Friday, June 19, 2015

Why Connecting Madesh With Mountains Is Necessary?-Article-175

किन जोड्ने तराइलाई पहाडसँग?

नेपालका प्रमुख चार दलहरु बीच भएको १६ बुन्दै सहमति (सम्झौता) ले संविधान निर्माणको बाटो फराकिलो पार्नुको साथै मुलुक संघीयतामा जाने विषयलाई पनि संकारहित तुल्याइ दिएको छ। संसदको भूमिकामा रहेको संविधान सभाका प्रमुख दलहरुले नै नेपाललाई संघीय स्वरुपमा लग्ने सहमति गरे पछि नेपाल संघीयता जाने विषय एक किसिमले सुनिश्चित भएको छ। यति मात्र होइन, सहमति-पत्रको पहिलो (१) बुन्दामा नै “संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा पहिचानका पाँच र सामर्थ्यका चार आधारमा आठ प्रदेश निर्माण गरिनेछ” भनी उल्लेख हुनुले नेपाल अब संघीयतामा जाने बारेमा कुनै द्विधा रहेको देखिंदैन। तर नेपाल संघीयता जाने भन्नेमा एउटा सर्त विद्यमान रहेको भन्ने चाँहि बिर्सन मिल्दैन।  त्यो सर्त के हो भने सहमति कायम गर्ने यी दलहरु आफ्ना सहमतिहरु कार्यान्वयन गराउन अन्तिम घडिसम्म पनि सहमत हुनुपर्ने। दलहरुले विगतमा यस्ता कार्यहरु गरेका हुनाले उनीहरुले सहमति-कार्यान्वयन गर्नेमा संका गर्ने ठाउँ भने प्रशस्तै छ। तर जे होस हालसम्मका स्थितिहरुको विकासको क्रमलाई हेर्ने हो भने  नेपालले संघीय स्वरुप धारण गर्ने विषय सुनिश्चित भएको मान्नु पर्ने हुन्छ। १६ बुन्देले यही भन्छ।
नेपाललाई संघीयताको स्वरुपमा लग्ने मुद्दालाई प्रमुख दलहरुले १६ बुन्दे सहमति द्वारा किनारा लगाएता पनि संघ विभाजन वा संघीयताको आधार (सीमांकन) को विषयलाई भने किनारा लगाउन नसकेको देखिन्छ। सहमतिको बुदाँ तीन (३) मा “प्रदेशको सीमांकन संबन्धी सिफारिस गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ। आयोगको कार्यावधि ६ महिना हुनेछ। संघीय आयोगको सुझाव-प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमांकनको अन्तिम निर्यण व्यवस्थापिक-संसदको दुई तिहाइ बहुमतले गर्नेछ” भनी उल्लेख हुनुले यो कुरा प्रष्ट हुन्छ। १६ बुन्दे सहमतिले संघहरुको सीमा निर्धारण गर्ने अधिकार ‘संघीय आयोग’को सुझाव-प्रतिवेदनको आधारमा व्यवस्थापिका संसदलाई दिएको छ र संसदको  दुई तिहाइ बहुमतले मात्र सो विषयलाई स्वीकृति दिन सक्ने व्यवस्था समेत पनि गरेको छ।
१६ बुन्दे सहमतिको प्रदेश (राज्य) - सीमांकन सम्बन्धी प्रावधानले कुन आधारमा र कुन किसिमबाट राज्यहरुको सीमा निर्धारण गर्ने भन्ने विषय प्रष्ट नपारेकोले सीमांकन सम्बन्धी विषय अहिले पनि चर्चामा नै छ। मदेसवादी प्रमुख दलहरुले त यो सहमतिको प्रारम्भमा नै विरोध गरिसकेका छन्। मदेसवादी दलहरुले सीमांकन गर्दा मदेसको पहिचान कायम हुनु पर्ने कुरामा जोड दिइरहेका छन्। यस क्षेत्रको आर्थिक विकासका आधारहरुलाई प्राथमिकता दिनुको साटो पहिचानमा बढी जोड दिइरहेका छन्। तर के आर्थिक विकासका आधारहरुलाई बेवास्ता गरेर केवल पहिचानलाई मात्र महत्व दिन मिल्छ होला? यो तथ्य पनि भूल्न मिल्दैन कि आर्थिक समृद्धि बढे भने मात्र आफ्नो मौलिक पहिचानलाई कायम गर्न सकिन्छ। यो आर्थिक विकासको युग हो। आर्थिक विकासले हरेक कुरालाई निर्दैशित गर्दै गएको छ। ती राष्ट्रहरुका धर्म, भाषा, संस्कृति आदि व्यापक र बलियो हुँदै गएक छन् जुन राष्ट्रहरु आर्थिक रुपमा बलिया छन्। यो तथ्यलाई कसरी बिर्सने? कुनै समयमा संसारभरिका मान्छेहरु मुख्य गरी तीन भाषाहरु- स्पेनिश, फ्रेन्च र अंग्रेजी (भाषा) सिक्नमा जोड दिन्थे। हुन पनि यी भाषाहरु बोलिने देशहरु, खास गरी धनी देशहरुमा नै रोजगार, व्यापार, पैसा र समृद्धि थियो। तर अहिले विस्तारै त्यो स्थितिमा परिवर्तन आइ रहेको छ। अहिले मान्छेहरु कोरियन, चाइनिज र अरबी भाषाहरु पनि सिकिरहेक छन्।
