Monday, October 24, 2011

Murkha Jagana - Story 6 - Bahalia



मूर्ख जगना 

त्यो गाउँको सबैभन्दा ठूलो मूर्ख को हो भनी कसैले पनि सोधेमा बालक-बृद्ध जो सुकैले होस् सजिलैसँग भन्ने गर्दथ्यो जगना। जगनाले त्यो गाउँको अब्बल दर्जाको मूर्खको उपाधि पाएको थियो।
केहीले राम्रो गरी बोल्न नजानेकोमा उसलाई मूर्ख भनेका थिए भने केहिले सँधै मैलो लगाएको र फोहरी भइ बसेकोमा। जसले जे काम लगाइदिए पनि केही नबोली गर्ने हुनाले उसलाई धेरैले बेरोजगारको संज्ञा समेत दिएका थिए।
केहीले उसकी श्रीमती उसँग बसिन् र बिहे गरेर ल्याएको एक महिना मै भागी भन्ने कुरालाई आधार बनाएर, मूर्ख मात्र होइन नामर्द समेत भनेका थिए, जगनालाई।
दिनभरि अरु कुनै काम नगरी केवल माछा मारेर हिँड्ने गरेको हुनाले पनि केहीको नजरमा ऊ मूर्ख बनेको थियो।
यसरी सबैसँग आ-आफ्नो किसिमको तर्क थियो जगनालाई मूर्ख भन्नका लागि।
अन्य कुराहरुमा गाउँका मानिसमा मत भिन्नता भएता पनि उसलाई मूर्ख भन्नमा भने मतैक्य थियो। मत भिन्नता पटक्कै थिएन।
गाउँका सबै मानिसको नजरमा ऊ मूर्ख भन्दा बढी केही होइन भन्ने कुरा जगनालाई पनि राम्रो गरी थाहा थियो। कहिले काँहि कुनै कुरामा चर्को विवाद चल्दा आफ्नो तर्क कमजोर भएको थाहा पाएर जगनाले स्वभाविक ढङ्गमा भन्ने गर्दथ्यो म जस्तो मूर्खले यति  गहिरो, गंभिर र महत्वपूर्ण कुरा कसरी थाहा पाउने?’ र यसरी उसले सहज किसिमबाट आफ्नो हार स्वीकार गरेपछि विवादको अन्त्य हुन्थ्यो। विवादमा विजय प्राप्त गर्नेहरुले आफूलाई आफैले जान्ने, बुझ्ने मात्र होइन, विद्वान समेत पनि घोषणा गर्दथे अनि प्रफुल्लित हुन्थ्ये।
एक दिनको घटना हो माछा मार्न निस्केको जगना रित्तो हात फर्क्यो। चैत वैशाषको तालु पोल्ने चर्को घामले गर्दा खोला र पोखरीहरु रित्तिन थालेका थिए। पानी नै नभएपछि कहाँको माछा र के मार्नु?  दखिनवारी सरेह (दक्षिणतिरका खेतहरु), जङ्गलतर, डवरा, लौकट्टी चारैतिर घुम्यो तर कतै माछा फेला पार्न सकेन उसले। दिउँसो भरि भोक्यै बस्यो। राती पनि पेटभरि खान पाएन। हिजो भुटेको मकैको दुइ मुठ्ठी ठेटना बाँकी थियो राती त्यै मात्र खाएर छाक टार्यो। छिमेकी बिल्टु बनिया (पसलबाला) को दोकानबाट एक पाउ चामल उधारोमा ल्याएर पकाउन सक्थ्यो तर त्यस्तो गरेन उसले। उसको स्वाभिमानले रोक्यो, थप उधारो माग्न। ऊ स्वाभिमानी कति थियो भने नभएको बेलामा बरु भोकै बस्दथ्यो तर कसै कहाँ माग्न भने जाँदैन्थ्यो। यो कारणले गर्दा पनि गाउँका मानिस उसलाई मूर्ख जगना भन्ने गर्दथ्ये। उसको काकाको छोरा बिगनाको आर्थिक हैसियत जगनाको जस्तै भएता पनि भोकै बस्नु पर्ने दिन कहिले देख्नु परेन उसले। बरु सार्है चतुर भएको हुनाले जिम्दार मालिकको हबेलीमा दोस्रो दर्जाको जिरतिया थियो।
