Tuesday, August 16, 2011

कविता १ - यस्तो पनि हुन्छ



जिवनको पाइलाले जब उमेरको चुचुरो छुन्छ
आफ्नो सुकर्म र कुकर्म मान्छेले मनमनै गुन्छ


आफू बाहेक अरु सबैलाई मूर्ख देख्छ एक थरि मान्छे
होच्याउँदै अरुलाई ठान्छ सर्व श्रेष्ठ आफू अर्को थरि मान्छे


भीडमा कसैको पछि पछि लागेर जिन्दगी बिताउँछ एक थरि मान्छे
झुक्याएर सधैं भरि थुप्रैलाई आफ्नो पछि लगाउँछ अर्को थरि मान्छे


कहिले दिन काट्नु पर्छ कहिले दिन आफै कट्छ
दिन त सबै उस्तै भोगाईको अनुभूतिमा भर पर्छ


सुख सयल मात्रै नै भएको छ यो कारोबारी जिवनको सार
त्यसैले हुन थालेको छ आजभोलि भावनाको पनि व्यापार


बन काँढा भन्दा बढी दुख्छ हजूर घोचिए पछि बचन काँढा
सँग सँगै बसरे के गर्नु हजूर मन नमिले भइन्छ धेरै टाढा


मनै त नि हो हजूर के गर्नु मायाको रापले मैन झै पग्लिदिन्छ
हेर्दा हेर्दै छेक्दा छेक्दै पोखिएर चारैतिर यता उता बगिदिन्छ


देख्यौ सँधै तिमीले यो जिवनलाई केवल कारोबारी
बेचेर दया माया सबै नाफामा भयो एक अशल बेपारी


हरेक दिन म मेरो इच्छा र रहरलाई आफ्नै न्यायालयको कठघेरामा उभ्याउँछु
कुनैलाई आजिवन कारावास भने कुनैलाई मृत्युदण्डको फैसला सुनाउँछु

१०
भत्भति पोल्ने घाम पनि जाडोमा भइदिन्छ हजूर न्यानो कस्तो
मायाको रापले कठोर मन पनि मैन झै पग्लिएर हजूर बगे जस्तो

११
लाग्दछ यो जिवन मलाई एक पूर्णाङ्की नाटक यस्तो
आफ्नो आफ्नो हिस्साको अभिनय सबैले गरिरहे जस्तो

१२
डढेलोको ठुटो हुँ कुनै दिन त पलाउँला हजूर गर्नुस मेरो विश्वास
फुल्नेछु यो एकबारको जुनीमा आउला त्यो दिन मेरो लागि खास

१३
मन छछल्किएर आँखाभरि किन पोखिएको यस्तो
चर्को घामले हिँउ पग्लिएर यता उता बगे जस्तो

१४
लाग्छ कहिले कल्पना र सपना नै जिवनको सार
आशाले जिवन किन्ने हामी दिन दु:खीको व्यापार

१५
यो मन भइदिन्छ कहिले ढुङ्गा भन्दा पनि धेरै सार्हो
मुखले बोले पनि मनले बोल्न भने अति अति नै गार्हो

१६
एउटा दियोले करोडौ दियो बाल्दा घट्दैन रत्तिभर पनि बाल्ने दियोको ज्योति
ज्ञानीले जति बाँडे पनि नरित्तिने कहिले अन्नत अपार उसको ज्ञानको मोति


१७
बालापन पठाउन जति हतार थियो बुढेसकाल त्येति नै ढिलो गरि आओस भन्दै छु
आज भोलि जिवनका दिनहरुलाई किफायतसाथ खुब मोलमोलाई गरेर खर्च गर्दैछु

१८
भूल्न नसकेका ती क्षणहरुलाई ब्युँताउन खोज्दै छु
सम्झनाका ती टुक्राहरुलाई सपनाले जोड्दै छु

१९
धनका मन्त्र जोड र गुडा राख तिमी नै दिएर मलाई केवल घटाउ र भाग
सन्तोष भए बाँच्न धेरै हुन्छ दुई छाक मोटो भात माथि अलिकति फुस्रो साग

२०
इर्षा, घमण्ड र लोभमा कति पार्छौ अमूल्य जिवन यो अन्ध्यारो
प्रदिप्त पार मनलाई बालेर निस्वार्थ प्रेम र त्यागको दियालो

२१
समयलाई बरबाद गरे मैले अब यसले मलाई बरबाद गर्दैछ
निर्यदी बाढी बनेर मेरो आशा उमंगको बस्ती भित्र पस्दै छ

२२
धनको रूखमा न सन्तोष फल्छ न त फल्छ माया
न दिन्छ सितल छाय यसले दिन्छ बरु पोल्ने डाहा

