Friday, April 28, 2023

Will Emergence of New Power Improve Nepali Economy?-Article-410

 नयाँ शक्तिको उदय र नयाँ आर्थिक युगको प्रारम्भ

हालै तीन जिल्ला– बारा, चितवन र तनहुँमा सम्पन्न निर्वाचनको परिणाम बहुप्रतीक्षित थियो। बहुप्रतीक्षित हुनुका अनेक कारण थिए। तर प्रमुख कारण भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतादाताहरूले कुन स्तरमा पत्याउँछन् भनी थाहा पाउनुथियो।

तीन जिल्लाका् उपनिर्वाचनको परिणाम प्राप्त भइसकेको छ। र मुख्यगरी चितवन र तनहुँमा मतदाताले मतपत्रमार्फत दिएको मतले नेपालमा एक वैकल्पिक राजनीतिक शक्तिको माग भएको प्रस्ट भएको छ। साथै उक्त वैकल्पिक शक्तिले नेपालको आर्थिक विकासको नीति र पद्धतिमा परिवर्तन ल्याउने आशा पनि गरिएको छ।

बारा जिल्लामा भएको उपनिर्वाचनको परिणामले खासै महत्व राख्दैन किनभने त्यो चुनाव एकातिर एक्लो अभिमन्यु र अर्कोतिर कौरव सेनाका दर्जनौं महारथीहरूजस्तो थियो। खासमा त्यो चुनाव नभएर एउटा युद्ध रणनीति थियो जुन शत्रुलाई पराजित गर्नका लागि तयार गरिएको थियो। स्वच्छ र जन–उत्तरदायी प्रजातन्त्रमा यसरी अनेक दल मिलेर, मोर्चाबन्दी गरेर, चुनाव जितेको देखिंदैन। यो उपनिर्चाचनको रूप र प्रकृति हेर्दा र गठबन्धनको दाउपेचको विश्लेषण गर्दा, जनताको सच्चा अभिमत पाएर उपेन्द्र यादव विजयी भएको देखिंदैन, मानिंदैन। यादवको विजय निर्वाचनको परिणाम होइन, रणनीतिक परिणाम हो। यादवको लोकप्रियताको परख र परीक्षण उनको आफ्नै चुनाव क्षेत्रमा भइसकेको थियो। आफ्नै चुनाव क्षेत्रमा उनी हारेको ज्ञात तथ्य हो।

तर यो लेखको उद्देश्य उपेन्द्र यादवको विरोध गर्नु भने होइन। न त अन्य पराजित उम्मेदवारहरूको पक्ष लिनु हो। न जनमत पार्टीको लोकप्रियता अभिवृद्धि गर्नु नै हो। यो लेखको उद्देश्य राजनीतिक विश्लेषण गर्नु पनि होइन। यो लेखको उद्देश्य आर्थिक विश्लेषण गर्नु हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू रवि लामिछाने र स्वर्णिम वाग्लेको विजयले नेपालमा आर्थिक विकासको नयाँ युगको सूत्रपात हुन खोजेको सङ्केत दिएको हो कि भनी मनन र चिन्तन गर्नु हो।

रवि लामिछाने नयाँ राजनीतिक शक्ति सृजना गर्ने सर्जकमध्येका एक हुन्। रवि लामिछाने र स्वर्णिम वाग्ले परिवर्तनका केवल एक विम्ब मात्र हुन्। प्रतिनिधि पात्र मात्र हुन्। तर उनीहरू मतदाताको विद्रोहका आवाज हुन्। परम्परागत राजनीतिक शक्ति एमाले, नेपाली काङ्ग्रेस र माओवादीप्रति वितृष्णा रहेको तथ्य जनताले रवि र स्वर्णिमलाई विजयी तुल्याएर देखाएको छ।

जनतालाई अब परिवर्तन चाहिएको छ। आर्थिक विकास नयाँनयाँ सोच र योजना चाहिएको छ। देशभित्रै रोजगार चाहिएको छ। आफ्ना यिनै मागहरू जनताले रवि र स्वर्णिमलाई विजयी तुल्याएर पूरा गर्न खोजेको छ। 

निष्ठा र इमानदारी होइन, कपटले भरिएको राजनीति गर्ने, आफ्नो स्वार्थ र सत्ताको लागि जनताको हितको बेवास्ता गर्ने, कुनै बेला फुट्ने कुनै बेला जुट्ने। छेपारोजस्तो घरीघरी रङ्ग परिवर्तन गर्ने र अनेक किसिमका कुकृत्य गरेर देशको अर्थतन्त्र धराशायी पार्ने एमाले, काङ्ग्रेस र माओवादी नेताहरूको व्यवहारबाट देशवासी थाकिसकेका छन्। रवि र स्वर्णिमले पाएको मत सङ्ख्या र उनका निकटतम प्रतिद्वन्द्वीहरूले पाएको मतसङ्ख्या, दुवै तथ्यले, यस कुराको पुष्टि गर्दछ।

नेपाली जनताले किन वैकल्पिक राजनीति शक्तिको उदय खोजिरहेको छ?

अहिले वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ। र यस पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्। भोलिका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि नेका वा एमालेजस्तो हुन सक्छ। रवि पनि देउवा वा फुकुदाजस्तै हुन सक्छन्। रविको वर्तमानको दिशा परिवर्तन हुँदैन भन्ने ग्यारन्टी गर्न सकिंदैन। तर नेपाली जनताले अब नयाँ राजनीतिक शक्तिको तीव्र कामना गरेको भनेर ग्यारन्टी गर्न सकिन्छ। एमाले, नेका र माओवादी र यिनका नेताहरूबाट देशको आर्थिक विकास होला भन्ने कुरामा जनतालाई पटक्कै विश्वास नरहेको पनि ग्यारन्टी गर्न सकिन्छ।

