Friday, May 31, 2013

Can India Be World Superpower?- Article-91 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

१४. के भारत आर्थिक महाशक्ति राष्ट् हुने छ?

सन् २०५० सम्ममा भारत विश्वकै सर्वाधिक धनी राष्ट्र हुने छ। भारतले आर्थिक क्षेत्रमा अगुवाई गर्ने छ र विश्वमै सर्वाधिक शक्तिसाली, आर्थिक महाशक्ति हुनेछ। यस किसिमको अनुमान केवल आर्थिक क्षेत्रका विज्ञहरुले मात्र होइन, राजनैतिक पण्डितहरुले पनि गरि रहेका छन। र त्यस्तो अनुमान गर्नेहरुमा विकसित देशका अर्थशास्त्रीहरु समेत पनि छन्। सन् १९८० पछि, भारतमा जुन किसिमले आर्थिक जागरणको युग आरम्भ भयो, त्यहाँका प्रभावशाली व्यक्तिहरु मात्र होइन, सरकार समेतले आर्थिक सुधार (उदार अर्थ नीति, नीजीकरण, खुलाबजार) को कार्यक्रममा जोड दियो, त्यसले सुस्त गतिमा चलेको भारतको अर्थ व्यवस्थालाई दौडायो र प्रतिस्पर्धात्मक समेत तुल्यायो। एक किसिमले भन्ने हो भने भारतीय अर्थ व्यवस्था प्रतिस्पर्धाको अग्र पंक्तिमा रहेका राष्ट्रहरुको हारा हारिमा पनि आयो। अब भने भारतीय अर्थ व्यवस्थाले सबै प्रतिस्पर्धीहरुलाई उछिनेर एक नम्बरमा पुग्ने कसरत गर्दै छ।  
स्वतन्त्र भारतको पहिलो प्रधान मंत्री जवाहरलाल नेहरुको सपना ‘समाजवाद’ ले हालसम्म निरन्तरता पाएको भए, भारतीय अर्थ व्यवस्था अहिले पनि कछुवाको चालमा घस्रिरहेको हुन्थ्यो, दौडिने सक्थेन, वर्तमानमा जस्तो। मुलुकमा समाजवादको विकास गर्ने नेहरुको सपनाले केवल उनको समयमा मात्र कार्य गरेन, पछिका प्रधान मंत्रीहरु इन्दिरा गाँधीदेखि राजिब गाँधीसम्म पनि कायम रह्यो, नेहरुको त्यो सपना, उनीहरुले पनि समाजवादमा जोड दिए। भारतले समाजवादमा जोड दिएको समयमा सरकारले सार्वजनिक संरचनाहरु (Public infrastructures) को स्थापनामा निकै जोड दियो, सार्वजनिक संस्थानहरुको स्थापनामा निकै लगानी गर्यो पनि, जुन पछि गएर मुलुकको लागि आर्थिक भार हुन पुग्यो। तर भारतका नवौं प्रधान मंत्री (सन् १९९१-१९९६) नरसिंहा रावको समयमा भने भारतको समाजवादी अर्थ तन्त्रले निरन्तरता पाएन। उनले त्यो क्रमलाई सुस्तरी नै भए पनि तर तोडे। तोड्ने आँट गरे। प्रधान मंत्री नरसिंहा रावको समयमा भारतले खुला र उदार अर्थ नीति अवलम्वन गरेर पूँजीवादको युगमा प्रवेश गर्यो। अनि त्यस पछि शुरु भयो, भारतमा चमत्कारी किसिमले आर्थिक प्रगति हुने सिलसिला। रावले मुलुकमा कायम रहेको लाइसेन्स प्रथा (License Raj) को समाप्तिमा निकै जोड दिए। उनका आर्थिक सुधारका कार्यक्रमहरुलाई पछिका प्रधान मंत्रीहरु अटल बिहारी बाजपेयी र मनमोहन सिंहले पनि निरन्तरता दिए। रावको आर्थिक सुधारका कार्यक्रमहरुलाई अगाडि बढाउनमा तत्कालिन अर्थ मंत्री एवं हालका प्रधान मंत्री डा.मनमोहन सिंहको साथ एवं योगदान पनि महत्वपूर्ण रह्यो। प्रधान मंत्री रावले आफ्ना आर्थिक सुधारका कार्यक्रमहरुलाई लागु गर्न मनमोहन सिंहलाई अर्थ मंत्री नियुक्त गरेका थिए। केही विश्लेषकहरुको भनाईमा, आर्थिक सुधारका कार्यक्रमहरुको शुरूवात कर्ता राव भएता पनि त्यसलाई प्रभावकारी किसिमले व्यवहारमा लागु गर्न (समाजवादी बाट पूँजीवादी  अर्थ व्यवस्थामा रुपान्तरित गर्न) मा सिंहको भूमिका अति नै महत्वपूर्ण रहेको छ। परम्परागत रुपमा भारतमा चलि आएको समाजवादी अर्थ व्यवस्थालाई पूँजीवाद तर्फ लान, राजनैतिक स्तरबाट पहल एवं अनुमोदन समेत गराउनमा रावको भूमिका भने अतुलनीय रहेको मानिन्छ। रावको यस किसिमको ऐतिहासिक कार्यले गर्दा नै उनलाई “चाणक्य” एवं “भारतीय आर्थिक सुधारका पिता” पनि भन्ने गरिन्छ।
भारत स्वतन्त्र भएदेखि नै तत्कालिन सोभियत संघ सँगको सम्बन्धलाई प्रगाढ पार्नमा भारतको नीति केन्द्रित रह्यो। त्यस बेला, पाकिस्तान र चीनसँगको सम्बन्ध कटुटतापूर्ण भएकोले आफ्नो सामरिक स्थितिलाई मजबूत पार्न भारतले त्यस किसिमको नीति अख्तियार गरेको हुन सक्तछ, सोभियत संघलाई अति विश्वासिलो मित्रको रुपमा लिएको हुन सक्तछ। तर भारतको, सोभियत संघसँगको अति निकटतापूर्ण सम्बन्धले गर्दा भारतमा समाजवादी नीति हावी हुन पुग्यो। परिणामस्वरुप, जन शक्ति र प्राकृतिक स्रोतहरु भरपूर भएता पनि विकासको गतिले तिब्रता लिन सकेन। अर्कोतिर, सोभियतसँगको प्रगाढ सम्बन्धले गर्दा भारतमा साम्यवादी सिद्धान्तको विस्तार हुन सजिलो पनि उत्तिकै भयो। यदि भारतको सम्बन्ध, सोभियत रुसको सट्टा संयुक्त राज्य अमेरिकसँग शुरुदेखि नै घनिष्ट भएको भए र भारतले स्वतन्त्रता प्राप्त गर्नासाथ पूँजीवादी अर्थ नीति अंगालेको भए यो मुलुकले अहिले जापान, चीन, जर्मनी, फ्रान्स आदिलाई आर्थिक प्रगतिको प्रतिस्पर्धामा पछाडि छाड्न सफल हुन्थ्यो।
प्रजातन्त्र भएको विश्वको सर्वाधिक ठूलो र जनसंख्याको आधारमा विश्वको दोस्रो ठूलो राष्ट्र भारत लामो समय ( 1800s-1947 )  सम्म बेलायतको अधिनमा रह्यो। तर पनि, कुनै समयमा उपनिवेशको रुपमा रहि सकेका  विश्वका अन्य मुलुकहरुको तुलनामा भारतले निकै आर्थिक प्रगति गरेको छ, पछिल्लो ज्यादै छोटो समयमा। सन् १९९० पछि त भारतमा पुनर्जागरणको युग, आर्थिक विकासको युगको प्रारम्भ भयो। आर्थिक समृद्धि हासिल गर्न कम्मर कसरे लागि परेको भारतलाई यहाँसम्म पुर्याउनमा यो मुलुकले अंगिकार गरेको अर्थ नीति, पूँजीवादी अर्थ नीतिको भूमिका अत्यन्तनै महत्वपूर्ण छ।
भारतले दुई पटक (सन् 1970/1990)  आणविक परीक्षण गरि सकेको छ। यसै गरी आफ्नै सेटेलाईट पनि प्रक्षेपण (सन् 2008 ) गरी सकेको छ।
बजार बिनिमय दरको आधारमा भारत विश्वको दसौं ठूलो अर्थ व्यवस्था हो। परचेजिंग पावर पैरिटी (PPP) को अनुसार भने तेस्रो ठूलो राष्ट्र। भारतको आर्थिक वृद्धि दर उच्च रहँदै आएको छ। बितेका दुई दसकमा औसत आर्थिक वृद्धि दर ५.८ प्रतिशत थियो भने सन् 2011-12  मा   .१ प्रतिशत हुन पुग्यो।  लगभग ५० करोड कामदारहरुको उपस्थिति रहेको (सन् 2011) भारतको श्रम बजार विश्वको दोस्रो ठूलो श्रम बजार हो। कुल गार्यहस्थ उत्पादनमा, सेवा क्षेत्रको योगदान ५५.६, उद्योग क्षेत्रको २६.३ र कृषि क्षेत्रको १८.१ प्रतिशत रहेको छ। विश्व व्यापारम भारतको अंश, सन् 2008 मा, १.६८ प्रतिशत थियो। र सन् 2011 मा भारत विश्वको दसौं ठूलो आयातकर्ता थियो भने नवौं ठूलो निर्यातकर्ता। यहाँको उपभोक्ता बजार विश्वकै ११ रौं ठूलो उपभोक्ता बजार मानिन्छ। सूचना प्रविधिको क्षेत्रमा भारत निकै अगाडि छ भने, औषधिको उत्तादनमा पनि उत्तिकै सबल हुँदै गएको छ। भारतका औषधिहरुले विश्व बजारमा आफ्नो बलियो स्थान बनाउँदै छन्। भारतको सिनेमा उद्योग देश भित्र मात्र बलियो छैन, भारतमा उत्पादन भएका हिन्दी सिनेमाहरु विश्वका धेरै राष्ट्रका दर्शकहरुले हेर्ने गर्दछन।
भारतको बलियो आर्थिक स्थितिले यो मुलुकलाई आर्थिक रुपमा मात्र होइन राजनैतिक रुपमा पनि बलियो पार्दै लगेको छ। क्षेत्रीय साथै विश्व राजनैतिक रंग मंचमा समेत पनि भारतले आफ्नो उपस्थितिलाई प्रभावशाली पार्दै लगि रहेको छ। यसै वर्षको फेब्रुअरी महिनामा, बेलायतका प्रधान मंत्री डेभिड क्यामरुन भारतको भ्रणमा आउँदा उनी घटना स्थलमा नै पुगी श्रद्धांजली दिने बेलायतको पहिलो बहालबाला प्रधान मंत्री हुन पगेका थिए। जलियाबाला बागमा मारिएका व्यक्तिहरुलाई श्रद्धांजली दिन क्यामरुन अमृतसर, घटना स्थलमै, पुगेका थिए। अमृतसर स्थित जलियाबाला बाग त्यो स्थान हो जहाँ ‘पब्लिक मिटिंग” का लागि जम्मा भएका सर्वसाधारण माथि तत्तकालिन ब्रिटिस राजको सेनाले चारैतिरबाट घेराहाली गोली चलाएको थियो। यो घटना सन् 1919 को अप्रिल 13 तारिखमा घटेको थियो। सो घटनामा मारिएकाहरुको संख्या तत्कालिन प्रशासनका अनुसार ३७९ थियो भने भारतीय स्रोतहरुका अनुसार मरिनेहरु एक हजारको हाराहारीमा थिए। क्यामरुनले त्यो हत्यालाई “ब्रटिस इतिहासको अति लज्यास्पद घटना” बताएका थिए भने त्यहाँ रहेको शोक पुरस्तिकामा “हामीले यहाँ के भएको थियो कहिले बिर्सन हुन्न ( We must never forget what happened here) ” भनी लेखेका थिए। प्रधान मंत्री क्यामरुन द्वारा भएको भारतको यो भ्रमणले तथा भारतीय राजनीति प्रति उनले देखाएको चाँसोले विश्व राजनीति रंगमंचमा भारतले आफ्नो भूमिकालाई कुन किसिमले बलियो र अर्थपूर्ण पार्दै लगि रहेको छ भन्ने कुराको संकेत गर्दछ।
भारतले उल्लेखनीय किसिमले आर्थिक प्रगति यो बितेको बीस पच्चिस वर्षमा गरेको हो। पूँजीवादको प्रयोग गरेर भारतले उल्लेखनीय किसिमले आर्थिक प्रगति  गर्यो र गरि रहेको छ पनि। यो गएको बीस पच्चिस वर्षलाई भारतले भने कुशलतापूर्वक उपयोग गर्यो तर नेपालमा भने यो समय उपलब्धिविहीन भएर गयो। आर्थिक रुपमा उपलब्धिविहीन भयो नै राजनैतिक रुपमा पनि उपलब्धिबिहीन होला जस्तो छ। नेता र जनता दुबै समयमै सचेत नहुने हो भने नेपाललाई, अन्य मुलुकहरुले गरेको प्रगतिको केवल साक्षी बस्नु बाहेक अरु केही हात लाग्ने छैन, यस्तै स्थितिले निरन्तरता पायो भने।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 31, 2013

