Friday, January 27, 2017

Poverty is the By-product of A Rebellious Culture-Article- 141

आर्थिक विकासको आधार प्रजातान्त्रिक संस्कार, सन्दर्भ गाम्बिया

 

यस आलेखमा चर्चा गर्न  खोजिएका घटनाहरू यसै जनवरी महिनाको तेस्रो साताका हुन्। जनवरी २० तारिख (२०१७) का दिन यता अमेरिकामा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बराक ओबामाले एक भव्य सार्वजनिक समारोहबीच सत्ता हस्तान्तरण गरिरहेका थिए भने उता सोही दिन पश्चिमी अफ्रिकी देश गाम्बियाका राष्ट्रपति याहयाह जामेहले निर्वाचित राष्ट्रपति एडमा बारोलाई सत्ता हस्तान्तरण गर्न अटेर गरिरहेका थिए, मसल देखाइरहेका थिए। बिनाभेदभाव कानुनको कडाइका साथ पालना र प्रजातान्त्रिक संस्कार भएको मुलुक अमेरिकामा सत्ता हस्तान्तरण पारदर्शी र सर्वसाधारणले पनि हेर्न पाउने किसिमबाट अति नै सहजरूपमा भइरहेको थियो भने प्रजातान्त्रिक संस्कार विकास नभएको देश गाम्बियामा भने राष्ट्रपति जामेहले सत्ता हस्तान्तरण गर्नुको साटो सैनिकहरूलाई आफ्नो पक्षमा खडा हुन एवं एडमा बारोको विरोधमा मुठभेड गर्न निर्देशन दिइरहेका थिए। आफ्नो सत्ता टिकाउन गाम्बियाका ब्यारेकहरूमा गोप्य वार्ताहरू गराइरहेका थिए। यति मात्र होइन, गत वर्ष डिसेम्बर महिनामा भएको आम निर्वाचनमा आफू पराजित भएपछि राष्ट्रपति पदमा निर्वाचित एडमा बारोलाई सत्ता हस्तान्तरण गर्नुको साटो धाँधलीपूर्ण चुनाव भयो भन्दै जामेहले ९० दिने राष्ट्रिय आपतकाल घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय र इकोवास (Economic Community of West African States) ले एडमा बारोको विजयलाई मान्यता प्रदान गरी जामेहलाई सत्ता हस्तान्तरण गर्न भन्दा पनि उनले अटेर गरिरहेका थिए। आम चुनावमा विजयी उम्मेदवार एडमा बारोले राष्ट्रपति पदको शपथ आफ्नो देशभित्र लिन नसकी छिमेकी देश सेनेगल पुगेर राजधानी डकारमा शपथ लिएका थिए। यो आलेख तयार पार्दासम्म एडमा बारो छिमेकी देश सेनेगलमा नै छन्। निर्वाचित भए तापनि शपथ अर्को देशमा पुगेर लिनुपर्ने कस्तो राजनैतिक संस्कार हो? कति दुर्भाग्यपूर्ण कुरा हो?
    गाम्बियाका दोस्रो राष्ट्रपति जामेह प्रारम्भमा एक सेना अधिकृत थिए। सन् १९९४ मा सैनिक विद्रोह गरेर उनी सत्तामा आएका थिए। सत्तामा आएर राष्ट्रपति हुँदा जामेह केवल २९ वर्षका थिए। सन् १९९४ देखि २०१७, अर्थात् २२ वर्षसम्म निरन्तर शक्तिमा रहेका जाहेमले आर्थिक विकासका कार्यहरू त केही गरेनन् नै, गाम्बियालाई दरिद्रपारेर गए। देशभित्र नै ठूलो जन असन्तोष र बाह्य शक्तिहरूको दबाब बढ्दै गए पछि उनी अहिले स्वनिष्कासनमा इक्वेटेरियल ग्युनी पुगेका छन्। समाचारहरूका अनुसार जामेहले करिब १ करोड १० लाख डलर बराबरको नगद र सम्पत्ति लुटेरासरह आफूसाथै गाम्बियाको ढुकुटीबाट लुटेर लगेका छन्। देशलाई लुट्ने पनि नेता? कस्तो अचम्म!
    जामेह निर्वासनमा सजिलोगरी गएका भने होइनन्। एक किसिमले उनलाई गलहत्याएर पठाइएको हो। आफ्नै जीउ ज्यानको खतरा हुने देखेपछि उनी भागेका हुन्। सजिलै सत्ता छाडने उनको विचार थिएन। तर आफ्नै जनताको असन्तोष र छिमेकी देश सेनेगलको दबाब खेप्न सकेनन्। देशको जनतालाई त दबाएर राखेका थिए। तर सेनेगलको सैनिक हस्तक्षेप नै निर्णायक हुन पुग्यो, उनलाई सत्ताच्युत गर्न।

    जामेहलाई सत्ता छाडन गत शुक्रवारसम्म अल्टिमेटम दिइएको थियो। तर उनले सत्ता छाडने मनस्थिति देखाएनन्। यस्तो अवस्था विकसित भएपछि सेनेगलका सैनिकहरू जामेहलाई पदत्याग गराउन गाम्बिया प्रवेश गरेका थिए। सैनिक हस्तक्षेप गर्न पुगेका थिए। सेनेगलका सेनाहरूलाई क्षेत्रीय (अन्य मुलुकका) सेनाहरूको पनि सहयोग प्राप्त थियो। विदेशी सेना आफ्नो मुलुकभित्र प्रवेश गर्दासम्म पनि जामेहले सत्ता मोह त्याग गरेका थिएनन्। मरुटानिया र गिनीका राष्ट्रपतिहरूले गाम्बियाको राजधानी बान्जुल पुगेर जामेहलाई सम्झाएपछि मात्र उनी सत्ता छाडेर अन्य मुलुकमा पलायन हुन तयार भएका थिए। सत्ता नछोडेको अवस्थामा स्थिति रक्तपातपूर्ण हुनेछ भनी मध्यस्थकर्ताहरूले जामेहलाई भय देखाएका थिए। एक किसिमबाट उनलाई क्षमा दिइएको पनि हो। र यस्तो नगरेको भए गाम्बियामा ठूलो रक्तपात हुन सक्थ्यो।

