Friday, August 28, 2020

How to Protect Economy from Corona-Crisis-Article-291

 कोरोना–सङ्कटबाट अर्थतन्त्र कसरी जोगाउने?

कोरोना सङ्क्रमणको विस्तार अपेक्षाकृत नियन्त्रण हुन सकेको छैन। हुनत अन्य राष्ट्रको स्थिति हेर्दा कोरोना सङ्क्रमण नेपालमा भयावह स्थितिमा भने छैन। एक किसिमले नियन्त्रणको स्थितिमा छ। तर कोरोना सङ्क्रमणको प्रत्यक्ष तथा अप्रत्यक्ष असरले गर्दा नेपालको आर्थिक स्थिति भने नराम्ररी प्रभावित हुन पुगेको छ। शहर होस् वा गाउँ, धेरै गरीब परिवारले दुई छाक खान नपाउने स्थिति उत्पन्न हुन थालेको छ। यो स्थिति अव्यवस्थित, अनियन्त्रित र अनुत्पादक ‘लकडाउन’ वा निषेधाज्ञाले गर्दा उत्पन्न भएको हो। 

    निषेधाज्ञालाई मात्र कोरोना  रोकथामको अचूक अस्त्र मानेर पटक–पटक प्रयोग गर्ने हो भने नेपालजस्तो गरीब राष्ट्रले ठूलो आर्थिक सङ्कट बेहोर्नुपर्ने हुन सक्छ। निषेधाज्ञा पटक–पटक लागू गर्ने स्थितिले निरन्तरता पाएमा नेपालमा भोकमरीको स्थिति पनि आउन सक्छ। यसतर्फ केन्द्रीय, प्रान्तीय एवं स्थानीय सरकारले मात्र होइन, सामान्य जनताले पनि ध्यान दिनु आवश्यक छ। जनताले पनि यो समस्याको गम्भीरता बुझ्न जरुरी छ। यो सरकारको मात्र समस्या होइन। प्रत्येक व्यक्तिको समस्या हो। प्रत्येक नेपालीको समस्या हो।

नेपालको कृषि क्षेत्र सन्तोषजनक स्थितिमा छैन। पहाडी भूमिहरूको उपयोग भौगोलिक विकटताले गर्दा लाभदायक किसिमले गर्न सकिएको छैन। कृषिमा उन्नत प्रविधि प्रयोग गर्न सकिएको छैन। कृषिका लागि आवश्यक जनशक्तिको उपलब्धता पनि अनिश्चित छ। तराईको कृषियोग्य भूमिमा जनसङ्ख्याको चाप अत्यधिक छ। यी कारणहरूले गर्दा नेपालको कृषि विकासको गति कछुवा चालमा छ।

    उद्योगको स्थिति पनि निराशाजनक छ। दुई छिमेकी मुलुक, चीन र भारतबाट आएका अति सस्ता वस्तुहरूले नेपालका उद्योगहरूलाई फस्टाउन दिएका छैनन्। अर्कोतिर भारतको तुलनामा नेपालको अर्थव्यवस्था सानो भएकोले नेपालमा उत्पादन गर्दा महँगो भएर नेपालमा बिक्री गर्न नसकिने, बरु भारतबाट आयात गरेर नेपालमा बिक्री गर्न सजिलो र अति लाभदायक हुने भएकोले व्यापारीहरू नेपालमा उत्पादन गर्ने जोखिम लिन चाहिरहेका छैनन् र भारतबाट अनेक सामान आयात गरेर बिक्री गरिरहेका छन्। यतिमात्र होइन, भारतको तुलनमा नेपालमा सस्तो उत्पादन गर्न सकिने वस्तुहरू पनि नेपाली उद्योगपतिहरूले उत्पादन गर्न सकिरहेका छैन, त्यतातिर ध्यान दिएका छैनन्। पूर्णतया उदासीन छन्। उदाहरणका लागि नेपालले प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा मोटरसाइकल, ट्रक, बस, कार आदि भारतबाट खरीद गर्छ। अटोमोबाइल बिक्रीका लागि नेपाल, भारतको भरपर्दो बजार हुन पुगेको छ। नेपालमा मोटरसाइकल, ट्रक, बस, कार आदिको माग एवं प्रयोग ठूलो मात्रामा हुने गरे तापनि यी वस्तु नेपालमा उत्पादन गर्न सकिएको छैन। किन होला?

    नेपालमा सस्तोमा अटोमोबाइल उत्पादन गरेर अटोमोबाइल उत्पादनमा आत्मनिर्भर बनाउने र भारतबाट कार, ट्रक आयात अन्त्य गर्ने कुरा नेपाली उद्योगपतिहरूका लागि महत्वको विषय बन्न सकेको छैन। किन होला?

    अमेरिकी उद्योगपति हेनरी फोर्ड (जन्म सन् १८६३, मृत्यु १९४७), जसले अमेरिकामा ‘फोर्ड मोटर कम्पनी’को स्थापना गरेका थिए, सस्तो कार उत्पादन गरेर गरीब अमेरिकीहरूले पनि कार चढ्न सकून् भन्ने लक्ष्य राखेका थिए। उक्त लक्ष्य प्राप्त गर्न फोर्ड सफल पनि भए। उनले ठूलो सङ्ख्यामा कार उत्पादन (Mass Production) गरेर प्रतिकार उत्पादन लागत कम पारे। प्रतिकार उत्पादन लागत कम हुँदा कारको मूल्य सस्तो भयो। कार सस्तो भएपछि गरीब अमेरिकी (मध्यमवर्गीय)हरूले पनि सजिलै खरीद गर्न सके। कारको मूल्य सस्तो पार्न फोर्डले उत्पादन व्यवस्था (Assembly Line) मा व्यापक सुधार ल्याएका थिए। उनको त्यो कार्यलाई विश्वमा नै ऐतिहासिक एवं उपलब्धिपूर्ण मानिन्छ।

    हेनरी फोर्डको सफलताले के भन्छ भने यदि इच्छा र दृढता छ भने उत्पादन लागत कम पारेर, वस्तुको मूल्य सस्तो गरेर, त्यो वस्तु गरीबहरूले पनि खरीद गर्न सक्ने तुल्याउन सकिन्छ। नेपालमा पनि त्यस्तो गर्न सकिन्छ। अनेक वस्तु उत्पादन गरेर देशलाई ती वस्तुमा आत्मनिर्भर तुल्याउन सकिन्छ। तर नेपालमा यस्ता सोच भएका व्यापारी देखिएनन्। सामान्य जनता र व्यापारी दुवैले केवल सरकारलाई गाली गरे, अत्याधुनिक नौलो सोच र तरीका लिएर व्यापारमा आउन सकेनन्। नेपालका व्यापारीहरू नयाँ सोच र दृढतासहित इच्छा लिएर आउने हो भने नेपाललाई आवश्यक पर्ने कार, ट्रक, बस, मोटरसाइकल नेपालमा नै उत्पादन गर्न सकिन्छ। यसका लागि भारतको मुख ताक्नुपर्दैन। नेपाली पैसा भारत जान पाउँदैन। नेपालमा रोजगार सृजना पनि हुन्छ। 