Friday, May 24, 2013

France: Europe's Second Superpower-Article-90 Birth, Development, and Usage of Capitalism


पूँजीवादको जन्म, विकास र प्रयोग

१३. यूरोपको दोस्रो महाशक्ति फ्रान्स

विश्वका आर्थिक महाशक्ति राष्ट्रहरु मध्ये फ्रान्स पनि एक हो। फ्रान्सलाई आर्थिक रुपमा सक्षम पार्नमा यस मुलुकले अंगिकार गरेको आर्थिक नीतिले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। तर यो मुलुकलाई आर्थिक र सामरिक, दुबै किसिमले सक्षम पार्नमा भने यो मुलुकले कुनै समयमा खडा गरेको उपनिवेशहरु र तिनका स्रोत एवं साधनहरुले सर्वाधिक महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। फ्रान्सले, आफूले विस्तार गरेको उपनिवेशका साधन र स्रोतहरुको व्यापक उपयोग गरेको हुनु पर्दछ, जुन किसिमले संयुक्त अधिराज्यले गर्यो। तर स्रोत र साधनहरु जुन किसिमले उपलब्ध भएता पनि त्यसको प्रभावकारी किसिमले उपयोग गर्ने त्यहाँको जनता नै हो। त्यसकारण फ्रान्सलाई आर्थिक रुपमा यति सक्षम पार्नमा यस मुलुकको जनता, नेता तथा सरकारको भूमिका अहम् रहेको सहजै भन्न सकिन्छ। अहिले भने, र खास गरी सन् २००८ देखि फ्रान्सको अर्थ तन्त्र समस्या ग्रस्त हुन  पुगेको छ।
फ्रान्समा बेरोजगारी लगभग ११ प्रतिशत छ। र यसै गरी यहाँका युवाहरु मध्ये करिब २५ प्रतिशत युवाहरुसँग रोजगारी छैन। फ्रान्समा अहिले ३२ लाख (3.22 million ) भन्दा बढी व्यक्तिहरुले रोजगारी खोजि रहेका छन्। फ्रान्सको अर्थ तन्त्र अहिले कमजोर हुन पुगेको छ। यसै गरी अर्थ तन्त्रको प्रतिस्पर्धात्मक क्षमतामा पनि ह्रास आएको छ। कमजोर हुन थालेको अर्थ तन्त्रमा सुधार ल्याउन फ्रान्सले विभिन्न उपाय (आर्थिक सुधारका कार्यक्रम) हरु प्रयोग गर्ने घोषणा गरेको छ। तर यसको अर्थ फ्रान्स आर्थिक रुपमा ज्यादै नै कमजोर हुन पुगेको भने होइन। यो मुलुक अहिले पनि आर्थिक रुपमा उत्तिकै बलियो छ।
फ्रान्स, पश्चिमी यूरोपको सबै भन्दा ठूलो राष्ट्र हो र यूरोपमा नै भने तेस्रो ठूलो राष्ट्र हो। यो राष्ट्र यूरोपको दोस्रो ठूलो अर्थ तन्त्र पनि हो। कुनै समयमा विश्वका अनेक मुलुकहरुमा उपनिवेश खडा गर्ने यो मुलुक अहिले पनि विश्वको पाँचौ ठूलो अर्थ तन्त्र हुनमा सफल भएको छ। क्रय शक्तिको हिसाबले भने यो विश्वको नवौं बलियो क्रय शक्ति हुने राष्ट्र हो। यूरोपको अति धनी राष्ट्र मध्ये एक फ्रान्स, विश्व मै चौथो सर्वाधिक धनी राष्ट्र मानिन्छ। उनिसौं सप्ताब्धि र बिसौं सप्ताब्धिको शुरुमा, यो विश्वको दोस्रो ठूलो उनिवेश स्थापना गर्ने राष्ट्र थियो र यसका साम्राज्य उत्तरपश्चिम अफ्रिका, मध्य अफ्रिका, उत्तर अमेरिका, इण्डोनेशिया, भारत, दक्षिणपूर्व चीन, करेबियन, पेसिफिक आइलैण्डहरुसम्म फैलिएको थियो।
फ्रान्सेलीहरुको जिवन स्तर (living standard) उच्च मानिन्छ र यहाँको स्वास्थ्य सुबिधा विश्व मै उत्कृष्ट छ। यहाँका नागरिकहरु औसत आयु पनि लामो छ। खानपिन संस्कृतिको धनी राष्ट्र फ्रान्स, विश्व प्रसिद्ध वाइनहरुको उत्पादक पनि हो र साथै पर्यटकहरुको मन पर्ने गन्तब्य पनि। बर्षेनी करिब ८ करोड पर्यटकहरुले फ्रान्सको भ्रमण गर्दछन। फ्रान्स, संयुक्त राष्ट्र संघको संस्थापक सदस्य हुनुका साथै संयुक्त राष्ट्र संघ, सुरक्षापरिषद्का पाँच स्थाइ सदस्यहरु मध्ये एक पनि हो। यसै गरी, यूरोपियन यूनियनको एक संस्थापक सदस्य पनि हो। यूरोपियन यूनियनमा फ्रान्सको भूमिका प्रभावकारी, एक किसिमले भनौ अगुवाई गर्ने किसिमको नै छ। हुन त यूरोपियन यूनियनमा हालीमुहाली जर्मनीको मात्र छ भन्ने पनि उत्तिकै छन। फ्रान्स G8, G20, NATO, OECD, WTO को सदस्य पनि हो। विश्व व्यापार संगठनका अनुसार, सन २००९ मा, फ्रान्स विश्वको छैठौ ठूलो निर्यातक राष्ट्र हुन पुगेको थियो। यस बाहेक यो मुलुक विदेशमा सर्वाधिक लगानी गर्ने राष्ट्रहरु मध्ये एक पनि हो। कृषिको क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गरेको छ, यो देशले। यूरोपियन यूनियनले गर्ने कुल कृषि वस्तुको निर्यात मध्ये फ्रान्स एक्लोले २० प्रतिसत निर्यात गर्दछ। विश्वमै सर्वाधिक कृषि वस्तु निर्यात गर्ने राष्ट्रहरुमा फ्रान्सको स्थान तेस्रो छ। स्याम्पेन (champagne) र बोर्डो (Bordeaux)  फ्रान्सका विश्व प्रसिद्ध वाइन हुन।
६ लाख ७४ हजार ८४३ वर्ग किलोमिटरमा फैलिएको फ्रान्सको जनसंख्या (सन् २०१२) ६ करोड ५३ लाख ५० हजार रहेको छ। कुल गार्यहस्थ उत्पादन (पि पि पि), अमेरिकी डलरमा, २. २५४ ट्रिलियन (सन् २०१२ को अनुमान) छ। प्रति व्यक्ति आय भने, अमेरिकी डलरमा, ३५ हजार ५४८ छ। फ्रान्सले मुद्राको रुपमा, साझा मुद्रा “यूरो” प्रयोग गर्दछ। फ्रान्स एक वहुसांस्कृतिक मुलुक हो जहाँ पचास लाख भन्दा बढी व्यक्तिहरु अरब र अफ्रिकी मुलका छन।  
फ्रान्सले आफूलाई पूँजीवादी राष्ट्र भन्न रुचाउँदैन। विभिन्न सन्दर्भहरुमा फ्रान्सले मिश्रित अर्थ व्यवस्था अंगालेको भनी उल्लेख गरिएको पाइन्छ पनि। फ्रान्सको अर्थ नीतिको विशेषता र त्यसको प्रयोगलाई हेर्दा यो मुलुकले समाजवादी अर्थ नीति अवलम्बन गरेको पाइन्छ। र अर्को कुरा, फ्रान्सले विगतमा, भन्नका लागि हालसम्म पनि, समाजवादी अर्थ नीति अंगालेको भनेता पनि वर्तमानमा फ्रान्सका अर्थ नीतिहरुमा भएका परिवर्तनहरुको अध्ययन र विश्लेषण गर्दा, यो मुलुक पूँजीवादको दिशा तर्फ अग्रसर भएको पाइन्छ। सन् १९९० देखि फ्रान्स विस्तारै पूँजीवाद तर्फ ढल्केको देखिन्छ। ठूलो संख्यामा, करिब पच्चिस लाख जति निजी कम्पनीहरु दर्तामा छन। तर अहिले पनि महत्वपूर्ण उद्योगहरु- रेल, आणविक ऊर्जा, संचार, विधृत, हवाइ जहाज निर्माण आदि, मा सरकारको हिस्सेदारी वा प्रभाव बढी छ। स्थिति यस्तो भएता पनि सरकारले मुलुकको उद्योग व्यापारमा आफ्नो भूमिका कम पार्दै लाने र निजी क्षेत्रको भूमिका बढाउने अग्रसरता देखाएको छ। यसो हेर्दा फ्रान्समा समाजवादप्रति अहिले पनि जनताको लगाव रहेको पाइन्छ। वर्तमान राष्ट्रपति फ्रान्स्वाँ ओलां, फ्रान्स्वाँ मित्राँ (सन् १९८१-१९९५) पछि, पहिलो समाजवादी राष्ट्रपतिको रुपमा निर्वाचित भएर आएका छन।
सामरिक रुपमा, यूरोपमा अति नै शक्तिसाली मानिने राष्ट्र, फ्रान्सको अहिले पनि अफ्रिकी राष्ट्रहरुमा, खास गरी पहिले उपनिवेश रही सकेका मुलुकहरुमा बलियो प्रभाव छ।
फ्रान्सले प्रथम र दोस्रो विश्व युद्धमा ठूलो जन र धनको क्षति बेहोरेको थियो। त्यसैले पनि होला, दोस्रो विश्व युद्ध पछि यसले आर्थिक विकासमा नै बढी ध्यान केन्द्रित गर्यो। फ्रान्स लगायत क्षेत्रीय विकासमा सहयोग पुर्याउन यूरोपियन यूनियनको स्थापना (ट्रिटी अफ पेरिस- २३ जुलाई १९५२, ट्रिटी अफ रोम- १ जनवरी १९५८, ट्रिटी अफ मास्ट्रिच- १ नोभेम्बर १९९३) मा जोड दियो। युद्धका पीडाहरुको नराम्रो अनुभव संगालेको हुनाले फ्रान्स अहिले मुलुकको आर्थिक विकासमा बढी केन्द्रित छ। नेपालमा, पंचायतकालको बन्द एवं सुस्त अर्थ व्यवस्थले जन्माएका समस्याहरु, ४७ साल पछिको वेथितिको स्थिति, माओवादी संघर्षका पीडा, ६३ साल पछिको राष्ट्रिय अराजकताको दर्द आदि भोगी सक्ता पनि, झिन मसिना विमतिहरुलाई भूलेर, राष्ट्रको आर्थिक विकासमा, सबै मिलीजुली अगाडि बढ्नु पर्छ भन्ने सोंच नेताहरुमा आउन सकेको छैन। उता, जनता पनि विभाजित, अलमल (confused)  र निराशाको दलदलतर्फ लागेको देखिएको छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 24, 2013