    अमेरिका र गाम्बियामा एकै समयमा एकै किसिमका घटनाहरू (सत्ता हस्तान्तरण) भएको थियो। तर सत्ता हस्तान्तरणका तरिका भने पृथक थियो। अमेरिकामा सत्ता हस्तान्तरण निर्धारित कानुनको आधारमा, शान्तिपूर्वक र सुसंस्कृत किसिमले भयो भने गाम्बियामा सत्ता हस्तान्तरण बाह्य शक्तिको प्रयोग, झगडा, झन्झट एवं बलपूर्वक भयो। यस्तो किन भयो? उत्तर सरल छ। अमेरिकामा प्रजातान्त्रिक संस्कार छ, गाम्बियामा छैन। गाम्बियामा मात्र होइन, अफ्रिकी धेरै देशहरूमा अहिलेसम्म पनि प्रजातान्त्रिक र उत्तरदायी संस्कारको विकास हुन सकेको छैन। अफ्रिकाका धेरै देशहरू अहिले पनि तानाशाहरूको अधीनमा छन्। प्रजातन्त्रको नाममा तानाशाही गर्ने फेरि अर्काथरि छन्। उदाहरणका लागि जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगावे। प्रजातान्त्रिक संस्कारको अभावले गर्दा अफ्रिकामा आर्थिक विकास हुन सकिरहेको छैन। त्यसकारण अफ्रिकाका धेरै राष्ट्रहरू गरिब छन्। असल प्रजातान्त्रिक संस्कार नभएसम्म कुनै पनि मुलुकको आर्थिक विकास सम्भव छैन। प्रजातान्त्रिक संस्कार नभएको देश निरन्तर गरिबीको कुचक्रमा रुमलिइरहन विवश हुन्छ। दुष्चक्रबाट बाहिर आउन सक्तैन, नेपाल आउन नसकेजस्तै।

    नेपालमा बलपूर्वक प्रजातन्त्र आयो तर प्रजातान्त्रिक संस्कारको विकास हुन सकेन। नेताहरूमा उही सामन्ती प्रवृत्ति छ। दास बन्ने र बनाउने मनोवृत्ति छ। अनि यस्तो सामाजिक परिवेशले कसरी हुन्छ त आर्थिक विकास? नेताहरू प्रजातान्त्रिक संसारको विकासमा लाग्नुको सट्टा जहिले पनि कसरी शक्ति हस्तगत गर्ने भन्ने दाउमा रहन्छन, याहयाह जामे रहेझैं। यही कारणले निरन्तर झगडा भइरहेको छ। झगडा पनि कहिले नटुंङ्गिने प्रकृतिका छन्। २०४६ सालदेखि मुलुकले एकथरीको समस्यामाथि अर्को समस्या थपिएको मात्र देख्दै आएको छ। विकासको सोच र विकासका लागि काम भएको देख्न पाएको छैन।

    नेताहरूले अनेकथरीका विवाद, मनोमालिन्य, झगडा गरे तापनि ती केवल सत्ता प्राप्ति र शक्ति प्राप्तिका लागि मात्र हुन पुगेको छ। मुलुकको आर्थिक विकासका लागि हुन सकेको छैन। जात, जाति, सम्प्रदाय, क्षेत्र वा जुनसुकै विषयलाई अगाडि ल्याएर यी नेताहरूले झगडा गरे तापनि केन्द्रमा भने सत्ता प्राप्तिको उनीहरूको लुकेको अभीष्ट हो। यो पुरानो तथ्य सबैले बुझेको हो। यो जगजाहेर तथ्य हो। तर पनि किन दोहरिइरहेको छ यस्तो स्थिति? किन यिनै नेताहरू निर्वाचित भएर आइरहेका छन्? निर्वाचित नभए तापनि किन शक्तिशाली छन्?

    नेपालमा स्वार्थी नेतृत्वको विकास हुनुमा जनता नै जिम्मेवार छ। जनताले नै महत्वाकाङ्क्षी एवं स्वार्थी नेता जन्माएको हो। नेताहरू मात्र खराब, जनता असल भनेर जनता पन्छिने स्थिति छैन। जनताले दुईवटा त्रुटि एकैसाथ गरिरहेको छ। पहिलोस्वार्थी नेताहरू जन्माइरहेको छ, दोस्रोत्यस्ता स्वार्थी नेताहरूले ल्याएका गलत नारा वा एजेन्डाको पछाडि दौडिरहेको छ।

    जनताले किन स्वार्थी नेता जन्माइरहेको छ? किनभने जनतामा पनि प्रजातान्त्रिक संस्कार छैन। घरको फोहर सडकमा फालेर हामी सफाइ गरेको भ्रम पाल्छौं। सडक सानो पारेर घरको सिमाना बढाएकोमा गर्व गर्छौं। छिमेकीको घडेरी मिचेकोमा बहादुरी ठान्छौं। सानैदेखि आफ्ना सन्तानलाई भन्सार, मालपोत वा कमाउ अफिसको जागिर खान प्रेरित गर्छौ, घूस लिन उचाल्छौं। आफ्ना सन्तानलाई आफ्ना सपनाहरूको भारी बोकाएर इन्जिनियर, डाक्टर बन्न प्रेरित गर्छौ, पैसा कमाउने मन्त्र सिकाउँछौं। तिलक लिने र दिने गरेर आर्थिक र सामाजिक हैसियत प्रदर्शन गर्छौं। हामी बालबलिकाहरूलाई सहृदयी होइन, सानैदेखि स्वार्थी हुन सिकाउँछौं। यहाँसम्म कि बसमा चढदापनि पङ्क्तिमा खडा भएर होइन, अरूलाई उछिनेर अगाडि कसरी पुग्ने र सिट कसरी प्राप्त गर्ने शिक्षा आफ्ना बालबालिकालाई सानैदेखि सिकाउँछौं। अनि यस्तो व्यक्तिवादी सामाजिक सोंच भएको समाजमा कसरी निस्स्वार्थी नेताको जन्म हुन्छ? अफ्रिकी देशहरूमा झैं नेपाली समाजले पनि आफैंले व्यक्तिवादी, स्वार्थी र भ्रष्टाचारी नेता जन्माउनु, अनि किन नेताहरूलाई गाली गर्नु? समाजले पहिले आफैंलाई गाली गर्नुपर्ने होइन र? नेताहरूलाई मात्र गाली गरेर समाज पानीमाथिको ओभानो हुन खोजेको होइन? जस्तो बींउ रोप्यो त्यस्तै फल लाग्ने होइन र? खुर्सानी रोपेर स्याउ फल्छ त? यस्तो कही भएको छ?

    नेपाली समाजसँग अहिले कुनै आर्थिक विकासको एजेन्डा नै छैन जस्तो छ। छ भने केवल पहिचान, भाषा, क्षेत्र, संस्कृति, धर्म आदिको। लाग्छ यी कुराहरूले नै नेपालमा आर्थिक समृद्धि ल्याउने हो। कस्तो समय आयो, नागरिकहरू फलानो जातिको, फलानो भाषा बोल्ने, फलानो क्षेत्रमा बसोबास गर्ने, फलानो संस्कृतिको  भन्नेमा गर्व गर्छन्। सानो देश नेपाल, कति चिरामा विभाजित हुने?

