Friday, June 15, 2012

Identifying And Using Local Resources-Article-46


स्रोत र साधनहरुको पहिचान एवं उपयोग

विकासशील राष्ट्रहरुमा, हरेक क्षेत्रमा अति नै राजनैतिकरणले गर्दा विकास र निर्माणका कार्यहरुले प्राथमिकता पाएका हुँदैनन। साथै स्थानीय स्रोत र साधनहरुको पहिचान एवं उपयोग पनि स्थानीय स्तरमा प्रभावकारी किसिमले गर्न सकिएको हुँदैन। स्थानीय स्रोत र साधनहरुको उपयोग गर्न नसक्नुको प्रमुख कारण त्यस्ता साधनहरुको उपयोगका लागि केन्द्र वा सरकारको योजना एवं सक्रियतामा भर पर्नु हो। अर्कोतिर सरकार वा सरकारमा भएका व्यक्तिहरु केवल आफ्नो शक्ति र कुर्सीको आयु लम्ब्याउने तिर मात्र लागेका हुन्छन। जन प्रतिनिधिहरु पनि आफ्नो क्षेत्रको विकासमा क्रियाशील हुनुको साटो अर्को चुनावमा कसरी विजयी हुने विषयमा केन्द्रित रहेर पार्टी कार्यालय र शक्ति केन्द्रहरुमा धाउनमा नै व्यस्त हुन्छन। स्थानीय जनता पनि राजनैतिक दलहरुको दाउपेंचको सिकार भएर विभाजित मनस्थितिमा पुगेका हुन्छन र स्थानीय स्रोत एवं साधनको उपयोग एक आपसमा मिलेर, हातेमालो गर्दै गर्न सक्दैनन। यसरी स्थानीय स्रोत र साधनहरुको उपयोग हुन पाउँदैन र जनता गरिबीहरुको कुचक्र भित्र पिल्सिएर बाँच्न बाध्य हुन्छन। विकासशील राष्ट्रहरुमा देखिने यो कटु सत्यले गर्दा नै नेपाल, भारत, बंगलादेश, पाकिस्तान जस्ता मुलुकका निर्धन जनतालाई अति गरिबीको घेराबाट बाहिर आउन गार्हो परि रहेको छ।
कुनै पनि मुलुक वा क्षेत्रका जनतालाई गरिबीबाट बाहिर ल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका खेल्ने तत्व त्यहाँका स्रोत र साधनहरु हुन। र त्यस्ता स्रोत र साधनहरुको उपयोग गर्ने, त्यस बारे राम्रो अनुभव र जानकारी राख्ने त्यहाँका जनता हुन। स्थानीय जनताद्वारा, स्थानीय स्रोत र साधनहरुको भरपूर उपयोगले नै अति निर्धन जनताको जिवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। उनीहरुलाइ आर्थिक रुपमा स्वावलम्वी र सक्षम पार्न सकिन्छ। प्राय हरेक क्षेत्र कुनै न कुनै किसिमको स्रोत वा साधनले भरिपूर्ण रहेको हुन्छ नै। कुनै किसिमको स्रोत वा साधनले भरिपूर्ण नभएमा पनि अहिलेको यो अति वैज्ञानिक भौतिक युगमा कुनै पनि क्षेत्रलाई विभिन्न किसिमका साधनहरु द्वारा सम्पन्न तुल्याउन सकिन्छ। प्रकृतिले नदिए पनि मानवीय प्रयत्नहरुद्वारा साधन सम्पन्न तुल्याउन सकिन्छ। कतारले गरेको प्रयत्नबाट पनि यो कुराको पुष्टि हुन्छ। कतारले आफ्नो मुलुकलाई पर्यटकहरुको महत्वपूर्ण गन्तव्य बनाउनका लागि विभिन्न किसिमका निर्माणहरु गरि रहेको छ। कतारले सन २०२२ मा FIFA (  Federation International de Football Association) World Cup को आयोजना गर्दैछ। यो खेल सम्पन्न भए पछि १८ लाख ५३ हजार जनसंख्या भएको कतार FIFA World Cup आयोजना गर्ने, अरब राष्ट्रहरुमा, पहिलो राष्ट्र हुनेछ। यो खेलले कतार लगाएत अरब विश्व र पश्चिमेली राष्ट्रहरु बीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास कतारका जनताले लिएका छन।
नेपालमा प्रकृति र इतिहासले दिएका स्रोत र साधनहरु प्रचुर मात्रामा भएता पनि तिनको प्रयोग स्थानीय र राष्ट्रिय गरिबी कम पार्नमा गर्न सकिएको छैन। प्रकृति र इतिहासले दिएका तर व्यापक मात्रमा उपयोग गर्न नसकिएका विभिन्न किसिमका स्रोत र साधनहरु मध्ये एक हो जनकपुरका मन्दिर मठहरु, धार्मिक र सांस्कृतिक महत्वका स्थानहरु, कला र सौन्दर्यहरु। जनकपुरमा रहेका यस किसिमका स्रोत र साधनहरुको उपयोग स्थानीय स्तरमा, विभाजित मनस्थितिमा नरही, सबैले मिलेर गर्ने हो भने जनकपुर नगरले गरेको आर्थिक आर्जनले त्यस क्षेत्र र त्यस क्षेत्र वरि परिका बासिन्दाहरुलाई सजिलै खान पुग्छ। जनकपुरमा उपलब्ध रहेको जन शक्तिले नपुगेर बाहिरबाट ल्याउनु पर्ने हुन्छ। अर्थात जनकपुरमा व्यापक मात्रामा रोजगारी सृजना गर्न सकिन्छ। जनकपुरलाई भारतको हरिद्वार जस्तो धार्मिक पर्यटकीय शहरको रुपमा नेपाल, भारत लगाएत विश्व भरिका विभिन्न राष्ट्रहरुमा प्रचार प्रसार गर्ने हो भने यस शहरमा उल्लेख्यनीय रुपमा पर्यटकहरुको संख्यामा वृद्धि गर्न सकिन्छ। यस क्षेत्रको द्रुततर गतिमा आर्थिक विकास गर्न सकिन्छ।  
