Wednesday, August 17, 2011

कथा संग्रह - रानीघाट

रानीघाट














विश्वराज अधिकारी


Thursday, January 20, 2011

प्रकाशक
साबित्री देवी अधिकारी






















स्वर्गिय पिता
श्री देवराज उपाध्यायमा
सादर समर्पित












तपाँईको समय फर्काइ दिएँ


निता घुम्न निकै रुचाउँथिन। क्याम्पसबाट फर्केर म कोठामा बसेको बेला निता प्राय: मेरो कोठाम आई पुग्थिन र सोध्थिन- बजारतिर जाने हो, मिना बजार जानु छ तरकारी किन्न। म हुन्छ भन्थ्ये र हामी बजारतिर जान्थ्यौ। म विद्यार्थीलाई हरियो तरिकारी के गर्नु, खाना होटलमै खान्थ्ये, केवल निताको साथ दिन जान्थ्ये, उनको मन राख्न। कहिले भन्थिन- तपाँईलाई धर्ममा आस्था छ, म भन्थ्ये म धर्म कर्ममा विश्वाश त गर्छु तर अन्धविश्वाशी भने होइन। मेरो उत्तरले प्रोत्साहित हुँदै निताले भन्थिन- त्यसो हो भने माईस्थान मन्दिर जाउँ, दर्शन गर्न। म नितासँग धेरै पटक पुगें कहिले यो मन्दिर कहिले त्यो मन्दिर।  गीता मन्दिरदेखि लिएर अलखियामठसम्म पुगेको हप्तामा पाँच सात पटक हुन्थ्यो। बिन्दबासिनी मन्दिरसम्म पुगे म निताको आग्रहमा, दुई चार चोटि हो र, कैयौं पटक। सिनेमा हेर्न त रक्सौलसम्म पुगे, निताको आग्रहमा।
नितासँग हिँड्न मलाई कुनै पनि किसिमको बन्देज थिएन। फिल्म हेर्न होस, अथवा बजारतिर, मन्दिर होस वा निताले नै भनेको कुनै ठाउँ, कहिँ जान पनि मलाई कुनै रोक छेक थिएन। त्यसो किन गरेको भनेर निताको बा आमाले मलाई कहिले सोध्नु भएन पनि । मलाई त्यति स्वतन्त्रता किन दिइएको थियो, मैले थाहा पाउन सकेको थिन। निताको बा आमालाई नै थाहा होला। म अनुमान चाँहि लगाउन सक्छु त्यति छुट दिनुको पछाडिका कारणहरु। म अशल स्वभावको भएको र मेरो तर्फबाट कुनै किसिमको डर निताको अभिभावकहरुको मनमा नरहनु मुख्य कारणहरु थिए होलान।
निताको घरमा डेरा लिएर बसेको चार वर्ष भन्दा बढी भइसकेको थियो। उनको घर बीरगंजको रानीघाटमा थियो। रानीघाट मलाई निकै मन पर्थ्यो। रानीघाट किन त्यति मन पर्थ्यो म भन्न सक्तिन। तर एक किसिमको गुरुत्वाकर्षण थियो त्यो टोलमा। पढ्नका लागि म गाउँबाट आएर बीरगंज पस्दा पहिले रानीघाट मै डेरा लिएर बसेको हुनाले पनि रानीघाट मलाई निकै राम्रो लागेको हुन सक्छ। डेराका लागि टोल छान्दा धेरै विद्यार्थीको रोजाई रानीघाट नै हुन्थ्यो रे त्यति बेला मैले सुने अनुसार। जे होस, रानीघाट मलाई औद्यी मन पर्थ्यो।
निताको घरमा चार वर्षको बसाईमा मैले बि कम सक्याउन आंटेको थिएँ भने निताले आइ कम। साल यस्तै २०३६ या ३७ हुनु पर्छ। मेरो कोठामा आउन नितालाई न त मेरो तर्फबाट कुनै बन्देज थियो न त उनको बा आमाको तर्फबाट। म एक्लै भएको बेलामा मात्र हो र  मेरो कोठामा कुनै साथी आएको छ भने पनि निता आई पुग्थिन मेरो कोठामा। हुनत उनलाई सजिलो पनि थियो मेरो कोठामा आउन। मैले उनलाई ट्युसन पढाई दिने गरेको थिएँ। क्याम्पसको क्लासमा नबुझेको कुरा सोध्न आएको भन्ने भान पारेर पनि निता आई पुग्थिन मेरो कोठामा उनलाई इच्छा लागेको बेलामा। यस्तो मैले किन भनेको हो भने ज्यादै सरल कुरा पनि उनी सरले क्लासमा भन्नु भएको मैले बुझ्न सकिन भन्थिन र मालाई प्रष्ट पारि दिन भन्थिन। मैले साधारण किसिमले सम्झाउँदा पनि ल अब प्रष्ट भयो भन्थिन। उनलाई ट्युसन पढाई दिएकोमा केही छुट पनि पाएको थिएँ मैले । डेरा भाडा आधा मात्र दिनु पर्थ्यो। माथिबाट बेला बेलामा आज दिउँसो वा भरे यतै खान आउनु भन्ने निम्तो पनि। खानामा मैले रुचाउने कुराहरु नितालाई राम्रो गरी थाहा थियो। मलाई खान बोलाएको बेलामा भन्टाको तरकारी मुलाको अचार अवश्य हुन्थ्यो। बरारी माछा त निता आफैले ल्याउँथिन ताजा ताजा छानी छनी, मिनाबजारबाट, मलाई माछा अति नै मन पर्छ भनेर।
क्याम्पसमा हाम्रो भेट हुँदा  र यदि  दुबै जनाको क्लास छैन भने निताको आग्रहमा नै हामी आदर्शनगरको होटलतिर जान्थ्यौ। नितालाई समोसा चाट निकै मन पर्थ्यो। चिया घरी घरी खान पाए हुन्थ्यो भन्ने मेरो इच्छाले पनि निताको आग्रहलाई स्वीकर्न बाध्य पार्थ्यो। नास्ताको पैसा उनले नै तिर्थिन। म तिर्न खोजे जस्तो गर्थ्ये, मात्र खल्तिमा हात हालेर। पैसा तिर्न खोज्ने मेरो त्यो केवल अभिनय हो भन्ने नितालाई पनि थाहा थियो।
क्याम्पसबाट घर फर्किदा धेरै पटक रिक्सामा सँगै हुन्थ्यौ हामी। त्यति मात्र हो रिक्सा भाडा पनि निताले नै तिर्थिन। म त खासमा हिँडेर जान खोज्थ्ये, रिक्सा नचढेर। बाले गाउँबाट अडकलेर पठाएको पैसाले पुर्याउनु पर्थ्यो। खाने, बस्ने, क्याम्पसको फि, किताब कापीको खर्च ……………सबै।  बाले अन्न बेचेर पठाएको पैसा ज्यादै सीमित हुन्थ्यो । त्यसैले रिक्सा गर्न म चाहन्थिन। तर के गर्नु, निताको आग्रहलाई काट्न पनि सक्थिन। अर्को तिर, निताले रिक्सा भाडा तिरेको मलाई राम्रो पनि लाग्थेन। तर आफूसँग पैसा नभएकोले उनीलै नै रिक्सा भाडा तिरिदिउन भन्ने कामना गर्न म बाध्य थिएँ पनि। नितालाई भने हात खर्चको समस्या खासै थिएन। उनको बाको बैकको जागिरले राम्रो गरी नै पुगेको थियो।
हामी क्याम्पसबाट सँगै फर्किने संयोग परेको बेलामा निताले प्राय सोध्ने गर्थिन- बि कम पास गरे पछिको तपाँईको योजना के छ त? मैले भन्ने गर्थ्ये- पढाई जारी राख्नु छ। काठमाण्डौ जान्छु, मास्टर गर्नु छ। मैले काठमाण्डौ जाने योजना सुनाई सके पछि फेरि प्रश्न गर्थिन - पढाई बाहेक अरु केही योजना छैन, कुनै योजना, यस्तो त्यस्तो…………………………., हुन्छ नि। म उनको प्रश्नको झर्को नमानी उत्तर दिन्थ्ये- पढ्नमा मेरो अति रुचि छ। पाए त पि यच डि नै गर्थ्ये। अँ साँच्यै, छ त एउटा ठूलै योजना, अब जागिर पनि खोज्नु छ। माष्टर डिग्री त जागिर गरेर गर्नु पर्ला। बाको पैसाले त के पढ्न सक्नु काठमाण्डौ जस्तो महँगो ठाउँमा। फेरि बामाथि निर्भर रहेर वहाँलाई सँधै दुख दिन पनि त भएन नि।
एक दिनको घटना हो, निता मेरो कोठमा आइन। कोठा भित्र प्रवेश गरेपछि उनले ढोका बन्द गरिन। ढोका बन्द गर्नुको स्पष्टिकरण पनि उनले आफैले दिइन। उनले भनिन हेर्नुस यो कोठा मात्र यस्तो छ  ……………….यो घरमा, छेउका घरका मान्छेहरुले यो कोठाभित्र को को छ, के के गर्देछन सजिलै देख्न सक्छन, यो कोठाको ढोका खुल्ला छ भने । त्यति मात्र हो सडकका मान्छेहरुले समेत पनि यो कोठा भित्र भएका गतिबिधिहरु देख्न सक्छन हेर्न खोज्यो भने। निताको भनाईमा मैले प्रतिक्रिया दिएँ तिमीले ढोका बन्द गरिदिएको ठीकै छ नि त। मेरो यो प्रतिक्रिया सुनेर निताले केही बेरसम्म मेरो मुहारमा हेरिन। मैले नितालाई प्रश्न गरे केही नबुझेको कुरा सोध्नु थियो कि? क्लासको लेक्चरको,  कुनै नबुझेको विषय? मेरो प्रश्नको उनले हाँस्दै उत्तर दिइन होइन, आज पढ्न पटक्कै मन लागेको छैन। कति पढ्नु, भरखर पढेर आउँदै छु। पढ्दा पढ्दा झर्को लागि सक्यो। बरु गीत बजाउनुस न कुनै। तपाँईलाई नै मन पर्ने कुनै गीत लाए पनि हुन्छ। उनको आग्रह अनुसार मैले मेरो थोत्रो टेप रेकर्डरमा गीत लगाई दिएँ। गीत बज्न थाल्यो। गीत सुनेपछि निताले भनिन छि, कस्तो स्याड गीत लगाउनु भएको, अलि राम्रो गीत लगाउनु न। मैले उनको इच्छा अनुसारको गीत लागाई दिएँ।
टेप रेकर्डरमा गीत बज्दै थियो। निता झ्वाट्ट उठिन अनि ढोकाको चकुल लगाई दिइन, भित्रबाट। मैले हाँस्दै प्रश्न गरे चुकुल किन लगाएको? उनले भनिन म यहाँ, तपाँईको कोठामा पढिरहेको भए, त ठीकै थियो। तर यसरी गीत सुनिरहेको, खाटमा मज्जासँग पल्टिरहेको, कसैले फ्याट्ट ढोका खोल्दा देखे पछि के भन्ला। यसै त मान्छेहरु अनेक कथा बनाउँछन। झन यस्तो अवस्थामा देखे पछि त के के ……………………..यस्तो उस्तो भन्ने छन। मलाई त डर लाग्छ। त्यसैले बरु चुकुल लगाई दियो, कसैले देख्ने बाटो नै बन्द हुन्छ। यति भनेर उनले मतिर हेरिन। मैले केहि पनि बोलिन। निताले फेरि मतिर हेर्दै भनिन- तपाँईलाई डर लाग्दैन, कसैले देखेर के भन्ला भनेर। मैले हाँस्दै भने यस्मा डराउनु पर्ने कुरा के छ? कसैको कोठामा कोही आउनु स्वभाविक कुरा हो। कुनै असामान्य कुरा होइन। कसैले असामान्य कुरा भन्छ भने त्यो उसको दृष्टि दोष हो। त्यस्तो भन्नेले आफ्नो आँखा र मगज दुबैको इलाज गराए हुन्छ। मेरो यस्तो प्रतिक्रिया सुनेर उनको मुहारमा कुनै खास किसिमको भाव देखिएन। 
निता बेला बेलामा मेरो कोठामा आएर गीत सुन्ने क्रम निकै दिनसम्म चल्यो। तर मेरो कोठामा आएको बेला, प्रत्येक पल्ट जस्तो उनले भन्ने गर्थिन म यसरी तपाँईको कोठमा, यसरी आएर, खाटमा पल्टेर, गीत सुनेको,  यस्तो त्यस्तो …………….. यता उता गरेको, मलाई त डर लाग्छ कसैले झ्वाट्ट देखे भने के भन्ला भनेर। मान्छेले संका गर्ने ठाउँ पनि त छ नि, छैन र? दुई जना मात्र, त्यो पनि केटा र केटी हुनु, संका कै त कुरा हो नि। निताको भ     नाई सुनेर म केवल हाँस्ने गर्थ्ये।
मैले पढाई सक्यानु पनि काठमाण्डौको एउटा बैंकमा जागिर पाउनु पनि एकै चोटि भयो। एक हप्ता भित्रमा नै काठमाण्डौ जाने योजना बनाएँ। यो योजना निताको बा आमालाई सुनाएँ। वहाँहरु ज्यादै खुसी हुनु भयो र मलाई बधाई पनि दिनु भयो। नितालाई पनि थाहा थियो म काठमाण्डौ पढन जान थालेको बारे। मेरो बा आमालाई पनि चन्द्रनिगाहपुर जाने एक मित्रको हात चिट्ठी पठाएर आफू काठमाण्डौ जाने थालेको बारे भनें। मेरा ती मित्रले मेरो गाउँसम्म चिट्ठी पुर्याइ दिन्छु भनेका थिए। चन्द्रनिगाहपुरदेखि हिंडेर मेरो घर पुग्न एक डेढ घण्टा लाग्ने भएता पनि ती मित्रले चिट्ठी पुर्याई दिने बचन दिएका थिए।
म काठमाण्डौ जाने दिनको बिहानको कुरा हो, मैले रिक्सामा सबै सामानहरु राखिसकेको थिएँ बस पार्क जानका लागि। जाने बेलामा मलाई भेट्न निताको बा आमा पनि आउनु भएको थियो। मेरा एक ज्यादै घनिष्ट मित्र, अशोक पनि बिर्ताबाट आएका थिए, मलाई भेट्न। तर मैले नितालाई भने देखिन छेउ छाउमा। मैले आश्चर्य मान्दै उनको आमालाई सोँधे अन्टी, निता छैनन् घरमा, कतै गएकी छिन कि क्या हो, देखिन न त उनलाई। मेरो प्रश्नको जबाफमा वहाँले भन्नु भयो होइन, होइन, कतै पनि गएकी छैन। यतै छे कतै। आउँछु भन्थी। रिक्सामा सामान मिलाउन लागेको जस्तो पारेर मैले निताको बाटो कुरे केही बेर। उनी आइनन्। म रिक्सामा चढे। रिक्साले हिँड्ने सुर गरेपछि भने निता एक्कासी आई पुगिन कताबाट । मतिर हेर्दै भनिन जान थाल्नु भयो। ल त तपाँईको यात्रा सुखद होस। मैले नितालाई धन्यवाद भने। निताले केही सम्झे झै गरेर आफ्नो  हातमा रहेको खाम मतिर पर्दै भनिन तपाँईको किताब त मैले फर्काउन नै बिर्सेको रहेछु। यो खाममा तपाँईले मलाई पढ्न दिएको त्यो किताब छ। मैले हाँस्दै भने- ए,  त्यो किताब, राखे हुन्छ। फर्काउनु पर्दैन। निताले मतिर हेर्दै भनिन - कसैको नासो राख्न हुँदैन। लिनुस। मैले किताब लिएँ। रिक्साले घन्टी बजाउँदै गति तिब्र पार्यो।
बसले परवानीपुर नाघिसकेको थियो। मेरो मनमा के बिचार आएर हो, मैले निताले दिएको त्यो खाम खोलें। खाम भित्र त्येही किताब थियो, जुन मैले नितालाई एक वर्ष पहिले दिएको थिएँ। किताब हेर पछि त्यसलाई पुन त्यही खाममा राख्न खोज्दा त्यो खामा भित्र एउटा पत्र पनि रहेको देखे। हत्तारिँदै त्यो पत्र खोल्यो। त्यो पत्रमा केवल यी दुई पंक्तिहरु लेखिएका थिए- तपाँईको किताब र समय दुबै फर्काइ दिएकी छु। किताब पढेर योग्यता बढाउनमा मात्र रुचि रहेछ तपाँईलाई, मन पढ्नमा भने होइन।