    यस किसिमको मनोविज्ञान नेपाली समाजमा व्याप्त रहेसम्म देशको आर्थिक विकास मृगतृष्णा मात्र हुनेछ। रोजगारका लागि नेपालीहरू घरबार छाडेर विदेश जानुपर्ने सिलसिला कहिले टुटने छैन।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 27, 2017


Friday, January 20, 2017

Life Abroad:Our Concept and Economic Development-Article-140

विदेशको बसाइँ, हाम्रो धारणा र आर्थिक विकास

सर्वाधिक बसाइँसराइ अहिले अफ्रिकी मुलुकहरूबाट भइरहेको छ। हिंसा, हत्या, अपहरण जस्ता समस्याले निरन्तर सताइएका अफ्रिकाका गरीब राष्ट्रहरू धार्मिक कट्टरपन्थीहरूको पटकपटकको आक्रमणले थप आक्रान्त हुन पुगेका छन्। कट्टरपन्थी इस्लामिक सङ्गठनहरू अलसवाह, बोकोहराम, अलकायदा का जेहादी वा मिलिटेन्टहरूको आक्रमणमा हजारौं अफ्रिकीहरूको ज्यान गइसकेको छ। गाम्बिया, यमन, इरिट्रिया, सुडान, दक्षिण सुडान, नाइजेरिया, कङ्गो,  इथियोपिया, लिबिया, जिम्बाब्वे, चाड, मध्य अफ्रिका गणतन्त्र, सोमालिया, माली जस्ता अफ्रिकी राष्ट्रहरूले निरन्तर रक्तपातपूर्ण उथलपुथलको सामना गरिरहनुपरेको छ। उनीहरूले राजनीतिक अस्थिरताको पीडा पनि उत्तिकै सहनुपरेको छ। हरपल असुरक्षित र डरलाग्दो जीवन बाँच्नुपरेको छ। यी कारणले गर्दा यी मुलुकका नागरिकहरू जीउज्यानको बाजी थापेर, सरल र सुरक्षित जीवनको खोजीमा अमेरिका, क्यानडा, युरोपतिर बसाइँ सरिरहेका छन्। समुद्री बाटो भएर युरोपतिरको यात्रा भने उनीहरूको लागि ज्यान लिने खालको भएको छ। यसरी अफ्रिकी नागरिकहरूको बसाइँसराइ वा स्थातान्तरण स्वेच्छा होइन, बाध्यताले गर्दा हुन पुगेको छ।
    वर्तमान सन्दर्भमा नेपालको स्थिति भने अफ्रिकी मुलुकहरूभन्दा ज्यादै पृथक छ। नेपालमा अहिले विदेश जानु बाध्यता कम र स्वेच्छा बढी हुन पुगेको छ। नेपालमा अहिले ती अफ्रिकी देशहरूजस्तो डरलाग्दो अशान्ति छैन। बाँच्नका लागि नै कठिन वा जीउज्यानको अति नै खतरा पनि छैन, माओवादी हिंसाकालमा भएजस्तो। तर पनि नेपाली ठूलो सङ्ख्यामा विदेश गइरहेका छन्। नागरिक ठूलो सङ्ख्यामा स्वदेश छाडेर जानु कुनै पनि देशको लागि राम्रो होइन। यस किसमको बसाइँसराइले देशको आर्थिक र सामाजिक विकासमा ठूलो आघात पुग्छ। त्यो आघात मुलुकले अहिले भोगिरहेको पनि छ।

    नेपालमा अहिले गरिबी र बेरोजगारी छ। बेरोजगारी र गरिबीले गर्दा नेपालीहरू रोजगारका लागि विदेश लाग्नु स्वाभाविक हो। यस अर्थमा गरीब परिवारका सदस्यहरू रोजगारका लागि विदेशतिर जानुलाई सही नै मान्नुपर्ने हुन्छ। यस सत्यमा कुनै विवाद हुन सक्तैन। तर त्यस्ता परिवारका  सदस्यहरू, जो नेपालमा राम्रो आर्थिक अवस्थामा छन्, उनीहरूलाई रोजगारको पनि समस्या छैन, अनेक किसिमका सुविधाहरू प्राप्त भएर जीवन सरल छ, अहिले विदेश जान आतुर रहेका छन्। यस्ता व्यक्तिहरूले किन जानुपर्यो विदेश? यो अहिले नेपालमा यक्ष प्रश्न हुन पुगेको छ।

    नेपालमा विदेश जानु अहिले एक किसिमको सामाजिक हैसियतहुन पुगेको छ। आफू वा आफ्ना सन्तानहरू विदेश जानु नेपालमा प्रतिष्ठाको विषय हुन पुगेको छ। कस्तो विडम्बनापूर्ण स्थिति! स्वदेशमा बस्न पाएकोमा गर्व हुनुपर्नेमा उल्टो स्वदेशमा बस्नु तुच्छ र विदेश जानु र त्यहाँ बस्नु गर्वको विषय हुन पुगेको छ। यस्तो मनोविज्ञान निर्माणका लागि हामीले युवापीढीलाई दोष दिने ठाउँ भने पटक्कै छैन। यस्तो स्थिति निर्माण हाम्रो समाजले गरेको हो। हाम्रो समाजको सोचमा नै ठूलो त्रुटि छ। जसरी दाइजो, दहेज वा तिलक लिनु वा दिनुलाई समाजले हैसियत प्रदर्शनको माध्यम मान्दछ, त्यसैगरी अहिले आफ्नो कलिलो उमेरका सन्तानहरूलाई पढ्न वा रोजगारको लागि विदेश पठाउनुलाई नेपाली समाजले हैसियत प्रदर्शनको माध्यम मान्दछ, सफलताको प्रतीक मान्दछ।

    कलिलो उमेरका युवायुवतीहरू विदेशमा गएर कुन स्थितिमा बसेका छन्? कार्य गर्दा वा अध्ययनको क्रममा कस्ता शारीरिक कष्ट झेलिरहेका छन्? के कस्ता मानसिक पीडाहरूका माझ बाँचिरहेका छन्? समस्याग्रस्त हुँदा तिनीहरूलाई कुन किसिमबाट सामाजिक सहयोग प्राप्त भइरहेको छ? परिवारबाट छुट्टिएर बस्दा उनीहरूको मनोविज्ञान कस्तो हुन पुगेको छ? परदेशमा एक्लै कसरी जीवनसँग सङ्घर्ष गरिरहेका छन्? आजभोलि नेपाली समाजमा यस्ता प्रश्नहरूले कुनै अर्थ राख्दैन। अर्थ राख्ने विषय एउटै छसन्तान विदेश पढ्न वा कमाउन गएको छ भन्ने गर्वले। यो गर्वले नेपाली आमाबुबाका लाखौं सन्तानलाई काखाबाट पाखा पुर्याएको छ।

    विदेश जानेहरूको पनि नेपाली समाजले श्रेणी निर्धारण गरेको छ। हाल नेपालमा व्याप्त विचारअनुरूप अमेरिका पढ्न वा काम गर्न जानेहरू अब्बल दर्जामा पर्छन्। सोही उद्देश्यका साथ अस्ट्रेलिया, क्यानडा, बेलायत, इटली, फ्रान्स आदि जाने दोस्रो दर्जामा पर्छन्। सिङ्गापुर, थाइल्यान्ड, चीन, जापान, दक्षिण कोरिया जाने तेस्रो दर्जामा पर्छन्। केवल काम गर्ने भनेर मलेसिया, कतार एवं अरबका राष्ट्रहरूमा जाने चौथो दर्जामा पर्छन्। भारततिर कामका लागि जानेहरूको कुनै दर्जा नै छैन। एक समयमा भने थियो। एक समयमा भारत जानेहरूलाई लाहुरेभन्ने गरिन्थ्यो र लाहुरेहरू पैसावाल हुन्छन् भन्ने विश्वास गरिन्थ्यो। समाजले यसरी विदेश जानेहरूप्रति पनि विभेद गर्नु उचित हो? यस्तो सामन्ती सोच पनि राख्ने हो? यस्तो विभेद उचित हो?