अहिलेको युग सूचनाको युग हो। इन्टरनेटले सूचना र जानकारीको प्रवाहलाई ज्यादै सरल र प्रभावकारी तुल्याइ दिएको छ। इन्टरनेटले गर्दा बजारीकरण (Marketing) को कार्य अति नै सजिलो हुन पुगेको छ। विश्वको कुनै पनि कुनामा बसेर इन्टरनेटको माध्यमद्वारा संसार भरि नै आफूले लक्षित गरेको बजार भित्र प्रवेश गरेर आफ्नो सामाग्री बिक्री गर्न सकिने स्थिति सृजना भएको छ। तर नेपालमा उद्योग, पर्यटन र व्यापारको विकास एवं विस्तारमा इन्टरनेटलाई व्यापक मात्रामा प्रयोग गर्न सकिएको छैन।  विभिन्न किसिमका वेभ पेजहरु बनाएर, जनकपुरका धार्मिक स्थलहरुको व्यापक प्रचार प्रसार गरेर, यस क्षेत्रमा हरेक वर्ष लाखौंको संख्यामा पर्यटकहरु भित्र्याएर, यस क्षेत्रको आर्थिक विकासको गतिलाई तिब्र पार्न सकिन्छ।
जनकपुरको जानकी मंदिर, राम मंदिर, विवाह मंडप, संकट मोचन आदि अति नै धार्मिक महत्वका तिर्थ स्थलहरु हुन। यी धार्मिक सम्पत्तिहरुको सदुपयोग गरेर यहाँका जनताको गरिबी मात्र कम गर्न सकिंदैन साथै यी धार्मिक सम्पत्तिहरुको प्रभावकारी किसिमले संरक्षण समेत पनि गर्न सकिन्छ र आउने पुस्तालाई यी सम्पत्तिहरु अझै सुन्दर अवस्थामा हस्तान्तरण गर्न सकिन्छ। यी मन्दिरहरु अति पुराना मात्र होइन साथै इतिहासका प्रमाणहरु पनि हुन। भनिन्छ सन् १९११ मा टिकमगढ की महारानी बृषभानु कुमारीले नौ लाख रुपैयाँ खर्च गरेर जानकी मंदिरको निर्माण गरेकी हुन। त्यसै कारण यसलाई नौ लखा मन्दिर पनि भन्ने गरिन्छ।  जानकी मंदिरले प्राचीन इतिहासको त्रेता युगलाई वर्तमान युगसँग जोड्छ। के यो साधरण कुरा हो? साथै तेत्रा (सत्य) युगका भगवान रामचन्द्रको विवाह यस धरति कि पुत्री सीता जी सँग यहाँ भएको एतिहासिक धार्मिक घटनाको प्रमाण समेत पेश गर्दछ। के यो आफैमा, संसारमै,  ठूलो धार्मिक एवं सांस्कृतिक महत्वको घटना होइन र? जनकपुरको महत्वलाई यो सानो लेखमा वयान गर्नु अति नै गार्हो कुरा हो। जनकपुरमा रहेका यति धार्मिक महत्वका मंदिरहरुको व्यापक मात्रामा प्रचार प्रसार अझै गर्न सकिएको छैन। जबकी संसारका अन्य राष्ट्रहरुमा केवल वन जंगल, पहाड, झरना आदिलाई पनि कलात्मक किसिमले सजाएर तीनलाई पर्यटिक महत्वको बनाई, तिनको व्यापक प्रचार प्रसार गरिएको सहजै देख्न सकिन्छ।  
आफ्नो स्थानको विकास आफैले गर्ने हो। आ-आफ्नो स्थानको विकास गरेर नै स्थानीय स्तरमा रोजगारी सृजना गरी गरिबी निवारण गर्न सकिन्छ। र यसका लागि स्थानीय स्रोत एवं साधनहरुको पहिचान र तिनको उपयोगमा जोड दिन आवश्यक छ। सबै विचार र किसिमका व्यक्तिहरु मिलेर अगाडि बढ्न आवश्यक छ। यस्तो गरिएमा मात्र जनतालाई आर्थिक रुपमा सक्षम तुल्याउन सकिन्छ। तर यसको बिपरित, विभिन्न राजनैतिक दल एवं तिनका नेताहरुको पछाडि लाग्ने हो, उनीहरुको झण्डा र नारा बोकेर समय बर्बाद गर्ने हो, उनीहरुले उकस्याएको भरमा विभाजित भई आपसमा मारकाट गर्ने हो र विकासका लागि केवल केन्द्र वा नेताहरुको मुख ताक्ने हो भने आउँदा वर्षहरुमा नेपालीहरु झन झन गरिब हुँदै जाने छन्। खास गरी ग्रामिण क्षेत्रका जनताको आर्थिक र सामाजिक जिवन झन झन कष्टकर हुँदै जाने छ। नेताहरुले त झगडा गर्न सिकाउनु भन्दा बढी के नै गर्न सिकाएका छन र? २०४६ साल पछिका घटनाहरुको विश्लेषण गर्दा यो कुरा प्रष्ट हुँदैन र?

विश्वराज अधिकारी 

No comments:

Post a Comment