Friday, August 26, 2016

Unauthorized Trading of Medicine in Nepal-Article-119


आयुर्वेदिक औषधीको व्यापार: नियन्त्रणको खाँचो


नेपालमा अहिले आयुर्वेदिक औषधीको व्यापार निकै फष्टाएको छ। आयुर्वेदिक औषधीका पसलहरू ठूलो संख्यामा संचालनमा आएको देखिन्छन्। काठमाडौमा त झन ठूलो संख्यामा संचालित छन् आयुर्वेदिक औषधीका पसलहरू। यस्तो हुनुमा उपभोक्ताहरूले एलोपैथिक औषधीहरूमा भन्दा आयुर्वेदिक ओषधीहरूमा बढी विश्वास गर्नु हो। साथै बजारमा आयुर्वेदिक औषधीहरूको प्रचार-प्रसार बढी हुनु पनि हो। तर अहिले नेपालीहरूको आयुर्वेदिक औषधीहरूमा विश्वास ह्वात्तै बढ्नुको खास कारण भने समाजमा आफ्नो राम्रो प्रभाव जमाएका व्यक्तिहरूले आयुर्वेदिक औषधीहरूको प्रचार प्रसार मनोवैज्ञानिक दवाब (डर, त्रास) युक्त तरिकाले गर्नु हो। गंभिर प्रकृतिका रोगहरू पनि आयुर्वेदिक औषधीहरूले निको पार्न सक्छ भनी आवस्वत पार्नु हो। अघोषित किसिमले वाचा गर्नु हो। आश्चर्य त यस कुरामा छ कि नेपाली उपभोक्ताहरू कपालमा लगाउने सेम्पो तथा तेल, नोहाउने सावुन, टुथपेस्ट आदि जस्ता वस्तुहरू जुन औषधी होइन, तिनीहरू पनि आयुर्वेदिक तेल, साबुन, टुथपेस्ट भन्दै खरिद गरिरहेका छन्। आयुर्वेदमा किन यसरी र यति विश्वास बढेको होला? के आयुर्वेदिक औषधी लगायत अन्य वस्तुहरूले भनिएका क्षमताहरू राख्छन त? के हामीले पैसा खर्च गरेर सही वस्तु खरिद गरिरहेका छौ त?
आयुर्वेदिक औषधीहरू पनि प्राय: हरेक किसिमका विरामीहरू निको पार्ने बाचाका साथ बजारमा देखा परिरहेका छन। सामान्य होइन, गंभिर रोगको उपचार हुने आशमा उपभोक्ताहरूले त्यस्ता औषधीहरू खरिद गरिहेका छन। औषधीमा निकै पैसा खर्च गरिरहेका छन। बिक्रेताहरूले पनि सोही भन्दै बिक्री गरिहेका छन। उत्पादकहरूले पनि हरेक किसिमक रोग निको पार्ने भन्दै गंभिर प्रकृतिका औषधीहरू पनि उत्पादन (नेपाल एवं भारतमा) गरिहेका छन। तर यहाँ प्रश्न उठ्छ के ती आयुर्वेदिक औषधीहरूले साँच्चिकै गंभिर रोगहरू निको पार्ने क्षमता राख्छन् त? के ती आयुर्वेदिकऔषधीहरूले क्यान्सर, डाएवेटिज, ब्लड प्रेसर, हर्ट एट्याक, ट्युमर, एपिलेप्सी जस्ता गंभिर रोग निको पार्ने क्षमता राख्नछन? यदि राख्छन भने ती आयुर्वेदिक औषधीहरूको विश्वनीयता (प्रभाव) को परीक्षण के आधुनिक प्रयोगशालाहरूमा विज्ञद्वारा भएको छ? सरकारले औषधी व्यवस्था विभागलाई आदेश दिएर, अति उनन्त प्रयोगशालाहरूमा लगेर, ती आयुर्वेदिक औषधीहरूको गुण-धर्मको परीक्षण गराएको छ? गराएको छ भने त्यसको जानकारी उपभोक्ता (बिरामी) हरू समक्ष तुरुन्त आउनु पर्यो, सरकारले दिनु पर्यो। सेवन गर्न सकिने भनी सरकारले जानकारी दिनु पर्यो। यदि गराएको छैन भने ती औषधीहरू किन बजारमा अनियन्त्रित किसिमले बिक्री भइरहेका छन? ठूलो पथ्थरको भाँडामा केही जटिबुटीहरू खोट्दैमा के औषधी तयार हुन्छ? हामी उपभोक्ता कसैले भनेको भरमा मात्र पनि किनजीवन रक्षा गर्ने औषधीहरू तरकारी खरिद गरे जस्तो गरि खरिद गर्छ? हामी किन यति सोझो भएको?
एलोपैथिक औषधीको कुरा गर्ने हो भने, गंभिर रोग निको पार्ने कुनै एक औषधी, प्रयोगशालामा वर्षौको परिक्षण पछि, त्यो परिक्षण सफल भए पछि मात्र, त्यो औषधी मान्छेमा प्रयोग हुन्छ अनि मात्र बजारमा उपभोगका लागि आउँछ। यसरी प्रयोगशालामा त्यो औषधीको आविष्कार गर्दा त्यस किसिमको औषधी सर्वप्रथम मुसा, बाँदर, भेंडा आदि जस्ता जनावारहरूमा प्रयोग गरिन्छ। त्यो औषधीका विभिन्न असर र परिणामहरू मुल्यांकन वर्षौं गरिन्छ। अर्थात एउटा कुनै एलोपैथिक औषधीको विकास हुन वर्षौ लागेको हुन्छ। ठूला ठूला वैज्ञानिकहरू एक खास किसिमको एलोपैथिक औषधीको विकासमा वर्षौदेखि लागेका हुन्छन। एउटा कुनै औषधीको विकास गर्न एउटा वैज्ञानिकले प्रयोगशालामा वर्षौ विताएको हुन्छ। क्यान्सर रोग निको पार्ने एलोपैथिक मेडिसिनको विकासमा अहिले संसारभरिकै अनेक वैज्ञानिकहरू लागेका छन। यो रोग निको पार्ने औषधीको विकास गर्न अनेक उन्नत प्रयोगशालाहरूमा विभिन्न परिक्षणहरू भइरहेका छन। तर पनि अहिलेसम्म क्यान्सर रोग निको पार्ने औषधीको विकास हुन सकेको छैन। केवल यसको  असरलाई कम पार्ने एवं क्यान्सरको बिरामीको आयु लम्ब्याउने औषधीको विकास भएको छ। तर भविष्यमा यो रोग निको पार्ने औषधी अवश्य आउला, जसरी पेन्सिलिन आयो।
जिउ एवं टाउको दु:खेको, खोंकी लागेको, ज्वरो लागेको जस्ता सामान्य रोक निको पार्न आयुर्वेदिक औषधी खरिद गर्नु उपयुक्त हुन सक्छ तर गंभिर प्रकृतिका रोगहरू निको पार्न आयुर्वेदिक औषधी खरिद गर्नु उचित हो? डाक्टरको सल्लाह बिना गंभिर प्रकृतिका रोगहरू निको पार्न औषधी खरिद गर्नु के ज्यान जोखिममा पार्नु होइन? अर्कोतिर, आयुर्वेदिक औषधीले लामो समय पछि असर देखाउँछ भन्ने गरिन्छ। कुनै गंभिर प्रकृतिको रोग निको पार्न आयुर्वेदिक औषधीको सेवन गरेर त्यसको असर हेर्न लामो समय कुर्दा, र यदि त्यो औषधीमा भनिएको विशेषता नभएर, त्यो औषधीले काम नगरेर, कुनै बिरामीको ज्यान गएमा त्यस्तो घटनाको जिम्मेवारी कसले लिने? जिम्मेवारी कसैले त बोक्नु नै पर्छ। कि पर्दैन?
विकसित मुकुकहरूमा औषधीलाई दुई भागमा विभाजित गरिएको हुन्छ र सोही अनुसार तिनको बिक्री, बितरण गरिन्छ। पहिलो श्रेणीमा भने सामान्य औषधीहरू पर्दछन् जुन सामान्य स्वास्थ्य समस्या (टाउको दु:ख्नु, रूघा लाग्नु आदि) सामाधान गर्ने प्रकृतिका हुन्छन्। यी औषधीहरूलाई ओभर-द-काउन्टर (Over-the-Counter)  मेडिसिन भन्ने गरिन्छ। यी औषधीहरू डाक्टरको प्रेसक्रिप्सन बिना नै बिक्री गर्न पाइन्छ। उपभोगकर्ताले पनि यी औषधीहरू खरिद गर्नका लागि डाक्टरसँग स्वास्थ्य परिक्षण गराउनु पर्दैन वा डाक्टरद्वारा प्रसक्रिप्सन लिनु पर्दन।
दोस्रो श्रेणीमा खास औषधीहरू, गंभिर रोग निको पार्ने औषधीहरू पर्दछन जसलाई प्रेस्क्रिप्सन (Prescription) मेडिसिन भन्ने गरिन्छ। प्रेस्क्रिप्सन मेडिसिन बिक्रि गर्न बिक्रेताले सम्बन्धित निकायबाट कानूनी अधिकार वा आदेश पाएको हुनु पर्दछ। प्रेस्क्रिप्सन मेडिसिनको उपभोगकर्ताले पनि यो मेडिसिन आफूखुसी खरिद गर्न पाउँदैन। यो मेडिसिन खरिद गर्न उपभोक्ता वा बिरामीले डाक्टरको अनुमति पत्र (prescription) अनिवार्य रूपमा औषधी बिक्रेतासमक्ष प्रस्तुत गर्नु पर्छ। बिरामीको जे जस्तो अवस्था भएता पनि प्रस्क्रिप्सन मेडिसिन किन्नका लागि बिरामीले डाक्टरको प्रेस्क्रिप्सन औषधी बिक्रेतासमक्ष अनिवार्य रूपमा पेश गर्नु नै पर्दछ। या त अस्पतालतिर लाग्नु पर्दछ।
नेपालमा त, सर्वप्रथम, एलोपैथिक (आधुनिक) औषधी बिक्री गर्नका लागि त औषधी बिक्रेताहरूले डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य रूपले माग्ने चलन वा बाध्यता छैन। गंभिर रोग निको पार्ने औषधीहरू डाक्टरको निगरानी एवं प्रेस्क्रिप्सन बिना नै बिक्री बितरण हुन्छन। यस्तो अवस्थामा आयुर्वेदिक औषधीहरू डाक्टर (वा कानूनी मान्यता प्राप्त वैद्य) को प्रेस्क्रिपसन बिना नै बिक्री हुनु कुनै गंभिर कुरा नै भएन। तर जनताको जीवनसँग सरोकार राख्ने यी औषधीहरू र खास गरी आयुर्वेदिक औषधीहरू अनियन्त्रित किसिमले बिक्री हुनु जनताको जीवन र साधन (पैसा) सँग खेलवाड गर्नु होइन?
नेपाल, भारत जस्ता विकासशील मुलुकहरूमा मुलधारका औषधीहरू (Allopathic medicines) का साथै अन्य अनेक सहायक औषधीहरू होमियोपैथी, युनानी, आयुर्वेदिक, चान्सी, कविराज वा वैदको नुक्सा, जडिबुटी, सडक-औषधी (सडकमा कराएर वा जादु देखाएर बिक्री गर्ने) आदि आदि बिक्री हुने गर्दछ। रोग लागेको बेलामा बिरामीलाई अनेक किसिका कुराहरू खान सल्लाह दिने पनि उत्तिकै हुन्छन। धामी, झांक्रीको प्रचलन त यो आधुनिक युगमा पनि हटेको छैन।
तर विकसित मुलुकहरूमा केवल मुलधारका औषधीहरू मात्र बिक्री भएको देख्न सकिन्छ। सहायक औषधीहरूको प्रचलन हराएको छ। औषधीको बिक्रीमा सरकारले कडा निगरानी र नियन्त्रण राखेको हुन्छ।
नौ नौ महिनामा सरकार फेरिने स्थिति रहेको र सरकारले कहिले पनि स्थिरताको स्थिति पाउन नसकेको यो स्थितिमा औषधीहरूको बिक्री वितरणमा निगरानी हुनु पर्ने विषयले कहिले महत्व पाउने हो? तर यो विषयलाई वेवास्ता गर्न भने मिल्दैन। आयुर्वेदिक कहलिएका औषधीहरूको विश्वसनीयता एवं प्रभावकारिताको परिक्षण हुन आवश्यक छ। केही ज्ञानी ध्यानीहरूले भनेको भरमा आयुर्वेदिक औषधीहरू “रामवाण” हुन सक्तैनन्। कि हुन्छन?