२३
माटो आफु नै अनि  आफु नै बिउँ र  आफु नै हावा पानी
आफुले आफैलाई रोपेर फुलाउनु पर्ने त्यो फूल यो जिन्दगानी

२४
अगाडि बढ्दा  पांग्राको  जसरी छुट्दै जान्छ पछाडिको माटो
प्रियजन त्यसरी नै छुट्दै जान्छन जति लम्कियो स्वार्थको बाटो

२५
अलिकति ढुङ्गा अलिकति बालुबा अलिकति छड र सिमेन्टले बनेको घर हुन्छ
धेरै धेरै माया खुसी र विश्वासले भरिएको तर त्यहाँ उमंगको सिंगो शहर हुन्छ

२६
न त यस्तो लोकतन्त्र जनतन्त्र न गणतन्त्र चाहिएको छ
हामीलाई त मनलाई मनहरुसँग जोड्ने तन्त्र चाहिएको छ

२७
अहिले साँझ छ फेरि हुन्छ बिहानी
आज भोलि भन्दै बित्छ जिन्दगानी

२९
दुख लिएर आउँछ साँझ कहिले सुख लिएर कहिले बिहानी
आनन्द पीडाले भरिएको सबैसंग आफ्नो आफ्नो राम कहानी

३०
मृत्यु हरदम साथ रहे पनि भूल्ने सबैले त्यसलाई झूठो ठानी
केवल भोलिका लागि साँच्दा साँच्दै सकिने यो मिथ्या गुमानी

३१
जति जति माथि पुग्छ यो जिवन छुन उमेरको अति अग्लो चुचुरो
त्यति त्यति झन बाँच्न मन लाग्ने ठान्दै यो जिवन अझै छ अपुरो

३२
ज्ञानी दिनमा निदाउँछ उज्यालोमा सबैले देख्न सक्छन भन्दै जिवनको सुबाटो
रातमा जागा बस्छ तर रोक्न अन्घ्याँरोमा कसैले रोज्न खोजे जिवनको कुबाटो

३३
कहाँ कहाँ अल्झ्यो यो आँखा यसको आफ्नै इतिहास छ
उमेरको गोरेटोमा लेखिएका कथा यसका खास खास छ

३४
उज्यालो खोज्ने रहरमा अन्ध्यारो वस्तीमा पसेको किन
देख्न ज्योति आफूमा पहिले आफैलाई केलाएर चिन

३५
आफू फोहर भएर जसरी अरुको फोहर पखाली दिन्छ पानीले
त्यसरी नै अरूको दुख पीडा आफ्नो ठानी रोइ दिन्छ ज्ञानीले

३६
अशल जहिले पनि अशल हुन्छ जति फेरिए पनि समय सुन
महान तुछ्य हुन पुग्छ केलाउन थाले इतिहासले उसको गुन

३७
रुचाउन छाड्न छन धेरैले जब व्यवहारमा तिम्रो खोट हुन्छ
तर्किन्छन सबै जब उनीहरु संग तिमीले दिएको चोट हुन्छ

३८
विहानीको संकेत टाढा टाढा सम्म थिएन कस्तो अज्म्मरी कठोर रात थियो
अँध्यारोको साम्राज्यमा बन्दी थिएँ म चारै तिर केवल निर्दयी घातै घात थियो

३९
लाग्छ यो जिन्दगी केही होइन केवल हाम्रा ती घटनाहरुको हो अटुट सिलसिला
हिजो आज भोलि भन्दा भन्दै मुठ्ठीको बालुबा झै रित्तिने सम्पूर्ण जिवन लिला

४०
पानी भित्र आगो हुन्छ तर आगो भित्र हुँदैन कहिले पानी
सबै ज्ञानी ठूला हुन्छन्  सबै ठूला हुँदैनन् ज्ञानी

४१
देख्न सके सागर हुन्छ एक थोपा पानी भित्र
अशल मनले खोजे भेटिन्छ जहाँ पनि मित्र

४२
सफलतामा पाएको वधाई भन्दा असफलतामा पाएको सान्त्वना ठूलो हजूर
जाल झेलमा अडिएको सुखमय जिवनभन्दा अति अशल बाँच्नु भई बेकसुर

४३
धनभन्द मन ठूलो यो रित्तिदैन जति खर्च गरे पनि जिवन भर
यो सम्मपत्ति चोरी हुने न त हुन्छ कहिले कुनै डर

४४
भत्किन थाल्छ तब विस्तारै अति बलियो भए पनि विश्वासको किला
व्यवहारमा केवल आफ्नो मात्र फाइदा देख्ने सुरु हुन्छ जब सिलसिला







2 comments: