Friday, June 20, 2014

Only Wealth is Not Responsible to Make Someone Poor-Article-130

व्यक्तिलाई गरिब पार्नमा केवल सम्पत्ति मात्र जिम्मेबार हुँदैन

सामान्य किसिमले हेर्दा कुनै व्यक्तिले  राम्रो आम्दानी प्राप्त गर्नु, उसँग प्रशस्त चल अचल सम्पत्ति हुनु आदिले त्यो व्यक्ति आर्थिक रुपमा सम्पन्न छ भन्ने कुराको पुष्टि हुन्छ। अर्थात विभिन किसिमका सम्पत्तिहरु माथिको स्वामित्वले व्यक्तिलाई धनी तुल्याउँछ। कुनै पनि व्यक्तिलाई धनी तुल्याउनमा उसँग रहेका सम्पत्तिहरुको नै प्रमुख हात हुन्छ। धनी हुनका लागि सम्पत्ति हुनु नै पर्दछ, अहिलेसम्म समाजमा कायम रहेको मान्यताले यहीले भन्छ। तर यो मान्यता पूर्ण सत्य भने होइन। व्यक्तिसँग राम्रो आम्दानीको स्रोत एवं प्रशस्त सम्पत्ति भएता पनि यदि व्यक्तिले तिनको रक्षा एवं वृद्धि गर्न सक्ने क्षमता राख्दैन भने ती सम्मत्तिहरु छोटो कालमा नै समाप्त भएर जान्छ। अर्थात सम्पत्तिको सम्बन्ध सम्पत्ति राक्ने व्यक्तिको बौध्दिक क्षमता, शिक्षा, सामाजिक अवस्था, परम्परा, चलन आदिसँग रहेको हुन्छ।
व्यक्ति कस्तो किसिमको समाजमा बसेको छ, व्यक्ति बसको सामाजमा कस्ता किसिमका परम्परा, मान्यता र चलनहरु छन्, ती कुराहरुले पनि व्यक्ति वा परिवारलाई आर्थिक रुपमा सम्पन्न हुन न दिन वा आर्थिक रुपमा सम्पन्न भएता पनि बिपन्नतातिर धकेल्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। समाजमा बलियो गरी जरा गाडेर बसेको यस्ता चलन वा परम्परालाई सरकारले नियम एवं कानून बनाएर तोड्न पनि सजिलो हुँदैन। सरकारले बनाएका यस्ता नियम एवं कानूनहरु समाजले पालन न गरिदिने हुनाले ती नियम एवं कानूनहरु प्रभावकारी हुन पाउँदैन। त्यसकारण कुनै समाज गरिब हुनमा त्यसकालागि सरकार मात्र पूर्ण रुपमा जवाफदेही हुँदैन। व्यक्ति वा परिवारलाई गरिब पार्नमा समाजमा परापूर्व कालदेखि चल्दै आएका विश्वास, मान्यता, अपेक्षा, चलन, परम्परा आदि जस्ता तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन।
नेपाल एवं भारतीय समाजमा वर्षौदेखि चल्दै आएका त्यस्ता धेरै चलन एवं परम्पराहरु छन् जसले यस क्षेत्रका व्यक्ति एवं परिवारहरुलाई बिपन्नतातिर पुर्याउन महत्वपूर्ण भूमिका खेलिरहेका  छन्। समाजमा व्याप्त रहेका त्यस किसिमका सबै परम्परा एवं चलनहरुलाई यो एक सानो लेखमा प्रस्तुत गर्न नसकिने हुनाले केवल परम्परा एवं चलनलाई मात्र उल्लेख गर्न चाहन्छु।
तिलक एवं दहेज अथवा दाइजो नेपाली समाजको सबै भन्दा कष्टकर चलन वा परम्पराको रुपमा रहँदै आएको छ। तिलकको चलनले गर्दा कैयो परिवारलाई छोरीको विवाह गर्नु भनेको कुनै भयानक पीडाको सामना गरेर त्यसबाट मुक्ति पाउनु जस्तो भएको छ। नेपालको मुख्य गरी तराइ क्षेत्रमा प्रचलनमा रहेको तिलक दिने परम्परा यो क्षेत्रमा शिक्षा एवं चेतनाको स्तरमा तुलनात्मक रुपमा बढी विकास भएता पनि यो परम्परामा कमी आउन सकि रहेको छैन, झनै बढेर गरएको छ। धनी परिबारहरुले आफ्नो शान देखाउनका लागि यति बढी तिलक दिएको बा लिएको भन्दै हिंडेको देखिन्छ। अर्कोतिर, कन्या पक्षकाले अनिवार्य रुपमा तिलक दिनु पर्ने परम्पराले गर्दा गरिब परिबारहरुमा वधु पक्ष जहिले पनि निस्सासिएको अवस्थामा बाँच्नु परेको छ। बाबु आमाले तिलक दिन नसक्ने अवस्था रहेको र तिलक नदिइ विवाह हुन नसक्ने देखेर धेरै युवतीहरुले आत्म हत्या समेत गरेको उदाहरण धेरै छन्। यस समस्याबाट पिल्सिएर बाबु आमाहरुले पनि आत्म हत्या गरेका छन्। उत्तर भारतमा त यो समस्या झनै गंभिर छ।
