Friday, September 30, 2016

Nepal: Approaching a National Crisis-Article-124

राष्ट्रिय विपत्तितर्फ उन्मुख नेपाल

धेरै व्यक्तिहरूलाई यस तथ्यमा विश्वास नहुन सक्छ। धैरे व्यक्तिहरूलाई उठाउन थालिएको यो विषय हल्ला वा सतही लाग्न सक्छ। तर जसले जुनसुकै तरिकाले लिए पनि नेपाल अहिले राष्ट्रिय विपत्तितर्फ उन्मुख छ। नेपालले राष्ट्रिय विपत्तिको सामना गर्नु पर्ने देखिएको छ।  
नेपालमा अहिले ठूलो राष्ट्रिय-निराशा व्याप्त रहेको कारणले गर्दा यो दोस्रो राष्ट्रिय विपत्ति आउन थालेको हो। अहिले मुलुक राष्ट्रिय-निराशाको स्थितिमा रहेको छ। यो तथ्यलाई स्वीकार्नुको विकल्प छैन। यसलाई नस्वीकार्नु सत्यको सामना नगर्नु हो। बरू यो राष्ट्रिय विपत्तिको असरलाई कसरी कम गर्न सकिन्छ त्यसबारे समयमा नै सोंच्न आवश्यक छ।
२००७ साल पछिको स्थितिमा, नेपालले पहिलो राष्ट्रिय विपत्ति भने माओवादी-शसस्त्र संघर्ष कालमा देखेको थियो।
माओवादी- संघर्ष कालमा नेपालीहरू यति भयभीत भएका थिए कि घरभित्र हुँदा वा बाहिर रहेको अवस्थामा, राति जिवित नै घर फर्किन सकिन्छ वा सकिंदैन भनी हर क्षण त्रसित रहन्थे। त्यो कालमा नेपालीहरू यतिसम्म हृदयहीन भएका थिए कि आफ्नै दाजुभाइ दिदीबहिनीको हत्या गरेकोमा रमाएर उत्सव समेत पनि मनाउँथे। विभत्स किसिमले हत्याहरू गर्थे। प्रत्येक पल सामान्य नागरिकहरूले माओवादी वा सैनिक, को द्वारा मारिनु पर्ने हो भन्ने भय बोकेर हिंड्नु पर्ने स्थिति थियो। यो कालमा, आर्थात २००७ सालपछिको स्थितिमा, राजनैतिक कलह वा केही व्यक्तिहरूको (पुष्पकमल बाबुराम, मोहन वैद्य आदिको) महत्वाकांक्षा पूर्तिका लागि १७ हजार भन्दा वढी व्यक्तिहरूले ज्यान दिनु पर्यो। आधुनिक नेपालको यो कालो इतिहासलाई नेपालीहरूले बिर्सन वर्षौ लाग्ने छ। कत्तिसँग त अहिले पनि मनमा ताजा घाउ छ, त्यो कालले दिएको। त्यसकारण माओवादी-संघर्ष काल (२०५२-२०६२ साल) नेपालको लागि पहिलो राष्ट्रिय विपत्ति काल थियो।
यो दोस्रो राष्ट्रिय विपत्ति जसलाई राष्ट्रिय-निराशा भन्न सकिन्छ, पनि कम डर लाग्दो छैन। माओवादी रक्तरंजित संघर्षले, आगोले झै देशलाई डढाउने काम गरेको थियो भने यो राष्ट्रिय-निराशाले मन्द विषको काम गरिरहेको छ। राष्ट्रिय-निराशाले नेपालीहरूको मनोविज्ञानमा मन्द मन्द किसिमले विष छरेर देशवासीहरूलाई चरम नैराश्यताको गहिरो खाडलतिर पुर्याइ रहेको छ। नेपालीहरू नैराश्यताको खाडलतिर लागिरहेका छन, मन्द मन्द गतिमा, तर निरन्तर रूपमा।
कस्तो स्थितिलाई राष्ट्रिय-निराशाको स्थिति भन्न सकिन्छ? त्यसवारे अब छोटो चर्चा गरौ।
देशभित्र रहेर अब केही पनि गर्न सकिंदैन। ऋण वा कर्जा गरेर वा ज्याननै पनि जोखिममा राखेर भए पनि, जसरी पनि, विदेश जानु पर्छ। नेपालमा रहेर भविष्य मात्र वर्वाद हुन्छ। यो भावनाले अहिले प्रत्येक नेपालीलाई नराम्रो गरी सताइ रहेको छ। युवायुवतीहरू हुन वा उनीहरूका अभिभावक, अहिले सबै यही भावनाको सिकार भएका छन। केही अपवाद बाहेक, अहिले सबै युवायुवतीहरू नेपाल छाड्ने मनस्थितिमा छन। कोही पनि नेपाल भित्र बस्न तयार छैन। अभिभावकहरू आफ्ना सन्तानलाई विदेश पठाउन आतुर छन। तरिका जुनसुकै किसिमको होस, अध्ययनका लागि वा रोजगारीका लागि, प्रत्येक नेपाली अहिले स्वदेश बस्ने मनस्तितिमा छैन। स्थाइ रूपममा (डिभी, पिआर) बसाइ सर्ने इच्छाका साथ मात्र होइन शर्णार्थीको दर्जा पाएर भए पनि मुलुक छाड्ने निर्णय बहुसंख्यक नेपालीहरूले गरेका छन। नेपालीहरू अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता धनी मुलुक मात्र होइन साइप्रस, ग्रिस, स्पेन, पोर्चुगल जस्ता युरोपका गरिब मुलुकहरुमा पनि पुगिरहेका छन। खाडीका देशहरू त पहिलेदेखि नै नेपाली कामदारहरूबाट भरिभराउ छन्। नेपालीहरू अहिले सिरिया, लिविया, इराक जस्ता अति नै द्वन्दग्रस्त मुलुकहरू, जहाँ कुनै पनि बेला बम पड्केर मानिसको मृत्यु हुन सक्छ, मा पुगिरहेका छन। मिडिल इस्टका विभिन्न मुलुकहरूका डान्स बारमा नेपाली चेलीहरू पुर्याइएका छन्। मलेशियामा मात्र नेपाली कामदारहरू दस लाखको हाराहारीमा छन भनी अनुमान गरिएको छ।
यसरी निराश भएर नेपाल छाड्ने मनस्थितिमा आम नेपाली पुग्नु सुखद स्थितिको संकेत कदापि होइन। यो राष्ट्रिय-निराशाको स्थिति हो। यो स्थितिले नेपालका भोलिका दिनहरू झन कष्टकर हुने संकेत दिरहेको छ। नेपालको जस्तै राष्ट्रिय-निराशाको स्थिति अहिले दक्षिणी सुडान, सोमलिया, नाइजेरिया, लिवियामा जस्ता अफ्रिकाका अति द्वन्दग्रस्त मुलुकहरूमा देखिएको छ। यी मुलुकका नागरिकहरू पनि ज्यान जोखिमा पारेर युरोपतिर प्रत्येक दिन पलायन भइरहेका छन। आफ्नो मुलुकमा बाँच्न सक्ने स्थिति नदेखेर डर लाग्दो समुन्द्री मार्ग रोजेर देश छाड्ने क्रममा धेरैले ज्यान गुमाइ सकेका छन पनि।
कुनै पनि देश त्यस देशका देशवासीहरूले बनाउने हो। यसरी सबै नेपालीहरू विदेश जाने मनस्थितिमा रहेमा नेपालको विकास कसले गर्ने? अति निकृष्टताको बिन्दुमा पुग्न थालेको नेपालको राजनीतिलाई कसले सुधार्ने? नेताहरूले राजनैतिक, सामाजिक र आर्थिक रूपमा कमजोर तुल्याएको मुलुकलाई कसले सबल तुल्याउने?
गृह युद्धले बरवाद हुन थालेको दक्षिण अमेरिकाकी देश, कोलम्बियामा शान्ति ल्याउन त्यहाँका नागरिकहरूले नै प्रयास गरे। नेपालका नेताहरूले “लौ न, हाम्रो देशमा शान्ति ल्याइ देउ न” भनेर (२०६३ सालमा भएको सरकार-माओवादी सम्झौतामा) भारतलाई गुहारे झै कोलम्बियाका नेताहरूले विदेशीहरूलाई गुहारेनन्। ५२ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको डर लाग्दो गृह युद्ध रोक्न त्यहाँको बिद्रोही (कम्युनिष्ट) संगठन फार्क (FARC-  Fuerzas Armadas Revolucionarias de Colombia ) र त्यहाँको सरकार बीच केही दिन पहिले  (September 27, 2016) एक शान्ति सम्झौता भएको छ। शान्ति सम्झौतामा हस्ताक्षर गर्दा बिद्रोही नेता टिमोलेन जिम्नेज, जसलाई टिमोचेन्को पनि भन्ने गरिन्छ, ले आफ्नो बिद्रोही संगठन (फार्क) ले लाखौ निर्दोष कोलम्बियालीहरूको हत्या गरेकोमा क्षमा पनि मागेका छन। अब भने कोलम्बियालीहरू देश बनाउनेतिर लागेका छन्।
अर्को एउटा स्थितिले पनि नेपाल राष्ट्रिय–निराशाको स्थितितिर घचेटिएको पुष्टि गर्दैछ। त्यो स्थिति के हो भने अहिले नेपालीहरू अनेक किसिमले विभाजित छन। विभाजनको मनोविज्ञानले सबै नेपालीहरूको मन मष्तिष्कमा यसरी जरो गाडेको छ कि सबैले क्षेत्र, समुदाय, जात जातिको कुरा गर्नमा गर्व गरिरहेको छन। हामीहरू र तिमीहरू भनेर सिमा रेखा कोरिरहेका छन्। जवकी विकसित देशहरूमा यस्तो कुरा गर्नुलाई “रेसिस्ट” कुरा गरेको भनेर सहज किसिमले लिने गरिदैन। अहिले नेपालीहरू मधेसी र पहाडी गरि विभाजित भएका छन। खस र गैर खस गरी विभाजित छन्। उच्च वा सुविधाभोगी जाति तथा शोषित पीडित जनजाति भनी विभाजित छन। नेपालीहरूमा अति निराशा छाएको कारणले गर्दा यस्तो विभाजनको स्थिति आएको हो।  एक समूहको अर्को समूह माथिको घट्दै गरेको विश्वासको कारणले गर्दा उत्पन्न भएको हो। निराशाको कारण उपत्पन्न हुने विभाजन-मनोविज्ञानले देशलाई नराम्रो असर पार्दछ। यो स्थिति (समुदाय, जातीय, क्षेत्रीय कलह) ले देश टुक्रिन पनि सक्छ जसरी सिंगो सुडान, सुडान र साउथ गरी टुक्रियो। देश लामो गृह युद्धमा अल्झिन सक्छ जसरी सिरिया अल्झेको छ। देशमा विदेशी हस्तक्षेप बढ्न सक्छ जसरी यमनमा साउदी अरेबिया र इरानको हस्तक्षेप बढेको छ। नेताहरूलाई देशमा द्वन्द ल्याउन सजिलो छ तर त्यसको असर जनताले कसरी भोग्नु पर्छ भन्ने कुरा सिरियाका गृह युद्ध पीडित जनतालाई सोधे हुन्छ।   
नेपालमा आउन थालेको राष्ट्रिय विपत्तिलाई रोक्न दिनप्रति दिन नेपालीहरूमा बढ्दै गरेको राष्ट्रिय-निराशा कम पार्न आवश्यक छ। यसका लागि नेताहरू होइन स्वयं जनता सक्रिय हुन आवश्य छ। जनताले नै देश भित्र रोजगारीका औसरहरू सृजना गर्न सरकारलाई दबाद दिन र विदेश पलायन हुन थालेको जनशक्तिलाई स्वदेशमा आकर्षित गर्न आवश्यक छ। झगडिया एवं स्वार्थी होइन, मेलमिलाप गराउने इमान्दार नेताहरूको चयन गर्न आवश्यक छ। यसैगरि बढ्दै गरेको जातीय एवं क्षेत्रीय विभाजन रोक्न जनता स्वयंले जातीय सद्भावमा जोड दिन आवश्यक छ। नेताहरूले कोरेका विभाजन रेखाहरूमा विश्वास नगरी जातीय र क्षेत्रीय सद्भावमा जोड दिन आवश्यक छ। मिलेर, एकले अर्कोलाई विश्वास गरेर, सद्भाव कायम गरेर मात्र राष्ट्रिय-निराशा कम पार्न सकिन्छ। देशलाई उन्नतिको पथमा डोर्याउन सकिन्छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, September 30, 2016

