Friday, October 29, 2021

Economic Power: Superpower-Article-350

 आर्थिक शक्ति नै महाशक्ति

शैन्यशक्ति र हतियारको बलमा राष्ट्रहरू शक्तिसाली हुने समय अब रहेन। केही दसक पूर्वसम्म भने त्यो स्थिति थियो। त्यो समयमा तत्कालीन सोभियत रुसले विश्वका अनेक राष्ट्रहरूमा शैन्य बलको प्रयोग गरेर आफ्नो प्रभुत्व कायम गरेको थियो। अमेरिकाले पनि शैन्य बल प्रयोग गरेर अनेक राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्र भित्र राख्ने प्रयास गर्यो। तर अहिले भने शैन्य बल – रणनीतिमा परिवर्तन आएको छ। अहिले शक्तिसाली राष्ट्रहरूले शैन्य शक्तिले होइन आर्थिक शक्तिले विभिन्न राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्रमा राख्ने प्रयास गरिरहेका छन्। अमेरिका, चीन, युरोपियन युनियन आदिले आर्थिक शक्ति प्रयोग गरेर अनेक राष्ट्रहरूलाई आफ्नो अनुकूल हिंड्न बाध्य पारेको हामीले देख्दै आइरहेका छ। यहाँसम्म कि कतार जस्तो अति सानो मुलुकले पनि केवल आफ्नो आर्थिक शक्ति प्रयोग गरेर विभिन्न मुलुको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेको छ। खाडी क्षेत्रमा एक शक्तिसाली राषट्रको रुपमा उदाएको छ। केही दसक पहिले सम्म विश्व मानचित्रमा कतार भन्ने राष्ट्र कहाँ छ भन्ने कुरा धेरैलाई थाहा थिएन।

यो लेख आरम्भ भने सुडानको ताजा राजनीतिक घटनाबाट गरौ। सुडानको बर्तमान सरकारलाई सेनाले केही दिन पहिले मात्र विस्थापित गरेको छ। समाचारहरूले सुडानको सेनाले शैनिक शासन लागू गरेको उल्लेख गरि रहेका छन्। सुडानी सेनाका केही अधिकारीहरूले भने सेनाको यो कदमलाई नागरिक सरकार स्थापना गर्नका लागि चालिएको प्रारम्भिक कदम भन्दै छन। यो शैनिक सत्ता पलट (military coup) होइन भन्दै छन्। यथार्थमा भने सेनाले सुडानामा सत्ता पलट गरेको नै हो। सत्ता आफ्नो हातमा लिएको हो।

 सुडानी सेनाको यो कदमलाई अमेरिकी प्रशासन र युरोपियन युनियनले पटक्कै मन पराएको छैन। अमेरिकाले सुडानी सेनाका अधिकारीहरूलाई चेताबनी स्वरुप तत्काल सुडानी नेताहरूको रिहाइ गर्न एवं अपदस्त गरिएको सक्रमणकालीन सरकारको बहाली गर्न भनेको छ। साथै सुडानी शेनालाई त्यहाँ भइरहेको रक्पातबाट अलग रहन भनेको छ। त्येति मात्र होइन, अमेरिकाले सुडानलाई सहयोग स्वरुप दिने भनेको ७०० मिलियन डरल पनि अहिलेलाई रोक्का गरेको छ। अमेरिकाले सुडानी सेनालाई रोक्न आर्थिक जंजिर तानेको छ।

लामो समयसम्म अनेक द्वन्दको चपेटमा परेर सुडानको आर्थिक स्थिति दयनीय हुन पुगेको छ। विदेश जान सक्ने स्थितिमा रहेका अनेक पढेलेखेका युवाहरूले सुडान छाड्ने क्रम जारि छ। सुडानमा अहिले गरिब र हाहाकार छ। यस्तो अवस्थमा अमरिकाले सुडानलाई दिने आर्थिक सहयोग रोक्का गर्नु सुडानको हाल वा आउने सरकारलाई थप समस्या हुनेछ। अर्को शब्दमा भन्ने हो भने, यदि सेनाले नै सुडानको प्रशासन हातमा लिएमा उसलाई देश भित्र आइपर्ने अनेक आर्थिक संकट समाधान गर्न गाह्रो पर्नेछ। सेनाले सुडानमा शासन गर्ने कठिन हुनेछ। अन्तत्वगत्व, सुडानको सेनाले अमेरिका निर्देशन मान्न बाध्य हुनु पर्नेछ। सुडानी सेनालाई अमेरिकाको प्रभावमा आउन अमेरिकाको आर्थिक शक्तिले बाध्य पार्ने छ।

अमेरिकाले कुनै पनि किसिमको शैन्य बल प्रयोग नगरेर पनि अनेक राष्ट्रहरूमा आफ्नो राजनीतिक प्रभाव कायम गर्न सक्छ। आर्थिक शक्ति कति बलियो हुने गर्दछ भन्ने यथार्थ उल्लेख गर्नका लागि सुडानको स्थिति प्रस्तुत गरिएको हो। अमेरिकाले शैन्यशक्ति होइन आर्थिक शक्ति प्रयोग गरेर सुडानको राजनीतिलाई प्रभावित पार्ने क्रम जारि नै रहने छ।

अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध (Economic sanctions) ले गर्दा इरानको आर्थिक स्थिति अहिले संकटग्रस्त हुन पुगेको छ। यदि इरानसङ्ग तेल (petroleum products) नभएको भए र इरानलाई चीन र रुसको समर्थन नरहेको भए गरिबकीको कारणले अनेक किसिमक विद्धंसहरू भएर इरानको इश्लामिक सरकारको उहिले पतन भइसकेको हुन्थ्यो। आर्थिक समस्या धान्न कुनै पनि राष्ट्रलाई अति नै कठिन हुन्छ।

यो आलेखमा कुनै पनि देश आर्थिक स्थितिले बलियो भएमा उक्त राष्ट्रले आफ्नो राजनीतिक प्रभावको कतिसम्म र कसरी प्रयोग गर्न सक्छ भन्न कुरा तर्क र प्रमाण सहित प्रस्तुत गर्न खोजिएको हो।