विष्णु काका आउनु भएको छ


म कलैया जाँदै थिएँ अनि दिव्या पनि। हामी सँगै जाने भनेर पूर्व योजना अनुसार भने हिँडेका थिएनौ। संयोगले त्यस्तो पारेको थियो। म, मेरो दिदीलाई भेट्न कलैया जाँदै थिएँ, दिव्या भने आफ्नी माइजुलाई। बस, पार्क मै रोकिएर बसेको थियो, हिँड्ने सुर सार गरेको थिएन। बस कुन बेला हिँड्ने भन्ने हामीलाई थाहा थिएन र सोधेनौ पनि। बस रोकिनुले खासमा हामीलाई फाइदा नै भएको थियो, लामो समयसम्म कुरा गर्ने मौका जुराएको थियो, त्यो रोकाईले। हामी बाहेक दुई तिन यात्रु थिए, त्यो बसमा, हामी चढ्दाखेरि।
म र दिव्या एउटै क्याम्पस, एउटै लेबलमा पढ्थ्यौ। बि कमको पहिलो वर्ष थियो, हामी दुबै जनाको। मेरो र दिव्याको बिचार र आर्थिक स्तर दुबै मिल्ने भएकोले हामी अरु विद्यार्थीहरु भन्दा अलि बढी नै नजिक भएका थियौ एक अर्काको। त्यसैले मैले दिव्यालाई र दिव्याले मलाई आफ्ना निजी र घर गृहस्थीका कुराहरु सुनाउनु सामान्य भइसकेको थियो।
म दिव्याको घर, श्रीपुर निकै पटक पुगेको थिएँ। जति पटक पुगेको थिएँ, प्राय: प्रत्येक पटक विष्णुकाकालाई उनको घरमा देखेको थिएँ। दिव्याले विष्णु काका भनेको हुनाले मैले पनि विष्णु काका भन्ने गर्थ्ये। विष्णु काका दिव्याको छिमेकी हो र उनले छिमेकीको नाताले वहाँलाई काका भनेको सम्म मलाई थाहा थियो, त्यो भन्दा बढी विष्णु काकाको वारेमा मलाइ थिएन। विष्णु काकालाई हिन्दी उपन्यास निकै मन पर्थ्यो अनि दिव्याको मम्मीलाई पनि। नया वा नपढेका पुराना उपन्यास दिन र एक अर्काले पढिसकेको उपन्यास बारे चर्चा गर्न विष्णु काका दिव्याको मम्मीसँग भेट्न आइ रहनु हुन्थ्यो। जति पटक म दिव्याको घर पुगे उनको मम्मीले विष्णुकाकासँग उपन्यासको कुरा गरेको सुने। हिन्दी उपन्यासकार, गुलशन नन्दाको उपन्यास भने दिव्याको मम्मीलाई अति मन पर्ने मैले दिव्याको मम्मी कै मुखबाट सुनेको थिए।
बीरगंजबाट कलैया पुग्न आधा घण्टा पनि नलाग्ने मोटर बाटोमा एक घण्टा जति त हामीले बस पार्कमै कुरेको भएको थियो। बसको सिट भरिएर उभिनेहरुको संख्या पनि विस्तारै वृद्धि हुँदै थयो। बस हिंड्ने पर्खाई अझे निरस हुन्थ्यो होला यति मेरो दिव्यासँग बसमा भेट नभएको भए। बस कुन बेला छुट्ने भनी हामी अलि चिंतित थियौ भने लम्बिंदै गरेको पर्खाईले हामीलाई धित मर्ने गरी कुरा गर्ने मौका दिएकोमा खुसी पनि।
म र दिव्या बीच कुरा चलिरहेको क्रममा मैले दिव्यालाई सोधें दिव्या, आजभोलि विष्णु काकाको हाल खवर कस्तो छ नि, कुनै नयाँ उपन्यास दिन आउनु भएको त छैन तिम्रो मम्मीलाई दिन? दिव्याले हाँस्दै भनिन् हिँजो साँझ आउनु भएको थियो एउटा नया उपन्यास दिन। हिँजो त धेरै बेरसम्म बस्नु भयो। दिउँसो आएको मान्छे झमक्म साँझ परेपछि मात्र जानु भयो। म त पढनमा व्यस्त थिएँ। वहाँहरुको कुरा सुन्ने फुर्सत पनि भएन। र प्राय: सुन्दिन पनि। मलाई उपन्यासका ती गन्थने कुराहरु मन पर्दैन पनि। बरु एक चोटी चिया पकाएर लगि दिएको थिएँ। मम्मी दङ्ग पर्नु भएको थियो, चिया लगेको देखेर।
दिव्याले फेरि भनिन् एक्लै वस्नु हुन्छ विष्णु काका, कहाँ जाउँ कहाँ हुँदो हो, आई पुग्नु हुन्छ उपन्यास बोकेर। तर मान्छे निकै बेस हुनु हुन्छ।
दिव्याको कुरा सुनेर अचम्म मान्दै मैले प्रश्न गरे यो उमेरमा पनि एक्लै हुनु हुन्छ। हेर्दा त पैत्तिस, चालिसको जस्तो देखिनु हुन्छ, अझै विहे गर्नु भएको छैन? दिव्याले हाँस्दै भनिन् छैन, खोइ किन नगर्नु भएको होला।मैले फेरि प्रश्न गरे अनि, एक्लै बस्नु हुन्छ त? ‘होइन, आमा हुनुहुन्छ। आमा छोरा दुई जना मात्रदिव्याले भनिन्।
दिव्याको मम्मी पनि एक्लो हुनुहुन्थ्यो, वैवाहिक जिवनको हिसाबले। दिव्याको बुआको कुनै विमारीले मुत्यु भएको थियो, ज्यादै कम उमेरमा, पच्चिस छब्बिस वर्षको हुँदा। पूजा गर्दा गर्दै, पूजा कोठामा ढल्नु भएको थियो। दिव्याको मम्मी बिधुवा हुँदा वहाँको उमेर मात्र, यस्तै, एक्काईस बाइस वर्षको थियो रे। दिव्याको उमेर भने केवल चार पाँच वर्षको।
मैले दिव्यालाई प्रश्न गरे हरि काका कुनै नाता त पर्नु हुन्न? दिव्याले भनिन त्यस्तो कुनै नाता त होइन, तर ज्यादै नजिकको छिमेकीसँग एक किसिमको नाता नै हुने हुँदा वहाँसँग नाता नै छ भने पनि हुन्छ। विष्णुकाले मेरो मम्मीलाई भाउजु भन्नु हुन्छ,  म वहाँलाई काका। विष्णु काका निकै भलादमी हुनु हुन्छ। कहिले काहिँ त घरको काममा पनि मम्मीलाई सघाई दिनु हुन्छ। कतिपटक त आफैले चाँसो लिएर मिना बजारबाट तरकारी किनेर ल्याई दिनु भएको छ। अरु सामानहरु पनि ल्याई दिनु भएको छ बजारबाट । त्यति मात्र हो, मम्मीलाई माछा मन पर्छ भन्ने थाहा पाएर मिना बजारबाट माछा पनि ल्याई दिनु भएको छ, त्यो पनि आफ्नै पैसाले। माछाको पैसा दिंदा लिन मान्नु भएन, लाख कोशिस गर्दा पनि। मम्मीलाई पनि विष्णु काकाको स्वभाव निकै मन पर्छ। मसँग कुरा गर्दा  विष्णु काकाको व्यवहार अति नै राम्रो छ रे भनेर मम्मीले कति पटक भनिसक्नु भएको छ। विष्णु काका उपन्यास दिन त आई नै रहनु हुन्छ तर कहिले काहिं त्यतिकै कुनै काम निकालेर या कामको कुनै बाहाना बनाएर आउनु भएको जस्तो पनि लाग्छ।  त्यसरी आइ रहेको देखेर मलाई झर्को पनि लाग्छ, कहिले काहिं त। एक चोटि त भने पनि मम्मी, यो विष्णु काका किन यसरी घरि घरि आई रहनु हुन्छ हामी कहाँ। यसरी काम न काजसँग आएको मलाई त मन पर्दैन। मान्छेहरुले कति कुरा काट्दा हुन। छिमेकीहरु त्यसै त कुरा काट्नमा खप्पिस छन, झन यस्तो मसला पाए पछि त…………….. कति कुरा काट्ने छन, त्यो पनि स्वाद लिएर, धित मर्ने गरी। रिता सानिमा त झन खोजि हिंड्नु हुन्छ कुरा काट्ने विषयहरु, तिललाई ताड बनाउन हरदम तम्तयार रहनु हुन्छ। मेरो यो भनाईमा मम्मीले यति मात्र भन्नु भयो भन्न देउ न त, भन्नेहरुको मुख थुन्न सकिन्छ। दस जनाले दस ओटा कुरा गरे भने दस जनाको मुख थुन्न सक्छेउ, तिमीले? यति भनेर मम्मी केही बेर हाँस्नु भयो।
