Friday, November 30, 2018

Special Characteristics of American Economy-Standardization-224


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

५. प्रमापीकरण
    
अमेरिकी अर्थ व्यवस्थाका विभिन्न विशेषता छन्। ती विशेषताहरूले नै अमेरिकालाई विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था हुन सहयोग पुर्याएको हो। तिनै विशेषताहरूमध्ये एक हो, अमेरिकामा हरेक वस्तुको एक निश्चित प्रमाप (Standard) हुन्। वस्तुहरूको प्रमापीकरण गर्नु। अर्थात् हरेक वस्तुको प्रमापीकरण (Standardization) गरिएको हुन्छ। हरेक वस्तुको प्रमापीकरण मात्र होइन, नामाकरण (Branding) पनि गरिएको हुन्छ। यहाँसम्म कि फलफूल, तरकारी, अन्डा, फलफूल, दही, साग आदिको पनि नामाकरण गरिएको हुन्छ। यसरी हरेक वस्तुको नामाकरण गरिएकोले कुन वस्तु कुन उत्पादकको हो भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ। यसरी बजारमा कुन उत्पादकको वस्तु असल र कुन उत्पादकको खराब छ भन्ने कुरा वस्तुमाथि लेखिएको नाम (ब्रान्ड) बाट थाहा पाउन सकिन्छ। यो कारणले गर्दा हरेक उत्पादक बजारमा स्तरीय वस्तु ल्याउन बाध्य हुन्छन्। खराब ल्याएमा वस्तु र उत्पादक, दुवैको ख्यातिमा असर पर्ने हुनाले उत्पादकहरू जहिले पनि स्तरीय वस्तु उत्पादन र बिक्री गर्न सचेत हुन्छन्।

प्रमापीकरण भनेको के हो ?
    
प्रमापीकरण भनेको हरेक वस्तुलाई एक निश्चित आकार दिनु हो। अर्को शब्दमा हरेक वस्तुको आफ्नै एक निश्चित आकार, तौल, लम्बाइ, चौडाइ हुनु हो। उत्पादकहरूले एकै किसिम (आकार) का वस्तुहरू उत्पादन गरेमा उनीहरूले उत्पादन लागत कम पार्न सक्छन् भने अर्कोतिर उपभोक्ताहरूले सस्तोमा वस्तु खरिद गर्न पाउने अवसर प्राप्त गर्छन्।
    
अमेरिकामा प्रमापीकरण गरिएको कारणले यसका पचास राज्यमध्ये जुनसुकै राज्यमा कुनै वस्तु खरिद गरे पनि, समान किसिमको गुण वा सेवा दिन्छ भने सबै एउटै प्रमापको हुन्छ। यस कुरालाई उदाहरणद्वारा यस किसिमबाट प्रस्ट पार्न सकिन्छ। सुत्ने खाट प्रायः  किङ, क्विन, फुल र ट्विन गरी चार आकार (स्तर) मा प्राप्त गर्न सकिन्छ। यसैगरी यी आकारका सुत्ने खाटहरूका लागि तन्नाहरू पनि माथि उल्लेख गरिएका आकारमा पाउन सकिन्छ। यसैगरी तकिया र तिनको खोल पनि स्टेन्डर्ड, सुपर स्टेन्डर्ड, क्विन, किङ र युरोगरी पाँच आकारमा पाउन सकिन्छ। जुनसुकै राज्यमा खरिद गरे पनि उपरोक्त वस्तुहरू तोकिएको आकारमा पाउन सकिन्छ।
    
यसैगरी भान्सामा प्रयोग हुने चुल्हो, माइक्रोवेभ वोभन, फ्रिज, डिस वासर, डाइनिंग टेबल आदिको पनि एउटै किसिमको प्रमाप हुन्छ।
   
अमेरिकामा प्रमापीकरणको व्यापक प्रयोग भएको भवन निर्माणमा देख्न सकिन्छ। यो कारणले पनि एउटा भनाइ ज्यादै प्रचलित छ। अमेरिकामा घर (आवासीय भवन) प्रायः एकै किसिमका देखिन्छन्। त्यस्तो देखिनुको कारण के हो भने घर निर्माणमा प्रयोग गरिने हरेक वस्तु जस्तै छाना, काठ, झ्याल, ढोका, भित्ता, भुइँ, छत आदिको एउटै प्रमाप हुन्छ। र निर्माण गर्दा प्रत्येक घरमा घर निर्माणकर्ता (Builder) ले त्यही एकै प्रमापका वस्तुहरू प्रयोग गर्छ। यो कारणले गर्दा घरहरू एकै किसिमका देखिन्छन्।

भवन निर्माणकर्ताहरूले किन एकै किसिमका वस्तुहरू प्रयोग गर्छन?
    एकै किसिमको वा एउटै प्रमापका वस्तुहरूको प्रयोग गरेमा भवन निर्माणकर्ताले सस्तोमा घर निर्माण गर्न सक्छ। अर्कोतिर उपभोक्ताहरूले सस्तोमा घर खरिद गर्न पाउँछन्। भवन निर्माण लागत सस्तो हुन पुग्छ।

