Friday, January 26, 2024

History of Economic Development: What went Wrong?-Article-437

 नेपालको अर्थ ब्यवस्थाको इतिहास र हाम्रो सोंच

नेपालको अर्थ व्यवस्थाको इतिहास पुरानो पनि छैन। उत्साहप्रद पनि छैन। उल्टो अनेक समस्याहरूले भरिएको छ।

२००७ सालसम्म नेपाल बन्द देश थियो। विदेशीहरूको लागि बन्द थियो। नेपालीका लागि समेत बन्द थियो। देशको अन्य भागबाट काठमाडौ प्रवेश गर्न राणा–प्रशासनसँग काठमाडौं–प्रवेश अनुमति लिनुपथ्र्यो।

राणाकालसम्म देशले आम्दानी गर्ने प्रमुख स्रोत केवल मालपोत वा भूमि कर थियो। देशमा उद्योग, व्यापार, व्यवसाय शून्यप्रायः थियो। देशको आर्थिक विकासका लागि जनसहभागिता, उद्योग एवं व्यवसाय सञ्चालन तथा अनेक किसिमका पेशाकर्मीहरूको आवश्यकता हुन्छ भन्ने यथार्थ राणाहरूलाई थाहा थिएन। उनीहरूको ध्यान केवल सत्ता टिकाउन र सत्ता हस्तगत गर्नमैं केन्द्रित थियो। राणाहरूको आर्थिक सहयोगको ठूलो स्रोत अङ्ग्रेजहरूको दया थियो।

२०१७ सालपछि, एउटा देशको रूपमा टिक्न, सार्वभौमसत्ता सम्पन्न हुन, कुनै पनि देश आर्थिकरूपमा सबल हुनुपर्छ भन्ने भावना नेताहरूमा थोरै मात्रामा भए पनि, तर जागृत भएको पाइन्छ। त्यो पनि खासगरी तत्कालीन राजा महेन्द्रमा देशलाई आर्थिकरूपमा सबल पार्नुपर्छ भन्ने भावना जागृत भएको पाइन्छ। राजा महेन्द्रले देशको आर्थिक विकासका लागि अनेक कार्य गरेको पाइन्छ।

२०१७ सालपछि नेपालमा अनेक किसिमका उद्योग सञ्चालनमा आए। नेपालमा चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना जस्ता ठूला उद्योगको स्थापना भएको पाइन्छ। महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, त्रिभुवन राजपथ आदिको निर्माण देशलाई आर्थिकरूपले सक्षम पार्नुपर्छ भन्ने सोचको परिणाम थियो।

२०१७ सालपछि सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुनका लागि त्यो राष्ट्र आर्थिकरूपमा पनि सक्षम हुनुपर्छ भन्ने सोच नेताहरूमा आयो तर एउटा गम्भीर र महत्वपूर्ण सोच भने आएन, जुन युरोपेली राष्ट्रका नेताहरूमा आएको थियो। संयुक्त राज्य अमेरिकाका नेताहरूमा आएको थियो।

देशको आर्थिक विकास आफ्नै स्रोत तथा साधन प्रयोग गरेर गर्नुपर्छ। आफू भन्दा धनी राष्ट्रसँग सहयोग, अनुदान वा ऋण मागेर देशको आर्थिक विकास हुँदैन भन्ने सोच अमेरिका र युरोपका नेताहरूमा आएजस्तो नेपालका नेताहरूमा आएन। नेपालमा सहयोग–अनुदान र ऋण मागेर देशको आर्थिक विकास हुन्छ भन्ने परम्पराको विकास भयो। २०१७ सालपछि नेपालमा जे जति आर्थिक विकासका पूर्वाधारको निर्माण भयो, सडक, पूल, कलकारखाना, सञ्चार व्यवस्था आदि, अन्य देशको सहयोगमा भयो। मुख्यगरी भारत, चीन र सोभियत रूसको सहयोगमा भयो। आफ्नो स्रोत र साधन प्रयोग गरेर भएन। अर्थात् हाम्रो आर्थिक विकासको इतिहास, जुन व्यवस्थितरूपमा २०१७ सालदेखि प्रारम्भ भयो, विदेशी ऋण र अनुदानबाट अति प्रभावित भयो। देशको आर्थिक विकासका लागि जे जति काम भए, सडक र पुल निर्माण, उद्योगहरूको स्थापना, अन्य राष्ट्रको आर्थिक सहयोगमा भए। दयामा भए। नेपालको आर्थिक विकास अन्य राष्ट्रहरूको सहयोगमा गर्ने परपाटीले नेपालीहरूमा ‘हामी आफ्नो आर्थिक क्षमताले देशको विकास गर्न सक्तैनौं, अर्को देशको सहयोग आवश्यक हुन्छ’ भन्ने सोचको विकास भयो। यो सोंचले हामीलाई अहिलेसम्म छाडेको छैन। अहिले पनि ‘आफ्नै स्रोत र साधनले देशको आर्थिक विकास गर्न सक्छौ’ भन्ने आत्म विश्वास छैन। हाम्रो देशका मन्त्री, प्रधानमन्त्रीहरू अर्को देशको भ्रमणमा गएको बेला त्यस देशका सरकार प्रमुखको अगाडि हात पसार्न पुग्छन्। भीख माग्न पुग्छन्। त्यस्तो गर्दा लाज मान्दैनन्।

नेपालमा जसैजसै विदेशी ऋण, अनुदान र सहयोगको मात्रामा वृद्धि हुँदै गयो, सोही अनुसार नेपालको राजनीतिमा विदेशीहरूको हस्तक्षेप बढ्दै गयो। भारतले नेपाललाई गर्ने आर्थिक सहयोगको मात्रामा जुन अनुपातमा वृद्धि भयो सोही अनुपातमा नेपाललाई आफ्नो प्रान्तको रूपमा हेर्ने भारतीय नेताहरूको सोच र हिम्मत बढ्दै गयो। यस्तो हाम्रो कमजोरीले गर्दा भएको हो।