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, August 26, 2016


Monday, August 22, 2016

Waterloo, Manju Madam, And Kaka-A story

बाटरलु, मन्जु म्याड्म र काका

(कथा) 

वाटरलु जाने योजना अप्रत्यासित रुपमा बनेको थियो।
म न्युयोर्कबाट टोरन्टो घुम्न पुगेको  थिएँ। मेरो बसाइ टोरन्टो स्थित नरेश काकाको घरमा थियो। टोरन्टो पुगेको भोलि पल्ट नै मलाई एक नया ठाउँमा लग्ने उद्देश्यका साथ विहान कफि खाँदै गर्दा काकाले भन्नु भएको थियो, “श्रीभव, वाटरलु जाने हो? म भोली छोरीलाई भेट्न त्यसतर्फ जाँदैछु, जाने हो? टोरन्टोबाट मात्र डेढ घण्टामा पुगिन्छ, त्यहाँ। अनि, राति फर्केर टोरन्टो नै आउने हो।”
“पूर्वा, वाटरलु स्थित युनिभर्सिटी अफ वाटरलुमा पढ्छिन। उनलाई भेटेको धेरै दिन भएकोले त्यसतर्फ जान थालेको हो” काकाले अझै प्रष्ट पार्नु भएको थियो। “हप्ता वा दुई हप्ताको को एक पटक म वा तिम्री काकी पूर्वालाई भेट्न नाजने हो भने उनी रिसाएर चिउरा छै ढाडिन्छिन्” काकाले थप रहस्य पनि खोल्नु भएको थियो।
“अवश्य जान्छु। यो, त्येही वाटरलु होइन जहाँ नेपालियन बोनापार्ट एक भीषण युद्ध हारेका थिए। त्यो युद्धमा दुवै पक्षको गरेर करिब चालिस हजार व्यक्तिहरू मारिएका थिए रे।”
“विश्व इतिहासमा वाटरलुको युद्ध निकै प्रचलित छ। सन् १८१५ मा भएको यो युद्ध पछि नोपोलियनको शक्ति क्षिण हुन शुरु मात्र भएको थिएन, उनको फ्रान्सको बादशाहको पद पनि खोसिएको थियो। भनिन्छ, नेपोलियन यो संसारको नै बादशाह बन्ने उद्देश्यका साथ युद्ध गर्दै हिँडेका थिए। नेपालियनले भन्ने गर्थ्ये रे- नेपोलियन भनको फ्रान्स हो अनि फ्रान्स भनेको नै नेपोलियन हो।”
“यस्तो ऐतिहासिक स्थान हेर्न पनि कसैले छुटाउँछ त? म अवश्य जान्छु। हेरौ न नेपोलियनले युद्ध गरेको स्थान कस्तो रहेछ। ऊ हारेको स्थान कस्तो देखिन्छ।” बीचमा काकालाई बोल्ने पालो नदिएर नै मैले यी सबै कुरा भन्न सक्याएको थिए।
“हामी जान थालेको वाटरलु त्यो भीषण युद्ध भएको वाटरलु होइन। यो वाटरलु अर्को वाटरलु हो। यो क्यानाडाको भित्र पर्ने वाटरलु हो। यो वाटरलु सहर सानो भएता पनि यहाँ राम्रो युनिभर्सिटी भएकोले यो सरह निकै प्रख्यात छ। तिमीले बयान गरेको वाटरलु, जहाँ नेपोलियन बोनापार्टले ठूलो युद्ध लडेका थिए, अहिले भने बेल्जियमा पर्दछ। त्यसबेला भने निरदलैण्ड्सको एक भागमा पर्थ्यो। काकाले हाँस्दै भन्नु भएको थियो। उहाँले थप्नु भएको थियो, “क्यान्डामा तिमीले वाटरलु मात्र होइन, लण्डन सहर पनि देख्न पाउँछौ। एउटा कुरा थाहा पाइराख, अमेरिका र क्यानाडामा तिमीले युरोपका धेरै सहरहरूको नाम भएका सहरहरू देख्न पाउँछौ।“
काकाको कुरा सुनेर आफूलाई विश्व भूगोलको अल्प ज्ञान भएकोमा म अलि लज्जित पनि भएको थिएँ।
भोलि पल्ट, अर्थात शुक्रवार, एप्रिल १५, २०१६ का दिन हामी टोरन्टोबाट वाटरलु पुग्न हिँडेका थियौ। बाटोमा नरेश काकाले एउट रोचक प्रशंग सुनाउनु भएको थियो।
नरेश काकाले त्यो रोचक प्रशंग यसरी सुनाउनु भएको थियो:
“बुझ्यौ श्रीभव, एक महिना पहिले अर्थात मार्च २०१६ मा म काठमाडौ पुग्दा निकै रमाइलो भएको थियो नि।”
“मैले पढाउने कलेजमा स्प्रिग सेमेष्टर सकिएर केही समय बिदा भएकोले म टोरन्टोबाट काठमाडौ पुगेको थिए। टोरन्टोबाट अब्बु धाबी पुगेर म काठमाडौको लागि उड्ने प्लेन कुरेर एक टर्मिनल एरियामा चुपचाप बसिरहेको थिए। मेरो छेउमा नै एक महिला म जस्तै कुनै फ्लाइटको बाटो कुर्न टुप्लुक्क आइपुगेको देखें। साथै ती महिलाई नेपालको कुनै सरहमा मैले देखेको याद मेरो मष्तिष्कमा बलियो गरी ताजा पनि भयो।”
“परिचयको क्रम मैले नै अगाडि बढाएँ। मेरो छेउको ती महिलालाई मैले भने- मेरो नाम नरेश अधिकारी हो। अनि, तपाइँको नाम मन्जु ………………।आज भन्दा करिब चालिस वर्ष पहिले तपाइँ बीरगंजको ठाकुर राम कलेजमा पढ्ने गर्नु हुन्थ्यो। तपाइँको घर पनि वा भनौ माइती, श्रीपुरमा थियो। होइन त? मन्जुले भनिन्- तपाइँले भन्नु भएका सम्पूर्ण कुराहरू सत्य हुन तर तपाइँलाई यी सबै कुरा कसरी थाहा भयो? मलाई निकै आश्चर्य लाग्यो।”
“मन्जु म्याडम, जति खेर, त्यो समयमा तपाइँ आई ए पढ्दै गरिरहनु भएको थियो, म पनि आइ यस्सी पढिरहेको थिएँ, त्येही क्याम्पसमा। भवन पनि एउटै थियो। र अर्को रोचक कुरा पनि छ। म तपाइँलाई त्यो बेलामा नै राम्रो गरी चिन्थ्ये तर मलाई तपाइँले चिन्नु हुन्थेन। मैले पनि, तपाइँले मलाई चिन्ने कुनै ठोस प्रयास गर्न सकिन।”  
“मैले थपे- तपाइँलाई यदि असजिलो लाग्दैन र अनुमति दिनु हुन्छ भने……………..म त्यो बेलाको, ठाकुर राम कलेजको जमानाका केही कुराहरू भन्न चाहन्छु। अनुमति छ? मेरो प्रश्नको उतरमा मन्जुले भनिन्- हुन्छ, अवश्य भन्नु होस्। म पनि एक्लै बोर भइरहेको थिए। तपाइँको कुराले मेरो कुर्नु पर्ने जस्तो निरस समय त सजिलै गरी कट्न सक्छ, केही समयको लागि नै भए पनि। मेरो छोरीलाई भेट्न, खासमा सुत्केरी भइकी छोरीलाई सेहार्न,  म अमेरिका गएकी थिए, त्यहाँ छ महिना बसेर फर्किंदै छु।”
“मन्जुको वर्तमानको कुरामा मलाई दिलचस्पी नभएर विगतको कुराले तानिरहेको थियो। त्येही परिप्रेक्ष्यमा मैले भने- मन्जु म्याड्म, तपाइँ आइ ए मा पढ्दा एकजना सरिता नाम गरेकी युवती तपाइँको ज्यादै घनिष्ट साथी थिइन, हो? मन्जुले भनिन्- हो। मैले थपे- त्यो बेला म सँग नै आइ यस्सी पढ्ने एउटा युवक, जो ज्यादै नै मेरो घनिष्ट थियो, तपाइँको साथी सरिताप्रति ज्यादै आकर्षित भएको थियो। आकर्षित पनि कस्तो भने फलामको एक अति नै सानो टुक्रा ठूलो चुम्बकमाप्रति आकर्षित भए जस्तो गरी। लैलाप्रति मजनु आकर्षित भए जस्तो, भनौन। मेरो त्यो साथी, सतिस, सरिताप्रति सीमाहीन किसिमले आकर्षित भएको थियो। छातीमा सरिताको तस्वीर नै हरदम साथमा लिएर हिँडेझै गर्थ्यो। भन्ने हो भने मेरो त्यो साथी सरिताको लागि एक किसिमले पागल नै भएको थियो।”
“मन्जुले आश्चर्य व्यक्त गरिन्- तर मलाइ सरिताले कहिले पनि भनिनन् उनलाई कुनै युवकले अति नै मन पराउँछ भन्ने कुरा। न त कलेज वा वीरगञ्जका अन्य स्थानहरूमा म सरितासँग घुम्दा उनलाई कुनै युवकले कहिले पछ्याएको वा कुरा गर्न खोजेको देखें मैले। जबकि म र सरिता अति मिल्ने मात्र होइन, ज्यादै घनिष्ट र प्राय: जुन बेला पनि साथ रहने साथी थियौ। हामी दुई कलेजको लाइब्रेरीमा साँझ ढिलो गरी पढ्ने पनि गर्थ्यौ। कलेजबाट सँगै फर्किने पनि गर्थ्यौ। म सरिताको र सरिता मेरो घरमा आउने जाने, सुत्नेसम्म पनि हुने गर्थ्यो। मलै बीचमा नै भने- सतिसको व्यवहार चाहिने भन्दा पनि, अति नै भद्र थियो। मैले कहिले काँहि उसलाई रिसाएर भन्ने पनि गर्थ्ये- हेर बाबु धेरै भद्र हुनु पनि कायर हुनु हो। कहिले काँहि आफ्नो भद्रतासँग विद्रोह गर्नु पर्दछ। हुन पनि ज्यादै भद्र हुनु कहिलेकाहिं कायरताको पर्यायवाची हुन पुग्दछ। तेरो स्थिति पनि त्यस्तो नै हुँदैछ। कलेजमा नै कतै भेटेर एक पटक सरितालाई भन्ने आँट गर। भेटेर भनि पनि दे- सरिता आइ लभ यु, डु यु लभ मी? तर भद्रताको पालना यसैगरी नै तँबाट हुने हो भने तेरो र सरिता बीचको कथा कहिले पनि अगाडि बढ्न सक्तैन। भद्रताको हरेक नियमहरू पालना गर्ने हो भने जीवन निरश हुन पुग्छ, बाबु। र अर्को कुरा, प्रेममा भद्रताका धेरै नियमहरू टुट्ने पनि गर्दछन, नया नया नियमहरू बनेझै। प्रेमको इतिहास हेर न …………….
