Tuesday, January 31, 2012

Ingenious-Nepali short story-Abhinaya-27


समय सुहाउँदो

केही हप्ता पूर्व मात्र गाउँबाट शहर पसेको एक युवकले आग्रह शैलीमा भन्यो दाइ, म बागबजारबाट चढेर यहाँ (कोटेश्वर) सम्म आएको, पैसा कता खस्यो, बस भाडा दिन असमर्थ छु
त्यो युवकको कुरा सुनेपछि अति क्रुद्ध हुँदै कन्डक्टरले व्यङ्ग्यवाणी प्रहार गर्यो पैसा दिने इच्छा छैन, दस वटा बहाना …………। सोझै, पैसा दिन्न भने भइ हाल्यो नि ………..’
कन्डक्टरको प्रतिक्रियाबाट आफ्नो बेइज्जती भएको ठानी त्यो युवकले स्पष्टिकरण पेश गर्यो साँच्चै भनेको दाइ, ममाथि विश्वास गर्नुहोस, मैले कहिले कसैको एक पैसा खाएको छैन र झूठो पनि बोलेको छैन
आफू सज्जन भएको थप प्रमाण पेश गर्न त्यो युवकले फेरि भन्यो हेर्नुहोस, मैले तपाइँको मिनीबसको नम्बर टिपेको छु, आज त भ्याउँदिन तर भोलि भने जसरी पनि ल्याएर भाडा भुक्तान गरी छाड्छु, कुनै पनि हालतमा बांकी राख्दिन। यति भनेर त्यो युवक आफ्नो गन्तव्यतिर हतारिँदै लाग्यो।
त्यो मिनीबसको ड्राइभरले पछाडितिर हेर्दै सोध्यो कान्छा, त्यसले भाडा दियो?
अहँ, दिएन सालेले, भन्छ पैसा हरायो रे कन्डक्टरले उत्तर दियो।
ड्राइभर गर्जो उल्लू, मान्छे हेरेर चढाउनु पर्छ नि
कन्डक्टरले स्थितिलाई सामान्य देखाउन भन्यो त्यस्तो त कहिले काहीँ भइनै हाल्छ नि, दाइ। पैसा साँच्चिकै हराएको पनि हुन सक्छ नि त्यसको। कन्डक्टरको प्रतिक्रिया सुनेपछि ड्राइभरले गाडी अगाडि बढायो।
बागबजार बसपार्क पुगेर भाडा दिन असमर्थ त्यो युवकले  एक ड्राइभरलाई सोध्यो दाइ ०००१ नम्बरको मिनीबस कतै देख्नुभयो? एकदिन त्यो बस चढ्दा पैसा हराएर भाडा तिर्न सकेको थिइन, त्यै तिर्न भनी आएको
अगाडिको मिनी बसलाई हेर्दै त्यो युवकले फेरि भन्यो हो, ऊ, ठीक त्यस्तै मिनी बस थियो। पैसा दिन नसकेको भोलिपल्ट देखि नै खोज्दैछु। आज सात दिन भयो खोजेको
त्यो युवकले भन्ने क्रम जारी नै राख्यो हुन त दाइ , बिसौ ड्राइभर कन्डक्टरहरुलाई
भेटेर सोधिसकेँ त्यो मिनी बसको बारेमा, कसैले पनि भन्न सकेन। बरु मैले भेटेका ती बिसौले हाँसेर भने तिमी या त द्वापर युगको धर्मराज युधिष्ठिर हौ या त सत्य हरिश्चन्द्र। बाबु, यो त कलियुग हो। कलियुग भनेको थाहा छ? भाडा नतिरेर यात्रा गर्नेहरुको सङ्ख्या यहाँ कम छैन, त्यो पनि यो शहरमा। बाबु भाडा नतिर्नु कुनै ठूलो अपराध होइन। ठूला-ठूलाले पनि गर्छन यस्तो काम
भरखरै भेटेको ड्राइभर हेर्दै त्यो युवकले फेरि भन्यो तर म त कसैको एक पैसा पनि राख्न चाहन्न
युवकले लगाएको बेलिबिस्तार सुनेपछि त्यो ड्राइभरले व्यङ्ग गर्यो भरखरै शहर पसे जस्तो छ, गाउँबाट कहिले आएको? धेरै भए जस्तो छैन?
ड्राइभरले फेरि भन्यो पाँच रुपैयाँ बाँकी भाडा तिर्न पाँच सय खर्च नगर। मलाई त भन्यौ भन्यौ, अरुलाई यो कुरा नभन्नू, सुनेभने पाखे , उल्लू भन्ने छन्
त्यो युवक ड्राइभरको कुराबाट प्रभावित भएको पटक्कै देखिएन।
पाँच वर्षपछि
त्यो युवक मिनीबस चढेर यात्रा गरिरहेको थियो, उसले देख्यो आफू चढेको मिनीबस ठीक त्यही मिनीबस रहेछ। ड्राइभर पनि उही। कन्डक्टर पनि ठीक त्यही , जसलाई भाडा भुक्तान गर्न बाँकी थियो। बसयात्रा समाप्त गरेर ओर्लने क्रममा त्यो युवकसँग कन्डक्टरले भाडा माग्यो खोइ   ……….कहाँबाट ……..हो ….. भाडा .....?’
कन्डक्टर तिर हेर्दै त्यो युवकले खल्तीभित्र हात हाल्यो अनि भन्यो खोइ दाइ, पैसा त कता हराएछ। भयो अब ……….। के गर्ने लौ? कहाँ-कहाँ जानु थियो ……..’। भाडा नपाउने देखेपछि कन्डक्टरले गाडी अगाडि बढाउन बसमा हिर्काएर ड्राइभरलाई सङ्केत दियो। मिनी बसबाट ओर्लेर पेटीमा उभिएको त्यो युवक मुसुमुसु हाँस्दै थियो, पैसा खल्तीमा भएर पनि आफूले भाडा भुक्तान नगरेकोले।

विश्वराज अधिकारी

Sunday, January 29, 2012

A Human is Stronger than a Donkey-Fiction of the week-22


A Human is Stronger than a Donkey


In a class room the teacher said to his students "a human brain is slower than the donkey’s.’ He also said “humans are fool because donkeys have to carry loads when the owner wants them to. They are forced to do so. But humans carry loads, voluntarily; they carry of thoughts, ideology, and philosophy of others. Humans are not compelled to do so like donkeys but they still carry it. And interestingly, humans never ask to stop when the load gets too much. They are happy to carry the load of their life time without any complaint. They don’t care that the load might take their life." The young students couldn’t understand their teacher. The expression on their face displayed their confusion. But one of the students tried really hard to say something to show his understanding. The student said to the teacher “………………….so the humans are stronger than the donkeys. Right?"  



Bishwa Raj Adhikari 

                                                                              

Saturday, January 28, 2012

The Pain-Poem of the week (song)-15


मनको शूल

सार्है घोच्ने रै’छ हजूर मन भित्र गाडिएको शूल
पहाड बनी दिने रै’छ कहिले तिल जत्रो भूल
कथा जति व्यथा बने पतझड वशन्त वहार भयो
मेरो लागि यो दिलको रहर
अर्कै ग्रहको संसार भयो
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

थुन्न खोज्छु कति कति उमेरो खोला
बगिसकेको पानी हजूर कसरी फर्किने होला
भ्रममा छु बग्ने हो कि उल्टो उमेरको गंगा
भ्रममै बनी दिन्छ यो मन आकाशमाथिको चङ्गा
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

भूलको कथा भूलको व्यथा कसैलाई सुनाउनु छ
चिरा चिरा परेको मन खोलेर देखाउनु छ
भूलमा छटपटिएको यो मन कसैले देख्ने होला
कथा मेरो यो नभनिएको कसैले बुझिदिने होला
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