    माथि उल्लिखित अनेक कारणले गर्दा नेपालमा उद्योगको विकास पनि सन्तोषजनक किसिमले हुन सकेको छैन। यस्ता अनेक समस्याले गर्दा नेपालको अति उत्पादक जनशक्ति रोजगारका लागि विदेशिन बाध्य छ। तर अहिले कोरोना सङ्कटले गर्दा वैदेशिक रोजगार प्रभावित भएर विप्रेषणमा पनि ठूलो कमी आएको छ।

    अर्कोतिर कोरोना–सङ्कटले पर्यटनलाई पनि गहिरो असर पारेर कतिपय साना व्यापारी पूर्वस्थितिमा फर्कनै नसक्ने भएका छन्। कतिपयको लगानी डुबेको छ। पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमजीवीहरूको आर्थिक जीवन अनिश्चित र थप कष्टकर हुन पुगेको छ।

    यस्तो स्थितिमा पटक–पटक निषेधाज्ञा जारी गरेर व्यापारलाई अवरुद्ध पार्नु उचित हुँदैन। सुरक्षाका अनेक उपाय प्रयोग गरेर, मास्कको प्रयोग अनिवार्य गरेर, भौतिक दूरी कायम गरेर, कोरोना परीक्षण सुलभ पारेर, स्वास्थ्य सेवा सर्वसुलभ पारेर व्यापार सञ्चालन गर्नुपर्छ। व्यापार भनेको आधुनिक जीवनको रक्तसञ्चार हो। रक्तसञ्चार अवरुद्ध भएमा मृत्यु भएझैं व्यापार अवरुद्ध भए गरीबीमा वृद्धि भएर मुलुकमा अनेक सङ्कट आउन सक्छ। मुलुक अस्थिरतातिर जान सक्छ।

    उत्पादन, वितरण, उपभोग र आय आर्जन यी चार तत्व आधुनिक अर्थतन्त्रका चार आधारस्तम्भ हुन्। जुनसुकै वा जस्तोसुकै स्थिति (महामारी, युद्ध, गृहयुद्ध, प्राकृतिक प्रकोप आदि)मा पनि उपरोक्त चार तत्वलाई निर्बाध कार्य गर्न दिनुपर्छ। अर्थतन्त्रलाई यथास्थितिमा रहन दिन यी चार तत्व निष्क्रिय हुनुहुँदैन। तर अहिलेको यो अव्यवस्थित, अनियन्त्रित एवं अनुत्पादक निषेधाज्ञाले उपरोक्त चार तत्वलाई प्रभावकारी एवं स्वतन्त्र किसिमले कार्य गर्न दिइरहेको छैन। सरकारहरू अनुभवहीन देखिएका छन्। दूरदृष्टिको सर्वथा अभाव देखिएको छ।

    कुनै पनि अवस्थामा उत्पादन अवरुद्ध हुनुहुँदैन। भौतिक दूरी कायम गरेर भएपनि उत्पादन व्यवस्था चलाइराख्नुपर्छ। कृषि क्षेत्रको उत्पादन त झन् एक पल पनि रोकिनुहुन्न, कुनै पनि बहानामा। यस्तो सङ्कटको घडीमा राष्ट्रिय उत्पादन अवरुद्ध भएमा के उपभोग गर्ने, कसरी जीवन धान्ने? उत्पादनले नै रोजगार दिने हुनाले यो कार्य अवरुद्ध हुनासाथ गरीबहरूको जीवन कष्टकर बन्न पुग्छ।

    वितरण पनि आधुनिक अर्थतन्त्रका चार आधारस्तम्भमध्ये एक हो। यो अवरुद्ध हुनासाथ उत्पादित वस्तु उत्पादकबाट उपभोक्ताको हातसम्म पुग्न सक्दैन। तसर्थ मास्क प्रयोग गरेर, भौतिक दूरी कायम राखेर, पिपिई प्रयोग गरेर भएपनि वितरण व्यवस्थालाई चलायमान राख्नुपर्छ। यो कार्यलाई चुनौतीको रूपमा लिएर सम्बन्धित सबै पक्षले वितरण व्यवस्था गर्नुपर्छ।

    उपभोग, आधुनिक अर्थव्यवस्थाको सर्वाधिक महत्वपूर्ण आधारस्तम्भ हो। उपभोग भए मात्र उत्पादन हुन्छ। उत्पादन भएपछि विवरण व्यवस्था सक्रिय हुन्छ। उत्पादन र वितरणले रोजगार सिर्जना गर्छ। र रोजगारले आय सिजना गर्छ। त्यस कारण उपभोग कुनै पनि अवस्थामा रोकिनुहुन्न। उपभोग जीवननिर्वाहका लागि मात्र आवश्यक होइन, अर्थतन्त्रलाई गति दिन र जीवित राख्न पनि आवश्यक छ। उपभोगको स्थिति सरल पार्न बजार खुला हुनुपर्छ।

    आयआर्जन अर्थतन्त्रको झनै महत्वपूर्ण कार्य हो। अहिलेको यो आधुनिक युगमा व्यक्तिले केवल श्रम उत्पादन गर्छ र श्रम बिक्री गरेर प्राप्त  आयले जीवन धान्नका लागि आवश्यक कुरा (शिक्षा, सुरक्षा, मनोरञ्जन, यातायात, आवास, भोजन, औषधि आदि) खरीद गर्छ। कृषि युगमा व्यक्तिले धेरै कुरा उत्पादन गर्थे। त्यसले गर्दा उनीहरूको जीवन एक किसिमले स्वावलम्बी थियो। अहिले स्थिति त्यस्तो छैन। बजारमा श्रम बिक्री नगरेर कुनै पनि व्यक्तिले खान पाउने स्थिति छैन। खासगरी कम आय भएका व्यक्तिले दैनिक श्रम बिक्री गरेर जीवन निर्वाह गर्नुपर्ने स्थिति छ। यस्तो अवस्थामा निषेधाज्ञा जारी गरेर श्रमिकहरूलाई श्रम बिक्री गर्नबाट रोक्नुहुन्न।

    निष्कर्षमा भन्नुपर्दा, पटक–पटकको निषेधाज्ञा र अनिश्चित एवं लम्बिएको निषेधाज्ञाले अर्थतन्त्रलाई बर्बाद त पार्छ नै, गरीबहरूको जीवन कष्टकर पारेर उनीहरूको चुल्हो हप्तौं नबल्ने पारिदिन सक्छ। नेपालजस्तो गरीब राष्ट्रले बजार बन्दको स्थिति धान्न सक्तैन। त्यस कारण सुरक्षाका अनेक उपाय अवलम्बन गरेर पनि बजार खुला राख्न आवश्यक छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

Friday, August 28, 2020

Friday, August 21, 2020

The Root Causes of Our Poverty-Article- 290

 के हो हाम्रो गरिबको कारण?