Friday, September 23, 2016

Was the Visit Necessary?-Article-123

के भ्रमण आवश्यक थियो?


   
प्रधानमन्त्री पुष्पकमल दाहालले हालै भारतको भ्रमण गरेका छन्। उनको यो भ्रमणलाई लिएर धेरै किसिमका प्रतिक्रियाहरू आउने क्रम जारी छ। कसैले उनको यो दोस्रो भ्रमणले भारतले गरेको नाकाबन्दीपछि चिसिएको नेपालभारत सम्बन्ध न्यानो पार्न सहयोग पुर्याउने टिप्पणी गरेका छन् भने कसैले उनको भ्रमण परम्परागतभन्दा बढी केही पनि नभएको भनेका छन्। बरु के पनि थपेका छन् भने दाहालले नेपाललाई दूरगामी र प्रतिकूल असर पर्ने सम्झौता गरेर आएका छन्, जसले नेपालको राजनीतिक सन्तुलन बिगार्न उल्लेखनीय भूमिका खेल्नेछ। नेपाललाई २००७ भन्दा पहिलेको स्थितिमा पुर्याउने छ।
   
दाहालको भारत भ्रमणबारे आएका विभिन्न धारणाहरूमाझ एउटा तथ्य त के प्रस्ट भएको छ भने दाहालको यो भ्रमणले नेपाललाई होइन, दाहाल स्वयंलाई बढी फाइदा हुने देखिएको छ। अर्थात् व्यक्तिगत स्वार्थ पूर्ति गर्न र आफ्नो छवि सुधार्न दाहाल सफल भएका छन्। हुन पनि शान्ति सम्झौता, जसलाई दाहालको यु टर्न पनि भन्ने गरिन्छ, गरेर दाहालले संसदीय प्रजातन्त्रमा अप्रत्याशित अवतरण गरेपछि उनको प्रचण्डताबाट निस्कने राप तीव्र गतिमा सेलाउन शुरु भएको थियो। पहिलो संविधानसभाको चुनावमा अत्यधिक स्थानमा विजयी भएर पहिलो नम्बरमा रहेको उनको दल दोस्रो संविधानसभाको चुनावमा तेस्रो स्थानमा पुग्यो। माओवादी पार्टीमा स्थापना कालदेखि नै एकछत्र पार्टीको अध्यक्ष रहँदै आएका प्रचण्ड, शक्ति हरदम हातमा राख्ने अचल अभीष्टका कारण आफ्नो पार्टीभित्र नै लोकप्रिय हुन सकेनन् र स्थिरता र एकता पनि कायम गर्न सकेनन्। परिणामस्वरूप माओवादी दल भित्र रहेका प्रभावशाली नेताहरू (मोहन वैद्य किरण, नरेन्द्र विक्रम चन्द आदि) ले उनको साथ छाड्दै गए। यहाँसम्म कि माओवादीले चलाएको सशस्त्र सङ्घर्षकालदेखि स्वयं दाहालको समानान्तर मानिएका बाबुराम भट्टराई जसले दाहालसँग कसिलो लगनगाँठो बाँधेका थिए, ती पनि दाहालसँग नाता तोडेर विपरीत दिशामा हिंडे। उनको कटु आलोचकसमेत बने। यसरी क्रमिकरूपमा आफ्नो शक्ति क्षीण हुँदै गएको देखेर दाहालको चिन्ता बढ्ने क्रममा छ। यो चिन्ता कम पार्न उनी हरदम प्रयत्नशील रहने गर्दछन् र त्यसैका लागि कहिले एमालेसँग मिलेर सरकार बनाउन सघाउँछन त कहिले काङ्ग्रेससँग मिलेर आफैं सरकार बनाउँछन्। उनको न विचारमा स्थिरता छ, न राजनैतिक उद्देश्यमा नै। अचम्म त के कुरामा लाग्छ भने जसको (नेपाली काङ्ग्रेसको २०५२) सरकार विरुद्ध दाहालले नेपाली युवाहरूलाई सङ्गठित पारेर रक्तरञ्जित सङ्घर्ष थालेका थिए अहिले त्यही काङ्ग्रेस उनको मित्र हुन पुगेको छ। जुन व्यवस्था (संसदीय प्रजातन्त्र) को जरो उखेल्न उनले डरलाग्दो सशस्त्र सङ्घर्ष गरेका थिए अहिले त्यही व्यवस्था उनको राजनीति गर्ने आधारभूमि बनेको छ। तत्कालीन सरकारका प्रमुख शेरवहादुर देउवा, जसले उनको टाउकोको मूल्य तोकेका थिए, अहिले उनका मित्र हुन पुगेका छन्। यो त भयो पुष्पकमल दाहालको घरेलु स्थिति।
   
