Friday, November 30, 2012

Preserving Is Tougher Than Achieving-Article-68


स्थापना भन्दा संरक्षण कठीन

अधिकांश मुलुकमा भएको राजनैतिक परिवर्तनको इतिहास हेर्ने हो भने प्रष्ट हुन्छ- जति गार्हो मुलुकबाट तानाशाही व्यवस्था हटाउन हुन्छ त्यो भन्दा कैयौं गुणा बढी तानाशाही व्यवस्था समाप्त पारि प्रजातन्त्र स्थापना गर्न गार्यो हुँदो रहेछ। सामान्य अवस्थामा, कुनै पनि मुलुकमा जनताले एक वा दुई वर्ष संघर्ष गर्दा तानाशाही व्यवस्था समाप्त हुन सक्छ, त्यस्तो देखिएको छ पनि, तर त्येही मुलुकमा त्यस किसिमबाट स्थापना गरिएको (तानाशाही व्यवस्था पछिको) प्रजातन्त्रलाई बलियो पार्न दसकौं लाग्दो रहेछ वा लागि रहेको छ।  अझै केही मुलुकमा त कस्तो पनि देखिएको छ भने जनताले प्रजातन्त्र आउने आशमा मुलुकको तानाशाही व्यवस्थालाई समाप्त त पारे तर प्रजातन्त्र भने पाउन वा स्थापना गर्न सकेनन। उल्टो, प्रजातन्त्र स्थापना गर्न एउटा तानाशाहलाई त फाले तर अर्को, पूर्वको भन्दा पनि कठोर तानाशाह, मुलुकको शासन व्यवस्थामा हाबि हुन पुग्यो। कतिपय राष्ट्रहरुमा भने प्रजातन्त्र पछिको स्थितिमा मुलुकको नै विभाजन समेत हुन पुग्यो। केही राष्ट्रहरु भने गृह युद्धको डरलाग्दो भूमरिमा पर्न पुगे। तानाशाही व्यवस्था समाप्त भए पनि मुलुकमा अमन चयन स्थापना हुन नसक्नु, नागरिकहरुको अधिकार र स्वतन्त्रता कुण्ठित हुनु, भ्रष्टाचार चुलिएर जानु जस्ता उदाहरणहरु विभिन्न राष्ट्रहरुमा देख्न सकिन्छ। इरान, इराक, लिबिया, इजिप्ट लगायत अन्य केही मुलुकहरुमा त्यहाँ रहेका तानाशाहहरुलाई जनताले पदच्यूत गरेता पनि जनताको आशा र चाहना अनुरुपको प्रजातन्त्र स्थापना हुन सकेको छैन। पूर्ण प्रजातन्त्रका लागि त्यहाँको जनता अहिले पनि संघर्षरत छ। यो स्थितिको गंभिरतालाई मनन गरेर नै होला, सिरियामा भइ रहेको त्यहाँका क्रुर शासक बसार अल-असाद विरुद्धको संघर्षमा, संघर्षरत पक्षलाई अन्तरार्ष्ट्रिय समुदायले भरपूर सहयोग गर्न हिचकिचाइ रहेको छ। अन्तरार्ष्ट्रिय समुदायले अल- असाद शासन विरुद्ध संघर्षरत पक्षलाई केवल संघर्ष चालु राख्ने किसिमबाट सहयोग गरि रहेको छ, अल- असादको तानाशाही समाप्त पार्ने स्तरमा सहयोग गरि रहेको छैन। सन् २०११ को जनवरीमा अल- असाद शासन विरुद्ध सिरियाका जनताले बिद्रोह आरम्भ गरेका थिए र यो विद्रोह वा गृह युद्धमा अहिलेसम्ममा २० हजार भन्दा बढी व्यक्तिहरुको ज्यान गइ सकेको छ। सिरियामा गृह युद्ध आरम्भ भएको लगभग दुइ वर्ष पुगि सक्दा पनि र यत्रो ठूलो संख्यामा हताहति भएता पनि अन्तरार्ष्ट्रिय समुदायले संघर्षरत पक्षलाई, अल-असादलाई सत्ता बाहिर पुर्याउने किसिमबाट सहयोग गर्न सकि रहेको छैन। अन्तरार्ष्ट्रिय समुदाय सिरियामा  अल- असादको युग समाप्त हुना साथ त्यहाँ प्रजातन्त्र स्थापना हुन सक्ला भन्ने कुरामा निश्चित छैन। अल- असाद पछि यदि अझै ठूलो तानाशाहको उदय भए वा सिरिया झनै ठूलो रक्तपातको भूमरिमा परे के गर्ने भन्ने अलमलमा परेको छ अहिले अन्तरार्ष्ट्रिय समुदाय। अन्तरार्ष्ट्रिय समुदायको यो अलमलको स्थितिको फाइदा उठाउँदै अल-असाद आफ्नो शासन व्यवस्था लम्ब्याउन सफल भएका छन, धेरै जनताले उनलाई नरुचाउँदा नरुचाउँदै पनि। हुन त चीन र रुसले पनि अल-असादको शासन व्यवस्था टिकाउनमा केही भूमिका खेलेका छन।
जनताको चेतनको स्तर, शिक्षा, आर्थिक अवस्था, संस्कृति, परम्परा, विश्वास, रहन सहन आदि जस्ता तत्वहरुले प्रजातन्त्रको स्थापना एवं अभ्यासमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। जनताको चेतनाको स्तर कमजोर छ, वहुसंख्यक जनता गरिब छन भने यस्ता कुराको फाइदा उठाएर केही व्यक्तिहरु जनतालाई झूठो सपना देखाएर, धर्म, जातीयता आदिको कुरा गरेर राष्ट्रमा प्रजातन्त्र रहेता पनि तानाशाही कायम गर्न सफल हुन पुग्छन र देशको शासन व्यवस्था जहिले पनि आफ्नो हातमा नै रही रहने अवस्था सृजना गर्न सक्छन। यस्तै स्थिति अहिले नेपालमा पनि छ। नेपालमा २०४६ सालको राजनैतिक परिवर्तन पछि विभिन्न दलहरुको माध्यमबाट जुन व्यक्तिहरु राष्ट्रिय राजनीतिमा शक्तिसाली खेलाडीको रुपमा उदाय ती खेलाडीहरु अहिले पनि उत्तिकै शक्तिसाली छन, केही त झनै शक्तिसाली भएर स्थापित भएका छन। यी खेलाडीहरुले आफू रहेको दललाई कमजोर पारे, एउटा दलबाट अर्को दलमा प्रवेश गरे, नया दलको स्थापना गरे, तर जे जत क्रियाकलापहरु गरे ती सबै आफू शक्तिसाली रहि रहनका खातिर गरे। जबकी राजनीतिका यी खेलाडीहरुले देशमा नव स्थापित प्रजातन्त्रलाई बलियो तुल्याउन जनउपयोगी कार्यहरु गरेर दललाई बलियो तुल्याउनु पर्ने हो। प्रजातन्त्रलाई बलियो पार्दै राष्ट्रलाई बलियो पार्नु पर्ने हो।
