मोदी युग आर्थिक विकासको युग होला त?
दक्षिण एशियाको महाशक्ति राष्ट्र भारतमा हालै भएको राजनैतिक परिवर्तन
(लोकसभाको निर्वाचनमा भाजपाको जित र प्रधान मंत्रीका रुपमा नरेन्द्र मोदीको उदय )
सँग सँगै भारत लगायत यस क्षेत्रमा नै नया नया औसर एवं चुनौतिहरु सृजना भएका छन्। यस
क्षेत्रमा राजनैतिक मात्र होइन आर्थिक महाशक्ति पनि हुन पुगेको भारतलाई यो
निर्वाचनले, यस क्षेत्रमा आर्थिक महा शक्ति हुन अब अझै शक्ति प्रदान गर्नेछ। भारतले सन् १९९० देखि समाजवाद-पथ परित्याग गर्न
प्रारम्भ गरेदेखि नै यसको आर्थिक विकासको गति तिब्र हुन पुगेको थियो। आर्थिक
विकासको गतिमा आएको त्यो तिब्रताले नै भारतलाई छोटो समयमा दक्षिण एशियाको महाशक्ति
राष्ट्र हुने औसर प्रदान गर्यो पनि। आज स्थिति यस्तो भएको छ कि भारतमा हुने आर्थिक
परिवर्तनहरुले यसका छिमेकी राष्ट्रहरु प्रभावित नभइ रहन सक्तैनन्। यो कारणले पनि
भारतका छिमेकी राष्ट्रहरुले भारतको राजनैतिक साथै आर्थिक नीति तथा कार्यक्रमहरुलाई
पनि अभिरुचिका साथ हेर्न थालेका छन्। र यही कारण हुनु पर्दछ, भारतका नव नियुक्त
प्रधान मंत्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा, जुन गत सोमबार (मे २६, २०१४)
भएको थियो, मा भाग लिन छिमेकी मुलुकका
विशिष्ठ व्यक्तिहरुको ठूलो संख्यामा भारत आगमन भयो। सो समारोहमा भाग लिन नेपालका
प्रधान मंत्री सुशील कोइराला, पाकिस्तानका प्रधानमंत्री नवाज सरिफ, भुटानका
प्रधानमंत्री छिरिङ तोब्गे, बंगलादेशकी सभामुख डा सिरिन यस चौधरी, मरिससका
प्रधानमंत्री रविन रङगुलम, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइ, मल्दिभ्सका
राष्ट्रपति अब्दुल्ला यमिन, श्रीलंकका राष्ट्रपति महिन्द्रा राजापाक्षे भारत
पुगेको समाचारहरुमा जनाइएको थियो। करिब चार हजार स्वदेशी एव विदेशी पाहुनाहरुको
समेत सो समारोह उपस्थिति थियो। र सबै भन्दा रोचक पक्ष त के छ भने सन् १९४७ मा भारत
र पाकिस्तान स्वतन्त्र भएदेखि अहिलेसम्ममा न त भारत न त पाकिस्तानबाट एक अर्काको
मुलुकमा यस किसिमको (प्रधानमंत्रीको सपथ ग्रहण) समारोहमा प्रधानमंत्री स्तरम
उपस्थिति हुने कार्य भएको थियो। तर त्यो क्रम अब भने तोडिएको छ। प्रधानमंत्री
नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन आउनका लागि भारतबाट पठाइएको
निमन्त्रणलाई स्वीकार गर्दै पाकिस्तानी प्रधानंत्री नवाज सरिफ भारत आए। जबकि,
अहिले पनि भारत र पाकिस्तानको सम्बन्ध समधुर हुन सकेको छैन। विगतमा, भारत र
पाकिस्तान बीच सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चार पटक युद्ध भइसकेको छ। सन्
१९७१ मा भने भारतले बंगलादेशको स्वतन्त्रता संग्राममा बंगलादेशलाई सहयोग गर्ने
क्रममा भारतको पाकिस्तानसँग युद्ध हुन पुगेको थियो। भारत र पाकिस्तान बीच भएका