दाहालको बाह्य स्थिति पनि हेर्ने प्रयास गरौं। नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने छिमेकी भारतले दाहाललाई भरपर्दो नेताको रूपमा लिंदैन तर प्रयोग गर्न सकिने नेताको रूपमा प्रयोग गर्न चुक्दैन पनि। कुनै बेला भारतविरुद्ध नेपाली युवाहरूलाई सुरुङ युद्ध गर्न आह्वान गर्ने र कुनै बेला भारतीय नेताहरूलाई कसेर अँगालो मार्ने दाहालको विचलन र कमजोरीलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा दिल्ली दरबारलाई राम्ररी थाहा छ। त्यस कारण दाहालले योपटक दिल्ली दरबारमा केपी ओलीभन्दा न्यानो स्वागत पाए। तर आफू भारतको स्थायी एवं भरपर्दो मित्र हो भनी भारतीय पक्षलाई विश्वस्त पार्न सकेनन्। दाहालको व्यवहारप्रति भारतको नीति अहिले पनि पर्ख र हेरको नै छ।
   
यु टर्न गरेर विचार परिवर्तन गर्ने, अनेक दलसँग मिल्ने र केन्द्रीय राजनीतिमा रहेर शक्तिशाली हुन खोज्ने र यसैगरी छिमेकी राष्ट्र (भारत) लाई खुशी पारेर भारतको राम्रो शुभचिन्तक हुन खोज्ने दाहालको दाउको पछाडि के रहस्य लुकेको छ त? यो प्रश्नको उत्तर जति जटिल छ त्यति नै सरल पनि छ। नेपालले स्थायी सरकार पाउनेबित्तिकै माओवादी कालमा उनले गरेको सशस्त्र सङ्घर्षको नेतृत्वका लागि उनीमाथि मुद्दा चलाइने सम्भावना रहेकोले कुनै न कुनै नयाँ दाउ खेलेर शक्तिमा रहनु दाहालको रहर कम बाध्यता बढी हुन पुगेको छ। दाहालको दोस्रो भारत भ्रमणमा पनि उनको त्यही बाध्यताले काम गरेको छ। दाहालको रणनीति भारतलाई गुन लगाएर आफूलाई परेको बेला भारतले सहयोग गरोस् भन्ने रहेको छ। हुन पनि नेपालको प्रधानमन्त्रीले भारतको भ्रमण गर्नु अहिले आवश्यक नै थिएन, किनभने पूर्व प्रम केपी ओली भारतको भ्रमणमा गएको धेरै भएको छैन। 
   
दाहालको भारत भ्रमणले सकारात्मक कम नकारात्मक टिप्पणी बढी खेप्नुको कारण के हो त्यसबारे अब चर्चा गरौं।
   
दाहालको भारत भ्रमणको समय, सेप्टेम्बर १६ (सन् २०१६) का दिन, नेपाल र भारत सरकारको तर्फबाट प्रेषित संयुक्त वक्तव्य र मुख्यगरी त्यस वक्तव्यको बुँदा नं ११ लाई लिएर निकै टीकाटिप्पणी र आलोचनाहरू भइरहेका छन्। त्यस बुँदामा के लेखिएको छ, त्यसको नेपाली भाव अनुवाद हेरौं। दुई प्रधानमन्त्रीहरूलाई यो विश्वास छ कि दुवै राष्ट्रहरूले प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा र विकासशील राष्ट्रहरूलाई प्रभाव पार्ने तथा संयुक्त राष्ट्र सङ्घ एवं अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नजिकबाट समन्वय राखेर कार्य गर्ने संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूको व्यापक सुधारमा समान धारणा राख्छन् । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भारतको उम्देवारीप्रति नेपालको सहमति रहेको नेपाली पक्षले पटकपटक उल्लेख गर्यो।
   
बुँदा नं ११ मा उल्लेख भएका महत्वपूर्ण कुराहरूलाई हेरौं। यहाँ भनिएको छ–‘प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपाल र भारतको समान धारणा छ ।तर यस्तो होइन, किनभने नेपालले एक चीननीतिलाई मान्दै आएको छ, भारतले मानेको छैन । यसैगरी नेपालले आफ्नो भूमि भारतविरुद्ध कुनै पनि पक्षबाट उपयोग हुन नदिने कुरामा भारतसँग वचनबद्धता राख्छ छ तर भारतले राख्ने छिमेकीहरू प्रतिको दृष्टिकोमा नेपालको समर्थन छैन। भारतको पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटानप्रतिको व्यवहारलाई नेपालले समर्थन गर्दैन। पाकिस्तान र बङ्गलादेश विभाजनमा भारतले खेलेको भूमिका, श्रीलङ्कमा भारतले गरेको हस्तक्षेप, कश्मीरप्रति भारतीय दृष्टिकोण, भुटानलाई भारतीय सुरक्षा छातामा समाविष्टीकरण, सिक्किमलाई भारतमा विलय आदिमा नेपालले भारतसँग समान धारणा राख्न सक्छ? पाकिस्तानभित्र बलुच (बलुचिस्तान) पृथकतावादी विद्रोहीहरूलाई सघाएको आरोप भारतमाथि पाकिस्तानले लगाएको छ। भारत अहिले एसिया मात्र होइन, विश्वमा नै महाशक्ति राष्ट्रहरूको पङ्क्तिमा उभिन खोजिरहेको छ। भारतले अहिले आफूलाई दोस्रो महाशक्ति राष्ट्रको रूपमा हेर्न थालेको छ। यस्तो स्थितिमा नेपालले भारतसँग समान धारणा राख्न सक्छ? यस्तो स्थितिमा नेपालले भारतसँग अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान धारणा राख्नुको साटो उसको असल छिमेकी बन्ने प्रयास गर्छ, ‘असंलग्नताको सिद्धान्तमा जोड दिन्छ।
   
प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपाल र भारतको दृष्टिकोण समान छ भन्नु दाहालको ठूलो भूल त हो नै, यो कुरा भन्ने हैसियत कसरी पाए त्यो पनि आफैंमा अर्को प्रश्न बन्न सक्छ। सत्ताको जोड घटाउमा दाहाल उछिट्टिएर प्रधानमन्त्री भएको कुरा स्वयं दाहाललाई पनि थाहा  । यसरी सानो दलको नेता भएर नेपाललाई दीर्घकालसम्म असर पार्ने मुद्दाबारे उनले निर्णय लिन सक्छन्?
   
बुँदा नम्बर एघारको अर्को महत्वपूर्ण कुरा, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भारतको उम्देवारीलाई हालै नेपाल र भारतद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपालले भारतलाई समर्थन गर्ने वचनबद्धता प्रकट गरेको छ। अमेरिकालगायत पश्चिमका केही मुलुकहरूले भारतको उम्मेदवारीमा समर्थन जनाए पनि निकटको छिमेकी चीनले जनाएको छैन। अमेरिकालगायत पश्चिमका केही मुलुकहरूले भारतलाई समर्थन गर्नुको कारण एसियामा भारत र चीनबीच शक्ति सन्तुलन नीतिले गर्दा हो। उनीहरू चीन बढी शक्तिशाली भएको देख्न चाहँदैनन् र त्यसको इनकाउन्टरमा भारतलाई खडा गर्छन्। भारतलाई नेपालले गरेको त्यो समर्थनले चीन नेपालको विदेश नीतिप्रति झस्किन सक्छ। तिब्बततको मामिलामा चीन अति संवेदनशील छ। उसले ताइवानलाई अहिलेसम्म राष्ट्रको मान्यता दिएको छैन भने चीन र जापानबीच रहेका विभिन टापूहरूमा कसको स्वामित्व रहने भनी अहिले जापान र चीन दुवै राष्ट्रले विवाद गरिरहेका छन्। ती टापूहरूमा चीन र जापान दुवैले आप्mनो स्वामित्व हुनुपर्छ भनेर वाक्युद्ध गरिरहेका छन्। यसरी चीन पनि ज्यादै महत्वाकाङ्क्षी भएर राजनीतिक रङ्गमञ्चमा आइरहेको छ। यस्तो अवस्थामा नेपालले भारतलाई खुश र चीनलाई रुष्ट पार्नुहुँदैन। दुवै राष्ट्रसँग समदूरीको घनिष्टता राख्नुपर्छ।
   
