Friday, October 31, 2014

A short story "The attitudes" in Nepali

प्रवृतिहरु

(कथा)

रेल आफ्नो तिब्र गतिमा थियो। मेरो छेउमा बसेको यात्रीले भने मलाई पटक पटक हेरिरहेका थिए। म रेलमा सबार भएर रक्सौलदेखि बैरगनिया एक्लै जाँदै थिए। पिताजी गौरमा रहनु भएकोले उहाँलाई भेट्न म त्यसतर्फ जाँदै थिए। मेरो उमेर तेर्ह वा चौध वर्षको थियो। यो घटना आज भन्दा चालिस वर्ष पहिलेको हो।” काका दिनेशले आफ्नो कथा आरम्भ गर्नु भयो।
“घोडासहन आएपछि सूर्य अस्ताउन शुरु भयो। र त्यसै सँग शुरु भयो मलाई जाडो लाग्ने क्रम। मैले माथि एउटा आफ सर्ट बाहेक केही पनि लगाएको  थिन। चैत्र महिना भएकोले मौसममा अझै पनि जाडोको अवशेष थियो। गाडी घोडासहनमा निकै बेर रोकियो। मेरो अर्को छेउमा बसेको व्यक्ति भने झ्यालतिर बसेका थिए। रेल बाहिरबाट ठीक त्यही झ्यालको अगाडि एक नवयुवती देखा परिन र उनले हात झ्यालतिर उचालेर भनिन् बाबुजी, इस गरिब दु:खीयारी पर दया किजिए, दो चार पैसा दिजिए। त्यसरी भिख माग्ने ती नवयुवतीतिर हेर्दै झ्यालतिर बस्ने मेरा ती सहयात्रीले भने, देखो तुँ मेरी मजबुरी को सम्झो मै भि तुम्हारी मजबुरी समझ जाउँगा। ती सहयात्रीको यो कुरा सुनेर ती मगन्ते नवयुवती दृश्यबाट झ्वाट्ट हराइन। ती नवयुवतीले उनको भनाइको के अर्थ लगाइन र किन त्यसरी हराइन मैले बुझ्न सकिन।”
“गाडी बरगनियाको दिशातिर दौडियो। मेरो जिउमा जाडोले काँढा उम्रिन थाल्यो। मलाई घरि घरि हेर्ने ती सहयात्रीले मलाई प्रश्न गरे, बौआ, कहाँ तक जैबा? मैले भने, बरगिनिया तक जाए के बा। उनले पुन: प्रश्न गरे, ओढना तोढना न हौ, पास मे? मैलै भने,  गौर जाए के हुलबुली मे ओढना भोर परागेली। मेरो कुरा सुने पछि ती सहयात्रीले आफ्नो झोलाबाट ओढ्ने झिकेर मेरो जिउमा राखि दिए। मैलै खुसी र आशंका दुबै मिसिएको नजरले उनलाई हेरे। मेरो त्यस्तो गराइको प्रतिक्रियामा उनले भने, रिस्ता दिल से दिल का एताबार का जिन्दा है हमी से नाम प्यार का। उनले भनेको त्यो कुराको मैले केही अर्थ झिक्न सकिन।”
“बैरगनिया स्टेशन आए पछि रोकिनका लगि रेलले आफ्नो गति मन्द गर्न थाल्यो। रेलको गति अति नै मन्द भए पछि झ्यालतिर बस्ने मेरो सहयात्रीले झाल बाहिर आँखा गाड्ने थाले। उनले भने, अरे, क्या हुआ एक भि चिडिया नही दिखाइ दे रहा है?”
“रेल बरगनियामा टक रोकियो। म हत्तारिँदै रेल बाहिर आउन खोजे। साथै अति सचेततापूर्वक मलाई ओढ्ना दिने ती सहयात्रीलाई त्यो आफूले ओढेको ओढना जिउबाट झिकेर दिन खोजे। उनले भने, हम ढेंग तक जाएम। बहुत दूर जाएके न है। जाडा के समय है, यी ओढना अपना साथ मे लेजा, बौआ। मैले भने, हमर पिताजी के कहनाम है अनकर सम्पत्ति न लेबे के चाहि। यति भनेर म रेलको डब्बाट बाहिर निस्किन ढोकातिर लागे। तर दुई सहयात्रीहरुको भनाई मेरो मष्तिसष्कमा आइ नै रह्यो। तर अर्थ बुझ्न अति कोशिस गर्दा पनि बुझ्न सकिन।”
“आज उमेरको यो आधा सतक अगल्लो पहाड चढे पछि भने मैले ज्यादै छर्लङ्ग पारेर बुझे, रिस्ता दिल से दिल का एतबार का जिन्दा है हमी से नाम प्यार किन भनेका रहेछन ती सहयात्रीले। अनि यो पनि बुझे, मेरो अर्का सहयात्रीले देखो तुँ मेरी मजबुरी को सम्झो मै भि तुम्हारी मजबुरी समझ जाउँगा भने पछि ती नवयुवती किन एक छिन मै त्यसरी अलप भइन।”