    भवन निर्माणका लागि प्रयोग हुने वस्तुहरू, जुन निश्चित प्रमापका हुन्छन्, धेरै भवन निर्माणकर्ताहरूले समान किसिमले प्रयोग गर्ने हुनाले तिनका उत्पादक (Manufacturer) हरूले पनि ती वस्तुहरू (जसको प्रमाप गरिएको छ) ठूलो परिमाणमा उत्पादन गर्छन्। यसरी उनीहरूले ती वस्तुहरू ठूलो परिंमाणमा उत्पादन गरेकाले उत्पादन लागत कम पर्न आउँछ। जति ठूलो परिमाणमा उत्पादन गर्यो त्यही अनुपातमा स्थिर लागत (Fixed costs) कम पर्न जान्छ भन्ने कुरा हामीलाई थाहा नै छ। हो, स्थिर लागत यसरी कम पर्न गएकोले उत्पादन लागत कम पर्न आउँछ र परिणामस्वरूप उत्पादकहरूले भवन निर्माण सामाग्री सस्तोमा बिक्री गर्न सक्छन्। सम्भवतः अमेरिकामा जति भवन निर्माण लागत सस्तो संसारमा, अन्य कुनै देशमा नहोला। अमेरिकामा भवन निर्माण लागत ज्यादै सस्तो छ र सस्तो हुनुको कारण माथि बयान गरिएझै, भवन निर्माण सामग्रीहरूको प्रमापीकरण गर्नु हो।
    
अमेरिकामा निर्मित वा निर्माण हुने घरको आफ्नै मौलिक एवं महत्वपूर्ण विशेषता पनि छ। त्यो के हो भने घर, सुविधायुक्त वा प्रयोगकर्तालाई आराम हुने किसिमको अथवा स्वास्थ्यलाई हानि नहुने किसिमबाट निर्माण गरिएको हुन्छ। घर निर्माण गर्दा काठ (जसको निश्चित प्रमाप हुन्छ) को व्यापक प्रयोग गरिने हुनाले त्यस किसिमबाट निर्माण गरिएका घरहरू जाडोमा न्यानो र गर्मीमा शीतल हुने किसिमका हुन्छन्। साथै विद्युत् वा ग्याँससले घर तातो वा चिसो पार्दा (Central heating system) कम खर्चमा तातो वा चिसो पार्न सकिने किसिमका हुन्छन्। यो कारणले गर्दा अमेरिकी घरहरू सुविधायुक्त हुन्छन्। घर धनीहरूले घर निर्माण गर्दा प्रदर्शन ( बुट्टा राख्ने, रङ्गी विरङ्गी चित्रहरू कोर्ने, सिंगार्ने) भन्दा सुविधालाई महत्व दिने गर्छन्। प्रदर्शन (मेरो घर यस्तो किसिमको छ भनी गरिने गर्व) लाई खास महत्व दिंदैनन्। यो कारणले वा घर निर्माण सामग्रीहरूको प्रमापीकरण गरिएकोले गरीबहरूले पनि सजिलै घर खरिद गर्न सक्छन्। अमेरिकामा रहेका आप्रवासीहरूले पनि सजिलै घरहरू खरिद गर्न पाउनु माथि उल्लेख गरिएको कारणले पनि हो।
    
जसरी वस्तुहरूलाई सस्तो पार्न हरेक वस्तुलाई एक निश्चित प्रमाप प्रदान गरिएको हुन्छ, त्यसैगरी खास आकारको वस्तुको माग गर्ने प्रयोगकर्ताहरूका लागि उनीहरूको आवश्यकता अनुसार वस्तु निर्माण वस्तुलाई निश्चित माग अनुसार (Customization गरिएको) पारिएको हुन्छ। उपभोक्ता वा क्रेताको इच्छा एवं आवश्यकता अनुसार दुरुस्तै उस्तै वस्तु उत्पादन गरिने कार्यलाई आवश्यकता अनुसारको पार्नु (Customization गर्नु) भनिन्छ। वस्तुलाई उपभोक्ताको आवश्यकता अनुसारको पार्नु भनेको कुनै खास क्रेताको आवश्यकतामा केन्द्रित रहेर वस्तुको निर्माण गर्नु हो। अमेरिकी बजारहरूमा उपभोक्ताका इच्छा वा आवश्यकता केन्द्रित वस्तुहरू पनि प्रशस्तै पाइन्छ। तर ती वस्तुहरू प्रमापीकरण गरिएका वस्तुहरूको तुलनामा महँगा हुन्छन्। उपभोक्ताहरूको आवश्यकता केन्द्रित वस्तुहरू खासगरी बलियो आर्थिक अवस्था भएकाहरूले खरिद गर्छन्। उनीहरूले वस्तुको उपभोगभन्दा पनि आफ्नो मनोविज्ञानलाई बढी महत्व दिएका हुन्छन्।
    
तर सामान्य आर्थिक अवस्था भएका उपभोक्ताहरूले भने प्रमापीकरण गरिएका वस्तुहरू खरिद गर्छन् किनभने ती सस्ता हुन्छन्।
    
यसरी अमेरिकाले प्रमापीकरण कार्यलाई बजार व्यवस्थापनको एउटा अभिन्न अङ्ग बनाएकोले गरीबहरूले पनि धनीहरूले प्रयोग गर्ने धेरै सामग्री प्रयोग गर्न पाएका छन्। उदाहरणका लागि गरीब देशका नागरिकले मोटर, कार प्रयोग गर्न पाएका छैनन् भने पनि हुन्छ। त्यहाँ केवल धनीको मात्र कार खरिद गर्ने आर्थिक हैसियत हुन्छ। तर अमेरिकामा गरीबभन्दा गरीबले पनि मोटर, कार खरिद गर्न सक्छ। कारको उत्पादनमा प्रमापीकरण अवधारणलाई ध्यानमा राखिएकोले कार उत्पादकहरूले सस्तोमा कार उत्पादन गर्न सकेका छन्। सस्तो पारेर बिक्री गर्न सकेका छन्।
    
