Friday, December 28, 2018

Special Characteristics of American Economy-Large Country With Skilled Manpower-228


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

९. दक्ष जनशक्ति सहितको ठूलो देश
   
संयुक्त राज्य अमेरिका धेरै जनसङ्ख्या भएको देश त हो नै, साक्षर र शिक्षितहरूको सङ्ख्या धेरै भएको देश पनि हो। उच्च सीप र दक्षताले युक्त पेशाकर्मीहरू ठूलो सङ्ख्यामा बसोवास गर्ने देश पनि हो। अमेरिका आफैंले उच्च जनशक्ति उत्पादन गर्छ साथै विश्वभरिका अति उच्च जनशक्तिलाई विभिन्न किसिमका सुविधा (छात्रवृति प्रदान गर्ने, आर्थिक सहयोग गर्ने, ग्रिनकार्ड दिने र लामो समय बसेमा नागरिकता समेतपनि दिने) प्रदान गरेर अमेरिका आउन आकर्षित पनि गर्छ। संसारभरिमा अमेरिकामात्र एक यस्तो देश होला जहाँ विश्वका लगभग सम्पूर्ण देशका नागरिक अवैसरको खोजीमा आएका छन् र आआफ्नो ज्ञान र सिपको सन्तोषजनक प्रयोग गर्न पाएका छन्। यस कारणले पनि अमेरिकामा सयौं किसिमका संस्कृति र सयौं किसिमका भाषाभाषी देख्न सकिन्छ। विश्वमा त्यस्ता धेरै राष्ट्र छन्, जहाँ जति लामो समयसम्म बसेपनि ती देशको नागरिकता पाउन सकिंदैन। तर अमेरिकामा कानूनीरूपले र अमेरिकाले गरेको नागरिकतासम्बन्धी कानूनी व्यवस्था अनुरूप बसेको व्यक्तिले विनाभेदभाव नागरिकता पाउन सक्छ। अर्थात् अमेरिकाले प्रवासीहरूलाई सहज किसिमले आफ्नो देशको नागरिकता दिन्छ। त्यसरी अमेरिकी नागरिक बन्ने प्रवासीहरूलाई मूल अमेरिकीसरह नै अधिकार प्राप्त हुन्छ। यसले गर्दापनि विश्वभरिका दक्षता र सीपले युक्त व्यक्तिहरूका लागि अमेरिका सार्वकालिक आकर्षणको केन्द्र बन्न पुगेको छ। अमेरिकामा प्रतिदिन २७०० जति व्यक्ति अमेरिकामा नै बसोवास गर्ने उद्देश्यका साथ अमेरिका प्रवेश गर्ने गरेको अनुमान गरिन्छ। अमेरिकामा स्थायी बसोवास गर्ने चार करोड व्यक्ति विदेशमा जन्मेको एउटा तथ्याङ्कले देखाएको छ। अर्थात् उनीहरू पहिले अन्य देशका नागरिक थिए। यसरी दक्ष जनशक्ति भित्र्याउनेमा अमेरिका विश्वमा नै एक नम्बर हुन पुगेको छ।

    अमेरिकामा (सन् २०१८ को अनुमान अनुसार) १५ वर्ष वा सोभन्दा माथिका उमेरका व्यक्तिहरूमा ९९ प्रतिशत व्यक्ति लेख्न र पढ्न जान्दछन्। अर्थात् अमेरिकामा बसोवास गर्ने लगभग सबै व्यक्ति लेख्न र पढ्न सक्षम छन्। कुनै पनि राष्ट्रको आर्थिक विकासको लागि यो ठूलो कुरा मान्ने हो भने यो एक किसिमले ठूलो वरदान हो। जनसङ्ख्याको ठूलो भाग शिक्षित भएमा सरकारी नीति नियम सजिलै लागू गर्न सकिन्छ। साथै जनहितका कुरा समाजमा छोटो समयमा सजिलै विस्तार गर्न सकिन्छ। उच्च ज्ञान (व्यवस्थापकीय) र उच्च प्रविधिको विकास गर्न सजिलो हुन्छ। र देश र समाजलाई अनावश्यक आर्थिक भार दिने अनेक किसिमका कुरीति, अन्धविश्वास, कुसंस्कार कम पार्न सकिन्छ। देशका बहुसङ्ख्यक व्यक्ति शिक्षित भएमा जातीय हिंसा, सामाजिक भेदभावजस्ता समास्या कम हुन्छ। रुवान्डामा शिक्षितहरूको प्रतिशत अधिक भएको भए तेत्रो ठूलो जातीय नरसंहार हुने थिएन। सन् १९९४ मा हुटु र टुट्सीबीच जातीय सङ्घर्ष भएर रुवान्डामा हुटुहरूले टुट्सीहरूको जातीय सफाया गर्नुको मुख्य कारण त्यस देशमा ज्ञान, चेतना र शिक्षाको अभाव मानिएको थियो। सन् १९९४ मा रुवान्डामा भएको जातीय नरसंहारमा केवल १०० दिनमा मात्र १० लाख रुवान्डाली मारिएका थिए। त्यसताका रुवान्डाको साक्षरता करिब ६० प्रतिशत थियो। रुवान्डामा अहिले पनि ठूलो सङ्ख्यामा मानिस अशिक्षित छन्। त्यहाँ ज्ञान र चेतनाको अभाव छ। र रुवान्डाको जस्तो स्थिति अफ्रिकाका अनेक राष्ट्रमा विद्यमान छ।

    रूस, क्यानाडा, संरा अमेरिका, चीन, ब्रजील, अस्ट्रेलिया, इन्डिया, अर्जेन्टिना, काजखस्तान र अलजेरिया क्षेत्रफलको आधारमा विश्वका क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौ, आठौं, नवौं र दसौं ठूला राष्ट्र हुन्। अर्थात् संरा अमेरिका क्षेत्रफलको आधारमा विश्वको तेस्रो ठूलो राष्ट्र हो। यसरी पर्याप्त भूभागको हिसाबले पनि अमेरिका ठूलो राष्ट्र हो। जनसङ्ख्याको हिसाबले पनि संरा अमेरिका ठूलो राष्ट्र हो। जन सङ्ख्याको आधारमा पहिलो चीन, दोस्रो भारतपछि अमेरिका विश्वको तेस्रो ठूलो राष्ट्र हो। जनसङ्ख्याको आधारमा अमेरिका तेस्रो ठूलो राष्ट्र भए तापनि अमेरिकाले आफ्नो नागरिकलाई राम्रो शिक्षा, ज्ञान, सीप, दक्षता प्रदान गरेको छ। बहुसङ्ख्यक नागरिकलाई अति उच्च दक्षता र सीपले युक्त पारेको छ। अति उच्च सीपले युक्त अमेरिकीहरूको समूह, अमेरिकाको राष्ट्रिय अमूल्य सम्पत्ति हुन पुगेको छ। अमेरिकाको यो मानवीय सम्पत्ति (अति दक्ष जनशक्ति) सँग विश्वको कुनैपनि राष्ट्रको मानवीय सम्पत्तिले प्रतिस्पर्धा गर्न सक्ने स्थिति अहिले छैन। यो सम्पत्तिको उपयोग अमेरिकाले आफ्नो राष्ट्रिय राजनैतिक र आर्थिक शक्तिको उच्च विकासमा भरपूर उपयोग गरेको छ। शक्तिको हिसाबले अमेरिका जति राजनैतिक र आर्थिकरूपमा कुनैपनि राष्ट्र शक्तिशाली छैन। युरोपका सबै विकसित राष्ट्र (उदाहरणः युरोपियन युनियन) ले एकता गरेर पनि अमेरिकालाई न राजनैतिक, न आर्थिकरूपमा चुनौती दिन सक्छन्। आर्थिकरूपमा (बजारशक्ति) अमेरिका अहिले यति शक्तिशाली छ कि यसले कुनै देशमाथि आर्थिक नाकाबन्दी गरेमा त्यस देशको अर्थतन्त्र ओरालो लाग्ने मात्र होइन, त्यस देशका नागरिकको जीवन, बेरोजगार र कम आम्दानीले गर्दा कष्टकर हुन पुग्छ। यस तथ्यको उदाहरण इरान, उत्तर कोरिया, क्युबा, भेनेजुएला लाई लिन सकिन्छ। यी देशहरूले अमेरिकी आर्थिक नाकाबन्दी खेपिरहेका छन्। यतिमात्र होइन, अमेरिकाले यो देशमा आर्थिक नाकाबन्दी लगाऊभनेर कुनै देशलाई आदेश दिएमा, आग्रह गरेमा, त्यो देशले बाध्य भएर अमरिकाको त्यो आदेश पालना गर्नुपर्छ। त्यस्तो नगरे त्यो देशले पनि अमेरिकी आर्थिक नाकाबन्दी खेप्नुपर्ने स्थिति आउन सक्छ। अमरिकाले अति बलियो बजारशक्ति आफू ठूलो जनसङ्ख्या भएको देशको कारणले मात्र पाएको होइन, त्यो ठूलो जनसङ्ख्यालाई उच्च ज्ञान र सीपले युक्त पारेकोले गर्दा पाएको हो।