एक अर्को प्रशंगमा, चीनले पनि अहिले यही रणनीति (आर्थिक रुपमा बलियो हुने) अबलम्बन गरेको उसको व्यवहारदावारा प्रस्ट हुँदै गएको छ। चीनले तिब्बत भित्र सुषुप्त रुपमा चलेको ‘स्वतन्त्र-तिब्बत आन्दोलन’ मथ्थर पारेर कालान्तरमा समाप्त पार्न तिब्बत भित्र शैन्य शक्ति प्रयो गरेको छैन, अपितु तिब्बतमा आर्थिक खुसहाली ल्याउने तर्फ जुटेको छ। तिब्बतको आर्थिक स्थिति माथि उकास्न अहोरात्र लागेको छ। चीनको केन्द्रिय प्रशासनले तिब्बतलाई चीनको प्रमुख बजारहरूसँग प्रत्यक्ष रुपमा जोडन लागि परेको छ। तिब्बतमा आर्थिक समृद्धि आएपछि तिब्बतीहरूले ‘स्वतन्त्र तिब्बत’ को आफ्नो आन्दोलन र नारा बिर्सेर जाने छन् भन्ने कुरामा चीनिया उच्च प्रशासकहरूलाई बलियो गरी विश्वास छ।

चीन अहिले अफ्रिकाका अनेक राष्ट्रहरूमा व्यापार गर्न पुगेको छ। चीनले यति सम्म चलाखी गरेको छ कि उसले अहिले भारतसङ्गको आफ्नो परम्परागत शत्रुतालाई बिर्से जस्तो गरेको छ। बरू भारतसँगको व्यापारमा उसले जोड दिएको छ। भारतसँग राम्रो सम्बन्ध कायमा गरेमा भारताबाट निकै आर्थिक फाइदा उठाउन सकिन्छ भन्ने कुरामा चीनलाइ जति बढी विश्वास छ त्यो भन्दा बढी आर्थिक रुपमा अत्यधिक बलियो भएमा भारतलाई पनि आफ्नो कठपुतली बनाउन सकिन्छ भन्ने कुरा चीनलाई विश्वास छ। चीन सर्व प्रथम आर्थिक रुपमा बलियो हुन चाहन्छ। आर्थिक रुपमा बलियो भए पछि अमरिका जस्तै शक्तिसाली हुन सकिन्छ भन्ने कुरा चीनलाई राम्रो गरी थाहा छ। चीन अहिले आर्थिक रुपमा अति बलियो हुन दत्त चित्तले लागेको छ। कुनै बेला जापानको उपनिवेस रहेको चीनले अहिले जापानलाई धम्क्याउने गरेको छ। चीनबाट त्रसित भएर जापान अमेरिकाको शरणमा पुग्नु परेको छ।   

आर्थिक रुपमा बलियो हुने दौडमा अहिले चीन मात्र होइन, भारत, ब्राजिल, रुस, दक्षिण अफ्रिका जस्ता राष्ट्रहरू पनि लागेका छन्। आर्थिक रुपमा बलियो भएमा अन्य राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्रमा राख्न सकिन्छ भन्ने सबैलाई बलियो गरि बोध भएको छ। स्मरण रहोस, चीन र भारत एशिया आर्थिक शक्ति हुन भने रुस युरोपको। त्यसै गरी ब्राजिल दक्षिण अमेरिकाको आर्थिक शक्ति हो भने दक्षिण अफ्रिका अफ्रिकाको आर्थिक शक्ति हो। रुसले युरोका केही देशहरूलाई ऊर्जा निर्यात नगर्दा युरोपका ती देशहरूमा हाहाकार मच्चिएको थियो। यो घटना केही हप्ता पहिले मात्रको हो।

यो युग आर्थिक शक्तिको युग हो। शैन्य शक्तिको युग होइन। त्येति मात्र होइन, आर्थिक रुपमा कमजोर हुनासाथ ठूला राष्ट्रहरूले साना राष्ट्रहरूमाथि थिचोमिचो गर्ने युग हो, भारतले नेपालमाथि थिचिमिचो गरेझै। आर्थिक कारणले गर्दानै पनि भारतलाई नेपालमाथि सँधै थिचिमिचो गर्न सजिलो भएको छ। हुन पनि भारतले एक महिना मात्र पनि आफ्ना नाकाहरू बन्द गर्न हो भने नेपालमा आर्थिक संकट उत्पन्न हुन सक्छ। भोखमरी आउन सक्छ।

आर्थिक रुपमा बलियो हुने सपना हामी नेपालीहरूले कहिले पनि देखेनौ। देखौ के त केलव राजनीतिक लडाइ, झगडा, सत्ता परिवर्तनका लागि खेलिने अनेक सपनाहरू। हाम्रो समय केलव राजनीतिक दाउपेंचमा बितेको छ। हामी सँधैभरी अनेक राजनीतिक दाउपेंच संचालन र सत्ता परिवर्तनमा लागिरहने हो, राष्ट्रिय राजनीतिलाई यसरी नै हामीले सँधै अस्थिर पारिनैरहने हो भने हामी अझै एकसय वर्षसम्म भारतको प्रभाव क्षेत्रभित्र रहिनै रहने छौ। भारतले हामीलाई थिचोमिचो गरिनै रहने छ। हाम्रो राजनीतिमा भारतले प्रत्यक्ष रुपमा प्रभाव पारिनै रहने छ।

भारतको राजनीतिक प्रभाबबाट हामी बाहिर हुन हामीले आर्थिक प्रगति गर्न आश्वक छ। हामी आर्थिक रुपमा बलियो भयौ भने मात्र भारत, चीन आदिको आर्थिक प्रभाबबाट बाहिर आउन सक्छौ। हामीले स्वतन्त्र किसिमले राष्ट्रिय आवश्वकताका विषयहरूमा निर्णय लिन सक्छौ। जति जति हामी आर्थिक रुपमा कमजोर हुँदै जाने छौ त्येति नै हामी भारत, चीनको नियन्त्रण भित्र पर्दै जाने छौ। आर्थिक रुपमा हामी अति कमजोर भएमा भोलि भारत र चीन मात्र होइन, भुटान जस्तो सानो राष्ट्रले पनि नेपालमाथि नियन्त्रण गर्ने सपना देख्ने छ।

हामी आर्थिक रुपमा बलियो हुनु पर्छ भन्ने यथार्थ हाम्रा राजनीतिक नेताहरूलाई बोध हुन आवश्यक छ। नेताहरू भन्दा नेपाली जनतालाई बोध हुन आवश्यक छ। नेताहरूको छनौट जनताले नै गर्ने हो। जनता जस्तो हुन्छ राष्ट्रिय राजनीति पनि त्यस्तै हुन्छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

