Friday, September 28, 2012

Pressure For Airport Construction And Its Positive Impact-Article-61


विमानस्थल निर्माणका लागि दबाब र त्यसको सकारात्मक प्रभाव

२०४६/४७ सालको राजनैतिक परिवर्तन पछिको स्थितिको मूल्यांकन गर्ने हो भने नेपालमा बन्द हडताल खास गरि केवल कुनै राजनैतिक दल वा त्यस दलका नेताहरुको फाइदाका लागि मात्र भएको पाइन्छ। बन्द हडतालका कारणहरु पर्दा अगाडि जे देखाइए पनि पर्दा पछाडि भने राजनैतिक र नितान्त रुपमा व्यक्तिगत वा दलगत लाभका लागि हुने गरेको यथार्थमा कसैलाई कुनै किसिमको भ्रम नहुनु पर्ने हो। सामान्य नागगरिकलाई समेत पनि, प्रत्यक्ष वा अप्रत्यक्ष किसिमले आर्थिक फाइदा हुने किसिमको कार्यको लागि वा आर्थिक उद्देश्यले बन्द हडताल भएको ज्यादै नै कम देख्न पाइन्छ। अहिले, यो लेख तयार पार्दासम्ममा, पोखरेलीहरुले आफ्नो शहरमा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल निर्णय लिन सरकारलाई दबाब दिने उद्देश्यले गरेका बन्दलाई सर्व साधारणको हित र मुख्य गरी आर्थिक हितका लागि गरिएको बन्द हडतालको रुपमा लिन सकिन्छ। हुन त बन्द वा हडताल कुनै पनि उदेश्यका लागि गरिएता पनि त्यसबाट बिपन्न जनता नै बढी प्रभावित हुने वा उनीहरुले नै आर्थिक क्षति बढी बेहोर्नु पर्ने भएकोले यस किसिमका कार्यहरुलाई आजको यो आर्थिक जागरणको युगमा राम्रो मान्न सकिंदैन। तर पोखरेलीहरुले गरेको त्यो आन्दोलनले जुन शन्देश दिएको छ त्यो आर्थिक र सार्वजनिक महत्वको देखिएकोले त्यस बारे केही चर्चा यो लेख मार्फत गर्न खोजिएको हो। यदि त्यो आन्दोलनको सरोकार कुनै राजनैतिक उद्देश्य वा कुनै खास वर्ग वा राजनैतिक दलको फाइदा सँग रहेको छ भने यो लेखको चाँसो त्यस तर्फ नरहेको प्रष्ट पार्न चाहन्छु।
राज्य शक्ति विकेन्द्रित नगरेर राष्ट्रको आर्थिक विकास हुन सक्तैन। अबको समयमा कुनै पनि क्षेत्रको विकासका लागि योजना केन्द्रले बनाउने होइन, त्यसै क्षेत्रका सम्बन्धित व्यक्तिहरुले बनाउने हो। कुनै पनि क्षेत्रको विकासका लगि पहल त्यसै क्षेत्रका बासिन्दाहरुले गर्नु पर्दछ। आफ्नो क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाहरु उठ्नु पर्दछ, लाग्नु पर्दछ। सके जति ज्ञान, सिप र आर्थिक स्रोतको खोजि एवं व्यवस्थापन पनि स्थानीयहरुले नै गर्नु पर्दछ। स्थानीय विकासका लागि केन्द्रको मुख ताक्ने हो भने नेपाली गाउँ र शहरको विकासको गति कछुवा चाल भन्दा बढी हुन सक्तैन। आफ्नो क्षेत्रको विकासका लागि तिमी यो दलको म त्यो दलको भन्ने भावना बिर्सेर अनेक किसिमका राजनैतिक पृष्ठभूमिको बाबजुत पनि सहकार्यमा लाग्नु पर्दछ। नेताहरुको पछि लागि, विभाजित मनस्थितिमा रही,  आफ्नो क्षेत्रको विकास तर्फ ध्यान नदिने हो भने राष्ट्रिय गरिबी झन झन बढ्दै जानेछ। शान्तिपूर्ण आन्दोलनद्वारा आफ्ना मागहरु प्रभावकारी किसिमबाट राख्न सकिन्छ, बल वा हिंसा प्रयोग गर्नु प्रतिउत्पादक हुंदो रहेछ। त्यस्तै किसिमका शन्देशहरु पोखरेलीहरुले गरेको यो शान्तीपुर्ण, दबाब मूलक आन्दोलनले दिन खोजेको देखिएको छ, आन्दोलनको स्वरुप पछिसम्म पनि यस्तै शान्तिपूर्ण रहि रह्यो भने। पोखरेलीहरुले आफ्नो माग पूरा गर्न धर्ना, प्रदर्शन, बन्द, अनसन आदि जस्ता दबाब मूलक कार्य गर्दै आइ रहेका छन। दबाब मूलक कार्यहरु चैत्र २०६८ देखि नै शुरु भएको हो। 
हुन पनि पोखरामा अन्तरार्ष्ट्रिय विमानस्थलको निर्माण भएमा निश्चय पनि त्यस क्षेत्रको आर्थिक विकासमा तिब्रता आउने छ। शहरको आम्दानी बढ्ने छ। रोजगारीका थप औसरहरु सृजना हुने छन। रिक्साचालक, टेक्सीचालक, होटल, रेष्टुरेन्ट एवं लज संचालक मात्र होइन अन्य पेशा व्यवसायका व्यक्तिहरुको आयमा समेत वृद्धि हुने छ। अन्तरार्ष्ट्रिय विमानस्थलको निर्माणले गर्दा अवश्य पनि राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय पर्यटकहरुको ओहर दोहर पोखरामा बढ्न गइ त्यसको सकारत्मक असर स्थानीय व्यापारमा पर्नेछ। पोखरा मात्र होइन, वर पर गाउँहरु सम्म पनि आर्थिक विकासका नया नया औसरहरु देखा पर्ने छन। अहिलेको यो ब्यापारिक युगमा यातायातले अति नै ठूलो आर्थिक महत्व राख्दछ, यो सबैले थाहा पाएको तथ्य हो।  
