Friday, December 7, 2012

To Be Leader Is Not Required To Develop The Nation-Article-69


मुलुकको विकासका लागि नेता नै हुनुपर्दैन

मुलुकको आर्थिक विकास गर्नका लागि नेता नै बन्नु पर्दछ भन्ने छैन। मुलुकको आर्थिक विकासका लगि न त कुनै उच्च प्रशासकीय पदमा नै बस्नु पर्दछ। न त ज्यादै तिष्क्षण दिमागको भएर सँधै आफ्नो क्लासमा जहिले पनि ‘फस्ट’ भएको हुनु पर्दछ। न त पि यच डी जस्ता डिग्री लिएर अनेक किसिमक अध्ययन अनुसन्धान गरेको हुनु पर्दछ। न त गरिबी निवारण कसरी गर्ने भनी लामा लामा भाषण छाट्दै हिंड्न सक्ने हुनु पर्दछ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने त त्यस किसिमका विशेषता बोकेका व्यक्तिहरुले नेपालीहरुको गरिबीलाई केवल उपयोग गरेक छन, आफ्नो स्वार्थ पूर्तिका लागि, आफ्नो व्यक्तिगत विकासका लागि, गरिबी निवारण गर्नुको साटो। नेपालमा राजनैतिक नेताहरुले र खास गरि बामपन्थी नेताहरुले, दयनीय अवस्थामा रहेका परिवारहरुको गरिबीलाई आफ्नो स्वार्थ पूरा गर्नका लागि, धन आर्जन गर्नका लागि र मंत्री एवं प्रधान मंत्री हुन का लागि व्यापक मात्रामा उपयोग मात्र गरेका छन। खास गरि बामपन्थी नेताहरुले त कुनै पनि (दलभित्र वा सरकारी) पद नलिएर, केवल समाज सेवामा आफ्नो सम्पूर्ण जिवन अर्पित गरेको उदाहरण बिरलै देख्न पाइन्छ, महात्वमा गाँधी, गणेशमान सिंह, दयावीरसिंह कंसाकार जस्तो । 
साधरण इच्छा र सामान्य प्रयत्नबाट, कुनै पनि दलको उच्च पदमा नबसी, कुनै ठूलो सरकारी पद (मंत्री, प्रधान मंत्री) नअगोटेर, केवल एक सामान्य नागरिकको हैंसियतमा पनि देश र जनताको आर्थिक विकासमा ज्यादै ठूलो योगदान पुर्याउन सकिन्छ भन्ने तथ्यको उदाहरण भने प्रस्तुत गरेकी छिन नेपाल-छोरी पुष्पा बस्नेतले। अस्ति (Sunday, December 2, 2012) संयुक्त राज्य अमेरिकाको लस एंज्लस शहर स्थित स्रिन अडिटोरियममा पुष्पा बस्नेतालाई समाज सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत ‘सन् २०१२ को सि यन यन हिरो’ घोषणा गर्दा देशको विकास गर्न केवल उदार एवं समर्पण भाव चाहिन्छ भन्ने कुराको थप पुष्टि भएको हुनु पर्दछ। देशको आर्थिक विकास गर्न नेता बनेर राजनैतिक दाउपेंच खेल्नु पर्दैन, केवल जनताको सेवामा समर्पित भए पुग्छ भन्ने तथ्यलाई बल पुगेको हुनु पर्दछ। पुष्पा बस्नेतले जेल भित्र रहेका मातापिताहरुका सन्तानहरुलाई सन् २००५ देखि शिक्षा एवं अन्य सेवाहरु प्रदान गर्दै आएकी छिन। ती बाल बालिकाहरुको मानसिक एवं शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी छिन। अहिले सम्ममा उनले १४० भन्दा बढी बालबलिकाहरुलाई त्यस किसिमको सहयोग पुर्याइ सकेकी छिन। शिशु स्यहार केन्द्रको स्थापना गरेर त्यस किसिमका बालबालिकाहरु लाई सेवा पुर्याउँदै आएकी  पुष्पा बस्नेतलाई बालबालिकाले ‘मामु’ भन्छन। हिँजो