एक दिनको कुरा हो, जिम्दार मालिकको बैठकमा बीसौ जना बसेर निरर्थक कुरालई सार्थक बनाउन बहस् गरिरहेका थिए। बेर्हिको पटरीको एउटा छेउमा बसेर जगना पनि त्यहाँ चलेको तर्क वितर्क सुन्नमा तल्लिन थियो। कुराकानीको क्रममा भिखरले जगनालाई हेर्यो अनि ज्यादै खुसी भयो। भिखर जगनाको खोजीमा नै थियो किनभने उसको बहादुरीको प्रमाणको लागि साक्षीको रुपमा पेश गर्नु पर्ने व्यक्ति जगना वाहेक अरु कोही पनि उपयुक्त थिएन, भन्ने यथार्थ भिखरलाई भलिभाँति थाहा थियो। भिखरले जगनातिर हेर्दै भन्यो जगना तेरी स्वास्नी त हिँडी है? बिहे भएको एक महिना मै उढरी (पोइल गई)? तँ महान् लाछी होस्। म जस्तो हुनु पर्छ। मैले पल्लो गाउँको हटवेको स्वास्नीलाई भगाएर ल्याएको छु।
एकपटक जगना फेरि निर्विवाद रुपमा पटमूर्ख भएको प्रमाणित भयो। उता भिखरले शिषर पुरुषको दर्जा पायो। उपस्थित सबै व्यक्तिहरुले आश्चर्य मिस्रित नजरले भिखरलाई धेरै बेरसम्म हेरे। उसको बहादुरीमा इर्षा पनि गरे।
जगना बस्ने टोलमा एउटा मात्र इनार थियो। टोलभरिका मानिस तथा पशु सम्मका लागि खाने पानीको स्रोत त्यही एउटा साझा इनार थियो। सबैको पानीको आवश्यकता पूर्ति गर्ने त्यो इनार भेटघाट गर्ने सार्वजनिक थलो मात्र थिएन,  बेला बेलामा झगडा गर्ने उपयुक्त स्थानको रुपमा पनि स्थापित हुन पुगेको थियो।
एक दिन, एउटी महिला काखमा शिशु लिएर माटाको गाग्रीमा पानी लिन त्यो इनारमा आइन। जगना इनारको एउटा छेउमा बसेर दतुवनले दाँत माज्दै थियो। ती महिला इनारबाट डोलले पानी तान्न तल्लिन भइ रहँदा उनको काखे बालक कुन बेला त्यो इनारको डिलमा पुग्यो थाहा पाउन सकिनन् उनले। छोरा डिलबाट इनारमा पस्न खोजेको दृश्य देख्नासाथ ती महिला ज्यादै भयभीत हुँदै छोरालाई हातले रोक्न खोजिन, तर अति नै अत्तालिएर। अति नै अत्तालिएको हुनाले उनको खुट्टा चिप्लिएर शरीर असन्तुलित हुन पुग्यो। शरीर असन्तुलित भएको अवस्थामा ती महिलाले आफ्नो छोरालाई इनारको डिलबाट हटाउन खोज्दा  उनको हातले प्रहार भएर उल्टो उनको छोरा इनार भित्र खस्न पुग्यो। ती महिला अर्ध बेहोसीको अवस्थामा गुहार गुहार  भन्दै रुन थालिन्। छोराको दद्धार गर्न इनारमा हाम फाल्न पनि खोजिन्, तर त्यहाँ भेला भएका मानिसहरुले त्यस्तो गर्न दिएनन् उनलाई।
इनारको छेउमा मानिस थुप्रिन क्रम शुरु भयो तर केवल रमितेको रुपमा। त्यो बालकलाई कसरी इनारबाट बाहिर झिक्न सकिन्छ भन्ने विषयमा केवल तर्क बितर्क हुन थाल्यो कोही इनार भित्र पसेर उद्दार गर्नुको साटो।
एउटा बृद्ध बोल्यो यो इनार त सार्है गहिरो छ। चार मनुष भन्दा के कम होला यसको गहिराई। कसरी पस्ने यो भित्र? हामी त बृद्ध छौ। शरीरमा शक्ति पनि त्यति छैन। कुनै जवान व्यक्तिले प्रयास गर्नु पर्छ।’
त्यो बृद्ध व्यक्तिको कुरा सुनेर एक युवकले उत्तेजित स्वरमा जवाफ दियो यो इनार त भुताहा छ। भित्र पसेपछि इनार भित्रको भूतले समातेर मान्छेलाई बाहिर आउन दिदैन