समाचारहरुमा उल्लेख भए अनुसार पोखरामा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि रकमको अभाव रहेकोले नेपाल सरकारले चिनिया सरकार सँग आर्थिक सहयोग माग गरि रहेको छ। नेपाल सरकारले चीनको कुनै बैंकबाट सफ्ट लोन लिने प्रयास गरि रहेको छ। ऋण लिने सम्बन्धमा नै अर्थ मन्त्री नेतृत्वको एक टोली चीन जाने योजना रहेको पनि उल्लेख छ। तर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रकमको व्यवस्था स्वदेशमै पनि गर्न सकिन्छ, यदि केही गर्ने आँटका साथ अगाडि बढ्ने हो भने। राजनैतिक मत मतान्तरलाई बिर्सिने हो भने। स्वदेशी स्रोतको प्रयोग सजिलै गर्न सकिन्छ र यस्तो गर्ने हो भने विदेशी स्रोतको भर पर्नु दर्दैन पनि।
पोखरामा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि एउटा ट्रस्टको स्थापना गरेर, उक्त ट्रस्टको नाममा पोखरा नगरपालिकले ऋण पत्र निस्कासन गर्न सक्छ।  नगरपालिकाले ऋण पत्रको बिक्रीबाट पाप्त भएको रकम विमानस्थल निर्माणमा लगानी गर्न सक्छ। सरकारको जमानीमा नगरपालिकले जारी गर्ने त्यस किसिमको ऋण पत्र सामान्य जनताले खरिद गर्न उत्सुकता देखाउने छन। आफ्नो त्यस किसिमको लगानी पछि कुनै किसिमबाट नडुब्ने हुनाले जनताले लगानी गर्न तत्पर हुनु स्वभाविक हो पनि। चलन चल्तिको ब्याज ऋण पत्र खरिदकर्तालाई दिने हो भने उनीहरु ऋणपत्र खरिद गर्न अझै प्रोत्साहित हुन्छन।  
विमानस्थल निर्माणका लागि आवश्यक पर्ने कोषको व्यवस्था गर्ने अर्को वैकल्पिक उपाय हो सो निर्माण कार्यमा स्वदेशी निजी क्षेत्रलाई सहभागी गराउनु। विकसित मुलुकहरुमा जसरी सडक निर्माणमा निजी वा सार्वजनिक क्षेत्रहरुलाई सहभागी गराइएको हुन्छ त्यसरी नै सहभागी गराउन सकिन्छ। विकसित मुलुकहरुमा निजी वा सार्वजनिक क्षेत्रको लगानीमा सडकहरु निर्माण गरिएको हुन्छ र त्यस किसिमको सडकलाई टल रोड (toll road), टलवे (tollway), टर्नपाइक (turnpike), टल हाइवे (toll highway), एक्सप्रेस टल राउट (express toll route) आदि भन्ने गरिन्छ। टल रोड प्रयोगकर्ताले जति पटक रोड प्रयोग गर्छ उत्तकै पटक टल रोड संचालकलाई शुल्क भुक्तान गर्छ। यस्तो सडकमा सबारीको भीड कम हुने र गन्तव्यमा छिटै पुगिने हुनाले सबारी प्रयोगकर्ताहरुले टल रोडको निकै प्रयोग गर्छन।
पोखरा विमानस्थल निर्माणका लागि स्वदेशी निजी क्षेत्रलाई सहभागी गराउने हो भने कोषको व्यवस्था सजिलैसँग गर्न सकिन्छ। एउट सम्झौता गरेर सरकारले निजी क्षेत्रलाई ५० वा ६० वर्षका लागि संचालन गर्न दिने हो भने निजी क्षेत्र विमानस्थल निर्माणका लागि तयार हुन सक्छ। सरकारले सुरक्षा र प्रशासनिक कार्यको जिम्मा लिएर संचालन सम्बन्धीत अन्य कार्यहरुको जिम्मेबारी निजी क्षेत्रलाई दिन सक्छ। यस्तो गर्ने हो भने विदेशी ऋणको मुख ताक्नु पर्दैन र स्वदेशी स्रोत एवं साधनहरुको परिचालन पनि पुग्छ। तर सरकारले, निजी क्षेत्रलाई कुनै पनि किसिमको झंझट नदिने र भविष्यमा जुन सुकै दलको सरकार बने पनि विमानस्थल निर्माण र संचालनका लागि गरिएको दुई पक्षीय सम्झौतामा फरक नपर्ने भनि आस्वस्थ गराउन आवश्यक छ।  
नेपालमा कुनै पनि सार्वजनिक कार्यमा राजनैतिक हस्तक्षेप हुनु नौलो कुरा होइन। पोखरेलीहरुले अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि संचालन गरेको यो दबाब मूलक कार्यक्रम कुनै राजनैतिक दलको स्वार्थ प्रवेश गर्ने हो भने निर्माण कार्यमा समस्या आउन सक्छ। यसै गरि, निर्माण कार्य शुरु भए पनि, कमिसनका खेलहरु शुरु भएमा, निर्माण कार्य अवरुद्ध हुन सक्छ। त्यसकारण यो निर्माण कार्यलाई राजनैतिक प्रभावबाट मुक्त राख्न आवश्यक छ। यसै गरी, यसको निर्माण एवं संचालन इमान्दार, निश्पक्ष र स्वतन्त्र समूहबाट हुन पनि उत्तिकै आवश्यक छ, तर प्रचलित कानून भित्र रहेर।
अन्त्यमा, विमानस्थल निर्माणका लागि जनस्तरबाट दिइएको दबाबले दुईबटा महत्वपूर्ण सन्देशहरु नेपाली जनतामा प्रवाहित भएका छन्। पहिलो, आफ्नो स्थानको विकासमा, दलीय मतभेत त्यागेर, स्थानीय जनता नै अग्रसर हुनु पर्दछ। दोस्रो, नेताहरुलाई सत्ता र शक्तिमा पुर्याउन नेपाली जनताले धेरै रगत र पसिना बगाए, अब भने आ-आफ्नो क्षेत्रको विकास गर्दै समग्र मुलुको आर्थिक विकास गर्न त्यो रगत र पसिना बगाउनु पर्ने भएको छ। 

