर्केन। म यता पानी बिनाको माछा हुन थाले। आफूलाई रोक्ने नै गाह्रो भयो, मलाई। पुगे उसलाई खोज्न, बीरगंज नै। उसले आफ्नो, घर कुन शहरमा हो त्यो चाहिँ भनेको थिएन, तर बसाई भने बीरगंजको बस पार्कको छेउ छाउमा छ भनेको थियो। बीरगंजको बस पार्कको छेउ छाउका घरहरुमा खोंजे, सोधें उसको बारेमा, एक हप्ता नै लगाएर। तर, कतै न त ऊ, न त ऊ बसेको घरनै भेटियो। मुगलिंगबाट एउटा भाई पर्नेलाई साथमा लिएर गएको थिएँ,  त्यो भाई न भइ दिएको भए म त एक्लै झनै कति भौतिरन्थ्ये होला त्यति ठूलो शहरमा। निरास भएर बीरगंजबाट फर्किने निधो गरे। मुग्लिन पनि होइन आफ्नै घरतिर जाने टुङ्गोमा पुगे। एक हप्ताको बसाई सक्याएर, बस पार्कमा पुगेर भौतारिँदै थिए, बीरगंजबाट हिंड्न, आफ्नो घरतिर लाग्न। कस्तो अचम्म! उसलाई बस पार्कको छेउमा, उसले चलाउने गरेको ट्रक बनाउँदै गरेको देखे। उसलाई देखे पछि मेरो मन भित्र रहेको खुसी बाढी झै रोकिएन, अनि फैलियो मेरो आँखा भरि। अति खुसीले गर्दा आँखाबाट झरेको आँशु पुछ्दै भने ‘केही समय बीरगंज तिर नै रोकिन्छु, उता आउन पाउँदिन भनेर भन्नु पर्थ्येन। कम छटपटिए म, के भयो किन यता नआएको भनेर? मेरो कुरा सुने पछि उसले हाँस्दै भन्यो- लौ, किन छटपटिएको त्यसरी। मैले भने- बिना कुनै खबर यता यत्रो दिन बस्दा हामीलाई चिंता हुदैंन र। उसले भन्यो- किन चिंता लिनु पर्यो तिमीले मेरो बारेमा? म को हुँ र तिम्रो? मैले आश्चर्य मान्दै उसलाई प्रश्न गरे- म को हुँ तिम्रो भन्ने कुरा, मसँग होइन, आफूले आफै सँग नै सोध न। उसले फेरि भन्यो- म कोही पनि होइन तिम्रो। बढी लामो कुरा न गर। जाउ यहाँबाट, काम गर्न देऊ मलाई। उसको त्यस्तो कुरा सुनेर म आकाश माथिबाट झरे झै भए। मुटुमा शूल नै रोपियो मेरो। भक्कानिएर रुन मन लाग्यो मलाई। तर पनि आफूलाई रोक्दै भने- अनि, तिमीले गरेका ती मिठा मिठा कुराहरु, पोते तिलहरि, अनि सिन्दुरका कुराहरु के थिए? सबै झूठा? अर्थ न बर्थका?’
यति भनेर सुन्तली चुप लागिन अनि रुन पनि थालिन। म पनि मौन नै बसें। अनि त्यस पछि के भयो हँ सुन्तली, भनी सोध्न मन लागेन मलाई। एकै छिन रोए पछि आँशु पुछ्दै सुन्तलीले फेरि भनिन ‘त्यति मात्र भनेको भए त मेरो यो मुटु टुक्रा टुक्रा हुने थिएन। उसको त्यो अर्को कुराले पो मेरो मुटु छिया छिया पार्यो। उसले मलाई के भन्यो दाई, थाहा छ? उसले मलाई  भन्यो- तिम्रो फाल्तु कुरा सुन्ने फुर्सत छैन, मसँग। म मात्र होइन त्यो होटलमा तिमी सँग सुत्न आउने सबैले भनेका होलान तिमीलाई, मैले भने जस्तो। म पहिलो मान्छे होइन। यति भनेर ऊ हाँस्यो गललल। छेउमा रहेका उसका साथीहरु पनि हाँसे, गललल।’
सुन्तली रोई नै रहेकी थिन। म उनको छेउमा मौन थिएँ। सुन्तलीको मुखबाट कुनै शब्द निस्किन सकिरहेको थिएन, न त मेरो मुखबाट नै।


विश्वराज अधिकारी

Tuesday, December 27, 2011

Logical Judgement - Nepali Short Story - 23 - Abhinaya


तर्क न्याय



छिमेकीको बारीमा फलेको अम्बा उसले चोरेको हुनाले छिमेकीहरुले उसलाई चोर भने। गाली गर्दै बेइज्जती गरे। गाली बेइज्जती गर्नेहरुसँग उसले प्रश्न गर्यो बारींमा फलेको अम्बा टिप्ने कार्य कसरी चोरी भयो? बाटोमा, पाकेको अम्बा देखेर जो सुकै पनि लोभिन सक्तैन र? एउटा जाबो अम्बा टिपेको त हो नि, सुन चाँदी रुपैयाँ पैसा हिरा जवाहरात चोरेको हो र? घर भित्र प्रवेश गरेर चोरी गर्ने पो चोर, मैले त बाटोमा हिँड्दा हिँड्दै टिपेको हो, चोरी गरेको हो र? घर भित्र पसेको छु? फलफूल जस्तो लोभिने कुरा सबैले देख्न सक्ने ठाउँमा फलाएर बाटो हिड्नेलाई लोभ्याउनु अनि टिपे पछि चोर्यो भनि उसलाई गाली गर्नु उचित हो? कसैले सजिलै देख्न सक्ने ठाउँमा फलफूल रोप्ने मान्छेको ठूलो भूल होइन र?
चोर भनी आरोप लागेको व्यक्तिको प्रश्न सुनेर उपस्थित सबै ऊसँग सहमत भए। अनि सन्तुष्ट पनि। त्यस्तो ठाउँमा अम्बा किन रोपेको भनी रुख रोप्नेलाई गाली गरे।
चोरीको आरोपबाट मुक्ति पाएको त्यो व्यक्ति खुसी हुँदै घरतिर लाग्यो। घरभित्र प्रवेश गरे पछि उसको बारीबाट तरकारी चोरी भएको थाहा पायो। घरको छेउमा उभिएको एक व्यक्तिमाथि शङ्का गर्दै ऊमाथि चोरी गरेको आरोप लगायो।
त्यहाँ उपस्थित भएका व्यक्तिहरु तिर हेर्दै उसले भन्यो यो चोर हो। यसले मेरो बारीमा फलेको तरकारी चोर्यो। यो मोरो चोरलाई यत्तिकैमा छाड्नुहुँदैन। छाडे भने यसको हिम्मत बढेर जानेछ। आज तरकारी चोर्यो, भोलि सुनचाँदी रुपैया पैसा, अनि पछि………….? यसको दुबै हात नै काटि दिनु पर्दछ। न हात रहन्छ न यसले चोरी गर्न सक्छ। हात रहे भने फेरि यसले …….। चोरी गर्नु ठूलो अपराध हो। अपराधीलाई कठोर सजाय दिनुपर्दछ, कानुनी राज्यमा, न्यायिक समाजमा। अपराधीलाई सजाय दिन नसक्नु पनि ठूलो अपराध हो। यति भनी सके पछि उसले आफ्नो हातमा रहेको खुकुरी माथि उचाल्दै त्यो व्यक्ति, जसलाई उसले चोर भनेको थियो, को दुबै हात काटि दियो। त्यहाँ उपस्थित सबै व्यक्तिहरु चोरले उचित सजाय पायो भनी सन्तुष्ट भए। हात काटे पछि त्यो व्यक्ति कार्यकर्ता भेलालाई सम्बोधन गर्नु पर्ने छ, ढिलो भयो भन्दै सडक तिर लम्क्यो।

