Friday, April 11, 2014

Gujrat's Economic Development and Modi's Mounting Popularity-Article-120

गुजरातको आर्थिक विकास र मोदीको बढ्दो लोकप्रियता

नरेन्द्र दामोदरदास मोदी जुनबेला उनको पीता द्वारा संचालित चिया पसलमा सहायक भएर काम गर्थ्ये त्यतिबेला उनले अनुमान समेत पनि गरेका थिएनन् होला कि कुनै दिन उनले भारतीय राजनीतिको शिखरमा पाइला टेक्ने  छन्।  नरेन्द्र मोदीका पिता दामोदरदास मुलचंद मोदीले वदनागर (गुजरात) रेल स्टेशनमा चियाको पसल संचालन गरेका थिए। उनले स्टेशन र रेल दुबै ठाउँमा चिया बिक्री गर्थ्ये। नरेन्द्र मोदीले आफ्ना पितालाई काममा सघाउने गर्थ्ये। पछि मीदीले आफैले पनि बस स्टेन्डमा चिया पसल संचालन गरेका थिए। मोदीले धेरै आरोह र अवरोहरु पार गरेका छन्। राहुल गाँधी जस्तो बनी बनाउ स्थितिमा राजनीतिमा  आएका होइनन्। यो चुनावमा, प्रधान मंत्री पदको प्रतिस्पर्धामा, मोदीले मुख्य रुपमा कांग्रे पार्टीका उपाध्यक्ष राहुल गाँधी सँग प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ। यो प्रतिस्पर्धामा आम आदमीका  अरविन्द केजरीवाल पनि ज्यादै नै पछाडि भने छैनन्।
सामान्य परिबारबाट आएका मोदीले राजनीतिमा निकै ठूलो सफलता हासिल गरे। वर्तमानमा, गुजरातको १४ औ मुख्य मंत्री रहेका मोदी सन् २००१ मा पहिलो पटक त्यहाँका मुख्य मंत्री भएका थिए। गुजरातमा उनको बढ्दो लोकप्रियताले उनलाई चार पटक सम्म निरन्तर रुपमा राज्यको मुख्य मंत्री बन्न सहयोग पुर्यायो। उनलाई राजनीतिमा त्यति बढी सफलता दिलाउनमा उनको आर्थिक नीति नै प्रमुख जिम्मेबार रहेको विश्लेषकहरुको मत छ। तर कतिले उनको राजनैतिक सफलताका लागि उनको हिन्दु राष्ट्रबादी छविले पनि निकै काम गरेको तर्क राख्छन्। भारतीय जनता पार्टीका सदस्य रहेका मोदी भारतका भावि प्रधान मंत्रीको रुपमा बलियो गरि उदाएका छन। अहिले भारतमा भइ रहेको लोकसभाको चुनाव (First Phase 7 April- Last Phase 12 May, 2014)ले मोदीको पछाडि ठूलो जनसमर्थन रहेको देखाइ रहेको छ। राष्ट्रिय स्वयंसेवक संघ (RSS) को सदस्य रहेका मोदीलाई एक हिन्दु राष्ट्रवादीको रुपमा हेरिन्छ र यस कुराको उनले आफैल स्वीकार समेत गर्छन्।
मोदीको आर्थिक नीतिले गुजरातमा ठूलो सफलता पायो। राज्यले निकै आर्थिक प्रगति गर्यो पनि। गुजरातको आर्थिक प्रगतिले उनलाई गुजरातमा मात्र लोकप्रिय बनाएन, उनको लोकप्रियता भारतभरि नै फैलियो। मोदीका आर्थिक कार्यक्रमहरुलाई अन्तरार्ष्ट्रिय जगतले पनि चाँसोका साथ हेर्न थाले। केही अन्तरार्ष्ट्रिय आर्थिक विश्लेषकहरुले त भारतको आर्थिक विकासको गतिलाई तिब्रता प्रदान गर्न मोदी जस्ता नेताको खाँचो रहेको मत समेत दिए। भारतका वर्तमानका प्रधान मंत्री मनमोहन सिंहले सन् १९९१ पछिको समयमा आर्थिक संकटको सामना गरि रहेको भारतलाई आर्थिक उदारीकरणको नीतिद्वारा प्रगतिपथमा ल्याएर राष्ट्रिय र अन्तरार्ष्ट्रिय जगतमा ख्याति आर्जन गरे झै मोदीले पनि गुजरातमा खुसहाली ल्याएर राष्ट्रिय र अन्तरार्ष्टिय जगतमा ख्याति आर्जन गरि रहेका छन्। यो ख्याति नै उनको लागि भारतको भावि