Friday, September 30, 2011

लेख - १३ यमनको आन्दोलनले कुन दिशा लिने हो



इजिप्टको आन्दोलनबाट प्रभावित भएर फेब्रुअरी ११, २०११ मा यमनी जनताद्वारा त्यहाँको वर्तमान सरकारको विरुद्धमा शुरु गरिएको जन आन्दोलन कुन दिशा तर्फ उन्मुख हुने हो भन्न सजिलो छैन। बरु उल्टो ३३ वर्षसम्म सत्तामा रहेका यमनका राष्ट्रपति अलि अबदुल्लाह सालेहले त्यहाँ भइ रहेको जन बिद्रोहलाई आतंकवादीहरुको संगठित आक्रमण हो, ती आतंकवादीहरु हिँसा मच्याएर राज्य सक्ति आफ्नो हातमा लिन खोजि रहेका छन र देश भित्र अस्थिरता पैदा गरेर मुलुकको सम्पत्ति लुटन खोज्दै छन्  भनी आरोप लगाई रहेका छन। तीन महिना साउदी अरबियामा इलाज गराएर स्वदेश फर्केका राष्ट्रपति सालेह सत्ता हस्तान्तरण गर्न इच्छुक देखिएका छैनन्। कतिपयले त सालेह यमन फर्किदैनन् भनि अडकल समेत गरेका थिए।
अर्कोतिर, भष्टाचार र गरिबीको कारण बनेको सालेह - शासन व्यवस्था जसरी पनि ढालेर नै छाड्ने उद्देश्य बोकेर आन्दोलित यमनी जनता राष्ट्रपति सलेहलाई सत्तामा देख्न चाहि रहेका छैनन् र कुनै  नयाँ किसिमको बाहाना झिकेर सालेहले सत्तामाथिको आफ्नो पकड झनै बलियो पार्ने हुन कि भनी त्रसित छन। हुन त यमनमा सत्ता हस्तान्तरण त्यति सजिलो छैन पनि। सालेहका पछाडि त्यस्ता धेरै स्वार्थी तत्वहरु छन जो सालेहलाई सत्तामा टिकाई राखेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन। सालेह बलियो भएमा आफूहरु पनि बलियो रहि रहने कुरामा उनीहरु निश्चित छन्। यमनमा बढदो गरिबी र भष्टाचार त्यस्ता स्वार्थी तत्वहरुका लागि गौण र सक्ति र साधन माथि आफ्नो हाली मुहाली प्रधान हुन पुगेको छ। राष्ट्रपति सालेहको पछाडि त्यस्ताहरुको जमात ठूलो नै छ। त्यस्ता तत्वहरुको सहयोगले गर्दा नै सलेह लामो समयसम्म सत्तामा रहन सफल भएका पनि हुन। राष्ट्रपति सालेह पनि कम महत्वाकांक्षी छैनन्, सक्ति आफ्नो हातमा लिने सन्दर्भमा। आफ्ना धेरै बिरोधीहरुको सफाया गरेको यिनीमाथि आरोप समेत छ। सेनाबाट राजनीतिमा प्रवेश गरेका सालेह १७ जुलाई १९७८ मा यमन अरब रिपब्लिकका राष्ट्रपति, चिप अफ स्टाफ र कमान्डर इन चिफ अफ द आर्मड फोर्स समेत भएका थिए र त्यस बेलादेखि निरन्तर सक्तिसाली रहँदै आएका छन। सन् १९९० मा उत्तरी यमन र दक्षिणी यमनको एकीकरण भए पछि पनि जोडिएको यमनको राष्ट्रपति पनि सालेह नै भए। लामो समय सम्म सत्ताको सुख प्रात्त गरेका अति महत्वाकांक्षी सालेह सजिलै सत्ता छाड्न मनस्थितिमा छैनन। मार्च २१, १९४२ मा जन्मेका सालेहले सोर्ह वर्षको उमेरमा नोर्थ यमनी आर्मड फोर्सेसमा प्रवेश गरेका थिए। हाई स्कूलसम्म पनि पास नगरेका यिनले सक्ति र कुटनीति दुबैको बलमा आफूलाई यमन - राजनीतिको केन्द्र बिन्दुमा राख्न सफल भए। तर अब भने आउने दिनहरु सालेहका लागि सजिलो भने देखिंदैन। अरब जगतमा फैलिएको प्रजातान्त्रिक चेतनाको लहर इजिप्ट लिबिया हुँदै यमनसम्म पुगेको छ र त्यो लहरलाई रोक्न सालेहलाई निकै गार्हो हुने देखिएको छ। बरु अन्तर्राष्ट्रिय जगतको चाँसो र चिन्ता के छ भने सालेहको सत्ता बहिर्गमन पछि बन्ने सरकारमा प्रजातान्त्रिक शक्तिको पकड बलियो हुने छ वा अप्रजातान्त्रिक शक्तिको।