अब गत निर्वाचन र हालै सम्पन्न उपनिर्वाचनमा मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नुको प्रमुख कारणतिर जाऔं। प्रमुख कारण नै आर्थिक विकास हो। गरीबी हो। महँगी हो। परम्परागत राजनीतिक शक्तिहरूबाट नेपालको आर्थिक विकास हुन सक्तैन। नयाँ राजनीतिक शक्तिले मात्र नेपालको आर्थिक विकास गर्न सक्छ। नयाँ राजनीतिक शक्तिको नेतृत्व रविले गर्न सक्छन्। रवि र स्वर्णिमको जोडीले नेपालमा आर्थिक विकासका नयाँ बाटा तयार पार्नेछन्। यस्तैयस्तै सोचले गर्दा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेको हो। रवि अनेक विवादमा परेको भए तापनि ती कुराहरू बिर्सेर मतदाताले उनलाई विजयी तुल्याएको हो। अति कमजोर (राजनीतिक जीवनमा) उम्मेदवार स्वर्णिम वाग्लेलाई अत्यधिक मत दिएको हो।

नेपालमा बन्द हुनै आँटेको आर्थिक विकासको ढोका स्वर्णिमले पूरा खोल्न नसके तापनि आधा भए पनि खोल्न सक्नेछन्? नेपाली जनताको भरोसा पूरा गर्नेछन्? यी प्रश्नको उत्तर खोज्नु पूर्व नेपाली समाजको अनौठो चरित्रको चर्चा गर्न भने आवश्यक छ। हामी नेपालीहरू अरूलाई राम बन भन्छौं तर आफू भने राम बन्न सक्तैनौं। भ्रष्टाचारको घोर निन्दा गर्छौं तर पाए ठूलो माछाले सानो माछा कप्लक्क पारेझै घूस खाइदिन्छौं। नेताको चाकडीको विरोध गर्छौं तर आफ्नो कुनै काम निकाल्न बेइमान नेताको खुट्टासम्म पखाल्न तयार हुन्छौं। अरूलाई इमानदार बन भन्छौं तर आफू बन्दैनौं। यस्तो व्यवहार हामी बहुसङ्ख्यक नेपालीमा पाइन्छ।

हाम्रो समाजको चरित्र अति नै अनौठो छ। यो अनौठो चरित्रबाट स्वर्णिम प्रभावित हुने छैनन् भनेर ठोकुआ गर्न सकिंदैन। तर यदि उनले आफूलाई राम बनाउने प्रयास गरे भने नेपालको आर्थिक विकासका लागि धेरै कुराहरू गर्न भने सक्छन्। एक व्यक्तिको सोचले देशको आर्थिक विकास तीव्र गतिमा भएको उदाहरण धेरै छ। भारतका पूर्व प्रम नरसिम्हा रावको एक्लो सोचले भारतमा उदार अर्थ व्यवस्थाको सूत्रपात गरेको थियो।

स्वर्णिमले नेपालको आर्थिक विकासका लागि धेरै कुरा गर्न सक्छन् भन्ने आधारहरू के के छन् त?

स्वर्णिमले नेपालको आर्थिक विकासका लागि ठोस योगदान पुर्याउन सक्ने आधार धेरै छन्। उनी स्वयं एक युवा हुन्। उनीसँग नवीनतम आर्थिक योजनाहरू छन्। आर्थिक विकासका लागि आवश्यक पर्ने नयाँनयाँ सोच त छ नै, उनीसँग शक्ति पनि छ। जोश छ। साथै उनी अर्थविज्ञ हुन्। अर्थशास्त्रका पेचिला कुराहरू जुन राष्ट्रको आर्थिक विकासका लागि आवश्यक छ, उनलाई राम्ररी थाहा छ। उनले अर्थ क्षेत्रको गहिरो अध्ययन गरेका छन् र अध्यनशील पनि छन्। अर्को र महŒवपूर्ण कुरा उनी सम्बद्ध राजनीतिक दल – राष्ट्रिय स्वतन्त्र पार्टीले देशको आर्थिक विकास गर्छु भन्ने बाचा गरेको छ। यो पार्टी अहिलेसम्म देशको आर्थिक विकासप्रति चिन्तित र जागरुक देखिएको छ।

विश्व अर्थ व्यवस्थमा भएका नयाँनयाँ परिवर्तन र त्यसबाट नेपालले लिन सक्ने फाइदाहरूबारे स्वर्णिमलाई राम्रो जानकारी हुन सक्छ।

रवि लामिछानेको नियमित निगरानीले स्वर्णिमको महत्वाकाङ्क्षामा अंकुश लगाउने कार्य गर्नेछ, यदि स्वर्णिमले आर्थिक विकासका कुरालाई बेवास्ता गरेर केवल पद र शक्तिलाई महत्व दिए भने, केवल सत्तामुखी भए भने। अर्कोतिर रविले पनि जनतालाई अनेक आश्वासन दिएकाले उनले जनतालाई झुक्याउन कठिन छ किनभने उनले त्यस्तो गरेमा अर्को चुनाव उनको लागि उनको राजनीति जीवन अन्त्य हुने अवसर बन्न सक्नेछ।

रवि र स्वर्णिमको जोडीले, मुख्यगरी आर्थिक क्षेत्रमा केही सुधार गर्नेछ भनी आशावादी हुने प्रशस्त ठाउँ छ। यो जोडीको ध्यान सर्वप्रथम बेरोजगारतिर जानेछ, जानु नै पर्नेछ। रोजगारको लागि युवाहरू विदेशतिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने यो जोडीले अवश्य पनि कार्य गर्नेछ।

कृषि उत्पादनमा आएको ठूलो ह्रास रोक्न यो जोडीले कार्य गर्नेछ। निर्यात वृद्धिमा ध्यान दिनेछ। देशभित्र रोजगार सृजना गर्न नयाँनयाँ योजनाहरू ल्याउने छ। वा त्यस्तो गर्न सक्नेछ।

सर्वाधिक महत्वपूर्ण कुरा भने यो जोडीले नेपालीहरूमा आएको चरम निराशा ‘यो देशमा अब आर्थिक विकास सम्भव छैन’ लाई कम पार्न रवि–स्वर्णिम जोडीले महत्वपूर्ण भूमिका खेल्नेछ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 28, 2023

https://eprateekdaily.com/2023/04/27/50330/ 

Friday, April 21, 2023

Nepal-India Trade: Who is Benefiting?-Article-409

 नेपाल–भारत व्यापारः कसको लागि हितकर?

