Friday, February 23, 2024

How Far Responsible Our Media Are? 441

 के सञ्चारमाध्यमहरूमा आए जत्तिकै भ्रष्टाचार छ?

नेपालमा कर्मचारीहरू भ्रष्टाचारमा लिप्त छन्। व्यापारीहरू भ्रष्टाचारमा लिप्त छन्। नेताहरूहरू भष्ट्राचारमा लिप्त छन्। मन्त्री, प्रधानमन्त्रीहरू भ्रष्टाचारमा लिप्त छन्। सामान्य नागरिकसमेत पनि भ्रष्टाचारमा लिप्त छन्। निष्कर्षमा भन्ने हो भने हाम्रो समाज नै भ्रष्टाचारमा लिप्त छ। भ्रष्टाचार हाम्रो जीवनयापनको एक अङ्ग हुन पुगेको छ। हाम्रो संस्कृति हुन पुगेको छ। भ्रष्टाचार हाम्रो समाजले इज्जत दिएको एक संस्कृति हुन पुगेको छ।

हामीकहाँ बहुसङ्ख्यक व्यक्ति भ्रष्टाचार गर्ने अवसर नपाएसम्म भ्रष्टाचार विरोधी हुन्छन्। घूस खान नपाएसम्म घूस विरोधी हुन्छन्। इमानदार हुन्छन्। तर भ्रष्टाचार गर्न पाए, घूस खान पाए दुवै हातले खान्छन्। जति पाए पनि खान्छन्। यो हाम्रो राष्ट्रिय चरित्र हो। यस तथ्यलाई हामीले स्वीकार गर्नै पर्छ। सत्य यही हो। हाम्रो समाज घूस विरोध होइन, घूसमैत्री हो। घूस दिनुहोस्, लिन जो पनि तयार हुन्छ।

हामी कहाँ भ्रष्टाचारमा लिप्त हुनेहरूको पङक्ति लामो छ। तर सर्वाधिक आश्चर्यको कुरा त के छ भने भ्रष्टाचार हुँदैछ भनेर जनतालाई खबरदारी गर्ने सञ्चार माध्यमहरू वा मेडिया सञ्चालक र मेडियाकर्मीहरू पनि भ्रष्ट छन्। भ्रष्टाचारमा लिप्त छन्। हवलदार नै चोर भएको अवस्था छ।

भ्रष्टाचार नियन्त्रण र रोकथाम गर्न राज्यद्वारा स्थापित एवं सञ्चालित निकायहरू पनि भ्रष्टाचारमा लिप्त छन्। निजी र गैरसरकारी संस्थाहरू जो भ्रष्टाचार विरोधी अभियानमा संलग्न छन् ती पनि भ्रष्ट छन्। हाम्रो देश नै भ्रष्टाचारको जालोले नराम्ररी बेरिएको छ।

माथिका भनाइको अर्थ नेपालमा इमानदारहरूको खडेरी परेको छ भन्ने होइन। इमानदारहरू छैनन् भन्ने पनि होइन। इमानदार र भ्रष्टाचार विरोधीहरू पनि नेपालमा राम्रो सङ्ख्यामा छन्। केही कर्मचारी त इमानदारीका लागि प्रख्यात नै भए। आर्थिक र पदीय भ्रष्टाचारको सन्दर्भमा, मन्त्री, प्रधानमन्त्री आदिबारे कुरा गर्ने हो भने मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईजस्ता दुई प्रधानमन्त्रीहरूले इमानदार र भ्रष्टाचार विरोधीको रूपमा ख्याति नै आर्जन गरे।

यस आलेखको उद्देश्य भने नेपालमा जुन स्तरको भ्रष्टाचार छ भनी सञ्चार माध्यमहरूले प्रचार, प्रसार र प्रकाशन गरिरहेका छन् यथार्थमा, नेपालमा त्यो स्तरको भ्रष्टाचार छ वा छैन भनी छलफल गर्नु हो। भ्रष्टाचार नियन्त्रणमा मेडियाले महत्वपूर्ण योगदान पु-याएको छ वा मेडियाको कार्य भ्रष्टाचार नियन्त्रण तर्फ उन्मुख नभई उल्टो भ्रष्टाचार बृद्धि गराउनेतर्फ छ, त्यस उपर विचार गर्नु हो।

मेडियाका सञ्चालक तथा मेडियाकर्मीहरूले प्रकाशन र प्रसारण गर्ने भ्रष्टाचारसम्बन्धी समाचार एवं विचारहरूको प्रकृति र उद्देश्य हेर्दा ती समाचार एवं विचारहरूले भ्रष्टाचार नियन्त्रणभन्दा मेडियाका सञ्चालक एवं मेडियाकर्मीहरूलाई फाइदा पु-याएको देखिन्छ। तर यो स्थिति सबै सञ्चारगृह एवं सञ्चारकर्मीहरूमा देखिएको छैन। तर बहुसङ्ख्यक सञ्चारगृह एवं सञ्चारकर्मीहरूले सम्प्रेषण गर्ने भ्रष्टाचार विरोधी विचार एवं समाचार वा सूचना एवं जानकारीहरूले भ्रष्टाचार नियन्त्रण गर्न सघाउ पु-याएको देखिंदैन।

भ्रष्टाचारसम्बन्धी समचार प्रकाशन एवं प्रसारण गर्दा सत्य र तथ्यपूर्ण जानकारी सङ्कलन नगरी केवल सुनेको वा अनुमानको भरमा पत्रपत्रिका, रेडियो, टिभी आदिमा समाचार एवं विचारहरू प्रसारण वा प्रकाशन गर्नु केवल पाठक, दर्शक तथा श्रोताको सङ्ख्या वृद्धि गर्नु हो। श्रोता, पाठक वा दर्शकहरूको सङ्ख्या वृद्धि गरेर अन्य फाइदा (आय, विज्ञापन, आर्थिक सहयोग, लाभ आदि) प्राप्त गर्नु हो। यस्तो कार्य अहिले बहुसङ्ख्यक सञ्चारगृह एवं सञ्चारकर्मीले गरिरहेका छन्।

झूटो वा काल्पनिक समाचार तथा विचार प्रकाशन तथा प्रसारण गर्नु पनि ठूलो आर्थिक अपराध हो। ठूलो भ्रष्टाचार हो। अक्षम्य अपराध हो। प्रकाशित हुने भ्रष्टाचारसम्बन्धी सूचना, जानकारी, विचार, समाचार तथ्यपूर्ण हुनुपर्छ। सत्य हुनुपर्छ।

