Friday, September 23, 2011

लेख - १२ के भइरहेको छ सिरियामा



यो लेख तयार पार्दासम्म सिरियामा कुनै परिवर्तन भएको छैन। त्यहाँको सरकारले प्रदर्शनकारीहरुको मागलाई पटक्कै महत्व दिएको देखिंदैन, अहिलेसम्मको स्थितिलाई हेर्दा। जनताको आबाजलाई शक्तिद्वारा दबाउने आफ्नो अघोषित उद्देश्यमा सानो परिवर्तन समेत गर्ने संकेत दिएको छैन, सिरियाको वर्तमान शासन व्यवस्थाले। बरु उल्टो  राष्ट्रपति बसार अल-असादको सरकारले जनताको आबाजलाई निर्ममता पूर्वक दबाउने आफ्नो रबैयामा वृद्धि गर्दै लगेको छ। यसै वर्षको मार्चको मध्यमा शुरू भएको सिरियाली जन असन्तोषमा करिब २६०० व्यक्तिहरुको ज्यान गइ सकेको छ। जन विद्रोहमा मारिनेहरुमा केवल प्रदर्शनकारीहरु मात्र छैनन्,  एक सयभन्दा बढी सेना र सुरक्षा कर्मचारीहरुले पनि ज्यान गुमाएका छन। मुख्य रुपमा स्वतन्त्रता, प्रजातान्त्रिक निर्वाचन र अल-असदको शासनको समाप्तिको माग गर्दै सिरियाली जनताले आरम्भ गरेको जन आन्दोलनलाई संयुक्त राष्ट्र संघ लगायत विश्वका धेरै नेताहरुले समर्थन गरिसकेका छन र यो समस्याको समाधान शान्तिपूर्ण किसिमले गर्न सिरियाली सरकारलाई दबाब पनि दिरहेका छन। अरब लिग समेतले अल-असदको शासनलाई संयमताका साथ जन असन्तोषको समाधान खोज्न र निर्ममतापूर्वक भइरहेको दमनको अन्त्य गर्न सल्लाह दिएको छ। संयुक्त राज्य अमेरिकाले सिरियामाथि आर्थिक प्रतिबन्ध (Sanctions)  लगाएको छ। यसै गरी यूरोपियन यूनियनले पनि सिरियाबाट तेल ल्याउन रोक्का गरेको र यात्रा प्रतिबन्ध समेत घोषणा गरेको छ। तर यी सबैको बाबजुत पनि सिरियाली सरकार दमन रोक्ने मनस्थितिमा देखिँदैन र प्रदर्शनकारीहरुलाई धर पकड गर्ने, यातना दिने र मार्ने कामबाट रत्तिभर पनि पछि हटेको छैन। जन आन्दोलनमा मारिनेहरुमा १२।१३ वर्ष उमेरकाहरु समेत पनि छन। सरकारको निर्देशनमा सुरक्षा बलले सव यात्रामा भाग लिनेहरु माथि समेत गोली चलाएको छ र यस क्रममा १२ वर्षका एक बालकको केही दिन पहिले मृत्यु भएको छ। ती बालक बिरोध प्रदर्शनको क्रममा मारिने एक प्रदर्शनकारीको सय यात्रामा सामेल थिए। यस्ता बिभिन्न किसिमका घटनाहरुले गर्दा सिरियाको मानवाधिकारको स्थिति विश्वमा नै दयनीय रहेको समाचारहरुमा उल्लेख गरिएको पाइन्छ। देश भित्र जारी द्वन्दको चपेटाबाट जोगिन हजारौ सिरियालीहरु लेबनान र टर्कीतिर लागेका छन र शरणार्थी बन्न बाध्य भएका छन। देश यस किसिमबाट अनिश्चितताको भूमरीमा पर्दा पनि सिरियाली सत्ताले प्रदर्शनकारीहरु संग कुनै किसिमको वार्ता थालेको सुनिएको छैन। सिरियामा के भइहरेको छ थाहा पाउन अहिले सजिलो भने छैन। संचारमाथि सरकारी नियन्त्रण छ। हुन त सरकारले सिरियाली मेडिया कानून ज्यादै उदार रहेको प्रचार गरिरहेको छ र आफ्नो यो कानून सम्पूर्ण अरब जगतमा नै उदार रहेको भन्न बाँकी राखेको छैन पनि।  यता प्रदर्शनकारीहरुले पनि सरकार बिरोधी स्वरलाई चर्को पार्दै लगेका छन। प्रदर्शनकारीहरुले अल-असाद-सरकारको बिरोध एकजुट भएर गर्न सिरियन राष्ट्रिय परिषद् (Syrian National Council) गठन गरेका छन्।
