Tuesday, August 30, 2011

लघुकथा - ३ भकुण्डो

त्यो गाउँको कुनै मानिसले भकुण्डो देखेको थिएन। बालक देखि वृद्धसम्म कसैलाई भकुण्डोको बारेमा थाहा थिएन र चाँसो पनि थिएन। दिनचर्या ज्यादै राम्रो गरी चलिरहेको थियो। हुन पनि कुनै विषेश किसिमको कुण्ठा थिएन त्यो गाउँको मानिसलाई। एकदिन कुनै अर्कै गाऊँका  केही युवकहरु आएर त्यो गाउँको माझमा रहेको चउरमा दिनभरि भकुण्डो खेलेछन्। त्यो खेल हेर्न गाउँ भरिका मनिस भेला भए। हुन पनि त्यस किसिमको खेल त्यो गाउँको ला‍गि नितान्त नौलो थियो। अनौठो खेल हेर्न त्यस गाउँका मानिसमा कौतुहलता र रोमाञ्चकताको बाढी झै आएको देखियो।
भोलिपल्ट फेरि तिनै युवकहरु भकुण्डो खेल्न भेला भए। अनि त्यस गाउँका मानिस पूर्ववत दर्शक बनेर हेर्न थाले। भकुण्डको खेल उनीहरुलाई औधि राम्रो लाग्यो। अझै भकुण्डो कहिले यो कहिले त्यो गोलपोष्टमा पुग्दा खेलाडीहरुको मुखबाट निस्केको हर्ष र विषादको आवाजले गाउँले हरुलाई ज्यादै जोशिलो पारेको देखिन्थ्यो। एकदिन दुईदिन गर्दा गर्दै एक हप्ता बित्यो र त्यो गाउँको मानिसमा त्यो भकुण्डो हस्तगत गर्ने चाहना पैदा भएर आयो। एउटाले अर्कोलाई अर्कोले अर्कोलाई त्यो कुरा सुनाएपछि ती युवकहरुको भकुण्डो खोस्न सबै गाउँलेहरु सहमत भए र भोलीपल्ट ती युवकहरु खेल्न आएको बेलामा आक्रमण गरी भकुण्डो खोस्ने योजना बन्यो। युवकहरु पूर्ववत त्यस चौरमा भेला भए तर उनीहरु ज्यादै आस्चर्यचकित भए किनभने त्यसदिन त्यो खेल हेर्न गाउँलेहरु आएका थिएनन्। खेल शुरु भयो तर अचम्म केही बेर पछि नै गाउँका सारा युवक युवती , बाल- बालिका तथा वृद्धा- वृद्धा लुकेको ठाउँबाट निस्की ती खेलाडीहरुमाथि जाइलागे। परिस्थिति प्रतिकूल हुनथालेको र ज्यान समेत जाने सम्भावना देखेर ती सबै खेलाडीहरु भकुण्डो छाडी भागे।
परिस्थितिले कोल्टो फेर्यो। अब भकुण्डो गाउँलेहरुको हातमा थियो। सबै गाउँलेहरुले त्यो भकुण्डोको खेल खेल्ने इच्छा पोखे। तर त्यो सम्भव भएन। ‘भकुण्डो खेलमा केवल २२ जना खेलाडीहरुले मात्र खेल्न पाउँछन्’ कोही ज्यादै बलियो व्यक्तिले गर्जेको सुनियो। के गर्ने ? खेलको नियम अनुसार खेल्नका लागि छानिएका खेलाडीहरु दुई पक्षमा विभाजित भए। अब सधै गोल गर्न दुई पक्षको बीचमा प्रतिस्पर्धा हुन थाल्यो। सत्तारुढ र प्रतिपक्षको रुपमा विभाजित भई खेल खेल्ने क्रम चलिनै रह्यो। गाउँलेहरु खुव रमाउन थाले त्यो खेल देखेर। गाउँलेहरुले त्यस्तो रमाइलो खेल कहिले देखेका थिएनन्। त्यसैले गर्दा होला धेरैले खेल हेर्न शुरुमा घर खेतको काम गर्न पनि विर्सन थाले। यहाँसम्म के भने कतिले खानसम्म पनि बिर्से। खेतमा अन्न फलाउनेदेखि भात पकाउनेसम्म सबै खेल हेर्नमा ब्यस्त हुनथाले। विद्यालय शून्य देखियो। यो क्रम धेरै दिनसम्म चल्यो।
एकदिन अचम्मको घटना घट्यो त्यो गाउँमा। गोल भएको मान्नु पर्ने बिषयलाई लिएर दुवै पक्षमा ठूलो झगडा भयो। कत्तिको हात भाँच्चियो। केहीको टाउको फुट्यो। केही अपाङ्ग भए। धेरैको ज्यान गयो। खेल झन जोशिलो र आक्रामक भयो। प्रतिष्टाको विषय बन्यो।
अब गाउँ पूर्णरुपमा दुई भागमा विभाजित भइसकेको थियो। विभाजित मनस्थिति खेल मैदानमा मात्र होइन दैनिक जीवनमा पनि देखा पर्न थाल्यो। एउटा पक्षले अर्को पक्षलाई शत्रुवत व्यवहार गर्न थाल्यो। हात हतियार संकलन हुन थालेको देखियो।
आज पनि खेल मैदानमा सबै गाउँहरुले भेला भए। खेल शुरु भयो। किन हो आज भकुण्डो केवल एउटाको क्षेत्रमा मात्र केन्द्रित भएको देखियो। केहीले त्यसलाई घात , केहीले प्रतिघात र केहीले अन्तरघात भएको ठाने। विवादले जन्म लियो। चैन, खुकुरी, तरवार, बन्दुक आदि आदि निस्के। अनि तेर्छिए पनि। खेल युद्धमा परिणत भयो। खुशीको साटो रगत बग्न थाल्यो। खेल मैदानमा भकुण्डो होइन टाउकाहरु गुडन थाले भकुण्डो झै। असंख्य टाउकाहरु गुडन थाले। हाहाकार  र चित्कारको आवाज मात्र सुन्न थालियो। न त युद्ध न त योद्धाहरु रोकिए। चिन्तक, बिचारक, विद्वान, सन्त-साधु, महात्मा आदि सवै युद्धमा लिन भएको हुनाले त्यो युद्धलाई रोक्ने कोही देखिएन। युद्ध चर्कियो। शिखर छुन।
युद्ध शान्त भयो। त्यो खेल मैदानमा एउटा योद्धा पनि देखा परेन। केवल टाउको, शरीर, खुट्टा आदि मात्र छरिएका थिए फुटेको माटोका भाँडा झै। केवल त्यहाँ डरलाग्दो शान्ति थियो। यत्र तत्र गिद्धहरु उडिरहेका थिए। तर पुन: युद्ध भएको देखिएन किनभने न त त्यहाँ योद्धाहरु नै थिए न भकुण्डो नै।


विश्वराज अधिकारी

Monday, August 29, 2011

लघुकथा - २ सूर्य


‘मैले त सूर्य निलेको सपना देखें। के हुने हो? कुन्नि?’ हर्ष र विस्मात दुवै मिसिएको स्वरमा उसले भन्यो। छेउमा बसेका सबै गलल हाँसे। उसको कुरा हाँसोमा उड्यो। हाँस्नेहरुको नजरमा सूर्य निल्नु एक हाँसोलाग्दो कल्पना भन्दा बढी केही हुन सकेन।
हास्नेहरुको माझबाट एक वृद्धले टाउको उठाउँदै भन्यो ‘मूर्ख हो, सूर्य निलेको सपना देख्नु ज्यादै ठूलो कुरा हो। यो केटा महान व्यक्ति हुनेछ।’ छेउका मानिस पुन: गलल हाँसे। यो पटक त्यो वृद्ध व्यक्ति पनि उल्लू बन्यो। त्यो वृद्ध व्यक्तिको छेउमा बसेको त्यस गाँउका शिक्षकले पनि सूर्य निलेको सपनाको बारेमा सुने। ‘सूर्य निलेको सपना बिरलैले देख्न पाउँछ’ शिक्षकले अघिको वृद्ध व्यक्तितिर हेर्दै मन्तव्य पोखे। शिक्षकको कुरा काट्ने आँट भने कसैमा भएन। एउटाले अर्कोको कानमा बिस्तारै भन्यो ‘सरले भनेको ठीक हो।’ सुन्नेले सहमतिमा सिर हल्लायो। सहमतिमा अरु सिरहरु पनि हल्लिए। यो पटक त्यो वृद्ध व्यक्तिले गर्जिदै भन्यो ‘ठेटना हो, कस्तो लाग्यो मैले अघि भनेको? यो केटा पक्कै पनि महान हुनेछ। किनभने यसले सूर्य निलेको सपना देखेको छ।’
चारैतिर हल्ला फैलियो। गाँउ भरिका मानिस हेर्न आए। कोहीले अचम्म मानेर हेरे। कोहीले सबैले हेरेको हुनाले हेरे।
सूर्य निलेको सपना देख्ने मानिस कस्तो होला भनी हेर्नेहरुको ठूलो भीड लाग्यो। भीडबाट एउटा महिला बोलिन ‘यो युवक सामान्य व्यक्ति होइन। मानिको रुपमा इश्वरको अवतार हो। यसले सूर्य निलेको सपना देखेको छ।’
ती महिलाको कुरा सुनी धेरैले त्यो युवक माथि फूल बर्साए। धूप बल्यो। केहीले इश्वरको खुट्टा पखाली जल खाए। युवक ज्यादै हर्षित भयो। बर्षौ पुरानो सपना साकार भएझै लाग्न थाल्यो उसलाई। अब त्यो गाउँमा त्यो युवकले जे भन्यो सबैले इश्वरको आज्ञा मानी पालन गर्न थाले। एक दिन त्यो युवकले भन्यो ‘हेर ऊ त्यो वृद्ध व्यक्तिको औला काटेर मेरो पाउमा राख। त्यो वृद्ध महापापी हो।’ इश्वरको त्यो आज्ञा पालन भयो। ‘ती महिलालाइ मसँग आशिर्वाद लिन भन, उनी ज्यादै संकटमा छिन्’ ईश्वरको यो दोस्रो आज्ञा पनि पालन भयो।
एक दिन कुनै एक जोगी त्यो गाउँमा आयो। त्यो जोगीलाइ सूर्य निलेको सपना देख्ने व्यक्ति हेर्ने रहर जागेर आयो। ऊ सरासर त्यो महल तर्फ लाग्यो जहाँ इश्वररुपी त्यो युवक बसेको थियो। सदा झै गाउँका सम्पूर्ण भक्तजनहरुबाट घेरिएर त्यो युवक बसेको थियो। त्यो युवकलाई देख्ने वित्तिक्कै त्यो जोगीको मुखबाट निस्क्यो ‘यो गाउँका मानिसहरु पनि ठगिए छन। बिचरा!’
जोगीको कुरा केहीले बुझे केहीले बुझेनन्। ईश्वररुपी त्यो युवकले जोगीलाई देख्यो तर एक रत्ति पनि बिचलित भएन किनभने ऊ भगवान बनिसकेको थियो। बरु गर्ज्यो ‘कसले आउन दियो यहाँ यो पाखण्डी जोगीलाई, यो गाउँमा, यहाँ? यसले विनास बाहेक केही ल्याउदैन। तत्काल यसलाई सिमाना कटाई हाल।’ ईश्वरको यो आज्ञा बिना कुनै विलम्ब पालना भयो।
त्यो युवक मुसुक्क हाँस्यो अनि आकासतिर हेर्न थाल्यो। धेरै श्रद्धालु भक्तजनहरुले गुरुले महा ईस्वरको दर्शन पाउनु भएको हुनाले हाँस्नु भएको होला भनी अडकल काटे।
त्यो गाउँमा अब ईश्वररुपी त्यो युवकको आज्ञा पालन गर्न प्रतिस्पर्धा हुन थाल्यो। त्यो नयाँ ईश्वरको महिमा र चमत्कारी क्षमता सुगन्ध झै फैलियो। प्रतेक दिन त्यो युवकलाई हेर्न अन्य गाउँहरुबाट पनि मानिस आउन थाले।