यमनमा प्रजातान्त्रिक परिपाटीमा चुनाब गराउन, भष्ट्राचार नियन्त्रण गर्न तथा सालेहको शासन व्यवस्थाको अन्त्य गर्न भनी राजधानी सानाको चेन्ज स्क्वाएरलाई मुख्य थलो बनाएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले सरकार बिरोधी आबाजलाई बलियो पार्दे लगेका मात्र छैनन् साथै अन्तर्राष्ट्रिय समुदायको समर्थन समेत प्राप्त गरेका छन।  संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्र संघ, युरोपियन युनियन लगाएत अन्य राष्टहरुले समेत यमनी सरकारलाई हिंसा रोक्न भनेका छन।  र यसै गरी  द्वन्दरत दुवै पक्षहरुलाई शक्ति हस्तान्तरण शान्तिपूर्वक गर्न सल्लाह पनि दिएका छन। यस वर्षको अन्तमा राष्ट्रपतिको निर्वाचन गराउन समेत राष्ट्रपति सालेहलाई दवाव दिरहेका छन। गल्फ कोअपरेसन काउन्सिल समेतले पनि यमनको सरकारलाई सान्तिपूर्ण तबरले सत्ता हस्तान्तरण गर्न आव्हान गरिसकेको छ।
यमनमा जारी रहेको आठ महिनादेखिको संघर्षमा २०० भन्दा बढी व्यक्तिहरुको ज्यान गइ सकेको छ भने एक हजार भन्दा बढी व्यक्तिहरु घाइते भएका छन।  
अरबियन पेनिनसुलामा अवस्थित यो देश गरिबी र भष्ट्राचार दुबैको चपेटामा परेको छ। अरब- विश्वका ज्यादै कम विकास गरेका तथा अति निर्धन राष्ट्रहरु मध्ये यमन पनि एक हो। एकतिर जन संख्या वृद्धि तिब्र गतिमा भइ रहेको छ भने अर्को तिर रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्नहरुको संख्यामा पनि उत्तिकै वृद्धि भइ रहेको छ। परिणाम स्वरुप बेरोजगारहरुको संख्यामा व्यापक वृद्धि भइ रहेको छ। मध्य-पूर्वमा रहेको यो देश तुलनात्मक रुपमा मध्य-पूर्वका अन्य देशहरु भन्दा आर्थिक रुपमा कमजोर छ, स्रोत र साधनको हिसाबले। र त्यस्तो हुनुको मुख्य कारण यमनसँग तेल भण्डार कम हुनु हो। अर्कोतिर यस देसको अर्थ व्यवस्था मुख्य गरी तेलमा नै आश्रित छ। यमनको तेल भण्डार सन् २०१७ सम्ममा प्रयोगहीन हुनेछ भनी विज्ञहरुले अनुमान गरि रहेका छन। विज्ञहरुको बिचारमा तेल भण्डार सकिए पछि यमनको अर्थ तन्त्रले ठूलो चुनौतिको सामना गर्नु पर्ने स्थिति आउन सक्छ। हुन त यमनमा प्राकृतिक ग्यास भण्डार पनि छ।
यमनको आर्थिक विकासको गतिलाई ज्यादै सुस्त पार्नमा यस देशमा व्याप्त रहेको भ्रष्ट्राचारलाई मुख्य जिम्मेबार मान्ने गरिन्छ। भष्ट्राचार ठूलो स्तरमा रहेकोले विदेशी लगानीकर्ताहरु यमनमा आएर लगानी गर्न हिचकिचाई रहेका छन।
५ लाख ५५ हजार वर्ग किलोमिटरमा फैलिएको यमन क्षेत्रफलको आधारमा विश्वको ५० औ ठूलो देश हो। सन् २००९ को अनुमान अनुसार यहाँको जन संख्या २ करोड ३५ लाख ८० हजार रहेको थियो। सन् २००९ कै अनुमान अनुसार कुल गार्यहस्थ उत्पादन र प्रति व्यक्ति आय, क्रय शक्ति बराबर (purchasing power parity) को आधारमा, अमेरिकी डलरमा क्रमश: ५८ हजार २१८ मिलियन र २ हजार ४५७ रहेको थियो। यमन अरबियन पेनिनसुलाको दक्षिण पक्षिम र दक्षिणको पुछारमा पर्दछ। यसको उत्तरमा साउदी अरबिया, पश्चिममा  लाल सागर अनि पूर्वमा ओमान पर्दछ।