यसरी अमेरिकी उत्पादकहरूले प्रमापीकरणको व्यवस्थित प्रयोग गर्न पाएको हुनाले उनीहरूले सस्तोमा वस्तु उत्पादन गर्न पाएका छन्। अनि उपभोक्ताहरूले पनि सस्तोमा विभिन्न सामग्री खरिद गर्न पाएका छन्। सस्तोमा सामान खरिद गर्न पाएको हुनाले आम अमेरिकीहरूको जीवनस्तर उच्च हुन पुगेको छ। अमेरिका आर्थिकरूपमा समृद्ध बनेको छ।
    
नेपालमा प्रमापीकरण अवधारणाको प्रयोग राम्ररी हुन सकेको छैन। यहाँ केवल एउटा मात्र उदाहरण, केवल भवन निर्माणको। मानिसहरू किसिम किसिमको घर बनाउने, निर्माण सामग्री पनि अनेक आकार, प्रकारको प्रयोग गर्ने र संरचना पनि अनेक किसिमको हुने हुनाले भवन निर्माणमा प्रमापीकरणको प्रयोग हुन पाएको छैन। त्यसकारण नेपालमा भवन निर्माण ज्यादै महँगो हुन्छ। नेपालमा ज्यादै निर्धन व्यक्तिले एउटा सुविधायुक्त घर निर्माण गर्ने सोच राख्नु भनेको दिउँसै सपना देख्नु सरह हो। यस्तो हुनु नपर्ने हो। नेपालले जहिले पनि भारतको सिको गर्यो, विकसित देशहरूको गरेन। अर्कोतिर भारत सभ्यता विकासको क्रममा आफै निकै पछाडि थियो, अहिले पनि छ।

 नेपालमा पनि भवन निर्माणमा प्रमापीकरण अवधारणा प्रयोग गर्ने हो भने भवन निर्माण लागत निकै कम पार्न सकिन्छ। अन्य वस्तुहरूको उत्पादनमा पनि प्रमापीकरण अवधारणा प्रयोग गरी उत्पादन लागत कम पारेर उपभोक्तालाई सस्तो वस्तु उपलब्ध गराउन सकिन्छ। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 30, 2018     

Friday, November 23, 2018

Special Characteristics of American Economy- Research and Development-223

अमेरिकी अर्थ तन्त्रका विशेषता

४. अनुसन्धान एवं विकासमा ठूलो लगानी
    
संयुक्त राज्य अमेरिका त्यस्तो मुलुक हो जसले अनुसन्धान एवं विकासमा संसारभरिमा नै सर्वाधिक खर्च गर्छ। साथै त्यसको प्रतिफल (लाभ एवं मुनाफा) पनि ठूलै परिमाणमा हात पार्छ। अनुसन्धान एवं विकासमा गरिएको बढी खर्चले नै अमेरिकी अर्थतन्त्रको गतिले उच्च तीव्रता पाएको छ। आर्थिक विकासमा अन्य मुलुकहरू कारको गतिमा दौडेका छन् भने अमरिका रकेटको गतिमा दौडिन सफल भएको छ। अमेरिकाको यो गतिलाई अन्य राष्ट्रहरूले उछिन्न सकेका छैनन्। चीन, भारत, ब्रजीलजस्ता ठूला अर्थतन्त्रहरूले समेत पनि उछिन्न सकेका छैनन् र उछिन्न सक्ने सम्भावना टाढाटाढासम्म देखिंदैन। अमेरिकाको आर्थिक विकासको गतिलाई रकेटको स्तरमा पुर्याउन अनुसन्धान तथा विकासले अहम् एवं अग्रणी भूमिका खेलेको छ। अनुसन्धानमा गरिएको अधिक खर्चले नै अमेरिकालाई विश्वको एक नम्बर आर्थिक महाशक्ति बनाएको हो। यसमा दुई मत हुन सक्दैन।
    
कुनैपनि देशले उसको आर्थिक विकासको गतिलाई तीव्रता दिन अनुसन्धान तथा विकासमा ठूलो रकम खर्च गर्न आवश्यक छ। तर अफसोच! नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत जस्ता विकासशील देशहरूले चाहेर पनि अनुसन्धान एवं विकासमा ठूलो रकम खर्च गर्न सक्तैनन् किनभने यी राष्ट्रहरूले गर्ने कुल राष्ट्रिय आम्दानीको ठूलो हिस्सा केवल जनताको भरणपोषणमा नै खर्च गर्नुपर्ने हुन्छ। स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने हुन्छ। त्यस कारण यी राष्ट्रहरूले अनुसन्धान एवं विकासको एकदमै सानो हिस्सा प्रतिफलको रूपमा प्राप्त गर्छन्, त्योपनि अन्य राष्ट्रहरूले गरिदिएको अनुसन्धान एवं विकासको नक्कल गरेर। तर धनी वा विकास एवं अनुसन्धानमा बढी खर्च गर्ने राष्ट्रहरूले ज्यादै ठूलो हिस्सा प्रतिफलको रूपमा प्राप्त गर्छन्।
    
