Friday, April 24, 2015

Why Is Refugee Problem Getting Complicated?-Article-167

किन बढ्दै छ शरर्णाथी समस्या?

शरर्णाथी समस्याले वर्तमानमा सम्पूर्ण विश्वलाई नै नराम्रो गरी पिरोलेको छ भन्ने कुरा सबैलाई भलिभांति थाहा छ। तर अहिले यो समस्याले मुख्य गरी अफ्रिकी राष्ट्रहरुलाई बढी सताएको छ। र अचम्म लाग्दो कुरा त के छ भने अफ्रिकाको यो पीडा र चिंता फैलिएर युरोपसम्म पुगेको छ। अफ्रिकाको यो समस्याले युरोलाई पनि तानेर आफू नजिक ल्याएको छ। अफ्रिकाको शरर्णाथी समस्याले युरोपका विभिन्न राष्ट्रहरु मध्ये इटलीलाई भने नराम्रो गरी सताएको छ। त्यसकारण इटलीका अधिकारी र सरर्णाथी समस्यासँग सम्बन्धित निकायहरुले अफ्रिकी-शरर्णार्थी समस्या केवल इटलीको मात्र होइन, यो सम्पूर्ण युरोपको समस्या हो भन्न थालेका छन्। अफ्रिकी-शरर्णाथी समस्यालाई युरोपका सबै राष्ट्रहरुले मिलेर समाधान गर्नु पर्ने कुरामा जोड दिरहेका छन्। शरर्णाथी समस्या अहिले युरोपको अगाडि ज्यान लिने घटना र ज्यादै जटिल समस्याको रुपमा प्रस्तुत भएको छ। यो समस्याले ठूलो मानवीय संकटको रुप लिएको छ। सिरिया र इराकमा कट्टरपंथी आइ. यस. का मिलिटेन्टहरुले मच्चाइ रहेका उटपट्यांग र आतंकका समाचारहरु अहिले मेडिटेरेनियन-समस्याका समाचारहरुको अगाडि अत्यधिक चर्चाका विषयहरु हुन छाडेका छन्।
मेडिटेरेनियन सागर शरर्णाथी समस्याले गर्दा अब कब्रिस्तानमा परिणत हुन थालेको छ। केहीले यस विषयमा गहिरो चांसो र चिंता समेत व्यक्त गरेका छन्। उनीहरुले भनेका पनि छन् “मेडिटेरिनियन इज सि, नट सिमेटेरी (Mediterranean is sea, not cemetery)
हुन पनि शान्ति, सुरक्षा र रोजगारीको खोजिमा मेडिटेरेनियन सागर हुँदै युरोपका विभिन्न राष्ट्रहरुमा प्रवेश गर्ने खोज्ने अफ्रिकी आप्रवासी एवं सरर्णाथीहरु मध्ये हजारौले यो सागरमा डुबेर ज्यान गुमाएसकेका छन्। मानव तस्करहरुले मुनाफाखोरीका लागि कमजोर र असुरक्षित डुंगाहरुमा जोखिमपूर्ण यात्रा गर्न यी निरही आप्रवासीहरुलाई बाध्य गराएका हुनाले धेरै डुंगाहरु ती कारणहरुले गर्दा यो सागरमा हृदयविदारक किसिमले  दूर्घटनाग्रस्त भएका छन्। र दुर्घटना हुने क्रम अहिले पनि रोकिएको छैन्। त्यस किसिमका कमजोर र असुरक्षित डुंगाहरुमा गरिएका जोखिमपूर्ण यात्राहरुले हजारौं शान्तिकामी एवं गरिब शरर्णाथीहरुको ज्यान लिसकेको छ। यस वर्ष (सन् २०१५) मा मात्र, त्यसरी युरोपतिर लाग्नेहरु मध्ये ९०० व्यक्तिहरुको ज्यान त्यस्ता जोखिमपूर्ण यात्राहरुले लिसकेको छन्। सन २०१४ मा, अफ्रिकाबाट युरोपतिर लाग्नेहरु मध्ये ३ हजार ५०० ले सागरीय दुर्घटनामा ज्यान गुमाएका थिए। सन् २०१५ को प्रारम्भदेखि हालसम्ममा, युरोपका विभिन्न देशहरुमा प्रवेश गर्न खोज्ने अफ्रिकी आप्रवासी एवं शरर्णाथीहरुको संख्या ३५ हजार पुगेको छ। यी मध्ये करीब ३४ प्रतिशतले ग्रिसमा प्रवेश गरेका थिए भने बाँकि ६६ प्रतिशतले इटलीमा।
कुशासन, भ्रष्ट र अदूरदर्शी नेताहरुको व्यवहारले गर्दा अफ्रिकाका धेरै राष्ट्रहरु, मुख्य गरी एरिट्रिया, माली, नाइजेरिया, गाम्बिया, सोमालियाबाट मेडिटेरेनियन सि हुँदै युरोप पस्न खोज्नेहरुको संख्या ज्यादै नै ठूलो हुन पुगेको छ। युरोप पस्न खोज्ने एशियाका सरर्णाथीहरु मध्ये भने सिरियालीहरुको संख्या अति नै उच्च रहेको छ।