दिनेश काकाले यो कथा समाप्त पारेपछि मेरो काँधमा हात राख्दै भन्नु भयो, “सौम्य बाबु, केही कुराहरुको अर्थ कुनै खास उमेरमा पुगे पछि मात्र खुल्छ।”

विश्वराज अधिकारी

Friday, October 17, 2014

Possibility of Emerging A New Power-Article-146

नया राजनैतिक सक्तिको उदयको सम्भावना

नेपालको राजनीति लामो समयसम्म स्थिर रहेको इतिहास बिरलै भेटिन्छ। नेतृत्व वा राजनैतिक परिवर्तनका लागि नेपालमा विभिन्न समयहरुमा संघर्ष वा आन्दोलनहरु भएका छन्। विगतमा भएका आन्दोलनहरु मध्ये केही तुलनात्मक रुपमा शान्तिपूर्ण रहे भने केही निकै हिंसक र क्रुर पनि भए। भएका ती आन्दोलनहरूको मुख्य उद्देश्य राजनैतिक स्वतन्त्रता सहितको आर्थिक खुसहाली भएता पनि नेताहरुको स्वार्थको कारणले गर्दा ती आन्दोलनहरुका परिणामहरुले जनतालाई अपेक्षित मात्रमा आर्थिक समृद्धि प्रदान गर्न सकेनन्। तर अर्कोतिर, ती आन्दोलनहरुले नेताहरुलाई भने राम्रो फाइदा भने अवश्य पुर्याए। पुराना राजा महाराजहरुको ठाउँमा नया नया राजा महाराजाहरु अवतरित भए। नया नया शक्ति केन्द्रहरुको उदय भयो। जति बढी नेताहरुको आर्थिक जीवनमा चमत्कारी किसिमको परिवर्तन आयो आम जनताको जीवनमा त्यस्तो हुन सकेन। नेताहरुको राजनैतिक र आर्थिक हैसियतमा व्यापक विकास भयो। तर गरीबहरु भने झन झन गरिब हुँदै गए। देशको कृषि एवं औधोगिक क्षेत्रमा योजनावद्ध किसिमले विकास हुन सकेन। ती क्षेत्रहरुमा जे जति विकास भए, स्वस्फूर्त रुपमा र समयको माग अनुसार भए। रोजगारीको क्षेत्र अभूतपूर्व किसिमले संकुचित हुन पुग्यो। परिणामस्वरुप नेपालीहरु ठूलो संख्यामा रोजगारीका लागि भौंतारिए, विदेशीय। आज स्थिति यो छ कि, रोजगारी वा औसरको खोजीमा करिब ३० लाख जति नेपालीहरु संसारका विभिन्न राष्ट्रहरुमा पुगेका छन्। एक किसिमको निर्वासित जीवन यापन गरि रहेका छन्। परिवारहरु सँग छुट्टिएर बस्न बाध्य छन्। कठोर परिश्रम गर्नु, जोखिमपूर्ण कार्यस्थलमा काम गर्नु, र श्रम तस्करहरुको जालमा पर्नु सोझो नेपालीहरुको नियति हुन पुगेको छ। रोजगारीक लागि विदेश पुगेका कैयौ युवाहरु लाश बनेर फर्किरहेका छन्। 
यति सबै कुराहरु हुँदा हुँदै पनि नेपालीहरुले भोलिको दिनमा दूर दिन जाला र सुख र शान्तिको दिन आउला भनी आन्दोलन गर्ने मनोविज्ञानलाई विश्राम भने दिएका छैनन्। आम जनताको अहिलेको यो मौनता पनि भोलिको कुनै परिवर्तनका लागि तयारी त होइन? नेपालीहरुले पुन: राजनैतिक परिवर्तनका लागि कुनै संघर्ष गर्ने योजनता त बनाई रहेका छैनन? आफूलाई मनोवैज्ञानिक रुपमा त्यसका लागि तयार पारिहेका त छैनन? आम नेपालीमा, वर्तमानको राजनैतिक स्थिति र नेताहरुको व्यवहारबाट उत्पन्न भएको वितृष्णाले त्यही कुराको संकेत गरि रहेको छ। तर विडम्बना, नेपालको अर्थ तन्त्र मुलुकमा हुने कुनै ठूलो ससस्त्र संघर्ष झेल्न सक्ने स्थितिमा अहिले छैन। शान्तिपूर्ण आन्दोलनको कुनै विकल्प छैन।  
