Saturday, September 25, 2021

Why Are We Poor?-Article-346

 हामी किन गरिब हुन्छौ?

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू कम्युनिष्ट नेतालाई सोध्ने हो भने उसले भन्ने छ तिमीलाई सामन्त, शोषक, दलाल पूँजीपतिहरूले गरिब बनाएका हुन। तिनीहरूलाई समाप्त नपारेसम्म गरिबीबाट मुक्ति पाइँदैन। तिनीहरूको बिरुद्धमा हतियार उठाउनु पर्छ। हतियार उठाए पछि मात्र गरिबीबाट मुक्ति पाइन्छ। उक्त कम्युनिष्ट नेताको भनाइबाट प्रेरित भएर एक व्यक्तिले तथाकथित शोषक, दलाल पूँजीपति, समान्त भनिएका विरुद्धमा हतियार उठाउँछ। संघर्ष गर्छ। शोषक, पूँजीपति भनिएका व्यक्तिहरूको हत्या गर्छ। अरुलाई पनि मार्छ, सो व्यक्ति आफू पनि मारिन्छ। मारिएको सो गरिब व्यक्तिको गरिबीबाट मुक्ति पाउने सपना, सपनामा नै सीमित हुन पुग्छ। सपनाले मूर्त रुप लिन पाउँदन। त्यो गरिब व्यक्तिको त्यो सपनाको  कम्युनिष्ट नेताबाट उपयोग मात्र हुन्छ।

कम्युनिष्ट नेताले देश र जनतालाई गरिबीको कुचक्रबाट बाहिर ल्याएको देखिएको छैन्। भारतको पश्चिम बङ्गालमा लामो समयसम्म शासन गरेको कम्युनिष्ट सरकार (ज्योती बसु, बुद्धदेव भट्टाचार्जी) ले पश्चिम बङ्गालको गरिबी कम गर्न सकेन। उल्टो त्यस राज्यमा गरिबी बढेर गयो। कम्युनिष्ट नेता ज्योती बसु २३ वर्ष (सन् १९७७ देखि २०००) पश्चिम बङ्गालको मुख्य मन्त्री भएका थिए भने अर्का कम्युनिष्ट नेता बुद्धदेव भट्टाचार्जी ११ वर्ष (सन् २००० देखि २०११) पश्चिम बङ्गालको मुख्य मन्त्री भएका थिए। उनीहरूको शासनकालमा पश्चिम बङ्गालमा गरिब कम हुन सकेन। कुनै समयमा बिहारबाट रोजगारीको लगि पश्चिम बङ्गाल विभिन्न व्यक्तिहरू जाने स्थितिमा परिवर्तन आएर पश्चिम बङ्गालबाट रोजगारीका लागि व्यक्तिहरू बिहार आउने स्थिति सृजना भयो। बरु कहिले पनि कम्युनिष्टको शासन (मुख्य मन्त्रीहरू) नभएको भारतीय राज्य गुजरातले निकै आर्थिक प्रगति गर्यो। अहिले पनि गुजरात भारतका दस धनी राज्यहरू मध्ये तेस्रो नम्बरमा पर्दछ भने पश्चिम बङ्गाल छैठौ स्थानम पर्दछ। स्रोत र साधनहरूको हिसाबले पश्चिम बङ्गाल निकै सम्पन्न मानिन्छ। भारतमा अंग्रेजहरूको शासन हुँदा भारतको राजधानी हालको कोलकाता (पश्चिम बङ्गाल) मा थियो।  

चीनिया कम्यिनिष्ट नेता माओ त्सेतुङको जस्तै शासन व्यवस्था चीनमा रहिरहेको भए अहिले चीन विश्वको दोस्रो आर्थिक महाशक्ति राष्ट्र हुने थिएन। अहिले चीनमा राजनीति कम्यिनिष्ट व्यवस्था अनुसार सञ्चालित छ भने अर्थतन्त्र पूँजीवादी ब्यवस्था अनुसार सञ्चालित छ। अहिले चीन पूँजीवादको जगमा उभिएको छ, उसको शरीर कम्युनिष्ट भएता पनि। माओ त्सेतुङको समययमा चीन आर्थिक रुपमा ज्यादै कमजोर हुन पुगेको थियो। चीनलाई कम्युनिष्ट शासन व्यवस्थाले धनी बनाएको होइन, पूँजीवादी अर्थ व्यवस्थाले धनी बनाएको हो।    

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू प्रजातन्त्रको दुहाइ दिने नेतालाई सोध्ने हो भने उसले भन्ने छ, अहिलेको, यो भ्रष्ट सरकारले तिमीलाई गरिब तुल्याएको हो। यो भ्रष्ट सरकारलाई सत्ताच्यूत गर्नु पर्छ अनि मात्र देशमा समृद्धि आउँछ। तिमीले गरिबीबाट मुक्ति पाउने छौ। त्यसकारण तिमी, मलाई चुनावमा विजयी गराउ, चुनावमा म बिजयी भएर शक्ति र सत्तामा पुगेपछि, म सरकारमा पुगेपछि, तिमीलाई, तिमीजस्तै गरिब अन्य गरिबहरूई गरिब रहन दिने छैन। उनीहरूलाई आर्थिक रुपमा सम्पन्न तुल्याउने छु। प्रजातन्त्रको दुहाई दिने नेताहरूको त्यो कुरामा विश्वास गरेर गरिबहरूले उसलाई चुनावम विजयी तुल्याउँछन। चुनावमा विजयी भएर सत्तामा पुगेको त्यो नेताले गरिबहरूसँग आफूले गरेको वाचा बिर्सिन्छ। यता, गरिबीबाट छुटकारा पाइने सपना बोकेर नेताहरूलाई चुनावमा विजयी गराउने सो व्यक्तिको भ्रम पनि टुट्छ। ऊ गरिब नै रहिरहन्छ। धनी हुन पाउँदैन।

गरिबीबाट मुक्ति पाउने हाम्रो धारणा नै त्रुटीपूर्ण। बाटो नै दोषपूर्ण छ। अप्रभावकारी छ। हामीलाई गरिब तुल्याउनमा हाम्रो शिक्षा पद्धति, परम्परा, विश्वास, संस्कृति, सामाजिक ब्यवस्था आदिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यी तत्वहरूले नै गरिबीको एउटा बलियो कुचक्र बनाएका हुन्छन। अनि हामी त्यो गरिबीको कुचक्रभित्र चक्कर काटिरहेका हुन्छौ। गरिबीको त्यो कुचक्रबाट बाहिर आउन सक्तैनौ। जस्तै, दक्षिण एशियामा जातीय व्यवस्थले पनि गरिबीको कुचक्र निर्माण गर्नमा महत्वपूर्ण कार्य गरेको छ। जातीय व्यवस्थाले गर्दा कतिपय व्यक्तिहरूले आफ्नो व्यापारिक कौसल देखाउन पाएका छैनन भने केही व्यक्तिहरू जातीय व्यवस्थाले गर्दा केही सीमित किसिमको काम (पेसा) गर्न बाध्य छन। दाउरी वा दाइजो, सम्पत्ति हस्तान्तरण (पुर्खेउली सम्पत्ति पाउने व्यवस्था), खर्चिलो विवाह जस्ता अनेक अन्य तत्वहरुले पनि हाम्रो गरिबीको कुचक्रलाई झनै बलियो तुल्याउने कार्य गरेका छन्।