हाम्रो देशको आर्थिक विकासको इतिहासमा देशको आर्थिक विकास आफैंले गर्नुपर्छ, सहयोग, ऋण र अनुदान मागेर होइन भन्ने अभ्यासले बलियो स्थान बनाउन सकेन। हाम्रो देशको आर्थिक विकासका लागि विदेशीहरूसँग सहयोग, अनुदान र ऋण माग्नैपर्छ भन्ने हाम्रो सोचले गर्दा हामीमा आत्मविश्वास विकास हुन सकेन। हामी लघुताभासको शिकार हुन पुग्यौं। धेरैपछि मात्र व्यवस्थित किसिमले आर्थिक विकास गर्न आरम्भ गरेका राष्ट्रहरू, कुनै बेला गरीब कहलिएका राष्ट्रहरू–बङ्गलादेश, चीन, दक्षिण कोरिया अहिले आर्थिकरूपमा बलियो राष्ट्र हुन पुगेका छन्। हामी भने गरीब राष्ट्र नै छौं।

२०१७ देखि २०४६ सम्मको समय पनि नेपालको आर्थिक विकासको इतिहासमा सुखद रहेन। देशको सर्वोच्च प्रशासन (पञ्चायती व्यवस्था र यसका उच्च पदाधिकारीहरू) र जनता दुई ध्रुवमा विभाजित भएर रहे। जनताले एकातिर मुख फर्कायो भने उच्च प्रशासन वा राज्य व्यवस्थाले अर्कोतिर। देशको आर्थिक विकासको लगि महŒवपूर्ण दुई पक्षबीच कहिले समन्वय हुन सकेनस मेलमिलाप हुन सकेन। जनता, जो देशको आर्थिक विकासको मुख्य पक्ष हुन्छ, देशको आर्थिक विकासमा लाग्नुको सट्टा राज्य व्यवस्था (पञ्चायती व्यवस्था) पतन गराउनपट्टि लाग्यो। सदा सङ्घर्षरत रह्यो। राज्य व्यवस्थाविरुद्ध बेलाबेलामा बाह्य र आन्तरिकरूपमा अनेक आन्दोलन भए। सङ्घर्षहरू भए। जनताले आफूलाई देशको आर्थिक विकासको महत्वपूर्ण पक्षको रूपमा कहिले पनि देखेन। जनताले त्यस्तो किसिमले अनुभूत गर्ने वातावरण पनि बनेन। पञ्चायती व्यवस्थाका नेताहरूको सोच र व्यवहार पनि सर्वसत्तावादी रह्यो। जे जस्तो कारणले होस्, नेपालीहरूमा हामीले हाम्रो देशको आर्थिक विकास आफ्नै प्रयासबाट गर्ने हो भन्ने सोचको विकास यो कालमा हुन सकेन।

देशको आर्थिक विकासम आफ्नो योगदान महत्वपूर्ण देख्ने, जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने, सुम्पिएको काम सम्पूर्णरूपमा सम्पन्न गर्नेजस्ता व्यवहार र भावनाको हामीमा सदा अभाव रहँदै आएको छ। केही वर्ष पहिले मात्र होइन, परापूर्व कालदेखि अभाव रहँदै आएको छ। त्यसकारण हामीले भन्दै आएका छौ, ‘राजाको काम कहिले जाला घाम। दिएको काम सम्पन्न नगर्ने, काम ठग्नेजस्तो सोच हामीमा बलियोगरी बसेको छ। हामी आफूलाई देशको आर्थिक विकासको जिम्मेवार ‘कारक’ (Actor) देख्दैनौं। राज्यबाट पाइने र पाउन सकिने हरेक सेवा र सुविधाको आफूलाई हकदार देख्छौं (त्यो स्वाभाविक पनि हो) तर राज्यको लागि हामीले पनि केही गर्नुपर्छ भन्ने सोच राख्दैनौं। राज्यप्रति केही कर्तव्य छ भन्ने बोध गर्दैनौं। उल्टो भन्छौ– राजाको काम कहिले जाला घाम। यस्तो सोचले पनि देशको आर्थिक विकास हुन्छ?

अब आऔ २०४७ सालदेखि हाल (२०८० साल) सम्मको कालमा, गणतन्त्र कालमा। गणतन्त्रकाल नेपालको आर्थिक विकासको इतिहासमा ‘कालो’ काल हो। दुःखद काल हो। किन कालो काल हो? यो कालमा देशका आर्थिक संरचनाहरू ध्वस्त पार्ने काम भए। नेताहरूको इमानदारीमा अभूतपूर्व ह्रास आयो। नेताहरूले देशको आर्थिक विकासका लागि आफूलाई महत्वपूर्ण कारक (Significant Actor) को रूपमा देख्नुपर्नेमा सुविधाभोगी भूमिकामा मात्र सीमित पारे। जुनसुकै दल र विचारको नजीक भए तापनि देशको आर्थिक विकासका लागि सबै नेता मिलेर अगाडि बढ्नुपर्नेमा उनीहरूको दृष्टि केवल सत्ता र सुविधामा मात्र केन्द्रित हुन पुग्यो। शक्ति र सत्ताका लागि जुट्ने र फुट्ने भूमिकामा सीमित रहेका नेताहरूले देशको आर्थिक विकासका लागि कहिले गम्भीर भएर सोचेनन्। आफ्नो फाइदाका लागि देशलाई आर्थिकरूपमा दिवालिया हुने स्थितिमा पुर्याए तर देशको विकासको लागि एकजुट हुन कहिले सकेनन्।

देशमा अहिले बेरोजगारी छ। गरीबी छ। त्योभन्दा पनि बढी अहिले देशमा घोर निराशा छ। यी नेताहरू र यो व्यवस्थाबाट देशको आर्थिक विकास सम्भव छैन। स्वदेशमा हाम्रो भविष्य सुरक्षित छैन। यस्तो भावनाले अहिले हजारौं युवाहरूलाई विदेश पलायन हुन बाध्य पारिरहेको छ। स्वदेशमा आफ्नो भविष्य सुरक्षित नदेखेर नेपाली युवाहरू अहिले युद्ध मैदानमा आफ्नो भविष्य सुरक्षित देखिरहेका छन्। नेपाली युवाहरू ‘भाडाको सैनिक’ बनेर, योद्धा बनेर, रूस र युक्रेन पुगेका छन्। स्थिति यस्तै रहने हो भने नेपालको दुईतिहाई जनसङ्ख्या विदेशका अन्य राष्ट्रमा हुनेछ। त्यो पनि छिटै। यी कारणहरूले गर्दा यो काललाई नेपालको आर्थिक विकासको इतिहासको ‘कालोकाल’ भन्नुपर्ने हुन्छ। हो, गणतन्त्र कालोकाल हो। होइन र?

