Friday, September 21, 2012

Learn From Somalia-Article-60


सिकौं सोमालियाबाट

मौजुदा स्थितिमा नेपालमा अहिले कुनै त्यस्तो किसिमको ठूलो राजनैतिक समस्या छैन, एक किसिमले हेर्ने हो भने। माओबादीले संचालन गरेको रक्तपातपूर्ण संघर्षले पनि बिराम लिएको छ। रक्तपातपूर्ण आन्दोलनले न त कुनै पनि किसिमको समस्याको प्रभावकारी समाधान दिन सक्छ न त र देशमा सकारात्मक किसिमको राजनैतिक परिवर्तन नै ल्याउन सक्छ। बरु त्यस्तो संघर्षले गर्दा मुलुक अनावश्यक किसिमको द्वन्दमा तानिन्छ। समाजमा चिरकालसम्म रहि रहने आपसी वैमनष्यता मात्र फैलिन्छ। देशका भौतिक संरचनाहरु मात्र तहस नहस हुँदैन, सामाजिक संरचनाहरु पनि नराम्रो गरि भत्किन्छ, पूर्व अवस्थामा ल्याउन नसकिने गरी। यो यथार्थलाई बुझेर नै माओबादीहरुले हतियार बिसाएका हुन, निकै ढिलो गरी नै भए पनि।
छिमेकको कुरा गर्ने हो भने, नेपालका छिमेकी मुलुकहरु- चीन र भारत पनि शान्त छन। न त चीनमा नै कुनै किसिमको डर लाग्दो युद्ध मच्चिएको छ, न त भारतमा नै। छिमेकी मुलुकहरुमा अशान्ति मच्चिएर, छिमेकीहरुको युद्धमा नेपाल तानिनु परेको छैन। अथवा ती देशहरुमा कुनै किसिमको कलह मच्चिएर, ती देशहरुबाट आउने सरणार्थीहरुको ठूलो घुइँचोलाई भरण पोषण गर्नु परेको छ, सिरियाबाट आएका सरणार्थीहरुलाई टर्कीले आश्रय दिनु परे झै। नेपालसँग सीमा जोडिएका दुई छिमेकीहरु शान्त छन र त्यति मात्र होइन उनीहरुले अभूतपूर्व किसिमले आर्थिक प्रगति गरि रहेका छन पनि।
नेपालमा आर्थिक विकासका लागि यस्तो अति नै अनुकूल वातावरण भएता पनि मुलुकले आर्थिक विकास गर्न सकि रहेको छैन। यस्तो किन भएको हो यस बारे चर्चा परिचर्चा हुन आवस्यक छ।
अहिले पनि लाखौ लाख नेपाली युवा युवतीहरु  रोजगारीका लागि विदेशी भूमिमा पुगेर ती मध्ये धेरैले दर्दनाक जिवन बाँच्न विवश हुनु पेरको छ। देशमा व्यापक मात्रामा रोजगारी सृजना हुन सकि रहेको छैन। के कारणहरुले गर्दा यस्तो हुन गएको हो? ती कारणहरुको खोजि र ती उपर चर्चा परिचर्चा हुन नितान्त आवश्यक छ।  ती कारणहरु आम जनतासम्म पुर्याउन र उनीहरुलाई अवगत गराउन पनि उत्तिकै आवश्यक छ। आर्थिक विकासका लागि सबै तत्वहरु मौजुद र वातावरण अनकूल भएता पनि नेपालको आर्थिक विकासको गति अवरुद्ध हुन पुगेको छ। केही क्षेत्रहरुमा त आर्थिक विकासले विपरित दिशा समातेको समेत देखिएको छ। र त्यो क्षेत्र हो उद्योग। खास गरि कृषि उद्योग।
