स्थापना भन्दा
संरक्षण कठीन
अधिकांश मुलुकमा
भएको राजनैतिक परिवर्तनको इतिहास हेर्ने हो भने प्रष्ट हुन्छ- जति गार्हो मुलुकबाट
तानाशाही व्यवस्था हटाउन हुन्छ त्यो भन्दा कैयौं गुणा बढी तानाशाही व्यवस्था
समाप्त पारि प्रजातन्त्र स्थापना गर्न गार्यो हुँदो रहेछ। सामान्य अवस्थामा, कुनै
पनि मुलुकमा जनताले एक वा दुई वर्ष संघर्ष गर्दा तानाशाही व्यवस्था समाप्त हुन
सक्छ, त्यस्तो देखिएको छ पनि, तर त्येही मुलुकमा त्यस किसिमबाट स्थापना गरिएको (तानाशाही
व्यवस्था पछिको) प्रजातन्त्रलाई बलियो पार्न दसकौं लाग्दो रहेछ वा लागि रहेको छ। अझै केही मुलुकमा त कस्तो पनि देखिएको छ भने
जनताले प्रजातन्त्र आउने आशमा मुलुकको तानाशाही व्यवस्थालाई समाप्त त पारे तर
प्रजातन्त्र भने पाउन वा स्थापना गर्न सकेनन। उल्टो, प्रजातन्त्र स्थापना गर्न
एउटा तानाशाहलाई त फाले तर अर्को, पूर्वको भन्दा पनि कठोर तानाशाह, मुलुकको शासन
व्यवस्थामा हाबि हुन पुग्यो। कतिपय राष्ट्रहरुमा भने प्रजातन्त्र पछिको स्थितिमा मुलुकको
नै विभाजन समेत हुन पुग्यो। केही राष्ट्रहरु भने गृह युद्धको डरलाग्दो भूमरिमा
पर्न पुगे। तानाशाही व्यवस्था समाप्त भए पनि मुलुकमा अमन चयन स्थापना हुन नसक्नु,
नागरिकहरुको अधिकार र स्वतन्त्रता कुण्ठित हुनु, भ्रष्टाचार चुलिएर जानु जस्ता
उदाहरणहरु विभिन्न राष्ट्रहरुमा देख्न सकिन्छ। इरान, इराक, लिबिया, इजिप्ट लगायत
अन्य केही मुलुकहरुमा त्यहाँ रहेका तानाशाहहरुलाई जनताले पदच्यूत गरेता पनि जनताको
आशा र चाहना अनुरुपको प्रजातन्त्र स्थापना हुन सकेको छैन। पूर्ण प्रजातन्त्रका
लागि त्यहाँको जनता अहिले पनि संघर्षरत छ। यो स्थितिको गंभिरतालाई मनन गरेर नै होला, सिरियामा
भइ रहेको त्यहाँका क्रुर शासक बसार अल-असाद विरुद्धको संघर्षमा, संघर्षरत पक्षलाई
अन्तरार्ष्ट्रिय समुदायले भरपूर सहयोग गर्न हिचकिचाइ रहेको छ। अन्तरार्ष्ट्रिय
समुदायले अल- असाद शासन विरुद्ध संघर्षरत पक्षलाई केवल संघर्ष चालु राख्ने
किसिमबाट सहयोग गरि रहेको छ, अल- असादको तानाशाही समाप्त पार्ने स्तरमा सहयोग गरि
रहेको छैन। सन् २०११ को जनवरीमा अल- असाद शासन विरुद्ध सिरियाका जनताले बिद्रोह आरम्भ
गरेका थिए र यो विद्रोह वा गृह युद्धमा अहिलेसम्ममा २० हजार भन्दा बढी
व्यक्तिहरुको ज्यान गइ सकेको छ। सिरियामा गृह युद्ध आरम्भ भएको लगभग दुइ वर्ष पुगि
सक्दा पनि र यत्रो ठूलो संख्यामा हताहति भएता पनि अन्तरार्ष्ट्रिय समुदायले
संघर्षरत पक्षलाई, अल-असादलाई सत्ता बाहिर पुर्याउने किसिमबाट सहयोग गर्न सकि
रहेको छैन। अन्तरार्ष्ट्रिय समुदाय सिरियामा