माथिको यो प्रसंगलाई जोड्दै मदेश वा तराइमा कुन किसिमले राज्यको सीमांकन गर्ने विषयमा नै यो चर्चालाई केन्द्रित गरौ। कुरा घुमाउरो किसिमले होइन र प्रष्ट गरी भन्ने हो भने, तराइको आर्थिक विकास द्रुततर गतिमा गर्ने लक्ष्य राखिएको हो भने, प्रदेशको सीमांकन गर्दा तराइका क्षेत्रहरुलाई पहाडसँग जोड्न अत्यावश्यक छ। आफ्नो व्यक्तिगत वा दलगत स्वार्थलाई बिर्सेर जसले तराइलाई साँचो अर्थमा माया गर्छ, जसले तराईको सामाजिक एवं आर्थिक विकासमा जोड दिन्छ, जसले तराइबाट गरिबी हटाउन चाहन्छ, जसले तराइमा आश्वासन मात्र होइन देखिने र अनुभव गर्न सकिने किसिमले आर्थिक विकास भएको हेर्न चाहन्छ उसले तराइलाई पहाडसँग जोड्न कुरामा बल दिन्छ। हो, पहिचान पनि आवश्यक छ, तर केवल पहिचानले मात्र गरिबी निवारण भएर समृद्धि आउँदैन। पहिचान एक भावनात्मक कुरा हो। भावनात्मक कुराले आर्थिक जीवनलाई गहिरो प्रभाव पार्दैन तर आर्थिक विकासले भने नागरिकहरुको जीवनमा गहिरो प्रभाव पार्दछ। अहिलेको यो अति व्यापार युगमा हरेक क्षेत्रको विकास आर्थिक विकाससँग गाँस्सिएको छ।
तराइलाई पहाडसँग जोड्नु पर्ने आवश्यक्ताका विभिन्न कारणहरु छन् जुन यसप्रकार छन;
·         आय: कुनै एक क्षेत्रलाई राज्यको रुपमा कायम राख्न त्यसलाई आर्थिक रुपमा पनि सक्षम पार्नु पर्ने हुन्छ। राज्यको रुपमा स्थापित भएको कुनै प्रदेशले विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सँधै केन्द्र सरकारको मुखताक्नु पर्ने स्थिति व्यवहारीक हुन सक्दैन। त्यसकारण राज्यले विभिन्न किसिका खर्चहरुको लागि आफैले आय श्रृजना गर्नु पर्ने हुन्छ। राज्य आय श्रृजना गर्न सक्षम हुनु पर्दछ। मदेशले आय बढाउनका लागि पहाडप्रतिको निर्भरतालाई बढाउनु पर्ने देखिन्छ।
·         बाढी नियन्त्रण: नेपालको भौगोलिक बनाबटले गर्दा वर्षाको समयमा बाढीले तराईलाई धेरै दु:ख दिन्छ किनभने उँचो सतहबाट तल्लो सतहमा पानी छिट्टै बगेर आउँछ र समतल स्थान (तराई) मा पानी लामो समयसम्म जम्मा रहन्छ। त्यसरी लामो समयसम्म रहने पानीले मदेश क्षेत्रको जन जीवनलाई मात्र प्रभावित पार्दैन साथै बाली बिरुआहरु पनि नष्ट पार्दछ। त्यसकारण बाढी नियन्त्रणका लागि तराई र पहाडले मिलेर काम गर्नु पर्ने हुन्छ। तराई र पहाडका विभिन्न क्षेत्रहरु एउटै राज्यमा परेमा समन्वयित किसिमले काम गरेर बाढी नियन्त्रण गर्दै जन धनको रक्षा गर्न सजिलो हुन्छ।
·         जल विद्युत: आर्थिक विकासको मुल आधार ऊर्जा नै हो भन्नेमा कसैको दुई मत हुन सक्तैन। ऊर्जाको अभावमा जीवन नै गतिहीन हुन पुग्छ। घरघरायसी कार्य सम्पादनदेखि ठूला ठूला उद्योगहरु संचालन गर्न ऊर्जा चाहिन्छ र अहिले सर्वाधिक सजिलो र सस्तो ऊर्जाको स्रोत जल विद्युत हुन पुगेको छ। जल विद्युत उत्पादनका लागि अग्लो र होचो सतह हुन आवश्य छ। यसै गरी खोलामा पानीको बहाब निरन्तर, पानीको मात्रा पनि अधिक हुन त्यतिकै आवश्यक छ। यी कारणहरुले गर्दा पहाडि क्षेत्रमा जल विद्युतको उत्पादन सजिलो हुन पुग्दछ। यो स्थितिले गर्दा तराईका विभिन्न क्षेत्रहरुले ऊर्जा उत्पादन, वितरण र उपभयोगका लागि पहाडी क्षेत्रहरुसँग मिलेर कार्य गर्नु पर्ने हुन्छ।
