Friday, July 26, 2013

Human Nature and Capitalism-Article-98 Birth, Development, and Use of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२१. मानवीय प्रवृति र पूँजीवाद

पूँजीवादलाई सहि किसिमले बुझ्न सर्व प्रथम मानवीय  प्रवृति बुझ्नु आवश्यक हुन्छ किनभने मानवीय प्रवृतिसँग पूँजीवादको गहिरो सम्बन्ध छ। मानवीय प्रवृति बुझे पछि पूँजीवादको महत्व एवं प्रयोग अझै बढी स्पष्ट हुन आउँछ।
जोगी, बैरागीलाई छाडेर कुरा गर्ने हो भने संसार भरिका सम्पूर्ण मान्छेहरु आर्थिक प्राणीहरु हुन। मान्छेहरु अर्थ वा मुद्राद्वारा संचालित, नियन्त्रित र उत्प्रेरित हुन्छन। केही अपवाद बाहेक मान्छेका सम्पूर्ण क्रियाकलापहरु  केवल आर्थिक उद्देश्य प्राप्ति तर्फ लक्षित रहेको हुन्छ। हरेक समय मानिसको चिन्तन आर्थिक क्रियाकालापमा नै केन्द्रित रहेको हुन्छ, यहाँसम्म की जिवनको अन्तिम साँस लिंदासम्म पनि। र त्यस्तो गर्न आवश्य छ पनि किनभने मानिसले बाँच्नका लागि विभिन्न कुराहरु अनिवार्य रुपमा उपभोग गर्नु पर्दछ। ती वस्तुहरु उपभोग नगरी मानिस बाँच्न सक्तैन। उपभोग गर्नु पर्ने ती अत्यावश्वक सामाग्रीहरु मध्ये केही मात्र निशुल्क उपलब्ध हुन छन्, बाँकी सबैका लागि मानिसले अनिवार्य रुपमा पैसा भुक्तान गर्नु पर्दछ, अर्थात खरिद गर्नु पर्दछ। हावा, सूर्यको प्रकास, आकाश आदि आदि उपभोग गर्न कुनै किसिमको भुक्तानी गर्नु पर्दैन तर आवास, भोजन, कपडा, सडक, सबारी, यात्रा, मनोरंजन जस्ता वस्तुहरु निशुल्क प्राप्त हुँदैनन्। जस्तो सुकै आर्थिक हैसियत भएको मान्छेले पनि यी वस्तुहरु प्राप्त गर्न भुक्तानी गर्नु नै पर्दछ, यहाँसम्म कि भिखारले पनि। मानिस पशु पक्षी जस्तो होइन, प्रकृतिले दिएको निशुल्क वश्तुहरु  (Free goods)  उपभोग गेरर जिवन निर्वाह गर्न सकोस, आय आर्जन गर्न नपरोस, मुद्रा प्रयोग गर्न नपरोस। मानिसले जिवन निर्वाह गर्नका लागि विभिन्न सामाग्रीहरु खरिद गर्नु पर्दछ, ती सामाग्रीहरु प्राप्त गर्नका लागि उसले मुद्रा भुक्तान गर्नु पर्दछ।  आय आर्जन गर्नु पर्दछ। मुद्राको प्रयोग गर्नु पर्दछ। भुक्तानीको अर्को कुनै विकल्प नै छैन, मानिस सँग।
मानिसले जिवन निर्वाह गर्नका लागि आवश्यक पर्ने वस्तुहरु दुई तरीकाले प्राप्त गर्न सक्छ, ती हुन – १) आफैले उत्पादन गरेर २) खरिद गरेर। अहिलेको यो अति आधुनिक युगमा मानिसले जिवन यापन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण वस्तुहरु उत्पादन गर्न कठिन मात्र होइन, असम्भव नै छ। कुनै पनि व्यक्तिले लाख कोशिस गरे पनि, जिवन निर्वाहका लागि आवश्यक पर्ने, सियो देखि हवाइ जहाजसम्म उत्पादन गर्न सक्तैन। यो उत्पादन स्वावलम्बनको युग होइन पनि। मानिस जंगलमा बस्दा एक व्यक्ति वा परिवारले आफूलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरु आफैले श्रृजना वा उत्पादन गर्नु सम्भव थियो होला। तर अहिलेको यो उत्पादन परावल्बनको युगमा सम्भव छैन। अहिले मान्छेका आवश्यकताहरु अन्गिन्ति छन। उपभोग गर्ने वस्तुहरु पनि अन्गिन्ति छन। 
जिवन यापनका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तुहरु मानिसले खरिद गर्नु पर्दछ। खाना पकाउने इन्धनदेखि यात्रका लागि आवश्यक पर्ने सवारी सेवा अनि मनोरंजनदेखि मृत्युमा प्रयोग गरिन कात्रोसम्म। यसरी, आवश्यक पर्ने यी सम्पूर्ण सामाग्रीहरु खरिद गर्नु पर्ने अनिवार्यता भएको हुनाले कुनै पनि व्यक्तिसँग अनिवार्य रुपमा भुक्तानी समार्थ्य हुन आवश्यक छ, अर्थात पैसा हुन आवश्यक छ, ती वस्तुहरु खरिद गर्नका लागि। विना पैसा वा विना आम्दानी बाँच्न ज्यादै कठिन भएकोले नै मानव जिवनमा पैसाले ठूलो महत्व राख्दछ।
पैसा मानव जिवनमा अत्यन्त महत्वपूर्ण तत्व रहेको र यसले जिवन मरण संग सम्बन्ध राख्ने भएकोले नै पैसाले मानिसलाई हरेक अवस्था र समयमा आकर्षित गर्दछ। यो कारणले गर्दा नै कुनै पनि व्यक्ति पैसाद्वारा सजिलै उत्प्रेरित (Motivate)  हुन सक्छ। पैसाले मानवीय जिवनलाई सरल एवं सुरक्षित मात्र होइन सुनिश्चित समेत पार्दछ।
मानिस एक आर्थिक प्राणी मात्र होइन, अति नै स्वार्थी जिव पनि हो। सामान्य अवस्थामा मानिसले, सर्व प्रथम, केवल आफ्नो अनि परिवारको मात्र वास्ता गर्दछ, अनि पछि मात्र बाँकी संसारको बारेमा सोंच्दछ। मानव सभ्यताको विकास नै शोषणबाट भएको हो। उदाहरणका लागि, यातायात एवं कृषिका लागि मानिसले पशु (गोरु, घोडा, हात्ति आदि) हरुको शोषण वा प्रयोग गर्यो। भोजनका लागि अन्य पशु, पंक्षीहरुको प्रयोग गर्यो। अहिलेसम्म पनि मानिसले बाँच्न वा अर्थोपार्जनका लागि पशुहरुको शोषण गरि रहेको देख्न सकिन्छ। एउटा दुब्लो वा कमजोर घोडाले, उसको मालिकका लागि सकि न सकि आठ दस जनालाई बोकेर (टाँगामा) दौडिन परेको सबैले देखेको, सुनेको कुरा हो। भाडा सस्तो हुँदैमा मर्न आँटेको, दुब्लो घोडामा समेत चढ्न नहिचकिचाउनु आम मानवीय प्रवति पनि कसैबाट नलुकेको तथ्य हो। पैसा प्रति मानिस कति  आशक्त हुन्छ भन्ने कुराको  एक सानो उदाहरण हो यो। 
