Friday, November 18, 2011

Asia to be the Center of International Market - Article 18


अन्तरार्ष्ट्रिय बजारको केन्द्र एशिया हुँदैछ


प्राणीको जस्तो जिवन चक्र हुन्छ त्यस्तै जिवन चक्र वस्तुको पनि हुन्छ। आफ्नो जिवन चक्रमा कुनै पनि प्राणीले जन्म लिन्छ, बाल्य कालमा पुग्छ। युवक हुन्छ अनि बृद्ध भए पछि त्यो प्राणीको अस्तित्व समाप्त हुन्छ। यही कुरा बजार क्षेत्रमा पनि लागु हुन्छ। कुनै पनि बजारको जन्म हुन्छ, त्यो बजारले निकै प्रसिद्धि पाउँछ अनि पछि विस्तारै त्यो बजारको प्रसिद्धिमा कमी आउन थाल्छ। र पछि त्यो बजारको लोकप्रियता वा उपयोग ज्यादै कम हुने वा समाप्त हुने क्रम शुरु हुन्छ। तर कुनै कुनै बजार क्षेत्र भने परिपक्व (Matured) को अवस्थामा लामो समयसम्म पनि रहेको पाइएको छ।
अहिले चालिस पचास वर्ष वा सो भन्दा बढीको उमेरमा रहेक व्यक्तिहरुलाई यो कुरा भलिभाँति थाहा होला बीरगंजबाट हेटौडा भैंसे हुँदै काठमाडौ पुग्ने राजमार्ग नै राजधानी पुग्ने प्रमुख मार्गको रुपमा थियो। नेपालको तराईलाई काठमाडौसँग जोड्ने यो बाटो बाहेक अन्य कुनै बाटो नै थिएन भने पनि हुन्छ। त्यस बेला बीरगंजबाट काठमाडौ जाँदा यात्रुहरुले दिउँसोको खाना खाउन भनि बस भैंसेमा रोकिन्थ्यो। भैंसेका होटलहरुलाई भ्याई न भ्याई हुन्थ्यो यात्रीहरु लाई खान ख्वाउन। होटल व्यवसाय अति नै राम्रो गरी फस्टाएको मात्र थिएन भैंसे आफैमा पनि एउटा बलियो बजारको रुपमा उदाउन थालेको थियो। तर जब नयाँ बाटोले जन्म लियो, अर्थात पथलैया भएर  मानिसहरु हेटौडा-नारायणघाट-मुगलिंग हुँदै काठमाडौ जान थाले नारायणघाट र मुगलिंग ज्यादै ब्यस्त बजारको रुपमा स्थापित हुने क्रम शुरु भयो। उता भैंसेको ब्यापार करीब करीब सुके सरह नै भयो। यसरी एउटा बजारको उपयोगमा कमी आएर अर्को बजारको उपयोगमा व्यापकता आयो।
यसै गरी बीरगंजको सन्दर्भमा कुरा गर्ने हो भने कुनै समय यस्तो थियो, बीरगंजको प्रमुख ब्यापारिक केन्द्र आदर्शनगर थियो। बस पार्क मात्र होइन कलेज (ठाकुर राम), बैंक (नेपाल राष्ट्र बैंक), सरकारी कार्यालय (तत्कालिन नगर पंचायत), सभा गृह (नगर सभा गृह) आदि आदि आदर्श नगर वा यसको वरिपरि थिए। बस पार्क बाहेक अरू कुराहरु त अहिले पनि छन नै। आदर्शनगर बस पार्क अति नै व्यस्त हुन्थ्यो। आदर्शनगरको बस पार्क नजिक लाग्ने बजारले बस पार्कलाई झनै व्यस्त पार्ने गर्थ्यो। बाहिरबाट आउने मानिस (यात्री) हरुले गर्दा आदर्शनगर जहिले पनि भरि भराउ रहने हुनाले ठूला ठूला होटल र लजहरु पनि आदर्शनगर वा यसैको वरिपरि स्थापित र संचालित थिए। तर जब बीरगंजको बस पार्क आदर्शनगरबाट घण्टाघर नजिक सर्यो एकातिर नया बस पार्क र घण्टाघर वरि परिका स्थानहरुमा चहल पहल बढेर यस क्षेत्रको व्यापारिक गतिविधिमा अकल्पनिय किसिमले विकास भयो भने आदर्शनगरको बस पार्क र त्यस वर परको क्षेत्रको व्यापारिक विकास अपेक्षित किसिमले हुन सकेन। एक किसिमले भन्ने हो भने स्थित हुन पुग्यो।