प्रेस र वाक् स्वतन्त्रताको नाममा भूmटो, असत्य, स्रोत नखुलेको समाचार वा विचार प्रकाशित गर्न पाइँदैन। प्रसारण गर्न पाइँदैन। त्यस्तो गर्नुलाई गम्भीर अपराध गरेको मान्ने गरिन्छ। तर अहिले नेपालमा बहुसङ्ख्यक सञ्चार संस्थाका धनी एवं सञ्चारकर्मीहरूले यस्तो कार्य गरिरहेका छन्। आफ्नो माध्यमको लोकप्रियता अभिवृद्धि गर्न असत्य, भ्रामक, काल्पनिक र आधारहीन विचार एवं समाचारहरू प्रकाशित गरिरहेका छन्। सञ्चार संस्थाका धनी एवं सञ्चारकर्मीहरूले त्यस्तो गर्नु पनि भ्रष्टाचारमा लिप्त हुनु हो।

सञ्चार जगत्लाई राज्यको चौथो अङ्ग मानिन्छ। राज्य सञ्चालनमा जति महत्वपूर्ण भूमिका विधायिका, कार्यपालिक र न्यायपालिकाको हुन्छ त्यतिकै महत्वपूर्ण भूमिका सञ्चार जगत्को पनि हुन्छ। त्यतिकै महत्वपूर्ण भूमिका सञ्चारगृहका धनी एवं सञ्चारकर्मीहरूको हुन्छ। यो कारणले गर्दा सञ्चार संस्थाका धनी एवं सञ्चारकर्मीहरू बढी जिम्मेवार हुनुपर्छ। भ्रष्टाचारसम्बन्धी सत्य एवं तथ्यपूर्ण समाचारहरू प्रकाशित गर्नुपर्छ।

अर्को महत्वपूर्ण विषयमाथि पनि चर्चा गरौं। पत्रपत्रिकाहरूले भ्रष्टाचार विरोधी समाचारहरू जुन किसिमले प्रकाशन एवं प्रसारण गरिरहेका छन् वा जुन स्तरमा नेपालमा भ्रष्टाचार छ भनिरहेका छन्, यथार्थमा नेपालमा त्यो स्तरमा भ्रष्टाचार छैन। नेपालमा भ्रष्टाचार न्यून छ भन्न खोजिएको भने होइन। भ्रष्टाचारको सन्दर्भमा नेपालमा खुशी हुने स्थिति छ भन्न खोजिएको होइन। तर अन्य अति भ्रष्टको सूचीमा रहेका मुलुकहरू जस्तै सोमालिया (संसारमैं सर्वाधिक) भेनेजुएला, सिरिया, साउथ सुडान, येमेन, नोर्थ कोरिया, निकारागुआ, हाइटी, इक्वेटोरिएल ग्युनी, तुर्कमेनिस्तान, लिबिया, ताजकिस्तान, सुडान, म्यान्मा, डेमोक्रेटिक रिपब्लिक कंगो, क्यमरोस, च्याड, बुरुन्डी, अफगानिस्तान, एरिट्रिया, ग्युनी बिसाउ, कंगो, कम्बोडिया, इराक, होण्डुरस, ग्वाटेमाला, अजरबाइजान, जिम्बाब्वे, लेबनान, इरान मध्य अफ्रिकी गणतन्त्र, बङ्गलादेश, नाइजेरिया, मोजाम्बिक, माडागास्कर, लिबिया, युगान्डा, रूस, किर्गिस्तान, ग्युनी, कामेरोन, पाराग्वे, माली, गाबोन, पापुआ न्युगिनी, पाकिस्तान, बोलिभिया, मरूटानिया, जिबुटी, टोगो, मेक्सिको, केन्या, एल सल्भाडोर, नाइजर, उजबेगिस्तान, पेरू, मङ्गोलिया, अंगोला, टर्की, श्रीलङ्का, फिलिपिन्स, मलावी, इन्डोनेशिया, इक्वेडर, थाइल्यान्ड, सिएरा लियोन, पानामाजस्ता देशहरूको तुलनामा नेपालमा भ्रष्टाचार कम छ। अति कम भ्रष्टाचार हुने देश वा एक नम्बरमा अति कम भ्रष्टाचार हुने देश डेनमार्क रहेको अवस्थामा नेपाल भ्रष्टाचार कम हुने १०८ औ राष्ट्रको रूपमा पर्न आउँछ। यदि अति भ्रष्टाचार हुने राष्ट्रको रूपमा हेर्ने हो भने एक नम्बरमा सोमालिया पर्न आउँछ। सोमालिया संसारकै सर्वाधिक भ्रष्टाचार हुने राष्ट्र हो।

नेपालभन्दा कम भ्रष्टाचार हुने देशहरूको सङ्ख्या ११० छ भने नेपालभन्दा बढी भ्रष्टाचार हुने देशहरूको सङ्ख्या ६९ छ। नेपालभन्दा बढी भ्रष्टाचार हुने देशहरूको सङ्ख्या पनि ठूलो छ। समाजको मनोविज्ञानमा सुधार र नेताहरूको इमानदारीमा अभिवृद्धि हुने हो भने नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न असम्भव छैन।

हात र नियन्त्रणमा सञ्चार माध्यम (पत्र पत्रिका, रेडिय, टिभी) छ भन्दै आफ्नो फाइदाका लागि सञ्चारगृह र सञ्चारकर्मीहरूले भ्रष्टाचारसम्बन्धी गलत समाचार प्रकाशित गर्नुहुँदैन। गलत समाचार प्रकाशित गर्नु तथ्य बङ्ग्याएर आफ्नो फाइदाको लागि फरक समाचार प्रकाशित गर्नु पनि अपराध हो। अर्थिक भ्रष्टाचार हो।

राष्ट्रिय रोजगार, आय, व्यापार, भ्रष्टाचार आदिको क्षेत्रमा तथ्यहीन, असत्य, अपुष्ट र आधारहीन समाचार प्रकाशित गर्ने अहिले चलनजस्तो भएको छ। र त्यस्तो गरेर आफ्नो समाचारगृहलाई फाइदा पु-याउने चलन जस्तो भएको छ।

भ्रष्टाचारसम्बन्धी गलत, भ्रामक र अपुष्ट समाचार प्रकाशित गरेर सञ्चार गृहहरूले केवल आफ्नो फाइदाका लागि समाजमा निराशा बाँडिरहेका छन्। जनतालाई हताश पारिरहेका छन्। युवाहरूलाई विदेश जान प्रोत्साहित गरिरहेका छन्।

अब निष्कर्षतिर लागौं। यो लेखको आशय सञ्चारकर्मीहरू तथा सञ्चारगृहलाई भ्रष्टाचारसम्बन्धी समाचार एवं विचार प्रकाशित नगर्नुहोस् भन्नु होइन। यो लेखको आशय सञ्चारकर्मीहरू तथा सञ्चारगृह लाई भ्रष्टाचारसम्बन्धी समाचार र विचार तथ्यपूर्ण र सत्य पार्नुहोस् भन्नु हो। असत्य, भ्रामक, आधारहीन, काल्पनिक, प्रतिशोधपूर्ण समाचारले समाजलाई सुसूचित होइन, निराश पार्छ। निराश समाजले आर्थिक विकास गर्दैन। उल्टो थप भ्रष्टाचार गर्छ।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 23, 2024

https://eprateekdaily.com/2024/02/22/63474/

Friday, February 16, 2024

Voluntary Unemployment: A Big Economic Problem in Nepal-Article 440

 नेपालमा बेरोजगारी: बाध्यात्मक कि ऐच्छिक?

