Saturday, November 30, 2024

Nepal: Darkside of Overseas Employment-Article-578

 वैदेशिक रोजगारका दुःखद पक्ष

अहिले संसारभरि नै वैदेशिक रोजगारप्रति अभूतपूर्व आकर्षण बढेको छ। खासगरी अफ्रिका तथा दक्षिण एशियाका नागरिकहरूका लागि वैदेशिक रोजगार जीवनको सर्वाधिक ठूलो सपना हुन पुगेको छ। प्रत्येक वर्ष संसारभरिका विभिन्न देशहरूबाट लाखौंको सङ्ख्यामा व्यक्तिहरू रोजगारका लागि ठूलो धनराशि खर्च गरेर, जोखिम लिएर तथा ज्यानको नै बाजी थापेर धनी कहलिएका देशहरूतिर पुगिरहेका छन्। र त्यहाँ पुग्ने क्रममा लाखौं बाटैमा अलपत्र परिरहेका छन्। बर्सेनि हजारौंले ज्यान पनि गुमाइरहेका छन्। यति हुँदाहुँदै पनि वैदेशिक रोजगारप्रति व्यक्तिहरूको आकर्षण घटेको छैन। झन् बढेको छ, झन्झन् चुलिंदै गएको छ।

वैदेशिक रोजगारप्रति नेपालीहरूको आकर्षण त झन् उत्कर्षमा छ। वैदेशिक रोजगारका लागि ठूलो सङ्ख्यामा नेपालीहरू संसारका अनेक देश पुगेका छन्। धनी देशहरूमा त पुगेकै छन्, गरीब देश पनि बाँकी छैनन् । रोजगारका लागि स्वदेश त्याग्ने नेपालीहरूको सङ्ख्या ठूलो छ। अनुमान गरिए अनुसार अहिले एक तिहाई नेपाली देशभित्र छैनन्, देश बाहिर छन्। र देश बाहिर हुने प्रमुख कारण रोजगार नै हो।

रोजगारको लागि विदेश पुगेका हजारौं नेपालीहरूको कामको क्रममा अङ्गभङ्ग भएको छ। हजारौं गम्भीर दुर्घटनामा परेका छन्। गम्भीर दुर्घटनामा परेर हजारौंको ज्यान गएको छ। रोजगारका लागि विदेश पुगेका सयौं नेपालीहरूले आत्महत्या पनि गरेका छन्। रोजगारका लागि विदेश पुगेका नेपालीहरूको एक वर्षमा कति सङ्ख्यामा मृत्यु हुन्छ भन्ने नेपाल सरकारसँग भरपर्दो तथ्याङ्क छैन। यति हुँदाहुँदै पनि वैदेशिक रोजगारको आकर्षण घटेको छैन। झनै बढेर गएको छ।

संसारभरिका मानिस र खासगरी युवाहरूलाई अति आकर्षित गर्ने रोजगार क्षेत्र के यथार्थमा त्यतिकै आकर्षक छ त? अति नै आनन्दायी छ त? राम्रो आय आर्जन गराउने स्थितिको छ त?

यस आलेखमा भने वैदेशिक रोजगारको आर्थिक पक्षबारे बढी चर्चा गरिने छैन। वैदेशिक रोजगारका सुखदभन्दा दुःखद पक्षहरूबारे चर्चा गरिने छ। मनोवैज्ञानिक पक्षबारे बढी चर्चा गरिने छ।

कुनै पनि देशले सर्वप्रथम आफ्नो देशका नागरिकलाई रोजगार उपलब्ध गराउने इच्छा मात्र गरेको हुँदैन, यो विषय प्राथमिकतामा नै राखेको हुन्छ। कुनै पनि देशले, आफ्नो देशमा हुने विभिन्न कामका लागि देशकै नागरिक उपलब्ध छैनन् भने मात्र अन्य देशहरूबाट श्रम (श्रमिक) आयात गर्दछ। प्रायः जोखिमपूर्ण, नीरस तथा जटिल प्रकृतिको कार्य आफ्ना देशका नागरिकले गर्न नरुचाउने हुनाले त्यस किसिमको कार्य गर्न श्रम आयात गरिन्छ। विदेशी श्रमिकहरूलाई आफ्नो देशमा आएर कार्य गर्न अनुमति दिने गर्दछ। त्यसकारण वैदेशिक रोजगारमा जाने इच्छुकहरूले यो तथ्य राम्ररी थाहा पाउन आवश्यक छ कि विदेशमा पुगेर गर्ने कार्यको प्रकृति जोखिमपूर्ण, नीरस र जटिल हुन सक्छ। काम गर्दा अङ्गभङ्ग हुन सक्छ। लामो समयसम्म बिरामी हुने स्थिति हुन सक्छ। कार्यस्थलमैं मृत्युसमेत हुन सक्छ। यस्तो भएको छ। नेपालमा प्रत्येक वर्ष बन्द बक्सामा लाश बनेर विदेश पुगेका श्रमिकहरू फर्कने स्थितिले पनि यस कुराको पुष्टि गर्दछ। तलब, सुविधा आकर्षक भए तापनि तुलनात्मकरूपमा विदेश श्रमिकहरूले जोखिमपूर्ण, नीरस, कठिन कार्य गर्नुपर्दछ। यो संसारभरिको नै चलन हो।

वैदेशिक रोजगारमा जाँदा प्रायः कार्य गर्ने स्थललगायत आफू बस्ने ठाउँ–शहर मा व्यक्ति एक्लै बस्नुपर्ने स्थिति हुन्छ। एक्लै बस्न, मान्छे त के, पशुहरूलाई समेत कठिन हुन्छ। पशु, पक्षी, कीटपतङ्गसमेत समूहमा बस्ने गर्दछन्। अनि मानिस कसरी, त्यो पनि विदेशमा, एक्लै बसेर रमाउन सक्छ?

