महँगो
ऊर्जाले सुस्त आर्थिक विकासको गति
ऊर्जा
र आर्थिक विकासबीच नङ र मासुजस्तो सम्बन्ध हुन्छ। जुन देशले ऊर्जा सस्तो पार्न
सकेको छ, त्यसले तीव्र गतिमा आर्थिक विकास गरेको
छ। विश्व परिस्थितिले त्यही भन्छ। यस आधुनिक युगमा हरेक कार्य सञ्चालनको लागि
ऊर्जा आवश्यक हुने तथ्य अब नौलो रहेन। केवल उद्योग र यातायातका लागि मात्र ऊर्जा
बढी आवश्यक हुने मान्यता पनि अब रहेन। घर, भान्सा, बाथरूम
(गिजर, हिटर) आदि स्थानमा समेत ऊर्जाको प्रयोग
आवश्यक हुन पुगेको छ। यो हामी सबैले देखेको भोगेको तथ्य हो। दाँत माज्ने ब्रश पनि
बिजुलीले चल्छन,
आजभोलि।
स्थिति एकातिर यस्तो छ भने नेपालमा ऊर्जा दिन
प्रतिदिन महँगो हुँदै गएको छ। नेपालमा ऊर्जाको आपूर्ति न सरल तुल्याउन सकिएको छ, न सस्तो पार्न सकिएको छ। उल्टो ऊर्जाका
लागि पेट्रोलियम पदार्थमाथि निर्भरता झन्झन् बढ्दै गएको छ। नेपालमा ऊर्जाका लागि विभिन्न
स्रोत उपयोग गर्न सकिएको छैन। कमजोर आर्थिक अवस्था भएको व्यक्तिको लागि ऊर्जा
(खाना पकाउने ग्याँस) खरिद असम्भव हुन पुगेको छ। नेपालमा गरिबी वृद्धि गराउन महँगो
ऊर्जा पनि जिम्मेवार छ। हुन पनि सामान्य आर्थिक अवस्था भएको व्यक्ति वा परिवारले
आम्दानीको ठूलो हिस्सा ऊर्जा खरिदमा खर्च गर्नुपरिरहेको छ।
नेपालमा यातायातका लागि मात्र होइन, खाना पकाउनका लागिसमेत पेट्रोलियम
पदार्थमाथि लगभग पूर्णरूपमा निर्भर हुनुपर्ने स्थिति छ। सामान्य परिवारले खान
पकाउनका लागि बिजुली प्रयोग गर्न सक्ने स्थिति नै छैन, किनभने बिजुली महँगो छ। ‘नेचुरल
ग्याँस’, सौर्य ऊर्जा, विन्ड मिल, फोसिल फ्युल, जल विद्युत् आदिको सस्तो र व्यापक
मात्रामा उत्पादन गर्न सकिएको छैन।
पेट्रोलियम पदार्थप्रति हामी अति निर्भर
हुँदै गएको स्थितिमा पनि हामीले पेट्रोलियम पदार्थको विकल्प खोज्न सकिरहेका छैनौं।
वा त्यतातिर ध्यान दिएका छैनौं। जल विद्युत्का लागि आवश्यक जलस्रोत नेपालमा
पर्याप्त मात्रामा उपलब्ध भए तापनि हामीले आवश्यक मात्रामा जल विद्युत् उत्पादन
गर्न सकेका छैनौं। प्राकृतिकरूपमा उपलब्ध जलस्रोतको ठूलो परिमाणमा र सस्तो किसिमले
उत्पादन गर्ने हो भने ऊर्जालाई सस्तो पार्न सकिन्छ। ऊर्जा सस्तो भएमा उत्पादन लागत
कम भएर जान्छ। उत्पादन लागत सस्तो भएमा हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय
व्यापारबाट निकै लाभ उठाउन सक्छौं। साथै मुलुकभित्र, जीवन लागत (Living Costs) पनि अहिलेको भन्दा धेरै सस्तो पार्न
सक्छौं। ऊर्जा महँगो भएको कारणले अहिले जीवन लागत ज्यादै महँगो छ। ज्यादै विपन्न
परिवारका लागि नेपालमा जीवनयापन ज्यादै महँगो र कठिन हुन पुगेको छ।
ऊर्जाका लागि हामी पेट्रोलियम पर्दाथमाथि अति
निर्भर हुँदै गएका छौं। यो एक किसिमको बाध्यता त छ नै, अर्को बाध्यता पनि छ। त्यो हो ऊर्जाका
लागि हामी पूर्णरूपमा भारतमाथि निर्भर भएका छौं। दैशभित्र नै विभिन्न स्रोतहरूबाट
कसरी ऊर्जा प्राप्त गर्ने विषयमा हामीले न गहन अध्ययन, न अनुसन्धान नै गरेका छौं। ऊर्जाको
क्षेत्रमा हाम्रो अध्ययन र अनुसन्धान फितलो छ। त्यता हाम्रो ध्यान पुगेको छैन। यो
विषयलाई महत्व नै दिएका छैनौं। हाम्रो बढी समय कलह, विग्रह, सङ्घर्ष, विरोध, द्वन्द्व आदिमा नै खर्च हुन्छ। यी विषय
हाम्रो जीवनको अति आवश्यक तत्व हुन पुगेका छन्। लामो समयसम्म हामी
शान्त भएर किन बस्न सक्दैनौं होला?