नेपालको आर्थिक विकास अवरुद्ध हुनुको मुख्य कारण मुलुकको राजनीति वा राजकीय शक्ति केही सीमित नेताहरुको स्वार्थको घेरामा कैद हुनु हो। वर्तमान समयले यही भन्छ। ती नेताहरुले आफ्नो स्वार्थ एवं अहंको विकास तथा रक्षा गर्न राष्ट्र र जनताको भविष्यलाई अंध्यारो तर्फ धकेली रहेका छन। यी नेताहरुको स्वार्थको घेराबाट मुलुकलाई बाहिर ल्याउन र देशलाई आर्थिक प्रगतिको पथामा दौडाउन  नया चुनाव आवश्यक छ। चुनावद्वारा मात्र यी नेताहरुलाई विस्थापित गरेर अर्का इमान्दार, जोश र जाँगरले भरिएका, राष्ट्रप्रेमी नेताहरुलाई मुलुकको आर्थिक विकासको अभिभारा सुम्पिन आवश्यक छ।
नेपालमा शान्ति र स्थिरताको यस्तो अनुकूल वातावरण भएता पनि विकास हुन सकि रहेको छैन, जबकी सोमालियामा त्यहाँका नेताहरु, मुलुकमा विषम परिस्थितिको बावजुत पनि विकास गर्न अघि सरेका छन। सन् २००८ देखि २०११ सम्म, निरन्तर रुपमा सोमालिया असफल राष्ट्रहरुको सूचिमा एक नम्बरमा रहँदै आएको छ। वर्षौको गृह युद्ध, भोकमरी र बिरामीले गर्दा अहिलेसम्ममा करिब दस लाख सोमालीहरुले ज्यान गुमाइ सकेका छन। सन् १९९१ मा राष्ट्रपति सैयद बर अपदस्थ भए देखि देशमा केन्द्रिय सरकारको नियन्त्रण हुन सकेको छैन।
 सम्पूर्ण सोमाली भूमिमा अहिले पनि सोमाली सरकारको पूर्ण नियन्त्रण छैन। पहिलेदेखि अशान्त रहँदै आएको सोमालिया, खास गरी सन् १९९१ देखि झनै अशान्त हुन पुग्यो। सन् १९९१ को मे महिनामा सोमालियाको उत्तरी भाग, जुन बेलायतको अधिनस्थ थियो, ले सोमालियाबाट अलग भएको घोषण गर्यो। सन् १९९१ देखि शुरू भएको गृह युद्ध अहिले पनि रोकिएको छैन। सन १९९१ देखि नै सोमालियाले बलियो सरकार पाउन सकेको छैन। सोमालियाको राज्य शक्ति विभाजित छ। सोमालियाको एक क्षेत्र, सोमालीलैण्ड, ले आफू स्वतन्त्र भएको घोषणा गरेको छ भने पन्टलैंडले आफूलाई अर्ध स्वायत्त क्षेत्र मान्दछ।  सोमालियाको केही क्षेत्रहरुमा इथोपिया समर्थित स्थानीय मिलिसियाहरुको नियन्त्रण छ। केही क्षेत्रहरुमा भने इथोपियाका ट्रुप्स र स्थानीय मिलिसियाहरुको नियन्त्रण छ। यसै गरी केही क्षेत्रहरुमा इस्लामिस्टहरुको नियन्त्रण छ। केही क्षेत्रहरुमा भने सरकारलाई समर्थन गर्ने प्रशासनहरुको नियन्त्रण छ भने केही क्षेत्रहरुमा सरकारको नियन्त्रण छ, जसलाई अफ्रिकन यूनियनले सहयोग पुर्याएको छ।
गृह कलहले गर्दा लाखौं सोमालीहरु स्वदेश छाडेर शरणका लागि अन्य मुलुकहरुमा पुगेका छन। यसै गरी लाखौंको संख्यामा, स्वदेशमै पनि, आफ्नो क्षेत्रबाट विस्थापित भएका छन। सन् २००९ को अन्त सम्ममा करिब ६ लाख ७८ हजार सोमालीहरु यु.यन.यच.सि.यार. (UNHCR) को रेखदेखमा थिए। सोमालिया, बिलियो केन्द्रीय सरकारको अनुपस्थितिमा यति अस्त व्यस्त हुन पुगेको छ कि मुलुक भित्र तीन किसिमका कानूनी व्यवस्थाहरुको अभ्यास हुने गरेको छ। मुलुकमा केहीले नागरिक कानून (civil law),  केहीले धार्मिक कानून (religious law) र केहीले परम्परागत कानून (customary law) मान्ने गरेको पाइन्छ।
