Sunday, August 21, 2011

कथा ७ - मधुर मिलन


२०२५ या २६ साल हुनु पर्दछ, म पाँच कक्षामा थिएँ, मेरो गाउँको स्कूलमा। त्यो स्कूलमा चार जना शिक्षकहरु हुनु हुन्थ्यो। जटाशंकर पाण्डे, रामानन्दन तिवारी, राजेश्वर सिंह अनि झा मास्टर साहेब। यिनै हुन मेरो माष्टर साहेबका नामहरु। झा माष्टर साहेबको नाम भने थाहा भएन। मैले थाहा नपाउने कारण पनि थियो। कारण थियो, वहाँलाई सबैले झा माष्टर साहेब भन्थ्ये। हेड माष्टर साहेबले समेत। वहाँको नामबाट कसैले वहाँलाई सम्बोधन गरेको मैले कहिले सुनिन पनि।
झा माष्टर साहेब ज्यादै सरल स्वभावको हुन्थ्यो। तर राजेश्वर माष्टर साहेब ……………उफ, अहिले पनि त्यो बेलाका घटना सम्झिदा झसंग हुन्छु। हिसाब पढाउनु हुन्थ्यो राजेश्वर माष्टर साहेबले। एक त हिसाब मेरो लागि त्यसै पनि गार्हो त्यस माथि माष्टर साहेबले बनाउन दिनु भएको हिसाब गलत होला भन्ने डरै डर। त्यस किसिमको डरै डरले बनाएको हिसाब जहिले पनि गलत हुन्थ्यो अनि बज्रिन्थ्यो राजेश्वर माष्टर साहेबको छडी मेरो हातमा। राजेश्वर मास्टर साहेबको कुटाईको डरै डरैले निर्माण भएको गणितप्रतिको मेरो नाकारात्मक मनोविज्ञानमा अहिले पनि सुधार आउन सकेको छैन। मेरो उमेरले आधा सप्ताब्धि पार गरी सक्दा पनि, हिसाब गर्नु परेपछि अहिले पनि पसिना निस्किन थाल्छ मेरो निधारबाट, माघ महिना कै जाडो किन नहोस। दुई र दुई जोड्नु पर्यो भने क्यालकुलेटर चलाउन पुग्छु म, अहिले पनि म। व्यवस्थापनको प्राध्यापक म, मेरो विषयमा हिसाब आएर, कहिले पढाउनु पर्ने भयो भने, गुप्ता सरलाई आग्रह गर्छु त्यो हिसाब भएको च्यापटर पढाई दिन। गुप्ता सर भने हिसाब पाए पछि ……..खान समेत बिर्सेर बनाउन थाल्नु हुन्छ।
झा माष्टर साहेबले भने विद्यार्थीलाई कुटेको मैले कहिले पनि देखिन। त्यसैले पनि होला, धेरै विद्यार्थीहरु पढाईका कुराहरु सोध्न डराउँथेनन् वहाँसँग। सामाजिक शिक्षा वा यस्तै कुनै विषय पढाउनु हुन्थ्यो, झा माष्टर साहेबले। 
पढाईका कुराहरु सोध्न म  कहिले काहिँ झा माष्टर साहेबको डेरामा पनि पुग्थ्ये। स्कूलको छेउको घरमा वहाँको डेरा थियो, छोरा छोरीलाई पढाई दिए बापत नि:शुल्कमा डेरा दिएका थिए घर धनीले वहाँलाई। वहाँको डेरामा पुगे पछि एउटा कुरामा भने मेरो आँखा पुगेर टक्क अडिन्थ्यो र म त्यो कुरालाई क्षण भर नियालेर हेर्दथ्ये। त्यो कुरा थियो, वहाँ सुत्ने खाटमाथि राखिएको तकिया। तकियामा भन्दा पनि तकियामा कढाई गरेर बनाइएको चित्र त्य चित्र र चित्रको तल लेखिएका क्षरहरुले मलाई निकै आकर्षित गर्थ्ये। तकियामा एक जोडी मयूरको चित्र थियो र मयूरको चित्र तल लेखिएको थियो मधुर-मिलन। चित्रको अर्थ लगाउन मलाई सजिलो थियो, किनभने चित्र हेरेर म सलिलै बुझ्थ्ये, त्यो एक जोडी मयूरको चित्र हो भन्ने कुरा। तर अक्षरको अर्थ लगाउन भने मलाई गाह्रो हुन्थ्यो। अनुमानसम्म पनि म गर्न सक्थिन। एक दिन झा मास्टर साहेबको डेरामा गएको बेलमा मैले सोधें- झा मास्टर साहेब, तपाँईको तकियामा लेखिएको मधुर मिलनको अर्थ के हो?  