पहिले यो इनारमा एउटा ठूलो बाँस हाल, विद्यार्थीहरु हो, तिमीहरु पसेर झिक्नु पर्छ,  डुबेको बालकलाई, कसैलाई कसरी उद्दार गर्ने भन्ने तालिम पनि हुन सक्छ यो अभ्यास तिमीहरुका लागि।
ती शिक्षकले दिएका त्यो आदेशको पालना हुन थालेको देखेर त्यहाँ उपस्थित एक भूतपूर्व मुखिया बौलाहा जस्तो भएर चिच्याए किन विद्यार्थीहरु यो इनार भित्र पस्ने? यो गाउँको चौकिदारलाई बोलाउनु पर्छ। ऊ नै पस्छ, यो इनारमा। चौकिदारले तलब केका लागि खाएको हो? थाहा छैन तिमीहरुलाई, यस्तै कामका लागि त उसले तलब पाउने हो नि। इनार भित्र पस्न सुरसार कस्ने विद्यार्थीहरु मध्ये एउटा विद्यार्थी भूतपूर्व मुखियाका छोरा थियो।
इनारको छेउमा केवल वादविवाद तर्क वितर्क र एक किसिमले भन्ने हो भने वाकयुद्ध मात्र चल्यो, केवल कसरी उद्दार गर्ने बारे। उद्दार गर्ने ठूला ठूला योजनाहरु पनि बने, तर केवल कुरामा मात्र सीमित भए, व्यवहारमा कार्यान्वयन नहुने गरी। इनार भित्र कोही पसेन।
अचम्म भयो। सबै मानिस हेर्या हेर्यै भए, आश्चर्य चकित भएर। जगना हत्तारिँदै दौडिएर आयो हातमा लामो मोटो नरियलको डोरी लिएर। इनारको छेउमा रहेको एउटा रुखमा डोरीको एका तिरको भागले  बलियो गरी बाँध्यो अनि त्येही डोरीको अर्को भाग समातेर ऊ इनार भित्र पस्यो। सबै मानिस अत्तालिएर जगनालाई हेर्दै थिए। इनार भित्र पसेर जगनाले डुबेको त्यो बालकलाई काँधमा राख्यो अनि पानी बाहिर आयो। अघिदेखि तर्क वितर्क गर्ने व्यक्तिहरुमध्ये कसैले एउटा ठूलो बाँस इनारमा खसालेर र भन्यो ल, जगना, अब बाहिर आइज। मैले हालेको बाँसले गर्दा तँलाई बाहिर आउन सजिलो हुनेछ।’ उसले अझै थप्यो ‘मैले यो बाँस हालेको हुनाले जगना सजिलै आउन सक्छ। यो बाँस नहालेको भए जगना इनार बाहिर आउन असम्भव थियो। मेरो आइडियाले गर्दा नै यो बच्चा अब बाहिर आउने छ। यो बच्चाको ज्यान जोगिने छ।
जगना इनार बाहिर आयो, डुबेको बालकलाई काँधमा राखेर। उसको मुहारमा गर्वको ज्योति होइन बरु सन्तुष्टिको भाव फैलिएको थियो। यो पटक पनि उसले आफू मूर्ख बनेको हो कि भन्ने अनुमान गरी उपस्थित व्यक्तिहरुको मुखतिर हेर्दै भन्यो के गर्नु एउटा बालक मर्न थालेको दृश्य देख्न सकिन, मेरो मन रोयो। उसलाई बचाउन झ्वाट्ट इनारमा पसी हाले, अगाडि पछाडि केही नसोँची। म मान्छे नै मूर्ख, धेरै कुरा नसोँचेर नै गर्छु।
उपस्थित सबैले उसको कुरा ध्यानपूर्वक सुने तर उसलाई, जगना तँ मूर्ख होस भन्ने हिम्मत भने कसैमा भएन, त्यति खेर, त्यो दिन, त्यो स्थितिमा। शिक्षक र भूतपूर्व मुखियाले सुँइकुच्चा ठोकिसकेका थिए त्यहाँबाट, डुबेको बालकलाई उद्दार गर्ने अभियानमा भाग सम्म पनि न लिएर।
जगनालाई भने अझै अचम्म लागि रहेको थियो कसैले उसलाई जगना तँ मूर्ख होस न भनेको मा।

विश्वराज अधिकारी


No comments:

Post a Comment