नेपाल र भारतबीच हुने व्यापारमा कसले बढी फाइदा उठाइरहेको छ भनी प्रश्न गर्ने हो भने यस प्रश्नको उत्तर दिन अनेक तथ्याङ्क अध्ययन र विश्लेषण गर्नु पर्दैन। ठूल्ठूला अनुसन्धान गर्नुपर्दैन। विना कुनै अध्ययन र विश्लेषण सहजै भन्न सकिन्छ, नेपाल र भारतबीच हुने व्यापारमा भारतले अत्यधिक फाइदा उठाइरहेको छ। भारतले अत्यधिक फाइदा उठाउने स्थिति पनि अनौठो छ। कसरी? नेपाल र भारतीबच हुने व्यापारमा नेपालले ठूलो घाटा खाएर भारतलाई यो दुई पक्षीय व्यापारबाट अत्यधिक नाफा हुने स्थितिमा पुर्याएको छ। सरल शब्दमा भन्ने हो भने नेपालले आफ्नो उद्योगधन्दा चौपट पारेर भारतलाई अत्यधिक फाइदा हुने स्थितिमा पुर्याएको छ। भारततर्फ निर्यात कम र भारतबाट नेपालतर्फ आयात बढी गरेर यी दुई देशबीच हुने व्यापारमा नेपालले बढी घाटा खाइरहेको छ। यो एक छुट्टै चर्चाको विषय हो। तर यहाँ प्रमुख चर्चाको विषय भने नेपालले आफ्नो उद्योगधन्दा चौपट पारेर भारतलाई अत्यधिक नाफा हुने स्थितिमा पुर्याउने नेताहरूको दुर्बुद्धि हो। यो गहन् र गम्भीर विषय उपर बृहत् चर्चा हुन आवश्यक छ।

सामान्य र यो स्थितिमा, नेपालले भारतसँग हुने व्यापारमा नाफा कमाउनु त टाढाको कुरा हो, सपनाको कुरा हो। नेपाल र भारतबीच हुने व्यापारमा नेपालले भारतर्फ निर्यात वृद्धि गरेर, चुलिंदै गरेको व्यापार घाटा कम पार्नु नै ठूलो कुरा हो।

यस स्थितिमा तलका निम्न कारणहरूले गर्दा नेपालले नेपाल–भारत व्यापारबाट फाइदा उठाउन असम्भव छ। नेपालले भारतसँग हुने व्यापार घाटा कम पार्नु नै पनि, यो अवस्थामा नेपालको लागि ठूलो कुरा हो।

१ स्तर लाभ (Economies of Scale)

२ पूर्ण लाभ (Absolute Advantage)

३ तुलनात्मक लाभ (Comparative Advantage)

स्तर लाभः जनसङ्ख्याको हिसाबले भारत अहिले चीनलाई उछिनेर संसारको नै सर्वाधिक ठूलो राष्ट्र हुन पुगेको छ। अर्थात् भारतको आन्तरिक बजार विशाल छ, र अझै वृद्धि हुने क्रममा छ। यसबाहेक भारतले संसारका धेरै राष्ट्रमा आफ्ना सामाग्रीहरू निर्यात पनि गर्छ। यी दुई कारणले गर्दा बिक्री गर्नका लागि, भारतले ठूलो परिमाण एवं सङ्ख्यामा उत्पादन गर्छ। ठूलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ उत्पादन लागत कम भएर जान्छ। ठूलो परिमाणमा उत्पादन गर्दा, प्रतिएकाइ उत्पादन लागत कम भएर हुने लाभलाई स्तर लाभ (Economies of Scale) भन्ने गरिन्छ। नेपालले सानो परिमाणमा उत्पादन गर्दा (भारतको तुलनामा) स्तर लाभ प्राप्त हुँदैन, जसले गर्दा नेपाली समान भारततर्फ निर्यात गर्दा भारतीय बजारहरूमा नेपाली सामान महँगो भएर बिक्री हुने सम्भावना शून्य भएर जान्छ। भारतले धेरै वस्तुहरूको उत्पादनमा स्तर लाभ प्राप्त गरेकोले नेपालले भारतसँग व्यापार गर्दा फाइदा हुने स्थिति परसम्म पनि देखिंदैन। र यो स्थितिले गर्दा नेपाल र भारतबीच हुने व्यापारबाट भारतले ठूलो फाइदा प्राप्त गर्ने स्थिति सृजना भएको छ। नेपालको स्थिति भने गम्भीर हुन पुगेको छ।

पूर्ण लाभः धेरै वस्तुको उत्पादनमा भारतले पूर्ण लाभसमेत प्राप्त गरेको छ। पूर्ण लाभ (Absolute Advantage) त्यो अवस्थामा प्राप्त हुन्छ जब कुनै कम्पनी वा देशले अन्य वा प्रतिस्पर्धी जत्तिकै वा कम परिमाणमा उत्पादक सामग्री (Input) प्रयोग गरेर प्रतिस्पर्धीभन्दा बढी उत्पादन गर्न सक्छ। भारतले अहिले उत्पादनका धेरै क्षेत्रहरूमा पूर्ण लाभ प्राप्त गरको छ। नेपालको तुलनामा भारतले ठूलो मात्रामा पूर्ण लाभ प्राप्त गरेको छ। भारतसँग कुशल श्रम र उच्च प्रविधि छ। यस्तो स्थितिमा भारतले पूर्ण लाभ प्राप्त गरेको क्षेत्रमा नेपालले भारतसँग व्यापारमा फाइदा उठाउनु हाम्रो लागि आकाशको फल पाउनुजस्तो हो।

तुलनात्मक लाभः प्रतिस्पर्धी वा अन्य व्यक्ति, संस्था वा देशको तुलनामा कम लागतमा उत्पादन गर्नु तुलनात्मक लाभ प्राप्त गर्नु हो। उत्पादन लागत कम पारेर मात्र तुलनात्मक लाभ (Comparative Advantage) प्राप्त गर्न सकिन्छ। उत्पादनको विभिन्न क्षेत्रमा अर्थात् विभिन्न वस्तुहरूको उत्पादनमा भारतले अहिले तुलनात्मक लाभ पनि प्राप्त गरिरहेको छ। जुन वस्तुको उत्पादनमा भारतले तुलनात्मक लाभ प्राप्त गरिरहेको छ ती वस्तुहरूसँग नेपालले प्रतिस्पर्धा गर्नु सम्भव छैन।