“बुझ्नु भयो मन्जु म्याड्म, कस्तो अचम्म, निर्मलालाई हेर्न पाउने आशमा प्रत्येक साँझ शतिस बिर्ताटोल स्थिति निर्मलाको घर पुग्ने गर्थ्यो। साथमा मलाई पनि तानेर लग्ने गर्थ्यो। तर त्यहाँ पुगेर उसले गर्ने काम भने एउटै थियो, आफ्नो घरको छतमा आएकि निर्मलालाई निकै बेर एकटकले हेर्ने। त्यसपछि घर फर्किने। निर्मलालाई हेर्ने उनको घर नजिक पुगेको शतिस कहिले काहिं निराश पनि हुन्थ्यो किनभने शतिसले धेरै समय कुर्दा पनि, एकतर्फी नै सही, उसको देखादेख निर्मलासँग हुन्थेन। बिचरा शतिस! लडाइ हारेको सेना झै मनमा ग्लानी लिएर फर्किन्थ्यो, भेट हुन नसकेको दिन।”
“बुझ्नु भयो, मन्जु म्याड्म, केलजमा पनि सतिसको व्यवहार अनौठो हुन्थ्यो। आफ्नो कक्षामा पस्न ढिलो गरेर भए पनि सरितालाई हेर्न, उनी कक्षामा प्रवेश गर्न थालेको दृश्य, एकटकले हेर्थ्यो। आफू कक्षाबाट छिटै निस्केर भए पनि, सरिता  कक्षाबाट निस्कन थालेको दृश्य हेर्न, पुग्थ्यो पनि। तर यी सबै कुरा उसले केवल सरितालाई हेर्नका लागि गर्थ्यो। सतिसले आफू सरिताप्रति त्यति बढी आकर्षित भएको कहिले पनि भन्न भने सकेन।”
“सरितालाई हेर्न चक्करमा सतिसले आफ्नो पढाइ नै बिगार्यो। त्यति राम्रो विद्यार्थी सतिस! दोस्रो सेमेष्टरमा सबै विषयमा पास हुन सकेन। दुई विषयमा फेल भयो। सतिसले, साइन्समा अध्ययनका लागि बढी समय दिनु पर्ने भयो भन्दै, कमर्स पढ्ने विचार पनि गर्यो। तर ऊ सरिताको एकहरो प्रेमबाट बाहिर आउन सकेन। सतिसले सरितालाई एकहरो प्रेम गर्ने, आफ्नो त्यो स्थिति, सरितालाई भन्न नसक्ने स्थिति, दुई वर्षसम्म निरन्तर रुपमा चल्यो।
“मन्जुले मलाई प्रश्न गरिन्- पछि के भयो त?  मैले भने- के हुनु! त्यस्तो केही हुन सकेन! सतिसको  भद्रताले उसलाई त्यो आँट नै दिएन जुन प्रयोग गरेर उनले सरितालाई आइ लभ यु भन्न सक्थ्यो।”
“मन्जुले भनिन्, विचारा सतिस! चाहिने भन्दा साँच्चि नै बढी नै भलादमी रहेछन्। साँचै पछि केही पनि हुन सकेन? मैले भने- केही पनि त्यस्तो हुन सकेन नि। पछि, सरिताको विहे भयो। विहे भएर उनी विराटनगर गइन। तर कथा यत्तिकैमा समाप्त भएन। सतिसले आइ यस्सी पास गर्न सकेनन्। सरितालाई देख्न नपाए पछि, अति नै नियास्रो लागेर ऊ काठमाडौतिर लाग्यो। पछि, कमर्स पढ्ने इच्छा गर्यो उसले। अमेरिका गयो। उतै पि यच डि पनि गर्यो। अहिले टोरन्टो, क्यानाडाको एक कलेजमा ‘बिजन्स’ पढाउने गर्छ।”
“मन्जु मेरो छेउ आइपुग्नु र मैले उनीसँग कुरा गर्नुमा धेरै समय व्यतित हुन पाएन। उनी मेरो छेउमा आइपुग्नु र मैले उनीसँग कुरा गर्नुमा केवल छोटो समय खर्च भएको थियो  किनभने मन्जु मेरो छेउमा आएको केही कालपछि नै हाम्रो फ्लाइट उडानको लागि तयार रहेको र हामी काठमाडौ जानका लागि चेकिंग काउन्टरतिर बढ्न सम्बन्धित एयर लाइन्सले घोषण गरिसकेको थियो। हामी चेकिंग काउन्टरको ज्यादै नजिक रहेकोले त्यता ढिलोगरी पुग्ने लक्ष्यका साथ कुरा गरिरहकेका थियौ। एक किसिमको हतार भित्र रहेर। खास गरी म।”
“चेकिंग काउन्टर पार गरेर प्लेन चढ्नका लागि त्यस तर्फ लागि रहेको बेलामा मैले भने- मन्जु म्याड्म, प्लेनमा तपाइँको सिट एकातिर मेरो अर्कोतिर होला। अब हामी बीच कुराकानी काठमाडौ एयरपोर्टमा नै होला जस्तो छ। त्यहाँ पुगेर कुरा गरौला। तर कुरा भने अवश्य गरौला। म करिब एक वा दुई महिना  जति काठमाडौमा बस्छु होला। न्युरोडितर घुम्दा हाम्रो अवश्य पनि भेट हुन सक्छ होला।”
“काठमाडौ एयरपोर्टमा हाम्रो प्लेनले समयमा नै अवतरण गर्यो। इमिग्रेसन, भंसार र अन्य प्रकियाहरू पूरा गरेर निस्किने बेलामा मेरो भेट मन्जुसँग भयो। मैल बलियो आग्रहको शैलीमा भने- मन्जु म्याड्म, आजको पाँच दिन पछि, कुनै दिन, मसँग न्युरोडमा भेट्न रुचाउनु हुन्छ। कुनै तोकिएको रेष्टुरेन्टमा भेटौला। मेरो फोन नम्बर पनि लिनुहोस,म पनि आफ्नो फोन नम्बर दिन्छु। हुँदैन?”
“मैले थपे- म भद्र हुँ भनेर आफूलाई आफैले कसरी भनौ। तर म सँगको भेटमा तपाइँले कुनै अप्रिय अनुभव गर्ने मौका पाउनु हुने छैन्। ढुक्क हुनुहोस। प्रतिक्रियामा मन्जुले भनिन्- त्यस्तो खास के ही कुरा छ भने टेक्सी चढ्नु भन्दा पहिले नै पनि, यहाँ, अहिले नै पनि, भन्न सक्नु हुन्छ। मैले भने- त्यस्तो केही खास कुरा छैन्, तर कुरा अति नै साधरण पनि छैन्। मैले हाँस्दै फेरि भने- खासमा मैले तपाइँलाई भन्न खोजेको कुरा के हो भने, संक्षिप्तमा, अघि मैले तपाइँलाई सुनाएको कथाका पात्रहरूमा, सरिता भनेको पात्र तपाइँ मन्जु दाहाल हो र सतिस भनेको पात्र म, नरेश अधिकारी हो। र त्यो कथा केवल हामी बीचको कथा हो। मन्जु र नरेश बीचको कथा हो।”
मेरो कुरा सुनेर मन्जु म्याड्मको मुखको भाव तुरुन्तै परिवर्तन भएको थियो। तर अचम्म! उनले केही पनि बोलिनन्। मैले नै भने- मन्जु, म तिमीलाई, समयले हामी बीच यत्रो चाक्लो खाडल खनिसकेता पनि, हामीले उमेरको अग्लो पाहाड चढेता पनि, म लामो समयसम्म तिमीलाई एकटकले हेर्न चाहन्छु, र यो पनि ज्ञात गर्न चाहन्छु कि तिमीमा के कस्ता विशेषताहरू थिए जसले मलाई पागल वा दिवाना नै बनाएका थिए, कलेजका ती दिनहरूमा। तिमी प्रति मलाई चुम्बक झै आकर्षित गर्ने तिमीमा रहेका ती तत्वहरू म तिम्रो अति नै नजिक भएर अवलोकन गर्न चाहन्छु। तिनीहरूलाई नजिक, ज्यादै नजिक, अति नजिकबाट हेरेर महसुस गर्न चाहन्छु। कृपया हुन्न नभन्नु ल। म तिमीलाई त्यो अवस्थाम भेट्न चाहन्छु जुन अवस्थमा मैले तिमीलाई  चालिस वर्ष पहिले भेटेको थिएँ। तिम्रो अनुमतिमा, म लामो समयसम्म तिमीलाई हेरिरहन चाहन्छु, आकाशले पूर्णिमाको रातमा, चन्द्रमालाई एकटकले हेरिरहे झै।”
“बुझेउ श्रीभव, काठमाडौ पुगेको सात दिन पछि न्युरोडको एक रेष्टुरेन्टमा मन्जुसँग मेरो भेट भयो पनि।”
काकाको कथा समाप्त हुनु पनि, हामी वाटरलु स्थित युनिभर्सिटी अफ वाटरलु पुग्नु पनि, एकै पटक भयो। कथा समाप्त गरेपछि नरेश काकाको मुहारमा नेपोलियन बोनापार्टले हारेको युद्ध उहाँले जितेको भाव प्रष्ट गरि देखिएको थियो। उहाँको मुहार अति नै चम्किरहेको थियो।