Wednesday, October 27, 2021 

https://eprateekdaily.com/2021/10/28/24500/

Saturday, October 23, 2021

Some Traditions: Hurdle in Economic Development-Article-349

 हामी कुरीतिको जंजिरले जकडिएका छौ

कुनै व्यक्तिलाई मन्दिरमा पस्न निषेध गरिन्छ। उक्त व्यक्तिले मन्दिरमा बलपूर्वक प्रवेश गर्न खोज्दा उसलाई कुटी कुटी मारिन्छ। तथाकथित माथिल्लो जाती भनिएको युवतीसङ्ग तल्लो जातीको युवकले प्रेम विवाह गर्दा उक्त युवकको विभत्स किसिमले हत्या गरिन्छ। कुनै महिलामाथि ऊ बोक्सी भएको आरोम लगाइन्छ। निर्घात कुटेर उसलाई मल मुत्र खोइन्छ। त्येतिमात्र होइन, भीड तन्त्रले उक्त महिलालाई सजाएँ दिने भन्दै बोक्सी आरोपित निज महिलाको हत्या समेत गरिदिन्छ। गतिलो दाइजो नल्याएको रिसको झोंकमा वर्षेनी कति युवतीहरूले ज्यान गुमाउनु पर्छ, त्यसको ठीक लेखा जोखा स्थानीय सरकारसंग पनि छैन। हामी यस्ता कुरीतिका अनेक जंजिरमा जकडिएका छौ। यी कुरीतिका जंजिरहरूले हामीलाई आर्थिक समृद्धिका दिशातिर लम्कन दिइरहेको छैनन। परिणामस्वरूप आर्थिक विकासको पथतिरको हाम्रो यात्रा कछुबा चालमा सीमित हुन पुगेको छ।

तर हामी विश्वका धनी राष्ट्रहरू सरह धनी हुने सपना देख्छौ। अमेरिका, फ्रान्स, जर्मनी, ग्रेट ब्रिटेन जस्तो नेपालले आर्थिक समृद्धि प्राप्त गर्न नसकेकोमा हाम्रा नेताहरूलाई हामी गाली गर्छौ। दलहरूमाथि रिस पोख्छौ। देशको राजनीति भद्रगोल भएर गयौ भन्दै आक्रोसित हुन्छौ। सारा दोष अरूलाई दिएर आफू निर्दोष रहेको मान्ने हाम्रो सामाजिक संस्कार जस्तो भइसकेको छ। तर देशमा जे जस्ता गतिविधिहरू भइरहेका छन, नेताहरूमा जे जस्तो विचलनहरू आएको देखिएका छन्, राष्ट्रिय राजनीति उठ्न नसक्ने गरी जसरी अनैतिकताको दलदलमा फँस्न गएको छ, देश धनी होइन झनै गरिब हुने जुन स्थिति देखिएको छ, त्यसका लागि हामी देशबासीहरू नै जिम्मेवार हो। राष्ट्रिय राजनीति र नेताहरूलाई दोष दिएर हामी उम्किनु खोज्नु हामीले हाम्रो जिम्वारी बहन नगर्नु हो। हाम्रो कुरीतिहरूले हामीलाई यसरी थिचेको छ कि हामी उठ्न अझै पाचासौं वर्ष लाग्न सक्छ। हामी यस्ता कुरीतिहरू समाप्त गर्नतिर लाग्नुको सट्टा त्यस्ता कुरीतिहरूलाई संरक्षण दिइरहेका छौ। त्यस्ता कुरीतिहरूको प्रवर्धन गरिरहेका छौ।

हाम्रा वरिपरि रहेका अनेक त्यस्ता कुरीतिहरू मध्ये एकको यस आलेखमा एकको चर्चा गरौ।

समाचारहरूमा उल्लेख भए अनुसार हालै सम्पन्न ( २०७८ साल) चाड दशैंमा नेपाल राष्ट्र बैंकले करिब ५० अर्ब बराबरको नया नोट प्रचलनमा ल्याएको थियो। यो नया नोट दशैंको मुखमा बजारमा ल्याउन किन आवश्यक पर्यो? यो नया नोटको माग कसले गर्यो? माग गर्नेले के प्रयोजनका लागि नया नोटको माग गर्यो? यी प्रश्नहरूको उत्तर ज्यादै सरल छन्। यी प्रश्नहरूको उत्तर थाहा पाउन धेरै चिन्तन मनन गर्न पर्दैन।

दशैमा नया नोटहरूको प्रयोग दक्षिणा दिन र लिनका लागि हुन्छ। अन्य धार्मिक विधि वा प्रयोजन बाहेक दशैंमा दक्षिणा लिनु र दिनु दुबै खराब पद्धति हो। कुरीति हो।  अति खर्चिलो सामाजिक संस्कार हो। दक्षिणा लिने र दिने कार्यले समाजलाई अनेक विकृतितिर लान्छ। खासमा भन्ने हो भने सरकारले यसरी दशैंका लागि नै भनेर नया नोट सटही गर्ने सुविधा दिनु हुँदैन। सरकारले नया नोट सटही गर्ने सुविधा दिएर समाजमा कुरीति फैलाउन सहयोग पुर्याएको ठहर्छ। सरकारमा रहेका उच्च पदाधिकारी (मन्त्री, सचिव) हरूमा आर्थिक ज्ञानको अभावले गर्दा यस किसिमको कुरीतिले निरन्तरता पाएको हो। यो व्यवस्था (नेपाल राष्ट्र बैंकले नया नोट सटही गर्न दिने) वर्षौदेखिं चल्दै आएको छ। यो व्यवस्था समाप्त गर्नु पर्छ। दशैंको लागि नै भनेर नया नोट सटही गर्न दिने प्रथा समाप्त पार्नु पर्छ।

पुन: माथिको अंकमा जाऔ। दशैमा ५० अर्ब बराबरको नया नोट सटही हुनुले गत दशैंमा लगभग ५० अर्ब बराबर दक्षिण लेनदेन भएको संकेत गर्छ। हुन पनि दशैमा ठूलो सङ्ख्यामा व्यक्तिहरू दक्षिणा दाताका रुपमा देखिन्छन भने सोही अनुसार प्राप्तकर्ताहरू पनि देखिन्छन।  दक्षिणाको रुपमा ज्यादै ठूलो रकम लेनदेन हुन्छ।

