Thursday, October 13, 2011

Poverty and Economics - 6


कामप्रतिको धारणा

आम नेपालीमा रहेको कामलाई सानो र ठूलो भनी हेर्ने त्रुटीपूर्ण दृष्टिकोणलाई पनि  देशको आर्थिक विकासको बाधकको रुपमा लिन सकिन्छ। यो काम ठूलो र यो काम सानो भनी हेर्ने परम्परागत घारणाले वहुसंख्यक नेपालीलाई पिरोलेको छ र सजिलै आर्थिक विकासको पथतिर लम्किन दिइरहेको छैन। पौराणीक कालमा भएको जात वा समुदाय अनुसारको कार्यको बिभाजन अहिले पनि समाजमा विद्यमान छ, त्यसमा व्यापक किसिमबाट परिवर्तन गर्न सकिएको छैन। यथार्थमा भन्ने हो भने कुनै व्यक्तिले कुनै काम उसमा रहेको सिपद्वारा गर्ने हो, यो जातीले यो काम गर्ने वा त्यो जातीले त्यो काम गर्ने भन्ने होइन। र, काम आफैमा सानो वा ठूलो होइन पनि। समाजमा व्याप्त परम्परागत धारणाले मात्र यो कार्य ठूलो र  यो कार्य सानो भनी एउटा काल्पनिक सिमा रेखा कोरेको हो,  त्यो पनि खास गरी विकासशील मुलुकहरुमा। हुनत, पौराणीक कालमा पनि कार्यको विभाजन व्यक्तिमा भएको सिप अनुसार भएको हो र पछि मात्र ,समाज विकासको क्रममा, कार्य विभाजन जात वा समुदाय अनुसार गर्ने परिपाटिको विकास भएको हो।
विकसित मुलुकहरुबाट जाती अनुसारको काम गर्ने धारणा हराई सक्यो भने पनि हुन्छ। संयुक्त राज्य अमेरिका, क्यानासडा र युरोपका देशहरुमा कुन काम कुन व्यक्तिले गर्ने भन्ने कुरा व्यक्तिको इच्छा र सिपद्वारा निर्धारित हुन्छ।
विकसित मुलुकहरुमा रहेको तीन कुराहरु नेपाल जस्तो विकासशील मुलुकका लागि ज्यादै नै अनुकरणिय देखिन्छ। ती तिन कुराहरु हुन १ सिप अनुसार कार्य गर्ने परिपाटि, २ हरेक किसिको कार्यको लागि समान किसिमको सामाजिक सम्मान ३ कुनै पनि किसिमको कार्य गर्दा गौरवको अनुभूति।
जिवन निर्वाहका लागि हरेक व्यक्तिमा कुनै न कुनै किसिमको सिप अनिवार्य रुपमा हुनु पर्दछ। अहिलेको प्रतिस्पर्धात्मक आर्थिक युगमा त झन् सिप नभएमा बाँच्न गार्हो हुने स्थिति उत्पन्न भएको छ। वर्तमान युग केवल श्रमको युग होइन, यो युग मुख्य रुपमा ज्ञानको युग हो। अहिलेको युगमा कुनै काम गर्नका लागि कुनै व्यक्तिमा केवल श्रम गर्ने क्षमता भएर मात्र हुँदैन, ज्ञान र सिप हुन पनि उत्तिकै आवश्यक छ। उदाहरणका लागि बैंकमा काम गर्ने कुनै एक कर्मचारीले केवल बैंकको कारोवारलाई सही किसिमबाट विभिन्न खातामा लेखेर मात्र पुग्दैन। उक्त कर्मचारीले सरल र सही किसिमबाट कम समयमा धेरै काम गरेर ग्राहक तथा बैक दुवै पक्षहरुलाई अधिक आर्थिक फाइदा पुग्ने उयायहरुको खोजी गर्नु पर्दछ। र ती दुवै पक्षहरुलाई अधिक आर्थिक फाइदा पुग्ने उपायको खोजी उसले कम्पुटर एवं विभिन्न सफ्टवेयरहरुको प्रयोगद्वारा गर्न सक्छ। यसरी उक्त कर्मचारीमा कम्पुटर एवं विभिन्न सफ्टवेयरहरु प्रयोग गर्ने सिप र ज्ञान हुन आवश्यक छ।  