Friday, May 17, 2013

Germany: Europe's Superpower-Article-89 Birth, Development, and Usage of Capitalism


पूँजीवादको जन्म, विकास र प्रयोग

१२. यूरोपको महाशक्ति जर्मनी

यूरोपको आर्थिक महाशक्ति राष्ट्र जर्मनीले पनि पूँजीवादी अर्थतन्त्र अँगालेर नै यति ठूलो आर्थिक उपलब्धि हासिल गर्न सफल भएको हो। जर्मनी विश्वकै तेस्रो ठूलो निर्यात (सन् २०११ को अनुमान) गर्ने राष्ट्र हो। यूरोपियन यूनियनलाई छाडेर कुरा गर्ने हो भने जर्मनी, विश्वको दोस्रो ठूलो निर्यात गर्ने मुलुक हो। निर्यातमा यसले संयुक्त राज्य अमेरिका र जापानलाई समेत उछिनेको छ। जर्मनीले यूरोपियन यूनियनको अगुवाई नै गरे झै प्रतित हुन्छ किनभने यूरोपियन यूनियनमा जर्मनीको नै दबदबा छ। भन्नका लागि जर्मनीले, आफूले पूँजीवादी अर्थतन्त्र अँगालेको भन्दैन, सोसल मारकेट इकोनोमी (Social Market Economy) अँगालेको भन्दछ। तर सोसल मारकेट इकोनोमी र पूँजीवादी अर्थ तन्त्र बीच खासै ठूलो अन्तर भने देखिँदैन। सोसल मारकेट इकोनोमीमा पनि बजारलाई स्वतन्त्र किसिमले काम गर्न दिइएको हुन्छ र केवल आवश्वक परेको बेलामा मात्र राज्यले हस्तक्षेप गर्दछ।
सोसल मारकेट इकोनोमी भनेको के हो?
बजार अर्थ तन्त्र र राज्य नियन्त्रित अर्थ तन्त्रको संमिश्रण हो सोसल मारकेट इकोनोमी। अर्थात सोसल मारकेट इकोनोमीमा खुला र स्वतन्त्र बजार अर्थ नीतिका र राज्य नियन्त्रित अर्थ व्यवस्थाका दूरगुणहरुलाई हटाएर केवल तिनका सद्गुणहरुलाई समाविष्ट गरिएको हुन्छ। सोसल मारकेट इकोनोमी जति खुला बजार नीतिको पक्षधर हो त्यतिकै पक्षधर सामाजिक न्यायको पनि हो। तर सोसल मारकेट इकोनोमीको समाजवादसँग कुनै किसिमको, नजीकको साइनो भने रहेको पाइँदैन। न त यसको सम्बन्ध अति उदार अर्थ तन्त्र् (Laissez-faire; विनिमय व्यवस्थामा राज्यको पटक्कै हस्तक्षेप नहुने) सँग नै रहेको पाइन्छ। सोसल मारकेट इकोनोमीले निजी क्षेत्रलाई स्वतन्त्रतापूर्वक काम गर्न त दिन्छ तर निजी क्षेत्रले सामाजिक दायित्वको निर्वाह नगरेमा यसले राज्यलाई हस्तक्षेप गर्न निर्देशित गर्दछ। सोसल मारकेट इकोनोमीले मानवता वा सामाजिक दायित्वलाई केन्द्र विन्दुमा राखेर कार्य गर्दछ।
सोसल मारकेट इकोनोमीलाई समन्वयित बजार अर्थतन्त्र (Coordinated Market Economy) को रुपमा हेर्ने गरिन्छ। यसलाई  प्राय: रिह्ने पूँजीवाद (Rhine Capitalism) पनि भन्ने गरिन्छ। यो अर्थ नीतिको प्रवर्द्धन एवं प्रयोग तत्कालिन पश्चिम जर्मनीमा, सन् १९४९ मा, क्रिश्चियन डेमोक्रेटिक यूनियनको समयमा गरिएको थियो र त्यति बेला कोनार्ड एडनर चान्सलर थिए। यो अर्थ तन्त्रलाई मिश्रित अर्थ तन्त्रको रुपमा पनि लिन सकिन्छ, यसको प्रकृति हेर्दा। सोसल मारकेट एकोनोमीले जर्मनीको सामाजिक जिवनमा निकै नै सकारात्मक प्रभाव पारेको विश्वास गरिन्छ। केही व्यक्तिहरुको भनाईमा म त बजार अर्थ तन्त्रले सामाजिक न्यायका लागि सोसल मारकेट इकोनोमीबाट सिक्नु पर्ने कुराहरु धेरै छन।
यूरोपको सर्वाधिक सक्तिशाली राष्ट्र जर्मनीले यूरोपियन यूनियनको बजेटमा बांकी सदस्य राष्ट्रहरु भन्दा बढी रकम (सन् २०११) प्रदान गर्दछ। कुशल श्रमिकहरुको संख्य उच्च रहेको यो राष्ट्रमा भष्ट्राचार ज्यादै नै न्युनत्तम स्तरमा छ। सेवा र उद्योगको क्षेत्रमा यसले निकै प्रगति गरेको छ, कृषिको तुलनामा। कुल गार्यहस्थमा उत्पादनमा सेवा क्षेत्रको लगभग ७१ प्रतिशत योगदान छ भने उद्योगको २८ प्रतिशत। यसै गरी, कृषि क्षेत्रको योगदान १ प्रतिशत रहेको छ। अनौपचारिक स्रोतका अनुसार, यहाँ सन् २०११ मा, ५.७ प्रतिशत बेरोजगारी थियो। जर्मनीसँग ठूलो परिमाणमा पूँजी छ भने यहाँ सर्वाधिक खोज एवं अनुसन्धान कार्यहरु हुने गर्दछन्। यी कार्यहरुले नै जर्मनीलाई तिब्र प्रतिस्पर्धामा अघि अघि रहि रहन निकै सहयोग पुर्याएको प्रतीत हुन्छ पनि। जनवरी १, २००२ मा जर्मनीले साझा यूरोपियन मुद्रा, “यूरो” प्रयोगमा ल्याएको थियो। तर जर्मनीले, यूरोपियन यूनियनका सदश्य, र मुख्य गरी यूरो प्रयोगकर्ता राष्ट्रहरु मध्ये सर्वाधिक आर्थिक फाइदा उठाएको आरोप खेप्दै आएको पनि छ। केहीको भनाईमा यूरोको प्रयोगले यूरोका प्रयोगकर्ता केही राष्ट्रहरुलाई गरिब बनाउनमा महत्वपूर्ण भूमिका खेलेको छ। अर्को शब्दमा भन्ने हो भने यूरोको प्रयोग जर्मनीले अन्य सदस्य राष्ट्रहरु भन्दा आफूलाई राम्रो आर्थिक फाइदा प्राप्त हुनका लागि गरेको हो। यस्तो तर्क गर्ने हरुको संख्या पनि कम छैन।
स्टक बजारमा सूचिकृत भएका (सन् २०१० मा, आयको आधारमा मापन गरिएका) विश्वका ५०० सर्वाधिक ठूला कम्पनीहरु मध्ये ३७ बटा कम्पनीहरुको मुख्यालय जर्मनी रहेको पाइएको थियो। जर्मनी स्थित ३० बटा कम्पनीहरु डेक्स (DAX- German Stock Market Index) मा समाविष्ट गरिएका छन्। मर्सिडिज-बेन्ज, बि एम डब्ल्यू, सिइमेन्स, भक्सवेगन, एडिडास, एडी एलिनाज, पोस्चे, बेयर, बोच, निभिया जर्मनीका विश्व प्रख्यात ब्रान्डहरु हुन। साना र मझौला जर्मनीका धेरै उद्योगहरुले आफ्नो क्षेत्रमा विशेषज्ञता प्राप्त गरेको विश्वास गरिन्छ। यस्ता धेरै जर्मनका उद्योगहरुले विश्व बजारमा अग्रणी स्थान प्राप्त गरेका छन पनि।
जर्मन अर्थ तन्त्रलाई ज्यादै बलियो अर्थ तन्त्र मान्ने गरिन्छ। अमेरिकामा आर्थिक चुनौतिहरु देखा पर्ने चिंता व्यक्त भइरहँदा, यूरोजोनका अन्य राष्ट्रहरुले आर्थिक समस्या बेहोरिरहँदा र यसै गरि मध्यपूर्वका देशहरुले उथल पुथलका सामना गरिरहँदा जर्मनी भने आर्थिक समस्याहरुबाट पिरोलिएको थिएन।  हालको आर्थिक मन्दीको समयमा, अमेरिकामा बेरोजगारीमा वृद्धि (सन् २००७ मा ४.६ प्रतिशत बाट सन् २०११ मा ९ .० प्रतिशत) भएको थियो भने जर्मनीमा घटेको (८.५ बाट ७ . १ प्रतिशत) थियो।
जर्मनीलाई युरोपको औधोगिक शक्ति गृह (Europe’s Industrial Powerhouse) भन्ने गरिन्छ। यस्तो भन्नुको कारण के हो भने यो मुलुको निर्यातमा निकै शक्तिसाली छ।
जर्मनीलाई आर्थिक रुपमा ज्यादै बलियो तुल्याउनमा यस मुलुकले अँगिकार गरेको अर्थ नीतिले महत्वपूर्ण भूमिका खेलेको छ। तर अर्थ नीतिलाई कार्य गर्न सजिलो तुल्याउन अन्य तत्वहरुको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। जर्मनहरु ऋण लिन हिचकिचाउँछन र आफ्ने स्रोतमा निर्भर रहन मन पराउँछन। धेरै ऋण लिनु सामाजिक रुपमा राम्रो मानिदैन। रोजगारदाता र कामदारहरु बीचको सम्बन्ध पनि सौहार्दपूर्ण छ। रोजगारदाताहरुले कामदारहरुका अशल कार्यलाई पुरष्कृत गर्ने एवं तिनका उपलब्धिहरुको सार्वजनिक रुपमा प्रशंसा गर्ने एक किसिममको सामाजिक चलन जस्तो छ, जर्मनीमा। अन्य मुलुकहरुको तुलनामा, जर्मनीमा, रोजगारदाता र कामदारहरु बीचको सम्बन्ध ज्यादै नै न्यानो मानिन्छ। यो मुलुकको शिक्षा प्रणालीले पनि राष्ट्रलाई औधौगिक रुपमा अति सबल तुल्याउनमा उल्लेखनीय योगदान पुर्याएको छ। दिउँसोको खाना पछि स्कूलको कक्षा सकिन्छ र विद्यार्थीहरु घर फर्किन्छ।  र यस्तो, स्कूले विद्यार्थीहरुले बढी समय परिवार सँग बिताउँन भन्ने उद्देश्यले गरिन्छ। जर्मन शिक्षाले पारिवारिक र समाजिक सम्बन्धलाई निकै महत्व दिन्छ। अर्कोतिर कामलाई पनि उत्तिकै महत्व दिन्छ, किनभने अपर सेकेन्ड्री सकूलका आधा जति विद्यार्थीहरुलाई व्यवसायिक तालिम दिइन्छ भने आधालाई काममा लगाएर नै तालिम दिइन्छ। यस प्रकार, मुलुकको आर्थिक, सामाजिक विकासका लागि चाहिने आवश्यक जन सक्ति तयार पार्ने कार्य स्कूलबाट नै आरम्भ हुन्छ। जर्मन शिक्षा पद्धतिले मुलुकको आर्थिक विकासका लागि आधार तत्व व्यवसायिक शिक्षा हो भन्ने कुरामा अति नै जोड दिन्छ।
केहीले भने जर्मनीलाई यूरोको प्रयोगले पनि आर्थिक रुपमा झन झन सक्षम हुन सहयोग पुर्याएको हो भन्ने तर्क गर्छन्।
३ लाख ५७ हजार ०२१ वर्ग किलोमिटरमा फैलिएको जर्मनीको जनसंख्या (सन् २०१० को अनुमान) ८ करोड १७ लाख ९९ हजार ६०० रहेको छ। कुल गार्यहस्थ उत्पादन, पि पि पि मा, (सन् २०१२ को अनुमान) अमेरिकी डलरमा ३. १९७ ट्रिलियन रहेको उल्लेख छ। यसै गरी, प्रति व्यक्ति आय, अमेरिकी डलरमा ३९ हजार ०२८ रहेको पाइन्छ। जर्मनीले प्रयोग गर्ने मुद्रा यूरो हो।
जर्मनीको जनसंख्याको स्थिति हेर्दा नेपाल भन्दा ज्यादै बढी व्यक्तिहरु यहाँ बसोबास गरेको देखिंदैन। तर पनि जर्मनीले आर्थिक प्रगतिमा चमत्कार नै गरेको छ। जर्मनीलाई आर्थिक विकासको पथमा वायु वेगमा दौडाउनमा यो मुलुकले अँगिकार गरेको अर्थ नीतिको ठूलो हात छ। व्यवसायिक जनसक्ति तयार पार्नमा यो मुलुकले देखाएको प्रतिवद्धताको पनि अहंम् भूमिका छ। उद्योगहरुको विस्तार र रोजगारदाता एवं  कामदारहरु बीचको सुमधुर सम्बन्ध पनि जर्मनीको आर्थिक विकासको एक कारक तत्व हुन पुगेको छ। नेपालमा भने यी कुराहरु देख्न गार्हो परि रहेको छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 17, 2013

