Friday, January 29, 2021

Economic Importance of New Product, Service and Trade Development-Article-312

 नया वस्तु, सेवा र व्यापार विकासको आर्थिक महत्व

वस्तु, सेवा र व्यापार कुनै पनि अर्थ व्यवस्थाका अति नै महत्वपूर्ण आधार स्तम्भहरू हुन्। यी तीन स्तम्भले नै कुनै पनि राष्ट्रको अर्थ व्यवस्थालाई राम्ररी उभ्याएका हुन्छन्। यी आधार–स्तम्भ जति बलिया भयो देशको अर्थ व्यवस्था पनि सोही अनुसार स्थिर हुन्छ, बलियो हुन्छ।

अर्को किसिमले हेर्ने हो भने वस्तु र सेवा रथका दुई पाङ्ग्रा हुन् भने व्यापार सारथी हो। व्यापारले नै कुनै पनि राष्ट्रको विभिन्न बजारमा उत्पादित वस्तु एवं सेवा उत्पादन स्थलबाट उपभोक्ता समक्ष पु–याउने गर्दछ।

तर हामीले यस आलेखमा चर्चा गर्न खोजेको विषय भने नयाँ वस्तु, सेवा एवं व्यापारको विकासले कुनै पनि देशको अर्थ व्यवस्थालाई गति दिन्छ भन्ने हो। अर्थात् राष्ट्रिय अर्थतन्त्रको विकासको गतिलाई तीव्रता दिनका लागि देशभित्र नयाँ–नयाँ वस्तु, सेवा र व्यापारको विकास आवश्यक हुन्छ। चलनचल्तिका वस्तु एवं सेवा जति छ त्यति नै रहेर नयाँ वस्तु एवं सेवाको विकास नगर्ने हो भने अर्थतन्त्रले गति प्राप्त गर्न सक्तैन र धनीहरूको हातमा रहेको पैसा (आम्दानी) गरीबसम्म पुग्न कठिन हुन्छ। यस्तै किसिमले नयाँनयाँ व्यापारका तरीका विकास नगर्ने हो भने पनि धनीहरूको हातमा रहेको पैसा गरीबसम्म पुग्न कठिन हुन्छ। नयाँनयाँ वस्तु, सेवा एवं व्यापारको विकास भएमा राज्यले नियम, कानून नबनाएर नै पनि सरल प्रक्रियाद्वारा धनीहरूको बचत (आम्दानी) गरीबहरूको हातमा जान्छ। खोलाको पानी स्वतः अग्लो स्थानबाट होचो स्थानमा बगेझैं।

नयाँ वस्तु, सेवा र व्यापारको विकास किन आवश्यक छ?

देशको अर्थ व्यवस्थालाई बलियो पार्न नयाँनयाँ वस्तुको आविष्कार तथा विकास प्रत्येक वर्ष गर्न आवश्यक छ। मौजुदा वस्तुमा सुधार भएर अर्को वस्तुको रूपमा वा नितान्त नौलो वस्तुको रूपमा विभिन्न वस्तु बजारमा आउन आवश्यक छ। त्यस्तो किन होला? त्यस्तो किन भने नयाँनयाँ माग सृजना गर्न नयाँनयाँ वस्तुको विकास आवश्यक हुन्छ। नयाँनयाँ वस्तुको आविष्कार भए मात्र उत्पादनले निरन्तरता पाउँछ वा उत्पादनमा वृद्धि हुन्छ। जस्तै यदि डिजिटल नाडी घडी मात्र बजार रहने स्थिति भयो र स्मार्ट घडीको उत्पादन भएन, अर्थात् एउटै किसिमको घडी निरन्तर उत्पादन भइरह्यो भने घडीको कुल मागमा वृद्धि हुँदैन र उत्पादनमा पनि वृद्धि हुन सक्तैन। किनभने कुनै व्यक्तिले यदि डिजिटल घडी खरीद गरेको छ भने उसको त्यो घडी दसौं वर्ष चल्न सक्छ र उसले दस वर्षसम्म नयाँ घडीको माग गर्दैन। यस्तो अवस्था अन्त्य गर्न, यदि नयाँ वस्तुको रूपमा स्मार्ट घडी उत्पादन गर्ने हो भने, डिजिटल घडी हुनेले चालू अवस्थमा रहेको नाडी टिजिटल घडी लगाउन बन्द गर्छ र नयाँ विकास भएको वस्तु (स्मार्ट घडी) माग गर्छ। स्मार्ट घडी खरीद गर्छ र त्यो नयाँ खरीदद्वारा बजारमा नयाँ माग सृजना हुन्छ। नयाँ उत्पादनको अवसर सृजना गर्छ। नयाँ रोजगार सृजना गर्छ र यसरी धनीको हातमा रहेको पैसा गरीबको हातमा जाने वातावरण सृजना हुन्छ। अर्कोतिर उत्पादनले पनि निरन्तरता पाउँछ। बजारमा नयाँ वस्तु (स्मार्ट घडी) को प्रवेश भएकोले त्यस वस्तुको माग स्वाभाविकरूपमा बढ्छ।

माथि उल्लेख भए अनुसार नयाँ वस्तुको विकास एवं आपूर्तिले रोजगारमा स्थिरता ल्याउने वा वृद्धि नै पनि गर्ने हुनाले विकसित देशहरूले नयाँनयाँ वस्तुको विकासमा अति नै जोड दिएका हुन्छन्।

नयाँनयाँ सेवा उत्पदानले पनि नयाँ वस्तुको विकासले गर्ने कार्य गर्छ। नयाँ सेवाको विकासले बचत हुने वा राम्रो आम्दानी हुनेहरूको पैसा थप कुरामा खर्च हुने बाटो खोलिदिन्छ। सेवा उत्पादनमा वृद्धि भएर रोजगारको थप अवसर सृजना गरिदिन्छ। माथि भनेझैं धनीहरूको हातमा रहेको बचत गरीबहरूको हातमा जाने वातावरण सृजना गरिदिन्छ। नेपालमा नयाँनयाँ सेवाको विकास हुने गति र सङ्ख्या दुवै सुस्त छ। पछिल्लो समयमा नेपालमा विकास भएका सेवाहरूमा स्काइडाइभिङ, बन्जी जम्पिङ, पाराग्लाइडिङ, रिसोर्ट, पार्टी–पैलेस, वर्थडे पार्टी भेन्यु, वर्थडे केक निर्माण आदिलाई लिन सकिन्छ।

अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न कुनै पनि अर्थ व्यवस्थामा प्रत्येक वर्ष नयाँनयाँ सेवा विकास हुन आवश्यक छ। कृषि युग वा जमीनदारी प्रथा रहेको समयमा नयाँनयाँ सेवाहरूको विकास हुने परिपाटीको सर्वथा अभाव थियो र यो कारणले गर्दा नै केही व्यक्ति मात्र धनी भएर बहुसङ्ख्यक व्यक्ति गरीब हुन पुगेका थिए। तर जब समाजमा औद्योगिक युगले प्रवेश ग–यो, नयाँनयाँ वस्तु एवं सेवा उत्पादन गर्ने क्रम बढेर गयो, धनी वा राम्रो आम्दानी हुने व्यक्तिको सङ्ख्या पनि वृद्धि भयो।