नेपालको राजनैतिक परिवर्तनको इतिहास हेर्ने हो भने हरेक दस वा बीस वर्षमा नेपालमा कुनै खास किसिमको राजनैतिक परिवर्तनका लागि आन्दोलन वा संघर्ष भएको देखिन्छ। २००७ सालमा जहानीया राणा शासकहरुको विरुध्द एव प्रजातन्त्र प्राप्तिका लागि संघर्ष भएको  थियो। त्यो संघर्षले नेपालमा एक किसिमको ठूलो परिवर्तन ल्यायो। राणाहरु सत्ताको सिंहासनबाट बाहिरिए, शाही परिवार वा पृथ्वी नारायण शाहका वंशजहरु पुन शक्तिसाली भए, मुलुकमा प्रजातन्त्रको अभ्यास सीमित मात्र नै भए पनि हुन थाल्यो। त्यस पछि २०१७ सालमा पनि राजनैतिक परिवर्तन भयो। यो परिवर्तनको भूमिमा टेकेर राजा महेन्द्रले एक तन्त्रीय हुकुमी शासनलाई झनै बलियो र निरकुंस पारे। तर राजा महेन्द्रले त्यसरी सत्ता केवल राज परिवारमा केन्द्रित गर्नुको पछाडि त्यस बेलाका जन प्रतिनिधिहरुको भूमिका पनि जिम्मेबार छ। यो विषय अहिलेसम्म पनि विवादित नै छ, किन भने राजा महेन्द्रको त्यो कदमलाई उचित र तत्कालिन नेताहरुको भूमिका फितलो मान्नेहरु अहिले पनि धेरै छन। २०१७ सालको स्थित अहिले पनि दोहरिएको छ किनभने अहिलेका नेताहरुले नेपाली राजनीतिमा आफ्नो उपस्थिति र भूमिका अति नै फितलो पार्दै लगेका छन्। अर्थपूर्ण किसिमको वा जनताको पक्षमा बलियो तुल्याउन सकेका छैनन्। नेताहरुको क्रियाकलाप एकातिर छ भने जनताको अपेक्षा अर्कोतिर छ। दुबै कुराहरु नदिका दुई किनार बन्न पुगेका छन्। नेताहरु केवल व्यक्तिगत र दलगत फाइदामा केन्द्रित छन् भने जनताका सरोकारका कुराहरु उनीहरुको नजरमा महत्वहीन हुँदै गएका छन्।
२०१७ साल देखि २०३५ सालसम्ममा भएक राजनैतिक क्रिया कलापहरु बाट जनता फेरि उकुस मुकस भयो र नया परिवर्तनका लागि सडकमा आयो। दरबार भन्दा पनि दरबारका आसेपासेहरुबाट बढी पीडित जनता पंचायतको विरुद्धमा खुलेर नारा लगाउने थाले। सडकहरु तात्न थाले। परिणामस्वरुप त्यो आन्दोलनमालाई सम्बोधन गर्न तत्कालीन शासन व्यवस्थाले जनमत संग्रहको घोषण गर्नु पर्यो। २०३६ जेठ १० गते घोषणा गरिएको जनमत संग्रहमा जनतालाई सुधारिएको पंचायती व्यवस्था वा वहुदल रोज्ने औसर दिइयो। तर जनमत संग्रहको परिणामले भने जनताले सुधारिएको पंचायति व्यवस्था रुचाएको देखायो। हनु त जनमत संग्रहको परिणण आफै विवाद र संकाले घेरिएको थियो।
२०३६ देखि २०४५ साल सम्म जनताले नेपालीको राजनीतिलाई अवलोकन, अध्ययन र विश्लेषण गर्यो। र दश वर्ष पछि, नेपाली जनता, सुधारिएको पंचायति व्यवस्थाबाट देशको राजनैतिक, सामाजिक एवं आर्थिक विकास नहुने निष्कर्ष झिक्दै त्यो व्यवस्था फाल्न शान्तिपूर्ण किसिमले सडमा उत्रियो। शान्तिपूर्ण रुपमा गरिएको विशाल विरोधलाई तत्कालिक दरबार-शक्तिले थाम्न सकेन र जनताको बुलन्द आबाजको अगाडि झुक्दै नेपालमा वहुदलिय व्यवस्था लागू गरिएको घोषणा गर्यो। १० वर्ष पछि नेपालमा पुन: राजनैतिक परिवर्तन भयो। तर त्यो परिवर्तनले पनि नेपालीहरुको आवश्यकता र आकांक्षालाई सहि किसिमले सम्बोधन गर्न सकेन। तत्कालीन शासन व्यवस्था वा नेताहरुको व्यवहारबाट असन्तुष्ट रहेका व्यक्तिहरुलाई गोलबन्द गर्दै २०५२ सालमा, संसस्त्र विद्रोह गर्दै, माओवादीहरु समानान्तर राज्य शक्तिको रुपमा देखा परे। धेरै जन धनको क्षति पनि भयो।