    विश्वको तेस्रो ठूलो जनसङ्ख्या भएको देश भए तापनि अमेरिकाले प्रमाणित गरेर देखाइदिएको छ कि ठूलो जनसङ्ख्या अभिशाप होइन, बरु वरदान हो। कुनै देशले आफ्नो जनसङ्ख्याको उचित व्यवस्थापन गर्ने हो भने ठूलो जनसङ्ख्या ठूलो शक्तिको दीर्घकालीन स्रोत हुन सक्छ।
    माथिका तथ्य र तथ्याङ्कहरूद्वारा के उल्लेख गर्न खोजिएको हो भने चीन र भारतझैं अमेरिका ठूलो जनसङ्ख्या भएको देश भए तापनि अमेरिकामा साक्षरहरूको सङ्ख्या उच्च छ। चीनको जनसङ्ख्या अमेरिकाभन्दा ज्यादै उच्च छ, तर चीन अमेरिकाको तुलनामा साक्षरतामा पछाडि छ। चीनमा साक्षरता (सन् २०१८ को अनुमान अनुसार) ९६ प्रतिशत छ। साक्षरताको मामिलामा भारतको स्थिति झनै दयनीय छ। भारतको साक्षरता (सन् २०११ को जन गणना अनुसार) ७४ प्रतिशत छ। जनसङ्ख्या ठूला भएका भारत र चीनले जनसङ्ख्या व्यवस्थापन (शिक्षा र साक्षरता) उचित किसिमले गर्न सकेका छैनन्। सांस्कृतिक विकासको मामिलामा यी दुवै राष्ट्र अमेरिकाभन्दा निकै पछाडि रहेकाले यिनीहरू पचासौं वर्षमा पनि अमेरिकालाई विकासको मामिलमा पछाडि पार्न सक्ने सम्भावना छैन। भारत त अमेरिकाभन्दा झनै पछाडि छ। भारतमा केही समय यता ह्वातै विकास भएको देखिए पनि त्यो विकास सन्तुलित छैन। भारतका गाउँहरूमा ऋण तिर्न नसक्ने कृषकहरूले अहिले पनि आत्महत्या गरि रहेका छन् भने सती प्रथा’, ‘दहेज’ ‘छोरामात्र सन्तानजस्ता कुसंस्कारहरूमा विश्वास गर्नेहरूको सङ्ख्या भारतमा अहिले पनि ठूलो छ।

    अमेरिका विश्वमा नै बहुसङ्ख्यक प्रशिक्षित व्यक्तिहरू बस्ने देश हो। अमेरिकाको शिक्षा नीतिले पनि बहुसङ्ख्यक अमेरिकीहरूलाई साक्षर एवं शिक्षित तुल्याउन विशेष भूमिका खेलेको छ। अमेरिकामा १२ कक्षासम्मको शिक्षा निश्शुल्कमात्र छैन, गरीब विद्यार्थीहरूलाई दिउँसो खाना विद्यालयले नै ख्वाउने व्यवस्था छ। विद्यालयले नै विद्यार्थीहरूलाई घरबाट विद्यालय र विद्यालबाट घर पुर्याउने कार्य निश्शुल्क रूपमा गर्दछ। प्रान्तीय र सङ्घीय सरकारले शिक्षालाई यति महत्वपूर्ण मानेको र शिक्षाको क्षेत्रमा ठूलो लगानी गरेको हुनाले नै अमेरिका दक्ष जनशक्ति उत्पादन गर्न विश्वमा नै प्रथम हुन सकेको हो।

    साक्षर, शिक्षित, दक्ष र अति दक्ष जनशक्तिसहित ठूलो जनसङ्ख्या भएको देश भएर नै अमेरिका अहिले विश्वभरमा पहिलो र एकमात्र शक्तिशाली राष्ट्र हुन पुगेको छ। स्थिति अहिले यस्तो छ कि कुनै पनि देशमा सुरक्षा सङ्कट (गृहयुद्ध वा अर्को देशबाट हुने आक्रमण) परेमा त्यस देशले अमेरिकालाई नगुहारी हुन्न। अमेरिकाको सहयोगविना कुनै पनि राष्ट्रले आफूलाई सुरक्षित राख्न सक्ने स्थिति छैन। हुनपनि आधुनिक प्रविधि र विज्ञानले युक्त भएको अमरिकी सैन्य व्यवस्था अहिले विश्वमा नै पहिलो शक्तिशाली सैन्य व्यवस्था हुन पुगेको छ। अमेरिकाले चाहेको खण्डमा कुनैपनि देशको सरकारको पतन छोटोभन्दा छोटो अवधिमा गर्न सक्छ। इराकमा यस्तै स्थिति देखिएको थियो।
   
यहाँ उल्लेख गर्न खोजिएको मुख्य कुरा के हो भने अमेरिकाले आफ्ना देशका बहुसङ्ख्यक नागरिकलाई साक्षर र शिक्षित पार्न सकेको हुनाले नै यो देश विश्वको एकमात्र महाशक्ति राष्ट्र हुन पुगेको हो। अमेरिकाको आर्थिक एवं राजनैतिक विकासले के देखाउँछ भने कुनैपनि देशले आर्थिक क्षेत्रमा छिटो र दिगो विकास गर्न खोज्छ भने उसले, पूर्व शर्तको रूपमा शिक्षा विकासमा बढी जोड दिनुपर्छ। सीप र खास दक्षताले युक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्छ। आफ्नो प्रत्येक नागरिकलाई शिक्षित वा शिक्षित हुन नसके साक्षरमात्र पनि पार्नुपर्छ। तर आर्थिक विकासका लागि प्रत्येक नागरिकलाई साक्षर त पार्नैपर्छ।

विश्वराज अधिकारी
प्रतीक दैनकमा प्रकाशित Friday, December 28, 2018

Friday, December 21, 2018

Special Characteristics of American Economy-Capitalism-227


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

८. पूँजीवाद
    
अमेरिकी अर्थ व्यवस्था पूँजीवादी अर्थ व्यवस्था हो। अमेरिकी अर्थ व्यवस्थाले पूँजीवादलाई आर्थिक विकासको मार्ग दर्शक मान्दछ। र पूँजीवादको प्रयोगद्वारा मुलुक मात्र होइन, निर्धन वा सामान्य जनताको आर्थिक स्तर विकसित हुन्छ भन्ने कुरामा बलियो विश्वास गर्दछ। हुन त केही भन्नेहरू अमेरिकी अर्थ व्यवस्था पूर्णरूपेण पूँजीवादी होइन भन्छन्। उनीहरूका तर्क अनुसार अमेरिकाले सामाजिक सुरक्षा (Social Security) को व्यवस्था गरेर नागरिकहरूलाई प्रत्यक्ष एवं अप्रत्यक्ष विभिन्न आर्थिक सहयोगहरू प्रदान गर्ने गरेको र यसैगरी उपभोक्ताहरूको हितको रक्षा गर्न आवश्यक परेको बेला स्वतन्त्र बजारमा हस्तक्षेप गर्ने गरेकोले अमेरिकी अर्थ व्यवस्थालाई पूर्णरूपेण पूँजीवादी मान्न सकिंदैन।