मानिस अति नै स्वार्थी प्रणी हो भन्ने यथार्थको अर्को उदाहरणको रुपमा यसलाई पनि लिन सकिन्छ। गाउँमा बाढी आए पछि मान्छेले सर्व प्रथम आफ्नो गाउँ जोगाउने प्रयास गर्दछ। बाढी गाउँमा पसे पछि आफ्नो टोल जोगाउने प्रयास गर्दछ। टोलमा पानी पसे पछि आफ्नो घर जोगाउने प्रयास गर्दछ। अनि घरमा पनि पानी पसे पछि केवल आफूलाई जोगाउने प्रयास गर्दछ, परिवारका अन्य सदस्यहरुलाई छाडेर। अर्थात मानिसको विवेकको दायरा साँघुरो हुँदै जान्छ, परिस्थिति अनुसार। यो आम मानवीय प्रवृति हो। दुइ चार जना अपवादमा पर्न सक्छन, यस धारणाको। मानिस स्वार्थी भएको हुनाले नै उसलाई नियन्त्रित गर्नका लागि सेना, प्रहरी, प्रशासन, अदालत आदिको व्यवस्था गर्नु परेको हो। ऐन, कानून, नीति, नियमहरुको तर्जुमा गर्नु परेको हो। मानिस निस्वार्थी र सर्वकालिक विवेकी भएको भए यी कुराहरुको व्यवस्था नै गर्नु पर्दैन्थ्ययो। पशु पक्षीहरुका लागि यी कुराहरुको आवश्यकता पर्दैन, किनभने यिनीहरु स्वार्थी हुँदैन। यिनीहरुले गर्ने क्रियाकलापहरु केवल  तत्कालिक भोक मेटाउनका लागि मात्र हुन्छ। धन आर्जन वा संचयका लागि हुँदैन। शक्तिसाली हुनका लागि हुँदैन।
साम्यवाद (communism)  वा समाजवाद (socialism) ले मानिसलाई एक आर्थिक प्राणीको रुपमा हेर्दैन। मानिसलाई मुद्रा द्वारा होइन सिद्धान्तद्वारा संचालित, नियन्त्रित एवं उत्प्रेरित गर्न सकिनछ भन्ने आफूले बनाएको मान्यतामाथि अटुट रुपमा विश्वास गर्दछ। यसै गरी साम्यवादले, व्यक्ति सर्वकालिक रुपमा विवेकी हुन्छ, व्यक्तिले व्यक्तिगत स्वार्थ होइन सामुहिक हितलाई महत्व दिन्छ,  व्यक्तिगत जिवन भन्दा सामुहिक जिवन बाँच्न रमाउँछ जस्ता धारणाहरु बलियो गरि निर्माण गरेको हुन्छ। साम्यवाद वा समाजवादका यी विश्वास एवं धारणाहरुको खण्डन गर्ने सन्दर्भमा मानवीय प्रवृतिको चर्चा गर्न खोजिएको हो। माथि उल्लेख गरिएका तथ्यहरुबाट के प्रष्ट हुन आउँछ भने मान्छेका सम्पूर्ण क्रियाकलापहरु आय वा धन आर्जन तर्फ निर्देशित हुन्छन। पैसाले मानिसको जिवनमा ठूलो महत्व राख्ने हुनाले मान्छे पैसा द्वारा नै बढी उत्प्रेरित हुन्छ। मानिस सिद्धान्त द्वारा सर्वकालिक रुपमा उत्प्रेरित हुन सक्तैन। मान्छे एक अति नै स्वार्थी जिव हो।  
मानिस पैसा द्वारा होइन, सिद्धान्त द्वारा, सर्वकालिक रुपमा समूहका लागि कार्य गर्न उत्प्रेरित हुन सक्छ भनी साम्यवादले निर्माण गरेको धारणा उसको केवल भ्रम हो। यसले यथार्थसँग कुनै किसिमको सम्बन्ध राख्दैन। सामान्य स्थितिमा मानिस पैसाद्वारा नै बढी मात्रामा उत्प्रेरित हुन्छ।  
साम्यवादी वा समाजवादी व्यवस्थामा उत्पादनका साधनहरु – भूमि, श्रम, पूँजी र संगठनमाथि केन्द्र वा राज्यको नियन्त्रण हुन्छ। उत्पादनमा संलग्न श्रमिकहरुले केवल तोकिएको पारिश्रमिक, जुन सरकारले निर्धारण गरेको हुन्छ, पाउने हुनाले उनीहरु आफ्नो क्षमताको अधिक भन्दा अधिक उपयोग गर्न चाहँदैनन् किनभने कम वा बढी जति काम गरे पनि तोकिएको पारिश्रमिक पाइने कुरा उनीहरुलाई भलिभाँति थाहा हुन्छ। श्रमिकले बढी काम गरे पारिश्रमिक पनि बढी पाउने वा आफ्नो कुशलता वा उत्पादन क्षमता अनुसार पारिश्रमिक पाउने व्यवस्था नभएकोले साम्यवादी व्यवस्थामा श्रमिकले आफ्नो कुशलता वा क्षमताको उच्चत्तम प्रयोग गर्न चाँहदैन। परिणामस्वरुप उत्पादन तथा उत्पादकत्वमा दुबैमा वृद्धि हुन सक्तैन।  यही कारण हो, साम्यवादी अर्थ व्यवस्थामा राष्ट्रिय अर्थतन्त्र क्रमिक रुपमा कमजोर हुँदै जान्छ।
पूँजीवादी अर्थ व्यवस्थामा श्रमिकले आफ्नो कार्य कुशलता एवं क्षमता अनुसार पारिश्रमिक पाउने, श्रमिकहरुलाई पारिश्रमिक फरक फरक किसिमले उनीहरुको कार्य क्षमताको आधारमा दिइने हुनाले उनीहरु आफ्नो क्षमताको बढी भन्दा बढी उपयोग गरेर ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित हुन्छन। थप पारिश्रमिक वा पैसाले उनीहरुलाई आफ्नो क्षमताको बढी भन्द बढी उपयोग गर्न प्रेरित गर्दछ। यो व्यवस्थाले गर्दा एकातिर ठूलो परिमाणमा उत्पादन हुन्छ भने अर्को तिर श्रमिकहरुले जति बढी आफ्नो क्षमता वा कुशलताको उपयोग गर्यो त्यतिनै बढी पारिश्रमिक पाउने अवस्था श्रृजना हुन्छ। हामीले माथि नै उल्लेख गरि सक्यौ, मानिसलाई सर्वाधिक किसिमले पैसाले मात्र उत्प्रेरित गर्दछ। मानिस विशुद्ध रुपमा एक आर्थिक एवं स्वार्थी जिव हो। मानिसलाई केवल कोरा सिद्धान्त सुनाएर निस्वार्थी तुल्याउन सकिंदैन। कुनै किसिमको सामुहिक हितको कार्य गर्न उसलाई उत्प्रेरित गर्न सकिंदैन।  