अल- असादको युग समाप्त हुना साथ त्यहाँ प्रजातन्त्र स्थापना हुन सक्ला
भन्ने कुरामा निश्चित छैन। अल- असाद पछि यदि अझै ठूलो तानाशाहको उदय भए वा सिरिया
झनै ठूलो रक्तपातको भूमरिमा परे के गर्ने भन्ने अलमलमा परेको छ अहिले
अन्तरार्ष्ट्रिय समुदाय। अन्तरार्ष्ट्रिय समुदायको यो अलमलको स्थितिको फाइदा
उठाउँदै अल-असाद आफ्नो शासन व्यवस्था लम्ब्याउन सफल भएका छन, धेरै जनताले उनलाई
नरुचाउँदा नरुचाउँदै पनि। हुन त चीन र रुसले पनि अल-असादको शासन व्यवस्था टिकाउनमा
केही भूमिका खेलेका छन।
जनताको चेतनको स्तर,
शिक्षा, आर्थिक अवस्था, संस्कृति, परम्परा, विश्वास, रहन सहन आदि जस्ता तत्वहरुले
प्रजातन्त्रको स्थापना एवं अभ्यासमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। जनताको
चेतनाको स्तर कमजोर छ, वहुसंख्यक जनता गरिब छन भने यस्ता कुराको फाइदा उठाएर केही व्यक्तिहरु
जनतालाई झूठो सपना देखाएर, धर्म, जातीयता आदिको कुरा गरेर राष्ट्रमा प्रजातन्त्र
रहेता पनि तानाशाही कायम गर्न सफल हुन पुग्छन र देशको शासन व्यवस्था जहिले पनि
आफ्नो हातमा नै रही रहने अवस्था सृजना गर्न सक्छन। यस्तै स्थिति अहिले नेपालमा पनि
छ। नेपालमा २०४६ सालको राजनैतिक परिवर्तन पछि विभिन्न दलहरुको माध्यमबाट जुन
व्यक्तिहरु राष्ट्रिय राजनीतिमा शक्तिसाली खेलाडीको रुपमा उदाय ती खेलाडीहरु अहिले
पनि उत्तिकै शक्तिसाली छन, केही त झनै शक्तिसाली भएर स्थापित भएका छन। यी
खेलाडीहरुले आफू रहेको दललाई कमजोर पारे, एउटा दलबाट अर्को दलमा प्रवेश गरे, नया
दलको स्थापना गरे, तर जे जत क्रियाकलापहरु गरे ती सबै आफू शक्तिसाली रहि रहनका
खातिर गरे। जबकी राजनीतिका यी खेलाडीहरुले देशमा नव स्थापित प्रजातन्त्रलाई बलियो
तुल्याउन जनउपयोगी कार्यहरु गरेर दललाई बलियो तुल्याउनु पर्ने हो। प्रजातन्त्रलाई
बलियो पार्दै राष्ट्रलाई बलियो पार्नु पर्ने हो।
नेपालमा, जनताको
चेतनाको स्तर, शिक्षाको स्थिति आदिले गर्दा नै त्यस किसिमका नेताहरु राजनीतिमा सफल
हुन पुगेका छन, जहिले पनि, जुन सुकै दलको सरकार आए पनि आफू शक्तिसाली रहि रहन
सक्षम भएका छन, जनताका लागि, देशका लागि ठोस सकारात्मक कार्यहरु नगरे तापनि।
हाम्रो समाज, अज्ञानता र अशिक्षाले गर्दा सक्तिको पूजारी हुन पुगेको छ। परिवारको
कुनै सदस्य मंत्री हुने वित्तिकै आफ्नै परिवारका अन्य सदस्यहरुले उक्त व्यक्तिको
नाम भन्न छाडेर मंत्री ज्यू भनेर सम्बोधन गर्न थाल्छन। साथीहरुले हात मिलाउन छाडेर
झुकेर नमस्कार गर्न शुरु गर्छन, मंत्री साथीबाट कुनै काम मिलाउँला भन्ने दाउमा।
समाजमा उसको पछि पछि हिंड्ने मान्छेहरुको ताँती नै लाग्न पुग्छ। जबकी मंत्रीको