नेपालमा, जनताको चेतनाको स्तर, शिक्षाको स्थिति आदिले गर्दा नै त्यस किसिमका नेताहरु राजनीतिमा सफल हुन पुगेका छन, जहिले पनि, जुन सुकै दलको सरकार आए पनि आफू शक्तिसाली रहि रहन सक्षम भएका छन, जनताका लागि, देशका लागि ठोस सकारात्मक कार्यहरु नगरे तापनि। हाम्रो समाज, अज्ञानता र अशिक्षाले गर्दा सक्तिको पूजारी हुन पुगेको छ। परिवारको कुनै सदस्य मंत्री हुने वित्तिकै आफ्नै परिवारका अन्य सदस्यहरुले उक्त व्यक्तिको नाम भन्न छाडेर मंत्री ज्यू भनेर सम्बोधन गर्न थाल्छन। साथीहरुले हात मिलाउन छाडेर झुकेर नमस्कार गर्न शुरु गर्छन, मंत्री साथीबाट कुनै काम मिलाउँला भन्ने दाउमा। समाजमा उसको पछि पछि हिंड्ने मान्छेहरुको ताँती नै लाग्न पुग्छ। जबकी मंत्रीको पछाडि त्यसरी लाग्नुको कुनै ओचित्य नै छैन। मंत्री सामान्य जनताको पछि पछि हिंड्नु पर्ने हो किनभने मंत्री भनेको जनताको सेवक हो र जनताको सेवा गर्नका लागि ऊ उच्च प्रशासकीय पदमा पुगेको हो। भनसुनको आधारमा कुनै काम गराउनु नै पर्दैन, कुनै मंत्री वा उच्च प्रशासकीय पदमा पुगेको व्यक्तिबाट, उसको पछि पछि लागेर, किनभने राज्यको कानून अनुसार कुनै पनि प्रशासकीय काम कराउन पाउने अधिकार प्रत्येक नागरिकसँग सुरक्षित हुन्छ। र त्यस किसिमका कार्यहरु गर्नका लागि नै राज्यले मंत्री वा प्रशासकहरुको नियुक्ति गरेको हुन्छ।  तर सामान्य जनताले यो कुरा बुझेका हुँदैनन् र उच्च प्रशासकीय पदमा पुगेका व्यक्तिहरु समक्ष भनसुनका लागि पुग्छन। यो स्थितिको फाइदा उठाएर नेता वा उच्च प्रशासकीय पदमा पगेका व्यक्तिहरु पनि नियम कानूनको परिधि भित्र रहेर काम गर्नुको साटो आफ्नो पद र शक्तिको प्रभाव प्रयोग गरेर जनतालाई प्रभावित गर्ने कार्यमा व्यस्त हुन्छन। यसरी नेपाली समाज अज्ञान र अशिक्षाको कारणले गर्दा न्याय भन्दा शक्तिको पूजारी हुन पुगेको छ र यो कारणले गर्दा पनि नव स्थापित प्रजातन्त्र बलियो हुन सकिरहेको छैन। प्रजातन्त्रको प्रतिफल सामान्य जनता समक्ष पुग्न कठिन भइ रहेको छ।  प्रजातन्त्रको फाइदा केवल केही नेताहरुको हातमा सीमित हुन पुगेको छ। र यसले गर्दा सामान्य जनतामा प्रजातन्त्रप्रति वितृष्णा समेत उत्पन्न भएको छ।
परम्परागत धारणा अनुसार तानाशाही भनेको केवल एक व्यक्तिको हातमा राज्यको सम्पूर्ण शासन व्यवस्था सीमित हुनु हो। राज्यको न्याय र कानूनमा पनि सोही तानाशाहको नियन्त्रण कायम हुनु हो। राज्य व्यवस्था उसको स्वेच्छारितामा चल्नु हो। तर नया मान्यता अनुसार केही व्यक्तिहरु मिलेर पनि तानाशाही कायम गर्न सक्छन र प्रजातन्त्र भित्र पनि तानाशाही चलाउन सक्छन। स्वेच्छाचारी हुन सक्छन।
रुप परिवर्तित नव तानाशाहहरुले मुलुममा स्थापित प्रजातन्त्रको केवल उपयोग मात्र गर्छन, जनतालाई झुक्याएर, लोभ्याएर, तर्साएर आफूहरु  शक्तिमा रहि रहने अनेक प्रपंच रच्छन तर जनताका लागि भने कार्य गर्दैनन्। नेपालमा अहिले ठीक यस्तै स्थिति छ। नेपालमा अहिले चार या पाँच राजनैतिक दल वा केही नेताहरुको तानाशाही कायम छ। मुलुकको शासन व्यवस्था उनीहरुको नियन्त्रमा छ। उनीहरुको तानाशाहीले गर्दा मुलुकमा न त संविधान निर्माण हुन सकिरहेको छ, न त गाउँ, जिल्ला एवं केन्द्रमा नया जन प्रतिनीधिहरुका लागि निर्वाचन नै हुन सकिरहेको छ। यी नव तानाशाहहरुले गर्दा मुलुकोको शासन व्यवस्था न त प्रभावकारी नै हुन सकेको छ, बरु उल्टो भ्रष्टाचार र अपराध बढेर गएको छ। तैपनि यी नव तानाशाहहरुले सहमति र सहकार्यको नाममा केवल जनतालाई ठग्ने कार्य गरि रहेका छन, र कुर्सी माथिको आफ्नो पकड बलियो मात्र पारि रहेका छन। नेपालमा नव स्थापित प्रजातन्त्रका लागि यदि खतरा छ भने यी नव तानाशाहबाट नै छ, यी तथाकथित प्रजातान्त्रिक नेताहरुबाट नै छ। विदेशी तत्व, सेना, दरबार आदिबाट नेपालको प्रजातन्त्र माथि कुनै खतरा देखिंदैन वर्तमान परिप्रेक्ष्यमा। खतरा छ भने जसरी पनि सत्तामा रहि रहने नेताहरुको सत्ता लोलुप प्रवृतिबाट।
नेपालमा प्रजातन्त्रलाई बलियो पार्ने हो भने वर्तमानका यी नेताहरुले सत्ता लिप्सा त्याग्न आवस्यक छ। पुष्पकमल दहाल, बाबुराम भट्टराई, सुशिल कोइराला, शेरबहादुर देउबा, रामचन्द्र पौडेल, माधव नेपाल, झलनाथ खनाल, के पी ओली, महन्त ठाकुर, हृदेश त्रिपाठी, विजय कुमार गछ्दार, उपेन्द्र यादव, सूर्य बहादुर थापा, कमल थापा, पशुपति सम्शेर ज ब रा, प्रकाशचन्द्र लोहनी लगायत यो पीढीका अन्य धेरै नेताहरुले राजनीतिबाट सन्यास लिनु पर्यो नेपालमा प्रजातन्त्रलाई बलियो पार्ने हो भने। तपाँईहरुले अनवरत रुपमा दुइ दशक भन्दा बढी राजनीति गरि सक्नु भयो, शक्तिको स्वाद धेरै लिई सक्नु भयो। तर तपाँईहरुले न त संविधान नै दिन सक्नु भयो न त मुलुकलाई स्थिरता नै। आर्थिक विकासको गति त झनै सुस्त भएर गयो। रोजगारीका लागि नेपालीहरु बाध्य भएर भास्सिनु पर्यो विदेशमा, त्यो पनि लाखौको संख्यामा। पुराना नेताज्यूहरु! नया पीढीका नेताहरुलाई पालो दिनु होस नया नेपाल निर्माण गर्नका लागि। आर्थिक समृद्धिका लागि। नया पीढीका नेताहरुमा तपाँईहरुमा जस्तो एउटाको खुट्टा अर्कोले तान्ने प्रवृति हुँदैन होला। अनि सँधै कुर्सीमा बस्न मारकाट पनि गर्ने छैनन् होला। र मिलेर बस्न सक्छन पनि। सबै भन्दा ठूलो कुरा त नया पीढीका नेताहरु, चाहे जुन सुकै दलका हुन, उनीहरुको नेतृत्व क्षमताको परख पनि त गर्न पाउनु पर्यो नेपाली जनताले।  नेपालको आर्थिक विकासका लागि तपाँईहरुले त्याग नै गर्नु पर्यो। र त्याग गर्ने उचित बेला आएको छ पनि। बरु समाज सेवा गर्न आउनु होस, अनुराधा कोइराला, दिलशोभा श्रेष्ठ, पुष्पा बस्नेत जस्तो। समाज सेवा गर्नका लागि कुनै पद नै अगोट्नु पर्दैन।
सामान्य जनताले पनि नेताहरुलाई देश विकासको बाटोमा हिंड्न दबाब दिनु पर्यो आफ्नो क्षणिक फाइदालाई बिर्सेर भए पनि। प्रजातन्त्र जोगाउन समयमै सचेत हुनु पर्यो। मनन गर्नु पर्यो, प्रजातन्त्र स्थापना भन्दा जोगाउन गार्हो हँदो रहेछ भन्ने कटु यथार्थ।