गरिबीको कुचक्रबाट बाहिर आउने प्रयास व्यक्ति स्वयंले गर्ने हो। गरिबीबाट मुक्ति पाउन हामी स्वयंले अनेक प्रयासहरू गर्नु पर्छ। आफू गरिब हुनमा व्यक्तिले सर्वप्रथम आफूलाई दोषी देख्नु पर्छ अनि गरिबीबाट छुटकारा पाउने अनेक प्रयास वा उद्यम गर्नु पर्छ। हामीलाई हाम्रा प्रयत्नहरूले नै गरिबीबाट छुटकारा पाउनमा सहयोग गर्छन। जसरी, अहिले नेपाली केही युवा युवतीहरू, आफ्नै प्रयासमा, विश्वका अनेक राष्ट्रहरूमा पुगेर, अनेक पेशाहरू गरेर, आय आर्जन गरिरहेका छन, गरिबीको कुचक्रवाट बाहिर आउन खोजिरहेका छन्, त्यसैगरी अन्य युवा युवतीहरूले पनि गरिबीबाट छुटकारा पाउने अन्य उपायहरूको खोजि गर्नु पर्दछ। स्वदेश भित्र रहेरनै पनि अनेक किसिमका पेशा वा रोजगारी गरेर आय आर्जन गर्न सकिन्छ। आफ्नो गरिब कम पार्न सकिन्छ। गरिबीको कुचक्रबाट बाहिर आउन सकिन्छ।

गरिबीबाट छुकारा पाउन आफू स्वयंले सक्रिय प्रयास गर्नुको साटो नेताहरूले केही गर्लान भन्ने सोंचेर नेताहरुको वा खास किसिमको राजनीतिक व्यवस्थाको आस गर्ने हो भने गरिबीबाट छुटकारा पाउने हाम्रो सपना अधूरोनै रहिरहनेछ।

गरिबीबाट छुटकारा पाउने अनेक अनेक उपायहरू छन्। पेसा, व्यवसाय, जागिर जस्ता अनेक कार्य गेरर, आय आर्जन गरेर हामी गरिबीको कुचक्र तोडेर बाहिर आउन सक्छौ।

गरिबीको कुचक्र तोडेर बाहिर आउने अनेक तरिकाहरू मध्ये एक सरल तरिका उद्यम गर्नु हो। व्यवसाय स्ञ्चालन गर्नु हो। अन्य व्यक्तिको कार्यालयमा जागिर गर्नु वा सरकारी जागिरको मुख ताक्नु भन्दा आफूले नै कुनै नया व्यवसायको थालनी गर्नु उत्तम हो।

हामी पेशा वा कार्यलाई इज्जतसँग जोड्ने गर्दछौ। कामलाई सानो ठूलो भन्छौ। यस्तो सोंच्न र भन्नु गलत कुरा हो। हाम्रो यस्तो सोंचले हामीलाई गरिबीको कुचक्रकबाट बाहिर आउन दिइरहेको छैन। एमए वा एमबिए गरेको व्यक्तिले रोजगारीका लागि अनेक सरकारी कार्यालयको चक्कर काट्नु र निरासा बटुल्नुको सट्टा उक्त व्यक्तिले सडक छेउमा चिया पसल खोल्नु उत्तम हो।

अनेक किसिमका व्यवसायिक कार्यहरू गरेर, आय आर्जन गरेर, हामीले गरिबीको कुचक्रलाई तोड्न सक्छौ। त्यसकारण कुनै पनि व्यक्तिले गरिबीको कुचक्रबाट बाहिर आउन सर्वप्रथम ऊ स्वयंले नै प्रयास गर्नु पर्दछ। आफू गरिब हुनमा प्रत्येक व्यक्तिले पहिले आफूलाई नै जिम्मेवार ठहर गर्नु पर्छ। यस्तो गरेमा मात्र हामी गरिबीबाट मुक्त हुन सक्छौ। होइन, हामीले गरिबीका लागि सकरार वा नेताहरूलाई जिम्मेवार ठहर गर्ने हो भने नेताहरुले हामीलाई उपयोग मात्र गर्ने छन। हाम्रो गरिबी नेताहरूको लागि चुनाव जित्न वा शक्तिमा पुग्न पुल मात्र हुनेछ।

नया नया किसिमका व्यापारहरू सृजना गरेर, नया नया किसिमका पेसाहरू पत्ता लगाएर हामीले थप रोजगारी सृजना गर्न सक्छौ। ती नया नया किसिमका रोजगारीहरूले हामीलाई गरिबीको कुचक्र तोड्न सहयोग पुर्याउन सक्छन। विश्व प्रसिद्ध अमेरिकी उद्यमी बिल गेट्स भन्छन, “जन्म लिंदा यदि तिमी गरिब थियौ भने त्यस्तो हुनुमा तिम्रो कुनै पनि दोष छैन तर यदि तिम्रो मृत्यु हुँदा तिमी गरिब छौ भने त्यस्तो हुनुमा तिमी दोषी छौ (If you are born poor, it’s not your mistake, but if you die poor, it’s your mistake.) बिल गेट्सको यो भनाइले ठूलो अर्थ दिन्छ। जसरी पानीमा डुब्न थालेको कुनै एक व्यक्तिले मर्नबाट जोगिन पहिले आफूले नै हरसम्भव प्रयास गर्दछ त्यसैगरी गरिबीको कुचक्रबाट बाहिर आउन पहिले स्वयं एक व्यक्तिले नै अनेक प्रयास गर्नु पर्दछ। यस्तो गर्न सकेमा हामी नेताहरूको हतियार बन्नबाट जोगिन सक्छौ र आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सक्छौ। गरिबीको कुचक्र तोड्न सक्छौ।



विश्वराज अधिकारी

akoutilya@mail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, September 22, 2021

https://eprateekdaily.com/2021/09/23/22562/

Friday, September 17, 2021

Nepalese Economy Likely to be as Lebenan-Article-345

 नेपालको अर्थतन्त्र लेबेनानको जस्तै हुन सक्छ

लेबेनानमा अहिले जे भइ रहेको छ त्यसको लागि जिम्मेवार त्यहाँको राजनीति हो। लेबेनानका नेताहरूले नै लेबेनानलाई यो स्थितिमा पुर्याएका हुन। आर्थिक र राजनीतिक रुपमा लेबनान अहिले यति कमजोर हुन पुगेको छ कि राष्ट्रको रुपमा के यस देशको अस्थित्व रहला त भनी प्रश्न गर्नु पर्ने स्थिति उत्पन्न भएको छ।

लेबेनानमा अहिले गरिबी चुलिएको छ। लगभग ७० लाख जनसंख्या भएको यो मुलुकका २ प्रतिशत नागरिकहरू अहिले गरिबीको रेखामुनी पुगेका छन। बजारमा सामानहरूको मूल्य ६०० प्रतिशतले वृद्धि भएको छ। देशमा औषधी र इन्धनको अति अभाव छ। मेडिकल सप्लाइज र औषधी नभएर केही अस्पतालहरू बन्द भएका छन। इन्धनको अभावले गर्दा कतिपय सडकमा ट्राफिक लाइटसम्म पनि बलेका छैनन। सडकहरू अन्ध्यारो हुन पुगेका छन्।

लेबेनानको बैंकिक प्रणालीले राम्रो गरी काम गर्न छोडेको छ। अमेरिकी डलरको तुलनामा यस देशको मुद्राको ९० प्रतिशतले अवमूल्यन भएको छ। तिन चौथाइ नागरिकहरू गरिब हुन पुगेका छन्। देशमा व्याप्त अनिश्चितता, निरासा र गरिबीबाट छुटकारा पाउन हजारौ लेबनानीहरू विदेशतिर पलायन हुन बाध्य भएका छन्। ठूलो संख्यामा जन सक्ति पलायान भएकोले लेबेनानमा अहिले शिक्षित र सिपयुक्त नागरिकहरूको ठूलो अभाब छ। लेबेनानमा अहिले चारैतिर अभाव र अनिश्चितता छ। हाहाकार छ। १५ वर्षदेखि चलेको गृहयुद्धले लेबेनानको अर्थतन्त्रलाई रसातलमा पुर्याएको छ। र त्यसरी रसातलमा पुग्याउने काम त्यहाँका नेताहरूले गरेका हुन। तर कुनै समयमा लेबेनानलाई “मध्यपूर्वको स्टिट्जरलैण्ड’' भन्ने गरिन्थ्यो। नेताहरू एक आपसमा नमिलेर, सदा द्वन्दरत रहँदा देशको आर्थिक अवस्था माथि उठ्न नसक्ने गरी धरासायी हुँदै रहेछ भन्ने कुराको ज्वलन्त अहिले उदारण लेबेनान हुन पुगेको छ।  