वैदेशिक रोजगारको क्रममा यदि कुनै व्यक्तिले लामो समयसम्म एक्लै बस्नुपर्ने भएमा सो व्यक्ति मानसिक कुण्ठाको शिकार हुने उच्च सम्भावना हुन्छ। परिवार र आफ्नो समाजले दिने वातावरण स्वेच्छा होइन, यो अति आवश्यकता हो। यो आवश्यकता विदेशमा पूरा हुन नकसेर रोजगारका लागि विदेश पुगेका लाखौंको सङ्ख्यामा व्यक्तिहरू मानसिक रोगी भएको सयौं उदाहरण छन्।

मानव सभ्यताले निर्माण गरेको अनेक महत्वपूर्ण संस्थाहरूमध्ये परिवार अति नै महत्वपूर्ण संस्था हो। यो संस्थाले व्यक्तिलाई बाँच्नका लागि ऊर्जा दिन्छ। सुखमा सुख वृद्धि गरिदिन्छ भने दुःखमा दुःख कम पारिदिन्छ। बाँच्नका लागि भोजन, जल, वायु, निद्रा आदि आवश्यक भएझैं परिवार पनि मानिसको लागि आवश्यक वस्तु सरह हो। परिवारको अभावमा कुनै पनि व्यक्ति स्वस्थ रहेर बाँच्न कठिन हुन्छ। यसै कारणले गर्दा परिवारको परिकल्पना गरिएको हो। यसको निर्माण गरिएको हो। पतिपत्नी, सन्तान, बाबुआमा, काकाकाकीजस्ता सामाजिक पात्रहरू सृजना गरिएको हो।

वैदेशिक रोजगारका लागि विदेश पुगेकाहरूले परिवारबाट पाउने आनन्द गुमाउँछन्। रोजगारको सन्दर्भमा रोजगारका लागि लामो समयसम्म विदेश बस्नेहरूले त परिवारबाट पाउने आनन्द झनै बढी गुमाउँछन्।

आर्थिक लाभको दृष्टिकोणले वैदेशिक रोजगार अति आकर्षक त छ तर यसका दुःखद पक्षहरू पनि धेरै छन्। त्यसकारण दीर्घकालीन लाभ र मनोवैज्ञानिकरूपमा स्वस्थ रहने हिसाबले वैदेशिक रोजगारलाई कदापि राम्रो मान्न सकिन्न। कुनै पनि देशबाट ठूलो सङ्ख्यामा व्यक्ति रोजगारका लागि संसारका अनेक देश पुगेमा त्यस देशले (जहाँबाट श्रमिकहरू विदेश गएका छन्) ठूलो मात्रामा जनशक्ति गुमाउँछ। नेपालमा अहिले त्यही भइरहेको छ। नेपालले अहिले ठूलो मात्रामा जनशक्ति गुमाएको स्थिति छ।

जनशक्ति कम हुनु कुनै पनि देशको लागि सुखद स्थिति होइन। जनशक्तिको अभावले राष्ट्रिय उत्पादन व्यवस्थामा प्रत्यक्ष प्रभाव पार्दछ। देशमा कम उत्पादन भएर, देश आयातमुखी हुन्छ। रोजगार बजार सङ्कुचित भएर देशभित्र बेरोजगारी बढ्छ। नेपालमा बेरोजगारी बढ्नुका अनेक कारणहरूमध्ये एउटा महत्वपूर्ण कारण यो पनि हो। 

कुनै पनि देशको ठूलो जनशक्ति रोजगारका लागि विदेश जानु त्यस देशको लागि दीर्घकालमा अति हानिकारक हो। कसरी? ठूलो सङ्ख्यामा नागरिक रोजगारका लागि विदेश गएमा त्यस्तो देश ‘रेमिट्यान्समुखी’ हुन पुग्दछ। आफूले कम उत्पादन गर्ने, विदेशबाट कमाएर ल्याएको पैसाले अर्को देशबाट खरीद गरेर खाने स्थितिमा पुग्छ। एउटा देशबाट कमाएर ल्याएको पैसा अर्को देशलाई बुझाउने स्थितिमा पुग्छ। अत्यधिक मात्रामा रेमिट्यान्स प्राप्त गर्ने देशले आफ्नो देशको कृषि र उद्योगलाई अनिवार्यरूपमा कमजोर पार्दछ। नेपालमा अहिले त्यही भइरहेको छ। संसारका अनेक देशबाट कमाएर ल्याएको पैसा हामीले अहिले भारतीय र चिनियाँ वस्तु खरीद गर्नमा खर्च गरिरहेका छौं। विदेशबाट कमाएर ल्याएको पैसा चीन र भारत पठाइरहेका छौं। यस कारणले गर्दा हाम्रो आफ्नो उत्पादनको सङ्ख्या तीव्ररूपमा घट्ने क्रममा छ।

जनसङ्ख्याको एउटा खास अंश मात्र वैदेशिक रोजगारमा जानु उचित हो। ठूलो सङ्ख्यामा जानु उचित होइन। रोजगारका लागि ठूलो सङ्ख्यामा नागरिकहरू विदेश जाने स्थितिले देशलाई दीर्घकालमा दरिद्र पार्छ। आर्थिकरूपमा त दरिद्र पार्छ नै, अनेक सामाजिक समस्याहरू पनि ल्याउँछ।

कुनै पनि देशमा नयाँनयाँ किसिमका उद्योगहरूको सृजना गर्ने कार्य युवाहरूले नै गर्दछन्। नयाँनयाँ व्यापारको सृजना गर्ने कार्य पनि युवाहरूले नै गर्दछन्। नयाँनयाँ वस्तु एवं सेवाको विकास एवं आविष्कार पनि युवाहरूले नै गर्छन्। अनेक किसिमका व्यापारिक कार्य गरेर देशमा रोजगारको स्तर वृद्धि गर्ने अनि देशलाई आर्थिकरूपमा सबल पार्ने जिम्मेवारी पनि युवाहरूकै हो। देशभित्र विकासको लहर युवाहरूले नै ल्याउने हो, सरकार केवल माध्यम हो। एक सहजकर्ता मात्र हो। नेपालको सन्दर्भमा भने सरकार शासक मात्र बनेको छ।

देशलाई समृद्ध पार्ने युवाहरूले नै हो। प्रौढहरूको अनुभव युवाहरूले नै उपयोग गर्ने हो। त्यसकारण युवाहरू विकासका ‘कर्ता’ हुन्। तर दुःखद पक्ष, हाम्रो देशमा प्रत्येक दिन हजारौंको सङ्ख्यामा युवाहरू स्वदेश परित्याग गरिरहेका छन्।

वैदेशिक रोजगार लघुकालमा अति लाभदायक भए तापनि दीर्घकालमा भने यो घातक हो। वैदेशिक रोजगारमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा नेपालीहरू विदेशतिर लाग्ने अवस्थाले नेपाललाई आर्थिकरूपमा कमजोर पार्दैछ। यो महत्वपूर्ण तथ्य बुझ्न आवश्यक छ। अहिले नेतृत्वमा रहेका र भोलि नेतृत्व गर्नेहरूले बुझ्न झन् आवश्यक छ।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 29, 2024

https://eprateekdaily.com/2024/11/29/77085/

Sunday, November 24, 2024

No Economic Development At All!: What Is The Reality? Article0 577

 के विकास नभएको नै हो?

