Friday, March 31, 2017

America Where New Businesses Are Invented-Article-150

अमेरिका जहाँ नयाँ व्यापारको आविष्कार हुन्छ

संयुक्त राज्य अमेरिका राजनैतिक क्षेत्रमा मात्र विश्वमा अग्रणी स्थानमा छैन, आर्थिक क्षेत्रमा पनि अग्रणी स्थानमा छ। आर्थिक क्षेत्रमा अग्रणी स्थानमा भएको हुनाले नै राजनैतिकरूपमा पनि अग्रणी स्थानमा हुन पुगेको हो। राजनैतिक र आर्थिक दुवै क्षेत्रमा नै अग्रणी स्थानमा रहेकोले अमेरिकाले यो विश्वलाई नेतृत्व प्रदान गर्ने क्षमता राखेको हो। सोभियत सङ्घको विघटन र शीतयुद्धको समाप्ति पछि अमेरिकाले एकलरूपमा विश्वलाई नेतृत्व गर्दै आइरहेको छ। विश्वको एक मात्र अप्रतिस्पर्धी महाशक्ति हुन पुगेको हो। अमेरिकाले प्राप्त गरेको यो अग्रणी स्थान आउने पचास वर्षसम्म पनि अन्य कुनै राष्ट्रले प्राप्त गर्ने सम्भावना देखिंदैन। अनुमान वा तर्क गर्नेहरू भारत, चीन वा रूसले अमेरिकाको यो अग्रणी स्थानलाई चमत्कारी किसिमले आर्थिक प्रगति गरेर विस्थापित गर्न सक्छन् भन्छन्। तर यो भनाइलाई पृष्टि गर्ने आर्थिक आधार यी राष्ट्रहरूसँग देखिएको छैन।
    आर्थिक प्रगतिका लागि केवल प्राकृतिक साधन, धन सम्पत्ति भएर मात्र हुँदैन। आर्थिक प्रगतिका लागि एउटा सबल ‘बजार संस्कृति’ आवश्यक हुन्छ। रूस, चीन र भारत यी तीनै राष्ट्रहरूमा बजार संस्कृतिको अभाव छ।

    भारतमा जुन किसिमले राजनैतिक क्षेत्रमा भाजपाको प्रभाव बढ्दै गइरहेको छ, त्यसै किसिमले यो मुलुक धार्मिक कलहमा फस्ने सम्भावना बढ्दै गइरहेको छ। प्रधानमंत्री नरेन्द्र मोदी स्वयं पनि एक कट्टर हिन्दूवादी नेता एवं प्रशासक हुन्।

    अर्कातिर भारतमा हालै भएको लोकसभा चुनावले उत्तर प्रदेशमा जुन किसिमले एकजना पुरोहितलाई मुख्यमन्त्रीको पदमा आसीन गरायो, त्यसले भारतमा धार्मिक कट्टरता बढदै गएको यथार्थलाई पुष्टि मात्र गरेनभारतीय समाज धार्मिक ध्रुवीकरण (हिन्दू र मुस्लिम अलग–अलग मोर्चाबन्दी) को दलदलमा भासिंदै गएको पनि पुष्टि गर्यो । भारत, उत्तरप्रदेशका नवनिर्वाचित मुख्यमन्त्री राजनीतिमा लामो सयमदेखि लागे तापनि उनको पृष्ठभूमि धार्मिक हो र उनी अहिले पनि गोरखनाथ मठका महन्थ हुन्। एक अतिवादी हिन्दू हुन्। अति कट्टर हिन्दूवादी छवि बनाएका उत्तरप्रदेशका मुख्यमन्त्री (मार्च २०१७ मा नियुक्त) योगी आदित्यनाथ (पहिलेको नाम अजय सिंह विष्ट) को राजनैतिक सफलताको धरालत कुनै राजनैतिक मुद्दा नभएर धार्मिक कट्टरता हो। र यो मुद्दाले नै उनलाई सन १९९८ देखि चर्चाको शिखरमा स्थापित गराएको छ। आदित्यनाथलाई  गोरखपुर चुनाव क्षेत्रले निरन्तर (पाँचपटक) विजयश्री प्रदान गर्दै आएको छ। यसरी भारत बजार संस्कृति तर्फ होइन अति धार्मिक ध्रुवीकरणतर्फ तीव्र गतिमा लम्किरहेको छ।

    चीन, भारत, रूस यी कुनै मुलुकमा पनि व्यापारिक संस्कृति छैन। चीनमा राष्ट्रिय सम्पत्तिको वितरण सन्तुलित किसिमले हुने हो, गरीब श्रमिकले उचित पारिश्रमिक वा ज्याला पाउने हो र कम पारिश्रमिक भुक्तानी गरेर सस्तोमा उत्पादन गरी विदेशी बजारहरूमा चिनियाँ उत्पादकहरूले बिक्री गर्न नपाउने हुन् भने चीनको आर्थिक प्रगति एक्कासि तल झर्न पुग्छ। रूसको स्थिति पनि राम्रो छैन। रूसको अर्थ व्यवस्थालाई कम्युनिज्मको ह्यांगओभरले अझै पनि छाडेको छैन। यस किसिमको परिस्थितिमा आर्थिक विकासमा अमेरिकालाई चीन, भारत र रूसले उछिन्ने सम्भावना टाढाटाढासम्म पनि देखिंदैन।