माथि उल्लेख गरिएका तीन कारण स्तर लाभ, पूर्ण लाभ र तुलनात्मक लाभ जुन भारतले प्राप्त गरिरहेको वा गरेको छ, त्यसले गर्दा नेपाली वस्तुले भारतका बजारहरूमा पुग्दा भारतीय वस्तुभन्दा सस्तो हुनु सपनाको कुरा हुन पुगेको छ। अर्कोतिर भारतीय वस्तुहरू नेपाली बजारहरूमा पुग्दा नेपाली वस्तुहरू भन्दा अत्यधिक सस्तो हुनु स्वाभाविक (माथिका तीन कारणले गर्दा) हुन पुगेको छ। माथिका कारणहरूले गर्दा नेपालले भारतसँग व्यापारमा फाइदा उठाउन सकेको छैन । व्यापार घाटा पनि चुलिंदै गएको छ। भविष्यमा यस्तै स्थिति रहेमा नेपालले फाइदा उठाउने अवस्था पनि देखिंदैन। फाइदा त के, व्यापार घाटा पनि कम पार्न सक्तैन।

तर माथि देखाइएका कारणहरूले गर्दा मात्र नेपाल र भारतबीच हुने व्यापारमा नेपालले ठूलो घाटा बेहोर्नुपरेको भने होइन। नेपालमा बन्ने अस्थिर सरकार, नेताहरूको विषयवस्तुप्रति अज्ञानता, शिक्षाको कमी आदिले गर्दा पनि नेपालले यो दुई पक्षीय व्यापारमा ठूलो घाटा खानुपरेको हो। नेपाल र भारतबीच हुने व्यापारमा नेपालले ठूलो घाटा खानुको प्रमुख कारण भने नेताहरूको स्वार्थी व्यवहार हो। नेताहरूको स्वार्थी व्यवहार, सत्ताको लागि जे पनि गर्न सक्ने घटिया प्रवृत्ति, देशभन्दा आफ्नो दलको लागि राजनीति गर्ने उनीहरूमा रहेको कुसंस्कारले गर्दा नेपालले ठूलो व्यापार घाटा बेहोर्नुपर्ने स्थिति उत्पन्न भएको हो।

नेपाल र भारतबीच हुने व्यापारबाट नेपालले कसरी बढी फाइदा उठाउन सक्छ र व्यापार घाटा कसरी कम पार्न सकिन्छ, हाम्रा नेताहरूका लागि कहिले पनि गम्भीर विषय बन्न सकेन। नेपाल र भारतबीच हुने व्यापारमा भारतले ठूलो फाइदा लिने स्थिति सृजना हुनुमा बढी जिम्मेवार दहाल नेतृत्वको माओवादी केन्द्र रहेको छ। पुष्पकमलका लागि सत्ता नै सदा सर्वोपरि रह्यो। देशको अर्थतन्त्र सर्वोपरि रहेन। दहालको कारणले गर्दा नै लामो समयदेखि नेपालले स्थिर सरकार पाउन सकेको छैन। नेपालको वैदेशिक व्यापार भारतप्रति अति निर्भर हुँदै गएको छ। रेमिट्यान्सप्रति अति निर्भर हुँदै गएको छ।

वर्तमान संविधान, यसले गरेको निर्वाचनसम्बन्धी व्यवस्था र नेपाली राजनीतिलाई अति प्रभाव पार्ने राजनीतिक दलहरू (एमाले, नेका, माओवादी, समाजवादी, लोसपा, जसपा) एवं तिनका नेताहरूको स्वार्थी व्यवहारले गर्दा नेपाल र भारतबीच हुने व्यापारबाट नेपालले फाइदा उठाउने स्थिति सृजना हुन सकेको छैन।

भारतसँग व्यापार घाटा कम पार्न सकिन्छ, तर नेताहरूको व्यवहारमा सुधार आएमा र नयाँनयाँ व्यापारिक रणनीतिहरू तयार पारेमात्र।

नेपालले भारतसँग व्यापारबाट अत्यधिक नाफा हुने स्थिति ल्याउन सक्छ। यस्तो गर्नका लागि नेपालमा सर्वप्रथम देशलाई माया गर्ने राजनीतिक दल र नेताहरूको उदय हुन आवश्यक छ।

नेपालमा देशलाई माया गर्ने राजनीतिक दल र नेताहरूको उदय भएमा उनीहरूले नेपाललाई हित हुने वैदेशिक व्यापार नीति तयार पार्न सक्छन्। नेपाली उद्योगहरूको विकास र विस्तार हुने नीति तयार पार्न सक्छन्।

नेपालले भारतसँग हुने व्यापारबाट फाइदा उठाउन सक्छ। यस्तो हुनका लगि नेपालले पनि देशभित्र उत्पादनका त्यस्ता क्षेत्रहरूको पहिचान गर्नुपर्दछ जहाँ नेपाललाई स्तर–लाभ, पूर्ण–लाभ, र तुलनात्मक–लाभ प्राप्त हुन सकोस्। जस्तै जल विद्युत् उत्पादनमा, तोकिएका क्षेत्रहरूमा नेपालले माथि भनिएका तीनवटै लाभ प्राप्त गर्न सक्छ। भारत भन्दा सस्तोमा जल विद्युत् उत्पादन गरेर नेपालले उक्त जल विद्युत् भारतलाई बिक्री गरेर राम्रो लाभ प्राप्त गर्ने मात्र होइन, व्यापार घाटा पनि कम पार्न सक्छ।

जल विद्युत् एउटा प्रतिनिधि उदाहरण मात्र हो। नेपालमा उत्पादनका अनेक त्यस्ता क्षेत्र छन्, जहाँ उत्पादन गर्दा नेपालले स्तर, पूर्ण र तुलनात्मक लाभ प्राप्त गर्न सक्छ। नेपालले ती क्षेत्रहरूको पहिचान गर्नुपर्छ। पहिचान गर्नका लागि विभिन्न अध्ययन एवं अनुसन्धान गर्नुपर्छ।

मन्त्रीहरूको काम आफ्नो दलको स्वार्थका लागि राजनीति गर्नु, सत्तामा सदा सर्वदा रहन के कस्ता दाउपेच चाहिन्छ त्यसको निर्माण गर्नु, ठगी गर्न गठबन्धन निर्माण गर्नु होइन। जनताले भुक्तान गरेको कर खाएर मन्त्रीहरूले त्यस्तो गर्नु उनीहरूको नैतिकताले नदिनुपर्ने हो।