  गरीबीको प्रमुख कारण के होला? कुनै देश किन ज्यादै गरीब हुन्छ? कुनै समाज किन ज्यादै दरिद्र हुन्छ? यी प्रश्न ज्यादै सरल देखिए पनि यथार्थमा सरल भने छैन।

    हालको संयुक्त राज्य अमेरिकामा अन्य मुलुकका नागरिक आएर बस्नुपूर्व नेटिभ अमेरिकनहरूको बसोवास थियो। नेटिभ अमेरिकनहरूको जीवन कृषिमा आश्रित थियो र उनीहरूसँग पर्याप्त ज्ञान थिएन। साधन र स्रोत भए तापनि उनीहरू अति निर्धन थिए। तर ब्रिटेन, फ्रान्स, इटाली, जर्मनी आदि मुलुकबाट अमेरिका बस्न आएका आप्रवासीहरूले अमेरिकाको भरपूर आर्थिक विकास गरे। दोस्रो विश्वयुद्धपछि त अमेरिकाको आर्थिक विकासको गति अति तीव्र हुन पुग्यो। परिणामस्वरूप अमेरिका विश्वको एक नम्बर आर्थिक महाशक्ति राष्ट्र बन्यो। अमेरिकीहरूको आर्थिक स्तर ह्वात्तै  बढ्यो।

    अहिले स्थिति यस्तो छ कि विश्वको कुनै पनि मुलुक अमेरिकासँग व्यापार गर्न लालायित रहन्छ। अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूसँग मिलेर  कुनै मुलुकमा आर्थिक नाकाबन्दी गरिदिंदा त्यो मुलुकको आर्थिक विकास अवरुद्ध हुन पुग्छ। अमेरिकाले इरानमाथि अहिले आर्थिक नाकाबन्दी लगाएको छ। इरानको आर्थिक स्थिति अहिले नाजुक छ। राजनीतिक र आर्थिक दुवै किसिमले अमेरिकाले अहिले विश्वको नेतृत्व गरिरहेको छ।

    विश्वका अनेक मुलुकबाट अमेरिका बस्न आएका आप्रवासीहरूले अमेरिकाको कृषि विकासमा ठूलो योगदान पु–याए। उनीहरूले अमेरिकालाई खाद्यान्नमा आत्मनिर्भर मात्र तुल्याएनन्, देशभित्र खाद्यान्न निकै सस्तो तुल्याए। ठूलो मात्रामा खाद्यान्न उत्पादन गरेर अमेरिकालाई प्रमुख निर्यातक देश पनि बनाए। भटमास निर्यातक देशहरूमध्ये अमेरिका अहिले विश्वमैं अग्रणी हुन पुगेको छ। चीन, जो कृषि उत्पादनमा निकै अगाडि छ, ले पनि ठूलो परिमाणमा अमेरिकाबाट भटमास खरीद गर्छ।

संसारभरि अमेरिकामा खाद्यान्न सबैभन्दा सस्तो पाइन्छ। अमेरिकामा अहिले पनि दिउँसोको खाजा पुग्ने गरी एक डलरमा खानेकुरा (म्याक डोनाल्डको चिज बर्गर, हैम बर्गर, म्याकचिके आदि) खरीद गर्न सकिन्छ। खाद्यान्न सस्तो पारेर अमरिकाले आफ्ना नागरिकको आर्थिक जीवन सरल पारिदिएको छ।

    अमेरिकी मुद्रा डलरको क्रयशक्ति संसारमैं बलियो मानिन्छ। नेपाल वा भारतमा एक रुपैयाँमा खरीद गर्न सकिने वस्तु अब शायद नै सम्भव होला। नेपाल, भारत मात्र होइन दक्षिण एशियाली देशका मुद्राहरूको क्रयशक्ति ज्यादै कमजोर भएर गएको छ। र यस्तो हुनुको प्रमुख कारण यी देशहरूले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु र कृषि क्षेत्रमा पछाडि पर्नु हो। उत्पादनको क्षेत्रमा अमेरिका अग्रणी भएकोले संसारका सबै देशमा प्रायः अमेरिकी डलर स्वीकार गरिन्छ। डलर संसारभरिमा एक नम्बर बलियो मुद्रा हुन पुगेको छ।

    विश्वभरिका व्यक्ति अमेरिका आएर बसोवास गर्न चाहन्छन्। चीन, रूस, जो कुनै बेला अमेरिकालाई साम्राज्यवादी भनेर गाली गर्दथे, ती देशका नागरिक पनि अमेरिका आएर बसोवास गर्ने सपना देख्छन्। नेपालका बहुसङ्ख्यक कम्युनिस्ट नेताका छोराछोरी अमेरिका पढ्न मात्र आएका छैनन्, यहींका नागरिक भएर बसेका छन्। नेपालका कम्युनिस्ट नेताहरू पनि अमेरिकाको आलोचना गर्न पछाडि छैनन्, एक हात अगाडि नै छन्।

    आश्चर्य त के कुरामा छ भने युरोपका विभिन्न मुलुकबाट आप्रवासीहरू अमेरिका बसोवास गर्न आउँदा उनीहरू रित्तो हात आएका थिए। आफ्नो देशबाट उनीहरूले धनसम्पत्ति केही पनि ल्याएका थिएनन्। रुपैयाँ–पैसा त के, साथमा एउटा औजार पनि ल्याएका थिएनन्। ब्रिटेन, फ्रान्स, जर्मनी, इटाली, स्पेनजस्ता देशबाट अमेरिका आउँदा उनीहरूले ज्ञान मात्र ल्याएका थिए। त्यही ज्ञानको उपयोग गरेर उनीहरूले अमेरिकालाई धनी बनाए। स्थानीय (अमेरिकाका विभिन्न भाग) स्तरमा उपलब्ध स्रोत एवं साधनको प्रचुर मात्रामा उपयोग गरे। आफूसँग भएको ज्ञान नै उनीहरूको सम्पत्ति थियो। त्यही ज्ञानको प्रयोग गरेर उनीहरूले अमेरिकाका विभिन्न विकट एवं बन्जर स्थानलाई हराभरा एवं गुलजार बनाए। केही स्थान (न्यूयोर्क, लस भेगस आदि)लाई विश्वको महत्वपूर्ण आर्थिक केन्द्रको रूपमा स्थापित गरे। अमरिकालाई विश्वको एकमात्र आर्थिक महाशक्ति बनाए।