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, July 26, 2013

Friday, July 19, 2013

South Africa: Africa's Super Economic Power-Article-97 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

२०. अफ्रिकाको आर्थिक महाशक्ति राष्ट्र दक्षिण अफ्रिका

अफ्रिकी महादेशमा अहिले आर्थिक जागरण आएको छ र यो समयलाई त्यहाँका बासिन्दाहरु आर्थिक विकासको युग भन्दैछन। बर्षौदेखिको चलि आएको लडाई, झगडालाई साझा सहमति र वार्ताद्वारा समाधान गरेर विकास पथमा अगाडि बढ्न खोजि रहेका छन्, त्यहाँका जनता। केही राष्ट्रहरुले त्यस कार्यमा आंशिक रुपमा नै भए पनि सफलता पाएक छन् भने केही अझै संघर्षरत छन। साधन र स्रोतहरुले भरिपूर्ण रहेता पनि अनेक किसिमका समस्याहरुको जालोमा जकडिएर आर्थिक विकासका विभिन्न सम्भावनाहरु गुमाउनु परेको ताजा दर्दहरु छन् अफ्रिकी राष्ट्रहरु सँग। मुख्य गरी जातीय द्वन्द, गृह युद्ध, धार्मिक कट्टरता जस्ता समस्याहरुले विगतमा अति नै सताए, अफ्रिकी राष्ट्रहरुलाई। यी समस्याहरुले गर्दा नै यहाँका राष्ट्रहरुले यूरोपेली राष्ट्रहरु झै आर्थिक प्रगति गर्न सकेनन। अफ्रिकी राष्ट्रहरुले औपनिवेशिक समस्या पनि उत्तिकै भोगे। यहाँका धेरै राष्ट्रहरु विगतमा उपनिवेश रहि सकेका छन। खास गरी फ्रान्स र बेलायतले यस महादेशका विभिन्न राष्ट्रहरुमा उपनिवेश खडा गरेका थिए।
आर्थिक विकासका लागि प्रयासरत रहेका अफ्रिकी महादेशका विभिन्न राष्ट्रहरु मध्ये एक हो दक्षिण अफ्रिका। साधन र स्रोतहरुको प्रचुरता भएता पनि वर्षौं सम्म मुलुकमा रंगबिरोधी आन्दोलन चलेकोले विकासको गति निकै सुस्त हुन पुगेको थियो दक्षिण अफ्रिकाको। अब, अहिले भने मेल मिलाप गरेर,  विगतमा, काला र गोराबीच भएको द्वन्द र कटुतालाई बिर्सेर, हातेमालो गर्दै विकास पथमा लम्केको झै देखिएका छन, दक्षिण अफ्रिकाका बासिन्दाहरु। र आर्थिक विकासका लागि त्यो आवश्य छ पनि। द्वन्द र संघर्षहरुको चेपुआमा कुनै पनि मुलुकले आर्थिक विकास गरेको उदाहरण पाँइदैन पनि। सबै भन्दा उल्लेखनीय कुरा त के छ भने कुनै पनि किसिमको द्वन्द र अस्थिरताबाट सर्व प्रथम त गरिबहरु नै बढी प्रभावित हुन पुगेको देखिएको छ। कुनै पनि बहानामा गरिएको द्वन्द, र खास गरी गरिबहरुको लागि भनेर गरिएको द्वन्द कहिले पनि गरिबहरुको हित गर्न सफल भएको छैन। इतिहासले यही भन्छ।   
अफ्रिकाको महाशक्तिको रुपमा रहेको द अफ्रिका, यो महादेशको सर्वाधिक ठूलो अर्थ तन्त्र हो। क्षेत्रफलको आधारमा यो विश्वको २५ औ ठूलो देश हो भने जन संख्याको आधारमा २६ औ।  ४ करोड ८६ लाख १ हजार ९८ (सन् २०१३) व्यक्तिहरुको बसोबास रहेको यो मुलुक १२ लाख २१ हजार ३७ वर्ग किलोमिटरमा फैलिएको छ। यस देशको कुल गार्यहस्थ उत्पादन (नोमिनल), सन् २०१३ को अनुमान अनुसार US$ ३७५. ९४४ बिलियन रहेको छ भने प्रति  व्यक्ति आय US$ ७ हजार २५७ रहेको छ। ३१ मे १९१० मा यो मुलुक बेलायतको अधिनबाट मुक्त भएको थियो। अफ्रिका महादेशमा मात्र होइन, विश्व मै, औधोगिक विकासको पथ तर्फ तिब्र गतिमा दौडि रहेका राष्ट्रहरु मध्ये द अफ्रिका पनि एक हो। यो विश्वको २८ औ ठूलो अर्थ तन्त्र हो। क्रय शक्ति तुलनाको आधारमा अफ्रिकामा, पाँचौ अधिक प्रति व्यक्ति आय हुने राष्ट्र हो। तर गरिबी  बेरोजगारी पनि उत्तिकै व्याप्त छ, यो देशमा। करिब २५ प्रतिशत जनताको एक दिनको आम्दानी US$ .२५ भन्दा कम छ। यसै गरी, आय असमानता (Income inequality)  अति रहेको, विश्वका दस राष्ट्रहरु मध्ये द अफ्रिका पनि एक हो। अहिले पनि द अफ्रिकामा, माटोका घर हुने हरु छन भने अर्कोतिर सुबिधा सम्पन्न, बिलासी एवं स्विमिंग पुल भएका घर हुने हरु पनि छन। द अफ्रिकाको सर्वाधिक ठूलो आर्थिक समस्या भनेको यहाँ व्याप्त रहेको बेरोजगारी हो। करिब २५ प्रतिशत जनताको हातमा कुनै किसिमको रोजगारी छैन। खास गरी युवाहरु बेरोजगारीबाट बढी सताइएका छन। २५ वर्ष मुनिकाहरु मध्ये लगभग ५३ प्रतिशत बेरोजगार छन।