उनी आफ्नो त्यस किसिमको उत्कृष्ट कार्यको लागि ‘2012 CNN Hero of the Year’ पुरस्कारबाट सम्मानित हुँदाको बखत  भाव विभोर हुँदै भनेकी थिन् ‘मामुले तिमीहरुलाई जेलबाट बाहिर ल्याउने छु, र तिमीहरु मेरो ठाउँमा आउने छौ’। अस्ति उनले पुरस्कार स्वरुप अमेरिकी डलर २ लाख ५० हजार प्राप्त गरेरकी छिन। २९ वर्षिय बस्नेत, लाउने खाने उमेरमा यस किसिमको त्याग र समर्पण भाव अति आवश्यक हुने क्षेत्रमा प्रवेश गर्नु आफैमा पनि अतुलनीय छ, समाज सेवाको उत्कृष्ट उदाहरण बनेको छ। नेपाली समाजले उनको यो सारगर्भित सेवाको उच्च मूल्यांकन गर्ने छ। आउने पीढीलाई समाज सेवा गर्न उत्प्रेरित गर्ने छ।
कुनै पनि व्यक्तिलाई समय र परिस्थितिले अपराध गर्न बाध्य पारेको हुन्छ, केही अपवाद बाहेक। जाना जानी अपराध गर्ने मनस्थितिमा कमै व्यक्ति पुगेका हुन्छन। नेपालको सन्दर्भमा हेर्दा त अज्ञानता, अशिक्षा र गरिबका कारणले गर्दा मान्छेहरु अपराधको जगतमा प्रवेश गर्छन। अझै, केही व्यक्तिहरुलाई त अपराध गर्न लगाएका हुन्छन्, ठूला बडा भनाउँदाहरुले। जे जस्तो कारणले अपराध गरेर जेल पुगेको भएता पनि जेल जिवन भोग्न अपराध गर्ने व्यक्तिहरु बाध्य हुनु पर्ने हो, उनीहरुको नाबालक सन्तान भने होइन। तर नेपालमा पर्याप्त ‘सामाजिक सुरक्षा सेवा’ को अभाव रहेकोले जेल जिवन भोगि रहेका मातापिताका सन्तान (बालबालिक) हरु पनि जेल भित्र बस्न बाध्य हुनु पर्दछ, अन्य वैकल्पिक व्यवस्था नभएको कारणले गर्दा। गरिब आमाबाबुका ती सन्तानहरु जेल भित्र रहँदा उचित शिक्षाबाट बंचित हुन पुग्दछन ,जबकी उनीहरुले कुनै किसिमका अपराध गरेका हुँदैनन्। त्यस किसिमबाट जेल भित्र बस्न बाध्य हुनु पर्ने बाल बालिकाले उचित शिक्षा नपाएमा निश्चय पनि भविष्यमा राम्रो अवसर पाउने छैनन् र उनीहरु पनि गरिबीको दलदल भित्र भास्सिनु पर्ने बाध्यता उत्पन्न हुन सक्छ। त्यति मात्र होइन, उचित सामाजिक वातावरण नपाएमा उनीहरुको मानसिक विकास पनि उचित किसिमले नहुन सक्छ र अपराध जगततर्फ आकृष्ट हुन सक्छन। त्यस किसिमका बालबलिकाहरुलाई समयमै उचित शिक्षा दिएर, उनीहरुलाई गरिबीको दलदलमा फँस्न नदिने प्रयास गरेकी छन् पुष्पाले। यस अर्थमा, सानो आकारमा नै भए पनि मुलुकको गरिबी निवारणमा महत्वपुर्ण योगदान पुर्याएकी छिन उनले। पुष्पाले गरेको यो कार्य सरकारले गर्नु पर्ने हो, त्यस किसिमका बालबालिकारहरु लाई सेवा पुर्याउन। नेपालका नगर पालिकाहरुले कैदीहरुको बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्यको सुबिधा उपलब्ध गराउनु पर्ने हो, शिशु स्यहार केन्द्रहरुको स्थापना गरेर।