सम्भावना असीमित हुन्छ। अहिले पनि सम्भावना छ। अवसर पनि छ। हामीले देशको आर्थिक विकास आफैंले गर्नुपर्छ। हाम्रो देशको आर्थिक विकासका लागि आर्थिक सहयोग, अनुदान र ऋण लिने परम्परा क्रमिकरूपमा समाप्त हुनुपर्छ। देशको आर्थिक विकासका लागि सबै राजनीतिक दलका नेताहरू एकजुट हुनुपर्छ। नेताहरूले स्वार्थी बानी परित्याग गरी सत्ता र शक्तिको मोह त्याग्नुपर्छ। कुर्सीको मोह त्याग्नुपर्छ। जनताले पनि आफूलाई विकासको कर्ताको रूपमा अनुभूत गर्नुपर्छ।

नेपालमा आर्थिक विकासका अनेक सम्भावना छन्, अनेक अवसर छन्। साधन र स्रोत पनि उत्तिकै छ। हामीले आफ्नो देशको आर्थिक विकास आफैंले गर्न सक्छौं।

 

  विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, January 26, 2024

https://eprateekdaily.com/2024/01/26/61912/

Friday, January 19, 2024

Nepal: Overseas Employment and Fatality-Article- 438

 वैदेशिक रोजगारका डरलाग्दा जोखिम

नेपालमा गरीबी छ। बेरोजगारी छ। यो सत्य हो। तर के नेपालमा त्यो मात्रामा अति नै गरीबी र बेरोजगारी छ कि कुनै पनि किसिमको काम गर्न नपाएर दुई छाक खान पनि समस्या होस्?

के नेपालमा काम गर्न खोज्दा कस्तै पनि काम नपाएर, आम्दानीको अभावमा, खाना खान नपाएर भोकभोकै मर्नुपर्ने स्थिति छ? के नेपालमा कुनै पनि किसिमको काम गर्छु भन्दा कुनै पनि किसिमको काम गर्न नपाइने स्थिति छ? के नेपाल रोजगार–शून्य देश हुन पुगेको छ?

नेपालमा बेरोजगारीको कुरा गर्दा माथिका प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ। नेपालमा पर्याप्त मात्रामा रोजगार छैन यो सत्य कुरा हो। कामदारहरूले जुन किसिमको काम गर्न खोजेका छन् त्यस किसिमको काम पाउन कठिन छ त्यो पनि सत्य हो। कामदारहरूले जति आम्दानी हुने काम खोजेका छन् त्यति आम्दानी हुने काम पाउन कठिन छ भन्ने कुरा पनि सत्य हो। यसैगरी आफ्नो अनुभव, शैक्षिक योग्यता वा तालीम अनुसार काम गर्न खोज्दा त्यस किसिमको काम नपाउने स्थिति छ, त्यो पनि सत्य हो। तर उपलब्ध जस्तोसुकै काम गर्छु भन्नेहरूका लागि काम पाउन कठिन छ भन्ने कुरा सत्य होइन।

नेपालमा बेरोजगारी चरम मात्रामा हुनुका अनेक कारण छन्। नेताहरूको स्वार्थी र सत्तामुखी प्रवृत्तिका कारण देशको आर्थिक विकासको गति मन्द हुनु र पर्याप्त मात्रामा रोजगार सृजना नहुनु पनि नेपालमा बेरोजगारीको एक कारण हो। यस्ता अनेक कारण छन्, जसले गर्दा नेपालमा पर्याप्त मात्रामा रोजगार सृजना हुन सकिरहेका छैन।

नेपालमा अहिले देखिएको चरम बेरोजगारीको एउटा महŒवपूर्ण कारण भने युवाहरूमा चरम निराशा हो। अहिले नेपालमा युवाहरू अति उच्च बिन्दुमा निराश हुन पुगेका छन्। युवाहरूले स्वदेशमा रोजगार नै देखिरहेका छैनन्। आफ्नो भविष्यसमेत सुरक्षित देखिरहेका छैनन्। आफ्नो भविष्य विदेशमा मात्र सुरक्षित देखिरहेका छन्, वैदेशिक रोजगारमा देखिरहेका छन्। यस कारणले गर्दा स्वदेशमा रोजगार सृजना नगर्ने र विदेशमा पुगेर जस्तो पनि काम गर्न तयार रहने मनस्थितिमा नेपाली युवाहरू पुगेका छन्।

विदेशमा पुगेर अति जोखिमपूर्ण काम गर्न युवाहरू तयार छन्। वैदेशिक रोजगारको क्रममा ज्यानसमेत दिन तयार छन्, नेपाली युवाहरू अहिले। रूस– युक्रेन युद्धमा अहिलेसम्म रूसको पक्षबाट युद्ध गर्ने १२ नेपाली युवाहरूको ज्यान जानुले यस तथ्यको पुष्टि गर्दछ। हालै केही दिन पहिले मात्र, रूसको पक्षबाट युद्ध गर्दा युद्धभूमिमा लम्जुङ जिल्ला निवासी ३२ वर्षीय साजन गुरुड्ढो ज्यान गएको छ। साजन गुरुङ माओवादीका ‘वाइसिएल’ नगर पदाधिकारी पनि थिए। रोजागारको खोजमा हिंडेका साजन गुरुङ रूसको सैनिक हुन तयार भएका थिए, सेनामा भर्ना भएका थिए। 

किन त्यसरी जीउ–ज्यानको बाजी लगाएर रूस पुगेका होलान् नेपाली युवाहरू? यस प्रश्नको उत्तर सरल छ। स्वदेशमा व्याप्त चरम निराशाले युवाहरूलाई विदेशतिर रोजगारको लागि पलायन हुन बाध्य पारिरहेको छ।

समाचारहरूमा उल्लेख भए अनुसार नेपालका २०० भन्दा बढी युवा रूसी सेनामा भर्ति भएका छन्, युक्रेनविरुद्ध युद्ध गर्न। कति ठूलो निराशा नेपाली युवाहरूमा? रोजगारको नाममा भाडाको सैनिकसम्म बन्न तयार भएका छन्। कति उदेकलाग्दो स्थिति!