द अफ्रिकामा  ७९.२ प्रतिशत जनता काला (अफ्रिकन मुलका) छन। तर पनि यो देशमा जातीय विविधता ठूलो मात्रामा छ। कुल जनसंख्यामा गोराहरु ८. ९ प्रतिशत छन। यसै गरी एशियन वा भारतीयहरु २.५ प्रतिशत छन। अन्य मुलका जनता ९.४ प्रतिशत छन। ११ वटा भाषाहरुले राज्यको भाषाका रुपमा मान्यता पाएका छन। तर सन् १९९४ सम्म द अफ्रिकामा अल्प संख्यक गोराहरुले शासन चलाएका थिए। सन १९४८ मा सत्तामा आएका गोराहरुले रंग भेदद्वारा जनताको निकै शोषण गरेका थिए। यहाँसम्म कि गोरा र काला हरुले चढ्ने बसहरु फरक फरक हुन्थे। त्यति मात्रा होइन बसोबास गर्ने ठाउँ अलग हुनुका साथै गोरा र कालाहरु उभिने लाइनहरु पनि अलग अगल हुने गर्थे। तर  लामो समय देखि चलेको रंग बिरोधी आन्दोलनले गोराहरुलाई सहमतिमा आउन बाध्य पार्यो। रंग बिरोधी आन्दोलनमा नेल्सन मन्डेलाको भूमिका निकै महत्वपूर्ण रह्यो। सन् १९९३ मा एफ डबल्यू डि क्लार्क र नेल्सन मन्डेला बीच सत्ता र नीतिहरु रुपान्तरण गर्ने सहमति भयो। त्यसको लगत्तै सन् १९९४ मा भएको पहिलो चुनावमा अफ्रिकन नेशनल कांग्रेस पार्टीले ठूलो मतले बिजय हासिल गर्यो। यस भन्दा पहिले २७ बर्ष जेलमा बन्दी जिबन बिताएर नेल्सन मन्डेला बाहिर आएका थिए। अफ्रिकन नेशनल कांग्रेसका सभापति (सन् १९९१-१९९७) समेत रहेका मन्डेला द अफ्रिकाका पहिलो काला निर्वाचित राष्ट्र्पति पनि हुन पुगे। उनी सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति भएका थिए।
अहिले भने पुराना घाउहरुलाई बिर्सेर आर्थिक विकासको बाटोमा लम्केको छ, द अफ्रिका। चीन, ब्राजिल, रुस, भारत सम्मिलित ब्रिक्स क्लब (BRICS Club) को द अफ्रिका एक सदस्य हो। दक्षिण अफ्रिकाले पनि आफूलाई एक उदाउँदो आर्थिक महाशक्तिको रुपमा प्रस्तुत गर्न खोजि रहेको छ। जर्मनी, संयुक्त राज्य अमेरिका, चीन, जापान, संयुक्त अधिराज्य, स्पेन आदि मुलुकहरुसँग व्पापारीक सम्बन्ध कायम गरेर अन्तरार्ष्ट्रिय व्यापारबाट फाइदा लिन खोजेको देखिन्छ। अफ्रिकाका अन्य मुलुकहरुसँग पनि द अफ्रिकाको व्यापारीक सम्बन्ध छ।  सन् २०१३ मा २.८ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य रहेको छ, द अफ्रिकाको।
लगानी नीति सजिलो र भरपर्दो पारेर विभिन्न अन्तरार्ष्ट्रिय कम्पनीहरुलाई आफ्नो मुलुकमा लगानी गर्न आकर्षित गरि रहेको छ, द अफ्रिकाले। सोही अनुरुप विभिन्न विदेशी कम्पनीहरुले लगानी समेत गरेका छन। यो मुलुक एक अति नै मन पराइएको, पर्यटकहरुको, पर्यटकीय गन्तव्य पनि हो। पर्यटन क्षेत्रबाट राम्रो आम्दानी प्राप्त गर्दछ पनि।
हुन त द अफ्रिकाले मिश्रित अर्थ तन्त्र अंगालेको भनी उल्लेख गरिएको पाइन्छ। तर जुन किसिमबाट  द अफ्रिकामा निजी क्षेत्रलाई लगानी गर्न सुबिधा दिइएको छ, विदेशी कम्पनीहरुले त्यहाँ कारोबार गर्न जुन किसिमका सुबिधा एवं छुटहरु पाएका छन्, व्यक्तिहरुलाई धन आर्जन, लगानी एवं संचय गर्न जुन किसिमको छुट दिइएको छ, त्यसबाट यो मुलुकले पूँजीवादी अर्थ तन्त्र अँगालेको प्रष्ट हुन आउँछ। यो देशको अर्थ नीति पूँजीवादी नै हो भन्ने कुरामा द्विविधा रहँदैन।
पूँजीवाद अँगालेर अहिले अँफ्रिकाका विभिन्न मुलुकहरु आर्थिक विकास गर्न उत्प्रेरित एवं अग्रसर समेत भएका छन। साधन र स्रोतहरुले सम्पन्न अफ्रिकी मुलुकहरुले आफ्ना ती साधन र स्रोतहरुको उपयोग गर्न, मुलुकलाई आर्थिक रुपमा समृद्ध पार्न एवं गरिब जनताको जिबनमा सुधार ल्याउन पूँजीवादद्वारा आर्थिक प्रगति हासिल गर्न आवश्यक छ पनि। पूँजीवादको प्रयोग नगरेर, समाजवादी वा साम्यवादी अर्थ व्यवस्था द्वारा नै, अफ्रिकी जनतामा व्याप्त रहेको गरिबी कम पार्ने कोशिस गरियो भने त्यहाँका जनता गरिबीको दल दलमा नै भास्सिएर बाँच्न बाध्य हुने छन्। अहिलेको समय र अन्तरार्ष्ट्रिय अर्थ व्यवस्थाले त्यही नै भन्छ।