फ्रान्स, ग्रेट ब्रिटेन, जर्मनी, अस्ट्रेलिया, सिङ्गापुर, ताइवान, निदरल्यान्ड्स, डेनमार्क, स्वीडेन, साउथ कोरिया, फिनल्यान्ड, नर्वेजस्ता पूँजीवादी अर्थ व्यवस्था भएका मुलुकहरूका राष्ट्रिय अर्थतन्त्रको प्रकृति अध्ययन गर्दा पूँजीवादको मार्गमा अमेरिका निकै अगाडि रहेको प्रस्ट हुन्छ। बजारमा अनावश्यक हस्तक्षेप नगरेर, नागरिकहरूलाई निजी सम्पत्ति सङ्ग्रह, सुरक्षा र आफूखुसी प्रयोग गर्ने अधिकार दिएर, ठूलाठूला कर्पोरेशनका मालिक मात्र होइन, सानासाना व्यापारका मलिकहरूलाई पनि व्यापारमा सफल हुन सहयोग गरेर अमेरिकाले आफू पूँजीवादको प्रयोगमा अडिग रहेको परिचय पनि दिएको छ।
    
अमेरिकामा वस्तु एवं सेवाहरूको मूल्य सरकारले होइन बजारले निर्धारण गर्दछ। माग र आपूर्तिको अन्तर्सम्बन्धबाट वस्तु एवं सेवाहरूको मूल्य निर्धारण हुने गर्दछ। यो कारणले गर्दा अमेरिकाको कुनै एक शहरको एक कुनामा कुनै एक वस्तुको मूल्य १ डलर छ भने सोही वस्तुको मूल्य सोही शहरको अर्को कुनामा ५ डलर पनि हुन्छ सक्छ। र यस्तो हुने गर्छपनि। अर्थात् मूल्य निर्धारण गर्न बिक्रेताहरू पूर्णरूपमा स्वतन्त्र हुन्छन्। यस्तो गर्नाले बजारमा वस्तु  एवं सेवा बिक्री गर्नका लागि बिक्रेताहरूबीच तीव्र प्रतिस्पर्धा हुन्छ र उपभोक्ताहरूले सस्तोमा वस्तु वा सेवा खरिद गर्न सक्छन्। प्रतिस्पर्धापूर्ण बजारले उपभोक्ताहरूको हितको रक्षा गर्दछ भने प्रतिस्पर्धाविहीन बजारले आपूर्तिकर्ता एवं बिक्रेताहरूको मनोमानी बढाउँछ। यो कारणले गर्दा बिक्री गरिने वस्तुहरूमा अमेरिकामा अधिकतम खुद्रा मूल्य (Minimum Retail Price) लेखिएको हुँदैन। भारत, बङ्गलादेश लगायत अन्य केही देशमा बिक्री गरिने वस्तुहरूमा अहिलेपनि अधिकतम खुद्रा मूल्य लेख्ने चलन छ। अहिले पनि ती मुलुकका बजारहरू, उत्पादक वा बिक्रेतामुखी छन्। अर्थात् मूल्य नियन्त्रण गर्न सरकार सक्रिय रहेको देखिन्छ।
    
अमेरिकालाई आर्थिक समृद्धिको दिशामा डोयाउन एवं संसारकै धनी राष्ट्र तुल्याउन यस राष्ट्रले अङ्गीकार गरेको पूँजीवादी अर्थ व्यवस्थाले महŒवपूर्ण भूमिका खेलेको छ। पूँजीवादले व्यापारीहरूलाई आफ्नो स्वेच्छा अनुसार व्यापार रोज्न एवं सञ्चालन गर्न दिएर व्यापारीहरूको हितको रक्षा गरेको छ भने अर्कोतिर मूल्य निर्धारण कार्य बजारलाई गर्न दिएर उपभोक्ताहरूको हित अभिवृद्धि गरेको छ। यो कारणले गर्दा अमेरिकी अर्थ व्यवस्था दिन प्रतिदिन बलियो हुँदै गएको छ। पूँजीवादको प्रयोगले अमेरिकालाई आर्थिकरूपमा यति बलियो तुल्याइदिएको छ कि आउँदो पचास वर्षसम्मपनि अमेरिकी अर्थ व्यवस्था कमजोर हुने सम्भावना देखिंदैन। अमेरिकालाई साना त के चीन, रूस, ब्रजील, भारतजस्ता ठूला अर्थ व्यवस्था भएका राष्ट्रहरूले पनि दशकौंसम्म उछिन्न सक्ने सम्भावना देखिंदैन।
   
पूँजीवादले अमेरिकी अर्थ व्यवस्थालाई पारेको अति सकारात्मक प्रभावबारे चर्चा गर्दा पूँजीवाद के हो भन्नेबारे पनि चर्चा गर्नु पनि आवश्यक रहेकोले आउनुहोस्, पूFजीवादबारे पनि छोटो चर्चा गरौं।
    
सामान्य किसिमले परिभाषित गर्दा पूँजीवाद भनेको उत्पादन व्यवस्थामा पूँजीको भूमिकालाई प्रमुख मान्नु हो। बजार प्रणालीलाई स्वतन्त्ररूपले कार्य गर्न दिनु हो। उत्पादक एवं बिक्रेतालाई, विनाहस्तक्षेप, काम गर्न दिनु हो। स्वतन्त्र बजार अवधारणामार्फत श्रमिकहरूको हितको रक्षा गर्नु हो। व्यापरको मुटु मुनाफालाई मान्नु हो।
    
पूँजीवादलाई राम्ररी बुझ्न आउनुहोस्, पूँजीवादका केही महत्वपूर्ण विषेशताहरूको छोटो चर्चा गरौं

निजी सम्पत्ति: पूँजीवादी व्यवस्थामा कुनै व्यक्तिले आफूल आर्जन गरेको वा पाएको सम्पत्तिलाई आफ्नो निजी बनाएर राख्न सक्छ र त्यसको उपभोग पनि स्वेच्छा अनुसार गर्न सक्छ। सरकार वा राज्यले व्यक्तिको सम्पत्तिमा कुनै पनि किसिमको नियन्त्रण गर्न पाउँदैन बरु प्रत्येक नागरिकको निजी सम्पत्तिको सुरक्षा गर्दछ। साम्यवादी अर्थ व्यवस्थामा निजी सम्पत्ति भन्ने हुँदैन। समाजवादी अर्थ व्यवस्थामा व्यक्तिको निजी सम्पत्ति सरकारले कुनै पनि बेला समाजको हितमा उपयोग गर्न सक्छ। समाजवादी अर्थ व्यवस्थामा सरकारले निजी सम्मत्ति केवल सम्पत्तिको मालिकले मात्र प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्दैन।

मूल्य व्यवस्था: पूँजीवादी अर्थ व्यवस्थामा सरकार वा राज्यको हस्तक्षेपविना, अर्थात् माग र आपूर्तिको अन्तक्र्रियाद्वारा मूल्य निर्धारण हुन्छ। मूल्य निर्धारणमा बजारको भूमिका सर्वेसर्वा हुन्छ। समाजवादी एवं साम्यवादी अर्थ व्यवस्थामा मूल्य निर्धारण सरकारले गर्दछ।

व्यापार छनोट गर्ने स्वतन्त्रता: पूँजीवादको सर्वाधिक असल पक्ष हो कुन व्यापार वा पेशा गर्ने भन्ने कुरा व्यक्ति स्वयंले स्वतन्त्ररूपले निर्धारण गर्न पाउनु। कुन व्यापारमा आफू सफल हुने हो भन्ने तत्वले व्यक्तिलाई यो वा त्यो व्यापार गर्न निर्देशित गर्दछ। साम्यवादी अर्थ व्यवस्थमा व्यापार व्यक्तिले होइन, सरकारले गर्छ।