पछाडि त्यसरी लाग्नुको कुनै ओचित्य नै छैन। मंत्री सामान्य जनताको पछि पछि हिंड्नु
पर्ने हो किनभने मंत्री भनेको जनताको सेवक हो र जनताको सेवा गर्नका लागि ऊ उच्च
प्रशासकीय पदमा पुगेको हो। भनसुनको आधारमा कुनै काम गराउनु नै पर्दैन, कुनै मंत्री
वा उच्च प्रशासकीय पदमा पुगेको व्यक्तिबाट, उसको पछि पछि लागेर, किनभने राज्यको
कानून अनुसार कुनै पनि प्रशासकीय काम कराउन पाउने अधिकार प्रत्येक नागरिकसँग
सुरक्षित हुन्छ। र त्यस किसिमका कार्यहरु गर्नका लागि नै राज्यले मंत्री वा
प्रशासकहरुको नियुक्ति गरेको हुन्छ। तर
सामान्य जनताले यो कुरा बुझेका हुँदैनन् र उच्च प्रशासकीय पदमा पुगेका व्यक्तिहरु
समक्ष भनसुनका लागि पुग्छन। यो स्थितिको फाइदा उठाएर नेता वा उच्च प्रशासकीय पदमा
पगेका व्यक्तिहरु पनि नियम कानूनको परिधि भित्र रहेर काम गर्नुको साटो आफ्नो पद र
शक्तिको प्रभाव प्रयोग गरेर जनतालाई प्रभावित गर्ने कार्यमा व्यस्त हुन्छन। यसरी
नेपाली समाज अज्ञान र अशिक्षाको कारणले गर्दा न्याय भन्दा शक्तिको पूजारी हुन
पुगेको छ र यो कारणले गर्दा पनि नव स्थापित प्रजातन्त्र बलियो हुन सकिरहेको छैन।
प्रजातन्त्रको प्रतिफल सामान्य जनता समक्ष पुग्न कठिन भइ रहेको छ। प्रजातन्त्रको फाइदा केवल केही नेताहरुको हातमा
सीमित हुन पुगेको छ। र यसले गर्दा सामान्य जनतामा प्रजातन्त्रप्रति वितृष्णा समेत
उत्पन्न भएको छ।
परम्परागत धारणा
अनुसार तानाशाही भनेको केवल एक व्यक्तिको हातमा राज्यको सम्पूर्ण शासन व्यवस्था
सीमित हुनु हो। राज्यको न्याय र कानूनमा पनि सोही तानाशाहको नियन्त्रण कायम हुनु
हो। राज्य व्यवस्था उसको स्वेच्छारितामा चल्नु हो। तर नया मान्यता अनुसार केही
व्यक्तिहरु मिलेर पनि तानाशाही कायम गर्न सक्छन र प्रजातन्त्र भित्र पनि तानाशाही चलाउन
सक्छन। स्वेच्छाचारी हुन सक्छन।
रुप परिवर्तित नव तानाशाहहरुले
मुलुममा स्थापित प्रजातन्त्रको केवल उपयोग मात्र गर्छन, जनतालाई झुक्याएर,
लोभ्याएर, तर्साएर आफूहरु शक्तिमा रहि
रहने अनेक प्रपंच रच्छन तर जनताका लागि भने कार्य गर्दैनन्। नेपालमा अहिले ठीक
यस्तै स्थिति छ। नेपालमा अहिले चार या पाँच राजनैतिक दल वा केही नेताहरुको
तानाशाही कायम छ। मुलुकको शासन व्यवस्था उनीहरुको नियन्त्रमा छ। उनीहरुको
तानाशाहीले गर्दा मुलुकमा न त संविधान निर्माण हुन सकिरहेको छ, न त गाउँ, जिल्ला
एवं केन्द्रमा नया जन प्रतिनीधिहरुका लागि निर्वाचन नै हुन सकिरहेको छ। यी नव
तानाशाहहरुले गर्दा मुलुकोको शासन व्यवस्था न त प्रभावकारी नै हुन सकेको छ, बरु
उल्टो भ्रष्टाचार र अपराध बढेर गएको छ। तैपनि यी नव तानाशाहहरुले सहमति र