नेपालमा भएका राजनीतिक परिवर्तनहरूमध्ये २०४६ सालमा भएको राजनीतिक परिवर्तनलाई ज्यादै महŒवपूर्ण राजनीतिक परिवर्तनको रूपमा लिने गरिन्छ। यो परिवर्तनले नेपालको राजनीतिक व्यवस्थामा मात्र होइन, आर्थिक अवस्थामा पनि परिवर्तन ल्याउने विश्वास गरिएको थियो। देशको आर्थिक अवस्थामा सुधार हुने, रोजगारको क्षेत्र विस्तारित भएर सामान्य जनताको आम्दानीमा ठूलो वृद्धि हुने विश्वास गरिएको थियो। र सोही विश्वासले नेपाली जनतालाई पञ्चायती व्यवस्था विरुद्ध सडकमा आउन, आन्दोलन गर्न प्रेरित गरेको थियो।

२०४६ सालको राजनीतिक परिवर्तन पछि नेपालको आर्थिक स्थितिमा खासै सुधार आएन। नयाँनयाँ उद्योगहरूको स्थापना त भएन नै, भएका उद्योगहरूको पनि संरक्षण हुन सकेन। उद्योग र व्यापारको क्षेत्र अभूतपूर्व किसिमले सङ्कुचत भएर रोजगारको स्तर वृद्धि हुन सकेन। उल्टो देशमा बेरोजगारी बढेर रोजगारका लागि नेपाली युवाहरू संसारका अन्य मुलुक पुग्नुपर्ने बाध्यात्मक स्थिति सृजना भयो। नेपाल आर्थिकरूपमा ज्यादै कमजोर हुन पुग्यो। यस्तो भन्नेहरूको सङ्ख्यामा नेपालमा धेरै छ।

के नेपालमा आर्थिक विकास नभएको नै हो त ? यस प्रश्नको उत्तर दिन सजिलो भने छैन। यो प्रश्न आफैंमा ज्यादै जटिल छ। नेपालमा आर्थिक विकास भएको छैन भनौं भने अहिले नेपालीहरूको पहुँच अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुगेको छ। अहिले नेपालीहरूको आप्mनो श्रम, ज्ञान र सीप बिक्री गर्न अन्तर्राष्ट्रिय श्रम बजारहरूमा पुग्न सफल भएका छन्। खाडीका अनेक देशमा नेपाली युवाहरूको बाक्लो उपस्थिति त छ नै, अमेरिका, अस्ट्रेलिया, कनाडालगायत युरोपका अनेक देशहरूमा समेत नेपाली युवाहरूको उल्लेखनीय उपस्थिति छ। अन्तर्राष्ट्रिय श्रम बजार नेपालीहरूको लागि अहिले आय आर्जन गर्ने अति लाभदायक स्थल हुन पुगेको छ। अन्तर्राष्ट्रिय श्रम बजारले नेपालीहरूको आर्थिक जीवनमा अति नै सकारात्मक प्रभाव पारेको छ।

नेपाल भित्रै पनि सडकहरूको विस्तार भएको छ। राजमार्गहरूको लम्बाइ वृद्धि भएको छ। नयाँनयाँ सडकहरूको निर्माण भएको छ। जुन स्थानमा पहिले पैदल हिंड्न कठिन थियो, अहिले त्यहाँ सडक पुगेको छ, सवारीका साधनहरू पुगेका छन्। कार पुगेका छन्, बस पुगेका छन्। तराई होस् वा पहाड, त्यस क्षेत्रका अनेक बजारहरू सडकसँग जोडिएका छन्। ग्रामीण बजारहरूमा आर्थिक कारोबार बढेको छ।

गाउँका घरहरू, जसका छाना खर वा ढुङ्गाका थिए अहिले पक्की बनेका छन्। मोटर, मोटरसाइकल आदिको सङ्ख्यामा व्यापक वृद्धि भएको छ। सुन, चाँदीका गहनाहरूको बजारमा ठूलो माग छ। गरगहनाका अनेक पसल खुलेका छन्। विलासी वस्तुहरूको बिक्री पनि ठूलो परिमाणमा भइरहेको छ। भवन निर्माणमा र खासगरी काठमाडौंमा भवन निर्माणमा तीव्रता आएको छ। काठमाडौंमा ठूला–ठूला घर बनेका छन्। मलहरूको सङ्ख्यामा वृद्धि भएको छ। आर्थिक विकासका यी सूचाकाङ्कहरू हेर्दा नेपालमा आर्थिक विकास भएको छैन भन्न सकिने स्थिति छैन। 

नेपालमा आर्थिक विकास भएको छ भनौ भने देशमा ठूलो बेरोजगारी छ। बेरोजगारीले गर्दा जनतामा ठूलो निराशा छ। निराशा पनि चरम बिन्दुमा पुगेको छ। चरम बिन्दुमा पुगेको निराशाले जनतालाई विदेश लाग्न बाध्य पारिरहेको छ। प्रौढहरू मात्र होइन, १५–१६ वर्षे युवाहरू पनि देश भित्र बस्न इच्छुक छैनन्। स्वदेश त्यागेर कुनै पनि बेला विदेश जान तम्तयार भएर बसेका छन्। चरम बेरोजगारीले दिएको निराशाले गर्दा युवाहरू प्रत्येक दिन ठूलो सङ्ख्यामा स्वदेश त्याग गरिरहेको स्थिति हेर्दा नेपालमा आर्थिक विकास भएको छैन भन्नुपर्ने स्थिति छ।

यथार्थमा भएको के छ? नेपालमा आर्थिक विकास भएको छ कि छैन? नेपालमा आर्थिक विकास भएको त छ, तर जनताको अपेक्षा अनुसार भएको छैन। जनताले सोचे अनुसार भएको छैन।

विकासप्रति जनताको अपेक्षा अहिले चुलिएर गएको छ। अर्कोतिर हाम्रो विकासको गति कछुवा चालको हुन पुगेको छ। नेपालमा आर्थिक विकास भएको त छ तर तीव्र गतिमा भएको छैन। जनताको अपेक्षा भने तीव्र गतिमा आर्थिक विकास होस् भन्ने छ।