मन्त्रीहरूले देश र जनताको हित हुने नीतिहरू निर्माण गर्नुपर्छ। ती नीति सफल पार्न प्रभावकारी कार्यहरू गर्नुपर्छ। मन्त्रीहरूले नेपाल र भारतबीच हुने व्यापारबाट नेपालले कसरी बढी फाइदा लिन सक्छ भनी सोच्नुपर्दछ। अर्थमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री तथा आपूर्ति मन्त्रीको दायित्वभित्र  यो कार्य पर्दछ । मन्त्र पद प्रतिष्ठाको पद मात्र होइन, जिम्मेवारीको पनि पद हो।

 


विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 21, 2023

https://eprateekdaily.com/2023/04/20/49965/ 

Friday, April 14, 2023

Unnatural Government: Problem in Economic Development-Article-408

 अप्राकृतिक सरकारः आर्थिक सङ्कट

कुनै पनि राष्ट्रले तीव्र गतिमा आर्थिक विकास गर्नका लागि त्यस राष्ट्रमा स्थिर सरकार हुन आवश्यक छ। सरकार स्थिर नभएमा असल एवं प्रभावकारी आर्थिक योजना, कार्यक्रम एवं नीतिहरूले पनि काम गर्दैनन्। यो नौलो कुरा होइन।

नेपालमा स्थिर सरकार त छैन नै, अस्थिर नै भएपनि प्राकृतिक सरकार छैन। नेपालमा अहिले अप्राकृतिक सरकार छ र यो अप्राकृतिक सरकार छल–कपट, दाउपेच र जालझेलको जगमा निर्माण भएको हो । जनमतको कदरमा भएको होइन। यो नौलो कुरा हो। संसदीय व्यवस्थामा यस्तो घटना बिरलै देख्न पाइन्छ। हाम्रो दुर्भाग्य! हामी हेर्न अभिषप्त छौं, विवश हेरिरहेका छौं।

अब स्पष्टरूपमा कुरा गरौं। पुष्पकमल दाहाल नेतृत्वको सरकार अप्राकृतिक सरकार हो। वर्तमान संविधान, जुन नेता र दलहरूको स्वार्थका लागि निर्माण गरिएको हो, त्यस अनुसार यो सरकार वैधानिक त छ, तर यो नैतिकताको धरातलमा उभिएको छैन। दाहाल नेतृत्वको सरकारले संसदीय व्यवस्थाको नै खिल्ली उडाएको छ। संसदीय व्यवस्थामा सर्वाधिक ठूलो दलको नेतृत्वमा सरकार गठन हुन्छ। संसदीय व्यवस्थाको यो संसारभरि नै एक सर्वस्वीकार्य मान्यता हो। यो मान्यताअनुरूप सर्वाधिक ठूलो दल नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने थियो। तर भएन।

जग हँसाउँदै पाँचौंपटक प्रधानमन्त्री बनेका सत्ताका चतुर खेलाडी शेरबहादुर देउवा नेतृत्वको नेपाली काङ्ग्रेसले सत्ता लेनदेनका लागि संसदीय व्यवस्थाको उपहास गर्दै संसद्मा तेस्रो ठूलो दलसँग साँठगाँठ गर्यो। आफ्नो (नेका) नेतृत्वमा सरकार गठन गर्नुपर्ने थियो तर भागबन्डाका लागि पुष्पकमल दाहाललाई सरकारको नेतृत्व गर्न दियो। सत्ताका लागि काङ्ग्रेसले इतिहासमा नै ठूलो भूल गर्यो ।यो भूल सच्याउन सकिंदैन।

काङ्ग्रेसको सत्ता लोभले गर्दा अहिले उसैको बलियो समर्थनमा तेस्रो ठूलो दल माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको छ। पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको छ। संसद्मा तेस्रो ठूलो दल भएर पनि सरकारको नेतृत्व गर्दा, प्रधानमन्त्री बन्दा, पुष्पकमल दाहाललाई लज्जाबोध हुनुपर्ने थियो। तर केको लज्जाबोध हुनु १ २०५२ सालमा दाहाल नेतृत्वको माओवादीले रक्तपातपूर्ण ढङ्गले, संसदीय व्यवस्था स्थापना गर्नका लागि होइन, अपितु एकदलीय कम्युनिस्ट व्यवस्था लागू गर्नको लागि सङ्घर्ष गरेको थियो। र अर्को कुरा, सत्ता र शक्तिको लागि जे पनि गर्न तयार हुने पुष्पकमल दाहालको लागि सानो दल भएर पनि सरकारको नेतृत्व गर्दा लज्जाबोध हुने कुरै भएन। यथार्थमा लज्जाबोध नेपाली काङ्ग्रेसलाई र यस दलको नेतृत्व गर्ने शेरबहादुर देउवालाई हुनुपर्ने हो। तर देउवा रोम जल्दा पनि बाँसुरी बजाएर बस्ने राजा निरोजस्तो भएर बसेका छन्। नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक आदर्श, मूल्य, मान्यता, संसदीय व्यवस्थाप्रति आस्थामा दाग लाग्दा पनि देउवा (सत्ताका लागि) निरोझैं बाँसुरी बजाउनमा व्यस्त छन्। सत्ताको लागि जे पनि गर्न तयार छन्। नेपालमा प्रजातन्त्र स्थपानाको लागि नेपाली काङ्ग्रेसले गरेको गौरवमय योगदानको इतिहास जोगाउन लाग्नुको सट्टा संसदीय व्यवस्था, प्रजातन्त्र र नेपाली काङ्ग्रेसकै विरोधमा हतियार उठाउने पुष्पकमल दाहालसँग हात मिलाएर सत्ताको कुर्सीमा सदा विराजमान हुने अवसरको उपयोग गर्न देउवा व्यस्त छन्। आफूलाई सफल नेतृत्वकर्ता मानिरहेका छन्। देउवा र पुष्पकमल दाहालको सहकार्य नेपाली काङ्ग्रेसको इतिहासमा ‘अति ठूलो भूल भएको’ भनी चर्चित र कलङ्कित हुनेछ।

