Monday, November 7, 2011

Dharkhan's Hen - Story - 8- Bahaliya


धरखनको मुर्गा

रोग लागेर सबै मुर्गा मुर्गी मरे पछि यो एउटा बाँकी रहेको भाले माथि नै धरखनको सबै आशा अडिएको थियो। यो भाले बेचे पछि उसले मुर्गा मुर्गी नपाल्ने लगभग निर्णय नै गरेको थियो। बरु खसी पालेको भए हुने। एकै पटक हातमा धेरै पैसा पर्ने थियो। तर खसीका लागि बकरी पाल्नु पर्ने अर्को झंझटयस्ता धेरै बिचारहरुको अन्तर द्वन्दमा धरखनको भाले जवान भएको थियो। भालेको जबानीले गम्छा किन्ने धरखनको इच्छालाई पनि तरुण पारेको थियो। अब बाँकी केही थियो भने त्यो थियो कुनै राम्रो समयमा डुमरिया बजार जाने, भाले बेचेर रातो, एक नम्बरको गम्छा किन्ने।
रातो गम्छाले धरखनलाई कत्ति लोभ्याएको थियो भन्ने कुराको कुनै सीमा नै थिएन। सिउनगरको मेलामा जुगलले त्यस्तो गम्छा काँधमा राखेको उसले बिर्सन सकेको थिएन।  धेरै गाउँले साथीहरुले जुगलको गम्छाको प्रशंसा गर्दा आफूसँग त्यस्तो गम्छा नभएकोमा ग्लानिको समुन्द्र उसको टाउको माथि पोखिएको अनुभव गरेको थियो। एक चोटि त्यो गम्छा जुगलको काँधबाट खस्दा जुगलभन्दा पहिले नै धरखनले उठाएर त्यो गम्छा जुगलको काँधमा राखिदिएको थियो र त्यति खेर जुगललाई सहयोग होइन गम्छा छाम्ने उसको इच्छा पूर्ति भएको थियो। मेलामा जाँदा बाटो भरि साथीहरुले जुगलको गम्छाको प्रशंसा गर्दा धरखनको गम्छा किन्ने इच्छा तरलबाट ठोस हुन पुगेको थियो। बेलपत्तर किनेर जलढारी गरुनजेलसम्म धरखनको गिदी जुगलको त्यो गम्छा वरिपरि नै घुमेको थियो, सूर्यको वरि परि चन्द्रमा घुमे जस्तो। 
डुमरिया बजार लाग्ने दिन थियो। दिउँसो समात्न गार्हो होला भनेर बिहान नै धरखनले भालेको खुट्टामा डोरी बाँधी त्यो डोरीलाई पिँढीमा रहेको खम्बासँग अल्झ्याएको थियो। भालेको हेरचाहमा निकै चनाखो थियो। बुधनीलाई भन्यो भाले डोरी फुकाई भाग्ला। कस्तो छ, साले, मुहजोर। बिचार गर्नु, राम्रो गरी। मकैबारीबाट आउने ससुरा कटाँस तिर पनि ध्यान दिनु नि, ससुरा कटाँसको कुनै ठेगान छैन। कुनै पनि बेला बारीबाट निस्केर झपट्टा मार्न सक्छ।
बुधनीले ल ल हुन्छभन्दै हाँसी। उसलाई लोग्नेको योजना बारे पूर्ण ज्ञान थियो।
