Friday, July 31, 2020

Nepal is Poor By Skills Not By Wealth-Article-287

हामीसँग धन होइन, ज्ञान छैन

आर्थिक विकासको इतिहासले भन्छ– धनको सम्बन्ध भौतिक वस्तु (जग्गा, सुन, चाँदी, नगद आदि) सँग होइन व्यक्तिमा निहित ज्ञानसँग हुन्छ। समाजको चेतनाको स्तरसँग हुन्छ। धनले धन सृजना गर्ने होइन, ज्ञानले धन सृजना गर्छ। तर यो यथार्थलाई पूर्वीयहरूले आत्मसात् गरेनन्। जहिले पनि धनको वृद्धि धनबाट हुने भ्रमको पछि दौडे, समय बर्बाद गरे, तर ज्ञानद्वारा धनको वृद्धि गर्नेतिर लागेनन्। यसको ठीकविपरीत पश्चिमाहरूले धनको सम्बन्ध ज्ञान (बुद्धि, चातुर्य, जोखिम वहन क्षमता, नयाँ विचारको खोज आदि) सँग रहेको तथ्यलाई बुझे, त्यसमा दृढतापूर्वक विश्वास गरे, त्यो अवधारणालाई व्यवहारमा ल्याए। परिणाम, पश्चिमा (युरोप, अमेरिका) हरू अहिले धनी छन् तर पूर्वीय (पाकिस्तान, बङ्गलादेश, भारत, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स आदि) हरू गरीब छन्। केही त गरीबीको रेखाभन्दा मुनि छन्।

    पूर्वीयहरूसँग अनेक किसिमका स्रोत र साधन नभएको होइन। तर पूर्वीयहरूले ती स्रोत र साधनको प्रयोगमा ठूलो आर्थिक लाभ रहेको देखेनन्। उदाहरणका लागि पूर्वीयहरूले पहाडलाई आर्थिक विकासको बाधक माने, आफ्नो देशको विकास हुन नसकेको कारणको रूपमा पहाडी भूगोललाई माने, पहाडलाई गाली गरे। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो नीति, निर्माताहरूले पहाडलाई अभिशाप नै माने। हामीलाई त्यही पढाए। वरदानको रूपमा प्राप्त भएको पहाडलाई परित्याग गर्दै धेरै नेपालीहरू समतल भूमि (तराइ, चुरे) तिर बसाइँ सरे। स्रोत र साधन (जलस्रोत, खानी, जडीबुटी) हरूको विशाल भण्डार रहेको पहाडको बहुमूल्य सम्पत्तितिर ध्यान दिएनन्। तर त्यही पहाडलाई पश्चिमाहरूले अति लाभदायक आर्थिक स्रोतको रूपमा प्रयोग गरे। स्वीट्जरल्यान्डले त आफ्नो पहाडी भौगोलिक स्थितिलाई आफ्नो राष्ट्रको आर्थिक विकासको मेरुदण्ड नै मान्यो। पहाडी भूभागमा चियाखेती गर्न सकिन्छ भनेर अहिलेको भारतलाई बेलायत (ब्रिटिश इस्ट इन्डिया कम्पनी) ले सिकाएको हो। बेलायतीहरूको आगमन पूर्व भारतमा चियाखेती हुन्थेन। भारतको पहाडी भाग (दार्जलिङ) मा रेलसेवाको निर्माण ब्रिटिशहरूले नै गरिदिएको हो। भारतीय पहाडी स्थललाई ब्रिटिशहरूले नै लाभदायक पर्यटकीय स्थल बनाइदिएका हुन्।

हामी पूर्वीयहरू आफूसँग ज्ञानको भण्डार रहेको फुर्ती लगाउँछौं तर वस्तुतः ज्ञानको क्षेत्रमा निकै पछाडि छौं। ज्ञानकै भरमा पश्चिमा (ब्रिटेन, फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स जस्ता राष्ट्र) हरूले एशिया, अफ्रिका मात्र होइन दक्षिण अमेरिकाका राष्ट्रहरूमा उपनिवेश खडा गरे। ती क्षेत्रका प्राकृतिक, भौतिक एवं मानव साधनहरूको भरपूर उपयोग गरे। प्रशस्त धन कमाए।

    पेन्सिलिन होस् वा एरोप्लेन, कम्युटर होस् वा फेसबूक, गूगल होस् वा उबर आदि सम्पूर्ण कुराको आविष्कार पश्चिमा जगत्मा भएको हो। हामीले आविष्कार भएका ती वस्तुहरूको केवल उपयोग गरौं तर त्यस किसिमका वस्तुहरू अविष्कार गर्ने चFसो देखाएनौं। तर ज्ञानको क्षेत्रमा हामी अगाडि छौं भनेर फुर्ती लगाउन भने बाँकी राखेनौं।

    ज्ञानको क्षेत्रमा हामी पछाडि छौं र यो कारणले गर्दा नै हाम्रो मुलुकको आर्थिक विकासको गति सुस्त भएको हो। हामी, हाम्रो घरअगाडि भत्केको सडक मरम्मतको जिम्मेवारी सरकारको हो भनेर पन्छिन्छौं, आफूले निर्माण गर्दैनौं। तर त्यस्तो कार्यको जिम्मेवारी हामीले लिनुपर्ने हो। त्यो सडकको उपभोक्ता हामी भएकाले त्यो सडक निर्माण गर्ने जिम्मेवारी हाम्रो पनि हो, होइन र?

    हरेक विकास निर्माणको कार्य सरकारले गरोस् भन्ने हामी चाहन्छौं तर कर तिर्न उत्सुकता देखाउँदैनौं। हामीमध्ये कतिपयले कर छलि गरेको देखे–सुनेकै कुरा हो। हामीले नै कर नतिर्ने हो भने सरकारले कहाँबाट आम्दानी प्राप्त गर्ने अनि कसरी विकास तथा निर्माणमा खर्च गर्ने? सरकारको लागि आम्दानीको प्रमुख स्रोत भनेकै जनताले तिरेको कर हो।

    हामी चाहन्छौं सरकारले ठूला–ठूला अस्पताल, कलेज, विद्यालय, राजमार्ग आदिको निर्माण गरोस्। मुलुकलाई समृद्ध पारोस्। अति धनी पारोस्। तर हामी यो बुझ्दैनौं कि हामी धनी भएर मात्र देश धनी हुने हो। हामीले बढी आर्जन गरेर, बढी कर तिरेर, बढी रोजगार सृजना गरेर आफ्नो देशलाई धनी पार्ने हो। अमेरिका, ग्रेट ब्रिटेन, जापान, जर्मनी, फ्रान्सजस्तै हामीले अनेक किसिमका व्यापार गरेर, धेरै आय आर्जन गरेर, आफू र समाजलाई धनी पार्दै राष्ट्रलाई धनी बनाउने हो। कुनै पनि देशको सरकारले धन आर्जन गर्दैन। धन आर्जन गर्ने जनताले हो र देशलाई धनी पार्ने सरकारले होइन, त्यस देशमा बस्ने जनताले हो। तर यो कुरा हामीले बुझेका छैनौं। त्यस कारण हामी हाम्रो प्रयासद्वारा आफ्नो देशलाई धनी बनाउनेतिर लाग्दैनौं। केवल सरकारलाई गाली गर्छौं। हामीमा आर्थिक ज्ञान कम भएको यो हो बलियो प्रमाण।