दीर्घकालमा ‘देउवा नीति’ले नेपाली काङ्ग्रेसको क्षय नै गर्नेछ। नेपाली काङ्ग्रेसबाट असल व्यक्तिहरू बाहिरिनेछन्–स्वर्णिम वाग्लेझैं। अस्थिर सरकारभन्दा पनि अप्राकृतिक सरकार देशको आर्थिक विकासको लागि बाधक हुन्छस घातक हुन्छ। यस कारणले गर्दा पनि नेपाली काङ्ग्रेस र एमाले मिलेर, यी दुई दलको सहभागितामा सरकार निर्माण हुनु आवश्यक थियो र छ।

संसद्मा ठूलो दल भएकोले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार निर्माण हुनु आवश्यक छ। पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्नु नैतिकरूपले पटक्कै उचित देखिंदैन। जनताले माओवादीलाई सरकार निर्माण गर्न होइन, विपक्षमा बस्न मत दिएको हो। यो कुरा माओवादी केन्द्रका नेताहरूले बुझ्नुपर्ने थियो। नेपाली जनताले पुष्पकमल दाहाल एवं माओवादी नेतृत्वको सरकार रुचाएको छैन। किनभने सबैलाई राम्ररी थाहा छ, दाहाल नेतृत्वको सरकार, स्वार्थका लागि बनेको सरकार हो। यो सरकार देशको हितका लागि उपयुक्त छैन।

अप्राकृतिक सरकार राष्ट्रको आर्थिक विकासको लागि हितकर नहुनुका कारणहरू के के हुन् त?

स्थायी सरकार भनिने उच्च प्रशासनिक संयन्त्र (मन्त्रालय, विभाग, कार्यालय)हरूले अप्राकृतिक सरकारमाथि विश्वास नै गर्दैनन्। यो अप्राकृतिक सरकार कुनै पनि बेला ढल्न सक्छ । आधार कमजोर भएको संरचना जुन बेला पनि भत्किन सक्छ। मनमा यस्तो ठानेर यी संयन्त्रहरूले जिम्मेवारीपूर्वक र तदारूकताका साथ काम गर्दैनन्। उल्टो उच्च प्रशासक (मन्त्री)हरूलाई रिझाएर व्यक्तिगत फाइदा लिनतिर लाग्छन्।

अप्राकृतिक सरकारमा रहँदा कार्यक्रम, योजना तथा नीति निर्माता (मन्त्री )हरूलाई आफू कहिलेसम्म पदमा रहन पाउने हो भन्ने टुङ्गो हुँदैन। टुङ्गो नभएको हुनाले उनीहरू राष्ट्रविकासका कार्यमा केन्द्रित हुनुको साटो सस्तो लोकप्रियता आउने काममा व्यस्त हुन पुग्छन्। उनीहरूको महत्वपूर्ण समय केवल उद्घाटन, भ्रमण, निरीक्षण आदिमैं व्यतीत हुन्छ। उनीहरू पदमा रहन्छन्, तलब–भत्ता पनि पाउँछन् । तर काम भने आफ्नो र दलको लोकप्रियता वृद्धि हुने मात्र गर्छन् । अर्को चुनावमा विजयी हुने वातावरण तयार पार्ने कामहरू गर्छन्।

विदेशी लगानीकर्ता, दातृराष्ट्र, दातृ संस्थाहरूले पनि अप्राकृतिक सरकारमाथि विश्वास गर्न गा¥हो मान्छन्। आफूले गर्ने लगानीको भविष्य भोलिका दिनमा कस्तो हुने हो भनेर स्वदेशी एवं विदेशी लगानीकर्ताहरू झस्किन सक्छन्। यो कारणले पनि प्राकृतिक एवं स्थिर सरकार निर्माण हुन आवश्यक छ। एक इमानदार नेताको नेतृत्वमा सरकारको निर्माण हुन आवश्यक छ।

जारी युद्ध समाप्त गर्न रूस र युक्रेनमाथि चौतर्फी दबाब परिरहेको छ। चीनले रूसको विरोध नगरे पनि यो युद्ध समाप्त होस् भनी चाहेको छ। यो युद्ध चीनको पनि आर्थिक हितमा छैन। अहिले विश्वभरि र मुख्यगरी अमेरिकामा देखिएको मुद्रास्फीति सुधारोन्मुख छ। यो वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने सङ्केत देखिएको छ। विज्ञहरू, सन् २०२३ मा आर्थिक वृद्धिदर एक प्रतिशतको हाराहारीमा हुने भविष्यवाणी गर्दैछन्। यस्तो स्थितिमा नेपालमा स्थिर र प्राकृतिक सरकार हुन आवश्यक छ। स्थिर र प्राकृतिक सरकार भए मात्र नेपालले यस स्थितिको फाइदा उठाउन सक्छ। प्रभावकारी योजना र कार्यक्रमहरू ल्याउन सक्छ।

एमालेका नेताहरूले केवल आफ्नो दल र आफ्नो हित मात्र नसोचेर, राष्ट्र र जनताको लागि नेकासँग सहकार्य गरेर, नेका र एमाले मिलेर सरकार निर्माण गर्न उपयुक्त मात्र होइन, आवश्यक नै देखिएको छ। दाहाल नेतृत्वको सरकारले राष्ट्रको आर्थिक हित गर्न सक्दैन।

देश आर्थिकरूपमा निकै कमजोर भइसकेको छ। देशको स्थिति बूढो हात्तीजस्तो भएको छ, कुनै पनि बेला थचक्क बस्न सक्छ । यो कुरा सबैलाई थाहा छ। त्यस कारण एमाले र नेका यस विषयमा गम्भीर हुन आवश्यक छ। यी दुवै दलले दम्भ र स्वार्थ भुल्न आवश्यक छ। राष्ट्रको आर्थिक विकासको लागि सोच्न आवश्यक छ।

नेका र एमालेभित्रबाट इमानदार नेताहरूको उदय हुन आवश्यक छ। पुराना नेताहरू दुवै दलबाट बाहिर जान आवश्यक छ । यस्तो भए मात्र नेपालमा आर्थिक विकासको ढोका खुल्नेछ।

ओली, देउवा, नेपाल, दाहाल, खनाल, यादव, ठाकुर, महतो आदिले सक्रिय राजनीतिबाट सन्न्यास लिन अब ढिलो गर्नुहुँदैन। अहिले तपाईंहरूले सन्न्यास लिएमा आउने पुस्ताले तपाईंहरूको सम्मानमा तपाईंहरूकै जीवनकालमा सालिक बनाउनेछन्, आदर–सम्मान गर्नेछन्। हृदयमा राख्नेछन् । त्यस्तो गर्नुभएन भने …