हाम्रो आर्थिक विकासको गति मन्द किसिमको छ। कछुवा चालको छ। तर जनताको अपेक्षा भने देशमा आर्थिक विकासको गति खरायो–चालमा होस् भन्ने छ। कछुवा चालको आर्थिक विकासले जनतामा आशा उत्पन्न गराउन सकेको छैन। उल्टो जनता निराश हुन पुगेको छ। जनतमा चरम निराशा उत्पन्न भएको छ।

जनताले नेपालमा किन खरायो चालमा आर्थिक विकास होस् भन्ने अपेक्षा गरिरहेको छ? यो प्रश्न आफैंमा महत्वपूर्ण छ। यस विषयमा पनि चर्चा हुन आवश्यक छ। सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले समाचार, जानकारीप्रति सामान्य जनताको पहुँच ज्यादै सजिलो पारिदिएको छ। नेपालका सुदूर गाउँहरूमा बस्नेहरूले पनि अमेरिका र युरोपमा भएका विकास सजिलै देख्न सकिरहेका छन्। सुविधायुक्त शहरहरूमा बस्नेहरूले त झनै सजिलै देख्न सकिरहेका छन्। जसरी अमेरिका तथा युरोपमा आर्थिक प्रगति भइरहेको छ, नेपाली जनताले नेपालमा पनि सोही अनुसार आर्थिक प्रगति होस् भन्ने अपेक्षा गरिरहेको छ। र त्यस्तो हुन नसकेर जनतामा निराशा उत्पन्न हुन पुगेको छ। यसरी गरिएको तुलनाले पनि नेपालीहरूमा चरम निराशा जागृत गरेको छ। हाम्रो निराशाको कारण आफ्नै आर्थिक दुर्बलताभन्दा अन्य देशहरूको आर्थिक प्रगतिसङ्ग गरिने तुलना हुन पुगेको छ।

नेपालमा आर्थिक विकासको गति सुस्त हुन पुगेको छ। यो सत्य हो। तर गति अति नै सुस्त भने छैन। निराश भएर आफ्नो देशमा आर्थिक विकास हुँदैन भन्ने सोच जनताले राख्नुपर्ने गतिमा सुस्त छैन। नेपाली युवाहरूले स्वदेशमा आफ्नो भविष्य सुरक्षित नदेखेर लस्कर लागेर विदेश जानुपर्ने गतिमा सुस्त छैन। नेपाली युवाहरूमा जुन स्तरमा चरम निराशा देखिएको छ त्यो उपयुक्त पनि छैन। 

२००७ सालसम्म नेपाल बाहिरी संसारको लागि बन्द थियो। नेपालकै अन्य भागबाट काठमाडौ प्रवेश गर्न तत्कालीन राणा सरकारसँग अनुमति लिनुपथ्र्यो। हामीले यो पनि स्मरणमा राख्न आवश्यक छ। आफ्नो सत्ता समाप्त होला भन्ने भयले राणा सरकारले नेपाललाई बाहिरी संसारसँग अलग राखेकोले नेपाल आर्थिक विकासको पथमा ज्यादै पछाडि हुन पुग्यो।

२०४६ सालको राजनीतिक परिवर्तनले बल्ल नेपाललाई संसारसँगराम्ररी परिचित गरायो। नियन्त्रित अर्थतन्त्रबाट देशलाई बजार अर्थतन्त्रको दिशातर्फ उन्मुख गरायो। देशलाई उदार अर्थतन्त्रको बाटोतिर डोर्यायो। आर्थिक विकासमा निजी क्षेत्रलाई पनि सहभागी गरायो। नेपालमा आर्थिक विकासको बाटो यथार्थमा २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र खुलेको हो। फराकिलो भएको हो।

नेपालको आर्थिक विकासको इतिहास त्यति पुरानो छैन, जति अमेरिका र युरोपका देशहरूको छ। तर हामी अमेरिका र युरोपमा जुन गतिमा विकास भयो वा जुन गतिमा भइरहेको छ, नेपालमा पनि सोही गतिमा विकास होस् भन्ने इच्छा गरिरहेका छौं र त्यस्तो हुन नसक्दा दुःखी हुन पुगेका छौं। चरम निराश हुन पुगेका छौं। आफ्नो देशमा आफ्नो भविष्य सुरक्षित नदेखेर अन्य मुलुकतर्फ लागिरहेका छौं। आफ्नो देशको आर्थिक विकास गर्नेतर्फ लागिरहेका छैनौं।

हाम्रो भूगोल, सामाजिक संस्कृति, परम्परा आदिले पनि हामीलाई तीव्र गतिमा विकास गर्न दिइरहेको छैन। देशको राजनीति र नेताहरूको व्यवहार पनि आर्थिक विकासको लागि प्रतिकूल छ। यी यथार्थ कुरा हुन्। तर यी यस्ता कुराहरू हुन् जसलाई सुधार्न सकिन्छ। त्यस कारण अहिले हामीमा जुन चरम निराशा देखिएको छ त्यस्तो देखिनु आवश्यक छैन। स्वदेशमा नै सम्भावनाका ढोकाहरू खुल्न सक्छ भन्ने आशा हामीले राख्न आवश्यक छ।

विदेश लाग्नु र आफ्नो भविष्य सुरक्षित बनाउनु मात्र वर्तमान समस्याको समाधान होइन। हामीले आफ्नो देशको आर्थिक विकास आफैंले गर्ने हो। जसले जुन स्तरमा सक्छ त्यही स्तरमा गर्ने हो।

नेपालमा आर्थिक विकास पटक्कै भएको छैन भन्ने भनाइ सत्य भने होइन। हाम्रो चुलिएको अपेक्षा अनुरूप आर्थिक विकास भएको छैन। सत्य यति मात्र हो।






विश्वराज अधिकारी

akoutilya@gmail.com

Friday, November 22, 2024

https://eprateekdaily.com/2024/11/22/76857/

Saturday, November 16, 2024

Unemployment: Severe Economic and Social Problem-Article-576

 बेरोजगारी: गम्भीर आर्थिक तथा सामाजिक समस्या

नेपालीहरू अहिले दुई कारणले गर्दा विदेश पलायन भइरहेका छन्। पहिलो कारण बेरोजगारी हो भने दोस्रो कारण उच्च शिक्षा। अर्थात् स्वदेशमा रोजगार नभएर तथा उच्च शिक्षाका लागि नेपालीहरू अहिले ठूलो सङ्ख्यामा विदेशतर्फ लागिरहेका छन्। विदेशमा राम्रो रोजगार र उचित उच्च शिक्षा पाउने आशामा प्रत्येक दिन ठूलो सङ्ख्यामा नेपालीहरूले स्वदेश–त्याग गरिरहेका छन्। यस्तो अवस्था आर्थिक मात्र होइन, सामाजिक समस्या पनि हो। र ज्यादै गम्भीर सामाजिक समस्या हो।