युद्धहरुमा सबै भन्द बढी हताहति यसै युद्धमा भएको थियो। दोस्रो विश्व युद्ध पछि
सर्वाधिक ठूलो संख्या युद्ध बन्दि पनि यसै युद्धमा भएका थिए। भनिन्छ, सेना र
समान्य नागरिक गरी करिब ९० हजार पाकिस्तानीहरुले भारत र बंगालदेशका संयुक्त सेना
समक्ष आत्म समर्पण गरेका थिए। यस युद्धमा पाकिस्तानले ठूलो क्षति बेहोरेको थियो।
यस युद्धमा पाकिस्तानले आधा जलसेना, एक चौथाइ हवाइ सेना र एक तिहाइ सेना गुमाएको
थियो। यस बाहेक भारत पाकिस्तान विभाजनको घाउ अहिले पनि यी दुवै राष्ट्रहरुको स्मरणबाट
हराउन सकेको छैन। भारत र पाकिस्तान विभाजनको समयमा हिन्दु-मुस्लिम र सिख-मुस्लिम
बीच भएको जातीय हिंसामा करिब ५ देखि १० लाखले ज्यान गुमाएका वा घाइते भएको अनुमान
गरिन्छ।
विगतका घटनारहरुलाई केलाएर हेर्ने हो भने श्रीलंकामा तामिलहरुद्वारा
गरिएको आन्दोलनलाई लिएर श्रीलंका र भारत बीचको सम्बन्ध सिचो हुन पुगेको थियो। यसै
गरी, जनस्तरमा नेपाल र भारत बीचको सम्बन्ध
समधुर भएता पनि यी दुई देशहरु बीच सरकारी स्तरमा भने सम्बन्ध सौहार्द पूर्ण हुन
सकेन। गएको एक दशकमा भारतका प्रधान मंत्रीबाट नेपालको भ्रमण भएन। मनमोहन सिंह दस
वर्ष भारतको प्रधान मंत्री भए तर उनले आफ्नो कार्यकालमा एक पटक पनि नेपालक भ्रमण गरेनन्।
सिंहले धेरै छिमेकी मुलुकहरुको भ्रमण गरे,
विश्वका सयौ मुलुकहरुमा पुगे तर नेपाल उनको महत्व एवं प्राथमिकताको सूचिमा पर्न
सकेन। विगतको कांग्रेस सरकारले नेपाललाई खासै महत्व नदिएको यसबाट पनि संकेत मिल्छ।
हालै को चुनावमा भारतीय राष्ट्रिय कांग्रेसको ठूलो पराजय हुनुका विभिन्न कारणहरु
मध्ये एक उसको शासनकालमा छिमेकी
राष्ट्रहहरु सँग राम्रो सम्बन्ध हुन नसक्नु पनि हो।
नव निर्वाचित प्रधान मंत्री मोदीले भने पुराना कुराहरुलाई अब बिर्सेर,
तत्कालमा समाधान हुन नसक्ने समस्याहरु (जस्तै काश्मिर आदि) लाई हालका लागि थांति
राखेर छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध राख्न खोजेको देखिएको छ। मोदीको मन
भित्र, यथार्थमा, छिमेरकी राष्ट्रहरु प्रति कस्तो किसिमको दृष्टिकोण छ भन्ने कुरा
त थाहा पाउन सकिंदैन तर उनका व्यवहार एवं अभिव्यक्तिहरुको विश्लेषण एवं मुल्यांकन
गर्ने हो भने मोदीले छिमेकीहरुसँग राम्रो सम्बन्ध राख्न खोजेको प्रष्ट हुन्छ। र
यसको प्रमाण हो भारतले प्रधान मंत्रीको सपथ ग्रहण समारोहमा भाग लिन छिमेकी
मुलुकहरुका राष्ट्र एवं सरकार प्रमुखहरुलाई महत्वका साथ निमन्त्रण पठाउनु। भारतले
यसरी गरेको निमन्त्रणले मोदी सरकार आफ्ना छिमेकी सरकारहरुलाई महत्व दिन्छ। छिमेकी
सरकारहरु सँग सौहार्द सम्बन्ध कायम गर्न खोज्छ र निरन्तर सम्वादमा रहन चाहन्छ भन्ने कुराहरुको संकेत मिल्छ। भारतले दिएको यस
किसिमको निमन्त्रणले मुल रुपमा दिन खोजेको मुख्य सन्देश के हो भने अबको भारत यस
क्षेत्रको आर्थिक विकासका लागि छिमेकी मुलुकहरु सँग मिलेर कार्य गर्न चाहन्छ। यस