लेबेनानको राजनीति दुई पक्षमा विभाजित छ। नेताहरू पनि सोही अनुसार दुई पक्षमा विभाजित छन। एउटा पक्षले इरानको लागि राजनीति गर्छ। अर्को पक्षले साउदी अरेबिया ( पश्चिमी राष्ट्रहरू) को लागि राजनीति गर्छ। भन्ने हो भने लेबेनानले अहिले इरान र साउदी अरेबियाको लागि परोक्ष युद्ध (Proxy war) लडिरहेको छ। लेबेनानका नेताहरूले आफूहरूलाई चरम गरिबीमा पुर्याएर पनि, देशलाई आर्थिक रुपमा टाट पल्टाएर पनि पनि इरान र साउदी अरेबियाको लागि परोक्ष युद्ध गरिरहेका छन। इरानले त लेबेनानमा ‘हेजबोल्लाह’ नाम भएको हतियारधारीहरूको एक लडाकू समूह नै गठन गरेको छ। यो लडाकू समूहको काम अनेक किसिमका उपद्रब गरेर इरानको स्वार्थ पूरा गरिदिनु हो। लेबनानलाई जहिले पनि अस्थिर पार्नु हो।

आपसी द्वन्दले गर्दा आर्थिक विकासको अपार सम्भावन बोकेको लेबेनान अहिले आर्थिक रुपमा तन्नम हुन पुगेको छ। राष्ट्रको आर्थिक स्थितिमा सुधार ल्याउन विभिन्न राष्ट्र र अन्तरार्ष्ट्रियदाता (विश्व बैंक, अन्तरार्ष्ट्रिय मुद्रा कोष आदि) हरु समक्ष हात पसार्न बाध्य हुन पुगेको छ। गएको एक वर्षदेखि लेबेनानमा सरकार थिएन। कम चलाउ सरकारले काम गरि रहेको थियो। हालै मात्र नाजिब मिकाती लेबेनानको प्रधान मन्त्री नियुक्त भएका छन। उनी कहिलेसम्म प्रम रहने हुन, उनको सरकारले कति प्रभावकारी किसिमले कम गर्ने छ, भन्न सकिने स्थिति छैन। समुन्द्रतटको छेउमा रहेको, समुन्द्री मार्गको सुविधा राम्रो भएको यो देशमा अनेक किसिमका फलफुल एवं अन्नहरू उत्पादन हुने गरेको छ। 

पन्द्र वर्षदेखि चलेको गृह युद्धले, नेताहरूको खिंचातानीले लेबेनानलाई अहिले यस्तो दयनीय स्थितिमा पुर्याएको हो। कहालीलाग्दो गरिबी निम्ताएको हो।

नेपालको स्थिति पनि लेबेनान जस्तो हुन बेर छैन। नेपालका नेताहरूले आफ्नो स्वार्थका लागि गरेका अनेक संघर्षहरूले नेपाललाई लेबेनाम बनाउने सम्भावना बढेर गएको छ। नेपालको आर्थिक स्थिति अहिले राम्रो अवस्थमा छैन। रेमिट्यान्सको भर नभएको भए नेपाल उहिले लेबेनानको हाराहारीमा पुग्ने थियो। रेमिट्यान्स र छिमेकी राष्ट्र भारतको बलियो अर्थतन्त्रले गर्दा नेपाल लेबेनान जस्तो हुन पुगेको छैन। भारतले लाखौ नेपाली नागरिकहरूलाई रोजगारी दिएर नेपालको रुग्ण अर्थतन्त्रलाई औषधी ख्वाउने काम गरेको छ। नेपालका पश्चिमी जिल्लाहरूबाट अहिले पनि ठूलो संख्यामा नेपालीहरू रोजगारीका लागि भारतका अनेक शहरहरूमा पसिरहेक छन। छिमेकी मुलुक भारतको राम्रो आर्थिक स्थिति नभएको भए, अफगानीस्तान जस्तो भएको भए, नेपालको स्थिति लेबेनान हुने थियो।  

अनुशासनहीन, अनुभवहीन र असक्षम नेताहरूको क्रियाकलापले गर्दा नेपाल लेबेनान बन्ने क्रममा छ। नेताहरूको रबैया यस्तै रहने हो, यिनीहरूले स्वार्थका लागि संसद भित्र र बाहिर कुटाकुट, गालिगलौज गरिनै रहने हो भने नेपाल लेबनान बन्न सक्छ। अझै ठूलो संख्यामा नेपालीहरू निरास र हतास भएर रोजगारीका लागि विश्वका अनेक देशहरूमा पलायन हुन बाध्य हुने छन। अहिले नै पनि नेपालको एक तिहाई नागरिकहरू रोजगारीका लागि विश्वका अनेक मुलुकहरूमा पुगेको अनुमान गरिएको छ।

नेताहरूलाई हेक्का हुन पर्ने हो कि जनताले आफ्नो अमूल्य मत दिएर र देशले ठूलो रकम चुनावम खर्च गरेर उनीहरूलाई देशको नेतृत्व गर्न, देशको हितको काम गर्न निर्वाचित गरेर पठाएको हो। नेताहरूले बिर्सन नपर्ने हो उनीहरूले पाउने पारिश्रमिक र सुविधाहरू जनताले तिरेको करबाट पाउने हो। तर नेताहरूलाई यी कुराहरूको हेक्का नभएको तथा उनीहरूले यी कुराहरू बिर्सेको जस्तो लाग्यो। नेताहरूको व्यवहार हेर्दा उनीहरू देशको हितका लागि सहमत भएर, आर्थिक विकासका लागि सामुहिक निर्णय गर्न नभएर संसद भित्र युदध गर्न निर्वाचित भए जस्तो छ। जनताले दिएको पारिश्रमिक लिएर नेताहरू दलगत स्वार्थका लागि संसदभित्र युद्ध गरिरहेका छन। आर्थिक, सामाजिक, राजनीतिक विकासका लागि क्रियाशील हुनुको साटो नेताहरू दलगत स्वार्थपूर्ति गर्न द्वन्दरत छन। संसदभित्र कुटाकुट गरिहेका छन। फर्निचर तोडफोड गरिरहेका छन। मर्यादाको सीमा उलंघन गरि रहेका छन्।  नेताहरूको यस्तो व्यवाहरले मुलुकको आर्थिक विकास हुन्छ? देशमा शान्ति र स्थिरता आउँछ? नेताहरूले यस्तो गरेर आउने पिढीलाई के सन्देश दिइरहेका छन्?

जहिले पनि द्वन्दरत रहने, दलको स्वार्थलाई मात्र प्राथमिकता दिने, सत्ता र शक्तिका लागि जेसुकै पनि गर्न तयार रहने नेताहरूलाई जिम्मेवार बनाउने र उनीहरुलाई राष्ट्रको विकासको सन्दर्भमा एकमत गराउने जिम्मेवारी जनताको पनि हो। नागरिक समाजको पनि हो।  नागरिक समाजले नेताहरूको यो व्यवहारमाथि निन्त्रण राख्नु आवश्यक हुन पुगेको छ। नागरिक समाजले यो दायित्व पूरा नगर्ने हो भने नेपाल पनि लेबनान जस्तो हुन सक्ने छ। अफगानिस्तान जस्तो हुन सक्छ।  

तर दु:खद कुरा के छ भने जनता पनि विभाजित छ। मतदाताहरूले पनि स्वार्थी नेताहरूलाई सहयोग गर्ने कार्य गरिहेका छन। उनीहरूको पक्षपोषण गर्ने काम गरि रहेका छ। उनीहरूको अमर्यादित कार्यको समर्थन गरिरहेका छन्।  

देशको आर्थिक विकासका लागि नेताहरू मिल्नुको विकल्प छैन। निरन्तरको लडाइ एवं झगाडाले मुलुकको आर्थिक विकास हुन सक्तैन। नेताहरू बिचको कलहले निरन्तरता पायो भने नेपालले एक देशको रुपमा अस्तित्व कायम गर्न पनि कठिन हुनेछ। त्यो कटु सत्य नेताहरूले बुझ्न आवश्यक छ। र नेताहरू भन्दा बढी नागरिक समाजले बुझ्न आवश्यक छ। विभिन्न दलका भएता पनि मुलुको आर्थिक विकासका लागि नेताहरू एकजुट हुन आवश्यक छ।