विश्वराज अधिकारी

Published in prateekdaily on Friday, November 30, 2012

Saturday, November 24, 2012

His Life-Poem of the week-46


 उसको जिन्दगी

कहिले जिन्दगी नेताको भाषणमा देख्यो
कहिले जिन्दगी नेताको आसनमा देख्यो

कहिले जिन्दगी प्रदर्शनमा देख्यो
कहिले ठूला ठूला दर्शनमा देख्यो

कहिले जिन्दगी जुआको खालमा देख्यो
कहिले जिन्दगी रित्तो थालमा देख्यो

कहिले जिन्दगी झूठको संसारमा देख्यो
कहिले नाफा मात्र् हुने अनौठो बेपारमा देख्यो

कहिले जिन्दगी उकालो कहिले ओर्हालोमा देख्यो
हिंडेर थाके पछि पहिले जहाँ थियो आफूलाई त्येहीं देख्यो

Bishwa Raj Adhikari 

Friday, November 23, 2012

Burma toward Reform-Article-67


सुधारोन्मुख बर्मा

बर्मा (म्यानमार) अहिले चर्चामा छ। चर्चामा रहनुका प्रमुख कारण भने संयुक्त राज्य अमेरिकाका बहाल राष्ट्रपतिद्वारा बर्माको पहिलो पटक भ्रमण हुनु हो। वर्तमान राष्ट्रपति बाराक ओबामा बर्माको भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन पुगेका छन। राष्ट्पति ओबामा गएको सोमबार (नोभेम्बर १९, २०१२) बर्मा पुगेका थिए। त्यहाँ उनले बर्माका राष्ट्रपति थान सेन र प्रजातन्त्रबादी नेतृ अंग सान सु की सँग भेट गरेका थिए। राष्ट्रपति ओबामा सु की सँग भेट गर्न भने सु की कै निवास पुगेका थिए। राष्ट्रपति ओबामा याङ्गुन पुग्दा हजारौका संख्यामा सडकमा उपस्थित रहेका व्यक्तिहरुले उनको स्वागत गरेका थिए। बर्माबासीहरुले राष्ट्रपति ओबामाको भ्रमणलाई मुलुकमा प्रजातन्त्रबहालीका लागि जर्नेलहरुले चालेका सुधारका कदमहरु प्रति सुभेच्छा र समर्थनको संकेतको रुपमा लिएका छन। पचासौं वर्षदेखि सैनिक शासनको घेरा भित्र बसेका बर्माबासीहरुले राष्ट्रपति ओबामाको स्वागत गरम जोशका साथ गरेर प्रजातन्त्रपति रहेको उनीहरुको विश्वास एवं दृढ चाहना समेत व्यक्त गरेका थिए।
बर्मा अहिले चर्चामा रहनुका कारणहरुमा त्यहाँ आर्थिक-सुधार कार्यहरु प्रारम्भ हुनु, राजकीय सत्ता जर्नेलहरुबाट जन निर्वाचित नेताहरुमा हस्तान्तरण गर्ने प्रक्रिया शुरू हुन र साम्प्रदायिक दंगामा धेरैको ज्यान जानु पनि रहेको छ। अक्टोबर २०१२ मा, त्यहाँको राखिन राज्यमा भएको साम्प्रदायिक दंगा, जुन बुद्धिष्ट र मुस्लिम बीच भएको थियो, मा करिब १४० जनाको ज्यान गएको थियो र एक लाख भन्दा बढी व्यक्तिहरु विस्थापित भएका थिए। र त्यसरी विस्थापित हुनेहरुमा खास गरी अल्प संख्यक रोहिंग्या मुस्लिम समुदायका व्यक्तिहरु थिए। उक्त दंगालाई सरकारले प्रभावकारी किसिमले नियन्त्रण गर्न नसकेको भनी धेरै अधिकारकर्मीहरुले सरकारको आलोचना गरेका थिए पनि।
बर्माको कदम प्रजातन्त्रतर्फ बढेको हुनाले विश्वको ध्यान त्यस तर्फ आकृष्ट भएको हो, तर सत्य त्यति मात्र होइन। अहिले बर्माको उदय एशियामा नै एक संगठित एवं लाभदायक बजारको रुपमा हुन थालेको छ। प्रजातन्त्रप्रति बढेको बर्माको पाइलाले मुलुकको अर्थनीतिमा खुकुलोपना ल्याउने बित्तिकै धेरै अन्तर्ष्ट्रिय कम्पनीहरु त्यहाँ लगानी गर्न पुग्ने छन। यूरोपको आर्थिक मन्दीले गर्दा यूरोपका लगानीकर्ताहरु यूरोप बाहिर लगानीका अवसरहरु खोज्न बाध्य छन पनि। बर्मामा हुन थालेको आर्थिक सुधारलाई दृष्टिगत गर्दै पश्चिमका राष्ट्रहरुले बर्मामाथि लगाएका आर्थिक प्रतिबन्धहरु खुकुलो पार्न शुरु गरि सकेका छन। लगाइएको आर्थिक प्रतिबन्धलाई उनीहरुले त्यसरी खुकुलो पार्नुले बर्माको बजारमा उनीहरुले प्रवेश गर्न खोजेको उनीहरुको तिब्र इच्छा पनि झल्किन्छ।
बर्मा साधन र स्रोतले भरिपूर्ण मुलुक हो। यो कारणले गर्दा नै अंग्रेजहरु व्यापारका लागि एशिया आउँदा बर्मालाई हब (Hub) बनाएका थिए। बर्मा एक किसिमले अंग्रेजहरुका लागि एशियाको आर्थिक क्रियाकलापको  राजधानी नै थियो, त्यस ताका। त्यस सन्दर्भमा बर्माको बजारमा प्रवेश गर्न अन्तरार्ष्ट्रिय कम्पनीहरुले चाँसो देखाउनु स्वभाविक हो पनि।
सैनिक वा जर्नेलहरुको साशन दसकौं सम्म बर्मामा हुँदा बर्मा एक्लिएको थियो र बर्मा एक्लिनुको बढी फाइदा भने चीनलाई हुन पुगेको थियो। त्यसरी एक्लिएको हुनाले बर्मालाई आफ्नो राजनैतिक एवं आर्थिक प्रभाव क्षेत्र भित्र राख्न चीन सफल भएको थियो पनि। बर्मालाई आफ्नो प्रभाव क्षेत्र भित्र राख्ने कार्यले एशियामा आर्थिक महाशक्तिको रुपमा आफ्नो भूमिका कामय राख्न चीनलाई सहयोग पुगेको थियो र त्यो स्थिति अहिले पनि कायम छ।  