मेरो प्रश्नको उत्तर दिनुको साटो झा मास्टर साहेब केवल केही बेर हाँस्नु भयो मात्र। तर एकै छिन पछि केही सम्झे झै गरी भन्नु भयो तिमी लैका फैकाले यसको अर्थ बुझ्दैनो, समय आएपछि समयले नै भन्ने छ यसको अर्थ। झा मास्टर साहेबको उत्तर सुने पछि मैले केही पनि बोलिन। तर वहाँको त्यो भनाईले मेरो जिज्ञासा भने मेटिएन। पछि कुनै बेला फेरि वहाँलाई त्यसको अर्थ सोध्ने छु भन्दै चुप लागे म। अँ, मेरो ध्यान आकृष्ट गर्ने एउटा अर्को पनि कुरा थियो झा मास्टर साहेबसँग। मास्टर साहेबको छाताले पनि मलाई निकै आकर्षित गर्थ्यो। खासमा छाता भन्दा पनि त्यसमा लेखिएको वाक्यले र वाक्य थियो श्री झाजी। त्यो लेख्नुको प्रयोजन त्यो छाता अरु छातासँग न अलमलियोस र कसैले चोरे भने सजिलै चिन्न सकियोस  भन्ने कुरा मैले सजिलै  अनुमान लगाउन सक्थ्ये त्यसैले त्यो लेखाईको अर्थ बुझ्न मलाई गार्हो थिएन। त्यैपनि मैले एक दिन सोधेको थिए- मास्टर साहेब तपाँईको छातामा श्री झाजी भनेर किन लेखेको? छाता नहराओस, चोरी नहोस भनेर, होइन त?  मेरो प्रश्नको उत्तरमा वहाँले भन्नु भएको थियो त्यो त हो। त्यस बाहेक अरु पनि कुरा छ। त्यो कुरा के हो भने त्यसरी, श्री झाजी भनेर मास्टरनी साहेबले लेखेको हो छाताको त्यो लेखाई हेरेर मैले एउटा कुरा ………अवश्य याद गरौ भनी मास्टरनी साहेबले श्री झाजी भनेर लेखेको रे।’
मास्टर साहेबको कुरा सनुपछि मैले प्रश्न गरे- अनि, तपाँईले के याद गर्नु पर्ने के हो त्यो कुरा, मास्टर साहेब?   मेरो प्रश्नको जबाफमा झा मास्टर साहेबले यति मात्र भन्नु भयो तिमी प्रश्न धेरै गर्छौ। पछि कहिले भनौला त्यो कुरा।’ यति भनेर वहाँ धेरै बेर हाँस्नु भयो र छातामा लेखिएको अक्षरलाई नियालेर हेर्नु भयो पनि केही बेरसम्म। 
राजेश्वर मास्टर साहेबको घर, जुन गाउँमा स्कूल थियो, त्यही गाउँमा थियो। तर बाँकी सबै मास्टर साहेबहरुको घर भने हाम्रो स्कूल रहेको गाउँदेखि सात आठ कोष परको गाउँमा थियो। वहाँहरुका परिवारहरु पनि उतै बस्थ्ये, स्कूल भएको गाउँमा बस्ने चाँजोपाँजो मिलिसकेको थिएन। पचरुखी, मत्सरी, पिपरा, भलौहिया, बडहरवा, हजमिनिया यिनै गाउँमध्येका गाउँहरुमा थिए मास्टर साहेबहरुका घरहरु। मलाई ठीक ठीक याद भएन, अहिले, कसको घर कुन गाउँमा थियो।
प्राय:विहिवारको साँझ सबै मास्टर साहेबहरुको जमघट हुन्थ्यो राजेश्वर मास्टर साहेबको घरमा। त्यो दिन साँझ वहाँहरुले कुनै उत्सवको पूर्व सन्ध्या मनाऐ झै प्रतीत हुन्थ्यो। वहाँहरुको मुहारमा उर्लिएको खुसीको बाढी देखेर त्यो कुरा सहजै अनुमान लगाउन सकिन्थ्यो। अहिले पनि म झलझली सम्झन्छु ती  दिनहरु। म राजेश्वर मास्टर साहेबकहाँ हिसाब सिक्न गएको बेला सुन्थ्ये वहाँहरुका गफहरु। विहिवार साँझका गफहरु। वहाँहरुले शुक्रवार दिउँसो घर जाने र आइतवार फेरी स्कूल भ्याउने गरि फर्किने योजना बनाएको पनि म वहाँहरुको कुराकानीबाट थाहा पाउँथें। सबै मास्टर साहेबहरु घर पुगेर आफ्नो परिवारलाई भेट्न आतुर रहेको पनि मलाई थाहा हुन्थ्यो वहाँहरुका कुराहरुबाट।