    कुनै पनि क्षेत्र वा देश आर्थिकरूपमा ज्यादै बलियो हुनका लागि त्यहाँ धार्मिक कट्टरता होइन, बजार संस्कृतिको विकास हुन आवश्यक छ। धार्मिक कट्टरताले गर्दा देशको आर्थिक विकास तीव्र गतिमा हुँदो हो त अहिले पाकिस्तान, अफगानिस्तान, इरान सर्वाधिक धनी राष्ट्रहरूको श्रेणीमा पर्ने थिए। इरान त झन् अग्रणी स्थानमा हुने थियो, किनभने त्यहाँ राष्ट्रिय राजनीतिको सर्वाच्च पदमा धर्मगुरु अलि खुमेनी छन्। र इरानले आफूलाई इस्लामिक रिपब्लिक अफ इरान भन्छ।

    उदहारणका लागि, अहिलेको यो ‘व्यापार संस्कृति’ को समयमा कसैले आफूल सञ्चालन गरेको होटलको नाम हिन्दू वा मुस्लिम होटल राख्छु भन्दैमा त्यस किसिमको होटल व्यवसायीले सफलता पाउन सक्तैन। त्यसकारण देशको आर्थिक विकास गर्नका लागि अहिले कुनै पनि राष्ट्रले धार्मिक कट्टरता होइन, व्यापारिक कुशलता हासिल गर्न आवश्यक छ। र अमरिकाले त्यही व्यापारिक कुशलता हासिल गरेको छ। अमेरिकामा न चीन वा रूसमा जस्तो कम्युनिज्मको चर्का प्रभाव छ,  
भारतजस्तो धार्मिक कट्टरता नै छ। अमेरिकी समाज विश्वमा नै ज्यादै लचिलो र उदार मानिन्छ। हुन पनि अमेरिकामा विश्वका लगभग सम्पूर्ण देशका नागरिकको बसोबास छ।
    अब विषय प्रवेश गरौं। व्यापारको क्षेत्रमा अमेरिकालाई कुन तत्वहरूले अग्रणी स्थानमा रहन सघाउ पुर्याए? अमेरिकाले कसरी व्यापारिक कुशलता हासिल गर्यो? अमेरिका विश्वमा नै सर्वाधिक धनी राष्ट्र कसरी हुन पुग्यो? यी प्रश्नका उत्तरहरू अति नै महत्वपूर्ण छन्। यी उत्तरहरूले नै अमेरिका एक मात्र आर्थिक र राजनैतिक महाशक्ति हुनुको अर्थ बोकेको छ।

    अमेरिकालाई धनी र विश्व–आर्थिक महाशक्ति तुल्याउन मुख्यगरी तीन तत्वले महत्वपूर्ण भूमिका खेलेका छन्। ती तत्व हुन्– १. अमेरिकीहरूमा कुशल व्यापारिक सोच हुनु र व्यापारलाई राजनीतिभन्दा बढी महत्व दिनु। २. आम अमेरिकीहरूमा रचनात्मक व्यापारिक सोच भएकोले अमेरिकामा नयाँनयाँ व्यापारको विकास हुनु। ३. देशको कानुनले व्यवसायीहरूको हक र हितको बलियो संरक्षण गर्नु।

    यस आलेखमा भने मुख्यगरी अमेरिकीहरूले निरन्तर नयाँनयाँ किसिमका व्यापारको विकास गर्नुलाई प्रमुखताका साथ चर्चा गर्न खोजिएको छ।

    अमेरिकाले गएको सात दशकमा चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ । विज्ञान, प्रविधि, कृषि, भौतिक पूर्वाधार गरी चौतर्फी आर्थिक प्रगति गरेको छ। सर्वप्रथम मानवसहितको वायुयान वा रकेट चन्द्रमामा अमेरिकाले यसै समयमा पठाएको हो। चन्द्रमामा पहिले पुग्ने श्रेय अमेरिकाले यसै कालमा पाएको हो।

    अमेरिकाले यति धेरै आर्थिक प्रगति यहाँका नागरिकहरूमा नयाँनयाँ किसिमका व्यापारको खोजी गर्ने पवृत्तिले गर्दा गरेको हो। अमेरिकीहरूले नयाँनयाँ किसिमका व्यापारको विकास एवं सृजना गर्छन् अनि विश्वका बाँकी राष्ट्रहरूले त्यसको अनुसरण गर्छन्। अर्थात् नयाँ व्यापार विकासको क्षेत्रमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। अमेरिकामा नयाँनयाँ किसिमका व्यापारहरूको विकास निरन्तर भइरहन्छ। अन्य राष्ट्रहरूले नयाँनयाँ किसिमका व्यापारको विकास गरेको विरलै देख्न पाइन्छ। भारत, नेपाल, पाकिस्तानजस्ता विकासशील राष्ट्रहरूले अमेरिकामा भएका नयाँनयाँ व्यापारको अनुसरण मात्र गर्छन्।

    वर्षौदेखि चल्दै आएको व्यापारलाई नै निरन्तरता दिने काम कम गर्नु र नयाँ नयाँ व्यापारका तरिकाहरू खोज्ने कार्य धेरै गर्नु अमेरिकी समाजको विशेषता हो र सबलता पनि हो। अमेरिकामा निरन्तर नयाँनयाँ व्यापारको विकास हुने गर्दछ। अमेरिकामा नयाँनयाँ व्यापारको विकास हुने भएकोले नै अनुसन्धान र विकासको क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गर्छ। अरू मुलुकहरूमा कानुन फितलो भएको हुनाले अनुसन्धान र विकासमा सरकारले लगानी गर्नुपर्छ तर अमेरिकामा कानुन सबैमाथि एकै किसिमले लागू हुने हुनाले र लगानीकर्ताको लगानीको सरकारले संरक्षण गरिदिने हुनाले निजी क्षेत्रले अनुसन्धान र विकासको क्षेत्रमा ठूलो मात्रामा लगानी गर्छ। परिणामस्वरूप नयाँनयाँ व्पापारको जन्म हुन पाउँछ। अर्कोतिर निजी लगानीकर्तालाई स्थानीय र सङ्घीय दुवै सरकारले संरक्षण दिने कार्य गर्दछन्। अमेरिकामा यस किसिमको व्यापारिक वातावरण रहेको हुनाले नै यहाँ उबर, इबे, फेसबूक, गुगल, युट्युब जस्ता नयाँ नयाँ व्यापारको विकास भएको हो।