Friday, May 10, 2013

Super Power America-Article-88 Birth, Development, and Usage of Capitalism


पूँजीवादको जन्म, विकास र प्रयोग

११. आर्थिक महाशक्ति अमेरिका

पूँजीवादी अर्थतन्त्र अँगालेर छोटो समयमा संसार भरिमै सर्वाधिक आर्थिक प्रगति गरेको कुनै मुलुक छ भने त्यो हो संयुक्त राज्य अमेरिका। अमेरिकाले गएको ५० वर्षमा, खास गरि  विज्ञान र प्रविधिको क्षेत्रमा, यति बढी प्रगति गर्यो जुन एक राष्ट्रलाई विकासको दौडमा सबै भन्दा अगाडि पुर्याउन पर्याप्त थियो र त्यही प्रगतिले अमेरिकालाई  छोटो समयमा विश्वमै सर्वाधिक धनी राष्ट्र बन्नमा ठूलो सहयोग पुर्यायो। संयुक्त राज्य अमेरिकाको रुपमा, यो देशको स्थापना भएको धेरै भएको छैन। सन् १७७६ को जुलाई ४ मा संयुक्त राज्य अमेरिकाले ग्रेट ब्रिटेन (बेलायत) बाट स्वतन्त्रता प्राप्त गरेको हो। यहाँको संविधान सन् १७८७ मा लेखिएको हो जुन वर्तमान समय सम्म कायम छ। यो देशको अर्थ व्यवस्था पूँजीवादी हो भनी प्रष्ट रुपमा यो राष्ट्रले उल्लेख गरेको पाइन्छ। संयुक्त राज्य अमेरिकाको स्थापना हुनु भन्दा पहिले, यूरोपनियनहरु यस स्थानमा बसाइ सरेर आउँदा, यहाँ नेटिभ अमेरिकन वा अमेरिकन इन्डियनहरुको बसोबास थियो। यूरोप, जनसंख्याको अनुपातमा साँघुरिंदै  गएको अर्थात उब्जाउ जमिनको अभाव हुन थालेकोले यूरोपियनहरु आर्थिक समृद्धिका औसरहरुको खोजी गर्न यो मुलुकमा बसाई सरेर आएका थिए। उनीहरु यो मुलुकमा आउनुका अन्य उद्देश्यहरुमा –उन्मुक्ति, राजनैतिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता आदि पनि थिए। यूरोपियनहरु यस भूखण्डमा आउनुको प्रमुख उद्देश्य भने आर्थिक समुन्नति नै थियो  र त्येही उद्देश्ले उनीहरुलाई केवल आर्थिक विकासमा बढी केन्द्रित रहन प्रेरित गर्यो पनि। बसाइ सरेर आएकाहरु बढी मात्रामा आर्थिक विकासमा मात्र केन्द्रित रहन थालेकोले आर्थिक विकासका पूर्वाधारहरु – सडक, ऊर्जा, भवन, संचार, यातायात, वीत्त बजार, कुशल जन सक्ति, प्रविधि आदिको निरन्तर रुपमा विकास हुँदै गयो। यूरोपबाट आउनेहरुको आर्थिक विकास प्रतिको चाहना र प्रतिवद्धता अमेरिकाको आर्थिक विकासको आधारशिलको रुपमा स्थापित हुन पुग्यो। यसरी बाहिरबाट आउनेहरु आर्थिक विकासका लागि कटिवद्ध मात्र थिएनन्, पूँजीवादी अर्थ तन्त्रद्वारा राष्ट्रको आर्थिक विकास द्रुततर गतिमा गर्न सकिन्छ भन्ने तथ्यमाथि बलियो गरी विश्वास गर्नेहरु पनि थिए।   
विगत पचास वर्षमा र मुख्य गरी दोस्रो विश्व युद्ध पछि, अमेरिकाले उल्लेखनीय किसिमले आर्थिक प्रगति गर्यो। दोस्रो विश्व युद्ध पछि, विश्वका अन्य विभिन्न राष्ट्रहरु आफ्ना विभिन्न आन्तरीक कलह र केही वाह्य समस्याहरुमा अल्झिएर बसे तर अमेरिकाले भने त्यो समयलाई विश्वको सर्वाधिक धनी राष्ट्र हुनमा भरपूर उपयोग गर्यो। ऐतिहासिक कालमा उपनिवेश खडा गर्ने मुलुकहरु- बेलायत, स्पेन, फ्रान्स आदिले उपनिवेश खडा गरिएका राष्ट्रहरुका साधन र स्रोतहरुको व्यापक उपयोग गरेका थिए  र त्यही साधनहरुको उपयोगबाट उपनिवेश खडा गर्ने ती राष्ट्रहरु धनी भएका थिए पनि। तर पछि जब औपनिवेशिक युग समाप्त हुन थाल्यो, उपनिवेश रहेका राष्ट्रहरु स्वतन्त्र हुन थाले, साम्राज्य विस्तार गर्ने ती राष्ट्रहरु सदा कालिन धनी रहि रहन सकेनन् किनभने उनीहरुले पछिल्लो समयमा अन्य राष्ट्रका साधन स्रोतहरुको उपयोग गर्न पाएनन। तर अमेरिकाले कतै उपनिवेश खडा नगरेको र केवल आफ्नै साधन र स्रोतहरुको मात्र उपयोग अनुकूलतम किसिमले गरेको हुनाले सदा कालिन धनी हुने औसर प्राप्त गर्यो र त्यो औसर अहिले पनि प्राप्त छ, कायम छ। अमेरिकाले आफ्नो मुलुक भित्र उपलब्ध रहेका साधन र स्रोतहरुको  बढी भन्दा बढी उपयोग वैज्ञानिक किसिमले गर्यो। मुख्य गरी आफ्नो मुलुक भित्र उपलब्ध रहेका फराकिला जमिनका टुक्राहरु जुन ठूलो परिमाणमा उपलब्ध थिए, अहिले पनि छन्, लाई ब्यापक मात्रामा उपयोग गर्यो। जमिनका ती ठूला ठूला टुक्राहरुलाई अत्यधिक मात्रामा उपयोग गर्दा परम्परागत कृषि पद्धतिलाई निरन्तरता दिनुको साटो समय अनुसार, कृषिमा मेसिन, औजार, प्रविधि आदिको प्रयोग पनि समय सापेक्ष किसिमले गर्दै गयो। कृषिमा उन्नत बिऊ, मल आदिको राम्रो गरी प्रयोग गर्यो। कृषि उत्पादनको भण्डारन सुबिधालाई प्रभावकारी पनि उत्तिकै पार्यो। यी कार्यहरुले गर्दा एकातिर ठूलो परिमाणमा उत्पादन सम्भव भयो भने अर्कोतिर उत्पादन लागत पनि कम हुन पुग्यो। उत्पादन लागत कम पार्दै, ठूलो परिमाणमा उत्पादन गर्न सकेकोले जनताले सस्तोमा खाद्य लगाएत अन्य सामाग्रीहरु खरिद गर्न पाए साथै मुलुकबाट ठूलो परिमाणमा निर्यात पनि सम्भव भयो। आधुनिक किसिमले खेति गरेको कारणले गर्दा नै अमेरिका खाद्य उत्पादनमा आत्मनिर्भर हुँदै गयो भने विश्वका प्रमुख निर्यातक राष्ट्रहरु मध्ये एक हुनमा सफल समेत पनि भयो। अमेरिका, अहिले यूरोपियन यूनियनलाई छाडेर कुरा गर्ने हो भने, विश्वको तेस्रो ठूलो (सन् १९११ को अनुमान) निर्यातक मुलुक हो। विगत पचास वर्षमा अमेरिकाले कृषिको क्षेत्रमा अभूतपूर्व प्रगति गर्यो।  