समाचारहरूमा उल्लेख भए अनुसार अहिले नेपालको एकतिहाई जनसङ्ख्या देशभित्र छैन। नेपालीहरू कानूनी र गैरकानूनीरूपमा संसारका अनेक मुलुकमा पुगेका छन्। विश्वसनीय र सत्य जानकारी नलिएर नेपालीहरू रोजगारका लागि अनेक देशमा पुगेका छन्। दक्षिण अमेरिका र अफ्रिकी देशहरूसम्म पुगेका छन्।

मानव तस्करहरूको जालमा परेर यस्ता देशमा पनि पुगेका छन्, जुन देश आफैं गरीब छ। त्यस देशका नागरिकहरू स्वयं रोजगारका लागि अन्य देश पुगेका छन्। यसैगरी यस्ता देश पनि पुगेका छन्, जुन देश आफैं निर्धन छ र रोजगारको अति अभाव छ, चरम बेरोजगारी छ। मानव तस्करको जालमा परेर रोजगारका लागि नेपालीहरू युद्धग्रस्त देशहरूमा पुगेका छन्। नेपालीहरू रोजगारका लगि अनेक देश जाने कथा यहीं र यत्तिकैमा समाप्त भए हुन्थ्यो नि! नेपालीहरू भाडाको सैनिक बनेर युद्ध गर्न पुगेका छन्, अनेक देशमा। नेपालीहरू अहिले युक्रेन र रूस पुगेका छन्, युद्ध गर्न, राम्रो तलब भत्ता पाइने विश्वासमा। नेपालीहरू रोजगारका लागि, राम्रो आम्दानीका लागि कुन देशमा, कसरी, कुन स्थितिमा पुग्छन् भन्ने कथा अति नै लामो छ। के कस्तो जोखिम मोलेर गइरहेका छन्, कसरी ठगिन्छन्, यो कथा झनै लामो छ।

चलनचल्तिको भाषामा, कानूनी रूपमा अमेरिका प्रवेश गर्नुलाई ‘माथिल्लो बाटो’ भएर अमेरिका आएको भन्ने गरिन्छ। मानव तस्कारहरूलाई मोटो रकम दिएर गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्नुलाई ‘तल्लो बाटो’ भएर अमेरिका आएको भन्ने गरिन्छ। समाचारहरूमा उल्लेख भए अनुसार नेपालमा एक करोड रुपियाँसम्म मानव तस्कारहरूलाई भुक्तान गरेर नेपालीहरू तल्लोबाट अमेरिका आएका छन्। एकजना नेपाली अमेरिका आउनका लागि मानव तस्करलाई एक करोड रुपियाँसम्म भुक्तान गरिरहेको स्थिति छ। घर खेत बेचेर अमेरिका पुग्नका नाममा ठगिन तयार भएको स्थिति छ।

तल्लो बाटोबाट अमरिका आउनेहरूलाई मानव तस्करहरूले नेपालबाट अनेक देश घुमाउँदै अमेरिकासँग जोडिएको देश मेक्सिको ल्याएर छाडिदिन्छन् रे। ठूलो जोखिम लिएर त्यसरी मेक्सिको आउनेहरूले गैरकानूनीरूपमा अमेरिका प्रवश गर्नुपर्ने हुन्छ। नेपालबाट अनेक देश हुँदै मेक्सिकोसम्मको यात्रा अति जोखिमपूर्ण हुन्छ। सुन्नमा आए अनुसार कतिपय बाटोमा हराउने, कतिपयको मृत्युसम्म हुने गरेको छ। यसैगरी मेक्सिकोबाट गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने काम पनि उत्तिकै जोखिमपूर्ण छ। यति ठूलो जोखिम उठाएर अमेरिका प्रवेश गर्छन्। तर अमेरिकमा काम पाउने कुनै निश्चितता हुँदैन। बसाइ गैरकानूनी भएकोले पाइला–पाइलामा दुःख, कष्ट भोग्नुपर्ने हुन्छ।

नेपालीहरू जुन सङ्ख्या र गतिमा रोजगारका लागि अहिले अनेक देश पुगिरहेका छन् त्यो स्थितिलाई विचार गर्दा हामीले आफैंसँग एउटा प्रश्न गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ। के नेपालमा त्यो स्तरको वा विकराल बेरोजगारी छ? 

नेपालमा बेरोजगारी छ, यो कुरा सत्य होस तर नेपालको बेरोजगारीको विश्लेषण गर्ने हो भने नेपालमा यथार्थभन्दा ऐच्छिक बेरोजगारी ठूलो समस्या बनेको छ। बेरोजगारी र ऐच्छिक बेरोजगारीबीच ठूलो अन्तर छ। यसबारे उति चर्चा भएको पाइँदैन।

आफूले काम गर्न खोजेको छ। कुनै पनि काम गर्ने आफ्नो इच्छा छ, तर श्रम बजारमा कुनै पनि किसिमको काम छैन भने त्यस्तो स्थितिलाई यथार्थ बेरोजगार भन्ने गरिन्छ।

श्रम बजारमा काम छ। तर खोजेजस्तो काम छैन। एकजना इन्जिनीयर हो तर उसले इन्जियिीरिड्ढो काम पाउन सकेको छैन। बजारमा घर सफा गर्ने काम उपलब्ध छ तर काम गर्नेले यो सानो काम हो, इज्जत नपाइने काम हो भनेर गर्दैन। यो स्थितिलाई ऐच्छिक बेरोजगारी भनिन्छ। आफ्नो सीप, दक्षता वा ज्ञान अनुसारको काम नपाउनु ऐच्छिक बेरोजगारी हो। यो एक किसिमको ऐच्छिक बेरोजगारी हो भने अर्को किसिमको बेरोजगारी आफूले खोजे अनुसारको काम नगर्नु र बेरोजगारी बस्नु हो। ऐच्छिक बेरोजगारी पनि दुई किसिमको हुन्छ।