विष्णु काका आउँदा मम्मीले झर्को मानेको मैले देखेको छैन। उल्टो दङ्ग परेको देखेको छु। पाँच सात दिन पहिलेको कुरा हो विष्णु काका साँझतिर आउनु भयो हाम्रो घरमा। म र मम्मी खाना खाने सुरसार गर्दै थियो। मम्मीले वहाँलाई पनि खान खान आग्रह गर्नु भयो। मलाई त वहाँले, भयो कहिले पछि खाउँला नि भन्नु होला जस्तो लागेको थियो तर भयो ठीक उल्टो। मम्मीले खान आग्रह मात्र के गर्नु भयो थियो, विष्णु काका त हत्त न पत्त आई पुग्नु भयो भान्सामा। त्यो दिन तरकारी आलु मूला र गोलभेडा मिसाएर  पाकेको थियो। मम्मीलाई राम्रो गरी थाहा थियो मलाई मुला पट्कै मन पर्देन भनेर। तैपनि खोइ किन पकाउनु भयो थियो। खाना खाने बेलामा मैले सोधेकी थिएँ विष्णु काका तपाँईलाई मुलाको तरकारी त्यति मन पर्दैन होला, मम्मीले झन मुला नै पकाउनु भयो। मेरो भनाईमा विष्णु काकाले प्रतिक्रिया दिनु भयो मलाई आलु, मुला र गोलभेंडा मिसाएको औधी मन पर्छ। यति मनेर विष्णु काकाले पुलुक्क मम्मीको मुखतिर हर्नु भयो। मम्मी र विष्णु काका दुवै जना एक छिन हाँस्नु भयो।
दिव्याको कुरा सुने पछि मैले भने दिव्या, तिमीलाई विष्णु काका घरि घरि त्यसरी तिमी कहाँ आएको मन पर्दैन भने प्रष्ट रुपमा तिमीले भनिदिए हुन्छ नि विष्णु काका तपाँई यसरी घरि घरि आएको हामीलाई मन पर्दैन भनेर।
मेरो प्रश्नको उत्तरमा दिव्याले भनिन् कहिले काहिँ त्यसरी भनिदिऊँ झै लाग्छ। कति पटक त भन्ने आँट पनि गरे, तर भन्न सकिन। एउटा मनले भनौ जस्तो लाग्छ तर फेरि सोंच्छु के त्यस्तो नराम्रो नै गर्नु भएको छ र, वहाँलाई मैले नआउनुस भन्नु पर्ने। मान्छे पनि अति नै भद्र हुनु हुन्छ, विष्णु काका। फेरि, मेरा त अनेक साथीहरु झन। उनीहरुसँग कुरा गरेर रमाईलो गर्न सक्छु। मेरो अनेक व्यक्तिहरु सँग सम्पर्क छ, त्यस्तै सम्पर्क मम्मीलाई पनि त चाहिन्छ नि। विष्णु काका त्यसरी हामी कहाँ आउनुले एक किसिमबाट मम्मीलाई कुरा गर्ने कुनै व्यक्ति त भेटिएको छ।
यति भनेर दिव्या एक छिन चुप लागिन। हाम्रो बस मोतिसर पुगेर केही क्षण रोकिएको थियो। दिव्याको अप्रत्यक्ष आग्रहमा म पेंडा किन्न तल झरे। किनभने मोतिसरको पेंडा अति शुद्ध र स्वादिलो हुन्छ भनेर दिव्याले बस चढ्दाखेरि नै भनेकी थिइन र उनको त्यो भनाईको आशय मैले बुझेको थिए। त्यसै हुनाले उनको त्यो अप्रत्यक्ष आग्रह पुरा गर्न म पेंडा किन्न हान्निएँ।
बस मोतिसरबाट हिँडिसकेको थियो। कलैया आउन अब केही समय मात्र बाँकी थियो। मैले दिव्यातिर हेर्दै हाँसेर भने दिव्या, सुनाउन त विष्णु काकाको कुरा, मान्छे त निकै रोचक हुनु हुँदोरहेछ। दिव्याले हाँस्द भनिन मान्छे त बेस हुनु हुन्छ तर कहिले काहिँ बोर गरिदिनु हुन्छ। अस्ति पनि त्यस्तै भयो। पन्द्र बिस दिन पहिलेको कुरा हो, विष्णु काका साँझतिर आउनु भएको थियो। हामीले खाना खाने समय हुनै आंटेको थियो। मैले यो अनुमान गर्दै कि वहाँलाई पनि जाउँ खान भने पछि होइन म घरतिरै गएर खान्छु भन्नु होला र हाम्रो खाने समयमा नबस्नु होला, मैले विष्णु काका जाउँ खान, हाम्रो त खाना खाने बेला भयो भने। मेरो त्यो आग्रह केवल औपचारिकता पूरा गर्ने मात्र थियो।  मेरो त्यो बनाबटी आग्रह मम्मीले पनि बुझ्नु भएन कि  क्या हो, वहाँले पनि विष्णु बाबु, जाउँ न खान, भन्नु भयो। मेरो अनुमान उल्टो निस्क्यो। हुन्छ नि त, तिमीले यत्रो आदर सत्कारका साथ खानका लागि भनेकोमा कसरी त्यसको म बेवास्ता गरौ, हन्छ, भन्दै विष्णु काका भान्सातिर लम्किनु भयो।
खाना खाएर सकिँदा रात परिसकेको थियो। खाना खाए पछि विष्णु काका जानु भएन, तर मैले वहाँ खाना खाने बित्तिकै जानु होला भन्ने ठानेको थियो। विष्णु काका र मम्मीको गफको क्रम राति निकै वेर सम्म चलिरह्यो। मलाई दिक्क लागेर मैले भने पनि म त सुत्न गएँ है। मलाई आँखा खोल्न नसकिने गरि निद्रा लागेको छ। मेरो यो कुरा सुनेर विष्णु काका आफ्नो घरतिर लाग्नु होला भन्ने मैले अनुमान गरेको थियो। तर वहाँले जाने छांटकांट देखाउनु भएन। कति बेरसम्म वहाँहरुको कुराकानी चल्यो मैले थाहा पाइन। भोलि पल्ट मैले मम्मीलाई सोधिन पनि विष्णु काका राति कति बेर सम्म बस्नु भयो भनेर।
कलैया पुगेर बसपार्कमा रोकिएको थियो, हाम्रो बस। सूर्यास्त हुन केही क्षण मात्र बाँकी थियो। बसमा ज्यादै भीड भएकोले यात्रुहरु छिटै ओर्लन सकिरहेका थिएनन्। हामी भने बस खाली भए पछि ओर्लने सुरमा थियौ। त्यही पर्खाईको क्रममा रहेको बेला दिव्याले मतिर हेर्दै हाँसेर भनिन थाहा छ, आनन्द, आज दिउँसो के भयो?’ मैले कौतुहलता प्रदर्शन गर्दे भने- के भयो , त्यस्तो हँ, दिव्या?
दिव्याले भनिन् म दिउँसो कलैया जान भनेर हिँडदा मम्मी खाटमा पल्टिरहनु भएको थियो। वहाँको हातमा एउटा उपन्यास थियो। कुनै हिन्दी उपन्यास थियो क्यारे, त्यही पढ्दै हुनु हुन्थ्यो। मैले मम्मीतिर हेर्दै भने- म कलैया जाँदै छु, मामा घर। भोलि आउँछु, है, मम्मी। मेरो कुरा सुनेर मम्मीले हुन्छ भन्नु भयो। म घरबाट बाहिर निस्कनै आँटेको थियो, मेरो मनमा के कुरा आयो कुन्नी, म मम्मीको कोठामा पुगें। मम्मीको नजिक पुगेको देखेर वहाँले आश्चर्य मान्दै सोध्नु भयो बसपार्कतिर हिँडेको मान्छे फेरि फर्केउ त? मैले भने मम्मी, हजूरलाई एउटा कुरा भन्नु छ। मेरो कुरा सुनेर पल्टिहरेको मम्मी उठ्नु भयो अनि हातमा रहेको उपन्यासलाई तल राख्दै सोध्नु भयो के छ त्यस्तो भन्नु पर्ने कुरा भन न त। मैले हाँस्दै भने मम्मी, मलाई एउटा बुआ चाहिएको छ। मेरो कुरा सुनेर मम्मीले केही पनि बोल्नु भएन। केवल हाँस्नु भयो मात्र। मम्मी हाँसेको देखेर मैले फेरि भने बुआ क्या, बुआ। विष्णु काकालाई बुआ …………………। मेरो पछिल्लो भनाई सुनेर मम्मी फेरि हाँस्नु भयो। यति भनेर म कोठाबाट बाहिर निसक्ये। कोठाबाट निस्कनासाथ मैले आँगनमा विष्णु काकालाई देखे। विष्णु काकातिर हेर्दै हाँस्दै मैल भने म--- मम्मी, विष्णु काका आउनु भएको छ। यति भनेर म घर बाहिर निस्के।
बसबाट ओर्लिने मान्छेहरुको भीड पहिलेभन्दा केही कम भइसकेको थियो। त्यो उभीडको फाइदा उठाउँदै मैले दिव्याको हात समाते, भीड भाडमा हात समातिएको भान पार्ने गरी। तर मैलै जाना जानी उनको हात समातेको दिव्यालाई प्रष्ट गरी थाहा भयो। उनले हाँस्दै खुसी र आश्चर्य दुवै मिस्रित भावले मतिर हेरिन्। मैले विस्तारै उनको कानमा भने दिव्या, मलाई पनि एउटा अशल साथी चाहिएको छ, तिमी जस्तै। मेरो कुरा सुनेर दिव्या हाँसिन मात्र केही पनि बोलिनन्। म भने दिव्यातिर नै हेर्दै थिए। एक अर्कालाई हेर्ने क्रममा हामी बस तल ओर्लिसकेको पत्तो नै पाएनौ, हामी दुबैले।
यो घटना २०३९ या ४० साल तिरको हो  जस्तो लाग्छ, ठीकसँग याद भएन।