यसैगरी रूसविरुद्ध युक्रेनको पक्षबाट युद्ध गर्न पनि युक्रेनी सेनामा भर्ना भएका छन, नेपाली युवाहरू। कस्तो दुःखलाग्दो स्थिति! कति ठूलो निराशा! केवल रोजगारको नाममा, केही बढी पारिश्रमिक पाइएला भन्ने आसमा, नेपाली युवाहरू एक आपसमा युद्ध गरिरहेका छन्। केवल रोजगारका खातिर नेपाली युवाहरूमध्ये केही रूसको पक्षमा त कोही युक्रेनको पक्षमा, आपसमा युद्ध गरिरहेका छन्। नेपाली इतिहासमा कहिले यस्तो देखिएको थिएन।

रूस र युक्रेन पुगेका नेपाली युवाहरूलाई राम्ररी थाहा छ त्यसरी युद्ध गर्न जाँदा ज्यान पनि जान सक्छ। उनीहरूलाई राम्ररी थाहा छ युक्रेन र रूसबीच भएको युद्धमा युक्रेनतर्फ ३० हजारभन्दा बढी व्यक्तिहरूको (युद्धका कारण) मृत्यु भइसकेको छ। यसैगरी रूसतर्फ ६ हजारभन्दा बढी व्यक्तिको हत्या भइसकेको छ। अर्थात् रूस र युक्रेनबीच डरलाग्दो युद्ध भइरहेको छ भन्ने कुरा नेपाली युवालाई राम्ररी थाहा छ। तर यो तथ्य थाहा पाएर पनि नेपाली युवाहरू रूसी र युक्रेनी सेनामा भर्ति हुन ती देशतर्फ लाग्नुले नेपाली युवाहरूमा निराशाले सीमा पार गरेको कुरा छर्लङ्ग हुन्छ।

कुनै पनि युद्धमा सेना नै अग्र पङ्क्तिमा हुन्छ। उच्च जोखिममा पहिले उनीहरू नै पर्छन्। युद्धको क्रममा युद्धरत सैनिकको कुनै पनि बेला मृत्यु हुन सक्छ। यो कुरा थाहा पाउँदापाउँदै पनि नेपाली युवाहरू जीउ–ज्यानको बाजी लगाएर रोजगारका लागि युद्धभूमिमा जानु र युद्धभूमिलाई रोजगारको सुरक्षित स्थल देख्नु आफैंमा उदेकलाग्दो विषय हो। चरम निराशाको द्योतक हो।

रोजगारका लागि विदेश पलायन हुन थालेका नेपाली युवाहरूलाई रोक्न तथा उच्च जोखिम भएका स्थान (देश) हरूमा जान नदिन सर्वप्रथम उनीहरूमा आशाको सञ्चार गर्न आवश्यक छ। उनीहरूलाई निराशाको भुमरीबाट बाहिर ल्याउन आवश्यक छ। युवाहरूमा आशा सञ्चार गराउने कार्य सरकार र समाज दुवैथरीले गर्नु आवश्यक छ।

अब प्रसङ्ग बदलौं। रोजगारसम्बन्धी हाम्रो समाजमा व्याप्त दुई धारणाबारे चर्चा गरौं। पहिलो धारणा– वैदेशिक रोजगार सरल र अति लाफदायक हुन्छ। दोस्रो धारणा–रोजगार सृजना गर्ने कार्य केवल सरकारको हो। 

रोजगारसम्बन्धी हाम्रो समाजमा व्याप्त यी दुवै धारणा गलत छन्। कसरी? केही अपवादलाई छाडेर कुरा गर्ने हो भने वैदेशिक रोजगार सरल हुँदैन, सुरक्षित हुँदैन। कुनै पनि देशको सरकारले सरल र सुरक्षित किसिमको काम पहिले आफ्नो नागरिकलाई उपलब्ध गराउँछ। कठिन, असुरक्षित, उच्च जोखिम भएका काम गराउन विदेशी कामदारहरूलाई देशमा आउन अनुमति दिन्छ वा ल्याउँछ। उदाहरणका लागि, वल्र्ड कप–२०२२ का निम्ति कतारमा स्टेडियम निर्माण गर्दा वा तत्सम्बन्धी कार्य गर्दा ६,५०० विदेशी कामदारको मृत्यु भएको थियो। मृत्यु हुनेमा भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश र श्रीलङ्कका नागरिक थिए। माथिको तथ्याङ्कबाट स्पष्ट हुन्छ वैदेशिक रोजगार सुरक्षित र सरल हुँदैन भन्ने यथार्थ।

विदेशमा राम्रो पारिश्रमिक पाइन्छ भन्ने हल्ला पनि पूर्ण सत्य होइन। कुनै पनि देशको सरकारले राम्रो तलब, सुविधा सर्वप्रथम आफ्नो देशको नागरिकलाई उपलब्ध गराउँछ। विदेशी कामदारलाई कम सुविधा र पारिश्रिमिक दिएर आफ्नो देशमा भित्र्याउँछ।

अब दोस्रो गलत धारणाबारे कुरा गरौं। नेपालमा व्याप्त धारणा ‘रोजगार सरकारले सृजना गर्ने हो’, यो पूर्णतया गलत हो। कुनै पनि देशमा रोजगार समाजले सृजना गर्ने हो। सरकारले रोजगार सृजना हुने वातावारण तयार पारिदिने हो। नियम, कानून निर्माण गरेर व्यापार स्थापना र सञ्चालन गर्न सजिलो पारिदिने हो। सरकार केवल सहजकर्ता हो। रोजगार, कुनै पनि समाज भित्र रहेका व्यवसायीहरूले सृजना गर्ने हो। उदाहरणका लागि वीरगंजका युवाहरूको लागि रोजगार सृजना गर्ने दायित्व वीरगंजका व्यवसायीहरूको हो। लगानीकार्ताहरूको हो। व्यापारीहरूको हो। उद्योगपतिहरूको हो। यी पक्ष प्रमुख जिम्मेवार हुन् वीरगंजमा रोजगार सृजना गर्नका लगि। सरकारले केवल नैतिक दायित्व मात्र बोक्ने हो।

रोजगार सृजना गर्ने दायित्व केवल सरकारको हो भन्ने गलत धारणा हाम्रो समाजमा व्याप्त रहेसम्म देशमा पर्याप्त मात्रामा रोजगार सृजना हुन सक्तैन। यो धारणामा तत्काल परिवर्तन ल्याउन आवश्यक छ।

समाजमा रोजगार सृजना गर्ने दायित्व प्रत्येक नागरिकको हो भन्ने भावना जनजनमा पुर्याउन आवश्यक छ। यस्तो भए मात्र पर्याप्त मात्रामा रोजगार सृजना गर्न सकिन्छ। युवाहरूलाई रोजगारका लागि विदेश पलायन हुनबाट रोक्न सकिन्छ।