क्षेत्रको विकासले भारतको विकासमा प्रत्यक्ष वा परोक्ष रुपमा असर पार्ने भएकोले
भारत दक्षिण एशिया कै आर्थिक विकासमा योगदान पुर्याउन चाहन्छ।
मोदी एक कुशल आर्थिक नेता हुन। उनलाई थाहा छ, भारतलाई धनी पार्न
छिमेकी मुलुकहरु पनि धनी हुन जरुरी छु, छिमेकी मुलुकहरुमा पनि शान्ति हुन जरुरी छ।
छिमेकी मुलुकहरु निर्धन भएमा भारत एक्लो धनी हुन सक्तैन। यसै गरी मोदीलाई यो पनि
थाहा छ, कुनै पनि मुलुक वा क्षेत्रको आर्थिक विकासका लागि त्यस मुलुक वा क्षेत्रमा
शान्ति हुन पनि त्यतिकै जरुरी छ।
निरन्तरको लडाइ र झगडाले आर्थिक विकास सम्भव छैन। अरबौ रुपैया हतियारमा खर्च गरेर,
सेनाको संख्या भारि वृद्धि गरेर देशमा आर्थिक विकास होइन उल्टो गरिबीमा वृद्धि
हुन्छ। विकास त बरु मुलुक भित्र स्कूल, अस्पताल आदिको स्थापनमा गरिने वृद्धिले
हुन्छ। यो यथार्थ मोदीले राम्रो गरि बुझेका छन। त्यसैले भारतको आर्थिक विकासका
लागि परम्परागत रुपमा सत्रुता रहेको पाकिस्तानसँग पनि मिलेर कार्य गर्न मित्रताको
हात अघि अगाडि बढाएका छन। मुलुकको आर्थिक विकासका लागि सत्रुतालाई विर्सन वा
विश्राम दिन खोजेका छन्।
अहिलेको युग आर्थिक विकासको युग हो। परम्परगत रुपमा रहँदै आएको
सत्रुतालाई बिर्सेर वा केही समयका लागि विश्राम दिएर मुलुकको आर्थिक विकासमा
केन्द्रित हुनु पर्ने युग हो। अहिले, अमेरिका र यूरोपका धेरै राष्ट्रहरुले यो
मान्यता माथि विश्वास गरेको र यो मान्यता अनुसार कार्य समेत पनि गरेको देख्न
सकिन्छ। यही मान्यता अनुसार अमेरिकाले क्रिमिया संकटमा कुनै किसिमको सैनिक
हस्तक्षेप गरेन। यो यथार्थलाई पाकिस्तानका प्रधान मंत्री नवाज सरिफले पनि राम्रो
गरी बुझेका छन्। हालै मोदी सँगको भेटमा सरिफले हामी बीच रहि आएको अविश्वालाई
हामीले त्यागेर शान्ति र स्थिरताका लागि मिलेर कार्य गर्नु पर्छ भने। सरिफले मोदी
सँगको वार्ता असल र रचनात्म रहेको पनि उल्लेख गरे। यसै गरी दुई देश बीच रहेको
सम्बन्धको नया पाना पल्टिएको पनि भने।
तर, भारत र पाकिस्तान, दुबै तिर, यी दुई राष्ट्रहरु बीच अशल सम्बन्ध
कायम नहोस भनी कामना र प्रयत्न गर्नेहरुको संख्या पनि कम छैन। यसै गरी भारतमा
परम्परागत सोंच बोक्नेहरुको एउटा सानो तर महत्वपूर्ण समूह छ। त्यो समूहले छिमेकी
मुलुकहरुलाई भारतले निर्देशन र नियन्त्रणमा राख्नु पर्दछ भन्ने विश्वास राख्दछ। तर
अबको यो आर्थिक युगमा परम्परागत सोंच राख्नेहरुको शक्ति कमजोर भएर जानेछ। यो युगका मान्छेहरुले के बुझेका छन्
भने एक अर्काप्रतिको विश्वास र शान्ति नै
आर्थिक विकासका मुल आधारहरु हुन। हरेक देशले आफ्नो देशको आर्थिक विकास गर्न छिमेकी
मुलुकहरु सँग मिलेर कार्य गर्नुको विकल्प छैन, यो युगमा।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Wednesday, May 28, 2014