विश्वराज अधिकारी


Saturday, August 27, 2011

लघुकथा - १ बाढी

         
    भीषण बाढीबाट जोगिन सवैले आ-आफ्नै क्षमता अनुसार प्रयास गर्दै थिए तर केवल आफ्नो ज्यान                    जोगाउन मात्र। पुराना तथा कमजोर घरहरु एकपछि अर्को गर्दै ढल्दै थिए। पानीको बेग अति तिव्र थियो। ढलेका घरहरु एक छिनमै पानीको गर्भमा विलिन भई कहाँ पुग्दथे भन्न कठिन थियो। गाउँका बालबालिका हरुले अध्यन गर्ने पाठशाला पनि बग्यो। अनि बुद्धिजीविहरुले छलफन गर्ने त्यो चौतारी पनि । विभिन्न किसिमका सामुहिक कार्यक्रम सञ्चालन हुने त्यो ऐतिहासिक घर समेत पनि। हेर्दा हेर्दै गाउँको आधा    जनसंख्या र त्यसको ओतलाग्ने थलो , मठमन्दिर , देवालय, बाढीको गाँस बनोको देख्दा लाग्दथ्यो त्यो        गाऊँको अब अवशेषसम्म पनि बाँकी रहने छैन। गाउँको साटो त्यहाँबाट खोला बग्ने छ।
हुन त बाढी पैरो न त मानिसको इच्छा अनुसार आउने हो न कसैले रोक्छु भन्दैमा  रोकिने हो। तर यो बाढी त्यस गाउँका मानिसहरुको इच्छा अनुसार आएको  थियो, एक किसिमले भन्ने हो भने। धेरै वर्षसम्म पानी नपरेको , खडेरीले गर्दा बालीनाली लगाउन नसकिएको  र पानी खान नपाएर धेरै मानिस तथा हजारौ पशुपंक्षीहरुको ज्यान गएको हुनाले  गाउँका सम्पूर्ण मानिसहरु भेला भई इन्द्र भगवानको पूजा आराधना लगातार तीन महिना सम्म गरेका थिए। उपासनाको क्रममा कति त लामो समयसम्म उपवास बसेका थिए, पानी पार्नका लागि। पानी पार्न गाँऊलेहरुले गरेका अन्य धार्मिक क्रियाकलापहरु पनि अति नै रोचक तथा मार्मिक थिए। एक व्यक्तिले इन्द्रलाई खुसी पार्न आफ्नो बुढी औला आफैले काटेर चढाएको थियो। अर्को एक व्यक्तिले तीन महिनासम्म नबोली भगवानलाई वाकदान गरेको थियो। यसै गरी एउटा हलीले आफूले जोत्ने फाली झीकी आफैले आफ्नो तिघ्रा फोरी रगतको धारो बगाई इन्द्रलाई स्नान गराएको थियो। एक महिलाले त यहाँसम्म के भने आफ्नो नवजात शिशुलाई नै भोगदिन खोजेकी थिइन तर गाउँका बुद्धिजीबीहरुको बिरोधले गर्दा उनी उद्देश्यमा सफल भइनन्। इन्द्रलाई खुसी पार्न उटपट्याङ्ग किसिमका अन्य थुप्रै क्रियाकलापहरु पनि भएका थिए। गाउँका ठालुहरुलाइ राति सुतिरहेको बेलामा आइमाईहरुले समाती डोरीले बाँधी लडाउने काम पनि धेरै दिनसम्म भयो त्यहाँ। त्यस गाउँकी एक बृद्धा, जसलाई लगिया-मतारी पनि भन्ने गर्थ्ये, को मत अनुसार त्यस्तो गर्नाले इन्द्र प्रशन्न हुन्छन रे। अनि पानी दिन्छन् रे।
कस्तो अचम्म ! भगवानको कृपा वा प्रकृतिको लिला या संयोग, तीन महिनाको अथक प्रयास पछि पूजा आराधना चलिरहेकै बेला मुसलधारे पानी पर्यो। पानी पनि कस्तो अचम्मको? एक हप्ता सम्म अविरल रुपमा पर्यो। अविरल रुपमा पानी परेको हुनाले नै त्यो भीषण बाढी आएको थियो।
के को लागि पानी चाहिएको थियो? के भयो? पिउने पानी चाहिएको थियो। पानी पर्याप्त थियो त्यहाँ। तर पिउनेयोग्य पानी भने थिएन। खेती गर्न पानी चाहिएको थियो। पानी त थियो जता ततै, जति लिए पनि । तर खेत नै थिएन। पानीले सम्पूर्ण भूइँ छोपिएको थियो। पहिले पानी नपरेर दुख: थियो। अब पानी परेर दुख:। दुख: माथि दुख: थपिएको मात्र होइन भय, त्रास, तथा असुरक्षा पनि डर लाग्दो किसिमले थपियो। पानी मागे अनुसार उपलब्ध त भयो तर उपभोग गर्ने मानिस नै रहेनन्, बाढीमा बगरे कहाँ पुगे कहाँ। हुनत बलिया घरहरुमा बस्ने केहीले भने आफ्नो ज्यान सजिलैसंग जोगाए। तर बाँकी सम्पुर्णका लागि पानी जीबन होइन मृत्यु बन्यो। अमृत होइन बिष बन्यो।
बाढीले सुरुदेखिनै बिनासका संकेतहरु नदेखाएको होइन। किनभने पानीले गाउँमा पहिलो पटक प्रवेश गर्दा खेरीनै पानीका साथ-साथै थुप्रै सडेगलेका सामान तथा फोहर मैलाहरु बगाएर ल्याएको थियो।  केही ज्यादै बिषालु शर्पहरु पनि बगेर आएक थिए। केही व्यक्तिहरुको मृत्यु शर्पको टोकाइबाट नै भएको थियो। यति हुँदा हुँदै पनि गाउँका केही व्यक्तिहरु भने मातृमिको मोहले गर्दा अर्को गाउँमा गएनन्। तर केही त बाढी आउने संकेत पाउनासाथ गाउँ छाडी भागेका थिए।
एक बृद्ध व्यक्ति, जो पानी पार्नका लागि इन्द्रको पूजामा ज्यादै सक्रियतापूर्वक लागेको थियो, बडो दयनीय दृष्टिले बाढीको ताण्डव नृत्य हेर्दै थियो। परिबारमा उ मात्र जोगिन पुगेको थियो। उसको परिबारका बाँकी अरु सबै बाढीमा बिलिन हुन पुगेको उसले आफ्नै आँखाले देखेको थियो। केहीले गाउँ छाडी भागेको, धेरैले ज्यान गुमाएको उसले आफ्नै आँखाले देखेको थियो। त्यस गाउँको धन सम्पत्तिको नाममा एउटा मोटो खामो मात्र बाढीले छाडेको थियो। पछि त्यो खामो नै त्यो गाउँमा भिषण बाढी आएको थियो र त्यसले सयौंको ज्यान लिएको थियो भन्ने इतिहासको साक्षी हुनेछ होला। कतै एउटा मात्र घरसम्म पनि बाँकी थिएन, सबै बगिसकेका थिए। त्यो बृद्धले चारैतिर आखा दौडायो तर पानी बाहेक कतै केहि देखेन। लामो साँस फेर्यो। केहि बोलेन। उसको मौनताले दर्शाउदै थियो ,उसले आफैसँग केहि प्रश्न गरि रहेको जस्तो। के पानीका लागि हाम्रो त्यो अति ब्याकुलता उपयुक्त थियो? के बाढी बिनासको पर्यायबाची नै हो? त्यो बृद्धले आफैसँग प्रश्न गरि रहेको थियो।