                                       ****

विश्वराज अधिकारी

Friday, August 19, 2016

Birgunj:The Abandoned City-Article-118


अभिभावकविहीन बन्दै गएको वीरगंज

वीरगंजको अभिभावकको?

स्थानीय सरकार (वीरगंज नगरपालिका) हो? केन्द्रिय सरकार हो? केन्द्रिय सरकार हो भने कुन मन्त्रालय हो? स्थानीय विकास मन्त्रालय हो? गृह मन्त्रालाय हो? भौतिक योजना तथा निर्माण मन्त्रालय? वा अन्य कुनै सम्वन्धित भनिएको मन्त्रालय हो?
कसले यो सहरको रेखदेख गर्ने? यस सहरको सामाजिक एवं आर्थिक विकासको बारे कसले सोंच्ने? कसले छलफल गर्ने? बिग्रेका संरचनाहरूको निर्माण कसले गर्ने? कसले सरसफाइमा ध्यान पुर्याउने? यी कार्यहरू गर्ने दायित्व कसको हो?

किन वीरगंज अहिले अभिभावकविहीन बन्दै गएको छ?

अव्यवस्थित एवं अनियन्त्रित वसोबास, मनोमानी सवारी व्यवस्था, यत्रतत्र फोहर, साँघुरो सडक आदि जस्ता समस्याहरुले गर्दा वीरगंजले आफ्नो मौलिकता र सौन्दर्य दुवै गुमाउँदै गइरहेको छ। हुन त यस किसिमका समस्याहरू नेपालका अन्य सहरहरूमा पनि देखिएका छन। तर वीरगंजलाई नेपालको (काठमाडौ पछिको) पहिलो ठूलो सहरको रूपमा लिएको र यसलाई नेपालको  आर्थिक राजधानी तथा नेपाल-प्रवेशद्वार पनि भनिएको हुनाले यस सहरको विषेश चर्चा हुनु सान्दर्भिक नै हुन आउँछ। आवश्यक हुन आउँछ। वीरगंजको अभिभावक को? यस विषयमा चर्चा हुन आवश्यक छ। वीरगंजसँग मेरो गहिरो साइनो पनि छ। यो सहर मेरोलागि धेरै कारणहरुले महत्वपूर्ण छ पनि।