विश्वराज अधिकारी

Friday, January 27, 2012

Efforts For Poverty Alleviation-Article-28


गरिबी निबारणका प्रयासहरु


गरिबी विकासशील राष्ट्र मात्र होइन विकसित राष्ट्रको पनि टाउको दुखाइको विषय हुँदै आएको छ। विकसित राष्ट्रहरुले पनि गरिबी निबारणका लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याउने गर्दछन। विकसित राष्ट्रहरुमा देखिने गरिबी र विकासशील राष्ट्रहरुमा देखिने गरिबी बीच केही भिन्नता भने रहेको पाइन्छ। धनी वा विकसित राष्ट्रहरुमा देखिने गरिबी, दुइ छाक खानसम्म नपाउने किसिमको भने प्राय हुँदन। विकसित राष्ट्रहरुमा हुने गरिबीमा मुख्य गरी कमजोर क्रय शक्ति, स्तरयुक्त जिवन यापनमा समस्या, धनी र गरिबी बीच ठूलो अन्तर जस्ता समस्याहरु मौजुद रहेका हुन्छन। अझै, भन्ने हो भने गरिब र धनी बीच, क्रयशक्तिको हिसाबले, ज्यादै नै ठूलो अन्तर विकाशील राष्ट्रहरु भन्दा विकशित राष्ट्रहरुमा हुन्छ। अति सामान्य किसिमको जिवन यापन र दुई छाक खान पाउने अवस्थामा भने विकसित राष्ट्रका गरिबीहरु हुन्छन नै जुन विकाशील राष्ट्रका गरिबहरुमा हुँदैन। यसै गरी विकसित राष्ट्रका सरकारहरुले मुलुकको गरिबी कम पार्नमा प्रयास पनि गरेका हुन्छन तर विकासशील राष्ट्रहरुमा भने सरकारी प्रयास नाम मात्रको वा ज्यादै कम हुन्छ। विकासशील राष्ट्रमा सरकारमा भएका व्यक्तिहरुको समय कसरी सत्तामा बसि रहेन तथा कसरी सक्तिसाली हुने तर्फ मात्र बढी केन्द्रित रहेको हुन्छ।
विकासशील राष्ट्रहरुमा देखिने गरिबी र त्यसमा पनि निरपेक्ष गरिबी ज्यादै मार्मिक किसिमको हुन्छ। विश्व बैंकको परिभाषा अनुसार दैनिक आम्दानी १.२५ डलर (अमेरिकी) भन्दा कमको आयमा जिवन निर्वाह गर्नु निरपेक्ष गरिबीमा हुनु हो। विकासशील मुलुकका वहु संख्यक जनताहरु निरपेक्ष गरिबीमा बाँचिरहेका छन। निरपेक्ष गरिबीमा बाँचि रहेका जनताहरु शिक्षा, स्वास्थ्य, आवास, सुद्ध खाने पानी जस्ता समस्याहरुबाट मात्र पिडित हुँदैनन साथै दुइ छाक खान समेत उनीहरुले ढुक्कसंग पाइ रहेका हुँदैनन।
के गरिबी कम गर्न सकिंदैन?   
गरिबीलाई दुई किसिमबाट विभाजित गरिएको पाइन्छ। पहिलो हो सापेक्ष गरिबी। सापेक्ष गरिबी भनेको एउटाको तुलनामा अर्को गरिब हुनु हो। महिनाको एक लाख रुपैयाँ आम्दानी हुनेको तुलनामा महिनाको पचास हजार आम्दानी हुने गरिब मानिन्छ। यस किसिमको गरिबी सापेक्ष गरिबी हो। यस्तो किसिमको गरिबीलाई समाप्त पार्न गार्हो मात्र होइन असम्भव नै हुन्छ किनभने कुनै पनि समाजमा व्यक्तिले आफ्नो बौद्धिक क्षमता अनुसार आय आर्जन गर्छ। व्यक्तिहरु
को बौद्धिक क्षमता फरक फरक किसिमको हुन्छ। व्यक्तिहरुमा फरक फरक बौद्धिक क्षमता हुने भएकोले नै कुनै व्यक्तिको आम्दानी बढी कुनैको कम हुन पुग्दछ। र यो स्वभाविक हो पनि हो।  त्यसकारण कसैले बढी आम्दानी गर्नु कसैले कम गर्नु अनौठो कुरा होइन। सापेक्ष गरिबी प्रत्येक मुलुकमा हुन्छ, केही अपवादलाई छाडेर कुरा गर्ने हो भने।
निरपेक्ष गरिबीलाई भने कम वा दीर्घ कालमा समाप्त पार्न सकिन्छ। अर्थात कुनै पनि मुलुकको सरकार तथा राजनैतिक दलका नेताहरु समन्वयात्मक किसिमले दृढ निश्चयका साथ अगाडि बढ्ने हो भने त्यस्तो किसिमको प्रयासबाट निरपेक्ष गरिबीलाई लघु कालमा नै पनि कम पार्न सकिन्छ। विकासशील मुलुकहरुमा विकराल समस्याको रुपमा रहेको निरपेक्ष गरिबीलाई तत्काल समाप्त पार्न नसकिएता पनि ठोस प्रयासका साथ योजनावद्ध किसिमले लाग्ने हो भने यसलाई निकै कम पार्न सकिन्छ। तर त्यस्तो हुन सकि रहेको छैन। र त्यस्तो हुन नसक्नुको कारण विकासशील मुलुकका राजनैतिक दल, नेता तथा उनीहरुको सहभागतिमा बन्ने सरकार हो। नेताहरुमा स्वार्थी प्रवृति हाबी हुनु हो।
नेपाल मात्र होइन अन्य विकासशील मुलुकहरुमा पनि, राजनैतिक दल तथा तिनका नेताहरुले गरिबहरुको गरिबीको केवल उपयोग मात्र गरेका छन। शक्तिसाली हुन, चुनाव जित्न  सरकारमा पुग्न गरिब जनताहरुको गरिबीको ब्यापक उपयोग गरेका छन, गरिबहरुको गरिबी कम पार्न का लागि नया नया सोंच र योजनाहरु ल्यानुको साटो। कुनै सिद्धान्तको आड लिएर, जातीयताको नारा दिएर, क्षेत्रियताको नारा उचाली वा कुनै जल्दो बल्दो किसिमका मुद्दा लिएर होस, राजनैतिक दल तथा तिनका नेताहरुले गरिबहरुको गरिबीको केवल उपयोग गरेका छन। ठोस रुपमा, इमान्दारीपूर्वक, गरिबी कम पार्न लागि उनीहरु गंभिर र समर्पित देखिएका भने छैनन। नेताहरुले आफ्नो महत्वकांक्षा पुरा गर्न गरिबहरुको गरिबीको उपयोग गरेका मात्र छन। सामान्य जनताहरु, नेताहरुका लागि, महत्वाकांक्षामा पुग्ने केवल सिंढी बनेका छन। जनताहरुलाई आफ्नो झूठो सपनाको पछाडि दौडाएका छन नेताहरुले। यो कुरा सामान्य जनताले बुझ्न अति आवश्यक छ।
केही राजनैतिक दलहरुले त गरिबी कम पार्न धनीहरुको सम्पत्ति खोसेर गरिबहरुलाई बाँड्ने तरिका पनि अपनाए जुन आफैमा अव्यवहारिक मात्र होइन गरिबहरुकै लागि पनि उपयोगी हुने देखिंदैन। गरिबहरुलाई गरिबीबाट मुक्ति पाउनका लागि कसैबाट खोसिएको सम्पत्ति होइन बरु त्यस किसिमको ज्ञान चाहिएको छ जसको प्रयोग गरेर उनीहरुले गरिबी जस्तो सत्रुसँग युद्ध गर्न सकुन, गरिबीलाई पराजित गर्न सकुन। गरिबहरुलाई त्यस्तो ज्ञान चाहिएको छ जुन प्रतिस्पर्धात्मक होस, नास न हुने किसिमको होस र जस्तो सुकै वातावरणमा त्यसको उपयोग गर्न सकिने होस। कुनै गरिबलाई कुनै धनीबाट खोसेर दिएको सम्पत्तिले गर्दा, त्यसरी सम्पत्ति पाउने व्यक्तिमा, एकातिर परावलम्वी भावनाको विकास हुन्छ भने अर्कोतिर उसमा भएको उद्ममी क्षमताको विकास एवं सदुपयोग हुन पाउँदैन। त्यसकारण पनि, गरिबहरुमा आत्मबल बढाउन उनीहरुलाई उनीहरुमा नै रहेको सिप र ज्ञानको प्रयोग गरेर गरिबीबाट मुक्ति पाउने उपायहरु सिकाउनु पर्दछ। गरिबहरुलाई बैसाखीको सहाराले हिंड्ने बानी लगाउनुको साटो उनीहरु कै खुट्टा बलियो बनाउने पट्टि लाग्नु पर्दछ। वहुसंख्यक गरिबहरुले चाहेको पनि यही नै हो।
कुनै व्यक्तिलाई गरिबीबाट मुक्ति पाउन बौद्धिक रुपमा सक्षम पारिएको छ भने उक्त व्यक्तिले आफ्नो त्यो ज्ञानको उपयोग केवल आफ्नो लागि मात्र गर्दैन साथै आफ्नो सन्तानहरुको बौद्धिक विकासका लागि समेत गर्दछ। यसरी ज्ञानको हस्तान्तरण हुन्छ। तर कुनै व्यक्तिले गरिबीबाट मुक्ति पाउन कसैबाट खोसिएको सम्पत्ति पाएको छ भने त्यसरी सम्पत्ति पाउनेले उक्त सम्पत्ति आफ्ना सन्तानहरुलाई हस्तान्तरण गर्छ भन्ने कुराको सुनिश्चिता गर्न सकिंदैन किनभने त्यसरी सम्पत्ति पाउने व्यक्तिले आफ्नो जिवनकाल मै नै त्यो सम्पत्ति सिध्याउन सक्छ, वा अन्य कुनै कारणले सम्पत्ति रित्तिएर जान सक्छ। तर व्यक्तिले पाएको ज्ञान रित्तिएर वा सिद्दिएर जाँदैन।
गरिबहरुमा व्याप्त रहेको गरिबी कम पार्न गरिबहरुलाई नै सक्रिय तुल्याउनु पर्दछ र यसका लागि उनीहरुलाई बौद्धिक रुपमा सक्षम पार्नु पर्दछ, कोटा र आरक्षण जस्ता सुबिधाहरु भन्दा। बौद्धिक रुपमा सक्षम पार्नका लागि सरकारले शिक्षामा व्यापक लगानी गर्नु पर्दछ। र सरकार भन्दा पनि स्थनीय स्तरमा, परिवारहरु, व्यक्तिहरु लाग्नु पर्दछ गरिबी कम पार्न शिक्षालाई सरल र व्यापक तुल्याने अभियानमा। शिक्षालाई गाउँ गाउँ परिवार परिवारसम्म पुर्याउने अभियानमा।