विश्वराज अधिकारी 

प्रतीक दैनिकमा प्रकाशित Friday, July 19, 2013

Friday, July 12, 2013

Thailand's Economic Development-Article-96 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

१९. थाइलैण्डको आर्थिक विकास

थाइलैण्डको आर्थिक विकास ज्यादै नै तिब्र गतिमा नभए पनि क्रमिक रुपमा, न रोकिएर भइ नै रहेको छ। तर पछिल्लो समयमा, सन् १९८५ देखि १९९६ सम्मको अवधिमा भने थाइलैण्डको आर्थिक वृद्धि दर उच्च रहेको थियो। यो अविधिमा आर्थिक वृद्धि औसतमा १२. ४ प्रतिशत थियो। हुन त यो मुलुकको अर्थ व्यवस्थाले सन् १९६० को दसकदेखि नै रुपान्तरण कार्य प्रारम्भ गरेको थियो। १९६० को दसक देखि कृषिका साथै साथै उद्योगमा पनि निकै जोड दिन शुरु गरेको थियो। ठूलो मात्रामा, कृषि र ग्रामीण जिवनमा निर्भर रहेको अर्थ तन्त्र शहरी अर्थ तन्त्र तर्फ रुपान्तरित हुन अग्रसर भएको थियो। आफूलाई विश्व अर्थ व्यवस्थामा आवद्ध गराउने तर्फ लाग्यो पनि। थाइलैण्ड एक यस्तो उदाहरणीय मुलुकको रुपमा देखिएको छ, जहाँ सेनाले बेला बेलामा राजनीतिमा हस्तक्षेप गरेता पनि न त यो मुलुकको सामाजिक न त आर्थिक विकास नै रोकिएको छ। बेला बेलामा हुने सेनाको हस्तक्षेपले प्रजातान्त्रिक विकासमा पनि ठूलो नकारात्मक असर पारेको छैन।   
थाइलैण्डले पनि पूँजीवादी अर्थ व्यवस्था अंगालेको छ र सोही अनुरुप बजारलाई खुला पार्नुका साथै अर्थ तन्त्रलाई उदार पारेको छ। पूँजीवादी अर्थ व्यवस्था अंगालेको हुनाले कुनै बेला कृषिमा अति आश्रित रहेको यो मुलुक अहिले उदाउँदो अर्थ तन्त्र हुनुका साथै औधोगिक राष्ट्रहरुको श्रेणीमा पर्न सफल भएको छ। थाइलैण्डले ठूलो परिमाणमा चामल, टेक्सटाइल, फुटवेयर, माछा, रबर, ज्वेलरी, कार, कम्प्युटर, बिजुलीका सामान आदि निर्यात गर्दछ। विश्वमा सर्वाधिक चामल निर्यात गर्ने राष्ट्र पनि थाइलैण्ड नै हो। यहाँबाट बर्षेनी लगभग ६५ लाख टन चामल निर्यात हुने गर्दछ। चामल यहाँको प्रमुख कृषि उत्पादन पनि हो। खेतियोग्य जमिनको ५५ प्रतिशत भागमा धान खेति गरिन्छ। साथै यहाँ खेतियोग्य वा उब्जाउ जमिनहरु धेरै छन जुन थाइलैण्डको अर्थ व्यवस्थाको मेरुदण्डको रुपमा देखिन थालेको छ। तर अहिले उद्योगको विकासमा पनि उत्तिकै लागि परेको छ यो मुलुक। यो देशको अर्थ तन्त्र निर्यातमा बढी निर्भर रहेको छ र सोही अनुरुप सफलता पाएको छ पनि। इण्डोनेशिया पछि, थाइलैण्ड दक्षिणपूर्व एशियाको सर्वाधिक ठूलो अर्थ तन्त्र हो र सम्पत्ति वितरणको हिसाबले सिंगापुर, ब्रुनाई र मलेशिया पछि दक्षिणपूर्व एशियाको चौथो अति धनी राष्ट्र पनि। विश्वमा, ठूलो परिणाममा, मोटर र बिजुलीका सामानहरु निर्यात गर्ने राष्ट्रहरु मध्ये थाइलैण्ड पनि एक हो। आसियान (ASEAN- Association of Southeast Asian Nations) को संस्थापक (सन् १९६७)  सदस्य रहेको यो राष्ट्र एशियाको महत्वपूर्ण बजारको रुपमा देखा पर्न थालेको छ।
पूँजीवादी अर्थ तन्त्र र खुला बजार नीतिले गर्दा अपेक्षा गरिए भन्दा तिब्र गतिमा मुलुकको आर्थिक विकास भइ रहेको छ पनि। कुनै समयमा (सन् १९८० तिर) यो मुलुमा रोजगारीको ठूलो क्षेत्र भनेको कृषि थियो र उपलब्ध श्रम सक्ति मध्ये करिब ७० प्रतिशत श्रम सक्ति यसै क्षेत्रसँग आवद्ध थियो। तर अहिले उद्योगको क्षेत्रमा पनि पर्याप्त विकास भएर, कुल श्रम सक्तिको करिब ४९ प्रतिशत मात्र कृषि क्षेत्रसंग आवद्ध छ। रोजगारीको क्षेत्रमा पनि निकै विस्तार भएको छ। सन् २०११ तिर थाइलैण्डमा केवल ०.४ प्रतिशत बेरोजगारी थियो।