    अमेरिकाको आर्थिक विकासले संसारलाई एउटा बलियो उदाहरण दियो। र त्यो उदाहरण थियो, मुलुकको आर्थिक विकासका लागि धनसम्पत्ति होइन, ज्ञान चाहिने रहेछ। देशको आर्थिक विकासका लागि त्यही ज्ञान आवश्यक हुन्छ। ज्ञान भएमा धनसम्पत्ति स्वतः सृजना हुन्छ। किनभने ज्ञानले धनको सृजना गर्छ, धनले धन सृजना गर्ने होइन।

    त्यही ज्ञान प्रयोग गरेर अमेरिका सर्वप्रथम चन्द्रमामा पुग्यो।

    परिश्रमसहितको ज्ञान प्रयोग गरेर कुनै पनि मुलुक धनी हुन सक्छ। देशवासीमा ज्ञानको कमी छ भने धनी देश पनि गरीब हुँदै जान्छ र कालान्तरमा आफ्नो अस्तित्व नै समाप्त पार्ने स्थितिमा पुग्न सक्छ। यो कुरा पनि अमेरिकाले आफ्नो आर्थिक विकासद्वारा प्रस्ट पारिदियो। हुन पनि अफगानिस्तान अहिले त्यही अवस्थामा छ। साधन र स्रोतले भरिएको अफगानिस्तान अहिले चरम गरीबीको दलदलमा फसेको छ। अफगानिस्तान सरकारलाई टिकाउन र सुरक्षा दिन पनि बाह्य मुलुकहरूले सैन्य सहयोग गर्नुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ। विश्वका अनेक विकसित मुलुकका लागि अफगानिस्तान अहिले रणनीतिक क्षेत्र बन्न पुगेको छ। अन्य राष्ट्रको स्वार्थका लागि अफगानीहरू आफ्नै बन्धु–बान्धवको हत्या गरिरहेका छन्।

    मोजाम्बिक, लाइबेरिया, माली, बुरकिना फासो, सिएरा लियोन, बुरुन्डी, चाड, दक्षिणी सुडान, मध्य अफ्रिकी गणतन्त्र, नाइजरजस्ता देशहरूमा साधन र स्रोतको कमी छैन। पर्याप्त मात्रामा स्रोत एवं साधन छ। तर यति हुँदाहुँदै पनि यी राष्ट्र विश्वका दश अतिनिर्धन राष्ट्र बन्न पुगेका छन्। किन अतिनिर्धन बन्न पुगे यी राष्ट्र? उत्तर हामीलाई थाहा नै छ। ज्ञान र प्रविधिको क्षेत्रमा यी मुलुक निकै पछाडि छन्। अगाडि छन् भने गृहयुद्ध एवं हिंसाको क्षेत्रमा। वर्तमानमा मालीको स्थिति हेर्दा पुग्छ।

    अफ्रिकाका अनेक राष्ट्र ज्ञानको अभावले गर्दा गरीबीको कुचक्रबाट बाहिर आउन सकिरहेका छैनन्। ज्ञानको कमीले गर्दा उनीहरूलाई आतङ्कवाद, जातीय दङ्गा, भ्रष्टाचार, राजनीतिक अस्थिरताजस्ता समस्याले निरन्तर सताइरहेको छ। अतिनिर्धन राष्ट्रहरूको समूहमा पर्ने देश, यमनमा पर्याप्त मात्रामा उब्जाउ जमीन छ। कुनै बेला (इतिहासकालमा) यो देशलाई ‘सुखी भूमि’ भन्ने गरिन्थ्यो। तर अहिले यो देश इरान र साउदी अरेबियाको ‘मसल’ देखाउने स्थान बनेको छ। यी दुई देशको मल्लयुद्धको अखडा बनेको छ। यमनले अहिले आफ्नोलागि होइन, इरान र साउदी अरेबियाका लागि परोक्ष युद्ध (Proxy war) लडिरहेको छ। यस्तो किन भएको होला? उत्तर हामीलाई थाहै छ।

    जर्मनी, फ्रान्स, संयुक्त राज्य अमेरिकाका जनताबीच विभिन्न किसिमका बखेडा उत्पन्न भएर विभाजन छैन। आर्थिक विकासका लागि एकजुट भएर बसेका छन्। परिणामस्वरूप धनी राष्ट्र कहलिएका छन्। जर्मनीले त आर्थिक विकासमा युरोपमा वर्चस्व नै कायम गरेको छ। युरोपको नेतृत्व अहिले जर्मनीले गरिरहेको छ।

    कुनै पनि देशको आर्थिक विकासको लागि उन्नत ज्ञान आवश्यक हुन्छ। तर त्यो उन्नत ज्ञान भनेको के हो?

    एकअर्काको अस्तित्वलाई स्वीकार गरेर बस्न सक्ने बौद्धिकता नै उन्नत ज्ञान हो। अमेरिकामा पचासौं देशबाट आप्रवासीहरू आएका छन्। त्यसरी आउनेहरूले फरक धर्म, संस्कृति ल्याएका छन्। तर पनि आर्थिक विकासका लागि अमेरिकामा मिलेर बसेका छन्। एकापसमा खिंचातानी छैन, भारतमा हिन्दू र मुसलमानबीच खिंचातानी भएझैं।

    उत्पादन लागत कम पार्नका लागि अनेक उपायको खोजी गर्नु पनि उन्नत ज्ञानको परिचय दिनु हो। देशभित्र राजनीतिक स्थिरता कायम गर्न सक्नु, आर्थिक भ्रष्टाचार रोक्नु, विकासका लागि नेताहरूलाई जिम्मेवार तुल्याउनु पनि बौद्धिकताको परिचय दिनु हो। कुसंस्कार (दहेज, तिलक, दाइजो, महँगो भोजभतेर) आदि हटाउँदै जानु पनि उच्च बौद्धिकतातर्फ उन्मुख हुनु हो।

    जात, धर्म, भूगोल, संस्कृति, परम्परा, पहिचान, भाषा आदिको लागि विभाजित भएर नबस्नु, आपसमा काटाकाट न गर्नु पनि उच्च बौद्धिकताको परिचय दिनु हो।