अमेरिकापछि अनुसन्धान तथा विकासमा सर्वाधिक खर्च गर्ने राष्ट्र चीन एवं जापान हो। कुल गार्हस्थ्य उत्पादनको तुलनामा अनुसन्धान तथा विकासमा बढी खर्च गर्ने राष्ट्रहरूको सूचीमा दक्षिण कोरिया तेस्रो नम्बरमा पर्दछ। चौथो नम्बरमा इजराइल पर्दछ। सन् २०१४ मा दक्षिण कोरियाले अनुसन्धान एवं विकासमा आप्mनो कुल गार्हस्थ्य उत्पादनको ४.३६ र इजराइलले ३.९३ प्रतिशत खर्च गरेको थियो। अनुसन्धान तथा विकासमा र खासगरी सूचना तथा सञ्चार क्षेत्रमा अत्यधिक खर्च गरेको कारण नै दक्षिण कोरिया अहिले, यो दशकमा तीव्र गतिमा आर्थिक विकास गर्ने मुलुकहरूको सूचीमा पर्न सफल भएको छ। इलेक्ट्रिक र इलेक्ट्रोनिक सामानहरूको उत्पादनमा दक्षिण कोरियाले विश्वबजारमा तहलकामात्र मचाएको छैन, आफ्नो बजार क्षेत्र संसारभिर विस्तार गर्न सफलसमेत भएको छ। अहिले दक्षिण कोरियाले चमत्कारी किसिमले आर्थिक विकास गरिरहेको छ। पचास वर्ष जति पहिले नेपाल र दक्षिण कोरियाको आर्थिक स्थिति उस्तैउस्तै थियो। तर नेपालको आर्थिक विकासको गति कछुवा चालमा नै छ।
    
अनुसन्धान तथा विकासमा बढी खर्च गर्ने राष्ट्रहरूको सूचीमा ताइवान पनि पर्दछ। तर एशियामा सर्वाधिक खर्च गर्ने राष्ट्र भने चीन हो। सन् २०२० सम्म चीनले अनुसन्धान तथा विकासमा आफ्नो कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत खर्च गर्ने लक्ष्य राखेको छ। तर डलरसँग तुलना गर्दा अनुसन्धान तथा विकासमा बढी खर्च गर्ने राष्ट्रको रूपमा रहेको अमेरिकाको स्थानलाई अन्य राष्ट्रहरूले उछिनने सम्भावना ज्यादै पातलो छ। सन् २०१३ मा अमेरिकाले अनुसन्धान तथा विकासमा ४ सय ५० बिलियन डलर खर्च गरेको थियो। अनुसन्धान तथा विकास अमेरिकी अर्थ व्यवस्थाको रक्तसञ्चार हो। मुटु भने पूँजीवादी अर्थ व्यवस्था हो।
    
अनुसन्धान तथा विकास कार्यलाई बढी महत्व दिने र यो क्षेत्रमा बढी लगानी गर्ने अमेरिकीको आर्थिक संस्कृति नै भएको हुनाले नै युटुब’, ‘फेसबूक’, ‘उबर’, ‘अमेजन डट कम’, ‘नेटफ्लिक्स’, ‘स्काइप’, ‘माइक्रोसफ्ट’, ‘एपलजस्ता नयाँनयाँ व्यापारको जन्म केवल अमेरिकामा मात्र भयो। र यिनको व्यापारबाट आएको प्रतिफल (मुनाफा) को राम्रो हिस्सा अमेरिकाले प्राप्त गर्यो। यी वस्तु वा सेवाहरूको विकासबाट अन्य राष्ट्रहरूले केवल सेवा (प्रयोग गर्न पाएर) पाए भने अमरिकाले ठूलो लाभ प्राप्त गर्यो। अमेरिकी अर्थतन्त्रको विशेषता नै हो, नयाँनयाँ वस्तु एवं सेवाको विकास गर्नु र बजारमा भएको प्रतिस्पर्धा (पुराना वा बजारमा पहिलेदेखि नै विद्यमान रहेका वस्तु एवं सेवाको बिक्रीका लागि हुने प्रतिस्पर्धा) लाई असान्दर्भिक तुल्याउनु। अर्थात् नितान्त नयाँ वस्तु वा सेवा विकास गरेर, तिनलाई बजारमा पुर्याएर, प्रतिस्पर्धा नगर्नुपर्ने स्थिति सृजना गर्नु। आफ्नो वस्तु एवं सेवालाई प्रतिस्पर्धाविहीन पारेर बढी मुनाफा हात पार्नु। नयाँ वस्तु एवं सेवा विकास गर्ने कार्यलाई अमेरिकाले उच्च प्राथमिकतामा राखेको छ। यसरी यस्तो प्राथमिकता दिएको कारणले अमेरिकाले आउँदा वर्षहरूमा नितान्त नयाँनयाँ वस्तु एवं सेवाहरूको झनै ठूलो सङ्ख्यामा विकास गर्नेछ। ती वस्तुहरूले मानवजीवनलाई सरल मात्र पार्ने छैनन्, बजारमा व्यापारिक क्रियाकलापमा पनि वृद्धि गराउने छन्। यस्तो अन्य राष्ट्रहरूले गर्नु सम्भव छैन।

अनुसन्धान एवं विकासमा बढी लगानी किन आवश्यक छ ?
    
बढी लाभ एवं मुनाफा प्राप्त गर्न तथा बजारमा आफ्नो वर्चस्व कायम गर्न उत्पादक एवं बिक्रेताहरूले नयाँनयाँ वस्तु एवं सेवाको विकास वा अविष्कार गर्न अति आवश्यक हुन्छ। नयाँनयाँ वस्तु एवं सेवाहरूको विकास गरेर तीव्र प्रतिस्पर्धाको स्थितिबाट जोगिन सकिन्छ। यसैगरी नयाँ वस्तु वा सेवा बजारमा नितान्त नौलो भएकोले तिनको बिक्रीबाट भरपूर फाइदा (मुनाफा) प्राप्त गर्न सकिन्छ। अहिले उबर, फेसबूक, युटुब, अमेजनले त्यस्तै गरिरहेका छन्। नितान्त नौलो वस्तु एवं सेवा विकास गरेकोले त्यसबाट ठूलो परिमाणमा मुनाफा प्राप्त गरिरहेका छन्। नयाँ वस्तु एवं सेवाहरूको खरीदमा उपभोक्ताहरूले बढी खर्च गर्छन् पनि। उदाहरणका लागि स्मार्ट फोनलाई लिन सकिन्छ।
   