२०४७ देखि २०६२ सालसम्मको स्थिति अति नै उथलपुथपूर्ण र असन्तोषपूर्ण नै रह्यो। यो अवधिमा पनि नया राजनैतिक व्यवस्थाको खोजि गर्न थालियो। परिणाणस्वरुप पुन: पन्द्र बीस वर्ष पछि नेपालीहरु राष्ट्रिय राजनीतिमा परिवर्तन ल्याउन सडकमा आए। जनताको त्यो संघर्षको गर्भबाट नेपालमा गणतन्त्र आयो। राजसंस्थाले नेपालको राजनीतिबाट बिदा लियो।
यसरी के देखिन्छ भने नेपालीहरुको अपेक्षा र आकांक्षा पूरा न हुँदा, मुलुकको राजनैतिक व्यवस्था, नेतृत्वले उनीहरुको हितलाई वेवास्ता गर्दा, नेपालीहरु त्यस किसिमको राजनैतिक व्यवस्था, नेतृत्वको बिरुध्दमा सडकमा आएका छन, आउन सक्छन्।
पछिल्लो पटक (२०६३ मा) राष्ट्रिय राजनीतिमा परिवर्तन आएको लगभग दस वर्ष हुन थाल्यो।  वर्तमानको राष्ट्रिय राजनीति र नेताहरुको व्यवहारबाट दिक्क भएको जनता अहिलेको यो भद्रगोलको स्थितिबाट मुक्ति पाउन नया आन्दोलन सहित सडकमा आउने मनस्थितिमा पुग्न सक्छ। पहिलो संविधान सभाले त संविधान दिन सकेन नै, दोस्रो संविधान सभाले संविधान दिने सम्भावना पनि क्षिण हुँदै गइ रहेको छ। नया संविधान दिन नेताहरुमा सहमति हुनको साटो प्रदेशको विभाजन र शासकीय स्वरुपको विषयमा नेताहरले केवल दोहरी खेलेको मात्र देखिएको छ, उनीहरुबाट कुनै रचनात्मक काम हुन सकेको छैन।
नेपालको राजनैतिक इतिहासले के देखाउँछ भने नेतृत्व एवं राजनैतिक व्यवस्थाले जनताको हितलाई सम्बोधन नगर्दा त्यस्तो नेतृत्व एवं राजनैतिक व्यवस्थको विरुदधमा जनता सडकमा आएको छ र त्यस्तो राजनैतिक व्यवस्था एवं नेतृत्वलाई पाखा लगाउन सफल पनि भएको छ।
नेपालको राजनीतिलाई नेतृत्व गर्ने नेताहरु, सरकारमा हुन वा सरकार बाहिर, सत्ता पक्षीय हुन वा विपक्षी, ले के बुझ्न आवश्यक छ भने उनीहरुको यस्तो अकर्मण्यताको स्थितिलाई नेपालीहरुले लामो समयसम्म सहन गर्ने छैनन्। यो अकर्मण्यताको स्थिति लामो हुँदै गएमा, नेपालको राजनैतिक इतिहासको अनुशरण गर्दै, त्यस्को विरुद्धमा दस वर्ष पछि पुन: नेपालीहरु सडकमा आउन सक्छन्। सडमा उत्रेर, वर्तमानका नेतृत्वकर्ताहरुलाई पाखा लगाउने छन्। त्यति मात्र होइन, वर्तमानको शासन व्यवस्था माथि समेत पनि प्रश्न चिन्ह खडा गर्ने छन। र हुन सक्छ, नेपालीहरुको त्यो ताजा आन्दोलने नया सक्तिहरुलाई नेपालीको राजनीतिमा विराजमान गराओस अनि पुराना सक्तिहरुलाई बिदा गरोस। यस किसिमको बेथितिको स्थिति लामो समयसम्म रहेमा अहिले वा यो पुरानो राजनैतिक सक्तिलाई नया सक्तिले विस्थापित गर्ने सक्नेछ पनि। त्यो नया सक्ति कस्तो हुनेछ भन्ने कुरा त समयले नै भन्ने छ।  समय बलबान हुन्छ। समयको धारलाई रोक्न सकिंदैन। 

 विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 17, 2014 

Friday, October 10, 2014

Market Driven Language Sustains-Article-145

भाषाको व्यापकता र बजारको भाषा

जुन भाषाले बजारको भाषा बोल्दछ त्यो भाषाले व्यापकता पाउँछ। त्यो भाषाको आयु पनि लामो हुन्छ। वर्तमानको सत्य यही हो। व्यवहारले पनि यही कुरा देखाउँछ। कुनै समयमा, संसारका धेरै राष्ट्रहरुमा बोलिने फारसी  (परसियन), स्पेनिस, प्रेन्च, पोरचुगिज आदि जस्ता भाषाहरुमा यही अवधारणा लागू हुन्छ।
कुनै खास भाषालाई कुनै खास क्षेत्रमा धेरैले बोलिने पार्दछु। त्यो भाषाको व्यापक विस्तार गर्छु। यी कुराहरु भनेर मात्र हुँदैन। कुनै पनि भाषालाई धेरैले बोल्ने पार्नका लागि मुख्य रुपमा तीन कुराहरु हुनु आवश्यक छ। पहिलो: त्यो भाषा बोल्न र बुझ्न जाने पछि रोजगारी (कुनै व्यक्ति विशेषको घर वा कार्यालयमा) पाउन सजिलो होस। दोस्रो: त्यो भाषा बोल्न र बुझ्न जाने पछि व्यापार गर्न सजिलो होस। तेस्रो: त्यो भाषा बोल्न र बुझ्न जाने पछि आफ्नो कुशलता (प्रभावकारी लेख्ने, रुचिकर बोल्ने, अनुसन्धान गर्ने, खोज गर्ने, आविष्कार गर्ने, नया धारणा सृजना गर्ने आदि आदि) ठूलो जनसमुदायमा पुर्याउन सजिलो होस।
माथि उल्लेख गरिएका तीन विशेषताहरु भएको हुनाले नै अहिले अंग्रेजी भाषाले व्यापकता पाएको हो। अहिले, संसार भरिमा नै व्यक्तिहरुले महत्व दिएर अंग्रेजी लेख्न र बोल्न सिकिरहेका छन्। लगभग विश्वभरिकै, सम्पूर्ण मुलुकहरुमा अंग्रेजी थोरै मात्रामा भए पनि, बुझ्ने र बोल्ने गरिन्छ। यसै गरी विश्व भरिका धेरै मान्छेहरुले अंग्रेजी पढ्न सक्छन् पनि। अंग्रेजी पटक्कै नजानेकाहरुले पनि, सामान्य कुराकानी गर्न, केही संकेत र केही अति सामान्य अंग्रेजी शब्दहरु प्रयोग आफूले भन्न खोजेका कुराहरु जाहेर गर्न सक्छन्। यसरी हरेक देशका मानिसले थोड बहुत अंग्रेजी बोल्न सक्छन, लेख्न नसकेता पनि। प्राय: हरेक राष्ट्रका होटल, लज, रेल, विमानस्थल, बस सेवा, सपिंग सेन्टर, मल, पर्यटकिय स्थल, व्यस्त बजार आदिमा अंग्रेजी भाषा बोल्ने गरिन्छ।  