Monday, September 26, 2011

बहलिया - कथा २

घर

रोगाई चौधरी पंजाबबाट फर्केपछि सबै भन्दा पहिले रामदुलारीलाई भेट्न गयो। तर ऊ अचम्म पर्यो, उसकी श्रीमती अब भूतपूर्व भइसकेकी कुरा बाटो मै दुलारचनबाट थाहा पाएर। रामदुलारीलाई भेट्ने उसको इच्छा मर्यो।
कसैले उसलाई सुनायो रामदुलारी ठिठरसंग बस्छे। डेरा रक्सौलमा छ रे
रोगाईले कुनै प्रतिक्रिया देखाएन। बरु छिटै घर पुग्न लम्क्यो।
दोस्रो पटक पुन: ऊ आश्चर्यमा पर्यो, उसको घर भत्किएर अवशेषसम्म पनि त्यहाँ बाँकी नरहेको देखेर। रोगाईको घर बीरगञ्ज हो भन्ने कुरा इतिहास बनिसकेको थियो।
रोगाईको साथी बिल्टुले उतिर हेर्दै भन्यो सरकारी जग्गामा अनत काकाले घर बनाउनु भएको थियो, अरे। अब सरकारले त्यो जग्गा कब्जामा लियो, आफ्नो कब्जामा। त्यहाँ अब पार्क बनाउने सरकारले । सबै यस्तै भन्ने गर्छन
बाबुले तेत्रो परिश्रम गरेर बनाएको र आफू हुर्केको घर अवशेषसम्म नरहने गरी भत्केकोमा ऊ आश्चर्यचकित पहिले हुनु पर्ने हो वा दु:खी छुट्याउन सकेन। केवल आफ्नो घर रहेको नाङ्गो भूमिलाई नियालेर धेरै बेरसम्म हेर्यो। त्यहाँ कामदारहरु खन्ने  र मिलाउने कार्य गर्दै थिए। रोगाईले त्यो जग्गाको बीचमा उभिएर कराउन खोज्यो जहाँ पहिले उसको घर थियो। यो जग्गा मेरो हो, बुझ्यौ तिमीहरुले उसले यसरी कराउन सकेन। उसलाई पञ्जाबमा काम गर्दाको अनुभवले सिकाइसकेको थियो- शक्तिको अगाडि कमजोरले न्याय र कानूनको कुरा गर्नु एउटा राम्रो र हृदयस्पर्शी कथा बन्न सक्छ तर त्यसको सुनुवाई भने कतै हुँदैन। कराउनुको कुनै अर्थ पनि रहँदैन।
रोगाई बीरगञ्जको छेउमा, गण्डक नहर नजिक आएर सोंच्न थाल्यो कहाँ जाने? कस कहाँ जाने? कुन गाउँमा जाने? निष्ठुरी, निर्दयी र हृदयहीन यो शहर। आफ्नी श्रीमतीले नै धोका दिएपछि अरुको कुरा के गर्ने? कस्ती निष्ठुरी, मतिहीन। उसैको खुसीका लागि पञ्जाब गएँ धन कमाउन। संसार केवल स्वार्थमा अडेको रहेछ। त्यो पनि व्यक्तिगत। अब यो शहरमा कसरी बस्ने र किन बस्ने? घर नै नभएपछि जहाँ गए पनि त भयो नि। जहाँ बस्यो त्यो नै घर हुन्छ। घर भनेको केवल बसाइ हो। यो गाउँ, त्यो गाउँ वा यो शहर, त्यो शहर जहाँ भए पनि, जहाँ बसे पनि
ऊ गण्डक नहरबाट पूर्वतिरको बाटोतिर लम्कन खोज्यो। तर किन हो सकेन। उसलाई सिङ्गो बीरगञ्ज शहरले नै बोलाएको जस्तो लाग्यो। कुनै अज्ञात शक्तिले उसलाई बीरगञ्जतिर तान्दै गरेको महसूस भयो।
रोगाई बीरगञ्जको एउटा रिक्सा गैरेजमा पुग्यो र उसले भाडामा चलाउन भनी एउटा रिक्सा लियो। अब उसको रिक्साले बीरगञ्जका सडकहरुलाई स्पर्श गर्न थाल्यो।
एक दिन उसको साथी भिखरले उसलाई देख्यो अनि सोध्यो रोगाई तिमी त यो शहरमा बस्दिन भनी हिडेका थियौ नि। अहिले देख्दै छु, रिक्सा चलाउँदै छौ यहाँ, यै बीरगंजमा नै