    विश्वका बाँकी राष्ट्रहरूले परम्परागत व्यापार गर्दै आएकोमा अमेरिकाले ठीक त्यही समयमा, विपरीत किसिमले, नयाँनयाँ व्यापारको विकास गर्दै आएको छ। र नयाँ व्पापारको सृजना गरेर राम्रो आम्दानी हात पारेको छ। विगत एक दशकमा मात्र अमेरिकाले अनेक किसिमका व्यापारको विकास गरेको छ। यसरी विकसित भएका हरेक व्यापारको चर्चा गर्न यो लेखमा सम्भव नभएकोले केही प्रतिनिधि नयाँ व्यापार जुन अमेरिकामा विकास भयो, चर्चा गर्ने प्रयास गरेको छु।

    फेसबूक र युट्युब अमेरिकाले विकास गरेको सर्वाधिक नौलो व्यापार हो। फेसबूक र युट्युब अहिले संसारभरिका नागरिकले प्रयोग 
गर्छन् ।
    यदि फेसबूकलाई देश मान्ने हो भने, जनसङ्ख्याको हिसाबले चीनपछि यो संसारको दोस्रो ठूलो देश हो। यसको प्रयोगकर्ताहरूको सङ्ख्या अर्बौंमा छ। फेसबूकले व्यक्तिहरूलाई एक अर्कासँग जोडने कार्यभन्दा बढी केही पनि गर्दैन तर यसले व्यापारका अनेक अवसरको सृजना गरिदिएको छ। यति  मात्र होइन, फेसबूक आम नागरिकको जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ। प्रश्न उठछ, फेसबूकजस्तो नयाँ व्यापारको तरिकाको विकास विश्वको अन्य मुलुकमा किन हुन सकेन?

    युट्युबलाई पनि विश्वभरिमा अति लोकप्रिय मान्ने गरिन्छ। युट्युबले त झन् लाखौ व्यक्तिलाई आम्दानी र रोजगार दिएको छ। युट्युबले गर्दा संसारमा भएको कुनै पनि घटना तत्काल हेर्न सकिन्छ, अन्य समाचार माध्यमको प्रयोगबिना नै। संसारमा भएको कुनै पनि घटनाको फिल्म बनाएर, युट्युबमा अपलोड गरेर तत्काल विश्वभरिको दर्शकहरूलाई देखाउन सकिन्छ। युट्युबले गर्दा उत्पादक एवं बिक्रेताहरूले प्रभावकारी किसिमले जुनसुकै मुलुक र क्षेत्रमा पुगेर आफ्ना वस्तुहरूको विज्ञापन गर्न पाएका छन्। यो आधुनिक युगको युट्युब त वरदान नै हो।

    बाँकी संसार एकातिर, नेपाल भने अर्कोतिर । अमेरिकालगायत विश्वका अनेक मुलुकहरू व्यापार युगमा प्रवेश गरेर व्यापारबाट अधिक फाइदा लिने स्थितिमा पुगेका छन्। नेपाल भने झगडिया युगभन्दा बाहिर आउन सकिरहेको छैन। नेपालले अन्तहीन ‘महाभारत’ बाट कहिले मुक्ति पाउने हो?

Bishwa Raj Adhikari
Published in Prateekdaily.Com on Friday, March 31, 2017

Friday, March 24, 2017

Level of Understanding and Economic Development-Article-149

हाम्रो चेतनाको स्तर नै आर्थिक विकासको बाधक हो?

हामीले जतिसुकै फोस्रे धाक लगाए तापनि हाम्रो चेतनाको स्तर निकै पछाडि छ। चेतनाको स्तरको हिसाबले अमेरिका र युरोपका धनी देशहरू एक सय वर्ष पहिले जुन अवस्थामा थिए अहिले हामी त्यही अवस्थामा छौ। हाम्रो सोच, विचार, धारणा, विश्वास, अनुभूति, चिन्तन र यी तत्ववहरूबाट निर्मित हाम्रो व्यवहार एउटा साँघुरो घेराबाट बाहिर आउन सकिरहेको छैन। सयौं वर्ष पहिले युरोपेली देशहरू र अमेरिकाले भत्क्याइसकेको सामाजिक सद्भावको शत्रु जातियताको पर्खाल भत्काउनुको साटो त्यो पर्खाललाई झन् बलियो बनाउन जोडतोडका साथ लागेका छौं। आर्थिक विकासका लागि सर्वाधिक घातक तत्व जातीयताको अग्लो र बलियो पर्खाल पुनः निर्माणमा जोश र जाँगरका साथ लागेका छौं। नयाँ नयाँ जातीय सङ्गठनहरू खोलेर, त्यसको सदस्य भएर, खास जाति भएकोमा गर्व गरिरहेका छौं। एउटा सिङ्गो नेपाली समाज निर्माण गर्नुको साटो एउटा समाजभित्र अनेक किसिमका समाज र तहहरू निर्माण गरिरहेका छौं। हाम्रो यस्तो सोचले राष्ट्रिय आर्थिक विकासको सपना केवल सपनामा सीमित रहन दिएर यथार्थमा परिणत हुन दिने छैन। जातीयताप्रति यस्तो सोच राख्नुले हामी दक्षिण एसियाका नागरिकको चेतनाको स्तर अति नै पछाडि छ भन्ने कुरा प्रमाणित हुन्छ।
   