र त्यस्तो अवस्था बजारको कारोबारको अनियार्यताले गर्दा सृजना भएको हो किनभने आफू कहाँ आउने ग्राहकहरुसँग व्यापार गर्नका लागि माथि उल्लेख गरिएका व्यापारिक संस्थाहरु सँग आवद्ध रहेकाहरुले अंग्रेजी बोल्ने पर्दछ। अंग्रेजी नबोले व्यापार गर्न गार्हो हुन्छ। अहिले कुनै एक मुलुकमा पर्यटकको रुप अनेक राष्ट्रका नागरिकहरु पुग्छन। यसै गरी एउटा कुनै मुलुकले अनेक मुलुकसँग व्यापार गरेको हुन्छ। अनेक मुलुकका विद्यार्थीहरु अनेक मुलुकमा पढ्न पुगेका हुन्छन्। यो कारणले गर्दा अंग्रेजीले अन्तरार्ष्ट्रिय भाषाको मान्यता पाएको छ। धेरैले बोल्ने सम्पर्क भाषा पनि अंग्रेजी नै भएको छ। यस प्रकार यो तथ्यको पुष्टि हुन्छ कि जुन भाषाले बजारको भाषा बोल्दछ त्यो भाषाले व्यापकता पाउँछ। त्यस कारण यो व्यापारिक युगमा कुनै पनि भाषालाई धेरैले पढ्ने र बोल्ने पार्न त्यो भाषालाई बजारको भाषा बोल्ने तुल्याउन आवश्यक छ।    
कुनै एउटा समय थियो जुन बेला फारसी भाषा बोल्न र लेख्न जान्नु प्रतिष्ठाको विषय मानिन्थ्यो। एउटा भनाइ “पढा फारसी बेचा तेल देख भाइ करम का खेल” निकै प्रचलित थियो र अहिले पनि छ। यो भनाइको आशय हो विद्वान भएर पनि राम्रो काम गर्न पाएन किनभने फारसी जान्नु विद्वान हुनु मानिन्थ्यो। अर्को आशय हो फारसी जानेको मान्छेलाई जीवन गुजार्न गार्हो हुँदैन। तर अहिले फारसीमा त्यो आकर्षण छैन। वर्तमानमा, कुनै व्यक्तिले फारसी जानेर न त आकर्षक जागिर नै पाउन सक्छ र न त कुनै व्यापार गरेर अधिक मुनाफा नै आर्जन गर्न सक्छ। अहिले, संसार भरिमा केवल १ करोड १० लाख मानिसहरुले फारसी भाषा बोल्छन। र यसै गरी मातृ भाषाको रुपमा केवल ६० लाखले फारसी भाषाको प्रयोग गर्छन। अति प्रचीन फारसी भाषा, जसको विकास ४८६ बी सी मा भएको थियो, आज यो अवस्थामा छ। यो भाषाले बलियो गरी बजारको भाषा बोलेको भए यो स्थितिमा पुग्ने थिएन।
धेरै मानिसहरुले बोल्ने स्थितिलाई आधार मानेर हेर्दा संसारमा सबै भन्दा बढी मानिसहरुद्वारा बोलिने भाषा मन्डारिन हो। संसारको १४.४ प्रतिसत व्यक्तिहरुले यो भाषा बोल्ने गर्दछन र यसको स्थान पहिलो नम्बर पर्दछ। चीन, ताइवान, सिंमगापुरमा यो भाषा बोल्ने गरिन्छ। दोस्रो नम्बरमा स्पेनिस भाषा पर्दछ। संसारको ६.