नेताहरू बिचको निरन्तर द्वन्द र शान्ति एवं सहमतिको अभावमा देश कतिसम्म कमजोर हुन पुग्छ, सरकार पतन भएर प्रधान मन्त्री नै अर्को देशमा पलायन हुनु पर्ने स्थिति आउन सक्छ जस्ता तथ्यहरू हामीले देखेको नै हो।  बिद्रोही तालिबान लडाकूहरूले अफगानिस्तानका बिभिन्न स्थानमा आफ्नो नियन्त्रण कायम गरे पछि आफ्नो ज्यान नै जाने भयले तत्कालीन अफगानी राष्ट्रपति असरफ घानी आफ्नो देश (अफगानिस्तान) छाडेर अन्य देशमा पलायन भएका थिए। उनको सरकार क्षणभरमा ढलेको थियो। लामो समयसम्म अफगानिस्तान सरकारविहीन हुन पुगेको थियो।

४० वर्षदेखि निरन्तर चलेको गृह कलह र नेताहरुको खिचातनीले अफगानीस्तानलाई सामाजिक र आर्थिक रुपमा बर्बाद पारेको तथ्यबाट हामीले समयमा नै शान्ति महत्वपूर्ण तत्व रहेको यथार्थ बुझ्नु पछ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, September 17, 2021

https://eprateekdaily.com/2021/09/16/22131/

Saturday, September 11, 2021

Education and Health Should Not Be Merchandise-Article- 344

 शिक्षा र स्वास्थ्यमा ब्यापार नगरौ

शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि दुई महत्वपूर्ण संरचनाहरू हुन। यी दुई संरचनाहरूले मजबुत खम्बाको काम गरेका हुन्छन। समग्रमा भन्ने हो भने कुनै पनि देशको राजनीतिक, सामाजिक र आर्थिक विकास यी दुई खम्बाहरूमा नै अडेको हुन्छ।

देशको शैक्षिक स्थिति कमजोर भएमा त्यस देशको जनता गरिबीको कुचक्रमा फंस्न पुग्छ। यसैगरी अनेक स्वास्थ्य समास्या भएका व्यक्तिहरूबाट शरारिक काम हुन नसक्ने भएकोले देशको श्रम बजारलाई जन स्वास्थ्यले गहिरो असर पारेको हुन्छ। विभिन्न किसिमका रोगबाट पीडित व्यक्तिहरूले आफ्नो र परिवारको जीविकाकाको लगि आय आर्जन गर्न सक्तैनन। यी कारणहरूले गर्दा कुनै पनि राष्ट्रले जन स्वास्थ्य र शिक्षालाई सर्वाधिक महत्व दिएको हुन्छ। विकसित एवं धनी देशमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरिबको पहुँचलाई सजिलो पारिएको हुन्छ। विकसित राष्ट्रहरूमा स्कूल (माध्यमिक) तहसम्मको शिक्षा नि:शुल्क हुन्छ।

धनी र विकासित देशमा शिक्षा र स्वास्थ्य मुख्य गरी दुई पक्षहरू- सरकार एवं समुदायले सञ्चालन गरेका हुन्छन। शिक्षा र स्वास्थ्यमाथि सरकार एवं समुदायको नियन्त्रण हुन्छ। शिक्षा र स्वास्थ्यलाई व्यापारिक वस्तु (सेवा) मानिएको हुँदैन। कसैले ठूलो र अति सुविधा सम्मपन्न अस्पताल सञ्चालन गरेर करोडौ रुपयाँ नाफ गर्ने उद्देश्य राखेको हुँदैन। जन स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई नाफा कमाउने आकर्षक र भरपर्दो श्रोतको रुपमा हेरिकएको हुँदैन। साना वा ठूला सबै किसिमका अस्पतालहरू समुदाय वा सरकारले सञ्चालन गरको हुन्छ।

यसैगरी धनी र विकशित देशहरूमा शिक्षालाई पनि व्यापारिक वस्तु (सेवा) मानिएको हुँदैन। अर्थात व्यापारीहरूले अत्यधिक मुनाफा गर्ने (आउने) किसिमबाट स्कूल वा केलजको स्थापना गरेका हुँदनन्। स्कूल वा कलेजलाई व्यापारको क्षेत्र बनाइएको हुँदैन। सरकार वा समुदायको खर्चमा स्कूल वा कलेजहरू स्थापना एवं सञ्चालन भएका हुन्छन। उपभोक्ताहरूको लागानीमा स्थापना एवं सञ्चालन भएको हुन्छ।

विकसित देशहरूमा बस्ने गरिबहरूको आम्दानीको ठूलो भाग शिक्षा र स्वास्थ्य सेवा खरिद गर्नमा जान पाउँदैन। शिक्षा र स्वास्थ्यमा बचत भएको रकम उनीहरूले अन्यत्र उपयोग गर्न पाउँछन। र यो कारणले गरिबहरूलाई पनि एक किसिमको स्तरयुक्त जीवन बाँच्न सजिलो हुन्छ।

हामी कहाँ शिक्षा र स्वास्थ्य अति खर्चिलो मात्र होइन यी दुई सेवाहरू व्यापारिक वस्तु बन्न पुगेका छन। ठूलो रकम लिएर शिक्षा र स्वास्थ्य सेवा बिक्री गरिन्छ। शिक्षा र स्वास्थ्य सेवा बिक्री गरेर लगानीकर्ताहरूले करोडौ रुपैयाँ (आय) आर्जन गर्ने लक्ष्य राखेका हुन्छ। अर्थात हामी कहाँ शिक्षा र स्वास्थ्य सेवालाई अति मुनफा लिएर बिक्री गरिने वस्तुको रुपमा किनबेच गरिएको पाइन्छ। तर यथार्थमा शिक्षा र स्वास्थ्य सेवा व्पापारिक बस्तु नबन्नु पर्ने हो। शिक्षा र स्वास्थ्यले व्यक्तिको व्यक्तित्व निर्माणमा महत्पूर्ण भूमिका खेल्न हुनाले यी दुई कुराहरूलाई व्यापारबाट ढाढा राखिनु पर्ने हो। तर स्थिति उल्टो छ, नेपालमा शिक्षा र स्वास्थ्य अति मुनाफा उत्पादन गर्ने भरपर्दो स्रोत हुन पुगेका छन्। यो स्थितिले देशको आर्थिक विकासमा प्रतिकूल प्रभाव पार्छ।

हामी कहाँ स्वास्थ्य सेवा त झन अति मुनाफ दिने व्यापार हुन पुगेको छ। निजी खर्चमा ठूला ठूला अस्पतालहरुको निर्माण एवं सञ्चालन भएका छन। अस्पतालहरू सञ्चालन गरेर व्यापारिकहरू ठूलो आम्दानी हात पारेका छन। जन स्वास्थ्य जस्तो संवेदनशील सेवा एक राम्रो आम्दानी दिने व्यापारिक वस्तु (सेव) हुन पुगेको छ। यो कारणले गर्दा गम्भीर बिमारी भएर गरिबहरूले स्वास्थ्य सुविधा लिंदा उनीहरू ऋणमा डुब्ने वा कतिपय अवस्थामा स्वास्थ्य सुविधा नपाउने स्थिति सृजना भएको छ।

हामी कहाँ स्वास्थ्य क्षेत्र कतिसम्म व्यापारमा डुबेको छ कि विद्यार्थीहरूले अध्ययनका लागि चिकित्सा विषय भविष्यमा राम्रो लाभ पाउने उद्देश्यले रोजेका हुन्छन। जसरी एउटा व्यपारीले कुनै खास किसिमको व्यापार गरेर धेरै पैसा कमाउने उद्देश्य राखेको हुन्छ त्यसैगरी युवा युवतीहरूले चिकित्सा विषय पढेर वा डाक्टर बनेर धेरै पैसा कमाउने उद्देश्य राखेका हुन्छन। भविष्यमा राम्रो आम्दानी आउने लोभमा युवा युवतीहरूले मेडिकल कलेजहरुमा भर्ना पाउन लाखौ रुपैयाँ पनि खर्च गरेका हुन्छन पनि। यसरी हामी कहाँ चिकित्सा विषयको अध्ययन पनि व्यापार हुन पुगेको छ।