प्रेम


सुनितालाई पहिले चोटि  मैले बीरगंजको एक क्याम्प्समा देखेको थिएँ। समय यस्तै २०४० या ४१ हुनु पर्छ। म आई ए मा पढ्थ्ये, सुनिता आई कममा। के यस्तो आकर्षण थियो सुनितामा म भन्न सक्तिन तर उनीप्रति म ज्यादै आकर्षित भएको थिएँ, पहिलो पटक हेर्दा नै। आफू उनीप्रति अति नै आकर्षिति भएको बोध गराउन मैले अनेक उपायहरु पनि गरे। एक युवकले आफू कुनै युवतीप्रति आकर्षित भएको दर्शाउन गर्नु पर्ने हरेक क्रियाकलाप  गरे, कुनै पनि बाँकी राखिन, उनलाई आफू उनीप्रति आकर्षित भएको अवगत गराउन। यति थरि गर्दा पनि उनीबाट कुनै सकारात्मक संकेत नपाए पछि अन्तमा भने पनि उनलाई क्याम्समा एक दिन भेटेर, म उनीप्रति ज्यादै आकर्षित भएको छु भनेर । आफ्नो त्यो इच्छा त्यसरी प्रत्यक्ष रुपमा जाहेर गरेपछि उनीबाट सकारात्मक जबाफ पाउँला जस्तो लागेको थियो मलाई, तर के को सकारात्मक जबाफ पाउनु, उल्टो ठूलो अपमान र पीडा सहनु परेको थियो मैले। त्यो समय सम्झिंदा अहिले पनि झसङग हुन्छु म, कुनै डर लाग्दो सपना देखेर मन झसङ्ग भए झैं।

२०४५ सालको अन्ततिर म काठमाडौ आएँ, बीरगंजबाट। काठमाडौ आएर पढाई मै कन्द्रेतित भएँ। माष्टर डिग्री गरेपछि भने व्यापारतिर लागें। पुतलीसडकमा आफ्नो एउटा स्वतन्त्र व्यवसाय संचालन गरे। शैक्षिक परामर्श सेवा मलाई मन पर्ने व्यवसाय भएकोले आफ्नो यो व्यवसायबाट सन्तुष्ट नै छु। हुनत एउटा विचार आएको थियो विदेशतिर जाउँ कि भन्ने तर मन लागेन जान। गर्न सके आफ्नै देशमा थुप्रै अवसरहरु छन, खोज्ने र त्यसमा लागि पर्ने हो भने, यस्तो विचार आयो मेरो मनमा। त्यसैले परिवार र आफ्न्तले विदेश जान दवाव दिए पनि, अति नै उत्प्रेरित गरे पनि, गइन म विदेशतिर।

मैले सुनितालाई देखेको पच्चिस छब्बिस वर्षभन्दा बढी भयो। यो कारोबारी, यो बेफुर्सदी जिन्दगीका क्षणहरुले भेट हुने संयोग पनि जुराएनन् हामीलाई। कुनै मोडमा हाम्रो भेट हुन पनि सकेन। तर अचम्म भयो, हिँजो मैले पत्यारै नलाग्ने किसिमबाट सुनितालाई भेटें त्यो पनि सडकपेटी, कुनै रेष्टुरेन्ट या पसलमा होइन, आफ्नै अफिसमा, त्यो पनि आफ्नै कोठामा। आश्चर्य त यस कुरामा लाग्यो कि उनी जागिरका लागि आएकी रहिछन्। र त्यो भन्दा पनि बढी आश्चर्य त यस कुरामा लाग्यो कि चालिस पैतालिसको उमेरमा पनि उनले जागिर खोजेको देखेर। किनभने यस्तो उमेरमा मानिसले, हाम्रो देशको सन्दर्भमा, एउटा किनारा समाति सकेका हुन्छन, जागिरे जिवनको।

मैले आफ्नो अफिसको लागि एक सेक्रेटरीको विज्ञापन गरेको थिएँ, पत्रिकामा। र मैले उनलाई अफिसको मेरो कोठामा देखे, इन्टरभ्यु दिन आएको। म यो शैक्षिक परामर्श सेवामा रहेको थाहा पाएको भए सम्भव त सुनिता आउथिनन् होली। तर त्यो पनि म यकिनका साथ भन्न सक्तिन किनभने समयले मानिसलाई कस्तो कस्तो काम गर्न लगाएको मैले देखेको छु, आफ्नै यी दुई आँखाहरुले।

सुनिता इन्टरभ्यु दिन कोठामा प्रवेश गर्दा खेरि नै मैले उनलाई चिनि सकेको थिएँ। त्यति लामो समयान्तर पछि मैले उनलाई देख्नासाथ चिन्नुमा आश्चर्य मान्नु पर्ने कुरा थिएन पनि। किनभने जति बेला म उनको पछि लागेर पागल भएको थिएँ त्यति बेला म जति गहिरिएर अरु कसैले सायदै हेरेको होला उनलाई। मेरा आँखाहरुले अहिले पनि उनका ती बेलाको तस्बिहरु बोकेका छन् एल्बम झैं। तर उनले भने मलाई देख्नासाथ चिन्न सकिन्न। सुनिता इन्टरभ्यु दिन जब मेरो अगाडि रहेको कुर्सीमा बसिन्, जब मैले भने मेरो नामा आकाश शर्मा हो, म यो कन्सल्टेन्सीको चिफ अनि प्रोप्राइटर पनि हुँ अनि उनले मलाई चिनिन्। एक छिन अक्मकिए पछि मुख रातो पार्दै भनिन् , चिने, अँ बल्ल चिने, तपाँई बीरगंज बस्नु हुन्थ्यो पहिले। हामी एउटै क्याम्पसमा पढ्थ्यौ, होइन? अँ मलाई याद आयो अब।

इन्टरभ्यु शुरु भयो। सुनितालाई सेक्रेटरीले गर्नु पर्ने काम सम्बन्धी केही प्रश्नहरु मैले सोधे। केही प्रश्नहरु मेरो अफिसका प्रशासकीय अधिकृतले पनि सोधे। इन्टरभ्युको क्रम टुङ्गिए पछि मैले प्रशासकीय अधिकृतलाई भने उत्तमजी, वहाँसँग मेरो पुरानो परिचय छ, हामी केही क्षण कुरा गर्छौ होला। हाम्रो कुराकानी सकिए पछि तपाँईलाई खबर गरौला, त्यसबेलासम्म तपाँई आफ्नो अफिसमा बस्नु भए हुन्छ। उत्तमजी आफ्नो कोठातिर लागे।

उत्तमजी आफ्नो कोठाम प्रवेश गरे पछि मैले सुनितालाई सोधें सुनिताजी, के छ हालखबर, के गर्नु हुन्छ आजभोलि? सनिताले भनिन् म पनि काठमाण्डौ आएको धेरै भयो, करिब पन्द्र सोर्ह वर्ष जति। एउटा छोरा छ उसैलाई पढाउन यतातिर आएको। यता आउनुको अर्को पनि उद्देश्य थियो। त्यो के भने काठमाण्डौमा जागिर सजिलैसँग पाइला भनेर।

सुनितालाई मैले फेरि भने सुनिताजी, मैले तपाँईको निजी जिन्दगीको बारेमा सोध्नु त्यति उपयुक्त त होइन तर पनि आफूलाई रोक्न सकिरहेको छैन, माफ गर्नु होला। मेरो कुरा सुनेर एकै छिन घोरिएर केही सोंचे जस्तो गरिन उनले। त्यसरी मौन भएको देखेर उनी मेरो कुरा सुन्ने मनस्थितिमा रहेको अनुमान गरे मैले । मैले भने - अनि तपाँईको श्रीमान के गर्नु हुन्छ नि, सुनिताजी। सुनिताले मुख अँध्यारो पार्दै भनिन् हामी सँगै बस्दैनौ, छुट्टिएर बसेको पनि धेरै भयो। विहे भएर करिब एक महिना जति मात्र सँगै बस्यौ हामी। त्यस पछि …………………….

सुनिताको कुरा सुनपछि मैले केही पनि बोलिन। पूर्ण रुपमा नि:शब्द भएँ म। आफैमाथि रीस उठ्यो अनि पश्चाताप पनि गरे किन उनको पतिको बारेमा सोधेको होला मैले भनेर। म नि:शब्द थिएँ र उनको मुहारतिर पनि हेर्न सकिरेको थिन।

सुनिताले फेरि भन्न आरम्भ गरिन हाम्रो प्रेम विवाह भएको थियो, २०४१ सालको अन्ततिर। ऊ मसँगै पढ्थ्यो, आई कममा नै। एउटै क्लासमा। डेरा लिएर बसेको थियो, बिर्तामा। मलाई देखेर हुरुक्क हुन्थ्यो। एउटै क्लासम हुँदा पटक पटक देखा पर्नु र बढी नजिक हुनु स्वभाविक थियो। म पनि आकृष्ट भएँ उप्रति। हाम्रो सम्बन्ध बढ्दै गयो। बढ्दै गएको सम्बन्धले प्रेमको रुप लियो। र प्रेम पछि विवाहमा परिणत भयो। तर उसको विहे गर्ने उद्देश्य फरक रहेछ, किनभने उसलाई जिवन साथी होइन, प्रेमीका चाहिएको रहेछ, त्यो पनि साथीहरुलाई यो देखाउन कि हेर म यति बहादुर छु कि आफूले जुन केटीलाई चाह्यो त्यसलाई सजिलै फकाउन सक्छु।