उच्चा शिक्षाका लगि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशतर्फ लागिरहेको स्थिति पनि रोजगारसँग नै सम्बन्धित छ। नेपालको शिक्षाले रोजीरोटी पाउन सम्भव नहुने तर विदेशमा प्राप्त शिक्षाले रोजगार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वासले ठूलो सङ्ख्यामा नेपालीहरू विदेश पलायन हुन बाध्य पारिरहेको छ। यसरी समग्रमा हेर्दा वर्तमान सन्दर्भमा नेपालीहरू ठूलो सङ्ख्यामा विदेश पलायन हुनुको प्रमुख कारण बेरोजगारी नै हो। नेपालीहरू विदेश पलायन हुनुका अनेक अन्य कारण पनि नभएका होइनन्। अन्य विभिन्न कारणहरूले पनि नेपालीहरूलाई ठूलो सङ्ख्यामा विदेश जान बाध्य पारिरहेको छ, प्रेरित गरिरहेको छ। तर सर्वाधिक महत्वपूर्ण कारण बेरोजगारी नै हो। बेरोजगारी बस्नुपर्ने अवस्थाले उत्पन्न गरेको चरम निराशा हो। गएको पचास वर्षयता नेपालीहरूमा यस्तो ठूलो एवं घातक निराशा देखिएको थिएन।

केवल समस्या तेस्र्याएर हुँदैन। समाधन पनि दिनुपर्छ। समाधान दिने मात्र होइन, समाधानको लागि आआफ्नो तर्फबाट हामीले सक्रिय योगदान पनि पुर्याउनुपर्छ। नेपालमा देखिएको अहिलेको यो भयावह बेरोजागारी र त्यसले उत्पन्न गरेको चरम निराशा केवल सरकारको मात्र समस्या होइन। प्रत्येक नागरिकको पनि समस्या हो। सरकार माध्यम मात्र हो। विकासको कर्ता जनता नै हो। त्यसकारण, अर्को किसिमले हेर्दा, यो जनताको समस्या हो।

बेरोजगारी समस्या समाधान गर्न सङ्घीय सरकारले तत्काल ‘राष्ट्रिय रोजगार नीति’ ल्याउन आवश्यक छ। र त्यो राष्ट्रिय रोजगार नीतिमा कृषि सम्बन्धी विशेष किसिमका योजना तथा कार्यक्रमहरू समाविष्ट गरेर तिनको तत्काल कार्यान्वयन आवश्यक छ।

कृषि उत्पादकत्वमा वृद्धि गरेर कृषिलाई प्रमुख रोजगारको क्षेत्र तुल्याउन र यस क्षेत्रमा तत्काल लाखौंलाई रोजगार उपलब्ध गराउन सरकारले अनुदान (Subsidy) दिन आश्वयक छ। पशु पालन, फलफूल एवं तरकारी खेती, अन्डा, मासु एवं माछा उत्पादनजस्ता क्षेत्रमा सरकारले कृषक वा उत्पादकहरूलाई अनुदान दिएर भए पनि सहयोग गर्न आवश्यक छ। उत्पादन क्षेत्रमा सक्रिय भएर लाग्न उनीहरूलाई उत्प्रेरित गर्न आवश्यक छ। कृषि क्षेत्रलाई बढी उत्पादन र रोजगारमुखी तुल्याउन सरकारले कृषहरूलाई तत्काल ‘उत्पादन अनुदान’ दिन आवश्यक छ। 

यसैगरी खाद्यान्न उत्पादन वृद्धि गर्न सरकारले निजी एवं साङ्गठिक क्षेत्रहरूलाई आह्वान गर्न आवश्यक छ। प्रोत्साहन गर्न आवश्यक छ। देशमा रोजगार सङ्कट देखियो भनेर यसको समाधानको लागि निजी क्षेत्रलाई विभिन्न किसिमका कार्यक्रमहरू लिएर आउन सरकारले अपील गर्न आवश्यक छ।

नेपालका कृषकहरूले भारतका कृषकहरूसँग लागत एवं प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर उत्पादन लागत कम गर्न असमर्थ भएकाले नेपाली कृषकहरूलाई सङ्घीय सरकारले संरक्षण प्रदान गर्न उनीहरूलाई अनुदान दिन आवश्यक छ। यसैगरी जुनजुन कुराको उत्पादनमा नेपाली कृषकहरूलाई अनुदान दिइएको हो ती कुराहरू यदि भारत वा अन्य मुलुकबाट आयात गरिएको छ भने नेपाल सरकारले आयात शुल्क (भंसार शुल्क) वृद्धि गर्न आवश्यक छ। हरेक उपभोग्य वस्तु भारतबाट ठूलो परिमाणमा नेपाल आयात गर्ने परिपाटी निरुत्साहित पार्न अति आवश्यक छ। हामीले आफ्नो उत्पादन न्यून पारेर आयातमा अभूतपूर्व वृद्धि गरेका छौं। नेपाललाई भारतको सुरक्षित एवं लाभदायक बजारको रूपमा परिणत गरेका छौं।

हामीले कृषि उत्पादन वृद्धि गर्ने हो भने निश्चितरूपले रोजगारको स्तर बढाउन सक्छौं। नेपालमा अनेक रोजगार सृजना गर्न सक्छौं। आवश्यक नीति र संरक्षणको अभावमा हाम्रो कृषि क्षेत्र पछाडि परेको हो। रोजगार सृजना तीव्र गतिमा गर्न असफल भएको हो।

नेपालमा रोजगार वृद्धिका लागि सररकारले गर्नुपर्ने अर्को महत्वपूर्ण कार्य नेपाली युवाहरूलाई ‘स्वरोजगार तालीम’ दिनु हो। यस किसिमको तालीम उपलब्ध गराएर सरकारले युवाहरूलाई आफैंले अनेक किसिमका रोजगार सृजना गर्न सकिन्छ भनी सिकाउनु पर्दछ। नेपालभित्र नै हजारौं किसिमका कार्य गरेर हजारौं किसिमका रोजगारका अवसर सृजना गर्न सकिन्छ। लाखौ मानिसलाई देशभित्रै रोजगार उपलब्ध गराउन सकिन्छ। रोजगारका लागि विदेश जानु नै पर्ने बाध्यता अन्त्य गर्न सकिन्छ। यो तथ्य नेपाली युवाहरूलाई सरकारले अवगत गराउन आवश्यक छ।