१५ प्रतिसत मानिसहरुले ले यो भाषा बोल्ने गर्छन। स्पेन, मेक्सिको, अर्जेन्टिन, बोलिभिया, चिले, कोलोम्बिया, कोस्टारिक, क्युबा, डोम्निकन रिपब्लिक, इक्वेडोर, यल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, निकारागुआ, पानामा, पारागोये, पेरु, पोर्टरिको, उरुग्वेय, भेनेज्वेला मा स्पेनिस भाषा बोल्ने गरिन्छ। दक्षिण अमेरिकामा केवल ब्राजिलमा मात्र पोर्चुगिज भाषा बोलिने गरिन्छ। यस बाहेक सम्पूर्ण महादेशमा स्पेनिस भाषा बोल्ने गरिन्छ। अंग्रेजी भाषको स्थान तेस्रो नम्बरमा आउँछ। संसारको ५.४ प्रतिसत मानिसहरुले यो भाषा बोल्ने गर्दछन। संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलिया, आयरलैण्ड, न्यु जिलैण्ड लगायत संयुक्त अधिराज्यको उपनिवेस रहि सकेका राष्ट्रहरुमा पनि अंग्रेजी भाषा बोल्ने गरिन्छ।
धेरै मानिसहरुले बोल्ने भाषाको रुपमा अंग्रेजी तेस्रो नम्बरमा आएता पनि यो भाषा बोलिने राष्ट्रहरु जस्तै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया आदि धनी बजारको रुपमा स्थापित भएकोले संसारका अनेक राष्ट्रहरुबाट रोजगारी र अध्ययनका लागि ठूलो संख्यामा व्यक्तिहरु यी राष्ट्रहरुमा आउने गर्दछन्। अंग्रेजी भाषा सिक्नु उनीहरुको लागि प्राथमिकता र बाध्यता हुन पुग्दछ। अंग्रेजी भाषा जाने पछि त्यसरी आउने व्यक्तिहरुलाई यी राष्ट्रहरुमा रोजगारी पाउन एवं अध्ययन गर्न सजिलो हुन्छ। अंग्रेजी भाषा बोलिने राष्ट्रका नागरिकहरुको क्रम शक्ति बलियो भएकोले यी राष्ट्रहरु संग व्यापार गर्न अन्य राष्ट्रहरु सदैव तत्पर रहेका हुन्छन् पनि।
यसै गरी दक्षिण अमेरिकाका लभगभ सम्पूर्ण राष्ट्रहरुबाट ठूलो संख्यामा नागरिकहरु संयुक्त राज्य अमेरिका आउन हरपल प्रयत्नरत रहेका हुन्छन। सं रा अमेरिका आएर राम्रो रोजगारी पाउन सकिने हुनाले अंग्रेजी बोल्न सिक्नु उनीहरुको उच्च प्राथमिकता पर्दछ। सं रा अमेरिका आएर उनीहरुले सामान्य अंग्रेजी बोलेर पनि रोजगार, व्यवसाय गरेको देख्न सकिन्छ।