विश्वराज अधिकारी 

Sunday, December 25, 2011

A Unique Characteristic - Fiction of the week 17


A Unique Characteristic 


 God asked Narad jee ‘why did you bring me here and what do I have to see, please tell me, Narad jee?’
 Narad Jee, the Rishi, from the heaven smiled genteelly and replied ‘God father, I brought you to the earth to see the different creatures who share the earth as their common habitat’
Narad jee said further to make his statement more clear ‘God father, all the living things whom you are seeing are creatures of the earth. The earth is their common habitat. All the creatures of the earth have few characteristics which is similar. They all need food to survive. All of them breathe and have a life cycle. To go from one place to another they have motion too. But one creature has a quite different characteristic than others. That characteristic is not seen in the rest of the other creatures. God father, the creature whom I am talking about has one unique and interesting characteristic.’
 God asked Narad jee immediately ‘Name the creature which has a unique characteristic and also tell me about the uniqueness, Narad jee.’
Narad jee said ‘that creature is a human being.’
 God asked again ‘what is the unique characteristic that human beings have. Why is that characteristic of the human being so completely different than other creatures, could you explain me please, Narad jee?
Narad jee bowed his body to pay his respect and said ‘almighty you know all the things; there is nothing which is not in your notice. But still I am going to explain you, humans have one unique characteristic than rest of the other creatures and that is- all the creatures in the earth get unhappy when they are in trouble however humans get unhappy when they see someone else happy. 

Bishwa Raj Adhikari 

Saturday, December 24, 2011

The Life - Poem of the week 11



जिवन लिला

भत्किँदै छ मेरो अगाडि मेरै विश्वास किला
बुझ्न कठिन भयो अति यो जीवन लिला
लाग्द्थ्यो जीवन निर्देशित दिशाम चल्दछ
उर्वरा भूमिको बिरुबा झै अति फुल्दछ फल्दछ
तर जीवनको आफ्नै गति आफ्नै मति
भिन्न सबै भन्दा यसको आफ्नै रिति थिति

जीवन तर सुकेको पात झै
कहिले धरति कहिले आकाशमा
पुग्छ कता कता
सानो सानो बतासको साथमा

कहिले कसैको पाइताला मुनी
कहिले फोहरको रासमा उडदै छु उडदै छु
पुगुँला त कहिले जहाँ पुग्न खोजेको हो
भन्ने झिनो आशमा कता कता पुग्दै छु

जीवन नाटक मनञ्चन हुने यो निर्देशनमा कसको
पात्रहरु को को हुन बुझ्न नसकिने यो नाटकको
आफ्नै जीवन नाटकको थरि थरि दृश्य हेर्दछु
डोरीमा कसैको तानिएर कडपुतली झै घुम्दै छु घुम्दै छु