    विदेशको जीवन सरल छैन भन्ने यथार्थ केवल थोरै व्यक्तिले मात्र बुझेका छन्। स्वदेशी समाजसँग छुट्टिएर बस्नुपरेको पीडा, नयाँ स्थानमा बस्दा आइपर्ने अनेक किसिमका जलवायुसम्बन्धी समस्या, मौसमको प्रतिकूल प्रभाव केवल विदेशमा कष्टपूर्ण किसिमले बसेकाहरूलाई मात्र थाहा हुन्छ। विदेश बसेकाहरूलाई बाहिरबाट हेर्नेहरूले थाहा पाउन सक्तैनन्।

    आफू वा आफ्ना सन्तानहरू विदेश बस्नु समाजमा उच्च हैसियतप्रदर्शन गर्ने एक माध्यम हो भन्ने सोच सामाजिक विकासको लागि राम्रो होइन। स्वदेशमा नै बसेर केही गर्छु भन्ने कुनै युवा वा युवतीमा सोच आएको छ भने त्यस्तो सोचलाई समाजले हौसला प्रदान गर्नुपर्दछ।

    देशका नागरिक ठूलो सङ्ख्यामा विदेश पलायन हुनु आर्थिक विकासको दृष्टिकोणले त झनै राम्रो होइन। आर्थिक विकासका सशक्त माध्यम युवायुवती नै ठूलो सङ्ख्यामा विदेश पलायन हुने हो भने मुलुकको आर्थिक विकास कसरी हुन्छ? अहिलेसम्म हामीले युवायुवती ठूलो सङ्ख्यामा विदेश पलायन हुनुमा गरिबी र बेरोजगारीलाई मुख्य दोषी मानिरहेका छौं। गरिबी र बेरोजगारीका लागि सरकारलाई जिम्मेवार मानिरहेका छौं। तर हामीले माथि चर्चा गरिसक्यौं केवल गरिबी र बेरोजगारीले गर्दा मात्र नेपालीका सन्तान विदेशतिर पलायन भइरहेका छैनन्। विदेश जानु सम्मानको सूचक, सफलताको सङ्केत, उच्चताको आभास आदि जस्ता सामाजिक मनोविज्ञानले गर्दा ठूलो सङ्ख्यामा नेपाली विदेश पलायन हुन बाध्य भएका छन्। समाजमा व्याप्त यस किसिमको सोचले गर्दा नै नेपाली युवायुवतीहरूलाई स्वदेशमा बस्नु अपहेलनाको विषय हुन पुगेको छ। स्वदेशमा बस्नु प्रतिष्ठाको विषय हुन पुगेको छ, जतिसुकै ठूलो सङ्कट सहेर पनि।

    तर प्रश्न उठ्छ, कहिलेसम्म आफ्नो देशको दुर्गतिलाई पन्छ्याएर विदेशतिर लाग्ने? सधैं यस्तै किसिमको मनोविज्ञान राखेर देशको आर्थिक विकासमा कहिले ध्यान दिने? कहिलेसम्म अरूहरूको देशको विकासमा लीन रहने?

    कुनै पनि देशको आर्थिक विकास त्यस देशका नागरिकले गर्ने हो। विदेशबाट व्यक्तिहरू आएर देशको विकास हुने होइन। यो सबैले बुझेको कुरा हो। कटु सत्य पनि हो। समय आएको छ, स्वदेशमा नै रोजगार सृजना गरौं। स्वदेशलाई नै धनी तुल्यायौं। विदेशबाट फर्केर नेपाललाई समृद्ध पारौं। विदेशमा आर्जित पूँजी, प्रविधि र ज्ञानको उपयोग नेपालमा गरौं। आउने पुस्तालाई आर्थिकरूपमा समृद्ध नेपाल हस्तान्तरण गरौं।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 20, 2017