    देशको आर्थिक विकास कसरी गर्ने भन्ने कुराको हाम्रा नेताहरूलाई पूर्ण ज्ञान छैन। हुनत यस्ता नेताहरूलाई निर्वाचित हामीले नै गरेको हो। त्यस कारण उनीहरूको अल्पज्ञानको अपजस पनि हामीमाथि आउँछ। र हामीले त्यो अपजस पनि बोक्नुपर्छ। र यस्ता नेताहरू हामीले निर्वाचित गर्नु हामीमा ज्ञानको कमीले गर्दा हो।

    हाम्रा नेताहरूमा आर्थिक विकासबारे ज्ञानको कमी छ भन्ने तथ्यका सहस्र उदाहरण छन्। यहाँ एउटा ताजा उदाहरण लिउँ। अहिले कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेको छ। अनेक मुलुकका बलिया आर्थिक संरचनाहरूलाई पनि कोभिडले भताभुङ्ग पारेको छ। विश्वका सरकारहरू कोभिडले पार्ने आर्थिक क्षति न्यूनीकरण गर्न सक्रिय भएका छन्, केही अपवादबाहेक। तर हामीकहाँ भने प्रधानमन्त्रीलाई हटाएर आफू प्रम हुन अनेक व्यक्ति लिगलिग दौडमा भाग लिइरहेका छन्। आफ्नो चिन्तनशील एवं सक्रिय ऊर्जालाई देशको आर्थिक विकासमा, गरीबी निवारणमा होइन, दाउपेचमा प्रयोग गरिरहेका छन्।

    कोभिडले गर्दा नेपालको पर्यटन उद्योग अहिले धराशयी छ। यो पूर्व अवस्थामा कहिले र कसरी आउने त्यो अनिश्चित छ। अन्तर्राष्ट्रिय श्रम बजार नेपाली श्रमिकहरूको लागि प्रतिकूल भएर नेपालले पाउने विप्रेषणमा भारी कमी आएको छ। बजारमा देखिएको अनिश्चितताका कारण केही उद्योग बन्द भएका छन्। राष्ट्रिय व्यापारको गति सुस्त भएको छ। धेरै नेपालीले रोजगार गुमाएका छन्। कृषिमाथि हाम्रो पकड कमजोर भएर यो केवल निर्वाहमुखी भएको छ। यस्तो दयनीय अवस्थामा, नेपालको अर्थतन्त्रलाई दिवालिया हुनबाट जोगाउन के गर्नुपर्छ भन्ने विषयमा सबै दलका नेताहरू मिलेर छलफल गर्नुको साटो उनीहरू धृतराष्ट्रजस्तो मूकदर्शक भएर बसेका छन्। सत्तारूढ नेकपाको कुरा गर्ने हो भने यस दलका नेताहरू लिगलिगकोटको दौडेमा भाग लिन हिंडेका छन्, राजा बन्नका लागि, श्रीपेंच पहिरनका लागि व्यग्र देखिएका छन्। यस्तो विषम परिस्थितिमा पनि यिनलाई कुर्सी र शक्ति प्यारो भएको छ, देशको अर्थतन्त्रभन्दा। लिगलिगकोटको प्रतिस्पर्धमा मग्न छन्। हाम्रा नेताहरूमा आर्थिक विकासबारे ज्ञानको अभाव छ भन्ने तथ्यको योभन्दा अर्को उपयुक्त उदाहरण के हुन्छ सक्छ?

    विपक्षी र सत्तारूढ दलका नेताहरूको व्यवहार यस्तै रहने हो र मुलुकको आर्थिक सङ्कट समाधन गर्न उनीहरूबाट सक्रिय प्रयास नहुने हो भने नेपाल पनि भोलिका दिनमा लेबनानजस्तो हुनेछ। लेबनानका अदूरदर्शी नेताहरूले गर्दा यो देश अहिले ठूलो आर्थिक सङ्कटमा छ। यो देशको कुल गार्हस्थ्य उत्पादनसँग सार्वजनिक ऋणको तुलना गर्दा लेबनान विश्वमा तेस्रो ठूलो ऋणी राष्ट्र हुन पुगेको छ। अहिले यो देशमा २५ प्रतिशतभन्दा बढी बेरोजगारी छ। अनि कुल जनसङ्ख्याको एक तिहाइ जनसङ्ख्या गरीबीको रेखामुनि छ। यो देशमा अहिले भरपर्दो स्वास्थ्य सेवा छैन, बिजुली नियमित छैन। शुद्ध खानेपानीको अभाव छ। अनि यहाँको इन्टरनेटलाई विश्वकै अति अविश्वनीय इन्टरनेटमध्ये एक मानिन्छ। लेबनानमा भ्रष्टाचार पनि चुलिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार सन् २०१९ मा, करप्सन परसेप्सन्स इन्डेक्स (Corruption Perceptions Index) मा भएका १८० राष्ट्रमध्ये लेबनानको स्थान १३७ मा थियो। लेबनानलाई यो स्थितिमा पु–याउने त्यहींका नेता हुन्। कुनै समय मध्यपूर्वको युरोप मानिने लेबनान अहिले यो स्थितिमा छ।

    साधन र स्रोतले भरिपूर्ण नेपाललाई लेबनान हुन नदिन सरकार मात्र होइन, जनताको पनि सहयोग आवश्यक छ। हामी विद्यमान चेतनास्तरबाट माथि उठ्न आवश्यक छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, July 31, 2020

Friday, July 24, 2020

We Don't Know How to Sale Our Idea, Place and Occasion-Article-286


हामी व्यापारमा किन पछाडि छौं?