यसैगरी नयाँ किसिमका व्यापारले पनि गरीबहरूको हातमा पैसा (आम्दानी) पु–याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। सीमित व्यापार हुनु र अनेक किसिमका व्यापार हुनुले राष्ट्रिय अर्थ व्यवस्थमा विशेष अर्थ राख्दछ। उदाहरणको रूपमा– नेपालमा केही वर्ष पहिलेसम्म पनि वस्तुहरू उपभोक्तासम्म केवल खुद्रा बिक्रेताका पसलबाट मात्र पुग्ने गर्दथ्यो। अर्थात् वस्तु खरीद गर्न उपभोक्ताहरू अनिवार्य रूपमा खुद्रा बिक्रेताकहाँ पुग्नुपर्ने स्थिति थियो। तर अहिले अनलाइन सपिङ, होम डेलिभरीजस्ता नयाँनयाँ किसिमका व्यापारको विकास भएको छ। हुनत यी व्यापारहरूको विकास अमेरिका तथा युरोपमा वर्षौ पहिले भइसकेको थियो। नेपालमा भने हालै प्रयोग हुन थालेको हो। नेपालमा यिनको प्रयोगमा सहजता र व्यापकता आउन थालेकोले नेपालका लागि यी व्यापारलाई नयाँ व्यापारको रूपमा लिनुपर्ने हुन्छ।

राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ तुल्याउन नयाँनयाँ किसिमका व्यापारको विकास हुनु आवश्यक छ। नेपालमा भने नयाँ किसिमको व्यापारको विकास हुने क्रम ज्यादै सुस्त छ। तर एउटा कुरा के सुखद छ भने नेपालमा केही क्षेत्रमा भने केही सर्वथा पृथक किसिमका व्यापारको विकास भएको छ। त्यसको उदाहरण पर्यटन क्षेत्रमा प्रारम्भ भएको ‘होम स्टे’ व्यापारलाई लिन सकिन्छ। A home away from homeको नाराका साथ नेपालमा विकास एवं सञ्चालन भएको यो नयाँ व्यापारले नेपालको पर्यटन क्षेत्रको विकासमा विशेष योगदान पु–याएको त छ नै, पहाडी एवं हिमाली क्षेत्रका गरीब परिवारसम्म आम्दानी पु–याउन विशेष भूमिका पनि खेलेको छ। साथै सांस्कृतिक विविधताले भरिएको नेपाललाई विश्व सामु परिचित गराउन  पनि विशेष भूमिका खेलेको छ। सन्तोषको कुरा के छ भने विदेशमा ‘एबर बी एन्ड बी’ व्यापारको विकास (स्थापन एवं प्रयोग सन् २००७ मा) हुनुपूर्व नै नेपालमा होम स्टे व्यापारको प्रयोग भइसकेको थियो।

नेपालमा नयाँ किसिमका व्यापारहरूको विकास त भएको छ तर कछुवाको चालमा।

विश्वमा वर्षभरिमा सर्वाधिक नयाँ नयाँ किसिमका वस्तु, सेवा, एवं व्यापारको विकास गर्ने दौडमा अमेरिका नै अग्र पङ्क्तिमा रहेको हुनुपर्छ। अमेरिकामा प्रत्येक वर्ष सयौंको सङ्ख्यामा नयाँ वस्तु एवं सेवाको विकास हुन्छ। तीमध्ये केही मात्र बजारबाट बहिष्कृत हुन्छन् भने बहुसङ्ख्यकले बजारमा दीर्घ जीवन प्राप्त गर्छन्। खासगरी उपभोक्ता वस्तुको क्षेत्रमा प्रत्येक वर्ष अमेरिकामा सयौ बढी वस्तु एवं सेवाको विकास हुन्छ। अनि विश्वका बाँकी मुलुकले अमेरिकाले विकास गरेका ती वस्तु एवं सेवा आफ्नो देशमा उत्पादन गर्न थाल्छन्। उदाहरणको रूपमा अमेरिकामा ‘अमेजन’ बाट प्रारम्भ भएको ‘अनलाइन सपिङ’ अहिले विश्वका अनेक देशमा प्रचलित हुन थालेको छ। अनलाइन सपिङ व्यापारको विकास सर्वप्रथम अमेरिकामा नै भएको हो। यसैगरी एबर बी एन्ड बीको व्यापारको विकास पनि अमेरिकामा नै भएको हो। गुगल, युट्युब, फेसबूक आदिको विकास पनि अमेरिकामैं भएको हो। अमेरिकामा अनेक किसिमका व्यापारको पनि विकास हुने गरेको पाइन्छ, त्यो पनि ठूलो सङ्ख्यामा।

अमेरिकास्थिति विश्वविख्यात कम्पनी ‘एप्पल’ (स्थापना १९७६) ले नयाँ नयाँ वस्तु ( कम्प्युटरको विकास गर्न विश्वमैं ख्याति आर्जन गरेको छ। मुख्य गरी कम्युटर-लैपटप (PC or Macs) तथा सेलफोनका नयाँ–नयाँ मोडेल उत्पादन गर्नमा एप्पलको स्थान अग्रणी छ र यसको यो स्थानलाई अर्कोले प्राप्त गर्न असम्भव नभए पनि कठिन भने अवश्य छ। एप्पलले प्रत्येक वर्ष नयाँनयाँ मोडेल (नयाँ वस्तुको रूपमा) का सेल फोनहरू उत्पादन गरेर बजारमा ल्याउँछ। एप्पलका ती नयाँ मोडेल खरीद गर्न उपभोक्ताहरूको सङ्ख्या बजारमा यसरी ह्वात्त बढ्छ कि बिक्रेताहरूको पसलमा एप्पलका नयाँ मोडेलका सेलफोन खरीद गर्न क्रेताहरूको लामोलामो पङ्क्ति निर्माण हुन पुग्छ।

अमेरिकी अर्थतन्त्र विश्वमा नै सर्वाधिक बलियो हुनु र राष्ट्रिय आय अन्य मुलुकको तुलनतामा सन्तुलित किसिमले अमेरिकीहरूमाझ पुग्नुमा त्यहाँ प्रत्येक वर्ष नयाँनयाँ किसिमका वस्तु, सेवा एवं व्यापारको विकास हुनु हो। अमेरिकालाई विश्वमा नै धनी तुल्याउन विभिन्न कुराले महत्वपूर्ण भूमिका खेलेको छ, तीमध्ये प्रत्येक वर्ष नयाँनयाँ किसिमका वस्तु, सेवा एवं व्यापारको विकास हुनु पनि एक हो।