म केवल सुनिताका अतीतहरु सुनिरहेको थिएँ। केही बोल्न सकिरेको भने थिन्। मलाई आश्चर्य पनि लागिरहेको थियो सुनिताले किन यसरी आफ्नो बिगत मेरो सामु खुलस्त पारेको होला। त्यसरी खुलस्त पार्नुको कारण पनि अनुमान गरें मैले। सायद उनले आफ्नो दयनीय कथा सुनाएर मलाई जागिर दिने मनस्थितिमा पुर्याउन त्यसरी आफ्नो बिगत खुलस्त पारेको हुन सक्छ। म चुप लागेको देखेर सुनिताले भनिन मैले आफ्नो बोर लाग्दो कथा सुनार तपाँईको समय बरबाद गर्ये, क्यार। माफ गर्नु होला। तर आज मनमा भएका उकुस मुकुसहरु पोखेर हल्का हुन चाहन्छु।

मैले भने त्यस्तो केही पनि होइन सुनिताजी, भन्नुस। म सुन्न तयार छु। अरु उम्मेदवारहरुको इन्टरभ्यु केही ढिलो गरि लिनु पर्ला। मेरो कुराबाट उत्साहित हुँदै सुनिताले भनिन् कहिले भन्थ्यो मेरो हेटौंडामा घर छ, कहिले भन्थ्यो नारायणघाटमा। बुआको काठमाण्डौमा ब्यापार छ रे होलसेलको। विदेशी सामानको पसल छ, नया सडकमा। काठमाण्डौमा पनि घर छ रे, कार छ। पढाई सकिए पछि उसले केही पनि गर्नु पर्दैन, नया सडकको पसल हेरे पुग्छ। उसको सम्पत्तिले नै मलाई आकर्षित पारेको थियो, खासमा। मेरो त्यो बेला को बुद्धि पनि कस्तो……………………………..। न गृहस्थी नै सफल हुन सक्यो न त पढ्न नै सके। आई कम पनि पास गर्न सकिन किन त्यस्तो फट्हा, विश्वाशघातको कुरा पत्याएको हुँला मैले। कस्तो मान्छे? कहिले पनि साँचो न बोल्ने। तर एउटा विशेषता भने थियो उसमा, त्यो के भने अति झूठ कुरा पनि ज्यादै विश्वाश लाग्ने गरी भन्न सक्थ्यो। उसको भन्ने शैली यति पत्यारिलो र रोचक हुन्थ्यो कि जसले पनि पत्याउँथ्यो उसका कुराहरु, कुनै किसिमको संका उपसंका नगरेर। उसको त्येही विशेषताले गर्दा होला आफूले चाहेको कुनै पनि केटीलाई फकाउन सक्छु भनेर उसले ठूलो आत्मविश्वाशका साथ भन्न सकेको।

यति भनेर एक छिन शान्त भइन सुनिता। टेबल माथि राखिएको पानी पिइन।  पानी पिउन सकिए पछि मैले चिया खान संकेत गरे। चिया पिउन थालिन, मैले पनि चियाको कप उठाएँ।
म शान्त थिएँ। सुनिताले फेरि भनिन् हाम्रो गृहस्थी मुस्किल मुस्किलले एक वर्ष जति चल्यो। त्यस पछि अगाडि बढ्न सकेन। कसरी बढ्नु त्यस्तो मान्छेसँग, एक नम्बरको आबार, अनि चरित्रहीन पनि। २०४३ सालको शुरुदेखि छुट्टिए बस्न थाले। बो बीचमा विवेकको जन्म भयो, विवेक, मेरो छोरा। म विवेकसँग बस्छु। पुरानो बानेश्वरमा डेरा छ। छोराले पनि पढाई सक्याएर, जागिर खोज्दै छ।

मलाई केही बोलौ जस्तो लाग्यो तर बोलिन। खै किन हो बोल्न मन लागेन। म चुपचाप थिएँ, सुनिता पनि। केवल हामीले चिया खाएको ध्वनी मात्र सुनिन्थ्यो। चिया खाने क्रममा सुनिताले बेला बेलामा मेरो मुहारमा हेरेको म प्रष्ट गरी थाहा पाइरहेको थिएँ। मैले थाहा पाएको देख्दा देख्दै पनि उनले बारम्बार मेरो मुहारमा हेरेको अनुमान गरें मैले। निकै समयको शान्ति पछि सुनिताले भनिन् -४३ सालदेखि छुट्टिएर बसेदेखि खासै भेट भएको छैन। एक दुई चोटी भेट्न खोजेको थियो उसले तर त्यो भेट्ने उद्देश्य के हुन सक्छ अनुमान गरे मैले गाली गरेर पठाए। त्यस पछि उसँग भेट भएको छैन मेरो। छुट्टिएर बसेदेखि बा आमासँग बसे, बीरगंजमा नै। पछि भाइको पनि बिहे भयो, विवेकले पनि काठमाण्डौ आउने मन गर्यो, अनि आए यहाँ।

हामी दुबै चिया खाँदै थियौ। जाना जानी नै हामी दुबै ढिलो गरी चिया खाँदै थियौ, जति ढिलो गरी चिया खायौ त्यति नै बढी समयसम्म गफ गर्न पाइन्छ भन्ने उद्देश्यले। हामी दुबै शान्त थियो। मेरो मनमा के कुन्नी मैले सुनितातिर हेर्दै झ्वाट्ट प्रश्न गरे सुनिताजी, तपाँईलाई एउटा प्रश्न सोध्न मन लाग्यो, सोधौ? मेरो कुरा सुनेर सुनिताको मुखको भाव एकाएक परिवर्तन भयो। उनले मुख रातो पार्दै भनिन् सोध्नुस, न के सोध्न चाहनु हुन्छ। मैले सोधे सुनिताजी, साँच्यै भन्नुस त, म त्यति गए गुज्रेको थिएँ, म त्यस्तो गुण्डा आबारा थिएँ कि तपाँईले आफ्नो बालाई भनेर मलाई कुट्न लगाउनु पर्ने, त्यो पनि बीच बजारमा, सबैले देख्ने गरी?

मेरो प्रश्नको सुनिताले कुनै जबाफ दिनन्। उनले जबाफ दिन खोजे जस्तो पनि मलाई लागेन। मैले फेरि भने मैले त्यसतरि कुटाई खानु पर्नेको पछाडि कारण के थियो? त्यसमाथि त्यति धेरै मान्छेको अगाडि त्यति ठूलो बेइज्जति ……………………………………। हो, एउटा कारण चांहि थियो, मेलै तपाँईलाई सभ्य किसिमले प्रेम गर्नु त्यो प्रेम सभ्य किसिमले जाहेर गर्नु। मेरो भनाईमा फेरि पनि सुनिताले कुनै प्रतिक्रिया जाहेर गरिनन्। बरु चुप लागिन्। वातावरण निकै बेर शान्त रह्यो।

चिया सकिसकेको थियो। त्यैपनि किन हो चियाको कपलाई मुखसम्म पुर्याउँदै सुनिताले मतिर होइन चियाको कपतिर हेर्दै भनिन् मैले तपाँईलाई चिन्नमा गल्ति गरे। गल्ति पनि यस्तो जसलाई सच्याउन नसकिने, कपीमा गलत लेखे पछि इररेजरले मेटाउन नसकिने झै। यो गल्तीलाई पनि इररेजरले मेटाउन पाएँ झै कति राम्रो हुन्थ्यो होला। यति भनेर सुनिता चुप लागिन। तर एकै छिनको मौनता पछि फेरि भनिन् कुनै पनि कुरालाई नदेखेर पहिले देखिनै त्यसको बारेमा धारणा बनाउनु र त्यो धारणा पनि नकारात्मक हुनु, यस्तै मनोविज्ञानको सिकार भएको थिएँ म त्यति बेला। तपाँईको लगाई खबाई देखेर मलाई लाग्थ्यो यस्तो मान्छेको जिवनले मेरो लागि केही अर्थ राख्दैन।

सुनिताको कुरा सकिए पछि मैले केही सम्झे झै गरी भने सुनिताजी, गफ गफ गर्दा गर्दै धेरै समय बितेछ। अरु पनि तिन चार जनाको इन्टरभ्यु लिनु छ। तपाँईको रिजल्ट चाहिं म अहिले नै भन्न सक्छु। सुनिताले डर मिश्रित स्वरमा मतिर हेर्दै प्रश्न गरिन अनि, सर, म पास भएँ कि फेल? मैले जबाफ दिएँ पास। सक्नु हुन्छ भने भोलिदेखि नै काममा आउनु भए हुन्छ। यति भनेर म चुप लागे। सुनिताको मुहारमा सात चन्द्र उदाएको मलाई लाग्यो। उनको मुहारमा देखिएको चमकले मलाई त्येही बेलाको सुनिताको झझल्को दिइरहेको थियो जुन बेला, कत्ति भनौ, भन्न नै नसकिने गरी आकर्षित भएको थिएँ। र मैले सुनिताबाट मेरो त्यो बेलाको प्रेमको साँच्चिकै सकारात्मक जबाफ पाएको थिएँ।