एशियामा मात्र होइन विश्वमा नै आफ्नो उपस्थिति आर्थिक महाशक्तिको रुपमा प्रस्तुत गर्न चीन लागि परेको छ पनि। तर विश्वमा, र खास गरि अहिलेको परिप्रेक्ष्यमा भने एशियामा, चीनले आर्थिक शक्तिको रुपमा आफ्नो प्रभाव जमाउन खोजेको स्थिति पश्चिमी राष्ट्रहरुलाई मन परेको छैन। चीन आर्थिक रुपले ज्यादै बलियो र महाशक्ति हुँदै जानु भनेको यूरोपेली बजारहरुलाई छिटै प्रतिकूल प्रभाव पर्नु हो। चीनले वस्तु उत्पादनको क्षेत्रमा अभूतपूर्व प्रगति गरेको छ। सस्तोमा वस्तु उत्पादन र बिक्री गर्न सक्ने उसको बढ्दो प्रतिस्पर्धात्मक क्षमताले गर्दा अमेरिका लगायत यूरोपका बजारहरु प्रतिकूल रुपमा प्रभावित हुन पुगेका छन्। यी कारणहरुले गर्दा पनि पश्चिमी राष्ट्रहरु बर्मामा रहेको चीनकको बलियो आर्थिक प्रभावलाई कम पार्न चाहन्छन। अर्कोतिर, बर्माका वहुसंख्यक व्यक्तिहरु चीनसँग रहेको आफ्नो मुलुकको घनिष्टतालाई त्यति रुचाउँदैनन् र चीनप्रति आफ्नो मुलुक बढी निर्भर भएमा चीनको सुरक्षा छाता भित्र परिन्छ भनी ससंकित पनि छन्।  चीनसँगको बढ्दो सम्बन्धले बर्माको प्रजातान्त्रिक यात्रालाई प्रतिकूल प्रभाव पार्ने हो कि भन्ने चिंता बर्माको जनतामा रहेको पाइन्छ।  बर्मेलीहरुको बिचारमा चीन एक प्रजातान्त्रिक व्यवस्था भएको राष्ट्र होइन र प्रजातान्त्रिक व्यवस्था नभएको राष्ट्रसँग सम्बन्ध बढाउनु प्रजातन्त्रतर्फको यात्रालाई कठिन पार्नु हो। त्यस कारण पनि बर्माको जनता, प्रजातन्त्र तर्फको यात्रा सुगम पार्न पश्चिमी मुलुकहरुसँको सम्बन्धलाई बढी जोड दिन्छ र खास गरि अमेरिकासँगको सम्बन्धलाई प्राथमिकतामा राख्छ, चीनसँगको सम्बन्धभन्दा।  
  प्रजातान्त्रिक दिशा तर्फको बर्माको यात्रा सरल र सहज भने छैन। प्रजातन्त्रतर्फ उन्मुख हुन बर्मा सरकारले मुलुकको नियन्त्रित समाजलाई बिस्तारै खुकुलो पार्दै लग्नु पर्ने छ। जनतालाई थप अधिकारहरु प्रदान गर्नु पर्ने छ। नियमहरुमा खुकुलोपना बढ्नासाथ साम्प्रदायिक मतभेदहरु सहजरुपमा र उग्र किसिमले प्रकट हुन सक्छन। बर्मामा विगतमा साम्प्रदायिक दंगाहरु भएका छन पनि। बर्मामा अनेक किसिमका जातीय समूहरुको बसोबास छ। अर्कोतिर मुलुकमा रहेका अनेक बिद्रोही संगठनहरु (Karen National Liberation Army, Communist Party of Burma, Myanmar National Democratic Alliance Army, Shan State Army, United Wa State Army, Kachin Independence  Army , Pa – O National Organization, God’s Army, Buddhist Army आदि) ले पनि सजिलै गरी आफ्ना क्रियाकलापहरु संचालन गर्न पाउने छन, नेपालमा २०४६ साल पछि भए जस्तो गरेर। विभिन्न किसिमका साम्प्रदायिक मदभेदहरु चर्केर सतहमा आएमा प्रजातान्त्रिक व्यवस्था अन्तरगत प्रशासनीक क्रियाकलापको अभ्यास नगरेका बर्मेली प्रशासकहरुलाई त्यस किसिमका मतभेदहरु व्यवस्थापन गर्न गाह्रो हुनेछ। नेपालमा अहिले त्यस्तै स्थिति देखिएको छ। नेपालमा, नेता (बामपन्थी समेत) हरुले आफूलाई प्रजातान्त्रिक भनेता पनि उनीहरुको व्यवहारमा प्रजातान्त्रिक आचरणको भने सर्वथा अभाव देखिएको छ। मुलुकको विकासका लागि एउटा दलले अर्को दलको कुरा मान्ने, मिलेर काम गर्ने, नेताहरु बीच सहमति हुने, एकले अर्को माथि विश्वास गर्ने जस्ता प्रजातान्त्रिक संसकारहरुको नेताहरुमा पूर्ण अभाव देखिएको छ। बरु उल्टो नेताहरुमा, एउटाले अर्कोको खुट्टा तान्ने, आफ्नो स्वार्थ र फाइदा मात्र हेरेर राष्ट्र र जनताको फाइदालाई वेवस्ता गर्ने प्रवृति  ज्यादै देखिएको छ। नेपालका जनताले बेलैमा ठूलो सुझ बुझ देखाए, नेताहरुले आफ्नो स्वार्थ सिद्धीका लागि जातीय दंगा फैलाउन उनिहरुले रचेको प्रपंचको पछाडि नलागेर। नेताहरुको पछाडि नेपाली जनता लागेको भए नेपालमा कुन स्तरमा जातीय सद्भाव खल्बलिने थियो, धन र जनको कुन स्तरमा क्षति हुने थियो, अनुमान गर्न गार्हो छ।
माथि उल्लेख गरिएका सन्दर्भहरु लाई छाडेर अर्को पाटोमा जाने हो भने, बर्मामा हुन थालेका आर्थिक सुधारका कार्यहरु र बर्मा एशियाको एउटा बलियो बजारको रुपमा प्रकट हुन थालेको स्थितिबाट नेपालले पनि आर्थिक फाइदा उठाउनेतिर सोँच्नु आवश्यक छ। बर्मामा अहिले पनि ठूलो संख्यामा नेपालीमूलका व्यक्तिहरु बसोबास गर्छन। त्यहाँ नेपालीमूलका व्यक्तिहरुको संख्या करिब ५ लाख रहेको अनुमान गरिन्छ। नेपालीहरु त्यहाँ दुई सय वर्ष पहिलेदेखि नै बस्दै आएका छन। बर्माका नेपालीमूलका व्यक्तिहरुसँग व्यापार गर्न नेपाली व्यापारीहरुलाई सजिलो हुन्छ पनि। यो स्थितिको फाइदा नेपालले उठाउन सक्नु पर्दछ। अहिले भारतीयमूलका व्यक्तिहरुको बसोबास सं रा अमेरिका, यूरोप, अष्ट्रेलिया र अफ्रिकमा ठूलो संख्यामा रहेको हुनाले भारतीय व्यापारीहरुले उनीहरुले मन पराउने खाद्यान्न, कपडा, गरगहना, आदि ठूलो परिमाणमा ती क्षेत्रहरुमा निर्यात गरेर राम्रो मुनाफा प्राप्त गरि रहेका छन।