भालेलाई काखमा च्यापेर बजारको एक छेउमा बसेको थियो धरखन। भालेको अवलोकन गर्दै, ‘महँगो भयो, धेरै ठूलो भयो, छिपिएको छ, सानो भयो, कालो भाले चाहिएको हो, रातो भाले त हुँदैनभन्दै आ-आफ्नो किसिमले खोंट लगाउँदै ग्राहकहरु आउँदै जाँदै थिए। गम्छा किन्न पाइने वा नपाइने हो, टुङ्गो पनि त्यसै अनुसार हुन सकिरहेको थिएन, धरखनको लागि। कसैले केही बेर सोधखोज र मोलमोलाइ गर्दा गम्छा किन्न पाइने भयो र केवल भाले हेरेर फर्किदा गम्छा किन नपाइने भयो कि भन्ने आशा र निरासाको भूमरीमा धरखनको मस्तिष्क स्थिर हुन सकिरहेको थिएन, चक्कर काटि रहेको थियो।
छेउको चुनाबालासँग अलिकति चुना माग्यो। आफ्नो चुनौटाबाट अलिकति खैनी झार्यो। संजोगले चुनौटामा खैनी रहेछ। नभएको भए लाजमर्दो हुने थियो भन्ने लाग्यो उसलाई। चुना त सित्तिमा मागे मागे, खैनी पनि कसरी सित्तिमा माग्नु अरु सँग, सोँच्यो उसले। हातमा भएको खैनी माड्न थाल्यो। गम्छा किन्ने उसको इच्छा जुन हुरीको रुप लिएर उसको मन भित्र बसेको थियो त्यसलाई मुखसम्म आउन नदिने कोसिस गर्दै छेउको चुना बिक्रेतासँग सोध्यो होइन, आजकाल मुर्गा मुर्गीको बिक्रीमा मन्दी आएको हो कि क्या हो?  माछा त खूब बिक्री हुँदैछ। साला, पोठिया र गरई माछा किन्न पनि तेत्रो भीड? त्यो पनि बिना मोलमोलाई?  पोठिया माछा, छि, कस्तो तितो हुन्छ, त्यो?  हत, कसरी खान सक्छन् पोठिया माछा, मान्छेले। दरुआहाहरुले मात्र किन्छन होला, चिखनाका लागि
घटबार साहेब मुर्गा न किन्ने? गाउँमा त खुब खोज्नु हुन्छ? अहिले त बजार मै ल्याएको छु। गजबको मासु हुन्छ जवान भालेको। एकदम खोआ खाए जस्तोधरखनले एक साँसमा भन्यो।
मैले पनि यस्तै भाले खोजेको हो। आज हाकिम साहेबहरु आउँदै हुनुहुन्छ। हाकिम साहेबहरु लाई मुर्गाको मासु खुब मन पर्छ। बरु कत्तिमा दिने हो?’ घटबार साहेबले भने।
तपाँईले भनेको दाममा नै दिन्छुभन्दै पहिले घटबार साहेब त्यसपछि अस्ताउन थालेको सूर्यतिर हेर्यो धरखनले।
बीस रुपैयामा खरीद बिक्री गर्ने सौदा पक्का भयो।
जोडले समात्नु होला बडा बलियो छ यो ससुरा भाले गाउँको कुनै भालेलाई जित्न दिँदैन यसले धरखनले भन्यो अनि हस्तान्तरण गर्नु अघि एक चोटी राम्रो गरी सुमसुम्यायो।
भाले करायो कक कक कक  ।
ऊ त्यो रातो गम्छालाई कत्ति, अनि लिएँ भने कत्ति कम गर्ने, ठीक दाममा दिने हो, म मोलमोलाई गर्न जान्दिन, गाउँ ठाउँको मान्छे फेरि बार्ह वर्षमा एक चोटी यस्तो गम्छा किन्दै छु, तिम्रै विश्वासमा किन्दै छु, नगद पनि तिमीसँगै उधारो पनि तिमीसँगैयस्ता विभिन्न वाक्यहरु धरखनले बोलेपछि कपडा बिक्रेताले जवाफ दियो ‘एक दाम र उचित दाममा दिन्छु, फेरि तिमी त मैले चिनेको मान्छे, भवानीपुर घर होइन तिम्रो?  धरखन चौधरी नाम हो तिम्रो, पुर्वारी टोलमा घर छ, होइन त?’
