Friday, November 25, 2011

Is Population Growth an Obstacle to Economic Development? - Article 19


के जनसंख्या वृद्धि विकासको बाधक हो?

कुनै पनि देशमा हुने जन संख्या वृद्धिलाई त्यस देशको आर्थिक विकासको बाधक तत्वको रुपमा हेरिने अवधारणा नौलो भने होइन। अहिले पनि जनसंख्या वृद्धिलाई आर्थिक समस्याको रुपमा हेरिन्छ र विभिन्न राष्ट्रहरुले जनसंख्या वृद्धिलाई रोक्न विभिन्न किसिमका पाइलाहरु चालेका छन। केही राष्ट्रहरुले त परिवार नियोजन कार्यक्रमलाई देशमा अभियानको रुपमा संचालन समेत गरेका छन। तर यहाँ प्रश्न के उठ्छ भने जनसंख्या वृद्धि के साँच्चै नै कुनै देशको आर्थिक विकासका लागि बाधक तत्व हो त? यदि जनसंख्या वृद्धि यथार्थ मै राष्ट्रिय आर्थिक विकासको बाधक तत्व हो भने विश्वमै सर्वाधिक जनसंख्या हुने पहिलो र दोस्रो राष्ट्रहरु क्रमस: चीन (१,३३,६७,१८,०१५) र भारत (१,१८,९१,७२,९०६) ले अहिले कसरी चमत्कारी किसिमले आर्थिक प्रगति गरि रहेका छन त? परमपरागत रुपमा रहेका आर्थिक महाशक्ति राष्ट्रहरुलाई चुनौति दिइ रहेका छन, यी राष्ट्रहरुले, त्यो पनि केवल सानो समयावधिमा नै। चीन र भारत मात्र होइन, विश्वमा सर्वाधिक जनसंख्या हुने राष्ट्रहरु मध्ये चार नम्बरमा पर्ने इन्डोनेसिया (२४,५६,१३,०४३) र पाँच नम्बरमा पर्ने ब्राजिल (२०,३४,२९,७७३) ले पनि उल्लेखनीय किसिमले आर्थिक प्रगति गरि रहेका छन।
वर्तमान परिप्रेक्ष्यमा अत्यधिक जनसंख्या हुने राष्ट्रहरुले तिब्र गतिमा आर्थिक प्रगति गर्न सक्नुका प्रमुख कारणहरु मध्ये पहिलो र महत्वपूर्ण कारण हो ती देशहरुमा गरिबी व्याप्त हुनु र गरिबी व्याप्त भएको कारणले गर्दा पारिश्रमिक वा ज्याला दर तुलनात्मक रुपमा कम भएर श्रम लागत सस्तो हुनु। ती देशहरुमा श्रम लागत सस्तो भएको हुनाले उत्पादन लागत पनि सस्तो हुन पुगेको छ। यसरी ती देशहरुमा उत्पादन लागत सस्तो भएको हुनाले ती देशहरुले अन्तरार्ष्ट्रिय बजारमा प्रतिस्पर्धीहरु भन्दा सस्तो दरमा आफ्ना वस्तुहरु बिक्री गर्न सकि रहेका छन। वैदेशिक मुद्रा पनि बढी मात्रामा आर्जन गरेर राम्रो पूँजी निर्माण गर्न समेत सक्षम भएका छन।  यसरी ती देशहरुमा व्याप्त रहेको गरिबी ती राष्ट्रहरुका लागि प्रतिस्पर्धात्मक लाभ बन्न पुगेको छ, तत्कालिन अवस्थामा। हुन पनि देशमा व्याप्त गरिबीले गर्दा कामदारहरु सस्तो ज्याला दरमा पनि काम गर्न तत्पर रहेको यथार्थ ती देशहरुमा सहजै देख्न सकिन्छ। तर अर्को तिर विकसित राष्ट्रहरुमा भने लगभग आम नागरिकको नै एक निश्चित स्तरमा आर्थिक स्थिति राम्रो रहेकोले उनीहरुले माग गर्ने वा राज्यले निर्धारण गर्नु पर्ने न्युनत्तम ज्याला दर विकासशील राष्ट्रहरुमा भन्दा स्वभाविक रुपले बढी भएकोले विकसित राष्ट्रहरुमा ज्याला दर तुलनात्मक रुपमा उच्च भएर विकासशील राष्ट्रहरु भन्दा उत्पादन लागत  महँगो हुन पुगेको छ। यो कारणले गर्दा विकासित राष्ट्रहरुले विभिन्न सामाग्रीहरु आफ्नो देशमा उत्पादन गर्दा महँगो हुने तर त्येही सामानहरु विकासशील राष्ट्रहरुबाट आयात गर्दा सस्तो हुने स्थिति उत्पन्न भएको छ। र यो स्थितिको फाइदा विकासशील राष्ट्रहरुले राम्रो गरी उठाइ रहेका छन, मौजुदा परिस्थितिमा।