कुनै एक व्यक्ति वा कुनै एक उद्यमी (Entrepreneur) ले जब एउटा व्यवसाय (रेस्टुरा) स्थापना गर्छ तब उसको त्यो कार्यबवाट तत्काल रोजगार सृजना हुन्छ। उसको त्यो व्यवसायमा दुईचार जनाले रोजगार पाउन सक्छन्। यसरी एउटा सामान्य व्यक्ति, एउटा उद्यमीको प्रयासबाट पनि समाजमा रोजगार सृजना हुन सक्छ।

यसरी एक व्यक्तिले मात्र पनि, फ्नो एउटा सामान्य क्रियाकलापबाट पनि, रोजगार सृजना गर्न सक्छ रोजगार सृजना गर्ने आफ्नो सामाजिक दायित्व पूरा गर्न सक्छ। यो भावना हामीले प्रत्येक व्यक्तिमा पुर्याउन आवश्यक छ। र सोही भावन अनुरूप क्रिया गराउन आवश्यक छ।





विश्वराज अधिकारी

akoutilya@gamil.com

Thursday, January 19, 2024

https://eprateekdaily.com/2024/01/18/61549/

 

Friday, January 12, 2024

Meaning and Importance of Clean Economy-Article-437

 सफा अर्थ व्यवस्था के हो र किन आवश्यक छ?

यो देश त्यो देश भनेर हामी बाँडिए तापनि र यो मेरो देश, त्यो तिम्रो देश भनेर हामी विभाजित भए तापनि हामीमाथिको आकाश एउटै छ। पृथ्वी एउटै छ। विश्व–वातावरण एउटै छ।

यो पृथ्वीको उपभोग र रक्षा गर्ने सन्दर्भमा हामी सबै एउटै हौं। हामीबीच कुनै पनि किसिमको विभाजन छैन। यस पृथ्वीको रक्षाप्रति सबैको दायित्व समान छ।

जुनसुकै देश र जहाँबाट पनि हामीले गर्ने क्रियाकलापले सम्पूर्ण पृथ्वीलाई प्रभावित गर्छ। सम्पूर्ण विश्व–वातावरणलाई प्रभावित गर्छ। तर यो कुराको बोध भने बल्ल अहिले आएर भएको छ। जनस्तरमा होइन, केवल सरकारस्तरमा बोध भएको छ। तर यस्तो बेला बोध भएको छ, जब स्थिति चिन्ताजनक अवस्थामा पुगेको छस सङ्कटको नजीक पुगेको छ।

यदि हामीले परम्परागत ऊर्जा (Fossil Fuel– petroleum products, coal, natural gas) प्रयोग गरि नै रहने होस छिटै धनी हुन अनेक देशले परम्परागत ऊर्जा ठूलो परिमाणमा प्रयोग गरि नै रहने हो भने अनेक किसिमका प्राकृतिक समस्या उत्पन्न भएर यो पृथ्वीमा प्राणी बस्न सक्ने अवस्था लोप हुनेछ। पृथ्वीकै पनि विनाश हुनेछ। मानव सभ्यता समाप्त हुनेछ। विज्ञहरू यस्तै भविष्यवाणी गर्देछन्। हाम्रो पौराणिक कथाहरूले भन्ने ‘प्रलय’ यही हुनेछ। पाकिस्तानमा हालै आएको बाढी, क्यालिफोर्नियाको जङ्गलमा लागेको आगो, क्यानाडाको जङ्गलमा लागेको आगो, मावी (हवाई) को आगलागी, यस्ता अनेक प्राकृतिक विपद्हरू पृथ्वीको तापक्रम बढ्नुसँग जोडिएका छन्। अर्थात् पृथ्वी अत्यधिक तातेर त्यस्तो भएको हो।

जब सन् १९४० देखि पृथ्वीको ताप मापन गर्न थालियो त्यस बेलादेखि अहिले (सन् २०२४) सम्म, सन् २०२३ को वर्ष सर्वाधिक तातो हुन पुगेको पाइयो। एक सय वर्ष पहिले पृथ्वी जति तातेको थियो त्यसको तुलनामा अहिले पृथ्वी अति नै तातेको पाइयो। सन् २०२३ को मेदेखि डिसेम्बरसम्मको अवधि–दुई सय दिन पृथ्वी अति तातेको मापन गरिएको छ। यसरी पृथ्वी तात्ने क्रम बढ्नु राम्रो होइन। यसमा नियन्त्रण अति आवश्यक छ। हामीले अहिले प्रयोग गर्ने ऊर्जा, परम्परागत ऊर्जाको विसर्जनले यो पृथ्वी अभूतपूर्व किसिमले तातिरहेको छ।

पृथ्वीको तापक्रम बढ्नु अब कुनै एक देशको मात्र चिन्ता रहेन। यो हरेक देशको चिन्ता हुन पुगेको छ। यो पृथ्वीमा बस्ने हरेक व्यक्तिको चिन्ता हुन पुगेको छ।

परम्परागत ऊर्जाको खपत कुनै पनि देशमा, सर्वाधिक बढी त्यस देशको अर्थ व्यवस्थाले गर्दछ। उद्योग र व्यापारमा सर्वाधिक ऊर्जा खपत हुन्छ। अहिले विश्व अर्थ व्यवस्था ऊर्जामैं आश्रित हुन पुगेको छ। विश्व अर्थ व्यवस्थालई ऊर्जाले गति दिएको छ। ऊर्जको प्रयोग नहुने हो भने कुनै पनि देशको अर्थ व्यवस्था रोकिन पुग्छ। अर्कोतिर सबै देशले प्रयोग गर्ने ऊर्जा भने, मुख्यरूपमा, एउटै छ। सबै देशले अहिले ठूलो परिमाणमा परम्परागत ऊर्जा, त्यसमा पनि बढी, जीव–अवशेष ऊर्जा (Fossil Fuel) प्रयोग गरिरहेका छन्। अनि परम्परागत ऊर्जाको अति प्रयोगले हाम्रो साझा पृथ्वीलाई तताइरहेको छ।

पृथ्वीको तापक्रम बढ्न नदिन र मानव सभ्यता जोगाउन हामीले हाम्रो वा प्रत्येक देशको अर्थ व्यवस्थाको प्रकृतिमा नै परिवर्तन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। परम्परागत ऊर्जामा आश्रित रहेको राष्ट्रिय एवं विश्व अर्थ व्यवस्थालाई अब सफा अर्थ व्यवस्थामा रूपान्तरित गर्नुपर्ने भएको छ। अर्थ व्यवस्थालाई ‘सफा अर्थ व्यवस्था’ मा रूपान्तरण गर्न अब ढिलो गर्नुहुँदैन। यस्तो किसिमको माग अब चारैतिरबाट उठ्न थालेको छ।

सफा अर्थ व्यवस्था भनेको के हो?