Friday, January 13, 2017

Why Is Widening Birgunj's Roads Not Necessary-Article-139

बीरगञ्जको सडक फराकिलो पार्नु आवश्यक छैन

हामी नव निर्माण कम गर्छौ। पुरानो संरचना नभत्क्याएर नव निर्माण त पटक्कै गरेका छैनौ। तर पहिले देखि निर्मित कुराहरू भत्काउनमा  भने ऐतिहासिक विकास भएको देख्छौ। पहिलेदेखि निर्मित कुराहरूको उचित संरक्षण गर्नुलाई पटक्कै विकास मान्दैनौ। यदि पहिलेदेखि निर्मित कुराहरू भत्काउनु नै विकास हुँदो हो त भारतको बनारस सहर रुप अर्को हुनेथियो। पुरानो दिल्लीको रुप अर्को हुने थियो। लन्दन र पेरिसको रुप पनि अर्को हुने थियो। तर यी सहरहरूको मौलिकता कायम राख्न यी सहरहरू भत्काउने कार्य भएन। बरू यी सहरहरूको मौलिकता कायम राख्न करोडौ रूपैया खर्च गरियो। बनारसका सडकहरू चौडा पार्न सडक वरपरका घरहरू भत्काउने हो भने बनारसको मौलिकता नै रहँदैन। ‘बनारस की गल्ली’ भन्ने उखान पनि हराएर जान्छ। त्यो सहर ‘मौलिक’ बनारसको रुपमा रहँदैन पनि। यही सत्य पुरानो दिल्ली, लन्दन र पेरिसमा पनि लागु हुन्छ।
सन् १७०३ मा बनेको बेलायतको राजदरवार “बकिंघम पैलेस” उपयोगी कम तर खर्चिलो बढी छ। लाखौं पौण्ड केवल यसको मर्मत र संहारमा खर्च गर्नु परेको छ। यो भवनको व्यापारिक उपयोगिता पटक्कै  छैन्। वर्तमान समयमा ‘हात्ति पालेको’ जस्तो छ। यसलाई भत्काउने आवाजहरू नउठेका भने होइनन्। तर यसको संरक्षण गर्नु पर्छ भन्नेहरूले जितेका छन्। यो कारणले गर्दा यसलाई भत्काउने कार्य भएको छैन। ७७५ कोठाहरू भएको लन्दन स्थित बकिंघम दरवारको उपयोग भने ज्यादै न्यून छ। बेलायतकी महारानीको निवास र केवल राजकीय समारोहरूको आयोजना बाहेक अन्य कुनै काममा यो दरवारको उपयोग हुन सकेको छैन। यति हुँदा हुँदै पनि यो दरवारलालई ‘बेलायतको परिचय’ भनेर देशवासीहरूले यसको संरक्षण गरेका छन्। सामान्य नागरिकहरूले (आफूले भुक्तान गरेको रमक) कर खर्च गरेर यो दरवारको संरक्षण गरेका छन्।     
अब विषय प्रवेश गरौ। वीरगञ्जका सडकहरू चौडा पार्न त्यस वरपरका घरहरू भत्काउने भनी हाल चलिरहेको चर्चाको परिचर्चा गरौ। तर यो परिचर्चा गर्नु भन्दा पहिले दुई महत्वपूर्ण प्रशंगहरूलाई यहाँ जोड्न चाहन्छु।
पहिलो प्रशंग। वीरगञ्जले आफ्नो मौलिकताको संरक्षण गर्न नजानेको र जानेर पनि नगरेको इतिहास भने नौलो होइन। वीरगञ्ज एक यस्तो ऐतिहासिक सहर हो जहाँ नेपालमा पहिलो पटक सन् १९२७ मा रेलसेवा स्थापना भएको थियो। भारतको रक्सौल हुँदै नेपालको अमलेषगञ्जसम्म पुग्ने यो ‘नैरोगेज’ रेलसेवाको लम्बाइ भने ४७ किलोमिटर थियो। यो रेलसेवाले सन् १९६५ सम्म यात्रीहरूलाई ओसार पसार गरेको भएता पनि पछि भने यात्री सेवा बन्द भयो तर पनि रक्सौलबाट विभिन्न सामाग्री (नून, मल आदि) ओसार्नमा यसको प्रयोग भइ नै रह्यो। तर २०३० साल पछि भने यो सेवा पूर्णतया बन्द नै भयो। त्यति मात्र हो र? रेलको सेवाको जग्गा जसले जहाँ पायो आफ्नो जग्मा या त बिलय गरायो या कबज्जा जमायो। स्थिति अहिले यस्तो छ, नया पुस्तालाई वीरगञ्जमा रेलसेवा थियो भन्ने हो भने पत्याउँदैन किनभने त्यसको भग्नावशेषसम्म पनि छैन्, विश्वास गर्नका लागि। विकसित मुलुकमा हो भने यस्तो ऐतिहासिक सम्पत्ति जोगाएर राख्छन। त्यसलाई पर्यटकको लागि एक उत्कृष्ट गन्त्वयमा परिणत गर्छन्।  करोडौं रुपैया आर्जन गर्छन। सहरलाई धनी पारेर सहारबासीलाई राम्रो आम्दानीको बाटो बनाइ बनाइ दिन्छन्। सहरको परिचयको रुपमा प्रचार गर्छन्। जस्तै न्युयोर्क सहरको ‘स्टचु अफ लिवर्टी’। तर कठै! वीरगञ्जको सन्दर्भमा त्यो सत्य लागु हुन सकेन।
दोस्रो प्रशंग। नेपालमा सहर कसरी ठूलो हुँदै जान्छ भन्ने कारणको पनि अनेक कारणहरू खोजौं। नेपालमा सहर र गाउँ बीचको अन्तर ज्यादै ठूलो छ। तर विकसित देशहरूमा यति विसाल अन्तर हुँदैन। सहरमा हुने लगभग सम्पूर्ण कुराहरू गाउँमा हुन्छ। प्रत्येक गाउँमा सडक, शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, सञ्चार, सुरक्षा, अग्नि नियनत्रण सेवा आदि अनिवार्य रूपमा हुन्छ नै। केवल विश्वविद्यालय, ठूला अदालत, ठूला ठूला उद्योग, अत्याधुनिक एवं अति सुविधा सम्पन्न अस्पताल आदि गाउँहरूमा हुँदैनन्। ती कुराहरू ठूला सहरहरूमा हुन्छन। यो कारणले युरोप वा अमेरिकामा गाउँहरूबाट पलायन भएर नागरिकहरू ठूलो संख्यामा सहरमा बसोबास गर्दनन्। गाउँहरूमा बसोबास गर्नेहरूको संख्या पनि  ठूलो हुन्छ। नेपालमा जस्तो सहरहरू अप्राकृतिक तबरले विस्तारित हुँदैन। सानो समयमा सहरहरू अमलाको आकारबाट फर्सीको आकारमा परिणत हुँदैन।