ऊर्जाका लागि हामी पेट्रोलियम पदार्थमाथि दिन
प्रतिदिन अति निर्भर हुँदै गएको छौं भने अर्कोतिर विकसित मुलुकहरू पेट्रोलियम
पदार्थको तीव्र किसिमले विकल्प खोजिरहेका छन्।
पेट्रोलियम पदार्थको प्रयोग (खासगरी सवारीका साधनहरूमा) गर्दा ठूलो
मात्रामा कार्बन उत्पादन भएर स्वास्थ्यलाई हानि पुर्याउने हुनाले विकसित देशहरू ‘सफा ऊर्जा’ वा पुनर्नवीकरणीय ऊर्जा (Renewable
Energy)
को विकास एवं खोजीमा लागिपरेका छन्। त्यस क्षेत्रमा व्यापक अनुसन्धान गरिरहेका
छन्। खर्च पनि उत्तिकै गरिरहेका छन्।
स्वीडेनको ट्रक, बस, निर्माण सामग्री, औद्योगिक औजार बनाउने एउटा कम्पनी भल्भोले सन् २०१९ पछि केवल
बिजुलीले चल्ने र हाइब्रिड कार मात्र उत्पादन गर्ने घोषणा गरेको छ। फ्रान्सले सन्
२०४० देखि देशभित्र पेट्रोल र डिजेलले चल्ने कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने
घोषणा गरेको छ। पेट्रोल र डिजेलको प्रयोगले वायु प्रदूषित भएर जनस्वास्थमा नराम्रो
असर परेकोले यसको विकल्प खोज्नुपरेको र विकल्प स्वरूप पुनर्नवीकरणीय ऊर्जाको
प्रयोगमा जोड दिनुपरेको फ्रान्सका अधिकारीहरूले बताएका छन्।
यसैगरी नर्वे, जसले संसारभरिमा सर्वाधिक ‘विद्युतीय कार’ उपयोग गर्छ, ले सन् २०२५ सम्ममा केवल विद्युतीय कार वा ‘प्लग–इन हाइब्रिड कार’
प्रयोग गर्ने योजना रहेको बताएको छ।
निदरल्यान्ड्सले पनि सन् २०२५ देखि डिजेल र
पेट्रोलले चल्ने कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने विचार व्यक्त गरेको छ। सन्
२०३० देखि डिजेल र पेट्रोलले चल्ने कारहरू प्रयोग न गर्ने योजना जर्मनीको पनि
रहेको छ।
संयुक्त राज्य अमेरिकाको धनी राज्यहरूमध्ये
एक क्यालिफोर्नियाले सन् २०४५ पछि राज्यलाई कार्बन मुक्त पार्ने घोषणा गरेको छ।
त्यस अवधिपछि राज्यमा डिजेल र पेट्रोलले होइन, पुनर्नवीकरणीय ऊर्जाले चल्ने गाडीहरू मात्र चल्ने दृढता व्यक्त गरेको
छ।
भारत, जसको एक सहर दिल्ली जुन संसारकै
सर्वाधिक दोस्रो वायु प्रदूषित शहरको रूपमा चर्चित छ, ले सन् २०३० देखि केवल
बिजुलीले चल्ने कारहरू मात्र प्रयोग गर्ने योजना रहेको उल्लेख गरेको छ।
विश्वका अनेकौं राष्ट्र वायुलाई अति प्रदूषित
तुल्याउने डिजेल र पेट्रोलको विकल्पको खोजीमा लागिपरेका छन् भने हामी उल्टो डिजेल
र पेट्रोलमा अति निर्भर हुँदै गएका छौं। यो तथ्यले हामी आर्थिक विकासको मामिलामा
कति पछाडि छौं भन्ने कुरा छर्लङ्ग पार्दैन?
जल स्रोतमा धनी भए तापनि हामीले पर्याप्त
मात्रमा जल विद्युत् उत्पादन गर्न सकेका छैनौं।
ऊर्जा सस्तो नपारेसम्म हामीले गरीबीबाट
मुक्ति पाउनु सम्भव छैन। महँगो ऊर्जाले हामीलाई गरीबीको दुष्चक्रबाट बाहिर आउन
दिइरहेको छैन। यातायात, उद्योग, व्यापार, व्यवसाय, गृहस्थी, जुनसुकै क्षेत्रमा हामीले सस्तोमा
ऊर्जा प्रयोग गर्न पाएका छैनौं।
ऊर्जा आर्थिक विकासको मेरुदण्ड हो। ऊर्जा
सस्तो मात्र होइन,
सर्वसुलभ
हुन पनि उत्तिकै आवश्यक छ।
अबको समयमा नेपालले ऊर्जालाई कसरी सस्तो
पार्न सकिन्छ भन्नेतर्फ बढी ध्यान दिन आवश्यक छ। यस क्षेत्रमा गहन अध्ययन एवं
अनुसन्धान गर्न आवश्यक छ।
पहाडी क्षेत्रहरूमा सजिलै जल विद्युत्
सस्तोमा उत्पादन गर्न सकिन्छ। साना साना जल विद्युत् उत्पादन केन्द्रहरूबाट सजिलै
जलविद्युत् उत्पादन गर्न सकिन्छ। तराई क्षेत्रमा भने बायो–इर्नजी वा बायो फ्युल
उत्पादन गर्न सकिन्छ। यसैगरी जैविक अवशेषबाट पनि ऊर्जा उत्पादन गर्न सकिन्छ।
सम्भावना धेरै छ। मुख्य कुरा दृढतापूर्वक
लाग्नुपर्यो। मुलुकमा शान्ति हुनुपर्यो। जनतामा सङ्घर्षको होइन, आर्थिक विकासको भोक जाग्नुपर्यो। विकासप्रतिको भोकले आपसे आप समृद्धितर्फ डोर्याउँछ। कलहले भने कष्ट र
गरीबीतिर।
Bishwa R Adhikari
प्रतीक
दैनिकमा प्रकाशित Friday, September 28, 2018