तिलकको प्रथाले गर्दा एकातिर कन्याको परिवारले वा बाबु आमाले आफ्नो सम्पूर्ण सम्पत्ति वा आफ्नो सारा आर्जन केवल छोरीहरुको विवाहका लागि तिलकमा खर्च गर्नु पर्ने हुन्छ भने अर्को तिर वर पक्षले बिना कुनै परिश्रम ठूलो धन हात पार्छ। यसरी ठूलो धन हात पर्नुबाट वर पक्षलाई दीर्घकालमा फाइदा भने हुँदैन किनभने यसले विवाह हुने केटाको उद्धमी (Entrepreneur)  हुने क्षमतामा ह्रास ल्याउँछ। केटा परावलम्बि हुँदै जान्छ। कस्तो अचम्म! तिलक पाउने व्यक्ति वा वर एकतिर अनावश्यक रुपमा धन प्राप्त गरेर परावलम्बि हुन सक्छ भने अर्को तिर कन्याको गरिब माता पिता तिलक दिनु परेकोले ऋणको सागरमा डुब्छ। उनीहरु जीवनभर निस्सासिएको अवस्थामा बाँच्न बाध्य हुन्छन्। यो तिलक प्रथाको अन्त्यका लागि युवा युवतीहरुले नै महत्वपूर्ण भूमिका खेल्नु पर्ने देखिन्छ। व्यक्ति एवं परिवारलाई ऋणको सागरमा डुब्न देखि जोगाउन युवा युवतीहरु नै बिना तिलकको विवाह गर्न तत्पर हुनु पर्दछ। युवा युवतीहरुको यो प्रयासले धेरै गरिब परिवारहरुको मानसिक पीडा कम हुन्छ भने समाजमा गरिबहरुले पनि खुसीसँग बस्न पाउने वातावरणको सृजना हुन्छ।
नेपाली समाजमा भोज, भतेर, आदिले पनि परिवारहरुलाई आर्थिक समस्या थप्नमा निकै योगदान पुर्याएको देखिन्छ। आर्थिक क्षमता बलियो हुनेहरुले त सजिलैसँग भोज, भतेरको आयोजना गर्न सक्छन।  तर आर्थिक स्थिति कमजोर हुनेहरुले यस किसिमको कार्य गर्नका लागि ऋण लिनु पर्ने हुन्छ। विवाह, गौना, छठियार, ब्रतबन्ध, पास्नी, जन्मोत्सव वा अन्य यस्तै किसिमका समारोह वा उत्सवहरुमा गरिने भोजहरुमा आर्थिक क्षमता कमजोर हुनेहरुले पनि सामाजिक चलन धान्न वा समाजलाई देखाउन कर्जा लिएर नै भए पनि भोज भतेरमा क्षमता भन्दा बढी खर्च गर्छन्, वा खर्च गर्नु पर्ने वाध्यता हुन्छ। ऋणमा डुब्ने वातावरण श्रृजना गर्ने यस किसिमका चलनहरुमा भने बिस्तारै सुधार ल्याउन आवश्यक छ। गरिबहरुले पनि सुखी र गर्वपूर्वक समाजमा बाँच्ने अवस्था ल्यान केही चलन वा परम्पराहरु जस्तै तिलक, दाइजो आदिलाई त हटाउन नै पर्छ। तर भोज भतेर आदि जस्ता चलनलाई भने परिमार्जन गरेर समाजमा कायम राख्न सकिन्छ। यिनलाई अझै सुखद पार्न सकिन्छ।
पश्चिमी समाजमा छोरा वा छोरीको विवाहका लागि बाबु आमाले थप चिन्ता लिनु पर्देन। न त छोराको विवाहमा खर्च गर्नका लागि ठूलो रमकको व्यवस्था गर्नु पर्दछ न त छोरीको विवाहमा वर पक्षलाई तिलकको रुपमा दिन भनि ठूलो धन राशी नै जम्मा गर्नु पर्दछ। न त आफ्नो हैसियत देखाउन वा विवाहमा वर पक्षलाई खुसी पार्न भोज भतेरमा धेरै खर्च गर्नु नै पर्दछ। पश्चिमी समाजमा छोरी वा छोरा उमेरदार भए पछि, अथवा बीस पच्चिस वर्षको भए पछि, आमा