Monday, December 5, 2011

The Judgement - Story 12 - Bahaliya


पन्चैति

‘रामदुलारीलाई खोइ यहाँ ल्याएको? मुखिया साहेब गर्जे’।
‘अघि नै ल्याइसके मालिक। ऊ त्यो टाटको पछाडि मुख छोपेर उभिएकी छे। भन्छे जनीजात भएर त्यत्रो भरी सभामा कसरी जानू’ चौकिदार रामलखनले भारी स्वरमा भन्यो।
‘राम्रो मुखले भनेको मान्दिन त्यसले, जा लछार पछार गरेर नै भए पनि ल्या, यो भरि सभामा। त्यो रण्डीलाई छाड्नु हुँदैन’। मुखिया साहेबले आदेश दिए।
मरेको कुकुरलाई डोरीले बाँधेर घिसारे झै रामदुलारीलाई चौकिदार र उसका दुई  सहायकहरुले त्यहाँ ल्याए अनि सभाको मध्य भागतिर हुत्याए।
‘मेरो कसुर के हो मालिक? किन मरेको कुकुरलाई झै मलाई घिसारेर ल्याएको यत्रो भरिसभामा?’ रामदुलारीले सोधी।
रामदुलारी थुचुक्क भुँइमा बसी। धोतीको एउटा छेउले एउटा आँखा मात्र देखिने गरी मुख छोपेकी थिई उसले।
एक वर्ष पहिले मात्र रामदुलारीको बिहे भएको थियो। रामदुलारीले मुख छोपेकी भएता पनि शारीरिक सुसंगठनबाट नै, प्रशस्तै गरी उसको सुन्दरता प्रदर्शित भएको थियो। ज्यादै क्रोधित भएको अनुभव गर्दै मुखिया साहेबले आँखा गाडेर रामदुलारीको भूगोलको अध्ययन निकै समय लगाएर, व्यवस्थित किसिमले गरे। पन्चैतिमा उपस्थित सबैले मुखिया साहेब ज्यादै क्रोधित भएको अनुमान गरे।
रामदुलारीले पुन: दोहर्याइ ‘मालिक मेरो कसुर के हो? म जनीजातलाई किन यत्रो भरिसभामा, र त्यसमा पनि लोग्ने मान्छेहरु मात्र भएको ठाउँमा बोलाइएको?’
‘हेर त, यसको मुख कस्तो छुरा जस्तो चलेको? यसले के कसुर गरेकी छे, भनी दे ए भिखर’ मुखिया साहेबले भने।
भिखर सभाको मध्य भागमा आयो अनि न्याय पाउने शैलीमा चिच्यायो ‘मालिक, पन्च भलादमीहरु, मेरो घरमा त बज्र नै पर्यो। बज्र प्रहार गर्ने अरु कोही नभई यो रण्डी रामदुलारी नै हो। यसले मेरो छोरालाई मारी। कस्तो भलाचङ्गा थियो अस्तिसम्म त्यो। भलाचङ्गा रहेको छोरालाई के पेसना पेसि दिई यसले, हिजोदेखि पेट दुख्यो भन्दा भन्दै आज भोरबामा भगबानको घरमा गइ गयो। यो सबै ऐ रण्डीको कमाल हो। यो बड्का डाइन (बोक्सी) हो। सबै पन्चभलादमीहरुको अगाडि दुबै हात जोड्छु, दाढी समात्छु, खुट्टैमा गिरछु, न्याय पाउनका लागि। यसले या त मेरो छोरालाई जीआइ देओस्, होइन भने यसलाई पनि भगवानको घरमा पुर्याइयोस्।’
सभाका सहभागीहरु एकदमै शान्त भए, कुनै फिल्मको दुखान्त दृश्यमा दर्शकहरु शान्त भए झै।
‘तेरो छोरालाई यसले मारी भन्ने के प्रमाण छ, तँसँग?’ मुखिया साहेबले भिखरलाई प्रश्न गरे।