नेपालमा भने कुनै एक सहर त्यो पनि आर्थिक विकासको अनेक सम्भावना बोकेको सहर एक दसकमा नै अमलाबाट ठुलो फर्सी हुन पुग्छ। उदाहरण, काठमाडौ, वीरगञ्ज आदि। अब, प्रश्न उठ्छ  यसरी छोटो समयमा नै ठूलो आकार ग्रहण गर्ने सहरका सडकहरूलाई साँघुरो भयो भन्दै कहिलेसम्म फराकिलो पार्ने? कहिलेसम्म सडक वरपर बसोबास गरेका नागरिकहरूको उठिबास गर्ने? कहिलेसम्म त्यस सहरको मौलिकता नष्ट गर्ने? कुनै खास सहरको कुनै खास ठाउँमा बस्ने पाउने कुनै नागरिकको मौलिक हक कहिलेसम्म खोस्ने? स्वतन्त्रताको हक झै कुनै पनि नागरिकको उसको आफ्नो सम्पत्ति माथिको हक पनि सुरक्षित हुनु पर्दछ। यस्तो किसिमको कार्यले कुनै व्यक्ति वा परिवारको उसको सम्पत्ति माथिको हक हनन हुँदैन? ल मानौ, अहिले वीरगञ्जका सडकहरू साँघुरा भए रे। ती सडकहरूलाई, थुप्रै घरहरू भत्क्याएर, चौडा परियो रे। फेरि दस वर्ष पछि, अनेक परिवारहरू बसाइ सरेर वीरगञ्ज आए सहरलाई पुन: ठूलो पारे, फेरि सडकहरू साँघुरो लाग्न थाले, अब के फेरि वीरगञ्जका सडकहरू चौडा पार्न पुन: घरहरू भत्काउने? र यसरी भत्क्याउने कार्यलाई कहिले सम्म जारि राख्ने? के वीरगञ्जलाई ठूलो अति ठूलो सहर हुनबाट रोक्न सकिन्छ? वरपरका विभिन्न गाउँहरूबाट वीरगञ्ज आउने परिवारहरूलाई के नआउ भन्न सकिन्छ?
अमेरिकाको विश्व प्रसिद्ध ‘खुद्रा भण्डार’, वालमार्ट जसका शाखाहरू संसारका अनेक मुलुकहरूमा संञ्चालित छन, को स्थापना एक अमेरिकी उद्यमी साम वालट्न ले एकल स्वामित्वमा सन १९५० मा अर्कान्सा राज्यको बेनटनभिल सहरमा गरेका थिए। प्रारम्भमा यो भण्डार केवल एक सानो भवनमा सञ्चालन गरिएको थियो। तर अहिले यो ‘विसाल भण्डार’ मा परिणत भएको छ। संसारभरिमा यस भण्डारका ६ हजार २०० शाखाहरू छन्। अमेरिकाका विभिन्न राज्यहरूमा यसका ३ हजार ८०० शाखाहरू छन्। वालमार्टले १६ लाख व्यक्तिहरूलाई प्रत्यक्ष र करोडौंलाई अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ। यो प्रशंग यहाँ किन उठाएको भने साम वालट्नले सुरुमा बेन्टनभिलमा सञ्चालन गरेको सानो भण्डार अहिले पनि सुरक्षित छ। त्येति मात्र हो, यो सानो आकारको मालमार्टमा स्थापना कालमा साम वालट्नले जे कुराहरू बिक्री गर्थ्ये अहिले पनि ती कुराहरू बिक्री गरिन्छ। अहियो त्यो सानो भण्डार अर्कान्साको एक महत्पूर्ण पर्यटकीय गन्तव्य भएको छ। त्यो सानो भण्डार सानो भयो भनेर न त साम वालट्नले भत्क्याए। न त त्यस सहरको प्रशासनले नै यो सानो भण्डार किन राख्न भन्दैन भत्क्याउन लगायो। बेन्टनभिलले बरू त्यो साम वाल्टनको त्यो भण्डारलाई ‘सहरको परिचय’ भन्दै संरक्षण गरेको छ।
वीरगञ्ज एक पुरानो व्यापारिक सहर मात्र होइन, यसले अनेक इतिहासहरू समेत पनि बोकेको छ। यो सहरका अनेक घरहरू भत्क्याएर यसको मौलिकता नष्ट गर्नु हुँदैन। वीरगञ्जको भन्सार क्षेत्रदेखि वीरगञ्ज चीनी कारखानासम्मको क्षेत्रको संरक्षण गर्नु पर्दछ। यसको ऐतिहासिक सुन्दरता कायम राख्नु पर्दछ। वीरगञ्जको पूर्व वा पश्चिममा ‘नया वीरगञ्ज’ निर्माण गर्न सकिन्छ। एक खास योजनाद्वारा सकड एवं घरहरूको नव निर्माण गरेर नया वीरगञ्जको सृजना गर्न सकिन्छ, ‘नया दिल्ली’ सृजना गरे झै।
कुनै समय यस्तो थियो, वीरगञ्जलाई ‘नेपालको द्वार’ भन्ने गरिन्थ्यो। भारतबाट नेपालका विभिन्न भागमा जानका लागि होस वा नेपालका विभिन्न भागहरूबाट काठमाडौ जानका लागि होस, यात्रुहरू पहिले वीरगञ्ज आउने गर्थ्ये। वीरगञ्ज एक प्रस्थान बिन्दु थियो। कुनै समयमा वीरगञ्जा ठूलो परिमाणमा चामल उत्पान हुन्थ्यो र यहाँ उप्पादन भएको चीनी नेपाल मात्र होइन भारतीय बजारहरूमा पुगथ्यो। यहाँ अनेक कारखानाहरू थिए। स्टील कारखाना, मोजा कारखाना, चकलेट विस्कुट कारखाना, कपडा कारखाना, औजार कारखान आदि आदि। तर अति राजनीतिले यी सबै कुराहरूलाई स्वाहा पारिदियो। अब अहिले कसको स्वार्थमा हो कुन्नि, वीरगञ्जको मौलिकता नष्ट गर्ने कार्य हुन थालेको छ। वीरगञ्जको इतिहासलाई झल्काउने घरहरू भत्काउने कार्य हुन थालेको छ। वीरगञ्ज, वीरगञ्जका बासिन्दाहरूको हो। नत यो निर्माण मन्त्रालयको हो न त अन्य कुनै मन्त्रालयको। वीरगञ्जको भविष्य निर्धारण गर्ने अधिकार यहाँ बासिन्दाहरूमा सुरक्षित हुनु पर्दछ। र अन्त्यमा, पुराना संचारना  भत्काउनु उत्कृष्ट निर्माण होइन। यो वीरगञ्जलाई हृदयदेखि माया गर्ने  निस्वार्थी व्यक्तिको विचार हो, जसको स्वार्थ न त फत्काउनमा न त नभत्काउनुमा छ। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 13, 2017