यहाँ विचारणीय कुरा के छ भने जो सङ्ग राम्रो आम्दानी छ उसले त दक्षिणा दिन सक्छ तर जसको आम्दानी राम्रो छैन उसले कसरी आफूसङ्ग टिका लगाउन आउनेहरूलाई दक्षिणा दिने? यस्तो स्थितिमा कमजोर आर्थिक स्थिति हुनेहरूले दक्षिणा दिनका लागि नै भनेर पनि ऋण लिनु पर्छ। र अर्कोतिर स्पष्ट छ, नेपाल एक गरिब राष्ट्र हो, जहाँ गरिबहरूको संख्या ठूलो छ। यसरी गरिबहरूको लागि दक्षिणा दिनु पर्ने स्थिति ऋणमा डुब्नु पर्ने बाध्यता हुन पुग्छ। र त्यसरी ऋणमा डुब्ने व्यक्ति कर्मचारी हो भने उसले घुस खाएर भए पनि आफूले लिएको ऋण चुक्ता गर्ने जोगाड गर्छ। घुमाउरो अर्थमा भन्ने हो भने समाजिक संस्कार (दक्षिणा लिनेदिने) ले नै व्यक्तिहरूलाई घुस खान बाध्य पार्छ। यदि त्यस्तो व्यक्ति कर्मचारि होइन भने, र बाध्यतामा परेको छ भने, उसले चोरी वा पाकेटमारी गर्न सक्छ।

 अर्कोतिर केवल स्वार्थको राजनीतिमा लागेका प्रशासक (नेता) हरूले नया नोट सटही गर्ने सुविध दिएर समाजमा आर्थिक भ्रष्टाचार वृद्धि हुने आधारभूमि तयार पार्छन।

दक्षिणाको महिमा यति मात्र सीमित रहँदैन। यसले कुन पक्षलाई र कुन किसिमले असर पार्छ त्यसबारे पनि चर्चा गरौ। दशैंमा मोटो क्षणिक्षा दिनेको हैसियत समाजमा राम्रो मान्ने गरिन्छ र उसले समाजमा इज्जत पनि बढि पाउँछ। यसैगरी कम दक्षिणा दिनेहरूको हैसियत राम्रो मान्ने गरिंदैन र उसले समाजमा इज्जत पनि कम पाउँछ। यस्ता कुराहरू प्रष्ट रुपमा त देखिंदैन तर व्यक्तिहरूको कुरागराइबाट यो तथ्य अनुभूत गर्न सकिन्छ। यो कारणले गर्दा पनि, राम्रो आर्थिक आम्दानी नहुनेले पनि, समाजमा आफ्नो हैसियत उच्च राख्न, दक्षिणा दिने प्रयोजनका लागि नै ऋण लिन्छ। अनावश्यक रूपमा कुनै ठोस आवश्कता नभएर पनि ऋणको भार बोक्न बाध्य हुन्छ। त्यसैले पनि भन्ने गरिएको हो “आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ”

अब अर्को तथ्य तर्फ लागौ। समाचार (कान्तिपुर देनिक-आश्विन २७, २०७८) मा उल्लेख भए अनुसार राष्ट्र (नेपाल राष्ट्र बैंक) ले प्रत्येक वर्ष करिब ३ अर्ब रुपैंया नोट छपाइ, वितरण र व्यवस्थापनमा खर्च गर्छ। माथिको अंकले प्रष्ट पार्छ कि नया नोट सटही गर्नका लागि भनेर नै राष्ट्रले ठूलो रकम खर्छ गर्छ। पुराना, च्यातिएका, काम नलाग्ने नोटहरूलाई विस्थापित गर्नका लागि नया नोटहरू छाप्नु र प्रयोगमा लायाउनु उचित हो तर दशैंको लागि भनेर, कुरीति वृद्धि गर्नका लागि नया नोट निष्कासन गर्नु र सटही सुविधा उपलब्ध गराउनु अति नै अनुचित हो। दशैंका लागि नै भनेर नया नोट छाप्न र वितरण गर्न लाग्ने रकम राष्ट्रले अन्य विकास एवं निर्माणको कार्यमा खर्च गर्नु उचित हुन्छ र गर्नु पर्छ पनि।

दशै सद्भाव र प्रेम आदान प्रदानको पर्व हो। यो पर्वमा सामाजिक सद्भाव सक्रिय हुनु पर्छ तर सक्रिय पैसा भइ रहेको छ। यस्ता अनेक कुसंस्कार र कुरीतिहरू छन, जसले नेपाली समाजलाई आर्थिक रुपमा समृद्ध हुन दिइरहेका छैनन।

हाम्रो गरिबी र हाम्रा कुसंस्कार तथा कुरीतिहरू बिच गहिरो सम्बन्ध छ। यो तथ्यलाई माथि वर्णनन गरिएका यथार्थहरूले पुष्टि गर्छन।

देश केवल स्रोत र साधनहरूको अभावमा गरिब हुने होइन। धन सम्पत्ति र रुपैया, पैसाको अभावमा पनि गरिब हुने होइन। कुरीति र कुसंस्कारले कुनै पनि राष्ट्रलाई गरिब तुल्याउनमा ठूलो भूमिका खेलेको हुन्छ। उदाहरणको रुपमा हाम्रो नजिकको छिमेकी राष्ट्र अफगानिस्तानलाई नै लिन सकिन्छ।। अफगानिस्तानमा पुन: तालिबान सत्तामा आएदेखि तालिवानी नेताहरूले महिला शिक्षा निषेधित गरेका छन्।

आर्थिक समृद्धि हासिल गर्न हामीले कुसंस्कार, कुरीति परित्याग गर्नुको विकल्प छैन्।

Photo: Google

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, October 22, 2021  

https://eprateekdaily.com/2021/10/21/24071/

Monday, October 11, 2021

Why is Buying From Small Businesses Important? Article-348

 सडक व्यापारीका सामान खरिद गर्न किन आवश्यक छ?