सिरियाको जन विद्रोहको प्रकृतिलाई हेर्दा जनताको आबाज केवल राजनैतिक स्वतन्त्रताको लागि मात्र उठेको जस्तो देखिंदैन। जनताका स्वरहरुबाट सरकार बिरोधी शब्द निकाल्नमा सिरियामा बढ्दो गरिबीले पनि उत्तिकै ठूलो भूमिका खेलेको छ। ज्यादै गरिब नभएता पनि धनी देश पनि होइन सिरिया। मुख्य गरी कृषि, तेल, उद्योग र पर्यटनमा आश्रित यस देशको अर्थ ब्यवस्थाले एकै पटक धेरै समस्याहरुको सामना गरिरहेको छ। र ती समस्याहरु हुन- अर्थ तन्त्रमा निजी क्षेत्रको भूमिका दयनीय हुनु, तेलको उत्पादन घट्दै जानु, बढदो भ्रष्टाचारमा नियन्त्रण हुन नसक्नु, वित्तीय र पूँजी बजार कमजोर हुनु, बढदो बेरोजगारी समस्या कम गर्न नसक्नु, जन संख्या तिब्र गतिमा बढदै जानु, आदि आदि। निजी क्षेत्रको भूमिका कम र राज्यको नियन्त्रण बढी भएकोले देशको अर्थ तन्त्रले तिब्र गतिमा विकास गर्न सकेको छैन। रोजगारीका लागि अहिले पनि धेरै सिरयालीहरु मुलुक बाहिर जाने गर्दछन र रेमिटेन्स देशका लागि महत्वपूर्ण आम्दानीको स्रोत हुन पुगेको छ। सन् २००९ मा सिरियाको कुल गार्यहस्थ उत्पादन वृद्धि दर ५ प्रतिशत थियो। कृषि र तेललाई सिरियाली अर्थ तन्त्रको आधार स्तम्भ मानिन्छ। तर कृषिले उपलब्ध कुल श्रम शक्तिको १७ प्रतिशतलाई मात्र रोजगारी दिन्छ। यसै गरी कुल गार्यहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान पनि  केवल १७.७ प्रतिशत रहेको छ। अर्कोतिर तेलको उत्पादन पनि क्रमिक रुपमा घटिरहेको छ। सन् १९९५ मा तेल उत्पादन लगभग ६ लाख ब्यारेल प्रति दिन रहेको थियो भने सन २००५ मा लगभग ४ लाख २५ हजार ब्यारेल प्रति दिन हुन पुग्यो। स्थिति यस्तै हुने हो भने, सिरिया, तेल निर्यातक देशबाट तेल आयातक देश हुन पुग्ने छ भनी विज्ञहरु अनुमान गर्दै छन। विज्ञहरुको रायमा सन् २०१२ देखि नै पनि सिरियाले तेल आयात गर्नु पर्ने स्थिति आउन सक्छ। अहिले सिरियाले प्रति दिन लगभग २ लाख ब्यारेल तेल निर्यात गर्दछ। निर्यात ब्यापारबाट आउने आम्दानीमा तेलको बिक्रीबाट आउने आम्दानीको स्थान महत्वपूर्ण रहेको छ। यस बाहेक सिरियासँग गैस भण्डार पनि छ र जसमा ८. ट्रिलिएन क्युबिक मिटर गैस रहेको अनुमान गरिएको छ। गैसको उत्पादन भने प्रति दिन २२ लाख क्युबिक मिटर रहेको छ।