विश्वराज अधिकारी

Thursday, January 26, 2012

Standardization-Poverty & Economics-21

स्तरियता

स्तरियता प्रदान गरेर पनि वस्तुलाई सस्तो तुल्याउन सकिन्छ। स्तरियता भनेको वस्तुलाई नाप, तौल, आकार, रंग, सजावट आदिको आधारमा विभाजित गर्नु वा छुट्यानु हो। वस्तुलाई बिक्री गर्नु पूर्व नै आकार, तौल, रंग आदिको आधारमा विभाजित गरिएको छ भने त्यस्तो कार्यले गर्दा छोटो समयमा बढी परिमाणमा बिक्री गरेर बिक्री लागत कम पार्न सकिन्छ र परिणामस्वरुप वस्तु तुलनात्म रुपमा सस्तो हुन पुग्छ। बिक्री गर्न बिक्रेतालाई र खरिद गर्न क्रेतालाई कति समय लाग्छ त्यसबाट पनि वस्तुको मूल्य प्रभावित हुने गर्दछ। समयको पनि मूल्य हुन्छ। उदाहरणका लागि यदि कुनै तरकारी बिक्रेताले बजारमा आलु बिक्री गरिरेहेको छ र उसले खरिद गर्न आउने प्रत्यके व्यक्तिलाई आलु  माग अनुसार तत्काल तौल गरेर दिने गरेको छ भने निश्चय पनि त्यस किसिमको बिक्री कार्यले बढी समय लिन्छ। बिक्रेताले बिक्री गर्न र क्रेताले खरिद गर्न बढी समय खर्च गर्नु पर्ने हुन्छ। तर यस्तो कार्यको ठीक बिपरित यदि बिक्रेताले बिक्री गर्नु पूर्व नै आलुलाई बिभिन्न तौल (क्रेताहरुले माग गर्ने तौल) अनुसारको झोलामा राखेको छ र खरिद गर्न आउनेलाई उनीहरुले माग गरेको तौल अनुसार बिक्री गर्दछ भने यस्तो कार्यले बिक्रेता र क्रेता दुबैलाई फाइदा हुन्छ किनभने खरिद-बिक्रीमा लाग्ने समय बचत हुन पुग्छ।
खरिद र बिक्री गर्न लाग्ने समयलाई कम पारिएको एउटा महत्वपूर्ण उदाहरणको रुपमा संयुक्त राज्य अमेरिका र संसारकै सबै भन्दा ठूलो खुद्रा बिक्री भण्डार वालमार्ट (Wal Mart) लाई लिन सकिन्छ। वालमार्ट संयुक्त राज्य अमेरिकाको एक यस्तो ठूलो खुद्रा भण्डार हो जहाँ दैनिक आवश्यकताका लगभग सम्पूर्ण सामाग्रीहरु एउटै छत (एउटै भवन भित्र) मुनी खरिद गर्न सकिन्छ। वालमार्ट भित्र पसे पछि तरकारी, फलफुल, कपडा, माछा मासु, फर्निचर, बिजुलीका सामान, कम्प्युटर, खाद्य सामाग्री, दहि दुध मख्न, जुत्ता चप्पल, घडी, तयारी गर गहना, विभिन्न औजार, साइकल, पकाउने खाने भाँडा, स्टेस्नरी आदि खरिद गर्न सकिन्छ। मोटर मर्मत गर्नै र गाडीमा इन्धन भर्ने  सुबिधा समेत पिन वालमार्टको क्षेत्रभित्र नै प्राप्त गर्न सकिन्छ। वालमार्टको उद्देश्य नै एउटै छत मुनि दैनिक आवश्यकताका सम्पूर्ण सामाग्रीहरु क्रेताहरुलाई उपलब्ध गराएर उनीहरुको समयको बचत हुने वातावरण सृजना गर्नु रहेको देखिन्छ।  
वालमार्ट अमेरिकाको प्राय: हरेक शहरमा देख्न सकिन्छ। र हरेक शहरमा वालमार्टको भवन एउटै किसिमको हुन्छ। भवन एउटै किसिमको भएकोले केवल भवन हरेर पनि त्यो वालमार्टको भवन हो भन्ने टाढाबाट नै चिन्न सकिन्छ। त्यति मात्र होइन, जुन सुकै शहरको वालमार्ट भएता पनि सामानहरु बिक्रीका लागि व्यवस्थित किसिमले (सजाएर) राख्ने भन्ने कुरामा समानता हुन्छ। उदाहरणका लागि यदि एउटा शहरको वालमार्टमा पस्ने बित्तिकै एक किसिमको सामान राखिएको देखिन्छ भने अर्को शहरको वालमार्टमा पनि पस्ने बित्तिकै त्येही सामान राखिएको देख्न सकिन्छ। यसरी सामान राख्ने कार्यलाई स्तरियता प्रदान गरिएको हुनाले वालमार्ट भित्र पस्ने बित्तिकै खरिद गर्न आइरहने मान्छेलाई कुन सामान कता राखिएको छ भन्ने कुरा थाहा हुन्छ र उसले सजिलैसँग आफूले खरिद गर्न चाहेका सामानहरु कार्टमा राखेर चेक आउट ( पैसा भुक्तान गर्ने काउन्टर) तिर जान सक्छ। यसरी हेरक सामानको एउटा पूर्व निर्धारि ठाउँ भएकोले क्रेतालाई आफूले चाहेको सामान कम समयमा छनौट गरेर खरिद गर्न सजिलो हुन्छ भने बिक्रेताले पनि कम समयमा थुप्रै सामानहरु बिक्री गर्न सक्छ किनभने बिक्रेताले प्रत्येक क्रेतालाई सामान देखाउनु पर्दैन। सामानहरु व्यवस्थित किसिमले राखिएको हुनाले क्रेताहरुले आफैले सामानहरु छनौट गरेर भुक्तानी काउन्टरसम्म ल्याई पुर्याउँछन।
बिक्री कार्यमा लाग्ने समयलाई जति छोटो पार्न सक्यो क्रेता र बिक्रेता दुबैलाई त्यतिकै फाइदा हुन्छ। बिक्रेताको बिक्री लागत कम हुन पुगेकोले उसले वस्तुको मूल्य कम पार्न सक्छ जसले गर्दा क्रेताले सस्तोमा सामान खरिद गर्न पाउने वातावरण सृजना भएर क्रेताले केही सस्तोमा सामान प्राप्त गर्न सक्छ। बिक्रेताले पनि छोटो समयमा धेरै र कम बिक्री लागतमा सामान बिक्री गर्ने औसर पाएकोले उसले थप मनुफा प्राप्त गर्न सक्छ। विभिन्न किसिमका लागतहरु कम पारेर वस्तुको मूल्यलाई सस्तो पार्ने कार्यमा कुशलता प्राप्त गरेको हुनाले वालमार्टले अमेरिकामा सस्तोमा सामान विक्री गर्ने भण्डारको रुपमा प्रसिद्धि पाएको छ।
वस्तु उत्पादन, बितरण, बिक्री जस्ता कार्यलाई स्तरियता प्रदान गरेर वस्तुको मूल्यलाई कम पारी विभिन्न वस्तुहरु सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराउन सकिन्छ। सेवाको क्षेत्रमा पनि स्तरियताको प्रयोग गरेर सेवाको मुल्यलाई कम पारी उपभोक्ताहरुलाई सस्तोमा सेवा उपलब्ध गराउन सकिन्छ। उदाहरणको रुपमा, सैलुनहरुले साधारण कैची प्रयोग गर्नुको साटो स्वचालित कैची (मेसिन) प्रयोग गरेर कपाल काट्न लाग्ने समयलाई छोट्याएर सस्तोमा सैलुन सेवा उपलब्ध गराउन सक्छन। स्वचालित कैचीमा कति छोटो कपाल काट्ने भनी एटजस्ट गर्न सकिने भएकोले कपाल काट्ने व्यक्तिले ग्राहकको अनुरोध अनुसारको लामो छोटो कपाल काटी दिन सक्छ। यसरी  कपाल काट्ने कार्यलाई (लामो छोटोको आधारमा) स्तरियता प्रदान गरेर कपाल काट्ने व्यक्तिले कम समयमा धेरै जनाको कपाल काटेर थप आम्दानी प्राप्त गर्न सक्छ। स्तरियताले गर्दा कपाल काट्ने व्यक्तिको कम समय लागेकोले उसले तुलनात्मक रुपमा केही सस्तोमा ग्राहकलाई कपाल काट्ने सेवा उपलब्ध गराउन सक्छ। र यसबाट उपभोक्तालाई फाइदा पुग्न जान्छ।
स्तरियताको प्रयोग गरेर पनि वस्तुको उत्पादन एवं विक्री लागत कम पारी उपभोक्ताहरुलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउन सकिन्छ। विकसित मुलुकहरुले आवश्यक हरेक क्षेत्रमा स्तरियताको प्रयोग गरेको पाइन्छ। विकसित मुलुकहरुमा, यहाँ सम्म कि, रेष्टुरेन्टहरुमा पनि स्तरियताको प्रगोग गरिएको हुन्छ। चैन रेष्टुरेन्टहरु हो भने एउटा शहरमा रहेको रेष्टुरेन्ट (भवन) मा जुन रंग र सजावटको प्रयोग गरिएको छ अर्को शहरमा रहेको रेष्टुरेन्टमा पनि त्यसै किसिमको रंग र सजाबट प्रयोग गरिएको हुन्छ र उपलब्ध गराइने खाद्य साम्राग्रीहरु पनि लगभग एकै किसिमका हुन्छन, जसले गर्दा त्यस किसिमको रेष्टुरेन्ट खोज्ने र सामाग्री रोज्ने कार्यमा अलमल नभई ग्राहकको समय बचत हुन पुग्छ। अहिले व्यस्त समयमा समय पनि पैसा सरह नै हो। समयको बचत हुनु पनि आम्दानी नै हो।