वीरगंज अहिले अनेक समस्याहरूले आक्रान्त देखिएको छ। सवारी व्यवस्था त झन 
गंभीर समस्याको रुपमा प्रस्तुत भएको छ। वीरगंजको मुल सडक, जस्तै (उदाहरण)  घण्टाघर देखि विर्ता, को स्थिति हेर्दा भय र चिन्ता दुवै एकसाथ उत्पन्न हुन्छ। यो सडकमा अनियन्त्रित किसिमले पैदल यात्रु हिंडिरहेका त हुन्छन् नै, साथै ट्रेक्टर, जिप, कार, टांगा, गोरूगाडा (टायर), मोटर साइकल, सामान्य रिक्सा, बैट्री-चालित रिक्सा, साइकल आदि पनि एकैसाथ सडकमा दौडिरहेका हुन्छन्। वैदिककालदेखि प्रचलित सवारी साधन (गोरुगाडा, टांगा) हरू तथा आधुनिक युगका सवारी साधन (बैट्री-चालित रिक्सा, आधुनिक कार) हरू, एकै साथ वीरगंजका सडकहरूमा दौडिरहेको सजिलै देख्न सकिन्छ। यसलाई ठूलो आश्चर्य मान्न सकिंदैन र? तर यस किसिमको अव्यवस्थित सवारी व्यवस्थाले कुनै पनि बेला दु:खदायी दुर्घटना हुन सक्छ। र विगतमा त्यस्ता दु:खद दुर्घटना भएका छन पनि।  

फोहर पनि अव्यवस्थित किसिमले फाल्ने गरिएकोले यो सहरको सौन्दर्य फोहर र दुर्गन्धले छोपिने हो कि भन्ने अर्को त्राश छ। घरभित्रको फोहर सडकमा फालेपछि घर सफा हुन्छ भन्ने मानसिकताबाट वीरगंज अहिले पनि बाहिर आउन सकेको छैन्। उचित व्यवस्थापनको अभावमा वीरगंजका घरेलु एवं व्यापारिक, दुवै किसिमका विसर्जनहरू यस सहरलाई कुरुप पार्नमा उद्धत देखिएका छन्। उदारहरणको लागि वीरगंजको पश्चिममा बग्ने सिरसियाँ नदीको दुर्गति हेरे पुग्छ। 

सर्वाधिक दु:खदायी किसिमले भने वीरगंजमा आर्थिक समस्या प्रस्तुत हुन थालेको छ, यस सहरलाई पिरोल्नका लागि। अहिले वीरगंजको व्यापारले मन्दीको स्थिति भोग्नु परेको छ। सहरमा व्यापारिक चहल पहल देखिंदैन्, पहिले जस्तो देखिने गर्थ्यो। यस सहरलाई समृद्ध तुल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने उद्योगहरू आफ्नो क्षमता विस्तार गर्न उस्ताहित देखिंदैनन्। उनीहरूमा एक किसिमको उदासीनता देखिएको छ। अनिश्चितता पनि उत्तिकै देखिएको छ। मधेस आन्दोलनमा वीरगंजबाट पलायन भएका उद्योगहरू फर्किने मनस्थितिमा छैनन्। वीरगंजमा हुने अति राजनीतिले आफ्नो व्यापार कुन बेला, कति र कसरी प्रभावित हुने हो भन्ने भयले व्यापारीहरू अहिले पनि प्रतिपल चिंतित रहेको देखिन्छन। त्रसित रहेको देखिन्छन्।

तर......! तर कुनै समय यस्तो थियो, वीरगंजले चीनी नेपालभरि निर्यात गर्थ्यो। यहाँ उत्पादन भएका कृषि औजारहरू नेपालका अनेक गाउँहरूमा पुग्थ्ये। तिनले कृषि-उत्पादन वृद्धिमा सहयोग पुर्याउँथे। वीरगंजको आर्थिक उन्नतिमा योगदान पुर्याउने वीरगंज चीनी कारखाना, कृषि औजार कारखाना अहिले म्युजियम हुन पुगेका छन्।

कुनै समयमा, वीरगंजबाट पठाइएका चामलका बोराहरु रक्सौल हुँदै मरिसस, बंगलादेश लगायत भारतका अनेक सहरहरूमा पुग्थ्ये। त्यसबेला नेपालले ‘धान चामल निर्यात कम्पनी’ मार्फत एशियाका अन्य मुलुकहरूमा पनि चामल निर्यात गर्ने लक्ष्य राखेको थियो। वीरगंज एक निर्यातक सहर थियो।
त्यसबेला पाउरोटी, चकलेट, विस्कृट, सलाई, सिगरेट, बींडी उत्पादनमा वीरगंजले दक्षता हासिल गरेको थियो। वीरगंजमा दसकौं पहिले अनेक आवसीय होटलहरू संचालित थिए, जबकी नेपालका अन्य सहरमा होटल संचालन गर्नु पर्छ भन्ने सोंचको पनि त्यस बेला विकास भएको थिएन। यात्रुहरू धर्मशालाको शरणमा पर्नु पर्थ्यो। यति मात्र होइन, वीरगंजमा तारे होटल (होटल सम्झना) दसकौं पहिले (सम्भव त पचास वर्ष अघि) संचालनमा आइसकेको थियो।

यस्तो समृद्ध वीरगंज अहिले किन मन्दीको स्थितिमा छ? किन दुर्गगतिको स्थितिमा छ?
मधेस आन्दोलनले खलबल्याएको जातीय सद्भाव यहाँ अझै पनि धमिलो नै छ। त्यस आन्दोलनबाट विरक्तिएर वीरगंजबाट पलायन भएका तथाकथित पहाडेहरू अहिले पनि वीरगंज फर्किने मनस्थितिमा छैनन्। घर, घडेरी र खेतियोग्य जग्गा समेत बिक्री गरेर हिडेंका पहाडेहरूलाई वीरगंज फर्किन सजिलो पनि छैन, पुरानो थलोले उनीहरुलाई भावनात्मक रुपमा ताने पनि। मारवाडी, बंगाली, पंजावी, सिन्धी, झाँगण जस्ता अल्प संख्यक विभिन्न समुदाहरूलाई आदरपूर्व समेटर बसेको वीरगंज किन यसरी जातीय आन्दोलनमा लाग्यो? किन यसले पहाडेहरूलाई शत्रु देख्न पुग्यो?

माथि उल्लेख गरिएका समस्याहरूको समाधान कसले गर्ने? वीरगंजको अभिभावकत्व कसले लिने? सरकारका केही तोकिएका मन्त्रालयहरूले लिनु पर्छ भन्ने हो भने सरकार आफै स्थिर छैन। नौ महिना भन्दा बढी सरकार टिक्न सकिरहेको छैन। पुष्प कमल दहाल प्रधान मंत्री भएको एक महिना पनि पुगेको छैन उनलाई पद-मुक्त गर्न एकथरिले दिन गिन्ति सुरु गरिसके। दहाल जुन किसिमकलो जालझेल गरेर आए त्यस्तै जालझेल यिनलाई पनि हुत्याउँने छ। यो निश्चित छ। नेताहरू केवल कुर्सिको खेलमा लीन छन्। यी कुराहरू नेपाली जनताको लागि नौलो पनि रहेन अब। वीरगंजको विकासको दायित्व नगरपालिकाले लिनु पर्छ भन्ने हो भने स्थानीय सरकारका निकायहरू प्रतिनिधि विहीन छन। स्थानीय निर्वाचन भएको दुई दसक भन्दा बढी भइसक्यो। स्थानीय निर्वाचन कहिले हुने हो?

यस किसिमको विषम परिस्थितिमा वीरगंजको अभिभावकत्व कसले लिने? कसले सोंच्ने यो सहरको आर्थिक, सामाजिर र राजनैतिक विकास वारे? यो प्रश्नको उत्तर एक किसिमले जटिल छ तर अर्को किसिमले सरल पनि छ।

वीरगंजको अभिभावकत्व यस सहरको नागरिक समाजले लिनु पर्दछ। यस सहरको विकासमा नागरिक समाज आ-आफ्नो क्षेत्रवाट, आ-आफ्नो टोलबाट सक्रिय हुनु पर्दछ। यस सहरमा अस्थाइ वा स्थाइ, जुन रूपमा बसे पनि यस सहरका बासिन्दाहरू नै यस सहरका विकासका कर्ताहरू (Actors) हुन। यो भावना प्रत्येक वीरगंजवासीमा हुन आवश्यक छ।

विकसित मुलुकहरूमा स्थानीय विकासका कर्ताहरू स्थानीय व्यक्तिहरू नै हुने गर्दछन्। वीरगंजको विकासमा पनि स्थानीयहरूको सहभागिता हुन सके मात्र यो सहरको सुन्दरता, गौरव र अर्थ व्यवस्थालाई जोगाउन सकिन्छ।

विश्वराज अधिकारी

वीरगञ्जबाट प्रकाशित हुने "प्रतीक दैनिक" मा प्रकाशित   Friday, August 19, 2016

Tuesday, August 16, 2016

This Way I Won The Defeated War-A story

यसरी जिते हारेको युद्ध
(कथा)