हेर्दा सामान्य देखिए तापनि नयाँनयाँ वस्तु, सेवा एवं व्यापारको विकासले मुलुकलाई धनी तुल्याउनमात्र होइन, धनीहरूको हातमा रहेको आम्दानी गरीबसम्म पु–याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नेपालमा पनि हामीले नयाँनयाँ वस्तु, सेवा एवं व्यापारको विकासमा जोड दिनु आवश्यक छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, January 29, 2021

http://www.prateekdaily.com/2021/01/blog-post_287.html

Friday, January 22, 2021

Nepal Has Abundance of Resources For Huge Industrialization-Article-311

 नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना

हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र हुनका लागि हामी सँग आवश्यक सबै कुरा छन् तर हामी गर्दैनौं। किन होला? पहिले हामी देशमा आर्थिक विकास नहुनुको प्रमुख कारण पञ्चायती व्यवस्थालाई मान्थ्यौं। निरङ्कुशतालाई मान्थ्यौं। तर अहिले त प्रजातन्त्र छ। यो प्रजातन्त्रमा पनि विकासको गति किन कछुवा–चालको भएको होला?

दशकौंदेखि हामी भारतको एक संरक्षित एवं लाभदायक बजार बन्दै आएका छौं तर विभिन्न कुरा स्वदेशमा नै उत्पादन गर्ने प्रयाससम्म पनि गरेका छैनौं। पछिल्लो समय हामी चीनको एक भरपर्दो बजार बन्नेतिर लागेका छौं। चीनबाट पनि औद्योगिक आवश्यकताका होइन, दैनिक आवश्यकताका वस्तुहरू मात्र ठूलो परिमाणमा आयात गरिरहेका छौं। तर ती कुरा हामी स्वदेशमा नै उत्पादन गर्न सक्छौं।

हामीमा एउटा अनौठो प्रवृत्ति छ। देशभित्र जे जति समस्या छन् ती नेता, राजनीतिक दल एवं सरकारद्वारा सृजित भएको मान्छौं, ती समस्या सृजनामा आफ्नो, सामान्य जनताको, कुनै पनि किसिमको भूमिका देख्दैनौं। यसैगरी देशको आर्थिक विकासको लागि केवल सरकारलाई जिम्मेवार देख्छौं, आफ्नो भूमिका देख्दैनौं। हामी यो सोच्न र बोध गर्न मान्दैनौं कि नेता, सरकार तथा राजनीतिक दलहरूको जन्म हाम्रो समाजबाटै भएको हो, उनीहरू अर्को ग्रहबाट आएका होइनन्। भ्रष्ट प्रशासक, अस्थिर राजनीति एवं गैरजिम्मेवार नेता जन्म दिने हाम्रो समाज परिवर्तन गर्नेतिर हामी किन लाग्दैनौं? हामी आफूभित्र  परिवर्तन ल्याउनेतिर किन लाग्दैनौं?

राजनीतिक व्यवस्थाको हिसाबले मेक्सिको र क्यानाडाबीच ठूलो अन्तर छैन। यी दुवै राष्ट्र प्रजातान्त्रिक व्यवस्था भएका मुलुक हुन्। दुवै मुलुकका नागरिकले उत्तिकै राजनीतिक स्वतन्त्रता पाएका छन्। मेक्सिको र क्यानाडा दुवै संसारकै सर्वाधिक धनी राष्ट्र अमेरिकाका निकट छिमेकी हुन्। मेक्सिको अमेरिकासँग टाँसिएको दक्षिणी छिमेकी हो भने क्यानाडा उत्तरमा टाँसिएको छिमेकी। यी दुवै राष्ट्रले अमेरिका, क्यानाडा र मेक्सिकोबीच भएको एक व्यापार सन्धि (United States-Mexico-Canada Agreement) अनुसार अमेरिकासँग व्यापार गर्ने उत्तिकै सुविधा पाएका छन्। तर मेक्सिको र क्यानाडाबीच आर्थिक, सामाजिक र राजनीतिक हिसाबले ठूलो अन्तर छ। मेक्सिको विकासशील मुलुक हो भने क्यानाडा विकसित मुलुक। मेक्सिकोको केन्द्रीय राजनीतिमाथि लागू पदार्थ तस्कर (Drug Lords) हरूको ठूलो पकड एवं प्रभाव छ भने क्यानाडामा एक स्वच्छ प्रशासनको। यसैगरी मेक्सिकोबाट प्रत्येक वर्ष सयौंको सङ्ख्यामा मेक्सिकन अवैधरूपमा अमेरिका प्रवेश गर्छन् भने क्यानाडाबाट त्यसरी केनेडियनहरू अमेरिका प्रवेश गरेको नगण्य सुनिन्छ। मेक्सिकोमा लागू पदार्थ तस्करहरूको बोलबाला छ र उनीहरूद्वारा प्रत्येक वर्ष सयौं निर्दोष नागरिकको हत्या हुन्छ भने क्यानाडामा त्यस्तो हुँदैन। मेक्सिकोमा औसत प्रत्येक दिन ९५ जनाको हत्या हुने गर्दछ। सन् २०१९ मा त्यहाँ ३५००० मानिसको हत्या भएको थियो।

यस्तो किन भएको होला? क्यानाडा र मेक्सिकोबीच यत्रो अन्तर किन देखिएको होला? उत्तर सजिलो छ। कुनै पनि देशको राजनीतिक, सामाजिक एवं आर्थिक व्यवस्था त्यहाँको जनताबाट निर्धारित हुने हो, सरकारबाट होइन। नेताबाट पनि होइन। यिनीहरू केवल माध्यम हुन्। यो तथ्य हामीले नबुझेसम्म, यस उपर गम्भीर नभएसम्म नेपालको आर्थिक, सामाजिक विकास तिब्र गतिमा हुने सम्भावना छैन।

आउनुस् अब नेपालमा औद्योगिक विकासका सम्भावनाबारे चर्चा गरौं। नेपाललाई आवश्यक पर्ने धेरै वस्तुहरू जुन अहिले कि भारत नभए चीनबाट ठूलो परिमाणमा आयात गरिन्छ, नेपालमैं उत्पादन गर्न सकिन्छ। उदाहरणका लागि नेपालमा अहिले निम्न आय भएका व्यक्तिहरूको हातमा राम्रो आय भएर उनीहरू मध्यम वर्गीय हुन पुगेका छन् र ती नवमध्यमवर्गीयहरूले ठूलो सङ्ख्यामा अनेक वस्त माग गरिरहेका छन्। ती वस्तुको माग नेपाली बजारमा ठूलो परिमाणमा छ। जस्तै अहिले मोटरसाइकलको माग नेपाली बजारमा ह्वात्तै बढेको छ। अहिले नेपाली उद्यमीहरूले नेपालमैं मोटरसाइकल उत्पादन गरेर बिक्री गर्ने हो भने राम्रो परिमाणमा बिक्री गर्न सक्छन्। नेपाल अहिले मोटरसाइकलको राम्रो सुरक्षित एवं संरक्षित बजार भएको छ। तर यस अवसरको मौद्रिक फाइदा अहिले भारतले उठाइरहेको छ। भारतले प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा मोटरसाइकल नेपाल निर्यात गर्छ। कस्तो अचम्म! जुन अवसर हामीले जानीजानी गुमाइरहेका छौं त्यो अवसरको भारतले भरपूर उपयोग गरिरहेको छ। भारतले बर्सेनि नेपाली मोटरसाइल–बजारबाट करोडौं रुपियाँ कमाइरहेको छ। साधन भएर पनि हामी साधनविहीन भएको योभन्दा उत्कृष्ट अर्को उदाहरण के हुन सक्ला?