अहिले थाइलैण्डका बासिन्दाले आर्थिक र राजनैतिक दुबै क्षेत्रमा निकै खुलापनको अनुभव गरि रहेका छन। थाइहरु ठूलो संख्यामा रोजगारी एवं भ्रमणको उद्देश्यले विदेश पुगेका छन। राष्ट्रिय र अन्तरार्ष्ट्रिय रोजगरीले गर्दा व्यक्तिहरुमा आर्थिक खुसहाली छ। जनसंख्याको ठूलो भागसंग टि भी, मोबाइल फोन, कम्युटर जस्ता सुबिधा विस्तार गर्ने वस्तुहरु छन भने कारको प्रयोगकर्ताहरु पनि बढेका छन। एकतिर उपभोक्ता वस्तुहरुको मागमा निकै वृद्धि भएको छ भने अर्कोतर सामान्य आय भएका व्यक्तिहरुको जिवन स्तर पनि पहिले भन्दा निकै माथि उठेको छ। राष्ट्रिय अर्थ तन्त्रको विकासमा पर्यटन क्षेत्रले पनि निकै ठूलो योगदान पुर्याएको छ। राष्ट्रिय आम्दानीको लगभग ६ प्रतिशत पर्यटन क्षेत्रबाट प्राप्त हुन्छ। पर्यटनका लागि थाइलैण्डले विश्व मै प्रसिद्धि कमाएको छ।
थाइलैण्डले अंगिकार गरेको पूँजीवादी अर्थ व्यवस्थाको आलोचना गर्नेहरुको संख्या पनि कम छैन। ती आलोचकहरुको विचारमा थाइलैण्डको पूँजीवादी अर्थ व्यवस्थाले गरिबहरुलाई झनै गरिब एवं धनीहरुलाई झनै धनी पार्दै लगेको छ। राष्ट्रिय आयको वितरण न्यायोचित किसिमले हुन सकेको छैन। केहीको भनाईमा भने थाइलैण्डले आफ्नो राष्ट्रिय स्वार्थसँग सुहाउँदो किसिमको पूँजीवादी अर्थ नीति अंगिकार गर्नु पर्दछ। पूर्वाधारहरुको विकासमा जोड दिनुका साथै पूँजीवादको सही ढंगमा प्रयोग हुने नियम कानूनहरुको निर्माण एवं कार्यान्वयनमा विचार पुर्याउनु पर्दछ।
थाइलैण्डको आर्थिक विकासको अध्ययन गर्ने हो भने यो मुलुकले कृषिमा आश्रित रहेको राष्ट्रिय अर्थतन्त्रलाई क्रमिक रुपमा उद्योग एवं सेवामा आश्रित पार्दै लगेको प्रष्ट हुन्छ। साथै परम्परागत कृषि पद्धतिबाट वैज्ञानिक कृषि पद्धति तर्फ उन्मुख हुन खोजेको पनि प्रष्ट हुन्छ। कृषिमा विज्ञान र प्रविधिको प्रयोग बढी मात्रामा गर्न सकेको हुनाले नै यो मुलक विश्वमा नै प्रमुख चामल निर्यात कर्ता हुन सफल भएको हो पनि। उद्योगको क्षेत्रमा पनि यो मुलुकले निकै प्रगति गरेको छ। निर्यातमा पनि अग्रणी स्थान छ। र यस किसिमका उपलब्धिहरु हासिल गर्न, आर्थिक विकासमा सफलता प्राप्त गर्न, यो मुलुले अंगिकार गरेको अर्थ व्यवस्थ- पूँजीवादी अर्थ व्यवस्थाले निकै सघाउ पुर्याएको छ, यो मुलुकलाई। यो मुलुकले पूँजीवादी अर्थ व्यवस्था अंगिकार नगरेको भए, कृषि माथिको ठूलो निर्भरता कम पार्न यो मुलुकलाई निकै कठिनाई पर्थ्यो। उपलब्ध रहेको कृषि भूमिबाट अधिकत्तम फाइदा लिन गार्हो हुन्थ्यो। अहिलेको जस्तो, औधोगिक विकासको पथमा दौडिन असम्भब नै हुन्थ्यो। तर विश्व अर्थ व्यवस्थासँग राष्ट्रिय राष्ट्रिय अर्थ व्यवस्थालाई जोडेर, पूँजीवादको जगमा यो मुलुकले आर्थिक विकास मात्र गरेको छैन साथै मुलुकको गरिबी पनि उल्लेखनीय किसिमले कम पार्दे लगेको छ।  
  ५ लाख १३ हजार १२० वर्ग किलोमिटरमा फैलिएको थाइलैण्डको जनसंख्या सन् २०११ को अनुमान अनुसार ६ करोड ६७ लाख २० हजार १५३ रहेको थियो। यसै गरी कुल गार्यहस्थ उत्पादन ( PPP मा), सन् २०१३ को अनुमान अनुसार, अमेरिकी डलरमा ७०१.५५४ बिलियन रहेको छ। प्रति व्यक्ति आय भने $१० हजार ८४९ रहेको छ।

  विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, July 12, 2013

Friday, July 5, 2013

South Korea's Exemplary Economic Development-Article-95 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

१८. उदाहरणीय दक्षिण कोरियाको आर्थिक प्रगति

आर्थिक विश्लेषकहरुका अनुसार दक्षिण कोरियाले आर्थिक प्रगति शून्य वा खरानीबाट शुरु गरेको हो। शुन्यबाट आर्थिक प्रगति शुरु गरेर अहिले एशियाको चौथो ठूलो अर्थ तन्त्र हुन सफल भएको छ। र यति बढी सफलता केवल चालिस पचास वर्षको भित्रमा गरेको हो। हुनत, दोस्रो विश्व युद्ध पछि, जब कोरियाको विभाजन भयो,  दक्षिण कोरिया अर्थात गणतन्त्र कोरियाको सृजना भयो, दक्षिण कोरिया त्यो समयदेखि नै आर्थिक प्रगतिको बाटोमा लम्क्यो। तर उल्लेख्य प्रगति भने सन् १९६० देखि १९९० को अवधिमा गर्यो। यो अवधिमा प्रति वर्ष कुल गार्यहस्थ उत्पादन ९ प्रतिशतले बढ्यो। र आर्थिक प्रगतिको त्यो सिलसिला अहिले पनि जारि नै छ। दक्षिण कोरिया सन् २०१० मा विश्वको छैठौ ठूलो निर्यातकर्ता राष्ट्र हुन पुगेको थियो भने दसौं ठूलो आयातकर्ता। यो मुलुकले अन्तरार्ष्ट्रिय व्यापारबाट निकै नै बढी फाइदा उठाएको छ। शुरुमा केवल जुत्ता, टेक्सटाइल आदि जस्ता वस्तुहरु निर्यात गरेता पनि अहिले भने बढी मूल्य (High value) का वस्तुहरु ठूलो परिमाणमा निर्यात गर्दछ। इलेक्ट्रोनिक्स, अटोमोबाइल्स, जहाजहरु, मेसिन एवं उपकरणहरु, पेट्रोकेमिकल्स, रोबोटिक्स आदि यस देशका प्रमुख निर्यातक वस्तुहरु हुन। दक्षिण कोरियाको आर्थिक उपलब्धिलाई संसार मै बिसौं सप्ताब्धिको उल्लेख्यनीय घटनाको रुपमा लिने गरिन्छ। यसै कारणले होला, द कोरियाको आर्थिक प्रगतिलाई “हांगांग नदिमा चमत्कार (Miracle on the Hanggang River)  पनि भन्ने गरिन्छ। हुन पनि, कुनै समयमा एक्लिएको र कृषिमा आश्रित रहेको एक निर्धन मुलुक द कोरियाले प्रचुर मात्रामा आर्थिक प्रगति गरेर अहिले विश्व सामु उदाहरण प्रस्तुत गरेको छ। जनतामा आर्थिक विकास गर्ने अति चाहना छ भने, राष्ट्रले इमान्दार नेतृत्व पाएको छ भने, देशको आर्थिक विकास छोटो समयमा, चमत्कारी किसिमले गर्न सकिन्छ भन्ने धारणालाई सत्य साबित गरि दिएको छ, यो देशको आर्थिक विकासले। अहिले यो देशमा अटोमोबाइल्स, इलेक्ट्रोनिक्स र जहाज निर्माण गर्ने ठूला ठूला कम्पनीहरु छन्। यै मुलुकमा, जनताको प्रतिव्यक्ति आय सन् १९६३ मा केवल १०० डलर (अमेरिकी) थियो भने सन् २००५ मा चमत्कारी किसिमले वृद्धि भएर १६,००० डलर (अमेरिकी)  हुन पुग्यो। कुनै समयमा भने यो देश अमेरिकी सहयोगमा आश्रित थियो।
मुलुकको आर्थिक विकासका लागि द कोरियाले प्रारम्भकालदेखि नै परिवारहरुको स्वामित्वमा रहेका साना साना उद्योगहरुको विकासमा जोड दिंदै आयो। मुलुकको अर्थ तन्त्रलाई निर्यातमूखि पार्दै लग्यो पनि। यो देशले अहिले उल्लेखनीय समृद्धि प्राप्त गरेको छ। अहिले यहाँ केवल चार प्रतिसतको हाराहारिमा मात्र बेरोजगारी छ।
द कोरिया, नोमिनल जि डि पी को आधारमा विश्वको १५ औ ठूलो अर्थ तन्त्र हो भने क्रय शक्ति तुलना (PPP) को आधारमा १२ औ। औधोगिक विकासमा उल्लेख्य सफलता हासिल गरेको यो मुलुक संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन एवं ओ इ सि डी (OECD) को सदस्य पनि हो। द कोरियालीहरुको जिवन स्तर ज्यादै उच्च छ। सन २००२ आर्थिक वृद्धि दर ७.२ प्रतिशत हुन पुगेको थियो। अति उल्लेखनीय कुरा त के छ भने सन् २००७-२००८ ताका, विश्व अर्थ व्यवस्थामा देखिएको आर्थिक संकटको समयमा, यो देशलाई त्यो संकटको गंभिर असर परेको थिएन र सन् २०१० मा आर्थिक वृद्धि दर ६.२ प्रतिशत हुन पुगेको थियो। देशको आर्थिक विकास द्रुदतर गतिमा गर्न द कोरियाले संयुक्त राज्य अमेरिकासंग सन् २००७ मा एक स्वतन्त्र ब्यापार सम्झौतमा गरेको थियो। सन् २००७ मा दुबै राष्ट्रहरुबाट सम्झौतमा हस्ताक्षर भएता पनि यो सम्झौताको कार्यान्वयन भने मार्च १५, २०१२ देखि भयो। यो सम्झौतालाई “गणतन्त्र कोरिया- संयुक्त राज्य स्वतन्त्र ब्यापार सम्झौता” (Republic of Korea-United States Free Trade Agreement) भन्ने गरिन्छ। द कोरियाको आर्थिक विकासमा संयुक्त राज्य अमेरिकाको उल्लेख्यनीय सहयोग रहँदै आएको छ। केवल आर्थिक मात्र होइन, राजनीतिमा समेत पनि उल्लेखयनीय सहयोग रहँदै आएको छ। द कोरियाको अमेरिकासँग यस किसिमको घनिष्ट सम्बन्ध नरहेको भए यो मुलुकलाई यस किसिमबाट चमत्कारी तबरले आर्थिक प्रगति गर्न गार्हो हुन्थ्यो होला।