प्रधान मंत्री हुने आधार भूमि हुन थालेको देखिएको छ। मोदी भारतको प्रधान मंत्री भएमा उनले कुन किसिमको आर्थिक नीति- खुला उदारबादी वा गरिबकेन्द्रित उदारबादी अर्थ नीति ल्याउने हुन भन्ने कुरा अहिलेसम्म पनि स्पष्ट हुन सकेको भने छैन। किनभने अहिले गुजरातमा जे जति आर्थिक प्रगति भएको छ त्यसले केही व्यापरिक समूहरुलाई मात्र फाइदा पुगेको र मोदीको आर्थिक सुधारका कार्यक्रमहरुले गुजरातका अति निर्धनहरुलाई छुन नसकेको भन्नेहरु पनि प्रशस्त छन्।
राज्यको आर्थिक विकासको गतिलाई तिब्रता प्रदान गरेर राष्ट्रिय र अन्तरार्ष्ट्रिय रुपमा प्रसिद्धि पाएका मोदी एक कुशल प्रशासक मानिन्छन्। उनको छवि स्वच्छ रहेको छ र उनी कुनै पनि किसिमको आर्थिक भ्रष्टाचारको मुद्दामा मुछिएका छैनन्। उनका राजनैति सफलताका सिंढीहरु यिनै हुन। यी सिंढीहरुले नै उनलाई भारतीय राजनीतिको यो उँचाइमा पुर्यायो। तर उनी विवादमुक्त भने छैनन्। सन् २००२ मा भएको ‘मुसलमान बिरोधि दंगा’, जसमा १००० भन्दा बढी व्यक्तिहरुले ज्यान गुमाएका थिए, नियन्त्रण गर्नमा उनले उदासीन भुमिका ( Passive Role)  निर्वाह गरेको वा जति गर्नु पर्थ्यो त्यति नगरेको आरोप उनी माथि छ। मोदीले भने यस आरोपको खण्डन गर्दै आएका छन्। मोदीको उक्त घटनामा उनको भूमिका विवादित रह्यो भन्दै अन्तरार्ष्ट्रिय जगतले उनको निकै आलोचन गर्यो भने अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गर्यो। संयुक्त अधिराज्यले मोदीसँगका सम्बन्धहरु विच्छेद गर्यो। तर पछि मोदीले आफ्नो बिग्रेको अन्तरार्ष्ट्रिय छविलाई राम्रो पारे। तर मौजुदा परिस्थितिमा  भने भारतका जनताले उनको अन्य कार्य कार्यहरु बिर्सेर उनको आर्थिक सुधारका कार्यक्रमहरुलाई बढी रुचाएको देखिएको छ। उनको आर्थिक सुधारका कार्यक्रमहरु प्रति बलियो समर्थन जनाएको देखिएको छ। उनको आर्थिक सुधारका कार्यक्रमहरु प्रति आर्कषित भएर मुसलमान मतदाताहरु पनि उनको पक्षमा खुलेर लागेका छन्। यो स्थिति मोदीका लागि भने एक किसिमको राजनैतिक उपलब्धि हो। यस किसिका तथ्यहरुले गर्दा मोदी भारतका प्रधान मंत्री हुने सम्भावना बढ्दै गएको छ।
यो आलेखको उद्देश्य भने मोदी भारतको प्रधान मंत्री हुने आधार बलियो हुँदै छ भन्ने कुराका लागि प्रमाणहरु पेश गर्नु भने होइन। यो लेखको मुख्य उद्देश्य के हो भने वर्तमानको अति संचारको युगमा जनताले आर्थिक मुद्दाहरुलाई महत्व दिन्छन। आर्थिक खुसहाली ल्याउने, स्वच्छ छवि भएको र कुनै पनि किसिमको आर्थिक भष्ट्राचारमा न मुछिएको नेतालाई समर्थन गर्छन भनी देखाउनु हो। मोदी अहिले आफ्ना आर्थिक सुधारका कार्यक्रमहरुले गर्दा सफलताको सिखरमा छन्। आफ्ना समर्थकहरुलाई उनले आफ्ना आर्थिक विकासका नाराहरुले लोभ्याएका छन्। उनलाई यो थाहा छ कि अहिलेको यो युग, जसमा जनतालाई आफू गरिब हुनुका कारणहरु प्रष्ट गरी  थाहा  छ, मा जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता आदिको नारा दिएर न त चुनाव जित्न सकिन्छ न त राजनैतिक जीवनलाई निरन्तरता नै दिन सकिन्छ। जनताको मन जित्नका लागि इमान्दार भएर आर्थिक सुधारका कार्यक्रमहरु ल्याउनु पर्दछ। ज्यादै निर्धन जनताले पनि दुई छाक खान पाउने स्थितिको सुनिश्चितता गरि दिनु पर्दछ। जातीयता र साम्प्रदायिकताको  आधारमा गरिने लालु यादव- मोडेलको राजनीतिको भविष्य छैन, अब यो अति संचारको युगमा।