योजनाबद्ध किसिमले नभएपनि नेपालमा अहिले मोटरयोग्य सडकको लम्बाइ एवं सङ्ख्या दुवै वृद्धि भएको छ। तुलनात्मकरूपमा बढी व्यापारिक क्रियाकलाप हुने राजधानी काठमाडौंलाई अहिले सातवटा राजमार्ग (१. हेटौंडा–नारायणगढ–मुग्लिन–काठमाडौ, २. हेटौंडा–कुलेखानी–बल्खु–काठमाडौं, ३. हेटौंडा–पालुङ हुँदै काठमाडौं, ४. हेटौंडा –हुमाने–फर्पिङ हुँदै काठमाडौं, ५. हेटौंडा –मकवानपुर गढी–कान्ति राजपथ हुँदै काठमाडौं, ६. निजगढ–मकवानपुर, छतिवन–खोकना हुँदै काठमाडौं, ७. हेटौंडा –फर्पिङ– मातातीर्थ हुँदै कलङ्की काठमाडौं) हरूले तराईसँग जोडेको छ। यसैगरी देशका अनेक जिल्लामा पनि सडकको सङ्ख्या र लम्बाइमा विस्तार भएको छ। यो स्थितिले नेपालमा सवारीको सङ्ख्यामा व्यापक वृद्धि भएको बलियो सप्रमाण पुष्टि गर्दछ। यो कारणले गर्दा नै नेपालामा सवारीका साधन (ट्रक, बस, कार, जीप, भ्यान आदि) हरूको मागमा व्यापक वृद्धि भएको छ। अहिले नेपाललाई भारतले ठूलो सङ्ख्यामा सवारी साधन बिक्री गरिरहेको छ। नेपालबाट बर्सेनि करोडौं रुपियाँ आम्दानी गरिरहेको छ। नेपाल, सवारी साधन उत्पादन गरेर ठूलो सङ्ख्यामा बिक्री गर्न सकिने भरपर्दो बजार भए तापनि हामीले नेपालमैं सवारीका साधन उत्पादन गर्न सकेका छैनौं र यो अवसर जानीजानी भारतलाई प्रदान गरेका छौं। साधन र स्रोत भएर पनि हामी गरीब हुनुको यो अर्को एउटा थप उत्कृष्ट उदाहरण हो।

हामीले उन्नत प्रविधि प्रयोग गरेर एकीकृतरूपमा खेती गर्ने हो भने ठूलो परिमाणमा अन्न उत्पादन गरेर आत्मनिर्भर हुन सक्छौं, निर्यात नै गर्ने स्थितिमा पुग्न सक्छौं। तर हामीले यो अवसरको पनि उपयोग गर्न सकेका छैनौं। तराईका खेतीयोग्य धेरै जमीन घडेरीमा रूपान्तरित भएका छन् भने पहाडी भूमिको पनि उत्पादक किसिमले उपयोग गर्न सकेका छैनौं।

हामीले सेवाको क्षेत्रमा पनि अनेक किसिमका सेवा उत्पादन गर्न सक्छौं। नेपालको पर्वतारोहण विश्वमैं सर्वोकृष्ट छ। संसारभरका मुलुकका नागरिकले सगरमाथाको नाम सुनेको छ भने धेरैले नेपाल पुगेर सगरमाथामा पुग्ने चाहना गरेको सुन्न पाइन्छ। नेपालमा विश्वका अनेक मुलुकका नागरिकलाई आमन्त्रित गरेर पर्वतारोहण गर्न उनीहरूलाई अनेक किसिमका सेवा, सुविधा उपलब्ध गराएर हामीले बर्सेनि ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सक्छौं। तर यस्तो गर्न सकेका छैनौं। अनेक किसिमका प्रशासनिक झञ्झट खडा गरेर पर्वतारोहण व्यवसायलाई राम्रो आयको स्रोत बनाउन सकेका छैनौं। यो स्थितिमा पनि हामी साधन भएर गरीब बनेका छौं।

विभिन्न विदेशी राष्ट्रमा रहेका नेपाली दूतावासहरूलाई नेपालको पर्वतारोहण व्यवसायको प्रवद्र्धन गर्न प्रयोग गर्न सकिन्छ। राजदूतहरूलाई यो व्यवसाय प्रवद्र्धन गर्न बलियो माध्यम तुल्याउन सकिन्छ। विदेशमा रहेका नेपाली दूतावासहरूमा पर्वतारोहण मेला आयोजना गरेर विदेशीहरूलाई नेपाल आएर पर्वतारोहण गर्न उत्प्रेरित गर्न सकिन्छ। यो कार्यका लागि विदेशमा बसेका नेपालीहरूले विदेशस्थित नेपाली दूतावासहरूलाई सहयोग गर्नेछन् किनभने सबै नेपालीले आफ्नो मातृभूमिको आर्थिक विकास होस् भन्ने इच्छा राखेको हुन्छ। यो एउटा ठूलो अवसर हो। यो अवसरको हामीले भरपूर उपयोग गर्नुपर्छ।

नेपालले ठूलो परिमाणमा उत्पादन गर्न सक्ने अर्को वस्तु हो कपडा। कपडा उत्पादन, सम्पूर्णरूपमा, स्वदेशमा गरेर हामी कपडामा आत्मनिर्भर हुन सक्छौं। चीनबाट अहिले जस्तो ठूलो परिमाणमा आयात गर्नुपर्दैन। तर उचित र दीर्घकालीन योजनाको अभावले गर्दा अहिले हामी चीनबाट ठूलो परिमाणमा कपडा र लुगाफाटो आयात गरिरहेका छौं। आफूले कपडा उत्पादन गर्न सक्ने अवसर पनि जानीजानी गुमाइरहेका छौं।

नेपाल उच्च सम्भावनाले भरिएको देश हो। साधन र स्रोतले भरिएको देश हो। विश्वमा अनेक देशहरू छन् जोसँग स्रोत र साधन छैन। तर नेपालामा स्थिति त्यस्तो छैन। हामीसँग सबैथोक छ, नभएको केही छ भने–त्यो हो इच्छाशक्ति।