आधुनिक बजारशास्त्रले वस्तु वा सेवा (बैंक, होटल, यातायात आदि) को मात्र होइन, विचार, स्थान र अवसरको पनि व्यापार गर्न सकिन्छ भन्ने धारणा राख्दछ। आधुनिक बजारशास्त्रमा कुनै व्यक्तिले आफ्नो विचार, कुनै स्थानको नाम, महत्व एवं कुनै अवसरको व्यापार गरेर राम्रो आम्दानी प्राप्त गर्न सक्छ। आफूले मात्र आम्दानी गर्ने होइन, समुदायमा रोजगार सृजना गरेर अरूका लागि पनि आय सृजना गरिदिन सक्छ। तर हामीकहाँ अहिलेसम्म विचार, स्थान र अवसरको प्रभावकारी व्यापार (बिक्री) गर्ने परिपाटी विकसित हुन सकेको छैन।
    विचार, स्थान र अवसरको व्यापार के हो, त्यसबारे चर्चा गरौं।
कुनै पनि ‘स्थान’ को महत्व, विशेषता, इतिहासको व्यापार गरेर आय आर्जन गर्न सकिन्छ। उदाहरणका लागि वीरगंज शहरको आफ्नै विशेषता छ। नेपालमा पहिलो रेल सेवा वीरगंजमा स्थापना भएको थियो। पछि त्यो सेवा बन्द भयो। तर हामीले त्यस रेलको इतिहास (रेलवे स्टेशन, गोदाम, रेलको लिक, प्लेटफार्म, टिकटघर, रेलको इन्जिन, डब्बा, रेलमा पानी हाल्ने व्यवस्था आदि) संरक्षण गर्न सकेनौं। त्यो इतिहास संरक्षण गर्न सकेको भए आज त्यसको व्यापार गरेर राम्रो आय आर्जन गर्न सक्थ्यौं। नेपाल मात्र होइन, विश्वका अनेक देशबाट यो इतिहास हेर्न पर्यटकहरू वीरगंज आउने थिए। वीरगंज व्यापारिक मात्र होइन, पर्यटकीय शहरको रूपमा पनि चर्चित हुन्थ्यो। वीरगंजको रेलसेवाको इतिहास संरक्षण गर्न सकेको भए स्थान (वीरगंज) को व्यापार गरेर राम्रो आय गर्न सकिन्थ्यो।  र वीरगंजलगायत यस वरपरका गाउँका युवाका लागि थप रोजगार सृजना गर्न सकिन्थ्यो। वीरगंजमात्र होइन, हामीले अन्य स्थानको पनि व्यापार गर्न जानेनौं।
अब ‘विचार’को व्यापारको चर्चा गरौं। तपाईं आफ्नो नौलो वा उपयोगी विचार बिक्री गर्न सक्नुहुन्छ। आफ्नो विचार बेचेर आफू मात्र होइन, अरूले पनि आय आर्जन गर्ने वातावरण सृजना गर्न सक्नुहुन्छ। विचारको व्यापार गर्ने कुराको ज्वलन्त उदाहरण ‘टिकटक’ ले प्राप्त गरेको विशाल व्यापारिक सफलता हो। एउटा सामान्य विचार, ‘छोटो छोटो भिडियो बनाएर मनोरञ्जन प्रदान गर्ने’,  जुन कुनै व्यक्ति वा संस्थाको दिमागमा आएको थियो, ले अहिले सफल र बृहत् व्यापारको आकार लिएको छ। सफलताको उत्कृष्ट कथा बनेको छ। चीनको बेइजिङस्थित बाइटडान्स (ByteDance) नाम गरेको एउटा इन्टरनेट टेक्नोजोली कम्पनीले सन् २०१६ मा विकास गरेको यो टिकटक एपको प्रयोग अहिले विश्वभरि भइरहेको छ। टिकटक के हो र यसको प्रयोग कसरी गरिन्छ, हामी सबैलाई थाहा भएकै कुरा हो। कसैको दिमागबाट निस्केको एउटा सामान्य विचार (टिकटक)ले अहिले एउटा सफल र बृहत् व्यापारको रूप लिएको छ। यो प्रारम्भमा सानो विचार मात्र थियो। टिकटकको व्यापक प्रयोग अमेरिका, युरोपमा मात्र हुँदैन, मध्यपूर्व र एशियामा पनि उत्तिकै हुन्छ। दक्षिण एशियामा त यो अति लोकप्रिय नै छ।
    कुनै खास अवसर, समय, चाड, दिवस आदिको पनि व्यापार गरेर राम्रो आय गर्न सकिन्छ। अमेरिकामा ‘ब्ल्याक फ्राइडे’ व्यापारिक दिवसको रूपमा धूमधामका साथ मनाउने गरिन्छ। प्रत्येक वर्षको नोभेम्बर महीनाको अन्तिम बिहीवार ‘थैंक्सगिभिङ’ पर्दछ। यो अमेरिकीहरूको महत्वपूर्ण चाड हो। यो चाडको भोलिपल्ट शुक्रवार पर्दछ र त्यो शुक्रवारलाई ‘ब्ल्याक फ्राइडे’ भनिन्छ। ब्ल्याक फ्राइडेका दिन ठूलो मात्रामा अनेक सामग्री किनबेच हुन्छ। विक्रेताहरूले पनि यो अवसरको अधिकतम प्रयोग गर्न क्रेतालाई ठूलो छुट र अनेक उपहार प्रदान गर्ने पूर्व घोषणा गर्छन्। क्रेताहरू पनि सस्तोमा सामान खरीद गर्न भनेर महीनौंदेखि यस दिनलाई पर्खेर बसेका हुन्छन्। सङ्क्षेपमा अमेरिकामा ब्ल्याक फ्राइडे खरीद–बिक्री दिवस हो। व्यापारिक दिवस हो।
    नेपालमा पनि छठ, धनतेरस, फगुआ आदिलाई व्यापार दिवसको रूपमा प्रयोग गर्न सकिन्छ। तराई क्षेत्रमा कुश्ती, फूटबल, तराईको खाना प्रदर्शनजस्ता अवसर सृजना गरेर तिनको व्यापार गर्न सकिन्छ। यस किसिमको व्यापार गरेर स्थानीयस्तरमा रोजगार सृजना गर्न सकिन्छ। यसैगरी, बारा जिल्लाको बरियारपुरमा लाग्ने गढीमाई मेलालाई बर्सेनि मेलाको रूपमा विकास गर्न सकिन्छ। पाँच वर्षमा लाग्ने मेलामा बलि दिने र बर्सेनि लाग्नेमा केवल दर्शन गर्ने परम्परा चलाउन सकिन्छ।