कुनै पनि (देशको) अर्थ व्यवस्थाले केवल सफा ऊर्जा प्रयोग गर्नु सफा अर्थ व्यवस्था हो। परम्परागत ऊर्जाको स्थानमा पुनःनवीकरणीय ऊर्जा प्रयोग गर्नु सफा अर्थ व्यवस्था हो। सफा अर्थ व्यवस्थाको अवधारणले वायु ऊर्जा, सौर्य ऊर्जा, जैव ऊर्जा, जलविद्युत्जस्ता पुनःनवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगमा जोड दिन्छ। अर्को शब्दमा भन्दा सफा अर्थ व्यवस्थाले पृथ्वीको अस्तित्व रक्षालमा जोड दिन्छ। वायु ऊर्जा, सौर्य ऊर्जा, जैव ऊर्जा, जलविद्युत् आदि सफा ऊर्जा हुन्। यिनको प्रयोगले परम्परागत ऊर्जाले जस्तो पृथ्वी तात्दैन।

सन् २०५० सम्म विश्व अर्थ व्यवस्थालाई परम्परागत ऊर्जा अर्थ व्यवस्थाबाट सफा अर्थ व्यवस्थमा रूपान्तरण गर्न विश्वभरिबाट माग गरिएको छ। कतिपय देशले सन् २०५० सम्म आफूलाई सफा अर्थ व्यवस्थामा रूपान्तरित गर्ने भनी राष्ट्रिय नीति नै बनाइसकेका छन्। जर्मनी, फ्रान्स आदिले सन् २०५० सम्म परम्परागत ऊर्जाको प्रयोग बन्द गर्ने भनी घोषणासमेत पनि गरिसकेका छन्।

के सफा अर्थ व्यवस्थामा रूपान्तरित हुन सम्भव छ?

सम्भव पनि छ र असम्भव पनि छ। सम्भव यस कारणले छ कि पृथ्वीलाई अति तात्नबाट जोगाउनुको विकल्प छैन। हामीले परम्परागत ऊर्जाको प्रयोग यसरी नै गरिरहने हो, विकल्पको खोजी नगर्ने हो भने पृथ्वी तातेर यो पृथ्वीबाट मानव सभ्यता नै समाप्त हुन पुग्छ। यस कारणले अब सबै राष्ट्रले सफा अर्थ व्यवस्थमा रूपान्तरित हुने विषयलाई महत्व दिनेछन् र दिनु पनि पर्छ।

असम्भव यस हुनाले छ कि छोटो अवधिमा यो गर्न सकिंदैन। यसका लगि लामो अवधि चाहिन्छ। त्यसकारण छोटो अवधिमा सफा अर्थ व्यवस्थामा रूपान्तरित हुन सम्भव छैन, लामो अवधिमा भने सम्भव छ। इराक, इरान, साउदी अरेबिया, रूस, युनाइटेड अरब इमिरेट्स यस्ता राष्ट्रहरू हुन् जसको अर्थ व्यवस्था परम्परागत ऊर्जा उत्पादन र बिक्रीमा निर्भर छ। साउदी अरेबियाले पेट्रोलियम पदार्थ उत्पादन बन्द गर्ने हो भने त्यस देशको अर्थ व्यवस्थामा नै ढल्न सक्छ। परम्परागत ऊर्जामा आश्रित रहेका देशहरूलाई सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन वर्षौ लाग्न सक्छ। यो कारणले गर्दा पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन सजिलो छैन।

चीन, भारतजस्ता नव धनाढ्य देशहरूको अर्थ व्यवस्था पूर्णरूपमा परम्परागत ऊर्जको प्रयोगमा निर्भर रहेको छ। परम्परागत ऊर्जाको प्रयोगले नै यी राष्ट्रहरूलाई छोटो समयमा धनी हुन सघाएको हो। चीन र भारतले धनी हुने सुरमा आफ्ना अनेक शहरलाई अति प्रदूषितसमेत पारेका छन्। सन् २०२३ को तथ्याङ्क अनुसार भारतको दिल्ली, कोलकाता तथा मुम्बई र चीनको शेयाङ र हाङजु विश्वका दस अति प्रदूषित शहरमध्ये पर्न पुगेका छन्। चीन, भारत जस्ता नवधनाढ्य हुन खोज्ने राष्ट्रहरूलाई पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन केही समय लाग्नेछ। अर्कोतिर यिनीहरूले प्रयोग गर्ने ऊर्जाको विसर्जनबाट पृथ्वी झन्झन् तातिरहेको छ।

विकासशील राष्ट्रहरूलाई पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन समय लाग्नेछ। हुन पनि सफा अर्थ व्यवस्थामा रूपान्तरित हुन सजिलो छैन। इन्डोनेशिया, ब्रजील, दक्षिण अफ्रिका आदिले पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन समस्या बेहोर्नुपर्नेछ।

स्थिति अर्कोतर्फ यस्तो छ कि सफा अर्थ व्यवस्थामा हरेक देशले आफूलाई रूपान्तरित गर्नु अनिवार्य छ। पृथ्वी तात्नु अब कुनै एउटा देशको समस्या नभएर विश्वभरिका राष्ट्रहरूको साझा समस्या हुन पुगेको छ। कुनै पनि देश सफा अर्थ व्यवस्थामा रूपान्तरित हुनुको विकल्प छैन। ढिलो वा चFँडो रूपान्तरित हुनु नै पर्छ।

धर्ती माताले भन्दैछिन्–“तिमीहरूको धनी र सुविधासम्पन्न हुने सपना र क्रियाकलापले मलाई अति तातो पारेर मेरो अस्तित्व नै समाप्त हुने स्थितिमा पु-यायो। तर याद राख, मेरो अस्तित्व समाप्त भएमा तिमीहरूको अस्तित्व पनि समाप्त हुनेछ ।” पृथ्वीलाई अति तात्नबाट जोगाउनु अब प्रत्येक विश्व– नागरिकको कर्तव्य हुन पुगेको छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, January 12, 2024

https://eprateekdaily.com/2024/01/11/61143/

 