अफ्रिकाका विभिन्न राष्ट्रहरुमा अहिले शान्ति र स्थिरताको एक किसिमले संकट नै देखिएकोले यस्तो समस्या उत्पन्न भएको हो। यस किसिमको समस्या वा संकटको स्थिति भने ती मुलुकहरुको राष्ट्रिय राजनीतिको कारणले गर्दा आएको हो। नेताहरुको व्यवहारले गर्दा आएको हो। ती मुलुकका नेताहरुको कपटपूर्ण व्यवहारले गर्दा आएको हो। वहुसंख्यक अफ्रिकी राष्ट्रहरुलाई अहिले अन् धार्मिक कट्टरताले निकै सताएको छ। बोको हराम, अल सबाब, अल काइदा, इस्लामीक स्टेट जस्ता कट्टर धार्मिक संगठनहरुले अफ्रिकाका विभिन्न राष्ट्रहरुमा विध्वंस मच्चाएर, अनेक हत्या हिंसा गरेर त्यहाँका गरिब नागरिकहरुको जीवन ज्यादै जोखिमपूर्ण र कष्टकर पारिदिएका छन्। गरिबी, अज्ञानता, एवं अशिक्षाको खाडलमा बस्न अनिवार्य गरिदिइका छन्।
अफ्रिकाका विभिन्न मुलुकहरु गरिबी, अनिश्चितता, अशान्ति आदि जस्ता कारणले गर्दा अनेक किसिमका समस्याहरुबाट पीडित हुन पुगेका छन्। तर यी मुलुकहरुलाई अहिले सबै भन्दा बढी भने कुशासन जनित हिंसाले सताएको छ। मुलुकमा व्याप्त अनेक किसिमका हिंसाहरुले गर्दा अफ्रिकाका धेरै मुलुकका नागरिकहरु ज्यान जोगाउन एशिया, अमेरिका लगायत युरोपका अनेक राष्ट्रहरुमा पुगेर शरर्णाथी जीवन बिताउन बाध्य हुन पुगेका छन्। अफ्रिका महादेशमा शान्ति र स्थिरता प्राप्त गरेका देशहरुको संख्या ज्यादै कम हुँदै गएको छ। सोमालिया, नाइजेरिया, माली, यमन, कंगो, एरिट्रिया, लिबिया, सुडान, इथियोपिया, रवान्डा, केन्या, अंगोला, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफ्रिकाका यस्ता राष्ट्रहरु हुन जहाँ कुनै समयमा हजारौ नागरिकहरुको ज्यान लिने अनेक ठूला ठूला संघर्षहरु भएका थिए। वा अहिले पनि द्वन्द समस्याहरुले सताइएका  छन्। तुलनात्मक रुपमा स्थिर देखिएको दक्षिण अफ्रिकालाई पनि अहिले आएर द्वन्दको कालो बादलले छोप्न थालेको छ। द अफ्रिका अहिले जेनोफोबिक (Xenophobic) रोगको सिकार भएको छ। जेनोफोबिया (Xenophobia) एक खास किसिमको मानसिक अवस्था हो। यस्तो मानसिक अवस्थामा रहेका व्यक्तिहरुले विदेशी नागरिकहरुलाई मन पराउँदैनन्। विदेशी नागरिकहरुले उनीहरुको स्वदेशको रोजगारी एवं समृद्धि खोसि दिने छन् भन्ने भयले ग्रसित हुन्छन। द अफ्रिकामा अहिले देखिएको जेनोफोबियाको समस्याले गर्दा त्यहाँ रहेका अनेकौ विदेशीहरु, खास गरी अफ्रिका अन्य विभिन्न राष्ट्रहरुबाट आएका विभिन्न व्यक्तिहरुमाथि द अफ्रिकाका केही उपद्रवीहरुले ज्यान लिने उद्देश्यले हमला गरेका छन्।   
अहिले, अफ्रिकाका धेरै द्वन्द पीडित मुलुकहरु र नेपालको मौजुदा स्थिति लगभग उस्तै उस्तै हुन पुगेको छ। जसरी अनेक अफ्रिकी मुलुकका नागरिकहरु आ-आफ्नो देशमा ब्याप्त अनेक किसिमका हिंसाहरुले गर्दा स्वदेश त्यागेर विदेशमा सरर्णाथी हुन विवश भएका छन् त्यसै गरी नेपालमा पनि नेताहरुको आपसी स्वार्थ र संघर्षले गर्दा उत्पन्न भएको गरिबी जनित बेरोजगारी समस्याबाट पीडित भएर लाखौं लाख नेपालीहरु रोजगारीका लागि अरबको तातो हावा खान मात्र होइन, ज्यान नै पनि जोखिममा राख्न विवश भएका छन्। नेपाल छाड्दा तनदुरुस्त रहेका धेरै नेपाली युवाहरु स्वदेश फर्किंदा काठको बक्सा भित्र बन्द भएर फर्किने नियति भोगिरहेका छन्।