यी सबै सेरोफेरोको मध्यमा रहेर के भन्न सकिन्छ भने सर्वप्रथम त प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले भारतको भ्रमण गर्नु आवश्यक नै थिएन। दोस्रो नेपालको विदेशनीतिलाई दूरगामी प्रतिकूल प्रभाव पर्ने विषयमा हतार गरेर दिल्लीमा केही गम्भीर कुराहरू अहिले नै बोल्नु (संयुक्त वक्तव्यमा उल्लेख गर्नु) आवश्यक थिएन।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, September 23, 2016

Friday, September 16, 2016

Poverty in Nepal: Financial or Mental?-Article-122

नेपालको गरिबी: आर्थिक कम मानसिक बढी

   सरल जीवन पद्धतिमा नेपाली समाजको विश्वास क्रमशः घट्दै गइरहेको छ। यो समाज तीव्र गतिमा आडम्बरमुखी बन्दै गइरहेको छ। हैसियत प्रदर्शनजीवनको उद्देश्य बन्दै गएको छ।
    शहरमा घर बनाउने, महँगो घर बनाउने, छोराछोरीलाई महँगो स्कूलमा पढाउने एवं उच्च शिक्षाका लागि विदेश पठाउने, राम्रो आम्दानी (घूस) आउने जागिर खोज्ने, समाजमा आफ्नो हैसियत देखाउन (विवाह, जन्मोत्सव, भोज, तिलक, दहेज आदिमा) बढी पैसा खर्च गर्ने, नहुनेले ऋण नै भए पनि लिने, राम्रो आम्दानीका लागि जसरी भए पनि विदेश जाने, मोटरसाइकल, कार राख्ने, अहिले नेपाली सपनाहुन पुगेको छ। स्तर प्रदर्शन अहिले नेपाली सपना हुन पुगेको छ। यो सपनाको पछि लागेर केहीले स्वदेशमा नै घूस वा गलत आर्जनलाई नैतिक मानिरहेका छन् भने लाखौं नेपाली युवा अहिले विदेश पलायन भइरहेका छन्। यो सपनापूर्तिको लोभ देखाएर मानव तस्करहरूले  नेपालका हजारौ युवालाई मध्यपूर्वका देशहरू लगायत युरोप एवं अमेरिकासम्म पनि पुर्याइरहेका छन्। यसरी एकातिर नेपाली युवाहरू ज्यादै महत्वाकाङ्क्षी सपना देखेर दुःख पाइरहेका छन् भने उनको सपनाको शोषण गर्दै मानव तस्करहरूले करोडौं कमाइरहेका छन्।

    सर्वाधिक दर्दनाक स्थिति भने मध्य पूर्वमा पुर्याइएका नेपाली चेलीहरूको छ किनभने ती देशहरूमा पुर्याएर नेपाली चेलीहरूलाई यौनदासीहुन मानव तस्करहरूले बाध्य पारिरहेका छन्। डान्स बारहरूमा नाच्न घचेटिरहेका छन्। नेपाली सपनाको पछि लागेर, नेपालका सोझासाझा चेलीहरू इराक र सिरिया जस्ता अति असुरक्षित देशहरूमा पुगिरहेका छन्। यी सोझासाझा चेलीहरूलाई यतिसम्म पनि थाहा छैन कि इराक र सिरिया आफै युद्ध पीडित मुलुक हुन्। यी मुलुकहरूमा त्यहाँकै सामान्य नागरिकहरूको ज्यान कुनै पनि बेला जान सक्ने स्थिति छ। यी मुलुकहरूबाट ठूलो सङ्ख्यामा यिनै देशका नागरिक शरणार्थी बनेर विदेश पलायन भइरहेका छन्। निरन्तरको युद्धले यी मुलुकहरूबाट मानवता कुन स्तरमा खसेको छ भने इराक तथा सिरियामा मान्छेलाई सार्वजनिक रूपमा काट्नु वा जलाउनु सामान्य हुन पुगेको छ। तर मानवताको घोर अपमान र जघन्य अपराध हुने मुलुकहरूमा पनि नेपाली चेलीहरू उज्ज्वल भविष्यको सपना बोकेर पुगिरहेका छन्। अफसोच नेपालका चेलीहरूलाई त्यहाँ पुगेर नारकीय एवं डरलाग्दो जीवन बाँच्नुपर्छ भन्ने थाहा हुन सकिरहेको छैन। वा सपनाको पछि लागेर थाहा पाउन सकिरहेका छैनन्।

    राम्रो आम्दानी हुने प्रलोभनमा संसारका अनेक मुलुकहरूमा पुर्याइएका नेपाली युवाहरूको कथा पनि कम दर्दनाक  छैन। मानव तस्करहरूले नेपाली युवाहरूलाई अहिले मध्यपूर्वका देशहरूसाउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स, बहरेन मात्र होइन, युरोपका विभिन्न मुलुकलगायत अति नै जोखिमपूर्ण यात्रा गराएर अमेरिकासम्म पुर्याइरहेका छन्। नेपाली युवाहरूलाई अमेरिका पुर्याउने मानव तस्करहरूले गैरकानुनीरूपमा अति लामो एवं जोखिमपूर्ण यात्रा गराएर, अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको बाटो प्रयोग गर्दै गैरकानुनीरूपमा अमेरिका प्रवेश गराउने गरेका छन्। नेपालबाट अमेरिका पुर्याउन एक व्यक्तिबाट मानव तस्करको सञ्जालले रु तीस लाखसम्म पनि लिने गरेको छ। तर अमेरिकासम्म पुग्ने यात्रा यति जोखिमपूर्ण हुन्छ कि बाटोमा नै कतिपय व्यक्तिको ज्यान जाने स्थिति हरपल विद्यमान रहन्छ। धेरैको ज्यान गएको पनि छ। कतिपय अवस्थामा नेपालबाट अमेरिका पुग्ने बाटोमा रहेका विभिन्न देशहरूका यसरी अमेरिका 
प्रवेश गर्न खोज्नेहरूले भोकभोकै बस्नुपर्ने हुन्छ, विभिन्न जेलहरूमा बस्नुपर्ने पनि हुन्छ।
    ‘अमेरिकामा पैसा रूखमा फलेको हुन्छ त्यहाँ गएर टिप्ने मात्र होभन्ने विश्वासका साथ अमेरिका आउनेहरूको दर्दको कथा भने अमेरिका पुगेर समाप्त हुँदैन। गैरकानुनीरूपमा अमेरिका पसेको उसको स्थितिले हरदम उसलाई सताउने मात्र होइन, ठूलो मात्रामा धन आर्जन गर्न नसकेको चिन्ताले पनि दुःख दिन शुरु गर्छ अनि प्रारम्भ हुन्छ नैराश्य (Depression
) को सिलसिला। मेघदूतको यक्षको जीवन प्रारम्भ मात्र हुँदैन कम ज्याला (गैरकानुनी कामदार भएकोले) पाउने हुनाले लामो समयसम्म कार्य गर्नुपर्दा शरीर हरदम थकित र गलित रहन्छ। विचारणीय कुरा के छ भने जुन व्यक्तिले नेपालमा रु तीस लाख तिरेर अमेरिका आउने आर्थिक क्षमता राख्छ उसले नेपालमा नै कुनै व्यवसाय गर्न सक्तैन? स्वतन्त्र किसिमले कुनै व्यवसाय रोज्न सक्तैन? तर यस्तो हुँदैन। यस्तो किन हुँदैन भने प्रथमतः नेपालीहरू स्वदेशमा यो सानो काम होभन्दै त्यस्तो काम गर्न हिचकिचाउँछन् । दोस्रो, सामान्य किसिमको काम गर्नेलाई नेपाली समाजले पनि इज्जत दिंदैन। तेस्रो नेपालीहरूमा व्यवसायको नयाँ अवसरहरूको खोजी गर्ने संस्कृतिको विकास नै भएको छैन वा बहुसङ्ख्यक नेपालीहरूलाई व्यापार गर्नै आउँदैन।
    अहिले नेपालीहरू जुन किसिमले राम्रो आम्दानीको लागि विदेश पलायन भइरहेका छन् के त्यो पलायन केवल गरिबीले गर्दा हो? यो प्रश्न ज्यादै गम्भीर छ। नेपालका ज्यादै गरिब जिल्लाहरू बाजुरा, कालिकोट, बझाङ, हुम्ला, जुम्ला, अछाम, मुगु, डोल्पा, सिरहा, रौतहट  छाडेर कुरा गर्ने हो भने अन्य जिल्लाहरूमा व्यक्तिहरू खान नपाएर मर्ने स्थिति छैन, न भोकमरी छ। तर नेपालका सम्पूर्ण जिल्लाहरूबाट व्यक्तिहरू विदेश पलायन हुन खोजिरहेको स्थिति छ। राम्रो आम्दानी हुने शहरका बासिन्दाहरू पनि विदेश पलायन हुन खोजिरहेका स्थिति छ। यस्तो किन भएको होला? यस प्रश्नको उत्तर खोजौं।