उपभोक्ता बजारको सर्वेसर्वाः उपभोक्ता (क्रेता) छ र त व्यापार छ, उपभोक्ता छ र त व्यापारी छ। अर्थात् उपभोक्ताको कारण नै व्यापार एवं व्यापारीको सृजना भएको हो”–यो सिद्धान्तलाई शिरोपर गरेर पूँजीवादले कार्य गर्दछ। पूँजीवादको मूल मन्त्र उपभोक्ता व्यापारको जन्मदाता हो। उपभोक्ताको हात जहिले पनि माथि छ र सदैव रहनु पनि पर्छ। उपभोक्ताले खरीद गरेको सामान फर्काउन आउँछ भने क्रेताले सहर्ष स्वीकार गर्ने मात्र होइन, उपभोक्तालाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने कुरामा बिक्रेता हरदम क्रियाशील रहनुपर्छ। दसचोटी सामान फर्काउन आउँदा पनि बिक्रेताले सहर्ष स्वीकार गर्नुपर्छ।

मुनाफा प्रमुख: पूँजीवादको प्रमुख उद्देश्य उत्पादक एवं बिक्रेतालाई राज्यको प्रचलित कानून अनुसार जति सक्छ,  कमाउन दिनु हो। अर्थात् पूँजीवादमा कुनैपनि व्यापारिक कार्य मुनाफा गर्ने उद्देश्यबाट अभिप्रेरित भएर गरिएको हुन्छ। कुनै पनि उत्पादकले के उत्पादन गर्ने र कुनै पनि बिक्रेताले के बिक्री गर्ने भन्ने कुराको निर्धारण मुनाफाले गरेको हुन्छ।
अहस्तक्षेपकारी सरकारी भूमिकाः उत्पादनका साधनहरू (भूमि, प्राकृतिक स्रोत, श्रम, पूँजी र सङ्गठन प्रयोग गर्न नागरिक (व्यापारी) हरू पूर्णरूपमा स्वतन्त्र हुन्छन्। उनीहरूले गर्ने व्यापारमा सरकारले कुनै पनि किसिमको हस्तक्षेप गर्दैन। आफ्नो व्यापारबारे व्यापारीहरूले स्वतन्त्र किसिमले निर्णय लिन सक्छन्।

प्रजातान्त्रिक: अन्य (मिश्रित, समाजवादी, साम्यवादी) अर्थ व्यवस्थाको तुलनामा पूँजीवादी अर्थ व्यवस्था ज्यादै प्रजातान्त्रिक मानिन्छ। प्रजातन्त्रमा जसरी प्रत्येक नागरिकसँग स्थानीय एवं केन्द्रीय सरकार (निवार्चनद्वारा) छान्ने अधिकार हुन्छ, त्यसैगरी पूँजीवादमा पनि प्रत्येक नागरिकसँग आफूले चाहेको व्यापार सञ्चालन गर्न पाउने अधिकार हुन्छ।

स्वरुचि: पूँजीवादी अर्थ व्यवस्थामा व्यक्तिको रुचिले कस्तो व्यपार कहाँ र कसरी सञ्चालन गर्ने भनी निर्धारण गर्दछ। व्यक्तिको रुचि नै सर्वेसर्वा हुन्छ। यसरी पूँजीवादमा व्यक्तिले आफ्नो रुचि (अनुभव, दक्षता, कुशलता, योग्यता, सीप, विशिष्ट ज्ञान आदि) को आधारमा व्यापार स्थापना र सञ्चालन गर्न सक्छ। तर साम्यवादी व्यवस्थामा कुनै पनि व्यक्तिले कस्तो कार्य गर्ने भन्ने कुराको निर्धारण सरकारले गर्दछ।

अनियमन: ती नियमहरू, जसको प्रयोगले व्यापार विकासमा अवरोध पुग्छ, हटाउँदै अर्थात् विनियमन (Deregulation) गर्दै जानुलाई पूँजीवादको लक्ष्यको रूपमा लिन सकिन्छ। व्यापार गर्न, व्यापारमा संलग्न पक्षलाई सजिलो होस् र व्यापारले उपभोक्ताहरूको हितको सुरक्षा गरोस् भन्ने उद्देश्य पूँजीवादले राखेको हुन्छ। हुनपनि नियमहरू सार्वकालिक हुनुहुँदैन। नियमहरू समय, परिस्थिति अनुसार निर्माण हुने भएकाले कुनै समयमा प्रयोजनहीन हुने नियमहरू हटाउनु आवश्यक हुन्छ।
    
अमेरिकी अर्थ व्यवस्थमा पूँजीवादका उपरोक्त विशेषताहरू स्पष्ट देख्न पाइन्छ। ती विशेषताहरूको प्रयोग पनि प्रभावकारी किसिमले भएको अनुभव गर्न सकिन्छ। अमेरिकामा पूँजीवाद केवल सैद्धान्तिक रूपमा मात्र छैन, व्यवहारमा पनि रहेको देख्न सकिन्छ। अझै व्यवहारमा बढी रहेको देखिन्छ। र यो पूँजीवादको स्पष्ट, निरन्तर र व्यावहारिक प्रयोगले नै अमेरिकालाई आर्थिकरूपमा सर्वाधिक शक्तिशाली तुल्याइदिएको छ। आर्थिक महाशक्तिको दर्जा दिलाएको छ। पूँजीवाद अमेरिकी अर्थ व्यवस्थाको मेरुदण्ड हुन पुगेको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, December 21, 2018
akoutilya@gmail.com

Friday, December 14, 2018

Special Characteristics of American Economy-Nation of American Economy-226


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

. सूचना एवं जानकारीको देश

अमेरिकालाई सूचना एवं जानकारीको देश भने पनि हुन्छ। सूचना र जानकारीको व्यवस्थापन, प्रसारण एवम् प्रयोग अमेरिकामा जति संसारको अन्य कुनै देशमा नहोला भने पनि हुन्छ। सूचना एवं जानकारीको व्यवस्थापन प्रभावकारी किसिमले गर्न सकेकोले नै अमेरिका आर्थिक विकासको पथमा सबै मुलुकहरू भन्दा अगाडि छ। अमेरिकामा सूचना एवं जानकारीलाई अत्यधिक महत्व दिने गरिन्छ। आर्थिक विकासको क्षेत्रमा अमेरिकाले यी आवश्यकीय तत्वहरूलाई अति लाभदायक किसिमले उपयोग गरेको छ। आर्थिक विकास र सूचना एवं जानकारी विच गहिरो सम्बन्ध पनि छ।