विश्वराज अधिकारी

Friday, December 23, 2011

Business For The Survival - Article - 23



निर्वाहका लागि गरिने व्यापार


ब्यापार दुई किसिमबाट गरिएको पाइन्छ। अर्थात ब्यापार संचालन गर्नुको उद्देश्य दुई बटा हुन्छन्, ती हुन १. मुनाफा गर्नका लागि २. जिवन निर्वाह गर्नका लागि।
मुनाफाका लागि गरिने व्यापार ठूला आर्थिक हैसियत भएका वा जम्मा गरिएको ठूलो पूँजीद्वारा संचालन गरिएको हुन्छ। ठूला ब्यापारमा, ब्यापारिक वातावरणद्वारा उत्पन्न हुने विभिन्न किसिमका जोखिमहरु बहन गर्ने क्षमता ब्यापार संचालकहरु सँग हुन्छ। र त्यसै गरि ब्यापारबाट प्राप्त हुने प्रतिफल (आम्दानी) पनि तुलनात्मक रुपमा ठूलै हुन्छ, व्यवसायीले गरेको श्रम र पूँजीको तुलनामा। ब्यापारिक वातावरणबाट उत्पन्न भएको जोखिमका कारण घाटा बेहोर्नु पर्ने स्थिति भएमा वा कुनै एक वर्ष ज्यादै घाटा भएमा ठूला ठूला ब्यापारिक प्रतिष्ठानहरुले आफूसँग रहेको कार्यशील पूँजी र अन्य स्थिर सम्पत्ति, जुन ठूलो परिमाणमा हुन्छ, को प्रयोग गरेर त्यस किसिमबाट उत्पन्न भएको जोखिमको असरलाई कम पार्न सक्छन। जोखिमको असरलाई कम पारेर आफ्नो अस्तित्वको रक्षा गर्न सक्छन वा त्यस्तो गर्न सक्ने क्षमता राख्छन। ठूला व्यापारिक प्रतिष्ठानहरु सँग बजारमा देखिने प्रतिस्पर्धा सँग मुकाबिला गर्ने क्षमता पनि हुन्छ। अध्ययन एवं अनुसन्धानको माध्यमद्वारा उनीहरुले बजारमा देखिएका वा देखिन सक्ने प्रतिस्पर्धाहरुको मुकाबिला गर्ने उपायहरुको विकास समेत गर्न सक्छन। त्यसकारण ठूला ब्यापारिक प्रतिष्ठानहरुको भविष्य जिवन निर्वाहका लागि गरिने सानो ब्यापारको तुलनामा धेरै हदसम्म सुरक्षित हुन्छ।
जिवन निर्वाहका लागि गरिने ब्यापार तुलनात्मक रुपमा ज्यादै सानो पूँजीद्वारा संचालित हुन्छ। पूँजीको आकार सानो र संचालकद्वारा प्रयोग गरिएको प्रयत्न (बौद्धिक र शारिरीक श्रम) पनि सानो वा कम प्रतिस्पर्धात्मक भएकोले स्वभाविक रुपमा जिवन निर्वाहका लागि गरिने व्यापारबाट प्राप्त हुने प्रतिफलको आकार पनि सानो हुन पुग्छ। त्यस किसमबाट प्राप्त भएको आम्दानीले ब्यापार संचालकले केवल आफ्नो जिवन निर्वाह मात्र गर्न सक्छ, करोडौं, अरबौं रुपैंया संचय गर्न सक्तैन, आफ्नो जिवनकाल भरि मा नै पनि। सानो आकारको व्यापार संचालन गरेर संचालक धनी हुन अति नै गार्हो हुन्छ। एक किसिमले असम्भव नै हुन्छ भने पनि हुन्छ। उदाहरणका लागि, कुनै एक व्यक्तिले रिक्सा तान्ने कार्य गरेर वा कुनै एक व्यक्तिले सैलुन संचालन गरेर आफ्नो जिवन काल भरिमा पनि अरब रुपैंया आर्जन गर्न सक्तैन। एकै दिनमा हजारौं ग्राहकहरु कपाल काट्नका लागि सैलुनमा आएता पनि एक सैलुन संचालकले केवल आफ्नो क्षमताले भ्याए जति ( तीस वा चालिस) ग्राहकको मात्र कपाल काट्न सक्छ, उसँग कपाल कटाउँछु भनी हजारौं ग्राहकहरु उसको सैलुनमा आएता पनि। जबकी एक व्यापारीक प्रतिष्ठानमा, हजारौमा व्यक्तिहरु कुनै समान खरिद गर्न एकै पटक पुगेता पनि संचालकले त्यो सामान उपलब्ध गराउन सक्छ। उदाहरणका लागि, कुनै एक किराना पसलमा, एक सय ग्राहकले, एकै पटक साबुन खरिद गर्न खोजेमा, विक्रेताले सजिलै, छोटो समयमा सबै ग्राहकलाई उनीहरुको माग अनुसार साबुन उपलब्ध गराउन सक्छ। यस्तो स्थिति एक रिक्सा चालक वा एक सैलुन संचालकका लागि आउन सक्तैन। किनभने उनीहरुले एउटा समयमा एकै जनालाई सेवा उपलब्ध गराउन सक्छन्।
जिवन निर्वाहका लागि गरिने सानो आकारका विभिन्न किसिमका ब्यापारहरुमा, तुलनात्मक रुपमा, जोखिम बढी, प्रतिफल वा मुनाफा कम, श्रम लगानीको अनुपात ठूलो, कम प्रतिस्पर्धात्मक क्षमता, कमजोर आर्थिक हैसियत जस्ता समस्याहरु भएकोले नै सरकारी स्तरबाट त्यस्ता व्यापार संचालन गर्नका लागि वा ब्यापार संचालन गरि रहेको अवस्थामा नै पनि त्यसको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका सहयोगहरु प्रदान गर्ने कार्य गरिन्छ। विकसित मुलुकहरुमा सानो व्यापार संचालन गर्नका लागि ‘सानो ब्यापार विकास’, सानो ब्यापार सहयोग सेवा, जस्ता निकाएहरुको स्थापना गरिएको हुन्छ र त्यस्ता निकाएहरुले सानो ब्यापार संचालकहरुलाई विभिन्न किसिमका सहयोगहरु प्रदान गर्छन। त्यस्ता निकाएहरुले सरकारबाट कसरी ऋण प्राप्त गर्ने, कुन ब्यापार संचालन गर्दा कस्ता किसिमका  जोखिमा वा समस्याहरु आई पर्छन, आइ पर्ने जोखिमहरुको न्यूनिकरण कसरी गर्ने, कस्ता किसिमका कार्यहरु गरेर ब्यापारिक प्रतिस्पार्धात्मक क्षमता अभिवृद्धि गर्न सकिन्छ, जस्ता विषयहरुमा साना ब्यापार संचालकहरुलाई सल्लाह दिने कार्य गर्दछन। साना व्यवसायीहरुलाई तालिम दिने, सर सल्लाह दिने, बजार बारे ताजा जानकारी नियमित रुपमा प्रवाहित गर्ने कार्यहरु पनि त्यस किसिमका सरकारी निकाएहरुले गर्दछन।
कुनै पनि मुलुकमा वहु संख्यक व्यक्तिहरुले केवल जिवन निर्वाहका लागि सानो आकारको वा कम पूँजीद्वारा ब्यापार  संचालन गरेका हुन्छन र त्यो सानो आकारको ब्यापारबाट प्राप्त भएको आयले जिवन निर्वाह गर्नुका साथै सरकारलाई कर समेत भुक्तान गरेका हुन्छन। सानो आकारको ब्यापारले कुनै पनि देशको जनसंख्याको ठूलो भागलाई रोजगारी उपलब्ध गराएको हुन्छ। त्यस कारण साना व्यवसायीहरुले राष्ट्रको अर्थतन्त्रको विकासमा अति नै महत्वपूर्ण भूमिका खेलेका हुन्छन।
साना ब्यापारीहरुले ठूला ब्यापारिक प्रतिष्ठानहरुको सफलतमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएका हुन्छन। साना ब्यापारीहरु ठूला ब्यापारीहरुका ग्राहकहरु पनि हुन। साना ब्यापारीहरुको आर्थिक विकास भएमा त्यसको सकारात्मक असर ठूला ब्यापारीहरुको ब्यापारमा परेर ठूला व्यापारीहरुको पनि आर्थिक प्रगति हुन पुग्छ। साना ब्यापारीहरु ठूला ब्यापारीहरुको प्रतिस्पर्धीहरु नभएर सहयोगीहरु हुन। त्यसकारण साना ब्यापारीहरुको कार्य संचालन एवं आर्थिक विकासमा ठूला ब्यापारीहरुले पनि सहयोग पुर्याउनु पर्दछ। साना ब्यापारीहरुको क्रय शक्तिमा जुन अनुपातमा वृद्धि हुन्छ त्यसै अनुरुप उनीहरुले ठूला ब्यापारीहरुको सामान खरिद गर्छन र यसरी ठूला ब्यापारीहरु लाभांदित हुन पुग्छन, साना ब्यापारीहरुको क्रियाकलापबाट।
नेपालमा सरकारी तबरबाट साना ब्यापारीहरुलाई परामर्श एवं आर्थिक सेवा खासै उपलब्ध गराइएको पाइँदैन। कस्तो व्यापार संचालन गर्ने, कुन ठाउँमा व्यापार संचालन गर्ने, बिक्री गर्ने सामाग्रीहरु कुन ठाउँबाट कसरी प्राप्त गर्ने, व्यापा संचालनको क्रममा आइ पर्ने जोखिमहरुको न्यूनिकरण कसरी गर्ने, ग्राहक वा माग कसरी सृजना गर्ने, ब्यापार संचालनका लागि ऋण कसरी प्राप्त गर्ने, बजार अनुसन्धान कसरी गर्ने, के कुराको अनुसन्धान गर्ने जस्ता वियषहरुसँग सम्बन्धित जानकारीहरु साना ब्यापारीहरुले आफूले नै खोजी गर्नु पर्ने हुन्छ र त्यस्तो गर्छन पनि। उदाहरणका लागि, फुटपाथमा सामान बिक्री गर्ने ब्यापारीहरुले ब्यापार संचालन गर्नका लागि आवश्यक सम्पूर्ण सूचनाहरु आफ्नै प्रयत्नद्वारा जम्मा पारेको हुन्छन्। सरकार वा स्थानीय निकाएले त फुटपाथमा ब्यापार गर्ने साना ब्यापारीहरुलाई फुटपाथबाट केवल लखेटेर समस्याको समाधान देख्छ, फुटपाथमा ब्यापार संचालन गर्ने त्यस्ता ब्यापारीहरुलाई अन्य उपयुक्त ठाउँमा ब्यापार (बजार) संचालन गर्न जग्गा सहित थप सेवा तथा सुबिधाहरु दिनुको साटो।
नेपालमा, अहिले यस किसिम (साना ब्यापारीहरु लाई सहयोग) का कार्यहरु गरेर गाउँ र शहरको आर्थिक विकास गर्नमा महत्वपूर्ण भूमिका खेल्ने किसिमका स्थानीय निकाएहरु चाहिएको छ। र स्थानीय निकाएहरु लाई यस किसिमका विषयहरुमा निर्णय गर्न सक्ने अधिकारहरु चाहिएको छ। नेपालमा, जातीय आधारमा संगठित हुने सँघ भन्दा स्थानीय जनताको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने स्थानीय निकाएहरुलाई आर्थिक, सामाजिक महत्वका विषयहरुमा निर्णय गर्न पाउने अधिकार चाहिएको छ। यस्तो गर्न सकिएमा मात्र नेपालमा ब्याप्त गरिबी न्यूनिकरण गर्न सकिन्छ, नेपाललाई समृद्धिको दिशा तर्फ डोर्याउन सकिन्छ। संघमा विभाजित हुँदैमा, स्थानीय र राष्ट्रिय आर्थिक विकास हुन्छ भन्ने मान्यता केवल राजनैतिक उद्देश्यले अभिप्रेरित देखिन्छ, आर्थिक भन्दा। र त्यो राजनैतिक उद्देश्य पनि दलगत स्वार्थको वरि परि घुमेको मात्र देखिन्छ, वहु संख्यक अति निर्धनहरुको आर्थिक हित भन्दा।