    यस प्रश्नको उत्तर खोज्नु पूर्व विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको सन् २०१५ को प्रतिवेदन हेरौं। उक्त प्रतिवेदनले के भन्छ भने नेपाल विश्वमा अति आत्महत्या गर्ने मुलुकहरूको श्रेणीमा सातौ स्थानमा छ। सो प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष प्रतिएक लाख व्यक्तिमा पच्चीसजनाले आत्महत्या गर्छन् र प्रत्येक वर्ष नेपालमा ७ हजार जति व्यक्ति आत्महत्या गर्छन्। यसरी आत्महत्या गर्नेहरूमा धनी र राम्रो हैसियत हुनेहरू पनि पर्छन्।

    अचम्म त के कुरामा छ भने भारतजस्तो ज्यादै घना आबादी भएको देशभन्दा नेपालमा आत्महत्याको दर बढी छ। भारतको स्थान आत्महत्या गर्ने मुलुकहरूको श्रेणीमा एघारौंमा छ । प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौ स्थानमा भने क्रमशः गुएना, दक्षिण कोरिया, श्रीलङ्का, लिथुआनिया, मोजाम्बिक पर्दछन् (विश्व स्वास्थ्य सङ्गठन सन २०१२)।

    नेपालीहरू ठूलो सङ्ख्यामा विदेश किन पलयान भइरहेका छन् त्यस प्रश्नको उत्तर अब खोजौं। जसरी भए पनि कमाउनुपर्छ किनभने नेपालमा गरिब भएर बाँच्नु कठिन मात्र होइन, बेइज्जत पनि हो। समाजमा व्याप्त यो भावनाले अहिले रकेट लन्चरको काम गरिरहेको छ र यो रकेट लन्चरले बलपूर्वक नेपालीहरूलाई संसारका अनेक देशहरूमा पुर्याइरहेको छ। नेपालीहरू अहिले रकेट झै तीव्र गतिमा विदेशतिर पलायन भइरहेका छन्, नेपाली सपना पूर्तिका लागि ।

    गरिबी विश्वका अन्य मुलुकहरूमा पनि छ। यदि गरिबीको कारणले मात्र नेपालमा आत्महत्या बढी हुने गरेको हो भन्ने तथ्यलाई मान्ने हो भने विश्वका अन्य गरिब मुलुकहरूमा पनि उच्च स्तरमा आत्महत्या हुनुपर्ने हो नि? साउदी अरेबियामा पनि गरिब होलान् तर त्यहाँ आत्महत्या दर ज्यादै न्यून छ। 

साउदी अरेबियामा प्रतिवर्ष केवल हरेक पाँच लाखमा एक व्यक्तिले आत्महत्या गर्छ।
    नेपालमा समाजको बनौट अहिले यस्तो भएर गएको छ कि गरिब भएर बाँच्न कठिन छ। र त्यो कठिनाइ आर्थिक कारणले होइन, मानसिक कारणले भएको हो। गरिबलाई नेपाली समाजले इज्जत नै दिंदैन। अर्कातिर नेपाली समाजले आफ्नो आर्थिक हैसियत देखाउनुपर्छ भन्ने कुरामा बलियो विश्वास गर्दछ।  नेपाली समाजमा व्यक्ति एवं परिवारहरूले आफ्नो सामाजिक र आर्थिक हैसियत वा स्तर देखाउन बढी पैसा खर्च गर्छन्। खास आवश्यकता पूर्तिका लागि भन्दा पनि स्तर प्रदर्शनका लागि बढी पैसा खर्च गरिन्छ। अर्कातिर गरिबलाई हेला गरिन्छ। गरिबको उपहास गरिन्छ। गरिब हुनुलाई अभिशाप मानिन्छ। गरिबले नेपालमा शिर ठाडो पारेर हिंड्न गार्हो छ। गरिबले अनेक किसिमको सामाजिक दुव्र्यवहार सहनुपर्दछ। यो नै प्रमुख कारण हो।  नेपालमा मानिसहरू जसरी पनि पैसा कमाउनुपर्छ र यसका लागि विदेश जानुपर्छ भन्ने मनोविज्ञानबाट पीडित छन्।

    हालै तीज पर्व समाप्त भएको छ। यो पर्वलाई धेरैले आफ्नो स्तर प्रदर्शन (मोटो छड्के तिलहरी लगाउने, भोजभतेर गर्ने) मा प्रयोग गरे। आउने दशैं, लक्ष्मीपूजा, फागुमा पनि यस्तै स्थिति देखा पर्नेछ।

    नेपाली समाजले गरिबलाई सहयोगको साटो हेला गर्ने, गरिब तर इमानदारलाई इज्जत नदिने, धनी तर बेइमानलाई इज्जत दिने गरेको हुनाले नै नेपाली समाजमा निरपेक्ष र सापेक्ष दुवै किसिमको गरिब भएर बाँच्न कठिन छ। यो कारणले गर्दा नै ठूलो सङ्ख्यामा नेपाली युवाहरू विदेश पलायन गरिरहेका छन्। स्वदेशमा ठूलो सङ्ख्यामा आत्महत्या गर्नुको कारण पनि यो नै हो। त्यस कारण नेपालको गरिबी आर्थिक कम मानसिक बढी हो। सामाजिक हैसियत वा स्तर प्रदर्शनमा विश्वास गर्नु मानसिक गरिबी होइन त?
विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, September 16, 2016

Friday, September 9, 2016

Book Business in Nepal-Article-121

नेपालमा किताबहरू किन सजिलै बिक्री हुँदैनन्?

नेपालमा किताबहरू किन सजिलै बिक्री हुँदनन?
यो प्रश्नको उत्तर दिनु भन्दा पहिले विदेशमा किताब बिक्री-व्यवसायको स्थिति कस्तो छ त्यसबारे छोटो चर्चा गरौ। र यस चर्चाका लागि एक प्रतिनिधि उदाहरण हेरौ।
बेलायतकी प्रशिद्ध लेखक वा उपन्यासकार जे. के. रोलिंग (J K Rowling) ले सन् १९९७ मा लेखेको एक काल्पनिक उपन्यास “हैरी पोटर” अहिलेसम्म (सन् २०१६) मा ४५ करोड प्रति बिक्री भइसको छ। र यो किताब विश्वको ७३ भाषाहरूमा अनुवाद भइसकेको छ। यो किताब संसारकै सबै भन्दा बढी बिक्री हुने किताब त हो नै साथै किताब- बिक्रीको इतिहासमा यो सर्वाधिक बिक्री भएको र वहुचर्चित किताब पनि हो।
संसार भरिमै चर्चा पाएको यो किताब, “हैरी पोटर” ले एउटा मानक पनि बनायो। त्यो के भने यदि किताबले कुनै नया किसिमको विषय समेटेको छ, त्यसले पाठकको ध्यान तान्ने क्षमता राख्छ र किताबको लागि बिक्री- बजार व्यवस्थित किसिमको छ भने असल बजार पाएर त्यस्तो किसिमको विषय समेटेको किताबले संसारको नै बजार पाउन सक्छ। त्यस्तो किताब बिक्री हुन समस्या हुँदैन।
यति धेरै बिक्री भएको किताबको लेखकलाई कति आम्दानी प्राप्त भएको होला? यो कुराको अनुमान सहजै लगाउन सकिन्छ। किताबको लेखक मात्र होइन खुद्रा बिक्रेता, थोक बिक्रेता, प्रेस र अन्य सम्बन्धित व्यक्ति वा संस्थाहरूले पनि राम्रो आम्दानी प्राप्त गरेका होलान।
 मिगेल डि सरभन्टिसद्वारा लिखित किताब “डन क्विसोट”  करोडौंको संख्यामा बिक्री भएको थियो। यसैगरी चार्लस डिकिन्सद्वारा लिखित किताब “टेल अफ टु सिटिज” पनि २० करोड प्रति बिक्री भएको थियो। ठूलो संख्यामा किताब बिक्री भएको उदाहरणहरू थुप्रै छन।