    नेपालमा व्यापार–व्यवसायको विकासको इतिहास हेर्न हो भने हामी निकै पछाडि रहेको प्रस्ट हुन्छ। हाम्रो अर्थतन्त्रले कृषिको जगमा विकास गरेको पाइन्छ। त्यो कृषिको विकास पनि जमीनदारी प्रथाबाट भएको पाइन्छ। जमीनदारी प्रथामा मजदूरहरूले जमीनदारको लागि काम गर्दथे। व्यक्ति (वास्तविक कृषक) ले आफ्नोलागि जमीनको उपयोग नगरेको हुनाले उनीहरूले कृषिको विकासमा खासै ध्यान दिएनन्। पछि जमीनदारी प्रथा समाप्त भएर सामान्य व्यक्तिको हातमा जमीन आएपछि पनि जमीनदारी प्रथाको अवशेष रहि नै रह्यो। केही सीमित व्यक्तिको हातमा जग्गाको ठूलो भाग रहन पुग्यो। यसरी कृषि पनि नेपालको लागि लाभदायक हुन सकेन। अर्कोतिर व्यापारको विकास हुन सकेन। यी कारणहरूले गर्दा नेपाल गरीबीको कुचक्रबाट बाहिर आउन सकेन। नेपाल अहिले पनि गरीबीको कुचक्रबाट बाहिर आउन सकेको छैन। अहिले, व्यापारिक युगमा पनि, नेपालीहरू रोजगारका लागि ठूलो सङ्ख्यामा विदेश जानुपर्ने स्थिति छ। देशको अर्थतन्त्रलाई ‘रेमिट्यान्स’ले धानेको छ। कोभिडले गर्दा नेपाली श्रमिकहरू विदेशी श्रम बजारमा जान नपाउँदा देशको आर्थिक स्थिति कस्तो हुन पुग्यो हामीले देखि नै हाल्यौं।
    हामीलाई खासमा व्यापार गर्न आउँदैन। र व्यापार गर्ने अवसर हुँदाहुँदै पनि हामी त्यो अवसरको उपयोग गर्न जान्दैनौं। हामीले हाम्रो स्थान, विचार, अवसर आदिको राम्ररी व्यापार गर्ने हो भने स्थानीयस्तरमा अनेक रोजगार सृजना गर्न सकिन्छ। कसरी ? एउटा सानो उदाहरण हेरौं–
    वीरगंजनजीक ठोरीमा रहेको अयोध्यापुरी अहिले निकै चर्चामा छ। यो चर्चाले जति राजनीतिक महत्व पायो, त्यति आर्थिक महत्व पाउन सकेन। तर यो अयोध्यापुरीको आर्थिक महत्व भने उच्च छ। यो गाउँको व्यापारिक भविष्य सबल छ। अयोध्यापुरीको नाम प्रयोग गरेर, त्यहाँ भएका ऐतिहासिक वस्तुहरूको प्रचारप्रसार गरेर लाखौंको सङ्ख्यामा पर्यटकहरूलाई अयोध्यापुरी जान प्रेरित गर्न सकिन्छ। स्थानीयस्तरमा यसरी रोजगार र आय सृजना गर्न सकिन्छ।
    राम भारतको अयोध्यामैं जन्मेका हुन् भन्ने कुरालाई नै आधार मानेर हिंड्ने हो भने पनि ‘रामगाथा’सँग जोडिएका धेरै कुरा नेपालको अयोध्यामा छन् भनी मान्न कर लाग्छ किनभने रामगाथासँग जोडिएका अनेक पुरातात्विक वस्तु त्यहाँ भेटिएका छन्। प्रम ओलीको भनाइ (राम नेपालको अयोध्यामा जन्मेका हुन्) पुष्टि गर्न नेपालको अयोध्यामा रातारात ती पुरातात्विक वस्तुको विकास गरिएको होइन। त्यस्तो कदापि हुन सक्तैन। इतिहास गतिशील हुन्छ, स्थिर हुँदैन। भोलिको दिनमा के होला भन्न सकिंदैन। नेपालकै अयोध्या रामको यथार्थ अयोध्या हुन सक्छ। यो कुरा भौगोलिक अध्ययन र अनुसन्धानहरूले प्रस्ट पार्नेछन्। तर आजको दिनमा हामीले नेपालको अयोध्याको महत्वको ‘मार्केटिङ’ गर्न सक्छौं। नेपालको अयोध्यामा भएका पुरातात्विक वस्तुहरूको अवलोकन भ्रमण आदिको आयोजना गरेर आन्तरिक पर्यटनको विस्तार एवं विकास गर्न सक्छौं। यसरी स्थानको बजारीकरण (Place marketing) गर्न सकिन्छ।
    नेपालको अयोध्या वा भारतको अयोध्या, कुन अयोध्या यथार्थ हो ? यो प्रश्न अहिले छलफल, अनुसन्धानको विषय मान्दै त्यसलाई थाती राखेर, नेपालको अयोध्यामा देखिएका पुरातात्विक वस्तुहरूको प्रचारप्रसार त गर्न सक्छौं, कि सक्तैनौं? फेरि पनि भन्न चाहन्छु कि इतिहास गतिशील हुन्छ। थाइल्यान्डको राजधानी बैंकक शहरनजीक पनि एउटा अर्को अयोध्या छ। यसैगरी, कम्बोडियाको एउटा शहर अङ्ककोर वाट, जसलाई ‘मन्दिरहरूको राजधानी’ पनि भन्ने गरिन्छ, सयौं हिन्दू मन्दिरहरूको शहरको रूपमा संसारभरि प्रख्यात छ। एकै स्थानमा ठूलो सङ्ख्यामा हिन्दू मन्दिर रहेको विश्वमा नै एकमात्र स्थान अङ्कोर वाट हो। यो क्षेत्र १६ लाख २६ हजार वर्गमिटरमा फैलिएको छ। र यहाँका मन्दिरहरूको निर्माण खमेर राजा सूर्यवर्मनले गराएका हुन्। सबै मन्दिरले हिन्दू धर्मको इतिहास भन्छन्। हिन्दू धर्मको उत्पत्ति र विकास केवल अहिलेको भारतमा भएको मान्नु हामीले आफ्नो ज्ञानलाई एउटा परिधिमा सीमित पार्नु सरह हुन्छ। जति नयाँ–नयाँ खोज र अनुसन्धान हुन्छ, त्यति नै नयाँ–नयाँ तथ्य र प्रमाण बाहिर आउँछ। कुनै समयमा चन्द्रमालाई कुनै देवलोक मान्ने गरिन्थ्यो। तर चन्द्रमामा मान्छे पुगेपछि, चन्द्रमा यथार्थमा उपग्रह हो भन्ने थाहा भयो।
    सङ्क्षेपमा हामी व्यापारको क्षेत्रमा निकै पछाडि छौं। हामी अमेरिका, बेलायत, चीनजस्तो व्यापारिक देश हुन सकेका छैनौं। हामी जति राजनीतिलाई महत्व दिन्छौं, त्यति महत्व अर्थलाई दिंदैनौ। अब हामीले अर्थव्यवस्थालाई महत्व दिनुपर्छ। अब हामीले वस्तु एवं सेवा मात्र होइन; विचार, स्थान र अवसरको पनि व्यापार गर्नुपर्छ।
Rara Lake in Nepal picture: Wikipedia
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, July 24, 2020