भिखरले सभातिर फर्केर भन्यो ‘मैले यो गाउँको महसूर धामी (झाँक्री) गोगाईलाई देखाए। उसले भन्यो- तेरो छोरालाई कुनै डाइनले पेसना पेसे जस्तो छ, त्यसैको नजर गुजरको कमाल हो, कुनै राम्रो टेकामा लैजानु पर्छ तेरो छोरालाई। अहिलेलाई भने त्यो डाइनको नजर गुजरको कम गरिदिएको छु।
भिखरले फेरि भन्यो ‘मैले गोगाई धामीलाई त्यो डाइनको नाम पनि सोधेंको थिए, त्यसले भन्यो – मैले त्यो डाइनको नाम भन्न हुँदैन। मैले नाम भने पछि मेरो धामी विद्या समापत हुन्छ, सँधैका लागि। यति मात्रै के भन्छु भने त्यो डाइन तेरो वरपर रहेको कुनै एउटा घरको हो र त्यो आइमाई हो।

भिखरले भन्ने क्रम जारी नै राख्यो ‘मेरो घर नजीक यसैको घर छ। यसलाई सबैले डाइन भन्छन्  पनि। फेरि, यसले अस्ति मेरो घरबालीलाई भनेकी थिई रे – तेरो छोरालाई काँच्चै चबाई दिनेछु। त्यसैले यो बाहेक अरु को हुन सक्छ मालिक?’ भिखरले भन्यो।
‘यसले भनेको एकदमै मनासिब हो मुखिया साहेब। एक महिना पहिले यसले तेतरीको छोरालाई पनि काँच्चै चबाई दिन्छु, भनेको थिई, नभन्दै एक महिना  भित्रमा नै तेतरीको छोरा गयो परमधाम’ आन्नदीले थप्यो भन्यो।
‘तेरो भन्नु के छ ए, डैनिया?’ मुखिया साहेबले अति क्रोधित मुद्रामा प्रश्न सोधे त्यस पछि रामदुलारीको भूगोल अध्ययन गर्न पाउने मौकालाई पुन: कुशलतापूर्वक उपयोग गरे।
रामदुलारीले भनी ‘म उसको छोरालाई निकै माया गर्दथें। कति चोटि उसलाई मछरीको तरुबा ख्याएको पनि छु। हिजो भिखर भैयाको भैसीले मेरो बारीको भरखरै बाला लाग्न थालेको लहलहाउँदो मकैको विरुवा चपाउन थालेपछि आफ्नो क्रोधलाई नियन्त्रण गर्न सकिन। आवेगमा भन्न पुगें, कुन अधर्मी, मुरकट्टको यो भैसी हो? यो भैसीले जसरी मेरो मकैको विरुवा चबायो त्यसै गरी म त्यससको छोरालाई चबाई दिनेछु। मलाई के थाहा? मैले भनेको …….त्यस्तो हुनेछ। मेरो कसुर यति मात्रै हो मालिक’ यति भनेर रामदुलारी रुन थाली।
एक छिनका लागि वातावरण अति नै शान्त भयो। केवल रामदुलारीले रोएको सुनियो। तर क्षणभर पछि नै त्यो शान्त वातावरण खलबलियो।
टेनी महराले सबैको ध्यान आफूतिर आकर्षित हुने गरी करायो ‘हेर, हेर यो रण्डीले बहाना बनाएकी। साले, नौटंकी गर्छे। यसलाई बिष्टा ख्वाउनु किन ढिलो गरेको? खोई, केही थाहा पाउन सकिएन। जय भोले शंकर ………..कस्तो दिन देख्नु परेको होला।’
अघिदेखि चुप लागेर बसेका कम्पाउण्डरले आग्रह गर्दै भने ‘मैले पनि केही भन्ने मौका पाउँछु? यो भरि सभामा?’