राष्ट्रिय आयलाई अति निर्धनहरू सम्म पुर्याउने अनेक प्रभावकारी तरिकहरू मध्ये एक साना व्यापार वा सडक व्यापार हो। सडक वा साना व्यापारको माध्यम द्वारा प्रत्येक देशको सरकारले निर्धनहरू सम्म राष्ट्रिय आय वा आम्दानी पुर्याउने प्रयास गरेको हुन्छ वा प्रयास गर्नु पर्छ। साना ब्यापार सञ्चालन गर्नेहरुसँग पर्याप्त पूँजी र ब्यापार सञ्चालन सम्बन्धी आवश्य ज्ञान नभएकोले उनीहरूलाई सरकारले सगहयोग गर्नु पर्छ। उनीहरूलाई संरक्षण दिनु पर्छ भन्ने अर्थ शास्त्रीहरूको मान्यता रहेको पाइन्छ।

विभिन्न अध्ययनहरूले पनि यस कुराको पुष्टि गर्दछन। केही मुलुकहरूमा त्यहाँका सरकारहरूले ‘साना व्यापार प्रशासन’ को स्थापना समेत गरेको पाइन्छ। यस किसिमका साना व्यापार प्रशासनहरुले साना व्यापारीहरूलाई सहयोग गर्दछन। तालिम, सूचना एवं जानकारी, उपलब्ध गराउनु साथै वितीय परामर्श समेत दिन्छन।

साना व्पयारीहरूले गर्ने व्यापार ठूलो मुनाफा आर्जन गर्न, करोडपति हुन नभएर केवल जीवन निर्वाह गर्नका लागि हुन्छ। अन्त कतै आकर्षक रोजगारी नपाएर यस किसिमको व्यापारमा लागेका हुन्छन। यिनीहरूसँग ठूलो पूँजी हुँदैन नै, साथै यिनीहरूले गर्ने मुनाफाको आकार पनि अति नै सानो हुन्छ। यो कारणले गर्दा नै आफ्नो व्यापार सँचालन गर्न यिनीहरूले सडक, पेटी, खुला स्थान वा शहरका व्यस्त स्थानहरूलाई रोजेका हुन्छ। र यस्तो गर्नु यिनीहरूको बाध्यता पनि हो। किनभने शहरका महँगा घरहरूको भाडा तिर्ने आर्थिक क्षमता यिनीहरूसँग हँदैन।

साना ब्यापारी वा सडक व्यापारीहरूले महत्व पाएका हुँदैनन्। यहाँसम्म कि प्रशासनले यिनीहरू प्रति राख्ने दृष्टिकोण पनि फरक हुन्छ। तर अर्कोतिर सानो व्यापारले लाखौलाई रोजगारी दिएको हुन्छ। रोजगारी उपलब्ध गराउने किसिमले पनि साना व्यापारीको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका हुन्छ।

साना व्यापारीहरूलाई संरक्षण दिनु पर्ने अनेक कारणहरू छन्। ती अनेक कारणहरू मध्ये एक हो साना व्यापारीहरूबाट केवल कम आय भएका व्यक्तिहरूले नै सामान खरिद गर्नु। धनी वा भनौ बलियो आय भएका व्यक्किहरूले फूटपाथ वा सडक व्यापारीहरूसँग सामान खरिद गरेको उदाहरण कमै पाइन्छ। कतिपय अवस्थामा त धनीहरूले फूटपाथका व्यापारीहरूबाट खामान खरिद गर्नु आफ्नो स्तर तल झार्नु सम्म पनि सोंचेको पाइन्छ। समान स्तरका वस्तुहरू समान मूल्यमा सडक व्यापारीको पसलमा पाइएता पनि केही व्यकतिहरूले साना व्यापारीसँग सामान खरिद गर्दा आफ्नो स्तरमा प्रभाव पर्ने ठानेर नियतवश ठूला ठूला र नाम चलेको पसलमा सामान खरिद गरेको पाइन्छ। यस्तो किसिमको मनोविज्ञानले गर्दा पनि हाम्रो क्षेत्रमा साना व्यापारीहरूको अवस्थामा सुधार आउन कठिन भएको छ।

ठूला वा धनी व्यापारीहरुले व्यापारबाट प्राप्त गरेको करौडौ रुपैया केही सीमित व्यक्तिहरूको हातमा रहने तर साना व्यापारीले गरेको मुनाफा लाखौको हातमा पुग्ने भएकोले पनि साना वा सडक व्यापारलाई सहयोग र संरक्षण आवश्यक छ।   

लाखौलाई रोजगारी उपलब्ध गराउने सानो व्यापारको चुनौती भने अनेक छन। पहिले चुनौती त ठूलो वा धनी व्यापारीहरूको सानो ब्यापार क्षेत्रमा घुसपैठ रहेको छ। धनी व्यापारीहरूले पनि सडक पेटीमा आएर व्यापार गरेको पाइन्छ। यस्तो न हुन दिन स्थानीय प्रशासन सतर्क रहनु पर्छ। सानो व्यापार जीवन निर्वाहको लागि भएकोले सडक वा फुटपाथ व्यापार गरिब व्यापारीहरूको लागि सुरक्षित र संरक्षित हुनु पर्छ। कुनै भौतिक संरचनाको निर्माण नगरी उपलब्ध खुला स्थानमा साना व्यापारीहरूले व्यापार गर्न पाउने व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्दछ।

साना व्यापारीहरूले भोग्नु पर्ने अर्को तर डरलाग्दो चुनौती भने कुनै एक निर्धारित स्थानमा व्यापार गर्न नपाउनु र सकड, पेटीमा व्यापार गर्दा लखेटिनु हो। स्थानीय प्रशासनले साना व्यापारीहरूलाई व्यापार सञ्चालन गर्न सहयोग गर्नु पर्छ र उनीहरूलाई कुनै तोकिएको स्थान प्रदान गर्नु पर्छ। शहरका व्यस्त बजार वा चौकहरूमा केही सर्त सहित साना व्यापारीहरूलाई व्यापार सञ्चालन गर्न दिनु पर्छ। संसारका अनेक ठूला ठूला सहरहरूमा व्यवस्थित किसिमले साना व्यापारीहरूलाई व्यापार संचालन गर्न दिइएको देख्न सकिन्छ।

त्यस मध्ये एउटा उदाहरण- क्यानाडाको ठूलो एवं व्यस्त शहर टोरन्टोको मुख्य स्थान (डाउन टाउन) मा साना व्यापारीहरूले व्यवस्थिति किसिमले व्यापार संचालन गरेको देख्न सकिन्छ। टोरोन्टोको डाउन टाउनको फूटपाथमा बिक्री हुने ‘हटडग’ विश्व प्रख्यात नै छ। टोरोन्टो पुग्नेहरूले त्यहाँको डाउन टाउनको फूटपाथमा बिक्री हुने हटडग खाने र नजिकमा रहेको नाएग्रा फल्स हेर्ने इच्छा राखेको पाइन्छ।