    ज्ञानको उच्च प्रयोग गरेर हामी पनि नेपाललाई समृद्ध राष्ट्र बनाउन सक्छौं। आर्थिक विकासका लागि नेपालमा पर्याप्त सम्भावना छ। हामीले ती सम्भावनाको खोजी गर्नुपर्छ। हामीले स्पष्टरूपमा यो बुझ्न आवश्यक छ कि धनको सृजना ज्ञानद्वारा हुन्छ। ज्ञानको सदुपयोग गरेर धनी हुन सकिन्छ, अमेरिका भएझैं।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, August 21, 2020


Friday, August 14, 2020

Walmart: Poor American's Store-Article-289

 गरीब अमेरिकीहरूको भण्डार:वालमार्ट

अमेरिकामा बसोवास गर्ने नेपाली मात्र होइन, स्वदेशमा बस्ने धेरै नेपालीलाई पनि थाहा छ, विश्वविख्यात ‘वालमार्ट’ एउटा बृहत् अमेरिकी खुद्रा भण्डार हो। यो भण्डारले विशेष परिचय बनाउनुको प्रमुख कारण यो भण्डारले अन्य प्रतिस्पर्धी अमेरिकी खुद्रा भण्डारभन्दा सस्तोमा अमेरिकी उपभोक्तालाई अनेक घरायसी वस्तु एउटै छतमुनि उपलब्ध गराउँछ। हुन पनि वालमार्ट खुद्रा भण्डारमा दैनिक आवश्यकताका लगभग सम्पूर्ण घरायसी सामान बिक्रीका लागि राखिएका हुन्छन्। वालमार्टको बृहत् भण्डार (Super Center) भित्र प्रवेश गरेपछि गाडी मरम्मत र सैलुन सेवा प्राप्त गर्नुका साथै औषधि, लत्ताकपडा, तरकारी, फलफूल, मासु, दूध एवं दुग्ध पदार्थ, शृङ्गारका सामग्री, फर्निचर, खाद्य वस्तु, तयारी खाना, ताजा खाना, फ्रोजेन खाद्य पदार्थ, जुत्ता चप्पल, खेलौना, कम्युटर, विद्युतीय सामग्री, भाँडा–बर्तन, पेय पदार्थ, बीयर, वाइन आदि खरीद गर्न सकिन्छ।

    कुनै एक उपभोक्ताले खरीद गर्नुपर्ने दैनिक आवश्यकताका लगभग सम्पूर्ण वस्तु एकै ठाउँमा पाइने हुनाले वालमार्टमा उपभोक्ताहरूको समय त बचत हुन्छ नै, चाहिनेजति सामान एकै थलोमा प्राप्त हुने हुनाले उपभोक्ताहरूले उपलब्धता अनिश्चितताको सामना गर्नुपर्दैन। वालमार्ट लोकप्रिय हुनुको यो अर्को र महत्वपूर्ण कारण हो।

यदि अमेरिकामा वालमार्टजस्तो सस्तो सामग्री पाइने भण्डार नहुँदो हो भए कम आय भएका अमरिकी उपभोक्ताको आर्थिक जीवन सकसपूर्ण हुने थियो। यस सन्दर्भमा वालमार्ट कम आय भएका व्यक्तिका लागि ‘वरदान’ नै भएको छ। हुन पनि समान किसिमको उपयोगिता दिने वस्तु यदि वालमार्टमा एक डलरमा उपलब्ध छ भने त्यही वस्तु अर्को खुद्रा भण्डारमा खरीद गर्दा दुई डलर भुक्तान गर्नुपर्ने हुन सक्छ। औसतमा हेर्न हो भने वालमार्टमा लगभग सम्पूर्ण वस्तु अन्य भण्डारभन्दा सस्तो पाइन्छ। यो कारणले गर्दा अमेरिकामा कम आय भएका परिवारको आर्थिक जीवन सरल हुन पुगेको छ। कम आय भएका लगभग सम्पूर्ण अमेरिकी उपभोक्ता सामान खरीद गर्न वालमार्ट जान्छन्। अमेरिकाको हरेक साना–ठूला शहरमा वालमार्टको उपस्थिति देख्न सकिन्छ।

    वस्तु सस्तोमा उपलब्ध हुने कारणले सबै उपभोक्ता अनेक सामग्री खरीद गर्न वालमार्ट जान्छन् भन्ने पनि छैन। राम्रो वा बढी आय हुने उपभोक्ता अन्य भण्डारमा जान्छन्। अर्थात् यहाँ उल्लेख के गर्न खोजिएको हो भने अमेरिकामा कम आय भएका व्यक्तिका लागि पनि उपभोग्य वस्तु खरीद गर्न पाउने विकल्प छ र त्यो हो वालमार्ट।

    यदि अमेरिकामा वालमार्टजस्तो खुद्रा भण्डार नहुँदो हो त कम आय भएका परिवारको जीवन निर्वाह कष्टकर हुने थियो। हुन पनि यो भण्डारमा केवल एक डलर (अमेरिकी मुद्राको सबैभन्दा तल्लो एकाइ) मा मात्र पनि, एक छाक पेट भर्न पुग्ने खाना खरीद गर्न सकिन्छ। अमेरिकामा प्रतिघण्टा न्यूनतम ज्याला ७ डलर २५ सेन्ट छ। प्रतिघण्टा आम्दानीलाई आधार मानेर हेर्दा अमेरिकामा प्रतिघण्टा आम्दानी (७.२५) को केवल १४ प्रतिशत खर्च गर्दा एक छाक खान पुग्छ। र यो स्थिति वालमार्टले सृजना गरिदिएको हो। वालमार्ट मात्र होइन, अमेरिकामा त्यस्ता अनेक खुद्रा भण्डार छन्, जसले उपभोक्ताहरूलाई अनेक सस्तो सामग्री उपलब्ध गराउँछन्। त्यस्ता खुद्रा भण्डारमा आइकिया, अल्डी, डलर ट्री, स्मार्ट सेभर, डलर जेनरल आदि पर्दछन्।

    बचत गरौं, आरामपूर्वक जीवन गुजारौं’ (Save money live better) भन्ने वाक्यलाई वालमार्टले आफ्नो मूलभूत उद्देश्य (Mission) को रूपमा लिएको छ। वालमार्टको यो उद्देश्यको अर्थ हो, सस्तोमा अनेक सामग्री उपलब्ध गराएर उपभोक्ताको जीवन सुविधायुक्त तुल्याउनु। अर्थात् बढी मुनाफा गर्ने मात्र उसको उद्देश्य होइन। उसको उद्देश्य समुदायको सेवा (सस्तोमा उपलब्ध गराएर) गर्नु पनि हो। मार्च महिना (२०२०) मा कोरोना-संटक आरम्भ भएको थियो। तर यो संकटको घडीमा पनि आफ्ना भण्डारहरू नियमित तर सुरक्षात्मक किसिमले सञ्चालन गरेर वालमार्टले आफ्ना ग्राहकहरूलाई अटुट सेवा पुर्यायो। यो कार्य वालमार्टको उल्लेखनीय थियो।