हामी के कुरामा अगाडि छौं? हाम्रो भूखण्डतिर जतिखेर झाडापखाला लागेर व्यक्तिहरू बिरामी हुन्थे उनीहरूलाई पानी खान दिइन्थेन। बिरामीलाई पानी खान दिएमा उसको रोग झनै बढेर जाने र मृत्युसमेत हुने भयले उसलाई पानी खानबाट वञ्चित राखिन्थ्यो। त्यस्तो अवस्थमा केवल पर्याप्त पानी खान मात्र नपाएर पनि सयौंको प्रत्येक वर्ष ज्यान जान्थ्यो। तर ठीक त्यही समयमा पश्चिमकाहरूले त्यस्ता बिरामीहरूलाई पानीमा केवल नुन र चिनी मिसाए खान दिएर रोगीहरूको ज्यान जोगाउन सकिन्छ भन्ने कुरा पत्ता लगाइसकेका थिए।
   
नेपालमा २००७ सालमा मात्र प्रजातन्त्र आयो। तर अभिव्यक्ति स्वतन्त्रता नेपालमा २०४७ सालपछि  आएको हो। ठूलो सङ्ख्यामा नेपालीहरूले बाहिरी विश्वलाई २०४७ सालपछि मात्र देख्न पाएका हुन्। भारत त झनै सयौं वर्षसम्म अङ्ग्रेजहरूको दास रह्यो। लामो समयसम्म भारत अङ्ग्रेजको दास रहेकोले भारतका नेताहरूमा अहिलेसम्म पनि दास मनोवृत्तिले जरा गाडेको छ र ती नेताहरू नेपाललगायत छिमेकीहरूलाई दासको नजरले हेर्छन्। भारतीय समाजलाई त जातीय प्रथा र सामाजिक तहहरूले झनै बढी सताएको छ। तथाकथित ठूला र साना जातिबीच सद्भाव र सम्मानको सङ्कट छ। ठूला जातिहरूले साना जातिहरूलाई अहिले पनि आफूसरह ठान्दैनन्। तर युरोप, रोममा ईसापूर्व नै गणतन्त्रको विकास भइसकेको थियो। त्यहाँको जनताले त्यही समयामा प्रजातन्त्र के हो भन्ने कुरा अभ्यासद्वारा बुझिसकेको थियो। प्राचीन रोमन दरबारमा संसद्को प्रयोग हुन्थ्यो।
   
दक्षिण एसियामा व्यावहारिक किसिमबाट विश्वविद्यालयको अवधारणा धेरै पछि आयो र प्रयोग त झनै पछि भयो। नेपालमा पहिलोपटक सन् १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। तर युरोप (इटली-तत्कालीन रोम) मा भने सन् १०८८ मा विश्वविद्यालयको स्थापना भइसकेको थियो। राज्य व्यवस्थाले नागरिकहरूलाई उच्च शिक्षा त्यसै बेलादेखि दिन आरम्भ गरेको थियो। युरोपको जनता धेरै पहिले देखि शिक्षित थियो। उनीहरूको चेतनाको स्तर पनि सोही अनुसार उच्च थियो। त्यसकारण ज्ञान विज्ञानको क्षेत्रमा पनि पश्चिमी देशहरू पहिलेदेखि नै अगाडि रहँदै आए।
   
जुन समयमा हामी दक्षिण एसियालीहरू हाम्रा गाडाहरूलाई गोरु र राँगाहरू द्वारा तान्न लगाइरहेका थियौ (अहिले पनि केही मात्रामा छ) त्यही समय (सन १९०८ ) मा अर्थात् आजभन्दा १०८ वर्ष पहिले अमेरिकीहरूले मोटरकारको विकास गरिसकेका थिए। यात्रु र सामान ओसारपसार गर्न मोटरकारको प्रयोग गर्न थालिसकेका थिए। उत्पादन र वितरणमा प्रभावकारिता ल्याइसकेका थिए। उपभोग्य वस्तु सस्तो पारिसकेका थिए। तर नेपालका  कतिपय स्थानमा एक स्थानबाट अर्को स्थान पुग्न भारतीय भूमिको प्रयोग अनिवार्यरूपले गर्नुपथ्र्यो। त्यस्तो बाध्यता नेपालका केही स्थानमा अहिले पनि छ। हुनत भारतको पनि यातायातको अवस्था नेपालको जस्तो हुने थियो, तर अङ्ग्रेजहरूले भारतमा रेल सेवाको विस्तार गरिदिएको हुनाले यातायातको क्षेत्रमा दक्षिण एसियामा नै भारत अगाडि हुन पुगेको हो। भारतमा अहिले एक दिनमा औसत १२ हजार ६ सय १७ वटा रेल गन्तव्यका लागि दौडिन्छन्। एक दिनमा औसतमा दुई करोड ३० लाख यात्रु ओहोरदोहोर गर्छन् भने रेलसेवा १ लाख १९ हजार ६३० किलोमिटरमा फैलिएको छ। तर रेलसेवाको निर्माण भारत स्वयंले गरेको भने होइन। भारतका तत्कालीन शासक अङ्ग्रेजहरूले सन् १८५३ मा गरिदिएका थिए। पहिलो रेलसेवा भारतका दुई शहर बम्बई र थानेबीच सञ्चालन भएको थियो। भारतको रेल सेवालाई विश्वको लामो रेल सेवा मान्ने गरिन्छ।
   