Friday, July 17, 2020

Nepal-India Trade: Which Country Benefiting?-Article-285


नेपाल–भारत व्यापार: फाइदामा को?

नेपाल–भारत श्रम व्यापारमा कुन राष्ट्र बढी लाभान्वित भएको छ भन्ने प्रश्न गर्दा जोसुकैले दिने उत्तर नेपाल हो। धेरैलाई लागेको छ यी दुई देशबीच श्रम व्यापारमा नेपालले बढी लाभ हासिल गरेको छ। मुख्यगरी धेरै भारतीयलाई यो लाग्दछ कि नेपालले श्रम व्यापारबाट बढी लाभ प्राप्त गरिरहेको छ, किनभने भारतीय श्रम बजारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू कार्यरत छन्। तर यो सत्य होइन। नेपाल–भारतबीच श्रम व्यापारमा भारतले ठूलो मात्रमा मौद्रिक लाभ प्राप्त गरिरहेको छ, कसरी ? आउनुहोस् तथ्य र तथ्याङ्कसहित हेरौं। तुलना गरौं।
    नेपाली श्रमिक भारतीय श्रम बजारमा गएर जति कमाउँछन् त्यसको कैयौं गुणा बढी भारतीय श्रमिक नेपाल आएर कमाउँछन र कमाएको त्यो पैसा आफ्नो घर (भारत) ठूलो परिमाणमा रेमिट्यान्सको रूपमा पठाउँछन्।
भारतमा काम गर्ने नेपाली श्रमिकहरूमा ठूलो सङ्ख्यामा अदक्ष कामदारहरू छन् र अदक्ष कामदारहरूले अति न्यून ज्याला पाउँछन्। तर नेपालमा काम गर्ने भारतीय श्रमिकहरूमा ठूलो सङ्ख्यामा दक्ष कामदारहरू हुन्। सुन–चाँदीको गहना बनाउने कारिगर होस् वा घर निर्माणमा संलग्न मिस्त्री, यस्ता दक्ष भारतीय कामदारहरू नेपालको श्रम बजारमा काम गरिरहेका छन् र उनीहरूको ज्यालादर ज्यादै उच्च छ। उनीहरुले उच्चदरमा ज्याला पाइरहेका छन्।
    रेमिट्यान्सकै कुरा गर्ने हो भने भारतीय श्रमिकहरूले नेपालबाट बर्सेनि लगभग ५ (सन् २०१७ मा ४.५८७) बिलियन डलर कमाएर भारत लगेको पाइन्छ। तर नेपाली श्रमिकहरू भने बर्सेनि केवल १ (सन् २०१७ मा १.०२१) बिलियन डलर भारतबाट कमाएर ल्याएको तथ्यांकबाट देखिन्छ। उल्टो भारतका केही सञ्चार माध्यमहरू नेपालका ४० लाख श्रमिकलाई भारतले रोजीरोटी दिएको फुर्ती लगाउँछन्। यी सञ्चार माध्यमहरूले एक पटक नेपाल-भारत बीचको रेमिट्यान्स तथ्यांक हेरुन।
    नेपालीहरूले भारतबाट कमाएर ल्याएको पैसा पुनः भारत फर्कन्छ। कसरी? प्रश्न जटिल छ। नेपाली बजारहरू उपलब्ध सामनाहरूमा ५० देखि ६० प्रतिशत भारतीय सामानमात्र हुन्छ, नेपालको आफ्नो उत्पादन औंलामा गन्न सकिने सङ्ख्यामा मात्र छ। यसरी नेपालीहरूले भारतबाट कमाएर ल्याएको पैसा भारतीय वस्तु खरीद गर्दा नेपालीहरूले भारतबाट कमाएर ल्याएको त्यो पैसा पुनः भारत फर्कन्छ, ठूलो धनराशिको रूपमा। अनि भारतले भन्छ नेपाललाई गुन लगाएको। बरु नेपालले भारतलाई गुन लगाएको छ। होइन र?
    भारत विश्वमा सर्वाधिक रेमिट्यान्स प्राप्त गर्ने राष्ट्र हो। एक नम्बर राष्ट्र हो। भारतले सर्वाधिक रेमिट्यान्स युनाडटेड अरब इमिरेट्सबाट प्राप्त गर्छ। त्यसपछि अमेरिकाबाट प्राप्त गर्छ। अमेरिकापछि साउदी अरेबियाबाट  अनि नेपालबाट प्राप्त गर्छ। भारतले विश्वका दश राष्ट्रबाट बढी रेमिट्यान्स प्राप्त गर्ने सूचीमा नेपालको स्थान चौथो नम्बरमा पर्छ। भौगोलिक र आर्थिक कारोबारको हिसाबले नेपाल सानो राष्ट्र भए तापनि नेपालबाट भारतीयहरूले ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गर्छन्। नेपाल–भारत व्यापारबाट भारतले यति ठूलो लाभ प्राप्त गरे तापनि त्यहाँका नेताहरूले, नेपालले भारतको गुन बिर्सेर चीनको हित गरेकोले नेपाललाई पाठ पढाउन नेपालमाथि नाकाबन्दी लगाइदिने कुरा गर्छन्। नेपाललाई धम्क्याउँछन्। भारतले विश्वका अनेक देशबाट रेमिट्यान्स लग्नेमा नेपाल चौथो नम्बरमा रहेको तथ्य बिर्सन्छन्। गुन भारतले नेपाललाई लगाएको हो कि नेपालले भारतलाई?
    श्रम व्यापारबाट भारतले नेपालबाट कति बढी कमाउँछ भन्ने कुरा त माथिको तथ्याङ्कले नै देखाइसक्यो। अब कुरा गरौं, वस्तु र सेवा–व्यवसायको।
    नेपाल भारतको एक संरक्षित बजार बन्दै गएको तथ्य हामी सबैलाई थाहा भएको कुरा हो। हामीले भारततर्फ जुन परिमाणमा निर्यात गर्छौ त्यसको कैयौं गुणा बढी भारतबाट आयात गर्छौं। अर्थात् ठूलो परिमाणमा आयात गर्छौं। मोटर, हैभी मेशिन, औजारहरू मात्र होइन, खाद्यान्नसम्म आयात गर्छौं। त्यति मात्र हो र, सियो–धागोसम्म पनि आयात गर्छौं। भारततिर निर्यात कम र भारतबाट आयात बढी भएर उत्पन्न हुने व्यापार असन्तुलनको भुक्तानी हामीले भारतलाई डलरमा गर्छौं किनभने भारततर्फ निर्यात कम भएकोले हामीसँग पर्याप्त भारतीय रुपियाँ हुँदैन र भए जति भारतीय वस्तु आयात गर्दा भुक्तानी गर्नमा खर्च गर्छौं। स्थिति कतिसम्म विडम्बनापूर्ण छ भने हामी नेपालीले अरब, अमेरिका, युरोप, अस्ट्रेलिया आदि राष्ट्रबाट कमाएर नेपाल ल्याएको पैसा (रेमिट्यान्स) भारतीय वस्तु र सेवा (जस्तै पर्यटनः धार्मिक, शैक्षिक, सामाजिक, मनोरञ्जन) खरीदमा खर्च गर्छौं। नेपाली उद्योगलाई होइन, भारतीय उद्योगहरूलाई धनी बनाउँछौं। तर भारतीय नेताहरूकै घुर्की छ –“नेपाल में नाकाबन्दी कर देंगे।”