·         खानी र वन पैदावार: ढुगा, बालुबा आदि जस्ता सडक एवं भवन निर्माणका लागि आवश्यक सामाग्री एवं काठपातहरु बढी मात्रामा, सस्तो र भरपर्दो किसममले पहाड बाट नै प्राप्त हुन्छ। विभिन्न किसिमका खनिजहरु प्राप्त हुने सम्भावना पनि अधिक पहाडमा नै देखिएको छ। बालुवा, ढुंगा, काठपातहरुको उपयोग गर्न एवं खनिजहरुको उत्खन्न गर्न तराइले पहाडसँग मिलेर कार्य गर्नु पर्नै हुन्छ। जडीबुटि, जराजुरी आदि जस्ता स्रोतहरु पनि पहाडमा नै उपलब्ध छन।
·         पर्यटन: धार्मिक पर्यटन बाहेक अन्य विभिन्न किसिमका पर्यटनहरुको विस्तार एवं सम्भावना तराइमा ज्यादै कम देखिएको छ। विभिन्न किसिमका पर्यटनहरु पहाडी क्षेत्रहरुमा नै रहेको पाइन्छ। दृश्यावलोकन, वातावरणीय पर्यटन, रिसोर्ट, पिकनिक, थिम पार्क, मनोरंजनात्मक क्रियाकलाप, केवलकार, पर्वतारोहण, पद यात्रा, जलवायु परिवर्तन आदि आदि यस किसिमका स्थल एवं क्रियाकलापहरु हुन जुन पहाडि क्षेत्रहरु सजिलै उपलब्ध छन र आय श्रृजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् पनि। यस किसिमका स्थल एवं क्रियाकलापहरुले आम्दानी श्रृजना गर्ने मात्र होइन रोजगारीको माध्यमबाट गरिब परिवारहरुसम्म आम्दानी पुर्याउन महत्वपूर्ण भूमिका पनि खेलेका छन्। छिमेकी भारतको नै उदाहरण लिउ, पहाडै पहाडले भरिएको उत्तराखण्ड राज्यमा थुप्रै तिर्थस्थलहरु मात्र होइन, धेरै पर्यटकीय स्थलहरु पनि छन्। 
यस्ता धेरै उदाहरणहरु छन् जसले तराइ र पहाडले मिलेर सहकार्य गर्नु पर्नै स्थितिको माग गर्दछन्। तराइको आर्थिक विकासको लागि पहाड र तराइको अन्तर निर्भरताको माग गर्दछन्। त्यसकारण प्रदेशहरुको निर्धारण एवं सीमांकन हुँदा तराइ र पहाडलाई जोड्नु आर्थिक दृष्टिकोणले आवश्यक र अत्यन्त उपयोगी देखिन्छ। यो कुनै राजनीतिक पूर्वाग्रह राखेर व्यक्त गरिएको धारणा नभइ तराइ क्षेत्रको समृद्धिका लागि, यस क्षेत्रको गरिबी निवारणका लागि राखिएको इमान्दार र निस्वार्थ धारणा हो। आर्थिक मुद्दाहरुको धरातलमा निर्धारण गरिएको धारणा हो।
नेपालको आर्थिक विकासको इतिहास हेर्ने हो भने नेपालको आर्थिक विकासका मुद्दाहरुलाई राजनैतिक समस्या एवं नेताहरुको प्रतिकूल व्यवहारले ज्यादै नै असर पारेको देखिन्छ। अनावश्यक राजनैतिक मुद्दाहरुको उठानले पनि नेपालका आर्थिक विकासको गतिलाई अति सुस्त पारेको हो। तर अब भने आर्थिक मुद्दाहरुमा केन्द्रित हुनु पर्ने समय आएको छ। आर्थिक विकासका लागि सबैले मिलेर काम गर्नु पर्ने बेला आएको छ। नेपाललाई अहिले पहिचान भन्दा पनि आर्थिक विकास आवश्यक छ। पहिचान एक भावनात्मक कुरा हो। भावनाको सन्तुष्टिले मात्र भोको पेट भर्दैन। रोजगारीको लागि अरबको तातो बालुबामा भौतारिनु पर्ने स्थितिको समाप्ति हुँदैन। भोको पेट भर्नका लागि भावनात्मक सन्तुष्टि होइन भोजनको व्यवस्था आवश्यक छ। र सबैलाई सहजै भोजनको व्यवस्था सुनिश्चित हुनका लागि आर्थिक समृद्धि आवश्यक छ। पहिचानका लागि सुडानबाट छुट्टिएर दक्षिणी सुडान, इथोपियाबाट छुट्टिएर एरिट्रिया, सोभियत संघबाट छुट्टिएर युक्रेन, जर्जिया आदि आदिले के समृद्धि हासिल गरे त? पूर्व सोभियत संघबाट छुटटिएर बनेका अनेक राष्ट्रहरु जस्तै युक्रेन, जर्जिया आदिलाई स्वतन्त्र राष्ट्रको रुपमा अस्ति कायम राख्न पनि गार्हो भएको छ। युक्रेनको एक भागको रुपम रहेको क्रिमियालाई रुसले आफ्नो सीमामा मिलाउँदा युक्रेनले किन केही गर्न सकेन?