विश्वराज अधिकारी

Wednesday, January 25, 2012

Whom To Blame? - Story - 23


गल्ती कस्को?


सीता दिदीले फेरि भन्नु भयो ‘पहाडबाट आएको एक वर्ष जति निकै दुख भयो। घरबाट ल्याएको पैसाले नै जसरी तसरी गरेर चलायौ, पैंचो सापट पनि गरौ। तर यो चियाको पसल खोले पछि भने निकै हल्का भयो। खाने खर्च कसरी पुर्याउने, डेरा भाडा कसरी तिर्ने भन्ने समस्या रहेन। बाबु एक वर्षको थियो, पढाउने खर्च,  स्कूल पठाउने टन्टा त्यस्तो केही पनि थिएन। तर एउटा समस्या भने थियो, त्यो के भने जति कमायो त्यो सबै खान र बस्न मै खर्च हुन्थ्यो, बचतको नाममा एक पैसा पनि हुन्थ्येन हातमा।’
‘तर जब पसल नया बानेश्वरमा सारे, पहाडबाट आएको दुई वर्ष पछिको कुरा हो यो, बगलामुखी माताको कृपा हो यो सब, चिया पसल निकै चल्न थाल्यो। हामी दुई जनाले भ्याई नभ्याई भए पछि दुई वटा काम गर्ने एकै चोटी राख्यौ, आफ्नै गाउँ तिरका, चरिकोट छेउछाउका। अलिकति पैसा पनि जम्मा पारे, भक्तपुरतिर जग्गा किन्ने सुरमा।’
म चुप लागेर सीता दिदीको कुरा सुन्दै थिए। दिन भरि कोठामा बस्दा बस्दा दिक्क लागेर साँझ पर्नै आँट्दा एक छिन बाहिर निस्केको थिए। यता उति घुम्दै फिर्दै पस्न पुगेको थिए म सिता दिदीको चिया पसलमा, अर्थात पवित्र भण्डारमा। दिउँसो क्याम्पस पढाउन पनि गएको थिन, त्यो दिन। अरूण सरलाई आग्रह गरेको थिएँ मेरो क्लासलाई पनि गाभेर क्लास लिदिनु होला भनेर।
त्यो दिन संयोग पनि कस्तो परेको थियो भने ग्राहकहरुको भीड पट्क्कै थिएन पवित्र भण्डारमा। म बाहेक एक दुई जना थिए, तर तिनीहरु पनि कोठाको पुछार तिर थिए। त्यो स्थितिले पनि सिता दिदीसँग कुरा गर्न सजिलो पारि दिएको थियो। म काउन्टरको छेउकै टेबलमा भएकोले हाम्रो कुरा अरुले सुन्लान भन्ने पीर सीता दिदीले लिनु परेको थिएन।
सीता दिदीले भन्नु भयो ‘वहाँ, मेरो श्रीमान, यो चिया पसलमा खुब रमाउनु भएको थियो। दिन भरि चिया पसलमा नै बस्नु हुन्थ्यो। साथी भाई नाता गोता सबै, वहाँको लागि यै चिया पसल थियो। कहिले म काउन्टरमा बस्थ्ये कहिले वहाँ। एक जना बेला बेलामा किचेनतिर जानु पर्थ्यो त्यसैले। तर कहिले हामी सँगै पनि बस्थ्यौ काउन्टरमा। काम गर्ने केटाहरुले काम गरेको हेर्यो, बस्यो। दिन भरि बढी समय गफ गरेर नै बित्थ्यो। राति होटल बन्द गरेर हामी सँगै डेरामा जान्थ्यौ, फेरि भोलि पल्ट विहान पनि सँगै आउँथ्यौ होटल खोल्न। काम गर्ने केटाहरालाई पनि कोठाको व्यवस्था गरि दिएका थियौ।  कुनै समस्या थिएन त्यस्तो। दिन राम्रो गरि चलिरहेको थियो। तर अचानक के भयो…….. त्यस्तो …………? कसरी वहाँको मन फेरियो त्यसरी, मैले प्रष्ट गरी बुझ्न सकेको छैन।’
मैले आश्चर्य मान्दै प्रश्न गरे – किन, के भयो र त्यस्तो, हँ दिदी? सीता दिदीले केवल एक वाक्यमा जबाफ दिनु भयो ‘वहाँ आजकाल मसँग बस्नु हुन्न। न्युरोड तिर कोठा लिनु भएको छ, उतै बस्नु हुन्छ।’
मैले आश्चर्य मान्दै भने- तपाँईको श्रीमान तपाँई सँगै बस्नु हुन्न र? सीता दिदीले टाउको हल्लाएर मात्रै सँगै नबसेको संकेत गर्नु भयो। मैले पुन: प्रश्न गरे- किन नि?
‘के थाहा किन नबसेको होला सँगै’ छोटो उत्तर दिनु भयो वहाँले। कति भयो त्यसरी बसेको? मेरो प्रश्नले फेरि पछ्यायो। सीता दिदीले भन्नु भयो ’१४। १५ वर्ष।’
मेरो बाइफ, करूणासँग सीता दिदीको अलि बढी नै घनिष्टता भएकोले मलाई सीता दिदी समक्ष त्यस्त प्रश्नहरु राख्न केही सजिलो भएको थियो। हुनत सीता दिदी र वहाँको श्रीमान बीच कस्तो सम्बन्ध छ भन्ने कुरा करुणालाई थाहा हुनु पर्ने हो। उनले मलाई नभनेको पनि हुन सक्छ। अर्को कुरा, करूणाले पेटमा नै राख्न सक्छिन धेरै कुराहरु। उनको त्यस्तो बानी छ पनि।  
मैले सीता दिदीलाई फेरि प्रश्न गरे- अनि यत्रो वर्षदेखि एक्लो बस्दै आउनु भएको छ? वहाँले छोटो उत्तर दिनु भयो ‘एक्लै नबसेर के गर्ने त?’ तर फेरि केही सम्झे झै गर्नु भयो अनि भन्नु भयो ‘त्यसो त बाबु यता उति हिंडेको छैन, ऊ मसँगै बस्छ। छोरा मेरो निकै भलादमी छ। क्याम्पसमा पढछ। बाबु जस्तो छैन, बटारिएको।’ यति भनेर सीता दिदी चुप लाग्नु भयो। सीता दिदी चुप लागे पछि  हामी बीच कुराकानी भएन, वातावरण एकै छिन शान्त रह्यो।
एकै छिन पछि स्वरमा केही उदासीनता थप्दै सीता दिदीले भन्नु भयो ‘खै, बाबु चाइनेलाई पनि के भन्नु बडारिएका छन् भनेर। मान्छे त त्यस्ता होइन, छुट्टिएर बस्ने खालका, तर के भयो खोइ…………… कुन्नी ………………..के?’
मैले आश्चर्य मान्दै प्रश्न गरे- दिदी, तपाँईको श्रीमान पहिले कस्तो हुनु हुन्थ्यो, त। मेरो प्रस्नको उत्तर दिन मतिर हेर्नु भयो अनि वहाँले भन्नु भयो ‘मैले अघि नै भनि हाले नि, यो पसल छाडेर कतै जानु हुन्थ्येन। जहिले पनि यै पसलको वरिपरि, अनि मेरो छेउ छाउ मात्र रहनु हुन्थ्यो। जे गर्नु पर्यो मलाई सोध्नु हुन्थ्यो। मलाई नसोधी बिरलै कुनै काम गर्नु हुन्थ्यो। वहाँको मुखमा नै हुन्थ्यो, सीता फलानोले यसो भन्यौ, बुझ्यौ। सीता फलानोले त्यसो भन्यो। मैले यसलाई यस्तो भनि दिए, सीता। मैले त्यसलाई त्यस्तो भनि दिए, सीता। यो कसरी गर्ने सिता? त्यो कसरी गर्ने सिता? कहिले काहिँ त झर्को पनि लाग्दथ्यो, कस्तो मान्छे होला,  अलिकति पनि आँट गर्न नसक्ने, आफैले निर्णय गर्न न जान्ने वहाँको त्यस्तो बानी देखेर। कुनै पनि कुरा गर्नु भन्दा पहिले मसँग सोध्नै पर्ने, जे कुरा पनि सुनाउनु पर्ने, मलाई। यसो आफैले पनि आँटेर गर्न सक्नु पर्छ नि, कहिले काहिँ त, केही कुरा। यसो बहादुरी देखाउन सक्नु पर्छ नि। तर फेरि यो सम्झेर मख्ख पर्थ्ये, कति माया गरेको होला मेरो बुढाले मलाई। आफ्नो हरेक गति बिधिमा बुढाले मलाई संलग्न गराउन खोजेको देखेर  भूँइमा खुट्टा नै हुन्थ्येन मेरो, कहिले काहिँ, बुझ्नु भयो।’
सिता दिदीले फेरि भन्नु भयो ‘मैले धेरै किच किच नगरेको भए त्यस्तो हुन्थ्येन होला। वहाँको मति अहिले जस्तो हुन्थ्येन कि…………..। मुन्टो बटारेर यसरी छुट्टिएर बस्थेनन् कि……………..।’
मैले सीता दिदीको  भनाइ पूरा हुन नदिइ बीचमा काट्दै भने- के त्यस्तो किच किच गर्नु भयो र दिदी, तपाँईले। अलि गंभिर हुँदै सिता दिदीले भन्नु भयो ‘हामी सँगै हुँदा, हामी यो होटलमा सँगै बस्दा, म जहिले पनि वहाँलाई भन्ने गर्य्ये ‘चियाको पसल थापेर नै जिन्दगी बिताउने बिचार  गर्नु भएको छ कि क्या हो, तपाँईले? यो चियाको पसल त म हेरी हाल्छु नि। तपाँईले चाँहि, यसो कुनै नयाँ व्यापार गर्नुस न। यसो, न्युरोड तिर सानो तिनो पसल खोल्नु भए हुन्छ नि, फोरेन गुडको। लुगा फाटोको पसल। खुब नाफा हुन्छ भन्छन लुगा फाटोको पसलमा। एउटा व्यापार तपाँईले, एउटा मैले हेरे भने, व्यापार पनि दुइटा हुन्छ अनि नाफा पनि उत्तिकै…………. तर यो चिया पसलको भरमा कत्ति बस्नु सँधै भरि।’