मोदीको राजनैतिक सफलताबाट नेपालका नेताहरुले सिक्न सक्ने धेरै कुराहरु छन। अझै, नेपालका ती नेताहरुले धेरै सिक्नु पर्ने छ जसले जातीयता, क्षेत्रीयता, साम्प्रदाय जस्ता नारा दिएर, समाजलाई विभाजित गरेर, राजनैतिक सफलता हासिल गर्न खोज्छन्, पदमा जाने बित्तिकै आर्थिक मुद्दाहरु बिर्सन्छन। आफ्ना क्षेत्रहरुमा गर्नु पर्ने आर्थिक सुधारहरु भन्दा सक्ति केन्द्रहरुमा धाएर आफूलाई केवल  सुविधभोगीमा रुपान्तरित गर्छन्। लोकप्रिय नेता हुने औसर गुमाउँछन्।
अहिले कुनै पनि देशका नागरिकहरुले, केहिले देश विदेश घुमेर वा त्यसरी घुम्न नसकेकाहरुले संचार माध्यमहरुबाट सूचना र जानकारीहरु संकलन गरेर, तिनको विश्लेशण गरेर, आफू गरिब हुनु, परिवार गरिब हनुको कारण प्रष्ट गरी बुझेका छन्। मुलुकको भ्रष्ट राजनीति, स्वार्थी र घुसघोर नेता, फितलो प्रशासन आफू गरिब हुनुको मुख्य कारणहरु भन्नेमा उनीहरुलाई अब कुनै संका छैन्। आफ्नो गरिबीका लागि आफ्नो भाग्यलाई मात्र दोष दिंदै मालिकको सेवामा हाजिर हुने दिन अब रहेन भन्ने यथार्थ विकासशील राष्ट्रका नागरिकहरुले बलियो गरी बुझ्न थालेका छन, यो समय बिन्दुमा।
फेरि फर्कौ मोदीको प्रशंगमा नै। गुजरात राज्यलाई आर्थिक शक्ति केन्द्र (Economic Powerhouse) बनाउनमा मोदीको भूमिका अति नै महत्वपूर्ण रहेको छ। मोदीले जहिले पनि राज्यमा आर्थिक विकास हुनु पर्दछ भन्ने कुरामा जोड दिए। प्रत्येक चुनावमा आर्थिक मुद्दाहरुलाई महत्व दिए। सन् २००७ वा २०१२ को चुनाव होस, मोदीले जनता माझ गएर आर्थिक विकासका धेरै कुराहरु भने। आर्थिक विकासलाई नै आफ्नो प्रमुख मुद्दा बनाएकोले मोदी अहिले गुजरात राज्यको मात्र नभएर सिंगो भारतको नेता हुन पुगेका छन्।
मोदीका राजनैतिक सफलताका आधारहरु हुन- इमान्दारी, कुशल प्रशासन र आर्थिक विकास। मोदी इमान्दार छन्, उनमा प्रशासनिक कुशलता छ र उनी आर्थिक विकासप्रति समर्पित छन् पनि। यी तिनै कुराहरु एक अर्कासँग गाँस्सिएका छन्। कुनै पनि नेता इमान्दार भएमा मात्र उसले प्रशासनलाई कुशल बनाउन सक्छ। भ्रष्ट नेताले कहिले पनि प्रशासनलाई कुशल पार्न सक्तैन। प्रशसन कुशल नभएमा मुलुकमा आर्थिक विकास कुनै पनि हालतमा सम्भव छैन। नेपालका नेताहरुले पनि यी यथार्थहरुको मनन गर्न आवश्यक छ।
भारतमा अहिले लोकसभाका लागि चुनाव भइ रहेको छ र यो चुनाव विभिन्न चरणहरुमा गरि सम्पन्न हुनेछ। करिब ८१ करोड ४० लाख मतदाताहरुले यो चुनावमा मतदान गर्ने अनुमान गरिएको छ। संसारकै सर्वाधिक ठूलो (लोकतन्त्रको हिसाबले) मुलुकमा हुन थालेको यो चुनाव विश्व भरि नै चाँसोको विषय भएको छ। यो चुनावको नतिजाले नै भारतको प्रधान मंत्री को हुने हो भन्ने कुराको टुंगो लगाउने छ।
विश्वराज अधिकारी


(प्रतीक दैनिकमा प्रकाशित  Friday, April 11, 2014)

No comments:

Post a Comment