सहकार्यको नाममा केवल जनतालाई ठग्ने कार्य गरि रहेका छन, र कुर्सी माथिको आफ्नो
पकड बलियो मात्र पारि रहेका छन। नेपालमा नव स्थापित प्रजातन्त्रका लागि यदि खतरा छ
भने यी नव तानाशाहबाट नै छ, यी तथाकथित प्रजातान्त्रिक नेताहरुबाट नै छ। विदेशी
तत्व, सेना, दरबार आदिबाट नेपालको प्रजातन्त्र माथि कुनै खतरा देखिंदैन वर्तमान
परिप्रेक्ष्यमा। खतरा छ भने जसरी पनि सत्तामा रहि रहने नेताहरुको सत्ता लोलुप प्रवृतिबाट।
नेपालमा
प्रजातन्त्रलाई बलियो पार्ने हो भने वर्तमानका यी नेताहरुले सत्ता लिप्सा त्याग्न
आवस्यक छ। पुष्पकमल दहाल, बाबुराम भट्टराई, सुशिल कोइराला, शेरबहादुर देउबा,
रामचन्द्र पौडेल, माधव नेपाल, झलनाथ खनाल, के पी ओली, महन्त ठाकुर, हृदेश
त्रिपाठी, विजय कुमार गछ्दार, उपेन्द्र यादव, सूर्य बहादुर थापा, कमल थापा, पशुपति
सम्शेर ज ब रा, प्रकाशचन्द्र लोहनी लगायत यो पीढीका अन्य धेरै नेताहरुले
राजनीतिबाट सन्यास लिनु पर्यो नेपालमा प्रजातन्त्रलाई बलियो पार्ने हो भने।
तपाँईहरुले अनवरत रुपमा दुइ दशक भन्दा बढी राजनीति गरि सक्नु भयो, शक्तिको स्वाद धेरै
लिई सक्नु भयो। तर तपाँईहरुले न त संविधान नै दिन सक्नु भयो न त मुलुकलाई स्थिरता
नै। आर्थिक विकासको गति त झनै सुस्त भएर गयो। रोजगारीका लागि नेपालीहरु बाध्य भएर भास्सिनु
पर्यो विदेशमा, त्यो पनि लाखौको संख्यामा। पुराना नेताज्यूहरु! नया पीढीका
नेताहरुलाई पालो दिनु होस नया नेपाल निर्माण गर्नका लागि। आर्थिक समृद्धिका लागि।
नया पीढीका नेताहरुमा तपाँईहरुमा जस्तो एउटाको खुट्टा अर्कोले तान्ने प्रवृति
हुँदैन होला। अनि सँधै कुर्सीमा बस्न मारकाट पनि गर्ने छैनन् होला। र मिलेर बस्न
सक्छन पनि। सबै भन्दा ठूलो कुरा त नया पीढीका नेताहरु, चाहे जुन सुकै दलका हुन, उनीहरुको
नेतृत्व क्षमताको परख पनि त गर्न पाउनु पर्यो नेपाली जनताले। नेपालको आर्थिक विकासका लागि तपाँईहरुले त्याग
नै गर्नु पर्यो। र त्याग गर्ने उचित बेला आएको छ पनि। बरु समाज सेवा गर्न आउनु
होस, अनुराधा कोइराला, दिलशोभा श्रेष्ठ, पुष्पा बस्नेत जस्तो। समाज सेवा गर्नका
लागि कुनै पद नै अगोट्नु पर्दैन।
सामान्य जनताले पनि
नेताहरुलाई देश विकासको बाटोमा हिंड्न दबाब दिनु पर्यो आफ्नो क्षणिक फाइदालाई
बिर्सेर भए पनि। प्रजातन्त्र जोगाउन समयमै सचेत हुनु पर्यो। मनन गर्नु पर्यो,
प्रजातन्त्र स्थापना भन्दा जोगाउन गार्हो हँदो रहेछ भन्ने कटु यथार्थ।
विश्वराज अधिकारी
Published in prateekdaily on Friday, November 30, 2012
Published in prateekdaily on Friday, November 30, 2012