स्वयंले यातायातको क्षेत्रमा अत्यधिक विकास गर्ने देश संयुक्त राज्य अमेरिका हो। देश भित्रका लगभग प्रत्येक घरलाई मोटर गुड्ने सडकले छुने अमेरिकामा सडकको लम्बाइ ६५ लाख ८० हजार किलोमिटर छ। भनिन्छ अमेरिकामा रहेका सबै सडकहरूलाई एक अर्कासँग जोड्ने हो भने त्यो यति लामो हुन्छ कि त्यसले यो पृथ्वीलाई एक फन्को बाँधन सक्छ। अमेरिकाको सडक सेवा लम्बाइको हिसाबले संसारको नै सर्वाधिक लामो हो। देशको आर्थिक विकासमा यातायातको भूमिका अत्यधिक हुन्छ भन्ने यथार्थ बुझेर अमेरिकीहरूले सडक निर्माणलाई सर्वाधिक महत्व दिएका हुन्। सडक निर्माणको इन्जिनियरिंग र प्रविधिमा अमेरिका विश्वमैं अगाडि छ।
   
जति ठूलाठूला मेसिन, औजार, प्रविधि, औषधि आदिको आविष्कार भएको छ ती सबै पश्चिमका देशहरूमा भएका हुन्। सियोदेखि हवाईजहाजसम्म, पानी जहाजदेखि रेलइन्जनसम्म सबै आविष्कार पश्चिममा भएको हो। चेतना र ज्ञानको स्तरमा पश्चिमीहरू धेरै अगाडि रहेको हुनाले नै उनीहरूले मानव जीवन सरल तुल्याउने प्रायः हरेक कुराको आविष्कार गरेका हुन्। दोस्रो विश्वयुद्ध पछि त ज्ञान र विज्ञानको क्षेत्रमा ठूल्ठूला आविष्कार गर्ने त अमेरिकाले एक किसिमले जिम्मा नै लियो। गुगलजस्तो अति तीव्र सर्ज इन्जिन, संसारभरि नै व्यापार सरल गर्न सक्ने इबे वा अमेजन जस्तो ठूलो अनलाइन सपिंग, बोइंग, चालकविहीन वायुयान (ड्रोन), संसारभरि फैलिएको भीमकाय खुद्रा भण्डार (वालमार्ट) आदिको अवधारणा अमेरिकामैं जन्म्यो। अमेरिकाको प्रजातन्त्रलाई संसारभरिमा स्थिर र पुरानो मानिन्छ। यो स्थिति यहाँको जनतामा भएको उच्च चेतनाले गर्दा प्राप्त भएको हो।
   
ज्ञान र चेतनाको स्तरमा हामी दक्षिण एसियालीहरू निकै पछाडि छौं। हाम्रो आर्थिक विकासको बाधक नै हामीभित्र रहेको अपर्याप्त ज्ञान र चेतना हो।
   
हामी दक्षिण एसियालीहरूले र खास गरेर नेपालीहरूले लामो समयसम्म के विश्वास गर्यो भने मुलुकभित्र एउटा राम्रो राजनैतिक पद्धतिको विकास नभएसम्म देशको आर्थिक विकास हुन सक्तैन। हाम्रो त्यो विश्वासले हामीलाई नेपालबाट पञ्चायती व्यवस्था समाप्त पार्न प्रेरित गर्यो। देशबाट पञ्चायती व्यवस्था समाप्त भएर प्रजातन्त्रको अभ्यास भए तापनि नेपालको आर्थिक विकासको गति कछुवाको चालमैं सीमित छ। त्यस्तो किन भयो त? त्यस्तो किन भयो भने अरू (पश्चिमी) मुलुकहरूमा जनताको चेतना र ज्ञानको स्तर उच्च भएको हुनाले आर्थिक विकास गर्न उनीहरूलाई प्रजातान्त्रिक व्यवस्थाले सहयोग पुर्यायो। नेपालमा ज्ञान र चेतनाको स्तर अति तल भएको हुनाले प्रजातन्त्रले आर्थिक विकास गर्न सहयोग पुर्याउन सकेन। नेपालीहरूमा ज्ञान र चेतनाको स्तर तल भएको हुनाले नै उत्कृष्ट राजनैतिक व्यवस्था, प्रजातान्त्रिक व्यवस्था फस्टाउन सकेको छैन। नेपालमा प्रजातन्त्रले उल्टो विग्रह, सङ्घर्ष, विभाजन ल्यायो।
   
प्रजातन्त्रमा मुलुकमा आइपर्ने ठूल्ठूला सङ्कट समाधान गर्न जनताको मत लिने गरिन्छ। त्यस्ता समस्या कसरी समाप्त पार्ने भनी जनताले मत दिएर जुन बाटो देखाउँछ, सोही अनुसार समाधान खोजिन्छ। नेपालमा विपरीत परिस्थिति छ। हरेक समस्याको समाधान बल र हिंसाद्वारा खोजिन्छ। माओवादीहरूले २०५२ सालतिर राष्ट्रिय समस्या समाधानको लागि प्रयोग गरेको तरिका होस्, अहिले मधेसी दलहरूले राष्ट्रिय समस्या समाधानका लागि प्रयोग गरेको तरिका होस्, सबै किसिमका तरिकामा हिंसाको अत्यधिक प्रयोग भएको थियो र भइरहेको छ । भोलिका दिनमा कुनै राष्ट्रिय समस्या परेमा एमाले वा नेपाली काङ्ग्रेसले पनि समाधान खोज्ने तरिका यही हुनेछ। यी दलहरूले पनि समस्या समाधानका लागि हिंसा नै प्रयोग गर्नेछन्। यस्तो किन हुन्छ? किनभने हिंसा हाम्रो संस्कार हुन पुगेको छ। हामी हिंसामा विश्वास गर्छौ। शान्तिमाथि हामीलाई पटक्कै विश्वास छैन। प्रश्न उठ्छ जब हिंसामाथि नै  विश्वास छ भने जनमतको कदर गर्ने प्रजातान्त्रिक व्यवस्थाको अभ्यास किन गर्ने? पुनः पश्चगमन गर्दै निरङ्कुश व्यवस्था (पञ्चायत) मा किन नफर्कने? फ्नै देशको सम्पत्ति (घर, सवारी साधन, फर्निचर आदि) भत्क्याएर, फ्नै दाजुभाइ, दिदीबहिनी (प्रहरी, सुरक्षाकर्मी आदि) लाई कुटपिट गरेर, हत्या गरेर के समस्याको समाधन हुन्छ?
   