अमेरिकामा सूचना एवं जानकारीको उत्पत्ति, व्यवस्थापन, प्रसार र प्रयोग कसरी गरिन्छ भन्ने कुराको एउटा सानो उदाहरण हेरौ। एउटा कुनै व्यक्ति कुनै एक मोटेल (होटेल) मा विभिन्न समयमा बसेको छ भने त्यो मोटेलसंग त्यस व्यक्ति (मोटेलमा बस्ने) बारे सयौ किसिमको जानकारी संकलित र सुरक्षित अवस्थामा रहेको हुन सक्छ। जस्तै बस्ने त्यो व्यक्तिले धुम्रपान गर्छ कि गर्देन, लामो अवधिसम्म बस्छ वा छोटो अवधिसम्म बस्छ, कोठ भित्र कस्तो तापक्रम राख्न रुचाउँछ, आएको बेलमा विभिन्न कोठमा बस्न मन पराउँछ वा एउटै कोठा (सोही नम्भरको) मा बस्न रुचाउँछ, कुन कम्पनीको क्रेडिट कार्ड प्रयोग गरेर मोडेलको बिल भुक्तान गर्छ, मोटेलकै सामानहरू कुन अनुपातमा खर्च गर्छ, उसको इमेल ठेगाना के हो, ऊ कुन उमेर समूहमा पर्छ, कुन स्थानको बासिन्दा हो, वर्ष भरिमा कति पटक मोटेलमा बस्न आउँछ, त्यस मोटेलमा बस्दा कुनै अपराध गरेको छ कि, दिन भरिमा कतिपटक आफू बसेको कोठाको ढोका खोल्छ आदि जस्ता अनेक किसिमका जानकारी, जुन त्यो बस्ने व्यक्ति संग सम्बन्धित हुन्छ, त्यो मोटेलसँग हुन्छ। मोटेलले आफू कहाँ बस्न आउने व्यक्तिहरू बारे संकलन गरेको त्यस किसिमका जानकारीहरूको उपयोग त्यहाँ बस्न आउनेहरूलाई कसरी बढी भन्दा बढी सेवा पुर्याएर उनीहरूलाई अत्यधिक सन्तुष्टि दिने र आफ्नो व्यापारको जीवन लामो पार्दै राम्रो आय आर्जन प्राप्त गर्ने कार्यमा व्यवस्थित किसिमले पर्योग गर्छ। ग्राहकमूखि नया नया योजानहरू ल्याएर प्रतिस्पर्धीहरूलाई पछाडि पार्ने कार्यमा प्रयोग गर्छ। अर्थात सूचना एवं जानकारीहरूको प्रयोग आर्थिक विकासको क्षेत्रमा व्यापक रूपमा हुन्छ।

अमेरिकी व्यापार सूचना प्रणाली यति प्रभावकारी र व्यवस्थित छ कि कुनै एउटा महत्वपूर्ण सूचना विश्वका अनेक कुनाहरूमा पुग्न एक मिनट पनि लाग्दैन। यस तथ्यको एउटा सानो उदाहरण यहाँ प्रस्तुत गरौ। अमेरिकाको कुनै एक वृहत् खुद्रा बिक्री भण्डाले विभिन्न किसिमका उपभोक्ता वस्तुहरू बिक्री गर्छ। त्यसरी बिक्री गर्नु बस्तुहरू मध्ये पैन्ट र सर्ट पनि पर्छ। त्यो खुदा बिक्री भण्डारले आफूले बिक्री गर्ने पैन्ट र सर्ट बङ्गलादेशबाट आयात गर्ने गरेको छ। अमेरिका स्थिति त्यो खुद्रा बिक्री भण्डारले एउटा वा सो भन्दा बढी पैन्ट वा सर्ट कुनै उपभोक्तालाई बिक्री गर्नासाथ त्यो बिक्रीबारे जानकारी बङ्गलादेश स्थित उत्पादकले तत्काल, ठिक त्येही समयमा पाउँछ र सोही अनुसार आफ्नो उत्पादन संख्या (सर्ट र पैन्टको) नियन्त्रित गर्छ। अर्थात बङ्गलादेश स्थित कपडाको उत्पादकले जसरी जसरी अमेरिकी खुदा भण्डारहरूले आफ्नो सामाग्री (पैन्ट र सर्ट आदि) बिक्री गर्छन सोही अनुसार उसले तत्काल बिक्री-सूचना पाउँछ र उत्पादन गर्छ। अर्थात बिक्रेता (Cashier) ले भुक्तानी लिनका लागि बिक्री गरिएको वस्तु (पैन्ट वा सर्ट) स्क्यान (विद्युतीय उपकरणद्वारा बिल तयार पार्ने कार्य) गर्नासाथै कुन संख्यामा पैन्ट वा सर्ट बिक्री भएको हो भन्ने सूचना उत्पादकले तुरन्तै, तत्काल विश्वको जुन सुकै कुनाबाट पनि पाउन सक्छ। ऊत्पादकले पैन्ट र सर्ट केवल यो संख्यामा माग (हप्ता वा महिनामा) होला भन्ने अनुमान गरेर मात्र उत्पादन गर्देन। प्राप्त ताजा सूचनाहरूको आधारमा गर्छ। यस्तो गरेर बङ्गलादेश स्थित उत्पादक र अमेरिका स्थित खुद्रा भण्डारहरू, दुबैले ‘इनभेन्ट्री’ (मोज्दात) मा पूँजी फँसाएर मौज्दात बढी राख्नु पर्दैन। चर्को मौज्दात लागत बेहोर्नु पर्दैन। ताजा जानकारी आदान प्रदान गरेर पनि अमेरिकी खुदा भण्डारहरूले बिक्री गरिने वस्तुहरूको बिक्रय मूल्य कम पार्ने प्रयास गर्छन। उपभोक्ताहरूले माग गरेको समयमा वस्तुहरू सजिलै उपलब्ध गराउँछन।

अमेरिकमा खरिद बिक्री हुँदा ज्यादै नै कम मात्रमा नगदको प्रयोग हुन्छ। सन् २०१७ मा गरिएको एक सर्वेक्षण अनुसार लगभग ८० प्रतिशत कारोबार (खरिद-बिक्री) डेबिट वा क्रेडिट कार्डले हुने गरेको पाइएको थियो। १२ प्रतिशत कारोबार मात्र नगदमा हुने गरेको पाइएको थियो। यो सन्दर्भ यहाँ उल्लेख गर्न खोज्नुको उद्धेश्य कुनै उपभोक्ताले डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर सामान खरिद गर्दा त्यस उपभोक्ताबारे बिक्रेताले कति किसिमका जानकारी हासिल गर्छ भन्ने दर्शाउनु हो। सामन खरिद गरेर भुक्तानी दिनका लागि उपभोक्ताले डेबिट वा क्रेडिट कार्ड घोट्ने (Swipe) बित्तिकै, एकै पटकमा, उपभोक्ताबारे अनेक जानकारीहरू बिक्रेताको सूचना संग्राहालयमा जान्छ। जस्तै उक्त उपभोक्ताले कति रमकको सामान खरिद गर्यो, खाद्य वस्तु कति रकमको खरिद गर्यो, फलफूल कति रकमको खरिद गर्यो, लुगाफटो कति रकमको खरिद गर्यो, औषधी कति रमकको खरिद गर्यो, अत्यावश्यक वस्तु कति रमकको खरिद गर्यो, विलासी वस्तु कति रकमको खरिद गर्यो, उपभोक्ताको बसोबास कुन क्षेत्रमा रहेको छ, स्थानीय हो वा अर्को राज्यको हो, सस्तो सामान बढी खरिद गर्ने वानी रहेछ वा केलव महँगो सामान खरिद गर्ने बानी रहेछ जस्ता क्रेता सम्बन्धी अनेक किसिमका तर अति महत्वपूर्ण जानकारीहरू बिक्रेताले सजिलै प्राप्त गर्छ। यस किसिमका जानकारीहरू खरिदका लागि प्रयोग गरिएको क्रेडिट कार्डको कम्पनीले पनि प्राप्त गर्छ। यस किसिमका सूचना एवं जानकारीसूचनाहरूको उपयोग क्रेडिट कार्ड कम्पनी र बिक्रेता, दुबै पक्षहरूल क्रेताहरूको व्यवहार विश्लेषण गर्नका लागि गर्छन। क्रेता वा उपभोक्ताहरूको खरिद-व्यवहार व्यवस्थित किसिमल अध्ययन र विश्लेषण गरेर उनीहरूले उपभोक्ताहरूलाई अत्यधिक सेवा पुर्याउने नया नया तरिकाहरूको खोजि गर्छन।  

व्यापारको क्षेत्रमा सूचना एवं जानकारी अति नै महत्वपूर्ण भएकोले सूचना एवं जानकारीहरू खरिद बिक्री पनि हुन्छ।