विश्वराज अधिकारी

Published in prateekdaily on Friday, September 28, 2012

Wednesday, September 26, 2012

The Terrible Election!-Story-27


धन्य! चुनावमा उठिन्    
                                             
छर छिमेकमा घुम्दा, शहरको चोकतिर जाँदा, साथीहरुले भन्न थाले- दिवाकर, उठ, यो पटकको चुनावमा। तिमी अवश्य पनि विजयी हुने छौ। पढे लेखेको मान्छे, भद्र भलादमी अनि, इमान्दार पनि उत्तिकै। जागिरे जिवनमा तिमीले एक रूपैयाँसम्म पनि कहिले घुस खाएको प्रमाण छैन।  सारा जागिरे जिवन अभाव र कष्टमा बितायौ। भन्सारमा दसौं वर्षसम्म काम गर्दा पनि एक पैसा घुस खाएनौ।  सारा जनताको मुखमा छ तिम्रो इमानदारीको कथा। चिया पसलमा गयो, सभा समारोहहरुमा गयो, विवाह उत्सव आदि आदिमा, मान्छेले कुरा गर्ने विषय नै हुन्छ तिम्रो व्यक्तित्व, निष्कलंक छवि। चर्चा गरिने विभिन्न विषयहरु मध्ये तिम्रो व्यक्तित्व पनि एक हुन पुगेको छ, आज भोलि, दिवाकर।
तर मलाई आफू चुनावमा बिजयी हुने भन्नेमा पटक्कै विश्वास लागेको थिएन। मलाई त्यसरी नउचाल भनेर केहीलाई हप्काएँ पनि। मेरो बारेमा मानिसले गरिने गफहरुलाई हावाको रुपमा लिएँ, अर्थहीन ठाने।
चुनावमा खडा हुन मानिसले मलाई दवाब दिने क्रम रोकिएन। मलाई पढाउने, उमेरले ज्यादै पाको, गुरु सम्मले पनि भन्नु भयो ‘दिवाकर,  अहिले राजनीति, सत्ता, शक्ति र धन हात पार्ने व्यापारमा रुपान्तरित भएको बेला, राजनीति र नेताहरुको व्यवहार गन्हाँउने नाली भएको अवस्थामा, यसलाई सफा पार्न तिमी जस्ता इमान्दार र स्वच्छ छवि भएकाहरु राजनीतिमा आउन नितान्त आवश्यक छ, र आउनु पर्दछ पनि। राजनीतिलाई सहि दिशामा हिँडाउन तिमी जस्ता इमान्दार व्यक्तिहरुको खाँचो छ। अहिलेको यो डरलाग्दो समय, गणतन्त्र होइन, गुटतन्त्र र लुटतन्त्र हो।’
राजनीतिमा आउन, चुनाब लड्न धेरै जनाले दबाब दिन थाले पछि मलाई पनि आफ्नो व्यक्तित्वको विश्लेषण गर्न मन लाग्यो। मैले आफूसँग प्रश्न गरे- एउटा नेतामा हुनु पर्ने कुन गुण, विशेषता छैन र म मा? पढे लेखेको छु। समाजशास्त्रमा पि यच डि सम्म गरेको छु। एक बौद्धिक व्यक्तित्वको रुपमा समाजमा स्थापित छु। लोकप्रिय पनि उत्तिकै छु जन समुदायमा।
जनताको दबाबले मेरो मन बिस्तारै चुनावमा उठ्ने पट्टि ढल्किन थाल्यो। मनमा चलेको केही हप्ताको अन्तरद्वन्द पछि चुनावमा उठ्ने निधो गरे मैले। तर कुन राजनैतिक दलमा लाग्ने भन्ने कुराको टुङ्गो लगाउन भने सकिन, तत्काल।
केहीले यो दलमा लाग्नुस भने। कहिले त्यो दलमा। तर धेरैले, कुनै पनि दलमा नलागेर एउटा छुट्टै दलको स्थापना गर्नुस, त्यो दलको अध्यक्ष हुनुस भन्ने सल्लाह दिए। आफूले पनि सोंचे- कुनै राजनैतिक दलको सदस्य हुने हो भने त्यो दलले मलाई चुनावमा उठ्न अवश्य पनि टिकट दिँदैन। कुनै पनि राजनैतिक दल भित्र, त्यसका कार्यकर्ताहरुले चुनाबमा उठ्न, टिकट पाउन, महाभारतको युद्ध झै युद्ध गर्नु पर्छ, यो लुट तन्त्र, गुट तन्त्रको जमानामा। अनेक किसिमका जालझेल गर्नु पर्दछ। दाउपेंच खेल्नु पर्दछ।  राजनैतिक दलका टाउकेहरुले आफ्ना अघि पछि गर्नेहरुलाई नदिएर मलाई के दिन्छन, टिकट। त्यसैले आफ्नो एक छुट्टै राजनैतिक दल दर्ता गराएँ। दलको नाम ‘समाजवादी इमान्दार सर्वपक्षीय दल’ राखे।
मैले राजनैतिक दल स्थापना र दर्ता गराएको खबर जिल्ला भरि, चारैतिर फैलियो। सबैले त्यसमा चाँसो देखाए। र खुसी पनि व्यक्त गरे। त्यस्तो मैले अनुभव गरे। मैले दलको नाम दर्ता गराएको खबर आगो झै फैलियो मेरो चुनाव क्षेत्रमा त। मैले अनुमान पनि गर्न सकेको थिन म यति लोकप्रिय हुन सकौला भनेर। मेरा सुभेच्छुहरुले भने अनुसार म मेरो चुनाव क्षेत्रमा मात्र होइन राष्ट्रियस्तर मै चर्चाको विषय बनेको रहेछु। अहिलेका स्वार्थी नेता र दिशाहीन राजनीतिबाट थाकेको जनताको ठूलो जमात नै रहेछ मेरो पछाडि।
मलाई मेरो लोकप्रियताले निकै हौसला प्रदान गर्यो। चुनाव आउनु दुई महिना थियो, ठाँउ, ठाउँमा भाषण दिन आरम्भ गरे। मैले भाषण गर्न थाले पछि मौरी जस्तो हुल बाँधेर मान्छेहरु सुन्न आउन थाले। देशमा व्याप्त रहेको जातीय मनोमालिन्य, आपसी शंका उपसंका, कलहको कुरा गर्दा श्रोताहरु ज्यादै गंभिर हुन्थ्ये। भविष्यमा निस्वार्थ, कसैको पनि पक्ष नलिएर, इमान्दारीपूर्वक आफ्नो चुनाव क्षेत्र मात्र होइन, सम्पूर्ण राष्ट्रको नै मैले कसरी विकास गर्ने छु भन्दा सुन्नेहरुको आँखामा खुसी र मुहारमा मुस्कान झल्किन्थ्यो। वर्तमानका नेता र तिनका दलहरुको कुकृर्तको बारेमा मैले लामो लामो भाषण गर्दा त तालीको गडगडाहट नै हुन्थ्यो।