अहिले भन्ने हो त यो कुरा


२०६७ साल पौष महिनाको २९ गते बिहिवार, जनवरी १३ तारिख, २०११ मा रामेश्वर जीसँग फ्रेन्कफर्ट एयरपोर्टमा मेरो लामो कुराकानी भएको थियो। हामी दुबै, संयोगले नै भनौ, काठमाडौदेखि सँगै आउँदै थियौ। त्यस्तै परेर हामी फ्रेन्कफर्ट एयरपोर्टमा दुई घण्टा जति रोकिएका थियो। हाम्रो कुराकानीको क्रममा, फ्रेन्कफर्ट एयरपोर्टमा रामेश्वर जीले आफ्नो एउटा कथा सुनाउनु भएको थियो जुन यस प्रकार छ:

म सयमलाई जोडदै छु। २०२५ र २०६७ साललाई। यी दुई समयको बीचमा सिर्सिया नदीमा जति बढी पानी बगेको होला त्यति नै बढी मेलै समयहरु देखें। मैले जिवनका आरोह र अवरोहहरु पनि उत्तिकै देखें, सिर्सिया नदीले कुनै बेला ज्यादै सफा र  अहिले दुर्गन्धित पानी आफू भित्र बगेको देखें झैं। मेरा कतिपय समयका साक्षीहरु त बीरगंजका सडकहरु पनि हुन जसले मलाइ प्रत्येक दिन देखे म त्यहाँ हुँदा। अहिले पनि तिनले मलाई चिन्ने छन् देखे भने। र भन्न सक्छन मेरा अतीतका ती कुराहरु। हुन त ती सडकहरु र म, दुबैमा धेरै परिवर्तनहरु आइसकेका छन। तर पनि तिनले मलाई बिर्सेका छैनन्। यदि ती सडकहरुले बिर्से पनि कुन्तीले भने मलाई  बिर्सिन सक्तिनन्। र बिर्सेकी पनि रहिन छन्। मलाई ज्यादै खुसी लाग्यो, उनले मलाई नबिर्सेको देखेर, अस्ति, यै पुष महिना, यै २०६७ सालमा भेट्दा। जब म यूरोपबाट नेपाल गएको थिएँ, एक महिनाको छुट्टीमा। उमेरको यो बिन्दुमा आइ पुग्दा युरोपका केही विश्वविद्यालयहरुमा अध्यापन गरेको अनुभव पनि छ मसँग। हाल म युरोमा बस्छु, यै फ्रेन्कफर्टमा।

म अहिलेको चालिस, पैंतालिस वर्ष पहिले पुग्दै छु। घटना २०२५।२६ सालतिरको हो, त्यस बेला म बीरगंजको रानीघाटमा बस्थ्ये। मेरो डेरा थियो……….. सिर्सिया नदीको लगभग छेउ भने पनि हुन्छ। सिर्सिया नदीको छेउमा डेरा भएको एक किसिमले फाइदा नै थियो। फाइदा यस हुनाले कि दस मिनेट जानका लागि सजिलो थियो, डेराबाट। डेरा बस्नेहरुलाई उपलब्ध गराइएको थिएन वा घरमै थिएन, त्यो मलाई ठीकसँग याद भएन, तर जे होस म बसेको घरमा मलाई ट्वाईलेटको सुबिधा थिएन। अरु अरु घरमा डेरा लिएर बस्ने साथीहरु पनि नदीतिर नै जान्थ्ये, दस मिनेटका लागि।

मेरो डेराको छेउमा नै थियो, कुन्तिको किराना दोकान। दोकानमा कुन्ति कमै बस्थिन शुरु शुरुमा मैले उनलाई देख्दा। तर पछि पछि अलि बढी समय बस्न थालिन। दाल चामल त मैले के किन्नु, म मेसमा खन्थ्ये तर सुपारीको एक किसिमले म अम्मली नै भएकोले सुपारी किन्न प्रत्येक दिन वा दुई तिन दिनमा एक पटक अवश्य जान्थ्ये, कुन्तीको दोकानमा। सुपारीको अम्मली म, सुपारी किन्दा किन्दा कुन्तीको पनि अम्मली भएँ। स्थिति यस्तो भयो कि उनलाई एक चोटी नहेरे के बिर्से के बिर्से हुन थाल्यो। कहिले आवश्यकता नभएको सामान किन्न  त कहिले भने केही नकिन्ने भएता पनि, त्यसै पुग्न थाले उनको दोकानमा, कुन्तीलाई हेर्न। म त्यसरी पुग्न थालेको कारण पछि उनलाई पनि बोध भयो क्यारे, मप्रति रुचि राख्न थालिन। त्यही रुचि राख्ने क्रममा उनले थाहा पाइन म डेरा लिएर बस्छु, रानीघाट मै। ठाकुर राम क्याम्पसमा आइ यस्सीमा पढ्छु। घर भने बीरगंजबाट हिंडेर जाने हो भने सात आठ घण्टाको दूरीमा छ। गाउँमा मेरो ठूलो परिवार छ। मैले भने राम्रो डिभिजनमा यस यल सी पास गरेको र पढ्नमा ज्यादै तिखो भएको हुनाले पढ्ने मौका पाएको हो। साइन्स, मैले मेरै आग्रह वा जोर जबरजस्तीमा पढ्न पाएको हो। बा आमालाई, छोरालाई पढ्न शहर पठाउनु भन्दा आफूसँग राख्न पाए हुन्थ्यो भन्ने थियो। बीरगंज बसेर गरेको पढाईको मेरो खर्च बा आमाले बडो मुस्किलले पुर्याई रहनु भएको छ।

सुपारी किन्न कुन्तीको दोकानमा गएको बेला केही क्षण रोकिएर लामो लामो गफ पनि गर्न थाले। त्यै गफको क्रममा थाहा भयो, कुन्ती खासमा उनको बालाई पालो दिन आउँदी रहिछन्। आमाले दोकानको हिसाब किताब नजान्ने भएकोले बस्थिनन्, फुर्सत भए पनि। कुन्ती दश कक्षामा पढथिन्। दोकानमा धेरै पटक उनले किताब लिएर बसेको मैले देखेको हुनाले पढाईमा उनको रुचि थियो भनी म अनुमान लगाउन सक्छु।
सांबल रंग, ठूला ठूला आँखा, रिबनले बाटेको कपाल, हँसिलो मुहार, औसत भन्दा अली बढी अग्लो कद। यी थिए कुन्तीका आकर्षणहरु। तर सबै भन्दा ठूलो गुरुत्वाकर्षण भने उनको अशल व्यवहारमा थियो। शुरु शुरूमा उनलाई हेर्दा मलाई यी कुराहरुले निकै आकर्षित गर्थ्ये। तर पछि यी कुराहरु मेरो लागि गौण भए, कुन्ती त्यतिकै पनि राम्रो लाग्न थालिन मलाई। उनको हरेक कुरा राम्रो लाग्न थाल्यो मलाई। हिँडेको, बोलेको, हेरेको जे पनि…………………… । उनीसँग त्यतिकै कुरा गर्दा पनि म रोमांचित हुन थाले। त्यस्तै उनलाई पनि भएको म अनुमान गर्न सक्छु किनभने मसँग भेट हुँदा उनको मुहारमा सात चन्द्रमा उदाए जस्तो लाग्थ्यो मलाई। त्यतिकै पनि, बिना प्रशङ्गको कुरा झिकेर कुरा गर्न थालिन म उनको दोकानमा गएको बेला। क्याम्पस, पढाई, साथीहरु आदि आदि बारे कुरा छिकेर कुरालाई लामो पार्न खोज्थिन।

कुन्तीको दोकानमा म जाने क्रम लामो समयसम्म चल्यो। म २०२८ सालमा, काठमाडौ आउनु भन्दा दुई चार दिन पहिलेसम्म पनि म कति पटक कुन्तीको दोकानमा गएँ मलाई याद छैन।

बीरगंजमा, पढाईको क्रममा बस्दा म कति पटक कुन्तीको दोकानमा गएँ त्यसको कुनै लेखा जोखा छैन। उता सिर्सिया नदीमा पानी बगेको बग्यै, म कुन्तीको दोकानमा गएको गयै……………………….। साइन्सको पढाई, फिजिक्स र केमेस्ट्रीले त्यसै पनि टाउको खान्थ्यो तर त्यो भन्दा पनि बढी टाउको खान थाल्यो मेरो र कुन्तीको केमेष्ट्रीले। स्थिति यस्तो सम्म भयो कि मैले कुन्तीलाई दिनमा एक पटक नभेटेसम्म, एक छिन कुरा नगरेसम्म खाएको नपच्ने। पढ्न बस्ता पनि, पढाई भन्दा पनि कुन्तीतिर नै ध्यान जान थाल्यो।
कुन्तीप्रतिको आकर्षणले मेरो पढाई नै बिग्रने हो कि जस्तो लाग्न थाल्यो मलाई। तर जसरी तसरी कुन्तीप्रतिको आकर्षण र आफ्नो अध्ययन, दुबैलाई सन्तुलित गरे। आई यस्सी पास पनि गरे, त्यो पनि राम्रो डिभिजनमा।
मलाई त्यो बेला कुन्ती किन त्यति राम्रो लाग्थिन अहिले म भन्न सक्तिन। कुन्ती तिमीलाई किन त्यति बिदि राम्री लागेको हो भनी कसैले मलाई प्रश्न गर्ने हो भने मैले त्यो प्रश्नको सही उत्तर दिन म त्यतिबेलाको काल खण्ड, २५।२६ सालतिरको समय, र त्यै बेलाको रानीघाट पुग्नु पर्छ होला। अनि मात्र म सही उत्तर दिन सक्छु।