नेपालमा ऐच्छिक बेरोजगारी ठूलो समस्याको रूपमा रहेको छ। ऐच्छिक बेरोजगारीमा पनि आफूले खोजे अनुसार काम पाए मात्र गर्ने, न भए अर्को किसिमको काम नगर्न मनोवृत्ति ठूलो समस्याको रूपमा रहेको छ। यो काम सानो, यो काम ठूलो, यो काम गर्दा इज्जत जान्छ, यो काम गर्दा इज्जत बढ्छ। यस्तो भावनाले गर्दा नेपालमा रोजगार भएर पनि बेरोजगारी हुनुपर्ने स्थिति छ। बिए, एमए पास व्यक्तिले बजारमा तरकारी बिक्री गर्नु इज्जत फाल्नु हो। यस्तो सामाजिक सोचले हाम्रो श्रम बजारलाई सङ्कुचित पारेको छ। बाँच्नका लागि काम गर्नुपर्छ। बाँच्नका लागि कुनै पनि किसिमको काम गर्न तत्पर रहनुपर्दछ। कामै नगरी बस्नुभन्दा कुनै पनि किसमको काम गर्नु इज्जतको कुरा हो।

केही कामलाई हामीले केवल एक तोकिएको जातिले गर्ने भनेर वर्गीकरण गरिदिएका छौं। कपाल काट्ने, सडक सफा गर्ने, फोहर सफा गर्नेजस्ता कामलाई विशेष जातिहरूको काम भनेका छौं। यस्तो प्रवृत्तिले पनि श्रम बजारको विकास हुन्छ? एमए पास गरेको व्यक्तिले पनि फोहर फाल्ने, सडक सफा गर्ने काम गर्ने मनोविज्ञान राख्नुपर्छ। काम आफैंमा सानो वा ठूलो हुँदैन। यो काम गर्दा इज्जत बढ्छ, त्यो काम गर्दा इज्जत जान्छ भन्ने पनि होइन। यो त हाम्रो भावना हो, जसले एकथरि काम राम्रो अर्कोथरि काम नराम्रो भनेर छुट्याएको छ। यस्तो मनोवृत्तिले गर्दा हामीकहाँ दोस्रो किसिमको ऐच्छिक बेरोजगारी ठूलो समस्या हुन पुगेको छ। काम छ तर पनि बेरोजगारी छ। अहिले स्थिति यस्तो छ।

माथिको प्रसङ्गलाई फेरि दोहो-याउँ। मानव तस्करलाई नेपालमा एक करोड रुपियाँ भुक्तान गरेर अमेरिका आउन तयार रहेको एक युवक वा युवतीले नेपालमा नै कुनै सानो आकारको व्यापार गरे हुँदैन? एक करोड रुपियाँ, जुन उक्त व्यक्तिसँग छ, के उसले त्यसलाई पूँजीको रूपमा उपयोग गर्न सक्तैन? यस प्रश्नको उत्तर सजिलो छ। हामी नेपालीहरू सानोतिनो (हामी आफैंले वर्गीकरण गरेको ) काम गर्न रुचाउँदैनौं। हामीलाई ठूलो काम चाहिन्छ। पद र पैसा दुवै ठूलो हुनुपर्छ। यो कारणले गर्दा पनि हाम्रो देशमा बेरोजगारी बढेको हो। हाम्रो बेरोजगारी यथार्थ कम ऐच्छिक बढी रहेको छ। ऐच्छिकमा पनि सानोतिनो काम गर्दिनँ भन्ने हाम्रो भावनले हामीलाई पिरोलेको छ।

सन् २०१९ मा फैलिएको कोभिडले संसारभरिका मानिसलाई सतायो। करोडौंलाई बेरोजगारी बनायो। तर पनि त्यस समयमा कतिपयले आफ्नो सीप तथा दक्षताभन्दा फरक किसिमका काम गरे। अमेरिकामा कतिपय पाइलटहरूले व्यापारिक संस्थाहरूमा सामान्य श्रमिक बनेर काम गरे। म पाइलट हुँ मेरो काम हवाईजहाज चलाउने हो भनेर बेरोजगारी भएनन्। काम गरे, जस्तो काम पाए, त्यो गरे। कामलाई सानो–ठूलो भनेनन् । त्यो बेला हवाई उद्योग नगराम्ररी प्रभावित भएको थियो। उडानहरू रद्द भएर यस उद्योगसँग सम्बन्धित लाखौ व्यक्ति बेरोजगारी भएका थिए।

अमेरिकामा कामलाई ठूलो वा सानो भन्ने चलन छैन। यो काम गर्दा इज्जत बढ्ने र यो काम गर्दा इज्जत घट्ने भन्ने पनि छैन। अमेरिकी युवाहरू, खासगरी कलेजमा रहेको अवस्थामा, फ्नो खर्चले अध्ययन गरिरहेको स्थितिमा, जस्तो किसिमको काम गर्न पनि तत्पर रहन्छन्। कलेजसम्मको अध्ययन समाप्त भएर, फ्नो शिक्षा अनुसारको काम पाएर, एक किनारा लाग्नुपूर्व, युवाहरू जस्तो पनि काम गर्न तयार रहन्छन्। घर घरमा पिज्जा पु-याउने काम पनि खुशीखुशी गर्छन्। कुनै दुःखेसो पोख्दैनन्। सानो काम गरिरहेको छु भनेर दुःखी हुँदैनन्।

नेपालमा बेरोजगारीको कुरा गर्दा ऐच्छिक बेरोजगारीबारे खासै चर्चा गर्दैनौं। अहिले पनि, खासगरी काठमाडौंमा, कवाडी काम, तरकारी बेच्ने काम, भारतबाट आएका मानिस साइकल चढेर गर्छन्। यो काम गरेर राम्रो आम्दानी हात पार्छन्। तर काठमाडौंका मानिस यो काम गर्दैनन्। बरु कामको लागि अरबतिर जान्छन्। कस्तो अच्मम! भारतका मानिसले काठमाडौंमा रोजगार पाएका छन्, हाम्रा युवाहरू भने काठमाडौंमा काम छैन भन्दै अरबतिर लागिरहेका छन्। ऐच्छिक बेरोजगारी यस्तै हुन्छ।

बेरोजगारीभन्दा ऐच्छिक बेरोजगारी ठूलो समस्या हो। सबै किसिमका कामको सम्मान गर्न सिक्नुपर्छ। यसरी गर्ने हो भने नेपालमा बेरोजगारी समस्या क्रमिकरूपमा समाप्त हुँदै जान्छ, अवश्य पनि।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 16, 2024

https://eprateekdaily.com/2024/02/15/63051/

 