बजार अर्थ तन्त्र अंगालेको द कोरिया एशियाका तिब्र रुपमा आर्थिक विकास गर्ने राष्ट्रहरुको समूहमा पर्दछ। यो मुलुकले पूँजीवादी अर्थ व्यवस्था न अंगालेको भए यो स्तरमा आर्थिक प्रगति असम्भव नै हुन पुग्थ्यो। पूँजीवादी अर्थ व्यवस्थाले नै यो देश र यसका जनतालाई यति धनी तुल्याएको हो। र यो तथ्य छोटो समयमा यो मुलुकले गरेको आर्थिक उपलब्धिबाट प्रष्ट हुन्छ। यसका लागि थप तर्कहरु दिनु आवश्यक छैन। उत्तर कोरिया झै यो देशमा पनि साम्यवादी व्यवस्था वा अधिनायक तन्त्र रहेको भए यो देशको आर्थिक स्थिति पनि उत्तर कोरियाको झै हुने थियो।  पूँजीवादी अर्थ तन्त्र अंगालेर देशको आर्थिक विकास तिब्र गतिमा गर्न सकिन्छ भन्ने कुराको उदाहरण द कोरिया र उ कोरियाको आर्थिक स्थितिको तुलना गरेर पनि प्रस्तुत गर्न सकिन्छ। द कोरियाको प्रति व्यक्ति आय (सन् २०१३ को अनुमान अनुसार) नोमिनलमा, $२५, ०५१ छ भने उ कोरियाको (सन २०११ को अनुमान अनुसार) मात्र $५०६ रहेको छ। यसै गरी द कोरिया कुल गार्यहस्थ उत्पादन (सन् २०१३ को अनुमान अनुसार) $. २५९ ट्रिलियन  रहेको छ भने उत्तर कोरिया (सन् २०११ को अनुमान अनुसार) केवल $१२.४ बिलियन रहेको छ। १ लाख २१० वर्ग किलोमिटरमा फैलिएको द कोरियाको जनसंख्या ५ करोड ४ हजार ४४१ (सन् २०१२)  छ। १ लाख २० हजार ५४० वर्ग किलोमिटरमा फैलिएको उ कोरियाको जनसंख्या २ करोड ४५ लाख ५४ हजार (सन् २०११) रहेको छ। अधिनायकवादी राजनैतिक व्यवस्था र केन्द्रितकृत अर्थ व्यवस्थाले उत्तर कोरियाको आर्थिक प्रगति हुन दिइ रहेको छैन।
विगतमा द कोरियाको राजनीति पनि उथल पुथल पूर्ण रहेको थियो। चार दसकसम्म यो देश नियन्त्रणकारी शासन व्यवस्था रह्यो। तर सन् १९८७ मा पुन वहुदलिय व्यवस्था स्थापना भयो। अहिले भने प्रजातन्त्रको अभ्यास सफलतापूर्वक गरि रहेको छ, यो मुलुकले। हालको राष्ट्रपति पाक कुन इ (Park Geun-hye), द कोरियाको एघारौं राष्ट्रपति हुन। उनी द कोरियाको पहिलो महिला राष्ट्रपति हुन सफल भएकी छिन। साथै उत्तरपूर्व एशियाको आधुनिक इतिहासमा पहिलो महिला राष्ट्रध्यक्ष हुन समेत पनि सफल भएकी छिन।
द कोरियामा जनसंक्या वृद्धि दर ज्यादै न्यून रहेको छ र संसार मै ज्यादै न्यून जनसंख्या वृद्धि दर हुने राष्ट्रहरु मध्ये पर्दछ। यसको जनसंख्या वृद्धि दर जापान भन्दा पनि न्यून रहेको छ। जनता बढी मात्रामा काममा लिन हुने भएकोले सरकारले जनतालाई घरमा गएर परिवारसंग समय बिताउन आग्रह समेत गर्नु परेको छ। जनसंख्या वृद्धि तर्फ ध्यान दिन सरकारले जनतालाई आग्रह गर्नु परेको छ।
कुनै पनि मुलुकको आर्थिक विकास तिब्र किसिमले गर्नका लागि तीन तत्वहरु- पूँजीवादी अर्थ व्यवस्था, प्रजातन्त्र र इमान्दार नेतृत्व अनिवार्य रहेछ भन्ने तथ्यको बलियो किसिमले पुष्टि द कोरियाको आर्थिक प्रगतिबाट हुन आउँछ। यसै गरी मुलुकमा ब्याप्त रहेको गरिबी साम्यवादी होइन, पूँजीवादी अर्थ  तन्त्र द्वारा गर्न सकिन्छ भन्ने तथ्यको पनि पुष्टि हुन आउँछ। न त साम्यवादी अर्थ व्यवस्थाद्वारा न त समाजवादी अर्थ व्यवस्थाद्वारा नै, मुलुकको आर्थिक विकास गर्न सकिन्छ। न त गरिबी नै कम पार्न सकिन्छ, अहिलेको यो प्रतिस्पर्धात्मक युगमा। त्यसकारण गरिबी कम पार्न साम्यवादी वा समाजवादी अर्थ तन्त्र आवश्यक छ भनी थप तर्कहरु प्रस्तुत गर्नु समय खेर फाल्नु हो। गरिब जनतालाई झनै गरिबीको खाडलतिर धकेल्नु हो। यो तथ्य सबै गरिबी व्याप्त रहेका राष्ट्रहरुमा लागु हुन्छ। साम्यवादी नेताहरु र साम्यवादमा विश्वास गर्ने व्यक्तिहरुले समाजवादी वा साम्यवादी अर्थ व्यवस्थाद्वारा गरिबी कम पार्न सकिन्छ, जनताको जिवनमा आर्थिक समृद्धि ल्याउन सकिन्छ भन्ने भ्रम हटाए हुन्छ। गरिब जनताको कल्याण पूँजीवादी अर्थ व्यवस्थाद्वारा नै हुन्छ। पूँजीवादले राष्ट्रिय अर्थ तन्त्रलाई गति प्रदान गर्दछ। र यस कुराको पुष्टि पहिले यूरोपका राष्ट्रहरुले र अहिले एशियाका केही राष्ट्रहरुले गरेको आर्थिक प्रगतिबाट प्रष्ट हुन आउँछ। संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलातय, फ्रान्स, जर्मनी आदिले पूँजीवादी अर्थ व्यवस्थाद्वारा नै यति बढी आर्थिक प्रगति गरेका हुन भनी दोहर्याइ रहनु पर्दैन। पूँजीवाद तर्फ अहिले दक्षिण अमेरिका र अफ्रिका धेरै राष्ट्रहरु समेत पनि ढल्केका छन।
साधन र स्रोतहरुले सम्पन्न भएता पनि नेपालले तिब्र गतिमा आर्थिक प्रगति गर्न सकेको छैन। र यस्तो हुनुमा यो मुलुकका नेताहरुमा कस्तो किसिमको आर्थिक व्यवस्थाद्वारा राष्ट्रको आर्थिक विकास हुन सक्छ भन्ने कुरामा द्विविधा हुनु हो। नेताहरु प्रष्ट हुन सकि रहेका छैनन। केही नेताहरु परम्परागत धारणा (साम्यवादी अर्थ व्यवस्थाद्वारा मात्र गरिबी निबारण गर्न सकिन्छ) भन्दा बाहिर आउन सकि रहेका छैनन् भने केहिले जनतालाई पूँजीवादी अर्थ व्यवस्था द्वारा मात्र मुलुकको गरिबी कम पार्न सकिन्छ भन्ने आँट गर्न सकि रहेका छैनन्। त्यसरी आँट गर्न नसक्नेहरुमा, प्रमुख रुपमा, कांग्रेसी, एमाले, लगायत मधेसी दलका नेताहरु पर्दछन। 
  

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, July 05, 2013