विश्वराज अधिकारी

Wednesday, November 14, 2012

The Leader-Story-29


नेताको आत्मा

शिक्षित, सुशिल एवं सरल स्वभावको त्यो युवकमा अचानक आएको एक अनौठो परिवर्तनले गाउँका सबैलाई अति नै अचम्ममा पारेको थियो। पहिले, कहिलै झूठो नबोल्ने, कसैलाई नठग्ने, मिलनसार र सहृदयी व्यक्ति परिवर्तन भएर साँचो कुरा कहिले पनि नबोल्ने, अरुलाई झुक्याएर ठग्ने, अति स्वार्थी र अपराधी प्रवृतिको समेत भएको थियो। कहिले, तँ यो जातको म त्यो जातको, कहिले तँ यो क्षेत्रको म त्यो क्षेत्रको, कहिले तँ यो विचारधाराको म त्यो विचारधाराको, कहिले तँ शोषक, शासक, दलाल म शोषित भन्दै गाउँ घरमा हिँड्न थालेको थियो। त्यो युवकको त्यस्तो व्यवहारको बिरोध गर्नेलाई उसले ज्यानै समेत लिन धम्की दिन थाल्यो। अनौठो परिवर्तन त्यो युवकमा आएको देखेर सबैमा चिन्ता चुलिएर गयो। एक दिन गाउँका सबैले बल प्रयोग गरेर नै उसलाई गाउँकै मनोचिकित्सक कहाँ पुर्याए। चिकित्सकबाट न त उपचार नै हुन सक्यो न त कुन रोगले उसलाई सताएको हो भन्ने पत्ता लाग्न सक्यो। ठूलो शहरका कुनै चिकित्सकले रोग पत्ता लगाएर निको पार्न सक्ने हुन कि भने आशमा सबै गाउँलेहरु मिलेर त्यो युवकलाई एक ठूलो शरहरमा पुर्याए, एक प्रख्यात मनोचिकित्सकलाई देखाए। ती ठूला चिकित्सकले पनि न त उपचार नै गर्न सके न त कुन रोग लागेको हो भन्न सके।
त्यस गाउँका एक प्रौढ व्यक्तिले एक अन्तिम उपाय प्रयोग गर्न सबैलाई सहमत पारे। अन्तिम उपायको प्रयोग गर्दै त्यो युवकलाई  एक झाँक्रीको घरमा पुर्याइयो। लामो समयको टुना मुना र झारफुक पछि त्यो झाँक्रीले घोषण गर्यो “यो युवकमा एक मृत नेताको आत्माले प्रवेश गरेको रहेछ।”
गाउँलेहरु मध्ये केहीले पत्याए केहीले पत्याएन। त्यो झाँक्रीले अर्को पनि घोषणा गर्यो “यो युवकको रोग म सँधैका लागि निको पार्न सक्छु। तर त्यस्तो गर्न, यो युवकमा आएको त्यो मृत नेताको आत्मा झिकेर कुनै जिवित तर त्यस्तै स्वभावको नेतामा त्यो आत्मा प्रवेश गराउनु पर्दछ। मृत नेताको स्वभाव र जिवित नेताको स्वभाव एउटै भएकोले केही फरक पर्दैन, मिल्न आउँछ। मृत नेताको आत्मा र जिवित नेता मिलेर बस्न सक्छन, एउटै किसिमको स्वभाव भएको कारणले गर्दा।”
एउटा गाउँलेले संका व्यक्त गर्यो “……………तर त्यस्तै स्वभाव भएको नेता कसरी खोज्ने?”
अर्कोले तत्काल उत्तर दियो “धन्दा, सुर्ता लिनु पर्देन, त्यस्ता नेताहरु थुप्रै देखिएका छन हाम्रो गाउँ घरमा, आज भोलि।”
अचम्म भयो! मृत नेताको आत्मा त्यो युवकबाट झिकेर त्यो झाँक्रीले एक जिवित नेतामा हाले पछि त्यो युवक पूर्ण रुपमा रोगमुक्त भएको थियो। 

Bishwa Raj Adhikari 

Saturday, November 10, 2012

Your Turn-Poem of the week-45

आफ्नो आफ्नो पालो

छोपिंदैन भन्छन घाम
सात बादल थपे पनि
रोकिंदैन ज्योति कत्ति
जे जस्तो परे पनि

तर जति जति उघ्रियोस भन्छन
कालो हुँदै गएको  छ आकाश
बादलले छोपिएर आज किन यस्तो
देखिएको छ निर्धो अति तेज प्रकाश

समयले पार्दो रहेछ तर कहिले
प्रदीप्त घाम पनि बाक्लो कालो
नियतिको खेल हो हजूर
कहिले यसको कहिले उसको पालो