आपसी विश्वास, समझदारी, समन्वय र मेलमिलापको हामीमा अति अभाव छ। जबकि यी कुराहरू आर्थिक विकासका पूर्व शर्त हुन्।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, January 22, 2021

http://www.prateekdaily.com/2021/01/blog-post_535.html

Friday, January 15, 2021

Causes of Low Purchasing Power of Nepalese Currency-Article-310

 नेपाली मुद्राको क्रयशक्ति कमजोर हुनुका कारण

विश्वमा कमजोर क्रयशक्ति भएका मुद्रामध्ये नेपालको मुद्रा पनि पर्दछ। नेपाली मुद्राको क्रयशक्ति यतिसम्म कमजोर छ कि सबैभन्दा तल्लो एकाइको नेपाली मुद्रा, रु १ को बजारमा कुनै किसिमको क्रयशक्ति छैन। विनिमय शक्ति छैन। त्यसको आफ्नै एकल, स्वतन्त्र विनिमय अस्तित्व छैन। बजारमा रु १ भुक्तान गरेर कुनै कुरा खरीद गर्न सकिंदैन। यस्तै स्थिति रु ५ को पनि छ। रु १० को स्थिति पनि कमजोर नै छ। रु २० बाट भने केही कुरा खरीद गर्न सकिन्छ तर पनि ज्यादै सीमितरूपमा। केवल रु १०० को मात्र गतिलो क्रयशक्ति छ। रु १००० ले मात्र ज्यादै बलियो क्रय शक्ति राख्दछ। यस्तो किन भएको होला? आउनुहोस् यसको कारण अर्थशास्त्रका पेंचिला सिद्धान्तहरूबाट होइन, सामान्य परिभाषाबाट बुझौं। साधारण चिन्तनबाट बुझौं। सामान्य छलफलबाट बुझौं।

नेपाली मुद्राको क्रय शक्ति कमजोर हुनुको प्रमुख कारण हो नेपालमा प्रचुर मात्रामा उत्पादन हुन नसक्नु। उत्पादनको क्षेत्रमा नेपाल अहिले पनि ज्यादै पछाडि छ। पछाडि मात्र छैन, नेपालले जे जति उत्पादन गरिरहेको छ त्यसको लागत, अर्थात् उत्पादन लागत पनि ज्यादै चर्को छ। उत्पादन लागत ज्यादै चर्को भएर तथा उत्पादन लागत कम पार्नेतिर व्यापारीहरूको ध्यान एवं इच्छा नभएर नेपालमा उत्पादन लागत कम पार्न सकिएको छैन र यस्तो गरेर उत्पादन वृद्धि गर्न सकिएको छैन। स्थिति यस्तो छ कि निर्यातका लागि ठूलो मात्रामा उत्पादन गर्नु त परको कुरा, राष्ट्रिय खपतका लागि चाहिने जति पनि स्वदेशमा उत्पादन गर्न सकिएको छैन। सियोदेखि सलाईसम्मका लागि हामीले छिमेकी देशहरू भारत तथा चीनको मुख ताक्नु पर्ने स्थिति छ। उत्पादनको क्षेत्रमा हामी अभूतपूर्व किसिमले परावलम्बी हुन पुगेका छौं। श्रम बेचेर गुजारा गर्ने स्थितिमा पुगेका छौं र यसै कारणले हाम्रा नयाँनयाँ सृजनात्मक क्षमता राख्ने युवाहरू देश छोड्न बाध्य भएका छन्। विदेश गएर कम मूल्यमा श्रम बेच्न विवश छन्।

त्यस्ता धेरै देश छन्, जसको मुद्राको क्रयशक्ति ज्यादै बलियो छ। अमेरिकी डलर, ब्रिटिश पौन्ड, जर्मन युरो आदिको क्रयशक्ति ज्यादै बलियो छ। उदाहरणको लागि अमेरिकी डलर लिउँ। अमेरिकी डलरको सबैभन्दा तल्लो एकाइ १ डलरको क्रयशक्ति अति बलियो छ। अमेरिकी बजारमा १ डलरबाट खरीद गर्न सकिने वस्तु एवं सेवाहरू थुप्रै छन्। एक डलर खर्च गर्दा एक छाक खान पुग्ने सामान खरीद गर्न सकिन्छ। अर्थात् सामान्य किसिमको खाना, एक छाकका लागि, एक डलर खर्च गरेर पाउन सकिन्छ। अमेरिकामा डलरको सबैभन्दा तल्लो एकाइ–‘एक डलर’ले पनि बलियो क्रय शक्ति राख्छ। १ डलरले धेरै कुरा विनिमय गर्न सकिन्छ। अमेरिकाको ख्यातिप्राप्त खुद्रा भण्डार ‘डलर ट्री’ ले एक डलर भुक्तान गरेर खरीद गर्न पाइने धेरै वस्तु बिक्री गर्छ। उक्त भण्डारमा १ डलरमा सयौं किसिमका सामग्री खरीद गर्न सकिन्छ। अमेरिकामा १ डलर पनि, विनिमय क्षमताको हिसाबले कति बलियो छ भन्ने कुरा डलर ट्रीले दिन्छ। उसको व्यापारले दिन्छ। डलर ट्रीको उद्देश्य सस्तोमा कमजोर आय भएका व्यक्तिलाई विभिन्न सामग्री उपलब्ध गराउनु हो। डलर ट्रीले ‘हामी हरेक सामान एक डलरमा बिक्री गर्छौं’ भन्छ।

अमेरिकी डलरको विनिमय क्षमता वा क्रयशक्ति ज्यादै बलियो हुनुको प्रमुख कारण उत्पादनको क्षेत्रमा अमेरिकाले विश्वमा नै अग्रणी स्थान प्राप्त गर्नु हो। कृषिको क्षेत्रमा अमेरिकाले विश्वमा नै चमत्कार गरेको छ। खाद्यान्न र मासु अमेरिकाले यति ठूलो मात्रामा उत्पादन गर्छ कि राष्ट्रिय उत्पादनका लागि पर्याप्त भएर ठूलो परिमाणमा निर्यात गर्नुपर्ने हुन्छ। अमेरिकाले ठूलो परिमाणमा भटमास निर्यात गर्छ। चीनले ठूलो परिमाणमा भारतबाट भटमास खरीद गर्छ, जबकि विनिमय दरको हिसाबले चाइनिज मुद्रा एन अमेरिकी डलरभन्दा निकै कमजोर छ। सामान्य किसिमले हेर्दा, एक चिनियाँ एन बराबर केवल ००.१५ डलर वा १५ सेन्ट मात्र हुन्छ। अर्थात् अमेरिकाले चीनभन्दा पनि सस्तोमा भटमास उत्पादन गर्छ। आफ्नो देशमा भटमास उत्पादन गर्न महँगो हुने भएकोले नै चीनले अमेरिकाबाट भटमास आयात गरेको हो। भटमास उत्पादन गर्नुभन्दा अमेरिकाबाट आयात गर्दा चीनलाई फाइदा हुन्छ तर यहाँ सोचनीय कुरा के छ भने चीनमा श्रम लागत अमेरिकाभन्दा निकै कम छ। श्रम लागत चीनभन्दा अमेरिकामा बढी भए तापनि अमेरिका चीनभन्दा कम लागतमा भटमास उत्पादन गर्न सफल भएको छ। यस्तो स्थिति अमेरिकाले कृषि क्षेत्रमा गरेको अद्भुत विकासले गर्दा भएको हो। अमेरिकी डलरको क्रयशक्ति बलियो हुनुको प्रमुख कारण नै अमेरिकाले ठूलो परिमाणमा उत्पादन गर्न सक्नु र उत्पादन लागत कम गर्न सक्षम हुनु हो। 