आफ्ना नागरिकहरु, निल आर्मस्ट्रोंग र बज एलड्रिनले सन् १९६९ को जुलाई २१ मा चन्द्रमाको धरातलमा टेके पछि अमेरिकाले वैज्ञानिक खोज र आविष्कारको , विश्वमा नै, नेतृत्व नै लिए सरह भयो। यस पछिको समयमा, विज्ञान र प्रविधिको क्षेत्रमा एक पछि अर्को उपलब्धि अमेरिकाले प्राप्त गर्दै गयो। फेसबुक, गुगल, यूटुब आदि समाविष्ट अहिलेको ‘अति संचार युग’ को सर्जक भइ सक्दा पनि अमेरिकाले विज्ञान र प्रविधिको क्षेत्रमा अगुवाई लिने सिलसिला जारि नै छ। संचारको क्षेत्रमा भएका उपलब्धिहरुले पनि अमेरिकालाई विकास पथमा द्रुततर गतिमा दौडाउन उत्तिकै महत्वपूर्ण भूमिका खेलेका छन्।   
अमेरिकालाई विश्वको आर्थिक महाशक्ति तुल्याउनमा के के तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका होलान त? सडक निर्माण र विज्ञान एवं प्रविधिको क्षेत्रमा निरन्तर अनुशन्धान र विकास जस्ता दुई कार्यहरुले अमेरिकालाई आर्थिक समृद्धिको दिशामा द्रुततर गतिमा दौडिन अहम् भूमिका खेलेको हुनु पर्दछ, अमेरिकाको विकासको इतिहासलाई नियालेर हेर्दा त्यस कुराको संकेत मिल्छ। हुन त अमेरिकाले अन्य क्षेत्रहरुमा गरेको उपलब्धिहरुले पनि यो मुलुकलाई आर्थिक महाशक्ति तुल्याउनमा अहम् भूमिका खेलेका छन। मुद्रा र वीत्तको क्षेत्रमा पनि अमेरिकाले धेरै उपलब्धिहरु हासिल गरेको छ। अमेरिकी डलरको विनिमय संसार भरि नै हुन्छ र अमेरिकी डलर संसार भरि छरिएको मात्र होइन स्वीकार पनि गरिन्छ। अमेरिकाको पूँजी बजार विश्वमै प्रभावकारी मानिन्छ।  
अमेरिकामा दुई किसिमका सडकहरु; शहरी सडक (city, street roads)  र राजमार्ग (highways) रहेको पाइन्छ। शहरी सडकहरु शहर भित्र हुने गर्दछन। शहरी सडकहरुमा, सवारीको आवागमनलाई व्यवस्थित पार्नका लागि ट्राफिक लाइट राखिएको हुन्छ। सबारीको गतिलाई नियन्त्रित गर्नका लागि भने स्पिड लिमिट लेखिएका साइन बोर्डहरु पनि ठाउँ ठाउँमा राखिएका हुन्छन्। शहर भित्रका सडकहरुमा सबारीहरुलाई सामान्यतया २० देखि ५० माइलको गतिमा  चलाउन साइन बोर्डको माध्यम द्वारा चालकहरुलाई  सूचित गरिएको हुन्छ।
राजमार्गहरुमा भने तिब्र गतिमा सबारीका साधनहरु दौडिउन भनी, सामान्यतया, कम्तिमा ४० र बढीमा ७० माइलको गतिमा सबारीका साधनहरु दौडाउन, राजमार्गहरुमा राखिएका साइन बोर्डहरुद्वारा, सूचित गरिएको हुन्छ। राजमार्गहरुले एउटा राज्यलाई अर्को राज्यसँग जोड्ने कार्य गर्दछन। अन्तर राज्य व्यापारलाई सजिलो तुल्याउँछन्। भनिन्छ, अमेरिकाका अन्तर राज्य राजमार्ग (Interstate highway) हरुले दैवीय विपत्ति, युद्ध वा यस्तै किसिमका नाजुक अवस्थामा हवाई जहाजहरु अवतरण गराउने क्षमता राख्छन।  तिब्र गतिमा सबारीका साधनहरु लामो लामो दूरी सम्म बेरोकटोक दौडिउन भन्ने उद्देश्य राखेर राजमार्गहरुको निर्माण गरिएको हो। राजमार्गहरु बिरलै शहरको भित्रबाट जाने गर्दछन। राजमार्गहरुमा ट्राफिक लाइट राखिएको हुँदैन जसले गर्दा कुनै अवरोध बिना, तिब्र गतिमा गाडीहरु दौडिनका लागि सक्षम हुन्छन, बेरोकटोक गन्तब्य तर्फ बढ्छन्। अमेरिकाका विभिन्न राज्यहरुलाई एक आपसमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने लामा लामा र फराकिलो राजमार्गहरुमा १८ पांग्राका भिमकाय ट्रकहरु दौडेको सजिलै देख्न सकिन्छ। राजमार्गको एकातिरबाट चार ओटा र अर्कोतिर बाट चार ओटा सबारीका साधनहरु तिब्र गतिमा दौडिन सक्छन।  खाद्यान्न, तरकारी देखि लिएर औद्योगिक उत्पादनसम्म, उत्पादित स्थान (राज्य) बाट बिभिन्न अन्य राज्यहरुसम्म पुर्याउन अमेरिकामा सडक व्यवस्थाले अति नै महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।  अमेरिकाको राजमार्ग व्यवस्था, संसारमै सर्वाधिक ठूलो मान्ने गरिन्छ। यस प्रकार अमेरिकाको अर्थ व्यवस्थालाई अति समृद्ध पार्नमा सडक व्यवस्थाको अति नै महत्वपूर्छ भूमिका रहेको पाइन्छ। तर एक शब्दमा भन्ने हो भने अमेरिकालाई आर्थिक उन्नतिको सिखरमा पुर्याउने श्रेयता भने यस मुलुकले अवलम्वन गरेको पूँजीवादी अर्थ तन्त्र वा बजार अर्थ तन्त्रलाई नै जान्छ।   
    
विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 10, 2013

Friday, May 3, 2013

Japan's Economic Achievement-Article-87 Birth, Development, and Usage of Capitalism


पूँजीवादको जन्म, विकास र प्रयोग

१०. जापानले प्राप्त गरेको आर्थिक उपलब्धि

विगत ५० वर्षको अवधिमा केही पूँजीवादी मुलुकहरुले अभूतपूर्व किसिमले आर्थिक विकास गरे। यो तथ्यको पुष्टि ती मुलुकका जनताको आर्थिक जिवनमा आएको सुधारबाट देख्न सकिन्छ। हुन त कम्युनिष्टहरुले ती मुलुकको आर्थिक प्रगतिलाई ठूलो उपलब्धिको रुपमा लिदैंनन् र तर्क के गर्छन भने ती देशमा भएका आर्थिक प्रगतिहरुले केवल केही सीमित व्यक्तिहरुलाई धनीबाट अति धनी बनाउने काम मात्र गरे तर त्यहाँका गरिब जनताको आर्थिक जिवनमा खुसहाली ल्याउन सकेनन्।  
धनी राष्ट्रहरुमा, पूँजीवादले गरिब र धनी बीचको दूरी झन झन फराकिलो पार्दै लगेको छ र यो बढ्दो दूरीले गर्दा ती मुलुकमा बस्ने गरिब जनताको जिवन झन झन कष्टकर हुँदै गएको छ। कम्युनिष्टहरुको यो भनाइमा कुनै सत्यता छैन।  यो केवल उनीहरुको भ्रम मात्र हो। धनी देशहरुमा, गरिब र धनी बीचको दूरी फराकिलो हुन्छ, यो सत्य हो, तर यस सत्यसँग गाँस्सिएको अर्को सत्य के पनि हो भने पूँजीवादी वा धनी राष्ट्रहरुमा गरिबहरुले जिवनका न्यूनत्म आवश्यकताहरु- भोजन, आधारभूत शिक्षा आदि पूरा गर्न पाएका हुन्छन। धनीहरुले उपभोग गरे सरहका अनेक वस्तुहरु उपभोग गर्न नपाए तापनि दुइ छाक भने खान पाएका हुन्छन।
त्यसकरण, कम्युनिष्टहरुले, अहिलेको यो ‘विश्व बजार’ को युगमा पूँजीवादको बिरोध गरेर राष्ट्र र जनतालाई झन झन दरिद्र बनाउने कार्य नगरे हुन्छ। गरिब मुलुकहरुमा कम्युनिष्टहरु ठूलो संख्यामा हुने र राष्ट्रिय राजनीतिलाई उनीहरुले ज्यादै नै प्रभावित गर्न सक्ने हैसियत राख्ने भएकोले पूँजीवादको सदुपयोग गरिब जनताको हितमा कसरी गर्न सकिन्छ, त्यस बारे कम्युनिष्टहरुले गंभिरतापूर्वक सोंच्न आवश्यक छ, गरिबहरुको लागि केही गर्ने इच्छा राखेको हो भने। नेपालका कम्युनिष्टहरुले त झनै गंभिरतापूर्वक सोंच्न आवश्यक छ किनभने नेपालको राजनीतिमा कम्युनिष्टहरुको अति प्रभावले गर्दा गरिबहरुको आर्थिक जिवनमा सुधार आउनुको साटो उनीहरु झन झन गरिब हुँदै गएका छन। नेपालमा रोजगारीको क्षेत्र ज्यादै संकुचित हुँदै गएको छ भने उपभोग्य वस्तुको मूल्यले आकाश छुदै छ।
गएको पचास वर्ष कम्युनिष्टहरुले केवल पूँजीवादलाई गाली गर्नमा खर्च गरे, पूँजीवादको प्रयोग गरेर गरिब जनतालाई दुई छाक टार्न सजिलो हुने वातावरण सृजना गर्नुको साटो। नेपालका कम्युनिष्टहरुले पनि पूँजीवादलाई निकै गाली गरे। पूँजीवादलाई एक काल्पनिक भूत बनाएर आफूहरु पनि डराए, जनतालाई पनि डराउनु पर्छ है भन्ने सन्देश दिए, त्यस अनुसारको आचरण गर्न जनतालाई बाध्य समेत पनि पारे। हुनत पूँजीवादको प्रयोगबिना गरिब जनताको आर्थिक प्रगति सम्भव छैन भन्ने यथार्थ केही कम्युनिष्ट नेताहरुलाई थाहा थियो, र अहिले पनि छ, तर उनीहरुले यो कुरा जनता सामु ल्याउनुको साटो गरिब जनताको पूँजीवाद विरुद्धको मनोविज्ञान आफ्नो स्वार्थ पूर्तिमा गरे, आफूलाई राजनीतिको केन्द्रमा राख्नमा दूरुपयोग गरे। यो स्थिति नेपालमा पनि उत्तिकै देखियो। अर्कोतिर,  बितेको यो ५० वर्षको अवधिलाई धनी राष्ट्रहरुले मुलुक र जनतालाई अझै धनी तुल्याउन सदुपयोग गरे।   
कम्युनिष्टहरुले पूँजीवादलाई केवल गाली गरे तर पूँजीवादको विकल्पमा, गरिबहरु लाई सहयोग गर्ने किसिमको, अर्को आर्थिक व्यवस्था दिन सकेनन्, साम्यवादी अर्थ व्यवस्था धराशायी भएको देख्दा देख्दै पनि, यदि पूँजीवादको बिरोध गर्नु नै थियो भने। धनी देशहरुले भने पूँजीवादलाई आर्थिक विकासको साँचो माने। यो व्यवस्था प्रयोग गरेर आफ्ना गरिब जनताको आर्थिक स्थितिमा सुधार ल्याए। यो अवधिमा ती राष्ट्रहरुले वीत्तिय बजारलाई बलियो बनाए, ठूलो राष्ट्रिय पूँजीको निर्माण गरे, सडक, पुल, बन्दगरगाह, विमानस्थल, भवन आदिमा अत्यधिक लगानी गरे। उद्योगहरुको स्थापना ठूलो संख्यामा गरे। श्रम बजारलाई संगठित पारे। आफ्नो मुलुकको व्यापरलाई विश्वब्यापी तुल्याउन अनेक किसिमका अध्ययन एवं अनुसन्धान गरे। अनुसन्धान र नया प्रवधि (जस्तै; उत्पादन लागत कम पार्ने) को विकासमा ब्यापक खर्च गरे। र सबै भन्दा ठूलो कुरा त, आन्तिरक एवं वैचारिक मतभेद चर्को भएता पनि, मुलुकको विकासका लागि एकमत भए, धनी राष्ट्रका नेताहरु, अनि जनता पनि।   
गएको पचास वर्षको अवधिमा संयुक्त राज्य अमेरिका, क्यानाडा, जापान, अष्ट्रेलिया लगाएत अन्य केही राष्ट्रहरुले ले पूँजीवादको व्यवाहारिक प्रयोग गरेर जनताको आर्थिक जिवनमा ठूलो सकारात्मक परिवर्तन  मात्र ल्याएनन् स्थानीय स्तरमा उपलब्ध रहेका स्रोत एवं साधनहरुको भरपूर प्रयोग गर्दै आफ्नो मुलुकलाई धनी पनि उत्तिकै पारे।  यो लेखमा भने विश्वको तेस्रो ठूलो (सं रा अमेरिका र चीन पछि) अर्थ व्यवस्था, अर्थात जापानले पूँजीवादको प्रयोग गरेर प्राप्त गरेको आर्थिक उपलब्धि बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ।