नेपालमा किताबहरू बिक्री नहुने समस्याबाट सम्बन्धित सबै पक्षहरू पीडित छन् तर यस विषयमा कसैले पनि न त गहन अनुसन्धान गर्यो न त व्यवस्थित किसिमले अध्ययन नै। किताब बिक्री नहुने समस्याबारे न त चर्चा नै भएको पाइन्छ। आम्दानीको यति राम्रो श्रोतबारे कसैलाई पनि चाँसो छैन। किताबको बिक्रीबाट हजारौंले रोजगारी पाउँछन। धरैको घर गृहस्थी चल्छ। तर पनि यो क्षेत्रले किन महत्व नपाएको होला? कसैले भन्न सक्छ नेपालीहरूको क्रय शक्ति कमजोर भएर वा मुलुकमा गरिबी भएर किताबहरू बिक्री न भएको हो। यदि यस्तो हो भने नेपालमा रक्सी, चुरोट आदि कसरी ठूलो परिमाणमा बिक्री हुन्छ? यी कुराहरु खरिद गर्न नेपलीहरूको हातमा कसरी पैसा आइ पुग्छ? कसरी क्रयशक्ति कसरी ह्वात्तै वृद्धि हुन्छ?
नेपालमा खास गरी साहित्यिक किताबहरू बिक्री हुदैनन्। स्कूल र केजलमा पढाइ हुने किताबहरू पनि जेनतेन बिक्री हुन्छन। यदि परीक्षामा अनुतिर्ण हुने भय विद्यार्थीहरूमा नहुँदो हो त कोर्सका किताबहरू पनि विद्यार्थीहरूले किन्ने थिएनन्। कोर्सका किताबहरूको हालत पनि साहित्यिक किताबको जस्तो हुने थियो।
यस आलेखमा भने साहित्यिक किताबहरू किन बिक्री हुँदैनन, त्यस प्रश्नको उत्तर खोज्ने प्रयास गरिने छ।
नेपालमा साहित्यिक किताबहरू बिक्री नुहुनका मुख्य दुई कारणहरू छन। पहिलो, नेपालमा पठन-पाठन संस्कृतिको विकास नहुनु। दोस्रो, किताब-बिक्री व्यवसायका सम्बन्धित पक्षहरू बीच समन्वय नहुनु तथा उनीहरूले एकीकृत प्रयास नगर्नु वा एक पक्षले अर्को पक्षलाई बेवास्ता गर्नु।  हामी दोस्रो कारणको चर्चा गरौ।
कुनै एक किताबको प्रकाशनमा विभिन्न पक्षहरू संलग्न भएका हुन्छन। सर्वप्रथम लेखक संलग्न भएको हुन्छ। यसैगरी त्यो किताबको पाण्डुलिपि हेर्ने, टाइप गर्ने, प्रेसको कर्मचारी, प्रकाशक, बितरक, थोक बिक्रेता, खुद्रा बिक्रेतागरी अन्य विभिन्न पक्षहरू समाविष्ट भएका हुन्छन। कुनै एक किताबको प्रकाशन भएर बिक्री हुँदा त्यस किताबको बिक्री बाट आएको पैसा यी विभिन्न पक्षहरूको (विभिन्न परिमाणमा) हातमा पर्छ। यसरी एउटा किताबले केवल एक खुद्रा बिक्रेतालाई मात्र आम्दनी गराउँदैन साथै सम्बन्धित अनेक पक्षहरूलाई पनि आम्दानी गराउँछ। तर नेपालमा स्थिति दर्दनाक छ। मुख्य गरी साहित्यिक किताबहरूमा। कुनै एक साहित्यकारले साहित्यिक किताब प्रकाशित गर्छ त्यस अवस्थामा उसले प्रकाशनमा लाग्ने सम्पूर्ण खर्च स्यवंले नै बेहोर्छ किनभने ज्यादै कम किताबहरू मात्र प्रकाशकको लगानीमा प्रकाशित हुने गरेको छ। त्यसरी केवल आफ्नो लगानीमा प्रकाशित गरेको किताब उक्त लेखकले “बिक्री संजाल” को अभावमा बिक्री गर्न सक्तैन। र बिक्री संजालले जानेर वा नजानेर सहयोग पनि गर्दैन। अर्कोतिर बिक्री नभएको कारणले उक्त लेखकले त्यो किताब घरमा लगेर, बोरामा कसेर, थन्क्याउँछ र पछि “खाली सिसी पुरानो कागज” को क्रेतालाई बिक्री गर्छ वा हुन्छ। नेपालको नाम चलेको एक लेखकको एक पुस्तक एक चनाचटपटेको बिक्रेताले (त्यो पुस्तकलाई) च्यात्दै चना चटपटे बिक्री गरेको म स्वयंले देखेको छु।
कतिपय साहित्यकारहरूले घरको गहना बिक्री गरेर वा बन्धकी राखेर, ऋण लिएर, संकटकालीन अवस्थामा खर्च गर्ने बचत प्रयोग गरेर किताब प्रकाशित गरेको सुनिएको छ र यसरी अर्थ अभावमा पनि प्रकाशित गरेको किताब घरमा लगेर धन्क्याएको र केवल ऋण मात्र टाउकोमा थुपारेको पनि सुनिएको छ। 
नेपालमा किताब बिक्री संजालले साहित्यिक किताबको लेखकलाई  किताब बिक्री गर्न पटक्कै सघाउँदैन। यसरी नसघाउने कार्य जानेर वा नजानेर गरेको हो, त्यो अझै प्रष्ट गरी ज्ञात हुन सकेको छैन।  
किताब बिक्री संजाल भन्नाले प्रकाशक, बितरक, थोक बिक्रेता, खुद्रा बिक्रेता, केन्द्रीय सरकार (सूचना विभाव वा शिक्षा मन्त्रालय), स्थानीय सरकार (नगरपालिका) आदिको को समूह बुझ्नु पर्ने हुन्छ। यी विभिन्न पक्षहरूले किताब बिक्रीका लागि एकीकृत रुपमा कार्य गर्ने हुनाले नै यीनीहरूको समूह वा संयुक्त प्रयासलाई संजाल  भनिएको हो।
नेपालमा कुनै एक साहित्यकारले एक किताब प्रकाशित गरेपछि त्यसको प्रचार प्रसार प्रकाशकले गरिदिएको ज्यादै कम देख्न पाइन्छ। यसैगरी उक्त साहित्यकारको किताबको बितरक, थोक बिक्रेता वा खुद्रा बिक्रेताले प्रचार प्रसार गरिदिएको त झनै देख्न पाइँदैन। सरकारले गरिदिने त कुरै भएन। यस्तो किन भएको हो भने कुनै एक साहित्यकारले लेखेर बजारमा ल्याएको किताबलाई बितरक, थोक बिक्रेता र खुद्रा बिक्रेताहरूले आफ्नो व्यापार नै ठान्दैनन। त्यो किताबको बिक्री राम्रो भएमा त्यसबाट आफूहरूले राम्रो आम्दानी प्राप्त गर्ने तथ्यलाई बेबास्ता गर्छन। “अर्काको काममा किन टाउको दु:खाउने” भन्ने मनोविज्ञानबाट ग्रसित हुन पुग्छन। जबकि कुनै एक कृतिकारको कृति राम्रो परिमाणाम बिक्री भएमा बितरक, थोक बिक्रेता र खुद्रा बिक्रेताले आदिले त राम्रो आम्दानी प्राप्त गर्छन नै, साथै प्रेसका कर्मचारी, टाइप गर्ने व्यक्ति, प्रुफ रिडर, आदिले पनि रोजगारी पाउँछन।
किताबको बिक्रीबाट यति राम्रो आम्दानी हुने औसरलाई हामी त्येतिकै गुमाइ रहेका छौ। यथार्थमा भन्ने हो भने हामीलाई व्यापार गर्न नै आउँदैन। व्यापारको औसर पहिचान गर्न र त्यसबाट भरपुर फाइदा उठाउन नै आउँदैन। नेपाली समाजलाई मारवाडी समुदायले व्यापार नसिकाएको भए व्यापारको क्षेत्रमा नेपाल अझै पछाडि रहने थियो। बिराटनगर, बीरगंज, काठमाडौ जस्ता नेपालका ठूला सहरहरूमा व्यापारिक गतिविधिहरूको विकास गर्नमा मारवाडी समुदायको ठूलो योगदान छ। अहिले पनि नेपालका ठूला व्यापारीहरूको चर्चा हुँदा मारवाडी व्यापारीहरुको नाम पहिले आउँछ, उदाहरणका लागि विनोद चौधरी। मारवाडी समुदाय पछि नेपालकमा व्यापारिक गतिविधिको विकासमा नेबार समुदायको योगदान पनि महत्वपूर्ण रहेको देखिन्छ।  
नेपाल, इतिहास कालदेखि नै व्यापारप्रति उदासीन रहँदै  आएको देखिन्छ। व्यापारमा नेपालीहरूको सीपको विकास हुन सकेन र साथै सोंच पनि संकिर्ण नै रह्यो। भारतमा भने परापूर्व कालदेखि नै व्यापारको विकासमा जोड दिइएको पाइन्छ। प्राचीन कालमा भारतका व्यापारीहरू युरोपबाट आउने व्यापारीहरूलाई आफ्नो सामान बिक्री गर्न एवं उनीहरूबाट सामान किन्न मध्य पूर्व (पर्सिया- हालको इरान) पुग्थे। भारतमा इष्ट इण्डिया कम्पनीको आगमन भएपछि भारतमा ब्यापरिक गतिविधितले तिब्रता पायो।
नेपालले धेरै पछि मात्रा तिब्बतसँग व्यापार गर्न थालेको हो। त्यो पनि नेपाली व्यापारीहरू जो व्यापारमा कुसल थिए, उनीहरू तिब्ब पुगी त्यहाँ बसरे व्यापार गर्थे।
अहिले पनि हामी व्यापारको क्षेत्रमा निकै पछाडि छौ। यो कारणले गर्दा नै लाखौको संख्यामा नेपालीहरू अरब पुगेका छन। तर अचम्म! नेपालमा व्यापारको औसर पहिचान गर्न न सकेका नेपालीहरू अरब पुगेर व्यापारको औसर पहिचान गर्छन अनि नेपाल फर्केर उन्नत किसिमबाट तरकारी खेति गरेर, वा अन्य व्यवसाय गरेर, राम्रो आम्दानी प्राप्त गर्छन।
अरब वा विदेश पुगेर आएपछि मात्र व्यापारको औसर पहिचान गर्न सक्ने स्थितिले हामी नेपाली व्यापारको क्षेत्रमा धेरै पछाडि छौ भन्ने तथ्यको पुष्टि हुँदैन?