मेरो उमेर र कुन्तीको उमेरको केमेष्ट्री मिलेर पनि त्यस्तो भएको हुन सक्छ। मेरो त्यो बेलाको उमेरको नजरले पनि कुन्तीलाई सर्वाधिक, सर्वाङग सुन्दर देखेको हुन सक्छ। वा यथार्थमा कुन्ती उमेरमा त्यति राम्री थिन् वा कुन्ती राम्री नै थिन् सर्वकालिक रुपमा, यी सबै मैले अनुमान लगाउने कुराहरु मात्र हुन।

२०४० सालसम्म म काठमाडौमा नै बसे र त्यो समयम बिन्दुमा आइपुग्दासम्ममा मेरो घर वा बीरगंज जाने क्रम ज्यादै कम भइसकेको थियो। पछि त, बा आमा पनि बीरगंज मै बस्न थाल्नु भएको थियो छोराहरुसँग, एउटा भाई मात्र थियो गाउँमा बस्ने। काठमाडौ बसेको बेला म जति पटक बीरगंज गएँ कुनै पनि बेला रानीघाट गएर कुन्तीको बारेमा खोज खबर गर्ने मलाई फुर्सत भएन। समय कहिले काहिँ यति कठोर भइदिन्छ कि के भन्नु …………………………….। कहिले काहिँ यसले मानिसलाई भावनाशून्य परिदिन्छ, एकदमै निर्जिव ढुङ्गा जस्तो।

२०४१ सालतिर भास्सिएँ म, पसे विदेशको दल दलमा। जहिले पनि कामै काम, जहिले पनि प्रगतिको चिन्ता, यही उपलब्धि हो विदेश बसाईको। यस बाहेक अर्को पनि सोगात छ विदेशको बसाईको। त्यो के भने इष्ट मित्र, नाता कुटुम्बसँग बिछोडिएर बस्नु। तर सजिलो पनि छ, विदेशको बसाईमा। लुगा आफैले धुनु पर्दैन, मेसिनले धुन्छ। हिँड्नु पर्दैन आफ्नै कार हुन्छ। घर, गर्मीमा चिसो र जाडोमा न्यानो हुन्छ। आज खल्तिमा पैसा छैन भनेर चिन्ता गर्नु पर्दैन, जुन बेला पनि आफूसँग क्रेडिट कार्ड हुन्छ, जुन बेला जे चाहियो किन्न सकिन्छ। पानी, बिजुली र खाना पकाउने इन्धन …………………. यी त चिन्ताका विषय नै होइन। तर यी सबै सुबिधाका लागि भने ठूलो मूल्या चुकाउनु पर्छ र त्यो मूल्य के हो भने आफ्नो परिवेश, समाज, इष्ट मित्र, परिवारबाट छुट्टिनु। नितान्त एक्लो भएर बस्नु। छुट्टिएर पनि यसरी बस्नु कि न त आफ्नो देश जान सकिन्छ न त सन्तुष्ट भएर विदेशमा बस्न नै सकिन्छ।

म विदेश बसेको पनि धेरै भयो। २०४१ देखि म विदेशको विदेशमै छु। युरोपका दुई तिनबटा देशहरुमा बसे। सिङ्गापुर पनि बसे दुई वर्ष जति। क्यानाडा त पाँच बर्ष नै बसे। दुई वर्ष जापानमा बसे भने एक वर्ष फिलिपिन्समा। अब भने धेरै यता र उता गर्ने विचार छैन। एक ठाउँ मै बस्छु स्थिर भएर। उमेर पनि ढल्किन थाल्यो।
म विदेश आएदेखि जम्मा एक चोटी नेपाल गएको थिएँ, २०५५ सालमा। त्यसपछि गएको थिन्। विदेशको लामो निरस बसाईले दिक्कदार भएर यै पुष महिनाको २ गते, यै २०६७ मा नेपाल गएको थिएँ। करीब एक महिना जति बसे त्यहाँ। आज कति गते हो, ए आज पुष २९ गते विहिवार, जनवरी महिनाको १३ तारिख हो, एक महिना नै बसेछु। यो एक महिना जतिको स्वदेशको बसाई भने मेरो लागि, मेरो जिवनमा अविस्मरणीय नै रह्यो।

खासमा म काठमाडौमा धेरै बसिन। म बीरगंजमा नै बसे लामो समयसम्म, यो दोस्रो पटक नेपाल गएको बेला। यो पटक मलाई कुन्तीको बारेमा थाहा पाउन अति नै इच्छा लाग्यो। म रानीघाट पुगें। जहाँ कुन्तीको दोकान थियो, तर त्यहाँ दोकान देखिन। दोकान रहेको ठाऊँ भने मैले चिने। त्यो ठाऊँमा धेरै बेर घोरिएर यता उता हेरे। एउटी अधबैंसे महिलालाई देखें। ती महिला मलाई कुन्ती जस्ती लागिन। मैले ती महिलाको नजिक गएर सोधें तपाँईको नाम कुन्ती हो? ती महिलाले उत्तर दिन् हो। मैले फेरि सोधें तपाँईको यहाँ दोकान थियो, धेरै वर्ष पहिले, हैन? उनले फेरि छोटो उत्तर दिन् हो।

कस्तो संयोग! मैले अनुमान गरेको महिला कुन्ती नै हुनु। किनभने लामो समयको अन्तर पछि हेर्दा चिन्न सकिँदैन, शरीरमा धेरै परिवर्तनहरु आएका हुन्छन। तर पनि मैले कुन्तीलाई झ्वाट्ट हेर्दा पनि चिने। मैले त्यसरी प्रश्न गरेकोमा उनले आश्चर्य र भय मिश्रित स्वरमा प्रश्न गरिन तपाँईले यी प्रश्नहरु किन गरेको, मसँग, के कारणले? मैले उनको मुहारमा हेर्दै हाँसेर भने मलाई चिन्नु भएन, मेरो नाम रामेश्वर हो। तपाँईको दोकानमा म आइरहन्थ्ये। विद्यार्थी थिएँ, डेरा लिएर बस्थ्ये, त्यो बेला, यै रानीघाटमा। मैले यति भने पछि उनले भनिन् ल ल अब राम्रो गरी चिने, कलेजमा, साइन्स पढ्नु हुन्थ्यो तपाँई हैन? मैले भने हो।

मैले प्रश्न गरे कुन्ती, यो रानीघाटको घर, तिम्रो माइति हो क्यारे, अनि ………घर नि? उनले भनिन् घर त मेरो इण्डियाको मोतिहारी हो, तर यतै बस्छु, माइति मै। धेरै भयो यता बसेको। मैले फेरि प्रश्न गरे बाल बच्च नि? उनले जबाफ दिन् छैनन्। मैले फेरि प्रश्न गरे श्रीमान, उतै कि ……………….? उनले भनिन् वहाँको मृत्यु भयो रेल दुर्घटनाम, उतै। वहाँको मृत्यु भएदेखि म यतै बसेको छु, माईतिमा।

मैले प्रसंग परिवर्तन गर्दे भने पहिलेको, त्यो बेलाको रानीघाट र अहिलेको रानीघाटमा कत्तिको अन्तर छ, है। उनले हाँस्दै भनिन हो। केही क्षण सोंचे जस्तो गरेर उनले भनिन साँच्यै, तपाँई एकाएक गाएब हुनु भयो, रानीघाटबाट, त्यो बेला………..। जाने बेलामा भन्नु पनि भएन म फलानो ठाऊँमा जाँदै छु भनेर। कति सोधें मैले तपाँईको बारे, यसलाई उसलाई। पछि थाहा भयो तपाँई काठमाडौ जानु भयो भनेर। काठमाडौ गएदेखि कहिले यसो यता आउनु पनि भएन। मेलै केही पनि बोलिन, जबाफमा। केवल उनको मुहारमा हेरी मात्र रहेँ।
एक छिनको मौनता पछि मैले भने कुन्ती, म तिमीसँग प्रेम गर्थ्ये, त्यो बेला। कति भनु अति नै, अति अति ……………..भन्न नै नसकिने गरी। मेरो कुरा सुनेपछि कुन्तीले हाँस्दै भनिन अहिले भन्ने हो त यो कुरा, पैंतिस, चालिस वर्ष पहिले भनेको भए हुन्थेन।


(यस संग्रहमा भएका कथाहरु 'प्रतीक दैनिक' मा प्रकाशित भइसकेका छन्।)





2 comments:

  1. समय र संवाद जुन रुपले लेखिएका छन्, त्यो गज्जब छ, किताब प्रकाशीत भई सक्यो की प्रकाशनको क्रममा हो, तपाईले छाप्ने कथा संग्रहको लागि एउटा अमूर्त पृष्ठ चित्र म बनाउँछु । i love to read your words again and again.

    ReplyDelete
  2. i wish i could understand :-( - julia

    ReplyDelete