Friday, February 9, 2024

Corruption and Our Society-Article-439

 भ्रष्टाचार नियन्त्रण र हाम्रो समाज

नेपालको राजनीतिक क्षेत्र अहिले जति तातेको छ त्यति नै आर्थिक क्षेत्र पनि तातेको छ। आर्थिक क्षेत्र तात्नुको कारण पनि छ। त्यो भनेको, नेपालको अर्थिक क्षेत्रलाई प्रभावित पार्ने मात्र होइन, अति नै प्रभावित पार्ने व्यापारिक परिवारका एक सदस्य नेपाल प्रहरीद्वारा पक्राउ पर्नु।

पन्ध्र हजारभन्दा बढी व्यक्तिलाई रोजगार दिने, अनेकौं उद्योग सञ्चालन गरेर सरकारलाई लाखौ कर भुक्तान गर्ने तथा अप्रत्यक्षरूपमा सयौ परिवारहरूको लागि आम्दानी सृजना गरिदिने व्यापारिक संस्थाका एक सदस्य अरुण चौधरी अहिले प्रहारीको हिरासतमा छन्। हुनत उनी अहिले अस्पतालमा छन्, स्वतन्त्र छन्। थुनामुक्त छन्। तर पनि कानूनीरूपमा प्रहरी हिरासतमा छन्। यो आलेख तयार पारिरहँदासम्म उनी प्रहरी हिरासतमैं छन्। उनी भोलि नै पनि प्रहरी हिरासतबाट मुक्त हुन सक्छन्। प्रहरी हिरासतमा रहनु वा पर्नुको अर्थ कुनै पनि व्यक्ति अपराधी हो भन्न सकिंदैन र कुनै व्यक्तिलाई अपराधी ठहर गर्ने अधिकार प्रहरीसँग हुँदैन पनि। प्रहरीको काम कुनै व्यक्ति अपराधी हो भनी उसमाथि अभियोग लागेको छ भने उसलाई पक्राउ गर्नु मात्र हो। कुनै व्यक्ति अपराधी हो वा होइन भनी ठहर गर्ने अधिकार केवल न्यायालयसँग हुन्छ, अदालतसँग हुन्छ। अरुण चौधरीलाई कसूरदार ठहर गर्ने अधिकार केवल सम्मानित अदालतसँग छ। भोलिका दिनमा चौधरी अपराधी वा निर्दोष पनि हुन सक्छन्।

राज्यको स्वामित्वमा रहेको बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहका एक सदस्य अरुण चौधरीको स्वामित्वमा गैरकानूनी किसिमले पुगेको तथा त्यसरी आफ्नो स्वामित्वमा पुर्याउने काम चौधरीले आर्थिक भ्रष्टाचार गर्ने नियतले गरेको अभियोग केन्द्रीय अनुन्धान ब्युरो, नेपाल प्रहरीले चौधरीमाथि लगाएको छ। समाचारहरूमा उल्लेख भए अनुसार नेपाल प्रहरीले गत चार महीनादेखि यस विषयमा अनुसन्धान गरिरहेको थियो। र लामो अनुसन्धानपछि चौधरीलाई दोषी देखेर पक्राउ गर्ने निर्णयमा पुगेको हो। तर विचारणीय कुरा के छ भने यो घटना २०४२ सालतिरको हो रे। अहिले आएर, अचानक यो घटना कसरी प्रकाशमा आयो? २०४२ सालपछि अनेक सरकार बने। त्यस बेलाका सरकारहरूले यो विषयलाई किन छोपेर राखे वा किन अनुसन्धान गरेरनन्? यो एउटा अर्को रहस्यको विषय हुन पुगेको छ।

यस आलेखको उद्देश्य अरुण चौधरीले गरेका अपराध (अभियोग लागेको प्रमाणित नभइसकेको) बारे चर्चा गर्नु होइन। उनीलाई दोषी वा निर्दोष भन्नु पनि होइन। यस आलेखको उद्देश्य मुख्यगरी दुई विषयमा चर्चा गर्नु रहेको छ। चौधरीविरुद्ध प्रहरी कारबाईले नेपालको समग्र उद्योग एवं व्यापारिक जगतमा कस्तो प्रभाव पर्नेछ र, नेपालका अति भ्रष्ट नेताहरूले गरेको भ्रष्टाचार हेर्दा चौधरीले कुन स्तरको भ्रष्टाचार गरेका हुन्। यी दुई विषयहरूमा नै यो आलेख केन्द्रित रहने छ।

नेपालमा नेता, व्यापारी पक्राउ पर्नुको पछाडिको प्रमुख कारण भने देशमा सुशासन कायम गर्न, नियम कानूनको कठोरताका साथ पालन गर्नका लागि नभएर एक समूहले अर्को समूहसँग बदला लिनु वा लेनदेन नमिल्नु अथवा कसैलाई बदनाम गरेर आफ्नो उद्देश्य पूरा गर्नु रहेकोले कुनै नेता वा व्यापारी पक्राउ पर्नुलाई ज्यादै ठूलो विषय मान्न सकिंदैन। भोलिका दिनमा अरुण चौधरी अदालती कारबाईबाट दोषी देखिएर उनीमाथि कारबाई भएमा नेपालमा नियम–कानून प्रभावकारी किसिमले लागू हुन थालेको हो भनी अनुभूत गर्ने स्थिति होला। नियम साना र ठूला, सबैका लागि बराबर हो भन्ने सकारात्मक सन्देश देशभरि फैलिएला। तर यदि अरुण चौधरीलाई फसाउने किसिमबाट वा सेटिंग न मिलेको कारणबाट, वा उनीबाट कसैले कुनै फाइदा लिन नसकेको स्थितिको कारणले पक्राउ गरिएको हो भने यो पक्राउ प्रकरणबाट देशको व्यापारी जगतमा परेको अति नै ठूलो कुप्रभावको लागि को दोषी हुने?