नेपाली मुद्राको क्रयशक्ति वा विनिमय शक्ति बलियो बनाउन हामीले उत्पादनमा जोड दिनैपर्छ। उत्पादनमा जोड नदिएसम्म, राष्ट्रिय आवश्यकताका लागि पुग्नेजति उत्पादन गर्न नसकेसम्म नेपाली मुद्राको क्रयशक्ति कमजोर नै रहन्छ। हाम्रो गरीबी पनि रहि नै रहन्छ। हामी गरीबीको ललौरी–बिलौरी गाइ नै रहने छौं र आउने पुस्ताले पनि त्यही ललौरीबिलौरी गाउने छ।

नेपालभित्र अनेक वस्तु उत्पादन गर्न सकिने सुनौलो अवसर छ। राष्ट्रिय खपतका लागि पनि ती वस्तु उत्पादन गरेर विदेशी बजारमा ठूलो परिमाणमा जाने  नेपाली मुद्राको क्रम रोक्न सकिन्छ।

त्यस्ता धेरै कुरा छन् जुन नेपालमा नै उत्पादन गरेर एकातिर आत्मनिर्भर हुन सकिन्छ, अर्कोतिर भारतसितको अन्तर्राष्ट्रिय व्यापारमा हुने व्यापार घाटा कम पार्न सकिन्छ। जस्तै, नेपाल अहिले ‘अटोमोबाइल’ को लागि अति भरपर्दो बजार हुन पुगेको छ। नेपालले प्रत्येक वर्ष ठूलो परिमाणमा भारतबाट मोटरसाइकल, कार, जिप, ट्रक, बस, टेम्पो, ट्रेक्टर खरीद गर्छ। यसरी ठूलो परिमाणमा यातायातका यी साधन खरीद गर्दा नेपालबाट ठूलो मात्रमा नेपाली एवं नेपालले कमाएको विदेशी मुद्रा भारत जाने गर्दछ। अटोमोबाइलका लागि नेपाल भरपर्दो बजार हुनुको फाइदा नेपालले होइन, नेपाली व्यापारीले होइन, भारतले, भारतका व्यापारीहरूले उठाइरहेका छन्। हामी भने टुलुटुलु हरेर बसेका छौं। यो स्थितिलाई हामीले आफ्नो नालायकी भन्ने वा दुर्भाग्य?

हामीले देशभित्र कार, जिप, ट्रक, बस आदि उत्पादन गर्ने हो भने यी साधन सजिलै स्वदेशमा बिक्री गर्न सक्छौं। यी साधन बिक्री गर्न बाह्य बजार खोज्नुपर्दैन। नेपालमा नै यी साधनको ठूलो माग छ। तर हामीले यी साधन स्वदेशमा उत्पदन नगरेर ठूलो व्यापारिक अवसर गुमाएका मात्र छैनौं, रोजगारको राम्रो अवसरबाट फाइदा उठाउन पछि परेका छौं। उल्टो यो अवसर भारतका व्यापारीहरूलाई प्रदान गरेर हामी उत्पादनको क्षेत्रमा परावलम्बी हुन पुगेका छौं। यस्तो स्थितिको अन्त्य गर्न सरकार मात्र होइन, निजी क्षेत्र पनि लाग्नुपर्छ। नेपाली व्यापारीहरू उठ्नुपर्छ, स्वदेशमा विभिन्न कुराहरू उत्पादन गर्न।



नेपालका लागि उत्पादनको अपार सम्भावना बोकेको अर्को क्षेत्र हो कृषि। तराईको समतल मैदान मात्र होइन, पहाडका प्रयोग नभएका क्षेत्रलगायत हिमाली क्षेत्रमा पनि कृषिको विस्तार गरेर हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं। उत्पादनको मात्रा बढाउँदै लगेमा ठूलो परिमाणमा निर्यात गर्न समेत सक्छौं। जनसङ्ख्याको अनुपातमा हामीसँग भारतको तुलनामा समेत धेरै जग्गा उपलब्ध छ। उन्नत प्रविधि प्रयोग गरेर, पहाडी एवं हिमाली क्षेत्रको प्रयोग गरेर, हामीले ठूलो परिमाणमा अन्न एवं फलफूल उत्पादन गर्न सक्छौं। मासु उत्पादन गर्न सक्छौं। यी कार्य गरेर नेपाली मुद्राको क्रयशक्ति, विनिमय शक्ति वृद्धि गर्न सक्छौं।

नेपाली मुद्राको क्रयशक्ति वृद्धि गर्न, कम मूल्यका नोटहरू (रु १, , १० आदि) को खरीद क्षमता वृद्धि गर्न हामीले उत्पादन परिमाणमा वृद्धि गर्नुको विकल्प छैन। जुनसुकै अवस्थामा भए पनि हामीले उत्पादन वृद्धि गर्न आवश्यक छ। यदि उत्पादन वृद्धि नगर्ने हो भने हाम्रो हालत पनि कुनै बेला जिम्बाब्वेजस्तो हुनेछ। केही वर्ष पहिले जिम्बाब्वेमा यस्तो मुद्रास्फीति भएको थियो कि सामान्य किनमेल गर्न जाँदा पनि झोलामा पैसा बोकेर जानु पथ्र्यो। सरकारले करोडौं मूल्यका नोट निष्कासन गर्नुपरेको थियो। अर्थात् एउटा नोटको दाम एक करोड डलरभन्दा बढी थियो। त्यहाँको जनतालाई आफ्नो देशको मुद्रामा कम विश्वास भएर विदेशी मुद्रामा कारोबार गर्नुपर्ने अवस्था देखिएको थियो।

हामीले गमलामैं भएपनि तरकारी उत्पादन गरेर विदेशबाट तरकारी आयात गर्ने अवस्था अन्त्य गर्न आवश्यक छ। हाम्रो राष्ट्रिय जनऊर्जा उत्पादन वृद्धिमा लगाउन आवश्यक छ। यो समयको माग हो।