मेरा भाषणहरु पनि ज्यादै लोकप्रिय हुन थाले। धेरै ठाउँहरुबाट आमन्त्रण आउन थाल्यो भाषण गर्न। मेरो भाषण जनताले ढुंगा जस्तो स्थिर भएर सुन्न थाले। मेरो आम सभालाई कतैबाट कसैले बिथोल्ने प्रयास गर्नु असम्भ मात्र भएन बरु उल्टो अरु उम्मेदबारका आम सभाहरु खाली हुन थाले, वहुसंख्यक जनता मेरो भाषण सुन्न आउन थालेकोले।
जनताको समर्थनको बाढी केवल मेरा सभाहरुमा मात्र उर्लेर बग्न थालेको स्थितिले मलाई ज्यादै उत्साही तुल्यायो। आशा र विश्वास दुबै जागेर आयो। मैले कल्पना समेत पनि गर्न थाले, म मन्त्री, प्रधान मन्त्री भए पछि मैले कस्ता कस्ता काम गर्ने, जुन देश र जनताको पक्षमा होस। मेरो व्यक्तिगत स्वार्थ भन्दा धेरै टाढा होस।
मैले, मेरा चुनावी भाषणहरुमा भन्न थाले- म विजयी भएर, यदि मन्त्री भएमा, सरकारी निवासमा बस्दिन, अति साधारण आवासमा बस्छु। आम नेपालीले थेग्न सक्ने सवारीको साधन, साइकल प्रयोग गर्छु। पदमा बसरे  विदेश कहिले पनि जान्न, राष्ट्रले धेरै पैसा खर्च गर्नु पर्ने स्थिति उत्पन्न हुन दिन्न। दाजु, भाइ, दिदी, बहिनी, आफन्त वा कार्यकर्ता कसैले लाई पनि मेरो पदको प्रभाव प्रयोग गरेर जागिर लगाउँ दिन। पदबाट हटे पछि न त कुनै भौतिक न त कुनै आर्थिक, कुनै पनि किसिमको सुबिधा लिने छैन। परम्परादेखिको संस्कार, जुन वहुसंख्यक जनताले मान्दै आएका छन, हरुको अपहेलना गर्ने वा तिनलाई भत्काउने काम गर्दिन। सबै जात जाति, भाषा भाषीलाई एक जुट पार्ने, मिलाएर लाने काम गर्ने छु। जातीय कलह, क्षेत्रीय मनोमालिन्य हुने कुनै पनि किसिमको प्रचार गरेर हिँडदिन। आफ्नो स्वार्थका लागि दल फोड्ने, जोड्ने र जनतालाई भड्काउने काम गर्दिन। मासिक तलब, जुन श्रेणी विहीन कर्मचारीले पाउँछ, अर्थात ज्यादै कम लिन्छु। 
मेरो यस्ता विचारहरु सुनेर भाषण सुन्न आउनेहरु हर्षले गद्गद हुन थाले। धेरैले, नेता भनेको यस्तो पो हुनु, भनेको मैले आफ्नै कानले सुने पनि।
म चुनावमा विजयी हुनेमा ढुक्क भए। देश र जनताको सेवा गर्ने मेरो उद्देश्य पुरा हुन थालेको देखेर हर्षले विभोर भएँ, पनि।
चुनावको दिन आयो पनि। विहानैदेखि मत दाताहरु पुग्न थाले, मतदान केन्द्रहरुमा। मत दिएर आउने केहीले यस्तो पनि भने - दिवाकर दाइ ढुक्क हुनु होस, तपाँईको विजय सुनिश्चित छ, तपाँई सांसद हुनु भयो। तपाँई जस्तो योग्य र इमान्दार उम्मेदबारले नजिते अरु कसले जित्ने?
मतदान सम्पन्न भएको केही घण्टा पछि नै मत गणना शुरु भयो। म आफू विजयी हुने कुरामा ढुक्क भएकोले जोसुकैलाई प्रतिनिधि राखे पनि मेरो मंजुरी हुने भने, सरोकारबालाहरुलाई।
चुनावको परिणाम आयो। परिणाम सुनेर म छक्क परे। आकाशबाट खसे जस्तो भएँ। जनतालाई, देशलाई सताउने तिनै नेताहरु भारी मतले विजयी भए। मैले केवल पाँच मत पाएको रहेछु। ती मत कस कसको होला भन्ने अनुमान गर्न मलाई कठिन भएन। एउटा मत मेरो आफ्नै, एउटा मत मेरी श्रीमतीको र बाँकी तिन ओटा मत मेरै तिनवटी छोरीहरुको हुनु पर्छ भनी अनुमान लगाउन मलाई गार्हो भएन।
चुनाव परिणामले मलाई निकै दिक्कदार बनायो। बौलाउन मात्र सकिन। आफ्नो टाउकोमा आफैले हिर्काउन थाले। मेरो छेउमा सुति रहेकी मेरी पत्नी, मालतीले, मेरो हात समातेर के गरेको यस्तो भने पछि म झसँग भए।  सपना पो देखेको रहेछु। सपना हेर्न बन्द भइ सकेको थियो तर निद्रा भने पुरै टुटेको थिएन। अर्ध निद्रा मै मेरो मुखबाट निस्कयो – धन्य! चुनावमा उठिन, जनताले त मूर्ख पो बनाउने रहेछन, मलाई।
त्यो मध्य रातमा पनि, छोटकारीमा, त्यो सपना बारे मालतीलाई भने। मालतीले हाँस्दै भनिन् ‘चुनावमा उठ्ने इच्छा मनको, कतै, कुनै कुनामा छ भने फालि हाल्नुस। यो जमानामा तपाँई जस्तो इमान्दार मान्छेले चुनावमा जित्ने कुनै सम्भावना नै छैन। चुनाबमा उठ्नु भयो भने, सपनामा देखे झै, मूर्ख मात्र बन्नु हुनेछ। उल्लू बनाउने छन, मतदाताहरुले, तपाँईलाई। यो गणतन्त्रको जमानामा, यो नया नेपालको जमानामा।