“दिनहु प्राप्त हुने मेल अमेरिकामा प्रत्येक दिन नच्यात्ने हो भने ती मेलहरूले एउटा मान्छेलाई छोप्न सकिन्छ।” यो भनाइ अमेरिकामा निकै प्रचलित छ। हुन पनि एक व्यक्ति वा परिवारले अमेरिकामा प्रत्येक दिन ठूलो संख्यामा मेल (चिठ्ठी-पत्र, विज्ञापन, सूचना, जानकारी आदि) प्राप्त गर्छ। केही मेल आवश्यक हुन्छन भने केही अनावश्यक। तर अनावश्यक ठानिएका मेलहरूले पनि महत्वपूर्ण जानकारी ल्याएका हुन्छन। अनावश्यक ठानिएका ती मेलहरू प्राप्तकर्ताका लागि उपयोगि नभएता पनि प्रेषकका लागि भने निकै उपयोगी हुन्छ। यस किसिका मेलहरूको उपयोग गरेर बिक्रेताहरूले आफ्ना वस्तु एवं सेवाहरूबारे जानकारी उपभोक्ताहरूलाई दिन्छन। साथै सम्भाव्य ग्राहकहरूको खोजि पनि गर्छन।
अमेरिकामा सूचना एवं जानकारीको सम्प्रेषण पनि निकै स्पष्ट किसिमले हुने गर्दछ। अर्थात पत्रमा जे लेखिएको छ, प्राप्तकर्ताले सोही मात्र बुझोस, अन्य अर्थ नलगाओस भन्ने उद्धेश्य राखिएको हुन्छ। गलत अर्थ लाग्ने, भ्रम सृजना हुने, बुझ्न अस्पष्ट हुने कमजोरीबाट सूचना वा जानकारीलाई अलग राख्ने प्रयास गरिएको हुन्छ। उदाहरणका लागि कसैलाई तिन पृष्ठको पत्र लेखिएको छ भने त्यस पत्रको पाना संख्यामा यो पत्र तिन पानाको हो भनेर उल्लेख गरिएको हुन्छ। यसैगरी, तेस्रो पानामा केही लेखिएको छैन, सादा छ भने, सादा पानको बीचमा ‘यो पाना सादा नै हो, यसमा केहि लेखिएको छैन” भनेर स्पष्ट संग उल्लेख गरिएको हुन्छ। स्पष्ट सूचना-प्रवाहका यस्ता अनेक उदाहरणहरू छन्।
सूचना र जानकारी अमेरिकी अर्थ व्यवस्थाको रक्त सञ्चार हो भने पनि हुन्छ। आर्थिक क्षेत्रमा त सूचना एवं जानकारीको व्यापक प्रयोग हुन्छ। कतिपय क्षेत्रमा सरकारले नै व्यवसायीहरूलाई आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउँछ।

एक अर्को उदाहरण। पानी परेको बेलामा पसल वा कार्यालयको भूँइ सेवाग्राहीको आवागमनले गर्दा भिज्न पुगेको हुन्छ। भूँइ भिजेको छ भन्ने कुरा त्यस्तो अवस्थमा सबैले सजिलै गरी बुझ्न सक्छन। तर पनि पानी परेको बेलामा त्यस किसिमका स्थानहरूमा “भूँइ भिजेको छ” भन्ने सूचना राखिएको हुन्छ। यसै गरी तातो कफी तातो नै नै हुन्छ। उपभोक्ताले कफी तातो मानेर नै खरिद गरेको हुन्छ र त्यो कफी तातो छ भन्ने कुरा उसलाई भलिभाँति थाहा हुन्छ। तैपनि उपभोक्ताले कुनै दूर्घटनाको सामना गर्न नपरोस वा उपभोक्ताले झुक्किएर तातो तातो कफी मुखमान नहालोस भनेर बिक्रेताहरूले कफीको कपमा “ज्यादै तातो छ” लेखि दिएका हुन्छन।

माथि उल्लेख गरिएका सूचना वा जानकारी-प्रवाह सामान्य उदाहरणहरू हुन। नया वस्तु वा सेवाको विकास, विद्यमान वस्तुमा सुधार, वितरण प्रणालीमा विकास, उपभोक्ताको हित-खोजी जस्ता कार्यहरूमा सूचना एवं जानकारीको अति व्यवस्थित किसिमले उपयोग गरिन्छ। सूचना एवं जानकारीहरूको अति व्यवस्थित किसिमले प्रयोग गरिएकोले नै अमेरिकामा गुगल, उबर, फेसबुक, युटुब, स्काइप, ट्विटर, इन्सटेग्राम, ह्वाट्स एप, माइक्रो सफ्ट, एपल, अमेजन, इबे जस्ता नया नया व्यापारको विकास भएको हो।

सूचना वा जानकारी व्यवस्थापनको एक अर्को उदाहरण। रिटा, कट्रिना, गुस्ताभ, आइक, माइकल, फ्लोरेन्स, हारभी आदि व्यक्तिहरूका नाम होइनन। अमेरिकामा आएका ठूला ठूला समुन्द्री आँधीहरूका नाम हुन। अमेरिकामा समुन्द्री आँधी वा यस किसिमका घटनाहरूलाई नाम दिने गरिन्छ। यसरी नाम दिएर ती आँधीबारे विभिन्न सूचना वा जानकारी संकलन कार्य सजिलो पारिन्छ। तिनले पुर्याएका जन धनको क्षतिबारे अभिलेख राख्ने कार्यलाई चुस्त पारिन्छ। भविष्यमा आँधीको असरलाई कसरी कम पार्न सकिन्छ त्यस कार्यमा ती सूचना एवं जानकारीहरूको उपयोग गरिन्छ।  

अमेरिकामा सूचना एवं जानकारी अति व्यवस्थित किसिमले प्रयोग गरिएको क्षेत्र हो मौसम सम्बन्धी भविष्यवाणी। प्रकृतिको प्रवृति र व्यवहारबारे यति शुक्ष्म किसिमले सूचना एवं जानकारी संकलन, अध्ययन र विश्लेषण गरिएको हुन्छ कि जुन दिन पानी पर्ने भनिएको हुन्छ पानी पर्छ नै। जुन दिए हिँउ पर्ने भनिएको हुन्छ त्यस दिन हिउँ पर्छ नै। जुन दिन बरफ जम्न भनेको हुन्छ त्यस दिन बरफ जम्छ नै। यसैगरी जुन दिन समुनद्री आँधी आउने भनिएको हुन्छ त्यस दिन समुन्द्री आँधी आउँछ नै। जुन दिन, जुन स्थानमा टोरनाडो (वेग वायु) आउँछ भनिएको हुन्छ त्यस दिन त्यस किसिमबाट टोरनाडो आउँछ।

यसरी सूचना एवं जानकारीको प्रयोग अमेरिकामा व्यवस्थित किसिमले गरेर आर्थिक विकासको गतिलाई मात्र तिब्र पारिदैंन समाज-विकासको गतिलाई पनि वेगवान पारिन्छ।

विश्वराज अधिकारी
Wednesday, December 12, 2018  

Friday, December 7, 2018

Special Characteristics of American Economy-Mechanization-225


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

६. यन्त्रीकरण

    कुनै पनि काम गर्दा प्रत्यक्ष मानवीय श्रमको प्रयोग हुने प्रचलन सम्भवतः संयुक्त राज्य अमेरिकामा एक सय वर्ष पहिले रहेको होला। अहिलेको यो अति सञ्चार र अति यन्त्रीकरणको युगमा अमेरिकामा कुनै पनि काम गर्दा प्रत्यक्ष श्रमको प्रयोग भएको कहीं पनि देख्न पाइँदैन। कृषि, उद्योग, व्यापार, सेवा सबै क्षेत्रमा मेशीन र यन्त्रहरूले प्रत्यक्ष मानव श्रमलाई विस्थापित गरिसकेका छन्। यहाँसम्म कि कुनै पसलमा बिक्रेता नै हुँदैन र बिक्री गर्ने कार्य केवल मेशीनले गर्छ। यस्तो मेशीनलाई बिक्री मेशीन (Vending Machine) भन्ने गरिन्छ।