विश्वराज अधिकारी

Friday, August 26, 2011

कथा - ९ मलाई धेरै माया नगरेको भए हुन्थ्यो





मेलै फोनमा भने- सुन्दर जी, तपाँईलाई यो थाहा पाएर आश्चर्य लाग्ला वा नपत्याउनु होला, तर यो साँचो कुरा हो, मैले, मेरो वाइफ उषालाई डिभोर्स गर्दै छु वा भनौ हामी कानूनी रुपमा नै छुट्टिदै छौ। डिभोर्सको प्रक्रिया आउने महिनाको एक गते शुरु गर्दै छु। र यो कुरा उषालाई पनि थाहा छ।
मेरो कुरा सुनेर सुन्दर जी हाँस्नु भयो। हास्दै भन्नु भयो ‘गणेश जी, आज न त अप्रिल महिनाको एक तारिक हो न त गाइ जात्र नै, अनि किन यस्तो हाँसो लाग्दो कुरा गर्नु भएको? झगडा भएर छुट्टिएको सुनेको थिएँ। आपसी अविश्वास ज्यादै बढेर छुट्टिएको सुनेको थिएँ। पर पुरुष वा स्त्रीसँग सम्बन्ध राखेकोले पति पत्नि छुट्टिएको सुनेको थिएँ। तर पत्नीले  अति नै माया गर्दा गर्द पनि पतिले छुट्टिन खोजेको भने सुनेको थिन, आजसम्म। उमेरको पहाड चढेर, पचासौं टाकुरा नाघ्दा के यस्तो उटपट्याङ्ग कुरा सुन्नु परेको, मैले। त्यो पनि उषा भाउजु जस्तो मान्छे, जसले तपाँईलाई अति नै माया गर्ने मात्र होइन , तपाँईले जे भने पनि, त्यो पूरा गर्न हरदम तयार रहनु हुन्छ, को बारेमा।  उषा भाउजु जस्तो शिक्षित र स्मार्ट वाइफलाई कसैले डिभोर्स गर्ने कल्पना समेत पनि गर्न सक्तैन। तपाँई मसँग पक्कै पनि मजाक गर्दै हुनु हुन्छ। शनिवारको यो दिन, बिहानीको यस्तो रमाइलो बेलामा किन यस्तो मजाक गर्न मन लागेको होला तपाँईलाई?  मजाक गर्न मन लागेको भए अरु नै कुनै विषयमा गरेको भए हुन्थ्यो नि, उषा भाउजुको बारेमा नै किन गर्नु परेको होला।’
सुन्दर जीको कुरा सुनेपछि गंभिर हुँदै मैले भने- सुन्दर जी यो हाँसो ठट्टा होइन, गंभिर कुरा हो। तपाँई मेरो सर्वाधिक प्रिय र घनिष्ट मित्र भएकोले तपाँईलाई भनेको यो कुरा। यस बारे अरु कसैलाई पनि थाहा छैन। छोरा छोरीहरुलाई पनि भनेको छैन। उषाका माइतिका मानिसहरुलाई पनि……………….।’
मैले विषयको वजनलाई दर्शाए पछि सुन्दर जी अलि गंभिर हुनु भयो। केही क्षण चुप लाग्नु भन्नु अनि भयो ‘किन, के भयो र त्यस्तो, गणेश जी? अलि प्रष्ट पार्नु हुन्छ कि?’
गणेश जीको सहानभूति मिस्रित जिज्ञासाले मलाई हौसला भिले झै भयो। मैले भने- हेर्नुस त, त्यस्तो पनि हुन्छ कतै? सबै कुरा उनको, उषाको इच्छा अनुसार हुनु पर्ने। सबै कुरा उनले भने अनुसार चल्नु पर्ने। मैले के तरकारी खाने, उषाले निर्धारित गर्नु पर्ने? म कति बजे सुत्ने, उषाले निर्धारित गर्नु पर्ने। म कति बजे उठ्ने उषाले निर्धारण गर्नु पर्ने? मेरो सम्पूर्ण दिनचर्या उषाको इच्छा अनुसार निर्धारित हुनु पर्ने।
मैले फेरि भने - मनै त हो, मलाई कहिले अबेर रातिसम्म फिल्म हेर्न मन लाग्छ। उषाको बिचारमा त्यसरी अबेर रातिसम्म फिल्म हेर्न हुँदैन रे। अबेर रातिसम्म जागा भए पछि निद्रा खल्बलिन्छ र बिरामी भइन्छ। हरेक दिन नियमित रुपमा राति ९ बजे नै सुत्नै पर्ने। होइन, किन उनले, मैले गर्ने हरेक क्रिया कलापलाई मेरो स्वास्थ्यसँग जोड्नु परेको? म त छक्क पर्छु यस्तो पनि कतै हुन्छ त? कसैको स्वतन्त्रतालाई बन्धक नै बनाउने किसिमको कहिँ माया हुन्छ त?
सुन्दर जी शान्त भएर मेरो कुरा सुन्दै हुनु हुन्थ्यो। मैले भने- म सँधै खान्न तर कहिले काहिँ …………..। मलाई वाइन मन पर्छ, खास गरी रेड वाइन खान मन पराउँछु म। माइनरले पो खानु हुँदैन? म के माइनर हो र? उमेर पुगेको, वस्यक हुँ, त्यो पनि पचासको हाराहारिको। तर उषा वाइनसम्म पनि खान दिनन्न। भन्छिन रक्सी खाए भने लिभर कमजोर हुन्छ र मान्छे चाँडै मर्छ। रक्सी खाएर थुप्रै मानिस मरेका छन। उषाले त्यसरी रोक्ता रोक्तै पनि मैले आधा गिलास वाइन खाए भने त्यो दिन घरमा ठूलो झगडा भयो, भन्नु भए हुन्छ। मैले जति सम्झाए पनि क्यै लाग्दैन। मैले एक हजार चोटी उषालाई भनिसकेको छु,  हेर, कहिले काहिँ रक्सी खाएर मान्छे मर्ने होइन बरु जथाभावी रक्सी खाएर मर्ने हो। अम्मली जस्तो भएर, हरेक दिन, बढी बढी रक्सी खाएर मर्ने हो। उमेर नपुगेका केटा केटीहरुले पो खान हुन्न। तर उनको ढिपीको अगाडि कसैको केही जोर चल्दैन। उल्टो बरु के भन्छिन, थाहा छ सुन्दर जी, तपाँईलाई? भन्छिन मैले उनको कुरा नटेरेको हुनाले अरु कसैले उनलाई नटेरेको रे। उनको कुरा कसैले पनि खाँदैनन् र सबैले हावामा उडाई दिन्छन रे, मेरो कारणले गर्दा। यसरी हरेक कुरामा नियन्त्रण गर्न थाले पछि उनलाई कसले टेर्ने त? जे कुरामा पनि किच किच गर्ने उनको बानी देखेर त एउटा ज्यादै चलेको गीतका केही पंक्तिहरु याद आउँछ – केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ …………त्यस्तै भएको छ। उनले हरेक कुरामा किच किच गरेको हुनाले नै छोरा छोरीहरुले पनि नटेरेका हुन, खासमा। हुनत छोरा छोरीहरु ठूला भई सेकका छन् र आफ्नी आमाको स्वभाव बुझ्छन पनि। तर मलाई भने खपि नसक्नु भएको छ किनभने सबैभन्दा बढी गुनासो उनलाई मै सँग छ। र मैले उनले भनेको हरेक कुरा सिरोधार्य गर्ने पर्छ। तपाँई, पत्याउनु हुन्छ? हुन त कतिपय कुराहरु भन्न पनि सकिँदैन र भन्न पनि ………………….कहिले काहिँ यस्तो पनि हुन्छ कि…………………. म सुतेको बेडमा उषा सुत्तिनन्, छेउको सोफामा सुत्छिन। र त्यसरी सुत्नुको पछाडि पनि उनीसँग आफ्नै किसिमको कारण छ। के भनौ म, उनले भनेको त्यसरी सुत्नुको पछाडिको कारण, तपाँईलाई। सुनेर पनि तपाँईलाई हाँसो लाग्ने छ। म बिरामी पर्छु रे। उषाको मनोविज्ञान कस्तो रहेछ भनी घोरिनु होला तपाँई, यस्तो कुरा सुनेर। तर  म भने अब  हारिसके, थाकिसके। फेरि, उषाले मेरो लागि गरेका त्यस्ता कुराहरुको उनीसँग आफ्नै किसिमका उचित तर्कहरु छन्। उचित तर्कहरु, उनको बिचारमा ……..। र त्यो उचित तर्क के हो भने उनले मेरो लागि जे जति कुराहरु गरेको हो त्यो केवल मेरो फाइदाका लागि हो रे। मेरो भलाईको लागि हो रे। मलाई धेरै माया गरेकोले हो रे। तर उषाले मलाई गरेको ती भलाईहरुबाट म थाकिसके। उनको मप्रतिको माया प्रेम मेरो लागि बुझिनस्कनु भएको छ। थामिनस्कनु भएको छ। बुझ्नु भयो सुन्दर जी, मेरो पनि त आफ्नो इच्छा छ। आफ्नो स्वतन्त्रता छ। मेरा हरेक गतिविधिहरु उषाद्वारा नियन्त्रित हुने हो भने मेरो स्वतन्त्रता खोइ, मेरो स्वाभिमान खोइ? के हो त मेरो स्वत्व? होइन, उषाले यी कुराहरु बुझ्नु पर्ने हो, किन न बुझेको होला? सुन्दर जी, कति कुराको गुनासो गर्ने तपाँईसँग? गरेर साद्दे छैन। यो तरकारी खानु हुँन्छ, त्यो तरकारी खानु हुँदैन। अनि, उनले राम्रा देखेका  कुराहरु मात्र राम्रा? राम्रा नराम्राको निर्धारण उनको इच्छा अनुसार हुने। अब त यस्तो लाग्न थाल्यो कि उनले मेरो लागि त्यसो गर्नु मप्रतिको उनको प्रेम बोलेको होइन उनको मन भित्र रहेको उनको अहम् बोलेको हो, कसैको पनि कुरा नखाने उनको घमण्ड बोलेको हो। सबै माथि मेरो नियन्त्रण रहोस भन्ने उनको महत्वाकाँक्षा बोलेको हो। उनको घमण्डले, उनको अहम्ले उनको महत्वाकांक्षाले  मेरा हरेक क्रियाकलापप्रति नियन्त्रण राख्न उनलाई अभिप्रेरित गर्दछ।
मेरो भनाई सकिए पछि म एक छिन चुप लागे। म चुप लागेको मौकाको उपयोग गर्दै सुन्दर जीले भन्नु भयो ‘उषा भाउजुले तपाँईलाई यथार्थमा माया गरेको हो, के, मान्नुस न। कस्तो………., किन नबुझेको होला तपाँई जस्तो समझदार, व्यवहारिक व्यक्तिले? वहाँको त्यस्तो सच्चा मायालाई वहाँको घमण्डसँग जोडेर नहेर्नुस न, गणेश जी। तपाँई त ………………………………।’
मैले सुन्दर जीको भनाई पूरा हुन दिन। अलि उत्तेजित हुँदै भने – उषाले त्यसरी हरेक कुरामा किचकिच गर्दा मलाई असह्य हुन्छु र भन्छु पनि, उषा, अब त अति भयो। मलाई गार्हो भयो तिम्रो यस्तो हरेक कुरामा नियन्त्रण गर्ने बानी देखेर। मैले यसरी भन्दा उषाले के भन्छिन, थाहा छ सुन्दर जी? भन्छिन म तपाँईको अर्धाङ्गिनी हो। तपाँईको आधा शरीर। तपाईको आधा शरिरमाथि मेरो अधिकार छ किनभने त्यो शरीरको आधाभाग मेरो हो। त्यसकारण तपाँईको लागि राम्रो नराम्रो को लेखाजोखा मैले नगरे कसले गर्ने? के सडकको मानिसले आएर गर्ने? अनि सडकका मानिसले तपाँईको राम्रो नराम्रोको लेखाजोखा राख्छन जस्तो लाग्छ तपाँईलाई? होइन, माया गरेको पनि किन नबुझेको होला तपाँई जस्तो, आफूलाई पढेलेखेको, जान्ने सुन्ने छु भन्ने मान्छेले?
सुन्दर जी सान्त भएर मेरो कुरा सुन्दै हुनु हुन्थ्यो। मलाई केही नभन्ने केवल मेरो कुरा सुन्ने मनस्थितिमा वहाँ रहेको देखेर मैले फेरि भने – सुन्दर जी, मलाई त कहिले काहिँ हाम्रो समाजले राखेको पत्नी भनेको पतिको अर्धांगिनी हो भन्ने मान्यता पनि बकमफूसे लाग्छ। पटक्कै अर्थ न बर्थको। दुई अलग अलग शरीर एउटै कसरी हुन्छ? दुई अलग अलग शरीरको शारीरिक आवश्यकता अलग अलग हुन्छ, विचार, चाहना अलग अलग हुन्छ। पूरै मनोविज्ञान नै अलग हुन्छ। यस्तो स्थितिमा दुई अलग अलग शरीरलाई एउटै कसरी मान्ने? के, मैले खाना खाएमा उषाको पेट भरिन्छ? अथवा उषाले खाएमा के मेरो पेट भरिन्छ? अनि, तपाँईको वाइफले खाएमा तपाँईको पेट भरिन्छ होला, त? यी सबै आधारहीन कुराहरु हुन। म पत्याउँदिन यस्ता कुराहरु। तपाँईलाई कस्तो लाग्छ, सुन्दर जी, हँ?
मेरो प्रश्न सुनेर सुन्दर जी एकै छिन अकमकिनु भएको जस्तो लाग्यो मलाई। वहाँ निकै बेर शान्त बसे पछि मैले फेरि भने – किन, चुप लाग्नु भयो नि, सुन्दर जी? मैले घचघच्याएको जस्तो अनुभव गर्दे सुन्दर जीले भन्नु भयो ‘गणेश जी, तपाँईको वा तपाँईहरुको समस्या अलि गंभिर छ, मेरो बिचारमा। केही सोंच बिचार गरेर नै भन्नु पर्ला जस्तो छ, हुन्दैन? ल त अहिलेलाई यति।’ यति भनेर सुन्दर जीले फोन राखिदिनु भयो।
सुन्दर जी सँग अस्ति शनिवार कुरा गरे पछिको कुरा हो, शुक्रवार साँझमा मैले नै सुन्दर जीलाई फेरि फोन गरे। फोनमा मेरो आबाज सुन्ने बित्तिकै सुन्दर जीले भन्नु भयो ‘गणेश जी, मैले तपाँईलाई फोन गर्नै आँटेको थिएँ, तपाँईको फोन आई हाल्यो। जे होस राम्रो नै भयो। गणेश जी, खासमा मैले के भन्न तपाँईलाई फोन गर्न थालेको थिएँ भने म हिँजो विहिवार दिउँसो अफिसबाट बिदा लिएर तपाँईको घर गएको थिएँ। म त्यो दिन, तपाँईको घर जाने बारे उषा भाउजुलाई भनेको थिन, झन तपाँईलाई त भन्ने कुरा नै आएन। त्यो दिन, विहिवार तपाँईको घर गएको बेला उषा भाउजुलाई निकै सम्झाएँ। निकै लामो कुरा भयो त्यो दिन, म र उषा भाउजु बीच। तपाँईका गुनासाहरु मैले तपाँईले भनेको जस्तो नपारेर मैले आफूले नै भनेको जस्तो भान पारेर भने, उषा भाउजुलाई। तपाँईका गुनासहरु पनि सन्दर्भ मिलाएर भने। समसामायिक कुराका रुपमा प्रस्तुत गरे। पतिका यी कुराहरु पत्नीहरुलाई मन पर्दैन, पत्नीका यी कुराहरु पतिहरुलाई मन पर्दैन जस्तो पारेर अप्रत्यक्ष रुपमा वहाँलाई बोध गराए, आग्रह गरे यस्तो नगर्नुस त्यस्तो नगर्नुस भनेर। मायाको पनि आफ्नै सिमा हुन्छ भन्ने कुरा, उषा भाउजुलाई प्रष्ट पारिदिएँ। हरेक व्यक्तिलाई आफ्नो स्वाभिमान प्यारो हुन्छ र आफ्नो हरेक कुरामा कसैको हस्तक्षेप उसले बर्दास्त गर्न चाँहदैन र गर्दैन पनि, चाहे त्यो हस्तक्षेप जुन सुकै बाहामाना गरिएको किन न होस।  मेरो लामो कुरा सुने पछि उषा भाउजुले मसँग लामो तर्क बितर्क गर्नु भएन। एक छिन टोलाएको जस्तो गरेर मतिर हेर्नु भयो मात्र। म पनि शान्त थिएँ। मैले धेरै कुराहरु गरिसकेको थिएँ, भनिसकेको थिएँ। खासमा उषा भाउजुलाई भन्ने थप कुराहरु मसँग थिएन पनि। हामी शान्त भएर एक अर्काको मुखा मुख गर्ने क्रममा उषा भाउजुले मतिर हेर्दै भन्नु भयो ‘सुन्दर बाबु, माया गर्नु पनि अपराध हुँदो रहेछ। मैले वहाँलाई माया नगरे कसले गर्ने त? मैले वहाँलाई माया गर्नु र गर्न पाउनु मेरो अधिकार हो। किन न बुझेको होला वहाँले? सुन्दर बाबु, तपाँई त्यतिकै भेट्न भनेर हाम्रो घरमा आउनु भएको होइन। वहाँ………. का गुनासाहरु बोकेर आउनु भएको हो। तपाँईका ती शब्दहरु आफ्ना होइन, केवल ध्वनी मात्र तपाँईको हो। उषा भाउजुको कुरा सुनेर म छक्क परे। मैले वहाँलाई भने – भाउजु जे जति कुरा मैले गरे ती कुराहरु गणेश जीले मलाई भनेर मैले तपाँईलाई सुनाएको होइन। यी शब्दहरु मेरा आफ्ना हुन। मेरो कुरा उषा भाउजुले पत्याएको मलाई लागेन। म शान्त थिएँ। वातावरण पनि शान्त थियो। त्यो शान्त वातावरणमा एक्कासी परिवर्तन आयो। उषा भाउजु डाँको छाडेर रुन थाल्नु भयो। मैले वहाँ रोएको सुने मात्र।’
फोनमा कुरा गर्दा गर्दै हामी एकै छिन रोकियौ। दुबैतिरबाट केही क्षण कुरा कानी भएन। त्यो मौनतालाई तोड्दै मैले भने – सुन्दर जी, के गरौ? मैले डिभोर्सको प्रोसेस अगाडि बढाउने बिचार गरिसके त।
मेरो बिचार सुनिसके पछि सुन्दर जीले भन्नु भयो ‘तपाँईको जे बिचार…………………………..।’
केही भन्न बाँकी नै थियो जस्तो पार्दै सुन्दर जीले मलाई सोध्नु भयो ‘अनि, डिभोर्स गर्नुको कारणको रुपमा के उल्लेख गर्नु हुन्छ नि, गणेश जी?’
मैले उत्तर दिएँ – मलाई धेरै माया गरेको हुनाले।

विश्वराज अधिकारी
Published in meroreport.net on August 26, 2011
http://meroreport.net/profiles/blogs/6365517:BlogPost:38892