वर्तमान व्यापारीक युगलाई पूँजीले कम, सिप र ज्ञानले बढी प्रभावित पारेको छ। परम्परागत उत्पादन व्यवस्थाम खास गरि पूँजी र त्यस पछि श्रमको महत्वपूर्ण भूमिका हुन्थ्यो। तर अहिलेको व्यापारीक वातावरणको परिदृश्य अति नै फरक किसिमको छ। उत्पादन व्यवस्थामा अहिले सिप र ज्ञानले महत्व पाएका छन। जति बढी र कुशलतापूर्वक पूँजीको प्रयोग गर्यो त्यति नै बढी दिर्घकालीन मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने मान्यता पुरानो भएर सिप र ज्ञानको अत्यधिक प्रयोग गरेर नयाँ नयाँ वस्तु र सेवाको विकास गर्न सकिन्छ र तिनलाई मौजुदा वा नया सृजित बजारमा लगेर बिक्री गरी अधिक मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने नवीन मान्यताले जन्म लिएको छ। अमेजन डट कम, इवे, माइक्रो सफ्ट जस्ता नयाँ व्यापारीक सोंचहरु यै नवीन मान्यताका उपजहरु हुन।
नेपालमा आर्थिक विकासको लहरलाई तिब्र पार्न यो कार्य यो जाति वा समुदायको व्यक्तिले मात्र गर्ने र यो कार्य यो व्यक्तिले नगर्ने जस्तो भावना परित्याग गरी आफूमा सिप भए अनुसारको कार्य रोज्ने परिपाटिको विकास हुन अति आवश्यक छ र त्यतिकै आवश्यक प्रत्येक व्यक्तिमा काम गर्ने कुनै खास किसिमको सिप हुन आवश्यक छ। कार्य गर्ने जन शक्ति, युवा वा प्रौढ, हरुमा सिपको विकास गर्न नगरपलिका तथा गाउँ विकास समितिहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन र स्थानिय विकासका लागि यी निकायहरुको उपयोग गर्न आवश्यक छ पनि किनभने यी निकायहरु सँग आर्थिक स्रोत र जनसक्ति दुबै हुन्छ। आर्थिक विकासका लागि केवल केन्द्रको मुख ताक्ने परिपाटिको अन्त्य गरी स्थानीय विकासमा स्थानीय निकायको सहभागिता र जिम्मेबारी अभिवृद्धि गर्न स्थानीय निकायहरुको ब्यापक उपयोग हुन आवश्यक छ। विकसित राष्ट्रका नागरिकहरुले स्थानीय विकासमा स्थानीय निकायहरुको उपयोग ब्यापक मात्रमा गरेको पाइन्छ। नेपालमा पनि यो नमूनाको प्रयोग गरेर लाभ प्राप्त गर्न सकिन्छ।
नेपालमा अहिले पनि प्रत्येक कार्यले समान किसिमको सामाजिक मान्यता पाउन सकेको छैन। कामलाई सानो र ठूलो भनी हेर्ने परम्परागत त्रुटिपूर्ण मान्यताबाट नेपाली समाजले छुटकारा पाउन सकेको छैन। त्यसकारण मुलुकको आर्थिक विकासको सिखर चढ्न, प्रथम खुडकिलोको रुपमा, प्रत्येक व्यक्तिमा जुन सुकै कार्यलाई उत्तिकै समाजिक मान्यता प्रदान गर्ने दृष्टिकोणको विकास हुन नितान्त आवश्यक छ। यस्तो परिपाटिको विकास गरेर मात्र आर्थिक विकासको गतिलाई तिब्रता प्रदान गर्न सकिन्छ। यो काम गर्ने व्यक्ति