हाम्रो सार्वजनिक क्षेत्र ज्यादै कमजोर भएकोले चिकित्सा र शिक्षा क्षेत्र निजी क्षेत्रको नियन्त्रणमा पुगेको हो।  र यी दुबै क्षेत्रमा अत्यधिक मुनाफा पाउने किसिमबाट निजी क्षेत्रको लगाउनी हुन पुगेको हो। शिक्षा र स्वास्थमा नेपालमा सार्वजनिक क्षेत्रबाट ज्यादै कम लगानी भएको छ। केवल सरकारलाई जिम्मेवार ठहर गरेर स्थानीयीहरूको सहभागीतामा (स्थानीय स्तरमा खर्च बेहोरेर) स्कूल, कलेज तथा अस्पतालहरूको स्थपाना ज्यादै कमै भएको पाइन्छ। स्थानीय स्तरमा स्कूल, कलेज, अस्पतालहरूको स्थपना भएर, मुनाफा नलिने किसिसमबाट ती संस्थाहरूको सञ्चालन हुने हो भने शिक्षा र स्वास्थ्यलाई पनि निर्धनहरुको पहुँच भित्र ल्याउन सकिन्छ।

नेपालमा सार्वजनिक क्षेत्र ज्यादै नै कमजोर छ। अर्थात स्थानीय स्तरमा मिलेर, सार्जनिक लगानीमा अनेक किसिमका आर्थिक विकासका पूर्वाधारहरू (स्कूल, कलेज, अस्पताल, पूल, सडक, नाला, भवन, शीत भण्डार, बीज भण्डार) निर्माण गर्न परिपाटी हामी कहाँ शून्य बराबर छ। केवल सरकारलाई मात्र हरेक कार्यको लागि जिम्मेवार ठहर गर्ने हाम्रो परम्परागत स्वभाव वा मान्यताले गर्दा अनेक किसिमका श्रोत र साधनहरू भएता पनि हामी आर्थिक विकासको मामिलामा निकै पछाडि छौ। हाम्रो उन्नति र प्रगतिको लागि अनेक क्रियाकलापहरू अरु (सरकार) ले होइन हामीले नै गर्ने हो भन्ने भावना प्रत्येक व्यक्तिमा जागृत नभएसम्म हामी गरिबीको दलदलबाट बाहिर आउन कठिन छ। रोजगारीका लागि हामीले विदेश धाउनु पर्ने स्थितिको यही अवस्थमा रहिनै रहने छ।

नेपालका चर्चित सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीले राष्ट्रको आर्थिक एवं सामाजिक विकासमा स्वास्थ्य सेवाको महत्व उच्च हुन्छ र स्वास्थ्य सेवा गरिबहरुको दैलो दैलोमा पुर्याउन स्वास्थ्य क्षेत्रमा निजी होइन सार्वजनिक क्षेत्रको लगानी हुनु पर्छ भन्ने कुरा राम्रो गरी बुझेका छन्। त्यसकारण डाक्टर केसीले निजी क्षेत्र होइन, सार्वजनिक तथा सरकारी क्षेत्रवाट मेडिकल कलेजहरुको स्थपना हुनु पर्छ र त्यस्ता मेडिकल कलेजहरुमा गरिबका सन्तानहरूले पनि डाक्टरी शिक्षा पढ्न पाउनु पर्छ भन्ने कुरामा जोड दिइ रहेका छन। नेपालको चिकित्सा विषयको अध्ययन भन्ने हो भने एक किसिमले धनीहरूको हातमा पुगेको छ। स्वास्थ्य सेवा यो कारणले गर्दा महँगो हुन पुगेको छ। गरिबहरूको पहुँच भन्दा पर पर पुगेको छ।

संसारभरिका गरिबहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न तयार रहने केसीको ‘स्वास्थ्य दर्शन’ वा ‘स्वास्थ्य सम्बन्धी वकालत’ यो कारणले गर्दा पनि लोकप्रिय हुन पुगेको हो। उनीप्रति जन समर्थन अतिनै बढेर गएको छ। नेपालको सन्दर्भमा भन्ने हो भने उनले एक प्रम भन्दा उच्च सम्मान तथा माया पाएका छन।

२१ सेप्टेम्बर (२०२१) विश्व शान्ति दिवस हो। यो शान्ति दिवसको दिन डा केसीको अगुआइमा संयुक्त राज्य अमेरिका स्थिति न्युयोर्क शहरमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय अगाडी ‘विश्व शान्ति, सद्भाव र समानताका’ का लागि  शान्तिपूर्ण प्रदर्शन हुने कार्यक्रम रहेको खबर हालै सार्वजनिक भएको छ। केही दिन पछि डा केसी अमेरिका आउने कार्यक्रम रहेको छ। समाचार स्रोतहरू भन्छन, “डा गोविन्द केसीले विश्व शान्ति दिवसको अवसरमा सुंक्त राष्ट संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्।”

यो लेखको उद्देश्य निजी क्षेत्रलाई स्वास्थ्य र शिक्षा व्यवसायबाट पर राख्नु पर्छ भन्नु होइन। औषधी उत्पादन, वितरण, मेडिकल औजार उत्पादन, मेडिकल सप्लाई उत्पादन जस्ता कार्यहरूमा निजी क्षेत्रको सहभागिता हुनु पर्दछ। यसैगरी शिक्षा सामाग्रीहरू उत्पादन एवं वितरणमा पनि निजी क्षेत्रको संलग्नता हुनु पर्दछ। कुनै पनि देशको अर्थतन्त्रमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने हुनाले स्वास्थ्य र शिक्षा क्षेत्रमा निजि क्षेत्रको भूमिका पनि महत्वपूर्ण रहने यथार्थ विर्सन मिल्दैन।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, September 10, 2021

https://eprateekdaily.com/2021/09/09/21629/


Friday, September 3, 2021

Nepalese Economy Under a Shadow-Article-343

 बामपन्थी बिचारको छायामा राष्ट्रिय अर्थतन्त्र

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ। यो बिचार बोकेर हिंड्ने राजनीतिक दल र नेता दुबै पक्षले चुनावमा अपार सफलता प्राप्त गरेको इतिहास छ। यति मात्र होइन, बामपन्थी बिचार बोकेर वा बामपन्थीहरूले गरेका संघर्ष, गृहयुद्ध, द्वन्द, बिद्रोह आदि पनि सफल भएका छन। बामपन्थीहरूले वा उनीहरूको सहयोगमा गरिएको आन्दोलनले शासक, व्यवस्था एवं संविधान समेत पनि परिवर्तन गरेको नेपालमा ताजा इतिहास छ। पञ्चातती व्यवस्था समाप्त पार्न २०४६ सालमा गरिएको संघर्ष बामपन्थीहरूको प्रभावकारी सहयोगले नै सफल भएको थियो। माओवादीहरूले गरेको बिद्रोह (२०५२ देखि २०६२) ले तत्कालीन सरकारी (संस्थापन) पक्षलाई उक्त बिद्रोही पक्षसङ्ग सम्झौता गर्न वाध्य पारेको थियो। र मुख्य गरी बामपन्थीहरूको सक्रिय प्रयासबाट नै नेपालमा राजतन्त्रको अन्त्य भएको थियो। कांग्रेस र अन्य दलको भूमिका केवल सहयोगी मात्र थियो।

नेपालमा बामपन्थीहरूको बलियो प्रभाव भएता पनि, नेपालको केन्द्रीय राजनीति बामपन्थी दलहरूको वरिपरि घुमेता पनि नेपालमा आर्थिक विकास किन तिब्र गतिमा हुन सकेन? गरिबहरूप्रति विशेष सहयोगात्मक भावना राख्ने बामपन्थी बिचार बोकेर हिंड्ने बामपन्थी नेताहरू ठूलो संख्या मन्त्री, प्रधान मन्त्री भएता पनि नेपालको आर्थिक विकास किन कछुवा चालमा सीमित हुन पुग्यो? नेपालको राष्ट्रिय अर्थनीति, योजना, कार्यक्रम आदिमा बामपन्थी नेताहरूको निर्णायक भूमिका एवं प्रभाव भएता पनि नेपालले किन तिब्र गतिमा आर्थिक विकास गर्न सकेन? रोजगारको लागि घरपरिवार, समाज, देश छाडेर ठूलो संख्यामा नेपाली युवा युवतीहरू विदेश जाने क्रम किन रोकिएन? नेपाली प्रतिभाहरू किन ठूलो संख्यामा विदेशतिर पलाएन भइरहेका छन?