संयोग नै मान्नु पर्दछ कि जति खेर शक्तिका भोका नेताहरु सिनो (सत्ता) का लागि काठमाडौमा लुछाचुडीं गर्दै थिए, एउटा सहमतिको स्थिर सरकार गठनका लागि असफल भइ रहेका थिए, देशलाई झनै अनिश्चितता र गरिबको खाडलमा धकेल्न उध्त थिए, ठीक त्येही बेला एक सामान्य नेपाली नागरिकको हैसियत बोकेकी पुष्पा बस्नेतले भने मानवताको रक्षाका लागि, गरिबहरुलाई सहयोग गरे बापत, अन्तरार्ष्ट्रिय स्तरमा प्रशंसा र पुरस्कार प्राप्त गरि रहेकी थिन। मानव सेवाको क्षेत्रमा नेपालको शीर उच्च पारि रहेकी थिन, विश्व रंगमंचमा। विकासशील मुलुकहरुमा केवल सत्ताका लागि दाउपेंचको खेति हुँदैन, मानवताको रक्षा लागि उत्कृष्ट प्रयास  पनि हुन्छ भन्ने उदाहरण आफ्नो कर्मद्वारा प्रस्तुत गरि रहेकी थिन। नेपाललाई आफ्नो उत्कृष्ट कर्मद्वारा परिचित गराइ रहेकी थिन। कठै! नेताहरुमा पनि यो भावना उम्रे कति अशल हुने थियो! नेताहरुले पनि उत्कृष्ठ समाज सेवा गरे बापत राष्ट्रिय/ अन्तरार्ष्ट्रिय सम्मान पाए कति राम्रो हुने थियो! तर अफसोच! नेताहरुले मुलुकको ढुकुटीको पैसा खाएर पनि, राज्यले दिएको शक्ति र सुबिधाहरुको उपभोग गरेर पनि, नेपालीहरुको सेवा उदाहरणीय किसिमले गर्न सकेका छैनन्।
नेपाली समाजले पुष्पा बस्नेत जस्ता समाजसेवीहरुको मनोवल उच्च पार्न समाज सेवामा लाग्नेहरुलाई सहयोग एवं उत्प्रेरित गर्न आवश्यक छ, नेताहरुको झूठो सपनाको पछाडि दौडिनुको साटो, उनीहरुले देखाएको बिखन्डनकारी बाटोमा लाग्नुको साटो। 
सि यन यनले आफ्नो समाचारमा उल्लेख गरे अनुसार संसार भरिबाट प्राप्त अन लाईन भोटिंगको आधारमा दस जना मध्ये एक छानिएकी थिन, पुष्पा। अन्य नौ जना सि यन यन हिरोहरु थिए; वान्डा बट्टस- संयुक्त राज्य अमेरिका (करिब १,२०० बालबालिकाहरुलाई पौडिन् सिकाएको), मैरी कोरटानी- संयुक्त राज्य अमेरिका (पोस्ट–ट्रोमेटिक स्ट्रेस डिजअडर भएका ८० भन्दा बढी वार भेट्रानहरुलाई उनीहरुको कुकुरलाई तालिम दिन सिकाएको), काटालिना इस्कोबार-कोलम्बिया (२,००० भन्दा बढी नया उमेरका आमाहरुलाई काउन्सिलिंग, शिक्षा र कार्य तालिम दिएको), राजिया जान- अफगानिस्थान (देशको ग्रामिण भेगमा रहेका बालिकाहरुलाई  निशुल्क शिक्षा प्रदान गर्ने अभियानमा संलग्न रहेको), तुलानी मेडेन्डो- दक्षिण अफ्रिका (क्लिपटाउनका ४०० गरिब बालबालिकाहरुलाई  स्कूल यूनिफर्म, ट्युटरिंग, भोजन एवं अन्य सेवा उपलब्ध गराएको), लियो मकार्थी- संयुक्त राज्य अमेरिका (उमेर नपुगेकाहरुले ड्रिंक गर्नु हुँदैन भन्ने अभियान संचालन गरेको), कोनी सिस्कोस्की- सुंयुक्त राज्य अमेरिका (बिरामी, असक्त वा पाको उमेरका व्यक्तिहरुलाई सेवा प्रदान गर्ने युवाहरुलाई सहयोग गरेको), स्कट स्ट्रोड- संयुक्त राज्य अमेरिका (६,००० भन्दा बढी व्यक्तिहरुलाई निशुल्क खेलकुद सिकाएर सहयोग गरेको), माल्या भिलार्ड-एपोलोन –हैटी (४,००० भन्दा बढी बलत्कार पीडितहरुलाई सुरक्षा, मनौवैज्ञानिक तथा कानूनी सेवा प्रदान गरेको)।

विश्वराज अधिकारी

Friday, December 07, 2012 मा प्रतीक दैनिकमा प्रकाशित 

No comments:

Post a Comment