Thursday, December 22, 2011

Diverse Community - Poverty and Economics - 16


मिश्रित समाज


विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको देखिन्छ। संयुक्त राज्य अमेरिका, क्यानाडा वा अन्य देशका ठूला शहरहरुको जन संख्याको अध्ययन गर्ने हो भने ती शहरहरुमा विभिन्न जातीय समूहहरुको बसोबास रहेको सहजै देख्न सकिन्छ।
कुनै पनि शहर वा देशको आर्थिक विकास गर्नका लागि त्यहाँ विभिन्न जातीय समुदायको बसोबास हुन आवश्य रहेको र यसै गरी  बिभिन्न समुदायहरु एक अर्का प्रति सद्भाव कायम गरी बसेको हुनु पर्ने ठूल ठूला शहरहरुको आर्थिक र साँस्कृतिक विकासले देखाएको छ।
यस्तै, विभिन्न जातीय समूहहरुले बसोबास गरेको तथा बहु संस्कृति भएको शहर हो, टोरन्टो। उत्तरी अमेरिकाको, क्यानाडाको ओन्टारियो प्रोभिन्समा पर्ने यो शहर विश्वकै बहुसांस्कृति शहरहरु मध्ये एक मानिन्छ। करिब पच्चिस लाख व्यक्तिहरुको बसोबास रहेको यो शहर उत्तरी अमेरिकाका सुरक्षित ठूला शहरहरु मध्ये एक मानिन्छ। १४० भन्दा बढी भाषा बोलिने यस शहरमा ३० प्रतिशत जतिले अंग्रेजी र फ्रेन्च बाहेकका भाषाहरु बोल्छन्। क्यानाडाको कुल जनसंख्या मध्ये ८ प्रतिशत ( सन् २००६) टोरन्टोमा बस्छन र टोरन्टोको कुल जनसंख्या मध्ये ३० प्रतिसत आप्रवासी (Immigrants) हरु रहेको पाइन्छ। सन् २००१ देखि २००६ सम्ममा क्यानाडामा ११ लाख ९ हजार ९८० अन्तरार्ष्ट्रिय आप्रवासीहरु आएका थिए र त्यस मध्ये २ लाख ६७ हजार ८५५ टोरन्टो शहरमा आएका थिए। बिभिन्न जातीय समुदायको बसोबासको हिसाबले हेर्ने हो भने टोरन्टोमा दक्षिण एशियाका १२, चिनिया ११.४, काला ८.४, फिलिपिनी ४.१ र लेटिन अमेरिकी २.६ प्रतिशतले बसोबास उल्लेख गरिएको छ। २०० भन्दा बढी जातीय समुदायको बसोबास रहेको टोरन्टो शहर सांस्कृतिक विविधताले भरिपूर्ण  विश्वका शहरहरु मध्ये एक मानिन्छ। सम्पर्क भाषाका रुपमा अंग्रेजी बढी बोलिने भएता पनि मातृ भाषाका रुपमा अन्य भाषाहरु पनि यहाँ बोलिन्छन। मातृ भाषाका रुपमा बोलिने प्रमुख पाँच भाषाहरुमा- चाइनिज (४,२०,०००), इटालियन (१,९५,०००), पन्जाबी (१,३८,००), तेगालोग/फिलिपिनो (१,१४,०००), पोर्चुगिज (१,१३,०००) रहेको पाइन्छ। अंग्रेजी र फ्रेन्च बाहेक घरमा बोलिने भाषाहरुमा चाइनिज, तामिल, इटालियन, स्पेनिस र पोर्चुगिज पर्दछन। टोरन्टोका बासिन्दाहरु मध्ये ३१ प्रतिसतले घरमा अंग्रेजी वा फ्रेन्च बाहेकको भाषा बोल्ने गर्दछन। यसबाट पनि अनुमान गर्न सकिन्छ टोरन्टो साँस्कृतिक विविधा कति वैभवपूर्ण छ भन्ने तथ्य। क्यानाडालाई ‘इमिग्रेन्टस् फ्रेन्डली कन्ट्री’ अर्थात आप्रवासी मित्रवत राष्ट्र भन्ने गरिन्छ। यसै गरी टोरन्टोमा विभिन्न राष्ट्रका मानिसहरु बस्ने हुनाले सांकेतिक रुपमा यो शहरलाई ‘युनाइटेड नेसन्स’ पनि भन्ने गरिन्छ।  क्यानाडाका अन्य प्रोभिन्स वा क्षेत्रहरुको तुलनामा सबै भन्दा बढी क्यानेडियन आदिबासीहरु (२ लाख ४२ हजार ४९० ) ओन्टारियोमा बसेका (सन् २००६) देखिन्छन। कुल राष्ट्रिय आदिबासी संख्याको २०.७ प्रतिशत ओन्टारियोमा बस्छन्।
क्यानाडा विश्वका अग्रणी धनी एवं औधोगिक राष्ट्रहरु मध्ये एक हो र ‘G-8’ को सदस्य पनि। ‘G-8’ विश्वका धनी एवं औधोगिक राष्ट्रहरुको समूह हो र यो समूह भित्र फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, क्यानाडा र रसिया पर्दछन। यस बाहेक क्यानाडा NAFTA को  पनि सदस्य रहेको छ। क्यानाडा, विश्वका बढी तेल उत्पादन गर्ने राष्ट्रहरु मध्ये एक हो। विश्वमा सबै भन्दा बढी तेल उत्पादन गर्ने राष्ट्रहरु मध्ये साउदी अरेबिया, रसिया, संयुक्त राज्य अमेरिका क्रमश: प्रथम, दोस्रो, तेस्रो स्थानमा पर्दछन भने क्यानाडा (सन् २००६) को स्थान सातौ रहेको छ।
नेपालका शहरहरुमा पनि ती शहरहरुले बढी विकास गरेको पाइएको छ जुन शहरमा विभिन्न समुदायका मानिसहरुले बसोबास गरेका छन् र यसको उदाहरणको रुपमा काठमाडौलाई लिन सकिन्छ। बीरगंज र बिराटनगरले पनि तुलनात्मक रुपमा अन्य शहरहरु भन्दा बढी आर्थिक प्रगति गर्नुमा यी शहरहरुमा विभिन्न समुदायका मानिसहरुको बसोबास हुनु हो।।
काठमाडौ, बिराटनगर, जनकपुर जस्ता पाचीन शहरुको तुलनामा बीरगंजलाई नया शहर भन्न सकिएला तर बीरगंज त्यस हिसाबले नया भएता पनि यसले तिब्र गतिमा आर्थिक प्रगति गरेको छ। बीरगंजले नेपालका अन्य शहरहरुको तुलनामा तिब्र गतिमा आर्थिक प्रगति गर्नुको मुख्य कारण नै यस शहरमा विभिन्न समुदायहरुको बसोबास हुनु हो। यस शहरमा बसोबास गर्ने सबै जातीय समुदायका व्यक्तिहरुले बीरगंजको आर्थिक उन्नतिमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अमूल्य योगदान दिएका छन। यो सानो लेखमा ती सबै समुदायहरु, जसले बीरगंजको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिए, को उल्लेख गर्न गार्हो छ। तैपनि दुई समुदायहरुको यहाँ चर्चा गर्न खोजेको छु र ती दुई समुदायहरु हुन मारबाडी र पंजाबी। बीरगंजको आर्थिक विकासको सन्दर्भमा, उद्योग र व्यापारको  क्षेत्रमा मारबाडी समुदाय र यातायातको क्षेत्रमा पंजाबी समुदायले ठूलो भूमिका खेलेको छ र त्यो भूमिकालाई बीरगंजले सधै याद गर्ने छ पनि।  
कुनै पनि शहरमा विभिन्न जातीय समुदायका मानिसहरुले बसोबास गर्दा त्यो शहरको आर्थिक प्रगति तिब्र रुपमा कसरी हुन्छ त? भनी प्रश्न उठ्न सक्छ। कुनै पनि गाउँ वा शहरमा विभिन्न जातीय समुदायका व्यक्तिहरुले बसोबास गर्दा त्यस क्षेत्रको विकासमा उनीहरुले आफ्ना सिप र ज्ञानको प्रयोग गर्छन। विभिन्न समुदायका व्यक्तिहरुमा विभिन्न किसिमका सिप र ज्ञानहरु हुन्छन र त्यसको उपयोग उनीहरुले आ-आफ्नै किसिमले गर्छन। र यसरी उनीहरुको विभिन्न किसिमका ज्ञान सिपहरुको प्रयोग हुने स्थितिले गर्दा त्यस क्षेत्रको आर्थिक विकास गर्न सजिलो हुन जान्छ। यस तथ्यलाई उक्त प्रश्नको जबाफको रुपमा प्रस्तुत गर्न सकिन्छ।
त्यसकारण, नेपालको सन्दर्भमा, यहाँका गाउँ वा शहरको आर्थिक विकासको गतिलाई तिब्र पार्न कुनै पनि गाउँ वा शहरमा विभिन्न जातीय समुदायका व्यक्तिहरुको बसोबास हुन आवश्यक छ।  यस्तो भएमा मात्र राष्ट्रको आर्थिक विकासको गतिलाई तिब्र पार्दै  सामान्य जनतालाई अति निर्धनताको स्थितिबाट बाहिर ल्याउन सकिन्छ। र यो तथ्य सामान्य जनताले बढी मनन गर्न आवश्यक छ नेताहरुले भन्दा। कुनै पनि गाउँ वा शहरलाई बहु सांस्कृतिक बहु सामुदायिक बनाउनमा अग्रणी भूमिका खेल्ने त्यस क्षेत्रका स्थानीय जनता नै हुन। नेपालको सन्दर्भमा सरकार वा नेताहरुबाट के नै आश गर्न सकिन्छ र, यस्तो कार्यका लागि?