आर्थिक विकासका लागि प्रजातान्त्रिक चरित्र चाहिन्छ। विरोधीहरूको आवाज सुन्ने धैर्य चाहिन्छ। बल होइन, सहमतिमा विश्वास चाहिन्छ। तर अचम्म! हामी प्रत्येक समस्याको समाधन हिंसामा देख्छौं। आफ्नै दल सरकारमा रहेको कार्यकर्ताले पनि समस्याको समाधान सडकमा देख्छ। त्यस्तो दलले प्रत्यक्षरूपमा सरकारमा सम्मिलित आप्mनो नेतालाई समस्या समाधान गर्न भन्दा हुँदैन? उदाहरणका लागि केही दिन पहिले राप्रपाका कार्यकर्ताहरूले पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएकोमा विरोध प्रदर्शन गरेका थिए। कार्यकर्ताहरूले निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै निवार्चान आयोगको कार्यालय बहादुर भवन अगाडि प्रदर्शन गरेका थिए। सुरक्षाका लागि प्रहरीले बनाएको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले कार्यकर्ताहरू माथि लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। सो झडपमा तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। आश्चर्य! वर्तमान सरकारमा राप्रपाका पाँचजना मन्त्री छन् र यो दल सत्तारूढ दलहरूमध्ये तेस्रो ठूलो दल हो। प्रदर्शन र तोडफोड किन गर्नु पर्यो? फ्ना नेताहरूलाई भने भैहाल्थ्यो नि। होइन र?
   
आर्थिक विकासका लागि वा मुलुकको बहुपक्षीय विकासका लागि जनताको बौद्धिक र चेतनाको स्तर माथि नउठेसम्म देशको विकास कछुवा चालमा नै चलिरहन्छ। जनता सर्वदा हार्छ, स्वार्थी नेता जात, सम्प्रदाय, प्रदेश, विश्वास आदिको आधारमा विभाजन ल्याएर जिति

Bishwa Raj Adhikari
published in Prateekdaily on Friday, March 24, 2017

Friday, March 17, 2017

Turbulence In The World Economy-Article-148

समस्याग्रस्त विश्व अर्थव्यवस्था

 यो वर्ष विश्व अर्थ व्यवस्थामा प्रगति हुने सङ्केत देखिएको छैन र विश्व राजनैतिक वातावरण वर्तमानको जस्तो हुने हो भने आउने वर्षहरूमा पनि विश्व अर्थ व्यवस्थाले उन्नति गर्नेमा आशावादी हुने स्थिति छैन। विश्व अर्थ व्यवस्थालाई अहिले तीन कुराअति राष्ट्रवाद, पहिचानका लागि सङ्घर्ष र साम्प्रदायिक विवादजस्ता घातक तत्वले प्रतिकूल प्रभाव पार्ने देखिन्छ। संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, इटली, स्पेन, अमेरिकाजस्ता विकसित राष्ट्रहरूलाई अति राष्ट्रवादले सताउने छ। बर्मा, थाइल्यान्ड, नेपाल, सिरिया, टर्की आदि जस्ता राष्ट्रहरूलाई पहिचानका लागि सङ्घर्षले सताउने छ भने सोमालिया, दक्षिण सुडान, यमन, नाइजेरिया, मध्य अफ्रिकी गणतन्त्र, माली, लिबियाजस्ता राष्ट्रहरूलाई साम्प्रदायिक विवादले सताउने छ। र यो स्थितिबाट मुख्यगरी गरिब मुलुकका अति निर्धन नागरिक ज्यादै प्रभावित हुनेछन्। उनीहरूको लागि जीवन निर्वाह कठिन हुनेछ। भोजन, आवास, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता प्राथमिक आवश्यकताका वस्तुहरू उनीहरूको पहुँचभन्दा बाहिर हुनेछ। सोमालिया र यमनमा सधैंको साम्प्रदायिक कलहले अहिले नै भोकमरी समस्या देखा परिसक्यो।
   
अति राष्ट्रवाद, पहिचानका लागि सङ्घर्ष र साम्प्रदायिकताजस्ता समस्याहरूले शान्ति कामय हुन गार्हो हुन्छ र शान्ति कायम हुन नसकेपछि कुनै पनि मुलुकले आर्थिक प्रगति गर्न सक्तैन। यस तथ्यको ताजा उदाहरण हो, अफगानिस्तान। निरन्तर युद्ध र सङ्घर्षले गर्दा अफगानिस्थानको आर्थिक अवस्था जर्जर हुन पुगेको छ। यो देशले वैदेशिक सहयोग नपाउने हो भने कर्मचारीहरूलाई तलब पनि ख्वाउन सक्ने अवस्था छैन।
   