यसै गरी एक दिन, विहिवार राति, मास्टर साहेबहरुले घर जाने योजना बनाई रहेको बेलामा मैले सोधेको पनि थिए- झा मास्टर साहेब, तपाँईहरु किन प्राय: शुक्रवार घर जानु हुन्छ? किन यो गाउँमा रमाइलो लाग्दैन तपाँईहरुलाई? मेरो प्रश्न सुनेर झा मास्टर साहेबले केही बोल्नु भएन। तर एकै छिन पछि भन्नु भयो ‘तिमी लैका फैकाले बुझ्दैनौ के यस्ता कुराहरु।’ झा मास्टर साहेबले त्यति भनेपछि भने जटा शंकर मास्टर साहेबले भन्नु भयो ‘झाजी अहिले पनि ‘कोहबर’ मै हुनुहुन्छ। बिहे भएको एक वर्ष भइसक्को कोहबरबाट बाहिर आउनु भएको छैन, अहिलेसम्म।’ वहाँहरुको कुरा चलिरहेकै क्रम मैले सोधें- झा मास्टर साहेब, कोहबर भनेको के हो? मेरो प्रश्न सुनेर सबै मास्टर साहेबहरु हाँस्नु भयो। झा मास्टर साहेबले भने अलि रिसाएको जस्तो गरेर भन्नु भयो ‘ओह, कहिले काहि तिमी धेरै प्रश्नहरु गर्छौ। पढाईका कुराहरुमा जति प्रश्न गर्छौ त्यतिकै तिमी आइली बाइली कुराहरुमा पनि। जटा शंकर मास्टर साहेबले फेरि भन्नु भयो ‘झाजी, आँचलको आगो अति न्यानो हुन्छ, है।’ यति भनेर जटा शंकर मास्टर साहेब निकै बेर हाँस्नु भयो। वहाँको हाँसोमा हाँसो मिलाउँदे अरु मास्टर साहेबहरु पनि हाँस्नु भयो, निकै बेरसम्म। वहाँहरु त्यसरी हाँस्नुको कारण के थियो मैले पटक्कै थाहा पाउन सकिन।
सरस्वती पूजाको पाँच सात दिन पहिलेको कुरा हो, म झा मास्टर साहेबको कोठामा पुगेको थिएँ। सँधै झै मेरो आँखा वहाँको त्यो तकियामा पुग्यो। झा मास्टर साहेबतिर हेर्दै भने-  मास्टर साहेब, मधुर मिलन भनेको के हो? वहाँले मेरो प्रश्नको जबाफ दिनु भएन। केवल हाँस्नु भयो मात्र। मास्टर साहेब जबाफ दिने मनस्थितिमा हुनु हुन्न भन्ने अनुमान गर्दै मैले त्यही कुरा दोहर्याउने प्रयाश गरिन। खासमा म वहाँको कोठामा दोहा लेखाउनका लागि पुगेको थिएँ। सरस्वती पूजाका लागि चन्दा संकलन गर्नु पर्ने थियो। र चन्दा संकलन गर्दा त्यो दोहा जुन वहाँले लेखिदिनु हुन्थ्यो, दाताहरुलाई देखाउनु पर्ने हुन्थ्यो। त्यस्तो लेख्ने विचार र निर्देशन दुबै झा मास्टर साहेबको नै हुन्थ्यो प्रत्येक सरस्वती पूजामा। वहाँले एउटा सेतो कागजमा एउटा दोहा ‘तुलसी पन्छी के पिए घटे न सरिता निर, धर्म किए धन ना घटे कह गए दास कबीर’ लेखिदिनु हुन्थ्यो। र भन्नु हुन्थ्यो पनि ‘चन्दा माग्दा दाताहरुलाई पहिले यो दोहा सुनाउनु अनि मात्र चन्दा माग्नु। अनि यो दोहा भनी सकेपछि यसको अर्थ पनि खुलाउनु। अर्थ भन्नु- जसरी कवि तुलसीदासले पिएर समुन्द्रको पानी कम हुँदैन त्यसै गरी दान दिएर धन घट्दैन। तिमीहरुले राम्रो गरि अर्थ खुलाएर दोहा सुनाए भने मात्र दाताहरुले चन्दा दिन्छन्।’