बाबुको परिबारबाट छुट्टिएर अलग बस्छन। आफ्नो लागि वर वा वधु स्वयं ले नै खोज्छन। युवक वा युवतीहरुले आफ्नो व्यक्तिगत सम्पर्क (काम, कलेज आदिमा) को आधारमा वा वैवाहिक वेभ साइटको सहयोग लिएर आफ्नो लागि वर वा वधु रोज्छन वा विवाहका लागि सम्पर्क अगाडि बढाउ छन्। यसरी छोरी वा छोराले आफ्नो जीवन साथी स्वयं चयन गर्ने हुनाले बाबु आमाले न छोरा न छोरीको विवाहमा भारी खर्च गर्नु पर्छ। न त कन्याको परिवारले तिलकको रुपमा धेरै ठूलो रकम दिनु परेकोले त्यो परिबार ऋणको सागरमा डुब्ने पर्ने स्थिति उत्पन्न हुन्छ। न त तिलक दिन नसकेकोले छोरीको विवाह न हुने स्थिति नै उत्पन्न हुन्छ। पश्चिमी समाजले, पूर्वमा, खास गरी नेपाल, भारत जस्ता मुलुकहरुमा अति खर्चिलो मानिएको विवाहको चलनलाई यसरी अति सजिलो बनाएको छ।   
पश्चिमी समाजमा भोज भोतरलाई कम खर्चिलो बनाउन प्रयोग गरिने एक तरिका हो पटलक (Potluck) को व्यवस्था। पटकलमा भोजको आयोजना गर्दा भोजमा उपस्थित हुनेहरुले आफ्नो तर्फबाट खाना लिएर भोजको आयोजक कहाँ उपस्थित भएका हुन्छन। प्रत्येक आमन्त्रितले बजारबाट किनेर वा घरबाट पकाएर केही खाने कुरा भोज आयोजकको घरमा लग्ने गर्दछ। प्रत्येक आमन्त्रितले आफ्नो तर्फबाट केहि न केही लग्नु पर्ने प्रथा रहेकोले भोजको आयोजकले भोजको ठूलो आर्थिक भार बहन गर्न पर्दैन, धेरै आमन्त्रितहरुलाई ख्वाउनमा बढी पैसा पनि खर्च गर्नु पर्देन। भोज सम्पन्न भएर खाने कुरा बाँकि रहन आएमा जसले आफू कहाँबाट जुन खाना ल्याएको हो उसले पुन: फिर्ता गरेर आफ्नो घरमा लग्ने चलन हुन्छ। यसरी भोजको आयोजना पछि आयोजकले सफाइमा पनि बढी समय लगाउनु पर्दैन। यस किसिमको व्यवस्थाले गर्दा धेरै व्यक्तिहरु एक ठाउँमा जमघट भइ एकातिर भेटघाटको आनन्द लिन सक्छन भने भोजको आयोजना गर्नेले ठूलो भोजमा ठूलो  खर्च गर्नु पर्ने स्थिति पनि उत्पन्न हुँदैन। पटकल पश्चिमी समाजमा निकै लोकप्रिय रहेको पाइन्छ।
यो लेखको आशय पश्चिमी समाज अति उन्नत र पूर्वीय समाजमा धेरै समस्याहरु छन् भनी तुलना गरेर देखाउनु होइन।  जसरी पूर्वीय समाजमा समस्याहरु छन् त्यसै गरी पश्चिमी समाजमा पनि अनेक किसिमका समस्याहरु छन्। तर यो लेखको आशय भने पश्चियी समाजमा भएका राम्रा कुराहरु पूर्वी समाजमा पुर्याएर पूर्वीय समाजमा व्याप्त रहेका त्यस्ता चलन र परम्पराहरुको परिमार्जन गर्न समाजका कर्ता (Actor) हरुलाई  घच्घच्याउनु हो।
पूर्वीय समाजमा रहेका ती खर्चिला परम्पराहरुलाई भत्काएर भने होइन, तीनमा परिमार्जन गरेर तीनलाई अझै एकातिर सुखद एवं प्रभावकारी बनाउन सकिन्छ भने अर्को तिर समाजमा व्याप्त गरिबी कम पार्दै समाजलाई समृद्धिको दिशा तर्फ डोर्याउन सकिन्छ। समाज विकासको क्रम सँगै चलन र परम्पराहरुलाई परिमार्जन गर्दै लगेमा तिनको आयु लामो हुन पुग्छ तर यथास्थिति मै रहन दिने हो भने केही लाई धान्न नसकेर समाजले नै दीर्घकालमा परित्याग गर्न सक्छ वा आप से आप हराएर जान सक्छ।

विश्वराज अधिकारी

Wednesday, June 18, 2014
प्रतीक दैनिकमा प्रकाशित Friday, June 20, 2014


   

No comments:

Post a Comment