तिस वर्ष पहिलेको एक रात जस्तो घटना भएको थियो ठिक त्यस्तै घटनाको पुनरावृति भएको थियो। तिस वर्ष पहिले म अविवाहित थिएँ।
अहिले म विवाहित छु।
गएको रातिको घटना हो। म, मेरी छोरी मधु र मधुकी आमा उर्मिला रातिको बार्ह बजे एक कोठामा बसेर गंभिर छलभलम भास्सिएका थियौ। कुराकानीको क्रम यसरी आरम्भ भएको थियो।
उर्मिलाले भनिन्, “हेर छोरी आजसम्म हाम्रो खानदानमा प्रेम विवाह भएको छैन। जसको पनि मागी विवाह भएको हो। तेरो बुआको मात्र होइन, तेरो दाजु र दिदीको बिहे पनि मागीविहे नै भएको हो, तँलाई थाहा नै छ। तेरो बुआले आफ्नो बाको आज्ञालाई सिरोधार्य गरेर, केटी हेर्दै नहेरेर, आफ्नो बाले भने जस्तो केटीसँव बिहे गर्नु भयो। साक्षी म नै छु तेरो अगाडि। तँले भने लभ गरेर हाम्रो नाककाटिने स्थिति परिस नै, तल्लो जाति को केटा रोजेर टोल छिमेकमा मुख देखाउन लायक पनि रहन दिनस्, हामीलाई।”
यति भनेर उर्मिलाले मतिर हेरिन्। मेरो सहमति पाउन भनिन्, “मधुको बुआ भन्नुस न, मैले भनेको ठीक होइन त?” मैले केही पनि बोलिन। उर्मिलाको भनाइमा सहमत भएको प्रदर्शित मात्र गरे।
मधु चुपचाप थिइन। उनको उपस्थिति र प्रस्तुति हेर्दा उनी केवल सुन्न बसेको प्रतीत भइरहेको थियो।
उर्मिलाले भनिन् “हेर मधु, तँ अझै केटाकेटी नै छेस्। आफ्नो बारेमा राम्रोगरी सोंच्ने उमेर भइसकेको छैन् तेरो। त्यो केटाले तँलालई ललाई फलाई गरेको पनि हुन सक्छ। पढेलेखेकी, अति राम्री र सम्पन्न परिवारको देखेर हात पार्न खोजेको हुन सक्छ। यस्ता केटाहरूको कुनै विश्वास हुँदैन। यी आवारा हुन्। यिनीहरू पढ्ने किसिमिका हुन र? अशल केटाहरू यसरी लभ गर्दै हिंडछन्, पढ्न लेख्न छोडेर?”
ऊर्मिलाले फेरि भनिन्, “हेर त्यो केटसँग हाम्रो स्तर पनि पटक्कै मिल्दैन। सोंच, विचार र व्यवहार पनि मिल्दैन। त्यस्तो केटासँग बिहे गरेर जीवन बर्वाद गर्ने इच्छा छ तेरो? के राम्रो अशल परिवारको केटासँग बिहे गरेर सुखसँग बस्न तँलाई मन लागेको छैन्? त्यो केटाले तँलाई सुख सँग राख्न सक्छ? हेर्दा नै दीनहीन देखिन्छ त्यो।”
यो पटक उर्मिलाले मतिर व्यंग गरिन्, “मधुको बुआ, तपाइँ किन चुप लागेर बस्नु भएको? मुखमा दही जमेको जस्तो गरेर, भन्नुस न केही छोरीलाई। भन्नुस न, उसले लिएको निर्णय सही छैन् भनेर। होइन, तपाइँलाई त्यो केटा ज्वाइ बनाउन मन परेको छ भने खुसिपूर्वक बनाउनु होस्। म मात्र किन तित्राको मुख बैरी हुने? मेरो मात्र छोरी हो ऊ?”
उर्मिलाको विचारमा मेरो पूर्ण सहमति रहेको सबल प्रमाण पेश गर्न मधुतिर हेर्दै मैले भने, “छोरी, बिहेवारीको कुरा बजारमा सामान खरिद गरे जस्तो होइन। किनेको सामान मन नपरे बजारमा सो सामान फिर्ता गर्न सकिए जस्तो। एक पटक गाँसिएको सम्बन्ध फिर्ता गर्न सकिंदैन, सामान साटै झै गरी। जिन्दगीको कुरा हो, गंभिरतापूर्वक सोंचेर निर्णय गर।”
मधु चुपचाप थिन्। उनको मुहारमा कुनै किसिमको प्रतिक्रियाको भाव झल्केको थिएन। बरु लागथ्यो उनले आमा बाबुको उपदेस र अर्ति गंभिरतापूर्वक लिए जस्तो। मैले त के पनि अनुमान गरे भने मधुले अब केही छिनमा नै भन्ने छिन- भयो, भयो। जे भयो त्यसलाई बिर्से मैले। म तपाइँहरूको सल्लाह मानेर त्यो केटासँग बिहे गर्दिन। मागी बिहे गर्छु, तपाइँहरूको इच्छा अनुसारको बिहे गर्छु।  
मेले गरेको जस्तै अनुमान उर्मिलाले पनि गरिन। हामी दुबैले एक अर्कालाई हेरा हेर गरौ। छोरीले निर्णय फेर्ने कुरामा हामी एक अर्काको मुहारको भाव पढेर ढुक्क भयौ।
यो स्थितिले उर्मिलालाई हौसला प्रदान गर्यो। मधुतिर हेर्दै भनिन्, “हेर छोरी, ढिलो न गर। भोलि बिहान नै गएर त्यो केटालाई भनिदे म बिहे गर्न तयार छैन। हाम्रो बीच अब कुनै किसिमको सम्बन्ध रहेन पनि। हामी एक अर्कालाई बिर्सीदिऔ,पूर्णतया।”  
अब उर्मिला मतिर फर्किन। अलि क्रोधित भावमा मलाई भनिन्, “भन्नुस न तपाइँ पनि। भन्नुस, भोलि नै गएर मधुले भनिदेओस त्यो केटालाई, म बिहे गर्न तयार छैन। अब हामी बिच कुनै पनि किसिमको सम्बन्ध छैन भनेर। ढिलो गर्नु हुँदैन यस्तो गंभिर कुरामा, बुझ्नु भयो। तपाइँ यस्ता कुराहरू अलि ढिलो गरी बुझ्नु हुन्छ।”
मैले केही पनि बोलिन। प्रतिक्रिया विहीन भएर बसे।
मधुको लामो मौनताको स्थितिले मेरो कौतुहलता झन बढेर गयो। मेरो अनुमान सत्यमा परिणत हुने मैले विश्वास गरे। अब केही क्षणमा नै मधुले हाम्रो प्रस्तावमा स्वीकृति जनाउनेमा म ढुक्क  भए। फेरि मैले र उर्मिलाले आँखामा आँखा जुधायौ। उर्मिलाको आँखा खुसीले चम्मेको जस्तो लाग्यो। उमिर्ला एक विजयी योद्धा जस्तो देखिन पनि।
वातावरण केही बेर शान्त रह्यो। मध्य रातको चकमन्न वातावरणमा त्यो शान्ति झनै बढी बोध भइरहेको थियो। घण्टाघर बाहेक सारा बीरगंज सुतेको थियो। केवल हामी चार मात्रा जागा थियौ, घण्टघरसहित।
तर त्यो शान्तिलाई चिर्दै मधुले भनिन्, “आमा तपाइँको सल्लाहको म कदर गर्छु। तपाइँले यी कुराहरू मेरो भलाइको लागि गरेको भन्नेमा मलाई कुनै शंका छैन् पनि। र मैले शंका गर्नु उचित पनि हुँदैन। तर पनि ..................। तर पनि, म आफ्नो निर्णमा अडिग छु। म केटाकेटी छैन, अब। पच्चिस वर्षकी छु। आफ्नो भविष्यको बारेमा राम्रो गरी सोंच विचार गर्न सक्छु। म त्यो केटासँग नै बिहे गर्छु। म कमल सँग नै बिहे गर्छु। यो मेरो अन्तिम निर्यण हो।”
मधुको प्रतिक्रियाले निभिसकेको आगो दन्केको जस्तो भयो। ह्वार ह्वार आगो बले जस्तो भयो।
उर्मिलाका आँखाहरू राता राता भए। हातमा रहेको सानो तकियाले मधुलाई प्रहार गर्न खोजिन तर के सोंचर त्यस्तो गरिनन्। शान्त भइन्। तर उर्मिलाको त्यो शान्तिमा ठूलो आँधीले आश्रय लिएको प्रष्ट गरि थाहा पाउन सकिन्थ्यो।
अर्कोतिर मधु भने भाव विहीन मुद्रामा सोफमा बसिरहेकी थिइन। मधुको स्थिति एक स्थिर ढुंगा भन्दा रत्ति पनि फरक थिएन। हुन पनि उर्मिलाका शब्दहरू मधुको मष्तिष्कमा असरहीन भएर गएका थिए। मलाई त्यस्तो लाग्यो।
उर्मिला सोफाबाट उठिन्। कराउँदै भनिन्, “मधु, तँ आफ्नो निर्णय परिवर्तन गर्न तयार छैनस, होइन त?”
मधुले तत्काल जवाफ दी, “हो मम्मी।”
मधुको जफावले आगोमा अझै घ्यु हालेको झै गर्यो। उर्मिला क्रोधित हुँदै लिभिंग रूमबाट बाहिर निस्किन। आफ्नो बेडरुमा पसेर उर्मिलाले ढ्याम्म ढोक्का लगाएको आवाज लिभिंग रूमसम्म सुनियो। त्यो चकमन्न रातमा सडकसम्म पनि सुनियो।
अब लिभिंग रूममा केवल मेरो अनि छोरी मधुको उपस्थिति थियो। मधुको मुहारमा भयका रेखाहरू कोरिएको प्रष्ट गरि देखिएको थियो। म मधुको नजिक पुगे। उनको काँधमा हात राखे।
मेरो यस्तो व्यवहारले मधु अलि भयभीत भइन। मतिर नहरेर केवल भूँईमा हेरिन।
मेरा दुबै हातहरूले मधुको टाउको सोझो पार्दै मैले भने, “मधु, छोरी, मैले जुन युद्ध चालिस वर्ष पहिले हारेको थिएँ, त्यो युद्ध तिमीले जितेर देखाइ दियौ।”
आश्चर्यचकित हुँदै मधुले मतिर हेरिन, तर केही पनि बोलिन।
मैले भने, “तिमीले लिएको निर्णय सही छ। मेरो यसमा कुनै गुनासो छैन। बरू खुसी लागेको छ, तिमी आफ्नो निर्णयमा अडिग रहेकोमा। चालिस वर्ष पहिले म पनि तिम्रो जस्तो स्थितिमा थिए। तर म आफ्नो निर्णयमा अडिग रहन सकिन।”  
अब भने मधुले मुख खोलिन। उनले प्रश्न गरिन, “चालिस वर्ष पहिले के भएको थियो, बुआ? र कस्तो निर्णयमा तपाइँ अडिग रहन सक्नु भएको थिएन?”
मैले भने, “यसै सहरको ठाकुर राम क्याम्पसमा पढ्दै गर्दा मैले भावना नाम गरेकी एक केटीलाई मन पराएको थियो। उनले पनि मलाई मन पराएकी थिन। भनन्, एक किसिमले, हामी बीच प्रेम थियो। अति गहिरो प्रेम थियो। तर तिमीलाई, तिम्री मम्मीले  अहिले कन्भिन्स गरे झै मलाई पनि मेरो बाले अति कन्भिनस गर्नु भयो, तिम्रो मम्मीले गरेझै गरी। भावनासँग मेरो बिहे हुन दिनु भएन, बाले। बाका अनेक बलिया तर्कहरूमा जेलिएर म बाहिर आउन सकिन। भावनासँग बिहे गर्छु भनेर अडिग हुन सकिन, तिमी आफ्नो निर्णयमा अडिग भए जस्तो। त्यसकारण तिमीले त्यो युद्ध जितेर देखाइ दियौ जुन मैले हारेको थिएँ।”
“स्यावास”,मैले थपे।
मधुले केवल आश्चर्य मानेर मेरो मुहार हेरेको हेरै गरेको मलाई प्रष्ट गरी बोध भइरहेको थियो।

