Saturday, January 26, 2013

Fault-Nepali Short Story-33


दोष

काकी म सँग अलि बढी नै खुल्ने गर्नु हुन्छ। कहिले काहिँ त आफ्नो पतिलाई नभनेका कुराहरु समेत मलाई सुनाउनु हुन्छ। वहाँले मलाई किन त्यति पत्याएको होला त्यो मलाई थाहा छैन र मैले वहाँलाई सोधेको पनि छैन। मेरो एउटा कमजोरीले गर्दा पनि वहाँले मलाई धेरै र अनेक कुरा सुनाउने गरेको होला। मेरो कमजोरी के हो भने म कोही सँग कुरा गर्दा, कुरा गर्नेले मेरो आलोचना गरि रहेको छ भने पनि चुप लागेर सुन्ने गर्छु प्रतिवाद गर्दिन। कुरा गर्नेले गलत कुरा गरि रहेको छ भने उसको भनाई काटि हाल्दिन। खै के गर्ने, बानी नै यस्तो पर्न गयो।
अँ, त म काकीको कुरा गर्दै थिएँ। काकी सँग अस्ति भएका कुराहरु बारे भन्छु म। अस्ति काकी सँग नया सडक, काठमडौमा भेट भयो। सँधै झै काकीले भन्न आरम्भ गर्नु भयो ‘ हेर न कुशल, मैले भनेको कसैले सुन्दैन, मान्दैन, मेरो घरमा। मेरो कुरालाई कसैले महत्व नै दिँदैन। यस्तो लाग्छ, मैले गर्ने सबै कुराहरु महत्वहीन छन्’।
काकी रोकिनु भएन, थप्नु भयो ‘छोरोलाई भन्यो टेर्दैन। साथीहरुमा मात्र ध्यान न दे, पढाइ पनि हेर भन्छु, सुन्दैन। कलेज पढ्छ, होम वर्क गरेको देख्दिन कहिले। समय भन्दा पहिले क्याम्पस जा भन्छु सुन्दैन। क्याम्पस जान जहिले पनि ढिलो गर्छ। छोरी पनि त्यस्तै छे। पढाइ भन्दा बढी टि भी मा ध्यान दिन्छे। फोनमा साथीहरु सँग घण्टौ कुरा गर्छे। घरको काममा यसो सहयोग गर्नु नि, पटक्टकै गर्दिन। छोरीले त झन मेरो कुरा एउटा कानले सुन छे, अर्को कानले उडाउँछे। पतिदेवको त कुरा गरेर साद्दे नै छैन। मेरो कुरा सुने पछि, भनेको माने पछि, तल परौला भन्ने पीर छ, तिम्रो काकालाई। वहाँले त बुझ्नु पर्ने हो मेरो कुरा, अरुले न बुझे पनि, नमाने पनि। वहाँको त झन……………….। वहाँलाई भन्छु अफिस सकिए पछि कतै न अलमलिएर घर आउनुस, समयमा घर कहिले आउने होइन। धेरै साथी भाईको पछि न लाग्नुस, साथी भाईले खान दिने होइन, खान दिने आफ्नो योग्यता, आफ्नो बुद्धिले हो, हजारौं पटक भनि सकें। कहिलै मेरो कुरा टेर्ने होइन। काम नकाज सँग साथीहरुको घर घरमा दौडिनु हुन्छ के के न पाउँला भने। हँदा हुँदा त अब घरका काम गर्नेहरुले समेत मेरो कुरा सुन्न छाडि सके। भनेको पट्टकै मान्दैनन्।  भन्यो एकथोक गर्छन अर्को थोक। तिम्रो काकाले नै मत्याएको हो सबैलाई। अगाडिको हलो सोझो चले पो पछाडिका पनि सोझो चलुन। अब त दिक्क लागेर आयो। कसैलाई केही नभनौ जस्तो लाग्छ।’
काकीको लामो कुरा सुने पछी मेरो मुखबाट झ्वाट्ट निसक्यो- हो काकी, कसैलाई केही नभन्नु होस। अहिले सम्म तपाँईले नै धेरै भन्नु भयो, जस्तो छ। अब तपाँईले उनीहरुले भनेको पनि सुन्ने गर्नुस। काकीले भन्ने मात्र गर्नु हुँदो रहेछ। खोइ, उनीहरुले के भन्छन, भन्नु भएन त? मेरो मुखबाट कसरी यी वाक्यहरु बाहिर आए मैले पनि थाहा पाउन सकिन। 

विश्वराज अधिकारी

No comments:

Post a Comment