 विश्वराज अधिकारी

Friday, September 21, 2012

Learn From Somalia-Article-60


सिकौं सोमालियाबाट

मौजुदा स्थितिमा नेपालमा अहिले कुनै त्यस्तो किसिमको ठूलो राजनैतिक समस्या छैन, एक किसिमले हेर्ने हो भने। माओबादीले संचालन गरेको रक्तपातपूर्ण संघर्षले पनि बिराम लिएको छ। रक्तपातपूर्ण आन्दोलनले न त कुनै पनि किसिमको समस्याको प्रभावकारी समाधान दिन सक्छ न त र देशमा सकारात्मक किसिमको राजनैतिक परिवर्तन नै ल्याउन सक्छ। बरु त्यस्तो संघर्षले गर्दा मुलुक अनावश्यक किसिमको द्वन्दमा तानिन्छ। समाजमा चिरकालसम्म रहि रहने आपसी वैमनष्यता मात्र फैलिन्छ। देशका भौतिक संरचनाहरु मात्र तहस नहस हुँदैन, सामाजिक संरचनाहरु पनि नराम्रो गरि भत्किन्छ, पूर्व अवस्थामा ल्याउन नसकिने गरी। यो यथार्थलाई बुझेर नै माओबादीहरुले हतियार बिसाएका हुन, निकै ढिलो गरी नै भए पनि।
छिमेकको कुरा गर्ने हो भने, नेपालका छिमेकी मुलुकहरु- चीन र भारत पनि शान्त छन। न त चीनमा नै कुनै किसिमको डर लाग्दो युद्ध मच्चिएको छ, न त भारतमा नै। छिमेकी मुलुकहरुमा अशान्ति मच्चिएर, छिमेकीहरुको युद्धमा नेपाल तानिनु परेको छैन। अथवा ती देशहरुमा कुनै किसिमको कलह मच्चिएर, ती देशहरुबाट आउने सरणार्थीहरुको ठूलो घुइँचोलाई भरण पोषण गर्नु परेको छ, सिरियाबाट आएका सरणार्थीहरुलाई टर्कीले आश्रय दिनु परे झै। नेपालसँग सीमा जोडिएका दुई छिमेकीहरु शान्त छन र त्यति मात्र होइन उनीहरुले अभूतपूर्व किसिमले आर्थिक प्रगति गरि रहेका छन पनि।
नेपालमा आर्थिक विकासका लागि यस्तो अति नै अनुकूल वातावरण भएता पनि मुलुकले आर्थिक विकास गर्न सकि रहेको छैन। यस्तो किन भएको हो यस बारे चर्चा परिचर्चा हुन आवस्यक छ।
अहिले पनि लाखौ लाख नेपाली युवा युवतीहरु  रोजगारीका लागि विदेशी भूमिमा पुगेर ती मध्ये धेरैले दर्दनाक जिवन बाँच्न विवश हुनु पेरको छ। देशमा व्यापक मात्रामा रोजगारी सृजना हुन सकि रहेको छैन। के कारणहरुले गर्दा यस्तो हुन गएको हो? ती कारणहरुको खोजि र ती उपर चर्चा परिचर्चा हुन नितान्त आवश्यक छ।  ती कारणहरु आम जनतासम्म पुर्याउन र उनीहरुलाई अवगत गराउन पनि उत्तिकै आवश्यक छ। आर्थिक विकासका लागि सबै तत्वहरु मौजुद र वातावरण अनकूल भएता पनि नेपालको आर्थिक विकासको गति अवरुद्ध हुन पुगेको छ। केही क्षेत्रहरुमा त आर्थिक विकासले विपरित दिशा समातेको समेत देखिएको छ। र त्यो क्षेत्र हो उद्योग। खास गरि कृषि उद्योग।
नेपालको आर्थिक विकास अवरुद्ध हुनुको मुख्य कारण मुलुकको राजनीति वा राजकीय शक्ति केही सीमित नेताहरुको स्वार्थको घेरामा कैद हुनु हो। वर्तमान समयले यही भन्छ। ती नेताहरुले आफ्नो स्वार्थ एवं अहंको विकास तथा रक्षा गर्न राष्ट्र र जनताको भविष्यलाई अंध्यारो तर्फ धकेली रहेका छन। यी नेताहरुको स्वार्थको घेराबाट मुलुकलाई बाहिर ल्याउन र देशलाई आर्थिक प्रगतिको पथामा दौडाउन  नया चुनाव आवश्यक छ। चुनावद्वारा मात्र यी नेताहरुलाई विस्थापित गरेर अर्का इमान्दार, जोश र जाँगरले भरिएका, राष्ट्रप्रेमी नेताहरुलाई मुलुकको आर्थिक विकासको अभिभारा सुम्पिन आवश्यक छ।
नेपालमा शान्ति र स्थिरताको यस्तो अनुकूल वातावरण भएता पनि विकास हुन सकि रहेको छैन, जबकी सोमालियामा त्यहाँका नेताहरु, मुलुकमा विषम परिस्थितिको बावजुत पनि विकास गर्न अघि सरेका छन। सन् २००८ देखि २०११ सम्म, निरन्तर रुपमा सोमालिया असफल राष्ट्रहरुको सूचिमा एक नम्बरमा रहँदै आएको छ। वर्षौको गृह युद्ध, भोकमरी र बिरामीले गर्दा अहिलेसम्ममा करिब दस लाख सोमालीहरुले ज्यान गुमाइ सकेका छन। सन् १९९१ मा राष्ट्रपति सैयद बर अपदस्थ भए देखि देशमा केन्द्रिय सरकारको नियन्त्रण हुन सकेको छैन।