मुलुकमा विषम राजनैतिक परिस्थित हुँदा हुँदै पनि त्यहाँका जनता देशमा शान्ति स्थापना गरेर आर्थिक विकास गर्न अघि सरेका छन्। विदेशमा बसेका सोमालीहरु मध्ये केही त स्वदेश फिर्ता गएका छन र केही जाने मनस्थितिमा छन, भोलिका दिनहरुमा देशको राजनैतिक र आर्थिक स्थितिमा सुधार आउला भन्ने आशमा। यसै गरि केही नेताहरु पनि अगाडि सरेका छन, मुलुकको विकास गर्नका लागि। त्यस किसिमका नेताहरु मध्ये एक हुन हसन सेइख मोहमुद। गएको हप्ता हसन सेइख मोहमुद सोमालियाको राष्ट्रपति निर्वाचित भएका छन। चालिस वर्ष पछि भएको त्यस किसिमको निर्वाचनमा विधायकहरुले सोमालियामा सकारात्मक परिवर्तन हुने आशामा मोहमुदलाई निर्वाचित गरेका हुन। नव निर्वाचित राष्ट्रपति मोहमुदले आफूलाई राष्ट्रपति निर्वाचित गरेकोमा नया संसदलाई धन्यवाद दिनुका साथै सोमाली जनतालाई मुलुकको नव निर्वाणमा सहयोग पुर्याउन आह्वान पनि गरेका छन। मोहमुद स्वच्छ छविका मानिन्छन र उनी माथि भष्ट्राचार गरेको, हिंसा मच्चाएको जस्ता आरोपहरु लागेको छैन। उच्च शिक्षा हासिल गरेका मोहमुदले सोमालियामा शान्ति स्थापना गर्ने ठोस योगदान पुर्याएको विश्वास गरिन्छन। सन् १९८१ मा सोमाली नेशनल युनिभर्सिटीबाट ग्रेजुएशन गरेका मोहमुदले भारतको भोपाल युनिभर्सिटी बाट एम. बि.. समेत गरे। त्यति मात्र होइन, उनी राजधानी मोगादिशु स्थित सोमाली इन्सटिच्युट अफ मैनेजमेन्ट एण्ड एडमिनिसट्रेशन डेभेलपमेन्टका सह स्थापनकर्ता समेत भए। पछि त्यो इन्सटिच्युट सिमाद युनिभर्सिटीको रुपमा विकास भयो। उनी हाल अध्यक्ष रहेका ‘पिस एण्ड डेभेलपमेन्ट पार्टी’ को स्थापना उनले सन् २०११ मा गरेका थिए।
राजनैतिक र आर्थिक रुपमा अस्त ब्यस्त रहेको सोमालियाका जनताले नव निर्वाचित राष्ट्रपति मोहमुदबाट धेरै आशा गरेका छन। जनताको त्यस किसिमको आशालाई उनले कुन किसिमले र कतिसम्म पुरा गर्ने छन, त्यो त आउने समयले बताउँला तर मोहमुद एउटा नया उत्साह र विश्वासका साथ मुलुकको मौजुदा स्थितिमा सुधार ल्याउन अगाडि बढेको चाँहि प्रष्ट हुन्छ।
फर्कौ नेपालको स्थितिमा। नेपालमा सबै कुरा सामान्य भएता पनि यहाँका नेताहरु देशको विकास गर्न इच्छुक समेत देखिएका छैनन्। दलगत र आफ्नै स्वार्थको वरिपरि रुमलिएका छन।  देशमा विद्यमान रहेको सहज स्थितिको उपयोग राष्ट्रको विकासका लागि गर्न सकि रहेका छैनन्। जबकी सोमालियामा त्यस किसिमको विषम परिस्थिति हुँदा हुँदै पनि राष्ट्रपति मोहमुद आशा र उत्साहका साथ अगाडि बढेका छन, मुलुकको विकास गर्न।

विश्वराज अधिकारी

No comments:

Post a Comment