कुनै समयमा अरब जगत अन्तरार्ष्ट्रिय व्यापारको केन्द्र बिन्दु थियो। एशिया र खास गरि दक्षिण एशियाबाट गएका व्यापारीहरुले यूरोपबाट आउने व्यापारीहरुलाई अरब भूमिमा भेट्ने गर्दथ्ये। भनिन्छ त्यस बेला भारतबाट जाने ब्यापारीहरुले नै सुन्य (०) को प्रयोगलाई अरबसम्म पुर्याए र अरबबाट यूरोप हुँदै सुन्यको प्रयोग संसार भरि नै फैलियो। छैठौ सप्ताब्दितिर भारतमा, संख्यामा वा हिसाब किताबमा सुन्यको प्रयोग शुरु भइ सकेको थियो। भारतबाट अरब गएका ब्यापारीहरुले ब्यापारिक हिसाब किताबमा सून्यको प्रयोग गर्दा अरब र बाहिरी क्षेत्रबाट आएका व्यापारीहरु सुन्यको प्रयोग देखेर निकै खुसी भएका थिए रे किनभने सुन्यले हिसाब किताब बा गणनालाई निकै सजिलो तुल्याई दिने गर्द्थ्यो। हुन त केहीको भनाइमा सुन्यको प्रयोग चौथो पाँचौ सप्ताब्दितिर माया सभ्यतामा भइसकेको थियो तर त्यसले व्यापकता पाउन सकेन रे।
फेरि एउटा यस्तो समय आयो जब संसारका बिभिन्न राष्ट्रहरु फ्रान्स, स्पेन, पुर्चुगल, बेलायत जस्ता तत्कालिक सक्तिसाली राष्ट्रका उपनिवेस हुन पुगेका थिए। खास गरी, दक्षिण अमेरिकाका विभिन्न राष्ट्रहरुमा स्पेन, अफ्रिकाका विभिन्न राष्ट्रहरुमा फ्रान्स र एशिया विभिन्न राष्ट्रहरुमा बेलायतको उपनिवेस कायम थियो। यी शक्तिसाली मुलुकका उपनिवेस संसारका बिभिन्न राष्ट्रहरुमा फैलिएको हुनाले यूरोप अन्तरार्ष्ट्रिय बजारको केन्द्र बिन्दु हुन पुगेको थियो र अहिले पनि यूरोप संसार कै सक्तिसाली बजारको रुपमा कायम छ।  तर स्थिति अब विस्तारै फेरिंदै छ। यूरोपेली राष्ट्रहरु विस्तारै विभिन्न आर्थिक समस्याहरुको दलदलमा भास्सिदै छन। इटाली, ग्रिस, स्पेन, आयरलैण्ड र पोर्चुगल जस्ता राष्ट्रहरुले विभिन्न किसिमका आर्थिक समस्याहरुको सामना गर्नु परिरहेको छ भने बेलायतको स्थिति पनि पहिले जस्तो बलियो छैन। युरोपमा अहिले जर्मनी र फ्रान्सको मात्र आर्थिक स्थिति त्यति कमजोर अवस्थामा छैन। यस बाहेक यूरोपका धेरै राष्ट्रहरुले कुनै नै कुनै किसिमका आर्थिक समस्याहरुको सामना गरिहरेका छन। यसरी यूरोपलाई आफ्नो आर्थिक समृद्धि जोगाउन गार्हो भइ रहेको छ। विभिन्न कारणहरुले गर्दा यूरोपले आफ्नो पूर्व स्थितिलाई निरन्तरता दिन सकिरहेको छैन। अब भने एशिया अन्तरार्ष्ट्रिय बजारको मुख्य केन्द्रको रुपमा उदाउन थालेको छ। एशियाका चिन, भारत, द कोरिया, मलेसिया, थाइलैण्ड जस्ता व्यापारमा बढी केन्द्रित रहने राष्ट्रहरु ब्यापारिक खेल मैदानमा कुसल खेलाडीको रुपमा प्रवेश गर्ने मात्र होइन प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै प्रतियोगिता जित्ने तरखरमा छन। खास गरी चीन र भारत अहिले अन्तरार्ष्टिय बजारमा आफ्नो पहिचान र स्थान दुबै सबल तुल्याउन लागि परेका छन। यी राष्ट्रहरुले मुलुकको आर्थिक विकासलाई राष्ट्रको प्रमुख उद्देश्यको रुपमा स्थापित गरेका छन। राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय व्यापारको विकासमा उत्तिकै ध्यान दिएका छन। चिनले त राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय व्यापारबाट यति ठूलो परिमाणमा पूँजी जम्म गरेको छ कि चिन अहिले पूँजी निर्यात गर्न सक्ने स्थितिमा पुगेको छ। चिनले विभिन्न राष्ट्रहरुमा लगानी समेत गरेको छ। आर्थिक रुपमा चिन अहिले ज्यादै बलियो छ।
भारत र चिनको आर्थिक विकासको गतिलाई तिब्र तुल्याउनमा ती राष्ट्रहरु संग भएका तीन कुराहरुले महत्वपूर्ण भूमिका खेलेका छन र ती हुन- पूँजी, प्रविधि र ज्ञान (सिप)। पूँजी, प्रविधि र ज्ञानको कुसल उपयोग गरेर चिन र भारत आर्थिक समृद्धितिर प्राप्त गर्न तिब्र गतिमा दौडि रहेका छन। भारत र चिनको आर्थिक विकासको गतिलाई तिब्रतर तुल्याउनमा माथि उल्लेख गरिएका तीन कुराहरुले महत्वपूर्ण भूमिका खेलेको त छन तर ती देशका राजनैतिक वातावरणले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेका छन, देशलाई आर्थिक समृद्धिको दिशा तर्फ डोर्याउनमा। राजनैतिक वातावरण स्थिर, आपसी मेल मिलाप, आर्थिक विकास प्रति समर्पित नेतृत्व जस्ता लाभले पनि यी राष्ट्रहरुलाई आर्थिक समृद्धिको दिसा तर्फ लैजानमा उत्तिकै महत्वपूर्ण भूमिका खेलेका छन।
एशिया अन्तरार्ष्ट्रिय ब्यापारको केन्द्र बिन्दु हुन खोजि रहेको परिप्रेक्ष्यमा विश्वका ठूला ठूला ब्यापारिक प्रतिष्ठानहरुले आफ्ना सहयोगी (कर्मचारी) हरुलाई हिन्दी तथा चाइनिज भाषा सिक्न प्रोत्साहित गरि रहेका छन। ब्यापारिक क्रियाकलापहरु लाभदायक किसिमबाट सम्पादन गर्न भाषाले महत्वपूर्ण भूमिका खेल्ने हुनाले ती ठूला ठूला ब्यापारिक प्रतिष्ठानहरुले ती भाषा सिक्न आफ्ना सहयोगीहरुलाई प्रोत्साहित गर्नु स्वभाविक हो पनि।
एशिया अन्तरार्ष्ट्रिय ब्यापारको केन्द्र बिन्दु हुन खोजि रहेको प्ररिप्रेक्ष्यमा यो परिस्थितिबाट फाइद उठाउन नेपालका राजनैतिक नेताहरुले बिग्रह र कलह होइन आपसी समझदारी र मेल मिलाप कायम गर्दे नेपाललाई पनि अन्तरार्ष्टिय व्यापार केन्द्रको एक बलियो साझेदार बनाउन ब्यक्तिगत स्वार्थ रहित भएर काम गरि दिए नेपालको आर्थिक विकासको गतिमा तिब्रता आउने थियो। यस्तो भइ देओस, बिना उदेश्य हुने संधैको किचलोबाट थाकेका आम नेपालीको चाहना पनि यही नै छ।

विश्वराज अधिकारी


Published in Prateekdaily.com
http://www.prateekdaily.com/2011/11/blog-post_1080.html

No comments:

Post a Comment