Monday, August 22, 2011

कथा - ८ बिद्रोही बस्ती

यो कुरा २०६३ साल माघ महिनाको हो। म, मेरो टाढाको नातामा काका पर्ने रंजन झासँग बीरगंजबाट बिराटनगर जादँ थिए, बसमा चढेर। रंजना झा, जो आफ्नो समयमा नाम चलेको नेता पनि हुनुहुन्थ्यो, भारतीय स्वतन्त्रता संग्रामा लड्न भारत जानु भएको थिएन मात्र, केही वर्ष भारत, बिहारको कुनै जेलमा बस्नु भएको पनि थियो। अहिले भने राजनीति देखि फ्रष्ट्रेटेड भइ सामान्य र एक्लो जीवन बिताइ रहनु भएको छ। हो, त्येही काका, अर्थात रंजन झाले एउटा कथा सुनाउनु भएको थियो मलाई, बीरगंज र बिराटनगरको बीचको बाटोमा। रंजन काकाले सुनाउनु भएको त्यो कथा म जस्ताको त्यस्तै राख्दै छु। वहाँकै शब्दमा।
      ‘धेरै, धेरै, धेरै वर्ष पहिलेको घटना हो रे। त्यो गाउँको नाम थियो बाग्मति गँगा। बाग्मति नदीलाई उनीहरु गँगा मानेर पूजा गर्द्थै। भन्थे पनि, यो हाम्रो भागिरथी गंगा हो। हामी यै बाग्मति गंगाका सन्तानहरु हौ। बाग्मति नदीको छेउमै भएको हुनाले नै त्यस गाउँको नाम बाग्मति गंगा राखिएको थियो रे। बाग्मति गंगा भनेर नामाकरण त्यै गाउँमा बसोबास गर्ने एक अति नै धर्मात्मा व्यक्तिले गरेका थिए। ती धर्मात्मा व्यक्तिले आफूसँग केही अन्य परिवारहरु पनि ल्याएका थिए त्यो बस्ती बसाल्नका लागि’।
       ‘ती परिवारहरुनै त्यस गाउँका आदिबासी थिए किनभने पहिले त्यहाँ कुनै बस्ति थिएन। ती धर्मात्मा व्यक्तिले त्यो गाउँका बासिन्दाहरुलाई संगठित गरेका थिए। गाउँको मध्य भागमा एउटा मन्दिर थियो। खेतिबारी, घर गृहस्थीको काम सकिने वित्तिकै या भनौ फुर्सत हुने वित्तिकै त्यस गाउँका मानिसहरु त्यो मन्दिरमा आइपुग्थ्ये। हरेक दिन विहान बेलुकी पूजापाठ हुन्थ्यो त्यस मन्दिरमा। साँझमा आरति पनि, धूमधामले । अनि सधैजसो भजन किर्तन। अनि महिना दुइ महिनामा अष्टयाम। भगवानको डोला निकालेर गाउँको परिक्रमा पनि गर्थ्ये गाउँलेहरुले खास खास अवसरहरुमा। यस्ता कार्यहरुको अगुवाइ तिनै धर्मात्मा व्यक्तिले गर्थे। उनी पूजारी पनि थिए त्यो मन्दिरको। गाउँका सारा मानिसहरु धार्मिक स्वभावका भएको हुनाले छलकपट, चोरी चकारी, बेइमानी, सैतानीको नामो निसानसम्म थिएन त्यस गाउँमा। पूर्ण इमान्दारी र अति परिश्रमद्वारा गाउँलाई सम्पन्न तुल्याएका थिए त्यहाँका बासिन्दाहरुले। माटो उब्जाउ भएको हुनाले बढी जग्गा हुनेहरु त धनी नै थिए। र त्यस्ताहरुको सङ्ख्या कम थिएन त्यो गाउँमा’।
       ‘तर एक दिन ज्यादै दुखद घटना घट्यो। बिहान पूजा गरिरहेको समयमा त्यस गाउँका ती धर्मात्मा व्यक्तिको मृत्यु भयो। गाउँका सम्पूर्ण व्यक्तिहरु शोकाकुल भए। मृत्यु शोकलाई पाँच दिनसम्म मनाए’।
        ‘ती धर्मात्मा व्यक्तिका शिष्यहरुले एकदिन गाउँका सम्पूण मानिसहरुलाई  एक ठाउँमा भेला हुन बोलाए। र ती शिष्य मध्येको प्रमुख शिष्यले उपस्थितहरुलाई भन्यो – हामीले केवल शोक मनाएर हुँदैन,  शोक व्यक्त गरेर मात्र वहाँ प्रतिको सच्चा श्रद्धाञ्जली  झल्किदैन।  यत्रो महान गुरुको त विषेश सम्मान नै गर्नुपर्छ। र त्यो सम्मान सबैले सजिलै देख्न सक्ने किसिमको हुनु पर्दछ, विशेष किसिमको हुनु पर्दछ तथा राम्रो कार्य गर्न सवैलाई प्रेरित गर्ने किसिमको हुनु पर्दछ’।
        ‘त्यो प्रमुख शिष्यको कुरा सुनेर एक पाको उमेरको व्यक्तिले प्रश्न गर्यो ‘महान गुरुलाई सम्मानित गर्ने खास किसिमको कुरा के हुन सक्छ, त्यस्तो’?
        ‘त्यो प्रमुख शिष्यले तत्काल उत्तर दियो – महान गुरुको, महान आत्माको एक पूर्ण कदको सालिक बनाउनु पर्दछ र गाउँको मध्य भागमा स्थापित गर्नु पर्दछ त्यसलाई, सबैले सजिलैसंग देख्ने गरी।’
       ‘प्रमुख शिष्यको उक्त प्रस्तावमा कसैले बिरोध जनाएन। वरु एक श्रोताले थप्यो पनि – त्यस्तो धर्मात्मा व्यक्तिको सालिक बनाउनु नितान्त आवश्यक थियो, तर ढीलो गरी निर्णय लिइयो त्यस्तो महत्वपूर्ण कार्य गर्न, जे होस अब चाँहि ढिलो नगरी तत्काल आरम्भ गरौ, त्यो महत्वपूर्ण कार्य’।
        ‘ती धर्मात्मा व्यक्तिको सालिक निर्माण भयो। गाउँका गण्यमान्य, बुद्दिजिवि, ठूलाठालू आदिको उपस्थितिमा त्यो सालिकलाई गाउँमा रहेको मन्दिरको अगाडि स्थापना गरियो’।
       ‘समय बित्दै गयो। दुइ वर्ष, चार वर्ष, पाँच वर्ष, सात वर्ष……………  यस्तै गरी समय बित्दै गयो’।
       ‘एक दिन बाग्मतिमा ज्यादै भयंकर बाढी आयो। धेरै दिनसम्म गाउँ जल मग्न भयो। गाउँका धेरै उब्जाउ खेतहरुलाई बालुबाले पुरिदियो त्यो बाढीले। गाउँमा गरीबी दिनप्रतिदिन बढ्न थाल्यो। गरीबीसँगै कलह पनि।  गाउँ दुई वर्गमा बिभाजित भयो- आर्थिक रुपमा पनि दुई वर्गमा, मनोवैज्ञानिक रुपमा पनि दुई वर्गमा। एउटा वर्ग अति सम्मपन्न कहलियो भने अर्को ज्यादै बिपन्न। अति बिपन्न वर्गले सम्पन्न वर्गमाथि उनीहरुलाई ज्यादै निर्धन बनाएको भनी  गंभिर आरोप लगायो। बिपन्न वर्गमा पर्नेहरुलाई त्यस वर्गभित्रको एक तेज वुद्धिको व्यक्तिले संगठित गर्यो र उनीहरुलाई भन्यो पनि, हेर हामीलाई गरीब तुल्याउने यै सम्पन्न वर्गका व्यक्तिहरु हुन। यिनिहरुको दुष्ट, जाल, झेल,  र कुटिल चालमा परेर हामी गरीब भएका हौ। यी सम्पन्न वर्गका व्यक्तिहरुले हाम्रो आर्थिक शोषण गरे। बौद्धिक र शारिरिक  पनि। हाम्रो श्रमको उचित ज्याला नदिएर नै यिनीहरु धनी भएका हुन। सम्मपन्न वर्गका व्यक्तिहरुलाई हाम्रो चरम शोषण गर्न सिकाउने व्यक्ति त्यही गद्दार, तथाकथित धार्मिक व्यक्ति हो। त्यो व्यक्ति धार्मिक थिएन, महान पापी, शोषक  र शामन्त थियो। भ्रष्ट र चरित्रहीन पनि। त्यस्तो नहुँदो हो त त्यसले किन ……. ? केही पिडीत महिलाहरुलाई उसको बारेमा सोधे हुन्छ, ऊ कस्तो ……..थियो। हामी आफैले आफूसँग प्रश्न गरे हुन्छ, उसको वरिपरि शिष्य भन्दा शिष्याहरुको भिड किन बढी हुन्थ्यो। किन……………? किनभने………………’।
         ‘सम्पन्न र बिपन्न वर्गबीच प्रत्येक दिन विवाद उत्पन्न हुन थाल्यो। प्रत्येक दिन विवादका नयाँ नयाँ विषयहरु श्रीजना हुन थाले। निरन्तरको कलहले एकदिन उग्र रुप लियो। महान युद्ध भयो। सम्पन्न र बिपन्न वर्गको बिचमा। धेरै मारिए दुबै तिरका। तर समपन्न वर्गका व्यक्तिहरु चाहिँ धेरै मारिए र ज्यान जोगाउन सफलहुनेहरु गाउँमा बस्नु ज्यादै जोखिमपूर्ण  हुने ठानी  त्यहाँबाट पलायन भए। केही  बनारसको धर्मशालामा बस्ने गए भने केही हरिद्वारको। केही भने जनकपुरको मठ मन्दिरहरुमा पनि बस्न गए।’
      ‘सम्पन्न वर्गका व्यक्तिहरुलाई गाउँबाट सफाया  गर्न सकेकोमा अति प्रफुल्लित हुँदै विपन्न वर्गका व्यक्तिहरुले विजय जुलुस निकाले। सम्पूर्ण गाउँको परिक्रमा गरे, जुलुस निकालेर, धेरैबेर सम्म हिँडे जुलुसमा, जय जयकार गर्दै। गाउँको परिक्रमा गरिसकेपछि जुलुसमा रहेका सम्पूर्ण व्यक्तिहरु गाउँमा स्थापना गरिएको त्यो मन्दिरमा जम्मा भए,जहाँ ती धार्मिक कहलिएको व्यक्तिको सालिक थियो। मन्दिरमा जम्मा भएको भीडलाई सम्बोधन गर्दै एक भीड नाइकेले भन्यो- यो गाउँबाट महान अत्याचारीहरुलाई निकाल्नमा हामी पूर्णतया सफल भयौ। तर ती महान अत्याचारीहरुका नाइके, दुष्ट, पापी अझै छाति फर्काएर हामीलाई गिज्याँउदैछ, हाम्रै भूमिमा उभिएर हाम्रो उपहास गर्दैछ, सालिकको रुप लिएर। यो सालिकलाई आज, अहिले , यतिखेर नै  घनले हिर्काएर, टुक्रा टुक्रा पारी फालिदियौ बाग्मति नदिमा। मिटाइ दियौ यसको नामो निसान। यस्तो घृणित व्यक्तिको सालिक एक छिन पनि राख्नु हुँदैन यहाँ। यसले नै हामीलाई गरीब बनाएको हो। अरुहरुलाई पनि हाम्रो शोषण गर्ने सिकाउने यो नै हो। यै साले गद्दार हो। त्यसकारण धर्मको नाममा शोषण गर्ने, अत्याचार गर्ने यस्तो अत्याचारीको सालिक राख्नु पाप हो । यस्ताको सालिक राख्नु हामीले आफैले आफ्नो उपहास गर्नु हो, बेइज्जति गर्नु हो। आफ्नो खुट्टामा आफैले बन्चरोले हिर्काउन हो’।
         ‘त्यो भीड नाइकेको भनाइमा सहमति जनाउँदै सबैले एकैसाथ ताली बजाए। तालीको गडगडाहट टाढा टाढासम्म सुनियो।  धेरै व्यक्तिहरु सालिक तोड्न उद्धत भए एकैसाथ । एक मिनटमा नै त्यो सिङ्गो सालिक हजारौ टुक्रामा बाँडियो रे। सालिकका टुक्राहरुलाई बाग्मति नदिमा फाले, सबै गाउँलेहरु मिलेर’।
        ‘समय वितिरहेको थियो। साथै बाग्मतीगंगा गाउँ भित्र एक अनौठो किसिमको कलहको बिउँ पनि  अंकुरित हुँदै थियो, समयको गति सँग सँगै। कलहको प्रमुख कारण थियो एउटा विवाद, र त्यो विवद थियो, गाउँको आदि बासी को हो भन्ने विषयमा। त्यस गाउँको एक पक्षले हामी मात्र यो गाउँको आदि बासी हौ भनी दावा गरिरहेको थियो।  कलहको त्यो  बिरुवा एक दिन बिसाल रुखमा परिणत भयो। ठूलो मारकाट, रक्तपात पछि त्यो बाग्मतिगँगा नामको गाउँ  भौगोलिक रुपमा दुइ भागमा बिभाजित भयो। एउटा गाउँको नाम पुरानाबासिन्दागाँउ राखियो भने अर्को गाउँको नाम राखियो, बिद्रोहीबस्ती’।