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, June 19, 2015

Friday, June 12, 2015

It Is Time to Cooperate Not Fighting-Article 174

यो सहमतिको बेला हो बिग्रहको होइन

 गएको सोमबार (जेष्ठ २५, २०७२) का दिन नेपालका प्रमुख दलहरु बीच भएको १६ बुन्दे सहमतिले केही समयदेखि स्थिर रहेको नेपालको राजनीतिलाई तरंगित तुल्याई दिएकोछ। गत वैशाषमा गएको भूकम्पले राष्ट्रिय राजनीतिलाई केही समयका लागि भने स्थिर तुल्याइ दिएको थियो। त्यस्तो हुनु आवश्यक थियो पनि किनभने राष्ट्रले ठूलो विपत्तिको सामना गरिरहेको समयमा जनताको जिउ ज्यानको सुरक्षालाई महत्व दिएर उद्दारका कार्यहरुमा दलहरु लाग्नु अत्यावश्कय थियो पनि। र समयको माग पनि त्येही नै थियो। वहुसंख्यक जनताको जीउ ज्यान भन्दा ठूलो राजनीतिक सहमति, समझौता होइन। यी पछि आउने, दोस्रो दर्जाका आवश्यक्ताहरु हुन।
तर संविधान निर्माणको कार्य पनि उत्तिकै  आवश्यक छ किनभने भूकम्पले भत्काएका संचरनाहरुको मर्मत एवं नव निर्माण गर्न मात्र होइन अन्य विकासका कार्यहरु, जसले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्दछ, जनताको आर्थिक जीवनलाई सरल तुल्याउँछ, लाई अगाडि बढाउन समयमै संविधान निर्माण आवश्यक छ। राष्ट्रको प्रत्येक क्षेत्रको आर्थिक एवं सामाजिक विकासको आधार स्तम्भको रुपमा रहेर कार्य गर्ने स्थानीय निकायहरु लगभग बिस वर्षदेखि प्रतिनिधि विहीन छन्। पूर्ण रुपमा निष्कृय छन्। संविधान निर्माण हुन नसकेकोले स्थानीय निकायहरुका लागि चुनाव हुन सकेको छैन। स्थानीय तहमा विकास एवं निर्माणका त्यस्ता कार्यहरु जसले स्थिरता ल्याउँछ, रोजगारी सृजना गर्छ, गरिब जनताको आयमा वृद्धि गराउँछ, पूर्णतया रोकिएका छन्। यस परिप्रेक्ष्यमा संविधान निर्माणका लागि दलहरु सक्रिय हुनु सकारात्मक संकेत हो। संविधान निर्माणका लागि दलहरु सहमतिको दिशातर्फ उन्मुख हुनु राष्ट्रिय हितमा छ पनि। यस अर्थमा संविधान निर्माणका लागि दलहरु बीच सहमति हुनु नेपाली राजनीतिका लागि एक उपलब्धि नै हो भन्न सकिन्छ। यो सहमतिको कार्यन्वयन इमान्दारीपूर्वक दलहरुले गर्ने हो भने नेपालको राजनीतिले गति लिने  छ। आर्थिक विकासको गतिले तिब्रता पाउने छ। नेपाल आर्थिक विकासको नया युगमा प्रवेश गर्नेछ।  
तर, अर्कोतिर, संविधान निर्माण जस्तो गंभिर कार्यका लागि नेपालका सबै राजनीतिक दलहरु बीच सहमति कायम हुन नसक्नु  भने राष्ट्रिय राजनीतिको एक पीडादायी दु:खद पक्ष हुन पुगेको छ। संविधान निर्माणको कार्यलाई अगाडि बढाउन चार प्रमुख दलहरु- नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बीच एक सहमति कायम भएको छ र त्यस सहमतिलाई कार्यरुप दिन एक सहमति पत्रमा हस्ताक्षर समेत पनि भएको छ। तर अर्कोतिर अन्य दलहरु, मुख्य गरी तराइ केन्द्रित दलहरुले यस १६ बुन्दे सहमतिमा स्वीकृति जनाएका छैनन्। त्यस सहमतिको कडा शब्दमा बिरोध समेत गरिरहेका छन्। विरोधका लागि विभिन्न कार्यहरु गर्ने भनी घोषणा पनि गरिसकेका छन्।
१६ बुन्दे सहमतिलाई आधार बनाएर विपक्षीहरुको ३० दलीय मोर्चा विभाजित समेत पनि भएको छ। उक्त मोर्चा भित्र रहेका दलहरु मध्ये प्रमुख दलहरु- नेकपा (एमाओवादी), फोरम (लोकतान्त्रिक) सहित अन्य दलहरु एकातिर भएका छन् भने मधेसी जनअधिकार फोरम (नेपाल), तराई-मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी सहित केही अन्य दलहरु अर्कोतिर भएका छन्। उक्त सहमतिको बिरोध गर्ने दलहरुले काठमाडौ लगायत मधेशका सबै जिल्लाहरुमा सो १६ बुन्दे सहमति जलाउने निर्यण गरेका थिए। त्यति मात्र होइन, तराइ केन्द्रित मधेसी पार्टीहरुले संविधान सभा पूर्ण रुपमा वहिष्कार गर्ने र परे संविधान सभा नै छाड्ने चेतावनी पनि दिएका छन्। प्रमुख मधेसी दलहरुले यो १६ बुन्दे सहमतिलाई संघीयता समाप्त पार्ने षडयन्त्र भएको आरोप लगाएका छन्।
