Friday, December 21, 2012

Role of Communication in Poverty Alleviation-Article-70


गरिबी न्यूनीकरणमा संचार क्षेत्रको भूमिका

भूमि र रोजगारी विहीनता दुबै गरिबीका प्रमुख कारणहरु हुन। यदि व्यक्ति सँग उत्पादन गर्नका लागि भूमि छैन भने उसले आफ्नो जिवन निर्वाहका लागि केही पनि उत्पादन गर्न सक्तैन। यस्तो अवस्थामा भूमिहीन व्यक्तिले (अन्य स्थानमा गएर) दैनिक रोजगारीद्वारा जिवन निर्वाहका लागि आय आर्जन गर्नु पर्दछ। तर श्रम बजारमा रोजगारी पनि उपलब्ध छैन भने जिवन निर्वाहका लागि आय आर्जन गर्ने प्रक्रिया उक्त व्यक्तिका लागि झनै कष्टकर भएर जान्छ। यस्तो अवस्थामा, प्रमुख रुपमा, व्यक्तिसँग केवल दुई वटा – १. भिख मागेर खाने वा २. सँधै भरि, ऋण लिँदै आम्दानी भए पछि चुक्ता गर्दे, जिवन धान्ने विकल्पहरु मात्र बाँकी हुन्छन।  यस बाहेक एक अर्को विकल्प पनि हुन्छ जस अन्तरगत व्यक्तिले नियमित एवं आंशिक रोजगारी पाएको त हुन्छ तर ती रोजगारीबाट प्राप्त आयले पनि केवल जिवन धान्न गर्नु पर्ने खर्चलाई मात्र समेट्न सक्छन्। यी कारणहरुले गर्दा व्यक्ति गरिबीको दुष्चक्रबाट बाहिर आउन सक्तैन। शिक्षा, सूचना र अवसरको खोजीमा लगानी गरेर गरिबी बाट मुक्ति पाउन सक्तैन। र यस्तो अवस्था खास गरी विकासशील राष्ट्रहरुमा हुने गर्दछ। धनी राष्ट्रहरुमा, सामान्यतया, प्रत्येक व्यक्ति वा परिवारसँग जमिन नभएता पनि रोजगारी हुने भएकोले व्यक्ति वा परिवारले दुइ छाक सजिलैसँग खान पाउने स्थिति भने अवश्य हुन्छ। यो कारणले गर्दा पनि धनी राष्ट्रहरुमा निरपेक्ष गरिबीको रेखा मुनि बाँच्नेहरुको संख्या ज्यादै कम हुने गर्दछ। नेपाल, भारत, पाकिस्तान जस्ता विकासशील राष्ट्रहरुमा भने निरपेक्ष गरिबीको रेखा मुनी बाँच्नेहरु संख्या ज्यादै बढी हुने गर्दछ।
विकासशील राष्ट्रहरुमा, अधिक जनसंख्याको कारणले गर्दा, एकातिर जमिनको उपलब्धता ज्यादै सीमित हुन पुगेको हुन्छ भने अर्कोतिर खेतियोग्य जमिनको मूल्य ज्यादै चर्को हुन्छ। यो कारणले गर्दा गरिब परिबारहरुको जमिन माथि पहुँच कठिन मात्र होइन केही अवस्थाहरुमा त असम्भव नै भइ दिन्छ। त्यस कारणले गर्दा विकासशील राष्ट्रका निर्धन परिवारहरुले जिवन निर्वाहका लागि रोजगारीको साहारा लिनै पर्दछ र त्यसका लागि अन्य व्यक्ति वा संस्थाको भर पर्नुको विकल्प हुन सक्तैन। अर्कोतिर गरिब राष्ट्रहरुमा उत्पादनको स्थिति (उत्पादन र उत्पादकत्व दुबै किसिमले) ज्यादै कमजोर हुन्छ, खास गरि नेपाल जस्तो गरिब मुलुकमा त उत्पादनको स्थिति दयनीय नै छ। उत्पादनको स्थिति दयनीय हुनुका अनेक कारणहरु हरु हुन्छन तर ती कारणहरु मध्ये ज्यादै असरदार कारण चाँहि रोजगारदाता र श्रमिक बीचको सम्बन्ध निरन्तर रुपमा अति नै कटुतापूर्ण हुनु हो। रोजगारदाता र श्रमिकहरु बीचको कटुतापूर्ण सम्बन्धले गर्दा उत्पादन नराम्रो गरी प्रभावित (ज्यादै कम उत्पादन) हुन पुग्दछ र परिणाम स्वरुप रोजगारीमा संकुचन आइ श्रम बजारमा उपलबध श्रमिकहरुलाई पुग्ने गरी रोजगारी सृजना हुन पाउँदैन वा रोजगारीको स्तर घट्दै जान्छ। अर्को शब्दमा, बेरोजगारी बढ्दै जान्छ।
रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई कसले कटुतापूर्ण बनाउँछ त? यो प्रश्न ज्यादै गंभिर छ। प्रश्न गंभिर भएता पनि यसको उत्तर भने खोज्नै पर्ने हुन्छ। विकासशील राष्ट्रहरुमा रोजगारदाता र श्रमिकहरु बीचको सम्बन्धलाई कटुतापूर्ण बनाउने कार्य बढि मात्रामा श्रम संगठनहरुले गर्दछन्। विकासशील राष्ट्रहरुमा श्रम संगठनहरु श्रमिकहरुको हित हुने कार्यमा संलग्न हुनुको साटो श्रमिकहरुको अहित हुने कार्यमा संलग्न हुन पुग्दछन, आफ्नो राजनैतिक क्रियाकलापहरुले गर्दा। श्रम संगठनहरु श्रमिकहरुको हित नगर्ने स्थितिमा किन र कसरी पुग्दछन त? यस प्रश्नको उत्तर ज्यादै सरल छ। श्रम संगठनहरु श्रमिकहरुको हितको रक्षा गर्नका लागि नभइ राजनैतिक संगठनहरुको भलोका लागि वा आफू नजिकको दललाई चुनावमा बढी भोट दिलाउनका लागि स्थापित एवं क्रियाशील भएका हुन्छन। श्रम संगठनहरुको कार्य आफू नजिकको दललाई मजबूत तुल्याएर त्यसलाई सरकारमा पुर्याउनुमा मात्र सीमित हुन पुग्दछ, मजदूर र रोजगारदातबीच समन्यलाई मजदूरहरुको हितको रक्षा गर्नुको साटो।
अर्कोतिर, विकासशील राष्ट्रहरुमा गरिबहरुको संख्या अत्यधिक भएको हुनाले बामपन्थी दलहरु अन्य राजनैतिक दलहरु भन्दा बलियो स्थितिमा हुन्छन किनभने गरिबहरुलाई उनीहरुको हितको रक्षा गर्ने केवल बामपन्थी राजनैतिक दलहरु नै हुन भन्ने किसिमबाट दिमाग रित्तो (Brain wash)   पारिएको हुन्छ।  यसरी, गरिबहरुले बामपन्थी दलहरुलाई बढी समर्थन गर्छन। राजनैतिक दलहरु, र खास गरि बामपन्थी दलहरुले आफ्नो त्यस किसिमबाट तयार भएको मजबूत स्थितिको फाइदा उठाउँदै आफ्नो नजिकको श्रम संगठनहरु उत्पादन संस्थाहरुमा क्रियाशील पारेका हुन्छन। श्रम संगठनहरुले, आफ्नो निहित स्वार्थकालागि, मजदूरहरुको मन जित्न, चाँहिदा नचाहिँदा मागहरु राखेर रोजगारदाताहरुको विरुद्धमा बन्द, हडताल, प्रदर्शन आदि गर्न मजदूरहरुलाई प्रेरित गर्छन। यसरी रोजगारदाताहरुको बिरुद्धमा हुने निरन्तरको बिरोधले गर्दा उनीहरु पनि कारखाना सुचारू राख्न (घाटा एवं संचालन जटिलताले गर्दा) अनिच्छुक हुन पुग्छन र पछि कारखाना नै बन्द हुने स्थिति आएर श्रमिकहरु बेरोजगार हुन पुग्छन। राजनैतिक दलहरुको यस किसिमको क्रियाकलापले गर्दा रोजगारदाता र श्रमिकहरु बीच राम्रो सम्बन्ध कायम हुन पाउँदैन र परिणामस्वरुप उत्पादनमा ह्रास आइ रोजगारीको स्तरमा वृद्धि हुन सक्तैन र निरपेक्ष गरिबीको रेखा मुनी बस्नेहरु निरन्तर त्यसै अवस्थामा बस्न बाध्य हुन पुग्छन।
विकासशील राष्ट्रहरु, र खास गरी नेपाल जस्तो अति नै गरिब मुलुकमा रोजगारीको स्तरमा वृद्धि गर्ने हो भने उत्पादनमा वृद्धि गर्न अति आवश्यक छ। उत्पादनमा वृद्धि गर्नका लागि रोजगारदाता र मजदूरहरु बीचको सम्बन्ध सुमधुर हुन आवश्य छ। यी दुई पक्षहरु बीचको सम्बन्ध सुमधुर भएमा मात्र उत्पादनमा वृद्धि गरेर, रोजगारी सृजना गर्दै गरिबी कम पार्न सकिन्छ। सरकार एक्लोले, सरकारी क्षेत्रहरुमा मात्र रोजगारी सृजना गरेर राष्ट्रिय गरिबी कम पार्न सक्तैन। राष्ट्रिय गरिबी कम पार्नमा निजी क्षेत्रको भूमिका अति नै महत्वपूर्ण हुन्छ। निजी क्षेत्रले मात्र ठूलो स्तरमा रोजगारी सृजना गर्न सक्छ। त्यसकारण निजी क्षेत्रले प्रभावकारी किसिमले कार्य गर्न रोजगारदाता र श्रमिकहरु बीचको सम्बन्ध, नागिन र सपेरा जस्तो होइन कि नङ र मासु जस्तो हुनु अति आवश्यक छ।