         ‘बिद्रोहीबस्ति र पुरानाबासिन्दागाँउका व्यक्तिहरु बीच सँधै झगडा हुन थाल्यो। एउटा गाउँको ले अर्को गाउँको लाई घृणा गर्ने मात्र होइन विवाद बढे एकले अर्कोको हत्या गर्न बाँकी नराख्ने स्थितिसम्म उत्पन्न भयो। काटामार धेरै दिनसम्म चलेपछि एक दिन भने केही शान्तिप्रेमीहरुको पहलमा एक सम्झौता भयो। सम्झौतामा सहमति भए अनुसार एक ज्यादै अग्लो पर्खालको निर्मण भयो। त्यो पर्खालले ती दुबै गाउँलाई भौगोलिक रुपमा प्रष्ट गरी छुट्याइदियो, भावनात्मक रुपमा त उनीहरु पहिलेदेखिनै बिभाजित थिए । पर्खाल ज्यादै अग्लो  भएको हुनाले यताका मान्छेले उतकोलाई हेर्न सक्दैन्थ्ये। ती दुबै गाउँहरु बीच आवागमन पनि अबरुद्ध भयो’।
       ‘पुरानाबासिन्दागाउँका मानिसहरु एक दिन भेला भए। भेला हुनुको उद्देश्य थियो आफ्नो गाउँको इतिहासको खोजी गर्नु। त्यो भेलाको अगुवाइ गरिरहेको एक व्यक्तिले उपस्थित गाउँलेहरुतिर हेर्दै प्रस्ताव राख्यो -  हाम्रो गाउँको नयाँ नामाकरण गर्नु पर्छ’।
     ‘उसले आफ्नो प्रस्तावको पक्षमा तर्कहरु पेश गर्दै भन्यो- हाम्रो यो गाउँ अति प्राचीन गाउँ हो।  हालको नामले हाम्रो गाउँ नया होइन भन्ने पुष्टि त गर्दछ तर अति नै प्राचीन भएको चाँहि पुष्टि गर्दैन। त्यसकारण हामीले हाम्रो गाउँको इतिहासको खोजी गर्नु पर्दछ। मौलिकता के हो थाहा पाउनु पर्दछ र त्यो प्रदर्शित गर्नु पर्दछ।  हाम्रो गाउँको  प्राचीनता झल्किने किसिमबाट यसको नया नामाकरण गर्नु पर्दछ। हाम्रो इतिहास र पहिचान दुवै ज्यादै पुरानो हो। हाम्रो यो गाउँलाई एक अति नै धार्मिक व्यक्तिले बसालेका रहेछन्। तिनको नाम कृष्णसेवक थियो, विशेष अनुसन्धानबाट मात्र यो ज्ञात हुन आएको हो। तिनको सालिक पनि यो गाउँमा स्थापित  गरिएको थियो। त्यतिबेला हाम्रो यो गाउँ र बिद्रोहीबस्ती एउटै गाउँ थियो बिभाजन भएको थिएन।  तर केही स्वार्थी तत्वहरुले आफूलाई नेता बनाउन गाउँका मानिसहरुलाई उचाले। कृष्णसेवक स्वामीको बारेमा मिथ्या कुराहरु गरेर उनको सालिक उखेल्न लागाइ, त्यसलाई टुक्रा टुक्रा पारी बाग्मती नदीमा फाल्न लगाए’।
    ‘यति भनेर त्यो व्यक्तिले उपस्थित जनसमुदायतिर हेर्यौ। सबैले उसको कुरा गम्भिरतापूर्वक सुनिरहेको देखेर हर्षित हुँदै त्यो व्यक्तिले फेरि भन्यो- अब हामीले ती महान स्वामीको टुटेफुटेको अवस्थामै रहेको भए पनि त्यो सालिकको खोजी गर्नु पर्दछ र त्यो सालिकलाई हाम्रो गाउँमा स्थापित गर्नु पर्दछ। त्यो सालिकको स्थापनाबाट हाम्रो र गाउँको , दुबैको इज्जत बढछ। उपस्थित व्यक्तिहरुले जोड जोडले ताली बजाएर उसको त्यो प्रस्तावको समर्थन गरे’।
    ’१०,१२ महिनाको कठिन खोजी पछि त्यो सालिक फेला पर्यो रे। बाग्मती नदीको किनारमा पुरिएर रहेको अवस्थामा। तर अचम्म, त्यो सालिकलाई टुक्रा टुक्रा परिएको रहेनछ, केवल हात, खुट्टा र टाउको मात्र छुट्याइएको रहेछ, शरीरबाट। टुक्रा टुक्रा पारिएको भनि केवल आफवाह मात्र फिजिएको रहेछ’।
       ‘एक भव्य समारोहको आयोजना गरी त्यो सालिकलाई गाउँको मध्य भागमा स्थापित गरे, सबै गाउँलेहरु मिलेर। र गाउँको नाम पनि फेरे। त्यो गाउँको नाम पुरानाबासिन्दगाउँबाट कृष्णसेवक भयो’।
       ‘कृष्णसेवक गाउँमा सालिक राखिएको खवर बिद्रोहीवस्ती भरि फैलियो। बिद्रोहीबस्तिका बासिन्दाहरुले त्यो खवरलाई सजिलै पचाउन सकेनन्। केहीले त त्यो खवर सुन्ने बितिक्कै क्रोधित हुँदै तत्काल अनेक प्रतिक्रिया जाहेर गरे। हेर्दा हेर्दै प्रतिक्रिया जाहेर गर्नेहरुको ठूलो भीड नै जम्मा भयो। प्रतिक्रिया जाहेर गर्ने मध्येका एकले छेउमा रहेको एक मेचमाथि उभिँदै भन्यो-त्यो सालिक कृषणसेवक भन्ने एक जोगीको हो। ती जोगी ज्यादै गरीब थिए रे। नराम्रो पारिवारीक स्थिति  र अति गरीबीले गर्दा  ती जोगी भएका थिए। तर तिनमा एक ठुलो विषेशता थियो, त्यो के भने मानिसहरुलाई सजिलैसँग संगठित गर्ने र आफूले चाहेको बाटोमा हिँडाउन सक्ने। त्यस्तो विशेषताले युक्त थिए ती। तर जे होस, ती कृष्णसेवक हाम्रो समप्रदायका थिए। त्यसैले त्यो सालिकमाथि हाम्रो अधिकार हुनु पर्दछ। कृष्णसेवकको सालिकसँग हाम्रो समप्रदायको परिचय गाँस्सिएको छ। हामीले त्यसमाथि अधिकार स्थापित गर्न नसके हामी कायर साबित हुन्छौ। हामीले हाम्रो समप्रदायको रक्षा गर्न नसकेको प्रमाणित हुन्छ। हामी नालायक ठहर्छौ। आउने सन्ततिहरुले हामी माथि थुक्ने छन। त्यसकारण जसरी पनि हामीले त्यो सालिक यो गाउँमा स्थापित गर्नै पर्छ। यसको लागि सयौको कुर्वानी दिनु परेपनि हामी पछि हटनु हुँदैन। हाम्रो जीवनभन्दा हाम्रो सम्प्रदायको पहिचान ठूलो हो। मान्छेले जन्म लिन्छ, मर्छ तर उसको मौलिकता, उसको पहिचान कहिले मर्दैन, अमर रहन्छ। जसरी देशबासीहरु जन्मिन्छन्, मर्छन, जन्मिने मर्ने सिलसिला चलिनै रहन्छ तर देश, देशको पहिचान कहिले मर्दैन। त्यसकारण हाम्रो पहिचानको, हाम्रो सम्प्रदायको रक्षा गर्न आफ्ना छोराहरु गुमाउन आमाहरु तयार हुनु पर्दछ।  दिदी बहिनीहरु बिधवा हुन। यसै गरी नव विवाहिता आमाहरु बिद्रोही छोराहरु जन्माउन’।
       ‘एक महिलाले पूर्व वक्ताको भनाइमा प्रतिक्रिया व्यक्त गर्दै भनिन्- पुरषहरुलाई मात्र  बढी महत्व किन, पुरुषहरु मात्र होइन ,हामी महिलाहरु पनि अग्र मोर्चामा रहेर लडन सक्छौ र  तयार छौ पनि, त्यस्तो चुनौति स्वीकार गर्न। हाम्रो छाति पुरुषहरुको भन्दा रत्ति पनि सानो छैन,  ठूलो नै छ, अति नै। अनि साहस पनि…….. । कुनै कुरामा हामी पुरुषहरुभन्दा पछाडि छैनौ, न पराक्रम न बुद्धि। न शक्ति न भक्ति। इतिहास हेरे हुन्छ। शक्तिमा दुर्गा र काली, भक्तिमा मिराबाइ ………। कथा पढे हुन्छ, उनीहरुको। सृष्टिको प्रारम्भ हाम्रो गर्भबाट हुन्छ। ती महिलाले थपिन – कुनै कारणले संसारभरिका सम्पूर्ण पुरुषहरुको मृत्यु हुने हो भने पनि यो सृष्टि रोकिँदैन, चलिनै रहन्छ किनभने कुनै न कुनै महिलाको गर्भबाट एक पुरुषको जन्म हुन सक्छ र त्यो पुरुषले मानव वंशको वृद्धि गर्नेछ। तर संसारभरिका सम्पूर्ण नारीहरुको यदि कुनै कारणले मृत्यु भएमा मानव वंशको वृद्धि हुन सक्दैन किनभने पुरुषहरुले न गर्भ धारण गर्न सक्छन् न त बच्चा जन्माउन नै । कि सक्छन, ल भन्नुस कसैले। त्यस कारण नारीहरु पुरुषभन्दा ठूला छन, विवादरहीत किसिमले। प्रष्ट प्रमाण सहित’।
       ‘ती महिलाको  मन्तव्यमा समर्थन जनाउँदै उपस्थित सबै महिलाहरुले जोड जोडले ताली बजाए। महिलाहरुको मोर्चको अगुवाई गर्ने जिम्मेवारी तिनै महिललाई प्राप्त भयो, जसले केही पहिले आफ्नो मन्तव्य राखेकी थिइन’।
       ‘सयौ गाउँलेहरु उपस्थित भएको सभाले निर्णय गर्यो –कृष्णसेवक गाउँमाथि हात हथियार गोली गठ्ठा सहित सबै मिलेर हमला गर्ने, त्यहाँका बासिन्दाहरुमाथि विजय प्राप्त गर्ने, अनि कृष्णसेवकको सालिक ल्याएर आफ्नो गाउँमा स्थापित गर्ने। सुनाइएको यो निर्णयमाथि सबैले सहमति जनाए,तालीको गडगडाहटका साथ। कसैले बिरोध त के बिरोध गरौ कि भनी सोंच्ने आँटसमेत गर्न सकेन’।
       ‘कृष्णसेवकको भनिएको सालिकका लागि कृष्णसेवक र बिद्रोहीबस्ती गाउँका बासिन्दाहरु बीच  एक महिनासम्म युद्ध चल्यो। युद्धमा विजय बिद्रोहीवस्तीले हासिल गर्यो।  युद्ध अति रक्तपातपूर्ण  र डरलाग्दो भयो। बिजयप्राप्त गरेका योद्धहरुले हारेका योद्धाहरु, जसलाई बन्दी बनाएर राखिएका थियो, को छुरीद्वारा घाँटी फोडी रगत झिकेर पिए। त्यसरी गरेर  उचित किसिमबाट बदला लिएको भनी त्यस्तो क्रुरताको औचित्यता पुष्टि गरे। सत्रुमाथि आफूहरुले पूर्णता एवम् उदाहरणीय न्याय गरेको उदघोष गरे। युद्धमा धेरै मारिए। सयौ बिधुवा भए, सयौ बिदुर भए। धेरै बालबलिकाहरु टुहुरा भए। र वृद्ध वृद्धाहरु साहारा विहीन’।
       ‘युद्धमा विजय हासिल भएकोमा भव्य उत्सव मनाउनु पर्दछ भनी बिद्रोहीबस्तिका बासिन्दाहरुले निर्णय गरे। भव्य उत्सव मनाउने क्रममा  बिद्रोहीबस्तीका केही योद्धाहरुले कृष्णसेवकगाउँका केही मृत वहादुर योद्धाहरुको टाउको काटी तिनलाई डालोमा राखी, ती टाउकाहरुलाई सार्वजनिक रुपमा प्रदर्शित गर्दै जुलुस निकाले। त्यो कार्यको गाउँका धेरै बासिन्दाहरुले प्रशंसा गरे। त्यस्तो गर्नेहरुको जिउमा फूल बर्साए। ताली पिटे जोड जोडले।  त्यस्ता अरु पनि अनेक किसिमका कार्यहरु गरेर धरै दिन सम्म बिजय उत्सव मनाए गाउँलेहरुले। कृष्णसेवकगाउँका बाँकी रहेका व्यक्तिहरु मध्ये  केहीले  शत्रुको शरणमा जानुको सट्टा मृत्यु बरण गर्नु बेस भनी आत्महत्या गरे,खोलामा हाम फालेर। केही बृद्ध बृद्धाहरु जोगी जोगिनी भएर हिँडे। केही अर्को गाउँतिर लागे, कहिले नफर्किने गरी। बालबालिकाहरु, कोही कता लागे कोही कता, भिक्षा मागि जीवन यापन गर्न।  दुइ चार जनाले भने युद्धविजय गाउँको सर्वोच्चतालाई स्वीकार गरी त्यही बसे’।