Bishwa Raj Adhikari

Friday, November 9, 2012

Female Education Base For Economic Development-Article-66

महिला शिक्षा आर्थिक विकासको आधार सतम्भ

महिला शिक्षा व्यक्ति, परिवार एवं राष्ट्रको आर्थिक विकासको महत्वपूर्ण तत्वको रुपमा रहेको यथार्थलाई विकसित राष्ट्रहरुले स्वीकार गरेको तथ्य व्यवहारबाट नै देखिए पनि विकासशील राष्ट्रहरुमा भने  महिला शिक्षालाई अहिलेको यस्तो अति विकसित संचारको युगमा पनि महत्व नदिइएको विकासशील राष्ट्रहरुमा विद्यमान रहेको महिला साक्षरताको स्तरबाट प्रष्ट हुन आउँछ। अफ्रिका, लेटिन अमेरिका, एशिया, पूर्वी यूरोप लगायत मध्यपूर्वका धेरै राष्ट्रहरुमा महिलाहरुको  साक्षरता एवं शिक्षाको स्तर अहिले पनि कमजोर छ। यी क्षेत्रका धेरै महिलाहरु स्कूल, स्वास्थ्य सेवा, भूमि एवं आर्थिक स्रोतको उपयोग जस्ता सुविधाहरु बाट बंचित छन। विश्वमा भएका कुल निरक्षर मध्ये महिलाहरु मात्र करिब ६७ प्रतिशत निरक्षर छन। सामाजिक संस्कृति र परिवारहरुको बैचारिक पृष्ठभूमिले महिलाहरुलाई शिक्षाबाट बंचित पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। विकासशील राष्ट्रका निर्धन परिवारहरुमा महिला शिक्षाको स्थिति त झनै दयनीय छ। महिला साक्षरताको स्थिति हेर्दा केही राष्ट्रहरुमा ज्यादै कम मात्रामा महिलाहरु साक्षर रहेको पाइन्छ। अफगानिस्तान १२.६, बुर्किना फासोमा १५.२, चाडमा २४.२, इथोपियामा ३५.१, गाम्बिया ४०. ४, गिनीमा ३०,  मालीमा २०.३, नाइजरमा १५.१, सियरा लियोन २४.४, सोमालियामा २५.८, साउथ सुडानमा १६ प्रतिशत महिलाहरु मात्र साक्षर रहेको पाइन्छ। यसै गरी भारतमा ६५. ४, बंगलदेशमा ५२.२, नेपालमा ४८. ३, पाकिस्तान ४०.३ प्रतिशत महिलाहरु साक्षर रहेको पाइन्छ। जवकी विकसित मुलुकहरुमा महिला साक्षरता उच्च रहेको पाइन्छ। केही विकसित वा धनी मुलुकहरु, जस्तै अष्ट्रेलियामा ९९, बेल्जियममा ९९, डेनमार्कमा ९९, फ्रान्समा ९९, फिनलैन्डमा १००, जर्मनीमा ९९, जापानमा ९९, न्युजिलैण्डमा ९९, नर्वेमा १००, स्विट्जरलैण्डमा ९९, संयुक्त राज्य अमेरिकामा ९९, संयुक्त अधिराज्यमा ९९ प्रतिशत महिलाहरु साक्षर रहेको पाइएको छ।  
गरिब राष्ट्रका धेरै परिवारहरुले परम्परागत विश्वास एवं संस्कृतिको कारणले गर्दा बालिकाहरुलाई स्कूल पठाउन वा शिक्षा दिन अनावश्यक ठान्छन र गरिबीको सम्बन्ध महिला शिक्षासँग छ भन्ने यथार्थलाई पूर्ण रुपमा वेवास्ता गर्छन। उनीहरुले त्यस किसिमको व्यवहार गर्नु कारण पनि फेरि शिक्षाको अभाब नै हो। तर विकासशील राष्ट्रका, खास गरि निर्धन परिवारहरुले के बुझ्न आवश्यक छ भने गरिबी र महिला शिक्षा बीच गहिरो सम्बन्ध छ। गरिबीको कुचक्रबाट बाहिर आउन महिलाहरुलाई शिक्षित र शिक्षित पार्न नसके पनि कमसे कम साक्षर पार्न आवश्यक छ। महिलाहरु साक्षर भएर मात्र पनि परिवार र समाजलाई गरिबीको दल दल बाट बाहिर ल्याउन सक्छन। तर अहिले विकासशील राष्ट्रहरुमा परम्परागत विश्वास एव संस्कृतिको कारणले गर्दा महिलाहरुको कम उमेरमा विवाह गरि दिएर तथा उनीहरुलाई उचित शिक्षा प्रदान नगरेर महिलाहरुलाई मात्र होइन, परिवारहरुलाई नै झन झन निर्धन बनाउने कार्य भइ रहेको छ। अनुभवहरुले के देखाएका छन भने जुन देशले महिला शिक्षामा बढी जोड दिएको छ, नारी-अधिकारहरुको सम्मान गरेको छ, ले तुलनात्मक रुपमा द्रुततर गतिमा आर्थिक प्रगति गरेको छ। यो तथ्य अफगानिस्तान र बंगलादेशको तुलना गर्दा पनि प्रष्ट हुन आउँछ। बंगलादेशले महिला शिक्षामा अति नै जोड दिएको छ। बंगलदेशमा महिला साक्षरता अहिले ५२.२ प्रतिशत छ। जबकी यस्तो स्थिति अफगानिस्तानमा छैन। अफगानी परिवारहरु महिला शिक्षाप्रति उत्साही नभएकोले त्यहाँ महिला साक्षरताको स्थिति नाजुक छ। अफगानिस्तानमा १२ .६ प्रतिशत महिलाहरु मात्र साक्षर छन। बंगलादेशको प्रति व्यक्ति आय अमेरिकी डलरमा ($) १,७९०.२६ (PPP) छ भने अफगानिस्तानको ($) ९५६.०० (PPP) छ। बंगलादेशले महिला शिक्षामा जोड दिएको कारणले गर्दा राष्ट्र समृद्धि तिर अगाडि बढेको मात्र छैन साथै मुलुकले शिशु, बालबलिका एवं मातृ मृत्यु दर पनि कम पार्दै लगेको छ। बंगलादेश विश्वको तेस्रो ठूलो कपडा निर्यात गर्ने मुलुक पनि हो। बंगलादेशको कपडा उद्योगमा करिब तीस लाख व्यक्तिहरुले रोजगारी पाएका छन र ती रोजगारहरु मध्ये महिलाहरुको संख्या ९० प्रतिशत रहेको छ। बंगलादेशले करिब तीन चौथाइ निर्यात-आम्दानी कपडा निर्यातबाट नै प्राप्त गर्दछ।
महिलाहरुलाई आर्थिक विकासको महत्वपूर्ण संवाहक (Agent) मान्ने  गरिन्छ। महिला शिक्षित हुने बित्तिकै त्यसको सकारात्मक असर परिवारको आर्थिक जिवनमा पर्न जान्छ। एउटा शिक्षित महिलाले आफ्नो परिवारको संख्या (जन्म) मा नियन्त्रण गर्ने, सुरक्षित किसिमबाट प्रशुति गराउने, बाल बालिकालाई कुपोषणबाट जोगाउने, बाल बालिकालाई उचित शिक्षा दिने एवं घरमा बाल बालिकालाई अध्ययनको राम्रो वातावरण सृजना गरि दिने, स्रोत एवं साधनहरुको उचित व्यवस्थापन गर्ने जस्ता आर्थिक पक्षहरु सँग जोडिएका महत्वपूर्ण कार्यहरु गर्न सक्छीन। बाल बालिकाहरुको पहिलो पाठशाला भनेको घर हो र घरमा नै उनीहरुले जिवनका आधारभूत कुराहरु सिक्छन। घरमा बाल बालिकाको अधिकांश समय बाबु भन्दा आमासँग बित्ने हुनाले उनीहरुले बढी कुराहरु आमाबाट नै सिक्छन। यस अर्थमा बाल बालिकाहरुको पहिलो शिक्षक आमाहरु नै हुन। त्यसकारण आमाहरु साक्षर भएमा, शिक्षित भएमा, उनीहरुले आफ्ना बाल बालिकाहरुलाई उचित शिक्षा दिन सक्छन। सबल नागरिक बनाउन सक्छन।
नेपालको आर्थिक विकासलाई महिला शिक्षासँग जोड्न सकिन्छ। नेपालमा महिला शिक्षा सन्तोषप्रद स्थितिमा छैन र यो कारणले गर्दा पनि मुलुकको आर्थिक विकासको गति सुस्त हुन गएको हो। नेपालमा अहिले पनि धेरै परिवारहरु महिला शिक्षा प्रति उदासीन रहेको पाइन्छ। ती परिवारहरुले महिला शिक्षालाई महत्वहीन ठान्छन, छोरीहरुलाई स्कूल पठाउँदैनन्। तर यथार्थ के हो भने गरिबीलाई पराजित गर्न महिलाहरुलाई साक्षर एवं शिक्षित नपारी हुँदैन, छोरीहरुलाई स्कुल नपठाइ हुँदैन। महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर पार्न, उनीहरु माथि हुने अनेक किसिमका हत्या, हिंसा, अत्याचार एवं विभिन्न किसिमका भेदभाव नियन्त्र गर्न, महिलाहरुलाई साक्षर एवं शिक्षित पार्न आवश्यक छ। साक्षर एवं शिक्षित महिलाहरुको संख्यामा वृद्धि भएमा मात्र नेपालको आर्थिक विकासको गतिलाई द्रुततर पार्न सकिन्छ।
राष्ट्रलाई आर्थिक रुपमा सबल पार्न महिलाहरुलाई आर्थिक रुपमा आत्म निर्भर तुल्याउन आवश्यक छ। महिलालहरु राष्ट्रिय आर्थिक विकासका संवाहक हुन।
 करिब एक डेढ महिना पहिले, बीरगंजको आसपासमा एउटा ज्यादै दुखद एवं अकल्पनीय घटना घटेको थियो। त्यो घटना महिला हिँसासँग नै सम्बन्धित थियो। समाचारहरुमा उल्लेख भए अनुसार, उक्त घटनामा एक महिलाले आफ्ना दुई छोराहरुलाई इनारमा फालेर, पछि आफूले पनि उक्त इनारमा हाम फालेकी थिइन। जीतपुरको एक उद्योगमा कार्यरत आफ्ना पतिको यातना सहन नसकेर उक्त महिलाले त्यस्तो डर लाग्दो  कार्य गरेकी थिइन। पतिलाई रीस देखाउने झोकमा  आफ्नो र छोराहरुको हत्या गर्न खोज्ने ती महिलाको ज्यान जोगाउन भने उद्दारकर्ताहरु सफल भएका थिए। तर तिनका दुइ छोराहरुको भने ज्यान गएको थियो।
त्यो दर्दनाक घटनालाई महिला शिक्षा सँग जोड्न सकिन्छ। यदि ती महिला शिक्षित भइ दिएको भए उनले स्वंले नै पनि आय आर्जन गरेर आफ्ना सन्तानहरुको हेरचाह गर्न सक्थिन र दिनहुँ पतिको हिंसाको सिकार हुनु पर्थेन। शिक्षित भएर, आर्थिक रुपमा स्वावलम्बी भइ दिएको भए स्वतन्त्ररुपमा निर्णय लिन सक्थिन, त्यस्तो पीडक पतिमाथि आश्रित भएर बाध्यात्मक  स्थितिमा उनले बस्नु पर्ने थिएन। उनले राम्रो शिक्षा दिक्षा पाएको भए रीसको आवेगमा आएर आफ्नै सन्तानलाई मार्ने जस्तो अमानवीय कार्य गर्थिनन होला।  
नेपालमा, परिवार, समाज एवं समग्र राष्ट्रको आथिक विकास गर्न महिला शिक्षालाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउन आवश्यक छ। यस्तो अभियानलाई केवल राष्ट्रको वा सरकारको दायित्व मात्र मानेर व्यक्ति र परिवारहरु पन्छिन मिल्दैन। यो अभियानलाई व्यक्ति एवं परिवारहरुले त झनै महत्व दिन आवश्यक छ। नारी शिक्षालाई महत्व दिएर नै नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। महिला शिक्षा अभियानलाई अगाडि बढाउन कुनै जात, क्षेत्र आदिको आधारमा होइन, निर्धनताको आधारमा परिवारहरुलाई आर्थिक सहयोग गरेर छोरीहरुलाई स्कूल पठाउन सरकारले अभिभावकहरुलाई उत्प्रेरित गर्न आवश्यक छ।  निर्धन परिवारका छोरीहरुलाई सरकारले निशुल्क उच्च शिक्षा, प्राविधिक शिक्षा ( डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक) प्रदान गर्ने व्यवस्था गरेरमा महिला शिक्षाको स्तरमा वृद्धि हुन सक्छ। तर यो भन्दा पनि ज्यादै जरूरी, निर्धन परिवारहरुले छोरीहरुलाई स्कूल ल्याउने वातावरण सृजना गर्न, छोरीहरुलाई स्कूल पठाउने त्यस्ता परिवारहरुलाई सरकारले मासिक आर्थिक सहयोग गर्न आवश्यक छ। यस्तो गरेमा निर्धन परिवारहरु पनि छोरीहरुलाई स्कूल पठाउन उत्प्रेरित हुन्छ। तर मुख्य रुपमा भने छोरीहरुलाई स्कूल पठाउने संस्कृतिको विकासमा जोड दिन आवश्यक छ, खास गरि तराई र पहाडका गाउँहरुमा।