स्वरोजगार तालीमको आयोजना सङ्घीय सरकारले गर्नुपर्छ। तर यो कार्य सम्पन्न गर्न प्रान्तीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। स्वरोजगार तालीम उपलब्ध गराउने कार्य यथार्थमा प्रान्तीय सरकारको हो। तर वर्तमान सन्दर्भमा हाम्रो देशका प्रान्तीय सरकारहरू जनतालाई सेवा प्रदान गर्नुभन्दा शासन गर्न र अनेक किसिमका सुविधा लिन सक्रिय रहेकाले प्रान्तीय सरकारबाट कुनै ठूलो सहयोगको अपेक्षा गर्न सकिने स्थिति देखिंदैन। तर सत्य कुरा गर्ने हो भने स्वरोजगार तालीम उपलब्ध गराउने कार्य प्रान्तीय सरकारकै हो।

स्वरोजगार तालीम लिन युवाहरूलाई आकर्षित एवं अभिप्रेरित गर्न सरकारले केही आर्थिक फाइदा (भत्ता वा भुक्तानी) दिनु प्रभावकारी हुन्छ। आर्थिक लाभ प्राप्त हुने व्यवस्थाबाट उत्प्रेरित भएर हजारौं युवा स्वरोजगार तालीम लिन उत्प्रेरित हुनेछन् भन्ने आशा मात्र होइन, विश्वास नै पनि गर्न सकिन्छ। 

देशका सफल उद्यमी एवं व्यवसायीहरूले युवाहरूलाई स्वरोजगार तालीम दिनु अति उपयोगी हुनेछ। उनीहरूसँग रहेका अनुभव एवं ज्ञानहरू युवाहरूले प्राप्त गरेर आफैंले पनि रोजगार सृजना गर्ने बाटो पहिल्याउन सक्छन्। सफल उद्योगी एवं व्यापारीहरूसँग अनेक किसिमका महत्वपूर्ण ज्ञान एवं जानकारी हुन्छ। देशमा रोजगारको सङ्कट अति गम्भीर किसिमले देखिएको यो अति दुःखद घडीमा युवाहरूलाई रोजगार सृजना गर्ने तरीका सिकाउनु उद्यमी एवं व्यापारीहरूको कर्तव्य मात्र होइन, दायित्व नै हो। जसरी आफ्नो देशमा शत्रु देशले आक्रमण गरेको समयमा शत्रु देशको विरुद्ध युद्ध गर्नु प्रत्येक देशवासीको कर्तव्य हो, त्यसैगरी आफ्नो देशभित्र आर्थिक सङ्कट ( रोजगार सङ्कट) परेको बेला आफ्ना देशवासीहरूलाई स्वरोजगार तालीम दिनु प्रत्येक उद्योगी एवं व्यापारीहरूको कर्तव्य हो, दायित्व हो।

राष्ट्रिय बेरोजगारीलाई आर्थिक समस्याको रूपमा मात्र हेर्नु ठूलो भूल हो। विदेशमा गएर पनि रोजगार पाउन सकिन्छ भन्ने मान्यता राख्नु झन् ठूलो भूल हो। राष्ट्रिय बेरोजगारी विकराल सामाजिक समस्या हो। राष्ट्रिय बेरोजगारीले गर्दा बाध्य भएर रोजगारको लागि विदेश जानुपर्ने स्थिति उत्पन्न हुन्छ। रोजगारका लागि युवाहरू विदेश जानुको अर्थ स्वदेशमा परिवार विखण्डित हुनु हो। अहिले हाम्रो देशमा रोजगारका लागि युवाहरू विदेश जानुपर्ने बाध्यात्मक स्थिति भएकोले हजारौं परिवार विखण्डित हुन पुगेका छन्।

परिवार आधुनिक मानव सभ्यताको एउटा ठूलो उपलब्धि हो। परिवार एउटा यस्तो सामाजिक सङ्गठन हो जसले परिवारका हरेक सदस्यलाई आर्थिक र मनोवैज्ञानिकरूपमा सक्षम र स्वस्थ रहन सहयोग गर्दछ। परिवारको अभावमा मानिस स्वस्थ रहेर बाँच्न कठिन हुन्छ। परिवारको अभावमा व्यक्ति अनेक किसिमका स्वास्थ्य–समस्यामा जेलिन पुग्छ। रोगी हुन पुग्छ। परिवार सामाजिक सङ्गठन मात्र होइन, जीवन उपयोगी औषधी पनि हो। तर अहिले यति उपयोगी यो सामाजिक सङ्गठन बेरोजगारको कारण विखण्डित हुन पुगेको छ। प्रभावहीन हुन पुगेको छ। अहिले लाखौंको सङ्ख्यामा नेपालीहरू राष्ट्रिय बेरोजगारले गर्दा परिवारबाट छुट्टिएर बस्नुपर्ने स्थितिमा पुगेका छन्। परिवारबाट विखण्डित हुन पुगेका छन्।

वैदेशिक रोजगारले ल्याउने सर्वाधिक ठूलो समस्या हो, यौन जीवनमा विचलन। नेपालको सन्दर्भमा त वैदेशिक रोजगारले ठूलो यौन विचलन ल्याएको छ। पति– पत्नी साथै बस्नु र बस्न पाउनु सामाजिक मात्र होइन, शारीरिक अवश्यकता पनि हो। राष्ट्रिय बेरोजगारले गर्दा अहिले लाखौं नेपाली पत्नी एवं पतिहरू छुट्टिएर बस्न बाध्य भएका छन्। यो बाध्यताले गर्दा अनेक किसिमका यौन अपराधहरू सृजना भएका छन्। घटनाहरू घटेका छन्। पति–पत्नीबीच कलहका बीउ उम्रेका छन्। कतिपय पारिवार (पति–पत्नी सम्बन्ध) टुटेका पनि छन्। पति स्वदेशमा पत्नी परदेशमा वा पत्नी स्वदेशमा पति परदेशमा रहेको स्थितिले वा यौन जीवनमा देखिएको विषम परिस्थितिले, लाखौं नेपाली परिवार हरघडी सङ्कट साथमा लिएर बाँच्नुपर्ने अवस्थामा पुगेका छन्। 