विश्वराज अधिकारी

Tuesday, December 20, 2011

Happiness - ( Nepali Short Fiction) 22 Abhinaya



पीडा अन्तर

हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने काम पनि उसैको हो। साब भित्र पसे की बाहिर निस्के, हर्षबहादुरले ध्यानपूर्वक हेर्नुपर्दछ अनि भित्र/बाहिर को साइनबोर्ड त्यसै अनुसार मिलाइदिनुपर्दछ। यसबाहेक रजिष्टरहरु यो टेबुलबाट त्यो टेबुलमा राखिदिनु पनि उसैको दायित्वभित्रको कार्य हो।
तोकिएका कार्यहरु गरिरहेकै क्रममा थकाइ लागेपछि हर्षबहादुर भर्याङ् मुनी बस्छ। चुरोटको लामो सर्को तान्छ अनि धूवाँ आकाशतिर फाल्दै केही सोच्नमा तल्लिनझैँ देखिने गर्दछ प्राय: सधैजसो। कसैले ऊतिर हेर्दा ऊ मुसुक्क हाँस्छ। सन्तुष्टिको मुहानबाट निस्केको उसको मुस्कानमा कुनै ग्लानी वा पीडा लुकेको लाग्दैन। दस ठाउँमा च्यातिएको कोट लगाउँदा देख्नेहरुलाई लाज लागे पनि उसलाई लाजमात्रै होइन असजिलो पनि लाग्दैन र कुनै पीडाले पनि छुदैन। ऊ जुनबेला पनि हाँसिरहेको हुनाले त्यस्तो अनुमान गर्न सकिन्छ।
को कति छिटै धनी भयो अनि कोसँग कति कस्ता सम्पत्ति छन् जस्ता डाहा र महत्वाकांक्षा मिश्रित कर्मचारीहरुको बकमफूसे गफमा उसको कुनै दिलचस्पी रहँदैन। आफ्ना अति दयनीय आर्थिक स्थितिलाई सार्वजनिक हुन दिएको छैन। बिहे भएकै महिनामा बाबुआमाले घरबाट निकालिएदिएपछि पाटीमा बस्दै आएको कुरा हाकिमबाहेक अरुलाई सुनाएको छैन उसले। हाकिमलाई पनि अरुलाई नभनीदिनू भन्ने शर्तमा भनेको छ।
हिजो बिहानै हाकिमले व्यङ्ग गरेका थिए हर्षे तिमीहरुले बच्चा उत्पादन गर्ने कारखान नै चलाएका छौ कि क्या हो? अस्ति जन्मेको बच्चा कतिऔ हो नि’?
हाकिमको प्रश्नको उसले लाज मान्दै उत्तर दिएको थियो पाँचौ सर
हाकिमले फेरि प्रश्न गरेका थिए होइन,  ए हर्षे, कसरी चलाउँछस् तँ घर खर्च यति थोरै आम्दानीले?
हर्षबहादुरले हाँस्दै उत्तर थियो भगवान् ले मुख भने एउटा हातचाहिँ दुई ओटा, सँगसँगै दिएर पठाएका हुन्छन्। कुनै उपाय त निस्किहाल्छ नि, सर
हाकिम, यो बैंकमा कार्यालय प्रमुख भइ सरुवा भएर आएको पाँच बर्ष भयो। यो पाँच बर्षमा, आफ्नो सामु पर्दा हाकिमले विभिन्न किसिमले हेरे हर्षबहादुरलाई।
कहिले, अति दु:खमा पनि हाँस्न सक्ने महामूर्ख,
कहिले दु:ख अनुभूत गर्न नसक्ने यन्त्रमानव,
कहिले, जसरी भए पनि कमाएर सुखी जीवन बिताउने चाहना नभएको स्वाँठ।
हर्षबहादुरको व्यक्तित्वको निष्कर्ष हाकिमले यस प्रकार निकालेका थिए- नालीको किरा, नालीमै जन्म हुन्छ, नालीमै हुर्किन्छ अनि नालीमै मृत्यु। सुख र दु:खबीचको अन्तर बोध नभएको। अर्थहीन जीवन।
यस बैंकमा, बिहान नौ-दस बजेदेखि नै खैलाबैला मच्चिएको थियो। कार्यालय प्रमुख अर्थात् हाकिम साहेबलाई बाहिरबाट आएका अधिकारीहरुले कार्यालय भित्र नै घुस लिँदै गर्दा समातेका थिए। र, यो खबर बैंकभरि एकै छिनमा फैलिएको थियो, जङ्गलमा लागेको आगोझैँ।
हाकिमले घुस खाएका प्रमाणहरु सङ्कलन भएपछि एघार बजेतिर उनलाई अघि लगाउँदै ती अधिकारीहरु भवन बाहिर निस्कन लम्के। हाकिमले देखे हर्षबहादुर पूर्ववत् ठाउँमा बसेर चुरोट तान्दै थियो। मुहारमा उसको कुनै किसिमको चिन्ता, फिक्री अनि डाहा थिएन सदाझैँ। त्यो दिन, त्यतिखेर भने हाकिमलाई हर्षबहादुरको हँसिलो मुहार र चिन्तामुक्त स्थिति अर्थहीन लागेन। अनि जीवन नै पनि।