       ‘एक भव्य समारोहको आयोजना गरी त्यो सालिक गाउँको मध्य भागमा स्थापित गरे,बिद्रोहीबस्तीका बासिन्दाहरुले।  डरलाग्दो लामो युद्ध गरेर त्यो सालिक हात पारेको हुनाले एक सर्वमान्यको निर्देशनमा समुदायको इज्जत बढाउन त्यो गाउँको नाम  युद्धबिजय राखियो। अब त्यो गाउँको नाम बिद्रोहीबस्तिबाट युद्धविजय भयो’।
      ‘युद्ध विजय गाउँमा सधै युद्धमा बिजय हासिल भएको बारे चर्चा हुन्थ्यो। आफ्नो समुदायको व्यक्तिको सालिक राख्न पाएकोमा गर्व महशुस गर्थे त्यहाँका बासिन्दाहरु। तर एक कान दुई कान मैदान हुँदै एक सनसनीपूर्ण समाचार गाउँभरि फिजियो। समाचार थियो – त्यो सालिक यथार्थमा कृषण सेवकको होइन। कृष्णसेवकको सालिकलाई हजारौ टुक्रा पारेर बाग्मति नदिमा बगाई सकेका थिए रे फाल्नेहरुले, त्यो त केवल शरीर जस्तो देखिन मात्र एक ठूलो आकारको ढुङ्गा हो’।
        ‘युद्धविजय गाउँका बुजुर्ग, अगुवा, गन्यमान्यहरुले आपतकालिन बैठक डाकेर फैलिएको  त्यो हल्ला सहि वा निराधार हो भन्ने कुराको  टुङ्गो लगाउने निधो गरे। बैठक बस्यो। बसेको बैठकले भम्भिर छलफल पछि एउटा निर्णय गर्यो। निर्णय थियो – अर्को गाउँबाट सम्वन्धित क्षेत्रका विज्ञ - इतिहासकारहरु, संस्कृतिविद्हरु, मूर्तिकारहरु, पुरातत्वविद्हरु आदि बोलाउने र सालिक विश्वास गरिएको त्यो ढुङ्गाको परीक्षण गराइ  यथार्थमा त्यो के हो भन्ने कुराको छिनोफानो गर्न लगाउने’।
        ‘योजना अनुसार सम्बन्धित क्षेत्रका विज्ञहरु आए। विशेषज्ञहरु सम्मिलित उक्त  टोलीले सालिक विश्वास गरिएको त्यो ढुङ्गाको विस्तृत परीक्षण गर्यो र त्यो केवल एक महत्वहीन ढुङ्गा  रहेको र कसैको सालिक नभएको  आफ्नो विस्तृत अनुष्नधानबाट  ज्ञात भएको प्रतिवेदन पेश गर्यो। विज्ञहरुको त्यो निष्कर्षलाई आधार मानेर त्यो ढुङ्गालाई अर्थहीन भन्दै  गाउँलेहरुले  बाग्मतिमा बगाउने निर्णय गरे। अनि घोषणा पनि गरे - यो ढुङ्गालाई तत्काल फालिहाल्नु पर्छ। यदि नफाल्ने हो भने यसको उपस्थितिले हाम्रो वौद्धिकताको उपहास हुनेछ। हामी मूर्ख हौ भनी मानिसहरुले भन्ने मौका पाउने छन्’’।
 ‘एक विसाल सभाको आयोजना गरी त्यो सालिकलाई बाग्मति नदिमा लगेर फाले गाउँलेहरुले। सालिक फाले पछि भने त्यो गाउँ धेरैदिनसम्म शान्त रह्यो’।
‘युद्धविजय गाउँका मानिसहरुले फालेका सालिकलाई बाग्मति नदीबाट झिकेर आफ्नो गाउँमा लगे शिवपुरी गाउँका बासिन्दाहरुले। शिवपुरी गाउँमा धेरै दिनसम्म हर्सोउल्लास मनाइयो किनभने त्यस गाउँका अगुवा, बुजुर्ग, नेता, मान्यजन, आदि सबै मिलेरे आफ्नो आदि बस्ति,आदि संस्कृति, आदि भाषा, खोजिरहेका थिए। र त्यो भेट्टियो पनि। त्यस गाउँका इतिहासकार, पुरातत्वविद्हरुले प्रस्तुत  गरेका  तथ्यहरुमा सबैको सहमति भयो, कसैले बिमति जनाएन। उनीहरुको तथ्य सहितको तर्क थियो – हाम्रा आदि पूर्खाहरु यसै स्थानमा बस्थे, यही बाग्मतिको किनारमा। उनीहरुको छुट्टै आफ्नो  समुदाय थियो। समुदायबाट पालै पालो एक जना नायक छानिन्थ्यो र त्यही नायकको नेतृत्वमा यो समुदायको सञ्चालन हुन्थ्यो। ती नायकहरुमध्येका एक थिए, महानायक। उनी ज्यादै बीर, पराक्रमी, विद्वान, न्यायप्रेमी थिए। उनले आफ्नो समुदायको बसोबास गर्ने सिमानालाई जति उत्तर दिशामा बढाएका थिए त्यति नै दक्षिण दिशामा। त्यतिनै पूर्व र पश्चिम दिशामा। उनको दरवार पनि थियो रे। त्यो पनि हामीले उत्खनन् गरेर  पत्ता लगाउनु पर्दछ। हाम्रो अहो भाग्य कि हामीले त्यस्ता महान नायकको सालिक फेला पार्यौ। तर अफसोच, टाउको, हात र खुट्टा नरहेको अबस्थामा। तर जे होस, जस्तो अवस्थामा सालिक रहेता पनि त्यो हाम्रो समुदायको पहिचान हो, हाम्रो गौरव हो। यसमा दुई मत हुन सक्तैन र विवाद गर्ने ठाउँ पनि छैन। टाउको, खुट्टा र हात नभएता पनि केवल शरीरको अध्ययन र शरीरमाथिको वस्त्र जस्तो गरी ढुङ्गामा कुँदिएको बुट्टाले भन्छ त्यो हाम्रो समुदायको भेष भुषा हो जुन हाम्रो महान नायकले लगाउने गर्नु हुन्थ्यो। यस्तो भेषभुषा अहिले पनि हाम्रो बीचमा छ। हाम्रा बुढा पुरानाहरुले लगाएको सहजै देख्न सकिन्छ, त्यस्तो भेष भूषा। त्यसैले निर्विवाद यो सालिक हाम्रो महानायकको नै हो। र यो निष्कर्ष लामो अध्ययन अनुसन्धान पछि निकालिएको हो। प्रस्तुत गरिएका ती तर्कहरुमा सबैले एकै स्वरमा सहमति जनाए,हर्षले गदगद हुँदै ताली पनि पिटे, धेरै बेरसम्म ’।
   महानायक भनी विश्वास गरिएको व्यक्तिको सालिकमा टाउको जोडे, शिवपुरीगाँउका बासिन्दाहरुले। आफ्नो समुदाएको  मौलिक विषेशता झल्किने गरि टाउकोलाई सिङ्गारे पनि। हात र खुट्टा पनि जोडे, शरीरमा। पूर्ण कदको सालिक तयार भएपछि त्यसलाई गाउँको मध्य भागमा लगेर स्थापित गरे। गाउँका अगुवाहरुको सल्लाहमा त्यस गाउँको नाम महानायक राखियो। त्यो गाउँको नाम पहिले शिवपुरी थियो भन्ने तथ्य इतिहास बन्यो’।
     ‘महानायक गाउँमा स्थापित गरिएको सालिकको चर्चा युद्धविजय गाउँमा पुग्यो। त्यस गाउँका व्यक्तिहरु बीच कानेखुसी हुन थाल्यो। काने खुसीको विषय थियो – हामीले केवल फाल्ने काम मात्र गरेऔ त्यो ढुङ्गा जुन सालिक भनी विश्वास गरिएको थियो, तर हामीले त्यसको परीक्षण भने हतारमा गरेऔ, व्यवस्थित र विस्तुत किसिमले त्यसको परीक्षण भने गरेनौ। त्यस्तो नगर्नु हाम्रो ठूलो भूल थियो, महान मूर्खता पनि। हामीले लामो समय लगाएर लगाएर परीक्षण  गर्नु पर्द्थ्यो, त्यो ढुङ्गाको’।
    ‘युद्धविजय गाउँका सम्पुर्ण बासिन्दाहरु फालिएको त्यो ढुङ्गा सालिक नै थियो वा केवल एक ढुङ्गा  भनी परीक्षण गर्नु पर्ने विषयमा सहमत भए। खोजी कार्य सम्पन्न गर्न एक टोलीको गठन भयो’।
  ‘टोलीले पत्ता लगायो- शिवपुरीगाउँका बासिन्दाहरुले त्यो सालिक बाग्मति नदिको किनारबाट उठाएर  लगी आफ्नो गाउँमा स्थापना गरेका रहेछन्।  त्यो टोलीले ठोकुवा समेत गर्यो - हामीले खोजी गरिरहेको सालिक त्यही नै हो, यसमा संका गर्ने कही कतै ठाउँ छैन’।
       ‘युद्धविजय र महानायक गाउँका बासिन्दाहरु बीच पाँच वर्षसम्म युद्ध चल्यो त्यो सालिक आफ्नो कब्जामा राख्न। दुवैतिरका सयौ मानिसहरुको निरमम हत्या भइनै रह्यो। हजारौ मानिसहरु बेघरवार भइनै रहे। युद्ध समाप्त हुँदासम्ममा दुवै गाउँका लगभग सम्मपुर्ण बालबालिका, युवायुवती, वृद्ध वृद्धाहरुले बीर गति प्राप्त गरिसकेका थिए। बाकी रहेकाहरु दुइ चार जना पनि पुन: युद्ध हुन सक्ने भयले अन्य गाउँहरुतिर पलायन भए, कहिले पनि नफर्किने गरी। अब केवल सालिक मात्र बाँकी  थियो ती दुई गाउँहरुको बीचमा।  युद्धको अग्नीमा लगभग सबै जलिसकेका थिए। युद्ध गर्न उकास्ने र उक्साहटमा लागेर युद्ध गर्ने कोही पनि बाँकी रहेन । कस्तो उदेक लाग्दो ………? युद्धको साक्षी समेत बाँकी रहेन, एकैजना भए पनि। भयानक युद्धको साक्षी कोइ थियो भने त्यो थियो त्यै सालिक। सालिक मात्र थियो। तर त्यसमाथि कब्जा जमाउन खोज्नेहरु भने सबै मरिसकेका थिए’।
     ‘एउटा अचम्मको परिस्थितिले जन्म लियो त्यहाँ। त्यो सालिक छेउ छाउमा रहेका पचासौ गाउँका बासिन्दाहरुले आफ्ना कला र संस्कृतिको खोजी गर्न थाले, आफ्ना पुस्ताहरुको बारेमा जानकारी लिन थाले। त्यसै खोजीको क्रममा  ती सबै गाउँका बासिन्दाहरुले त्यो सालिकको गहन अध्ययन गर्ने अठोठ गरे। ठूला ठुला अध्ययन अनुसन्धानहरु भए। कस्तो आश्चर्य,  सबै गाउँका बासिन्दाहरुले एउटै निष्कर्ष निकाले – त्यो सालिक हाम्रो संस्कृतिको धरोहर हो, हाम्रो आस्था र विश्वासको केन्द्र हो, हाम्रो धर्म हो, हाम्रो मर्म हो, हाम्रो गाउँको इज्जत हो किनभने त्यो सालिक सालिक नभइ हाम्रो आराध्यदेवको मूर्ति हो’ ।
      ‘पचासौ गाउँका बासिन्दाहरु बीच त्यो सालिकका लागि  युद्ध भयो, किनभने हरेक गाउँका मानिसले त्यो सालिक आफ्नो गाउँमा राख्ने इच्छा प्रकट गर्न थाले। युद्धमा संलग्न सबै लगभग समाप्त हुने अवस्थामा पुगेपछि उनीहरु बीच एक शान्ति सम्झौता भयो। तर सम्झौतामा सहमति के बन्यो भने त्यो सिङ्गो सालिकलाई टुक्रा टुक्रा पार्ने अनि ती पचासौ गाउँका बासिन्दाहरु बीच बिभाजन गर्ने। सहमति अनुसार कार्य भयो। त्यो सालिकलाई टुक्रा टुक्रा पारेर  पचासौ गाउँका वासिन्दाहरुले बिभाजन गरे। हरेक गाउँको भागमा त्यो सालिकको एउटा टुका पर्यो। उनीहरु ज्यादै प्रशन्न भए सालिकको केवल एक टुक्रा मात्र भए पनि प्राप्त भएकोमा। आफ्नो हक प्राप्त गर्न सकेकोमा’।
    सालिकको बिभाजन पछि युद्ध सधैका लागि समाप्त हुने विश्वास गरिएको थियो तर  त्यस्तो भएन। सालिकलाई टुक्रा टुक्रा पारेर भाग लगाउने गाउँहरु मध्येबाट एउटा गाउँ, जुन बौद्धिक र भौतिक दुबै रुपमा ज्यादै बलियो थियो, ले विभिन्न गाउँहरुमा छरिएर रहेका सालिकका टुक्राहरुलाई बटुलेर त्यो सालिकलाई पूर्ण आकार दिने योजना बनायो। र छरिएर रहेका सालिकका टुक्राहरु प्राप्त गर्न ती सबै गाउँहरु सँग युद्ध गर्ने अठोट गर्यो जो जो सँग त्यो सालिको एक एक टुक्रा थियो। एक ज्यादै चतुर, युद्धकुशल र  प्रभावकारी नेतृत्व दिने सक्ने व्यक्तिको नेतृत्वमा त्यो गाउँका बालबालिका, वृद्ध वृद्धा, युवा युवतीहरु अन्य ती गाउँहरुका बिरुद्धमा युद्ध गर्न संगठित भए, जुन जुन सँग त्यो सालिकको टुक्राको थियो।  युद्ध आरम्भ भयो। युद्धको नेतृत्व त्येही व्यक्तिले गर्यो जसले त्यो गाउँका सम्पूर्ण व्यक्तिहरुलाई युद्ध गर्न संगठित गरेको थियो।। उसले  सम्पूर्ण गाउँलेहरुलाई आन्दोलित पारेको थियो। गाउँका सम्पूर्ण जनताहरुले अति बहादुरीपूर्वक लडाइ गरे, ती गाउँहरुसँग। लडाइ गर्नका लागि सफल रणनीति त्यो नेताले नै तयार पारेको थियो। युद्ध निकै लामो समयसम्म चल्यो। पाँच वर्षसम्म निरन्तर रुपमा युद्ध चले पछि मात्र त्यो समाप्त भयो। तर युद्ध समाप्त हुँदासम्ममा  त्यो पचास गाउँका सम्पूर्ण मानिसहरु मरिसकेका थिए। त्यो महान नरसँहारमा वृद्ध वृद्धा त के नवजात शिशुहरुको ज्यान पनि कसैले जोगाउन सकेन। सालिक भने त्यहीँ थियो जहाँ त्यसलाई स्थापना गरिएको थियो। त्यसलाई आफ्नो गाउँमा स्थापना गर्न खोज्नेहरु धेरै टाढा पुगिसकेका थिए, कहिले नफर्किने गरि’।
रंजन काकाले कथा सक्यानु भयो। तर फेरि भन्न आरम्भ गर्नु भयो ‘अहिले पनि करमैआदेखि बाग्मति नदी हुदै, दक्षिणतिर, धेरै पर ,अतिपर जाँदा बाग्मति नदिको पूर्वपट्टी एउटा ठूलो फाँट आउँछ रे, त्यहाँ , त्यो फाँटमा, त्यो भीषड युद्धमा मारिएका आत्माहरु  मध्यरातमा जम्मा हुन्छन र कराउँने गर्छन रे। केही रुन्छन केहीले कसैलाई गाली गर्छन। केहीले त कसैसँग यस्तो प्रश्न गरेको पनि सुनिन्छ – केवल एउटा ढुङ्गाको लागि भीषड रक्तपात मच्याएर, आफ्न्तहरुले नै आफ्न्तहरुको ज्यान लिएर त्यत्रो महा विनासकारी युद्ध मच्चाउनु ठीक थियो त? हामीले हाम्रो मष्तिष्कको आफैले उपयोग गरेऔ कि कोही अरुले नै उपयोग गर्यो, हाम्रो मष्तिष्कको’?
रंजन काकाले फेरि भन्नु भयो  ‘आज भन्दा करीब पचास वर्ष पहिले, म गौरबाट तीन कोष जति पूर्व उत्तरमा पर्ने एउटा गाउँ जाँदै थिए, एक मित्रलाई भेट्न। साथमा अरु पनि दुइ चार जना गौर बजार गर्न आएका त्यस गाउँका मान्छेहरु थिए, मेरो साथमा। गौरबाट हिँडदा धेरै ढिलो भइसकेको थियो, साँझ नै पर्न आंटेको थियो। त्येही ठाउँ, जहाँ किम्बदन्ति अनुसार भीषड युद्ध भएको थियो, सालिकका लागि, मा पुगेपछि हामी एक घण्टा जति बाटो अलमलियौ। जुनेली रात नभएकोले चारैतिर अन्ध्यारो थियो। बालुबामाथि मनिस हिँड्दा हिँडेको बाटोको चिन्ह नबन्ने हुनाले बाटो पत्ता लगाउने गार्हो परिरहेको थियो, हामीलाई। अर्कोतिर रात छिपिसकेको थियो। गाउँमा मानिसहरु समसाँझमै खाना खाएर, बत्ति निभाइ सुत्ने हुनाले बत्ति बलेको दिसातिर  कुनै गाउँ हुनु पर्छ भनी अनुमान गर्न पनि गार्हो भइरहेको थियो, चारैतिर अन्ध्यारो भएकोले। चारैतिर शून्यता थियो। तर मलाई त्यो शून्यताबाट मानिसहरु चिच्याएको आबाज आएको प्रतीत भइरहेको थियो। म भूत, प्रेत, डाइन, जोगिन, नजर, गुजर आदिमा पटक्कै विश्वास गर्दिन। जसले जति सुकै विश्वास लाग्ने गरी भने पनि मृत आत्माहरु भट्किन्छन् जस्तो लाग्दैन मलाई। त्यो आबाजमा धेरै स्वरहरु थिए। ती स्वरहरुले भने एउटै प्रश्न गरिरहेका थिए। प्रश्न थियो -केवल एक ढुङ्गाको लागि हामीले अरुको निर्मम किसिमले  ज्यान लिनु र अर्थहीन किसिमले ज्यान दिनु ठीक थियो त? म चारैतिर केवल मानिसहरु छट्पट्टिएको, चिच्याएको, कल्पेको, रोएको, कराएको सुनिरहेको थिएँ।’