गाउँमा लेख पढ गर्न जान्ने मान्छेहरु कमै हुन्थे, खास गरी चन्दा दाताहरुमा। त्यसैले, लगभग सबै चन्दादाताहरुलाई त्यो दोहा पढेर सुनाउनु पर्थ्यो र त्यसको अर्थ पनि खुलाउनु पर्थ्यो। सुन्नेहरुले त्यो दोहाको अर्थ कतिसम्म बुझेथे मलाई थाहा भएन। तर एउटा कुरा, त्यो के भने, उनीहरुले निकै ध्यान दिएर सुन्थ्ये त्यो दोहा । स्कूलका पढे लेखेका विद्यार्थीहरुले भनेका कुरा राम्रै होला भन्ने अनुमान गर्दै पनि धेरैले सुन्थ्ये, त्यस्तो लाग्छ मलाई। त्यो दोहाको अर्थ अहिले पनि म बेला बेलामा गुन छु अनि झल झल सम्झ्न्छु झा मास्टर साहेबलाई। वहाँको सम्पूर्ण व्यक्तित्व मेरो आँखामा चल्न थाल्छ।  कति विद्वता, कति दार्शनिकता थियो वहाँमा, अहिले पनि बिचार गर्छु म। मेरो बिचार निर्माणमा झा मास्टर साहेको ठूलो योगदान छ। म प्राध्यापक वहाँकै प्रोत्साहन र मायाले गर्दा भएको हो।  हुन पनि ज्यादै चिन्तनशील र भद्र हुनु हुन्थ्यो झा मास्टर साहेब। स्कूलमा पढाउन जानु हुन्थ्यो, पढाएर आए पछि आफ्नो कोठामा नै बस्नु हुन्थ्यो, प्राय अन्त कतै जानु हुन्थेन। कोठामा बसेको बेला, काठको एउटा बक्सामा राखेका किताबहरु मध्ये कुनै एक झिक्नु हुन्थ्यो र किताब राख्नका लागि बनाइको काठको एउटा भाँडोमा त्यसलाई राखेर पढ्नु हुन्थ्यो।
त्यस्तै कुनै कामले म एक दिन पुगेको थिए, झा मास्टर साहेबको कोठामा। मैले वहाँको खाट माथि त्यो तकिया त देखें तर त्यसको त्यो खोल जसमा मधुर मिलन लेखिएको थियो देखिन। मैले आश्चर्य मान्दै सोधें- मास्टर साहेब यो तकियाको खोल कता गयो? वहाँले हाँस्दै भन्नु भयो ‘खोल कता छ त्यो त म भन्छु तर त्यसमा लेखिएको मधुर मिलनको अर्थ भने म भन्दिन, है। मैले केही पनि बोलिन। वहाँले खुलस्त पार्दै भन्नु भयो ‘धोएर सुकाएको छु, इनारको छेउमा। धेरै मैलो भएको थियो। कपालको तेलले त झनै मैलो बनाउँछ तकियालाई।’
झा मास्टर साहेब हरेक दिन बिहान स्नान गर्नु हुन्थ्यो। त्यस पछि केही बेर जप गर्नु हुन्थ्यो। जप गरे पछि एक छिन लगाएर निधारमा तिलक लगाउनु हुन्थ्यो। अनि कोठामा आएर तोरीको तेल लगानु हुन्थ्यो कपालमा। कपालमा तेल लगाउँदै गाउनु हुन्थ्यो ‘भए प्रकट कृपाला दिन दयाला, कौशल्या हितकारी हर्षित महतारी मुनी मन हारी अदभुत रुप बिचारी ………….।’ 