माथिका प्रश्नहरूको उत्तर खोज्नु पूर्व आउनु होस नेपालमा बामपन्थी विचार किन अति लोकप्रिय छ त्यसबारे चर्चा गरौ। नेपाललाई प्रचलित सामाजिक मनोवृति, भूगोल र राजनीतिक व्यवस्था (पञ्चायत) ले थप गरिब पारेको हामीलाई राम्रो गरी थाहा छ। यी तत्वहरूले नेपालीहरूलाई गरिबीको कुचक्रभित्र घुमाइनै राखे। गरिबी वृद्धि भइनै रह्यो। राष्ट्रिय समृद्धि बढ्न सकेन। वहुसंख्यक वा चुनावमा निर्यणायक भूमिका खेल्ने गरिब मतदाताहरू गरिब नै रहे। यस्तो स्थितिमा गरिबहरू बामपन्थी नेताहरूको विचारबाट प्रभावित हुनु र चुनावमा उनीहरुलाई मत दिएर विजयी गराउनु स्वभाविक हुन पुग्यो। बामपन्थी विचार गरिबहरूको मुक्तिदाताको रुपमा प्रस्तुत र परिचित भएकोले गरिबहरुले बामपन्थी नेताहरुलाई चुनावमा विजयी गराउनु अनौठो होइन पनि। यसरी गरिब मतदाताहरूले गैरबामपन्थीँ विचार भएका तर असल विचारका राजनीतिक नेता भएता पनि हरूलाई आफ्नो वर्गीय शत्रू देखे तर बामपन्थी विचार भएका राजनीतिक नेता खराब (आर्थिक भ्रष्टाचार गर्ने, कुचरित्र आदि) भएता पनि उहीहरूलाई वर्गीय मित्र देखै। गरिब मतदाताहरूको यो बलियो अवधारणा वा विश्वासले यति सम्म काम गर्यो कि (यो अवधारणाले गर्दा) उनीहरूले बामपन्थी विचार बोकेका तर प्रवृतिले खराब नेताहरुलाई पनि चुनावमा अत्यधिक मत दिएर विजयी गराए तर राम्रो प्रवृति भएता पनि गैर बामपन्थी विचार भएका नेताहरूलाई आफ्नो मत दिएर विजयी गराएनन। यो कारणले गर्दा निर्णय तह (सरकार, संसद, प्रशासन आदि) मा बामपन्थीहरूको संख्या त बढ्यो तर गरिबी विरुद्धको लडाइमा सक्रिय रहने नेताहरूको संख्यामा वृद्धि हुन सकेन। देश र जनताको सेमवामा समर्पित हुने नेताहरू इमान्दार संसदभित्र पुग्न सकेनन।  

अर्कोतिर, भोलिका दिनमा गरिबीबाट मुक्ति पाइएला भन्दै गरिब मतदाताहरूले निर्वाचित गरेर पठाएका बामपन्थी नेताहरू केवल शक्तिको खेलमा लिप्त रहे।  नेपालको राजनीतिक इतिहास हेर्ने हो भने २००७ सालदेखि अहिलेसम्ममा सर्वाधिक विभाजन, गृहकलह, मतभेद बामपन्थी दलहरूमा भएको छ। अधिकांस बामपन्थी नेताहरू (केही अपवादलाई छाडेर) राष्ट्रिय गरिबी निवारणका लागि होइन अहम् पूर्तिका लागि राजनीतिमा लागेको हुनाले त्यस्तो हुनु अस्बभिक पनि होइन। हुन त नेपाली कांग्रेस, मधेसी दल, सबैतिर व्यक्त्तित्वको संकट छ तर सर्वाधिक व्यक्तित्व संकट बामपन्थी दलमा छ। माधव नेपाल र केपी ओली बिचको द्वन्द पनि व्यक्तित्व सङ्कटको परिणाम हो। यी दुई व्यक्तिहरूको व्यक्तित्व संकटले गर्दा अधिकांस बामपन्थीहरू कौरव र पाण्ड सरह विभाजित छन्।

नेपालमा बाम विचार गरिबी निवारणका लागि होइन चुनावमा विजयी हुन (गरिबहरुलाई लोभ्याउने) प्रभावकारी माध्यमको रुपमा प्रयोग भएको छ। अर्थात बाम बिचार बल्छीमा गाँसिएको ‘चारा’ भएको छ। र त्यो चारा (बाम बिचार) ले माछा (मतदाता आफ्नो पक्षमा ल्याउने) समात्ने काम गरिरहेको छ। आम मतदाताहरू दसकौदेखि माछा जस्तै बल्छीमा फँस्दै आएका छन।

चीनमा प्रचलित बाम बिचारले त्यस देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। हामी कहाँ उल्टो बाम बिचारले बैचारिक शोषण गरेर जनतालाई थप गरिब पार्ने काम गरेको छ। संक्षेपमा भन्ने हो भने नेपालको राष्ट्रिय अर्थतन्त्र बाम विचारको भारिले थिचिएको छ। बाम बिचारको छायामा परेको छ।

नेपालको राजनीतिक अवस्था र अर्थ व्यवस्था दुबैलाई सर्वाधिक अस्त व्यस्त बामपन्थी आन्दोलनहरुले नै पारेका छन। अर्थ व्यवस्थाका दुई आधारभूत स्तमम्भहरू – आयात र निर्यातलाई नराम्रो गरी हल्याएका छन। माओवादी आन्दोलन (२०५२-२०६२) को समयमा नेपालको औधोगिक एवं व्यापारिक अवस्था कुन स्थितिमा पुग्यो त्यो हामीले देखे भोगेको कुरा नै हो।

ओली सरकार (बामपन्थी सरकार) निर्माण भएदेखि, उक्त सत्तारुढ दलभित्र खिचलो शुरु भएदेखि, राष्ट्रिय राजनीति नै अस्थिर हुन पुग्यो। गरिबी निवारणका लागि प्रभावकारी हुने योजान तथा कार्यक्रमहरूको निर्माण एवं कार्यान्वयन हुन सकेन। निर्णय तहमा बस्ने (प्रम, मन्त्री, सांसद, उच्च प्रशासक आदि) व्यक्तिहरूको समय केवल कलहमा खर्च भयो।  विकास एवं निर्माण कार्यमा खर्च हुन सकेन।

यसरी, राष्ट्रिय अर्थ व्यवस्था गरिबीलाई भर्यांग बनाएर आफ्नो उच्च राजनीतिक महत्वाकांक्षा पूरा गर्ने केही बामपन्थी नेताहरूको उच्च महत्वकांक्षाले नराम्रो गरी थिचिन पुगेको छ। राष्ट्रिय अर्थ व्यवस्थालाई उठ्न कठिन भइरहेको छ।

बामपन्थी नेताहरुले कुर्सी मोह त्याग गरेर जनताको लागि निस्वार्थी भइ काम गर्न आरम्भ नगरेसम्म जनतालले गरिबीबाट मुक्ति पाउन कठिन छ।

बामपन्थी नेताहरूलो आफ्नो बोली र व्यवाहरमा समानता ल्याउन आवश्यक छ। यदि उनीहरुले, आफूले गरिबीहरूलाई गरिबीबाट मुक्ति दिने विचार बोकेको ठान्छन भने सोही अनुसार उनीहरू गरिबी निवारणतर्फ अग्रसर हुनु पर्छ।   