Terrifying Postmodernism Part 31 Last

 उत्तर आधुनिक युगको त्रासदी

३१

चरम उपभोक्तावाद

उत्तर आधुनिक युगमा उपभोक्ता वस्तुहरूको संख्यामा ब्यापक वृद्धि हुनेछ। जुन अनुपातमा उपभोक्ता वस्तुहरू ठूलो संख्यामा बजारमा आउने छन्, सोही अनुपातमा समाजमा उपभोक्तावादमा वृद्धि हुनेछ। अनेक उपभोक्ता वस्तुहरू उपभोग गर्न उपभोक्ताहरू लालायित रहने छन। बजारमा ठूलो संख्यामा रहेका उभोक्ता वस्तुहरूले उपभोक्ताहरूलाई ती उपभोक्ता वस्तुहरू प्राप्त गर्न अतिनै उत्प्रेरित गर्ने छन। अर्थात उपभोक्ता वस्तुहरूले नै उपभोक्ताहरूलाई उत्प्रेरित गर्नेछन। वस्तुका विशेषता, आकार, प्रयोग विधि आदि नै प्रेरक तत्व हुनेछन।

बलियो क्रय शक्ति भएका वा राम्रो आम्दानी भएका ब्यक्तिहरूले त सजिलै गरी ती उपभोक्ता वस्तुहरू प्राप्त गर्ने छन तर कमजोर आम्दानी भएकाहरूले खल्तीमा कम पैसा भएको कारणले बजारमा भएका कम मात्र उपभोक्ता वस्तुहरू खरिद गर्न सक्ने छन। र यसरी कम उपभोक्ता वस्तुहरू खरिद गर्न पाएको वा परेकोमा तथा केही उपभोक्ता वस्तु खरिद गर्न नपाएकोमा, कमजोर आम्दानी भएका उपभोक्ताहरूकमा ठूलो अशन्तोष देखिने छ। त्यो अशन्तोषले उनीहरूमा आफूले प्राप्त गर्ने खोजेको वस्तु अपराध कर्म गरेर भए पनि वा भ्रष्टाचार गरेर भए पनि प्राप्त गर्ने सोंच वा दृढता उत्पन्न गराउने छ। उनीहरूको सोंच भ्रष्टाचार वा अपराध गर्ने तर्फ उन्मुख हुनेछ। अर्को स्थितिमा, आफूले प्राप्त गर्न खोजेको वस्तु खरिद गर्ने नपाएका उपभोक्ताहरूमा लघुताभाषले स्थान बनाउने छ।

उपभोक्ता वस्तु भनेको के हो?

उपभोक्ता वस्तुहरू निम्न चार प्रकारका हुन्छन:

१ अति आवश्यक्ताका उपभोक्ता वस्तु

२ आवश्यकताका उपभोक्ता वस्तु

३ अर्ध विलासी उपभोक्ता वस्तु

४ विलासी उपभोक्ता वस्तु

अति आवश्यक्ताका वस्तु

दैनिक जीवन यापन गर्नका लागि आवश्यक पर्ने वस्तुहरू उपभोक्ता वस्तुहरू हुन्। यिनीहरूको अभावमा जीवन यापन गर्न सम्भव हुँदैन। यस्ता वस्तुहरूलाई अति आवश्यकताका उपभोक्ता वस्तुहरू भन्ने गरिन्छ। जस्तै दाल, चामल, तरकारी, पानी वा भोजन भित्र पर्ने अनेक वस्तुहरू उपभोक्ता वस्तुहरू हुन।

२ आवश्यक्ताका उपभोक्ता वस्तु

जीवन सरल तुल्याइ दिने वस्तुहरू आवश्यक्ताका उपभोक्ता वस्तुहरू हुन्। यी वस्तुहरूको अभावमा बाँच्न सकिन्छ तर यी वस्तुहरूको उपस्थितिले जीवन कठिन हुन पाउँदैन। जस्तै सार्वजनिक सवारीका साधन, फर्निचर, कपडाहरू, ऊर्जा आदि आवश्यकताका उपभोक्ता वस्तुहरू हुन्।

३ अर्ध विलासी वस्तु

केवल प्रदर्शन गर्न, आत्मसन्तुष्टि वृद्धि गर्न, प्रतिस्पर्धा गर्न प्रयोग गरिने वस्तुहरू अर्ध विलासी वस्तुहरू हुन्। यी वस्तुहरूको अभावमा बाँच्न सकिन्छ। अर्ध विलासी वस्तुको प्रकृति कस्तो हुन्छ भने कुनै समयमा, कसैको लागि यो आवश्यक्ताको उपभोक्ता वस्तु हुन पुग्छ। जस्तै दाउरा प्रयोग गरेर खाना पकाउने परिवारको लागि गैस प्रयोग गरेर खान पकाउने चुल्हो अर्ध विलासी वस्तु हुन पुक्छ। सामान्य कुर्सी खरिद गर्न सक्नै क्रय शक्ति भएको ब्यक्तिको लागि घुम्ने कुर्सी अर्ध विलासी वस्तु हुन सक्छ।

४ विलासी वस्तु

आफ्नो सन्तुष्टि वृद्धि गर्न, प्रदर्शन गर्न, आफू अन्य भन्दा फरक रहेको बोध गराउन जस्ता अनेक मनोवैज्ञानिक कारणबाट प्रेरित भएर खरिद गरिने वस्तुहरू विलासी वस्तुहरू हुन। विलासी वस्तुहरूको अभावमा बाँच्न कुनै पनि किसिमको कठिनाई हुँदैन। आवश्यता होइन, लघुताभास वा उच्चताभाष जस्तो मनोभावबाट प्रेरित भएर खरिद गरिने वस्तुहरू विलासी वस्तुहरू हुन्। विलासी वस्तुहरू महँगा प्रकृतिका हुनुका साथै सजिलै, जुन बेला पनि, जहाँ पनि प्राप्त हुने किसिमका हुँदैनन। हिरामोति जडित गहना, सुनका गहना, दरबार जस्तो भवन, अति महँगो आरामदायी कार, निजी विमान आदि विलासी वस्तुका उदाहरणहरू हुन्।

उपभोक्तावाद भनेको के हो?