मुखिया साहेबले आदेश दिए ‘ल भन्नुस, के ………भन्न खोजेको हो तपाँईले।’
‘भिखरको छोरा धेरै दिन देखि बिमार थियो। सायद निमोनिया हुन सक्छ। मलाई त त्यो बच्चा निमोनियाले नै मरेको जस्तो लाग्छ’ कम्पाउण्डरले सबैले सुन्ने गरी भने।
सभाको पुछारमा बसेको गोगाइ धामी जुरुक्क उठ्यो अनि गर्ज्यो ‘निस्क्यो एउटा उपबुज्रुक्। यो कम्पाउण्डरले सत्य बोल्दैन, पन्च भलादमीहरुल। यसलाई त रामदुलारीको मिलनुआ भन्छन, गाउँका सारा मान्छेहरुले। यो नाथे कम्पाउण्डरको कुरा पत्याएर समय बर्बाद गर्ने हो भने यति ठूलो पन्चैतिको के अर्थ? उठ ए साथी भाइहरु, यस्तो पन्चैतिमा के बस्नु? कस्तो जमाना आयो? गजब रे जमाना। जय भोले शंकर, तिमीले नै रक्षा गर्नु।’
रामदुलारीको पतिलाई भने एक शब्द सम्म पनि बोल्न समेत प्रतिबन्ध थियो। रामदुलारीलाई माया गर्नेहरुले शंकाको घेरा भित्र परी अनावश्यक विवादमा मुछिनु पर्ला भन्ने भयले गर्दा केही बोलेनन्, त्यो भरि सभामा।
एक बृद्ध उठेर चर्को स्वरमा करायो ‘यो डाइनलाई त्यसै छाड्ने हो भने अरु थुप्रैलाइ यसले सखाप पार्छे। को को मर्ने हुन यसको नजर गुजरले? भगवान, प्रभू!’
कुर्सीमाथि बसेका मुखिया साहेबले धेरै बेरदेखि कायम राखेको आफ्नो मौनता भङ्ग गर्दै घोषणा गरे ‘के भएको रहेछ, सबैलाई थाहा भइ हाल्यो। अब अझै खुलस्त पार्नु पर्ने देखिदैन। यसमा पन्चभलादमीहरुको के राय छ भन्नु पर्यो, उचित फैसला गर्न सहयोग पुर्याउनु पर्यो।’
यो घोषणा सकिए पछि एक जेष्ट नागरिक उसको हातमा रहेको लठ्ठी सोझ्याउँदै उठ्यो अनि भन्यो ‘अब ढिलो के को? यो निर्लज्ज चुरैनलाई बिष्टा ख्वाएर मात्र पुग्दैन। यसलाई गाउँ भरि घुमाएर, त्यसपछि यो गाउँबाट नै लखेट्नु पर्छ।’
त्यो जेष्ट नागरिकको रायमा सबैले हो, हो, ठीक छ भन्दै आ-आफ्नो मन्तव्य पोखे। टाउको पनि हल्लाएर स्वीकृति समर्थनलाई झनै दरो पारे।
सभाको पुछारमा बसेको सहदेव माझी छेउमा बसेकाहरुलाई घचट्दै उठ्यो। दुबै हात जोडेर कराउन थाल्यो ‘ओ है, ओ है, ओ है ……….ओ है। म मनुषदेवा हुँ। उ त्यो महँआको रुखमा बस्छु। रुखमा यसले पिसाब गरेको हुनाले मैले यसलाई समातेको हो। म यसलाई अब छोडदिन, ओ है, ………ओ है।’
‘ओ है, ओ हैको आवाज सुनेर गोगाइ धामी सहदेवको ज्यादै नजीक आयो। उसले सहदेवलाई बेतको लठ्ठीले चारचोटी हिर्कायो। सहदेव भुइमा थुचुक्क बस्यो, कुटाइको पीडाले।