नेपालको सन्दर्भमा पनि, कुनै एक स्थानीय भाषालाई धेरैले बोल्ने वा व्यापक बनाउने हो भने सर्व प्रथम त्यो भाषा बोलिने क्षेत्रलाई आर्थिक रुपमा धनी बनाउन आवश्यक छ। त्यो क्षेत्र धनी भएमा, धेरेलाई रोजगारी दिन सक्षम भएमा, त्यो क्षेत्रको बासिन्दाहरुको आर्थिक जीवन सरल भएमा, अन्य क्षेत्र व्यक्तिहरु पनि त्यो क्षेत्रमा आएर, त्यहाँ बोलिने भाषा सिक्न बाध्य हुन्छन। उदाहरणका लागि, काठमाडौको पर्यटकीय स्थल ठमेलमा विश्वका अनेक भाषाहरु बोलिने गर्दछ। त्यहाँ विश्वका अनेक राष्ट्रहरुबाट पर्यटकहरु आउने हुनाले उनीहरुसँग कुराकारनी गर्न, उनीहरुलाई आफ्नो वस्तु वा सेवा बिक्री गर्न, त्यहाँका व्यवसायी वा तिनका कामदारहरुले विश्वका अनेक भाषाहरु जान्नु अनिवार्य हुन पुग्दछ।
कुनै एक स्थानमा बोलिने स्थानीय भाषालाई राष्ट्रिय स्तरमा नै लोकप्रिय तुल्याउन, धेरैले बोल्ने स्थिति सृजना गर्न उक्त भाषामा अनेक पत्र पत्रिकाहरु प्रकाशित गर्नु, विभिन्न सभा, सम्मेलन, गोष्टि आदिमा उक्त भाषाको प्रयोग गर्नु वा उक्त भाषालाई व्यापक पार्न अनेक विभिन्नि सहायक क्रियाकलापहरु संचालन गर्नु ठोस, सकारात्कम र प्रशंसनीय कार्य हो। तर यी कार्यहरु भन्दा पनि महत्वपूर्ण कार्य त्यो क्षेत्रलाई आर्थिक रुपमा ज्यादै बलियो तुल्याउनु हो। त्यो क्षेत्रमा उद्योग, व्यपार आदिको अत्यधिक विस्तार एवं  विकास गरेर त्यहाँका बासिन्दाहरुको क्रय शक्ति अति बलियो तुल्याउनु हो। यस्तो गर्न सकिएमा त्यो स्थानीय भाषाले व्यापकता त पाउँछ नै त्यो स्थानीय भाषाले दीर्घ जीवन समेत पाउँछ। यो तथ्यलाई भाषा विकासको आन्दोलनमा लागेका वा सामान्य भाषा प्रेमीहरुले पनि मनन गर्न आवश्य छ। त्यसकारण, कुनै एक भाषालाई व्यापकता दिन वा धेरैले बोल्ने र बुझ्ने पार्न त्यो भाषालाई बजारको भाषा बोल्ने तुल्याउन अति आवश्यक छ। भाषाको संरक्षण र विकास केवल भावनाले हुँदैन। भाषाको विकासका लागि त्यस भाषालाई जनताको आर्थिक समृद्धिसंग पनि जोड्नु पर्दछ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 10, 2014

Friday, October 3, 2014

HAPPY VIJAYA DASHAMI FESTIVAL 2014 (2071)

Happy Vijaya Dashami to all


विजया दशमी २०७१ को हार्दिक एवं मंगलमय शुभ कामना

यो ब्लगमा आएर यस भित्र रहेका सामाग्रीहरु रुचि पूर्वक अध्ययन गर्नु हुने सम्पूर्ण पाठक, सुभ चिन्तक, एवं अन्य सम्बन्धित सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो दशैं यहाँहरुको सुखद एवं मंगलमय होस।