Friday, January 6, 2017

Special Nature and Characteristics of Nepalese Economy-Article-138

नेपाली अर्थव्यवस्थाका प्रकृति र विषेशताहरू

नेपाल गरिब राष्ट्र होइन। जनता र नेताहरूले नेपाललाई गरिब पारेका हुन। पछिल्लो समयमा (२०१७ साल पछि) भने मुख्य गरी नेताहरूद्वारा नेपाललाई गरिब तुल्याउने कार्यको थालनि भयो। २०४७ साल पछि, दलीय राजनीतिको अभ्यास हुन थाले पछि, नेताहरूले नेपाललाई गरिब पार्ने अनेक किसिमका क्रियाकलापहरू गरे। विभिन्न दलका अनेक नेताहरूले, सरकारमा भएको बेला, फरक फरक किसिमका आर्थिक नीति तथा कार्यक्रमहरूको प्रयोग गरे। कुनै दलका नेताहरूले पूँजीवादी अर्थ व्यवस्थालाई महत्व दिए भने कुनैले मिश्रित अर्थ व्यवस्थालाई। कुनै दलका नेताहरूले त कस्तो किसिमको नीति तथा कार्यक्रमहरू लागु गरेमा नेपालको आर्थिक विकास हुन्छ भनी थाहा पाउन पनि सकेनन्। उदाहरणका लागि माओवादीहरू। माओवादीको संगठनमा त जानकार अर्थशास्त्रीहरू पनि देखिएनन्। जंगलबाट आएको माओवादीसँग केवल शत्रुलाई पराजित गरेर राज्य-शक्ति कसरी आफ्नो हातमा लिन सकिन्छ भन्ने अनुभव (tactical war experience ) मात्र छ। र अहिले पनि यो दलले केवल त्येही नीतिको प्रयोग गरिरहेको छ। उदाहरण (हाल) तेस्रो ठूलो दल भएता पनि माओवादीले अहिले सरकारको नेतृत्व गरिरहेको छ।  
तर हामीले वर्तमान पुस्ता (युवाहरू) र आउने पुस्ता (वाल वालिकाहरू) लाई के तथ्य प्रष्ट गरी अवगत गराइ दिनु पर्छ भने नेपाल एक निर्धन राष्ट्र होइन। नेपाललाई निर्धन नेताहरूले आफ्नो स्वार्थी व्यवहारले गर्दा पारेका हुन। सँधै अनेक किसिमका कलह गर्नमा रमाउने र नेपाललाई अस्तव्यस्त पार्नमा आफ्नो फाइदा देख्ने नेताहरूले यो देशलाई निर्धन पारेका हुन। यी झगडिया नेताहरू मिलेर हिंड्ने हो भने विकासको पर्याप्त सम्भावनाहरू भएको यो देशको विकासको गति तत्काल तिब्र हुन्छ। यो तथ्य हामीले वर्तमान पुस्तालाई बताइ दिने हो भने उनीहरू शिर ठाडो पारे बाँच्न सक्छन। गरिब राष्ट्रको नागरिक हुँ भन्ने उनीहरूको मनमा लघुताभाष हुँदैन। गर्वका साथ टाउको ठाडो पार्न सक्छन्।
पर्याप्त आर्थिक विकासका सम्भावनाहरू भएको नेपाललाई कसरी गरिब राष्ट्र भन्ने? नेपालसँग पर्याप्त मानव-शक्ति छ। देश भित्र यो मानव शक्तिको उपयोग हुन नसकेर लाखौं नेपालीहरू रोजगारीका लागि विदेशिनु परेको छ। ठूला  ठूला हिमछादित (glacier) नदीहरू छन जुन खानेपानी, विद्युत र सिंचाइका लागि वरदान हुन सक्छन। तर यी नदीहरूको उपयोग हुन सकेको छैन, उल्टो वर्षातको समयमा यी नदीहरू डरलाग्दो बाढीको कारण बन्न पुगेका छन्। यी नदीहरूले भारतलाई बढी फाइदा पुर्याएका छन्। नेपालको जलवायु एवं मौसम कृषिका लागि अति नै अनुकूल छ र वर्षभरि अनेक किसिमका बालीहरू लगाउन सकिन्छ। पर्यटकिय स्थानहरूका लागि नेपाल विश्व प्रसिद्ध छ। विश्वका १ सय २३ अग्ला शिखर मध्ये नेपालमा मात्र २३ अग्ला शिखरहरू छन्, जुन आफैमा अति आश्चर्यको कुरा हो। पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दीर जस्ता विश्व प्रसिध्द धार्मिक तिर्थ स्थलहरू पनि नेपाल मा नै छन्। प्राचीन सभ्यता र संस्कृतिका जीवित इतिहासहरू- राजर्षि जनक, महर्षि याज्ञवल्क्य, गार्गी, अष्टवक्र नेपालका बौद्धिक सम्पत्ति हुन। संसारलाई अनेक प्रशिद्ध ग्रन्थहरू दिने ऋषि व्यास को गुफा अहिले पनि दमौलीमा सुरक्षित छ। पर्यटनका यी पूर्वाधारहरूले नेपाललाई छोटो समयमा नै धनी तुल्याउन सक्छन्। यी अनेक किसिमका मानवीय, प्राकृतिक, धार्मिक, साँस्कृतिक समप्त्तिहरू हुँदा हुँदै पनि नेपाललाई कसरी गरिब राष्ट्र भन्ने?
अर्थशास्त्रको भाषामा ती राष्ट्रहरूलाई गरिब भन्ने गरिन्छ जो संग आर्थिक विकासका सम्भावनाहरू छैनन्। जस्तै अनुकूल जलबायु, कृषियोग भूमि आदि नहुन। उदाहरण,  अरबका केही राष्ट्रहरू यस्ता छन्,  जहाँ अधिक गर्मीको कारण कृषि कार्य कठिन हुन पुग्छ। विकासको सम्भावना नभएकामा अफ्रिकाका अन्य केही मुलुकहरू पनि पर्छन।
नेपालमा पर्याप्त विकासका सम्भावनाहरू छन्। यहाँका राजनैतिक दलका नेताहरू बीच सत्ता साझेदारीका लागि दीर्घकालिन समझदारी हुने हो भने त्यो समझदारीले निश्चय पनि मुलुकमा दीर्घकालीन शान्ति ल्याउने छ। र त्यो शान्तिले आर्थिक विकासको गतिलाई तिब्र पार्ने छ। तथाकथित मधेसी र पहाडे नेताहरू बीच सत्ता साझेदारीको कुरा न मिलेर नै बेला बेलाम कलह उत्पन्न हुने गरेको हो।
यो देशको आर्थिक विकासका लागि नीति, नियम, योजना, कार्यक्रम आदिको निर्माण गर्दा भने केही कुराहरूमा ध्यान दिन आवश्यक छ। नेपालको आर्थिक व्यवस्थाको प्रकृति एवं विषेशताहरूको गहन अध्ययन गर्न र उचित किसिमले बुझ्न आवश्यक छ। नेपालको आर्थिक व्यवस्थाका प्रकृति एवं विषेशताहरू यस प्रकार छन्:
दुई ठूला बजारबीच सानो बजार:  नेपालको अवस्थिति दुई ठूला बजारहरूको बीचमा रहेको र यी दुई ठूला बजारहरू नेपालको तुलनामा आर्थिक रूपमा ज्यादै सक्षम भएकोले नेपालले यी बजारहरूसँग कुनै पनि वस्तुको उत्पादनमा प्रतिस्पर्धा गर्न सक्तैन। नेपालमा उत्पादित वस्तु यी दुई मुलकहरूमा उत्पादित वस्तु भन्दा सस्तो हुनै सक्तैन। यो कारणले गर्दा केही वस्तुको उत्पादन एवं विक्रीमा सरकारले नेपाली उत्पादकहरूलाई सरक्षण अनिवार्य रुपमा दिनु पर्ने हुन्छ  अकुशल उत्पादन व्यवस्था: नेपालको उत्पादन व्यवस्था कुशल हुन सकेको छैन। केही औधौगिक वस्तुहरू बाहेक अन्य सम्पूर्ण वस्तुहरूको उत्पादन नेपालमा परम्परागत विधिबाट, हातबाट हुन्छ। कृषिका लागि अहिलेसम्म पनि गोरू जोतिएको हलो प्रयोग हुन्छ। विकशित देशहरूमा खान पकाउनका लागि समेत पनि उच्च प्रविधिको प्रयोग हुन्छ। नेपालमा सर्व साधरणले पनि प्रयोग गर्न पाउने गरी मोटर, कार उपलब्ध भएको पचास वर्ष पनि भएको छैन, बेलायतले आज भन्दा करिब १ सय २० वर्ष पहिले (१८९७) भारतलाई कार निर्यात गरेको रेकर्ड छ।  