    वालमार्टले सस्तोमा अनेक सामग्री कसरी उपलब्ध गराउन सकेको छ? यो प्रश्न भने ज्यादै महत्वपूर्ण एवं चिन्तनको विषय हो। वालमार्टले अनेक उपाय गरेर अनावश्यक लागत कटौती गर्दछ र त्यसरी गरेको बचतको प्रयोग उपभोक्ताहरूलाई सस्तो सामग्री उपलब्ध गराउन गर्दछ। एउटा उदाहरण हेरौं– वालमार्टको प्रमुख प्रशासकीय कार्यालयले आफ्नो अनेक भण्डारहरूका लागि चाहिने सामग्री प्रत्यक्षरूपमा उत्पादकहरूसँग खरीद गर्दछ र बिचौलियाले पाउने नाफा जोगाउँछ।

    यसैगरी, केवल ‘आवश्यक समयमा’ (Just in Time) अवधारणाको प्रयोग वालमार्टले निकै गर्छ। यो अवधारणाले सामान पहिलेदेखि किनेर थुपार्ने होइन किनभने थुपार्दा भण्डार लागत (Inventory Costs) बढेर सामानको बिक्री मूल्य बढी हुन्छ भन्ने मान्यतामा विश्वास गर्छ। आवश्यक परेको बेलामा मात्र खरीद गर्न भन्छ। वालमार्टले यो अवधारणामा विश्वास गरेर पहिलेदेखि थुपारेर धेरै मोज्दात राख्दैन। जब वस्तु आवश्यक पर्छ, अनि खरीद गर्छ। अर्थात् वालमार्टले उत्पादकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर आफूलाई चाहिए अनुसार, वा आवश्यकता अनुसार सामग्री खरीद गर्छ, पहिलेदेखि मौज्दात थुपार्दैन र यसरी मौज्दात लागत वा भण्डार लागत कम पार्छ। यसरी बचत हुन आएको भण्डार लागतको प्रयोग उपभोक्ताहरूलाई सस्तोमा सामान उपलब्ध गराउन गर्छ।

    लागत नियन्त्रण गर्ने वालमार्टसँग अनेक तरीका छन्, जसमध्ये अर्को तरीका हो ‘स्वयम् भुक्तानी’ (Self-Checkout) । यो तरीका निकै लोकप्रिय छ। यस तरीका अन्तर्गत क्रेताले सामान खरीद गरेपछि भुक्तानीका लागि विक्रेता (Cashier) समक्ष जानुपर्दैन। एउटा मेशिनमा गएर खरीद गरेको वस्तुको भुक्तानी गरे हुन्छ। उक्त मेशिनले वस्तुको बारकोड हेरेर मूल्य जोड्दै जान्छ र क्रेताले भुक्तानी गर्नुपर्ने रकम देखाउँछ। उक्त मेशिनलाई नगद वा क्रेडिट कार्डद्वारा भुक्तानी गर्दा हुन्छ। सोही मेशिनको छेउमा झोलाहरू पनि राखिएका हुन्छन्। खरीद गरेका ती वस्तु त्यसै झोलामा राख्ने गरिन्छ।

    यसरी केही अवस्थामा विक्रेता (मानवशक्ति) प्रयोग नगरेर, सेल्फ चेकआउट प्रयोगमा ल्याएर, वालमार्टले बिक्री लागत कम पार्छ र बिक्री लागत कम भएर हुन आएको बचत वस्तुको मूल्य कम पार्न प्रयोग गर्छ।

    वालमार्टले लागत कम पार्ने अनेक विभिन्न तरीका पनि प्रयोग गर्छ। खरीद बिक्री जगत्मा वालमार्ट आधुनिक युगको चमत्कार नै हो। वालमार्ट भण्डारहरूको उपस्थितिले गर्दा नै गरीब अमेरिकीहरूको जीवन सरल हुन सकेको छ। अमेरिकामा गरीबहरूको सङ्ख्या कम छैन। शहरका पुलमुनि जीवन गुजारा गर्न बाध्य घरबारविहीन गरीब अमेरिकीहरूको सङ्ख्या पनि हजारौंमा छ।

    यस लेखमा वालमार्टको विशेष चर्चा किन गर्न खोजिएको हो भने हामी कहाँ सामानको मूल्य कम गर्न उत्पादक र विक्रेता दुवैले पटक्कै ध्यान दिंदैनन्, वालमार्टले जस्तो गर्दैनन्। नेपालमा वस्तुको मूल्य कम पार्ने अपार सम्भावना भए तापनि यो विषयलाई उत्पादक एवं विक्रेता दुवैले पूर्णरूपले बेवास्ता गरेको पाइन्छ। वस्तुको मूल्य कम पार्न  व्यापारीहरूले पटक्कै चासो लिएको पाइँदैन। यो विषयलाई अनावश्यक ठानिन्छ। कम मूल्य राख्ने तर ठूलो परिमाण बिक्री गर्ने। अनि दीर्घकालमा बढी मुनाफा गर्ने। यो सिद्धान्तमा नेपाली विक्रेताहरूको विश्वास छैन। बहुसङ्ख्यक नेपाली विक्रेता छोटो समयमा करोडपति हुन चाहन्छन्। यसले गर्दा पनि नेपालमा व्यापार विकास हुन सकेको छैन। महँगीले उपभोक्ताहरूको ढाड भाँचिएको छ। र गरीबहरूको जीवन कष्टकर हुन पुगेको छ। अनि ज्याला–मजदूरी गर्न अरबका देशहरूमा पुग्नुपरेको छ।

    नेपालमा वस्तुको मूल्य कम पार्न सकिने हजारौं उदाहरण छन्। यहाँ केवल एउटा उदाहरण हेरौं– नेपालमा बर्सेनि ठूलो परिमाणमा कृषि मलको आवश्यकता पर्छ। र अनेक देशबाट कृषि मल खरीद गरिन्छ। तर देशभित्र मल उत्पादन गरिंदैन। उन्नत प्रविधि प्रयोग गरेर नेपालमैं मल उत्पादन गर्ने हो भने मलको मूल्य कम पार्न सकिन्छ, साथै किसानले माग गरेको समयमा मल उपलब्ध गराउन सकिन्छ।

    नेपाल प्रचुर सम्भावना भएको देश हो। तर बौद्धिक कुशलताको कमीले गर्दा ती सम्भावनाहरूको उपयोग गर्न सकिएको छैन।