राष्ट्रिय बेरोजगारी समस्यालाई सामान्य किसिमको समस्या ठान्नु महाभूल हुनेछ। यो समस्याको तत्काल समाधान खोज्न आवश्यक छ। सङ्घीय र प्रान्तीय सरकारहरूले यो विषयलाई अति गम्भीरतापूर्वक लिन आवश्यक छ। यो समस्याको समाधानको लागि तत्काल प्रभावकारी योजना तथा कार्यक्रम घोषणा गर्न आवश्यक छ।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 15, 2024

https://eprateekdaily.com/2024/11/15/76570/ 

Wednesday, November 13, 2024

Ongoing Struggle: Hindrance for Economic Development-Article-575

 निरन्तर सङ्घर्षले आर्थिक विकास सम्भव छैन

हामीकहाँ विभिन्न कारण देखाएर आन्दोलन गर्ने एक किसिमको परम्परा नै बसेको छ। हरेक समस्याको समाधान आन्दोलनबाट खोज्ने एक किसिमको संस्कार नै बनेको छ। शान्तिपूर्ण तरीकाले हामी कुनै पनि समस्याको समाधान खोज्न नसक्ने स्थितिमा पुगेका छौं। हामी कुनै पनि राष्ट्रिय समस्याको समाधान केवल हत्या, हिंसाद्वारा मात्र खोज्छौं। हत्या, हिंसा एउटा उपाय मात्र हो, कुनै पनि समस्याको समाधान खोज्ने भन्ने सोचको विकास पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो।

अनेक कारण देखाएर आन्दोलन गर्नेहरूमा राजनीतिक दल र तिनका नेताहरू अग्रपङ्Íिमा पर्छन्। राजनीतिक दलहरू, आपूm सत्ता र सरकारमा हुँदा सबै कुरा राम्रो देख्न र सत्ताबाट बाहिरिने बित्तिकै सरकार निर्माण गरेका दलहरूले गर्ने सबै काम खराब देख्ने रोगबाट ग्रसित हुन पुगेका छन्।

अहिले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोनरत छ। आन्दोलन गर्ने यो दलसँग आफ्नै कारण छन्। यो दलले गरेको आन्दोलन उचित छ वा अनुचित छ, त्यो विश्लेषण गर्ने उद्देश्य यो आलेखको होइन। यो आलेखको उद्देश्य कुनै पनि समस्याको समाधान सङ्घर्षद्वारा खोज्ने हाम्रो परम्परा अब समाप्त गर्नुपर्छ भन्ने सन्देश नेपाली जनतासमक्ष पुर्याउनु मात्र हो।

नेपालको आर्थिक स्थिति अहिले कुनै पनि किसिमको आन्दोलन सहन गर्ने अवस्थामा छैन। उल्टो, देशको आर्थिक विकासका लागि नेपाललाई दिगो शान्ति चाहिएको छ। देशभित्र रोजगार छैन। रोजगारको लागि विदेशिनुपर्ने बाध्यता छ। राष्ट्रिय शिक्षा नीति बेरोजगारी वृद्धि गर्ने नीति हुन पुगेको छ। कलेजहरू बेरोजगारी उत्पादन गर्ने कारखाना हुन पुगेका छन्। कलेजहरूले विद्यार्थीहरूमा आशा मात्र पनि जागृत गराउन सकिरहेका छैनन्। उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेका छन्। उद्योग र व्यापारको विकासको गति अति सुस्त हुन पुगेको छ। स्वदेशी उत्पादनमा ठूलो ह्रास आएर देश आयातमुखी बनेको छ। अहिले देशको आर्थिक स्थिति जर्जर हुन पुगेको छ। यदि देशमा शान्ति कायम गरेर राष्ट्रिय आर्थिक विकासको गति तीव्र नपार्ने हो भने देशको रूपमा अस्तित्व कायम राख्नसमेत कठिन हुन सक्छ।

कुनै पनि राष्ट्रको अस्तित्व कायम रहन आर्थिकरूपमा बलियो हुनु नै पर्छ। सुडान, इथियोपिया, सोभियत सङ्घ आर्थिकरूपमा कमजोर भएको हुनाले नै टुक्रिएका हुन्। सोभियत सङ्घ अमेरिका जत्तिकै आर्थिकरूपमा बलियो भइदिएको भए अनेक राज्यमा टुक्रिनुपर्ने अवस्था आउने थिएन।

संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका, नर्वे, फिनल्यान्ड, स्वीडेन, डेनमार्कजस्ता राष्ट्र आर्थिकरूपमा सक्षम भएका हुनाले नै स्थिर राष्ट्र बन्न पुगेका हुन्। स्थिर राष्ट्र हुनका लागि नेपालले तीव्र गतिमा आर्थिक प्रगति गर्नुको विकल्प छैन। यदि नेपाल यसैगरी अनेक किसिमका द्वन्द्व, सङ्घर्ष, आन्दोलनहरूको भुमरीमा रुमलिरहने हो भने नेपाल शक्तिराष्ट्रहरूको कठपुतली बन्न पुग्नेछ, स्वतन्त्र राष्ट्रको अस्तित्व गुमाउनेछ।

राजनीतिकरूपमा स्थिर राखेर नेपाललाई आर्थिक विकासको पथमा दौडाउने ऐतिहासिक जिम्मेवारी अहिले दुई दल नेपाली काङ्ग्रेस (नेका) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)ले पाएका छन्। यी दुई दल मिलेर सरकार निर्माण गरेका छन्। दुई दल मिलेर अगाडि बढेको यो स्थितिलाई यदि यी दुवै दलले आप्mना प्रतिस्पर्धी दल वा तिनका नेताहरूलाई क्षति पु¥याउने वा बदला लिने वा समाप्त पार्ने अवसरको रूपमा लिने हो भने जनतामाझ यी दुई दलले विश्वास त गुमाउनेछन् नै, नेपालको राजनीतिमा आफ्नो अस्तित्वसमेत सङ्कटमा पार्नेछन्।

नेपालमा चिरस्थायी शान्ति कायम गर्ने जिम्मेवारी अहिले नेका र एमालेको हातमा छ। यस महत्वपूर्ण दायित्वको बोध यी दुई दललाई हुन आवश्यक छ।

कुनै पनि राष्ट्रिय समस्याको समाधान यी दुवै दलले सुझबुझका साथ खोज्न आवश्यक छ। र यस्तो गर्नुमा यी दुवै दलको भलाई पनि छ। यी दुई दलको सहकार्यले देशमा सङ्घर्ष, द्वन्द्व बढाउने कार्य गर्नुहुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने– मुद्दाको सही समाधान खोज्ने जिम्मेवारी पनि यी दुई दलकै हो। यी दुई दलले यो मुद्दाको उचित समाधान खोज्नुपर्छ। अनुचित समाधान खोजेर देशमा सङ्घर्ष र द्वन्द्व बढाउने काम गर्नुहुँदैन।