केही वर्ष पहिलेसम्म पनि विकसित राष्ट्रहरूमा अति राष्ट्रवाद ठूलो समस्या बनेर देखिएको थिएन। एउटा राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गर्दै विश्वबजार शक्ति हस्तगत गर्न युरोपका विभिन्न राष्ट्रहरू मिलेर एउटा महाराष्ट्र (Supranational) अर्थात् युरोपियन युनियन गठन गर्न सफल भएका थिए। युरोपियन युनियनको गठन साझा आर्थिक विकासको लागि भएको थियो र यो युनियनको गठन गर्दा सदस्य राष्ट्रहरूले राष्ट्रिय सार्वभौमसत्तामा कुनै पनि किसिमको सम्झौता नगरे तापनि आफ्नो राष्ट्रका केही अधिकार महाराष्ट्र (युनियन) लाई दिएका थिए। अर्थात् युनियनले निर्माण गरेको विभिन्न कानुन सदस्य राष्ट्रहरूले मान्ने गर्दथे र अहिले पनि मान्ने गरिरहेका छन्। तर अहिले भने एउटा राष्ट्रले आफ्नो मुलुकको लागि गर्ने विभिन्न निर्णयहरूमा त्यस राष्ट्रको नै प्रमुख भूमिका हुनुपर्छ र महाराष्ट्रमा आबद्ध हुँदा एउटा राष्ट्रले स्वनिर्णयको निजी अधिकार गुमाउने आवाज उठ्न थालेको छ। यस्तै किसिमको आवाजले ब्रिटेनलाई युरोपियन युनियनबाट अलग हुन प्रोत्साहित पारेको हो।
   
ब्रिटेनले युरोपियन युनियनबाट अलग हुने निर्णय (जून २०१६ मा भएको जनमत सङ्ग्रहबाट) गरेको एक वर्ष पनि नबित्दै स्कटल्यान्डले ब्रिटेनबाट अलग हुन दोस्रो जनमत सङ्ग्रह गर्ने (हुनुपर्ने) माग गरेको छ। स्कटल्यान्डकी मुख्यमन्त्री (First Minister) निकोल स्टर्जेनले डिसेम्बर २० (२०१६) मा स्कटिस पार्लियामेन्टमा स्कटल्यान्ड ब्रिटेनबाट अलग हुन जनमत सङ्ग्रह हुनुपर्ने बताएकी थिइन्।
   
सयौं वर्षसम्म एकीकृत अधिराज्य (United Kingdom) भित्र आबद्ध भएर बसेको स्कटल्यान्डले अप्रत्याशित रूपमा संयुक्त अधिराज्यबाट अलग भएर एक छुट्टै राष्ट्र निर्माण गर्ने घोषणा गरेको छ। स्कटल्यान्डको यो निर्णयले बिट्रेनका बासिन्दालाई त आश्चर्यमा पारेको छ नै, स्कटल्यान्डका मध्यमार्गीहरूलाई पनि उत्तिकै आश्चर्यमा पारेको छ। मध्यमार्गीहरू स्कटल्यान्डलाई ब्रिटेनभित्र नै रहेको देख्न चाहन्छन्। तर स्कटल्यान्डका अति राष्ट्रवादीहरू भने स्कटल्यान्डलाई जुनसुकै हालतमा पनि स्वतन्त्र राष्ट्र बनाउने अड्डी कसेर बसेका छन्। अति राष्ट्रवादले कुनै पनि मुलुकको विकास हुने होइन भन्ने कुरा उनीहरू सुन्न पनि चाहँदैनन्। अति राष्ट्रवादको चश्माले उनीहरूलाई सही र गलत छुट्याउने स्थितिमा रहन दिएको छैन।
   
यस्तै स्थिति स्पेनको केटोलोनियामा पनि छ। स्पेनको भूभागमा बसोबास गर्ने अति राष्ट्रवादी केटलानहरूले अहिले स्पेनबाट अलग भएर छुट्टै राष्ट्र निर्माण गर्ने प्रचार प्रसार गरिरहेका छन्। सन् १९७५ मा भने केटलानका नेताहरूले अलग राष्ट्र निर्माण नगर्ने बरु बढी स्वायत्तता लिने सहमति गरेका थिए। तर अहिले स्कटल्यान्डले गरेको घोषणाले केटलानहरूलाई पनि अलग राष्ट्र हुन अझ बढी प्रेरित गरेको छ। अति राष्ट्रवादी सोंचले जता पनि सह अस्तित्वलाई स्वीकार गरिरहेको छैन।
   
यो आलेख तयार पारिरहँदा निदरल्यान्डमा भइरहेको राष्ट्रिय चुनाव (15 March 2017) मा पनि चर्को राष्ट्रवादको कुरा गर्ने पार्टीहरूको बोलबाला रहेको देखिएको छ। निदरल्यान्डमा विश्वका सयौं मुलुकका नागरिक बसोबास गर्छन्। कतिपय शरणार्थी भएर बसेका छन्। अति राष्ट्रवादी निदरल्यान्डका नागरिकहरूले आफ्नो देशभित्र विदेशीहरू (अन्य देशहरूबाट आएका नागरिकहरू) को सङ्ख्या बढेको पटक्कै मन पराएका छैनन्। बेला बेलामा सार्वजनिक रूपमा रोष समेत प्रकट गरेका छन्।
   