रोजगारदाता र श्रमिकहरु बीचको सम्बन्धलाई सुमधुर पार्न विभिन्न पक्षहरुले महत्वपूर्ण योगदान पुर्याउन सक्छन। अहिलेको यो अति संचारको युगमा संचार क्षेत्रले भने रोजगारदाता र श्रमिकहरु बीचको सम्बन्धलाई सुमधुर पार्नमा अति नै महत्वपूर्न भूमिका निर्वाह गर्न सक्छ र यो महत्वपूर्ण भूमिका निर्वाह गरेर राष्ट्रिय गरिबी कम पार्नमा उल्लेखनीय योगदान पुर्याउन सक्छ।
जब कुनै एक सम्वाददाता वा स्तम्भकारले कुनै समाचार वा विचार, श्रव्य, दृश्य वा छापा माध्यमबाट जनतामा संपेषण गर्दछ जनताले एक खास किसिमको विचार निर्माण गर्नका लागि उक्त संपेषणबाट सामाग्री ( input) हरु प्राप्त गर्दछ। यसरी प्राप्त भएका सामाग्रीहरुबाट जनताले एक खास किसिमको बिचार निर्माण गर्दछ। प्राप्त सूचना र जानकारीहरुको आधारमा निर्माण गरिएको त्यस किसिमको बिचारले नै पछि व्यक्तिलाई एक खास किसिमको व्यवहार गर्न निर्दैशित गर्दछ। उदाहरणका लागि अहिले संचार माध्यमाहरुले December 21, 2012 मा यो संसार तहस नहस हुन्छ वा प्रलय हुन्छ भन्ने समाचार एवं विचारहरु संप्रेषण गरि रहेक छन। प्राप्त त्यस किसिमका सूचना र जानकारीहरुले जनतालाई एक किसिमको (त्रसित) मनोविज्ञान निर्माण गर्न सहयोग पुर्याइ रहेका छन। संचार माध्यमहरुले खास किसिमको विचार वा मनोविज्ञान निर्माण गर्न व्यक्तिहरुलाई सहयोग पुर्याउने हुनाले संचारलाई विचार निर्माण गर्ने प्रक्रिया- उपकरण ( Opinion  building mechanism)  भन्ने गरिन्छ। र त्यसै कारणले यसलाई राज्यको चौथो अंग पनि भनिएको हो।
आधुनिक युगमा, संचार क्षेत्रको, यस किसिमको महत्वपूर्ण भूमिका रहेकोले, संचार क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुले नेपाल जस्तो गरिब मुलुकमा निर्धनता कम पार्न, रोजगारदाता र श्रमिकहरु बीचको समबन्धलाई सुमधुर पारेर राष्ट्रिय गरिबी कम पार्नमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन। यो ऐतिहासिक जिम्मेबारी पूरा गर्न कस्ता किसिमका सूचना, जानकारी एवं विचारहरुको संप्रेषण गर्दा रोजगारदाता र श्रमिकहरु बीचको सम्बन्ध सौहार्दपूर्ण हुन बल पुग्दछ भन्ने तर्फ संचार क्षेत्रसँग आवद्ध व्यक्तिहरुले ध्यान दिन नितान्त आवश्यक छ। यसै गरी, संचार क्षेत्रसँग आवद्ध व्यक्तिहरुले रोजगारदाता र श्रमिक ‘एक रथका दुई पांग्राहरु हुन, यी दुई पक्षहरुको बीचमा बिग्रह होइन समन्वय हुन आवश्यक छ’ भन्ने विचार निर्माण गर्न पनि उत्तिकै आवश्य छ, मुलुकमा व्याप्त गरिबी कम पार्नका लागि।

विश्वराज अधिकारी

(Published in prateekdaily on Friday, December 21, 2012)
http://www.prateekdaily.com/2012/12/blog-post_8553.html?utm_source=BP_recent

No comments:

Post a Comment