आर्थिक विकासका लागि शान्ति र स्थिरता आवश्यक छ। आर्थिक विकासको गति अवरुद्ध भएमा देशको अस्तित्व नै सङ्कटमा पर्न सक्छ भन्ने तथ्य साना दलहरूले पनि बुझ्न आवश्यक छ। यदि देशमा ठूलो उथलपुथल भएर वर्तमान व्यवस्था परिवर्तन हुने स्थिति आएमा साना दलहरूको भविष्य अन्धकारमा डुब्नेछ। उनीहरूको अस्तित्व नै पनि समाप्त हुने स्थिति आउन सक्नेछ। यो तथ्यलाई बुझेर साना दलहरूले शक्ति र सत्ताको लागि दलाली गर्ने स्वार्थी बानी त्यागेर देशलाई राजनीतिकरूपमा कसरी स्थिर पार्न सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ।

देशलाई राजनीतिकरूपमा स्थिर राख्ने प्रमुख जिम्मेवारी जनताको हो, नेता र राजनीतिक दलहरूको होइन। इमानदार दल र नेताहरूको पहिचान गर्ने र उनीहरूलाई प्रोत्साहित गर्ने कार्य जनताले गर्नुपर्छ। यसैगरी, केवल इमानदार र कर्मठ जनप्रतिनिधिहरूको छनोट गर्ने र सत्ता र शक्तिका भोका राजनीतिकर्मीहरूलाई राजनीतिबाट बाहिर पठाउने कार्य जनताले गर्नुपर्छ। सही नेता छनोट गर्ने प्रमुख अभिभारा जनताको नै हो। खराब दल र नेताहरूको पछि लाग्ने कार्य बन्द गर्नुपर्छ इमानदार नेतालाई मात्र सहयोग र समर्थन गर्नुपर्छ।

नेपाल अहिले अस्थिर वा असफल राष्ट्र हुने स्थितिमा पुगिसकेको त छैन, तर स्थिति यस्तै रहने हो भने असफल राष्ट्र पनि हुन सक्छ। र नेपाललाई अस्तित्व रक्षाको सङ्कट पर्न सक्छ। यदि राजनीतिक दल र दलका नेताहरूले आफ्नो आचारण सुधार नगर्ने हो र नेपाललाई अनेक किसिमका सङ्घर्ष र द्वन्द्वमा पारिराख्ने हो भने नेपाल असफल राष्ट्रमा परिणत हुन सक्छ।

नेपाल असफल राष्ट्रमा परिणत हुने केही सङ्केत देखिन थालेका छन्। के के हुन् त ती सङ्केत। केही प्रतिनिधि सङ्केतहरू यस प्रकार छन्:

चरम निराशा: अहिले नेपालीहरूमा चरम निराशा देखिएको छ । मुख्यगरी नेपाली युवाहरूले आफ्नो देशभित्र, नेपालभित्र, आफ्नो भविष्य सुरक्षित देखिरहेका छैनन्। उनीहरूले स्वदेशलाई अति असुरक्षित अनुभूत गरिरहेका छन्। युवाहरूको यो अनुभूतिले उनीहरूलाई स्वदेश त्याग्न बाध्य पारिरहेको छ। अनेक देशमा पु¥याइरहेको छ। युवाहरू मात्र होइन, अहिले प्रौढहरू पनि नेपालमा बस्न अनिच्छुक हुन पुगेका छन्। स्वदेशलाई आर्थिकरूपमा असुरक्षित देखेर अहिले एक करोडभन्दा बढी नेपालीले स्वदेश त्याग गरेको अनुमान गरिएको छ। यदि ठूलो सङ्ख्यामा नागरिकले देश त्याग गर्नु सामान्य कुरा होइन। यो अति असामान्य कुरा हो, अति दुःखद कुरा हो।

अति अस्थिरता: नेपालको राजनीति अहिले अभूतपूर्व किसिमले अस्थिर हुन पुगेको छ। नेपालमा प्रजातन्त्र आएपछि देश राजनीतिकरूपमा स्थिर होला भन्ने विश्वास गरिएको थियो। तर भयो उल्टो। पञ्चायतकालमा बरु देशमा राजनीतिक स्थिरता थियो। देश शान्त थियो। देशमाथि देशवासीको आशा र भरोसा थियो।

एउटा सरकार एक वर्ष पनि टिक्न नसक्ने र शक्ति तथा सत्ताको लागि नेताहरूले जे पनि गर्ने परिपाटीले नेपाललाई अभूतपूर्व किसिमले अस्थिर पारेको छ। नेपालीहरूलाई अति निराश पारेको छ।

डरलाग्दो बेरोजगारी: बेरोजगारी अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ। देशभित्र रोजगार पाउन कठिन भएर रोजगारको लागि विदेश जानुपर्ने बाध्यता हुन पुगेको छ। राजनीतिक अस्थिरताले गर्दा देशभित्र उद्योग र व्यापारको विकास हुन सकिरहेको छैन। उद्योग र व्यापारको विस्तार हुन नसकेकोले श्रम–बजार अहिले अति सङ्कुचित हुन पुगेको छ। देशभित्र बेरोजगारी अति वृद्धि भएमा त्यसले देशलाई असफल राष्ट्रको श्रेणीमा पु¥याउन सक्छ।

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउने हो भने अब सबै राजनीतिक दल मिलेर काम गर्नुपर्छ। शक्ति र सत्ताको लागि तल्लोभन्दा तल्लो कार्य गर्ने बानी छोड्नुपर्छ। आफ्नो स्वार्थी बानीमा अङ्कुश लगाउनुपर्छ। विगतमा गरेका अनेक अर्थहीन सङ्घर्ष र तिनको परिणामबाट नेपालले आर्थिक विकास गर्न नसकेको स्थितिबाट पाठ सिकेर अब हामीले शान्ति–स्थापना र सहकार्यमा जोड दिनुपर्छ। यस्तो नगर्ने हो भने अब एक चौथाइ नेपाली मात्र देशभित्र देखा पर्ने छन्। नेपाल असफल राष्ट्र हुनेछ। विदेशी राष्ट्रहरूको कठपुतली बन्नेछ।

 विश्वराज अधिकारी

akoutilya@gmail.com

Published in Prateek Daily: Tuesday, November 12, 2024

https://eprateekdaily.com/2024/11/12/76441/