    अमेरिकामा भान्सा, चर्पीसमेतमा यन्त्रको प्रयोग गरिएको पाइन्छ। शौचालय प्रयोग गरिसकेपछि पानी (सिटमा) फाल्ने र हाथ सफा गरेपछि पेपर टबेल दिने काम पनि विद्युत् सञ्चालित मेशीनहरूले गर्छन्। यसैगरी भान्सामा खाना पकाउँदा कति तापक्रममा, कति बेरसम्म पकाउने  नियन्त्रण पनि उपकरणले गर्छ। यी त्यस्ता कार्यहरू हुन् जसले लागत नियन्त्रण गर्ने कार्य गर्छ। र वस्तुको मूल्य सस्तो पार्छ।

    बिक्री लागत कम पारी सस्तोमा, चाहेको जुनसुकै बेलामा पनि वस्तु उपलब्ध गराउन सकिने उद्देश्यका साथ अमेरिकामा व्यापक प्रयोगमा ल्याइने बिक्री मेशीन, बिक्रेताविहीन यस्तो मेशीन हो जसले निर्धारित रकम (नगद वा क्रेडिड कार्डद्वारा) क्रेताबाट प्राप्त गरेमा क्रेताले खरिद गर्न खोजेको वस्तु जस्तै पानी, हल्का पेय पदार्थ, तयारी खाजा, शृङ्गार सामग्री तत्काल उपलब्ध गराउँछ। यस किसिमका बिक्री मेशीनहरूको प्रयोग अमेरिकामा साना, ठूला शहरहरूमा व्यापकरूपमा हुन्छ। र यस किसिमका मेशीनहरू बढी मानिसहरू जम्मा हुने स्थान कलेज, अपार्टमेन्ट कम्प्लेक्स, सार्वजनिक पुस्तकालय, पार्क, चोक, मोटेल, सभा सम्मेलनस्थल आदिमा राखिएको हुन्छ र चौबीस घण्टा यी बिक्री मेशीनहरू खुला हुन्छन्। यी बिक्री मेशीनहरूले प्रमुखरूपमा दुईटा कार्य गरेको देखिन्छ। प्रथम, प्रत्यक्ष मानवीय श्रम (बिक्रेताविहीन भएकोले) को उपयोग नगरेकोले यी मेशीनहरूले श्रम लागत जोगाउने गर्छन् र वस्तुको बिक्री मूल्य सस्तो पार्छन्। दोस्रो, यो केवल एक मेशीन मात्र भएको र यसलाई आराम नचाहिने, तापक्रमको प्रभाव नपर्ने हुनाले ग्राहकहरूलाई २४ घण्टा सेवा प्रदान गर्न सक्छ। अमेरिकामा कुनै पनि कार्यको लागि मेशीनको कसरी र कति प्रयोग हुन्छ भन्ने तथ्यको यो केवल एक सामान्य उदाहरण मात्र हो।

    उत्पादन लागतको क्षेत्रमा अमेरिकाले मेशीन र यन्त्रहरूको प्रयोग गरेर वस्तु वा सेवाको उत्पादन लागत विश्वभरिमा नै कम पार्न सफल भएको छ। अमेरिकाले उत्पादन व्यवस्थामा उच्च लागतकुशलता प्राप्त गरेकोले यसले सस्तोमा र ठूलो परिमाणमा वस्तु उत्पादन गर्न सकेको छ र त्यसको असर अमेरिकी मुद्रा (डलर) को विनिमय क्षमतामा पर्न गएको छ। अमेरिकी कागजी मुद्राको सबैभन्दा सानो एकाइ (एक डलर) ले पनि उपभोक्ताले अमेरिकी बजारहरूबाट एक छाकका लागि पुग्ने खाना खरिद गर्न सक्छ। अर्थात मुद्राको सबैभन्दा सानो एकाइले पनि यति बढी विनिमय क्षमता राख्दछ। आर्थिक क्षेत्रमा प्राप्त गर्न सकिने यो ज्यादै ठूलो उपलब्धि हो। यस किसिमको उपलब्धिले पनि अमेरिकालाई विश्वको एक नम्बर आर्थिक महाशक्ति हुन सहयोग पुर्याएको छ। अमेरिकी डलरलाई संसारभरिका बैंकहरूले स्वीकार गर्छन्। जिम्बाब्वेमा कुनै समयमा मुद्रास्फीतिी हजारौ प्रतिशतले बढेको थियो। कुनै सामानको भुक्तानी दिन झोलामा नोट बोकेर जानुपर्थ्यो। त्यस्तै स्थिति अहिले भेनेजुएलामा छ। मुद्राको क्रयशक्ति ज्यादै फितलो हुने देशहरूमध्ये नेपाल पनि एक हो।

    अति यन्त्रीकरणबाट उत्पादन व्यवस्थामा प्राप्त भएको उच्च लागतकुशलताले अमेरिकी अर्थ व्यवस्थामा पारेको सकारात्मक प्रभावको अर्को एक उदाहरण यसरी पनि प्रस्तुत गर्न सकिन्छ। अमेरिकी सङ्घीय सरकारले प्रतिघण्टा न्यूनतम ज्याला दर (सन् २००९ मा) $७.२५ तोकेको छ। त्योभन्दा कम ज्याला दरमा कसैलाई काममा लगाउन पाइँदैन। तर यहाँ सुखद कुरा के छ भने कुनै एक कामदारले पाएको त्यो न्यूनतम (प्रतिघण्टाको) ज्याला (मासिक गरेर गणना गर्दा) ले सानो परिवारलाई पुग्ने (एक) घरको मासिक ऋण (Mortgage), भोजन खर्च, (एक) कारको मासिक ऋण, बीमा, औषधी उपचार, शिक्षा एवं अन्य खर्च बेहोर्न सक्छ। अर्थात् सरकारले न्यूनतम तोकिदिएको ज्यालाले पनि एक व्यक्तिले सामान्य जीवन, विनाकुनै ऋण, सजिलै जीवनयापन गर्न सक्छ। स्मरण रहोस्, अमेरिकामा उच्च माध्यमिक शिक्षा (१२ कक्षासम्म) नि:ल्क छ नै, स्कूलले विद्यार्थीहरूलाई तोकिएको परिमाण र  परिकारमा भोजन पनि निश्शुल्क उपलब्ध गराउँछ। साथै तोकिएको दूरीबाट आउने विद्यार्थीहरूलाई यातातात (बस) सेवा पनि स्थानीय सरकारले निश्शुल्क उपलब्ध गराउँछ।

    अमेरिकाले सर्वत्र मेशीन र यन्त्र प्रयोग गरेको छ, तर सर्वाधिक प्रयोग गरेको क्षेत्र भने कृषि हो। कृत्रिम वर्षा, जोताइ, बाली रोपाइँ, बाली कटानी, सुखानी आदि काममा पनि मेशीनकै उपयोग हुन्छ। फलफूल टिप्ने, सङ्ग्रह गर्ने, भण्डारण गर्ने काममा पनि मेशीनको व्यापक प्रयोग हुन्छ, ज्यादै थोरै मात्रामा मात्र प्रत्यक्ष मानवीय श्रम प्रयोग हुन्छ। कम प्रत्यक्ष मानवीय श्रम प्रयोग गरेर ठूलो परिमाणमा उत्पादन गर्न सकिने र ती उत्पादनहरू सहजै बिक्री गर्न सकिने हुनाले रोजगारका लागि कृषि क्षेत्र पनि आकर्षक हुन पुगेको छ। अर्कोतिर, कृषि उत्पादनहरू सस्तो हुन गएकोले अमेरिकी उपभोक्ताहरूले सस्तोमा खाद्य सामग्री बजारबाट खरिद गर्न पाएका छन्। सस्तोमा खाद्य सामग्री खरिद गर्न पाएको हुनाले अमेरिकीहरू कम आयमा पनि जीवनयापन गर्न सक्षम भएका छन्। साथै कृषकहरूले सस्तोमा उपत्पादन गर्न सकेकाले केही कृषि (वस्तु) उत्पादनको निर्यातबाट उनी राम्रो आम्दानी प्राप्त गर्न सफल भएका छन्। अमेरिकाले ठूलो परिमाणमा भटमास, गहुँ, मकै विश्वभरि निर्यात गर्छ। अमेरिका केवल उच्च प्रविधिमात्र होइन, कृषिजन्य वस्तुको पनि ठूलो निर्यातक हो।
    