विश्वराज अधिकारी

Philosophy-The Impact of Event-1

विश्वराज अधिकारी

कुनै पनि घटना वा परिस्थितिले कुनै पनि कुरालाई अति नै प्रभाव पारेको हुन्छ। अर्को शब्दमा भन्ने हो भने कुनै पनि घटनाले पारेको प्रभावले गर्दा कुनै कुरा प्रति खास किसिमको धारणा बनाउने आधारभूमि तयार भएको हुन्छ। उदाहरणका लागि कुनै बगैचा देखेर कुनै कविले एक खास किसिमको कविता लेखे र त्यो कविता हजारौ व्यक्तिहरुले मन पराएर विश्व प्रसिद्ध भयो, ती कविले कुनै विश्व प्रसिद्ध पुरस्कार पाए भने ती कविद्वारा लेखिएको त्यो कविताको लोकप्रियताका लागि श्रेयता त्यो बगैचालाई दिने वा कविको कल्पनाशिलतालाई?


माथिका फूलहरुलाई हेर्यौ, कति मोहक छन् यी फूलहरु। यी फूलहरुलाई हेरेर कुनै कविले विश्व प्रसिद्ध कविता लेखे अर्थात यी फूलहरुले कविको दिमागमा खास किसिमको क्रिया गरेर उनको सृजना क्षमतामा चमत्कारिता ल्याई दिए जसले गर्दा ती कवि विश्व प्रसिद्ध हुन पुगे भने यी फूलहरुलाई खास महत्व नदिएर, ती फूलहरुको विशेषताहरु बारे सोध खोज नगरेर केवल ती कविलाई मात्र त्यो कविताका लागि सम्पूर्ण श्रेयता दिने?