नयाँनयाँ वस्तु एवं सेवाको विकास गरेर पुराना वस्तु एवं सेवाहरूलाई विस्थापित गर्न सकिन्छ। त्यति मात्र होइन, नयाँ वस्तुको विकास गरेर, नयाँ आवश्यकता सृजना गर्न सकिन्छ। नयाँ आवश्यकता सृजना गरेर नयाँ माग सृजना गर्न सकिन्छ। नयाँ माग सृजना गरेर थप उत्पादन गर्न सकिन्छ। थप उत्पादनले थप रोजगार सृजना गर्छ। अमेरिकी अर्थतन्त्रले यही अवधारणमा विश्वास गरेर कार्य गर्दछ।
    
नयाँ वस्तु वा सेवाको विकास गरेर कार्य कुशलता एवं कार्य दक्षतामा वृद्धि गर्न सकिन्छ। उत्पादकत्वमा पनि वृद्धि गर्न सकिन्छ। केही वर्ष पूर्वसम्म अमेरिकामा व्यक्तिहरू लामो वा छोटो सडकयात्रामा जाँदा, सडक अपरिचित रहेको अवस्थमा, सडकबारे जानकारी लिन कागजमा छापिएको सडकनक्शा कार वा गाडीमा राखेर हिंड्थे। कारमा राखिएको कगजी नक्शा अपरिचित सडकहरूमा कार चलाउँदा अपरिचित बाटो थाहा पाउन सजिलो त हुन्थ्यो, तर प्रभावकारी हुन्थेन किनभने कार चलाउँदै नक्शा हेर्नु सजिलो थिएन।
    
बाटो पत्ता लगाउने (Navigation), त्यो समस्या समाधान गर्न बजारमा जिपिएस (GPS-Global Positioning System) आयो। जिपिएस नयाँ वस्तु विकासको क्रममा नै बजारमा आएको थियो। जिपिएसको बजार प्रवेशले कागजी नक्शालाई विस्थापित मात्र गरेन, गाडी चलाउँदै अपरिचित बाटो थाहा पाउने काम पनि सजिलो पारिदियो। किनभने जिपिएसमा सडकको डिजिटल नक्सा हुन्छ र साथै जिपएसले ध्वनिद्वारा पनि चालकलाई कुन दिशामा जाने भनी निर्देशित गर्दछ। अर्थात् जिपिएस बोल्छ पनि। तर जिपिएस पनि प्रभावकारी देखिएन किनभने सानो कचौरा आकारमा हुने त्यो जिपिएसलाई नयाँ गन्तव्यमा जाँदा चालकले साथ लिएर जानुपर्ने भयो। साथै त्यो जिपिएसलाई गाडीसँग (प्लगमा) जोडेर पनि राख्नुपर्यो। जिपिएसमा देखिएको त्यो समस्या सामाधान गर्न आजभोलि बिल्टइनजिपिएस बजारमा पाइन्छ। अर्थात् आजभोलि जिपियस कारमा नै जडान गरिएको हुन्छ, थप जिपिएस किन्नुपर्दैन। यसरी नयाँ वस्तु विकासको क्रम कहिले पनि रोकिंदैन। नयाँ वस्तु विकासको क्रम चलि नै रहन्छ। यो तथ्यलाई अमेरिकी व्यवसायीहरूले राम्ररी बुझेका छन्। त्यसकारण नयाँ नयाँ वस्तु वा सेवा लिएर बजारमा उपस्थित हुन्छन्। नेपाल वा भारतमा दुई सय वर्षदेखि एकै किसिमको जिलेबी बनिरहेको स्थिति अमेरिकी बजारमा देख्न पाइँदैन। अमेरिकामा जिलेबी बन्ने भइदिएको भए, जिलेबीको निर्माणमा पचासौ किसिमको सुधार भएको देख्न सकिन्थ्यो। उदाहरणका लागि अमेरिकामा गुड्ने कारहरूमा कारको अगाडि र पछाडिको दृश्य चालकले आफ्नो अगाडि देख्न सक्ने सुविधा (कारमा क्यामेरा जडान गरिएको) हुनु त सामान्य भइसक्यो। थप के पनि सुविधा पाउन सकिन्छ भने कार ठीक लेन (सडकमा कोरिएको दुई सेतो धर्काको बीचमा) गुडिरहेको छ कि छैन भनी हेर्न पाउनु। गुडिहरेको कार लेन बाहिर गएमा कारले ध्वनिद्वारा चालकलाई सङ्केत गर्छ। साथै आफ्नो कारको ठीक छेउबाट अर्को कार गुडिरहेको छ भने त्यो जानकारी पनि कारले चालकलाई दिन्छ। चलिरहेको कारको अगाडिको कारले अचानक ब्रेक हान्दा चलिरहेको त्यो पछाडिको कारले पनि आफैं (कार) ब्रेक हान्छ। यति मात्र होइन, अब केही वर्षभित्र अमेरिकी बजारमा चालक नचाहिने, कार स्वयंले आफूलाई सञ्चालन गर्ने (Self-driving Car)) कारहरू देखा पर्नेछन्, बिक्री हुनेछन्।
    
माथिका कुराहरू के सन्दर्भमा उल्लेख गरिएको हो भने नयाँ वस्तु एवं सेवाहरूको विकास गर्ने ठाउँ प्रशस्त हुन्छ। तर विकासशील राष्ट्रहरूले नयाँ वस्तु वा सेवाहरूको विकास गर्न सक्तैनन् किनभने नयाँ वस्तु एवं सेवाको विकास गर्न, अनुसन्धान र विकासमा पर्याप्त लगानी गर्न उनीहरूसँग बजेट नै हुँदैन। अर्कोतिर बजारले जहिले पनि नयाँ वस्तु एवं सेवा माग गरिरहेको हुन्छ।
    