सिरियाको जन संख्या (सन् २०११ को अनुमान अनुसार) २ करोड २४ लाख ५७ हजार ७६३ रहेको छ। जन संख्या वृद्धि दर २.४५ प्रतिशत छ। कुल जन संख्याको करिब ७५ प्रतिशत ३५ वर्ष मुनी का छन् भने १५ वर्ष मुनीका हरुको प्रतिशत ४० रहेको छ। प्रत्येक वर्ष करिब २ लाख व्यक्तिहरु श्रम बजारमा रोजगारीका लागि प्रवेश गर्छन तर निजी एवं सरकारी क्षेत्रले केवल करिब ५० हजारलाई मात्र रोजगारी उपलब्ध गराउन सक्छ। यस्तो हुनुमा अर्थ तन्त्रको विकास सुस्त गतिमा हुनु र निजी क्षेत्रको भूमिकालाई महत्व नदिनु हो। यु यन डि पिले उल्लेख गरे अनुसार सन् २००५ मा ३० प्रतिशत सिरियाली जनता गरिबीमा बाँचिरहेका थिए भने ११.४ प्रतिशत अति नै निर्धन थिए। विश्व अर्थ व्यवस्थाबाट  आफूलाई करिब करिब अलग थलग राखेको सिरिया सन् १९५१ मा ग्याट (GATT) बाट बाहिरिएको थियो। १५३ राष्ट्रहरु सदस्य भएको विश्व व्यापार संगठनको सिरिया सदस्य छैन। हुनत सिरियाले सदस्यता प्राप्त गर्नका लागि प्रक्रिया भने शुरु गरिसकेको छ। १४ राष्ट्रहरु- बहराइन, इजिप्ट, इराक, कुवेत, लेबनान, लिबिया, मोरक्को, ओमान, कतार, साउदी अरबिया, सुडान, सिरिया, ट्युनिसिया र संयुक्त अरब इमिरेट्स, मिलेर सन् १९९७ मा स्थापना गरिएको बृहत अरब स्वतन्त्र ब्यापार क्षेत्र ( Greater Arab Free Trade Area) को स्थापक राष्ट्रहरु मध्ये सिरिया पनि एक हो। सन् २०११ को अनुमान अनुसार सिरियाको कुल गार्यहस्थ उत्पादन  र प्रति व्यक्ति आय, क्रय शक्ति बराबर( Purchasing Power Parity) को आधारमा क्रमस: अमेरिकी डलरमा १,०५,२३८ बिलियन र २,९५८ रहेको छ।
सिरियाको राजधानी डमासक हो। यसको क्षेत्रफल १ लाख ८५ हजार १८० वर्ग किलोमिटर रहेको उल्लेख गरिएको छ। एउटा मात्र राजनैतक दल रहेको सिरियन अरब रिपब्लिक सन् १९४६ मा फ्रान्सबाट स्वतन्त्र भएको थियो। सिरियाको बढी समय लेबनानमाथि चाँसो राख्नुमा खर्च भएको छ र त्यसले पनि यो देशको आर्थिक विकासको गति सुस्त पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। सन् १९७३ मा आफूलाई औपचारिक रुपमा सेकुलर सोस्लिस्ट राष्ट्र घोषणा गर्ने सिरियामा लामो समयदेखि सत्ता माथि असद परिवारको पकड रहँदै आएको छ। वर्तमान राष्ट्रपति बसार अल-असद, सन् २००० को जुन १० मा उनका पिता हाफेज अल-असदको मृत्युको केही दिन पछि, अर्थात सन् २००० को जुलाई १० मा राष्ट्रपति निर्वाचित भएका थिए। सिरियाको एक मात्र बाथ पार्टीले उनलाई राष्ट्रपतिका लागि मनोनयन गरेको थियो। हाफेज अल-असदको सिरियाली राष्ट्रपतिको रुपमा तीन दसक शासन काललाई जोड्ने हो भने असद परिवारको सक्तामाथिको पकडको ४० वर्षभन्दा बढी हुन आउँछ। आर्थिक विकास भन्दा पनि सक्तामाथिको आफ्नो नियन्त्रण बलियो बनाउनमा निकै समय असद परिवारले खर्च गरेकोले पनि त्यहाँको आर्थिक विकासको गति सुस्त हुन गएको जानकारहरु बताउँछन्।
विश्वराज अधिकारी
२०६८।६।६, शुक्रवार (Friday, September 23, 2011) मा प्रतीक दैनिकमा प्रकाशित

No comments:

Post a Comment