अर्को ठाउँमा जाने भनी गरेको बिचार मैले त्यागे छो छोटो उत्तर दिएर रोगाई यात्रुको आग्रहमा यात्रुको गन्तव्यस्थानतिर लाग्यो। भिखरदेखि टाढा पुगिसकेको भएता पनि रोगाईको मनले भिखरलाई यस्तो जबाफ दिन खोज्यो यो बीरगञ्ज शहर नै मेरो घर हो। यहाँका सडकहरु मेरो घरका अंश हुन्। यहाँका अन्य घरहरु पनि मेरो घरका अंश हुन्। यहाँका रुखहरु, खोलानालाहरु, मन्दिरहरु आदि सबै मेरो घरका अंश हुन्। तिमी समेत पनि मेरो घरका अंश हो। जगन, मङ्गल, पलट, हिरामन,परीक्षण आदि सबै मेरो घरका अंश हुन। कहाँसम्म भने मैले उधारो खाएर ढिलोगरी पैसा भुक्तान गर्दा मलाई बेइज्जत गर्ने दोकान मालिक गुप्ताजी समेत पनि मेरो घरको अंश हुन्। अनि मेरी श्रीमतीलाई भगाउने ठिठर पनि मेरो घरको अंश हो। यहाँका चउर, पाठशाला, धर्मशाला आदि सबै मेरो घरका अंश हुन्। मेरो घरको अस्तित्व ती सम्पू्र्ण कुराहरुमा विभाजित भएर ती कुराहरुमा विद्यमान छ। त्यस्तो मलाई लाग्न थाल्यो, किन हो? यी कुराहरुलाई हेर्दा किन हो यिनीहरुले आ-आफ्नै किसिमले मेरो घरको अस्तित्वलाई झल्क्याए जस्तो लाग्छ। यति मात्र होइन,  यो शहरको अति ब्यस्त बजार, मिनाबजारमा आएका क्रेता तथा बिक्रेताहरुमा पनि म आफ्नो घरको अंश देख्छु। तिनीहरुले पनि मेरो घरको अंश बोकेको जस्तो लाग्छ। त्यसैले यी सबैको संमिश्रण नै मेरो घर हो। यस्तो मलाई यहाँ आएदेखि लाग्न थाल्यो। मेरो अन्तरमनले पनि यो तथ्यलाई अस्वीकार गर्न सकेको छैन्। अनि मेरो घर यहाँ हुँदा हुँदै पनि कसरी मैले भन्नु मेरो घर बीरगञ्जमा छैन, होइन। म यहाँ त्यसकारण बस्दै छु। घर भनेको केवल काठ, खर तथा माटोको योग  र तिनीहरुबाट बनेको कुनै आकार मात्र होइन रहेछ। घर एक भावना हो। एक अनुभूति हो। एक स्मृति र मिठो अतीत पनि । साथै एक सामाजिक वातावरण पनि। मेरो भौतिक अस्तित्व भएको घर पो छैन यो शहरमा, तर मेरो भावनाको भण्डार छ, यहाँ। मेरो बितेको बाल्यकाल छ यो शहरमा। मेरो युवाकाल छ यो शहरमा। यो शहरमा मेरो आमाबाबुको इतिहास छ। अनि मेरो शैशवकाल। मेरो वर्तमानले यो शहरको सुखद स्पर्श गर्दैछ। कति कोमल र न्यानो स्पर्श। अर्को शहरमा त्यो स्पर्श मैले करोडौ रुपैया खर्च गरेर पनि खरीद गर्न पाउँदिन। त्यसैले केहि नभए पनि सबै  थोक छ मेरो यो शहरमा । यो सिङ्गो शहर नै मेरो घर हो
रोगाईलाई कसैले तिम्रो घर कहाँ हो दाई भनी सोद्धा उसले अब निर्धक्कसाथ  भन्ने गर्छ मेरो घर बीरगञ्ज हो। उसको घर बीरगञ्जमा नभएता पनि उसले मेरो घर बीरगञ्ज हो भनेकोमा उसलाई   आफूले ठीक या बेठीक के भने छुट्याउन केही गर्हो चाहिँ परेको छ। तर के कुरामा ऊ स्पष्ट छ भने  उसको घर बीरगञ्ज नै हो । मेरो घर बीरगंज हो भन्न रोगाईसँग भावनात्मक अधिकार छ र त्यो अधिकार सार्भौम छ र सुरक्षित छ। यस्तो रोगाईलाई लागिरहेको छ।


विश्वराज अधिकारी

No comments:

Post a Comment