    हाम्रा उद्योग सुक्दै गए, किन? हामीले यो प्रश्नको उत्तर  खोज्ने प्रयास गरेका छौं? हाम्रा कलकारखानाहरू बन्द हुँदै गए। हामी भारतको संरक्षित बजार बन्दै गयौं। किन होला? यो प्रश्नले हामीलाई किन झक्झक्याएन?
    नेपालको अर्थतन्त्र सानो भएको हुनाले यहाँ उत्पादित वस्तु स्वाभाविकरूपमा महँगो हुन पुग्छ। अर्कोतिर भारतको अर्थतन्त्र विशाल भएको हुनाले त्यहाँ उत्पादित वस्तु सस्तो हुन्छ, नेपालमा उत्पादित वस्तुको तुलनामा। नेपालमा अनियन्त्रित किसिमले भारतीय समान आउने र नेपालमा नै सस्तो उत्पादन गर्ने कोशिश नगरिएकोले नेपाली उद्योगहरू सुक्दै गए र नेपाल भारतको संरक्षित बजार बन्न पुग्यो। नेपालले केही उद्योगलाई संरक्षण दिएर भए पनि स्वदेशी उत्पादन वृद्धि गर्नुपर्दथ्यो। जस्तै धातुका मूर्तिहरू नेपालका मौलिक वस्तु हुन्। नेपालले यसलाई संरक्षित गर्न सक्छ। यसैगरी नेपालमा ठूलो सङ्ख्यामा कार, बस, ट्रक खरीद हुन्छ। यी वस्तु नेपालमैं उत्पादन गर्न सकिन्छ। पूर्ण नेपाली लगानीमा उत्पादन गर्न सनके विदेशी लगानीकर्ताहरूलाई नेपालमा आमन्त्रित गर्न सकिन्छ।
    नेपाल भारतबीच खुला सिमानाले पनि नेपाली उद्योगहरू नसप्रिनुमा ठूलो योगदान पु–याएको छ। खासगरी नेपालको तराई क्षेत्रका उद्योगहरू नफस्टाउनुमा नेपाल र भारतबीच खुला सिमाना जिम्मेवार छ। दुई देशबीच खुला सिमानाले गर्दा भारतीय बजारबाट ठूलो परिमाणमा अनेक वस्तु तस्करी भएर आउँछ। अर्कोतिर सीमा क्षेत्रमा बस्ने नेपालीहरूका लागि नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो सामान पाउने हुँदा नेपालीहरूले ठूलो परिमाणमा भारतीय बजारबाट सामानहरू खरीद गर्छन्। यसले गर्दा पनि सीमावर्ती क्षेत्रमा रहेका नेपाली बजारहरू सुक्दै गएका छन्। यसैले गर्दा तराई क्षेत्रमा पहिलेजस्तो आर्थिक समृद्धि छैन। कुनै समय अन्नको भण्डार मानिने तराईबाट धान, चामलजस्ता खाद्यान्न भारत, बङ्गलादेश, मरिसससम्म निर्यात हुन्थ्यो। अहिले स्थिति यस्तो छ कि तराईमा रोजगार नपाएका हजारौं युवा खाडी मुलुकहरूमा जान बाध्य भएका छन्। आर्थिकरूपमा तराई खोक्रो हुँदै गएको छ। रेमिट्यान्सले तराईमा ल्याएको आर्थिक समृद्धि क्षणिक हो, दीर्घकालीन होइन किनभने तराईका युवाहरूले खाडीबाट ल्याएको रेमिट्यान्सको प्रयोग केवल खानपिन, भोज–भतेर, लत्ता–कपडामा खर्च भएको छ, आर्थिक संरचना वा कलकारखाना स्थापनामा भएको छैन।
    नेपालको आर्थिक विकास तीव्र गतिमा गर्ने हो, खासगरी तराई क्षेत्रमा आर्थिक समृद्धि ल्याउने हो भने नेपाल–भारत सीमा व्यवस्थित एवं नियन्त्रित गर्नुको विकल्प छैन। नेपाल र भारतको सीमा क्षेत्रमा हुने आवागमन व्यवस्थित गर्न पासपोर्ट र भीसाको व्यवस्था हुन अति आवश्यक छ। साथै तराई क्षेत्रको आर्थिक विकास द्रुततर गतिमा गर्न नेपाल भारतबीच सीमा आवागमन व्यवस्थित गर्न आवश्यक छ। अहिलेको स्थितिजस्तै नेपाल–भारत सिमाना यस्तै किसिमले खुला रहने हो भने नेपालका तराई क्षेत्रका बजार (शहर) हरू सुक्दै जान्छन्, गौर र मलङ्गवा शहरहरू सुकेजस्तै। कुनै दिन वीरगंज, जनकपुरको अवस्था पनि त्यस्तै हुनेछ, स्थिति यस्तै रहने हो भने। हुन पनि हेटौंडा सीमाभन्दा पर रहेकोले यो शहरको तीव्र गतिमा विकास भइरहेको छ। २०–२५ वर्ष पहिलेसम्म आर्थिक प्रगतिको हिसाबले वीरगंज हेटौंडाभन्दा धेरै अगाडि थियो। अहिले वीरगंजलगायत यस वरपरका गाउँका युवा ठूलो सङ्ख्यामा अरबतिर रोजगारका लागि हिंडेका छन्। पहिले धानमिल, चीनी कारखाना, कृषि औजार कारखाना, कपडा कारखाना आदिले ठूलो सङ्ख्यामा वीरगंज एवं यस वरपरका व्यक्तिलाई रोजगार दिएको थियो।
    हामीले नेपाली उद्योग समाप्त पारेर भारतीय उद्योगहरूलाई धनी पारेका छौं। आफू उत्पादन गर्दैनौं, विदेशबाट कमाएर ल्याउँछौं, अनि त्यो पैसा भारतीय वस्तु खरीद गरेर भारततिर नै पठाउँछौं। उल्टो भारतको खप्की (डाँट) खान्छौं र सुन्छौं कि भारतले नेपाललाई पालेको छ। नेपालले भारतको कुरा नमान्ने हो भने आर्थिक नाकाबन्दी गरिदिन्छौं। मेरो विचारमा भारतले एकपटक लामो समयका लागि आर्थिक नाकाबन्दी गरिदिए हुन्थ्यो। यस्तो भएमा नेपालमा उद्योगधन्दाको विकास हुन्थ्यो। नेपालले स्वावलम्बी किसिमले राष्ट्रको आर्थिक विकास गथ्र्यो। भारतको सधैंको घुर्की सहने स्थितिको अन्त्य हुन्थ्यो।

