Thursday, September 15, 2011

लघु कथा - ९ इनार


आज पनि हिँजोको जस्तै दृस्य छ त्यहाँ। त्यो इनारको छेउ छाउमा पानी तान्न हजारौ मनिस प्रतिस्पर्धा गरिरहेका छन्। सबैको उद्देश्य एउटै छ- कसरी बढी पानी तान्ने अनि त्यो इनारको पानी खाएर मनको इच्छा पुरा गर्ने। पानी तान्ने प्रतिस्पर्धामा धेरै घाइते भए। केही त अपाङ्ग नै भए। र दुई चार जनाले सद्गति समेत पाए। तर पानी तान्नेहरुको संख्यामा कुनै कमी आएको छैन, झन दिन प्रतिदिन वृद्धि हुँदैछ। कमी आओस् पनि कसरी? त्यो इनारको पानी खाएमा मनले जे इच्छा गरेको छ त्यो अवश्य पुग्छ भनी हल्ला फैलिएको छ। र त्यो हल्लाले निर्माण भएको विश्वासले गर्दा बालकदेखि वृद्धसम्म, सबैको शक्ति प्रदर्शन गर्ने केन्द्र बनेको छ, यो इनार।
त्यो इनारको छेउमै घर हुने नरेलाइ भने अचम्मको उकुसमुकुस भइरहेको छ। धेरै दिन देखि त्यस्तो दृस्य हेर्दै आउँदा पनि नरेलाइ केही भएको थिएन। र त्यो इनारको पानीमा चमात्कार छ भनी धेरै मानिसले लिएको विश्वासमा उसलाई भने पट्टकै विश्वास थिएन। तर किन हो, आज जस्तो बिचलित ऊ कहिले भएको थिएन। त्यो इनारको पानींमा आज उसलाइ पनि विश्वास लाग्न थालेको छ। हुन पनि उसले धेरैले भनेको सुनिसक्यो, त्यो इनारको पानीको चमात्कार। त्यो इनारको पानी खाएर केहीको भंसारमा सरुवा भए। केही मन्त्री भए। केही साहु। केही नेता। आदि आदि। धेरै वर्ष निसन्तान रहेका बाल बच्चेदार भए।
नरेले मुन्टो बटार्यो। इनारको बिपरित दिशामा मुख फर्कायो। इनार छेउको दृश्यलाइ बिर्सेर मन कतै अन्त लगाउन खोज्यो। तर उसको प्रयास सफन हुन सकेन किनभने पानी तान्न त्यो इनार छेउमा बनेको लाइन पहिले भन्दा केही व्यवस्थित भइ त्यसको लम्बाइमा अभूतपूर्व किसिमले वृद्धि भएको रहेछ।  त्यो लाइन यति लामो भएछ कि नरेले विपरित दिशामा हेर्दा पनि तिनै पानी तान्ने व्यक्तिहरुको भीड देख्यो। आँखामा कौतुहलता बोकी सबै उभिएका थिए, बढी भन्दा बढी र छिटो भन्दा छिटो पानी तान्न र मनले चिताएको इच्छा पूरा गर्न।  
नरेलाई पटक्कै विश्चास भइरहेको थिएन किनभने उसलाई शिक्षा दिने र अन्धविश्वासको बिरोध गर्न सिकाउने गुरु पनि त्यो पक्तिमा उभिएका थिए, त्यो इनारको पानी तान्न। अझै अचम्मको कुरा त के भने त्यो गाउँका बासिन्दाहरु लाई गरीबीको बिरोधमा संगठित हुन, परिश्रम गर्न,  भाग्यवादी नबनेर आफ्नो पाखुरामा विश्चास गर्न सिकाउने महान जननेता पनि त्यो पंक्तिको शोभा बनेका थिए। यस्ता दृश्यहरु माथि नरेलाइ विश्वास गर्न गार्हो परिरहेको थियो। इनारको पानी तान्न लाइनमा अरु को को उभिएका छन भनी थाहा पाउन नरे ब्यग्र भयो। आँखामा जोड दिएर हेर्न थाल्यो।
नाम चलेका, कहलिएका कवि, साहित्यकार, दार्शनिक, चिन्तक, विचारक, सन्त, महन्त, सबै त्यो इनारको अगाडि रहेको लाइनमा उभिएका थिए। सबैको आँखामा व्याकुलताको भाव झल्किन्थ्यो त्यो इनारको पानी तान्न। इनारको नजीक पुग्न सबैले आ-आफ्नो ज्ञान, आँट र विवेकको प्रयोग गरेर दाउपेच खेल्दै थिए, त्यो इनारको पानी तान्न।
नरेलाइ मन थाम्न गार्हो भयो। छाती भित्र डाहा हुन थाल्यो। ऊ भयभीत भयो एकछिन मात्र पनि लाइनमा उभिन ढिलो गर्ने हो भने त्यो इनारको पानी सकिएला भन्ने बिचार गर्दै। नरले सोंच्यो, ऊ केवल त्यो भीडको दर्शक मात्र हुनु उसको मूर्खता ठहर्ने छ। नरेले तिघ्रा दरो पार्यो। अनि  आफ्नो घरको छाना माथि पुग्यो। छानाबाट  त्यो इनारको छेउमा पुग्ने गरी हामफाल्यो । पानी लिने सुरमा त्यसरी इनारको छेउमा हामफाल्दा ऊ इनारको  छेउमा, इनार भित्र वा कता खस्ने हो भनी नरेले सोच्न सम्म सकेन, हामफाल्नु भन्दा पहिले।

विश्वराज अधिकारी


No comments:

Post a Comment