अनुसन्धानको कमी: कम लागतमा कसरी वस्तु एवं सेवाहरू उत्पादन गर्ने, खास किसिमका नया वस्तुहरू उत्पादन गर्ने, अमेरिकामा जस्तै फेसबुक, गुगल, इबे, अमेजन जस्ता नया व्यापारहरूको विकास भएझै नया किसिमका व्यापारहरूको विकास कसरी गर्नेबारे नेपालमा पटकै अनुसन्धान भएको पाइँदैन। उच्च उत्पादन लागत: महँगो इन्धन (विजुली, पेट्रिलियम पदार्थ), महँगो कच्चा पदार्थ, परम्परागत उत्पादन विधि जस्ता कारणहरूले नेपालमा उत्पादन हुने सम्पूर्ण वस्तुहरू भारत र चीनका वस्तुहरूको तुलनामा महँगा हुन पुग्दछन्। नेपालमा उत्पादित वस्तुहरू यसरी महँगो हुने भएको कारण प्रथम त देशभित्र नै बिक्री हुने अवस्था कमजोर भएर जान्छ भने विदेशी बजारमा निर्यात गर्न झन गार्हो हुन्छ। महँगो कच्चा पदार्थ: उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू नेपालमा सस्तो हुन सकेको छैन। लगभग सम्पूर्ण कच्चा पदार्थहरू नेपालले भारतबाट आयात गर्नु पर्दछ। कच्चा पदार्थ नै महँगोमा खरिद गर्नु पर्ने स्थिति रहेमा कसरी सस्तोमा उत्पादन गर्न सकिन्छ? नेपालमा अहिलेसम्म पनि सस्तोमा कच्चा पदार्थहरू उत्पादन गर्न सकिएको छैन्। अनियन्त्रित स्थानीय बजारहरू: नेपालको आर्थिक अवस्थालाई देश भित्रका अनियन्त्रित बजारहरूले सर्वाधिक प्रतिकूल प्रभाव पारेका छन्। नेपाल र भारतबीच खुला सिमाना भएको कारणले गर्दा ठूलो परिमाण भारतीय वस्तुहरू अवैध तरिकाले नेपालमा आयात हुन्छन। यसरी आयात हुने वस्तुहरू लघु कालमा नेपाली उपभोक्ताहरूका लागि सस्तो भएता पनि यिनीहरूले नेपाली उद्योगहरूलाई धरासायी पार्दैछन्। यो कारणले गर्दा भारतीय सिमा नजिक रहेका नेपाली उद्योगहरू बिस्तारै बन्द हुँदै गइरहेका छन्। अर्कोतिर नेपाली बजारहरूमा भारतीय वस्तुहरूको संख्या र वर्चस्व बढ्दै गइरहेको छ। स्थित यस्तो सम्म पनि हुन पुगेको छ कि एक दिनका लागि पनि भारतले नेपालतर्फ सामाग्रीहरू पठाउन बन्द गर्ने हो भने नेपालमा हाहाकार मचिन्छ। तर यस्तो स्थिति कहिलेसम्म कायम राख्ने? महँगो यातायात लागत: नेपालमा यातायात लागत ज्यादै उच्च छ। रेल र जल यातायातको विकास नभएको तथा यातायात लागतलाई सस्तो पार्न ठोस एवं इमान्दार प्रयास नभएको कारणले गर्दा नेपालमा उत्पादित मात्र होइन आयातित सामाग्रीहरू पनि सस्तो हुन सकेको छैन्। यो कारणले गर्दा नेपालका बजारहरूमा उपभोग्य वस्तुहरू ज्यादै महँगो हुन पुगेको हो। पहाडी बजारहरूमा त झन उपभोक्ताहरूलाई महँगीले पिरोलेको छ। ज्ञानको कमी: ज्ञानको क्षेत्रमा र खासगरी व्यापारिक ज्ञानको क्षेत्रमा नेपाल निकै पछाडि छ। ज्ञानको कारणले नै सानो मुलुक इजराइलले देशलाई धनी तुल्याएको छ। त्येति मात्र होइन, सामरिक दृष्टिकोणले पनि बलियो छ। आफ्ना छेउ छाउका छिमेकीहरू, यदि कसैले आक्रमण गरेमा, तह लगाउने क्षमता राख्दछ। कृषिको क्षेत्रमा इजराइलले अभूतपूर्व विकास गरेको हो र यो विकास ज्ञानको कारणले गर्दा भएको हो। महँगो ऊर्जा: नेपाल ऊर्जामा आत्म निर्भर छैन र यो नौलो कुरा पनि होइन। तर उपलब्ध रहेको ऊर्जालाई पनि व्यवस्थापकीय असक्षमताले गर्दा सस्तो र नियमित पार्न सकिएको छैन्। लोडसेडिंगको रहस्य अहिले जग-जाहेर छ। संधैको राजनैतिक अस्थिरताले गर्दा ठूलो मात्रामा जल विद्युतको उत्पादन हुन सकेको छैन। भारतबाट आयात हुने पेट्रोलियम पदार्थलाई पनि अनेक कारणहरूले गर्दा सस्तो पार्न सकिएको छैन्।  अव्यस्थित  भण्डारण: विकसित देशहरूसँग तुलना गर्ने हो भने नेपालको भण्डारण व्यवस्था एक सय वर्ष पुरानो रहेको अनुभव गर्न सकिन्छ।  नेपालमा अहिले पनि त्यसै गरी सामानहरू भण्डार गरिन्छ जसरी विकसित देशहरू- अमेरिका, जर्मनी, बेलायत, फ्रान्समा एक सय वर्ष पहिले  गरिन्थ्यो। विकसित देशहरूमा भण्डारणका लागि शीत भण्डार (Cold storage) को प्रयोग मात्र हुँदैन साथै वस्तुको गणना गर्न एवं त्यसको गुणको संरक्षण गर्न प्रविधि (Computerized technology) को पनि अत्यधिक प्रयोग हुन्छ। यसले गर्दा एउटा समय (मौसम) मा उत्पादन भएको वस्तु अर्को समयमा उपयोग गर्न सकिने तुल्याउन सकिएको छ। सिघ्रनाशवान् वस्तुहरू- दुध, फलफूल, मासु,  अण्डा आदिको संरक्षण गरेर तिनलाई लामो समयसम्म उपभोग गर्न सकिने पारिएको छ। यो कारणले गर्दा पनि विकसित देशहरूमा यस्ता वस्तुहरू नेपालको तुलनामा ज्यादै सस्ता हुन पुगेका छन्।
नेपालको अर्थव्यवस्थाको यस किसिमका प्रकृति एवं विशेषताहरू भएकोले यो मुलुकको आर्थिक विकास गर्नका लागि खास खास कुराहरूमा ध्यान दिन आवश्यक छ। माथि उल्लेख गरिएका वुंदाहरूबाट के कुरामा प्रष्ट हुन सकिन्छ भने नेपालका केही क्षेत्रहरूलाई संरक्षण दिनु आवश्यक छ भने केहीलाई प्रतिस्पर्धी तुल्याउन सकिन्छ। उदाहरणका लागि यातायात व्यवस्था (ट्रक, बस, आदि सेवा) लाई प्रतिस्पर्धी तुल्यान सकिन्छ भने कृषिलाई संरक्षण चाहिन्छ। त्यसकारण नेपालले उदार र खुला बजार व्यस्था भित्र रहेर, विभिन्न क्षेत्रहरूको संरक्षण पनि गर्दै, देशको आर्थिक विकास गर्ने एउटै क्षेत्रमा फरक फरक योजना, नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ। एउटै किसिमको आर्थिक नियमहरू नेपालभरि कायम गरेर होइन, फरक फरक स्थान वा बजारमा फरक फरक नीति, निमय ल्याउन आवश्यक छ। किनभने नेपालको अर्थव्यवस्थाको विशेषता एवं प्रकृतिहरू खास किसिमका छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 06, 2016