गोगाइ धामी करायो ‘देख्यौ सबै जनाले, धामीको लठ्ठी खाने बित्तिकै कसरी भाग्यो साले मनुषदेवा, सरकट्टा यसको जिउबाट। अब एउटा रातो भाले र एक बोतल दारु चढाउनु पर्छ, ऊ त्यो महआको गाछीमा गएर। यदि त्यस्तो नगर्ने हो भने भागेको भूत फेरि फर्कन सक्छ यसको जिउमा।’
केही दर्शकहरु कराए ‘साले भूत बल्ल भाग्यो।’
अलि परैबाट यो दृश्य हेरि रहेका कम्पाउण्डर कराए ‘सहदेव दिमागी मरिज हो। यसलाई ठूलो अस्पताल लग्नु पर्छ, नत्र………’।
कम्पाउण्डरले वाक्य पूरा गर्न पनि नपाउँदै एउटा अर्को धामी करायो ‘यो कम्पाउण्डरको मगज फिरि गएको छ। भलाचङ्गा सहदेवलाई भन्छ यसले, बौराएको। यसलाई के थाहा सहदेवलाई पनि रामदुलारीले नै पेसना पेसिदिएकि हो भन्ने कुरा।’
सहदेवको बाबुतिर हेर्दै गोगाइ धामीले आदेश दियो ‘छिटै जाऔ उ त्यो महुआको गाछीमा, यो मनुषदेवा भूतलाई बाँध्न।’
एक सानो हुल गोगाइ धामीतिर हुत्यियो। अघि अघि सहदेव पछि पछि गोगाइ धामी अनि गोगाइ धामीको पछि भूतलाई बाँधेको हेर्न उत्सुक व्यक्तिहरुको भीड।
पन्चैति चलिनै रहेको थियो। रामदुलारी मुख छोपेर रुदै थिइ। एक अति जेष्ट नागरिकले आदेश दियो ‘ल अब छिटै बिष्टा ख्वाउनु पर्यो। सहदेआलाई यसैले मनुषदेवा भूत लगाई दिएकी हो। यो चुरैन कम खतरनाक छे? यसले मसान साँधेकी छे रे। दुर्गापूजामा भगबतीको मन्दिर अगाडि यसले नाङ्गै नाचेको भैसी चरवाहाहरुले देखेका छन्। यसका नहिरामा कम डाइनहरु छन्? ओ हो, त्यो गाउँको कुरा गरेर साद्दे नै छैन। हत कस्तो ………उफ।’
रामदुलारीलाई बिष्टा ख्वाउने कार्य बडो धुमधामका साथ सम्पन्न भयो। गाउँ घुमाउने कार्यमा कुनै विवाद नै भएन। गाउँबाट लखेटिने सजायमा भने रामदुलारीले माफी मिन्हा पाई मुखिया साहेबको अनुकम्पाले। सभामा उपस्थित सबै खुसी नै देखिए। केहिले भने खुसी देखिनु पर्यो, न चाहेर पनि। रामदुलारीको रुप, यौवन, सम्पन्नता, बुद्धिमता, स्वाभिमानी र मिलनसार स्वभावदेखि जलेकाहरु भने अरुभन्दा अलि बढी नै खुसी देखिए, रामदुलारीमाथि भएको कार्यवाहीबाट।
रातको दोस्रो पहर थियो। मान्छेहरु केही पर, त्यो गाउँमा रहेको आमको फूलबाडीमा बोलेको सुनियो। रामदुलारी घरमा एक्लै थिई। उसको लोग्ने उसंग रिसाएर छेउको गाउँमा, आफ्नो फुआको घर गएको थियो। रामदुलारीले सतर्कतापूर्वक, कान ठाडो पार्दै फूलबाडीबाट आउँदै गरेको आवाज चिन्ने प्रयास गरी।