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 14, 2023

https://eprateekdaily.com/2023/04/13/49693/

 

Friday, April 7, 2023

An Advice to the Minister-Article-407

 अविस्मरणीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल पनि परेका छन्। रिजालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा शपथ लिइसकेका छन्। यो स्तम्भकार पनि पर्सावासी भएकोले रिजाल मन्त्री भएकोमा हर्षित भएको त छ नै, रिजालले आफ्नो कार्यकालमा यस जिल्लाको लागि केही विशेष कार्यक्रमहरू ल्याउने छन् भनी आशावादी पनि भएको छ। सत्ताका लागि गरिने गठनबन्धनले रिजाललाई कति दिनसम्म मन्त्री भएर काम गर्ने दिने हो त्यो यथार्थलाई अहिले एकातिर पन्छ्याएर राखौं।

विकसित देशहरूमा नेता एवं उच्च प्रशासक (प्रधानमन्त्री, मन्त्री) हरूले आफ्नो एवं आफ्नो कार्यसँग सम्बन्धित क्षेत्रका जानकार एवं विज्ञहरूले लेखेका विभिन्न किसिमका सामाग्री एवं आलेखहरू अध्ययन गर्छन्। त्यति मात्र होइन, उनीहरू शिक्षित र अध्ययनशील पनि हुन्छन्। तर हाम्रो देशका नेताहरूमा त्यस किसिमले अध्ययन गर्ने परिपाटी बसिसकेको छैन। नेताहरूको अधिकांश समय सत्ता राजनीतिको लागि प्रयोग हुने दाउपेचको निर्माण एवं प्रयोगमा बित्ने गरेको हामीसँग दुःखद तथ्य छ। आशा छ मन्त्रीजी, तपाईंले त्यो परिपाटी भत्काउनुहुनेछ। आफ्नो चुनाव क्षेत्रका विज्ञ एवं जानकारहरूले के भन्दैछन्, के लेख्दैछन्, त्यस उपर ध्यान दिनुहुनेछ। यस्तो आग्रह गर्ने यो स्तम्भकार सम्बन्धित क्षेत्रको विज्ञ हो भन्न खोजेको भने होइन। यो स्तम्भकार निवेदक मात्र हो। मात्र आफ्नो विचार तपाईंसमक्ष राख्दैछ।

मन्त्रीजी, तपाईंलाई थाहा नै छ अहिले हाम्रो देशको आर्थिक स्थिति जर्जर हुन पुगेको छ। खासगरी तपाईंंले जिम्मेवारी पाएका क्षेत्रहरू उद्योग, वाणिज्य, आपूर्ति चिन्तनीय स्थितिमा छ। नेपालबाट विदेशतर्फ हुने निर्यातको सङ्ख्या र परिमाण दुवै उल्लेखनीय किसिमले वृद्धि गर्न सकिएको छैन। हाम्रो व्यापार बूढो गोरुजस्तो भएको छ, उठ्न सकिरहेको छैन। उद्योगको त कुरै न नगरौं।

तपाइ‘ स्वयंले नै पनि अनुभव गरेको देखेको कुरा हो, वीरगंज कुनै समयमा नेपालको आर्थिक राजधानी थियो। वीरगंज नेपालको व्यापारद्वार थियो, औद्योगिक नगरी थियो। वीरगंजमा चिनी कारखाना, कृषि औजार कारखाना, मोजा कारखाना, स्टिल कारखाना, कटन मिल, चुरोट कारखाना, सलाई कारखाना, बिस्कुट कारखाना, कत्थामिल थियो। समिल, राइस मिलहरू थिए। धान चामलको व्यापार गर्ने वीरगंजमा दर्जनौं ठूला व्यापारी थिए। वीरगंजले मात्र तत्कालीन धान चामल निर्यात कम्पनीको माध्यमबाट हजारौं क्विन्टल धान, चामल भारत, बङ्गलादेश, मरिसस तर्फ निर्यात गर्दथ्यो।

ती उद्योगहरू कहाँ गए? किन गए? कसरी गए? यसबारे कहिले पनि विस्तृत अध्ययन भएन। कारण पत्ता लगाउने काम भएन। उल्टो नेपालतर्फ हुने आपूर्तिको परिमाण बढ्दै गयो। देश विदेश गएर, ज्यानको बाजी लगाएर, रगत पसिना बगाएर ल्याएको कमाइले चल्ने भयो। ‘रेमिट्यान्स’ नआएमा देशको अर्थतन्त्र धराशायी हुने स्थिति भयो। कृषिको त झनै स्थिति दयनीय छ। 

विगतमा के भयो त्यो कुरा अब छाडि दिउँ, वर्तमानको कुरा गरौं।

तपाईं समग्र राष्ट्रको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको कायापलट गर्नुहोस्। देशको आर्थिक स्थितिमा सुधार ल्याउनुहोस्। उद्योग क्षेत्रको विस्तार गर्नुहोस्। आपूर्ति कम गरेर निर्यात वृद्धि गर्नेतर्फ लाग्नुहोस् । उपरोक्त कार्यहरू तत्काल गर्नुहोस् भन्न खोजेको पनि होइन।

भन्न के खोजेको हो भने तपाईंको कार्यकालमा कमसे कम यस्तो वाणिज्य एवं आपूर्ति नीति निर्माण गर्नुहोस् जसले गर्दा पर्सा जिल्ला तरकारी र फलफूल उत्पादनमा आत्मनिर्भर हुन सकोस्। अन्डा, माछा र मासु उत्पादनमा आत्म निर्भर हुन सकोस्। तरकारी, फलफूल, मासु, माछा, अन्डा आदि भारतबाट ठूलो परिमाणमा आयात गर्ने स्थिति अन्त्य होस्।