एकातिर १६ बुन्दे सहमति वा सम्झौताको समर्थनम र बिरोधमा दलहरु यसरी विभाजित छन् भने अर्कोतिर त्यो सहमतिका चार पक्षहरु, कांग्रेस, एमाले, एमाओवादी र फोरम, जसले त्यो सहमति पत्रमा हस्ताक्षर गरेका छन्, ले आफूले गरेका सहमतिहरुको अक्षरश: पालना गर्ने छन् त भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण  छ। यो यक्ष प्रश्नको रुपमा तेर्छिएको छ। दलहरुका विगतका क्रियाकलापहरुको अध्ययन र विश्लेषण गर्दा यी दलहरुले आफ्ना वाचाहरु पुरा गर्नेमा विश्वस्त हुने स्थिति देखिंदैन।  केवल आफ्ना व्यक्तिगत एवं दलीय स्वार्थहरुलाई मुख्य लक्ष्य बनाएर त्यसको वरिपरि चक्कर काट्ने र जनताको हितका कुराहरुलाई वेवास्त गर्ने दलहरुको संस्कार एवं प्रवृति हेर्दा १६ बुन्देका सहमतिहरु कार्यान्वयन हुन सक्ने अवस्था देखिंदैन। तर पनि, यदि दलहरु स्वार्थी त्यागी, जनताको हितका लागि गंभिर एवं एक जुट हुने हो भने यी सहमतिहरु कार्यान्वयन हुन सक्ने ठाउँ भने प्रशस्तै देखिन्छ।
नेपाल गरिबीको दलदलबाट बाहिर आउन सकिरहेको छैन, उल्टो दिन प्रतिदिन भास्सिदै गएको प्रतीत भइरहेको छ। देशमा उत्पादन बढेको छैन। देशमा रोजगारी छैन। रोजगारीका लागि देशको लगभग आधा जनसंख्या विदेशीयको स्थिति छ। महँगीले थिचिएर जनता पाताल पुगेको स्थिति छ। एक किसिमले हेर्ने हो भने नेपालमा अहिले केवल धनीहरु मात्र दुई छाक ढुक्कसँग खान सक्ने स्थितिमा छन्। गरिबहरु झन झन (तुलनात्मक स्थितिमा) गरिब भएर गरएका छन्।
हुन पनि, नेपालको आर्थिक विकासको चरणलाई वर्गीकरण गरेर विभिन्न चरणहरुको विश्लेषण गर्ने हो भने कुनै पनि चरणमा नेपालमा शान्तिपूर्वक, यत्नहरुका साथ, कुशल आर्थिक नीतिद्वारा एवं योजनावद्ध किसिमले आर्थिक विकास भएको देखिंदैन। पंचायतकालमा दरबारले आर्थिक विकासका लागि विभिन्न पहलहरु (रुस र चीनको सहयोगकमा विभिन्न कारखानाहरुको स्थापना, राजमार्ग निर्माण आदि) गरेता पनि दरबारका आसेपासेहरुको सल्लाह (नेपालमा औद्योगिक गतिविधिहरुको विकास भएमा मजदूरहरु संगठित भइ राजतन्त्र समाप्त पार्नेछन्) ले गर्दा पंचायतकालमा नेपालको आर्थिक विकासको गति अति नै सुस्त रह्यो। एक किसिमले अति नै नियन्त्रित रह्यो।
२०४६/ ४७ सालको राजनैतिक परिवर्तन पछि नेपालमा आर्थिक विकासका प्रशस्त यत्न एवं सम्भावनाहरु प्रकाशमा आए तर राजनैतिक खिचातानी र नेताहरुको व्यक्तिगत एवं दलगत स्वार्थले गर्दा नेपालको आर्थिक विकासको गति अपेक्षाकृत गतिमा अगाडि बढ्न सकेन। तर विकासको गति सुस्त भएता पनि त्यो रोकिएन। कछुवा चालमा चलिरह्यो।  
नेपालको आर्थिक विकासको गति सुस्त वा प्रकृतिक गतिमा चलिरहेको समयमा नै २०५२ सालमा माऔवादीको अति विध्वसात्मक एवं अति रक्तपातपूर्ण संघर्ष प्रारम्भ भयो। माओवादी-संघर्षले नेपालको आर्थिक विकासको गतिलाई सुस्त मात्र होइन विपरित दिशामा दौडायो। माओवादी-संघर्षकालमा आर्थिक विकासका अनेको संरचनाहरु ध्वस्त हुनुका साथै विभिन्न कारखानाहरु बन्द भए। खास गरि साना उद्योगहरु बढी प्रभावित भए। रोजगारीको क्षेत्र अति नै संकुचित भयो।
२०६३ सालमा नेपालको राजनीतिले नया मोड लियो। नेपाल गणतान्त्रिक युगमा प्रवेश गर्यो। तर गणतान्त्रिक युगले पनि नेपाली राजनीतिलाई शान्ति र स्थिरता दिन सकेन। स्वार्थी राजनीतिका अनेक अप्रिय नौटंकीहरु मंचन भए। आर्थिक विकासका मुद्दाहरुले ज्यादै कम, फोहरी राजनैतिक मुद्दाहरुले बोलबाल कायम राखे। यही समयमा सर्वाधिक नेपालीहरु स्वदेशबाट पलायन भए। रोजगारीका लागि, स्वदेशको अमृतमय माटो, हावा र पानी, परिस्थितिबस, बिर्सेर विदेशको जोखिमपूर्ण र कठिन बाटो रोजे। यो कालमा सर्वाधिक संख्यामा युवाहरुले विदेश गमन गरे जुन अत्यधिक दर्दनाक थियो, किनभने उनीहरुले साथै रहनु पर्ने अवस्थाका पति वा पत्नीहरुले बिछोडमा पारेर परदेश हिंडे। यस अर्थमा, गणतन्त्र पछिको काल नेपालका लागि सर्वाधिक दु:खदायी कालको रुपमा नेपालको इतिहास अंकित हुनेछ।