Bishwa Raj Adhikari

akoutily@gmail.com

Published in Prateekdaily on Friday, January 15, 2021

http://www.prateekdaily.com/2021/01/blog-post_735.html

Friday, January 8, 2021

Nepal Lacks Educated Leadership-Article-309

 नेतृत्वमा उच्च शिक्षाको अभाव र आर्थिक विकास

जुन देशको शासन व्यवस्था शिक्षित र इमानदारहरूको हातमा हुन्छ त्यो देशले तीव्र गतिमा आर्थिक प्रगति गर्छ। विकसित देशको आर्थिक विकासको इतिहासले यस कुराको पुष्टि गर्छ। जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता विकसित मुलुकको आर्थिक विकासको इतिहास हेर्न हो भने यो भनाइ अझै प्रस्ट हुन्छ।

नेपालमा भने शासन व्यवस्था जहिले पनि अर्ध वा अशिक्षितहरूको हातमा रहँदै आएको छ। शासन व्यवस्थामा प्रत्यक्ष रूपमा र उच्च पदमा रही सहभागी हुने (मन्त्री, प्रधानमन्त्री) हरूमा शिक्षाको कमी त देखिएको छ नै, इमानदारीको पनि उत्तिकै कमी देखिएको छ। यो कारणले गर्दा पनि नेपालको आर्थिक प्रगतिको गति ज्यादै सुस्त हुन गएको हो। सुस्त गतिमा नै भए पनि नेपालमा जे जति आर्थिक प्रगति भयो (निजी क्षेत्रमा ठूला–ठूला बीमा कम्पनी एवं बैंकहरूको स्थापना, ठूला तारे आवासीय होटलहरूको निर्माण, सुविधा सम्पन्न अस्पतालहरूको स्थापना, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूको पहुँच, विदेशका अनेक प्रतिष्ठित विश्वविद्यालयहरू नेपाली युवा पींढीको पठनपाठन, ठूला–ठूला सञ्चार गृह सञ्चालन) जस्ता आर्थिक प्रगति सरकारको सक्रिय प्रयासमा भएको होइन, निजी क्षेत्रको प्रत्यक्ष प्रयासमा भएको हो। नेताहरूले गरेर भएको होइन। राजनैतिक दलहरूले गरेर पनि भएको होइन। बितेका सरकारहरूले योजनाबद्ध किसिमले कार्य गरेर पनि ती विकास भएका होइनन्।

विगतको इतिहास हेर्ने हो भने सरकारहरूको कार्य निराशाजनक देखिन्छ। हुनत नेपालमा निर्माण भएका सरकारहरू जहिले पनि अस्थिर प्रकृतिका रहे। निर्वाचित प्रधानमन्त्रीले पूर्ण कार्यकाल काम गर्न पाएको देखिंंदैन। प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै अनेक बहानामा निजको खुट्टा तान्ने कार्य प्रारम्भ हुन्छ। प्रत्यक्ष्Fरूपमा प्रधानमन्त्री अक्षम भएर हटाउन खोजेको भनिए पनि परोक्षतः नेताहरूको स्वार्थ लुकेको हुन्छ। उदाहरणको लागि वर्तमान प्रमको स्थिति हेर्दा हुन्छ। गुट–उपगुटको राजनीतिक स्वार्थ र खिचातानी हेरे हुन्छ।

२०४६–४७ मा प्रजातन्त्रको पुनस्र्थापना भए यता, गएको तीस वर्षमा मुलुकमा पच्चीसपटक प्रधानमन्त्री फेरिएको देखिन्छ। एउटा प्रमले सरदरमा दुई वर्ष पनि काम गर्न पाएको देखिंदैन।

नेपालमा उच्च प्रशासक हुन पुगेका व्यक्तिहरूमा शिक्षाको कमी त हुन्छ नै, साथ मिलेर काम गर्ने भावनाको पनि अभाव हुन्छ। सत्ता र शक्तिमा जहिले पनि आफ्नो हात माथि राख्न खोज्ने केही नेताहरूको प्रवृत्तिले गर्दा निर्माण भएका सरकारहरू स्थिर हुन सकेनन् र व्यवस्थित एवं योजनाबद्ध किसिमले काम पनि गर्न पाएनन्।

सांसदहरू, जसले मुलुकलाई आर्थिक विकासको पथमा दौडाउन कानून निर्माण गर्छन्, शिक्षित हुन आवश्यक छ। त्यति मात्र होइन, उनीहरूले उच्च शिक्षा पनि पाएको हुनुपर्छ। यसैगरी मन्त्री एवं प्रधानमन्त्रीहरू, जो देशको उच्च प्रशासकीय पदमा बसेर कार्य गर्छन्, उनीहरू पनि उच्च शिक्षा प्राप्त गरेको हुनुपर्छ। यस्ता उच्च प्रशासकहरूमा सम्बन्धित क्षेत्र (आफू कार्यरत रहेको मन्त्रालयका कार्यहरूबारे) को ज्ञान अनिवार्य हुनु आवश्यक छ। तर देशको दुर्भाग्य भनौ, २०४७ साल यताको स्थिति हेर्ने हो भने उच्च प्रशासक एवं नेताहरूमा उच्च शिक्षाको अति नै अभाव देखिएको छ। उच्च शिक्षा त परको कुरा, सामान्य शिक्षाको समेत अभाव देखिएको छ। राष्ट्रिय राजनीति जनता र मुलुकको सेवाको लागि नभएर अति मुनाफा दिने व्यापार हुन पुगेकोले यस्तो भएको हो। व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नुको मुख्य उद्देश्य अहिले छोटो सममया धनी हुनु हो। राष्ट्रिय शक्ति हातमा लिएर ऐश आरामको जीवन व्यतीत गर्नु हो। यति भद्रगोल पञ्चायतकाल वा सक्रिय राजतन्त्रकालमा पनि थिएन। उक्त कालमा राजनीतिक स्वत्रन्तता थिएन तर भद्रगोल पनि थिएन। पञ्चायतकालमा नेताहरू र खासगरी उच्च प्रशासकहरू पढेलेखेका शिक्षित हुन्थे। अहिलेजस्तो अशिक्षित, अक्षम व्यक्ति उच्च प्रशासकीय पदमा पुग्दैनथे। यहाँ पञ्चायती व्यवस्थाको गुणगान गर्न खोजिएको होइन। पञ्चायती व्यवस्था खराब थियो त्यसकारण नेपाली जनताबाट बिदा भयो। तर पञ्चायती व्यवस्थालाई बिदा गर्ने वर्तमान व्यवस्था पनि त राम्रो हुनुप–यो नि ? पञ्चायती व्यवस्थाभन्दा पनि भ्रदगोल व्यवस्था ल्याउन जनताले सङ्घर्ष गरेको होइन। यो कुरा नेता र राजनीतिक दलहरूले बुझ्न आवश्यक छ।