कृषि मन्त्रालयसँग सहकार्य गर्नुहोस्। कम ब्याजदरमा कृषकहरूलाई कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनुहोस्। कृषि मल, बीउ आदिको उपलब्धता सहज पार्नुहोस्। सिंहदरबार होइन, बढी समय पर्सा जिल्लाका गाउँहरूतिर बिताउनुहोस्। पर्सा जिल्लामा एक दुईवटा कृषक–सम्मेलनको आयोजना गर्नुहोस् र कृषकहरूले के के समस्या बेहोरिरहेका छन् ती कुराहरू बुझ्नुहोस्। कृषि क्षेत्रमा के के समस्या छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे कृषकहरूसँग राय लिनुहोस्। कृषि विज्ञानमा मास्टर र पिएचडी गरेका, तर माटो भने कहिले नछोएका विज्ञहरूभन्दा नित्य माटोसँग खेल्ने सामान्य कृषकहरूलाई कृषिका समस्या र समाधानबारे राम्रो जानकारी हुन्छ। कृषकहरूले कृषिबारे राम्रो जानकारी राखेका हुन्छन्।

अर्थ मन्त्रालयसँग समन्वय गर्नुहोस् र कृषकहरूलाई कम ब्याजदरमा र दीर्घकालका लागि कसरी कृषि–ऋण उपलब्ध गराउन सकिन्छ, त्यसबारे अर्थ मन्त्रालयका विज्ञहरूसँग परामर्श लिनुहोस्। कृषकहरूलाई दिइने ऋणको बीमा पनि गर्न सकिन्छ। त्यस्ता उपायको खोजी गर्नुपर्छ।

कृषकहरूले कृषि–ऋण लिएर उक्त ऋण कृषि कार्यमा उपयोग गरेका छन् कि छैनन् भनी थाहा पाउन स्वयंले पनि निरीक्षण गर्नुहोस्। कृषकहरूको घर दैलौमा पुग्नुहोस् उनीहरूको समस्या कुनै सहायकमार्फत होइन, स्वयंले सुन्नुहोस्।

कृषकहरूले लगाउने बालीको बीमा कसरी गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन कृषि मन्त्रालयका विज्ञहरूलाई भन्नुहोस्। कृषकहरूको बालीको बीमा गर्ने व्यवस्था भएमा खराब मौसमबाट हुने बालीको क्षति–मारबाट कृषकहरूलाई जोगाउन सकिन्छ।

पर्सा जिल्लाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू पर्सा जिल्लाभित्र नै खपत हुने स्थिति हुनु राम्रो हो। यदि त्यस्तो नभएमा उनीहरूले उत्पादन गरेका वस्तु बिक्री गर्न बाह्य बजारको खोजी गर्नुपर्ने हुन्छ। बाह्य बजारको खोजी गर्नुपर्ने स्थिति आएमा, आफ्नै पहलमा बाह्य बजार खोज्ने कार्य गर्नुहोस्। आफ्ना संयन्त्रहरूको प्रयोग बाह्य बजार खोज्न प्रयोग गर्नुहोस्। 

बढी समय मन्त्री क्वाटर र सिंहदरबारमा आसेपासेहरूसँग घेरिएर बस्नुभयो भने अर्को चुनाव तपाईंको लागि प्रतिकूल हुन सक्छ तर बढी समय पर्सा जिल्लाका गाउँहरूमा कृषक, व्यापारी, उद्योगपति र आपूर्तिकर्ताहरूसँग बिताउनु भयो भने अर्को चुनावमा तपाईंको विजय पुनः निश्चित हुनेछ। तपाईंका कामहरूले मतदाताहरूलाई तपाईंलाई भोट दिन बाध्य पार्नेछ।

सधैं र बढी काठमाडौं (केन्द्र) मा बस्ने परम्पराको अन्त्य गर्नुहोस्। आफ्नो कार्य क्षेत्र वीरगंज र पोखरियालाई बनाएर आफ्ना कार्यहरू जिल्लामा नै केन्द्रित गर्नुहोस्। विकासको पुरानो मोडेल (केन्द्रमा बसेर निर्देशन दिने) परिवर्तन गर्नुहोस्।

आफ्नो वरिपरि केवल कार्यकर्ता मात्र होइन, विज्ञहरू पनि राख्नुहोस्। उनीहरूसँग नियमित सल्लाह माग्नुहोस्। उनीहरूलाई पनि गृह–कार्य दिनुहोस् र गृह–कार्य गरे–गरेनन् त्यस उपर निगरानी राख्नुहोस्।

तपाईंको कार्यकालमा केवल पर्सा जिल्लालाई एक ‘पाइलट प्रोजेक्ट’ को रूपमा लिनुहोस्। त्यस्तो गर्न सकिन्छ। तपाईंका योजनाहरूले पर्सा जिल्लामा सफलता पायो/पाएन त्यसको मूल्याङ्कन गर्नुहोस्। पर्सा जिल्लालाई तरकारी, फलफूल, माछा, मासु, अन्डा उत्पादनमा आत्मनिर्भर तुल्याउन सकिने सम्भावनाको परीक्षण त्यस किसिमको पाइलट प्रोजेक्टको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ।

रिजालजी, तपाईं मन्त्री भएको खुशी रोक्न सकिनँ र त्यो खुशीलाई यस किसिमबाट अक्षरको रूपमा व्यक्त गरें। हामीलाई आशा होइन, विश्वास छ, तपाईं मन्त्री भएको समय पर्सा जिल्लाले कृषि, उद्योग, वाणिज्यको क्षेत्रमा अवश्य पनि केही सुधार भएको देख्नेछ। अनि तपाईं हाम्रा लागि एक अविस्मरणीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहुनेछ।

एकै व्यक्ति पटकपटक र दर्जनौंपटक मन्त्री भएका छन्। सदा केवल शक्ति र सत्ताको लागि दौडेका छन्। आफ्नो चुनाव क्षेत्र र समग्र राष्ट्रको आर्थिक विकासमा भने ध्यान दिएका छैनन्। राजनीति आरम्भ गरेको छ महीनाभित्र मन्त्री भएका छन्। तर तपाईंले लामो समय राजनीतिमा बिताउनुभएको छ। राजनीतिमा लागेको चार दशकपछि बल्ल मन्त्री हुनुभएको छ। यसबाट के प्रस्ट हुन्छ भने तपाईं सत्ताको दौडमा खासै लाग्नुभएको छैन। जिल्लाको विकासलाई महत्व दिनुभएको छ। यस कारणले पनि तपाईं समक्ष आफ्ना विचार राख्न मन लाग्यो।

मन्त्रीजी, तपाईंको कार्यकाल सुखद र सफल होस्।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, April 7, 2023

https://eprateekdaily.com/2023/04/06/49390/