Bishwa Raj Adhikari 

Wednesday, November 7, 2012

The Party is Continue-Story 28


पार्टी चलिरहेछ

‘पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ?’ निताको यो प्रश्नले रविलाई झस्क्यायो।
‘किन एक्लो बसेको?’ यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्यायो, रविलाई। आफूलाई अलि व्यवस्थित पार्दे रविले भने ‘त्यता अलि हुने खानेहरुको मपाईँ गफ सुन्न मन नलागेर यता आएको। त्यता कि त ठूलो पदमा पुगेका घुस्याहा कर्मचारीहरु छन कि त टन्न कमाएका व्यापारीहरु, अनि उनीहरुको म यस्तो म उस्तो, मेरो यस्तो मेरो उस्तो किसिमका गफहरु। तिनीहरुका झ्याउ गफ सुन्न नसकेर यसो वाइन खाँदै सोच्दै बसेको यता।’
‘अनि, तिमी किन यता आएकी नि? सोमेश आइ पुग्ला, मेरो वाइफ कता हराई भन्दै, यता’ रविले हल्का मजाक गरे।
‘के को यता आउनु? एउटी केटीसँग गफ गर्नमा मस्त छ। दुई घण्टा भइ सक्यो गफ गरेको उसले, म छेउमै थिए, एक चोटी फर्केर पनि मतिर हेरेन, झुक्यिएर नै भए पनि। पार्टीमा आए पछि, वाइफलाई लाई पनि समय र साथ दिनु पर्छ नि। त्यसरी लठ्ठिनु हुन्छ केटी देख्ने वित्तिकै। बानी यस्तै हो जहिले पनि उसको, जहाँ पनि। उसको त्यस्तो चाला देखेर म पनि हिंडे यो चोटि’ निताले रवि नजिक आउनुको कारण प्रष्ट पारिन।
रवि उठे। निताको काँधमा हात राख्दै भने ‘वाइन ल्याइ दिउँ, आधा गिलास? दिमाग अलि हल्का पारि दिने छ……………।’
‘के को वाइन? ल्याउने हो भने ह्विस्की नै ल्याइ देउ, दुई पेग।’
***
ल्याएको ग्लास रविले नितालाई दिए अनि भने पनि ‘ह्विस्की नै हो, अलि बिस्तारै खानु, झ्याम्म लाग्ला फेरि।’
‘लाग्न देउ, त्यसरी नै लाग्नु परेको छ पनि।’
‘होइन, आज किन तिमी अलि फरक देखिएकी हँ, निता।’
‘यस्तो स्थितिमा पनि कसैले सामान्य भएर व्यवहार गर्न सक्छ त? हेर त, यहाँ आएर मैले तिमी सँग गफ गर्न थालेको पनि तीन घण्टा भइ सक्यो, सोमेश एक चोटी फर्केर पनि आएको छैन यता, मलाई खोज्दै। त्येता नदेखे पछि यता आउनु पर्ने होइन, ऊ?’
रविले भने ‘म त्यता गएर भनौं, सोमेशलाई, निता बाहिर, मेन गेटको नजिक छिन् भनेर।’
‘भयो, भन्नु पर्दैन। बरु एउटा कुरा भन्छु, मान्छौ।’
तिमी जस्तो घनिष्ट साथीले भनेको नमाने कसले भनेको मान्ने? भनेर हेर।’
‘आज म तिम्रो कोठामा सुत्छु, हुँदैन? तिमी अविवाहित मान्छे, एक्लै त होलाउ नि, कसो।’
निताको यो प्रस्तावले रविलाई अलि असहज स्थितिमा पुर्यायो। केही सोँच्न तल्लिन भए जस्तो देखिए उनी।
‘सोमेशले म सँग त्यस्तो गर्न हुने, अनि मैले किन नहुने उसँग त्यस्तो गर्न? अझै बढी नै गरेर देखाई दिन्छु उसलाई।’ निताको यो भनाइले रविलाई केही प्रभाव पार्यो। उनले भने ‘हुन्छ हिँड जाउँ, मेरो डेरा नजिकै छ यहाँबाट, पाँच मिनेटको बाटोमा। एउटा कुरा चाहिँ याद राख तर, म तिमीहरु-हसबेन्ड बाइफ बीचको टसलमा पर्न चाहन्न, है।’
***
पार्टी चलिरहेको घरबाट अदृश्य भएका रवि र निता, रातिको करिब बार्ह बजे रविको डेरामा प्रकट भए। दुई बजेसम्म एउटै बेडमा रहेर उनीहरु बीच धेरै कुराहरु भए। स्कूल जिवनदेखि कलेजबाट छुट्टिने बेलासम्मको, वर्तमान समयदेखि मौजुदा परिस्थितिसममको। कुरा गर्दा गर्दै कुन बेला निदाए, दुबैले पत्तो पाएनन। त्यस्तो हुनुमा अल्कोहलको हात पनि थियो।  
***
निता चार बजे विहान रविको डेराबाट फर्किदासम्म पार्टी चलिनै रहेको थियो। र त्यो भन्दा पनि अचम्मको कुरा सोमेश पुर्ववत गफ गर्नमा तल्लिन थिए, उही व्यक्ति सँग जो सँग घन्टो पहिले देखि गफ गरि रहेका थिए। गफ गर्ने पात्रहरु उही थिए, केवल समय बदलिएर साँझबाट बिहान भएको थियो। तर यो बदलिएको समयमा धेरै अरु कुरा हरु पनि बदलिएका थिए।
निता आफू नजिक उभिएको देखेर सोमेश झस्किए। नितालाई एक पटक हेरे तर बोलेन, पूर्ववत नै रहे। तर एक छिन पछि कुरा गरि रहेको व्यक्तिको काँधमा हात राख्दै भने ‘रन्जु, पछि फेरि फेटौला। यसो मलाई फोन गरे हुन्छ नि, है।’
सोमेशति हेर्दै निताले भनिन् ‘बल्ल सकियो कुरा, बाँकी भए अझै गरे हुन्छ। छ्यांग विहान भएको छैन क्यारे।’
रवि चर्किए ‘संकाको घेरा भन्दा बाहिर निस्केर पनि कुरा गर्ने गर न कहिले काहिँ,  निता।’ रविले थपे ‘हामीले गरेको कुरा कति गंभिर थियो थाहा छ तिमीलाई? अन्दाजसम्म पनि गर्न गार्हो हुने छ तिमीलाई।’
‘के थियो त्यस्तो, के थाहा हामीलाई? मैले सुनेको भए पो ………….’।
मैले जोसँग रात भरि कुरा गरे उनको नाम हो कमला। हामी कलेजमा सँगै पढ्ने गर्थ्यौ। उनलाई क्यान्सर भएको छ, ब्रेस्ट क्यान्सर। एउटा ब्रेस्ट काटेर फाल्नु पर्छ, डाक्टरको भनाई अनुसार। अविवाहित छिन। निरास भएर, आत्म हत्या गर्छु भन्छिन्। रात भरि सम्झाए पछि अलि आँट बढेको छ उनको । कमलालाई मैले राति नसम्झाएको भए…………….. त्येही रात आत्म हत्या गर्ने सुर थियो उनको, बुझेउ’
रविको भनाइले सत्य बोल्न उत्प्रेरित गर्यो नितालाई। निताले पश्चाताप बोध गर्दै भनिन ‘मलाई माफ गर, सोमेश। मैले रात भरि अनेक कुराहरु सोँचि रहे, उल्टो उल्टो, तिम्रो बारेमा। तिमीले रात भरि त्यसरी कुरा गरेको देखेर मैले न सोंच्नु पर्ने कुरा सोंचे अनि तिमीले गरेको त्यस्तो कार्यको बदला लिन म पनि हिँडे रविसँग।’
‘अनि, कहाँ नि…………………..।’
‘एक छिन पार्टी मै रहेर हामी लाग्यौ……….।’
‘कता नि………।’
‘रविको कोठामा।’
रविले अलि झोक्किएर भने ‘साँझ देखि नै रविको कोठामा बसेउ त?’
‘होइन, म र रवि उसको कोठामा राति बार्ह बजेतिर पुगेका थियौ। हामी त्यहाँ चार घण्टा जति बसेर पार्टी चलिरहेको ठाउँमा, यहाँ, आयौ फेरि।’
‘रविको कोठामा बस्नु बाहेक अरु पनि काम गरेउ। के गरेउ……..?’
 ‘सोमेश, म तिमीलाई सत्य कुरा भन्न चाहन्छु। रवि र म, एउटै खाटमा सुत्यौ अनि …………..
‘भो, भो, त्यो भन्दा अगाडि सुन्न चाहन्न म। सायद अब हामी सँगै बस्न सक्तैनौ होला।’
‘मैले सत्य बोल्नुको यत्रो ठूलो सजाए? खासमा, मेरो यसमा कुनै गल्ति नै छैन, सोमश।’
निताले आफ्नो भनाइ अझै प्रष्ट पार्न भनिन् ‘तिमीले त्यति लामो कुरा कमला सँग नगरेको भए मैले तिमीहरु बीच यस्तो त्यस्तो कुरा भइ रहेको भन्ने संका नै गर्ने थिन्। अनि तिमीले पनि त मलाई, कमलासँग कुरा भइ रहेकै क्रममा, एकै छिनका लागि भए पनि, आएर भनेनौ कि हामी बीच कुनै अरु कुरा होइन, जिवन मृत्युको कुरा भइ रहेको छ। तिमीले पनि संका लाग्ने गरी कमला सँगै कुरा गरेको गरै गरेउ, मलाई चटक्क पार्टीमा एकातिर एक्लै छाडेर। पार्टीमा त्यसरी एक्लिएर बस्ता रीस उठ्दैन त? अरु सँग कति कुरा गर्नु त, मैले? हुन त अरु सँग कुरा गर्न नै भनेर म रवि नजिक पुगेको थिए। रविको नजिक पुगे पछि नै, झन, मलाई पनि ड्रिंक गर्न मन लाग्यो। ड्रिंक गरे पछि, त्यो ड्रिंकले कता कता पुर्यायो, यो बरालिने मन कता कता गयो, कता कता, मात सँगै बहकेर।’
सोमेश मौन भएर सुन्दै थिए। प्रतिक्रियामा उनले कुनै पनि भनाइ राखेनन्। निताले नै भनिन् ‘एउटा कुरा भनौ सोमेश, यस्तो हुनुमा न त मेरो, न त तिम्रो, न त रविको नै कुनै गल्ति छ। रविलाई त मैले नै उसको डेरामा मलाई लिएर हिँड भनेको हो, तिमीले त्यस्तो गरेको रोषमा, आफूले ड्रिंक गरेको झोकमा। त्यसैले, रवि, म र तिमी यस्तो हुनुमा समय दोषी छ।’
निताले थपिन ‘हेर रवि, समय पनि एक व्यक्ति सरह हो। यसले पनि गल्ति गर्छ। अर्थात समयले व्यक्तिहरुलाई परिबन्धमा पार्छ। समयको दबाबमा आएर व्यक्तिहरुले नचाहँदा नचाँहदै पनि गल्ति गर्न पुग्छन। तर मानिसहरुले समयलाई दोष दिनुको साटो दोष व्यक्ति विषेश माथि नै थुपारी दिन्छन। समय चोखिएर बस्छ। त्यस्तो होइन। समय दोषी हुन्छ। समयलाई हामीले सजाए दिन सक्तैनौ, समयलाई नियन्त्रणमा राख्न पनि सक्तैनौ, समयले जे भन्छ त्यो गर्न बाध्य हुन्छौ, त्यो बेग्लै कुरा हो तर समयलाई हामीले प्रष्ट रुपमा भन्न सक्छौ, र भन्नु पर्छ पनि, एक व्यक्तिलाई भने जस्तो- समय, तँ दोषी होस् र तेरो दोष यो हो। समयले नै तिमीलाई मैले संकाको घेरामा राख्नु पर्ने स्थितिमा पुर्योयो, मलाई पर पुरुषकसँग रात बिताउन बाध्य तुल्यायो। त्यति मात्र होइन, रविलाई समेत पनि समयले गलत काम गर्न उत्प्रेरित गर्यो। त्यसैले यो सारा घटनाको दोष समय माथि लाग्नु पर्दछ। म निर्दोष माथि होइन। हामी सबै निर्दोष घोषित हुनु पर्दछ।’।
लामो समयको मौनता पछि सोमेशले मुख खोले। क्रोध मिश्रित स्वरमा भने ‘भो बन्द गर तिम्रो यो पट्यार लाग्दो लामो भाषण। भो ………….. भो……..।’
निताले रुँदै भनिन ‘अहिलेको यो घटनालाई हटाएर हेर, मैले कहिले पनि यस्तो त्यस्तो काम गरेको छु, यो भन्दा पहिले? छैन ……। मैले गरेको यो ……………समयले गराएको हो। त्यसैले म भन्छु, यस्तो हुनमा पूर्ण दोषी समय नै हो।’
यता सोमेश र निताको  कुरा चलिनै रहेको थियो, टुँगिएको थिएन। उता पार्टी पनि चलिनै रहेको थियो, विहान हुँदासम्म पनि, रोकिएको थिएन। 