विश्वराज अधिकारी

 akouitlya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, August 14, 2020

Friday, August 7, 2020

We Have Wrong Economic Development Concept-Article-288

 आर्थिक विकासप्रति हाम्रो गलत अवधारणा

आर्थिक विकासप्रति हाम्रो अवधारणा गलत छ। र यो कारणले गर्दा हामी गरीबीको कुचक्रबाट बाहिर आउन सकिरहेका छैनौं। आर्थिक विकासप्रति हाम्रो अवधारणा तथा व्यवहारमा परिवर्तन नआएसम्म द्रुततर गतिमा आर्थिक विकास गर्नु सम्भव छैन। आउने दशकौंसम्म हामीले गरीबीबाट छुटकारा पाउनेछैनौं। निर्माण एवं विकास कार्यका लागि दाता राष्ट्र एवं संस्थाहरूको अगाडि हात थापि नै रहनेछौं। ऋणमा डुबि नै रहनेछौं। स्वाभिमानी भएर शिर उठाउन गा-हो हुनेछ।

    राष्ट्रिय आर्थिक विकाससम्बन्धी दुईवटा अवधारणा प्रचलनमा रहेको पाइन्छ। ती हुन्– १. माथिबाट तल अवधारणा (Top-Down Approach) तथा २. तलबाट माथि अवधारणा (Bottom-Up Approach)

माथिबाट तल अवधारणा:

    यो अवधारणले विकाससँग सम्बन्धित निर्णय माथिल्लो निकायले गर्नुपर्छ र माथिल्लो निकायले गरेका निर्णयको पालना तलका निकायहरूले गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ। यो अवधारणा अनुसार तल्ला निकायहरूले केवल निर्देशनको पालना एवं तोकिएका कार्य सम्पादन गर्दछन्। नीति, योजना, कार्यक्रम आदि निर्माणमा तलका निकायको भूमिका शून्य हुन्छ। स्रोत र साधन विकासमा पनि तल्ला निकायहरूले निष्क्रिय भूमिका निर्वाह गर्दछन्।

स्थानीय स्रोत एवं साधनको विकास एवं उपयोग कसरी गर्नेबारे योजनाहरू पनि माथिल्लो निकायले निर्माण गर्दछ। जस्तै, नेपालको सन्दर्भमा भन्ने हो भने केन्द्रीयस्तरमा योजना आयोगले योजना निर्माण गर्दछ। मन्त्रालयहरू योजना आयोगद्वारा निर्मित योजनाहरूको कार्यान्वयन गर्दछन्। स्थानीयस्तरमा साधन एवं स्रोतको विकास गर्ने कार्य पनि मन्त्रालयहरूले नै गर्दछन्। यो अवधारणा अनुसार तल्ला निकायहरू माथिल्लो निकायमा पूर्णरूपमा निर्भर हुन्छन्। आफ्नो रचनात्मक क्षमताको उपयोग गर्दैनन्।

तलबाट माथि अवधारणा:

    यो अवधारणाले निर्माण एवं विकाससँग सम्बन्धित निर्णय तथा विकास एवं निर्माणका लागि आवश्यक स्रोत एवं साधनको सृजना र व्यवस्थापन पनि तल्ला निकायहरूले नै गर्नुपर्दछ भन्ने कुरामा विश्वास गर्दछ। यो अवधारणाले तल्ला निकायहरूलाई सक्रिय रहेको देख्न चाहन्छ। विकासका लागि जिम्मेवार पक्ष तल्ला निकायहरूलाई मान्दछ।

    यस अवधारण अनुसार स्थानीय उपभोक्ताहरूले नै स्थानीय आवश्यकता परिपूर्तिका लागि आवश्यक आय सृजना गर्नुपर्दछ। जस्तै स्थानीय सडक (जिल्ला एवं अञ्चल जोड्ने सडक), पुल, अस्पताल, विद्यालय, कलेज, मन्दिर, सार्वजनिक भवन आदि निर्माण गर्न लाग्ने रकमको व्यवस्था (आय आर्जन) तल्ला निकायहरूले नै गर्नुपर्छ। अर्थात् स्थानीय उपभोक्ताहरूले नै स्थानीयस्तरमा हुने खर्चका लागि आय सृजना गर्नुपर्दछ, केन्द्रको मुख ताक्नुहुँदैन। अमेरिकालगायत पश्चिमा देशहरूमा यही अवधारणा अनुसार विकास एवं निर्माण कार्य हुने गर्दछ। यो ढाँचा आर्थिक विकासका लागि अति उपयोगी र लोकप्रिय मानिन्छ।

    पश्चिमा मुलुकहरूमा तल्लो निकाय वा स्थानीय तहहरू स्वयम् आर्थिक विकासका लागि सक्रिय हुने हुनाले ती मुलुकहरूले चमत्कारी आर्थिक विकास गरेका हुन्।

स्थानीयस्तरमा हुने निर्माण एवं विकासका लागि आवश्यक रकम (खर्च) का लागि आय सृजना स्थानीयहरूले नै  गर्दछन्। सडक, पुल, विद्यालय, अस्पताल आदि आफैं निर्माण गर्छन्, केन्द्रको मुख ताक्दैनन्, प्रान्तीय वा सङ्घीय सरकारको मुख ताक्दैनन्। आफ्नो शहरका लागि आवश्यक सुरक्षा खर्च (जस्तै स्थानीय प्रहरी, वारुणयन्त्र कर्मचारी, उद्धार कार्यमा खटेका कर्मचारी आदिको पारिश्रमिक भुक्तानी) का लागि स्थानीयस्तरमैं आय सृजना गर्छन्। यो कारणले गर्दा पश्चिमा राष्ट्रका शहरहरू आफ्नो शहरभित्र व्यापारिक गतिविधिको विकासमा अति नै जोड दिने गर्छन्। आफ्नो शहरमा जति बढी व्यापारिक गतिविधि भयो, त्यति नै आर्थिक विकास पनि हुने भएकाले शहरहरूले आफ्नो क्षेत्रमा आर्थिक विकास तीव्र गतिमा गर्न खोज्छन्। हुन पनि कुनै पनि शहरमा जति बढी आर्थिक विकास भयो सोही अनुसार, उक्त शहरले कर (घरजग्गा कर, सम्पत्ति कर, भवन कर, बिक्री कर, स्वामित्व कर आदि) प्राप्त गर्दछ। र त्यसरी करको माध्यमबाट प्राप्त भएको आम्दानी त्यस शहरको विकासमा खर्च गर्दछ।