शहरको व्यस्त स्थान एवं सडक, पेटी आदिमा साना व्यापार संचालन गर्ने व्यापारीहरूले शहरलाई आकर्षक पार्ने काम मात्र गरेका हुँदैनन, साथै त्यस शहरको समाजिक एवं सांस्कृतिक महत्व झल्काउने कार्य पनि गरिरहेका हुन्छन जुन कुरा शूक्ष्म किसिमले अध्ययन गर्दा देख्न सकिन्छ। साना व्यापारीहरूको व्यापारलाई व्यवस्थित किसिमले संचालन हुन दिने हो भने यिनीहरूबाट कुनै शहरको पर्यटन क्षेत्रको विज्ञापन समेत गराउन सकिन्छ। तर अफसोच! हामी कहाँ साना व्यापारीहरूबाट लिने अनेक फाइदा लिन सकिएको छैन। उल्टो साना व्यापारीहरूलाई सडक, पेटी वा व्यस्त स्थानहरूमा व्यापार गर्न आउँदा लखेट्ने गरिएको पाइन्छ। साना व्यापारीहरूको सामानहरू तोडफोड गरि दिनु, उनीहरूलाई लखेट्नुलाई स्थानीय प्रशासनले शहरलाई सफा गरेको भन्दै गर्व त  गर्छ तर साना व्यापारीहरू प्रति घात गरेको अनुभूत गर्दैन।  

दक्षिण एशियामा र मुख्य गरी नेपाल तथा भारतमा साना व्यापारीहरूको अस्तित्व संकटमा पर्दै गएको महसुस गरिएको छ। ठूला-ठूला मलहरूले, ठूला-ठूला बिक्री भण्डारहरूले साना व्यापारीहरूको व्यापारलाई धरापमा पार्दै लगेका छन्। आजभोलि उपभोक्ताहरू फूटपाथमा होइन, ठूला ठूला मलहरूमा सामान खरिद गर्न रुचाउँछन्।

साना व्यापारीहरूले व्यापर संचालन गर्न पाएका निर्धारित क्षेत्र (हाट, बजार) पनि बिस्तारै धनी व्यापारीहरूको हातमा पर्दै गएको छ। उदाहरणका लागि, केही दसक पहिलेसम्म खुला स्थानमा लाग्ने बजारमा अहिले अनके घरहरू बनेर ती बजारहरू वृहत खुद्रा भण्डारमा रुपान्तरित भएका छन। अनेक शहरमा यही स्थिति छ। खुला बजारहरू गरिबको हातबाट धनीहरूको हातमा पुगेको छ। उदाहरणका लागि वीरगंजको मीना बजार, बिर्ता बजार आदि खुला बजारको रुपमा स्थापित थिए। अनेक गाउँहरूबाट ती बजारहरूमा गरिब कृषकहरू आफ्ना उत्पादन लिएर बिक्री गर्न आउँथे। अब ती बजारहरूमा गरिब होइन धनी व्यापारीहरूले व्यापार संचलन गरेको पाइन्छ।

अति गरिबहरू सम्म आम्दानी पुर्याउन आउनु होस, फूटपाथे वा साना व्यापारीहरूबाट पनि समान खरिद गरौ। सडक एवं फूटपाथका व्यापारीहरूबाट केवल गरिब उपभोक्ताहरूले मात्र अनेक सामाग्री खरिद गर्ने परम्परा समाप्त गरौ। फूटपाथबाट धनी उपभोक्ताहरूले पनि खरिद गरौ।

स्थानीय प्रशासनले पनि साना व्यापारीहरूलाई निर्धारित स्थान उपलब्ध गराएर व्यापार गर्न सहयोग पुर्याउनु पर्छ। राष्ट्रिय अर्थतन्त्रमा साना व्यापारीको भूमिका पनि अहम् रहने तथ्यलाई स्वीकार गर्नु पर्छ। धनीहरूको व्यापर विस्तार हुन पनि गरिबहरूको आर्थिक स्थितिमा सुधार हुन आवश्यक छ किनभने धनी व्यापारीहरूको ग्राहक भनेको नै ती गरिब व्यापारीहरू हुन्। अर्थ व्यवस्थाको यो रहस्य धनी व्यापारीहरूले पनि बुझ्न आवश्यक छ।

दशैं, दूर्गापूजा, लक्ष्मीपूजा, छठ जस्ता अनेक चाड पर्वहरू आउँदै छन्। यी पर्वहरूमा ठूलो परिमाणमा अनेक सामाग्रीहरूको खरिद बिक्री हुन्छ। साना वा फूटपाथका व्यापारीहरूबाट पनि अनेक समानहरू खरिद गरौ। हामीले त्यस्तो गरिदिनाले उनीहरूले पनि यी पर्वहरू खुसियालीपूर्वक मनाउन सक्छन्।

अति आधुनिक यो वैश्ययुगले ज्यादै ठूला-ठूला ब्यापार भण्डारहरूको स्थापनामा जोड दिएको छ। ठूला ब्यापारहरूको स्थापना एवं संचालन अति सजिलो पारिदिएको छ। केही सीमित धनी ब्यापारीहरूको हातमा ज्यादै ठूलो रकम (आम्दानीको रुपमा) हुने स्थिति सृजना गरिदिएको छ। तर फूटपाथे व्यापारीहरूको अस्तित्व संकटमा पार्दै लगेको छ। यस तथ्यतर्फ गम्भीरतापूर्वक विचार गरौं।



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, October 8, 2021

Friday, October 1, 2021

Foreign Employment: Necessity or Vanity?-Article-347

 वैदेशिक रोजगारी: बाध्यता वा आडम्बर?