अमेरिकामा देख्न पाइने एउटा विशेष कुरा के छ भने यहाँ कुनै पनि वस्तु जो अहिले बजारमा छ, दशकौसम्म समान अवस्थामा रहँदैन। अर्थात् हरेक वस्तु वा सेवाको स्वरूप वा विशेषतामा क्रमिक सुधार भइरहेको हुन्छ। नयाँ वस्तु वा सेवाको विकास अविरल र आवश्यक रूपमा भइ नै रहन्छ।
    
अमेरिकाको शिक्षा पद्धतिले नै विद्यार्थीहरूलाई नयाँनयाँ वस्तु एवं सेवा विकास गर्न उत्पेरित गर्छ। हुनपनि अमेरिकी शिक्षानीति, र खासगरी व्यापारिक शिक्षाले विद्यार्थीहरूलाई व्यापारीभन्दा उद्यमी (Entrepreneur) बन्न जोड दिन्छ। व्यापारी त्यो हो जसले अरूले गरेको व्यापारको अनुसरण गर्छ। तर उद्यमी त्यो हो जसले स्वयं नयाँ व्यापार विकास गर्छ, अनि त्यो व्यापारको सञ्चालन गर्छ। यो कारणले पनि अमेरिकामा धेरै नयाँनयाँ वस्तु एवं सेवाको विकास भएको हो।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 23, 2018

Wednesday, November 14, 2018

Special Characteristics of American Economy-Expenditure Based Economy-222


अमेरिकी अर्थतन्त्रका विशेषताहरू

३. खर्चमा आधारित अर्थ व्यवस्था

    संयुक्त राज्य अमेरिकाको अर्थ व्यवस्थाको अर्को महत्वपूर्ण विशेषता के हो भने यसले नागरिकहरूले खर्च गरून् भन्ने कुरामा बढी जोड दिन्छ। अर्थात् अमरिकी अर्थ व्यवस्था खर्चमा आधारित अर्थ व्यवस्था हो। नागरिकले बढी खर्च (उपभोग) गरे बजारमा बढी सामग्री बिक्री हुन्छ। बढी सामग्री बिक्री भएमा देशमा बढी उत्पादन हुन्छ। देशमा बढी उत्पादन भएमा बढी व्यक्तिले रोजगार पाउँछन्। बढी व्यक्तिले रोजगार पाएमा बढी व्यक्तिको आर्थिक स्थिति राम्रो हुन्छ। बढी व्यक्तिको आर्थिक स्थिति राम्रो भएमा देशले आर्थिक समृद्धि प्राप्त गर्छ। र यस्तो समृद्धि स्थिर र दीर्घकालीन हुन्छ। यही आर्थिक अवधारणामा बलियो विश्वास गरेर अमेरिकी अर्थ व्यवस्थाले कार्य गर्दछ। नागरिकलाई बढी खर्च गर्न सरकारले नै बढी उत्प्रेरित गर्छ।

    अमेरिकी बजारमा केवल ‘एकपटक मात्र प्रयोग’ हुने सामग्री बिक्री पनि ठूलो परिमाणमा हुन्छ र यो यस कारणले हुन्छ कि त्यस्ता सामग्रीहरू फेरिफरि पनि निर्माण होस् र उत्पादन कार्यले निरन्तरता पाओस्। रोजगारले निरन्तरता पाओस्। रोजगारलाई अमेरिकाले आफ्नो अर्थ व्यवस्थाको मुटुको रूपमा लिने गर्छ र रोजगारलाई सर्वाधिक महत्व दिन्छ। चुनावको समयमा राजनैतिक दलहरूको प्रमुख चुनावी मुद्दा नै रोजगार र जनताको आम्दानी हुने गर्छ। अर्थात् आम अमेरिकीहरूले बढी खर्च गर्ने हुनाले केवल एकपटक प्रयोग हुने सामान पनि ठूलो परिमाण खरिद गर्छन्।

    हेलोइन’, ‘क्रिसमस’, ‘थैक्सगिभिंग’ ‘इस्टर’ अमेरिकामा मनाइने यस्ता ठूला चाड हुन् जसमा केवल एकपटक मात्र प्रयोग हुने सामग्री ज्यादै ठूलो परिमाणमा र अमेरिकाभरि नै बिक्री हुन्छ। उदाहरणका लागि हेलोइनमा पम्किन (फर्सी), क्रिसमसमा उपहार र क्रिसमस ट्री सजाउने अनेक सामग्री (जस्तै रैपिंग पेपर, ओर्नामेन्ट ), थैक्सगिभिंगमा मासु (टर्कीको मासु र त्यससँग सम्बन्धित अन्य सामग्री), इस्टरमा प्लास्टिकको आकारका अन्डाजस्ता एकपटक मात्र उपभोग हुने सामग्री अमेरिकाभरि नै ठूलो परिमाणमा बिक्री हुन्छ। यसैगरी भेलेन्टाइन्स डे, सेन्ट पैट्रिक्स डेमा पनि केवल एकपटक मात्र प्रयोग हुने सामग्री ठूलो परिमाणमा बिक्री हुन्छ। भेलेन्टाइन्स डेको दिन ठूलो परिमाणमा उपहार खरिद गरेर आदानप्रदान गरिन्छ भने सेन्ट पैट्रिक्स डेका दिन हरियो लगाउने प्रचलन रहेकोले त्यस दिन हरियो रङ्गको टोपी, मोजा, टिशर्ट, टाई, रूमाल, सर्ट, पैन्ट आदि ठूलो परिमाणमा बिक्री हुन्छ। अर्थात् गैरआवश्यकीय वा एकपटक प्रयोग गरिने सामानमा पनि अमेरिकीहरू बढी खर्छ गर्छन्। र यस्तो धेरै खर्च गर्ने बानीले गर्दा गर्छन्।