नेपालमा न राम्रो औद्यौगिक वातावरण छ, न राम्रो व्यापारिक वातावरण छ। छिटोछिटो सरकार परिवर्तन हुने, देशको औद्योगिक एवं व्यापारिक नियम–कानून यस क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूको लागि प्रतिकूल हुने, स्वार्थी नेताहरूको ध्यान केवल शक्ति र सत्तामा रहने भएकोले नेताहरूको ध्यान देशको आर्थिक विकासतिर नजाने भएकोले देशको आर्थिक स्थिति दयनीय छ। देशमा रोजगार नभएर प्रत्येक दिन सयौं युवा विदेशतिर लाग्ने स्थिति छ। यस्तो अवस्थामा राम्रो र अनुकूल औद्योगिक वातावरण सृजना गर्नुको सट्टा उद्योगपतिहरूलाई उल्टो दुःख दिने कार्यले नेपालको व्यापारिक एवं औद्योगिक क्षेत्रमा नकारात्मक सन्देश पुग्नेछ। पहिलेदेखि नै पटके व्यापार गर्दै आएका उद्योगी एवं व्यापारीहरू, अरुण चौधरी पक्राउ परेको स्थितिपछि, उद्योग–व्यापारक्षेत्रमा लगानी गर्न हच्किनेछन्। व्यापार र उद्योगको क्षेत्र नराम्ररी प्रभावित हुनेछ । रोजगारको क्षेत्र सङ्कुचति हुनेछ भने सरकारलाई प्राप्त हुने शुल्क झ्न कम भएर जानेछ। गरीबी झनै बढ्ने छ।

नेपालमा आर्थिक विकास हुन नसक्नुको लागि प्रमुख दोषी हामीले नेताहरूलाई नै ठहर गर्नुपर्छ। उनीहरूको व्यवहारमा इमानदारी भएको भए, उनीहरू त्यागी भएको भए, देशलाई माया गर्ने चरित्र भइदिएको भए, नेपालको आर्थिक स्थिति यति दयनीय हुने थिएन। देशको स्थिति यति निराशापूर्ण हुने थिएन। नेताहरूको चरित्र देखेर अहिले सम्पूर्ण देशमा निराशा फैलिएको छ। सबभन्दा निराशा युवाहरूमा फैलिएको छ। उनीहरू अहिले स्वदेशमा आफ्नो भविष्य सुरक्षित देखिरहेका छैनन्।

अब दोस्रो विषयमा छलफल गरौं। नेताहरूले जुन स्तरको बेइमानी, आपराधिक, स्वार्थी, सत्ता र शक्तिमुखी कार्य गरेर देशलाई आर्थिक क्षति पुर्याए त्यसको तुलनामा अरुण चौधरीले आर्थिक भ्रष्टाचार गरेर (यदि प्रमाणित भएमा) कम क्षति पु-याए। नेताहरूले गरेको अपराधको स्तरभन्दा अरुण चौधरीको अपराधको स्तर ज्यादै न्यून छ। माओवादीको तथाकथित दश वर्षे जनयुद्धकालमा देशका आर्थिक संरचना ध्वस्त पारेको, बैंकहरू लुटेको, निर्दोषहरूको हत्या गरेको घटना अहिले पनि जनजनको दिमागमा ताजा नै छ।

समाचारहरूमा अहिले केवल अरुण चौधरीका कुराहरू आइरहेका छन्। जब यो घटना (जग्गा नामसरी गर्ने) घट्यो त्यो बेला केवल अरुण चौधरी मात्र एक्लै यो घटनामा संलग्न थिए होलान्? उनलाई त्यस्तो गर्न सहयोग गर्नेहरू पनि त थिए होलान्? सहयोग गर्नेहरू के निर्दोष थिए, वा छन्? नेपालको तत्कालीन प्रशासनले कसरी सहजै सरकारी स्वामित्वमा रहेको जग्गा निजी स्वामित्वमा जान दियो?

अब केही कुरा आर्थिक भ्रष्टाचारको गरौं। हाम्रो समाजनै भ्रष्ट छ। समाज नै भ्रष्ट भएपछि यसले उत्पादन गरेका सामान्य नागरिक, नेता, प्रशासक, प्रहरी, कर्मचारी भ्रष्ट हुनु स्वभाविक हो। समाजलाई रूपान्तरण नगरेर, सही बाटोतिर नडो-याएर भ्रष्टाचार नियन्त्रण गर्न सकिंदैन। भ्रष्टाचार नियन्त्रण नभएसम्म देशमा आर्थिक विकास पनि हुँदैन। भ्रष्टाचार व्याप्त देशमा आर्थिक विकास भएको उदाहरण संसारभरि कतै पाइँदैन।

केही अपवाद छाडेर कुरा गर्ने हो भने आफ्नो शक्ति, पद, प्रभाव प्रयोग गरेर गैरकानूनीरूपमा आम्दानी प्राप्त गर्न हामी सबै सदा तत्पर रहन्छौं। मौका नपाएर इमानदार बन्नेको सङ्ख्या हाम्रो समाजमा ठूलो छ। पाए घूस खान, बहुसङ्ख्यक व्यक्ति हरबखत तयार रहन्छन्। यति मात्र होइन, आर्थिक भ्रष्टाचार वा घूसले हाम्रो समाजमा सामाजिक मान्यता पाएको छ। यसले घूस खाएर, अपराध गरेर, धन कमाएको कसैले भन्दैन, उल्टो यसले यति धन कमाएको छ भनी समाजमा चर्चा हुन्छ। घूस खानेले, भ्रष्टाचार गर्नेले इज्जत पाउँछ।

हाम्रो समाजले कुनै एक व्यक्ति वा व्यवसायीले धन कसरी प्राप्त ग-यो भन्ने विषयमा चासो राख्दैन। कुनै व्यक्ति धनी भएको आधारमा सामाजिक मर्यादा दिन्छ। अपराध गरेर कसैले धन कमाएको छ भने पनि हाम्रो समाजले उसलाई इज्जत दिन्छ।

घूसको कुरा गर्दा, आर्थिक भ्रष्टाचारको कुरा गर्दा हामी एक पक्षीय कुरा मात्र गर्छौ। केवल घूस खानेको कुरा गर्छौ। घूस दिनेको कुरा गर्दैनौं। घूस लिनेले जति आर्थिक अपराध गरेको हो त्यतिकै आर्थिक अपराध घूस दिनेले पनि गरेको हो। काम फत्ते पार्न, वा आफू फाइदामा हुन कसैलाई घूस दिनु पनि अपराध हो। तर हामी यसरी विचार गर्दैनौं। हामी बाध्य भएर, काम बिग्रिने भएर घूस दिन बाध्य भएको भन्छौं। घूस दिनेहरूले घूस दिन बन्द गरून् त, अनि कसरी पाउने छन् घूस माग्नेहरूले घूस?