आप्रवासीहरूप्रति नरम नीति अख्तियार गर्ने वर्तमान जर्मन चान्सलर अंगेला मर्केलको त्यस किसिमको नीतिको जर्मनीमा व्पापक विरोध भइरहेको छ। जर्मनीका अति राष्ट्रवादीहरूले मर्केलको सो कार्यको विरोध गरिरहेका छन् भने नवनाजीहरूले त जर्मनीमा बसोबास गरिरहेका आप्रवासीहरूलाई हतोत्साहित गर्न आप्रवासीहरूको हत्यासमेत पनि गरेका छन्। जर्मनी मात्र होइन, युरोपभरि नै प्रभावशाली नेताको रूपमा स्थापित एवं सन् २००५ देखि निरन्तर चान्सलर रहँदै आएकी मर्केलको स्थिति अति राष्ट्रवादी जर्मनहरूका कारण, राजनीतिमाथिको उनको पकड ढिला हुँदै गएको छ। अन्य मुलुक र खासगरी सिरियाबाट आएका शरणार्थीहरूलाई मर्केलले जर्मनीमा आउन अति नै प्रोत्साहित गरेको आरोप नवनाजीहरूले लगाएका छन्। यसबाट जर्मनीको राष्ट्रिय पहिचानमा धक्का पुग्ने उनीहरूको तर्क छ। सन् २०१७ सेप्टेम्बरमा हुने बुन्दिसटेगका सदस्य चयन हुने सङ्घीय चुनावमा अति राष्ट्रवादीहरूको कारण अंगेला मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनको स्थिति कमजोर हुने अनुमान गरिंदैछ ।
   
२३ मार्च २०१७ मा फ्रान्समा हुने आम निर्वाचनमा पनि अति राष्ट्रवादीहरूको बोलबाला रहने अनुमान गरिएको छ। अफ्रिकाका द्वन्द्वग्रस्त राष्ट्रहरूबाट आएका नागरिकहरूले फ्रान्समा ठूलो संख्यामा प्रवेश गरेका छन्। केहीले शरणार्थीको दर्जा पाएर जीवन बिताइरहेका छन् भने केही आप्रवासीको बसोबास गैरकानुनी छ। फ्रान्समा विदेशीहरूको उपस्थिति मन नपराउने फ्रान्सेलीहरू कम छैनन्। फ्रान्स मुख्य गरी कट्टर इस्लामिक सङ्गठनहरूका कार्यकर्ताहरूबाट बढी पीडित छ।
   
यता अफ्रिकामा कट्टर इस्लामिक सङ्गठनहरूअल सबाह, बोको हराम, अल काइद, तालिबान, आइएसले अनेक अफ्रिकी राष्ट्रको शान्ति सुरक्षा फितलो मात्र पारेका छैनन्, अनेक किसिमका आतङ्कारी हमला गरेर यस क्षेत्रको आर्थिक विकास अवरुद्ध पारेका छन्। सुडान, सोमालिया, यमन, माली, मध्य अफ्रिकी गणतन्त्र, लिबिया, नाइजेरिया जस्ता मुलुकहरूमा त यी सङ्गठनहरूले नागरिकको जीवन नै कठिन पारिदिएका छन्। आर्थिक प्रगति त परको कुरा भयो, केही क्षेत्रमा बाँच्न असम्भव हुने स्थिति कट्टर इस्लामिक ङ्गठनहरूले तुल्याइदिएका छन्।
   
एसियाका विभिन्न मुलुकमा पनि यी कट्टरपन्थी इस्लामिक सङ्गठनहरूले नागरिकको जीवन कष्टकर पारिदिएका छन्। आर्थिक प्रगति अवरुद्ध पारिदिएका छन्। इराक, सिरियाजस्ता मुलुकमा आतङ्ककारी सङ्गठनहरूले शक्तिशाली बम विस्फोटन गरारएर निर्दोष नागरिकको ज्यान नलिएको त दिनै छैन। इराकमा ज्यादै सक्रिय रहेको कट्टर इस्लामिक सङ्गठन आइएसले गर्ने आत्मघाती बम हमलाहरूले हजारौ इराकीको ज्यान लिइसकेका छन्। यस्तै अवस्था अफगानिस्तान र पाकिस्तानमा पनि छ । आतङ्ककारी वा कट्टर इस्लामिक सङ्गठनहरूले आत्मघाती बम हमला गरेको खबर अफगानिस्तान र पाकिस्तानबाट आउने क्रम जारी छ।
   
नेपालमा त झन् राष्ट्रको आर्थिक प्रगतिलाई  अवरुद्ध पार्ने तीन तत्वहरूअति राष्ट्रवाद, पहिचानका लागि सङ्घर्ष र साम्प्रदायिक विवाद भरपूर रूपमा उपस्थित छ। नेपालजस्तो सानो र गरिब राष्ट्रले यी अति ठूला समस्या झेल्न सकिरहेको छैन। नतिजा नेपाल २०४७ सालदेखि नै अशान्त छ। र यो  अशान्तिले नेपालमा आर्थिक प्रगति हुन दिइरहेको छैन। नेपालका निर्धन नागरिक झन्झन् निर्धन हुँदै गइरहेका छन्। मधेसपहाड विवादले नेपालको आर्थिक प्रगतिलाई सर्वाधिक प्रभावित पारेको छ। यो विवादले गर्दा दक्षिण तराईका विभिन्न शहरवीरगंज, जनकपुर, राजविराज आदिको व्यापार खस्केर गएको छ।
   
अति राष्ट्रवाद, पहिचानका लागि सङ्घर्ष र साम्प्रदायिक विवादजस्ता समयस्याले विश्व अर्थ व्यवस्थालाई राम्रो गरी काम गर्न नदिने सङ्केत प्राप्त हुन थालेको छ। यी तीन तत्वहरूले विश्वभरि  आफ्नो प्रभाव विस्तार गरेर थप राष्ट्रलाई पनि अशान्त पारेमा विश्व  अर्थ व्यवस्थाले स्थिरता गुमाउने खतरा छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, March 17, 2017