    उल्लेखनीय कुरा त के छ भने अमेरिकाभरि धुमधामले मनाइने उपरोक्त चाड, जुन क्रिश्चियन धर्मावलम्बीहरूले मनाउँछन्, गैर क्रिश्चियनहरू (जस्तै हिन्दू, इस्लाम, सिख, बौद्ध, ताओ, बहाइ एवं अन्य) ले पनि उत्साह र उमङ्गले मनाउने गर्छन्। यो एक ठूलो सामाजिक विशेषता हो। यो परम्पराले अमेरिका आएपछि सबै अमेरिकी हुन्छन् भन्ने भनाइलाई पुष्टि गर्छ। अर्थात् अमेरिका आएपछि अमेरिकी सेन्डविच, पिज्जा र बर्गर सबैको प्रिय हुन्छ। सेन्डविच कल्चरमा सबै रमाउन थाल्छन, चाहे चीन, भारत, केन्या, सुडान, इथोपिया, साउदी अरेबियाबाट आएका किन नहुन्। र यस किसिमको सामाजिक विशेषताले राष्ट्रिय अर्थ व्यवस्थाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ।

    अमेरिकामा हरेक वर्ष नोभेम्बर महीनामा ‘थैंक्सगिभिंग’ चाड मनाउने गरिन्छ र यो चाड अनिवार्यरूपले नै बिहीवारको दिन मनाउने गरिन्छ। अर्थात् कुनै पनि वर्षको थैंक्सगिभिंग बिहीवारका दिन नै मनाउने गरिन्छ। र यो थैंक्सगिभिंगको पनि अमेरिकी अर्थ तन्त्रसँग गहिरो सम्बन्ध छ। त्यस्तो कसरी होला? थैक्सगिभिंगको भोलिपल्ट शुक्रवार पर्छ र त्यो शुक्रवारलाई ‘ब्लेक फ्राइडे’ भन्ने गरिन्छ। ब्लेक फ्राइडेको दिन स्टोरमा गएर होस् वा अनलाइन, ठूलो परिमाणमा खरिद हुन्छ। कतिपयले त ब्लेक फ्राइडेको दिन सस्तोमा सामान पाइन्छ भनेर वर्षभरि नै यो दिनलाई कुरेर बसेका हुन्छन् र यो दिन नै खरिद गर्छन्। हुन पनि यो दिन बिक्रेताहरूले ठूलो छुट दिएर बिक्री गर्छन्। र कुनै सामान, सीमित सङ्ख्यामा, आधा वा त्योभन्दा पनि कम मोलमा बिक्रेताहरूले बिक्री गर्छन्। थैंक्सगिभिंगको दिनदेखि नै क्रिसमसका लागि खरिदारी शुरु हुन्छ भन्ने जनविश्वास पनि रहेको पाइन्छ। अमरिकामा ब्लेक फ्राइडेको दिन ज्यादै ठूलो परिमाणमा सामान बिक्री हुन्छ।

    सन् २०१७ को ब्लेक फ्राइडेमा अमेरिकीहरूले विभिन्न सामग्रीहरूको खरिदमा ६ सय ८२ बिलियन डलर  खर्च गरेका थिए। सन् २०१८ मा ७ सय १७.५ बिलियन खर्च गर्ने अनुमान गरिएको छ। यसैगरी प्रतिव्यक्ति यस वर्षको ब्लेक फ्राइडेमा औसतमा १ हजार ७ डलर खर्च गर्ने अनुमान गरिएको छ। प्रत्येक व्यक्तिले १ हजार ७ डलर खर्च गर्नेमध्ये, प्रत्येक व्यक्तिले ६ सय ३८ डलर केवल उपहार सामग्री खरिदमा, २ सय १५ डलर खाद्य सामग्री, सजावटका सामान, फूल, ग्रिटिंग कार्ड आदि खरिद गर्नमा र १ सय ५५ डलर छुट प्रदान गरिने सामग्री आदिको खरिदमा खर्च गर्ने अनुमान गरिएको छ। अमेरिकामा ब्लेक फ्राइडलाई ‘खरिद दिवस’ को रूपमा मनाइन्छ भने पनि हुन्छ। यो दिनमा आम अमेरिकीहरू खरिद (खर्च) गर्न मनोवैज्ञानिकरूपमा तयार भएका हुन्छन्। यस दिन दैनिक आवश्यकताका वस्तुहरू कम, गैरदैनिक आवश्यकता (विलासी वा अर्धविलासी) वस्तुहरू ठूलो परिमाणमा खरिद बिक्री हुन्छ।