नेपाल १ लाख ४७ हजार १८१ वर्ग किलो मिटरमा फैलिएको छ भने जापान ३ लाख ७७ हजार ९४४ वर्ग किलो मिटरमा। जापान, क्षेत्रफलको हिसाबले हेर्ने हो भने नेपाल भन्दा केवल ३८.९५ प्रतिशतले ठूलो छ। जापान, नेपालको तुलनामा ज्यादै ठूलो राष्ट्र होइन, क्यानाडा वा संयुक्त राज्य अमेरिका झै। तर आम्दानीको हिसाबले हेर्न हो भने, जापान नेपाल भन्दा अति नै माथि छ। नेपालको प्रति व्यक्ति आम्दानी जापानको भन्दा निकै कम छ। यस्तै स्थिति कुल गार्यहस्थ उत्पादनको पनि छ। सन् २०१२ को अनुमान अनुसार जापानको प्रति व्यक्ति आम्दानी (पि पि पि) अमेरिकी डलरमा, ३६ हजार २६६ रहेको पाइन्छ। यसै गरी कुल गार्यहस्थ उत्पादन (पि पि पि) ४.६२८ ट्रिलियन रहेको पाइन्छ। नेपालको भने, सन् २०१२ को अनुमान अनुसार प्रति व्यक्ति आम्दानी (पि पि पि) अमेरिकी डलरमा १ हजार ४०० रहेको पाइन्छ। कुल गार्यहस्थ उत्पादन भने (पि पि पि) ४० बिलियन रहेको पाइन्छ।
माथि प्रस्तुत गरिएको तथ्यांक हेर्ने हो भने एउटा कुरा के प्रष्ट हुन आउँछ भने कुनै पनि राष्ट्रले उल्लेखनीय किसिमले आर्थिक प्रगति गर्नका लागि राष्ट्रको क्षेत्रफल ठूलो हुनु  आवश्यकीय तत्व होइन रहेछ। राष्ट्रलाई आर्थिक रुपमा सबल तुल्याउनका लागि एउटा अशल अर्थ तन्त्र अनि त्यस अर्थ तन्त्रलाई अगाडि बढाउन जनतामा एक जुट भइ, मेहनत गरेर, मुलुकुको विकास गर्नु पर्छ भन्ने भावना आवश्यकीय तत्व रहेछ। एउटा प्रभावकारी अर्थ व्यवस्था (पूँजीवादी अर्थ व्यवस्था) प्रयोगमा ल्याएर, सबै जनता एकजुट भइ, मुलुकको आर्थिक विकास समर्पित हुनु पर्दछ भन्ने भावना जापानका वहुसंख्यक जनतामा रहेको हुनाले, यो देशले, उल्लेखनीय किसिमले आर्थिक प्रगति गरेको हो। विश्व अर्थ व्यवस्थामा एक महत्वपूर्ण हिस्सेदारको रुपमा आफूलाई स्थापित गर्न सफल भएको हो। नेपालमा झै, राजनीति कलहमा अल्झिएर, विभाजित भइ, जापानी जनता कहिले बसेनन्। न त कुन किसिमको अर्थ नीति अपनाउनु पर्दछ भन्ने कुरा उनीहरु बीच  अलमलको रुपमा रह्यो। स्पष्ट किसिमले पूँजीवादी अर्थ व्यवस्था अँगालेर उनीहरुले चमत्कारी किसिमले आर्थिक प्रगति गरे, देशलाई धनी तुल्याए।
   सन् १८६८ देखि नै जापानमा आर्थिक विकासका लागि सक्रिय प्रयासको थालनि भइ सकेको थियो र त्यही बेला देखि नै जापानले पूँजीवादी अर्थ तन्त्र अँगालेको हो पनि। विभिन्न उद्योगहरुको स्थापना त्यसकाल पछि हुन थाले। र जापान एशियाको एक शक्तिशाली (आर्थिक रुपमा) राष्ट्रको रुपमा उदाउन आरम्भ भयो। तर जापानले चमत्कारी किसिमले आर्थिक प्रगति भने सन् १९६० देखि १९८० बीचको अवधिमा गर्यो। त्यसकारण यो अवधिलाई ‘जापानको उत्तर युद्ध आर्थिक चमत्कार’ (Japanese post-war economic miracle)  भन्ने गरिन्छ। दोस्रो विश्व युद्ध पछि जापानी जनतामा ‘राष्ट्रको विकास एकजुट भइ गर्नु पर्छ’ भनी बलियो गरी जागेको भावनाले देशलाई आर्थिक उन्नतिको दिशा तर्फ दौड्यायो। जापानको आर्थिक वृद्धि दर सन् १९६० देखि  १९८० सम्म ७.५ प्रतिशत रहेको थियो भने सन् १९८१ देखि २००० सम्म ३.२ प्रतिशत। सन् १९९० को दसकमा भने जापानको आर्थिक वृद्धि दर केही सुस्त हुन पुग्यो र त्यस्तो हुनुका कारणहरु थिए-जापानिज एसेट प्राइस बबल, घरेलु नीति आदि। आर्थिक विकासमा सुस्तता आएकोले सन् १९९० को दसकलाई जापानका जनताले ‘गुमेको दसक’ (Lost Decade)  भन्ने गर्दछन। यो स्थितिमा, सन् २००५ पछि भने केही सुधार आयो। सन् २००५ मा आर्थिक वृद्धि २.८ प्रतिशत हुन पुग्यो, जुन सं रा अमेरिका र चीन भन्दा बढी थियो। सन् २०१२ मा भने आर्थिक वृद्धि दर २.२ प्रतिशत रहने अनुमान गरिएको थियो। जापानको आर्थिक वृद्धि दरमा पहिले भन्दा सुस्तता विश्व निर्यात बजारमा उत्पन्न भएको तिब्र प्रतिस्पर्धाले गर्दा आएको हो। खास गरि, चीन र भारतको प्रतिस्पर्धात्मक क्षमतामा भएको अति वृद्धिले गर्दा विश्व नियार्त बजार निकै प्रतिस्पर्धात्मक हुन पुगेको छ। सन् २०१२ को अनुमान अनुसार जापानको जन संख्या १२ करोड ६६ लाख ५९ हजार ६८३ रहेको पाइन्छ। संवैधानिक राजतन्त्र रहेको जापानमा दुइ राजनैतिक दल (Democratic Party of Japan/Liberal Democratic Party) हरु प्रमुख दलको रुपमा रहेका छन। जापानको डाएटमा १३ दलहरुको प्रतिनिधित्व छ। नेपालमा जस्तो जापानमा, च्याउ उम्रे झै, राजनैतिक दलहरु ठूलो संख्यामा छैनन्। नेपालमा निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ७५ देखिन्छ। आगामी चुनावमा यो संख्या बढेर दुई सय पुग्न के बेर? नेपालमा आर्थिक विकासका कुराहरु भन्दा राजनीति बढी हुने भएकोले त्यस्तो न होला भन्न सकिंदैन पनि।  