आफ्नो गाउँ, शहर, समाज र समग्र देशको आर्थिक विकास गर्न, सीमान्तकृत गरिबहरूको आर्थिक स्थितिमा सुधार ल्याउन कुनै रानीतिक सिद्धान्त नै बोक्नु पर्छ भन्ने छैन। राजनीति नगरेर पनि देश र जनताको सेवा गर्न सकिन्छ। बंगलादेशका उद्यमी, बैंकर एवं अर्थशास्त्री मुहम्मद युनुस जस्तो गरिबहरूको हितका लागि निस्वार्थ काम गर्न सकिन्छ। बंगलादेशमा व्याप्त गरिबी कम पार्नमा उनले ठूलो योगदान पुर्याए। युनुसले स्थापना गरेका ‘ग्रामिण बैंक’ र उनको, स्यवंको सक्रिय प्रयासमा, हजारौ गरिब बङ्गलादेशीहरुको आर्थिक स्थितिमा सुधार आयो। युनुसको कुनै राजनीतिक दलसङ्घ सुदूरको पनि साइनो छैन। गरिबी निवारणका लागि उनले कुनै वाद (साम्यवाद, समाजवाद, पूँजीवाद) को पनि प्रयोग गर्नु परेन। गरे त केवल आफ्नो निस्वार्थ भावको प्रयोग। युनुसको यही निस्वार्थ भावले उनलाई ‘नोवेल शान्ति पुरस्कार’ प्राप्त गर्न सहयोग गर्यो। युनसले गरिबहरुको लागि काम गरे बापत ‘युनाइटेड स्टेट्स प्रेसिडेन्सिएल मेडल अफ फ्रिडम’ (२००९) र ‘कंग्रेसनल गोल्ड मेडल’ (२०१०) प्राप्त गरिसकेका छन्। केवल एक व्यक्तिको सोंचले मात्र पनि कुनै एक राष्टको मात्र होइन संसारभरि रहेका गरिबहरुको आर्थिक दसामा सुधार ल्याउन सकिन्छ भन्ने कुरा युनुसको सफलताबाट ज्ञात हुन्छ।

बामपन्थी नेताहरूले बाम बिचारलाई केवल चुनाव जित्ने रणनीतिको रुपमा प्रयोग नगरेर देशको आर्थिक विकासमा प्रयोग गर्नु पर्ने बेला अब आएको छ। बाम बिचारको लोभ्याउने ‘ललिपप’ बाट देशको अर्थतन्त्रलाई जोगाउनु पर्ने बेला आएको छ। नेपाली अर्थतन्त्र बाम बिचारको छायामा परेर अर्थतन्त्र फष्टाउन नसकेको धेरै भयो।

खासमा भन्ने हो भने बामपन्थी बिचारका पहिलो तहका नेताहरुले अब त राजनीतिबाट सन्यास लिए हुन्छ। नया नया नेताहरूलाई देश विकास गर्ने औसर दिए हुन्छ। यी नेताहरूले अब जनतालाई बामपन्थी विचार रुपी ललीपप (गरिबको हितमा कार्य गर्ने वा गरिबी निवारण गर्ने) देखाएर उल्टो गरिब जनताको शोषण गर्ने काम बन्द गर्नु पर्छ।



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, September 3, 2021 

https://eprateekdaily.com/2021/09/02/21129/

Thursday, September 2, 2021

Could India Be a Super Economic Power?-Article-342

 के भारत नम्बर एक आर्थिक महाशक्ति होला?

विश्व आर्थिक महाशक्तिहरूको श्रेणीमा अहिले (सन् २०२० को तथ्यांक अनुसार) एक नम्बरमा संयुक्त राज्य अमेरिका ,दुई नम्बरमा चीन र छ नम्बरमा भारत रहेको पाइन्छ। केही वर्ष भित्रमा यो क्रम बदलिएर एक नम्बरमा चीन दुई नम्बरमा संयुक्त राज्य अमेरिका र तिन नम्बरमा भारत विश्व आर्थिक महाशक्तिको रुपमा उदाउने अनुमान विज्ञहरूले गरिरहेका छन। केहीले त भारत केही वर्ष भित्रमा नै विश्वको नम्बर एक आर्थिक महाशक्ति हुने अनुमान समेत गरिरहेका छन। तर भारतको जनसंख्याको प्रकृति, राष्ट्रिय आय वितरणको स्थिति, क्षेत्रीय बजारमा भारतको भूमिका, छिमेकी राष्ट्रहरू सँग भारतको राजनीति एवं आर्थिक सम्बन्ध, भारतीय अर्थतन्त्रमा धर्मको प्रभाव, भारतको आन्तरिक राजनीति आदि जस्ता तत्वहरूको मूल्यांकन गर्दा भारत विश्वको एक नम्बर आर्थिक महाशक्ति हुने सम्भावना देखिंदैन। विश्व आर्थिक महाशक्ति हुने दौडमा भारतको स्थान कहिले छैठौ, कहिले पाँचौ त कहिले  चौथोमा नै सीमित हुने देखिन्छ। भारत किन एक नम्बर आर्थिक महाशक्ति हुन सक्तैन? आउनुहोस यो प्रश्नको उत्तर खोज्यै।  

क्यानाडा र मेक्सिको दुई निकट छिमेकीहरूसँग अमेरिकाले जसरी सुमधुर सम्बन्ध कायम गरेर राम्रो व्यापारिक फाइदा हासिल गरेको छ त्यस्तो भारतले गरेको छैन र भारतले गर्न सक्ने पनि देखिंदैन। गर्दैन पनि। भारतको पाकिस्तानसँग परम्परागत शत्रुतता छ भने नेपाल र बङ्गलादेशसङ्ग पनि राम्रो सम्बन्ध छैन। कश्मीरको समस्याले गर्दा भारत र पाकिस्तान बिच राम्रो व्यापारिक सम्बन्ध स्थापना हुने सम्भावना सुदूर क्षितिजसम्म पनि देखिंदैन। उल्टो भारत र पाकिस्तान बिचको कटुतापूर्ण व्यवहारले गर्दा उच्च सम्भावना बोकेको क्षेत्रीय बाजर (SAARC South Asian Association for Regional Cooperation) ले प्रभावकारी किसिमले काम गर्न पाएको छैन। यो वृहत् बाजरले राम्रो गरि काम गर्न पाउने हो भने यस क्षेत्रमा विद्यमान बेरोजगारी र गरिबी कम हुने थियो। अफगानिस्तानमा तालिबानहरूको पुन: कब्जाले भारत र पाकिस्तान बिचको कटुतापूर्न सम्बन्धलाई झनै विध्वासत्मकतातिर लग्ने सम्भावना बढेर गएको छ। भारतले तालिबानहरूको विरोध गर्छ भने पाकिस्तानले तालिवानहरूलाई सहयोग गर्ने मात्र होइन हात हतियार, प्रशिक्षण आदि पनि तालिबानहरू दिन्छ भनी विश्वास गर्नेहरू धेरै छन्। अफ्गानिस्तानलाई लिएर हुने भारत र पाकिस्तान बिचको झगडाले यस क्षेत्रको व्यापारलाई अवश्य पनि प्रभावित गर्नेछ।

राष्ट्रिय आय वितरणको हिसाबले हेर्ने हो भने भारतमा गरिब र धनी बिचको खाडले विशाल गहिरो छ। यति ठूलो अन्तर विश्वमा अन्त कतै सजिलै देख्न पाइँदैन। भारतका धेरै परिवारहरू युरोप र अमेरिकाका अति धनीहरू परिवारहरूझै धनी छन्। उनीहरू अति विलासी जीवन बाँचिरहेका छन्। तर अर्कोतिर भारतमा अहिले पनि झोपडपट्टीमा बस्नेहरूको संख्या अति उच्च छ। भारतमा ८ करोड व्यक्तिहरू अहिले पनि झोपट्टीमा बस्छन। विश्वभरिमा झोपडपट्टीमा बस्नेहरू मध्ये भारतमात्र १७ प्रतिशतको बसोबास छ। गरिब र धनी बीचको यति ठूलो विशाल खाडल अमेरिका र युरोपमा देख्न पाइँदैन। अमेरिका र युरोपमा पनि घरबारविहीनहरू छन तर यति ठूलो संख्यामा छैनन्। भारतमा ज्यादै गरिबहरूको संख्या उच्च बिन्दुमा। यो कारणले गर्दा भारत धनी राष्ट्र हुन सक्छ तर प्रति व्यक्ति आय वितरणको हिसाबले धनी राष्ट्र हुन सक्तैन।  