    अमेरिकामा जनताले खर्च गरोस् भन्ने विषयलाई सरकारले कति महत्व दिन्छ भन्ने कुराको एउटा उदाहरण यहाँ पेश गर्न चाहन्छु। सन् २००७ देखि अमेरिकी अर्थ व्यवस्था सुस्त हुन पुगेको थियो। त्यो स्थिति सन् २००८ सम्म रह्यो। सुस्ताएको अवस्थाबाट अर्थ तन्त्रलाई बाहिर ल्याउन एवं अमेरिकी अर्थ व्यवस्थालाई गति प्रदान गर्न सङ्घीय सरकारले प्रत्येक व्यक्तिलाई, खर्च गर भनेर २५० डलर, सित्तैमा, प्रदान गरेको थियो। यस्तो रकम पाउनेहरूको सङ्ख्या ५ करोड २० लाख जति थियो। यस किसिमको ‘प्रोत्साहन’ (Stimulus) रकम जनतालाई प्रदान गर्न सरकारले १३ बिलियन डलर खर्च गरेको थियो र त्यो १३ बिलियन डलर प्रोत्साहन रकम प्राप्तकर्ताहरूले बजारमा पुगेर विभिन्न वस्तु एवं सेवाहरू खरिद गर्नेछन् र राष्ट्रिय अर्थ व्यवस्थामा सुधार अउने छ भनी सरकारले दृढ विश्वास लिएको थियो। हुन पनि प्राप्तकर्ताहरूले त्यो रकम विभिन्न सामग्री खरिदमा खर्च गरे, अर्थ व्यवस्थाले गति लियो पनि। फेब्रुअरी १७, २००९ मा अमेरिकी काङ्ग्रेसले एउटा -ARRA: The American Recovery and Reinvestment Act of 2009 को  निर्माण गरेर जनतामाझ उक्त प्रोत्साहन रकम बाँडेको थियो।

    आम अमेरिकीले प्रयोग गर्ने विभिन्न सामग्री (जुन घरभित्र हुन्छ जस्तै फर्निचर, कपडा, खाद्य सामग्री, लुगा, सरसफाइका समान आदि) को गणना गर्ने हो भने तिनको सङ्ख्या लगभग ३ लाख हुन आउँछ। यस जानकारीबाट पनि थाहा पाउन सकिन्छ कि आम अमेरिकी कति खर्च गर्ने रहेछन्। गएको पचास वर्षमा आम अमेरिकीले प्रयोग गर्न घरको आकार तीन गुनाले बढेको छ, तर पनि कतिपयले घरमा सामान नअटाएर बारितिर वा भाडाको कोठामा राख्ने गरेका छन्। औसतमा एक अमेरिकी बच्चा (औसत दस वर्ष उमेरका) को हातमा २३८ वटा खेलौना रहेको हुन्छ। संसारभरिका बच्चाहरूमध्ये ७.३१ प्रतिशत बच्चाहरू अमेरिकामा बस्छन् तर तिनीहरूले संसारभिरका बच्चाहरूले प्रयोग गर्ने खेलौनाको ४० प्रतिशत खेलौना प्रयोग गर्छन्। यसैगरी प्रत्येक महिलासँग औसतमा ३० जोर लुगा हुन्छ। आम अमेरिकाले औसतमा, वर्षभरिमा १ हजार ७ सय डलर केवल लुगा कपडामा मात्र खर्च गर्छन्। र प्रत्येक वर्ष ६५ पौण्डको पुराना लुगाहरू फाल्छन्। आम अमेरिकीहरूले गैरआवश्यकीय वस्तु (घडी, फैसन जुत्ता, गहना आदि) जुन नभई नहुने होइन, मा खर्च गर्ने रकमको लेखाजोखा गर्ने हो भने त्यो वार्षिक १.२ ट्रिलियन डलर हुन आउँछ।

    विकासशील देशहरू जस्तै नेपाल, भारत, पाकिस्तानमा प्रत्येक व्यक्तिले घर घरायसी आवश्यकताका लागि प्रयोग गर्ने सामग्रीहरूको सङ्ख्या ३० हजारभन्दा माथि जान सक्तैन।
    अब यहाँ एउटा प्रसङ्ग जोडौं। हाम्रो समाजमा भनाइ छ। ‘आप का कि बाप का’। आफ्नो कमाइ हो भने ज्यादै कम खर्च गरेर पाइपाइ जोगाउने। बाबुको कमाइ हो भने मात्र हात खोलेर खर्च गर्ने। उपरोक्त भनाइको आशय यही हो। अर्थात् आफ्नो कमाइ खर्च नगर्ने, सकेसम्म जोगाउने। खर्च नगर्ने र पाइपाइ जोगाउने व्यवहारलाई हाम्रो समाजले उत्तम व्यवहारको रूपमा लिन्छ। आवश्यकता बाहेकका वस्तु खरिद गर्नुलाई हाम्रो समाजले फजुलखर्ची मान्छ। तर हाम्रो यो सामाजिक धारणा राष्ट्रिय अर्थतन्त्रको लागि नकारात्मक सोच हो। नकारात्मक व्यवहार हो। अर्थ नीतप्रतिकूल हो। यस्तो सन्देशले, जसले बचत गर, बचत गर भन्छ, आर्थिक विकासको गतिलाई अति नै मन्द पारिदिन्छ।
   
अमेरिकीहरूको बढी खर्च गर्ने बानीलाई डेबिट कार्ड, क्रेडिट कार्डले पनि सघाएको छ। तत्काल कुनै सामान खरिद गर्न मन लाग्यो भने ती कार्ड प्रयोग गरेर तत्काल सामान खरिद गर्न सकिन्छ। अर्थात् मनको वेग (केवल रहरले गर्ने खरिद) र आवश्यकता (जरुरी भएर गरिने खरिद) लाई रोक्नुपर्दैन। डेबिट कार्ड र क्रेडिट कार्ड बोक्दा हरबखत पैसा बोके सरह हुन्छ। 

यसरी आम अमेरिकीहरूको बढी खर्च गर्ने बानीले अमेरिकी अर्थ व्यवस्थालाई गति दिएको छ, कुनै पनि गाडीलाई पेट्रोल वा डिजेलले गति दिएझैं।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Sunday, November 11, 2018