२०६३ देखि २०७२ सालसम्मको अवधिमा नेपालले कछुआ चालमा आर्थिक विकास गरिरहेको थियो। देशमा गरिएका लगानीहरु पनि बढी मात्रामा, दीर्घकालमा, अनुत्पादक एवं निश्चित भविष्य नभएका क्षेत्रहरुमा भए। कुशल किसिमले, जोखिमको व्यवस्थापन नगरे, ठूलो परिमाणमा, रकमहरु आवासीय एवं ब्यवसायिक भवनहरुमा लगानी भए। कमजोर संरचनमा वहुतल्ले भवनहरु निर्माण। यस किसिमको स्थितिमा, आर्थिक विकासको गति, अनिश्चितताको बाबजुत पनि, एक किसिमले स्वभाविक गतिमा अगाडि बढिरहेको थियो। तर एक महिना पहिले (२०७२ साल बैशाषमा) आएको डर लाग्दो भूकम्पले भने नेपालको आर्थिक विकासलाई तहस नहस पार्यो। नेपाललाई तीस वर्ष जति पछाडि पुर्यायो। जुन क्षेत्र (भवनहरु) मा नेपालीहरुले विना योजना (जोखिम व्यवस्थापन नगरेर) अत्यधिक लगानी गरेका थिए भूकम्पले त्यही क्षेत्रलाई क्षत विक्षत पार्यो। यो भूकम्पले घरहरु मात्र भत्काएन नेपालीहरुको मन पनि भत्काएको छ। भत्केका मन र घरहरु निर्माण गर्न पच्चिसौं तिसौं वर्ष लाग्न सक्छ।
त्यसकारण नेपालको वर्तमान राष्ट्रिय परिस्थितिले संघर्ष एवं मुठभेड होइन, कलह एवं विग्रह होइन, शान्ति एवं समन्वय, मेलमिलाप एवं एकताको माग गरिरहेको छ। यो समयमा सम्बन्धित सबै पक्षहरु मिलेर, संविधान निर्माण गरेर, समयमा नै संविधान जनता समक्ष ल्याउने काममा जुट्नु परेको छ। दलहरु बीच संविधान निर्माणका सन्दर्भमा पहिचान, क्षेत्रीयता वा अन्य यसै किसिमका मुद्दाहरुमा मदभेतहरु हुन सक्छन। तर यस किसिमका मदभेदहरु, मुद्दाहरु समझदारी, सम्वाद एवं सहमति द्वारा व्यवस्थापन गर्न सकिन्छ। त्यस्ता समस्याहरु सहजै किनारा लगाउन सकिन्छ, यदि देश र जनताको लागि इमान्दारीपूर्वक काम गर्ने हो भने। पहिचान, क्षेत्रीयता जस्ता मुद्दाहरुलाई संविधान निर्माण पछि पनि सम्बोधन गर्न सकिन्छ। 
हालै गएको भूकम्पले देशलाई गंभीररुपमा बिरामी तुल्याइ दिएको छ। देश अहिले बिरामी भएर ओछ्यान परेको स्थिति छ। यस्तो बेलामा देशले संघर्ष होइन शान्ति र विकास माग गरिरेहको छ। देशको पहिले आवश्यक्ता गाँस र बास भएको छ। 


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, June 12, 2015

Friday, June 5, 2015

Why Is the Factor Risk Management Ignored?-Article-173


जोखिम व्यवस्थापन उपेक्षित किन?

कुनै एउटा यस्तो समय थियो जुन समयमा नेपालमा गलैचा व्यवसाय अति नै फष्टाएको थियो। सम्भवत: त्यो चालिसको दशक हुनु पर्दछ। मुख्य गरी काठमाडौ र यो सहरको वरपर, सयौंको संख्यामा गलैचाका कारखानाहरु संचालित थिए। प्रत्यक्ष मानवीय श्रम (हाते तान) प्रयोग गरेर निर्माण हुने ती गलैचाहरु पश्चिमका राष्ट्रहरुमा निकै लोकप्रिय रहेको प्रचार गरिएको थियो। ठूलो परिमाणमा विदेश निर्यात हुने र अत्यधिक लाभ दिने भनी चर्चित गलैचा कारखानमा त्यसताका धेरै नेपालीहरु ठूलो रकम लगानी गरे। यहासम्म कि सामान्य आर्थिक अवस्था भएका परिवारहरुले पनि, ऋण गरेर नै भए पनि, यो उद्योगमा अत्यधिक नाफा आउने लोभमा लगानी गरे। तर त्यही समयमा नेपालका गलैचा कारखानाहरुले बाल श्रमको प्रयोग गर्ने भएकोले अन्तरार्ष्ट्रिय बजारले नेपाली गलैचाहरु खरिद गर्न नचाहेको खबरहरु आउन थाले। वाल-श्रम प्रयोगको कारण वा अन्य अरु पनि कारणहरुले गर्दा हो, गलैचा उत्पादनमा ठूलो कमी आयो किनभने खरिदकर्ता ह्वातै घटे। यो उद्योगमा लगानी गर्नेहरुले ठूलो घाटा खानु परेको भन्ने हल्लाहरु सुनियो। त्यस पछि गलैचा उद्योग धरासायी भयो भन्ने खबर आयो। जे होस त्यो बेलाको जस्तो अहिले, मुख्य गरी काठमाडौमा, च्याउ झै गलैचा कारखाना देखिंदैन। काठमाडौमा त्यो बेला जस्तो (ठूलो परिमाणमा) गलैचा उत्पादन हुँदैन पनि।