विश्वराज अधिकारी
Friday, July 17, 2020
Photo: Google

Friday, July 10, 2020

What Plannings Do We Have to Fight Covid 19-Article-284


खोइ त कोरोना–सङ्कट व्यवस्थापनका योजनाहरू?

विश्व स्वास्थ्य सङ्गठनले केही दिन पहिले (जून २९, २०२० मा) संसारभरका सम्बन्धित सबै पक्षलाई सचेत पार्दै भनेको थियो, ‘कोभिड–१९ को अर्को लहर पुनः आउँदै छ, जुन अझै भयानक र घातक हुनेछ।’ विश्व स्वास्थ्य सङ्गठनको यो चेतावनीसँगै अहिलेसम्म यो महामारीबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या विश्वभरिमा १ करोड नाघेको छ भने यो महामारीले ५ लाखभन्दा बढी सङ्मितहरूको प्राण लिइसकेको छ। पाँच–छ महीना पहिले चीनबाट फैलिएको यो महामारीविरुद्ध खोप छिट्टै विकास हुने आशा राखिएको थियो तर महामारी फैलिएको लामो अवधि बितिसक्दा पनि यसविरुद्ध खोपको विकास अहिलेसम्म हुन सकेको छैन। भविष्यमा कहिलेसम्म यो घातक महामारीविरुद्ध खोप विकसित हुने हो अनिश्चित छ। यो स्थिति मानव सभ्यता रक्षाको लागि नै ठूलो चुनौती हो।
    संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न राष्ट्रमा यस महामारीबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या अधिक रहे तापनि अहिले र पछिल्लो समयमा, दक्षिण अमेरिकाका देशहरूमा यो महामारी तीवरूपमा फैलिरहेको छ। र दक्षिण अमेरिकाका गरीब राष्ट्रहरू यो महामारीसँग जुध्न असफल देखिएका छन्। ती गरीब राष्ट्र कोरोना सङ्कटले उत्पन्न आर्थिक क्षति बेहोर्न सकिरहेका छैनन्। गरीब नागरिक ‘लकडाउन’को स्थितिले गर्दा काममा जान सकिरहेका छैनन्, जबकि उनीहरूसँग काम नगरी खान पाउने स्थिति छैन। उनीहरूले हरेक दिन कमाइ गरेर जीवन गुजार्नुको विकल्प छैन। दक्षिण अमेरिकामा ब्रजील सर्वाधिक कोरोना सङ्कट पीडित हुन पुगेको छ। त्यहाँका राष्ट्रपति जाए बोलसोनारो स्वयम् कोरोना पोजेटिभ भएका छन्।
दक्षिण एशियामा र खासगरी बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, भारत, नेपालमा अब कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिने अनुमान यस क्षेत्रका विज्ञहरूले गरिरहेका छन्। जुलाईदेखि कोरोनाको सङ्क्रमण दक्षिण एशियामा अति तीव्र गतिमा फैलिने उनीहरूको अनुमान छ। यस क्षेत्रमा गरीबहरूको बसोबास ठूलो सङ्ख्यामा हुने र प्रत्येक दिन काम नगरी जीवन धान्न उनीहरूका लागि असम्भव हुने भएकोले यो क्षेत्रमा कोरोनाले अति आर्थिक उत्पात मच्चाउने कुरामा शङ्का छैन।
    कोरोना सङ्कट स्वास्थ्य समस्या मात्र होइन। यो एउटा विकराल आर्थिक समस्या पनि हो। भोलिका दिनमा कोरोनाविरुद्ध खोप विकसित भएमा कोरोना सङ्कटबाट पीडित राष्ट्र एवं व्यक्तिहरूले मुक्ति पाउनेछन्। स्वास्थ्य सुरक्षित हुनेछ। तर कोरोना सङ्कटले ध्वस्त पारेको विभिन्न मुलुकका आर्थिक संरचना पुनर्निर्माण गर्न भने वर्षौ लाग्नेछ। धनी राष्ट्रहरूले त कोरोना सङ्कटले क्षति पु–याएको आफ्नो अर्थतन्त्रलाई पुनः पहिलेको स्थितिमा सजिलै ल्याउन सक्नेछन् किनभने उनीहरूसँग पर्याप्त पूँजी छ, उन्नत प्रविधि र ज्ञान पनि छ। यसैगरी सङ्गठित बजार पनि छ। तर गरीब राष्ट्रको स्थिति यस्तो छैन। कोरोना सङ्कटले ध्वस्त पारेको गरीब राष्ट्रहरूको आर्थिक संरचना पुनर्निर्माण गर्न दशौं वर्ष लाग्न सक्छ।
    विश्वभरिका सरकार, नीति निर्माता, सम्बन्धित पक्ष आदिले कोरोना सङ्कटलाई केवल स्वास्थ्य समस्याको रूपमा लिए। यसलाई गम्भीर आर्थिक समस्याको रूपमा लिएनन्। कोरोना सङ्कटले ठूलो आर्थिक समस्या ल्याउन सक्छ भन्नेतर्फ उनीहरूको ध्यान पटक्कै गएन। त्यो एउटा ठूलो भूल थियो। र त्यो ठूलो भूलले अहिले गरीब राष्ट्रहरूलाई नराम्ररी सताइरहेको छ। धनी राष्ट्रहरूले कोरोना सङ्कटले पुर्याएको आर्थिक क्षति केही अंशमा भएपनि पूर्ति गर्न आफ्ना नागरिकलाई आर्थिक सहयोग गरेका थिए। जस्तै अमेरिकाले केही महीना पहिले आफ्ना नागरिकलाई प्रतिव्यक्ति निश्शर्त १ हजार २ सय डलर (सरकारलाई नफर्काउने गरी) आर्थिक सहयोग उपलब्ध गराएको थियो। तर गरीब राष्ट्रहरूसँग राष्ट्रिय कोषमा रकम नरहेकाले आफ्ना नागरिकलाई त्यस किसिमको आर्थिक सहयोग उपलब्ध गराउन सकेनन्। गरीब राष्ट्रका अति निर्धन नागरिक भोकभोकै मर्नुपर्ने स्थितिमा पुगे। दक्षिण एशियामा कुल गार्हस्थ्य उत्पादनको आधारमा धनी मानिएको भारतले त कोरोना सङ्कट पीडित आफ्ना गरीब नागरिकलाई आर्थिक सहायता उपलब्ध गराउन सकेन।      