विश्वराज अधिकारी
Saturday, August 13, 2016


Friday, August 12, 2016

Hiking Inflation in Nepal: Causes and Remedies-Article-117

किन चुलिएका छन् वस्तुका र सेवाका मूल्यहरू

नेपालको नाम छिटै अव विश्वका महँगा देशहरूमा गणना हुनेछ। हुन पनि यहाँ अन्य देशहरूको तुलनामा वस्तु र सेवाहरू अत्यधिक महँगा छन्। नेपालमा मुद्रा स्फिर्ति ८ देखि १० प्रतिसत सम्म रहने गरेको देखिएको छ, जुन सामान्य होइन। छिमेकी भारत (सन् २०१६ मा मुद्रा स्फिर्ति ४.५) र चीन (सन् २०१२ मा मुद्रा स्फिर्ति ३.१) को तुलनामा नै पनि नेपालम वस्तु र सेवाहरू अत्यधिक महँगा छन्। यहाँ एक, पाँच र दसका नोटहरुको विनिमय क्षमता लगभग समाप्त भए भएको छ। एक र पाँच रूपैयाँमा खरिद गर्न सकिने समान बजारमा पाउन त गार्हो छ नै, दस रुपैयाँमा पनि सजिलै सामान पाउन सकिने स्थिति छैन्। बजारमा केवल पचास र एक सयका नोटहरू मात्र विनिमयका लागि बढी प्रयोग भएको देखिन्छन। नेपाल अव सर्वाधिक मुद्रास्फिर्ति हुने मुलुकहरू सिरिया (३७%), साउथ सुडान (७९%), बेलारूस ५९%), भेनेजुएला (१८१%) आदिको श्रेणीमा पर्न सक्ने खतरा बढ्दै गएको देखिएको छ।
यस्तो किन भएको होला? नेपालमा किन कम क्षमता (Value) का नोटहरूले क्रय शक्ति (Purchasing power) गुमाउँदै गइरहेका छन्? यो गंभीर समस्याको समाधान खोजिएको त छैन नै, साथै यस समस्याबारे बौद्धिक क्षेत्रमा चर्चा परिचर्चा पनि हुने गरेको छैन्। सत्ताका लागि गरिने अनेक किसिमका नाटकहरूले नै प्रमुख समाचारका रूप लिइरहेको परिप्रक्ष्यमा मूल्य वृद्धि समस्या गौड हुन पुगेको छ।
यस्तो महँगी किन भएको होला? यो स्थितिमा गरिब परिवारहरूले जीवन कसरी निर्वाह गर्नेछन्? यो दर्दनाक विषयमा कसले सोंच्ने? मजदूरहरूको ज्याला र कर्मचारीहरूको तलब हरेक वर्ष बढाएर मात्र के यो समस्याको समाधान गर्न सकिंन्छ? तलब र ज्याला वृद्धिले मुद्रा स्फिर्ति झनै बढेर जाने गर्दछ। अर्थ व्यवस्था सुधारका लागि, तलब र ज्याला वृद्धि गर्नु भनेको रोग लागेपछि एन्टिबायोटिक खान दिनु सरह हो। तर एन्टिबायोटिक दिनु भन्दा रोग नै लाग्न नदिनु उपयुक्त होइन र? उदेक लाग्छ यस्तो स्थिति देखेर! नेपालमा, अर्थ व्यवस्था सुधारका सन्दर्भमा केवल रोग निको पार्ने कार्य हुन्छ तर रोग हुन नदिने कार्य गरिंदैन। समास्याहरूका दीर्घकालीन समाधान खोजिंदैन्।
गरिब परिवारहरूको जीवन नेपालमा दिनप्रतिदिन पिडादायी हुँदै गएको छ। यहाँ शिक्षा, स्वास्थ्य, यातायात, भोजन, आवास, मनोरञ्जन हरेक कुरा महँगो छ। तर अचम्म त के छ भने यी कुराहरू महँगो हुनमा यी कुराहरू उत्पादन गर्ने वा विक्री वितरण गर्नेहरू मात्र दोषी छैनन्। बरू हाम्रो उत्पादन प्रक्रिया, वितरण व्यवस्था, सोंच, संस्कृति, परम्परा र मुख्य गरी सरकारका नीतिहरू दोषी छन्। सरकारको त यसतर्फ ध्यान समेत पनि गएको छैन्। सरकार आफैमा स्थिर छैन, अनि ध्यान पुर्याउने पनि कसले र कसरी? सरकार त नेताहरूको भोज खाने थाल जस्तो भएको छ। यो थाल हात पार्न नेताहरू हरदम दाउपेंचमा लागेका हुन्छन्। सरकारबाट केही हुन सक्ने आशा पनि अब जनतामा क्षिण हुँदै गएको छ। प्रधान मंत्री हुने दौडमा अनेक जालझेल गरेर, ओलीलाई उछिनेर, पुष्पकमल दहाल कुर्सीमा बस्दा पुष्पकमल त हर्षित भएका छन् तर बाँकि जनतामा हतास र निरासा छ। सरकार परिवर्तन जनताको सरोकारको विषय हुन सकेको छैन् बरु हाँसो र उपहासको विषय हुन पुगेका छ, जुन समाचार र सार्वजनिक जीवनहरूमा देख्न सकिन्छ।
नेपालमा वस्तु एवं सेवाहरू अत्यधिक महँगो हुनुमा धेरै कारणहरू छन्। तर दुई कारणहरू भने बढी जिम्मेवार छन्। पहिलो कारण हो, उत्पादन एवं वितरण व्यवस्थामा कुशतालको अत्यधिक अभाव। दोस्रो कारण हो, कृषि र उद्योगका लागि चाहिने आवश्यक जनशक्ति ठूलो संख्यामा विदेश पलायन।
कृषिका लागि आवश्यक दक्ष एवं सामान्य जन शक्ति अरबतिर विदेशिएर नेपालको कृषि उत्पादनमा कुन किसिमको प्रतिकूल असर पारेको छ, त्यो यथार्थ अब लुकेको छैन्, जग जाहेर छ। अन्नको भण्डार मानिने तराइ होस वा फलफुलको भण्डार पहाड, दुवैतिरको कृषि उत्पादन धरासायी भएको छ। अति रक्तपातपूर्ण किसिमले मच्चाइएको माओवादी संघर्षमा काठमाडौमा बसाइ सरेका परिवारहरू काठमाडौमा नै थुप्रिएका छन्, पहाडतिर फर्केका छैनन्। नेपालमा कृषि मात्र होइन, उद्योग व्यवस्था पनि नराम्रो गरी प्रभावित हुन पुगेको छ। नेपालले अहिले औद्योगिक उत्पादनमा गर्व गर्ने केवल दुई चार वस्तुहरू मात्र छन्।  
तर यस आलेखमा भने नेपालमा वस्तु एवं सेवाहरू महँगो हुनमा हाम्रो उत्पादन एवं वितरण व्यवस्था ज्यादै नै अकुशल रहेको बारे विषेश चर्चा गर्न खोजिएको छ।