समाचारहरुमा उल्लेख भए अनुसार यमनमा जारी संघर्षमा पूर्ण प्रजातन्त्र र निष्पक्ष चुनावको माग गर्ने व्यक्तिहरुको मात्र सहभागिता छैन। यो संघर्षमा त्यस्ता व्यक्ति र समूहहरु पनि संलग्न छन जो सालेहको सरकारको पतन गराएर आफूहरु शक्तिसाली हुन खोजि रहेका छन, सरकारमा जाने प्रयास गरि रहेका छन। र त्यस्ता महत्वाकांक्षीहरुले यो जन आन्दोलनको उपयोग गरि रहेका छन। 
यमनको राजनीतिलाई सामान्य जनताको अभिमतले भन्दा यमन भित्र छरिएर रहेका पृथक पृथक शक्ति केन्द्रहरुले बढी प्रभावित गर्ने गर्दछ। सालेह-परिवार- र खास गरी सालेहका छोरा अहमद अलि अबदुल्लाह सालेह, सौतेनी भाई अलि सालेह अल-अहमर र भतिजाहरु तारिक, याहया र अमारले यमनको राजनीतिलाई प्रभावित गर्ने शक्ति राख्छन। यसै गरी ट्राइबल कनफेडेरेसनका प्रमुख शेष सादिक अल-अहमर पनि केही रुपमा शक्तिसाली छन। तर बढी शक्तिसाली भने व्यापारी हमिद अल-अहमर छन र उनीमाथि राष्ट्रपति सालेहको विरुद्धमा जनतालाई भडकाएको र प्रदर्शनकारीहरुलाई आर्थिक र भौतिक सहयोग समेत गरेको आरोप छ। हमिदले लगातार राष्ट्रपति सालेहको राजिनामाको माग गर्दै आएका छन। जन प्रदर्शनको समयमा हमिदले प्रदर्शनकारीहरुलाई संचार सेवा उपलब्ध गराएको सरकारी आरोप छ। राष्ट्रपति सालेहको गभर्निङ्ग पिपुल्स काउन्सिलबाट राजिनामा दिएका शेष हुसेन बिन अबदुल्लाह अल-अहमर र अर्का भूतपूर्व उप सभामुख हिमियारलाई पनि शक्तिसाली मान्ने गरिन्छ। यमनको राजनीतिमा अर्का शक्तिसाली व्यक्ति हुन जेनेरल अलि मोहसेन अल-अहमर।
यमनको वर्तमान द्वन्दलाई सम्बोधन गर्न राष्ट्रपति सालेहको राजिनामा र वर्तमान सरकारको बर्खास्तगी मात्र पर्याप्त देखिँदैन। महत्वपूर्ण कुरा, यमनका पृथक पृथक उद्देश्य बोकेका राजनैतिक शक्तिहरुले देश विकासका लागि कसरी मिलेर कार्य गर्ने हुन भन्ने हो। र वर्तमान चाँसो र चिंता पनि यही नै हो, अन्तर्राष्ट्रिय समुदायको।
यमनमा इस्लाम धर्म मान्नेरहरु संख्या कुल जन संख्याको ९८ प्रतिशत छ जसमा सुन्नीहरुको संख्या ५३ प्रतिशत र शियाहरुको संख्या ४५ प्रतिशत रहेको छ। २ प्रतिशत जनता हिन्दु, क्रिस्चियन वा जुडाएज्म धर्म मान्नेहरु छन।
यमनको एकीकरण हुनु भन्दा पहिलेको कुरा गर्दा, उत्तरी यमन नोभेम्बर १, १९१८ मा ओटोमन सामराज्य र  दक्षिणी यमन नोभेम्बर ३०, १९६७ मा संयुक्त अधिराज्यको उपनिवेसबाट स्वतन्त्र भएको थियो।


विश्वराज अधिकारी


प्रतीक दैनिकमा प्रकाशित, Friday, September 30, 2011 (२०६८।६।१३)


http://www.box.net/index.php?rm=box_download_shared_file&shared_name=i5j316bflh&file_id=f_954957203&rss=1

No comments:

Post a Comment