यसै गरी नेपालमा तयारी पोशाकको पनि कुनै बेला निकै बोलबाल थियौ। काठमाडौ, तयारी पोशाक उत्पादन गर्ने राष्ट्रको, एक किसिले मुख्य बाजरको रुपमा नै स्थापित भएको थियो। तयारी पोशाक पश्चिमका बजारहरुमा निर्यात गरेर राम्रो आर्जन गर्न सकिने विश्वासले व्यापारी-समाजमा बलियो जरा गाडेको मात्र थिएन, धेरैले यो उद्योगमा ठूलो लगानी गरेका थिए पनि। तर पछि यो उद्योग पनि धरायसी भयो। धरासायी हुनुको मुख्य कारण पश्चिमका राष्ट्रहरुले सानो परिमाणमा खरिद गर्न (कोटा कम पार्न) थालेको भनी समाचारहरु आए। नेपालका व्यापारीहरुको नाममा विदेशका व्यापारीहरुले नेपालले पाएको कोटाको दुरुपयोग गरेको र भारतबाट नै तयारीको अवस्थमा लुगाहरु नेपालमा आएर नेपाल केवल निर्यात केन्द्र मात्र बनेको भन्ने हल्लाहरु चर्चामा आए। विस्तारै तयारी पोशाक तयार गर्ने उद्योगहरु  धराशायी हुने क्रम शुरु भयो। अहिले नेपालमा ज्यादै कम परिमाणमा तयारी पोशाक उत्पादन हुन्छ। तर त्यही समयमा बंगलादेशमा फष्टाएको तयारी पोशाक उद्योग अहिले त्यस मुलुकको लागि रोजगारीको ठूलो स्रोत मात्र होइन तयारी पोशाकको लागि एशियामा नै राम्रो बजारको रुपमा स्थापित भएको छ। तर नेपालका तयारी पोशाक उत्पादन गर्ने कारखानाहरु खहरे खोले झै सुकेर गए।
यी उद्योगहरुले किन दीर्घ जीवन पाउन सकेनन्? केहीले बाहेक, यस उद्योगमा लागेका धेरै व्यापारीहरुले किन ठूलो घाटा बेहोर्नु पर्यो? यो प्रश्नको उत्तर खोज्नु भन्दा पहिले केही थप प्रशंगहरुलाई जोडौ।
कुनै यस्तो समय थियो, नेपालमाका केही सहरहरु, मुख्य गरी काठमाडौमा जग्गामा लगानी गर्नु माटोलाई सुन बनाउनु झै थियो। पाँच लाख रुपैयाँमा खरिद गरेको जमिन खरिद गरेको केही महिना पछि नै बिक्री गर्दा दस लाखसम्म प्राप्त हुन्थ्यो रे। बिना कुनै ठूलो परिश्रम, केवल राम्रो पूँजी लगानी गरेको भरमा, छोटो समयमा नै, बिना जोखिम अति मोटो रकम आम्दानी हुने यो जग्गा उद्योग त्यस समयमा तराइमा प्रचलित “गुल्लरको फूल” को पर्यायवाची बनेको थियो। ठूलो संख्यामा लगानीकर्ताहरुले त्यसबेला जग्गामा लगानी गरे। केहीले त्यसबेला राम्रो आम्दानी गरे पनि। तर त्यो आम्दानी केवल छोटो समयमा तर मार्ने (Price Skimming) स्थिति मात्र थियो जुन टिकाउ हुन सकेन। परिणामस्वरुप पछि जमिनको भाउ आकास्निन छाड्यो र यथार्थ धरातलमा आयो। तर भयो के भने जसले भोलिका दिनहरुमा आकास्सिएको भाउमा जग्गा बिक्री गर्न पाइन्छ भन्ने विश्वासमा ठूलो लगानी गरेर जग्गा खरिद गरेका थिए, जग्गा खरिद गर्न चर्को व्याजदरमा ऋण लिएका थिए, उनीहरु डुबे। ठूलो घाटामा परे। अहिले स्थिति यो छ कि लगानीकर्ताहरु जग्गामा लगानी गर्न डराउँछन्। काठमाडौमा जग्गाको खरिद बिक्री सुस्त भएको छ। जग्गा खरिद बिक्री व्यवसाय पनि सुनको अण्डा उत्पादन गर्ने मुर्गी हुन छाड्यो।
नेपालको व्यापारिक जगतमा माथि वर्णनन् गरिएका स्थितिहरुको पुनरावृति हुने क्रम भने रोकिएन।  २०४६ सालको राजनैतिक परिवर्तनले दिएको प्रशासनीक खुकुलोपना र मुख्य गरी गणतन्त्रको आगमन (२०६२।२०६३) ले ल्याइदिएको प्रशासनिक वेथितिको कारणबाट नेपालमा घर निर्माणको गतिले अति नै तिब्रता लियो। स्थानीय निकायहरु नभएको र फष्टाएको सरकारी वेथितिको कारणले गर्दा निर्माणका लागि हुने प्रशासनिक निगमन र नियन्त्रण कम हुन पुग्यो। यो स्थितिको फाइदा उठाउँदै अव्यवस्थिति किसिमले, अध्ययन अनुसन्धान नगरिकनै पनि, गगनचुम्बी घरहरु निर्माण हुने क्रम काठमाडौमा तिब्र गतिमा शुरु भयो।