सीता दिदीले फेरि भन्नु भयो ‘वहाँ मेरो अगाडि पर्नु भयो कि म कराउन शुरु गर्थ्ये र न्युरोड तिर पसल खोल्न भन्थे। दिनमा दसौं चोटी भन्थ्ये, एक चोटी दुई चोटी हो र? तर वहाँ केही बोल्नु हुन्थ्येन। केवल चुप लागेर सुन्नु हुन्थ्यो मात्र। रिसाउनु हुन्थेन पनि। तर पछि त मेरो बानी कस्तो पर्यो भने जुन सुकै बेला, जहाँ पनि, वहाँ मेरो अगाडि पर्यो कि म कराई हाल्थ्ये र न्युरोडमा पसल खोल्न किच किच गर्न थाल्थ्ये। पछि त मैले वहाँलाई केही गर्न नसक्ने, आँट नभएको, हुत्तिहारा पनि भन्न थाले। र भन्ने हो भने एक किसिमले मलाई झर्को लाग्थ्यो वहाँलाई देखेर, वहाँ जुन बेला पनि मेरो नजिक भएकोमा म खुसी हुनुको सट्टा।’
सीता दिदी भन्दै हुनु हुन्थ्यो म सुन्दै थिएँ। सीता दिदीले भन्नु भयो ‘मेरो नजरमा वहाँ केही गर्न नसक्ने, लाछी, हुत्तिहारा प्रमाणित भइ सक्नु भएको थियो। तर मैले वहाँलाई पसल खोल्नका लागि दवाव दिने क्रमलाई भने तोडेको थिन। मैले धेरै किच किच गरेकोले वहाँमा एउटा नया बानीको विकास भएको थियो र त्यो बानी के थियो भने रिसाउने। वहाँ रिसाउन पनि थाल्नु भएको थियो, मैले जहिले पनि किच किच गर्दा। कति चोटी भन्नु पनि भयो पनि, हेर सीता जहिले पनि एउटै कुरा झिकेर किच किच नगर। मलाई दिक्क लागि सक्यो, सक्तिन म अब सहन तिम्रो सँधैको यो किच किच, एक दिन दुइ दिनको हो र यो। मलाई झर्को लागे हिँडि दिन्छु कतै अनि थाहा हुनेछ। होइन, कति पैसा चाहिएको हो तिमीलाई? यो पलसको आम्दानीले खान बस्न जति पनि पुगेको छ। अब धनै थुपार्ने कुरा गर्ने हो भने यो देशको करोड पति व्यापारी …………..लाई पनि पैसाले पुगेको छैन। करोडौले न पुगेर अरबौ, अरबौले नपुगेर खरबौं कमाउन गलत सही काम गरि रहेका छन, मानिसहरु। तर तिमीले सँधै पैसाका लागि यस्तै, यसै गरि किच किच गर्ने हो भने………………………………म सहन सक्तिन अनि देखाई दिँउला……………………………तिम्रो ……………….अनि थाहा होला। वहाँको त्यस्ता कुराहरु सुनेर म डराएकी थिए। त्यस्तो सोझो कहिले न रिसाउने मान्छे त्यसरी रिसाएको देखेर आश्चर्य पनि लागेको थियो मलाई।’
मेरो अगाडि रहेको गिलासमा चिया सकिएको एक घण्टा भन्दा बढी भइ सकेको थियो। त्यो खाली गिलासतिर हेर्दै सीता दिदीले भन्नु भयो ‘ए बाबु, ए महिला, सरलाई अर्को एउटा चिया ल्याई देउ त।’ एकै छिन पछि ती सहायकले चिया ल्याइ दिए। म चिया खान थाले। सीता दिदीले चलिरहेको कुराकानीको क्रमलाई अगाडि बढाउँदै भन्नु भयो ‘एक चोटी, एक दुई दिन वहाँ यो होटलबाट हराउनु भयो, मैले सोधिन पनि राति राति कहाँ कहाँ क-कसको घरमा बस्नु भयो भनेर। मेरो कुरा वहाँले नखाएको देखेर मेरो मगज नै खलबलिएको थियो, के गर्नु त्यस्तो बेलामा कुरा सुरा। तर त्यसरी हराएको चार पाँच दिन पछि वहाँले मलाई आश्चर्यमा पार्नु भयो। मलाई भन्नु भयो- सीता मैले न्युरोडको खिचापोखरीमा पसल खोल्ने सबै ब्यवस्था मिलाई सकें नि। तिमीलाई भनेको थिन, तिमीलाई छक्क पार्ने बिचार थियो, मेरो। मेरो ठूलो सपना साकार भयो। ठूलो सपना थियो मेरो, न्युरोडमा पसल खोल्ने, लुगाफाटोको पसल। अहिले बच्चाका लुगाहरु मात्र राख्ने बिचार छ। पछि भने सबै किसिमको सामान राख्ने, बिक्री बढ्दै गयो भने।’
म शान्त भएर सीता दिदीको कुरा सुन्दै थिएँ। सीता दिदीले भन्नु भयो ‘वहाँले न्युरोडमा पसल खोल्नु भयो। पसल निकै चल्न थाल्यो पनि। तर न्युरोडमा पसल खोले पछि भने वहाँको अनेक किसिमका मान्छेहरुसँग संघत हुन थाल्यो। अनेक किसिमका केटाहरु साथी थिए, अनेक किसिमका केटीहरु पनि। मैले त के देख्नु, म त जुन बेला पनि यै चिया पसलमा हुन्थ्ये तर अरु देख्नेहरुले भन्थ्ये। न्युरोडमा पसल खोले पछि त एकै छिन का लागि भए पनि यो चिया पसलमा बस्न छाड्नु भयो, वहाँले। वहाँ राति यता आएको बेला कहिले कांहि त्यस्तै संयोग परेर एकै छिन यो चिया पसलमा बस्नु पर्दा अति नै अपठ्यारो माने जस्तो गर्नु हुन्थ्यो। बस्नु परे भने काउन्टरमा बस्नुको साटो छेउको कुर्सीमा, ग्राहक बस्ने कुर्सीमा बस्नु हुन्थ्यो अनि ग्राहकसँग पैसा आफूले न लिएर यी सगयोगी भाईहरुलाई लिन लगाउनु हुन्थ्यो र हिसाब किताब पनि उनीहरुले नै गर्थ्ये। एक चोटी त्यस्तै परेर वहाँ यो पसलमा बसिरहेको बेला एउटा सुटेड बुटेड केटा वहाँको नजिक आयो अनि भन्यो ‘हरि सर, हजूरको चिया पसल हो कि क्या हो? जबाफमा वहाँले भन्नु भयो होइन, म त चिया खान आएको मात्र हो यो पसलमा, मेरो त न्युरोडमा ठूलो पसल छ, फौरेन गुडको। म वहाँले न देख्न सक्ने गरी अलि पर थिएँ, त्यहींबाट वहाँले त्यस्तो भनेको सुने, मैले।
एक छिन रोकिएर सीता दिदीले फेरि भन्नु भयो ‘पछि पछि त वहाँ यो चिया पसलमा बस्ने त के यता, घरमा आउन समेत छाड्नु भयो। उतै बस्न थाल्नु भयो। जति केटाहरु साथी थिए त्यतिकै केटीहरु पनि। मौज मस्ती खान पिन खुब हुन थाल्यो रे वहाँको कोठातिर। म दुई चार चोटी न्यरोड गए, वहाँको पसलमा बसें पनि केही बेर। तर, जति चोटी त्यो पसलमा जाँदा पनि मलाई हप्काउनु भयो, अनेक किसिकमा गाली गलौज समेत गर्नु भयो, बिना कुनै कारण। एक चोटी भन्नु भयो पनि-जाउ बस, आफ्नो त्यो चिया पसलमा अनि सफा गर दिनभरि ती गिलासहरु। तर यहाँ नआउ मलाई किच किच गर्न। म त छक्क नै परे मसँग त्यसरी बिना कुनै कारण रिसाएको देखेर, त्यस्तो व्यवहार गरेको देखेर। त्यस पछि वहाँलाई भेट्न जान मन लागेन मलाई। त्यस पछि म वहाँलाई भेट्न गएको छैन पनि, वहाँ पनि आउनु भएको छैन यता। बाबु, उमेश कहिले काहिं भेट्न जान्छ तर मलाई भन्छ आज बालाई भेट्न गएको थिएँ भनेर। हाम्रो त दशैमा पनि भेट घाट हुँदैन। वर्षौ भई सक्यो हाम्रो भेट घाट नभएको। मलाई त आफ्नो यै चिया पसल रमाइलो लाग्छ। चिया पसल यथार्थमा एउटा सिनेमा हल जस्तो हो, हरेक किसिमका मान्छे आउँछन यहाँ। चोर देखि साधुसम्म। नेतादेखि कार्य कर्तासम्म। अपराधीदेखि पुलिससम्म। इमान्दार देखि बेइमानसम्म। गुन्डादेखि कहलिएका भलादमी सम्म। कमाउ देखि बेरोजगारसम्म। मगन्ते देखि लखपतिसम्म। कलाकारदेखि नाम चलेका पत्रकारसम्म। थरि थरि का मान्छे आउँछन। आपसमा गफ गर्छन। आपसमा गफ गर्दा सुनाउँछन आफ्नो आफ्नो राम कहानी। धेरैका धेरै किसिमका कुराहरु, राम कहानीहरु सुन्न पाइन्छ। म, उनीहरुतिर ध्यान नदिएको जस्तो गर्छु, उनीहरुको कुरा सुन्दा। तर मेरो ध्यान र कान भने उनीहरु तिर नै हुन्छ, हेराइ अर्कोतिर भए पनि। कतिसँग त दोहरो चिना जानी छ। कतिलाई म मात्र चिन्छु उनीहरुले मलाई नचिनेता पनि। उनीहरुको कुराकानीबाट उनीहरु के काम गर्छन्, घरमा को को छ, कसको कस्तो समस्या छ, सब थाहा हुन्छ मलाई। यी सबै कुराहरुले गर्दा मलाई यो काम अति मन परेको छ। कहिले काहि यहाँ आउने ग्राहकहरु त मलाइ मेरो परिवार हुन जस्तो लाग्छ र उनीहरुको खुसीमा खुसी उनीहरुको दुखमा दुखी हुन समेत मन लाग्छ, मलाई।
चिया पसलमा केन्द्रित रहेर सीता दिदीले चलाइ रहेको कुराकानीको क्रमलाई मैले तोड्न चाहेँ। मैले सन्दर्भँ नै परिवर्तन गर्ने खोजे अनि भने- सीता दिदी, एउटा कुरा सोध्छु नरिसाउनु होला है त। तपाँईहरु- पति पत्नीको सम्बन्ध यसरी दुध फाटे झै फाटेको छ। त्यस्तो सुमधुर सम्बन्धलाई फाटेको दुध झै बनाउने को होला जस्तो लाग्छ तपाँईलाई, मुख्य रुपमा, तपाँई कि तपाँईको श्रीमान?
सीता दिदीले भन्नु भयो ‘गल्ति कस्को भन्ने, मेरो कि वहाँको, खै?