नेपाली युवा युवतीहरू रोजगारीका लागि बिदेश किन जान्छन भनी प्रश्न गर्ने हो भने सबैले दिने उत्तर एउटै हुन्छ र त्यो उत्तर हो स्वदेशमा रोजगारी नपाएर बाध्य भइ रोजारीको लागि विदेश जानु परेको हो। अर्थात स्वदेशमा रोजगारी नभएको स्थितिले गर्दा, रोजगारी नभएको अवस्थामा जीवन निर्वाह गर्न कठिन हुने भएकोले, रोजगारीको लागि बाध्यताले गर्दा विदेशतिर जानु परेको हो। सोझो अर्थमा भन्नु पर्दा गरिबीबाट मुक्ति पाउन बैदेशिक रोजगारीमा जानु परेको हो।

नेपालको सन्दर्भमा बैदेशिक रोजगारीलाई गरिबीसङ्ग जोडिएको छ।  रोजगारीका लागि विदेश प्रस्थान गर्ने सबै गरीब नै हुन्छन। यस्तो विश्वास गरिन्छ। त्यस्तो हो भने रोजगारी पाउनका लागि विदेशतिर जाने के सबै गरिबीहरू नै हुन्छन? समाचारहरूमा उल्लेख भए अनुसार गैरकानूनी रुपमा रोजगारीका लागि अमेरिका जान खोज्ने व्यक्तिहरूले मानव तस्कारलाई ३० देखि ६० लाख रुपैंया सम्म भुक्तान गर्छन र अमेरिका पस्छन। अमेरिकामा रोजगारी पाउनका लागि मानव तस्कहरूलाई त्येती बढी रकम दिने व्यक्तिहरू कसरी गरिब हुन सक्छन? एक सामान्य गरिब व्यक्तिले त्येति ठूलो रमक कहाँबाट र कसरी ल्याउन सक्छ?

सुनिए अनुसार केही व्यक्तिहरूले ऋण लिएर, केहीले खेत वा घडेरी अथवा घर बेचेर मानव तस्वकरहरूलाई त्येती ठूलो रकम (३० देखि ६० लाख रुपैंया) भुक्तान गर्छन अनि गैर कानूनी रुपमा अनेक शारिरीक एवं मानसिक यातना खेपेर अमेरिका पस्छन। अब यहाँ पुन: प्रश्न उठ्छ। के कुनै गरिब व्यक्तिले, नेपालको सन्दर्भमा त्येती ठूलो रकम ऋणको रुपमा प्राप्त गर्न सक्छ? दोस्रो प्रश्न, बैदेशिक रोजगारीमा जानका लागि जग्गा, घडेरी वा घर बेच्न तत्पर हुने व्यक्ति कसरी गरिब हुन सक्छ?

माथि भन्न के खोजिएको हो भने रोजगारीका लगि विदेश जाने वा जान खोज्नेहरू सबै गरिब होइनन। केही मात्र हुन। केही मात्र गरिबीको कारणले गर्दा रोगजारी पाउन विदेश जान बाध्य छन। बाँकि व्यक्तिहरू धनी नभएता पनि गरिब पनि होइनन। केवल खाडीका देशहरूमा जाने, त्यसमध्ये पनि सीमीत व्यक्तिहरू मात्र गरिब हुन। ज्यादै गरिब व्यक्तिले बैदेशिक रोजगारीमा जाने खर्च धान्न नै सक्तैन। 

नेपालमा वहुसंख्य व्यक्तिहरू प्रमुख रुपमा, दुई कारणले गर्दा रोजारीका लागि विदेशतिर जान्छन। ती दुई कारणहरू हुन १) छिटै धनी हुने लालसा, र  २) प्रतिष्ठा

छिटै धनी हुने लालस

नेपाली समाजको निर्माण, इतिहास, प्रकृति र गतिशीलताको शूक्ष्म अध्ययन एवं विश्लेषण गर्ने हो भने नेपालमा गरिबहरूलाई सामाजिक मर्यादा पाउन कठिन छ भन्ने तथ्य प्रष्ट गरी थाहा हुन आउँछ। गरिबले पाउने सामाजिक मर्यादा र धनीले पाउने सामाजिक मर्यादा बिच आकास जमिनको अन्तर छ भन्ने यथार्थ हामी सबैले भोगेको कुरा हो। धनीको नाम लिंदा वा सम्वोधन गर्दा आदर मिसाइएको हुन्छ भने गरिबको लागि त्यस्तो गरिंदैन। धनीहरूले विवाह, चाडपर्वमा, समारोहहरूमा ठूलो रकम खर्च गर्छन। समाजमा उनीहरूको रवाफ कामय रहेको हुन्छ। गरिबहरूले त्यस्तो गर्न सकेका हुँदैन। यो कारणले गर्दा गरिबहरूले आफूहरूलाई हेला गरिएको अनुभूत गर्छन।

गरिब र धनी बिच सामाजिक मर्यादाको सन्दर्भमा ठूलो भेद रहेकोले यो स्थितिबाट मुक्ति पाउन हरेक गरिबले धनी हुन खोज्नु, धनी हुनका लागि अनेक उपायहरूको खोजि गर्नु, धनी हुन सक्ने सजिलो बाटो वैदेशिक रोजगारीलाई मान्नु स्वभाविक हुन आउँछ।

नेपालमा तुलनात्मक गरिबले पनि समाजलाई प्रभावित गरेको छ। उदाहरणका लागि वर्षको २ लाख रुपैंया कमाउने एक व्यक्तिले आफूलाई वर्षको ४ लाख रुपैंया कमाउने अर्को व्यक्तिसङ्ग तुलना गर्छ र अनि आफूलाई त्यो अर्को व्यक्ति भन्दा गरिब देख्छ। यस्तै स्थिति वर्षको ५ लाख र ८ लाख कमाउने व्यक्तिहरूको बिच पनि हुन सक्छ। यसरी आर्थिक रुपमा सम्पन्न व्यक्तिहरूले पनि आफूलाई तुलनात्मक रुपमा गरिब देखेर रोजगारीको लागि विदेशतिर लाग्ने उदाहरण धेरै छन। त्यस्ताहरूको संख्या पनि ठूलो छ। खास गरि अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा रोजगारीका लागि जानेहरुले आफूलाई तुलनात्मक रुपमा गरिब बोध गरेर त्यता गएका हुन्। यथार्थमा तिनीहरू निरपेक्ष गरिब होइनन। एक किसिमले धनी नै हुन, नेपालको सन्दर्भमा।