अहिले नेतृत्व तह र उच्च प्रशासकहरूमा उच्च शिक्षाको ठूलो अभाव देखिएको छ। यो कारणले गर्दा पनि नेपालको आर्थिक विकासको गति कछुवाको चालमा भइरहेको हो। र यस्तै स्थिति रहने हो भने नेपालको आर्थिक विकासको गति झनै सुस्त भएर जानेछ। नेपालका उच्च प्रशासनिक पदमा बसेर देशका लागि नीति नियम निर्माण गर्नेहरूले खाडीमा बगिरहेको नेपाली श्रमलाई स्वदेशमा प्रयोग गर्न सक्ने वातावरण तयार गर्न सकेका छैनन्। अर्धशिक्षित वा अशिक्षित व्यक्तिहरू उच्च प्रशासनिक पदमा रहने वातावरण भएसम्म देशको तीव्र आर्थिक विकास केवल सपनामा सीमित हुनेछ।

पञ्चायतकालमा उच्च प्रशासकीय पदमा शिक्षितहरू हुन्थे। धेरैले उच्च शिक्षा प्राप्त गरेका हुन्थे। उदाहरणका लागि राजा महेन्द्रले अमेरिकामा पीएचडी गरिरहेका भेषबहादुर थापालाई नेपाल आउन आग्रह गरेका थिए। थापा सम्भवतः त्यसबेला नेपालमा सबैभन्दा कम उमेरमा पिएचडी गर्ने व्यक्ति थिए। भनिन्छ उनले २४ वर्षको उमेरमा पिएचडी गरेका थिए। थापा नेपाल आएर योजना परिषद्को सचिव भए। यसैगरी विदेशबाट भरखर पिएचडी गरेर फर्केका २६ वर्षीय डम्बरनारायण यादवलाई राजा महेन्द्रले संविधान निर्माणको जिम्मा दिएका थिए। त्यस बेला कम उमेरमा पीएचडी गरेका र विदेशमा रहेका मोहनमान सैंजुलाई नेपालको भूमि सुधारमा योगदान दिन राजा महेन्द्रले नै नेपाल बोलाएका थिए। पञ्चायतकालमा मन्त्रीहरू प्रायः आफ्नो क्षेत्रको राम्रो जानकार हुन्थे, शिक्षित त हुन्थे नै। केहीले त उच्च शिक्षा नै पाएका हुन्थे। पञ्चायतकालमा उच्च शिक्षालाई निकै महत्व दिने गरिन्थ्यो। त्यस बेला राष्ट्रिय पञ्चायत (अहिले सङ्घीय संसद्जस्तो) मा उच्च शिक्षा हासिल गरेका (स्नातक सम्म पढेका) व्यक्तिहरूबाट एकजना सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था थियो। यो प्रावधानको प्रयोगबाट स्नातकहरू मध्येबाट धेरैजना राष्ट्रिय पञ्चायतको सदस्य मनोनीत भए। उनीहरूले देशको सेवा गर्न पाए।

२०४६–४७ साल पछिको स्थिति भने ज्यादै पृथक छ। अहिले पढेलेखेका व्यक्तिलाई होइन, नेताहरूले आफ्नो दलका वा आफूले रुचाएका व्यक्तिलाई उच्च प्रशासकीय पदमा पु–याउने चलन छ। उच्च प्रशासकीय पद (मन्त्री, प्रम मन्त्री) मा पुग्न अहिले उच्च शिक्षा प्राप्त गर्नु आवश्यक छैन, नेताहरूलाई रिझाए पुग्छ। यस्तो स्थितिले देशको आर्थिक विकास हुन्छ ? आफ्नो क्षेत्रको जानकारी नभएको त परको कुरा भयो, सामान्य शिक्षासम्म पनि प्राप्त नगरेका व्यक्तिहरू अर्थमन्त्री, उद्योगमन्त्री, वाणिज्यमन्त्री, आपूर्तिमन्त्री, शिक्षामन्त्री भएमा कसरी देशको आर्थिक विकास हुन्छ ? माथि उल्लेख गरिएका उच्च प्राशासकीय पदहरू यस्ता पद हुन् जुन पदमा (सम्बन्धित क्षेत्रका) विज्ञहरू हुन आवश्यक छ। उच्च शिक्षा मात्र भएर पनि पुग्दैन, त्यस्ता पदमा आसीन हुने व्यक्तिहरूमा सम्बन्धित क्षेत्रबारे अति विज्ञता हुनु पनि त्यतिकै आवश्यक छ।

अहिले हाम्रो मुलुकको स्थिति ज्यादै अनौठो छ। पढेलेखेका, उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू विदेशमा छन्। उच्च प्रशासकीय पदमा उनीहरूको पहुँच छैन। स्वदेशमा रहेका पढेलेखेका, उच्च शिक्षा हासिल गरेका, आफ्नो क्षेत्रको विज्ञ रहेका व्यक्तिहरू उच्च प्रशासनिक पदमा पुग्न सक्ने वातावरण छैन। राजनीतिक दल एवं नेताहरूले केवल आफ्ना कार्यकर्ताहरूलाई उच्च प्रशासनिक पदमा पु–याएर शिक्षित तर सामान्य वा निष्पक्ष व्यक्तिहरूलाई उच्च प्रशासनिक पदम पुग्न दिएका छैनन्। यस्तो स्थितिको अन्त्य नभएसम्म, शिक्षित व्यक्तिहरूको पहुँच उच्च प्रशासकीय पदमा नभएसम्म नेपालको आर्थिक विकास तीव्र गतिमा हुनु सम्भव छैन।

यो लेखको आशय अशिक्षित व्यक्तिहरूको अपमान गर्नु होइन। व्यक्ति अशिक्षित छ तर इमानदार छ भने ऊ शिक्षित बेइमानभन्दा लाखौं गुणा राम्रो हो। ऊ देश र जनताको सम्पत्ति हो।

यो लेखको मूल उद्देश्य देशको उच्च प्रशासनिक पदमा बस्ने (मन्त्री प्रम) हरू, देशका लागि कानून बनाउने नेता (सांसद) हरू शिक्षित हुनुपर्छ भन्ने तथ्यमा प्रकाश पार्नु हो। उनीहरू शिक्षित भएमात्र कुशलतापूर्वक कार्य गर्न सक्छन्। देशलाई आर्थिक विकासको पथमा दौडाउन सक्छन्।

मन्त्रीहरूमा त झन् आफ्नो क्षेत्रको राम्रो जानकारी हुन आवश्यक छ। उनीहरू आफ्नो क्षेत्रको विज्ञ हुन आवश्यक छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, January 8, 2021

http://www.prateekdaily.com/2021/01/blog-post_8.html