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, September 9, 2016

Friday, September 2, 2016

Nepal Going to be Next Syria-Article-120

नेपाल अर्को सिरिया हुने खतरा


कुनै समय शान्त रहेको मध्यपूर्वको देश सिरिया अहिले कुरुक्षेत्र भएको छ। सन् २०११ मा केवल राष्ट्रपति बशरअलअसदको निरङ्कुश शासन व्यवस्थाको विरोध र राजनैतिक स्वतन्त्रताको माग गर्न सञ्चालन गरिएको साधारण किसिमको स्थानीय विरोधले अहिले भीषण गृहयुद्धको रूप लिएको छ। गृहयुद्ध पनि यति भयानक र हृदयहीन हुन पुगेको छ कि भर्खर बामे सर्न थालेका बालबालिका समेतलाई पनि युद्धरत पक्षले छाडेको छैन। तिनीहरूमाथि पनि बम वर्षा गरिरहेका छन्। निर्मम किसिमले बालबालिकहरूको पनि हत्या गरिरहेका छन् ।
   
सन् २०११ मार्चमा दारा भन्ने ठाँउमा सानो जन प्रदर्शनबाट शुरु भएको विरोधले अहिले भीषण गृहयुद्धको रूप त लिएको छ नै, साथै संसारभरिका राजनैतिक शक्तिहरूलाई सिरियामा पसेर आप्mनो ताकत देखाउन र राजनैतिक फाइदा उठाउन बाटो पनि खोलिदिएको छ। कट्टर जातीय सङ्गठन, इस्लामिक स्टेट, (क्ष्कबिmष्अ क्तबतभ) जसले यो संसारलाई नै एउटा इस्लामिक राष्ट्र बनाउने उद्देश्य राख्दछ र त्यसको लागि धर्मयोद्धाहरूलाई जीवन बलिदान गर्न प्रोत्साहित र निर्देशित गर्दछ, लाई जातीय चरम अत्याचार गर्न सजिलो पारिदिएको छ। इस्लामिक स्टेटका धर्मयोद्धाहरूले धर्मको नाममा, अन्य धर्ममा आस्था राखेको कारण हजारौं मानिसको निर्मम हत्या गरिसकेका छन् र त्यो सिलसिला अहिले पनि जारी छ। इराक भित्र पसेर, गैरइस्लामिक समुदाय र मुख्य गरी यजिदीहरूको ठूलो सङ्ख्यामा हत्या गरेका छन्, इस्लामिक स्टेटका धर्मयोद्धाहरूले। इस्लामिक स्टेटका धर्मयोद्धाहरूले अहिलेसम्म १५ हजारभन्दा बढी व्यक्तिहरूको हत्या गरिसकेको अनुमान गरिएको छ। उनीहरूले निर्दाेष नागरिकको हत्या गरेर लाशलाई सामूहिक किसिमले पुरेको सयौं चिहान फेला परेका छन्।
   
अहिले सिरियामा भएको गृहयुद्धमा युद्धरत पक्षहरूले अन्तर्राष्ट्रिय युद्ध नियमको पनि चरम उल्लङ्घन गरिरहेका छन्। मान्छेलाई जनताको अगाडि काट्ने, जलाउनेजस्ता मानवता विरोधी कार्य विद्रोहीहरूले गरिरहेका छन्। यो कार्य खासगरी इस्लामिक स्टेटले गरिरहेको छ।
   
सातौं वर्षमा प्रवेश गर्न थालेको सिरियाको गृहयुद्धमा बितेको छ वर्षमा ४ लाख ७० हजार भन्दा बढी नागरिकको हत्या भइसकेको छ। युद्धबाट अति प्रभावित ४१ लाख नागरिक सिरिया छाडेर अन्य मुलुकमा शरण लिन बाध्य भएको छ। यसैगरी ६५ लाख नागरिक घर छाडेर सिरियाभित्रै अनेक स्थानमा विस्थापित हुन पुगेको छ। सरकारी सेना र विद्रोहीबीच हुने दोहरो भीडन्तमा कुन बेला ज्यान जाने हो सिरियालीहरू हरदम त्रसित रहनुपर्ने स्थिति छ। कहीं पनि, कुनै बेला पनि, भीषण हवाई हमला हुने स्थिति छ।
   
सिरियाभित्र अहिले अनेक विद्रोही सङ्गठनहरू राष्ट्रपति असदको शासन व्यवस्था पतन गराउन सक्रिय छन् तर अचम्म १ यी विद्रोही सङ्गठनहरूबीच नै एकता छैन र उनीहरूबीच पनि युद्ध हुने गर्दछ। अहिले सिरियामा विभाजित अलकायदाका दुई सङ्गठनइस्लामिक स्टेट र अलनुस्रा फ्रन्ट, यसैगरी कुर्दिस समूह, जातीय सङ्गठनहरू, हेजबुल्ला, फ्रि सिरियन आर्मीजस्ता अनेक सरकार विद्रोही सङ्गठनहरू युद्धरत छन्। सिरियाको ठूलो भाग अहिले पनि जातीय सङ्गठन इस्लामिक स्टेटको नियन्त्रणमा छ।
   
सिरियामा अहिले मध्य पूर्वका दुई शक्तिसाली राष्ट्रइरान र साउदी अरेबियाले परोक्ष युद्ध (एचयहथ धबच) गरिरहेका छन्। यी राष्ट्रहरूको लगि सिरिया अहिले शक्ति प्रदर्शन गर्ने स्थान बनेको छ। कतार, इजराइल, लेबनान, फ्रान्स, संयुक्त अधिराज्य, जोर्डन, अमेरिकाजस्ता राष्ट्रहरू सिरियाको गृहयुध्दमा अप्रत्यक्षरूपमा संलग्न भएका छन् । रूस र टर्की त प्रत्यक्षरूपमैं संलग्न भएका छन्। निरङ्कुश एवं अति महŒवाकाङ्क्षी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरिया अहिले आप्mनो मसल देखाउने र युरोप र अमेरिकालाई तर्साउने माध्यम बनेको छ। रूसले असदको सरकारलाई सहयोग गर्न सन् २०१५ को सेप्टेम्बर महिनामा लताकिया नजिक रहेको सैनिक क्षेत्रमा युद्धबिमान, हेलिकप्टर, सतहबाट आकाशमा प्रहार गर्ने मिसाइल का साथै दुई हजार सेना सम्बद्ध कर्मचारीहरू तैनाथ गरेको थियो । सिरियाली गृहयुद्धमा परोक्ष वा प्रत्यक्ष संलग्न राष्ट्रहरूलाई सिरियाली नागरिकको चिन्ता छैन, चिन्ता छ भने केवल आफ्नो स्वार्थको।
   
