Wednesday, September 7, 2011

लघुकथा - ५ लालटेन


'त्यो मानिसले किन दिउँसै लालटेन बोकेर हिंडेको होला, हँ?' एउटाले प्रश्न गर्यो।
'खोइ किन, आज भोलि मनिसको मति उल्टो हुन थालेको छ'  सुन्नेले प्रतिक्रिया ब्यक्त गर्यो। सुन्ने र भन्ने दुवै आ-आफ्नो बाटो लागे। त्यहाँ केवल त्यो लालटेन बोक्ने मात्र बाँकी थियो। उसको हातमा झुण्डिएको लालटेन बल्दै थियो। दुई चार जना युवकहरु घुम्दै त्यहाँ आइपुगे। उनीहरुलाई पनि अचम्म लाग्यो। एउटाले सोध्यो 'दिउँसो किन लालटेन बालेको दाइ?' लालटेन बोक्नेले कुनै जवाफ दिएन। ती युवकहरु पनि आ-आफ्नो बाटो लागे। केही बेर पछि त्यस गाउँका भद्र भलादमीहरुको एउटा समूह आयो। उनीहरुलाई पनि त्यो दृश्य अनौठो लाग्यो। 'दिउँसोको समयमा लालटेन बोक्नु बौहुलठ्ठीपना भन्दा अरु के हुन सक्छ?' भद्र भलादमीहरुमध्ये एउटाको प्रतिक्रिया आयो।
लालटेन बोक्ने व्यक्तिमा भने कुनै किसिमको प्रतिक्रिया देखिएन। ऊ आघि आघि लालटेन बोक्ने व्यक्तिलाई हेर्नेहरुको भीड पछि पछि। बाटोमा उभिएकाहरु पनि भिडमा मिसिए। भीड ज्यादै ठूलो भयो। सबैको आँखामा एउटा मात्र प्रश्न देखिन्थ्यो- किन त्यो व्यक्तिले दिउँसो लालटेन बोकेको? त्यो मानिस सद्दे हो वा बौलाहा तथ्य थाहा पाउन सिङ्गो गाउँ नै व्याकुल भयो। अब भीडमा उभिएका व्यक्तिहरु बीच संघर्ष हुन थाल्यो। लालटेनको नजीक पुग्न दाउपेच र हात हालाहाल पनि भयो। हुन पनि गाउँको सम्पूर्ण जनसंख्या लालटेनको पछि पछि हिँडदा मतमतान्तर हुनु अस्वभाविक थिएन पनि। मतभेदले युद्धको रुप लिन थालेको देखेर धेरै बेरदेखि मौन रहेको लालटेन बोक्ने व्यक्ति गर्जियो 'तिमीहरु साँच्चिकै बुद्धिहीन रहेछौ। केवल लालटेन हेर्नका लागि आफूहरु बीच बिभाजन रेखा कोर्दै छौ। वैमनष्यताको बिउँ रोपदैछौ। यो युद्धको कुनै औचित्य नै छैन। आवश्यकता पनि छैन। तिमीहरु उद्देश्यहीन युद्धको तयारी गर्दैछौ। तिमीहरु अज्ञानी छौ। अनि पटमूर्ख पनि। ज्ञानीले अँध्यारोमा पनि देख्छ। ऊसँग ज्ञानको आँखा हुन्छ जुन शरीर बाहिर होइन भित्र हुन्छ। तिमीहरु अज्ञानी छौ। उज्यालोमा पनि देख्दैनौ। भित्र आँखा छैन। बाहिर छ। त्यसैले सत्रु र मित्र छुट्याउन सकिरहेका छैनौ। तिमीहरुको बाहिरी आँखाले जति देख्यो त्यसलाई र त्यतिलाई नै सत्य मान्छौ। अर्थात सत्यको सीमा निर्धारण गर्दैछौ। आँखाले नापेर। तिमीहरुको अज्ञानी अवस्थाले गर्दा नै मैले दिउँसै लालटेन बाल्नु परेको हो। अब लालटेनको प्रकाशले तिमीहरुको दृष्टि क्षमतामा वृद्धि गर्ने छ। लालटेनको उज्यालोमा हेर। यो गाँउलई हेर।' 
भीडमा आएको परिवर्तन देखेर लालटेन बोक्ने मानिस निकै प्रसन्न भयो। अनि मुसुक्क हाँस्यो। लालटेन भित्र बलिरहेको बत्तिलाई अलि माथि तान्यो। केही तेल पनि थप्यो। अनि लालटेनलाई माथि उचाल्दै करायो 'अज्ञानी हो ! अनुहारमाथि रहेको आँखालाई बन्द नै राख। मनको आँखा खोल। मैले लालटेनलाई पहिलेभन्दा निकै तेजिलो पारेको छु। हेर्ने प्रयत्न गर। राम्रो गरी। बुद्धले झै बुद्धत्व प्राप्त गर्ने छौ। हेर्ने प्रयास सम्पूर्णले गर।'
लालटेन बोक्नेले आदेश दियो 'आँखा खोल।' सबैले आँखा खोले। हजारौ मानिस एकै पटक कराए हुरुको जय होस।' भीड मद्धेको एउटाले चर्को स्वरमा भन्यो 'गुरु होइन, महान गुरु भन।' फेरि सबै जना कराएको सुनियो 'हाम्रो गुरु साँच्चिकै महान हुनुहुन्छ। वहाँ केवल एक लालटेन बोक्ने व्यक्ति मात्र होइन। हामीलाई अब ज्ञान प्राप्त भयो। हाम्रो मनको आँखा खुल्यो।' त्यो वृद्धको कुरामा सबैले सही थापे। सम्पूर्ण गाँउलेहरुले एकै स्वरमा कराए 'हाम्रो आँखा खुल्यो।'
त्यो गाँउको नाम फेरियो। गाँउको नाम लालटेन राखियो। त्यो गाँउको प्रत्येक परिवारले लालटेन राख्नु पर्ने भयो। राति होइन दिउँसो मै लालटेन बाल्न थालेको देखियो। लालटेन महान गुरुको आदेश अनसार बल्ने र निभ्ने हुन थाल्यो। महान गुरु त्यो गाउँको महान व्यक्ति मात्र होइन मुख्य व्यक्ति बनिसकेका थिए।
दिउँसै लालटेन बाल्नु मूर्खता होइन भन्ने आँट भने कसैमा भएन।

विश्वराज अधिकारी


2 comments:

  1. kasto ramro sandesh sahit ko katha ! very nice story !!

    ReplyDelete
  2. kasto ramro sandesh sahit ko katha ! very nice story !!

    ReplyDelete