अफ्रिकाको स्थिति पनि नेपालको जस्तै छ। रोजगारीको खोजीमा अरबका विभिन्न मुलुकहरुमा हजारौ हजार नेपालीहरुले ज्यान गुमाए झै रोजगारी र शान्तिको खोजीमा युरोपका विभिन्न मुलुकहरुमा पुग्न खोजेका हजारौं हजार अफ्रिकीहरुले मेडिटेरेनियन सागरमा ज्यान गुमाइ रहेका छन्।  शान्ति र सुरक्षाको लालसमा मेडिटेरिनियन सागर भएर, जोखिमपूर्ण यात्रा गर्दै, युरोपको विभिन्न मुलुकहरु पुग्ने आशमा हिंडेका धेरै अफ्रिकीहरु मेडिटिरिनियनको निर्दयी जलराशीमा गुमनाम मृत्यु भोग्न बाध्य भएका छन्। हुन पनि मानव तस्कहरुले हजारौं हजार सोझा र विवस अफ्रिकीहरु लाई असत्य र अपूरो जानकारीहरु प्रदान गर्दै, अनावश्यक किसिमले लोभ्याएर, मेडेटेरिनियन सिको जोखिमपूर्ण यात्रा गर्न बाध्य पारिरहेका छन्। यस्तै स्थिति नेपालमा पनि छ। नेपालमा पनि मानव तस्करहरुले हजारौं हजार नागरिकहरुलाई  वैदेशिक रोजगारी सम्बन्धी झूठो, काल्पनिक र तथ्यहीन (गैर कानूनी उपाय) जानकारीहरु दिएर, आफ्नो जालमा फंसाएर, विश्वका अनेक राष्ट्रहरुमा पुर्याएका छन्। उनीहरुको जीवनलाई ज्यादै जोखिमपूर्ण पारिदिएका छन्। गुमनाम मृत्यु वरण गर्नु पर्ने स्थितिमा पुर्याइ दिएका छन्।  
मुल रुपमा, नेपाल र अफ्रिकाका विभिन्न मुलुकहरुबाट नागरिकहरु विदेशतिर ठूलो संख्यामा पलायन हुने कारण भने एउटै छ। त्यो कारण हो नेताहरुको स्वार्थी व्यवहार र अस्थिर राजनीति। नेताहरुको स्वार्थी व्यवहारले गर्दा धेरै अफ्रिकी मुलुकहरुमा र नेपालमा शान्ति र स्थिरता आउन सकेको छैन। देश भित्र जहिले पनि कुनै न कुनै किसिमको कलह र संघर्ष विद्यमान छ। निरन्तरको कलह र संघर्षले गर्दा आर्थिक विकास हुन सकेको छैन, गरिबी बढ्दै गएको छ। संघर्ष र द्वन्दहरु थपिंदै गएका छन्। देश भित्र ठूलो असुरक्षा र बेरोजगारी व्याप्त रहेको ले यी दुबै क्षेत्रका नागरिकहरु रोजगारी र शान्तिका लागि विदेश पलायन हुन बाध्य भएका छन्। अफ्रिकाको स्थिति भने झनै बिकराल छ। यहाँको नागरिकहरुले रोजगारी त पछिको कुरा हो, ज्यान जोगाउन पनि स्वदेश परित्याग गरेर विदेशी शरर्णाथी बन्नु पर्ने नियति स्वीकार गर्नु पेरको छ।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 24, 2016

Friday, April 10, 2015

Struggles in Nepal and Future of Democracy-Article-166

नेपालमा संघर्षको सिलसिला: प्रजातन्त्रको भविष्य

नेपालमा संघर्षको सिलसिला जारि छ। यो सिलसिला समाप्त हुने छांटकांट कतै देखिन थालेको छैन। जुन विश्वास र अपेक्षाका साथ नागरिकहरुले एक तन्त्रिय व्यवस्था समाप्त पारेर मुलुकमा प्रजातन्त्र ल्याएका थिए त्यो अपेक्षा पुरा हुनु त कता हो कता उल्टो प्रजातन्त्रको भविष्य अनिश्चित हुन थालेको छ। समग्रमा हेर्दा, प्रजातन्त्रको भविष्य अनिश्चित मात्र होइन, नेपाल सिरिया वा यमन हुन हो कि भन्ने चिंता लाग्न थालेको छ। हुन पनि २०४६/४७ सालको राजनैतिक परिवर्तन देखि नै नेपाल शान्त र स्थिर हुन सकेको छैन। यो समयदेखि नै नेपाल निरन्तर रुपमा कुनै न कुनै समस्याको दल दलमा फंसेको छ, बाहिर निस्कन सकेको छैन। आर्थिक र सामाजिक विकासका कुराहरु एकतिर पन्छिएर बसेका छन्। उता जातीयता, साम्प्रदायिकता, क्षेत्रीयता जस्ता अनुत्पादक मुद्दाहरुले देश र जनताको अमूल्य समय बर्बाद गरि रहेका छन्। अर्कोतिर, नेताहरुले आफू संविधान निर्माणमा केन्द्रित भएको भन्दै देश विकासको जिम्मेबारीबाट पन्छिने सुनौलो मौका पाएका छन्। जनताको आश्यकताहरु एकातिर फर्केको छ भने नेताहरुको स्वार्थ र अहम् अर्कोतिर फर्केको छ। नेताहरुको दलगत र व्यक्तिगत स्वार्थ र अहमको कारणले गर्दा न त मुलुको ध्यान विकासमा केन्द्रित हुन सकेको छ न त नया संविधान निर्माण नै हुन सकेको छ। अब त हुँदा हुँदै नेताहरुको अहम र स्वार्थले गर्दा नेपालको स्थिति सिरिया वा यमनको जस्तो हुने हो कि भन्ने भयले नेपालीहरुलाई सताउन थालेको छ।
तर विचारणीय कुरा, देश भित्रका विभिन्न नेताहरुको व्यक्तिगत स्वार्थ र अहमले गर्दा सिरिया र यमन अहिले मुलुकबाट रणभूमिमा परिवर्तित भएका छन्। अन्य मुलुक, कट्टरपंथी, बिद्रोही र  अनेक आतंकबादी संगठनहरुले सिरिया र यमनको गृह कलहलाई आफ्नो स्वार्थ वृद्धिमा नराम्रो गरि उपयोग गरि रहेका छन्। तर अर्कोतिर, यो स्थितिबाट यी मुलुकका निर्दोष नागरिकहरु पीडित हुन पुगेका छन्। यी मुलुकका नागरिकहरुलाई यो स्थितिमा पुर्याउने वाह्य शक्तिहरु मात्र नभएर यस मुलुकका स्वार्थी नेताहरु नै प्रमुख हुन। वाह्य शक्ति भन्दा भित्रका शक्तिहरु नै यो स्थिति ल्याउनका लागि प्रमुख रुपमा जिम्मेबार छन्।  तर अफसोच! यी मुलुकका स्वार्थी नेताहरुको अहमको मूल्य त्यहाँका निर्दोष नागरिकहरुले संकट सहेर, सरर्णाथी बनेर, ज्यान दिएर चुकाउनु परेको छ।
 सिरिया पाँच सात वर्षदेखि, प्रथम त, आफ्नै देशका नेताहरुको स्वार्थको दलदलमा यसरी फँसेको छ कि यो दलदलबाट बाहिर निस्किने सम्भावना टाढा सम्म पनि कहिं कतै देखिएको छैन। प्रत्येक दिनको युद्धले गर्दा सामान्य जनताको जीवन प्रत्येक पल असुरक्षित र जोखिमपूर्ण भएको छ।  सन् २०१४ सम्ममा सिरियाको गृह युद्धमा करिब दुई लाख नागरिकहरुको ज्यान गइ सकेको छ। करिब ४० लाख सिरियालीहरु इजिप्ट, इराक, लेबनान, टर्की, जोर्डन र उत्तरी अफ्रिकाका विभिन्न राष्ट्रहरु लगायत विश्वका विभिन्न राष्ट्रहरुमा सरर्णाथी जीवन बिताउन बाध्य भएका छन्। सिरियाको स्थितिलाई यस्तो डरलाग्दो र पीडादायी तुल्याउनमा यस मुलुकका स्वार्थी र अदूरदर्शी नेताहरुको ठूलो हात छ। उनीहरुका त्यस किसिमका कार्यहरुले गर्दा नै सिरिया अहिले इरान, टर्की, लगायत  विश्वका अन्य विभिन्न शक्तिसाली राष्ट्रहरुको हातको गोटी हुन पुगेको छ। अर्कोतिर अतिबादी जातीय संगठन आइ. यस.  समेत गरी अन्य विभिन्न आतंकबादी संगठनहरुको क्रिणाभूमि पनि हुन पुगेको छ। ऐतिहासिक र प्रचीन सम्पदाहरुले भरिएको, सभ्यता विकासको गौरव बोकेको, सरिया, आज, अहिले अनावश्यक युद्धको भूमरिमा फंसेको छ। एक किसिमिको एक वंशीय असद ( सन् १९७१ देखि हालसम्म) शासनबाट दिक्क भएर सिरियामा पूर्ण प्रजातन्त्रका लागि संघर्ष आरम्भ गर्ने सिरियाली नागरिकहरु मध्ये धेरैले सिरियामा बरु बाबु र छोरा (क्रमश: हाफेज अल-असद: सन् १९७१-२००० र बसार अल-असद २०००- हालसम्म) हरुको शासनकाल तुलनात्मक रुपमा ठिक रहेको भन्ने स्थितिमा पुगेका छन्। उनीहरुको शासन कालमा, अहिलेको यो गृहयुद्धमा जति धेरै मान्छेहरु मारिएका त थिएनन भनी प्रजातन्त्रका लागि संघर्ष आरम्भ गर्नेहरुले भन्ने थालेका छन्। हुन पनि अहिले, सिरियाली राष्ट्रपति बसार अल- असदलाई सत्ताच्यूत गर्न लागेका विभिन्न शक्तिहरुको मूल उद्देश्य सिरियामा प्रजातन्त्र स्थापना गर्ने नभइ आ-आफ्नो स्वार्थपूर्ति  गर्ने हुन पुगेको छ।   