असदको पतन गराउन वा असदका विरोधीहरूलाई सहयोग गर्न वा धर्मयुद्ध (जेहाद) मा भाग लिन विश्वभरिबाट अहिले ३० हजारभन्दा बढी धर्मयोद्धाहरू सिरिया पुगेका छन्। ट्युनिसिया, साउदी अरेबिया, रूस, जोर्डन, टर्की, फ्रान्स, बेलायत, मोरक्को, लेबनान, इजिप्ट, जर्मनी, अफगानिस्तान, पाकिस्तान लगायत विश्वका अनेक राष्ट्रबाट जेहादीहरू सिरिया पुग्ने क्रम जारी छ।
   
सिरियालीहरू अहिले दोहोरो प्रहारमा परेका छन्। एकातिर उनीहरूलाई असदको सेनाले दुःख दिरहेको छ भने अर्काेतिर विद्रोही सङ्गठनका लडाकूहरूले। यी दुई शक्तिको चेपमा परेर लाखौं निर्दाेष सिरियालीको ज्यान गइरहेको छ। सिरियाली गृहयुद्ध अहिले यस्तो पेंचिलो समस्या बनेको छ जसको समाधान टाढा टाढासम्म देखिएको छैन। यो गृहयुद्धमा यति धेरै किसिमका देशीविदेशी स्वार्थहरू पसेका छन् कि उनीहरूबाट सिरियालाई टाढा लगेर सिरियाली जनतालाई सुरक्षा प्रदान गर्नु दिवास्वप्न हुन पुगेको छ।
सिरियालाई यस्तो स्थितिमा कसले पु¥यायो?
   
यो प्रश्न आफैमा जटिल छ र यसको उत्तर दिन त्यति सजिलो छैन। मध्यपूर्वका देशहरूमा प्रजातन्त्र फस्टाउन सकेको छैन र प्रायःजसो मुलुकहरूमा दृश्य वा अदृश्य रूपमा निरङ्कुशतन्त्र हावी छ। इरान, साउदी अरेबिया, जोर्डन, टर्की, येमन जस्ता मुलुकहरूले ठीकसँग प्रजातन्त्र देख्न पाएका छैनन्। कुनै समयमा अति उदार मानिने इरान अहिले कट्टरपन्थीहरूको हातमा छ भने टर्की पनि विस्तारै निरङ्कुशताको दिशातर्फउन्मुख छ। यस्तो स्थितिमा सिरियाभित्र प्रजातन्त्रको माग गर्नु विदेशी शक्तिहरूलाई सिरियाको मामिलामा हस्तक्षेप गराउनु हुन पुग्यो। यस दृष्टिकोणबाट हेर्दा सिरियालाई यो स्थितिमा पु¥याउन सिरियाली नागरिक नै जिम्मेवार देखिन्छन्।
   
सिरियालाई यो स्थितिमा पु¥याउन राष्ट्रपति असदको सरकारको भने ठूलो भूमिका छ। असदको सरकारले घर भित्रको कलह शान्तिपूर्ण किसिमले समाधान गरेको भए, विदेशी शक्तिहरूको प्रवेश नगराएको भए स्थिति यस्तो हुने थिएन। सिरियाभित्र फैलिएको असद विरोधी आन्दोलन दबाउन सरकारले अति बल प्रयोग गरेको र राजनैतिक समाधान नखोजेको हुनाले नै स्थिति यस्तो भयावह हुन पुगेको हो। असद सरकारभन्दा पनि असद सरकारबाट फाइदा उठाउने व्यक्तिहरूको यसमा ठूलो हात छ, सिरियालई यो स्थितिमा पुर्याउन। असदको पतनमा आप्mनो अहित देख्नेहरूले असदलाई थप निरङ्कुश हुन उक्साए।
   
अक्षम नेता र उनीहरूलाई सघाउने राजनैतिक सङ्गठन र ती सङ्गठनका कार्यकर्ता एवं सम्बद्ध व्यक्तिहरूको अदूरदर्र्शी क्रियाकलापले गर्दा नेपाल पनि सिरिया हुने हो कि भन्ने चिन्ता हुन थालेको छ। नेपालमा हुने विभिन्न किसिमका सङ्घर्षहरूले नेपाल र नेपालीलाई सबल तुल्याउने नभएर विदेशी शक्तिहरूलाई नेपालभित्र प्रवेश गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सजिलो हुने स्थिति निर्माण गरिदिइएको छ। नेपालमा हुने जातीय एवं क्षेत्रीय आन्दोलनले त नेपालभित्र विदेशी शक्तिहरूलाई पस्न झनै अनुकूल स्थिति उत्पन्न गरिदिएको छ। विगतमा भएको मधेस आन्दोलनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न भारत र चीनलाई अति सरल तुल्याइदिएको सबैले अनुभव गरेकै कुरा हो।
   
नेपालको आन्तरिक मामिलामा भारतले प्रत्यक्ष हस्तक्षेप गरे तापनि, माइक्रो मैनेजमेन्टमा सक्रिय भाग लिए तापनि, चीनले भने अहिलेसम्म प्रत्यक्ष हस्तक्षेप गरेको देखिएको छैन। यसैगरी अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालको राजनीतिलाई अप्रत्यक्षरूपले प्रभावित पारे तापनि, प्रत्यक्षरूपले भने प्रभावित पारेको देखिएको छैन। तर नेपालमा विभिन्न बहानामा अनेक सङ्घर्षहरू यसै किसिमले भएमा, सरकार अस्थिर हुँदै गएमा, कर्मचारीतन्त्र जनतामुखी नएर पार्टी र नेतामुखी हुँदै गएमा, नेताहरू स्वार्थ केन्द्रित भएमा र राजनैतिक दलहरूले राष्ट्रिय समस्याको समाधान शान्तिपूर्ण तवरले देशभित्र नखोजेर दिल्ली एवं बेजिंग दौडेमा, नेपाल सिरिया हुन बेर लाग्नेछैन। नेपाल सिरियाजस्तो हुन पुगेमा नेपालीहरूले कुन स्तरसम्मको दुःख पाउने छन् भन्ने यथार्थ सिरियाको गृहयुद्ध हेरेर सजिलै अनुमान गर्न सकिन्छ। नेपाल, भारत र चीनको परोक्ष युद्ध गर्ने स्थल भएमा नेपालीहरूको स्थिति कस्तो हुने हो? कल्पना गर्दा पनि डर लाग्छ। पञ्चायतकालमा नेताहरूले नेपाललाई परोक्ष युद्ध हुने स्थल हुन दिएका थिएनन्। छिमेकी अफगानिस्तानमा अमेरिका र सोभियत रूसबीच परोक्ष युद्ध भए तापनि नेपालमा परोक्ष युद्ध हुन पाएको थिएन किनभने त्यति खेर पञ्चायतका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि भारतप्रति अति भक्ति देखाएका थिएनन्। नेपालभित्र विदेशी हस्तक्षेप हुने स्थिति सृजना गरेका थिएनन्, प्रजातन्त्र फस्टाउन नदिए तापनि। तर अहिले नेताहरूले गरिरहेका छन्। नेपाललाई भारतपरस्त बनाउन पुष्पकमल दहालको ठूलो भूमिका छ।
   
तर अब यो नयाँ परिस्थितिमा, नेपाललाई सिरिया हुन नदिन जनता र नेता दुवै पक्षले गम्भीरतापूर्वक सोच्न आवश्यक छ। बैलेमा नसोचेमा नेपालको बर्बादीको साक्षी नेपालीहरू नै हुनुपर्नेछ। विदेशी शक्तिहरूले त नेपालमा हुने अस्थिरतामा केवल आप्mनो स्वार्थ मात्र देख्नेछन, सहयोगको हात बढाउने छैनन्। नेपालका सबै राजनैतिक दलका नेताहरूले यो यथार्थ बुझिदिए हुनथ्यो। 

विश्वराज अधिकारी


(प्रतीक दैनिकमा प्रकाशितिFriday, September 2, 2016)