 सम्पूर्ण सोमाली भूमिमा अहिले पनि सोमाली सरकारको पूर्ण नियन्त्रण छैन। पहिलेदेखि अशान्त रहँदै आएको सोमालिया, खास गरी सन् १९९१ देखि झनै अशान्त हुन पुग्यो। सन् १९९१ को मे महिनामा सोमालियाको उत्तरी भाग, जुन बेलायतको अधिनस्थ थियो, ले सोमालियाबाट अलग भएको घोषण गर्यो। सन् १९९१ देखि शुरू भएको गृह युद्ध अहिले पनि रोकिएको छैन। सन १९९१ देखि नै सोमालियाले बलियो सरकार पाउन सकेको छैन। सोमालियाको राज्य शक्ति विभाजित छ। सोमालियाको एक क्षेत्र, सोमालीलैण्ड, ले आफू स्वतन्त्र भएको घोषणा गरेको छ भने पन्टलैंडले आफूलाई अर्ध स्वायत्त क्षेत्र मान्दछ।  सोमालियाको केही क्षेत्रहरुमा इथोपिया समर्थित स्थानीय मिलिसियाहरुको नियन्त्रण छ। केही क्षेत्रहरुमा भने इथोपियाका ट्रुप्स र स्थानीय मिलिसियाहरुको नियन्त्रण छ। यसै गरी केही क्षेत्रहरुमा इस्लामिस्टहरुको नियन्त्रण छ। केही क्षेत्रहरुमा भने सरकारलाई समर्थन गर्ने प्रशासनहरुको नियन्त्रण छ भने केही क्षेत्रहरुमा सरकारको नियन्त्रण छ, जसलाई अफ्रिकन यूनियनले सहयोग पुर्याएको छ।
गृह कलहले गर्दा लाखौं सोमालीहरु स्वदेश छाडेर शरणका लागि अन्य मुलुकहरुमा पुगेका छन। यसै गरी लाखौंको संख्यामा, स्वदेशमै पनि, आफ्नो क्षेत्रबाट विस्थापित भएका छन। सन् २००९ को अन्त सम्ममा करिब ६ लाख ७८ हजार सोमालीहरु यु.यन.यच.सि.यार. (UNHCR) को रेखदेखमा थिए। सोमालिया, बिलियो केन्द्रीय सरकारको अनुपस्थितिमा यति अस्त व्यस्त हुन पुगेको छ कि मुलुक भित्र तीन किसिमका कानूनी व्यवस्थाहरुको अभ्यास हुने गरेको छ। मुलुकमा केहीले नागरिक कानून (civil law),  केहीले धार्मिक कानून (religious law) र केहीले परम्परागत कानून (customary law) मान्ने गरेको पाइन्छ।
मुलुकमा विषम राजनैतिक परिस्थित हुँदा हुँदै पनि त्यहाँका जनता देशमा शान्ति स्थापना गरेर आर्थिक विकास गर्न अघि सरेका छन्। विदेशमा बसेका सोमालीहरु मध्ये केही त स्वदेश फिर्ता गएका छन र केही जाने मनस्थितिमा छन, भोलिका दिनहरुमा देशको राजनैतिक र आर्थिक स्थितिमा सुधार आउला भन्ने आशमा। यसै गरि केही नेताहरु पनि अगाडि सरेका छन, मुलुकको विकास गर्नका लागि। त्यस किसिमका नेताहरु मध्ये एक हुन हसन सेइख मोहमुद। गएको हप्ता हसन सेइख मोहमुद सोमालियाको राष्ट्रपति निर्वाचित भएका छन। चालिस वर्ष पछि भएको त्यस किसिमको निर्वाचनमा विधायकहरुले सोमालियामा सकारात्मक परिवर्तन हुने आशामा मोहमुदलाई निर्वाचित गरेका हुन। नव निर्वाचित राष्ट्रपति मोहमुदले आफूलाई राष्ट्रपति निर्वाचित गरेकोमा नया संसदलाई धन्यवाद दिनुका साथै सोमाली जनतालाई मुलुकको नव निर्वाणमा सहयोग पुर्याउन आह्वान पनि गरेका छन। मोहमुद स्वच्छ छविका मानिन्छन र उनी माथि भष्ट्राचार गरेको, हिंसा मच्चाएको जस्ता आरोपहरु लागेको छैन। उच्च शिक्षा हासिल गरेका मोहमुदले सोमालियामा शान्ति स्थापना गर्ने ठोस योगदान पुर्याएको विश्वास गरिन्छन। सन् १९८१ मा सोमाली नेशनल युनिभर्सिटीबाट ग्रेजुएशन गरेका मोहमुदले भारतको भोपाल युनिभर्सिटी बाट एम. बि.. समेत गरे। त्यति मात्र होइन, उनी राजधानी मोगादिशु स्थित सोमाली इन्सटिच्युट अफ मैनेजमेन्ट एण्ड एडमिनिसट्रेशन डेभेलपमेन्टका सह स्थापनकर्ता समेत भए। पछि त्यो इन्सटिच्युट सिमाद युनिभर्सिटीको रुपमा विकास भयो। उनी हाल अध्यक्ष रहेका ‘पिस एण्ड डेभेलपमेन्ट पार्टी’ को स्थापना उनले सन् २०११ मा गरेका थिए।
राजनैतिक र आर्थिक रुपमा अस्त ब्यस्त रहेको सोमालियाका जनताले नव निर्वाचित राष्ट्रपति मोहमुदबाट धेरै आशा गरेका छन। जनताको त्यस किसिमको आशालाई उनले कुन किसिमले र कतिसम्म पुरा गर्ने छन, त्यो त आउने समयले बताउँला तर मोहमुद एउटा नया उत्साह र विश्वासका साथ मुलुकको मौजुदा स्थितिमा सुधार ल्याउन अगाडि बढेको चाँहि प्रष्ट हुन्छ।
फर्कौ नेपालको स्थितिमा। नेपालमा सबै कुरा सामान्य भएता पनि यहाँका नेताहरु देशको विकास गर्न इच्छुक समेत देखिएका छैनन्। दलगत र आफ्नै स्वार्थको वरिपरि रुमलिएका छन।  देशमा विद्यमान रहेको सहज स्थितिको उपयोग राष्ट्रको विकासका लागि गर्न सकि रहेका छैनन्। जबकी सोमालियामा त्यस किसिमको विषम परिस्थिति हुँदा हुँदै पनि राष्ट्रपति मोहमुद आशा र उत्साहका साथ अगाडि बढेका छन, मुलुकको विकास गर्न।