ठूलो र यो काम गर्ने व्यक्ति सानो भन्ने मान्यताको अन्त्य गरी प्रत्येक कार्यलाई सम्बद्ध पक्षहरुले समान किसिमको सामाजिक मान्यता प्रदान गर्न आवश्यक छ। हुन त कुनै कार्य, कार्यको सम्बेदनशीलताको कारण, समाजको लागि ज्यादै (जिवन) उपयोगी हुन सक्छ। तर त्यस्तो कार्य ज्यादै उयगोगी छ भन्दैमा त्यस्तो कार्यलाई बढी महत्व दिने र अन्य सामान्य कार्यलाइ कम महत्व वा सामाजिक मान्यता दिने सोंचाइ राख्नु हुँदैन।  र त्यस्तो सोंचाइ राख्नु राष्ट्रको आर्थिक विकासका लागि अहितकर मात्र होइन न्यायोचित पनि हुँदैन। र त्यस्तो सोंचाइ राख्नु सामाजिक न्यायको विरूद्ध हुन्छ।
कुनै पनि किसिमको कार्य सम्पन्न गर्दा कार्य गर्ने व्यक्तिले, सो कार्य गरेकोले, गौरवको अनुभूति गर्नु पर्दछ। कार्य गर्दा आफ्नो लागि, परिवारको लागि, समाजको लागि र राष्ट्रका लागि केही गरियो भन्ने भाव जागृत हुन पर्दछ। एक रिक्सा चालक होस वा एक चिकित्सक, वा एक शिक्षक वा कृषक, सबैले कार्य द्वारा आ-आफ्नो क्षेत्रमा योगदान पुर्याएका हुन्छन र समाज र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। हुन पनि, तुलनात्मक रुपमा, सामान्य ज्ञान र सिपको प्रयोग गरी रिक्सा चलाउने एक व्यक्तिले पनि यातायातको क्षेत्रमा खास किसिमले योगदान पुर्याएको हुन्छ। यातायातलाई व्यवस्थित, नियमित र प्रवाभकारी तुल्याउनमा उसको भूमिका कम महत्वपूर्ण हुँदैन। राष्ट्रको आर्थिक विकासमा उसको भूमिकालाई खासै महत्वको नरहेको भन्न पटक्कै मिल्दैन। नेपालमा अहिले पनि सबै किसिमको कार्यलाई उत्तिकै महत्व दिएर ती कार्यहरु गर्दा कार्य गर्ने व्यक्तिहरुमा गौरवको अनुभूति हुने परिपाटिको विकास हुन सकेको छैन। अझ, केही कार्यहरु त यस्ता छन्, जसलाई समाजले खासै महत्व दिएको छैन र ती कार्यहरु गर्दा कार्य गर्ने व्यक्तिले गौरवको अनुभूति गर्नुको साटो लघुता बोध गर्दछ। कुनै पनि किसिमको कार्य गर्नु गौरवको कुरा हो भन्ने भाव विकसित राष्ट्रका जनतामा रहेको सजिलै अनुभव गर्न सकिन्छ। विकसित राष्ट्रहरुमा व्यक्तिहरुले कुनै पनि किसिमको कार्य गरेकोमा गौरवको अनुभूति मात्र गर्दैनन् साथै सरकारलाई कर तिरेर राष्ट्रलाई समृद्ध पार्नमा आफ्नो भूमिका महत्वपूर्ण रहेको ठान्छन पनि।
माथि उल्लेख गरिएका कुराहरु अर्थतन्त्रका सामान्य विषहरु हुन, ठूला ठूला सिद्धान्तहरु होइनन्। तर यी कुराहरु सामान्य भएता पनि नेपालको आर्थिक विकासका लागि भने  अर्थशास्त्रका ठूला ठूला सिद्धान्तहरु भन्दा बढी उपयोगी छन। राष्ट्रको आर्थिक विकासका लागि सर्वप्रथम यिनै सामान्य विषयवस्तुहरुतिर ध्यान दिन आवश्यक छ।

विश्वराज अधिकारी   

No comments:

Post a Comment