 गाउँमा कृष्ण अष्टमीको मेला लागेको थियो। म पनि पुगेको थिएँ मेला हेर्न। मेलामा झा मास्टर साहेबसँग भेट भयो मेरो। मेला हेरेर म वहाँसँगै फर्के, वहाँको कोठामा। कोठामा आए पछि  कागजको एउटा पुडियाबाट केही झिक्दै भन्नु भयो ‘लेउ खाउ, अति मिठो हुन्छ, यो बालशाही, अनि महँगो पनि हुन्छ, त्यतिकै। बालशाही लिए पछि मैले भने मास्टर साहेब, तपाँईको हातमा रहेको त्यो अर्को कागजको पुडियामा के हो नि? मास्टर साहेब हाँस्नु भयो केही बेर अनि भन्नु भयो ‘मैले भन्ने गर्छु नि, तिमी ज्यादै प्रश्न गर्छौ भनेर। मैले थप केही पनि बोलिन। केही क्षण पछि केही सोँच्दै भन्नु भयो ‘मास्टरनी साहेबका लागि केही सामान किनेको छु, त्यै छ यो पुडियामा। यति भनेर वहाँले तकियामा लेखेको त्यो वाक्य मधुर मिलन हेर्नु भयो केही बेरसम्म। मैले झ्वाट प्रश्न गरिहाले- मास्टर साहेब, साँच्चे के हो अर्थ, मधुर मिलनको। जबाफ दिनुको साटो मास्टर साहेब निकै बेर हास्नु भयो। तकियाको खोल धोए पछि टलक्क टल्केका थिए ती अक्षरहरु- मधुर मिलन। वहाँले फेरि हेर्नु भयो ती अक्षरहरुलाई अनि मतिर हरेर हाँस्दै भन्नु भयो ‘थाहा छ, बिल्टु? यो तकियामा मधुर मिलन मास्टरनी साहेबले नै लेखेको हो । मास्टरनी साहेबको माइति भारतको दरभंगाको छेउछाउको गाउँमा छ। त्यताका महिलाहरु यस्तो कलाकारितामा निकै सिपालु हुन्छन।’ 
पाँच कक्षासम्म मात्र मेरो गाउँमा भएको हुनाले म बीरगंज आए पढन, पाँच कक्षा पछि। बीरगंजमा लामो बसाइको क्रममा मैले बि ए पास गरे त्यहाँको क्याम्पसबाट। जागिर पनि पाएँ मैले, तर बीरगंजमा भने होइन, हेटौडामा। जागिर पाएको वर्ष नै मेरो विहे भयो। जागिर हेटौडामा थियो, बसाई भने बीरगंजमा। आमा पनि मसँगै बस्नु हुन्थ्यो, पछि मेरी पत्नी उमा पनि थपिएकी थिइन हाम्रो परिवारमा। डेरा थियो छपकैयामा। आमा र उमालाई हेटौडामा नै राख्ने चाँजोपाँजो मिलाउन सकेको थिइन, धेरै कोशिश गर्दा पनि। त्यसैले म हरेक शुक्रवार बीरगंज आउँथे, अनि आइतवार बिहानै फर्किन्थ्ये हेटौडा, काममा। मलाई कहिले शुक्रवार आउला जस्तो हुन्थ्यो। शुक्रवारको विहानदेखि नै मेरो बीरगंज आउने तयारी शुरु हुन्थ्यो। शुक्रवार साँझ म बीरगंज पुगिसकेको हुनथ्ये। तर हरेक शुक्रवार बीरगंज आउनका लागि हेटौडामा बस चढ्दा भने म मेरो त्यो स्कूलका मास्टर साहेबहरुलाई झलझल सम्झिन्थ्ये। खास गरी झा मास्टर साहेबलाई। अनि विहिवारको साँझ वहाहरुको मुहारमा पोखिएको खुसीको पनि झल झल सम्झना हुन्थ्यो मलाई।   
मेरो बिहे भएको दुइ वर्ष भइसकेको थियो। धेरै प्रयत्न गर्दा पनि बीरगंज मै बसेर गर्न सकिने जागिर पाउन सकेको थिइन। त्यसैले हेटौडा बीरगंज गर्ने क्रम चलिनै रहेको थियो, टुटेको थिएन।
कहिले काँहि नचिताएको कुरा पनि हुन पुग्छ र त्यस्तै भयो पनि। मेरो अफिसको कामले गौर जानु पर्ने भयो मैले र एक दुई हत्ता बिताउनु पर्ने पनि भयो त्यहाँ। म गौरमा थिए। शनिवारको दिन थियो, डेरामा बसिरहेकै क्रममा मेरो मन स्मृतिको सागरमा डुबुल्की लगाउन थाल्यो। आफूलाई थाम्न सकिन र सोध पुछ गर्दै शनिवारको साँझ पुगे म गौर नजिक रहेको झा मास्टर साहेबको गाउँमा। झा मास्टर साहेबको घरसम्मसै  एक जनाले पुर्याइ दियो मलाई। मेरो मनमा डर थियो, कुनै अर्कै घरमा नपुर्यायोस मलाई झा मास्टर साहेबको घर पुर्याउनेले। तर त्यस्तो भएन, पुर्याउनेले सही किसिमले झा मास्टर साहेबको घरमै पुर्याई दियो। घर बाहिर उभिएको एक व्यक्तिको अगाडि पुगेर भन्यो पनि मलाई पुर्याउनेले ‘झा मास्टर साहेब वहाँ नै हो।’ अनि झा मास्टर साहेबलाई उसले भन्यो ‘तपाईलाई भेट्न कोही गौरबाट आएको छ, घर वहाँको पहिले तपाँईले पढाएको गाउँमा नै हो रे।’