उत्तर आधुनिक युगमा उपभोक्तावादमा ब्यापक अभिवृद्धि हुनेछ भनी चर्चा गर्नु पूर्व उपभोक्तावाद भनेको के हो त्यो बुझ्न आवश्यक छ। उपभोक्तावादको परिभाषा विभिन्न किसिमले दिइएको पाइन्छ। आफ्नो हक र हित संरक्षण गर्न उपभोक्ताहरू सुसूचित र संगठित हुनुलाई कसैले उपभोक्तावाद भनेको पाइन्छ। आफ्नो अहित हुन बाट जोगिन उपभोक्ताहरू सङ्गठित हुनु उभोक्तावाद हो।

तर वर्तमान सन्दर्भमा, र यो पुस्तकको विषयसङ्ग सम्बन्धित भएर भन्नु पर्दा उपभोक्तावाद भनेको अत्यधिक उपभोक्ता वस्तुहरू उपभोग गर्न खोज्नु हो। आवश्यक्ता नभएका वस्तुहरू पनि उपभोग गर्न खोज्नु हो। एउटै किसिमको आवश्यक्ता परिपूर्ति गरिदिने किसिमको वस्तु भएता पनि उक्त वस्तुका अनेक प्रकारहरू उपभोग गर्न खोज्नु हो। उदाहरणका लागि कुनै सामान्य किसिमको जुत्ताले आफ्नो आवश्यकता परिपूर्ति हुने स्थिति भएता पनि १० ओटा ख्याति प्राप्त ‘ब्रान्ड’ का जुताहरू खरिद गर्नु उपभोक्तावादको राम्रो उदाहरण हो। यो स्थितिमा उभोक्ताले आफ्नो आश्वयताकतालाई होइन जुत्ताको ब्राण्डलाई आधार मानेर जुत्ता खरिद गरेको छ। महँगो ब्राण्डका जुत्ता खरिद गरेको छ।

बढी भन्दा बढी वस्तु प्रयोग गर्नु, नया नया वस्तुहरू प्रयोग गर्न सदा तत्पर रहनु, आवश्यकता नभएका वस्तुहरू खरिद गर्नु, उपयोगी अवस्थामा रहेका पुराना वस्तुहरू फालेर नया वस्तुहरू खरिद गर्नु, उपभोक्ता वस्तुहरूको खरिदमा आफ्नो आम्दानीको ठूलो भाग खर्च गर्नु उपभोक्तावादका लक्षणहरू हुन्। सक्षेममा भन्ने हो भने उपभोक्तावाद अनेक अनके वस्तुहरू उपभोग गर्ने सीमाहीन इच्छा हो। आफूले खोजेका वस्तुहरू उपभोग गर्न नपाएमा कुण्ठाको शिकार हुनु हो।  

विकसित देशहरूमा उपभोक्तावाद झनै चर्को स्थितिमा छ। एउटा उदाहरण मात्र हेरौं। तथ्याङ्कहरूले देखाए अनुसार अमेरिकाको एउटा परिवारले आफ्नो जीवनकालमा ३ लाख भन्दा बढी वस्तुहरू उपभोग गर्छ। अर्थात अमेरिकाको एउटा परिवारको घरमा ३ लाख भन्दा बढी वस्तुहरू रहेको पाइएको छ।

अमेरिकामा कतिपय वस्तुहरू केवल कुनै एक क्षण, एक घण्टा, वा केही समयको लागि मात्र प्रयोग हुने त्यसपछि त्यसको पुन: प्रयोग नहुने वस्तुहरूको संख्या हजारौ होला। उदाहरणका लागि, जन्मदिनको दिन काटिने केकमा राखिएको मैन बत्ति पुन: प्रयोग हुँदैन। १० वा १२ जन्मदिन भनेर लेखिएको बैलुन पुन: प्रयोग हुँदैन। यसैगरी सन् २०२३ भनेर लेखिएको ओर्नामेन्ट (क्रिसमस ट्री सजाउन प्रोयग गरिने सेरामिकको वस्तु) पुन: २०२४ मा प्रयोग हुँदैन। अमेरिका लगायत संसारका अन्य विकसित देशहरूमा केवल एक पटक वा खास क्षणमा प्रयोग हुने वस्तुहरूको संख्या हजारौं छ।

गरिव देशहरूले पनि अहिले धनी देशहरूलाई पछ्याइ रहेका छन्। गरिब देशहरूमा पनि ठूलो संख्यामा उपभोक्ता वस्तुहरू उपभोग भइरहेको छ। अनुमानहरूले देखाए अनुसार गरिब देशहरूमा एउटा परिवारको घरमा ५० हजार उपभोक्ता वस्तुहरू रहेको देखिएको छ। अर्थात गरिब देशका नागरिकहरूले आफ्नो जीवन कालमा ५० हजार भन्दा बढी वस्तुहरू उपभोग गरेको पाइन्छ।

उत्तर आधुनिक युगमा उपभोक्ताहरूले चारै किसिमका उपभोक्ता वस्तुहरू- १. अति आवश्यक्ताका उपभोक्ता वस्तु, २. आवश्यकताका उपभोक्ता वस्तु, ३. अर्ध विलासी उपभोक्ता वस्तु र ४. विलासी उपभोक्ता वस्तु, ठूलो संख्यामा उपभोग गर्ने छन्। उत्पादक एवं बिक्रेताहरूले पनि मुनाफा अभिवृद्धि गर्न र छोटो समयमा करोडौ रुपैंया कमाउन ठूलो संख्यामा नया नया उपभोक्ता वस्तुहरू बजारमा ल्याउने छन। नया नया उपभोक्ता वस्तुहरूको आविष्कार गर्नेछन।  

उत्तर आधुनिक युगमा देखिएको चरम उपभोक्तावादले समाजमा थप असन्तुलन ल्याउने छ। नागरिकहरूमा निरासा अभिवृद्धि गराउने छ। प्रेम, सद्भाव, दया, करुणा जस्ता भावमा कमी आएर मान्छे मेसीन हुनेछ।

उत्तर आधुनिक युगमा मानिसले मेसिन जस्तो भएर निकै धन कमाउन खोज्ने छ। ठूलो आम्दानी गर्ने इच्छा राख्ने छ। र ठूलो आम्दानी सहित बजारमा पुगेर अनेक अनावश्यक उपभोक्ता वस्तुहरू खरिद गर्ने छ।

बढ्दो उपभोक्तावाद उत्तर आधुनिक युगको एक ठूलो त्रासदी हुनेछ।