आवाजहरु यस्ता थिए ‘रामदुलारीको लोग्नेलाई यो गाउँबाट लखेट्नै पर्छ कुनै न कुनै तरिका निकालेर।’ ‘तिमीले रामदुलारी ……. त्यसो हो भने घर घडारीमा चाहिँ म कब्जा जमाउँछु, मेरो संधियार पनि त हो नि’। ‘साले दुई कौडीको कम्पाउण्डर, आफूलाई बडका भारी डांकडर सम्झिन्छ। मेरो त आम्दानी नै खतम पार्न थालेको थियो, त्यसले दबाई बेचेर। त्यसको कुरा चल्ने हो भने को आउँछ मसँग भूतप्रेत झराउन? त्यो ससुरालाई पनि गाउँ कटाउनु पर्छ।’ ‘त्यसको दबाईको दोकानलाई भोलि जय सियाराम बोलाउनु पर्छ।’ ‘बढी निहुँ खोजे भने कि गरि दिने हो, राम नाम सत्य है, त्यो ससुरा कम्पाउण्डरको।’
वातावरण एक छिन निकै शान्त भयो। कुकुरहरुले पनि कराउन छाडेका थिए। तर एक छिन पछि भने एक अन्ध्यारो दिशाबाट एक भारी स्वर गर्जियो ‘ए ससुरका नातीहरु हो, रामदुलारीको घरमा पस्नु नै थियो, त्यो काम ………..का लागि भने किन यत्रो सयौले देख्ने खालको प्रपञ्च रचेको। मलाई भनेको भए, दु चार जना खलिफाहरु पठाइ दिन्थें आप से आप तयार हुन्थी ………त्यो। आज दुइ जना मात्रै त्यसको घरमा ….बढी जाने होइन नि।’
परिचित आवाजहरु चिन्न रामदुलारीलाई खासै गार्हो भने भएन, ती आबाजहरु टाढैबाट आएको भएता पनि। अब रामदुलारीले आफूलाई गाउँबाट आफैले निकाला गर्ने फैसला गरी। आफ्नो फैसलाबाट सन्तुष्ट पनि भई ऊ, तर तत्काललागि। घरमा भएका सारा सामानहरुलाई जस्ताको त्यस्तै रहन दिएर सुटुक्क निस्की, दक्षिण तिरको गाउँमा जान, जहाँ उसको मौसीको घर थियो।
भोलि पल्ट दिउँसोको कुरा हो, मुखिया साहेब त्यस गाउँमा रहेको प्राइमरी स्कूलका शिक्षकहरुको बीचमा थिए।
एक शिक्षकले बल्लतल्ल हिम्मत झिकेर भने ‘रामदुलारी त यो गाउँ छोडेर भागी छे नि! उसलाई बिष्टा ख्वाउने काम त अलि बढी नै भयो, होइन र?’। यति भन्दा भन्दै ती शिक्षकको स्वर भावी परिणामको डरले लरबराएको थियो। आवेसमा आएर बोलेकोमा  मनमनै पछताउ पनि गरे।
मुखिया साहेब रिसाएर गर्जिनुको साटो शान्त देखिए। शान्त मुद्रामा उनले भने ‘त्यो त हो, मास्टर साहेब, तर त्यो बोक्सी भएको हुनाले नै गाउँबाट भागेकी हो। त्यो बोक्सी हो भन्ने कुरामा कुनै सन्देह छैन।’ रामदुलारी माथि गरिएको कार्यवाहीलाई उचित देखाउन मुखिया साहेबले पेश गरेको तर्क माथि त्यस गाउँका शिक्षकहरुलाई भने विश्वास भएन। तर मुखिया साहेब भने खुसी थिए, उनको योजना सफल भएकोमा, र त्यो योजनाको बारेमा शिक्षकहरुले संका समेत नगरेकोमा। तर दुखी पनि थिए राम दुलारीले गाउँ नै छाडेर गएकोमा।

विश्वराज अधिकारी



No comments:

Post a Comment