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 03, 2013

Wednesday, May 1, 2013

kailashiya- A story-14



कैलशिया

(कथा)

“भदौ महिनामा गाउँका सबै बाटाहरु हिलोले गर्दा हिँड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासि भने थिएन। अप्रत्यासित थियो भने गाउँका चौकिदारले साँझ सुनाएको खबर। चौकिदारले सारा गाउँ घुमेर भनेको थियो “आज राति मुखिया साहेबको दुरामा जम्मा हुनु। पंचैति छ। सबैले आउनु पर्ने मुखिया साहेबको आदेश छ।” यो खबरले सबैलाई अचम्म र दिक्कदारी, दुबै स्थितिमा उत्तिकैमा पुर्याएको थियो। त्यस्तो हुने कारणहरु पनि थिए। एक त, पाँच सात दिन देखि लागेको झरि बल्ल त्यो दिन, बिहान रोकिएको थियो र अर्को त्यो दिन रोपाई धुम धामले गाउँ भरि चलेकोले सबै थाकेर घर फर्केका थिए, आराम गर्ने मनस्थितिमा थिए। त्यति मात्र होइन, त्यो दिन औंसिको रात परेको थियो, रातिमा हिँड्दा छेउको मानिस पनि नदेखिने स्थिति थियो, को अगाडि छ अनि को पछाडि, आबाजले थाहा पाउनु पर्ने समस्या थपिएको थियो। तर मुखिया साहेबको आदेशको अटेरि गर्ने हिम्मत कसैमा थिएन पनि। गाउँको त्यो टोलबाट, कैलशियाको छर छिमेकबाट त घराहिं एक जाना जानै पर्ने आदेश थियो, मुखिया साहेबको।”
“पंचैतिको मुख्य विषय थियो- कैलशियालाई जरिबाना गर्ने अनि आउने दिनहरुमा त्यस्तो नगर्न कडा चेतावनी दिने। उता कैलशियाले छरेको हल्ला पनि एक कान दुई कान हुँदै मैदान भएको थियो। कैलशियाले भनेकी थिइ- मलाई डण्ड, जरिबान, यसो उसो केही गरे भने यो गाउँ नै छाडेर जान्छु। कलैशियाएको धम्की चैत बैशाषको अग लग्गी जस्तो फैलिएको थियो, गाउँ भरि। उसको यो धम्कीले गाउँका धेरैलाई हल्लाएको थियो, तर सबै भन्दा बढी हल्लेका थिए मुखिया साहेब नै।”
“पंचैति प्रारम्भ भयो अनि साथै कैलशिया माथि आरोप लगाउने शिलशिला पनि। जय मंगलले कड्केर भने -यो छिनार मौगीले गाउँलाई बिगार्नु सिबाए केही गरेकी छैन। केटा र केटीलाई एक अर्कासँग मिलाइ दिने बाहेक कुनै राम्रो काम गरेकी छे, यसले? छ भने भन्नुस, पंच भलादमीहरु।”
“जटाशंकरले हातमा रहेको बाँसको, तेल पिआएको, पाँच हातको लठ्ठी भूँइमा बजार्यो अनि कड्किंदौ भन्यो- एक महिना पहिले एक जोडी उढरा उढरी भागे यो गाउँबाट, सबैलाई थाहा भएकै कुरा हो, छ कसैबाट छिपेको? तिनीहरुलाई मिलाउनमा र उढार्नमा यै कैलशियाको हात छ. बच्चा बच्चालाई थाहा छ, यो कुरा।”
“जामुनले थप्यो- गाउँका जवान केटा केटी त के, उमेरदारहरु पनि बिग्री सके कैलेशियाको कारणले गर्दा। रात बिरात केही बुढाहरु समेत पस्न थालेका छन, अर्काको घरमा। यस्तो आइमाइलाई त यो गाउँबाट नै निकाल्नु पर्छ। एउट सडेको आलूले बाँकी सब आलूलाई सडाउँछ। अब त्यै सडन बाँकी छ, सारा गाउँ, यो कैलशियाले गर्दा।”
“आरोपहरुको क्रम चुलिंदै गएको स्थितले नन्दलाललाई यति बढी उत्प्रेरित गर्यो कि उसले आफूलाई रोक्न सकेन। मुखिया साहेबले सुनाउनु भन्दा पहिले नै उसले पंचैतिको फैसला सुनाए झै गरी भन्यो -यस्तो छिनार मौगीलाई त चार पाँच जना पठ्ठाहरुले लग्नु पर्छ रहरीको खेतमा, अनि ठीक गर्नु पर्छ। अनि मात्र तल आउँछ यसको बढेको करतुत, कहिले नाम समेत लिन्न त्यस्तो कामको, यो सत भत्तरीले।”
“केवल कैलशियाको विपक्षमा रहेको बलियो जनमत लामो समय सम्म भने कायम रहन सकेन। गोगाइले हाँस्दै भन्यो -कैलशियालाई भेट्न त तिमी नै पुग्छौ धेरै, नन्दलाल। अस्ति पूर्वारी टोलाको, त्यो मुस्मातको घरमा आधा रातमा तिमी पसेर हल्ला हुँदा …………बिर्सेउ त्यो घटना? पंचभालदमीहरुले केवल दण्ड गरेर छाडि दिए तिमीलाई, अरु बढी केही गरेनन्, गरेको भए अंग भंग हुन सक्थ्यो। अहिले कैलशिया माथि कुनै रीस साँधेको जस्तो छ, तिमीले। तिमी कस्तो छौ भन्न कुरा त जग जागेर छ, कि छैन, पंचभलादमीहरु?”
“गोगाइको यो प्रतिवाद पछि नन्दलालको मुखमा दही नै जम्यो। उता कैलशिया भने पंचैति भइ रहेको आँगनको छेउमा बसेकी थिइ तर मौन। कैलशिया बाहेक अरु कुनै महिलाको उपस्थित थिएन, यो पंचैतीमा, त्यो भरि सभामा। औशीको त्यो रातमा, चलिरहेको त्यो पंचैतिमा, को कता बसेको थियो, राम्रो गरी देखिने स्थिति थिएन। एउटा पुरानो लालटेन थियो, मुखिया साहेबको छेउमा। त्यो लालटेनबाट प्रकाश कम धूआँ भने बढी आइ रहेको थयो। लालटेनको सिसाको आधा भागमा कालो पोतिएको थियो, बाँकी आधा भागबाट आएको प्रकाशले धानेको थियो उज्यालोको जिम्मेवारी, त्यो सारा पंचैतिका लागि।”
“मुखिया साहेबले मौनता तोडे- पन्च भलादमीहरु, भन्नुस, के मुनासिब सजाए हुनु पर्छ कैलशियालाई?  अनि, भिखरलाई लालटेनको सिसा पुछ्न आदेश पनि दिए। मुखिया साहेबको आग्रह मिश्रित त्यो निर्देशनमा कसैले तत्काल प्रतिक्रिया जनाएन। वातावरण लामो समयसम्म मौन रह्यो, छेउमा कराई रहेका किरा, फट्यांग्रा र भ्यागुताहरुको ध्वनी बाहेक, भदबारीको त्यो कालो रातमा।”
“झगडुले असहमति प्रकट गर्यो- कसै माथि त्यतिकै आरोप लगाएर हुन्छ? कैलशियाले धेरैका छोरा छोरीहरुलाई बिगारेको प्रमाण पनि त हुनु पर्यो नि। कोइ आफ्नै मनले उढेर जान्छ भने त्यसमा पनि कैलशिया कै दोष?”
“मुखिया साहेबलाई नजिकबाट बुझेको बलदेवले भन्यो- कसैले बिना मतलबको नालिस, उजुरी दिंदैमा मुखिया साहेबले पंचैति गराउनु जरूरी नै थिएन। पंचैति नभएको भए, यो खेति गृहस्थी, यो रोपनीको कामबाट हारे थाकेकाहरु, मस्त मस्त सँग सुतेका हुन्थ्ये यति बेला। एक त त्यसै पनि मछ्छडले सुत्न दिंदैन रात भर, जस्तो सुकै ठूलो घुर लगाउँदा पनि। धूआँ धुकुर गर्दा पनि।”
“वातावरण निकै बेर शान्त रह्यो। कैलशियाको बिरोधमा कुनै स्वर निस्केन।”
“केही समय पछि रामसहाय कड्क्यो- कोइ आफै इनारमा डुब्न जान्छ भने यसमा कैलशियाको के दोष? सबैसँग कैलशियाले हाँसेर बोल्दैमा उ छिनार हो भन्नु मुनासिब हो, भन्नुस पंचभलादमीहरु?”
“रामसहायले थप्यो- कैलशियालाई कमजोर देखेर सबैले दबाउन खोजेका हुन, बाँकी केही पनि होइन।” “रामसहायले सचेत पनि पार्यो- कैलशियाको बारेमा मतलब बेमतलबका पचास कुरा चलेकोले रिसाएर, ऊ मोरंग जान थालेकी छ। उतै खाने कमाउने रे, यो गाउँ सदाका लागि छोडि दिने रे।”
“पंचैति भइ रहेको ठाउँको पुछारबाट मधुरो आबाजमा कोही बोल्यो- कैलशियालाई अर्को गाउँ जान देखि रोक्नु पर्यो, पंचभलादमीहरुले। कैलशिया हिंडे भने यो गाउँमा …………………… यति भनेर त्यो भन्ने मान्छे अध्यारोमा कता हरायो देख्न सकिएन। तर त्यो हराउने व्यक्तिको आबाजलाई भने बिसौं जनाले बुलन्द पार्दै भने- को हो त्यो टाढाबाट भन्ने? यहाँ, यो भरि सभामा, बीचमा आएर भन्नु पर्यो।”
“मुखिया साहेबले भने- सबैको कुरा सुनियो। कैलशिया अन्त कतै जान्न। र ऊ कुनै खराब कामका लागि कसुरबार पनि छैन। न त उसको बिरोधमा कुनै दषि प्रमाण नै छ।” यो घोषणा गरे पछि मुखिया साहेबको मुखमा तेजीलो चमक देखियो। लालटानको ज्यादै कमजोर प्रकाशमा उनको मुहारमा फैलिएको रौनकता कसैले पनि देख्न पाएन। मुखिया साहेबको मुहारमा झै उपस्थिति धेरैको मुहारमा खुसीको बिजुली चम्मेको थियो, कलैशियाको बिरोध गर्ने दुई चार जनालाई छोडेर।”
“कैलशिया भने मनमन मै हाँसि रहेकी थिइ। लाग्थ्यो त्यो पंचैयतिको निर्णय के हुने हो उसलाई पहिले देखिन नै थाहा भए जस्तो।”
“एउटा कालो छाया कैलशियाको नजिक हुँदै, उसँग टाँस्सिने किसिमले अगाडि बढ्यो। छायाले भन्यो –कैलशियाSSSSSSS……………..
पहिले त डराइ कैलशिया त्यो आवाजबाट, तर आवाज परिचित भएकोले क्षणभर मै ढुक्क भई। कालो छायाले कैलशियाको कान नजिक मुख लग्दै भन्यो- हेर कैलशिया, यो पटक त जोगाई दिएँ तिमीलाई, तर अब गर्हो छ, त्यसरी जोगाउन। किन गर्छेऊ यस्तो काम छाडिदेऊ न, हुँदैन्?”
“कैलशियाले हाँस्दै भनी- यो काम छोड दिए भने फेरि ………………………………………?”
आज भन्दा चालिस वर्ष पहिले, म र पाण्डे मास्टर साहेब गौर जाँदै थियौ, पाण्डे मास्टर साहेबले जग्गा किन्नु भएको थियो, त्यै जग्गाको रजिष्ट्रेशन पास गर्न, आफ्नो गाउँबाट, पैदल, सात आठ घण्टाको बाटो। त्यस बेला अहिले जस्तो चन्द्रनिगहापुर र गौरको बीचमा न त बस चलथ्यो न त कुनै अन्य सबारी नै, बैल गडी बाहेक। यो कथा बाटोमा सुनाउनु भएको थियो मास्टर साहेबले। पूरै कथा बाटोमा सकिएको थिएन, गौरको गुदरी बजार नजिक रहेको एउटा होटलमा दही चिउरा खाँदा भने कथा सकिएको थियो। कथा सकिए पछि मास्टर साहेबले भन्नु भएको थियो- देखो, दिनकर, कपडे के अन्दर सब नङ्गें है। त्यस बेला म, मात्र दस एघार वर्षको भएकोले मास्टर साहेबको भनाइको आशय बुझ्न सकेको थिन, न त त्यो कथाको अर्थ नै। कथा मेरो आग्रहमा होइन, आठ दस कोषको, पट्यार लाग्दो बाटो काट्नका लागि भन्नु भएको थियो, मास्टर साहेबले। उमेरले आधा सप्ताब्दिको यात्रा पार गर्दा बल्ल बुझ्दै छु, राम्रो गरी, मास्टर साहेबको त्यो भनाई- कपडे के अन्दर सब नङ्गें है को आसय, अनि त्यो कथाको अर्थ। त्यो बेला त्यो कथा पटक्कै नबुझेता पनि। 

विश्वराज अधिकारी