विश्वराज अधिकारी


Published in'Nepal Weekly on Sunday, January 22, 2011

http://www.ekantipur.com/nepal/article/?id=3257 

Tuesday, January 24, 2012

The Tiger-Nepali short story-Abhinaya-26


बाघ आयो 

बाघ आयो, बाघ आयो भनी कराएर गाउँका मान्छेहरुलाई झुक्याउने केटो एक दिन आफै बाघको शिकार भएको कथा अहिले कसैलाई नसुनाए हुन्छ। अहिलेको समयमा झूठो बोलेर सधैं मानिसलाई झुक्याउन सकिन्छ। सधैं झुक्किन मान्छेहरु तयार छन् पनि। र बाघ आउँदैन किनभने जङ्गलमै बस्छ। आजभोलि नियम र अनुशासनको पालना जङ्गली जनावरहरुले गर्न थालेका छन्।

विश्वराज अधिकारी

Sunday, January 22, 2012

Mother, Father and He - Fiction of the week - 21



Mother, Father and He


He went away to find happiness and joy for his parents. After few years he found both of it. Even after finding all those happiness and joy he was not content because by this time he was already very far way from being in touch with his parents.

Bishwa Raj Adhikari 

Saturday, January 21, 2012

A Human Being - Poem of the week - 14


मान्छे

जे जे चाहेको हो त्यो त्यो सबै गर्न सक्दैन मान्छे
तैपनि चाहेको सबै गर्नु सक्छु भन्दै हिँडछ मान्छे

समय खोलामा निरन्तर बगि रहन्छ नरोकिएर मान्छे
भन्छ तर समयलाई शक्ति सामर्थ्यले फर्काउन सक्छु मान्छे

जन्म्यो जुन दिन त्येही दिन मृत्युमा सही छाप गर्छ मान्छे
धन थुपार्दै मन मनै भन्छ तर मर्दिन म कहिले मान्छे

मानिसको बिनासमा अरू प्राणी भन्दा सक्रिय छ बढी मान्छे
शान्तिको गीत गाउन भाषण ठोक्दै हिंड्छ फेरि मान्छे

पशु भन्दा पनि अति पशु भइ डरलाग्दो कार्य गर्दछ मान्छे
भन्छ तर आफूलाई सर्वाधिक विवेकी र सभ्य हुँ मान्छे

सत्यको सामान गरी मुख फर्काएर भाग्छ सँधै मान्छे
शून्यबाट शून्य यो जिवनमा केवल जोड र गुणा देख्छ मान्छे