    हामीकहाँ भने तल्ला निकाय (गाउँ एवं शहर) हरूले अनेक किसिमका व्यापारिक गतिविधि सञ्चालन गरेर आय सृजना गर्ने जिम्मेवारी नलिने मात्र होइन, आफ्नो क्षेत्रको विकास हुन नसक्नुमा केन्द्रलाई जिम्मेवार देख्छन्। आफ्नो क्षेत्रको आर्थिक विकासमा आफ्नो भूमिका शून्य ठान्छन्। विकास एवं निर्माणको हरेक क्षेत्रमा पछाडि पर्नुमा केन्द्र (विभाग, मन्त्रालय, मन्त्री आदि) लाई दोषी देख्छन्। सामान्य जनतामा पनि यही अवस्था वा सोच पाइन्छ। स्थानीय स्रोत एवं साधनको विकासमा स्थानीय बासिन्दाले आफूलाई कर्ता (Actor) को रूपमा कहिल्यै हेर्दै। स्थानीय व्यक्तिले आफ्नो क्षेत्रको विकासको लागि जिम्मेवार केवल सरकार (प्रान्तीय वा सङ्घीय ) लाई देख्छ तर आफ्नो भूमिका रहेको तथ्यलाई कहिले स्वीकार गर्दैन। यस किसिमको व्यवहारले कसरी हुन्छ, राष्ट्रको आर्थिक विकास?

    बझाङ, बाजुरा वा सर्लाहीमा भोकमरी भएमा सधैंभरि काठमाडौंबाट चामल पठाएर साध्य हुन्छ? हो, कुनै एउटा वर्ष वा त्यस्तै असहज स्थितिमा पठाउनु पनि पर्छ। तर कुनै स्थान उत्पादनको क्षेत्रमा पछाडि प-यो भन्दै त्यस क्षेत्रलाई सधैंभरि केन्द्रले सहयोग गरेर हुन्छ? आर्थिक विकासको नयाँ ढाँचाले यही भन्छ। स्थानीय विकासको लागि स्थानीयलाई नै जिम्मेवार तुल्याउनुपर्छ भन्ने तथ्यको वकालत गर्छ।

    केन्द्रले कुनै क्षेत्रलाई सधैंभरि सहयोग गर्नुको अर्थ हो, त्यस क्षेत्रलाई परावलम्बी बनाउनु। उक्त क्षेत्रका व्यक्तिहरूको रचनात्मक शक्ति उपयोग हुने स्थिति सृजना हुन नदिनु हो। आफ्नो क्षेत्रको विकासको जिम्मेवारी आफैंले लिनुपर्छ, अरूले लिएर हुँदैन। परनिर्भरताले, बाह्य होस् वा आन्तरिक, कहिले पनि आर्थिक विकास हुँदैन।

    मानौं, हुम्लामा खाद्यान्नको अभाव छ। यस्तो स्थितिमा खाद्यान्नको अभाव हुन नदिन हुम्लाकै बासिन्दा सक्रिय हुनुपर्छ, हुम्लावासीलाई नै सक्रिय बनाउनुपर्छ। यो कुरा सुन्दा नराम्रो लाग्न सक्छ। कुनै स्थानमा भएको भोकमरीका लागि अति असंवेदनशील भएको अर्थ लाग्न सक्छ। तर यथार्थ के हो भने कुनै पनि क्षेत्रको विकासको लागि त्यही क्षेत्रका व्यक्तिहरू सक्रिय हुनुपर्दछ। अल्पकालका लागि सहयोग आवश्यक हुन सक्छ तर दीर्घकालसम्म सहयोग आवश्यक हुनुहुँदैन। हामीले त्यस किसिमको चिन्तनको विकास गर्नुपर्छ।

    हुम्लामा खाद्यान्न अभाव छ भने कसरी अनेक किसिमका खाद्यान्न उत्पादन गरेर हुम्लालाई खाद्यान्नमा आत्मनिर्भर तुल्याउन सकिन्छ भनेर हुम्लावासीले नै सोच्नुपर्छ, केन्द्रले सोचेर हुँदैन। अर्को जिल्लाले सोचेर हुँदैन। हुम्ला वा यस्तै कुनै अन्य कम आय हुने जिल्लाले आफ्नो जिल्लाको आय वृद्धि गर्न आफैले अनेक उपाय खोजी गर्नुपर्छ, केन्द्रले खोजी गरेर हुँदैन। यो सोच नै आर्थिक विकासको साँचो हो। यो साँचो प्रयोग गरेर नै अमेरिकाले यति ठूलो आर्थिक प्रगति गरेको हो। विश्वको एक नम्बर आर्थिक महाशक्ति बन्न सकेको हो।

    दक्षिण एशिया गरीब हुनुको मुख्य कारण स्थानीय निकायहरूले आफूलाई आर्थिक विकासका लागि जिम्मेवार पक्षको रूपमा नदेख्नु हो। स्थानीयले पनि आफूलाई आर्थिक विकासको नायक वा कर्ता (Actor) नठान्नु हो। यस्तो हुनुमा हाम्रो आर्थिक विकासको इतिहास पनि दोषी छ। विगतमा दक्षिण एशियामा हजारौंको सङ्ख्यामा साना देश थिए, जो पछि एकीकृत भएर ठूला देश बने। भारत नै पनि ५०० भन्दा बढी साना देशहरू एकीकृत भएर नवनिर्माण भएको राष्ट्र हो। त्यसैगरी नेपाल पनि बनेको हो।

    सानासाना राष्ट्र अस्तित्वमा रहँदा त्यहाँका बासिन्दा आर्थिक विकासका लागि जिम्मेवार पक्ष आफू होइन राजालाई देख्थे। राजाका कारिन्दाहरूलाई देख्थे। आर्थिक विकासका लागि गर्नुपर्ने अनेक गतिविधि स्थानीयले गर्दैनथे। राज्यमा राजाको नियन्त्रण हुन्थ्यो। यसले गर्दा आफ्नो क्षेत्रको विकास स्वयम् गर्नुपर्छ भन्ने भावनाको विकास दक्षिण एशियाका नागरिकमा परापूर्वकालदेखि, ऐतिहासिककालदेखि नै हुन पाएन। तर त्यो परम्परा पछिसम्म पनि कायम नै छ। राजाहरूको अस्तित्व दक्षिण एशियाबाट लगभग समाप्त भए तापनि जनतामा रहेको भावना (देशको विकास राजाले गर्ने हो) समाप्त भएको छैन। अहिले प्रजातान्त्रिक व्यवस्थामा बाँच्ने नागरिक पनि विकासका लागि जिम्मेवार कि सरकार, मन्त्री, प्रधानमन्त्री वा नेता ठान्छन्, आफूलाई ठान्दैनन्। आफ्नो घरअगाडि फालेको फोहर सफा गरिदिने दायित्व सरकारको हो भनी सरकारको आलोचना गर्छन्। आफू सक्रिय हुँदैनन्। यस्तो किसिमले पनि हुन्छ द्रुततर आर्थिक विकास?

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 7, 2020