प्रतिष्ठा

बैदेशिक रोजगारी नेपालमा अहिले एक भरपर्दो आयको श्रोत मात्र होइन इज्जत र प्रतिष्ठाको विषय पनि हुन पुगेको छ। बैदैशिक रोजगारीको सोझो साइनो प्रतिष्ठासँग गाँसिएको छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिले लाखौ, करोडौ रुपैया कमाउँछ र ‘इज्जत एवं सान’ को जीवन बाँच्ने सक्छ भन्ने एक किसिमको भ्रम मिसिएको मान्यता हाम्रो सामाज बलियो गरी स्थापित छ। अर्कोतिर एक पृथक मान्यता के छ भने स्वदेशमा बस्नेहरूले केही गर्न नसकेर स्वदेशको बसाइ रोजेका हुन्। त्यसरी स्वदेशमा बस्ने व्यक्तिहरूमा साहसको अभाव छ। यस्ता मान्यताहरूले गर्दा स्वदेश बस्न खोज्ने युवा युवतीहरूले पनि बाध्य भएर विदेशलाई रोजगारीको लागि प्रमुख गन्तव्य बनाउँछन र वाध्य पनि छन्।

संक्षेपमा भन्ने हो भने बैदेशिक रोजगार अहिले हाम्रो समाजमा सफलताको प्रतीक भएको छ। यो कारणले गर्दा पनि ठूलो भन्दा ठूलो जोखिम उठाएर, ज्यान हत्केलामा लिएर, कैयौं दिन भोकै बसेर, कैयौं दिन जंगलमा भौतारिएर नेपाली युवा युवतीहरू गैर कानूनी रुपमा अनेक देशहरूमा प्रवेस गरिरहेका छन।

समाचारहरूमा उल्लेख भए अनुसार नेपालबाट रोजगारीका लागि अमेरिका गरैकानूनी रुपमा जान खोज्ने व्यकतिहरूले ३० देखि ६० लाख रुपयैसम्म मानव तस्करहरूलाई भुक्तान गरेका हुन्छन। दसौं देशहरूको यात्रा गर्न बाध्य हुन्छन। कैयौ दिन जंगलैजंगलको बाटो हिंडेका, भोकै बसेका हुन्छन। त्यति मात्र नभएर  ज्यान जानसक्ने जोखिम पनि उठाएका हुन्छ। अन्तमा मेक्सिको (अमेरिकाको टांस्सिएको छिमेकी मुलुक) पुगेर अमेरिका गैरकानूनी रुपमा पस्न खोज्दा जीवन मरणको सोसाँधमा हुन्छन।  

बैदेशिक रोजगारी सङ्ग सम्बन्धित अनेक तथ्य र पक्षहरूको गहन अध्ययन एवं विश्लेषण गर्दा हाम्रो गरिबी र बैदेशिक रोजगारी बिच प्रत्यक्ष एवं घनिष्ट सम्बन्ध रहेको पाइँदैन। वर्तमान समय र सन्दर्भमा वैदेशिक रोजगारी छिटै धनी हुने लालस एवं प्रतिष्ठा सङ्ग पनि गांस्सिएको छ।

गरिबी हेरक देशमा हुन्छ। यसै गरी सापेक्ष एवं निरपेक्ष गरिबी धनी देशहरूमा पनि हुन्छ। धनी देशहरूमा निरपेक्ष गरिबी भने कम हुन्छ। तर सापेक्ष गरिबी पनि ठूलो अनुपातमा नै हुन्छ। तर पनि धनी एवं विकसित देशहरूमा गरिब भएकै कारणले समाजमा इजज्त नपाइने स्थिति नभएको हुनाले गरबीको पीडा नेपाल, भारत आदिमाझै बोध हुँदैन।

हाम्रो समाजले वर्तमानमा जुन किसिमले बैदेशिक रोजगारीलाई बोध गरेको छ यथार्थमा बैदेशिक रोजगारी त्यस्तो छैन। अनेक जोखिम र कष्टले भरिएको छ। मानव तस्कारहरूको ठूलो सञ्जालले वैदेशिक रोजगारीलाई झनै अति जोखिमपूर्ण पारिदिएको छ। गैरकानूनी रुपमा रोजगारीका लागि अर्को मुलुकमा जानु त ज्यान नै जोखिममा राख्नु हो। मृत्यु हुन सक्छ भन्ने सम्भावनालाई स्वीकार गर्नु हो।

हामीमा उद्यमी भावनाको पनि अभाव छ। छिटो धनी हुने लालसा झनै हाम्रो लागि ठूलो शत्रू हुन पुगेको छ। हामी आफैसङ्ग प्रश्न गरौ। यदि ६० लाख रुपैया भुक्तान गरेर हामी वैदेशिक रोजगारमा जाने क्षमता राख्छौ भने त्येही रकमको स्वदेशमा उपयोग गरेर किन कुनै ब्यपार, व्यवसाय वा पेशा गर्न सक्तैनौ? ६० लाख रुपैंया सानो रकम होइन। यो रकम लगानी गरेर हामी स्वदेशमा नै ब्यापार गर्न सक्छौ। आफू स्वयंले नै रोजगार पाउँछौ नौ साथै अन्यलाई पनि रोजगारी दिन सक्छौ।

हामी व्यापारिक जोखिम पटक्कै लिन चाँदैनौ। हामी नया नया किसिमका व्यवसायहरू बारे सोंच्न सक्तैनौ। केही वर्ष पहिलेसम्म हाम्रो समाजले व्यापारलाई महत्व दिएको थिएन। व्यक्तिहरू सामान्य किसिमको कुनै व्यापार संचालन गर्नुको सट्टा सरकारी जागिरको खोजि गर्थ्यै। सरकारी जागिरले ठूलो प्रतिष्ठा बोकेको याथियो। सडकमा चनाचटपटे बिक्री गर्ने कुनै ब्यक्ति भन्दा सरकारी कार्यालयमा काम गर्ने मुखियाको सामाजिक हैसियत (इज्जत) उच्च हुन्थ्यो। कति ठूलो आडम्बर र भ्रममा बाँचेको हाम्रो समाज! रोजगारीको हिसाबले चनाचटपटे बिक्री गर्ने व्यक्ति सिपयुक्त व्यक्ति हो किनभने उसले आफ्नो लागि आफैले रोजगार सृजना गर्यो। तर सरकारी जागिरमा जाने व्यक्तिले आफूमा सिपको विकास गर्न सक्ने त्यसकारण सरकारी जागिर रोज्यो? चनाचटपटे बिक्रेतामा उद्यमी भावना देखियो भने मुखिया हुनेमा पटक्कै देखिएन। तर हाम्रो समाजले यो यथार्थ किन नबुझेको होला?



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, October 01, 2021

https://eprateekdaily.com/2021/09/30/23008/