विश्वराज अधिकारी

Saturday, September 15, 2012

Life The Mystery-Poem of the week-40


यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले बुझे जस्तो
कहिले नबुझे जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले स्थिर ताल जस्तो
कहिले समुद्री छाल जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले हराएर खोजे जस्तो
कहिले हराउँछु सोंचे जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले शरद याम जस्तो
कहिले पोल्ने घाम जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले भोग्ने रहर जागे जस्तो
कहिले रहर अन्त लागे जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले भीडमा पनि एक्लो छु जस्तो
कहिले एक्लो नै भीड हुँ कि जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले बाटो हराए जस्तो
कहिले बाटो पाए जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो

कहिले बुझे जस्तो
कहिले नबुझे जस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो



विश्वराज अधिकारी

Friday, September 7, 2012

Use Of Press Freedom For Economic Development-Article-58


प्रेस स्वतन्त्रताको उपयोग गरिबी कम पार्नमा हुनु पर्छ

नेपालमा अहिले विद्यमान रहेको प्रेस स्वतन्त्रतालाई अन्य विकसित मुलुकहरुमा रहेको प्रेस स्वतन्त्रता भन्दा कुनै पनि हिसाबले कम मान्न सकिँदैन। आम नेपालीहरुले अहिले उत्कृष्ट किसिमको प्रेस स्वतन्त्रताको उपभोग गरि रहेका छन। एक सामान्य नागरिकले पनि सचिव, मंत्री, प्रधान मंत्री जस्ता उच्च तहमा रहेका र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको पदीय कार्यको आलोचना लेखेर वा बोलेर गर्न सक्छ। एक सामान्य नागरिकले पनि आफूलाई लागेका कुराहरु पत्र पत्रिकामा प्रकाशित गरेर वा सभा सम्मेलन आयोजना गरेर अभिव्यक्त गर्न सक्छ। जुन सुकै दलको नेता, सामाजिक कार्यकर्ता वा सार्वजनिक व्यक्तित्वको बारेमा कुनै एक व्यक्तिले आफ्नो मनमा लागेका सकारात्मक वा नकारात्मक विचारहरु अभिव्यक्त गर्न सक्छ। पत्र पत्रिकाहरुले पनि प्रेस स्वतन्त्रताको उपभोग गर्दै आफूलाई लागेका कुराहरु पत्र पत्रिकामा स्वतन्त्रतापूर्व लेख्न सक्छन। उनीहरुले कुनै पनि किसिमको स्थानीय वा केन्द्रिय सेन्सरसिपको सामना गर्नु परेको छैन। एउटा सामान्य नेपाली नागरिकले पनि टुइटर, फेस बुक, युटुब जस्त विश्व विख्यात सामाजिक संजाल सजिलै सँग प्रयोग गर्न सक्छ। सामान्य अवस्थाका र सलिल सामाग्रीहरु फेस बुक वा युटुवमा राख्न कुनै पनि नेपालीले सरकारसँग कुनै पनि किसिमको अनुमति लिनु पर्दैन। नेपालमा सामान्य लेखपढ गर्न जान्ने व्यक्तिले पनि लैपटप, वा डेस्कटप खोलेर संसारमा के के भइ रहेका छन सजिलै सँग थाहा पाउन सक्छ। गुगुल सर्च इन्जन वा यस्तै अन्य माध्यम्  प्रयोग गरेर आफूलाई रुचि र आवस्यकता भएको सामाग्री इन्टेरनेटबाट प्राप्त गर्न सक्छ, सरकारले त्यस किसिमका वेब साइटहरु ब्लक्ड (blocked)  गरेको छैन्। यसै गरि, सरकारले यो वा त्यो वेबसाइट, सामाजिक संजाल  निषेधित  गरिएको छ भनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा घोषणा गरेको छैन पनि। यस हिसाबले आम नेपालीले उत्कृष्ट प्रेस स्वतन्त्रता उपभोग गरेको तथ्यलाई नकार्न मिल्दैन, मौजुदा परिस्थितिमा।
कतिपय यस्ता मुलुकहरु पनि छन जसले अहिले पनि, यो आम संचारको युगमा पनि, आफ्ना नागरिकहरुलाई प्रेस स्वतन्त्रताको अधिकत्म उपभोग गर्न दिएका छैनन। सरकारले निर्देशित गरेको घेरा भित्र रहेर त्यहाँका पत्र पत्रिकाहरुले समाचार, विचार आदि प्रकाशित गर्नु पर्दछ।  व्यक्तिहरुले पनि आफ्नो मनमा लागेका विभिन्न विषयगत कुराहरु लेखेर व बोलेर अभिव्यक्त गर्ने पूर्णतया छुट पाएका छैनन्। विभिन्न किसिमका प्रत्यक्ष वा अप्रत्यक्ष सेन्सरसीपको सामना गर्नु परेको छ। चीनले अहिले पनि विभिन्न वेबसाइटहरु ब्लक  गरेको छ। समाचारहरुमा उल्लेख भए अनुसार चीनले फेस बुक सन् २००८ देखि, युटुब २००९ देखि र ट्विटर २००९ देखि ब्लक गरेको, जुन अहिलेसम्म पनि कायम नै छ। यसै गरि गुगल प्लस, पिकासा, गुगल डक्स जस्ता अन्य विभिन्न वेब साइटहरु पनि ब्लग गरेको छ।   
नेपालमा पनि पंचायतकालमा प्रेसमाथि पूर्ण नियन्त्रण थियो, वाक् स्वतन्त्रता थिएन। नेपालीहरुले वाक् स्वतन्त्रता (freedom of speech)  उपभोग गर्न पाएका थिएनन्। तर २०४७ सालको राजनैतिक परिवर्तन र पंचायतको अवसानले नेपालमा प्रेस एवं वाक् स्वतन्त्रताको ढोका खोल्यो। आम नागरिकले खुला संचार नीतिको अभ्यास गर्न सक्ने वातावरण सृजना गर्यो। नेपालीहरुले, केही अपवाद बाहेक, उत्कृष्ट किसिमको प्रेस स्वतन्त्रताको उपभोग गर्न थाले, २०४७ सालको राजनैतिक परिवर्तन पछि। यस हिसाबले नेपालमा वास्तविक प्रेस वा वाक् स्वतन्त्रताको स्थापना गर्ने श्रेयता २०४६/ ४७ को जन आन्दोलनलाई जान्छ। पंचायती व्यवस्था पतन हुनुको प्रमुक कारण पनि जनताको प्रेस स्वतन्त्रताको हनन नै थियो।
तर प्रश्न उठ्छ, नेपालीहरुले जुन किसिमको प्रेस वा वाक् स्वतन्त्रताको उपयोग गरि रहेका छन के त्यसले आम नेपालीको राजनैतिक एवं सामाजिक जिवनमा सकारात्म परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ त? नेपालको मौजुदा प्रेस स्वतन्त्रताले के नेपालीहरुको गरिबी कम पार्नमा ठोस योगदान पुर्याएको छ त? के  प्रेस स्वतन्त्रताको उपयोग राष्ट्रिय गरिबी काम पार्नमा गरिएको छ त? प्रेस स्वतन्त्रता केवल केही राजनैतिक दल वा तिनका नेताहरुका लागि सत्ता र शक्ति प्राप्त गर्ने माध्यम त बनेको छैन? यस्ता प्रश्नहरुको उत्तर खोज्नु पर्ने बेला आएको छ, आजको यो समय विन्दुमा, जुन समय विन्दुमा विश्वका अन्य राष्ट्रहरुले स्वतन्त्र संचारलाई राष्ट्रिय गरिबी कम पार्नमा व्यापक मात्रामा प्रयोग गरि रहेका छन। खास गरि इन्टरनेटको प्रयोग व्यापक मात्रामा गरि रहेका छन, जनताको जिवनस्तर माथि उकास्नका लागि। इन्टरनेटको प्रयोग गरेर उत्पादन, वितरण एवं विक्री लागत कम पार्दै उपभोक्ताहरुको हातमा सस्तोमा वस्तु वा सेवा पुर्याउने प्रयास गरि रहेका छन, विभिन्न मुलुकका सरकारहरु।