घर बाहिर अँध्यारो रहेकोले झा मास्टर साहेबले चिन्न सक्नु भएन मलाई। प्रश्न गर्नु भयो ‘के नाम हो तपाँईको?’ मेरो नाम बिलट हो, बिलट सहनी। तपाँईले पढाउने गाउँमा मैल पाँच कक्षासम्म पढेको थिएँ। मेरो घर पनि त्यही स्कूल भएको गाउँमा थियो। आजभोलि म बीरगंजमा बस्छु। काम भने हेटौडामा छ। र अफिसको कामको सिलसिलामा गौर आएको छु केही दिनका लागि। गौर आएको बेला आइ पुगे तपाँईको दर्शन गर्न- मैले प्रस्तुत गरेको छोटो विवरणले मेरो बारेमा तत्काल थाहा पाउन सजिलो भयो झा मास्टर साहेबलाई। मेरो काँधमा हात राख्दै भन्नु भयो ‘ओ, बिल्टु, बल्ल चिने, के छ हाल खबर, कुशल मंगल ………….। जबाफमा मैले भने -मास्टर साहेब, सबै राम्रो छ भगवानको कृपाले, तपाँईको आशिर्वादले।
राति निकै बेरसम्म हामी बीच कुराकानी चल्यो। मास्टर साहेब र  म बीच भएको कुराकानीले मलाई मेरो बाल्यकाल र मास्टर साहेबलाई वहाँको यौवन कालमा पुर्याएको थियो। स्मृतिको सागरमा हामीले एक साथ डुबुल्की लगायौं निकै बेरसम्म। विगतका समयहरुमा पुग्यौ, स्मृतिको सागर बगेर हामी। त्यो बेलाको स्कूल, त्यो बेलाको गाउँ, त्यो बेलाको माहौलमा पुग्यौ हामी दुबै जना। समय चक्रलाई उल्टो घुमायौ, एक किसिमले भन्ने हो भने। र उल्टो घुमाएर त्यो बेलाको समयलाई ल्याई पुर्यायौ हाम्रो अगाडि। र बिर्सी दियौ वर्तमानलाई, निकै वेरसम्म।
हाम्रो कुराकानीको क्रम चलिरहेकै बेला झा मास्टर साहेबले केही सम्झे झै गर्नु भयो र भन्नु भयो ‘साच्चै, तिमीलाई एउटा कुरा याद छ, बिल्टु?’ मैले तत्काल प्रश्न गरे- के कुरा मास्टर साहेब? मास्टर साहेबले भन्नु भयो ‘तिमी केटाकेटी हुँदा, त्यो स्कूलमा पढदा, तिमीले एउटा प्रश्न सोधेर मलाइ हैरान पार्थ्यौ।’ मैले एक क्षण पनि विलम्ब नगरेर सोंधे- के प्रश्न मैले सोध्ने गर्थ्ये मास्टर साहेब, त्यो बेला? मास्टर साहेबले जवाफ दिनु भयो ‘मेरो तकियामा एउटा वाक्य लेखिएको थियो मधुर मिलन। त्यो हेरेर प्राय: तिमी मालाई प्रश्न गर्थ्यौ, मधुर मिलनको अर्थ के हो मास्टर साहेब? मधुर मिलनको अर्थ थाहा पायौ त तिमीले, के हो भनेर, अब।’ मैले हाँस्दै भने –थाहा पाए मास्टर साहेब। प्रस्ट गरि थाहा पाए। यति भनेर म निके बेर हाँसे। झा मास्टर साहेब पनि निकै बेर हाँस्नु भयो, मेरो हाँसोमा हाँसो मिलाउँदै। रात झन झन गहिरिँदै थियो। हाम्रो कुराकानी क्रम भने सकिएको थिएन।


विश्वराज अधिकारी



No comments:

Post a Comment