दीर्घकालमा,  कुनै पनि राष्ट्रमा जनसंख्या बढि हुनु र जनसंख्या वृद्धि पनि उच्च हुनु राम्रो होइन भन्नेहरु अहिले पनि धेरै छन। जनसंख्या बढी हुनुको फाइदा जुन अहिले जनसंख्या धेरै हुने राष्ट्रहरु (भारत, चीन ) ले उठाइ रहेका छन त्यो लघु कालिक हो, उनीहरुको भनाईमा।  थोमस रोबर्ट माल्थस (इ सं१७६६-१८३४) ले त जनसंख्या वृद्धिलाई मानवद्वारा निर्माण गरिने ठूलो समस्यसाको रुपमा नै लिएका थिए। माल्थसका अनुसार यो संसारमा खाद्य सामाग्री गणीतिय किसिम (३,५,७,९,११) ले वृद्धि हुन्छ। जबकी जनसंख्या ज्यामितीय किसिम ( १,२,४,८,१६,३२) ले वृद्धि हुन्छ। अर्थात खाद्य सामाग्री जुन किसिमले वृद्धि (उत्पादन) हुन्छ त्यसको तुलनामा जनसंख्या व्यापक किसिमले वृद्धि हुन्छ। यी दुई कुराहरु- जनसंख्या र खाद्य सामाग्रीको वृद्धि समान किसिमले न भइ दिएको हुनाले असन्तुलनको स्थिति उत्पन्न हुन्छ। र यस किसिमबाट असन्तुलनको स्थिति उत्पन्न हुने भएकोले जनसंख्या नियन्त्रण वा जनसंख्या व्यवस्थापन गर्नु पर्ने आवश्यक हुन आउँछ।
माल्थसको समयको संसार अहिलेको जस्तो आधुनिक सुबिधाहरुले युक्त थिएन। यूरोपमा उद्योगको लहर आइ सकेको थिएन। जन-जिवन बढी मात्रामा कृषिमा आश्रित थियो। कृषि कार्यका लागि पर्मपरागत उपकरणहरुको उपयोग हुन्थ्यो। तर अहिलेको स्थिति निकै फरक छ। कृषि कार्यमा आधुनिक औजार, उन्नत बिऊ, किटनासक औषधि, कुशल भूमि व्यवस्थापन आदिको प्रयोगले गर्दा  उत्पादन लागत कम मात्र भएको छैन साथै थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने स्थिति पनि उत्पन्न भएको छ।
माल्थसको समयमा यूरोपमा जनसंख्याको चाप उपलब्धको भूमिको तुलनामा निकै बढी थियो। अर्कोतिर कृषियोग्य जमिन पनि प्रशस्त थिएन। त्येति खेर धेरै परिमाणमा, फराकिलो, उब्जाउ जग्गाका लागि यूरोपियनहरु अमेरिका, क्यानाडा जस्ता जनसंख्याको तुलनामा जग्गा बढी हुने ठाउँहरुमा बसाई सर्ने क्रम ज्यादै नै कम मात्रामा शुरू भएको थियो। यसरी, तत्कालिन यूरोपमा  जनसंख्या वृद्धि खाद्य उत्पादनको तुलनामा तिब्र भइ दिनुले माल्थसलाई चिंतित तुल्याएको थियो। त्यस्तो स्थितिले गर्दा माल्थसले यूरोपको भविष्य धमिलो हुँदैछ समेत भनेका थिए।
तर वर्तमान विश्व परिस्थिति निकै पृथक छ। उद्योगको पर्याप्त विकास भएको छ, अहिले। आधुनिक कसिमले कृषि कार्य हुन्छ। यस किसिमको परिस्थितिमा जनसंख्या वृद्धिलाई ठूलो समस्याको रुपमा लिन सकिंदैन। र यस्तो भन्नेहरु पनि धेरै छन।
विकसित राष्ट्रहरुमा ज्याला दर महँगो भएको कारणले गर्दा अहिले नया विश्व परिस्थितिको सृजना भएको छ। र यो विश्व परिस्थितिमा जन संख्या वृद्धि समस्या होइन बरु यो त वर्तमानको विश्व परिस्थितिबाट उत्पन्न भएको एक औसर हुन पुगेको छ। र त्यो औसरको उपयोग भारत र चीन जस्ता अत्यधिक जनसंख्या भएका राष्ट्रहरुले कुसलता पूर्वक गरिरहेक छन।  यो औसरको प्रयोग नेपालले पनि गर्न सक्छ। तुलनात्मक रुपमा नेपालको जनसंख्या उपलब्ध भूमिको आधारमा अति नै बढी नभएता पनि मोजुदा जनसंख्यलाई कम भन्ने स्थिति भने छैन। मौजुदा जनसंख्या उच्च नै हो। तर यो उच्च जनसंख्याको उपयोग गर्न सक्नु पर्दछ, नेपालले। नेपालमा व्याप्त गरिबी र उच्च जन संख्याको कारणले गर्दा, नेपालमा उत्यादन गर्दा, उत्पादन लागत सस्तो पर्ने भएकोले नेपाली सामाग्रीहरु विश्व बजारमा सस्तो हुन पुग्छन। यो औसरको फाइदा उठाउन नेपालका श्रम संगठनहरु, उद्योगपतिहरु एवं व्यापारीहरु तथा सरकार कस्सिएर लाग्नु पर्दछ। र अन्तरार्ष्ट्रिय व्यापारबाट नेपाललाई फाइदा उठाउन सहयोग पुर्याउनु पर्दछ।

विश्रराज अधिकारी

No comments:

Post a Comment