विश्वराज अधिकारी

Friday, January 20, 2012

Problems in French Economy - Article 27


फ्रान्सको अर्थतन्त्र

फ्रान्सको अर्थतन्त्रमा पनि समस्या देखिन थालेको छ। यूरोपमा बलियो अर्थतन्त्र मानिएका दुई राष्ट्रहरु- जर्मनी र फ्रान्स मध्ये फ्रान्सको अर्थतन्त्रमा पनि समस्या देखिनु यूरोपको लागि सुखद समाचार भने होइन। यूरोपका ठूला अर्थतन्त्रहरु मध्ये अहिले जर्मनीको मात्र आर्थिक स्थिति बलियो अवस्थामा छ। जर्मनी, फिनलैण्ड, निदरलैण्डस् र लक्जमबर्गले मात्र आफ्नो  रेटिंगलाई AAA मा कायम राख्न सकेका छन। Standard and Poor (S&P) को रेटिंग अनुसार फ्रान्स, अष्ट्रिया, माल्टा, स्लोभाकिया र स्लोभेनियाको रेटिंग एक नच (notch) ले तल झरेको छ भने इटाली, स्पेन, पोर्चुगल र साइप्रसको दुई नचले। S&P, संयुक्त राज्य अमेरिका स्थिति एक यस्तो  मूल्यांकन संस्था (rating agency) हो जसले कम्पनी, राष्ट्र र आर्थिक सेवाहरुको आर्थिक विश्वशनियता ( creditworthiness)  को मूल्यांकन गर्दछ।  
यूरोपकै सबै भन्दा ठूलो अर्थ तन्त्रको रुपमा रहेको जर्मनी, यूरोपको खस्किंदो आर्थिक स्थितिबाट प्रभावित हुन सक्तैन भनी ऊ ढुक्क हुने अवस्था पनि छैन। यूरोपका अधिकांस राष्ट्रहरुमा देखिएको आर्थिक समस्याले जर्मनीलाई पनि बिस्तारै प्रभाव पार्न सक्छ। सन् २०१० को तथ्यांक अनुसार जर्मनीमा ७.१ प्रतिशत बेरोजगारी रहेको थियो भने सरकारी ऋण कुल गार्यहस्थ उत्पादन (GDP) को ८३.२ प्रतिशत।
अहिले भने चर्चामा फ्रान्स रहेको छ किनभने S&P को रेटिंग अनुसार फ्रान्सको रेटिंग AAA  बाट AA+ मा झरेको छ। फ्रान्सले पाएको यस्तो रेटिंगबाट यहाँ लगानी गर्नेहरुलाई केही ससंकित हुने स्थितिमा भने अवस्य पुर्याउने छ।
हुनत फ्रान्सको आर्थिक स्थिति अन्य यूरोपेली राष्ट्रहरु भन्दा राम्रो छ तर त्यहाँ बढ्दै गरेको बेरोजगारी, अर्थतनत्रमा देखिएको प्रतिस्पर्धात्मक क्षमताको अभाब, उत्पादनमा कमी, जनताको खस्किंदो आर्थिक अवस्था जस्ता समस्याहरुले गर्दा धेरै फ्रान्सेलीहरुमा राष्ट्रको आर्थिक स्थिति प्रति चिन्ता देखिन थालेको छ। फ्रान्सको आर्थिक वृद्धि दर अहिले लगभग शून्य प्रतिशत छ। यसै गरी बेरोजगारी ९..९ प्रतिशत छ, जुन १२ वर्षमा सबै भन्दा बढी हो। र सरकारले ठोस आर्थिक कार्यक्रमहरु नल्याउने हो भने बेरोजगारी अझै बढ्ने अनुमान गरिएको छ। फ्रान्सको खस्किंदो आर्थिक स्थितिले राष्ट्र भित्र त प्रतिकूल प्रभाव पर्ने नै छ साथै फ्रान्सले यूरोपेली यूनियन भित्र बनाएको  आर्थिक शक्तिको छवि पनि प्रभावित हुने देखिन्छ। यूरोपेली यूनियनलाई अहिले दुई राष्ट्रहरु- जर्मनी र फ्रान्सले नेतृत्व प्रदान गरि रहेको मानिएको छ। फ्रान्सको आर्थिक स्थितिमा तिब्र गतिमा सुधार न आएमा फ्रान्सलाई यूरोपेली यूनियनको नेतृत्वकर्ताहरु मध्येको एकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन आइ यसलाई यूनियनको एक समस्या ग्रस्त राष्ट्रको रुपमा हेर्न थालिने छ।
फ्रान्सको AA+ को रेटिंगले राष्ट्रपति निकोलस सारकोजीको राजनैतिक भविष्य पनि प्रभावित हुने देखिन्छ। फ्रान्सको आउँदो चुनावमा राष्ट्रपतिले कडा प्रतिस्पर्धाको सामना गर्नु पर्ने छ किनभने उनको कार्यकालमा फ्रान्समा बेरोरगारी, जिवन यापन लागत, ऋण जस्ता महत्वपूर्ण क्षेत्रहरु सुधार हुन नसकेको र आर्थिक अनिश्चितता बढेको भन्न थालिएको छ।
के कारणहरुले फ्रान्सको आर्थिक स्थितिलाई खस्किंदो आवस्थामा पुर्याए त? यो प्रश्न आफैमा महत्वपूर्ण छ। केही व्यक्तहरुको भनाईमा फ्रान्सको खस्किंदो आर्थिक स्थितिका लागि राष्ट्रको अर्थतन्त्रमा राज्यको चाहिने भन्दा बढी नियन्त्रण, कर प्रणाली, कार्य समय ( 35-hour workweek) जस्ता पक्षहरु जिम्मेबार छन। राष्ट्रको अर्थतन्त्रमा राज्यको बढ्दो भूमिकाले गर्दा फ्रान्सको प्रतिस्पर्धात्मक क्षमतामा अपेक्षित मात्रामा वृद्धि हुन सकि रहेको छैन। विश्लेषकहरुको बिचारमा फ्रान्सको आर्थिक स्थितिमा तिब्र गतिमा सुधार ल्याउन राष्ट्रको अर्थतन्त्रलाई ज्यादै लचिलो र उदार तुल्याउन आवश्यक छ। यस्तो गरेमा यसको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न सकिने छ। तर राष्ट्रपति सारकोजीका आलोचकहरु फ्रान्सको आर्थिक स्थिति यस्तो हुनुमा राष्ट्रपतिको कार्यकाललाई नै जिम्मेबार ठहर्याउँदै छन।
खासमा अहिले पुरै यूरोप एक किसिमले आर्थिक मन्दीको स्थितिमा छ। र यस्तो हुनुका केही कारणहरु पनि छन। यूरोपका धेरै राष्ट्रहरुले पहिले नियन्त्रित अर्थ अर्थतन्त्र (कम्युनिष्ट व्यवस्था) अँगालेका थिए र त्यो समयको कार्य प्रणाली र आर्थिक नीतिहरुलाई अहिले पनि उनीहरुले पूर्ण रुपमा त्याग्न सकेका छैनन्। यस बाहेक यूरोपमा अहिले पनि त्यस्ता राष्ट्रहरु छन जसले राष्ट्रिय अर्थतन्त्रबाट समाजवादका धेरै नीतिहरु लाई झिक्न सकेका छैन र त्यस्ता राष्ट्रहरुले राष्ट्रिय अर्थतन्त्रमा राज्यको भूमिकालाई जति कम पार्नु पर्ने हो त्यति कम पार्न सकेका छैनन् पनि। साथै थुपै यूरोपेली राष्ट्रहरुले वर्तमान विश्व परिस्थिति अनुरुप राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक तुल्याउन सकेका छैनन। उनीहरुको आर्थिक नीति तथा कार्यक्रमहरु अहिले पनि परम्परागत किसिमका छन।
वर्तमान विश्व परिस्थिति, खास गरी आर्थिक जगतमा, यति प्रतिस्पार्धात्मक छ कि कुनै पनि राष्ट्रले आर्थिक प्रगति हासिल गर्न राष्ट्रिय अर्थतन्त्रलाई ज्यादै प्रतिस्पार्धात्मक तुल्याउन आवश्यक छ। राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक तुल्याउन लचिलो र उदार अर्थ नीति ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई पनि अझै बढानु पर्ने देखिन्छ। र यसका लगि उद्योगी तथा व्यापारीहरुलाई व्यापार गर्नका लागि प्रोत्साहित गर्ने मात्र होइन उनीहरुलाई नया नया किसिमका व्यापारहरुको विकास गरेर  थप रोजगारी औसरहरु सृजना गर्न उत्प्रेरित गर्नु पर्दछ। वर्तमान युग ज्ञानको युग हो। आर्थिक क्षेत्रमा त झनै ज्ञानको उपयोग व्यापक किसिमले भइ रहेको छ। गुगल, फेसबुक, एमेजन डट कम जस्ता ठूला ठूला व्यापारिक संस्थाहरु नया नया व्यापारिक ज्ञानका उपज हुन। यूरोपेली राष्ट्रहरुले राष्ट्रिय अर्थतन्त्रलाई खस्किंदो स्थितिबाट माथि उकास्न तथा द्रुततर गतिमा आर्थिक प्रगति गर्न नया नया किसिमका आर्थिक नीति तथा कार्यक्रमहरु ल्याउनुका साथै तिनको प्रभावकारी किसिमले कार्यान्वयन गर्न पनि उत्तिकै आवश्यक छ। अहिलेको यो अति प्रतिस्पार्धात्मक बजार संस्कृतिमा पर्मरागत अर्थ नीतिहरुले काम गर्न सकि रहेका छैनन र सक्तैनन पनि। व्यापारमा सफलता हासिल गर्न प्रत्येक पल नया नया किसिमका त्यस्त व्यापारिक योजनाहरु ल्याउने बारे सोंच्नु पर्यो जुन प्रतिस्पर्धात्क होस र सफल पनि हुन सकोस।  अर्थतन्त्रलाई केवल लचिलो तुल्याएर मात्र हुँदैन। यो कुरा यूरोपेली राष्ट्रहरुले मनन गर्न आवश्यक छ।  

