Wednesday, August 17, 2011

लेख - ३ श्रम आयात किन गरिन्छ

श्रम आयात किन गरिन्छ


कुनै पनि राष्ट्रले, श्रम आयात गर्ने स्थिति भए पछि मात्र अन्य राष्ट्रका श्रमिकहरु त्यस राष्ट्रमा आफ्नो श्रम बिक्री गर्न पुग्छन। कुनै पनि राष्ट्र के कस्तो अवस्थामा श्रम आयात गर्ने अवस्थामा पुग्दछ त? अर्को राष्ट्रमा श्रम बिक्री गर्न जाने वा अन्तरारष्ट्रिय श्रम बजारमा प्रवेश गर्ने व्यक्तिहरुले यो कुरा गंभिरतापूर्व अध्ययन गर्नु पर्ने हुन्छ। अझै नेपालीहरुले त झन यो तथ्य प्रष्ट गरी बुझ्न आवश्यक छ। नेपालीहरु खास किसिमको भूबनोट र जलबायुमा बस्ने हुनाले बैदेशिक रोजगारीमा जानु भन्दा पहिले कुन देशमा रोजगारीका लागि जान थालेको हो, आफू जाने देशको भौगोलिक स्थित एवं जलबायु कस्तो किसिमको छ, कार्यस्थल वा कार्य स्थल वातावरण कस्तो किसिमको छ जस्ता कुराहरु प्रष्ट गरी बुझ्न र तिनको विश्लेषण गरी आफूले त्यस किसिमको वातावरणमा काम गर्न सक्ने वा नसक्ने हो तर्फ ध्यान दिएर अनि मात्र बैदेशिक रोजगारीमा जाने निर्णय गर्नु पर्न देखिन्छ।
सामान्यतया कुनै पनि राष्ट्रले जब उसको श्रमिकहरुको संख्या राष्ट्रलाई आवश्यक भएको श्रमिकहरुको संख्या भन्दा कम हुन्छ त्यस्तो अवस्थामा (त्यो राष्ट्रले) विदेशबाट श्रमिकहरु आयात गर्दछ। हुन पनि आफ्नो देशमा पर्याप्त संख्यामा श्रमिकहरु उपलब्ध हुँदा हुँदै कुनै पनि राष्ट्रले देशभित्र बेरोजगारी बढाउन अन्य राष्ट्रहरुबाट श्रम आयात गर्दैन। तर यो तथ्य हरेक अवस्थामा भने लागु हुँदैन। आफ्नो देशमा राष्ट्रिय  माग अनुरुप पर्याप्त मात्रामा राष्ट्रिय श्रमिकहरु उपलब्ध भएता पनि राष्ट्रहरुले विदेशबाट श्रमिकहरु आयात गर्न सक्छन्। देशका श्रमिकहरु भन्दा विदेशी श्रमिकहरुलाई कम पारिश्रमिक दिएर काममा लगाउन सकिएमा, कामको प्रकृति अनुरुप काम ज्यादै जोखिमपूर्ण, असजिलो र निरस भई स्वदेशी श्रमिकहरु त्यस किसिमको काम गर्न अनिच्छुक भएमा, प्रतिकूल भौगोलिक वातारण र हिंसाग्रस्त क्षेत्र भएको हुँदा सजिलैसंग  कामदारहरु उपलब्ध हुन नसक्ने स्थिति भएमा जस्ता अवस्थाहरुमा विदेशबाट श्रमिक आयात गरिएको पाइन्छ। त्यस कारण वैदेशिक रोजगारमा र खास गरी अरबतिर जानेहरुले के तथ्य बुझ्न आवश्यक छ भने कुनै पनि राष्ट्रले सहज अवस्थामा विदेशबाट श्रमिकहरु आयात गर्देन। नेपालबाट विदेशतिर रोजगारीका लागि जानेहरुले प्राय: जोखिमपूर्ण वा ज्यादै कम ज्याला दरमा काम गरेको सुनिएको छ। यसै गरी कार्य स्थल र कार्य स्थल वातावरण पनि ज्यादै प्रतिकूल रहेको सुनिएको छ। यी सबै तथ्यहरुलाई ध्यानमा राखेर के बुझ्न आवश्यक छ भने वैदेशिक रोजगारी सुनिए जति सजिलो छैन र साधारण श्रम गरेर छोटो समयमा धेरै कमाउन सकिँदैन पनि। तर प्रश्न  उठ्न सक्छ, तैपनि नेपालीहरु यस किसिमबाट किन रोजगारीका लागि विदेशतिर बाढी झै बगिरहेका छन् त? उत्तर सजिलो छ - नेताहरुको क्रियाकलापद्वारा सृजित अस्थिर राजनैतिक अवस्थाका कारण देशमा रोजगारी आवश्यक मात्रामा  सृजना हुन सकिरहेको छैन र त्येही कारणले गर्दा युवा युवतीहरु रोजगारका लागि पलायन हुंन बाध्य भइरहेका छ्न।