यमनको समयस्या पनि समयमा नै समाधान नहुने हो भने यो मुलुकको नियति पनि सिरियाको जस्तो हुने पक्का छ। यो मुलुक पनि राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय शक्ति केन्द्रहरुको क्रिणा भूमि हुने पक्का छ। तर यो मुलुक, देश भित्रका नेताहरुको अदूदर्शिता, कलह र संघर्षको कारणले गर्दा रणभूमि परिणत भएको हो। यो आलेख तयार पारिरहँदा यमन भित्र मुख्य रुपमा दुई परस्पर बिरोधी शक्तिहरु –राष्ट्रपति अबद्राबुह मनसुर हादीका समर्थक लडाकुहरु र हुथिज, जसलाई पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको एक किसिमको समर्थन प्राप्त छ, बीच ससस्त्र संघर्ष भइ रहेको छ। केही हप्तादेखि सुरु भएको त्यहाँको संघर्षले ६०० भन्दा बढी व्यक्तिहरुको ज्यान लिसकेको छ भने दुई हजार भन्दा बढी ब्यक्तिहरु घाइते भएका छन्। यसै गरी एक लाख भन्दा बढी व्यक्तिहरु विस्थापित हुन पुगेका छन्।
यमनमा, प्रारम्भमा मुख्य गरी सरकार वा राष्ट्रपति हादीका समर्थक र हुथिज लडाकुहरु बीच भएको संघर्षले अहिले राष्ट्रिय र अन्तरार्ष्ट्रिय गरी विभिन्न शक्तिहरुलाई देश भित्र भित्र्याएको छ। उनीहरुलाई यमन भित्र खेल्ने मौका दिएको छ। प्रमुख रुपमा सत्ताको लागि यी दुई पक्षहरु बीच संघर्ष भएको हो। यी दुई पक्षहरुले सत्ताको साझेदारी विवेकी किसिमले गरेको भए यो स्थिति उत्पन्न हुने थिएन। दुई पक्षहरुको महत्वाकांक्षाबाट उत्पन्न संघर्षको परिणाम निर्दोष जनताले बेहोर्नु पर्ने थिएन। 
यमन अहिले “प्रोक्सी वार” हुने स्थानमा परिणत भएको छ। यमनबाट अहिले इरान र साउदी अरेबियाले प्रोक्सी वार गरि रहेका छन्। प्रोक्सी वार (Proxy War) उपस्थित नभएर गरिने युद्ध भन्ने बुझिन्छ। अहिले राष्ट्रपति हादीलाई साउदी अरेबिया र साउदी अरेबियाको नेतृत्व रहेको सहयोग समूहको सैन्य सहयोग प्राप्त छ भने हुथिज, जो सिया हुन, लाई इरानाको सैन्य सहयोग प्राप्त छ। भन्ने हो भने अहिले यमन भित्र एक किसिमले साउदी अरेबिया र इरानले एक अर्का विरुदध लडाइ गरि रहेका छन्। यति मात्र होइन, अहिले यमन भित्र विभिन्न अतिबादी शक्ति समूहरु जस्तै सुन्नी आदिबासी, अल-काएदा, सिरिया र इराकमा उदाएको नया शक्ति इस्लामिक स्टेट आदि आदिले आ-आफ्नो चाँसोको लागि युद्ध गरि रहेका छन्। आफ्नै नेताहरुको कुटिल व्यवहारले गर्दा, उनीहरु बीचको कलहले गर्दा, जस्तो कि नेपालमा देखिएको छ, यमन अहिले प्रोक्सी वार गर्ने स्थानमा रुपान्तरित भएको छ। अनावयश्यक युद्धमा होमिएको छ। जनता अनावयश्यक युद्ध गर्न वाध्य भएको छ।
हिन्दीमा एउटा भनाई छ- “छुरी तरबुज पे गिरे या तरबुज छुरी पर गिरे चोट तो तरबुजको हि लगेगी।” नेपालका नेताहरुले आ-आफ्नो अहम् को लागि एक अर्का सँग झगडा गरेर स्थितिलाई असहज पारेता पनि, उनीहरुको कलहले गर्दा देशमा संघर्षको स्थित उपत्पन भएता पनि, वा नागरिकहरुले उनीहरुको नाराको पछाडि लागेर एक आपसमै संघर्ष गरेता पनि अन्तिम असर त नागरिकहरुलाई नै पर्ने हो। नेताहरुलाई त कुनै खास असर पर्ने होइन। विभिन्न किसिमका सगर्षहरुबाट उत्पन्न हुने बेरोजगारी, गरिबी, अशिक्षा आदिले सामान्य नागरिकहरुलाई