सक्रिय राजतन्त्र हुँदा, दरबार प्रशासनले दरबारको सुरक्षाको कारण काठमाडौमा वहुतल्ले घर बनाउन दिइदैन भन्ने एक किसिमको हल्ला वा यथार्थ जे थियो त्यसले वहुतल्ले घर निर्माणमा ज्यादै खुकुलोपनाको स्थिति आउन दिएको थिएन। बेथितिको स्थिति हुन दिएको थिएन। तर राजतन्त्रको समाप्ति र गणतन्त्रको प्रारम्भ पछि भने काठमाडौमा अव्यवस्थित किसिमले घर निर्माण गर्ने प्रवृत ज्यादै बढ्यो। काठमाडौ, भूकम्पको हिसाबले अति जोखिमपूर्ण क्षेत्रमा पर्दछ भन्ने कुराको हेक्का हुँदा हुँदै पनि काठमाडौमा निजी वा संस्थागत गरी व्यापारिक एवं आवसीय घरहरु ठूलो संख्यामा निर्माण। ठूला ठूला आकारका र उचाइँका अपार्टमेन्ट, मल एवं अन्य प्रयोजनका  घरहरु निर्माण भए। ती घरहरु निर्माण गर्दा ठूलो रमक लगानी गरियो। तर हालै गएको भूकम्पले गर्दा ती अग्ला घरहरु मध्ये केही ढले भने केही नराम्रो गरि चर्केका छन्। सुरक्षाको कारणले केही घरहरु बस्न नसकिने स्थितिमा पुगेका छन्। त्यस्ता घरहरु मर्मत गर्न गार्हो छ। मर्मत गरिए पनि त्यस्ता घरहरुमा परिवारहरु बस्न राजी हुने देखिंदैन। अहिलेको परिवर्तित ताजा स्थितिमा, भूकम्पको जोखिमले गर्दा काठमाडौमा घर निर्माणमा गरिएको ठूलो लगानी खेर जाने र धेरै लगानीकर्ताहरु डुब्ने स्थिति श्रृजना भएको छ।
अब माथिको प्रशंगलाई जोडौ। यी उद्योगहरु- गलैचा, तयारी पोशाक, जग्जा, भवन निर्माण, ले किन दीर्घ जीवन पाउन सकेनन्? केहीले बाहेक, यस उद्योगमा लागेका धेरै व्यापारीहरुले किन ठूलो घाटा बेहोर्नु पर्यो? माथिका प्रश्नहरुको उत्तर ज्यादै सरल छ। नेपालमा कुनै पनि किसिमको व्यवसाय गर्दा त्यस व्यवसायको सम्भावना, विस्तार, जोखिम, प्रतिस्पर्धा, भविष्य आदि बारे अनुसन्धान गर्ने परिपाटिको सर्वथा अभाव छ। यसै गरी कुनै पनि किसिमको व्यवसाय गर्दा उत्पन्न हुने जोखिम एवं जोखिमहरुलाई कसरी बाँड्ने वा न्युनीकरण गर्ने भन्ने सोचाइको पनि उत्तिकै अभाव छ।
अहिलेको ताजा स्थितिलाई लियौ। काठमाडौ मात्र होइन, सम्पूर्ण नेपाल नै भूकम्प गइ रहने क्षेत्रमा पर्दछ भन्ने कुराको थाहा पाएर अग्ला अग्ला घरहरु नबनाइएको भए केही समय पहिले गएको भूकम्प र त्यसपछिका आएका धक्काहरुले अग्ला घरहरु भत्क्याएर वा चर्काएर, थुप्रै लगानीकर्ताहरुको लगानी डुबेर ठूलो क्षति बेहोर्नु पर्ने स्थिति उत्पन्न हुने थिएन। यसै गरी जोखिम व्यवस्थापन तर्फ ध्यान पुर्याइएको भए पनि यति ठूलो धन जनको क्षति हुने थिएन। भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरेर अग्ला अग्ला एव अन्य घरहरु पनि बनाइएको भए यो स्तरमा क्षति अवस्य पनि हुने थिएन होला। यसै गरी भवनहरुको बीमा गरिएको भए पनि यो स्तरमा क्षति बेहोर्नु पर्ने स्थिति उत्पन्न हुने थिएन। नेपालमा आवासीय एवं व्यापारिक, दुबै किसिमका घरहरुको बीमा गराउने प्रचलनको सर्वथा अभाव छ।
अनेक क्षेत्रहरुमा लगानी गरेर नया नया व्यापारका औसरहरु खोज्नु राम्रो अभ्यास हो। व्यापारका नया नया औसरहरु खोजी गर्ने क्रममा नै गुगल, फेसबुक, युट्युब, स्काइप, भाइवर, अमेजन, इवे जस्ता नया नया व्यापारका तरिकाहरुको खोजि गरिएका हुन। यस्तो नेपालमा हुन पनि राम्रो कुरा हो। कहिले तयारी पोशाक, कहिले गलैचा, कहिले भवन निर्माणमा नया नया व्यापारका औसरहरु देख्नु राम्रो कार्य हो तर व्यापारिक औसरको खोजी गर्दा जोखिम पक्षको पूर्णतया बेवास्ता गर्नु भने ज्यादै दु:खद पक्ष हो। र त्येही दु:खद पक्ष नेपालको व्यापारिक जगत् मा बारम्बार दोहरि रहेको छ।  
जोखिम व्यवस्थापनलाई बेवास्ता गरेर फेरि पनि नेपालमा यसै किसिमले लगानी गर्ने परिपाटिले निरन्तरता पाउने हो भने नेपालका लगानीकर्ताहरुले ठूलो आर्थिक र मानसिक नोक्सानी बेहोर्नु पर्ने क्रम रोकिने छैन। पेट काटेर, विदेशमा जोखिमपूर्ण स्थितिमा काम गरेर कमाएको एवं राष्ट्र भित्र नै दु:ख कष्ट गरेर आर्जन गरेको रकम राम्रो लगानी एवं प्रतिफलको नाममा बालुबामा पानी हालेको झै हुनेछ। तसर्थ अहिले सर्वाधिक सोचनीय पक्ष जोखिम व्यवस्थापन हुन पुगेको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 05, 2015