कपडा बिक्रेताले यस्ता धेरै नाफामूलक व्यापारीक वाक्यहरु पोख्यो। बिक्रेताको आग्रहप्रति विश्वस्त हुँदै आफू नठगिने आशमा धरखनले हातमा लिएको गम्छा किन्ने निधो गर्यो। सेन्डो गन्जीको चोरौकाखल्तीबाट बीस रुपैया झिक्यो अनि बिक्रेतालाई बुझायो। नयाँ गम्छा काँधमा राख्यो। छेउको कलमा गएर पानी खायो र लामो डकार लियो औ  गर्दे    । खाली पेटमा धेरै पानी परेकोले घोच्यो चसक्क।
घर पुग्दा पुग्दै रात परिसकेको थियो। साँझमा एक छिन मात्र बाल्नका लागि बाँकी रहेको मटिया तेल रित्तिएर बत्तिहर बल्न थालेपछि डिबिया निभाई दिएकी थिई बुधनीले। अँध्यारोले गर्दा बुधनीलाई गम्छा देखाउने धरखनको इच्छा पूरा हुन सकेन। इजोरिया रात नभएकोमा धेरै पछताउ गर्यो उसले।
कस्तो अन्हरिया रात, हात पनि नदेखिनेबडबडायो।
धरखनको आगमन परिवारका बाँकी सदस्यहरुका लागि आकर्षणको विषय बन्न सकेको थिएन। सेबई र कचरी नल्याएकोमा कान्छो ठुस्केको थियो।
यी सबै कुराहरुको कुनै फिक्री नै थिएन, बरु कुन बेला विहान होला र गम्छा सार्वजनिक गर्न पाइएला भन्ने छटपटी थियो धरखनलाई। जुगललाई त विषेश रुपले देखाउनु थियो, उसले। मकैको रोटी, नुन र हरियो खुर्सानीसँग पनि निकै मिठो लागेको थियो। खान सकिए पछि मुख धोयो तर गम्छाले मुख पुछेन, बरु तरोताजा राख्यो भोलिका लागि, सबैलाई त्यो गम्छा नयाँ रुपमै देखाउने उद्देश्यले।
राति सुतिरहेको बेला एक्कासी निद्रा खुल्यो धरखनको, भालेको चर्को आबाजले। स्वभाविक किसिमले भालेको टाउको सुमसुम्यायो उसले। भालेलाई चुप लगाउन खोज्यो तर उसको हात छेउको खामोमा ठोकिए पछि झ्वाट्ट सम्झ्यो भाले त उसले भेचिसकेको छ। अर्ध निद्रा पूर्ण समाप्त भएर ब्युँझे पछि छिमेकीको भाले कराएको अनुमान गर्यो उसले अनि सुत्ने प्रयासमा लाग्यो।
धरखन मस्तको निद्रामा थियो। निद्रामै देख्यो, त्यो भाले चरिरहेको। मकैबारीबाट कटाँस आएर भालेलाई झम्टिन खोज्यो। छेउको बाँसको टुक्राले हिर्कायो कटाँसलाई। कटाँस मकैबारी भित्र पस्यो। सन्तुष्टिको सास लियो उसले। धेरै मुर्गामुर्गीहरु कराउँदै मकैबारीबाट बाहिर निस्के। अघिको लठ्ठी लिएर धरखन हिँड्यो मकैबारीतिर, त्यो कटाँसलाई मार्न। निद्राबाट उठ्यो धरखन अनि झसङ्ग भयो। सपना पो रहेछ भन्दै सुत्न खोज्यो र अर्ध निद्रामा पुग्यो। भाले, कटाँसबाट जोगिएकोमा खुसी हुँदै त्यसलाई समाती काखमा राख्न खोज्यो तर अर्ध निद्र भङ्ग भए पछि थाहा पायो, भालेलाई त उसले बजारमा बेचिसकेको छ।