विश्वराज अधिकारी


---

Sunday, December 18, 2011

The Last Letter - Fiction of the week - 16



The Last Letter


The wife wrote a letter to her husband who was living in abroad. She wrote “You are not here for five years. You went abroad just after one month of our wedding. You earned a lot there. The amount of money you have earned is quite enough for our rest of the life. So, get back soon to live together, please. See, going abroad to make much money was your desire not mine. I never encouraged you for that. I was quite happy with the income which you had here.”
The husband replied “I will get back when I make that amount of money which would be more than enough to build a house in Kathmandu and buy a luxurious car. Please keep the money which I have sent carefully. Making a lot money is not a joke. Only hard work pays off.”  
The wife wrote on her next letter “the desire to make a lot of money is endless. The more you earn the more you want to earn. The desire to earn more and more is like a disease which has no treatment. The money which you have sent is more than enough for us to live in this village. I am alone here which saves the money little more. Having no children is another advantage to save the money. That is why our expenses are limited. There are no any unnecessary expenses.
Writing letters from both side continued for two years.
But the last letter written by the wife made the husband baffled. Some of her words hit him very badly. Those words were “you glued with the money like a stamp with an envelope. There is no certainty that you are coming back home. That is why I deposited all your money in a reliable bank. I kept your valuables in a safe place as well. The money which I have deposited in the bank would give you a good return. Whenever you get back here you can draw the money from the bank and take the valuables. Your each and every property is okay because they are stored safely. So you do not need to be worried. The only thing which I cannot store is my time. My time is my own and that I can expend as I desire.” 


Bishwa Raj Adhikari

Saturday, December 17, 2011

The Fire - Poem of the week - 10



आगो 


जीवन भोग्नु भन्दा पहिले नै
जीवनलाई आगो देखेर उसको भय
झनै आगो भएर दन्केको थियो

आगो जसले उसलाई सँधै पछ्याइ रहेको छ
आगोबाट उसले मुक्ति पाउन सकेको छैन
आगो उसको नियति हो

आगो उसको खाली पेट
आगो उसको नाङ्गो आँग
आगो उसको टाउको माथिको नाङ्गो छत
चारैतिर आगो नै आगो

आगोको बस्तीमा बसेर
उसले आगोसँग संघर्ष गर्नु छ
आगो निभाउनु छ
तर निर्दयी आगो झन दन्किंदै छ
उसको नजीक नजीक लम्मकिदै

आगो अरुलाई खरानी बनाउने आफ्नो प्रकृति अनुरुप
उसलाई खरानी पार्न उद्दत छ
उ विवश भएर हेर्दै छ
आफू नजीक पुग्नै आँटेको
दन्दनी बल्दै गरेको आगो