मेशीन, यन्त्र, उपकरणको प्रयोगले प्रत्यक्ष मानवीय श्रम विस्थापित गर्न सकिने र कम समयमा ठूलो परिमाणमा वस्तु एवं सेवाहरू उत्पादन गर्न सकिने हुनाले उत्पादन लागत स्वतः कम भएर जान्छ। र उत्पादन लागत कम पर्ने हुनाले ती वस्तुहरू बजारमा सस्तोमा बिक्री गर्न सकिन्छ। उपभोक्ताले कम आम्दानीबाट पनि जीवनयापनका लागि चाहिने वस्तु सहजै खरिद गर्न सक्छ। अमेरिकाले यही गरिरहेको छ। मेशीन, यन्त्र, उपकरण प्रयोग गरेर उत्पादन लागतलाई सम्भव भएसम्म न्यूनतम बिन्दुमा झार्न सफल भएको छ। अमेरिकामा नोकर भन्ने छैन, नोकर भनेको मेशीन हो। र यो मेशीनले नै जुठो भाँडा सफा गरिदिने, लुगा धोइदिने, सुकाइदिने र खाना पकाइदिने, घर बढार्ने कार्य गर्छ।
   
मेशीन, उपकारण आदिको व्यापक प्रयोगको एउटा सानो अर्को उदाहरण हेरौं। अमेरिकाका खुद्रा भण्डार वा कुनै पनि बिक्री भण्डारमा अथवा कुनै पनि खरीदबिक्रीमा कोरा श्रम प्रयोग भएको देख्न पाइँदैन। अर्थात् कुनै पनि बिक्रेताले बिक्री भएको विभिन्न वस्तुको मूल्य जोड्ने र भुक्तानी लिने कार्यमा मानवीय श्रमको प्रयोग गर्दैन। प्रत्येक वस्तुमा टाँसिएको बारकोड हेर्छ, त्यसलाई स्क्यान गर्छ, प्रत्येक वस्तु स्क्यान गरिसके पछि मेशीन (क्यास रजिस्टर) मा कुल रकम हेर्छ र सो रकम क्रेताबाट क्रेडिट वा डेबिट कार्डद्वारा वा नगदमा प्राप्त गर्छ। यसरी एउटा बिक्रेताले मेशीन (क्यास रजिस्टर र स्क्यानर) प्रयोग गरेर एक दिनमा हजरौंको सङ्ख्यामा वस्तुहरू छरितो किसिमले बिक्री गर्न सक्छ। र बिक्री लागत नियन्त्रणमा योगदान पुर्याउन सक्छ। नोट गन्नपनि बिक्रेताको बढी समय खर्च हुँदैन किनभने अमेरिकामा हुने खरीदबिक्रीमा नोटको प्रयोग केवल २० प्रतिशतजति मात्र हुन्छ।
    
अमेरिकामा मेशीन, औजार र उपकरणको प्रयोग अत्यधिक मात्रामा हुने अर्को क्षेत्र हो, भवन निर्माण र यो कारणले गर्दा नै भवन निर्माण र खरिद उपभोक्तामाझ सस्तो हुन पुगेको हो। अमेरिकामा सामान्य आर्थिक अवस्थाको व्यक्तिले पनि आफ्नो आम्दानी अनुसार, साधारण वा अर्ध विलासी भवन खरिद गर्न सक्छ। तुलनात्मक रूपमा हेर्दा बरमुडा, स्वीट्जरल्यान्ड, हङकङ, आइसल्यान्ड, सिङ्गापुर, नर्वे, बहमास, युनाइटेड अरब इमिरेट्स, कतार, लगजम्बर्गजस्ता देशहरूको तुलनामा अमेरिकामा भवन निर्माण वा खरीद ज्यादै सस्तो छ। न्युयोर्क र लस एन्जलसजस्ता महँगा शहरहरूलाई छाडेर कुरा गर्ने हो भने अमेरिकाका साना शहरहरूमा घर निर्माण वा खरिद, क्रय शक्तिको आधारमा संसारमैं सस्तो छ भने पनि हुन्छ। हुनत अमेरिकामा भवन निर्माण सस्तो हुनुको अर्को महत्वपूर्ण कारण यहाँ प्रशस्त मात्रामा जग्गा उपलब्ध हुनु पनि हो, तर भवन निर्माण मात्रको कुरा गर्ने हो भने अमेरिकामा भवन निर्माण संसारमैं सस्तो होला। हुन पनि अमेरिकामा भवन निर्माण गर्दा माटो खन्ने, पर्खाल लगाउने, छत बनाउने काम मात्र होइन, किल्ला ठोक्ने काम पनि मेशीनले नै गर्छ। भवन निर्माणमा समेत पनि कोरा प्रत्यक्ष मानवीय श्रम प्रयोग भएको देख्न पाइँदैन। भवन निर्माणमा प्रयोग हुने सामग्रीहरू पहिले नै तयारी अवस्थामा हुन्छ।
    
औद्योगिक क्रान्तिको सूत्रपात ग्रेट ब्रिटेनमा भयो। ग्रेट ब्रिटेनको मुख्यगरी इङ्गल्यान्डमा सन् १७६० देखि १८४० बीचको समयावधिमा औद्योगिक क्रान्ति भएको थियो। र त्यो औद्योगिक क्रान्तिले कोरा मानीवय श्रमलाई मेशीन, औजार र उपकरणले विस्थापित गरेको थियो। खासगरी कटन उत्पादनको क्षेत्रमा मेशीनको प्रयोग व्यापक हुन थाल्यो।
    
अमेरिकामा पनि औद्योगिक क्रान्तिको ठूलो प्रभाव पर्यो। ग्रेट ब्रिटेनबाट धेरै प्राविधिक (मेशीनको आविष्कार र प्रयोग गर्न सक्षम व्यक्ति) अमेरिका आए र अमेरिकामा मेशीन, औजारको प्रयोगमा ठूलो वृद्धि गरे। तर कृषिक्षेत्रमा भने अमेरिकीहरूले गगनचुम्बी विकास आफ्नै सीप र परिश्रम प्रयोग गरेर गरे।
    
दोस्रो विश्वयुद्धपछि र खासगरी सन् १९६० को दशकपछि अमेरिका उद्योगको क्षेत्रमा विश्वमैं नम्बर एक हुन पुग्यो। सन् १९९० पछि आएको डटकम क्रान्ति (इन्टरनेटको व्यापक प्रयोग) ले अमेरिका लाई उत्पादन र व्यापारको को क्षेत्रमा कसैले प्रतिस्पर्धा गर्न नसक्नेगरी निकै अगाडि पुर्यायो। यो अवधिदेखि उत्पादनको क्षेत्रमा केवल मेशीनमात्र होइन सूचना प्रविधिको पनि व्यापक उपयोग हुन थाल्यो। सन् १९९० देखि २००० सम्मको समयावधिलाई अमेरिकामा डटकम क्रान्तिको युग भन्ने गरिन्छ। इबे, अमेजनजस्ता अनलाइन शपिंग ज्यान्टहरूले मानिसको खरिद व्यवहारमा नै परिवर्तन ल्याइदिए। भण्डारमा (in store) हुने खरिदलाई अन लाइन शपिंगले उछिन्न थाल्यो।   
    
यसरी अमेरिकाले उत्पादनको क्षेत्रमा मेशीन, औजार, उपकरण आदिको प्रयोग गरेर उत्पादन र लागतकुशलताको क्षेत्रमा सर्वकालीन अग्रणी स्थान हासिल गर्यो।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 07, 2018