नै सताउने हो। मुलुकमा राजनैतिक अस्थिरताबाट उत्पन्न हुने अनेक किसिमका समस्याहरुबाट सामान्य नागरिकहरु नै प्रभावित हुने भएकोले सामान्य नागरिकहरुले नेताहरुलाई मिलेर कार्य गर्न दबाब दिन आवश्यक छ। फुटेर होइन जुटेर कार्य गर्न दबाब दिन आवश्य छ। यो विषम समयमा, नेताहरुले ल्याएका अनावश्यक नाराहरुको पछाडि नलागेर, उनीहरुको उक्साहटमा नउक्सिएर नेपाली जनताले देश र देशबासीको हितमा नेताहरुलाई कार्य गर्न बाध्य पार्न आवश्यक छ। यो समयमा नेताहरु गुट फुटको कुटिल नीतिमा लागेता पनि जनताहरु मिलेर अगाडि बढ्न आवश्यक छ। होइन, यस किसिमका संघर्षका सिलसिलाहरु नेपालमा नरोकिने हो र तिनीहरुले निरन्तरता पाउने हो भने नेपालमा प्रजातन्त्रको भविष्यमा प्रश्न चिन्ह लाग्ने मात्र होइन नेपाल सिरिया वा यमनको स्थितिमा पुग्न बेर लाग्ने छैन।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 10, 2015

Friday, April 3, 2015

The Practical Use of Meritocracy- Article 165

प्रतिभातन्त्र को व्यवहारीक उपयोग

राज्य संचालनको मार्गदर्शन विभिन राष्ट्रहरुको विभिन्न किसिमको रहेको पाइन्छ। केही राष्ट्रहरुले धर्मलाई नै राज्य संचालनको मार्ग दर्शनको रुपमा लिएका छन्। धर्मलाई राज्य संचालनको मार्ग दर्शन मान्ने राष्ट्रहरुमा आर्थिक र राजनैतिक  विकासको गति सुस्त रहेको भने सजिलै देख्न सकिन्छ। साथै त्यस किसिमका राष्ट्रहरुमा समाज परम्परावादी एवं वहुसंख्यक व्यक्तिहरुमा वैज्ञानिक एवं राजनैतिक चेतनाको कमि रहेको पनि सहजै देख्न सकिन्छ। केही राष्ट्रहरुले भने पूँजीवाद अन्तरगत प्रतिस्पर्धापूर्ण अर्थव्यवस्था र वहुसांस्कृतिक खुला समाजलाई राज्य संचालनको मार्ग दर्शनको रुपमा लिएको पाइन्छ। प्रतिस्पर्धापूर्ण अर्थव्यवस्था र वहुसांस्कृतिक खुला समाज भएका राष्ट्रहरुले भने आर्थिक विकास तिब्र गतिमा गरेका छन्, अहिले पनि गरिरहेका छन्। त्यस किसिमका राष्ट्रहरुमा समाजको बौद्धिक चेतनाको स्तर पनि तुलनात्मक रुपमा उच्च रहेको पाइन्छ। प्रतिस्पर्धापूर्ण अर्थव्यवस्था  र खुला समाजलाई प्रयोगमा ल्याउने तर साथै आरक्षणको व्यवस्था सहित केही जाति वा समुदायलाई खास खास थप सुविधा दिने राष्ट्रहरु पनि देखिएका छन्। यी राष्ट्रहरुले भने नागरिकहरुको प्रतिभाको साथै उनीहरुको जात वा समुदायलाई पनि महत्व दिएको पाइन्छ। खास जात वा समुदायका नागरिकहरुलाई केही सुबिधाहरु अन्य भन्दा बढी दिएको देख्न सकिन्छ। त्यस किसिमका राष्ट्रहरुले आरक्षणलाई महत्व दिएको पाइन्छ।
सिंगापुरले भने माथि उल्लेख गरिएका भन्दा छुट्टै किसिमको विचारलाई प्रयोगमा ल्यायो। प्रतिभातन्त्र (Meritocracy) लाई राज्य संचालनको मार्ग दर्शनको रुपमा लियो। नागरिकहरुको जात वा समुदाय भन्दा उनीहरुको प्रतिभालाई विशेष महत्व दियो। राष्ट्रको समग्र विकासका लागि नागरिकहरुको उच्च प्रतिभाको उपयोगमा बढि ध्यान पुर्यायो। मुलुकको आर्थिक, सामाजिक, राजनैतिक गरि समग्र विकासका लागि नागरिकहरुको बौद्धिक प्रतिभलाई जोड दियो। कुनै पनि व्यक्तिलाई, ऊ कुन जात वा समुदायबाट आयो भन्ने कुरालाई आधार मानेर उसलाई औसर प्रदान गर्ने नभइ उसको बौद्धिक क्षमताको आधारमा उसलाई औसर प्रदान गर्ने प्रावधानलाई महत्व दियो। राष्ट्रको समग्र विकासको लागि