नेपालमा उत्पादन र वितरण, दुवै व्यवस्था ज्यादै नै अकुशल छन्। उदाहरणका लागि, सरल किसिमले भन्ने हो नेपालमा एक जनाले गर्ने कार्य दश जना लगाएर गरिन्छ। र यसरी एक जनाबाट गरिने कार्य दस जनाबाट गरिएको हुनाले त्यस किसिमबाट भएको उत्पादनमा नौ जनाको खर्च (पारिश्रमिक) अनावश्य किसिमले जोडिन्छ। यसरी नौ जनाको खर्च अनावश्य किसिमले जोडिएको हुनाले त्यस किसिमको उत्पादन व्यवस्थाबाट उत्पादित वस्तु महँगो हुन पुग्दछ, र पुगरिरेहको छ पनि। तर विकसित देशहरू जस्तै अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य आदिमा दस जना लगाएर गरिने कार्य केवल एक जनाबाट गरिन्छ र त्यसरी उत्पादन व्यवस्थामा हुने अनावश्यक खर्च जोगाउने गरिन्छ। यो कारणले गर्दा नै विकसित मुलुकहरुमा वस्तु एवं सेवाका मूल्यहरू विकासशील मुलुकहरूमा भन्दा कम हुन्छन्। विकसित मुलुकहरूमा उत्पादन एवं वितरण व्यवस्थमा कुशलताको उच्च प्रयोग हुन्छ। विकसित मुलुकहरूमा कुशलता वृद्धि गर्नका लागि प्रविधिको पनि उत्तिकै प्रयोग गरिन्छ। नेपाल प्रविधिको प्रयोगमा विकसित देशहरूको तुलनामा अझै पचास वर्ष पछि छ।
विकासशील मुलुकहरू, जस्तै नेपाल एवं भारतमा उत्पादन एवं वितरण व्यवस्थामा देखिने कार्य कुशलताको अति अभावका केही उदाहरणहरू पेश गरौ। उदाहरण होटल व्यवसायबाट नै शुरू गरौ। यी मुलुकहरूमा कोही व्यक्ति होटलमा खाना खान जाँदा उक्त ग्राहकको लागि सर्व प्रथम एक व्यक्ति (वेटर) ले आएर खान खाने टेबल पुच्छ। दोस्रोले टेबलमाथि पानी राख्छ। तेस्रोले खान राख्छ। चौथोले थप्ने कार्य गर्छ। अन्तमा पाँचौ व्यक्तिले उक्त ग्राहकबाट, जे जति खाएको हो त्यसको, पैसा लिन्छ। जबकि यो कार्य केवल एक व्यक्ति (वेटर) बाट पनि हुन सक्छ। एक व्यक्ति (वेटर वा बिक्रेता) ले नै ग्राहकलाई खानेकुरा दिएर ऊ बाट पैसा लिन सक्छ र यसरी उसले चार जनाको संलग्नतालाई कम पारेर वस्तु (खानेकुरा) को मूल्य सस्तो पार्न सक्छ। उत्पादन, बिक्री र वितरण कार्यमा जति कम मानिसको संलग्नता भयो सोही अनुसार वस्तुको मूल्य कम हुन्छ र त्यसबाट ग्राहक (उपभोक्ता) लाई फाइदा पुग्छ।
अर्को एक उदाहरणमा, नेपालमा पेट्रोलियम पदार्थको ढुवानी हुँदा अहिलेसम्म पनि टैंकरको प्रयोग भइरहेको छ। पाइपलाइनको प्रयोग हुन सकेको छैन्। पेट्रोलियम नेपालको लागि प्रमुख ऊर्जाको स्रोत भएको उल्लेख गरि राख्नु पर्ने विषय होइन। नेपालको यातायात व्यवस्था पेट्रोलियम पदार्थमा पूर्णतया निर्भर छ। एउटा, एउटा टैंकरमा ढुवानी गर्दा र एकै पटक पाइप लाइनबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा यातायात लागत कत्तिसम्म कम पार्न सकिन्छ एक सामान्य व्यक्तिले पनि अनुमान गर्न सक्छ। एउटा एउटा टैंकरमा पेट्रोलियम पदार्थ ढुवानी गरिएको हुनाले नै नेपालमा यातायात लागत उच्च हुन पुगेको छ र यसले गर्दा वस्तु र सेवाहरू पनि महँगा हुन पुगेका छन्। यसरी हामीले ढुवानीमा कुशलताको प्रयोग गर्न सकेका छैनौ। यसैगरी नेपालमा ढुवानीको लागि रेलको प्रयोग हुन सकेको छैन। अहिले पनि उच्च लागत पर्ने ट्रकलाई ढुवानीका लागि प्रयोग गरिएको छ। ढुवानीका लागि केवल ट्रकको प्रयोगले गर्दा पनि ढुवानी लागत उच्च हुन पुगेर नेपालमा वस्तु एवं सेवाको मूल्य उच्च हुन पुगेको छ। ढुवानीमा झनै बढी कुशलताको अभाव देखिएको छ।
कार्य-कुशलताको क्षेत्रमा नेपाल धेरै नै पछाडि रहेको उदाहरणहरू असंख्य छन्। यस्तो किन भएको भने हामी सोंच, संस्कृति, परम्पराले नै पनि हामीलाई कार्य कुशलता सिकाउँदैन र सिक्न पनि दिंदैन। हामी सोंच र परम्परा पनि पश्चिमाहरू भन्दा निकै पछाडि छौ।
कार्यकुशलतामा हाम्रो पछौटेपनको एउटा अर्को तर अति सामान्य उदाहरण- नेपालको कुनै पनि सहरको एउट सैलुनको स्थिति हेरौ। काठमाडौ जस्तो सहरको नै कुरा गरौ। कुनै एक समयमा कुनै एक सैलुनमा दस जना एकै पटक कपाल काट्न जाँदा त्यस सैलुनमा यदि एक मात्र हजामको उपस्थिति छ भने नौ जनाले कपाल काट्न पालो कुर्नु पर्ने अवस्था हुन्छ। यदि उक्त हजामले कपाल काट्न आधा घण्टा लगाउने गरेको छ भने दसौ व्यक्तिले कपाल काट्नका लागि पाँच घण्टा कुर्नु (समय खेर फालनु) पर्ने स्थिति हुन्छ। यस्तो अवस्थामा ऊ सँग दुई विकल्पहरू मात्र हुन्छन- त्यहाँ वा त्यस दिन कपाल नकाट्ने वा पाँच घण्टा कुर्ने। यदि उसले त्यस दिन कपाल काटेन भने हजामको लागि त्यो घाटा त हो नै साथै भोलिको दिन उक्त ग्राहक त्यहाँ नआउन पनि सक्छ। अथवा भोलिका दिन त्यसै गरी फर्कका ग्राहकहरू उसको  सैलुनमा नआउन पनि सक्छन्। तर यो कार्यलाई केवल एक टेलिफोनको माध्यमले व्यवस्थित गर्न सकिन्छ। कार्य कुशलताको उपयोग गर्दै उक्त सैलुनको त्यो हजामले प्रत्येक ग्राहकलाई टेलिफोनबाट फरक फरक समय दिएर सबैलाई पालै पालो सेवा प्रदान गर्न सक्छ। अर्थात कपाल काट्नेहरूले पनि टेलिफोनबाट कपाल काट्ने समय बुक गर्न सक्छन् र आफ्नो समयको बरवादी रोक्न सक्छन। कपाल काट्नेहरूले सैलुनमा गएर कुर्नु पर्दैन। उनीहरुले आफूले पाएको समयमा गएर कपाल काट्न सक्छन्। नेपालमा यस किसमको कार्य कुशलताको हरेक क्षेत्रमा अभाव छ। यस किसिमका अनेक कार्य अकुशलताहरू कम पार्ने हो भने नेपालमा आकासिंदै गरेको मूल्य वृद्धिलाई निकै कम पार्न सकिन्छ।

विश्वराज अधिकारी
Wednesday, August 10, 2016