विश्वराज अधिकारी

Friday, December 16, 2011

Land Management in Nepal - Article - 22


नेपालमा भूमि व्यवस्थापन


नेपालमा भूमि बितरण एवं व्यवस्थापन एक गंभिर समस्याको रुपमा रहि आएको छ र त्यस्तो हुनुको कारण पनि छ। कारण के हो भने नेपालमा वहु संख्यक जनता कृषिमा आश्रित छन। कृषि क्षेत्रले देशको जन संख्याको ठूलो हिस्सालाई रोजगारी तथा जिवन यापनका लागि अत्यवश्यकीय तत्व, खाद्य वस्तु दुबै दिने कार्य गर्दछ। त्यति मात्र होइन, कृषि का लागि आवश्यक पशु (गोरु, राँगा) तथा अन्य पाल्तु, पशु पंक्षीहरुको आहारको व्यवस्था पनि कृषि भूमिले नै गर्दछ। पशु पंक्षीहरु सँग नेपाली कृषकहरु गहिरो सम्बन्ध रहि आएको छ, खास गरी आर्थिक दृष्टिकोणले। त्यस कारण भूमिको सानो टुकडा पनि कुनै किसानसँग छ भने उसले गार्हो साँघुरो गरी आफ्नो जिवन यापन गर्न सक्छ त्यो भूमिको त्यो सानो टुकडालाई खन जोत गरेर। किसानले आफूसँग रहेको ( मूल्य भुक्तान नगरी, जुन बेला पनि उपलब्ध हुन सक्ने) श्रमको उपयोग गरेर कृषि कार्य सजिलै गरी गर्न सक्छ, जिवन यापनका लागि।
सामान्य जनताको कृषि भूमिसँगको गहिरो सम्बन्ध पौराणिक कालदेखि नै रहँदै आएको छ र त्यो सम्बन्ध वर्तमानको अति औधोगिक युगमा पनि त्यति कै प्रगाढ छ, नेपालको सन्दर्भमा। यो कारणले पनि नेपालमा भूमि वितरण समस्या एक जटिल व्यवस्थापकीय कार्यको रुपमा स्थापित हुन पुगेको छ, वहु संख्यक नेपाली जनतासँग एउटा सानो टुकडा भए पनि कृषि भूमि हुनु पर्दछ भन्ने सोंचाईको सन्दर्भमा र खास गरि गरिब जनताको आर्थिक जिवनलाई सरल तल्याउनु पर्ने प्रयासको हिसाबले।
कृषि भूमि एक स्थिर सम्पत्ति मात्र होइन साथै एक स्थिर रोजगारीको क्षेत्र पनि हो। ठूला ठूला औद्योगिक प्रतिष्ठानहरुको अस्तित्व नै समाप्त हुन्छ घाटामा गएर। घाटा भएकोले दसकौं पुराना उद्योगहरु पनि बन्द हुन पुक्छन भविष्यमा पुन: संचालन हुन नसक्ने गरी। व्यापारिक प्रतिष्ठानहरुमा पनि त्यस किसिमको समस्या देख्न सकिन्छ। वर्षौंसम्म अति मुनाफामा चलेको कम्पनी राष्ट्रिय वा अन्तर्ष्ट्रिय व्यापारमा आएको मन्दीले गर्दा ठूलो घाटा बेहोर्न नसकी बन्द हुन पुगेको धेरैले देखे भोगेको कुरा हो। तर भूमिमा भने यो तथ्य पूर्णतया लागू हुँदैन किनभने कुनै एक वर्षमा मौसम प्रतिकूलताका कारण बाली नाश भयो भने त्यो भूमिमा अर्को वर्ष राम्रो बाली लाग्न सक्छ। अर्थात एक वर्ष राम्रो बाली भएन भन्दैमा त्यो भूमिमा सदाका लागि बाली न लाग्ने भन्ने हुँदैन व्यापारिक वा औद्योगिक प्रतिष्ठान अति घाटा खाएर सदाका लागि अस्तित्वबाट हराए जस्तो। यो कारणले पनि गरिब जनताको आर्थिक उत्थानमा कृषि भूमिको अहम् भूमिमा रहेको बुझ्न सकिन्छ। र कृषि भूमिले गरिबहरुलाई  आहार जुटाउने कार्य समेत गर्दछ पनि। हुन पनि औद्योगिक एवं व्यापारिक क्षेत्रमा अनेक किसिमको उतार चढावहरु आउने गर्दछन। र कुनै एक देशको उद्योग एवं व्यापारलाई अन्तरार्ष्ट्रिय व्यापारले गहिरो प्रभाव पार्ने गर्दछ पनि। गरिबसँग रहेको सानो टुक्रा जग्गाले उसको आर्थिक हितको रक्षा जुनै बेला पनि गर्न सक्छ व्यापारमा जस्तो उथल पुथलको स्थिति जग्गाले बेहोर्नु नपरेको हुनाले। 
अर्कोतिर भूमि बितरणसँग गाँसिएको अर्को ठूलो र जटिल समस्या के छ भने देशमा उपलब्ध रहेको थोरै कृषि योग्य भूमिलाई किसानहरुको बीचमा कुन किसिमले बितरण गर्ने त, नेपालमा भूमि व्यवस्थापनलाई अझै बढी प्रभावकारी तुल्याउने सन्दर्भमा। करोडौंको संख्यामा रहेका किसानहरुको बीचमा कृषियोग्य भूमिलाई सानो सानो टुक्रा पारि बितरण गर्दा एकातिर जग्गाद्वारा नै रेखांकन गरेर स्वामित्व छुट्याउँदा धेरै जग्गा स्वामित्व निर्धारणमा खेर जान्छ। र त्यसरी खेर जाने जग्गाबाट राम्रो प्रतिफल पाउन सकिँदैन। त्यसै गरी, अर्कोतिर कृषियोग्य भूमिलाई सानो सानो टुक्रामा विभाजन गर्दा कृषि योग्य भूमिको उत्पादन क्षमता र उत्पादकत्वमा समेत ह्रास आउँछ। निश्चय पनि ठूलो आकारमा फैलिएको जग्गाबाट राम्रो प्रतिफल पाउन सकिन्छ, उत्पादन र उत्पादकत्व, दुबै दृष्टिकोणले। नेपालमा उपलब्ध रहेको वा कुल भूमि मध्ये लगभग २१.६८ प्रतिशत भूमि मात्र कृषि कार्यको लागि प्रयोगमा ल्याउन सकिएको छ। अग्लो हिमाली, अति उच्च र बिकट पाहाडी भागलाई कृषि कार्यका लागि प्रयोगमा ल्याउन सकिएको छैन। अर्कोतिर, समतल वा मैदानी क्षेत्र धेरै भएको तराई क्षेत्र, जहाँ कृषिबाट राम्रो उत्पादन पाउन सकिन्छ, मा जनसंख्याको चाँप अत्यधिक छ। धेरै कृषियोग्य जमिन केवल मानिसको बसोबासद्वारा ओगटिएको छ। यस किसिमको खास स्थितिमा भूमि व्यवस्थापन नेपालमा एक चुनौतिको विषय हुन पुगेको छ। त्यस कारण भूमि व्यवस्थापनको सन्दर्भमा नीति नियम बनाउँदा भावनामा बगेर होइन यथार्थको धरातलमा रहेर बनाउन आवश्यक छ। त्यसै गरी राजनैतिक व्यक्तिहरु मात्र होइन, कृषिसँग गहिरो सम्बन्ध रहेका (अनुभवी कृषकहरु) व्यक्तिहरु एवं विशेषज्ञहरु समाबेस भएको समूहद्वारा भूमि व्यवस्थापन सम्बन्धी नीति नियमहरु बनाउन आवश्यक छ। केवल राजनैतिक व्यक्तिहरुद्वारा मात्र भूमि व्यवस्थापन बारे निर्णय लिने स्थिति भएमा उनीहरुद्वारा निर्मित नीति नियमहरु दलगत स्वार्थ मात्र पूरा गर्ने तर्फ उन्मुख हुनेमा कुनै संका रहने छैन।
नेपालमा भूमि व्यवस्थापनलाई प्रभाबकारी तुल्याउन केही कुराहरु गर्नु आवश्यक छ जुन यस प्रकार छन। नेपालमा वहु संख्यक जनतामा व्याप्त रहेको गरिबी कम पार्न, सानो टुक्रामा नै भए पनि, वहु संख्यक जनतासँग कृषि भूमि हुनु पर्ने देखिन्छ। अर्कोतिर, त्यस किसिमबाट बितरण गर्दा सानो सानो टुक्रामा कृषि भूमि विभाजित हुन सक्छ। त्यसकारण  त्यसरी विभाजित भूमिको उचित उपयोग गर्न अथवा भूमिको उत्पादन र उत्पादकत्व दुबै वृद्धि गर्नका लागि साना साना कृषकहरुले आफ्नो जग्गा ठूला कृषकहरुलाई भाडा (लिज) मा दिएर त्यसबाट राम्रो प्रतिफल लिनु उपयुक्त हुने देखिन्छ। यसरी गर्दा भूमिको उत्पादन र उत्पादकत्व दुबैमा ह्रास आउन पाउँदैन। यसै गरी, जग्गा भाडामा दिन न चाहने कृषकहरुले,  धेरै कृषकहरु मिलेर, सहकारीको माध्यमद्वारा कृषि कार्य गरेर, कृषिबाट राम्रो लाभ प्राप्त गर्न सक्ने देखिन्छ। भाडामा पनि दिन नचाहने र मिलेर पनि कृषि कार्य नगर्ने कृषकहरुले आफैले कृषि कार्य गर्न सक्छ र त्यसबाट राम्रो प्रतिफल पाउन सक्छन किनभने उनीहरुले कृषिबाट राम्रो प्रतिफल पाउने तरिकाहरु देखेका हुन सक्छन।
सरकारी तवरबाट भने, सरकारले पनि आफ्नो स्वामित्वमा रहेको जग्गा अति निर्धन किसानहरुलाई निशुल्क वा भाडामा दिने व्यवस्था मिलाउनु पर्दछ। अथवा सरकारले ठूला किसानहरु सँग जग्गा खरिद गरेर गरिब किसानहरुलाई सहुलियत दरमा जग्गा उपलब्ध गराउनु पर्दछ। यसै गरि, अति विकट पहाडि एवं हिमली क्षेत्रहरुमा पनि कृषि भूमि विस्तार गर्ने योजना निर्माण गर्नु पर्दछ। त्यस्ता भूमिहरुलाई कुन किसिमबाट उपयोगमा ल्याएर लाभदायक तुल्याउन सकिन्छ भन्ने उपायएहरुको पनि सरकारले वा स्थानीय व्यक्तिहरुले खोजी गर्नु पर्दछ।