विश्वराज अधिकारी

Thursday, January 19, 2012

Online Shopping-Poverty & Economics-20



अन लाईन खरिद


जसरी कुनै एक फर्मुला प्रयोग गरेर कुनै एक जटिल हिसाब बनाउन सकिन्छ त्यसै गरि कुनै एक खास किसिमको कार्य गरेर वा योजना लागू गरेरे मुलुकको गरिबी निबारण गर्न सकिंदैन। गरिबी निबारणका लागि एकै पटक थुप्रै किसिमका कार्यहरु गर्नु पर्दछ। गरिबी निबारणका लागि गरिने थुप्रै तरिकाहरु मध्ये एक हो बिपन्न जनताले प्रयोग गर्ने सामानहरुको मूल्य कम पार्नु। वस्तु तथा सेवाको खरिद-बिक्रीमा इन्टरनेटको प्रयोग गरेर आम जनताले प्रयोग गर्ने वस्तु तथा  सेवाहरुको मूल्य कम पार्न सकिन्छ।
आम जनताले प्रयोग गर्ने वस्तु तथा सेवाको मूल्य कम पार्नमा इन्टरनेटले पनि ज्यादै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। इन्टर नेटको प्रयोगद्वारा खरिद लागत, विक्री लागत, भण्डार लागत तथा अन्य किसिमका लागतहरु कम पार्न सकिन्छ। अमेरिका, क्यानाडा लगायत थुप्रै धनी अर्थतन्त्र भएका देशहरुमा खरिद-बिक्रीका लागि व्यापक मात्रामा इन्टरनेटको प्रयोग भएको पाइन्छ। अमेरिकामा साना तिना घर घरायसी सामानदेखि कम्प्युटर, इलेक्ट्रोनिक सामान, लुगाफाटो, खेलौना, पुस्तक आदिसम्म खरिद एवं बिक्री गर्नका लागि इन्टरनेटको ठूलो मात्रामा प्रयोग भएको पाइन्छ। खास गरी पुस्तकको खरिद-बिक्रीमा त इन्टरनेटको प्रयोग व्यापक मात्रामा भएको देख्न सकिन्छ। इबे, अमेजन डट कम जस्ता अनलाइन सामानहरु बिक्री गर्ने संस्थाहरुले त पुस्तक लगायत अन्य थुप्रै किसिमका वस्तुहरु बिक्री गर्नमा अमेरिकामा प्रसिद्धि नै कमाएका छन्।
नया र पुराना पुस्तकहरु खरिद-बिक्री गर्न तथा पुस्तक भाडामा लिन-दिन पनि इन्टर नेटको व्यापक मात्रामा प्रयोग भएको पाइन्छ। अनलाइन(Online) पुस्तक खरिद गर्दा क्रेताले पसलसम्म जान नपर्ने, केवल अनलाइन अर्डर गरेर डेबिट वा क्रेडिट कार्डद्वारा पुस्तकको मूल्य अनलाइन नै भुक्तानी गरेर पुस्तक आफ्नो घरमा नै पाउन सक्ने तथा विक्रेताले पनि पुस्तक बिक्री गर्नका लागि पसल नखोले पनि हुने अर्थात घरमा वा अन्य कुनै स्थानबाट बिक्री गर्न सक्ने हुनाले स्वभाविक रुपमा क्रेतालाई क्रय लागत र बिक्रेतालाई बिक्री लागत कम पर्न जान्छ।
धनी देशहरुमा, खास गरी छिटै नाश हुने बाहेक अन्य टिकाउ किसिमका वस्तुहरु बिक्री गर्नका लागि पसल (Store) हरुले नै पनि इन्टर नेटको प्रयोग गर्दछन्। कतिपय अवस्थाहरुमा त पसलमा पुगेर खरिद गर्दा केही महँगो पर्ने र त्यसको ठिक बिपरित अनलाइन खरिद गर्दा सस्तो पर्ने हुन आउँछ।
अन लाइन बिक्री गर्दा बिक्रेतालाई जति सजिलो र कम खर्चिलो हुन्छ त्यतिकै सजिलो र कम खर्चिलो क्रेतालाई पनि हुन्छ। बिक्रेताले सजिलै गरी आफ्नो वेबसाइट (Website) द्वारा विभिन्न वस्तुहरुको प्रदर्शन गरेर, तिनको मूल्य एवं डिस्काउन्ट लगाएत अन्य किसिमका सुबिधाहरुको घोषण ( एक वर्ष वा तोकिएको अवधि भित्रमा सम्पूर्ण रकम भुक्तान गरेमा ब्याज नलाग्ने, क्रेताको घरसम्म सामान पुर्याउन लाग्ने खर्च बिक्रेताले ने बेहोर्ने आदि आदि) गरेर सामानहरु कम बिक्री लागतमा बिक्री गर्न सक्छ भने क्रेताले पनि विभिन्न पसलहरुको वेभसाइटमा हेरेर आफूलाई चाहिने वस्तुको मूल्य अन्य विभिन्न पसलहरुले देखाएका मूल्यहरु बीच तुलना गरेर, जसले सस्तोमा वा क्रेताले खोजेको मूल्यमा बिक्री गर्ने घोषण गरेको छ त्यस पसलबाट खरिद गर्न सक्छ।
इन्टरनेटले महत्वपूर्ण योगदान पुर्याएको अर्को क्षेत्र हो बैकिङ्ग कारोवार। इन्टरनेटले बैकिङ्ग कारोबारलाई अकल्पनीय किसिमले सजिलो पारिदिएको छ। इन्टरनेटको प्रयोगले गर्दा घरमा नै बसेर रकम बैंकमा जम्मा गर्न वा कसैलाई भुक्तानी गर्न सकिने भएको छ भने नगद आफूसँग बोकेर हिँड्नु नपर्ने भएकोले कारोबार पनि उत्तिकै सुरक्षित र सजिलो हुन पुगेको छ। कतिपय अवस्थामा त  व्यक्तिले नगद देख्न नपाएर नै (उसले कतैबाट भुक्तानी पाउने र उसले विभिन्न ठाउँहरुमा खर्च गर्ने) लेनदेन कार्य सम्पन्न हुन पुग्दछ। उदाहरणका लागि कुनै व्यक्तिले जब आफूले कार्य गरेको संगठनबाट पारिश्रमिक पाउँछ, त्यसरी पारिश्रमिक दिने संगठनले उक्त व्यक्तिलाई दिने रकम उक्त व्यक्तिको बैंक खातामा अनलाइन जम्मा गरिदिन्छ। यसरी आफ्नो खातामा पारिश्रमिक जम्मा भए पछि उक्त व्यक्तिले आफूले भुक्तानी दिनु पर्ने विभिन्न पक्षहरुलाई आफ्नो बैंक खाताबाट अनलाइन भुक्तानी गर्दछ। यस प्रकार अनलाइन लेनदेन कार्य गर्दा एकातिर लेनदेनको अभिलेख सजिलैसँग राख्न सकिन्छ भने अर्कोतिर कारोबार लागत ( Transaction cost) कम हुन पुग्छ।

इन्टरनेटको प्रयोग गरेर आफ्नो घरमा नै बसी वा बैंकमा नपुगेरै पनि आफूसँग रहेको चेक आफ्नो बैंक खातामा जम्मा गर्न सकिन्छ। घरमा नै बसेर इन्टरनेटद्वारा चेक बैंकमा जम्मा गर्दा व्यक्तिले आफूसँग रहेको चेकको डिजिटल फोटो खिच्नु पर्दछ र त्यसरी खिचेको चेकको फोटो आफ्नो बैंकलाई इन्टरनेटद्वारा पठाउनु पर्दछ। स्मार्टफोन (मोबाइल वा सेल फोन) हरुमा फोटो खिच्न क्यामरा, इन्टरनेट, जि पि यस आदि जस्ता सुबिधाहरु उपलब्ध गराइएको हुन्छ। सेल फोनको प्रयोगद्वारा व्यक्तिले आफूसँग रहेको चेकको फोटो आफ्नो खाता भएको बैंकलाई पठाउन सक्छ। बैंकले इन्टरनेटद्वारा चेक प्राप्त गरे पछि जसले त्यसरी चेक पठाएको हो उसको खातामा रकम जम्मा गरिदिन्छ। र त्यसरी चेक पठाउने व्यक्तिले अनलाईन आफ्नो बैंक खाता हेरेर आफूले पठाएको चेकबाट आफ्नो खातामा रकम जम्मा भए नभएको थाहा पाउँछ।
हवाई यात्राका लागि गरिने टिकट खरिद कार्यलाई  इन्टरनेटले त झनै सजिलो पारिदिएको छ। आफूलाई कुन एयरलाइन्सको हवाई टिकट चाहिएको हो त्यो एयरलाइन्सबाट घरमा नै बसेर टिकट खरिद गर्न सकिन्छ र टिकट पनि अनलाइन प्राप्त गर्न सकिन्छ। हवाई टिकटको भुक्तानी पनि डेबिट वा क्रेडिट कार्डद्वारा टिकट बिक्री गर्ने एजेन्ट वा सम्बन्धित एयरलाइन्सलाई  घरबाट नै गर्न सकिन्छ। एयरलाइन्सहरुले यसरी हवाई टिकट अनलाइन बिक्री गर्दा बिक्री लागत कम पार्न सक्छन र हवाई टिकटहरु सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराउन सक्छन। एयरलाइन्सहरुले त्यसरी बिक्री लागत जोगाएको हुनाले क्रेताहरुले सस्तोमा हवाई टिकट खरिद गर्ने औसर प्राप्त गर्छन।
यस प्रकार इन्टरनेटको प्रयोगद्वारा बिक्री लागत कम पारेर क्रेताहरुलाई तुलनात्मक रुपमा सस्तोमा वस्तु वा सेवा उपलब्ध गराउन सकिन्छ।  

विश्वराज अधिकारी