नेपालको जल बायुलाई अति नै उत्तम मानिन्छ किनभने नेपालको अधिकांश भागमा  न त अति नै जाडो हुन्छ न त गर्मी नै। मौसम सामान्य किसिमको रहन्छ। संसारमा धेरै त्यस्ता राष्ट्रहरु छन जहाँ जाडोमा अति नै जाडो र गरममा अति गरम भएर जन जिवन नै अस्त व्यस्त हुन पुग्दछ। प्रतिकूल मौसमले कृषिलाई प्रतिकूल प्रभाव पार्छ नै आवागमन नै पनि अबरुद्ध हुन पुग्दछ। अनुकूल किसिमको मौसमा जन्मे हुर्केको हुनाले गरम ठाँउमा र खास गरी अरब राष्ट्रहरुमा काम गर्न नेपालीहरुलाई  कठिनाई परिरेहको हामी समाचारहरुमा पढिनै रहेका छौ पनि। मौसमको प्रतिकूलता वा गर्मीको कारणले नै नेपालबाट गएका धेरै कामदारहरुको मृत्यु भएको अनुमान समेत गरिएको छ। यस बाहेक, विदेशमा काम गर्ने क्रममा दुर्घटनाका सिकार हुने नेपालीहरुको संख्या पनि कम छैन। यी सबै तथ्यहरुलाई ध्यानमा राखेर बैदेशिक रोजगारमा जानेहरुले आफू जाने मुलुकको जल बायु, सामाजिक परिवेस, भौगोलिक बनाबट, कानूनी व्यवस्था, आर्थिक सुबिधा, कामको प्रकृति, काम गर्ने वातावरण आदि बारे बुझ्न र तिनको विश्लेषण गर्न आवश्यक छ। हाल नेपालमा व्याप्त धारणाको बिपरित अवस्थाको छ बैदेशिक रोजगार। अर्थात सोंचे जति सजिलो र उत्पादक छैन बैदेशिक रोजगार। केही सीमित क्षेत्रहरुमा मात्र बैदेशिक रोजगारी तुलनात्मक रुपमा लाभदायक देखिएको छ। दीर्घकालिन रुपमा, ती दक्ष र अति दक्ष नेपालीहरु, जसले विदेशी भूमिमा रोजगारी पाएका छन, का लागि मात्र वैदेशिक रोजगारी लाभदाय देखिएको छ।
प्रमुख रोजगारदाता सरकार हो र रोजगारी सृजना गर्ने दायित्व पनि उसैको हो भन्ने पर्मपरागत धारणालाई हामीले नत्यागे सम्म देशमा थप रोजगारीहरु सृजना गर्न सकिदैंन र  र ठूलो संख्यामा नेपालबाट नेपालीहरु विदेशिने क्रमलाई रोक्न सकिंदैन पनि।
कुनै पनि राष्ट्रमा रोजगारी सृजना गर्नमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। विकसित मुलुकमा त यो तथ्य झनै बढी देख्न सकिन्छ। निजी क्षेत्रले नै मात्र ठूलो संख्यामा व्यक्तिहरुलाई रोजगारी दिन सक्छ। निजी क्षेत्र, अर्थात कुनै एक व्यवसायीको जस्तो सुकै आर्थिक स्तर, ज्यादै बलियो वा कमजोर, भएता पनि उसले रोजगारी सृजना गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। उदाहरणका लागि एक रिक्सा चालक समेतले पनि रोजगारी सृजना गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। उसले रिक्सा चलाएको कारणले गर्दा नै रिक्सा मर्मत गर्ने व्यक्तिले रोजगारी पाएको हुन्छ। अर्कोतिर रिक्साका धनीले बिस, पच्चिस रिक्सा चालकहरुलाई रिक्सा उपलब्ध गराएर रोजगारी दिएको हुन्छ। यसरी समाजमा निजी क्षेत्र, जो सानो आर्थिक स्थितिको हुन्छ, ले पनि रोजगारी सृजना गर्नमा अहंम भूमिका खेलेको हुन्छ। नेपालमा रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संगठित र प्रोत्साहित गर्न आवश्यक छ।
रोजगारी केवल ठूलो मात्रमा पूँजी लगानी गरेर, ठूलो उद्योग वा व्यापार संचालन गरेर मात्र गर्न सकिन्छ भन्ने पर्मपरागत मान्यता पनि त्याग्न आवश्यक छ हामीले। अहिलेको युग भनेको संचारको युग हो। इन्टरनेटको युग हो। अर्थात यो युग ज्ञानको युग हो। ज्ञान वा नया नया विचारहरुको प्रयोग गरेर पनि नयाँ किसिमको व्यापार व्यवसाय संचालन गर्न सकिन्छ र हजारौ व्यक्तिहरुका लागि रोजगारी सृजना गर्न सकिन्छ। विश्वमा ख्याति कमाएका गुगल, फेसबुक, युट्युब, एपल, स्काइप, इबे, अमेजन डट कम, माइक्रो सफ्ट आदि सबै नया नया बिचारहरुका उपज हुन जो अहिले करोडौ रुपैयाँ कमाउन सफल मात्र भएका छैनन् हजारौलाई रोजगारी दिन सक्षम पनि भएका छन। त्यसकारण नेपालमा पनि नया नया विचारहरुद्वारा हजारौ रोजगारीहरु सृजना गर्न सकिने प्रसस्त सम्भावनाहरु छन, केवल तिनको उपयोग मात्र गर्नु पर्ने भएको छ। एउटा गाउँ वा शहरलाई एक व्यापारिक इकाई वा बजारको रुपमा विकास गरेर त्येहीका स्थानीय व्यक्तिहरुले रोजगारी बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित गरेमा नेपालमा अवश्य पनि थुप्रै रोजगारीहरु सृजना गर्न सकिन्छ र अहिलेको यो  काहालीलाग्दो बेरोजगारीबाट देशलाई बाहिर ल्याउन सकिन्छ।

बिश्वराज अधिकारी

No comments:

Post a Comment