विश्वराज अधिकारी

Thursday, December 15, 2011

Rwanda - Poverty and Economics - 15



रवान्डा 



सामाजिक सद्भावको अभावमा ठूलो आर्थिक, भौतिक र मानवीय क्षति बेहोर्ने राष्ट्रहरु मध्ये एक रवान्डा पनि हो। पूर्वी अफ्रिकाको एक सानो र निर्धन देश, रवानडामा, सन् १९९४ मा भएको जातीय नर संघारमा करिब ८ लाख ५० हजार मानिसको हत्या भएको उल्लेख गरिएको छ। सन् १९९४ को अप्रिल ६ देखि मध्य जुलाईसम्म, लगभग १०० दिन मात्र चलेको सो जातीय सफाया (Genocide) ले अति नै निर्ममतापूर्वक ज्यादै ठूलो संख्यामा मानिसको हत्या गरेको थियो। केही संस्थाहरुले त मृत्यु हुनेहरुको संख्या ५ देखि १० लाखसम्म वा कूल जनसंख्याको २० प्रतिशत रहेको अनुमान गरेका छन्।
जातीय दंगा वा जातीय प्रतिसोधको मनोविज्ञान अति नै डर लाग्दो हुन्छ किनभने जातीय दंगामा ज्ञानीहरुले पनि विवेक गुमाउने परिस्थिति दंगाले सृजना गरिदिएको हुन्छ भने अपराधीहरुले आफ्नो स्वार्थ पूरा गर्न जातीय प्रतिसोधको नाममा सजिलै सामान्य जनतालाई उकासेर लुटपाट गराउन सक्छन्। जातीय दंगामा कुनै खास एक जातिको पक्षमा लाग्न सामान्य मानिसलाई सजिलै उत्प्रेरित गर्न सक्छन् आफ्नो स्वार्थ पूरा गर्नेहरुले। त्यसैले जातीय दंगामा मानिस विवेकहीन हुने मात्र होइन उचित र अनुचित छुट्याउन नसक्ने स्थितिमा पुगेर हृदयहीन हुन पुगेका हुन्छन्। र यस्तै भयो रवान्डामा।
समाचारहरुमा जति चर्चा हुनु पर्थ्यो त्यति नभएको अर्को एक अति नै डर लाग्दो घटना रवान्डामा भएको थियो र त्यो थियो महिलाहरुको अति नै डरलाग्दो किसिमबाट बलत्कार। रवान्डामा भएको त्यो जातीय नरसंघारमा २ लाख ५० हजारदेखि ५ लाखसम्म महिलाहरु बलात्कृत भएको अनुमान गरिएको छ। ठूलो संख्यामा गरिएको यौन हिंसामा महिलाहरुलाई एकल वा सामुहिक रुपमा बलत्कार गर्नुका साथै बलत्कार पछि हत्या पनि गरिएको थियो। कतिपय घटनाहरुमा त बलत्कार मात्र होइन महिलाहरुलाई उनीहरुको संवेदनशील अंगमा लठ्ठी र बन्दुकले घोचेर चरम यौन यातना समेत दिइएको थियो भनी समाचारहरुमा उल्लेख गरिएको पाइन्छ। बलत्कार गरिएका महिलाहरुबाट जन्मिएकाहरुको संख्या २० हजार रहेको अनुमान गरिएको छ। धेरै बलात्कृत महिलाहरु अहिले पनि मनोवैज्ञानिक आघातबाट पीडित छन्। कतिपय महिलाहरु बलात्कृत हुँदा एच आई भि (HIV) संक्रमित भएका थिए र त्यस्तो कार्य यौन हिँसा फैलाउनका लागि जाना जान गरिएको भनी उल्लेख गरिएको पाइन्छ। एच आई भि संक्रमित हुटु पुरुषहरुद्वारा  महिलाहरुलाई बलात्कार गराउनु जातीय सफायाका लागि प्रयोग गरिएको एक हतियारको रुपमा रहेको भनी धेरैले विश्वास गरेका छन्। अर्थात बलत्कारलाई पनि जातीय सफाया गर्ने एक हतियारको रुपमा प्रयोग गरिएको थियो। जातीय दंगा कति डर लाग्दो हुन सक्छ भन्ने कुरा अनुमान यो घटनाबाट पनि लगाउन सकिन्छ।
यसरी मच्चाईको डरलाग्दो यौन हिँसामा अल्प संख्यक टुट्सीहरु महिलाहरु पिडित हुन पुगेका थिए भने पिडकहरु थिए हुटुहरु। र यस्तो यौन हिँसामा हुटु मिलिसा समूह, अन्य सामान्य नागरिक, रवान्डा आर्म फोर्सका सेनाहरु, सेना, राजनैतिक व्यक्ति एवं कर्मचारीहरु सामेल भएका थिए।
जातीय नर संघार अति नै डर लाग्दो किसमिले भएको थियो, रवान्डामा। जातीय नर संघारमा संलग्न भएका हुटुहरुले उनीहरुको त्यस्तो कार्यमा सहयोग नगर्ने हुटुहरुको नै पनि हत्या गरेका थिए।
रवान्डामा मुख्य गरी हुटु (८८%) र  टुट्सी (११%) जातीय समूहरुको बसोबास रहेको छ। सन् २००८ जुलाईको अनुमान अनुसार यहाँको जन संख्या करिब १ करोड २ लाख थियो। यहाँका ९३.५ जनता क्रिसचियन छन् भने मुस्लिम ४.६ र परम्परागत अफ्रिकन ०.१ प्रतिशत छन्। वहुसंख्यक जनता कृषिमा आश्रित भएता पनि हाल रवान्डाले उद्योग र व्यापारको क्षेत्रमा पनि प्रगति गरेको छ र प्रति व्यक्ति आय पनि पहिले भन्दा वृद्धि भएर अहिले ५१० यू यस डलर (२००९ को अनुमान) पुगेको छ। कृषि उत्पादनमा मुख्य गरी चिया, कफि, केरा, आलु, लाइभस्टक आदि छन भने औद्योगिक उत्पादनमा सिमेन्ट, बियर, हल्का पेय पदार्थ, साबुन, फर्निचर, टेक्सटाइल, सिगरेट, फर्मासुइटिकल्स आदि छन्।
धार्मिक सद्भावको अभाव, जातीय दंगा, सामुदाय-समुदाय बीच कलह, राजनैतिक शक्तिका लागि खिचातानी आदि जस्ता समस्याहरुले गर्दा निर्धन राष्ट्रहरु झनै निर्धन भएको र विकासको पथमा लम्केका राष्ट्रहरु पनि त्यस किसिमका समस्याहरुले गर्दा गरिबीको दिशा तर्फ फर्केको उदाहरण थुप्रै छन। यस प्रकार विभिन्न राष्ट्रहरुको इतिहास हेर्न हो भने ती राष्ट्रहरुले छिटो आर्थिक प्रगति गरेको देखिन्छ जसले राष्ट्रमा सामाजिक, धार्मिक सद्भाव कायम गरेका छन र शक्तिका लागि राजनैतिक खिचातानीमा समय बरबाद गरेका छैनन्।
सामाजिक सद्भाव कायम गरी राष्ट्रको आर्थिक विकास गर्ने मुख्य जिम्मेवारी सामान्य जनताको हो। हुन त यो जिम्मेवारी सरकारको हो तर सरकारहरुले त्यो जिम्मेवारी बोध गर्नुको साटो केवल आफूलाई शासक ठान्छन र शक्तिको खेलमा मग्न हुन पुग्छन्। र यस्तो अभ्यास मुख्य गरी गरिब राष्ट्रहरुमा र व्यापक मात्रामा हुन्छ। त्यसकारण, गरिब राष्ट्रहरुको सन्दर्भमा, गरिबीबाट मुक्ति पाउन सामान्य जनताले नै सक्रिय प्रयास गर्नु पर्दछ र प्रत्येक नागरिकले आफ्नो गाउँ वा शहरको आर्थिक विकासका लागि  के कस्तो योगदान गर्न सक्ने हो त्यस किसिमको योगदान गर्न तत्पर रहनु पर्दछ। नेपालको सन्दर्भमा, गरिबीबाट छुटकारा पाउने हो भने प्रत्येक नागरिकले विभिन्न किसिमका मतभेदहरु त्यागेर, राजनैतिक आस्थाका आधारमा विभाजित नभएर, एउटा वर्गले अर्को वर्गलाई सत्रुको रुपमा हेर्न परिपाटिको अन्त्य गरी अशल सामाजिक सद्भाव कायम गर्न आवश्यक छ। यस्तो गर्न सकेमा मात्र नेपालमा आर्थिक समृद्धि ल्याउन सकिन्छ। तर यदि हामी बिभिन्न किसिमका मतभेदहरुमा अल्झिएर सामाजिक सद्भाव खलबल्याउनमा नै ब्यस्त रहने हो र समन्वयको वातावरण सृजना गरी राष्ट्रको आर्थिक विकासमा केन्द्रित न हुने हो भने हामीले आर्जन गरेको पीडादायी गरिबी आउने पुस्ताको नाममा नामसारी गर्नु बाहेक केही गर्न सक्ने छैनौ।

विश्वराज अधिकारी