    कोरोना सङ्कटले गरीब राष्ट्रको आर्थिक संरचनालाई नराम्ररी प्रभावित गर्नेछ। कोरोना सङ्कटबाट नराम्ररी क्षतिग्रस्त भएको नेपालजस्तो गरीब राष्ट्रको आर्थिक संरचना पुनर्निर्माण गर्न वर्षौं लाग्नेछ। तर अचम्म त के कुरामा लागेको छ भने कोरोना सङ्कटले पु–याउने आर्थिक क्षतिको व्यवस्थापन गर्न नेपाल सरकारले अहिलेसम्म कुनै योजना तथा कार्यक्रम अघि सारेको छैन। कोरोनालाई केवल स्वास्थ्य समस्या मानेर त्यसमा ध्यान केन्द्रित गरेको छ। कोरोना सङ्कटले ल्याउने आर्थिक समस्याहरूको समाधानका लागि के कस्ता योजना विकास गर्ने कुरामा नेपाल सरकारले पटक्कै ध्यान दिएको छैन। न नेपालका प्रान्तीय सरकारहरूले, न स्थानीय सरकारहरूले नै ध्यान दिएका छन्। यो केवल केन्द्रीय सरकारको समस्या हो भनेर प्रान्तीय र स्थानीय सरकारहरू पन्छिएका छन्, निष्क्रिय छन्। तर यथार्थमा कोरोना सङ्कटले ल्याउने आर्थिक समस्याहरूको लागि विभिन्न योजना निर्माण गर्ने प्रमुख दायित्व प्रान्तीय एवं स्थानीय सरकारको हो। निष्कर्षमा भन्ने हो भने स्थानीय सरकारहरूको हो। केन्द्रीय एवं प्रान्तीय सरकारले त केवल नीति, नियम निर्माण गर्ने हो, कार्यान्वयन तहमा स्थानीय सरकारले नै अनेक कार्य गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा भन्ने हो भने यो गम्भीर समस्या समाधानका लागि स्थानीय सरकारहरू पटक्कै पूर्वजागरूक (proactive) छैनन्। स्थानीय सरकारहरू राजनीतिक एकाइको रूपमा मात्र कार्य गरिरहेका छन्। जबकि उनीहरूको प्रमुख दायित्व भनेको आर्थिक  एकाइको रूपमा कार्य गर्नु हो। स्थानीय सरकारको स्थापना एवं सञ्चालन स्थानीय आर्थिक विकासको लागि हो। विकसित देशको अनुभवले त्यस्तै भन्छ।
    कोरोना सङ्कटले नेपालका दुई आर्थिक क्षेत्र पर्यटन र वैदेशिक रोजगारलाई चिरकालसम्म प्रभावित गर्नेछ। र यी दुई क्षेत्र, जुन मुलुकका प्रमुख आयका स्रोतहरू पनि हुन्, पुनः पहिलेको अवस्थामा फर्किन वर्षौं लाग्न सक्छ। तर यी दुई क्षेत्रलाई अति प्रभावित हुनबाट जोगाउन सरकारले कुनै ठोस योजना ल्याउन सकेको छैन।
    अन्तर्राष्ट्रिय श्रम बजार र खासगरी खाडीको श्रम बजार नेपालीहरूका लागि कहिलेदेखि श्रम (कार्य) गर्न उपयुक्त हुन्छ अनिश्चित छ। यस्तो अवस्थामा खाडीका देशहरूबाट फर्केका नेपाली श्रमिकहरूलाई राष्ट्रिय श्रम बजारमा पुनस्र्थापित गराउन सरकारसँग कुनै ठोस योजना छैन। भन्ने हो भने सरकार (दल) अहिले प्रम छान्ने योजनामा लागेको छ। सत्तारूपी दूध (प्रम पद पाउन) खान पल्केका बिराला (नेता) हरू अहिले दूध खाने दाउमा लागेका छन्। –याल चुआइरहेका छन्, लोभी बिरालोझैं। प्रम पदलाई माछा मानेर अर्जुनझैं निशाना साधिरहेका छन्, सत्ताका लोभीहरू। प्रम परिवर्तन गर्दैमा के देशले विभिन्न समस्याबाट मुक्ति पाउन सक्छ? के देशको आर्थिक विकास तीव्र गतिमा हुन सक्छ? यदि त्यस्तो हुँदो हो भने नेपालमा तीव्र गतिमा आर्थिक विकास हुने थियो। नेपालका नागरिक स्वीडेन, नर्वे, डेनमार्कका नागरिकझैं सुखी र खुशी हुन्थे, किनभने २०४७ सालदेखि अहिलेसम्म (२०७७ साल), बितेको ३० वर्षमा नेपालमा २५ प्रम फेरिए। औसतमा कुनै पनि एक प्रमले दुई वर्ष काम गर्न पाएको देखिंदैन, पूरा कार्यकालसम्म काम गर्न पाएको त परको कुरा भयो। यो तरीकाले देशको आर्थिक विकास हुन्छ?
    प्रम परिवर्तन गरेर देशको आर्थिक विकास हुँदैन। देश झन् अस्थिरतातिर जान्छ। देशको आर्थिक विकासका लागि प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्छ, प्रम होइन। नेता र जनता दुवैले प्रवृत्ति परिवर्तन गर्नुपर्छ। प्रम परिवर्तन गर्ने खेलमा जनताले नेताहरूको ‘हो’ मा ‘हो’ मिलाउनुहुँदैन। नेताहरूको गलत प्रवृत्ति (प्रम हुन आफ्नै दलभित्र पनि षड्यन्त्र गर्ने संस्कार) को जनताले विरोध गर्नुपर्छ।
    पर्यटन क्षेत्रमा भएको आर्थिक क्षति कम गर्न वा पहिलेको अवस्थामा ल्याउन सरकारले अनेक किसिमका नीति, योजना तथा कार्यक्रम ल्याउन आवश्यक छ। यो क्षेत्रलाई पहिलेको अवस्थामा आउन वर्षौं लाग्न सक्छ किनभने कोरोना सङ्कट झनै लम्बिने देखिएको छ। वर्षौंसम्म पनि विदेशी पर्यटकहरू नेपाल नआउन सक्छन्। त्यस कारण नेपालको पर्यटन क्षेत्रको रक्षा गर्न यो कोरोना सङ्कटको समयमा पनि, विभिन्न किसिमका सुरक्षाका उपाय अवलम्बन गरेर, आन्तरिक पर्यटन विकासमा जोड दिन आवश्यक छ। आन्तरिक पर्यटन विकासमा जोड दिन सरकारले पर्यटन गन्तव्यहरू (जस्तै लुम्बिनी, पोखरा, जनकपुर आदि) सम्म पुग्ने यातायातका धनीहरूलाई विभिन्न किसिमको आर्थिक सहयोग गर्न सक्छ भने यातायातका धनीहरूले आन्तरिक पर्यटकहरूलाई पर्यटन गन्तव्यसम्म आधा भाडामा पु–याउन सक्छन्। यो केवल उदाहरण हो। यस्ता अनेक उपाय प्रयोग गरी नेपालको डुब्न थालेको पर्यटन उद्योगको रक्षा गर्न सकिन्छ। र यो रक्षा गर्ने कार्यमा स्थानीय एवं प्रान्तीय सरकारको पनि सक्रिय भूमिका हुनु आवश्यक छ।
    कोरोना सङ्कट चिरकालसम्म रहनेछ भन्ने सोच लिएर अब हामीले यसको असर कम पार्न विभिन्न किसिमका नीति, योजना एवं कार्यक्रम बनाउनु आवश्यक छ। यस किसिमका कार्यहरू गरेर देशभित्र आर्थिक क्रियाकलापलाई गतिशील राख्न आवश्यक छ। आर्थिक क्रियाकलाप हरहालतमा कायम राख्नुपर्छ। त्यस्तो नगर्ने हो भने देश भोकमरीको शिकार हुन सक्छ। देशवासीमा निराशा बढ्नेछ, धेरैले आत्महत्या गर्नेछन्। यसतर्फ सबैले ध्यान दिनु आवश्यक छ। के कस्ता योजना तथा कार्यक्रम विकास गर्ने सम्बन्धमा सरकारले विभिन्न विज्ञहरूको सहयोग लिन सक्छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, July 10, 2020