Bishwa Raj Adhikari

Friday, November 2, 2012

Changes in Cuba-Article-65


क्युबामा घट्दो कम्युनिज्मको प्रभाव

 संसारमा अहिले कम्युनिष्ट राष्ट्रहरुको संख्या साँघुरिँदै गइ रहेको छ। कम्युनिष्ट राष्ट्रहरु औंलामा गन्न सकिने स्थितिमा पुगेका छन्। चीन, क्युवा, लाओस र भियतनाम गरी अहिले केवल चार राष्ट्रहरु मात्र कम्युनिष्ट राष्ट्रको रुपमा रहेका छन। हुन त केहीले उत्तर कोरिया (Democratic People’s Republic of Korea) लाई पनि कम्युनिष्ट राष्ट्रको रुपमा लिन्छन तर त्यहाँको शासन व्यवस्थामा कम्युनिज्मका सिद्धान्तहरु भन्दा पनि वंश परम्परा हाबि भएकोले उत्तर कोरिया कम्युनिष्ट राष्ट्र हो भन्ने कुरामा विवाद रहेको पाइन्छ। उत्तर कोरियाको राजकीय शासन व्यवस्थामा अहिले एउटै परिवारका सदस्य (बाबु, छोरा र नाति) हरुको पकड कामय रहँदै आएको छ। सन् १९४८ देखिनै उत्तर कोरियाको शासन व्यवस्थामा किम परिवारको हालि मुहाली रहँदै आएको छ। २८ वर्षिय किम जोंग-उन (किम जोंग-इलको छोरा तथा किम इल- सुंगका नाति) अहिले उत्तर कोरियाका प्रमुक नेता (Supreme Leader of North Korea) को पदमा आसिन छन्। उत्तर कोरियामा अहिले कम्युनिज्म भन्दा पनि एक निश्चित परिवारको अधिनायकत्व छ भन्दा अनुपयुक्त नहोला।
चीनमा पनि केवल राजनैतिक क्षेत्रमा मात्र कम्युनिज्म छ, आर्थिक क्षेत्रमा भने पूँजीवाद चारैतिर व्याप्त छ। चीनको आर्थिक क्षेत्रमा देखिएको परिवर्तन राजनैतिक क्षेत्रमा पनि त्यसै किसिमबाट हाबि हुँदै जाने हो भने केही वर्ष पछि चीनमा कम्युनिज्मको केवल अवशेष मात्र बाँकी रहने छ, त्यो पनि पुस्तकहरुमा।
कम्युनिज्मको डोरीलाई तुलनात्मक रुपमा बलियो सँग समातेर राखेको क्युवालाई भने त्यो डोरी चिर कालसम्म त्यसै किसिमबाट बलियो गरी समाति राख्न गार्हो हुँदै गएको संकेत मिल्न थालेको छ, त्यहाँ भइ रहेका सुधारका कार्यक्रमहरुको मूल्यांकन गर्दा। हुन पनि संसारका बाँकि राष्ट्रहरुले एकातिर तर क्युवाले भने अर्कोतिर मुख फर्खाउन खोज्नु सजिलो कार्य होइन पनि। क्युवाको कम्युनिष्ट सरकारलाई देशबासी र अन्तरार्ष्ट्रिय बिरादरीको दबाब खेप्न गार्हो परिरहेको छ, वर्तमान विश्व परिस्थितिमा। सामाजिक संजालहरुले विश्वलाई अति सानो गाउँको रुपमा परिणत गर्न अति प्रभावकारी किसिमले कार्य गरि रहेको मौजुदा परिस्थितिमा कुनै पनि राष्ट्र विश्वका बाँकी राष्ट्रहरु सँग अलथलग भएर बस्न गार्हो मात्र होइन असम्भव नै छ। वर्तमान विश्व, सुगम एवं प्रभावकारी संचार व्यवस्थाले युक्त रहेको मौजुदा परिस्थितिमा कम्युनिज्मको नाममा कुनै पनि राष्ट्रले आफूलाई विश्वका बाँकि राष्ट्रहरुसँग अलग थलग राख्न यस हुनाले पनि असम्भव छ कि अब कुनै पनि महत्वाकांक्षी नेताले देशबासीहरुलाई लामो समयसम्म मूर्ख बनाएर राख्न सक्दैन, गरिबहरुलाई झुक्याउन सक्दैन, गरिबहरुको गरिबी समाप्त पार्छु भन्ने झूठो सपना देखाएर। अहिले सम्म विश्वका अनेक राष्ट्रहरुमा भएका कम्युनिज्मको व्यवहारिक प्रयोगहरुको मुल्यांकन गर्दा के ज्ञात हुन्छ भने कम्युनिज्मको व्यवहारिक प्रयोगले  न त जनता, न त राष्ट्र नै धनी हुन सकेको छ। कम्युनिज्मले गर्दा उल्टो गरिब जनता झन झन गरिब भएर गरएका छन। धनीहरु भने झनै धनी भएर गएका छन, खास गरी नेताहरु। गरिबहरुको भागमा भने हिंसात्मक द्वन्द र ती द्वन्दका पीडादायी प्रभावहरु पर्न गएका छन।
कम्युनिज्मले विशेष गरी देशको अर्थ तन्त्रलाई ज्यादै नै प्रतिकूल प्रभाव पार्ने गरेको छ। यो यथार्थलाई क्युवाका कम्युनिष्ट नेताहरुले बुझ्न थालेका छन जस्तो देखिन थलेको छ। क्युवाका नेताहरुले कम्युनिज्मका कडा नियमहरुमा केही लोचता ल्याउन तत्पर रहेको देखाउन थालेका छन। हालै क्युवाको सरकारले त्यहाँका जनताले देश छाड्नका लागि अनिवार्य रुपमा लिनु पर्ने प्रस्थान अनुमति ( Exit permit ) को व्यवस्था हटाउने घोषणा गरेको छ। सन् २०१३ को जनबरी १४ देखि क्युवाका नागरिकहरुले देश छाड्नका लागि प्रस्थान अनुमति लिनु पर्ने छैन। पहिले भने क्युवा छाड्नेहरुले सरकारसँग अनुमति लिनु पर्ने मात्र होइन त्यस किसिमको अनुमति खोज्नेहरुलाई विश्वासघाती, देशद्रोही वा क्रान्तिको सत्रुको रुपमा हेर्ने गरिन्थ्यो। तर अब भने त्यो हेराइमा सुस्तरी नै भए पनि सुधार आउन थालेको छ। विदेश जान सजिलो पारिने व्यवस्थाले गर्दा स्वदेश फर्किने क्युबाका नागरिकहरुले विदेशबाट अनुभव, ज्ञान र सिपका साथै पूँजी समेत पनि ल्याउने विश्वास गरिएको छ। विदेशमा आर्जन गरेर स्वदेशमा खर्च गर्नेहरुको संख्या समेत पनि ठूलो हुन आशा गरिएको छ। आर्थिक कारणले क्युवा छाड्न चाहनेहरुको संख्या पनि कम छैन। हुनत क्युवा छाड्न कडा नियमहरुको सामना गर्नु पर्ने बेलामा पनि धेरै क्युवालीहरु गैर कानूनी रुपमा नै भए पनि विदेशतिर पलाएन हुन्थ्ये। अहिले लगभग १५ लाख क्युबालीहरु विदेशमा बसोबास गर्छन।
क्युवाको आर्थिक स्थिति राम्रो छैन। सोभियत यूनियन अस्तित्वमा हुँदा क्युवाले त्यहाँबाट निकै आर्थिक सहयोग प्राप्त गर्थ्यो। सोभियत यूनियनको अस्तित्व समाप्त भए देखि क्युबाले आर्थिक समस्याहरुको सामना गर्दै आउनु परेको छ। राष्ट्रिय अर्थ तन्त्रमा निजी क्षेत्रको अनुपस्थितिले गर्दा राष्ट्रले आर्थिक प्रगति गर्न सकेको छैन। अहिले क्युबाले भेनेजोएलाबाट आर्थिक सहयोग प्राप्त गरि रहेको छ। आर्थिक कारणले गर्दा नै पनि क्युवाका कम्युनिष्ट शासकहरु मौजुदा रहेको राज्य नियन्त्रित अर्थ व्यवस्थामा सुधार ल्याउन बाध्य भएका हुन। क्युबाले विगत पचास वर्षदेखि राज्य नियन्त्रित अर्थ व्यवस्था अभ्यास गर्दै आएको छ। राज्य नियन्त्रित अर्थ व्यवस्थाले न देश न त देशबासीलाई नै धनी पार्न सकेको छ, न त देशलाई आर्थिक रुपमा स्वाबलम्बी नै पार्न सकेको छ।
क्युबाको राजकीय शासन व्यवस्था दाजु फिडेल कास्ट्रोकोबाट सन् २००८ मा आफ्नो हातमा लिए देखि नै राष्ट्रपति राउल कास्ट्रोले राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा सुस्त रुपमा नै भए पनि सुधार गर्दै लगेका छन। तर केही आलोचकहरुको भनाइमा राष्ट्रपति राउलका यी सुधार कार्यहरु केवल कम्युनिष्ट व्यवस्थालाई क्युबामा टिकाइ राख्नका लागि मात्र गरिएका  हुन, देशमा आर्थिक र राजनैतिक स्वतन्त्रता ल्याउनका लागि भने होइनन्। अर्को थरिको बिचारमा भने मौजुदा विश्व परिस्थितिमा कम्युनिज्म टिकाइ राख्न असजिलो मात्र होइन असम्भव नै छ। र यो कारणले गर्दा पनि राष्ट्रपति राउलले सुस्त रुपमा नै भए पनि कम्युनिष्ट शासन प्रणालीमा सुधार गर्दै लगेको हुनु पर्दछ।
यी सबै घटनाहरुको सेरो फेरोमा एउटा तथ्य प्रष्ट रुपमा के देखिन थालेको छ भने कम्युनिज्म प्रतिको आम आकर्षण विकर्षणको रुपमा परिणत हुन थालेको छ, मुख्य गरी गरिबहरुको माझमा।
कम्युनिज्म किन यसरी, यति छिटै पलायनतर्फ लागेको होला त? किन यसले गरिबहरुलाई आकर्षित गर्न छाड्यो? यी प्रश्नहरुको उत्तर खोज्न अध्ययन र अनुसन्धानहरु भइ नै रहने छन्, आउँदा दिनहरुमा। सरसर्ति हेर्दा भने कम्युनिज्मको तिब्र पतनका केही कारणहरु यस प्रकार रहेका देखिन्छन्, ती हुन: १. महत्वाकांक्षी एवं व्यक्तिवादी नेताहरुले कम्युनिज्मको प्रयोग आफ्नो स्वार्थ पूर्तिका लागि गर्नु र गरिब जनतामाझ केवल समृद्धिको सपना बाँडेर उनीहरुको गरिबीको उपयोग गर्नु। २. नेताहरुले गरिबहरुको गरिबीलाई भर्याँगको रुपमा प्रयोग गरेर सत्ता र स्वार्थको सिखर चढ्नु र चिरकाल सम्म पनि शक्तिसाली पद ओगट्नु। ३. उत्पादनका साधनहरु- भूमि, पूँजी, श्रम र संगठन माथि राज्यको अति नियन्त्रण हुनु र उत्पादन एवं वितरणमा निजी क्षेत्रको महत्वलाई पूर्णरुपमा वेवास्ता गर्नु। ४. नेताहरुले गरिबहरुलाई उत्पादनमूखि कार्यमा संलग्न गराउनुको साटो आफ्नो स्वार्थ सिद्धिका लागि उनीहरुलाई हतियार बोक्न लगाएर हिंसक बिद्रोह गर्न उत्प्रेरित गर्नु। ५. गरिबहरुलाई हिंसक बनाएर मारकाट गर्ने मनस्थितिमा पुर्याउनु तर स्वावलम्बी हुने वातावरण सृजना नगरि दिनु। यस किसिमका अवस्थाहरु खास गरि नेपाल लगाएत अन्य विकासशील राष्ट्रहरुमा देख्न सकिन्छ।  

Bishwa Raj Adhikari

Published in Prateekdaily on Friday, November 2, 2012