जसरी चीनको राष्ट्रिय व्यापार केन्द्रिय सरकारको नियन्त्रण छ भारतमा त्यस्तो छैन। भारत एक प्रजातान्त्रिक राष्ट्र भएकोले यसले नियन्त्रण गरेर आफ्ना व्यापारीहरूलाई आफूले चाहेको दिशमा हिंड्न बाध्य पार्न सक्तैन। राष्ट्रिय फाइदा भन्दा आफ्नो फाइदलाई बढी महत्व दिन व्यापारीहरूको विशेष चरित्र भएकोले भारतलाई व्यापारीहरू उपर  नियन्त्रणकारी कार्य गर्न कठीन हुन्छ तर चीनलाई यो कार्य गर्न कठिन हुँदैन।

कम्युनिष्ट संस्कृतिमा वहुसंख्यक चिनियाहरू हुर्केको हुनाले उनीहरूमा धर्मान्धता र धार्मिक कट्टरता छैन। यो कारणले गर्दा चिनियाहरू काम, नाफा र व्यापारलाई अधिक महत्व दिन्छन। चिनियाहरूको पहिलो प्राथमितामा आम्दानी पर्छ। धर्म पर्दैन। हजारौ चिनियाहरू एकै दिनमा कुनै स्थानमा पुगेर मन्दिर वा त्यस्तै धार्मिक स्थल उनीहरूल चकनाचूर पारको कहिं कतै सुनिएको छै। भारत र अफगानिस्तानमा त्यस्तो भएको छ।

 भारतमा धर्मले राजनीतिलाई अधिक प्रभाव पारेको छ नै त्येतिकै प्रभाव व्यापारलाई पनि पारेको छ। भारतको जनसंख्या नै धर्मको नाममा विभाजित छ। भारतमा, धर्म नेताहरूको लागि चुनाव जितेर सरकारमा जाने भर्याङ्ग बनेको छ भने अर्कोतिर त्येही अति धार्मिक भावनाले भारतको राष्ट्रिय व्यापारलाई नराम्रो गरी प्रभावित गरेको छ।

विज्ञान र प्रविधि दुबै क्षेत्रमा चीन भारत भन्दा निकै अगाडि छ। केही वस्तुको उत्पादनमा चीनले उच्च परिमाणमा उत्पादन गर्दा पाइने आर्थिक फाइदा (economy of scale) पाइरहेको छ। खास गरी एलेक्ट्रोनिक सामानहरूको उत्पादनमा उत्पादन लागत कम गर्न चीनले उच्च कुशलता प्राप्त गरेको छ। यो कारणले गर्दा चिनिया सामानहरू विश्वको जुन सुकै बजारमा पुग्दा पनि अन्य प्रतिस्पर्धी बस्तुहरू भन्दा सस्तो हुन पुगेका छन्। नेपाली बजारहरूमा हामीले सामान खरिद गर्दा भारतीय वस्तुहरू भन्दा चिनिया वस्तुहरू सस्तो रहेको हामीले देखे, भोगेको कुरा हो। यो कारणले गर्दा पनि चीनको तुलनामा भारतको राष्टिय ब्यापारको आकार तत्काल बढ्ने सम्भावना देखिंदैन।

भोलिको दिनमा के होला, चीनको मनमा पनि ठूल दाइ हुने भावना जागृत होला, अहिले भन्न सकिने स्थिति छैन, तर आजको दिन सम्म चीनले आफ्ना छिमेकीहरूलाई दबार वा आफ्नो सुरक्षा छाताभित्र राख्न खोजेको छैन। चीनले आफ्ना छिमेकीहरूसङ्ग ठूलो दाइको व्यवहार गरेको पनि छैन। आफ्नो राजनीतिक स्वार्थ कुनै राष्ट्रले पूरा नगरिदिंदा त्यस राष्ट्र उपर चीनल व्यापारिक नाकाबन्दी लगाएको सुनिएको छैन। तर भारतले छिमेकी राष्ट्रहरूसँग ठूलो दाइको सम्बन्ध राख्न खोजेको र नेपाल माथि व्यापार नाकाबन्दी लगाएएको हामी सबैले देखेको कुरा हो। तर भारतको यो व्यवाहारले भारतलाई नै बेफाइदा पुग्ने देखिन्छ। र यो कारणले गर्दा भारतले नेपाल, श्रीलंका, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान जस्ता मुलुकहरुमा निर्यात गर्दा असहजता महसुस गर्नु परको छ।।

भारतीय समाजको ठूलो हिस्साले धन प्राप्तिलाई आकस्मिकता वा ईश्वरको कृपा मान्दछ। त्यहाँ कुनै पनि व्यक्ति अत्यधिक धन आर्जन गर्न सफल भएमा उसले आफ्नो कुशलता भन्दा इश्वरको कृपालाई धन आर्जन कारक तत्व मान्दछ। भारतीय समाज भाग्यवादी समाज हो। धनको लागि भारतीय समाजले धनकी देवीको पूजा गर्छ। लगभग हरेक व्यक्तिले धन पाउन धनीकी देवीको पूजा गर्छ। चिनिय समाज कर्मवादी समाज हो। कुनै पनि व्यक्ति धनी हुनुमा उसको कार्यकुसलता जिम्मेवार रहेको विचारमा चिनिया समाजले बलियो गरि विश्वास गर्छ। हेर्दा यो कुरा सामान्य देखिएता पनि यो कुराले कुनै राष्ट्रलाई धनी वा कुनै राष्ट्रलई गरिब तुल्याउनमा महत्वपूर्ण भूमिका खेलेको हामीले देखेका नै छौ।

यस बाहेक भारतीय समाजमा काम सँग इज्जतलाई जोड्ने गरिन्छ। यो काम ठूलो यो काम सानो भन्ने भावले समाजलाई ग्रसित गरेको छ। सानो मानिएको काम नगरेर पनि बेरोजगार हुनेहरूको संख्या भारतमा उच्च छ।

यस्ता अनेक दृश्य तथा अदृश्य कारणहरू छन् जसले भारतलाई एक नम्बर आर्थिक महाशक्ति हुन दिने छैनन्। तर एक नम्बर आर्थिक महाशक्ति हुन सक्ने सम्भावना भने भारतमा प्रचूर मात्रामा छ। भारतको जनसंख्या ठूलो छ, दक्ष कामदारहरूको कमी छैन, पूँजीको पर्यप्तता छ, प्रविधिमा अगाडि छ र यस्ता कुराहरुले आर्थिक महाशक्ति हुन सहयोग पुर्याउँछ। तर माथि उल्लेख गरिएका कारणहरूले भारतलाई एक नम्बर आर्थिक महाशक्ति हुन दिने छांटकांट देखिंदैन।

हुनत भारत नम्बर एक आर्थिक महाशक्ति हुनु नेपालको लगि राम्रो हो। चीन एक नम्बर आर्थिक महाशक्ति हुने स्थितिमा भन्दा भारत एक नम्बर आर्थिक महाशक्ति हुने स्थितिमा नेपाललाई राम्रो आर्थिक फाइदा हुन्छ। भारत एक नम्बर आर्थिक महाशक्ति भएको स्थितिबाट आर्थिक फाइदा उठाउनका लागि नेपालले भने भारतबाट असल छिमेकीको व्यवहार र सोंच दुबै राम्रो पाउन आवश्यक छ।




विश्वराज अधिकारी

akoutilya@gmail.com

Friday, August 27, 2021

https://eprateekdaily.com/2021/08/26/20635/