फ्नो फाइदाको लागि घूस दिने प्रचलन हाम्रो समाजमा रहेसम्म हामी कहाँ भ्रष्टाचार नियन्त्रण कठिन छ।

घूस लिनु वा दिनु, भ्रष्टाचार गर्नु अपराध होस निन्दनीय कार्य हो। यस्तो भावना समाजमा नआएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिन मात्र होइन, असम्भव हुन्छ। अहिले हाम्रो समाज नै भ्रष्टाचारको आहालमा डुबेको छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित:Friday, February 9, 2024

Sunday, February 4, 2024

What is Poor's Economics? Article-438

 के हो गरीबहरूको अर्थशास्त्र?

गरीबहरूको अर्थशास्त्र भनेर छुट्टै अनेक सिद्धान्तहरूको व्याख्या गरिएको छैन। अर्थशास्त्र मात्र भनिएको पाइन्छ। तर यथार्थमा दुई किसिमको अर्थशास्त्र रहेको पाइन्छ। पहिलो धनीहरूको अर्थशास्त्र, दोस्रो गरीबहरूको अर्थशास्त्र।

धनीहरूको अर्थशास्त्रमा धन कसरी वृद्धि गर्ने त्यसबारे सोंचिएको हुन्छ। धन वृद्धि गर्ने अनेक सिद्धान्तहरूको विकास गरिएको हुन्छ। राज्यले पनि, धनीहरूको अर्थ व्यवस्थामा पूँजीपतिहरूलाई सहयोग गरेको हुन्छ। धनीहरूका लागि धन वृद्धि गर्न सजिलो हुने किसिमका नियम र कानून निर्माण गरिदिएको हुन्छ।

धनीहरूको अर्थशास्त्रमा पूँजीपति र उद्योगपतिहरूले आफ्नो वस्तु वा सेवाको मूल्य निर्धारण गर्न, आपूर्तिको परिमाण तोक्न एवं बजार छनोट गर्न स्वतन्त्र हुन्छन्। कुन बजारमा व्यापार गर्ने र कुन बजारमा नगर्ने भनी निर्धारण गर्न पूर्ण स्वतन्त्र हुन्छन्। यसैगरी बजारमा प्रवाहित गर्ने ऋणको ब्याज दरसमेत निर्धारण गर्न उनीहरू स्वतन्त्र हुन्छन्। राज्यले निर्माण गरिदिएको खुकुलो र अनुकूल नियमले गर्दा धनीहरूको अर्थशास्त्रमा व्यापारी एवं उद्योगपतिहरूलाई छोटो समयमा धनी हुन र ठूलो मात्रामा धन सृजना गर्न पूर्ण छुट हुन्छ।

धनीहरूको अर्थशास्त्रमा धनीहरू निकै शक्तिशाली हुन्छन्। देशको राजनीतिलाई आफू अनुकूल हुनेगरी प्रभावित पार्न सक्छन्। आफ्नो अनुकूलको सरकार स्थापनासमेत गर्न सक्छन्। निर्वाचनमा जनप्रतिनिधिहरूलाई चुनाव लड्न धेरै पैसा दिएकोले जनप्रतिनिधिहरूलाई आफ्नो हित अनुसारको कार्य गर्न बाध्य पार्न सक्छन्। धनीहरूको अर्थशास्त्रमा देशको अर्थव्यवस्था धनीहरूको नियन्त्रणमा हुन्छ। देशको अर्थ व्यवस्था धनीहरूको वरिपरि नै घुम्छ।

अमेरिका, फ्रान्स, जर्मनी, इटाली आदिमा धनीहरूको अर्थशास्त्रलाई प्रयोगमा ल्याइएको पाइन्छ। चीनले पनि अहिले धनीहरूको अर्थशास्त्र अँगालेको छ। चीनमा अहिले धनीहरूको अर्थशास्त्रकै बोलबाला छ। कुनै बेला आफूलाई समाजवादी भन्ने भारत पनि अहिले धनीहरूको अर्थशास्त्रको उपयोगकर्ता भएको छ। यस्तो गरेर भारत छोटो समयमा धनी भएको छ, ठूलो अर्थतन्त्र भएका देशहरूमध्ये एक हुन पुगेको छ। तर भारतमा गरीबी पनि त्यसै अनुसार बढेको छ। सबैभन्दा ठूलो कुरा भारतमा अहिले गरीब र धनीबीचको फरक भने ज्यादै ठूलो हुन पुगेको छ। एक दिनमा एक रुपियाँ पनि कमाउन नसक्ने र एक दिनमा एक लाख कमाउने व्यक्तिहरू पनि छन्, अहिलेको पूँजीवादी भारतमा, धनीहरूको अर्थ व्यवस्थालाई उत्तम ठान्ने भारतमा। 

जसरी कमिलाले मह सृजना गर्दैन र मह केवल मौरीले नै सृजना गर्छ, त्यसैगरी सामान्य प्रवृत्ति भएको व्यक्तिले होइन, व्यापारी प्रवृत्ति भएको व्यक्तिले मात्र धन सृजना गर्न सक्छ भनी धनीहरूको अर्थशास्त्रले बलियोगरी विश्वास गर्दछ। धन कमाउने व्यक्तिमा विशेष किसिमको सीप हुन्छ भन्ने कुरामा जोड दिन्छ।

गरीबहरूको अर्थशास्त्रमा गरीबका निर्वाहका कुराहरू गरिएको हुन्छ। गरीबहरूको हितको संरक्षण कसरी गर्ने भनी विचार पु-याइएको हुन्छ।

समाजमा सबै क्षमतावान् हुँदैनन्। धेरै व्यक्ति बौद्धिकरूपमा र कोही शारीरिकरूपमा कमजोर हुन्छन्। तर अर्कोतिर सामाज अति नै प्रतिस्पर्धापूर्ण हुन्छ। समाजमा भएको अति प्रतिस्पर्धाले गर्दा कमजोर वा कम क्षमता भएका व्यक्तिहरूलाई बाँच्न कठिन हुन्छ। यस्तो स्थिति भएकोले कम क्षमता भएका तथा कमजोर व्यक्तिहरूलाई पनि बाँच्न सजिलो होस् भन्ने सोच गरीबहरूको अर्थशास्त्रले राखेको पाइन्छ।