नागरिकहरुको प्रतिभा सर्वधिक महत्वपूर्ण हुन्छ भन्ने कुरामा निरन्तर विश्वास गर्यो। अर्थात सिंगापुरले प्रतिभातन्त्रलाई व्यवहारिक प्रयोगमा ल्यायो, उपलब्धिहरु पनि हाँसिल गर्यो। प्रतिभातन्त्रलाई राज्य संचालनको उपयोगी मार्ग दर्शनको रुपमा लियो। सिंगापुरले प्रतिभातन्त्रलाई सर्वाधिक महत्वपूर्ण मानेको हुनाले नै एशियाको यो एक अति सानो टापु, जसको क्षेत्रफल केवल 718.3 वर्ग किलोमिटर मात्र रहेको छ, एशियाको एक महत्वपूर्ण आर्थिक महाशक्ति हुन पुग्यो। सिंगापुर यतिसम्म वहु संस्कृतिक, वहु भाषिक छ कि यसले अंग्रेजी, मलेय, मन्डारिन र तामिल गरी चार भाषालाई राजकीय मान्यता दिएको छ। यी चारै भाषा सिंगापुरका “अफिसियल लैन्ग्वेज” हुन।
एशिया र अफ्रिकाका धेरै राष्ट्रहरु, जो राष्ट्रको रुपमा सिंगापुरभन्दा धेरै पहिले नै स्थापित र संगठित भएका थिए, अहिले पनि सामाजिक, आर्थिक र राजनैतिक विकासको क्षेत्रमा सिंगापुरभन्दा निकै पछाडि परेका छन्। कतिपयलाई त असफल राष्ट्र भइएला भन्ने चिन्ताले सताएको छ। एक सार्भौम राष्ट्रको रुपमा अस्तित्व कायम गर्न कठिन छ। यी राष्ट्रहरु जातीयता, साम्प्रदायिकता, क्षेत्रीयता जस्ता अनेक घातक, विभाजनकारी मुद्दाहरुमा अल्झिएका छन्। अनुत्पादक, डरलाग्दा मुद्दाहरुको पछि लागेर आर्थिक विकासको पथमा निकै पछाडि परेका छन्। अनेक कसिमका द्वन्दहरुमा फंसेका छन।
सिंगापुर एक अति नै प्राचीन राष्ट्र भने होइन। इस्ट इण्डिया कम्पनीका लागि एक व्यापार केन्द्रको रुपमा आधुनिक सिंगापुरको स्थापना सन् १८१९ मा सर स्टाम्फोर्ड राफल्सले गरेका थिए। सिंगापुरको स्थापना गर्न राफल्सले जोहरका सुल्तानबाट अनुमति प्राप्त गर्नु परेको  थियो। पछि, सन् १८२४ मा सिंगापुर बेलायतको अधिनमा आयो र सन् १८२६ मा दक्षिण एशिया स्थित बेलायत अधिनस्थ विभिन्न भागहरु मध्ये (बेलायतको) एक भाग हुन पुग्यो। ती भागहरुको नियन्त्रण त्यसबेला “ब्रिटिस इस्ट इण्डिया कम्पनी” ले गर्थ्यो। सन् १९६३ मा सिंगापुर बेलायतबाट मुक्त भयो तर मलेशियाको भूभागमा मिल्न पुग्यो। सन् १९६५ मा सिंगापुर मलेशियाबाट छुट्टियो। सन् १९६५ पछि भने एक स्वतन्त्र राष्ट्रको रुपमा सिंगापुरले अति तिब्र गतिमा, चमत्कारी किसिमले आर्थिक प्रगति गर्यो। र त्यस किसिमको आर्थिक प्रगति गर्नुको पछाडि बलियो हात भने सिंगापुरले अपनाएको प्रतिभातन्त्रको नै थियो। प्रतिभातन्त्र अन्तरगत सिंगापुरले आफ्ना नागरिकहरुलाई मात्र होइन विश्वका अन्य विभिन्न राष्ट्रहरुबाट सिंगापुर आएका नागरिकहरुलाई पनि आ-आफ्नो प्रतिभा सिंगापुरमा उपयोग गर्न बलियो, निस्पक्ष र स्वतन्त्र औसर प्रदान गर्यो। अर्को शब्दमा भन्ने हो भने, राष्ट्रको आर्थिक विकास गर्ने सिंगापुरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिकहरुको प्रतिभाको भरपुर उपयोग गर्यो।