कथा ७ - मधुर मिलन


२०२५ या २६ साल हुनु पर्दछ, म पाँच कक्षामा थिएँ, मेरो गाउँको स्कूलमा। त्यो स्कूलमा चार जना शिक्षकहरु हुनु हुन्थ्यो। जटाशंकर पाण्डे, रामानन्दन तिवारी, राजेश्वर सिंह अनि झा मास्टर साहेब। यिनै हुन मेरो माष्टर साहेबका नामहरु। झा माष्टर साहेबको नाम भने थाहा भएन। मैले थाहा नपाउने कारण पनि थियो। कारण थियो, वहाँलाई सबैले झा माष्टर साहेब भन्थ्ये। हेड माष्टर साहेबले समेत। वहाँको नामबाट कसैले वहाँलाई सम्बोधन गरेको मैले कहिले सुनिन पनि।
झा माष्टर साहेब ज्यादै सरल स्वभावको हुन्थ्यो। तर राजेश्वर माष्टर साहेब ……………उफ, अहिले पनि त्यो बेलाका घटना सम्झिदा झसंग हुन्छु। हिसाब पढाउनु हुन्थ्यो राजेश्वर माष्टर साहेबले। एक त हिसाब मेरो लागि त्यसै पनि गार्हो त्यस माथि माष्टर साहेबले बनाउन दिनु भएको हिसाब गलत होला भन्ने डरै डर। त्यस किसिमको डरै डरले बनाएको हिसाब जहिले पनि गलत हुन्थ्यो अनि बज्रिन्थ्यो राजेश्वर माष्टर साहेबको छडी मेरो हातमा। राजेश्वर मास्टर साहेबको कुटाईको डरै डरैले निर्माण भएको गणितप्रतिको मेरो नाकारात्मक मनोविज्ञानमा अहिले पनि सुधार आउन सकेको छैन। मेरो उमेरले आधा सप्ताब्धि पार गरी सक्दा पनि, हिसाब गर्नु परेपछि अहिले पनि पसिना निस्किन थाल्छ मेरो निधारबाट, माघ महिना कै जाडो किन नहोस। दुई र दुई जोड्नु पर्यो भने क्यालकुलेटर चलाउन पुग्छु म, अहिले पनि म। व्यवस्थापनको प्राध्यापक म, मेरो विषयमा हिसाब आएर, कहिले पढाउनु पर्ने भयो भने, गुप्ता सरलाई आग्रह गर्छु त्यो हिसाब भएको च्यापटर पढाई दिन। गुप्ता सर भने हिसाब पाए पछि ……..खान समेत बिर्सेर बनाउन थाल्नु हुन्छ।
झा माष्टर साहेबले भने विद्यार्थीलाई कुटेको मैले कहिले पनि देखिन। त्यसैले पनि होला, धेरै विद्यार्थीहरु पढाईका कुराहरु सोध्न डराउँथेनन् वहाँसँग। सामाजिक शिक्षा वा यस्तै कुनै विषय पढाउनु हुन्थ्यो, झा माष्टर साहेबले। 
पढाईका कुराहरु सोध्न म  कहिले काहिँ झा माष्टर साहेबको डेरामा पनि पुग्थ्ये। स्कूलको छेउको घरमा वहाँको डेरा थियो, छोरा छोरीलाई पढाई दिए बापत नि:शुल्कमा डेरा दिएका थिए घर धनीले वहाँलाई। वहाँको डेरामा पुगे पछि एउटा कुरामा भने मेरो आँखा पुगेर टक्क अडिन्थ्यो र म त्यो कुरालाई क्षण भर नियालेर हेर्दथ्ये। त्यो कुरा थियो, वहाँ सुत्ने खाटमाथि राखिएको तकिया। तकियामा भन्दा पनि तकियामा कढाई गरेर बनाइएको चित्र त्य चित्र र चित्रको तल लेखिएका क्षरहरुले मलाई निकै आकर्षित गर्थ्ये। तकियामा एक जोडी मयूरको चित्र थियो र मयूरको चित्र तल लेखिएको थियो मधुर-मिलन। चित्रको अर्थ लगाउन मलाई सजिलो थियो, किनभने चित्र हेरेर म सलिलै बुझ्थ्ये, त्यो एक जोडी मयूरको चित्र हो भन्ने कुरा। तर अक्षरको अर्थ लगाउन भने मलाई गाह्रो हुन्थ्यो। अनुमानसम्म पनि म गर्न सक्थिन। एक दिन झा मास्टर साहेबको डेरामा गएको बेलमा मैले सोधें- झा मास्टर साहेब, तपाँईको तकियामा लेखिएको मधुर मिलनको अर्थ के हो?  मेरो प्रश्नको उत्तर दिनुको साटो झा मास्टर साहेब केवल केही बेर हाँस्नु भयो मात्र। तर एकै छिन पछि केही सम्झे झै गरी भन्नु भयो तिमी लैका फैकाले यसको अर्थ बुझ्दैनो, समय आएपछि समयले नै भन्ने छ यसको अर्थ। झा मास्टर साहेबको उत्तर सुने पछि मैले केही पनि बोलिन। तर वहाँको त्यो भनाईले मेरो जिज्ञासा भने मेटिएन। पछि कुनै बेला फेरि वहाँलाई त्यसको अर्थ सोध्ने छु भन्दै चुप लागे म। अँ, मेरो ध्यान आकृष्ट गर्ने एउटा अर्को पनि कुरा थियो झा मास्टर साहेबसँग। मास्टर साहेबको छाताले पनि मलाई निकै आकर्षित गर्थ्यो। खासमा छाता भन्दा पनि त्यसमा लेखिएको वाक्यले र वाक्य थियो श्री झाजी। त्यो लेख्नुको प्रयोजन त्यो छाता अरु छातासँग न अलमलियोस र कसैले चोरे भने सजिलै चिन्न सकियोस  भन्ने कुरा मैले सजिलै  अनुमान लगाउन सक्थ्ये त्यसैले त्यो लेखाईको अर्थ बुझ्न मलाई गार्हो थिएन। त्यैपनि मैले एक दिन सोधेको थिए- मास्टर साहेब तपाँईको छातामा श्री झाजी भनेर किन लेखेको? छाता नहराओस, चोरी नहोस भनेर, होइन त?  मेरो प्रश्नको उत्तरमा वहाँले भन्नु भएको थियो त्यो त हो। त्यस बाहेक अरु पनि कुरा छ। त्यो कुरा के हो भने त्यसरी, श्री झाजी भनेर मास्टरनी साहेबले लेखेको हो छाताको त्यो लेखाई हेरेर मैले एउटा कुरा ………अवश्य याद गरौ भनी मास्टरनी साहेबले श्री झाजी भनेर लेखेको रे।’
मास्टर साहेबको कुरा सनुपछि मैले प्रश्न गरे- अनि, तपाँईले के याद गर्नु पर्ने के हो त्यो कुरा, मास्टर साहेब?   मेरो प्रश्नको जबाफमा झा मास्टर साहेबले यति मात्र भन्नु भयो तिमी प्रश्न धेरै गर्छौ। पछि कहिले भनौला त्यो कुरा।’ यति भनेर वहाँ धेरै बेर हाँस्नु भयो र छातामा लेखिएको अक्षरलाई नियालेर हेर्नु भयो पनि केही बेरसम्म। 
राजेश्वर मास्टर साहेबको घर, जुन गाउँमा स्कूल थियो, त्यही गाउँमा थियो। तर बाँकी सबै मास्टर साहेबहरुको घर भने हाम्रो स्कूल रहेको गाउँदेखि सात आठ कोष परको गाउँमा थियो। वहाँहरुका परिवारहरु पनि उतै बस्थ्ये, स्कूल भएको गाउँमा बस्ने चाँजोपाँजो मिलिसकेको थिएन। पचरुखी, मत्सरी, पिपरा, भलौहिया, बडहरवा, हजमिनिया यिनै गाउँमध्येका गाउँहरुमा थिए मास्टर साहेबहरुका घरहरु। मलाई ठीक ठीक याद भएन, अहिले, कसको घर कुन गाउँमा थियो।
प्राय:विहिवारको साँझ सबै मास्टर साहेबहरुको जमघट हुन्थ्यो राजेश्वर मास्टर साहेबको घरमा। त्यो दिन साँझ वहाँहरुले कुनै उत्सवको पूर्व सन्ध्या मनाऐ झै प्रतीत हुन्थ्यो। वहाँहरुको मुहारमा उर्लिएको खुसीको बाढी देखेर त्यो कुरा सहजै अनुमान लगाउन सकिन्थ्यो। अहिले पनि म झलझली सम्झन्छु ती  दिनहरु। म राजेश्वर मास्टर साहेबकहाँ हिसाब सिक्न गएको बेला सुन्थ्ये वहाँहरुका गफहरु। विहिवार साँझका गफहरु। वहाँहरुले शुक्रवार दिउँसो घर जाने र आइतवार फेरी स्कूल भ्याउने गरि फर्किने योजना बनाएको पनि म वहाँहरुको कुराकानीबाट थाहा पाउँथें। सबै मास्टर साहेबहरु घर पुगेर आफ्नो परिवारलाई भेट्न आतुर रहेको पनि मलाई थाहा हुन्थ्यो वहाँहरुका कुराहरुबाट।
यसै गरी एक दिन, विहिवार राति, मास्टर साहेबहरुले घर जाने योजना बनाई रहेको बेलामा मैले सोधेको पनि थिए- झा मास्टर साहेब, तपाँईहरु किन प्राय: शुक्रवार घर जानु हुन्छ? किन यो गाउँमा रमाइलो लाग्दैन तपाँईहरुलाई? मेरो प्रश्न सुनेर झा मास्टर साहेबले केही बोल्नु भएन। तर एकै छिन पछि भन्नु भयो ‘तिमी लैका फैकाले बुझ्दैनौ के यस्ता कुराहरु।’ झा मास्टर साहेबले त्यति भनेपछि भने जटा शंकर मास्टर साहेबले भन्नु भयो ‘झाजी अहिले पनि ‘कोहबर’ मै हुनुहुन्छ। बिहे भएको एक वर्ष भइसक्को कोहबरबाट बाहिर आउनु भएको छैन, अहिलेसम्म।’ वहाँहरुको कुरा चलिरहेकै क्रम मैले सोधें- झा मास्टर साहेब, कोहबर भनेको के हो? मेरो प्रश्न सुनेर सबै मास्टर साहेबहरु हाँस्नु भयो। झा मास्टर साहेबले भने अलि रिसाएको जस्तो गरेर भन्नु भयो ‘ओह, कहिले काहि तिमी धेरै प्रश्नहरु गर्छौ। पढाईका कुराहरुमा जति प्रश्न गर्छौ त्यतिकै तिमी आइली बाइली कुराहरुमा पनि। जटा शंकर मास्टर साहेबले फेरि भन्नु भयो ‘झाजी, आँचलको आगो अति न्यानो हुन्छ, है।’ यति भनेर जटा शंकर मास्टर साहेब निकै बेर हाँस्नु भयो। वहाँको हाँसोमा हाँसो मिलाउँदे अरु मास्टर साहेबहरु पनि हाँस्नु भयो, निकै बेरसम्म। वहाँहरु त्यसरी हाँस्नुको कारण के थियो मैले पटक्कै थाहा पाउन सकिन।
सरस्वती पूजाको पाँच सात दिन पहिलेको कुरा हो, म झा मास्टर साहेबको कोठामा पुगेको थिएँ। सँधै झै मेरो आँखा वहाँको त्यो तकियामा पुग्यो। झा मास्टर साहेबतिर हेर्दै भने-  मास्टर साहेब, मधुर मिलन भनेको के हो? वहाँले मेरो प्रश्नको जबाफ दिनु भएन। केवल हाँस्नु भयो मात्र। मास्टर साहेब जबाफ दिने मनस्थितिमा हुनु हुन्न भन्ने अनुमान गर्दै मैले त्यही कुरा दोहर्याउने प्रयाश गरिन। खासमा म वहाँको कोठामा दोहा लेखाउनका लागि पुगेको थिएँ। सरस्वती पूजाका लागि चन्दा संकलन गर्नु पर्ने थियो। र चन्दा संकलन गर्दा त्यो दोहा जुन वहाँले लेखिदिनु हुन्थ्यो, दाताहरुलाई देखाउनु पर्ने हुन्थ्यो। त्यस्तो लेख्ने विचार र निर्देशन दुबै झा मास्टर साहेबको नै हुन्थ्यो प्रत्येक सरस्वती पूजामा। वहाँले एउटा सेतो कागजमा एउटा दोहा ‘तुलसी पन्छी के पिए घटे न सरिता निर, धर्म किए धन ना घटे कह गए दास कबीर’ लेखिदिनु हुन्थ्यो। र भन्नु हुन्थ्यो पनि ‘चन्दा माग्दा दाताहरुलाई पहिले यो दोहा सुनाउनु अनि मात्र चन्दा माग्नु। अनि यो दोहा भनी सकेपछि यसको अर्थ पनि खुलाउनु। अर्थ भन्नु- जसरी कवि तुलसीदासले पिएर समुन्द्रको पानी कम हुँदैन त्यसै गरी दान दिएर धन घट्दैन। तिमीहरुले राम्रो गरि अर्थ खुलाएर दोहा सुनाए भने मात्र दाताहरुले चन्दा दिन्छन्।’
गाउँमा लेख पढ गर्न जान्ने मान्छेहरु कमै हुन्थे, खास गरी चन्दा दाताहरुमा। त्यसैले, लगभग सबै चन्दादाताहरुलाई त्यो दोहा पढेर सुनाउनु पर्थ्यो र त्यसको अर्थ पनि खुलाउनु पर्थ्यो। सुन्नेहरुले त्यो दोहाको अर्थ कतिसम्म बुझेथे मलाई थाहा भएन। तर एउटा कुरा, त्यो के भने, उनीहरुले निकै ध्यान दिएर सुन्थ्ये त्यो दोहा । स्कूलका पढे लेखेका विद्यार्थीहरुले भनेका कुरा राम्रै होला भन्ने अनुमान गर्दै पनि धेरैले सुन्थ्ये, त्यस्तो लाग्छ मलाई। त्यो दोहाको अर्थ अहिले पनि म बेला बेलामा गुन छु अनि झल झल सम्झ्न्छु झा मास्टर साहेबलाई। वहाँको सम्पूर्ण व्यक्तित्व मेरो आँखामा चल्न थाल्छ।  कति विद्वता, कति दार्शनिकता थियो वहाँमा, अहिले पनि बिचार गर्छु म। मेरो बिचार निर्माणमा झा मास्टर साहेको ठूलो योगदान छ। म प्राध्यापक वहाँकै प्रोत्साहन र मायाले गर्दा भएको हो।  हुन पनि ज्यादै चिन्तनशील र भद्र हुनु हुन्थ्यो झा मास्टर साहेब। स्कूलमा पढाउन जानु हुन्थ्यो, पढाएर आए पछि आफ्नो कोठामा नै बस्नु हुन्थ्यो, प्राय अन्त कतै जानु हुन्थेन। कोठामा बसेको बेला, काठको एउटा बक्सामा राखेका किताबहरु मध्ये कुनै एक झिक्नु हुन्थ्यो र किताब राख्नका लागि बनाइको काठको एउटा भाँडोमा त्यसलाई राखेर पढ्नु हुन्थ्यो।
त्यस्तै कुनै कामले म एक दिन पुगेको थिए, झा मास्टर साहेबको कोठामा। मैले वहाँको खाट माथि त्यो तकिया त देखें तर त्यसको त्यो खोल जसमा मधुर मिलन लेखिएको थियो देखिन। मैले आश्चर्य मान्दै सोधें- मास्टर साहेब यो तकियाको खोल कता गयो? वहाँले हाँस्दै भन्नु भयो ‘खोल कता छ त्यो त म भन्छु तर त्यसमा लेखिएको मधुर मिलनको अर्थ भने म भन्दिन, है। मैले केही पनि बोलिन। वहाँले खुलस्त पार्दै भन्नु भयो ‘धोएर सुकाएको छु, इनारको छेउमा। धेरै मैलो भएको थियो। कपालको तेलले त झनै मैलो बनाउँछ तकियालाई।’
झा मास्टर साहेब हरेक दिन बिहान स्नान गर्नु हुन्थ्यो। त्यस पछि केही बेर जप गर्नु हुन्थ्यो। जप गरे पछि एक छिन लगाएर निधारमा तिलक लगाउनु हुन्थ्यो। अनि कोठामा आएर तोरीको तेल लगानु हुन्थ्यो कपालमा। कपालमा तेल लगाउँदै गाउनु हुन्थ्यो ‘भए प्रकट कृपाला दिन दयाला, कौशल्या हितकारी हर्षित महतारी मुनी मन हारी अदभुत रुप बिचारी ………….।’ 
 गाउँमा कृष्ण अष्टमीको मेला लागेको थियो। म पनि पुगेको थिएँ मेला हेर्न। मेलामा झा मास्टर साहेबसँग भेट भयो मेरो। मेला हेरेर म वहाँसँगै फर्के, वहाँको कोठामा। कोठामा आए पछि  कागजको एउटा पुडियाबाट केही झिक्दै भन्नु भयो ‘लेउ खाउ, अति मिठो हुन्छ, यो बालशाही, अनि महँगो पनि हुन्छ, त्यतिकै। बालशाही लिए पछि मैले भने मास्टर साहेब, तपाँईको हातमा रहेको त्यो अर्को कागजको पुडियामा के हो नि? मास्टर साहेब हाँस्नु भयो केही बेर अनि भन्नु भयो ‘मैले भन्ने गर्छु नि, तिमी ज्यादै प्रश्न गर्छौ भनेर। मैले थप केही पनि बोलिन। केही क्षण पछि केही सोँच्दै भन्नु भयो ‘मास्टरनी साहेबका लागि केही सामान किनेको छु, त्यै छ यो पुडियामा। यति भनेर वहाँले तकियामा लेखेको त्यो वाक्य मधुर मिलन हेर्नु भयो केही बेरसम्म। मैले झ्वाट प्रश्न गरिहाले- मास्टर साहेब, साँच्चे के हो अर्थ, मधुर मिलनको। जबाफ दिनुको साटो मास्टर साहेब निकै बेर हास्नु भयो। तकियाको खोल धोए पछि टलक्क टल्केका थिए ती अक्षरहरु- मधुर मिलन। वहाँले फेरि हेर्नु भयो ती अक्षरहरुलाई अनि मतिर हरेर हाँस्दै भन्नु भयो ‘थाहा छ, बिल्टु? यो तकियामा मधुर मिलन मास्टरनी साहेबले नै लेखेको हो । मास्टरनी साहेबको माइति भारतको दरभंगाको छेउछाउको गाउँमा छ। त्यताका महिलाहरु यस्तो कलाकारितामा निकै सिपालु हुन्छन।’ 
पाँच कक्षासम्म मात्र मेरो गाउँमा भएको हुनाले म बीरगंज आए पढन, पाँच कक्षा पछि। बीरगंजमा लामो बसाइको क्रममा मैले बि ए पास गरे त्यहाँको क्याम्पसबाट। जागिर पनि पाएँ मैले, तर बीरगंजमा भने होइन, हेटौडामा। जागिर पाएको वर्ष नै मेरो विहे भयो। जागिर हेटौडामा थियो, बसाई भने बीरगंजमा। आमा पनि मसँगै बस्नु हुन्थ्यो, पछि मेरी पत्नी उमा पनि थपिएकी थिइन हाम्रो परिवारमा। डेरा थियो छपकैयामा। आमा र उमालाई हेटौडामा नै राख्ने चाँजोपाँजो मिलाउन सकेको थिइन, धेरै कोशिश गर्दा पनि। त्यसैले म हरेक शुक्रवार बीरगंज आउँथे, अनि आइतवार बिहानै फर्किन्थ्ये हेटौडा, काममा। मलाई कहिले शुक्रवार आउला जस्तो हुन्थ्यो। शुक्रवारको विहानदेखि नै मेरो बीरगंज आउने तयारी शुरु हुन्थ्यो। शुक्रवार साँझ म बीरगंज पुगिसकेको हुनथ्ये। तर हरेक शुक्रवार बीरगंज आउनका लागि हेटौडामा बस चढ्दा भने म मेरो त्यो स्कूलका मास्टर साहेबहरुलाई झलझल सम्झिन्थ्ये। खास गरी झा मास्टर साहेबलाई। अनि विहिवारको साँझ वहाहरुको मुहारमा पोखिएको खुसीको पनि झल झल सम्झना हुन्थ्यो मलाई।   
मेरो बिहे भएको दुइ वर्ष भइसकेको थियो। धेरै प्रयत्न गर्दा पनि बीरगंज मै बसेर गर्न सकिने जागिर पाउन सकेको थिइन। त्यसैले हेटौडा बीरगंज गर्ने क्रम चलिनै रहेको थियो, टुटेको थिएन।
कहिले काँहि नचिताएको कुरा पनि हुन पुग्छ र त्यस्तै भयो पनि। मेरो अफिसको कामले गौर जानु पर्ने भयो मैले र एक दुई हत्ता बिताउनु पर्ने पनि भयो त्यहाँ। म गौरमा थिए। शनिवारको दिन थियो, डेरामा बसिरहेकै क्रममा मेरो मन स्मृतिको सागरमा डुबुल्की लगाउन थाल्यो। आफूलाई थाम्न सकिन र सोध पुछ गर्दै शनिवारको साँझ पुगे म गौर नजिक रहेको झा मास्टर साहेबको गाउँमा। झा मास्टर साहेबको घरसम्मसै  एक जनाले पुर्याइ दियो मलाई। मेरो मनमा डर थियो, कुनै अर्कै घरमा नपुर्यायोस मलाई झा मास्टर साहेबको घर पुर्याउनेले। तर त्यस्तो भएन, पुर्याउनेले सही किसिमले झा मास्टर साहेबको घरमै पुर्याई दियो। घर बाहिर उभिएको एक व्यक्तिको अगाडि पुगेर भन्यो पनि मलाई पुर्याउनेले ‘झा मास्टर साहेब वहाँ नै हो।’ अनि झा मास्टर साहेबलाई उसले भन्यो ‘तपाईलाई भेट्न कोही गौरबाट आएको छ, घर वहाँको पहिले तपाँईले पढाएको गाउँमा नै हो रे।’
घर बाहिर अँध्यारो रहेकोले झा मास्टर साहेबले चिन्न सक्नु भएन मलाई। प्रश्न गर्नु भयो ‘के नाम हो तपाँईको?’ मेरो नाम बिलट हो, बिलट सहनी। तपाँईले पढाउने गाउँमा मैल पाँच कक्षासम्म पढेको थिएँ। मेरो घर पनि त्यही स्कूल भएको गाउँमा थियो। आजभोलि म बीरगंजमा बस्छु। काम भने हेटौडामा छ। र अफिसको कामको सिलसिलामा गौर आएको छु केही दिनका लागि। गौर आएको बेला आइ पुगे तपाँईको दर्शन गर्न- मैले प्रस्तुत गरेको छोटो विवरणले मेरो बारेमा तत्काल थाहा पाउन सजिलो भयो झा मास्टर साहेबलाई। मेरो काँधमा हात राख्दै भन्नु भयो ‘ओ, बिल्टु, बल्ल चिने, के छ हाल खबर, कुशल मंगल ………….। जबाफमा मैले भने -मास्टर साहेब, सबै राम्रो छ भगवानको कृपाले, तपाँईको आशिर्वादले।
राति निकै बेरसम्म हामी बीच कुराकानी चल्यो। मास्टर साहेब र  म बीच भएको कुराकानीले मलाई मेरो बाल्यकाल र मास्टर साहेबलाई वहाँको यौवन कालमा पुर्याएको थियो। स्मृतिको सागरमा हामीले एक साथ डुबुल्की लगायौं निकै बेरसम्म। विगतका समयहरुमा पुग्यौ, स्मृतिको सागर बगेर हामी। त्यो बेलाको स्कूल, त्यो बेलाको गाउँ, त्यो बेलाको माहौलमा पुग्यौ हामी दुबै जना। समय चक्रलाई उल्टो घुमायौ, एक किसिमले भन्ने हो भने। र उल्टो घुमाएर त्यो बेलाको समयलाई ल्याई पुर्यायौ हाम्रो अगाडि। र बिर्सी दियौ वर्तमानलाई, निकै वेरसम्म।
हाम्रो कुराकानीको क्रम चलिरहेकै बेला झा मास्टर साहेबले केही सम्झे झै गर्नु भयो र भन्नु भयो ‘साच्चै, तिमीलाई एउटा कुरा याद छ, बिल्टु?’ मैले तत्काल प्रश्न गरे- के कुरा मास्टर साहेब? मास्टर साहेबले भन्नु भयो ‘तिमी केटाकेटी हुँदा, त्यो स्कूलमा पढदा, तिमीले एउटा प्रश्न सोधेर मलाइ हैरान पार्थ्यौ।’ मैले एक क्षण पनि विलम्ब नगरेर सोंधे- के प्रश्न मैले सोध्ने गर्थ्ये मास्टर साहेब, त्यो बेला? मास्टर साहेबले जवाफ दिनु भयो ‘मेरो तकियामा एउटा वाक्य लेखिएको थियो मधुर मिलन। त्यो हेरेर प्राय: तिमी मालाई प्रश्न गर्थ्यौ, मधुर मिलनको अर्थ के हो मास्टर साहेब? मधुर मिलनको अर्थ थाहा पायौ त तिमीले, के हो भनेर, अब।’ मैले हाँस्दै भने –थाहा पाए मास्टर साहेब। प्रस्ट गरि थाहा पाए। यति भनेर म निके बेर हाँसे। झा मास्टर साहेब पनि निकै बेर हाँस्नु भयो, मेरो हाँसोमा हाँसो मिलाउँदै। रात झन झन गहिरिँदै थियो। हाम्रो कुराकानी क्रम भने सकिएको थिएन।


विश्वराज अधिकारी