कुनै पनि देशले गरीबहरूको अर्थशास्त्रलाई आफ्नो देशको अर्थ व्यवस्थाको रूपमा अङ्गीगकार गरेको भने पाइँदैन। तर गरीबहरूको अर्थशास्त्रलाई महत्व दिएको भने पाइन्छ। गरीबहरूको अर्थशास्त्रको महत्व बुझेर अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्सजस्ता पूँजीवादी देशहरूले पनि गरीबहरूको हित संरक्षण गर्न केही कार्यक्रमको व्यवस्था गरेको पाइन्छ। अमेरिकाले आफ्ना नागरिकलाई सेवा निवृत्तिपछि दिने ‘सोसल सेक्युरिटि रकम’ लाई लिन सकिन्छ। प्रत्येक अमेरिकी, जसले तोकिएको अवधिभरि काम गरेर र तोकिएको रकम कमाएर आफूलाई ‘सोसल सेक्युरिटी’ प्राप्त गर्न योग्य पारेको छ, सोसल सेक्युरिटी रकम पाउन सक्छ। सोसल सेक्युरिटी रकम, जुन तोकिएको रकम हुन्छ, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सरकारी निकायमा काम गर्नेले पाउन सक्छ। सरकारी निकायमा काम गर्नेले मात्र सोसल सेक्युरिटी रकम पाउँछ भन्ने छैन। यो रकम जुनसुकै क्षेत्रमा काम गरेको व्यक्तिले पनि पाउन सक्छ। यो रकम पेन्सन पाउनेहरूले पनि पाउन सक्छन्। यो रकम दिनुको उद्देश्य नै गरीब नागरिकलाई सहयोग गर्नु हो। उनीहरूको वृद्धावस्था आम्दानी नभएको कारणले गर्दा दुःखमय हुन नदिनु हो। सर्वाधिक ठूलो कुरा त के छ भने अमेरिका पूँजीवादी देश भए तापनि अमेरिकासँग गरीबहरूसम्म पुगेर उनीहरूलाई आर्थिक सहयोग गर्ने संयन्त्र वा व्यवस्था छ। यस्तो व्यवस्था चीन, भारतजस्ता नवधनाड्य कहलिएका राष्ट्रहरूमा छैन।

विभिन्न देशहरूले गरीबको अर्थशास्त्रलाई आफ्नो राष्ट्रिय अर्थनीति भित्र नराखे तापनि त्यस्ता देशहरू भित्र अनेक व्यक्ति वा सङ्घ संस्थाहरूले गरीबहरूको लागि काम गरेको वा गरीबहरूको अर्थशास्त्र अङ्गीकार गरेको पाइन्छ।

गरीबहरूको अर्थशास्त्रलाई महत्व दिने अनेक सङ्घ, संस्था र व्यक्ति संसारभरि सक्रिय रहेको पाइन्छ। यस्तै सक्रिय रहने व्यक्तिहरूमध्ये एक हुन् बङ्गलादेशी नागरिक मुहम्मद युनुस। युनुसले गरीबहरूको आर्थिक उत्थान गर्नका लागि फरक किसिमको सोच र व्यवस्था हुनुपर्छ भन्ने अवधारणाको विकास एवं प्रयोग बङ्गलादेशजस्तो गरीब राष्ट्रमा गरे। गरीबहरूका लागि काम गरेबापत उनले सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाए। गरीबहरूको आर्थिक अवस्थामा सुधार ल्याउन उनले ग्रामीण बैंकको स्थापना गरे। गरीबहरूसम्म पुग्न ‘माइक्रो क्रेडिट’ र ‘माइक्रो फाइनान्स’ को व्यवस्था गरे। उनले ग्रामीण बैंकबाट त्यस्ता गरीब व्यक्ति र परिवारहरूले ऋण पाउने व्यवस्था मिलाए जसलाई प्रचलनमा रहेका वा चलनचल्तिका बैंकहरूले ऋण दिन अस्वीकार गरेका थिए वा अस्वीकार गर्न सक्थे।

गरीबहरूलाई सहयोग गर्ने युनुसको यो कार्य संसारभरि प्रख्यात भयो। कतिपय राष्ट्रले युनुसको यो कार्यक्रमबाट प्रभावित भएर गरीबहरूलाई सहयोग गर्ने केही नयाँ कार्यक्रमको व्यवस्था पनि गरे।

युनुसले स्थापना गरेको संस्था ‘ग्रामीण बैंक’ लाई गरीबहरूको अर्थशास्त्र अनुसार काम गर्ने संस्थाको रूपमा लिन सकिन्छ। यो संस्थाले त्यस्ता निर्धन परिवारलाई पनि व्यवसाय गर्न ऋण दिन्छ जोसँग ऋण लिन योग्य धितो राख्ने केही हुँदैन।

नेपालमा गरीबहरूको अर्थशास्त्र भन्ने सोचको विकासम्म भएको पाइँदैन। सम्बन्धित क्षेत्रको ज्ञान नभएका (अर्थशास्त्र अध्ययन नगरेको) अर्थमन्त्रीहरूमा गरीबहरूको अर्थशास्त्रको ज्ञानको अभाव देखिएको त छ नै, सम्बन्धित क्षेत्रको ज्ञान भएको, अर्थशास्त्री, मन्त्रीहरूमा पनि गरीबहरूको अर्थशास्त्रबारे ज्ञान नभएको पाइन्छ।

२०४६ सालपछि, नेपालको कुनै पनि अर्थमन्त्रीले अति निर्धनहरूलाई लक्षित गरेर, उनीहरूको आर्थिक स्थिति सुधारका लागि कुनै विशेष आर्थिक कार्यक्रम ल्याएको देखिएको छैन। गरीबहरूको आर्थिक सुधार गर्न कुनै सोच उनीहरूबाट आएको छैन।

हुनत हाम्रा सत्ता र स्वार्थमुखी नेताहरूबाट आर्थिक विकासको अपेक्षा गर्नु दिनमा जून देख्न खोज्नु हो। तर पनि आशा गर्न त छाड्नुहुँदैन। भोलिका दिनमा नयाँनयाँ र इमानदार नेताहरूको पनि उदय हुन सक्छ। अब आउने नयाँ, इमानदार एवं निस्वार्थी नेताहरूले भने गरीबहरूको अर्थशास्त्रको गहिरो अध्ययन गर्नेछन्। त्यसको व्यवहारिक प्रयोग पनि गर्नेछन्।

यो लेखको उद्देश्य पूँजीवादी व्यवस्थाको विरोध गर्नु भने होइन। संसारका अनेक देश पूँजीवादी अर्थ व्यवस्था अङ्गीकार गरेर नै धनी भएका हुन्। अमेरिका, क्यानाडा, जर्मनी, इटाली, फ्रान्सजस्ता धनी देशहरूले पूँजीवाद नै अङ्गीकार गरेका छन्। कुनै पनि देशले आफ्नो आर्थिक विकास गर्नका लागि पूँजीवादी अर्थ व्यवस्थालाई जति जोड दिन्छ, त्यतिकै जोड गरीबहरूको अर्थशास्त्रलाई पनि दिनुपर्छ। यो लेखको उद्देश्य यही हो।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 02, 2024

https://eprateekdaily.com/2024/02/01/62262/