सिंगापुरको आर्थिक, राजनैतिक र सामाजि गरी यस देशको चौतर्फि विकासमा नेता लि क्वान येउको योगदान भने ज्यादै महत्वपूर्ण रहेको छ। सिंगापुरको केन्दिय राजनतिमा लामो समयसम्म आसिन रहेका लि, ३१ वर्ष (सन् १९५९ देखि १९९०) सम्म यस मुलुकको प्रधान मंत्री रहेका थिए। लि प्रधानमंत्री नरहँदा पनि सिंगापुरको राजनीति (सन् १९९१ देखि २०१५ सम्म) मा सक्रिय नै रहि रहे। विभिन्न पदमा रहेर सिंगापुरको आर्थिक विकासमा विशेष योगदान पुर्याउने कार्य गरि नै रहे। “आधुनिक सिंगापुरको निर्माता” मानिएका लि क्वान येउको मृत्यु केही दिन पहिले ( Monday, March  23, 2015) भएको थियो। सिंगापुरलाई आर्थिक विकासको पथमा तिब्र गति दौडाउने विचार (सिद्धान्त?) “प्रतिभातन्त्र” का विकासकर्ता एवं प्रयोगकर्ता यिनै लि क्वान येउ थिए। लि नै प्रतिभातन्त्रका शिल्पी थिए। लिले प्रतिभातन्त्रको विकास गरे अनि यसको प्रयोगमा पनि उत्तिकै जोड दिए पनि।
लि लामो समयसम्म सिंगापुरको राजनीति रहे। एक किसिमको तानाशाही नै कायम गरे, तर सिंगापुरलाई सक्षम, सुन्दर र विश्व मानचित्रमा सुपरिचित गराएर गए। सिंगापुरलाई सक्षम बनाएर विश्वलाई नै एक इमान्दार नेताको उदाहरण प्रस्तुत गरेर गए।
लिले सिंगापुरको विकासमा पुर्याएको खास योगदानले केही महत्वपूर्ण उदाहरणहरु प्रस्तुत गरेको छ। नेता तानाशाह भएता पनि यदि ऊ इमान्दार छ भने जनताले उसलाई देशको विकास गर्ने औसर प्रदान गर्ने रहेछ। नेता अलोकप्रिय तानाशाहीले होइन, अति स्वार्थी, क्रुर र भष्ट भए पछि हुने रहेछ। संक्रणकालमा देशलाई तानाशाह तर इमान्दार नेता चाहिने रहेछ।
नेपालमा राजा मेहन्द्रले पनि लि क्वान येउले गरे जस्तै गर्न खोजेका थिए। महेन्द्रको पालामा नेपालको आर्थिक एवं सामाजिक विकास भएको हो पनि। सडक, उद्योग, कृषि, बैंकिग, व्यापार आदि क्षेत्रको विकासमा महेन्द्रको योगदानलाई बिर्सन मिल्दैन। तर बिरोधीहरुको विचार सुन्न नसक्ने, जनताको अधिकारलाई संकुचित पार्दे लाने र मुलुकको राजनीतिलाई केवल दरबार भित्र मात्र सीमित राख्ने जस्ता महेन्द्रका नीतिहरुले गर्दा उनी नेपालको राजनीतिमा लोकप्रिय वा सफल हुन सकेनन्।  हुन त राजा महेन्द्र (११ जुन १९२० - ३१ जनवरी १९७२ ) ५१ वर्षको अल्प आयुमा नै स्वर्गवासी भए। यदि उनी लामो समयसम्म बाँचेको भए उनीबाट केहि अपेक्षा गर्न सकिन्थ्यो कि? तर, नेपालको राजदरबारको राजनैतिक शैली- राजनीतिलाई दरवार भित्र मात्र सीमित राख्ने र दबार वरपरका व्यक्तिहरुको कुरा मात्र सुन्ने भएकोले राजा महेन्द्रबाट पछि सम्म पनि सोही गतिमा विकास हुने सक्ने अपेक्षा गर्न गार्हो थियो। अहिलेको स्थितिमा पनि, नेपालबाट राजसत्ताको अन्त्य हुनुमा त्येही राजदरबारको राजनैति शैली जिम्मेबार देखिन्छ। राजदारबारले दरबार वरपरका व्यक्तिहरुको चाकडीयुक्त सल्लाहरुलाई महत्व दियो। तिनमाथि अटुट विश्वास गर्यो तर जनताको न्यायिक आवाज माथि ध्यान दिएन। महत्वपूर्ण ठानेन।
अब सन्दर्भ परिवर्तन गरौ। अब, यस आलेखको मुल विषयमा आऔ। वर्तमान युग सूचना र संचारको युग हो। विज्ञान र प्रविधिको युग हो। यस युगमा, कुनै पनि मुलुकमा, त्यस मुलुकको सर्वाङ्गिण विकास गर्नका लागि, मुलुक भित्र उपलब्ध रहेका अनेक प्रतिभाहरुमा भर पर्न अति आवश्यक छ। ती प्रतिभाहरुको उपयोग गर्न आवश्यक छ। प्रतिभाहरुको उपयोग गर्न प्रतिभातन्त्रमा जोड दिन आवश्यक छ, जसरी सिंगापुरले दियो। व्यक्तिलाई उसको जात, समुदाय, आदिको आधारमा होइन उसको प्रतिभाको आधारमा उसलाई औसर दिन आवश्यक छ। प्रतिभा अब केवल बौद्धिक क्षमता भित्र मात्र सीमित छैन। परिश्रम, लगनशीलता, इमान्दारी, नया नया श्रृजना सक्ति आदि सबै व्यक्तिहरुका प्रतिभा नै हुन।

विश्वराज अधिकारी