मौजुदा स्थिति हेर्दा नेपाली प्रेस वा संचार जगत केवल केही राजनैतिक दल र तिनक पाँच छ जना नेताहरुको वरिपरि मात्र बढी मात्रामा घुमेको देखिन्छ। संचार माध्यमहरु- पत्र पत्रिका, रेडियो, टि भि आदिले  उनीहरुको गतिविधिलाई मात्र बढी समावेश गरेको पाइन्छ। आम जनताको जिवनसँग सरोकार राख्ने समाचारहरु, जुन गाउँ घरतिर बन्छन, ले महत्व पाएका छैनन्। कुनै एउटा दलको नेताले कुनै अर्को दलको नेताको कटु ओलोचन गरेको छ भने त्यस्तो घटनालाई संचार माध्यमहरुले अति महत्व दिएर समाचार बनाउँछन् र प्रकाशित् वा प्रसारित गर्छन र जनताले पनि खुब रुचि लिएर पढ्छ, सुन्छ वा हेर्छ। आफ्नो पत्रिका वा खबर बढी भन्दा बढी  व्यक्तिहरुलाई बिक्री गर्न संचार माध्यमहरुले खोजी खोजी, नेताहरुले झगडा गरेको, एउटा पार्टीबाट अर्को पार्टीमा गएको, एउटा पार्टी फुटाएर अर्को पार्टी बनाएको, दल भित्र षडयन्त्र गरेको जस्ता समाचारहरु पत्रिकामा छाप्ने तथा रेडियो टि भि मा प्रसारित गर्ने कार्य गर्छन। जबकी यस्ता अनुत्पाद खबरहरुले जनतामा कुनै पनि किसिमको सकारात्मक प्रभाव पार्दैनन्। उल्टो कसरी हुन्छ, षडयन्त्र वा भ्रष्टाचार गरेर सफलता प्राप्त गर्ने भन्ने सन्देश मात्र जनतालाई,दिन्छन्। साथै त्यस किसिमका नेताहरुले गरे झै समाजमा जाल झेल गर्न सामान्य जनतालाई अभिप्रेरित गर्छन्। भ्रष्टाचारी, पदलोलुप, जनतालाई सपना देखाएर ठग्ने, झुक्याउने नेताहरुको बारेमा आवश्यकता भन्दा बढी संचार माध्यमहरुमा सन्देश, समाचार, विचारहरु संप्रेषित भएमा त्यस्ता नेताहरु उल्टो ‘नेशनल हिरो’ हुन्छन, उनीहरुले आफ्ना त्यस किसिमका गलत क्रियाकलापहरुमा नियन्त्रण गर्नुको साटो।
वर्तमानमा, संचार गृह र माध्यमहरुको समाचार, विचार सम्प्रेषण गर्ने शैलीले आम जनताको समाचार पढ्ने, सुन्ने  र हेर्ने स्वाद बिगारि दिएको महशूस हुन्छ। जनताहरु पनि बढी मात्रामा नकारात्मक खबरहरु सुन्न उत्सुक रहेको प्रतित हुन्छ। सकारात्मक खबरहरुलाई जनताले महत्व दिएर पढेको, सुनेको वा हेरेको कमै पाइन्छ। एउटै दलका नेताहरु बीच वा विभिन्न दलका केही नेताहरु बीच, गाली गलौजको स्थितिमा आएर झगडा भएको छ, हात हाला हालको स्थिति समेत भएको छ भने पाठहरुले पनि स्वाद लिएर त्यो घटनाको समाचार पढ्छन् वा सुन्छन्। यस्तो हुनुमा पाठक दोषी भन्न मिल्दैन किनभने संचार गृह एवं संचार माध्यमहरुले नै उनीहरुको स्वाद बिगारी दिएका छन। यस्तो स्थितिमा पाठक वा स्रोताहरुलाई कसरी दोष दिने?
आम नेपालीको हितमा काम गर्ने हो भने, नेपालमा विद्यमान गरिबी कम पार्नमा ठोस योगदान पुर्याउने हो भने, अति निर्धनहरुले दुई छाक ढुक्क सँग खान पाउने स्थिति ल्याउने हो भने र घरबार बिहीनहरुलाई टाउको लुकाउन सानो झोपडि नै भए पनि एउटा आश्रयको व्यवस्था हुने स्थिति सृजना गर्ने हो भने संचार गृह, संचार माध्यमहरुले वर्तमानमा जस्तो केही नेताहरुलाई मात्र केन्द्रविन्दु बनाएर उनीहरुसँग सम्बन्धित गतिविधिहरुलाई मात्र समाचार बनाउने,  ती समाचारहरु प्रकाशित वा प्रसारण गर्ने परिपाटिको अन्त्य गर्नु पर्दछ। यी पाँच सात जना नेताहरुले न त संविधान नै लेख्न सकिरहेका छन न त मुलुकलाई कुनै निकास नै दिन सकि रहेका छन। यिनीहरुको क्रियाकलापबाट मुलुक झन झन अनिश्चिततातिर बढ्दै छ, मुलुक आर्थिक रुपमा कमजोर हुँदै गइ रहेको छ, दिन प्रति दिन। विदेशी हस्तक्षेप बढेर राष्ट्रियता संकट उन्मुख भएको छ।
एउटा कुनै कृषकले केवल आफ्नै प्रयासमा स्थानीय स्रोत र साधनको प्रयोग गरेर कुनै किसिमको कृषि मल उत्पादन गरेको छ र त्यो मलको प्रयोगद्वारा आफ्नो सीमित जग्गाको उत्पादकत्वमा वृद्धि गरेको छ भने त्यो कृषकको त्यो कार्यले महत्वपूर्ण समाचारको स्थान पाउनु पर्दछ। कुनै एक उद्यमीले नया किसिमको कुनै व्यवसाय गरेर पच्चिसौं कामदारहरुलाई रोजगारी दिएको छ भने उसको त्यो कार्यलाई पत्र पत्रिकाहरुले प्रमुखताका साथ छाप्नु पर्दछ, रेडियो, टि भि ले प्रसारित गर्नु पर्दछ, अति महत्व दिएर। कुनै एक रिक्सा चालकले दुख गरेर आफ्नो परिवारको भरण पोषण गरेको छ, सन्तानलाई राम्रो शिक्षा दिने प्रयास गरेको छ, बेइमानी गरेको छैन भने उसको त्यो कार्यले महत्वपूर्ण समाचारको स्थान पाउनु पर्दछ, नेताहरुको पट्यार लाग्दो र अर्थहीन भाषण भन्दा। एउटा ज्यादै बिपन्न परिवारकी कुनै एक गृहणीले आफ्नो सानो बारीको उपयोग गरेर, त्यसको उत्पादनबाट आफ्नो परिवारलाई दर्दनाक गरिबीबाट बाहिर ल्याउँछिन भने उनको त्यो कुशलता समाचार बन्नु पर्दछ। सानो जग्गाबाट कसरी बढी प्रतिफल लिने भन्ने उनका चिंतनहरुले अर्थशास्त्रका नियमहरुसँग सम्बन्ध राख्छन। उनको त्यो कार्य कुशलताबाट अर्थशास्त्रका नया नया सिद्धान्तहरुको जन्म हुन सक्छ। तर नेताहरुका झूठा कुराहरुबाट जनता-जनताबीच फाटो ल्याउने, जनतालाई झनै गरिब तुल्याउने भन्दा बढी केही हुन सक्दैन।
त्यसकारण अब रेडियोको माइक्रो फोन होस वा टि भि को क्यामरा, वा पेन र डायरी, यी महत्वपूर्ण साधनहरु इमान्दार, परिश्रमी, रचनात्मक विचारका धनी, गरिब जनताको जिवनस्तर माथि उकास्न क्रियाशील व्यक्तिहरुको वरिपरि घुम्नु पर्यो, नेताहरुको वरिपरि मात्र बढी नघुमेर। राष्ट्रलाई साँच्चिकै आर्थिक रुपमा समृद्ध तुल्याउने हो भने, मौजुदा प्रेस स्वन्त्रताको उपयोग गरिबी कम पार्नमा गर्नु पर्यो, भ्रष्ट नेताहरुलाई फेरि चुनावमा जिताउनु भन्दा।  

विश्वराज अधिकारी