बिहान भइसकेको थियो। टोल छिमेकका मुर्गामुर्गीहरु प्रभातको स्वागत गर्दै नब्युँझेका हरुलाई उठाउन कराउँदै थिए कुखुरी काँ …….कुखुरी काँ …….कुखुरी काँ। हात मुख धुदै गर्दा धरखनले देख्यो। मुर्गामुर्गीहरु उसकै आगन अगाडि आहार टिप्दै थिए। उसको मुर्गा जनु झुण्डमा हुने गर्दथ्यो त्यो खाली थियो। भाले बिहिन पोथीहरु दाना टिप्दै थिए। ती पोथीहरुले त्यो भालेलाई खोज्दै गरेको धरखनले महसुस गर्यो।
दोस्रो रात। रात गाढा भइसकेको थियो। शून्यतालाई चिर्दै किरा फट्याङ्ग्राहरु झि …..चिँ …….चुँ …..आबाज झिक्दै कराउँदै थिए। धरखन मस्त निद्रामा थियो। भाले उसको टाउको नजिक बसेको देख्यो। दाहिने हातले हिर्काएर छेउतिर पठाउन खोज्यो। पानी राखेको लोटामा हात ठोकिएर ब्युझ्यो। पानी पोखिएर ओछ्यान नजिक आउन थालेको देखे पछि चटाई सार्यो, फाटकतिर। पानी पोखिएकोमा उसलाई रिस उठेन बरु भाले नभएको शून्यतालाई गहिरो गरी अनुभव गर्यो। धेरै बेरसम्म कहिले चार कहिले टाटलाई हेर्यो।
बिहानी पखको कुरा हो, धरखन सरासर बहुअरी गयो। जसलाई भाले बेचेको थियो भट्यो उसलाई। त्यो भाले मलाई फर्काइ दिनुहोस, घटबार साहेब। म बेचदिन त्यो भाले। बरु पाँच रुपैया बढी नै लिनुहोस्, फिर्ता। तपाँईको दाढी समात्छु, फर्काइ दिनुहोस्, त्यो भाले। मैले भनेको दाममा दिन मान्नु हुन्न भने तपाँईले भनेको दाम नै दिन्छु। तपाँईले जति भन्नु हुन्छ त्यति नै दिन्छु। जिम्दार मालिकसँग डेढामा कर्जा लिएर आएको छु, एक शय
धरखनका यी वाक्यहरु सुनेर घटबार साहेब धेरै बेरसम्म हाँसे अनि भने तिम्रो दिमाग खुस्के जस्तो छ? तिमी संसारमा पहिलो व्यक्ति हो जसले मुर्गा बेचेको होस? बेचेका सामान पनि कहि फिर्ता हुन्छ? त्यो पनि मुर्गामुर्गी? बजारबाट ल्याएको राति नै हाकिम साहेबहरुलाई ख्वाइसकें, काट कुट गरेर।’
धरखनको कानमा भालेको आबाज गुञ्जियो कुखुरी काँ …….’। एक छिन उभिएको भुइँलाई अनि धेरै बेर क्षितिजलाई हेर्यो उसले। त्यसपछि सरासर घरतिर लाग्यो धरखन।
भाले त बेची हालेऊ। अर्को टेल्हा टेल्ही ल्याउने होइन पाल्न? फगुआको लागि छोरा छोरीलाई लुगा पनि त किन्नु छ नि, त्यसै गरी, मुर्गा मुर्गी बेचेर।
बुधनीका यी कुराहरु प्रति धरखनले केही प्रतिक्रिया जनाएन। धेरै बेर चुप लागेर बस्यो। धेरै बेर चुप लागेर बसेको देखेपछि बुधनीले पुन: सोधी मैले भनेको सुनेनौ’?
विरक्तिएको स्वरमा धरखनले उत्तर दियो ……….अब मुर्गामुर्गी, हाँस, बतक, खसी बकरी केही पनि पाल्दिन।

विश्वराज अधिकारी

No comments:

Post a Comment